शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३२१ - बन्दीप्रत्यक्षीकरण

भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक:

निर्णय नं. ४३२१     ने.का.प. २०४८      अङ्क ७

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री कृष्णजङ्ग रायमाझी

सम्वत् २०४८ सालको रि.नं. १३८०

आदेश भएको मिति : २०४८।७।२४।१ मा

निवेदक      : का.न.पा.वार्ड नं. ५ मालिगाउँ बस्ने रक्षा सिंहको हकमा भारती सिंह

विरुद्ध

विपक्षी : जिल्ला प्रहरी कार्यालय वीरगंज पर्सासमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)    पत्नी भई रहे बसेको देखिँदा निवेदिकालाई अपहरण गरी गैरकानुनी रुपमा राखेको भन्न नमिल्ने ।

(प्रकरण नं. ९)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री सुनिलचन्द्र पौडेल

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ । (साविक पेज नं. ३४८)

२.    मेरी छोरी २०३२ सालमा जन्म भएको वर्ष १५ की नाबालिका रक्षा सिंह टंगाल विद्यालयमा ६ कक्षामा पढिरहेकीलाई २०४७ साल माघ २३ गते बिहान डेराबाट निस्केकी नफर्केपछि खोज तलास गर्दा फेला परिन सुत्ने कोठामा चिठ्ठी भेट्टाई हेर्दा मनोज श्रेष्ठ भन्ने व्यक्तिले सावित्री लामालाई लेखेको चिठ्ठीमा रक्षा सिंहको नाम भएकोले अनुसन्धान कारवाही गरी पाउँ भन्ने प्रहरी कार्यालय कमलपोखरी, प्रहरी नायब निरीक्षक हनुमानढोकामा जाहेरी गरेकी छु । मेरो नाबालिका छोरीलाई वीरगंज विर्ता बजार बस्ने मनोज श्रेष्ठले काठमाडौंबाट अपहरण गरी लगेकोले सम्बन्धित प्रहरी कार्यालयमा खोजतलास गरी पाउन कारवाही चलाइरहेकी छु, नारायणलाल श्रेष्ठका परिवारले हालसम्म बेपत्ता पारेका छन् । खोज्न जाँदा कहिले कहाँ छ कहिले कहाँ छ भनी निराधार जवाफ दिएकोले रनभुल्लमा परिरहेकी छु । विवाह नै भएको भए पनि कानुनले मान्यता पाउन सक्दैन । वीरगंजमा प्रहरीले पहिले नै तयार पारिरहेको कागजमा सहिछाप गराए के व्यहोरा थियो मलाई थाहा थिएन । विभिन्न निकायमा कारवाही जारी राखेकी छु । समय गुज्रदै जाँदा छोरीले गर्भधारण समेत गर्न सक्ने सम्भावना हुँदा कसले कुन अवस्थामा बन्दी बनाई राखेको छ बन्दी बनाएकी छोरी समेत लिई हाजिर हुन आउन भनी परमादेश सहित बन्दीप्रत्यक्षीकरणको रिट जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

३.    रिट निवेदिकाको निवेदन परेकोले मनोज श्रेष्ठलाई उपस्थित गराउन भाजुरत्न प्रा.लि.मा पत्र पठाउँदा बिदामा बसेको भन्ने जवाफ आएको र फेला परेपछि कानुन बमोजिम हुने नै हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने जि.प्र.का.धनुषाको लिखितजवाफ ।

४.    मनोज श्रेष्ठ र रक्षा सिंहले हिन्दू परम्परा अनुसार विवाह गरेकोमा भारती सिंहको मञ्जूर भएको कागजको फोटोकपी यस कार्यालयमा पेश भएको र मनोज श्रेष्ठका दाजु र स्थानीय व्यक्तिको रोहवरमा हामीले राजीखुशी विवाह गरेका हौं भनेको र निज भारती सिंहकै रोहवरमा रक्षा सिंह र मनोज श्रेष्ठ आफ्नो घरतर्फ गएका हुन् प्रहरीले पहिले नै तयार पारेको कागजमा सही गराएको भन्ने कुरा झुठ्ठा हो । रक्षा सिंहलाई यस कार्यालयले थुनछेक गरेको नहुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने जि.प्र.का. पर्साको लिखितजवाफ ।

५.    म मनोज र रक्षा सिंहको बीच प्रेम भएकोले दुवै जनाले एक अर्काको जीवन साथी भई बस्ने उद्देश्यले ०४७।१०।२३ मा दक्षिणकाली मन्दिरमा गई विवाह गरेका हौं । हामीसंग सासुको बीच बीचमा टेलिफोनमा कुरा समेत हुने गर्दथ्यो । मेरो आमा कोमलकुमारी शाहले हनुमान ढोकामा दिएको उजूरी बदर गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिनु भएको छ । भारती सिंहको छोरीलाई अपहरण गरी नलगेको राजीखुशीसंग विवाह गरेकोले जनकपुरधाम पंजिका अधिकारीको कार्यालयबाट प्रमाणपत्र लिई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकताको प्रमाणपत्र समेत लिइसकेकी छन् । मेरो सासु भारती सिंह वीरगंज आई हामीलाई भेटी म बाट रु. १०००।लगी सो को चेक आउँदैछ भनी पत्र पठाउनु भएको थियो भेटघाट भएन भन्ने झुठ्ठा कुरा लेखेको हो । हामीले रक्षा सिंहलाई अपहरण नगरेको र बन्दी समेत नबनाएकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने नारायणलाल श्रेष्ठ समेतको लिखितजवाफ ।

६.    नियम बमोजिम दैनिक पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको फाइल अध्ययन गरी निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुनिलचन्द्र पौडेलले मेरो पक्षलाई विपक्षीहरुले भगाई लगेको र जि.प्र.का.पर्सामा कागज समेत गराएको छ । मनोज र रक्षाको विवाह भएको भन्ने कथन छ । विपक्षीले रक्षा सिंहलाई भेटघाट गर्नसम्म नदिएको हुँदा बन्दी (साविक पेज नं. ३४९) प्रत्यक्षीकरणको रिट जारी हुनुपर्छ भन्ने र विपक्षी जि.प्र.का. तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले रक्षा सिंहलाई प्रहरी हिरासतमा लिएको छैन निजले मनोज भन्ने केटासंग विवाह गरी गएको भन्ने कुरा लिखितजवाफबाट देखिन्छ । प्रहरीले रक्षा सिंहलाई हिरासतमा नलिएको हुँदा प्रस्तुत रिट खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

७.    निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के हो सो को निर्णय दिनु पर्ने हुन आयो ।

८.    यसमा निर्णयतर्फ विचार गर्दा, मेरी नाबालिका छोरीलाई २०४७।१०।२३ गते मनोज श्रेष्ठले अपहरण गरी लगेको र जिल्ला प्रहरी कार्यालय पर्सामा के कस्तो कागज गराए व्यहोरा थाहा भएन । छोरी रक्षा सिंहलाई समेत लिई हाजिर हुन आउनु भन्ने आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर भएको पाइन्छ । जिल्ला प्र.का.बाट रक्षा सिंहलाई गैरकानुनी हिरासतमा नराखेको र थुनछेक नगरेको, कागज गराएको छैन भन्ने र मनोज र रक्षा सिंहले दक्षिणकाली मन्दिरमा गई विवाह गरी विवाहको प्रमाणपत्र समेत लिइसकेको भन्ने लिखितजवाफ भएको देखिन्छ ।

९.    विपक्षी मध्येका धनुषा तथा पर्सा जिल्ला प्रहरी कार्यालयले निवेदिकाको छोरी रक्षा सिंहलाई अपहरण गरी गैरकानुनी तरीकाबाट थुनामा राखेको भन्ने कुरा निवेदिकाले दिएको निवेदनपत्र र लिखितजवाफबाट देखिन आएन । नारायणलाल श्रेष्ठको छोरा मनोज श्रेष्ठसंग रक्षा सिंहको विवाह भई लोग्ने स्वास्नी भई रहे बसेको भन्ने कुरा लिखितजवाफबाट देखिन आई संलग्न विवाह दर्ता प्रमाणपत्र र रक्षा सिंहको नागरिकताको प्रमाणपत्रको फोटो प्रतिलिपिबाट प्रष्ट भएको छ । दक्षिणकाली मन्दिरमा मनोज श्रेष्ठसंग रक्षा सिंहको विवाह भएको भन्ने लिखितजवाफको व्यहोरालाई रक्षा सिंहकी सासु भारती सिंहले जिल्ला प्रहरी कार्यालय पर्सामा चढाएको निवेदनमा आमा कोमलकुमारी शाहले हनुमानढोकामा दिएको जाहेरी बदर गरी पाउँ भन्ने २०४७।११।१५ को दर्खास्त व्यहोराले पनि समर्थन गरेको देखिन्छ । नारायणलाल श्रेष्ठ ससुरा, गोपाल श्रेष्ठ, जेठाजु र मनोज श्रेष्ठकी पत्नी भई रक्षा सिंह रहे बसेको कुरा देखिन आयो । तसर्थ निवेदिकालाई अपहरण गरी गैरकानुनी रुपमा थुनामा राखेको भन्न मिलेन । निवेदिकाको बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने निवेदन जिकिर पुग्न सक्दैन रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.कृष्णजंग रायमाझी

इतिसम्वत् २०४८ साल कार्तिक २४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु