निर्णय नं. ९९१४ - जग्गा खिचोला चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७४।७।६
०६८-CI-०२५७
मुद्दाः- जग्गा खिचोला चलन
पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, भगहा गा.वि.स.वडा नं.९ बस्ने टैटा बाँतरको छोरा भुल्ला बाँतरसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : महोत्तरी जिल्ला, भगहा गा.वि.स. वडा नं.९ बस्ने स्व.रामशङ्कर पाठककी श्रीमती अम्बिकादेवी पाठक
कुनै पनि जग्गामा व्यक्तिको हक हो होइन भन्ने कुरालाई हेर्ने मापदण्ड भनेको साबिकको हकको स्रोत, जसमा पहाडतर्फ भए पाखो जग्गामा मुखियामार्फत तिरो बुझाएको, खेत भए जिम्मावालद्वारा तिरो बुझाएको र तराइतर्फ जिमदारद्वारा तिरो बुझाएको देखिनु पर्छ । कुनै पनि जग्गाको साबिकको माटो मुरी, कोदाले, लगत दर्ता पोता, तिरो बुझाएको लगत रहेको देखिनु पर्छ । साबिक मुरी पाथी माना भन्नेलाई ०२१ सालपछि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम ७ नं. फाँटवारी भरेको, सर्भे भएको ठाउँमा नापीको फिल्डबुकमा आफ्ना हकको स्रोतसमेत देखिने गरी दर्ता गराइएको देखिनुपर्छ । त्यसरी तराइतर्फ मधेस मालसवालबमोजिम र पहाडतर्फ साबिकको कानूनबमोजिम आआफ्नो जग्गाको लगत राखिएको देखिनु पर्ने ।
आफ्नो हक नै नभएको जग्गा भोग गर्दैमा सो जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक स्थापित हुनसक्ने अवस्था नआउने ।
(प्रकरण नं.२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
भूमिसम्बन्धी ऐन, २०२१
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा
माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर
फैसला
न्या.हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन अदालत, जनकपुरको मिति २०६७/०९/१९ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
म फिरादीको हक भोगको ऐलानी गाउँब्लकको सर्भे नापी नभएको जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ९ को बेंचन बाँतरका जग्गादेखि पूर्व, विपक्षी टैटा बाँतरदेखि उत्तर-पूर्व रामपृत बाँतर र म फिरादीको नम्बरी जग्गादेखि दक्षिण, मधुसुदन सिंह राजपुत र साबित्री पुडासैनीको नम्बरी जग्गादेखि पश्चिम चन्दर बाँतर र बाटोदेखि उत्तरको करिब ०–२–० मा पहिले वादीको दलान र गोठघर
थियो । पछि सो गोठघर उजारी सो जग्गामा तरकारी बाली लगाई आएको थिएँ । उक्त उल्लिखित जग्गामध्ये पश्चिम दक्षिणतर्फबाट ०–०–६ जग्गामा विपक्षीले जबरजस्ती घर बनाई लिएकोमा निज विपक्षीउपर २०६३ साल दे. नं. १७१४ को घर उठाई जग्गा चलन चलाई पाउँ भन्ने मुद्दा दायर गरी कार्यवाही अवस्थामा छ । सो मुद्दामा २०६४।१।१९ गतेका दिन नापनक्सा भइसकेको छ । नापनक्सा हुँदा मेरो दाबीको ०–२–० जग्गा ०–०–१३ कायम भएको छ । जसको नक्सा नम्बर ६, ७, ८ हो । विपक्षले घर बनाएको भनेको जग्गा न. नं. ७, ८ मा ०–०–५–१० जग्गा कायम भएको छ । दे.नं.१७१५ को मुद्दामा नापनक्सा गर्ने आदेश भइसकेपछि नापनक्सा डोर कर्मचारी जानुअगावै मिति ०६४।१।१० गतेका दिन दिउँसो ३ बजेको समयमा न. नं. ६ को ०–१–८–३ जग्गा विपक्षीले कब्जा गरी खिचोला गर्नु भएकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादीको फिराद पत्र ।
विपक्षी वादीले हामी प्रतिवादीसमेत उपर २०६३ सालको दे. नं. १७१४ को घर उठाई चलन मुद्दा दिनुभएकोमा हामी प्रतिवादी टैटा बाँतरसमेतले आफ्नो हक भोग बसोबासको प्रमाण व्यहोरा खुलाई प्रतिउत्तर फिराएका छौं । सो प्रतिउत्तर व्यहोरालाई यस मुद्दाको प्रतिउत्तर मानी सँगसाथ राखी न्याय निरूपण गरिपाऊँ । जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वडा नं. ९ कपुरगंजमा पर्ने साबिक नापी नभएको गाउँ ब्लकभित्रका बाँतर जातिको मात्र बस्ती भएको गाउँ ब्लकभित्रको जग्गा हो । हामी प्रतिवादीको घर जग्गा जिल्ला महोत्तरी भंगहा गाउँ विकास समिति वार्ड नं. ९ मा बेचन बाँतर सोपूर्व मधुसुधन सिंहको नम्बरी जग्गा रामपृत बाँतरले मोहीमा कमाई आएको जग्गा र साबित्री देवीको नम्बरी जग्गादेखि दक्षिण पश्चिम, घुरन बाँतर, विन्देश्वर बाँतर र निज वादीका नम्बरी खेत जग्गादेखि दक्षिण सडक र चन्दर बाँतर सो उत्तरको चार किल्लाभित्रमा पर्ने घरद्वार बसोबास तरकारी बारीसमेतको घर जग्गा पूर्वपश्चिम ७३ फिट उत्तर दक्षिण ७२’३३” फिटको बाँसको टाटी खरको छाना भएको पश्चिम मुखको १ घर हामी प्रतिवादीमध्येका टैटा बाँतरको बुबा प्रकाश बाँतरले साबिकदेखि नै घर बनाई बसोबास भोग चलन गरी धेरै वर्ष अधिदेखि बसोबास गर्दै आएका छौ । हाम्रो बुबा तथा बाजेको पालादेखि बसोबास जग्गामा गैरकानूनीपूर्वक आफ्नो हक भनी दायर गरेको फिरादपत्र खारेजभागी छ, खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र ।
प्रतिवादीले प्रतिउत्तरसाथ पेस गरेको २०६२।१०।४ को सर्जमिन मुचुल्काबाट सो मिति पूर्वदेखि नै विवादको जग्गामा प्रतिवादीहरूको हक भोग रहेको भन्ने देखिन आइरहेको अवस्था देखिन आएकोमा सो मुद्दामा कार्यवाहीमा सरिक रही आएका पक्षले नक्सा तैयार हुनुपूर्व मिति ०६४।१।१० मा विवादित जग्गामा खिचोला गरेको भनी लिएको दाबी लगाउको दे.नं.१७१४ को मुद्दामा लिएको आधारसमेतबाट समर्थित हुनसक्ने अवस्था देखिन नआएबाट खिचोला मेटाई पाउँ भन्ने वादी दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको महोत्तरी जिल्ला अदालतको मिति ०६४।८।१० गतेको फैसला ।
वादी दाबीको जग्गा मेरो साबिक कि. नं. ११ को ०–२–० नम्बरी जग्गा पछि सर्भे नापी हुँदा गाउँ ब्लकभित्र परी नापी हुन नसकेको कारणले ऐलानीसरह देखिए तापनि कानूनी हैसियत भन्ने पूर्ववत् नम्बरीसरह नै रहेको छ । उक्त जग्गा प्रतिवादीको बाबु बाजेकै पालादेखि थियो भन्ने कुराको पुष्टि हुने प्रमाण पेस गर्नसकेको छैन गाउँ विकास समितिले गरिदिएको मुचुल्का सिफारिसलाई प्रमाणमा ग्रहण गरी भए गरेको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी वादी दाबीअनुसार गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा २०६४।१।१० मा विपक्षीहरूले मेरो जग्गामा खिचोला गरे भन्ने वादीको भनाई भएको र सो मितिमा वादीको जग्गामा खिचोला गरे नगरेको के
हो ? सोतर्फ प्रमाणै नबुझी वादी दाबी पुग्न सक्दैन भनी सुरूले प्रस्तुत मुद्दामा गरेको फैसला फरक पर्नसक्ने भएकोले अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु साथै अर्को पक्ष आएमा निजको र निज नआएमा पुनरावेदकको साक्षीलाई कानूनबमोजिम झिकाई बकपत्र गराउन पेस गरी नियमबमोजिम प्रस्तुत मुद्दा पेस गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति ०६६।११।२३ गतेको आदेश ।
दाबीको जग्गा वादीकै हक भोगको जग्गा हो, सो जग्गामा पश्चिमतर्फबाट अं.५।६ धुर जग्गामा प्रतिवादीले घर बनाएकोमा अदालतमा मुद्दा दिएकोमा सो मुद्दामा नापनक्सा हुनुभन्दा १०।१२ दिनअगाडि बाँकी जग्गामा पनि प्रतिवादीले कब्जा गरी लिएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षीहरू दयालाल सिंह र महेश्वरप्रसाद साह तेलीले पुनरावेदन अदालत, जनकपुरमा गरेको बकपत्र ।
दाबीको जग्गामा प्रतिवादीहरूको बाबु बाजेका पालादेखि नै घर बसोबास गरी आएको हो भन्नेसमेत व्यहोराको प्रत्यर्थी प्रतिवादीका साक्षीहरू चन्दर बाँतर र रामजुलुम बाँतरले पुनरावेदन अदालत, जनकपुरमा गरेको बकपत्र ।
दाबीको जग्गामा खिचोला गरेको क्रिया जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको आधारमा देखिएको भन्ने त्यस्तो प्रमाणिक महत्त्व नभएको कागजको आधारमा दाबी गरेको क्रियालाई मुद्दा गर्नुपर्ने कारण परेको समय भनी मान्न सकिने अवस्था नरहेको र अदालतको आदेशअनुसार नक्सा हुँदाको अवस्थामा दाबी लिएको क्रिया नै आधिकारिकरूपमा कानूनबमोजिमको मुद्दा गर्नुपर्ने कारण परेको देखिँदा र सो व्यवहार नै खिचोलाको प्रारम्भ भएको देखिन आएको छ । प्रत्यर्थी प्रतिवादीको सो जग्गा खाली रहेको हुँदा उपयोग गरेको भन्ने भनाई रहेको अवस्थामा त्यसलाई भोगको आधारमा प्रत्यर्थी प्रतिवादीको ठहर गर्नु न्यायसङ्गत देखिएन । खिचोला ठहर गर्नुपर्नेमा दाबी पुग्न नसक्ने गरी भएको महोत्तरी जिल्ला अदालतको मिति ०६४।८।१० को फैसला मिलेको नहुँदा सो फैसला उल्टी भई दाबीबमोजिम खिचोला गरेको ठहर्छ भन्ने व्यहोराको मिति २०६७/०९/१९ को पुनरावेदन अदालत, जनकपुरको फैसला ।
वादीले सुरूमा प्रमाण पेस नगरी पुनरावेदन तहमा २९८३ सालको नापीमा कि.नं. ११ उल्लेख भएको भूमिसम्बन्धी ऐनको अनुसूची ७ मा उल्लेख भएको प्रमाण पेस गर्नुभएको छ । सो कि.नं. ११ को जग्गा कहाँको कति हो ? न.नं. ७ र कि.नं.११ बाट खुल्दैन । जबकि विवादित नापी नभएको ऐलानी जग्गा हो । ऐलानी जग्गाको प्रमाण भोग हो । उक्त जग्गामा म टैटा बाँतरको बाबु प्रकाश बाँतरकै पालामा घरद्वार बनाई भोग चलन गरी आएको प्रमाणका आधारमा मेरो दे.पु.नं. ०२४०९ को घर उठाई चलन मुद्दामा सुरूकै फैसला सदर गरी मेरो हक भोग घर ठहर गरी पु.वे.अ.ले मिति ०६७।९।१९ गते फैसला गरेको छ । सो मुद्दाबाट मेरो चलन हुने प्रमाणलाई मूल्याङ्कन नगरी अ.बं. ७२ नं. विपरीत रहेकोलाई प्रमाण ग्रहण गरी भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।१।१९ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू भूला बाँतर र टैटा बाँतरको संयुक्त पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा सुरू, रेकर्ड र निवेदनसहितको सक्कल मिसिल अध्ययन गरी हेर्दा, सुरू महोत्तरी जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहर्याई मिति २०६४।८।१० को फैसला उल्टी हुने ठहर्याई पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६७।९।१९ मा भएको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६७/९/१९ मा भएको फैसला मिलेको छ, छैन? यी पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. सो सन्दर्भमा हेर्दा, साबिक कि. नं. ११ को ०–२–० जग्गामा प्रतिवादीहरूले खिचोला गरेकाले सो खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादी दाबी रहेको र सो जग्गा ऐलानी हुँदा साबिकदेखि नै घरबास बनाई भोग चलन गरी आएको भन्ने प्रतिउत्तर जिकिर रहेकोमा प्रत्यर्थी वादीले आफ्नो हकको स्रोत १९८३ को नापीमा कि. नं. ११ उल्लेख भएको सो जग्गा भूमिसम्बन्धी ऐनको अनुसूची ७ भर्दा उल्लेख गरेको भनी पुनरावेदन गर्दाका अवस्थामा पुनरावेदन अदालत, जनकपुर ७ नं. अनुसूचीसमेतको प्रतिलिपि पेस गरेको देखिन्छ । सो साबिक कि. नं. ११ को जग्गा वादीको नभई अमुक स्रोतबाट प्राप्त हुन आएको मेरो हकभोगको हो भन्ने प्रतिवादीको जिकिर तथा सोअनुसारको प्रमाण पेस गर्न गुजार्न सकेको देखिँदैन । कुनै पनि जग्गामा व्यक्तिको हक हो होइन भन्ने कुरालाई हेर्ने मापदण्ड भनेको साबिकको हकको स्रोत, जसमा पहाडतर्फ भए पाखो जग्गामा मुखियामार्फत तिरो बुझाएको, खेत भए जिम्मावालद्वारा तिरो बुझाएको र तराइतर्फ जिमदारद्वारा तिरो बुझाएको देखिनु पर्छ । कुनै पनि जग्गाको साबिकको माटो मुरी, कोदाले, लगत दर्ता पोता, तिरो बुझाएको लगत रहेको देखिनु पर्छ । साबिक मुरी पाथी माना भन्नेलाई ०२१ सालपछि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम ७ नं.फाँटवारी भरेको, सर्भे भएको ठाउँमा नापीको फिल्डबुकमा आफ्ना हकको स्रोतसमेत देखिने गरी दर्ता गराइएको देखिनुपर्छ । त्यसरी तराइतर्फ मधेस मालसवालबमोजिम र पहाडतर्फ साबिकको कानूनबमोजिम आ-आफ्नो जग्गाको लगत राखिएको देखिनु पर्छ । सो जग्गा प्रत्यर्थी वादीको जग्गा नरहेको भन्ने यी पुनरावेदक प्रतिवादीहरूको जिकिर नरही मात्र ऐलानी जग्गा साबिकदेखि आफूले भोग गरेको कारणबाट आफ्नो हुने भनी जिकिर लिएको देखिन्छ । आफ्नो हक नै नभएको जग्गा भोग गर्दैमा सो जग्गामा यी पुनरावेदक प्रतिवादीहरूको हक स्थापित हुनसक्ने अवस्था आउँदैन । पुनरावेदक प्रतिवादीहरूको सो जग्गामा हक नरहेको, सो जग्गाको वरिपरि यी पुनरावेदक प्रतिवादीहरूको नम्बरी जग्गासमेत नरहेको र सो विवादित जग्गासँग प्रत्यर्थी वादीको नम्बरी जग्गासमेत रहे भएको अवस्थामा साबिक कि.नं. ११ को विवादित जग्गा प्रत्यर्थी वादीको नै भएको देखिएकाले सुरू महोत्तरी जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहर्याई भएको मिति २०६४।८।१० को फैसला उल्टी हुने ठहर्याई पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६७।९।१९ मा भएको फैसलालाई अन्यथा मान्नु पर्ने देखिएन ।
३. अतः माथि विवेचित आधार प्रमाणसमेतबाट साबिक कि.नं. ११ को ०-२-० जग्गा १९८३ सालमा नापी हुँदा प्रत्यर्थी वादीको नाममा नापी भएको तथा निजले भूमिसम्बन्धी नियमहरू, २०२१ को ७ नं. अनुसूची फारमसमेत भरेको र सो जग्गा वादीको नभई अमुक स्रोतबाट प्राप्त हुन आएको हाम्रो हकभोगको हो भन्ने प्रतिवादीहरूको जिकिर तथा सोअनुसारको प्रमाण पेस गर्न गुजार्न सकेको अवस्था नभई केवल मात्र ऐलानी जग्गा साबिकदेखि आफूले भोग गरेको कारणबाट आफ्नो हुने भनी जिकिर लिएको देखिँदा सुरू महोत्तरी जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहर्याई मिति २०६४।८।१० मा गरेको फैसला उल्टी हुने ठहर्याई उक्त साबिक कि.नं. ११ को जग्गामा प्रतिवादीहरूले गरेको खिचोला मेटाई वादीले चलन चलाई पाउने ठहर्याई पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६७।९।१९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत : शिवलाल पाण्डेय
इति संवत् २०७४ साल कार्तिक ६ गते रोज २ शुभम् ।