शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९१५ - डाँक लिलाम बदर

भाग: ५९ साल: २०७४ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।७।५

०७२-CI-१९०५

 

मुद्दाः डाँक लिलाम बदर

 

पुनरावेदक / वादी : धनुषा जिल्ला, सबैला गा.वि.स. वडा नं.५ मा बस्ने रामेश्‍वर नायक

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : धनुषा जिल्ला, सबैला गा.वि.स. वडा नं.५ मा बस्ने विशेश्‍वर नायकसमेत

 

सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्‍याउने हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् कानून र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी सारवान् कानूनलाई मात्र हेरी मुद्दाको कारबाही किनारा गर्न नमिल्ने ।

कार्यविधि प्राविधिक कुरा हो भनी मुद्दामा गुज्रेको तारिखलाई अनदेखा गर्ने हो भने यसले मुद्दाको काम कारबाहीमा गम्भीर असर पर्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र अधिवक्ता प्रकाशबहादुर के.सी.

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता रामबन्धु शर्मा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

ने.का.प. २०६५, अंक ९, नि.नं.८००८

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री रामकृष्ण खनाल

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित

माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई

 

फैसला

न्या.हरिकृष्ण कार्की : यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।६।२६ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम वादीको दोहोर्‍याई पाउँ निवेदन परी मिति २०७३।२।९ मा निस्सा भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-

पुनरावेदन अदालत, जनकपुरको मिति २०५६।६।४ को मिलापत्रबाट म वादीले आफ्नो हक अंशमा प्राप्‍त गरेको जि.ध. गा.वि.स. सबैला वडा नं. ९ कि.नं. ९२ को ०-४-२ र कि.नं. ३५६ को ०-९-१२ मध्ये दक्षिणबाट ०-५-१० जग्गा मैले आफ्‍नो नाउँमा दा.खा. नगराउँदै कि.नं. ३५९ को ०-९-१२ मध्ये दक्षिणबाट ०-५-१० विशेश्‍वर नायकले रामबाबुलाई लेखत गरी दिएको लेखत बदर मुद्दाबाट लेखत दर्ता बदर हुने ठहरी फैसला भई कि.नं. ३५९ कि.का. भई कि.नं. ४६२ को जग्गा रामबाबुका नाममा कायम भएको उक्त कि.नं. ४६२ को ०-५-१० जग्गामध्‍ये ०-३-० रामबाबुले विपिनकुमार महासेठलाई लेखत पारित गरी दिएकोमा पुनः कि.का. भई कि.नं. ४७९/४८० कायम भई कि.नं. ४७९ को ०-३-० जग्गाबाट पनि विपक्षी उमाशंकरले कि.नं. ४७९ को ०-३-१० मध्ये ०-३-२ लिलाम डाँक गराई लिई कि.नं. ७१९/७२० कायम भएको छ । विपक्षीहरूले मिलेमतो गरी कानूनविपरीत डाँक लिलाम गराएकाले मिति २०५५।४।८ को डाँक लिलाम बदर गरी उमाशंकरले संजय नायकलाई गरी दिएको लेखत र दर्तासमेत बदर गरिपाउँ भनी वादी रामेश्‍वर नायकले सुरू धनुषा जिल्ला अदालतमा दायर गरेको डाँक लिलाम बदर लिखत बदर दर्ता मुद्दामा प्रतिवादी तारेखमा रही मुद्दाको पुर्पक्ष गरी रहेको देखिएको र वादीलाई यस अदालतबाट तोकिएको मिति २०६७/१२/१७ को तारेख गुजारी ऐनले थाम्ने थमाउने म्यादसमेत व्यतित गरी बसेको तथा वादीको दाबीलाई प्रतिवादीले पूर्णरूपमा अस्वीकार गरेको देखिँदा प्रस्तुत मुद्दा दायर रहन नसकी अ.बं.१८५क नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्‍ने सुरू धनुषा जिल्ला अदालतको मिति २०६८/०३/०३ गतेको फैसला । 

म पुनरावेदक वादीले संवत् २०६७ साल दे.नं.३२४८, ३२०२ का मुद्दाहरूमा मिति २०६७/१२/१७ गते तोकी पाएको तारेखमा रूजु हाजिर रही आएको थिएँ । उक्त तथ्यको पुष्‍टि प्रमाणित तारेख पर्चाबाट स्पष्‍ट हुन्छ । तथापि अदालतले तोकी पाएको तारेख गुजारी सो थाम्न थमाउने म्यादसमेत गुज्रेको भनी सुरू अदालतले मेरो मुद्दा डिसमिस फैसला गरेबाट मुलुकी ऐन, अ.बं.१८५क नं. को कानूनी व्यवस्थासमेत विपरीत भए गरेकोले उक्त फैसला बदर गरी फिराद दाबीबमोजिम इन्साफ दिलाई पाउँ भन्‍ने व्यहोराको वादी रामेश्‍वर नायकको पुनरावेदन पत्र । 

प्रमाण मिसिलको रूपमा आएको २०६७ सालको दे.नं.३३०२ को मुद्दामा यी पुनरावेदक मिति २०६७/१२/१७ गते तारेखमा रहेको देखिएको साथै पुनरावेदकले पेस गरेको तारेख पर्चा (प्रतिलिपि) बाट पनि उक्त मितिमा तारेखमा रहेको भन्‍ने देखिँदा तारेख गुजारेको भन्‍ने आधारमा मुद्दा डिसमिस हुने गरी भएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने मिति २०७०/१२/२४ मा पुनरावेदन अदालत, जनकपुरबाट भएको आदेश । 

वादीले छुट्टाछुट्टै विषयको छुट्टाछुट्टै मुद्दा दायर गरेको र निज प्रस्तुत मुद्दाप्रति उदासिन रहेको पाइयो । यसरी आफ्नो अधिकारप्रति सचेत नरही तारेख गुजार्ने वादीलाई अदालतले मुद्दा त गर्न सक्ने देखिएन । तारेख भरपाइबाट यी वादीले तारेख गुजारेको देखिएबाट सुरू अदालतले डिसमिस गरेको फैसलालाई अन्यथा भन्‍न सकिएन । अतः सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६८/३/३ गते भएको डिसमिस फैसला सदर हुने ठहर्छ भन्‍ने मिति २०७१/६/२६ को पुनरावेदन अदालत, जनकपुरको फैसला ।

म निवेदकले दायर गरेको दे.नं. ३२४८, ३२०२, ३२०३ समेतका प्रत्येक मुद्दाहरूमा मिति २०६७।१२।१७ गते हाजिर हुने तारिख तोकी पाएको र मिति २०६७।१२।१७ गते धनुषा जिल्ला अदालतमा हाजिर रहेको अवस्थामा मुद्दाहरू छुट्टाछुट्टै विषयको रहे पनि एउटै फाँटमा एउटै फाँटवालामा सम्पूर्ण मुद्दाहरू रहेको र मेरो तारिख पर्चामा भनेको मितिमा उपस्थित रहेको तथ्य तारिख पर्चाबाट देखिएको अवस्थामा म निवेदक आफ्नो अधिकार र दायित्वप्रति हरहमेसा सचेत रही आफ्नो तारिखमा उपस्थित रहेकोमा अदालतको गल्तीबाट तारिख गुजारेको भनी मुद्दा डिसमिस फैसला गरेको पूर्णतया गलत एवं कानूनविपरीत हुँदा धनुषा जिल्ला अदालतको फैसलालाई सदर ठहर्‍याई गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला ने.का.प.२०५३ नि.नं. ६१४८ मा प्रतिपादित सिद्धान्तविपरीत रहेकाले उक्त फैसला बदर गरी मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने वादी वादी रामेश्‍वर नायकको निवेदन पत्र ।

यसमा विवादित जग्गाको डाँक लिलाम बदर मुद्दा र दर्ता बदर दुवै मुद्दाहरूमा यी वादी भई मुद्दा चलेको देखिन्छ । एकै दिन दुवै मुद्दाको तारिख तोकिएकोमा अड्डामा रहेको मिसिलमा वादीले तारिख नलिएको भन्‍ने आधारमा डिसमिस गरेको देखिए पनि दर्ता बदर मुद्दामा तारिखमा रही रहेको देखिएको र एकै दिन एउटा मुद्दामा तारिख लिने र अर्कोमा नलिने भन्‍ने अर्थ गर्दा मुद्दाका पक्षले आफ्ना हकलाई छाडेको भन्‍ने अर्थ गरी मुद्दाको औंचित्यमा प्रवेश नगरी मुद्दा डिसमिस भएकोलाई सदर गरेको फैसलामा अ.बं.१७९, १८४(क) र १८५, प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा यसै अदालतबाट ने.का.प.०६५ नि.नं.८००८ मा प्रतिपादित कानूनी सिद्धान्तको प्रतिकूल देखिँदा तथा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको 

छ । प्रस्तुत मुद्दाको सुरू, पुनरावेदन रेकर्ड मिसिल र भए प्रमाण मिसिलसमेत झिकाई विपक्षीलाई सूचना म्याद जारी गरी आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७३।२।९ को आदेश । 

नियमबमोजिम दैनिक तथा साप्‍ताहिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा    निवेदकबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतो र अधिवक्ता श्री प्रकाशबहादुर के.सी. ले तीनै मुद्दा एकै फाँटमा रहेकोमा मिति २०६७।१२।१७ को तारिख गुजारेको भनी डिसमिस फैसला गरेको सुरू धनुषा जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।६।२६ को फैसला सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा बदर हुनुपर्दछ भनी तथा विपक्षीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री रामबन्धु शर्माले मुद्दा लगाउमा नरहेको, दे.नं. ३२४८ र ३३०२ एक फाँटमा र ३३०३ अर्कै फाँटमा रही सबै मुद्दा एकै फाँटमा पनि नरहेको अवस्थामा तोकिएको तारिख वादीले गुजारेमा मुद्दा डिसमिस हुने कानूनी व्यवस्थाअनुसार डिसमिस फैसला भएको हुँदा पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।६।२६ को फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा सुरू, रेकर्ड र निवेदनसहितका सक्‍कल मिसिल कागजातहरू अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत, जनकपुरबाट मिति २०७१।६।२६ मा भएको फैसला मिलेको छ, छैन? यी निवेदकको निवेदन जिकिर पुग्‍न सक्‍ने हो, होइन? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. सो सन्दर्भमा हेर्दा, यी निवेदक वादीले दायर गरेको दे.नं. ३३०३ को डाँक लिलाम बदर लिखत बदर दर्ता मुद्दाको सुरू मिसिल सामेल रहेको तारिख भर्पाई हेर्दा यी निवेदकले मिति २०६७/१२/१७ को तारेखमा हाजिर नभई सो तारिख गुजारेको भनी प्रमाणित गरेको सो तारिख भर्पाईबाट देखिएको छ । सो मितिपश्‍चात् यी निवेदक उक्त मुद्दामा तारिखमा रहेको देखिँदैन भने सो मुद्दाका प्रतिवादीहरू विशेश्‍वर नायक र रामबाबु नायकका वारिस नियमितरूपमा हाजिर रही उक्त मुद्दा मिति २०६८।३।३ मा मुलुकी ऐन, अ.बं.१८५क नं. बमोजिम डिसमिस फैसला भएको देखिन्छ । सुरू सक्‍कल मिसिल हेर्दा दे.नं.३२४८ लिखत दर्ता बदर मुद्दासँग दे.नं. ३३०२ फैसला बदर मुद्दा साथै राख्‍ने गरी आदेश भएको र उक्त मुद्दाहरू एकै फाँटमा रहेका र फाँटवाला छत्र भनी उल्लेख भएको देखिन्छ भने दे.नं. ३३०३ को डाँक लिलाम बदर लिखत बदर दर्ता मुद्दा दे.नं.३२४८ र ३३०२ का मुद्दासँग साथै राख्‍ने गरी आदेश भएको देखिँदैन भने फाँटवालाको नाममा पनि नवोनारायण भनी उल्लेख भएको  देखिन्छ । यसबाट दे.नं.३२४८ र ३३०२ का मुद्दा र दे.नं. ३३०३ को मुद्दा लगाउमा एकैसाथ एकै फाँटमा रहेको भन्‍ने देखिँदैन ।

३. दे.नं. ३३०३ को मुद्दामा वादीको तारिख गुज्रेको अवस्थामा मुद्दा के हुने भन्‍ने सम्बन्धमा मुलुकी ऐनमा भएको कानूनी व्यवस्था हेर्दा, मुलुकी ऐन, अ.बं. १७९ मा "नेपाल सरकार वादी हुने मुद्दाबाहेक अरू मुद्दामा दुवै थरी झगडियाले तारिख गुजारेमा यसै महलको ५९ र ६२ नं. बमोजिम गुज्रेको तारिख थमाई पाउने म्यादपछि सो मुद्दा डिसमिस हुन्छ । डिसमिस गराएबापत वादीलाई निजले दाबी गरेको वा पोलेको कुरा साँचो नठहरे निजलाई हुनसक्ने सजायको प्रमाण नबुझ्‍दै भए सयकडा पाँच र प्रमाण बुझिसकेको भए सय कडा दश सजाय हुन्छ । डिसमिस भइसकेपछि त्यसै वादीको त्यसै प्रतिवादीउपर त्यसै कुरामा अर्को नालिस लाग्न सक्दैन । बेरीतसँग डिसमिस भएकोमा सो बेरीत भएको कुरामासम्म पैंतीस दिनभित्र पुनरावेदन लाग्‍न सक्छ ।" भन्‍ने व्यवस्था रहेको छ भने मुलुकी ऐन, अ.बं.१८५क. नं. मा "अड्डाले तोकेको कुनै एक थर झगडिया हाजिर हुन नआएमा सो गुज्रेको म्याद वा तारिख थाम्‍ने म्याद गुज्रेको पन्ध्र दिनभित्र अड्डाले देहायबमोजिम मुद्दाको कारबाही र किनारा गर्नुपर्छ" भन्‍ने व्यवस्था रहेको छ ।

वादी हाजिर रहेको तर प्रतिवादी हाजिर नरहेको भए वादीको सबुत प्रमाण सबै बुझी मिसिल सामेल रहेको वादी प्रतिवादीको सबै सबुत प्रमाण हेरी त्यसको आधारमा मुद्दा फैसला गर्नुपर्छः ...................................१

नेपाल सरकार वादी हुने मुद्दाबाहेक अरू मुद्दामा प्रतिवादी हाजिर भएको तर वादी हाजिर नभएकोमा प्रतिउत्तरपत्र र मिसिल सामेल रहेका अरू प्रमाणबाट प्रतिवादीले वादी दाबी पूरै वा आंशिक तवरले स्वीकार गरेको देखिन आएमा वा ठहरेमा सो हदसम्म इन्साफ गर्ने गरी र स्वीकार नगरेको वा नठहरेको हदसम्म डिसमिस गर्ने गरी मुद्दा फैसला गर्नुपर्छ .....................................२

माथि दफा २ बमोजिम आंशिक वा पूरै डिसमिस भएको मुद्दामा पूरै डिसमिस भएसरह यसै महलको १७९ नम्बरबमोजिम हुन्छ । डिसमिस गराएबापत हुने सजायका हकमा भने डिसमिस भएजति दाबीका हिसाबले मात्र सजाय हुन्छ .....................३

 

४. यसै सन्दर्भमा निवेदक प्रतिवादी प्रमोदकुमार चौधरी, विपक्षी वादी विनोदकुमार चौधरी भएको लिखत बदर दर्ता बदर दर्ता मुद्दा (ने.का.प. २०६५ अंक ९ नि.नं. ८००८) मा यस अदालतको पूर्ण इजलासबाट "एकै पटक दर्ता भएका वा अघि पछि दर्ता भएपनि मुद्दाको प्रकृतिको आधारवाट लगाउमा रहनु पर्ने देखिएमा पक्षको निवेदन वा अदालतको आदेशबमोजिम लगाउ रहेका मुद्दा / निवेदनमा कर्मचारीको भूल वा अन्य कारणबाट एउटामा तारिख दिएको र अर्कोमा तारिख दिन छुटेमा तारिख लिन छुटेको कारण उत्पन्‍न हुने परिणामबाट पक्षलाई असर पर्न  नहुने । अदालतमा उपस्थित भई एउटा मुद्दामा तारिख लिई लगाउ नभएका अरू मुद्दामा तारिख लिन छुट भएकोमा पक्षको भनाईको आधारमा लगाउमा नरहेका मुद्दामा गुज्रेको तारिख जहिलेसुकै पनि थामिन सक्छ भन्‍ने अर्थ गर्नु कानूनको उद्देश्यअनुरूप नहुने । अदालतको कर्मचारीले तारिख नदिएको वा अदालत व्यवस्थापनको कमजोरीका कारण पक्षको तारिख गुज्रन गएको अवस्था नभई मुद्दामा तारिख तोकिएको दिन र समयमा फाँटमा पक्ष वा वारेस नगई भूलबाट तारिख गुज्रन गएछ भनी लामो समय पश्चात तोकिएको तारिखका दिन अदालतमा अन्य असम्बन्धित मुद्दामा उपस्थित भएको प्रमाण प्रस्तुत गरेको आधारमा तारिख थाम्ने कार्य मुद्दामा तारिखको अवधारणाविपरीत हुने । मुद्दामा तारिखमा रहनु पर्ने पक्ष तोकिएको तारिख समयमा अदालतमा उपस्थित हुनुपर्ने र उपस्थित नभए उपस्थित हुन नसक्ने पक्षले त्यसबाट सिर्जित परिणामको असर भोग्नु पर्ने ।  के कस्तो कार्यका निमित्त अदालतले कहिले तारिख तोकेको छ र छैन भन्‍ने कुराको ख्याल राख्‍न सम्बन्धित पक्ष वा वारेसको कर्तव्य हुने । तारिखको अवधारणा अदालतको कार्यसूचीसँग गाँसिएको विषय भएबाट तोकिएको दिन अदालतमा उपस्थित भई तोकिएको कार्य गर्न तारिख लिनु न्यायिक कार्यसम्पादनभित्रको कुरा हुने ।" भनी मिति २०६५।९।३ मा सिद्धान्तसमेत प्रतिपादन भएको छ । सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्‍याउने 

हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् कानून र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी सारवान् कानूनलाई मात्र हेरी मुद्दाको कारबाही किनारा गर्न मिल्दैन । कार्यविधि प्राविधिक कुरा हो भनी मुद्दामा गुज्रेको तारिखलाई अनदेखा गर्ने हो भने यसले मुद्दाको काम कारबाहीमा गम्भीर असर पर्ने हुन्छ । प्रस्तुत मुद्दामा दोहोर्‍याउने निस्सा प्रदान गर्ने आदेश गर्दा प्रस्तुत मुद्दा अन्य मुद्दासँग लगाउमा एकैसाथ एकै फाँटमा रहेको भनी उल्लिखित नजिरनै उल्लेख भएको भएपनि सुरू सक्‍कल मिसिल हेर्दा प्रस्तुत मुद्दा अन्य मुद्दासँग लगाउमा एकैसाथ एकै फाँटमा रहेको नदेखिएकाले अदालतबाट तोकिएको तारिखमा हाजिर हुन नआई तारिख गुजारेको अवस्थामा मुलुकी ऐन, अ.बं.१८५क. नं. बमोजिम प्रस्तुत मुद्दा डिसमिस हुने गरी फैसला गरेको सुरू अदालतको फैसलामा कानूनी त्रुटि नदेखिएकाले सो फैसलालाई सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसलालाई अन्यथा मान्‍नु पर्ने देखिएन । 

५. अतः माथि विवेचित आधार प्रमाणसमेतबाट निवेदक वादी रामेश्‍वर नायकले अन्य लगाउका मुद्दामा सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६७।१२।१७ मा तोकेको तारिखमा हाजिर हुन आएको भए तापनि प्रस्तुत मुद्दाको तारिखमा हाजिर नभई तारिख गुजारेको भनी प्रमाणितसमेत भएको सुरू मिसिल सामेल रहेको तारिख भर्पाईबाट देखिएको र प्रस्तुत मुद्दा अन्य मुद्दासँग लगाउमा एकैसाथ एकै फाँटमा रहेको पनि नदेखिएको हुँदा प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं.१८५क. नं. बमोजिम डिसमिस हुने ठहर्‍याई सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६८।३।३ मा भएको फैसलामा कानूनी एवं कार्यविधिगत त्रुटि नदेखिएकाले सो फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।६।२६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । निवेदकको निवेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृत : शिवलाल पाण्डेय

इति संवत् २०७४ साल कार्तिक ५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु