शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९१० - जबरजस्ती करणी र अप्राकृतिक मैथुन

भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री मीरा खडका 

फैसला मिति : २०७४।७।२६

०७२-CR-०१३२

 

मुद्दाः जबरजस्ती करणी र अप्राकृतिक मैथुन

 

पुनरावेदक / प्रतिवादी : जिल्ला मकवानपुर, हाँडीखोला गा.वि.स.वडा नं.६ बस्ने कृष्णबहादुर गौतमको छोरा लक्ष्मण गौतम

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम ३१(क-५) को जाहेरीले नेपाल सरकार

 

वारदातको देखि जान्‍ने मात्र होइन, भोगीजान्‍ने साक्षी पीडित स्वयंले अदालतमा उपस्थित भई बकपत्र गरेको र सो बकपत्रले जाहेरी दरखास्तमा उल्लिखित व्यहोरालाई समर्थन गरेकोले त्यसले प्रमाणिक मूल्य पाउने कुरालाई नकार्न नमिल्ने ।

(प्रकरण नं.४)

बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सोको आधा सजाय ५ वर्ष ६ महिना कैद हुने ठहर गरी हाललाई फैसला भएको मितिले २ वर्षको लागि सजाय स्थगन गरेको तर्फ विचार गर्दा, प्रतिवादीलाई भएको उक्त सजाय कार्यान्वयन गर्न निजको उमेर पुगेको नदेखिएको, निज प्रतिवादी शिक्षोपार्जन गर्ने उमेरको भएको र अध्ययनरत रहेको समेत देखिएकोले उक्त बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) बमोजिम प्रतिवादीलाई बाबुको जिम्मामा रहने गरी दुई वर्षको लागि स्थगन गरेको  मिलेकै देखिने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चञ्‍चला कैनी

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री दीपेन्द्र अधिकारी

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल

 

फैसला

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा मेरो छिमेकी लक्ष्मण गौतम मेरो घरमा आएका थिए । मैले निजलाई मोमबत्ती ल्याइदेउ भनी पैसा दिएपछि निजले पैसा लिई साथमा मेरो छोरी वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई साथमा लिई पसल गएकोमा धेरै बेरपछि फर्की आउँदा छोरी रूँदै आएकीले किन रोएको भनी सोध्दा लक्ष्मणले बाटोनजिक रहेको मकैबारीमा लगी योनिमा औंला हाली पछि जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको नाम परिवर्तित ३१(क-५) को जाहेरी दरखास्त ।

जिल्ला मकवानपुर, हाँडीखोला गा.वि.स.वडा नं.६ मा रहेको कृष्णप्रसाद रेग्मीको मकै रहेको खेतमा नाम परिवर्तित ३१(क-६) लाई प्रतिवादी लक्ष्मण गौतमले जबरजस्ती करणी गरेको हो भन्‍नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा मेरो छिमेकी लक्ष्मी गौतम मेरो घरमा आएका थिए । ममीले निजलाई मोमबत्ती ल्याइदेउ भनी पैसा दिएपछि निजले पैसा लिई मलाई पनि जाउँ भनी साथमा लिई पसल गई पसलमा सामान किनी फर्की आउँदा बाटो नजिक रहेको मकैबारीमा लगी योनिमा औंला हाली खेलाई आफ्नो पाइन्ट खोली लिङ्ग निकाली मेरो योनिमा घुसाएपछि मलाई पीडा भई रून लाग्दा मलाई फकाई घर नजिक पुर्‍याई दिए । म रूँदै आएकीले ममीले किन रोएको भनी सोध्दा लक्ष्मणले जबरजस्ती करणी गरेको भनी बताएकी हुँ भन्‍नेसमेत व्यहोराको पीडित नाम परिवर्तित ३१(क-६) ले गरेको कागज ।

नाम परिवर्तित ३१(क-६) को योनिको पछाडि भागबाट १ से.मि. लामो च्यातिएको घाउ रहेको र पीडकको स्वास्थ्य अवस्था सामान्य रहेको भन्‍नेसमेत व्यहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा लक्ष्मण गौतमलाई जाहेरवालीले मोमबत्ती ल्याइदेउ भनी पैसा दिई सामान किन्‍न पठाएकोमा निजको छोरी वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई साथमा लिई पसलबाट सामान किनी फर्केर आउने क्रममा कृष्णप्रसाद रेग्मीको मकै रहेको खेतमा लगी योनिमा औंला हाली पछि जबरजस्ती करणी गरेको भन्‍ने कुरा पीडित तथा जाहेरवालीले भनेको सुनी थाहा पाएको हो भन्‍नेसमेत व्यहोराको संगिता भुजेलसमेत जना ३ ले गरेको एकै मिलानको घटना विवरण कागज ।

म मिति २०७१।१।२३ गते साँझ घरमा नै थिए । जाहेरवालीले मलाई बेलाबेलामा सामान किन्‍न पठाउने र कहिलेकाहीँ पैसासमेत दिने गरेकी थिइन् । सो दिनमा पनि निजले मलाई पसलमा गई मासु रक्सी तथा मोमबत्ती किनेर ल्याइदिनु भनी जाहेरवाली नाम परिवर्तित ३१(क-५) ले मलाई पैसा दिई पठाएकोमा मैले निजको छोरी वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई समेत साथै लिई मोमबत्तीसमेत किन्‍न गएकोमा पसलमा पुगी सामानसमेत किनेर फर्कने क्रममा मैले निजको योनिमा दायाँ हातको चोर औंला छिराई खेलाएपछि मलाई करणी गर्न मन लाग्यो र मैले निजलाई मकै रहेको खेतको डिल नजिक खेतमा सुताई योनिमा मेरो लिङ्ग छिराउन लाग्दा निजलाई दुखेपछि निज रोइन् । निज रून लागेपछि फकाई चाउचाउ दिएँ । निज रून छाडेपछि बोकी ल्याई निजको घरमा पुर्‍याई जाहेरवालीलाई सामान दिई म घरमा गएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मण गौतमले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०७१।१।२३ गते १८:३० बजेको समयमा लक्ष्मण गौतमले वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई साथमा लिई पसलबाट सामान किनी फर्केर आउने क्रममा कृष्णप्रसाद रेग्मीको मकै रहेको खेतमा लगी योनिमा औंला हाली खेलाई पछि जबरजस्ती करणी गरेको हुँदा प्रतिवादी लक्ष्मण गौतमको उक्त कार्य मुलुकी ऐन जबरजस्ती करणीको १ र ९(क) नं.अनुसारको कसुर अपराध देखिँदा निज प्रतिवादी लक्ष्मण गौतमलाई ऐ.ऐनको ऐ. महलको ३(१) र ९(क) बमोजिम सजाय हुन र प्रतिवादी लक्ष्मण गौतमबाट पीडित नाम परिवर्तित ३१(६) लाई ऐ.को १० नं.बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाउन अभियोग दाबी लिइएको छ । प्रतिवादी लक्ष्मण गौतमको उमेर परीक्षण गर्दा १४ वर्षको नाबालक देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार हुनसमेत अनुरोध छ भन्‍ने व्यहोराको अभियोग पत्र ।

मिति २०७१।१।२३ गते जाहेरवालीले मलाई रक्सी र मासु किन्‍न पठाउनु भयो । मैले किनेर ल्याइदिएपछि पुनः मेहन्दी किन्‍न पठाउनु भयो । बहिनी पनि जान्छु भनेकीले बहिनीलाई चाउचाउ पनि किनेर ल्याइदेइ भनी पैसासमेत दिनुभयो । म र बहिनी चाउचाउ, मैनबत्ती किन्‍न गई फर्की आउने क्रममा बाटो छेउको कुलोमा बहिनीलाई मैले बोकी ल्याउँदा चिप्लिएँ । साँझ परेको हुँदा हामी दुवैजना लडी बहिनीको ढाड नजिक ठोक्‍कियो र मेरो कोखोमा पनि 

ठोक्‍कियो । मैले बहिनीलाई जबरजस्ती गरेको होइन र योनिमा औंला घुसारेको पनि होइन भन्‍नेसमेत व्यहोराको बिज्याइकर्ता लक्ष्मण गौतमले अदालतमा गरेको बयान ।

मिति २०७१।१।२६ गते मसमेतको टोलीले स्वास्थ्य परीक्षण गर्दा नाम परिवर्तित ३१(क)-६ मानसिकरूपमा निकै डराएकी थिइन् । शारीरिकरूपमा योनिको पछाडिको भागमा १ से.मि. जति च्यात्तिएको थियो । अरू जबरजस्ती करणीका लक्षणहरू केही देखिएका थिएनन् । योनि च्यात्तिएकोले औंला छिराएको पनि हुनसक्छ भन्‍नेसमेत व्यहोराको पीडितको 

स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा.सीमा राउतको बकपत्र ।

उक्त मिति २०७१।१।२३ गते मलाई लक्ष्मण गौतमले घुम्ती पसल पछाडि लगी योनिमा औंला छिराएको हो भन्‍नेसमेत व्यहोराको पीडित नाम परिवर्तित ३१(क-६) को बकपत्र ।

मिति २०७१।१।३१ गते मैले पीडित र लक्ष्मण गौतमलाई मैनबत्ती लिन पठाएको हो । निज प्रतिवादीले घुम्ती पछाडि लगी योनिमा औंला हालेको रहेछ । त्यसपछि पीडितले घटनाको बारेमा भनेकोले मैले उक्त व्यहोरा थाहा पाएको हुँ भन्‍नेसमेत व्यहोराको जाहेरवाला परिवर्तित ३१(क-५) को बकपत्र ।

जबरजस्ती भएको भन्‍ने केही देखिएन । समय रातिको पनि होइन । यी प्रतिवादी लक्ष्मण गौतमलाई मैले आएको गएको देखेको हुँ तर जबरजस्ती करणीको वारदात भएको भन्‍ने थाहा भएन । मैले प्रतिवादीलाई सोध्दा बिस्कुट, चाउचाउ, मैनबत्ती किन्‍न जान लागेको बताएका थिए । प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय नहुनुपर्ने हो भन्‍नेसमेत व्यहोराको प्रतिवादीका साक्षी अर्जुन सुवेदीको बकपत्र ।

जाहेरवालीको भनाई अनुसार मिति २०७१।१।२३ मा मैनबत्ती किन्‍न प्रतिवादी र पीडित गएका थिए । फर्कंदा बाटोमा मकैबारीमा योनिमा औंलासमेत घुसाई जबरजस्ती करणी गरी योनिद्वार च्याती घरमा ल्याई दिएका थिए भन्‍नेसमेत व्यहोराको घटना विवरण कागजका साक्षी नविनकुमार रेग्मीको बकपत्र ।

मिति २०७१।१।२६ गते बेलुका ४ बजेतिर यी प्रतिवादी लक्ष्मण गौतमलाई जाहेरवालाले करणी गरेको भन्‍ने आरोप लगाई प्रहरी बोलाई प्रहरीकै भ्यानमा राखी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइयो । यो भएको घटना होइन र कपोलकल्पित अरूले उचालेको आधारमा आरोप लगाइएकोले यी प्रतिवादीलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत व्यहोराको प्रतिवादीका साक्षी पार्वती गौतमको बकपत्र ।

बिज्याइँकर्ताको पारिवारिक अवस्था राम्रो नै भएको, निज किशोरावस्थाको रहेको, साथी संगतीका कारण र मोबाइललगायतका सञ्‍चार माध्यमको दुरूपयोगको कारण निजमा मानसिक विचलन आएको देखिएको, बालबालिकाको लागि उपयुक्त हुने वातावरणको अभाव भएकोले निजलाई सुध्रिने मौका दिनुपर्ने र समय समयमा अनुगमनसमेत गर्नुपर्ने देखिएको भन्‍नेसमेत व्यहोराको बाल मनोवेत्ता अन्जु चौलागाई तथा समाजसेवी अधिवक्ता ललिता श्रेष्ठको प्रतिवेदन ।

यसमा पीडित र जाहेरवालीको बकपत्र, डाक्टरको बकपत्रसमेत संकलित प्रमाणको रोहबाट हेर्दा अप्राकृतिक तवरले नाबालिका वर्ष ४ की पीडित बालिकाको गुप्ताङ्गमा यी बिज्याइँकर्ताले मैथुन गरेको र सो मैथुनलाई जबरजस्ती करणी गरेको मानिने भन्‍ने मुलुकी ऐन, जबरजस्ती करणीको ९(क) नं.को व्यवस्था देखिँदा निजले अप्राकृतिक तवरले मैथुन गरी जबरजस्ती करणी गरेको ठहर्छ । यी बिज्याइँकर्ता नाबालक भई निजउपर जबरजस्ती करणीको महलको ३(१) र ९(क) नं.बमोजिम सजायको मागदाबी भए पनि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजायको माग भएको देखिँदा मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(१) बमोजिम १० वर्ष सजाय, ९(क) नं.बमोजिम थप १ वर्ष सजाय हुनेमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा सजाय हुने हुँदा ५ वर्ष ६ महिना कैद सजाय हुने ठहर्छ । पीडितसमेत नाबालिका भएबाट क्षतिपूर्तिबापत बिज्याइँकर्ताबाट रू.१०,०००।– नाबालिकाले भराई पाउने ठहर्छ । यी बिज्याइँकर्तालाई लागेको कैद सजायसम्मको हदसम्म बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) बमोजिम बाबुको जिम्मा रहने गरी हाललाई फैसला भएका मितिले २ वर्षको लागिसम्म स्थगन गरिदिएको छ भन्‍नेसमेत व्यहोराको सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०७१।३।३२ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा वादी पक्षले म प्रतिवादीउपर जबरजस्ती करणी र अप्राकृतिक मैथुन कसुर अपराध गरेको अभियोग लगाए पनि वादी पक्षले सो गरेको कुरालाई प्रमाणित गर्नसक्ने कुनै पनि आधार पेस गर्नसकेको छैन । वादी पक्षले प्रमाणको भार पूरा नगरेको अवस्थामा मलाई आरोपित कसुरमा बिना आधार कसुरदार ठहर गर्ने गरी गरिएको फैसला त्रुटिपूर्ण र बदरभागी हुँदा मकवानपुर जिल्ला अदालतबाट गरिएको फैसला उल्टी बदर गरी अभियोगबाट सफाई दिने गरी इन्साफ गरिपाउँ वा कसुर ठहर हुँदाको अवस्थामा पनि बालबालिकासम्बन्धी ऐनको दफा ५०(२) बमोजिम नै बुबाको संरक्षणमा रही तोकिएको सजाय व्यतित गर्ने गरी हक इन्साफ गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

यसमा मौकाको बयान कानून व्यवसायीको रोहबरमा नभएको, बिज्याइँकर्ताको अदालतको इन्कारी बयान, बिज्याइँकर्ताको आफू र पीडितसमेत कुलोमा लडेको र पछि पीडितलाई बोकेर घर ल्याएको भनी उल्लेख भएको व्यहोरालाई ध्यानमा नराखी भएको सुरू मकवानपुर जिल्ला अदालतको मिति २०७१।३।३२ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं.को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई पेसीको सूचा दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७१।११।१९ मा भएको आदेश ।

मकवानपुर जिल्ला अदालतबाट मिति २०७१।३।३२ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७१।१२।२२ मा भएको फैसला ।

म निर्दोष बालक हाल कक्षा ९ मा 

पढ्दैछु । अब १ वर्षपछि मैले कलेज गई आफ्नो भविष्य रोजी सोहीअनुसार भविष्य निर्माण गर्ने समयमा पुनः बच्चा अवस्थाको विषयलाई लिएर ५ वर्ष ६ महिना कैद सजाय गर्दा मेरो जीवन नै समाप्‍त हुन्छ, अब २ वर्षपछि कैदमा गएर बस्नुपर्ने तथ्यलाई मानसिकरूपमा यातना मानेको छु, मैले भविष्य बनाउने समयमा जेल गएर बस्नुपर्‍यो भने मेरो भविष्य अन्धकार हुन्छ । एकछिनलाई मानौं बच्चाबेलामा मैले बिज्याइँ गरेको मान्दा पनि यस्ता फैसलाबाट बच्चाको सर्वोत्तम हित राज्यबाट भएको कदापि मानिँदैन । यदि अदालतबाट मलाई बिना कसुर पनि सजाय गरेरै छाड्ने हो भने अहिले नै सजाय कार्यान्वयन गरी बाल सुधार गृहमा पठाएको भए त बरू बाल सुधार गृहको सुविधा त मैले भोग्न पाउने थिएँ । बच्चामा गरेको बिज्याइँलाई अब २ वर्षपछि अपराध मानी कारागारमा बस्नु भनेको कठोरभन्दा कठोर यातना दिनु हो । कानूनको द्वन्द्वमा परेका बालबालिकाको अधिकारअन्तर्गत पनि कानूनको द्वन्द्वमा परेका बालबालिकाहरू दण्ड सजायभन्दा सुधारको भागी हुन्छन् । बालबालिकाले गर्ने बिज्याइँपूर्ण कार्य प्राय: उनीहरूको चाहना, इच्छा वा मनसायविपरीत हुने हुँदा क्रूर खालको सजाय र लामो समय प्रभाव पार्ने खालको सजाय दिन नहुने मान्यताअनुरूप न्यायप्रणालीको विकास भएको छ । तर अदालत जस्तो जिम्मेवार ठाउँबाट गरिएको यस्ता 

खाले फैसलाले बच्चाको मानसिकरूपमा नकारात्मक असर पारी भोली गएर राज्यप्रति नै पूर्वाग्राही राखी सुध्रनको सट्टा लामो समय गलत बाटोतर्फ उन्मुख गर्ने अवस्था आउँदछ । बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) मा तोकिएको सजायको अवधि कुनै व्यक्तिको संरक्षणमा रही व्यतित गर्नुपर्ने गरी तोक्न सक्नेछ भनी उल्लेख भएअनुरूप बुबाको संरक्षणमा रही तोकिएको सजाय भुक्तान गर्ने गरी तोक्नसक्ने अवस्था छँदाछँदै सो नगरी फैसला भएका मितिले २ वर्षको लागि सम्म स्थगन गरिदिएको छ भनी गरिएको फैसलाले मलाई साह्रै अन्याय भएको छ । वादी पक्षले प्रमाणको भार पूरा नगरेको अवस्थामा पनि मलाई कसुरदार ठहर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ वा कसुर ठहर हुँदाको अवस्थामा पनि बालबालिकासम्बन्धी ऐनको दफा ५०(२) बमोजिम नै बुबाको संरक्षणमा रही तोकिएको सजाय व्यतित गर्ने गरी सम्मानित अदालतबाट मुद्दाको फैसला गरी इन्साफ पाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी लक्ष्मण गौतमको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री चञ्‍चला कैनीले वारदात भएको ३ दिनपछि जाहेरी परेको 

छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कन्याजाली सामान्य रहेको भन्‍ने उल्लेख भएकोले पुनरावेदकले करणी गरेको भन्‍ने  देखिँदैन । प्रतिवादी लक्ष्मण गौतमले आरोपित कसुर गरेकोमा इन्कार रही बयान गरेका र निजका साक्षीको बकपत्रबाट सो इन्कारी पुष्टि भइरहेको अवस्थामा निजलाई कसुरदार ठहर गरी भएको सुरू अदालत तथा पुनरावेदन अदालतको फैसला उल्टी भई नाबालकलाई सफाई हुनुपर्दछ भन्‍नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२२ को फैसला मिलेको छ, छैन? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी लक्ष्मण गौतमले वर्ष ४ की नाम परिवर्तित ३१(क-६) लाई मकैबारीमा लगी योनिमा औंला हाली पछि जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीलाई जबरजस्ती करणीको महलको १ र ९(क) नं.को कसुरमा ऐ.को ३(१) र ९(क) नं.बमोजिम सजाय गरी पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्‍ने अभियोग दाबी भएकोमा सुरू मकवानपुर जिल्ला अदालतबाट प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(१) बमोजिम १० वर्ष कैद ऐ.को ९(क) नं.बमोजिम थप १ वर्ष सजाय हुनेमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा ५ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरी क्षतिपूर्तिबापत रू.१०,०००।– नाबालिकाले भराई पाउने ठहर्‍याएको तथा प्रतिवादी नाबालक भएकोले हाललाई फैसला भएका मितिले २ वर्षको लागि सम्म सजाय स्थगन गरी फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन परी सुरूको फैसला सदर हुने गरी फैसला भएकोमा उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

३. पुनरावेदकले पुनरावेदन पत्रमा वादी पक्षले शंकारहित रूपमा अभियोग दाबी पुष्टि गर्न नसकेको अवस्थामा कसुरदार ठहर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी गरी सफाई दिलाई पाउँ भन्‍ने मुख्य पुनरावेदन जिकिर लिएको पाइन्छ । तत्सम्बन्धमा विचार गर्दा, पीडितकी आमा नाम परिवर्तित ३१(क-५) ले मेरो छोरीलाई प्रतिवादी लक्ष्मण गौतमले मिति २०७१।१।२३ गते मकैबारीमा लगी योनिमा औंला पसाई खेलाएको र जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भनी प्रहरी कार्यालयमा दिएको जाहेरी दरखास्तअनुसार अनुसन्धान तहकिकात प्रारम्भ भई पीडितको स्वास्थ्य परीक्षण गराइएको र सोही प्रतिवेदनमा निजको योनिको पछाडिको भागमा १ सेन्टिमिटर लामो च्यातिएको घाउ रहेको भन्‍ने उल्लेख भएको छ । पीडितले मेरो योनिमा प्रतिवादीले औंला हाली खेलाई आफ्नो लिङ्ग मेरो योनिमा पसाएको भनी कागज गरेको देखिन्छ र सो व्यहोरा पुष्टि हुने गरी निजले अदालतमा बकपत्र गरेको देखिएको छ । त्यसैगरी जाहेरवालीले पनि मौकामा आफूले दिएको जाहेरी दरखास्तअनुकूलको बकपत्र गरेको मिसिलबाट देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिए पनि अनुसन्धानको क्रममा बयान गर्दा जाहेरवालाकी छोरीलाई मकैको खेतमा लगी निजको योनिमा औंला छिराई खेलाएपछि करणी गर्न मन लागेकोले आफ्नो लिङ्ग छिराउन खोज्दा निज रोएकी भनी व्यहोरा लेखाएको देखिन्छ ।

४. यसरी प्रतिवादीउपर किटानी जाहेरी परी सो पुष्टि हुने गरी जाहेरवालाले बकपत्र गरेकी, पीडितले पनि मौकाको कागज समर्थन गरी अदालतमा आई बकपत्र गरेकी, जाहेरी दरखास्तको व्यहोरालाई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले समर्थन गरेको हुँदा यसले जाहेरी दरखास्तको व्यहोरा तथा पीडितको कागजलाई खम्बिर बनाएको अवस्था छ । वारदातको देखि जान्‍ने मात्र  होइन, भोगीजान्‍ने साक्षी पीडित स्वयम्‌ले अदालतमा उपस्थित भई बकपत्र गरेको र सो बकपत्रले जाहेरी दरखास्तमा उल्लिखित व्यहोरालाई समर्थन गरेकोले त्यसले प्रमाणिक मूल्य पाउने कुरालाई नकार्न मिल्दैन । कुनै बालिकाउपर जबरजस्ती करणीको वारदात घट्नु भनेको निजको भावी जीवन, इज्जत, मान, प्रतिष्ठामा नकारात्मक प्रभाव पर्ने स्थितिको सृजना हुनु हो । यस्तो मुद्दाको वारदातमा देखिजान्‍ने साक्षीको अभाव रहने भएकोले पीडितलाई नै प्रत्यक्षद्रष्टा साक्षीको रूपमा मान्‍नु पर्ने हुन्छ । त्यसैले पीडितको बकपत्र, जाहेरवालीको बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदनलगायतका माथि विवेचित आधार, प्रमाण तथा कारणहरूबाट वर्ष ४ की नाबालिकालाई यी प्रतिवादीले अप्राकृतिक मैथुन गरेको जबरजस्ती करणीको महलको ९(क) नं. मा उल्लिखित कानूनी व्यवस्थाको रोहबाट जबरजस्ती करणी गरेको मानी प्रतिवादीले अभियोग दाबीबमोजिमको आरोपित कसुर गरेका हुन् भन्‍ने प्रमाणित भएकोले प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला अन्यथा नभई मनासिब देखिन आयो ।

५. उपर्युक्तानुसार प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिएकोले प्रतिवादीको उमेरलाई विचार गरी यी प्रतिवादी नाबालक भएकोले जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैद र ऐ. महलको ९(क) नं.बमोजिम थप १ वर्ष ६ महिनासमेत हुने ठहर गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार सोको आधा सजाय ५ वर्ष ६ महिना कैद हुने ठहर गरी हाललाई फैसला भएको मितिले २ वर्षको लागि सजाय स्थगन गरेकोतर्फ विचार गर्दा, प्रतिवादीलाई भएको उक्त सजाय कार्यान्वयन गर्न निजको उमेर पुगेको नदेखिएको, निज प्रतिवादी शिक्षोपार्जन गर्ने उमेरको भएको र अध्ययनरत रहेकोसमेत देखिएकोले उक्त बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) बमोजिम प्रतिवादीलाई बाबुको जिम्मामा रहने गरी दुई वर्षको लागि स्थगन गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेकै देखिन आयो ।

६. अतः प्रतिवादी लक्ष्मण गौतमलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणी र अप्राकृतिक मैथुनको कसुर अपराधमा कसुरदार ठहर गरी जबरजस्ती करणीको महलको ३(१) नं.बमोजिम १० वर्ष कैद र ऐ.महलको ९(क) नं.बमोजिम थप १ वर्ष ६ महिना कैद सजाय हुनेमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सोको आधा सजाय ५ वर्ष ६ महिना कैद हुने र पीडितले प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.१०,०००।– भराई लिन पाउने ठहर्‍याई हाललाई निज प्रतिवादीलाई बाबुको जिम्मामा रहने गरी दुई वर्षको लागि माथि उल्लिखित सजाय स्थगन गर्ने गरेको सुरूको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१२।२२ को फैसला मिलेको देखिँदा उक्त फैसला उल्टी गरिपाउँ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर तथा निजको तर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीको बहससँग सहमत हुन सकिएन ।

७. तसर्थ, उपर्युक्त विवेचित प्रमाणहरूको आधारमा पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७१।१२।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. मीरा खड्का

 

इजलास अधिकृत: शिवहरी पौड्याल

इति संवत् २०७४ कात्तिक २६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु