शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९१३ - अङ्ग भङ्ग

भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

फैसला मिति : २०७४।७।२६

 

मुद्दा : अङ्ग भङ्ग

 

०६७-CR-०२२८

पुनरावेदक / वादी : सिंगमान लामाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्‍चोक मंगलटार गाउँ विकास समिति वडा नं. २ बस्‍ने बहादुरसिंह तामाङ

 

०६८-CR-१४२८

पुनरावेदक / प्रतिवादी : काभ्रे पलाञ्‍चोक जिल्ला मंगलटार गाउँ विकास समिति वडा नं. २ बस्‍ने इन्द्रबहादुर तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : सिंगमान लामाको जाहेरीले नेपाल सरकार

 

कुटपिटबाट परेको घा चोटको सम्बन्धमा शरीरमा तत्कालै वा लामो समयमावधिसम्म वा जीवन भरी पर्ने शारीरिक मानसिक पीडालाई समेत अंगभंगको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अंगभंगको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्नसक्ने अवस्था भएपनि अंगभंगको खत ठहर्न सक्‍ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अंगमा परेको घा चोटबाट तत्‍काल सो व्यक्तिलाई परेको शारीरिक मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नु पर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अंगभंगको खत ठहर्दैन भनी व्याख्या गरिनु मुलुकी ऐन कुटपिटको महलको २ नं को कानूनी व्यवस्थाले मिल्ने नदेखिने ।

(प्रकरण नं.५)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता सोमकान्त भण्डारी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता देवीप्रसाद दाहाल

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने:

माननीय न्यायाधीश श्री केसवप्रसाद मैनाली

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

 

फैसला

न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य, जिकिर एवम् फैसला यसप्रकार छः

मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर तामाङसमेतले लालमान तामाङलाई धारिलो हतियारले कुटपिट गरी घाइते बनाई हाल बनेपा अस्पतालमा भर्ना गराइएको भन्‍ने जानकारी प्रतिवेदन ।

मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर तामाङ, बहादुरसिंह तामाङसमेतले मेरो भाइ लालमान तामाङ लामालाई धारिलो हतियारले काटी अंगभंग गराएको हुँदा निजहरू उपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको २०५७।६।२९ को सिंगमान लामाको जाहेरी ।

मिति २०५७।६।२३ गते वारदात हुँदा प्रयोग गरेको खुकुरी तथा तरबार बरामद गरेको मुचुल्का, घटनास्थलमा रगतका छिर्का दागहरू भेटिएको भन्‍ने घटनास्थल मुचुल्का ।

मिति २०५७।६।२३ गतेको दिन जाहेरवालाको भाइ लालमान लामालाई इन्द्रबहादुर तामाङ र बहादुर सिंह तामाङले हातमा तरबार तथा खुकुरीसमेत लिई हिर्काई लालमान तामाङलाई काटी घाइते बनाई अंगभंग गराएका हुन् भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।१ गतेको तिमाल सिं वाइबाले गरेको कागज । 

मिति २०५७।६।२३ गतेका दिन दिउसो लालमान लामाले मलाई एक्‍कासी लाठी मुड्कीले हिर्काएकोले मैले सहन नसकी मेरो आफ्नो घरमा गई तरबार तथा खुकुरीसमेत लिई गुहार लगाउँदै निज लालमान लामालाई शरीरमा तरबारले हिर्काउँदा मेरो दाजु बहादुर सिंह तामाङ पनि आई मेरो हातमा भएको खुकुरी खोसी निज लालमान लामालाई प्रहार गरी घाइते बनाएपछि हामी दुवै दाजुभाइ भागी गएको अवस्थामा पछि मलाई प्रहरीले पक्राउ गरेको हो भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।३ मा इन्द्रबहादुर तामाङले प्रहरीसमक्ष गरेको बयान ।

मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर तामाङ र बहादुर सिंह तामाङले लालमान लामालाई खुकुरी तथा तरबारले प्रहार गरी घाइते बनाएका हुन् भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।४ को ज्ञानबहादुर वाइबाको कागज । 

घाइते लालमान लामाको बायाँ नाडी, टाउकोमा समेत काटिएको चोट भएको भन्‍ने उल्लेख भएको घाउँजाँच केस फाराम ।

मिति २०५७।६।२३ गतेका दिन दिउसो जाहेरवालाको भाइ लालमान लामालाई इन्द्रबहादुर र बहादुर सिंह तामाङले धारिलो हतियारले काटी घाइते बनाएका हुन् भन्‍नेसमेत व्यहोराको जालिक सिंह र श्री कुमार वाइबाको कागज । 

मिति २०५७।६।२३ गतेका दिन दिउसो इन्द्रबहादुर र बहादुर सिंह तामाङले तरबार तथा खुकुरीसमेतले मेरो शरीरको विभिन्‍न भागमा प्रहारगरी मलाई घाइते बनाएको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।१५ गतेको घाइते लालमान लामाले गरी दिएको कागज ।

मिति २०५७।६।२३ गते अभियुक्तद्वय इन्द्रबहादुर तामाङ र बहादुर सिंह तामाङले छलफलमा सरिक रहेका पीडित घाइते लालमान तामाङलाई धारिलो तरबार तथा खुकुरीले प्रहारगरी घाउकेस फाराम तथा शिरमेमोरियल अस्पतालको प्रतिवेदनमा उल्लिखित गम्भीर प्रकृतिको घाउचोट पुर्‍याई बायाँ हातको नाडी काटी हाड छिनाली मुलुकी ऐन कुटपिट महलको १ र २ नं. मा वर्णित कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजहरूलाई सोही ऐनको सोही महलको ६ नं.अनुसारको मागदाबीसमेतको व्यहोरा उल्लेख भएको मिति २०५७।७।२२ को अभियोग पत्र । 

म कोठाको झ्यालबाट हामफाली घर आएँ । घर आएर बसेपछि घरबाट निस्की भनी लालमानले भने र गाली बेइज्जतिसमेत गरी त्यसरी घरमै आई बेइज्जती गरेको हुँदा सहन नसकी मेरो घरमा रहेको तरबारले लालमानलाइ हिर्काएको हुँ । मेरो घरबाट बरामद भएको दशीको रूपमा दाखिला गरेको खुकुरी र तरबार मेरो हो भन्‍नेसमेत व्यहोराको मिति २०५७।७।२२ को इन्द्रबहादुर तामाङले अदालतसमक्ष गरेको बयान ।

म घटनास्थलमा खुकुरी लिएर गएको भन्‍ने भनाई झुठा हो । मलाई राजनीतिक मनमुटावका कारणले उजुरी दिएको हो।भाइ इन्द्रबहादुरले अंशको रिसइवीले पोल गरेको होला । म घटनास्थलमा नभएकोले घटना भए नभएको र कसले के कुन हतियार प्रयोग गरे मलाई थाहा भएन । म निर्दोष हुँदा मैले सफाई पाउनु पर्छ भन्‍नेसमेत व्यहोराको प्रतिवादी बहादुर सिंह तामाङले मिति २०५८।२।२८ मा अदालतमा गरेको बयान ।

म भाग्न खोज्दा बहादुर सिंह लामा र इन्द्रबहादुर तामाङ दुवैजनाले शरीरका विभिन्‍न भागमा जथाभावी प्रहार गरी हस्पिटलमा लामो उपचारपछि बाहिरी चोट निको भए पनि भित्र दुखिरहन्छ । बहादुर सिंह घटनास्थलमै थियो । उसैले मलाई पहिलो प्रहार गरेको थियो । उपचारको लागि हस्पिटलमा थिए भन्‍ने कागजात पेस गरेकोमा ती सब झुठा हुन् भन्‍नेसमेत व्यहोराको लालमान तामाङको मिति २०५८।६।३ गतेको बकपत्र ।

जाहेरवालाका भाइलाई मिति२०५७।६।२३ गते इन्द्रबहादुरले तरबारले र बहादुर सिंहले खुकुरीले प्रहार गरी बायाँ हातको नाडी छिनाई शारीरिक विभिन्‍न भागमा समेत चोट पुर्‍याएका हुन् भन्‍नेसमेत व्यहोराको श्री कुमार वाइबाको बकपत्र । 

म स्वयम् घटनास्थलमा थिएँ । निजहरूले हतियार लिई पिछा गरेका थिए । सो समयमा बहादुर सिंह हस्पिटल भर्ना भएका थिएनन् घटनास्थलमै थिए भन्‍नेसमेत व्यहोराको संगमान लामाको मिति २०५८।६।३ मा अदालतमा गरेको बकपत्र ।

इन्द्रबहादुर तामाङ र बहादुर सिंह लामाले तरबार तथा खुकुरीले प्रहार गरी शरीरका विभिन्‍न भागमा घा चोट पुर्‍याई अंगभंग तुल्याएका हुन् । घटना हुँदा म घटनास्थलमै थिएँ र घटना प्रत्यक्ष देखेको थिएँ भन्‍नेसमेत व्यहोराको मिति २०५८।६।४ मा तिमाल सिंले अदालतमा गरेको बकपत्र ।

लालमान तामाङलाई पहिले बहादुर सिंहले खुकुरीले र पछि इन्द्रबहादुरले तरबारले प्रहार गरेका हुन् । म घटना हुँदा प्रताप सिंहको घरमा थिएँ र मैले प्रत्यक्ष देखेको हुँ भन्‍नेसमेत व्यहोराको भिमबहादुर तामाङले मिति २०५८।६।४ मा अदालतमा गरेको बकपत्र ।

केटीको विषयमा झगडा हुन थालेपछि म प्रताप सिंको घरबाट भागेको थिएँ । तरबारले हाने नहानेको मलाई थाहा भएन भन्‍नेसमेत व्यहोराको मिति २०५८।६।४ मा राम सिंह तामाङले अदालतमा गरेको बकपत्र ।

हतियार प्रहार भएको मेरा नजरले देख्‍न पाइन । छलफल हुँदा लालमानले इन्द्रबहादुरलाई लात्ता मुड्कीले प्रहार गरेपश्‍चात् इन्द्रबहादुर मेरो घरको झ्यालबाट भागेपश्‍चात समेत गाली बेइज्जती गरेपछि यो घटना घटेको रहेछ भन्‍नेसमेत व्यहोराको मिति २०५८।६।४ मा प्रताप सिंले  गरेको बकपत्र ।

पेट दुख्यो भनी बहादुर सिंह तामाङ मिति २०५७।६।२१ गते मेरो घरमा बास बस्‍न आउनु भएकाले मिति २०५७।६।२२ गते मैले उनलाई वीर अस्पतालको इमर्जेन्सीमा लगी भर्ना गरिदिएको हुँ भन्‍नेसमेत व्यहोराको मिति २०५८।६।४ गते रामेश्वर श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

वीर अस्पताल Report हेर्दा कुनै पनि अंग विकम्मा भएको नदेखिएकोले कुटपिटको ६ नं. आकर्षित नभएर ७ नं. आकर्षित हुने ठहर्छ । तसर्थ प्रतिवादीमध्ये इन्द्रबहादुर तामाङलाई ऐ.ऐ बमोजिम ६ महिना मात्र कैद तथा रू.२०००।– जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादी बहादुर सिंह तामाङले लिएको अन्यत्र स्थितिको प्रमाणको भार निजले पुर्‍याउन सकेकोले निजले पूर्ण सफाई पाउने 

ठहर्छ । पीडितले प्रतिवादी इन्द्रबहादुर तामाङबाट पेस भएको बिलबमोजिम भरी लिन पाउने ठहर्छ भन्‍नेसमेत व्यहोराको काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको मिति २०६१।११।१० को फैसला । 

बायाँ हातको नाडी काटी हाड छिनाली मुलुकी ऐन, कुटपिटको महलको १ नं. २ नं. मा वर्णित कसुर अपराध गरेको हुँदा प्रतिवादीहरूलाई सोही महलको ६ नं. अनुसारको सजायको माग दाबी लिई अभियोग पत्र दायर गरिएकोमा प्रतिवादी इन्द्रबहादुर तामाङलाई माग दाबीभन्दा बाहिर गई सोही महलको ७ नं. बमोजिमको कसुर ठहर गरेको र प्रतिवादी बहादुर सिंह तामाङलाई कसुर अभियोगबाट सफाई दिएको काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको मिति २०६१।११।१० को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदन पत्र । 

यसमा प्रतिवादीहरू उपर कुटपिटको महलको ६ नं. अन्तर्गतको दाबी लिई वादी पक्षबाट अभियोग पत्र दायर भएकोमा सो ऐनअनुसार प्रतिवादीहरूले कसुर गरको हो होइन निष्कर्षमा पुगी निर्णय गर्नुपर्नेमा सोबमोजिम नगरी स.मु.स.ऐनको अनुसूचीभित्र नै नपर्ने कुटपिटको महलको ७ नं. अनुसार प्र. ईन्द्रबहादुर तामाङलाई सजाय गर्ने गरेको र वीर अस्पतालमा वारदात हुँदाको बखत प्र.बहादुर सिंह तामाङले उपचार गरेको हो होइन त्यसतर्फ समेत यकिनरूपले छानबिन नगरी निज प्रतिवादीलाई कसुरबाट सफाई दिने गरेको सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको फैसला फरक पर्न सक्‍ने हुँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई दुई वर्ष पुग्न लागेका मुद्दा हुँदा प्रतिवादीहरूको नाउँको म्याद यथासिघ्र तामेल गर्ने गराउने व्यवस्था मिलाई नियमानुसार गरी छिटो पेसी तोकी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०६४।६।६।१ को आदेश ।

इन्द्रबहादुर तामाङले पीडित लालमान तामाङलाई तरबारले बायाँ हातमा काटी नाडीको हड्डी पूरै भाची अंगभंग हुने गरी कुटपिट गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी इन्द्रबहादुर तामाङलाई कुटपिटको ६ नं. बमोजिम २ वर्ष कैदको सजाय हुने ठहर्छ । प्रतिवादी बहादुर सिंह तामाङलाई आरोपित कसुरबाट सफाई दिने गरी भएको सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको फैसला सो हदसम्म मिलेकै देखिँदा अभियोग माग दाबीबमोजिम निज प्रतिवादी बहादुर सिंह तामाङलाई समेत सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्‍दैन भन्‍नेसमेत व्यहोराको मिति २०६६।०७।१९ गतेको पुनरावेदन अदालत, पाटनको फैसला । 

पीडित लालमान तामाङलाई मैले बायाँ हातको नाडीको हड्‍डी पूरै भाँचिने गरी तरबारले हानेको होइन । डाक्टरको रिपोर्टमा सामान्य क्षतिसम्म पुगेको भनी लेखिएको छ । पीडितलाई लागेको घाउ खत सामान्य उपचारपछि नै पूर्णरूपमा निको भएको अवस्था छ । पीडित स्वयंले यसले यस्तो हतियार यति नापको घाउ खत लगाएको भनी भन्‍नसकेको 

छैनन् । मेरो पीडित लालमान तामाङसँग पूर्व कुनै रिसइवी छैन । मैले निजलाई कुटपिट गर्ने कुनै मनसाय राखेको पनि छैन । कुटपिट गर्ने कुनै योजना षडयन्त्र गरेको पनि छैन । कोहीसँग मिली कुटपिट गरेको पनि होइन । छलफलबाट उठी घर फर्किसकेपछि त्यहीँसम्म आई चोट छोड्न लाग्दा तत्काल त्यसको जोखिमी बचाउनका लागि दोहोरोरूपमा सामान्य कुटपिट सम्म भएको हो । अङ्गभङ्ग वा ठूलो शारीरिक चोट पीडा हुने गरी कुनै कुटपिटको वारदात गरे भएकै छैन, होइन । मिसिल संलग्न संकलित कागजातहरू तथा डाक्टरको कुनै रिपोर्टबाट पीडितको नाडीको हड्डी पुरै भाँचिने गरी अंगभंग भएको भन्‍ने तथ्य कुनै पुष्टि भएको पनि 

छैन । तसर्थ विल्कुलै गलत तथा भ्रामक तर्क बुँदाहरूका आधारमा अंगभंग हुने गरी कुटपिट गरेको तथ्य पुष्टि भएको भन्‍ने पुनरावेदन अदालत, पाटनको फैसला घोर अन्याय पूर्ण एवम् प्रचलित कानून प्रतिकूल रहेको छ । 

मैले पीडितलाई कुटपिटको २ नं. बमोजिमको कुनै कसुर अपराध नगरेको हुँदा सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको मिति २०६१।११।१० को फैसला उल्टी गरी उक्त कुटपिटको २ नं. को कसुर गरेको भनी कुटपिट कै ६ नं. बमोजिम मलाई अभियोग माग दाबीबमोजिम २ वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।१९ को फैसला गम्भीररूपमा कानूनी त्रुटिपूर्ण फैसला हुँदा सो फैसला उल्टी गरी प्रत्यर्थीको अभियोग माग दाबीबमोजिम सजाय नहुने ठहर गरी अलग फुर्सद दिलाई पूर्णरूपमा न्याय इन्साफ दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको इन्द्रबहादुर तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रतिवादी बहादुर सिंह तामाङ मौकामा फरार रही अदालतमा हाजिर भई बयान गर्दा Alibi को जिकिर लिई वारदातका समयमा वीर अस्पतालमा उपचार गराई रहेकोले वारदातस्थलमा नभएको भनेका छन् । मूलतः फौजदारी कसुरमा Alibi को जिकिर लिनेले सो कुरा शंकारहित ढंगले प्रमाणित गर्नुपर्ने हुन्छ । वारदातको समयमा आफू कुन रोग लागी के को उपचारको लागि वीर अस्पतालमा गएको हो सो समयमा निजको सहयोग कसले गरेको हो, साथै वारदातपछि लामो समयसम्म घर बाहिरै किन बस्‍नु परेको हो भन्‍ने तथ्यहरू स्पष्टरूपमा स्थापित भएको अवस्था छैन । त्यसप्रकार प्रतिवादीले Alibi का सन्दर्भमा लिएका जिकिरहरू कसुरबाट सफाई पाउन सृजित झुठ्ठा एवं बनावटी कथन हुन् भन्‍ने देखिन्छ । मूलतः प्रतिवादीका घरबाट रगत लागेको खुकुरी बरामद भएको र प्रताप सिंह तामाङको घरको भुइँतलामा रगत जमेको र भित्तामा रगतका छिटा लागेकी चित्रित घटना प्रकृतिबाटै उक्त वारदात छलफल भइरहेको बेलामा घटित भएको तथ्य स्थापित भई प्रत्यक्षदर्शीहरूको बकपत्र कथनहरू खम्बिर भइरहेकोमा प्रतिवादीको कथित Alibi लाई आधार मानी भएको फैसला “ने.का.प २०४५ नि.नं. ३६१३ पृ. १०४” र “ने.का.प. २०५५ नि.नं. ६५४४ पृ. २५७” मा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकुल हुँदा उक्त फैसला त्रुटिपूर्ण छ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी बहादुर सिंह तामाङसमेत भई खुकुरी प्रहार गरी अङ्गभङ्ग भएको तथ्य पीडितको कागज, जाहेरी दरखास्त तथा बुझिएका मानिसहरूको कथनबाट देखिन आएको छ । प्रतिवादी इन्द्रबहादुर तामाङले अनुसन्धानका क्रममा बयान गर्दा बहादुर सिंह तामाङउपर समेत पोल गरेको देखिएको छ । पीडित,जाहेरवाला लगायतका वादी पक्षका साक्षीहरूको बकपत्र व्यहोराबाट अभियोग दाबी समर्थित भएको देखिएको र निज प्रतिवादी बहादुर सिंह तामाङले लिएको Alibi को जिकिर तथ्ययुक्त रूपमा प्रमाणित भएको अवस्था देखिएन । यसैगरी कसुरदार ठहर भएका पुनरावेदक / प्रतिवादी इन्द्रबहादुर तामाङको सम्बन्धमा हेर्दा पीडितको घाउचोट निको भइसकेको सन्दर्भमा घाउचोटको प्रकृतिको दृष्टिले कुटपिटको महलको २, ६ र ७ नं. को व्याख्यासम्बन्धी प्रश्‍न समावेश रहेको देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम छलफलको प्रयोजनार्थ ०६७-CR-०२२८ को मुद्दामा प्रत्यर्थी बहादुर सिंह तामाङलाई झिकाई आएपछि वा अवधि व्यतित भएपछि र ०६८-CR-१४२८ को मुद्दा महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्‍नेसमेत व्यहोराको मिति २०७४।०३।०४ गतेको यस अदालतको    आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले अभियुक्तद्वय इन्द्रबहादुर तामाङ र बहादुर सिंह तामाङले पीडित घाइते लालमान तामाङलाई धारिलो तरबार तथा खुकुरीले प्रहार गरी घाउ केस फाराम तथा शिरमेमोरियल अस्पतालको प्रतिवेदनमा उल्लिखित गम्भीर प्रकृतिको घाउचोट पुर्‍याइ बायाँ हातको नाडी काटी हाड छिनाली मुलुकी ऐन कुटपिट महलको १ र २ नं. मा वर्णित कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजहरूलाई सोही ऐनको सोही महलको ६ नं.अनुसारको सजाय गरिपाउँ भनी र पुनरावेदक प्रतिवादी इन्द्रबहादुर तामाङको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री देवीप्रसाद दाहालले लालमानउपर पुनरावेदकको पहिला कुनै रिसइवी नभएको कुटपिट गर्ने कुनै मनसाय नभएको निज लालमान तामाङले इन्द्रबहादुर तामाङलाई एक्‍कासी लाठी मुड्कीले हिर्काएकोले सो सहन नसकी बचाउको लागि प्रतिरक्षाको सिलसिलामा सामान्य चोट परेकोले अभियोग दाबीबमोजिम सजाय गर्नुपर्ने होइन भन्ने व्यहोराको बहससमेत सुनियो । 

यसमा सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतबाट मिति २०६१।११।१० मा प्रतिवादी इन्द्रबहादुर तामाङलाई कुटपिटको ७ नं. बमोजिम ६ महिना कैद र २,०००।– जरिवाना तथा प्रतिवादी बहादुर सिंह तामाङलाई सफाई दिने गरी भएको फैसलाउपर नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा प्रतिवादी इन्द्रबहादुर तामाङलाई कुटपिटको ६ नं. बमोजिम २ वर्ष कैदको सजाय हुने र बहादुर सिंह तामाङको हकमा सुरू जिल्ला अदालतले सफाई दिने गरेको फैसला सदर गर्ने ठहर्‍याई भएको फैसलाउपर अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको र सफाई दिलाई पाउँ भनी ईन्द्रबहादुर तामाङको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

अब पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा प्र.इन्द्रबहादुर तामाङले लालमान तामाङलाई तरबारले शरीरको विभिन्‍न अंगमा प्रहार गरेको भन्‍ने जाहेरी दरखास्तमा उल्लेख भएको र पीडित लालमानको मौकामा भएको घा केस फाराममा निजको देब्रे हातको नाडी टाउको लगायत शरीरको विभिन्‍न अंगमा Fracture (भाचिएको) काटिएको भन्‍ने देखिन आएको छ । अधिकारप्राप्त अधिकारी र अदालतमा समेत निज प्र.इन्द्रबहादुर तामाङले पीडित लालमान तामाङलाई तरबारले पटकपटक प्रहार गरेको हुँ भनी साबिती भई बयान गरेको पाईन्छ । निजले गरेको साबिती बयान, घरबाट रगत लागेको तरबार बरामद भएको बरामदी मुचुल्का तथा पीडित लालमानको घा केस फारमसमेतबाट पुष्टि भएको हुँदा प्रतिवादी इन्द्रबहादुर तामाङले तरबारले लालमान तामाङलाई कुटपिट गरेको प्रमाणित भएको देखिन्छ । मिसिल संलग्न पीडित लालमानको मिति २०५७।६।२३ को शिर मेमोरियल अस्पताल बनेपामा गरेको बायाँ हात भाँचिएको एक्स रे जिल्ला सरकारी वकिल कार्यालयको मिति २०५८।६।५ को पत्रसाथ प्राप्त भएको सो एक्स रे हेर्दा हातको हड्डी पूरै छिनेको स्पष्ट देखिन्छ । पीडितले अदालतमा बकपत्र गर्दा बायाँ हातको हड्डी पूरै काटिएर छिनिएकोले स्टीलको प्लेटिङ गरी हड्डीलाई सपोर्ट दिएको छ भनी उल्लेख गरेको देखिन्छ ।

३. जिल्ला सरकारी वकिल कार्यालय, काभ्रेपलाञ्‍चोकको मिति २०५९।३।५ को पत्रसाथ प्राप्त पीडित लालमानको मिति २०५९।१।९ को उपचारपछि भएको एक्सरे हेर्दा निजको हड्डी भाँचिएको भागमा स्टीलको प्लेट रहेको देखिन्छ । अतः निज पीडितको बायाँ हातमा तरबारको प्रहारबाट नाडीको हड्डी पूरै रूपमा भाँचिएको भन्‍ने एक्सरे रिपोर्टबाट देखिन्छ । साथै निज पीडितको वीर अस्पतालबाट परीक्षण भई प्राप्त जिल्ला सरकारी वकिल कार्यालय, काभ्रेपलाञ्‍चोकको मिति २०६१।४।१५ को पत्र साथ रहेको जाँच परीक्षण O.P.D Ticket हेर्दा बायाँ हातको औंलाहरू उठ्न बाँकी भएको बाहेक नाडी पूर्णरूपले ठीक भइसकेको छ । हाल ठीक अवस्थामै छ । एक्सरेमा भाँचेको हाड जोडिसकेको देखिँदा सो हात काम लाग्ने हुन्छ भनी विशेषज्ञ चिकित्सकले लेखिदिएको देखिँदा पीडितको बायाँ नाडीको भाँचिएको हड्‍डी निको भई काम लाग्ने अवस्थामा रहेको देखिन्छ ।

४. मुलुकी ऐन कुटपिटको महलको २ नं. मा मेरूदण्ड, डडाल्न, हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा परिदिएमा समेत अंगभंगको खत ठहर्ने भनी कानूनी व्यवस्था भएको पाइन्छ । पीडित लालमानको बायाँ हातमा सांघातिक हतियार तरबारले प्रहार गरी कुटपिट गरेको र सोही कुटपिटको कारण नै पीडित लालमानको बायाँ हातको नाडीको हड्डी पूरै रूपमा भाँचिएको भन्‍ने घा जाँच परीक्षण प्रतिवेदन, एक्सरेसमेतबाट देखिन आएको छ । अंगभंगको खतको हकमा सोही महलको ६ नं. मा “खत निको भई काम लाग्ने भएमा” भन्‍ने उल्लेख छ । यसप्रकार अंगभंगको खत हुने गरी भएको कुटपिटमा निको भई काम लाग्ने हुनसक्ने भनी कानूनले नै स्पष्ट गरिदिएको देखिन्छ । 

५. कुटपिटबाट परेको घाँ चोटको सम्बन्धमा शरीरमा तत्कालै वा लामो समयमावधिसम्म वा जीवनभरी पर्ने शारीरिक मानसिक पीडालाई समेत अंगभंगको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अंगभंगको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्नसक्ने अवस्था भएपनि अंगभंगको खत ठहर्न सक्‍ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अंगमा परेको घा चोटबाट तत्‍काल सो व्यक्तिलाई परेको शारीरिक मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नु पर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अंगभंगको खत ठहर्दैन भनी व्याख्या गरिनु उक्त कानूनी व्यवस्थाले मिल्ने देखिँदैन । अतः प्रतिवादी इन्द्रबहादुर तामाङले पीडित लालमान तामाङलाई तरबारले बायाँ हातमा काटी नाडीको हड्डी पूरै भाँचिने गरी कुटपिट गरेको उक्त प्रमाणको विवेचनाबाट पुष्टि हुन आएकोले प्रस्तुत मुद्दाको कुटपिट वारदातबाट पीडित लालमानलाई परेको घा चोटको प्रकृतिबाट प्रस्तुत कुटपिटको कसुर कुटपिट महलको २ नं.मा उल्लिखित अंगभंगको खतअन्तर्गत नै पर्ने भई निज प्र.इन्द्र बहादुर तामाङले अभियोग दाबीबमोजिम कुटपिटको २ नं. बमोजिम कसुर गरेको देखिन आयो । 

६. अर्का प्रतिवादी बहादुर सिंह तामाङ उपरको पुनरावेदन जिकिरतर्फ विचार गर्दा निज आफू वारदात मिति २०५७।६।२३ मा ‍औषधि उपचारको लागि वीर अस्पतालको इमरजेन्सीमा भर्ना भई उपचार गराइरहेको भनी वारदातको अवस्थामा अन्यत्र रहेको Plea of Alibe को जिकिर लिई दाबीको कसुरमा इन्कारी भई बयान गरेको देखिन्छ । अदालतको बयानमा निजले मिति २०५७।६।२२ को वीर अस्पतालको इमरजेन्सी टिकटको फोटोकपी पेस गरेका छन् । सो टिकटमा स्लाईन Doxt समेतका औषधि उपचार भएको र २०५७।६।२४ मा डिस्चार्ज भएको भनी जनिएको देखिएको छ । यस सम्बन्धमा वीर अस्पतालमा बुझ्दा वीर अस्पतालको मिति २०५८।६।१२ को पत्रमा बहादुर सिंह तामाङको सो मितिमा नाम दर्ता भएको र उपचार प्रमाणित प्रतिलिपि निजले जाँच परीक्षण उपचार गराउँदा लिएको टिकट सक्‍कल सम्बन्धित व्यक्तिले नै लाने गरेको भनी उल्लेख भएको 

देखन्छ । निज प्रतिवादी बहादुर सिंह तामाङ वारदातको मितिमा वीर अस्पतालको इमरजेन्सी वार्डमा उपचार गराइरहेको भन्‍ने कुरा उक्त कागजातहरूबाट पुष्टि हुन आएकोले निज प्रतिवादीले वारदातको अवस्थामा आफू अन्यत्र रहेको भनी लिएको जिकिर प्रमाणित भई आएको देखिन्छ ।

७. हतियारहरू बरामद हुँदा तरबारमा रगत लागेको, खुकुरीले यी प्रतिवादीले प्रहार गरेको भन्‍ने जाहेरीसमेतमा उल्लेख भए पनि एकै स्थानबाट बरामद भएको खुकुरीमा रगत लागेको भनी बरामदी मुचुल्कामा जनिएको छैन । निज प्रतिवादीले आरोपित कसुर गरेको भन्‍ने पुष्टि हुने प्रमाण वादी पक्षबाट आउन नसकेको र कसुरमा इन्कारी भई निज प्रतिवादीले लिएको Ple Of Alibi को जिकिर अस्पतालको रेकर्डबाट समेत समर्थित हुन आएकोले आरोपित कसुरबाट प्रतिवादी बहादुर सिंह तामाङले सफाई पाउने गरी भएको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । 

८. अतः उक्त आधार प्रमाणहरूको विवेचनाबाट प्रतिवादी इन्द्र बहादुर तामाङले पीडित लालमान तामाङलाई तरबारले बायाँ हातमा काटी नाडीको हड्डी पूरै भाँची अंगभंग हुने गरी कुटपिट गरेको पुष्टि हुन आएकोले निज प्र.इन्द्रबहादुर तामाङले अभियोग माग दाबीबमोजिम कुटपिटको २ नं बमोजिम कसुर गरेको हुँदा सो भाचिएको हड्डी निको भई काम लाग्ने अवस्थामा रहेको भनी चिकित्सकको जाँच प्रतिवेदनबाट देखिन आएकोले निज प्रतिवादी इन्द्रबहादुर तामाङलाई कुटपिटको ७ नं. बमोजिम सजाय गर्ने गरेको फैसला केही उल्टी गरी कुटपिटको ६ नं. बमोजिम २ वर्ष कैदको सजाय हुने ठहर्‍याई र प्रतिवादीबहादुर सिंह तामाङका हकमा आरोपित कसुरबाट सफाई दिने गरी भएको सुरू काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखियो । अभियोग माग दाबी बमोजिम निज प्रतिवादी बहादुर सिंह तामाङलाई समेत सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र अभियोग दाबीबाट सफाई पाउँ भन्ने प्रतिवादी ईन्द्रबहादुर तामाङको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

९. तसर्थः प्रतिवादी ईन्द्रबहादुर तामाङलाई कुटपिटको महलको ६ नं.बमोजिम २ वर्ष कैदको सजाय र प्रतिवादी बहादुर सिंहको हकमा सफाई दिने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी र प्रतिवादी ईन्द्रबहादुर तामाङको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत: जयराम श्रेष्ठ

इति संवत् २०७४ कार्तिक २६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु