निर्णय नं. ९९१८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७४।३।२९
मुद्दा: कर्तव्य ज्यान
०७१-CR-०३७८
पुनरावेदक / वादी : शान्तमाया वि.क. को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ बस्ने रनबहादुर सुनारको छोरा देव सुनारसमेत
०७१-CR-०५१३
पुनरावेदक / प्रतिवादी : रनबहादुर सुनारको छोरा जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ घर भई हाल पूर्वाञ्चल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैदमा रहेको वर्ष २४ को देव सुनार
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ बस्ने शान्तामाया वि.क. को जाहेरीले नेपाल सरकार
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. मा उल्लेख भएको “वचन दिने” कार्यको अर्थ सामान्य र सतहीरूपमा ग्रहण गरिनु हुँदैन । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनु पर्दछ । यसमा मनसाय तत्त्व र आदेशात्मक रूपमा वचन दिएको कार्यको विद्यमानता देखिनु पर्दछ । विषय र सन्दर्भअनुसार वचन दिएको कुराको मूल्याङ्कन गरिनु पर्ने ।
(प्रकरण नं.८)
अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गर्ने र सदर गर्ने कुरा विवादका पक्षले हक अधिकारको रूपमा प्रश्न उठाउने पुनरावेदनको विषय होइन । यो केवल विवादित तथ्य, घटनाक्रम, कसुर हुँदाको अवस्था, परिस्थिति, कसुरदारको मनसाय, भवितव्य हो कि भनी सन्देह गर्नुपर्ने अवस्था, कसुरदारले न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलगायतका विविध सामाजिक सन्दर्भहरूलाई मूल्याङ्कन गरी निरूपण गरिने अदालतको स्वविवेकाधिकारको विषय हो । त्यसैले अ.बं. १८८ नं. अनुसार राय व्यक्त गरिएको कुरालाई पुनरावेदनको विषयको रूपमा हेर्न नमिल्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता नारायण बहादुर थापा
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लव कुमार मैनाली, विद्वान् अधिवक्ता त्रिलोक बस्नेत
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री किशोर सिलवाल
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:
जिल्ला नवलपरासी गैंडाकोट गा.वि.स. वडा नं. ७ स्थित पूर्व खलेचौर जाने कच्ची बाटो, पश्चिम गैंडाकोट गा.वि.स. वडा नं. ९ थुम्सी जाने कच्ची बाटो, उत्तर जामुने सुनारी मगरको खेत र दक्षिण होमनाथ सुवेदीको खेत यति चार किल्लाभित्र पूर्व पश्चिम चार मिटरको कच्ची बाटो रहेको, उक्त बाटोको बीच दुई मिटरमा रगत जस्तो रातो पदार्थको टाटो रहेको, टाटोदेखि पश्चिम पाँच मिटरमा उत्तर दक्षिण गरी दुई फिट छ ईन्च लामो दाउरो रहेको, उक्त दाउरोको उत्तरतर्फको भाग ६ इन्च गोलाई र दक्षिणतर्फको भाग ४ ईन्च चौडाई रहेको, दाउरोको पूर्वतर्फको भाग काटिएको र उक्त रगत जस्तो रातो पदार्थको टाटोदेखि पश्चिम ६ फिट २ ईन्चमा पूर्वपश्चिम गरी २ फिट ३ ईन्च लामो बाँसको बिँड भएको फलामको कोदालो जमिनमा रहेको चार किल्लासहितको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६८।१२।११ गतेका दिन लेखबहादुर सुनारलाई रोमन सुनारले काठको मुङ्ग्रोले तिघ्रामा हानी ढलाएको र देव सुनारले फलामको कोदालोले धारतर्फबाट टाउकोमा हानी काटी रगताम्य बनाएको अवस्थामा तत्काल उपचारको लागि चितवन मेडिकल कलेजमा लगेकोमा उपचारको क्रममा सोही दिन साँझ मृत्यु भएको भन्ने व्यहोराको शान्तामाया वि.क.को निवेदन ।
मृतक लासको टाउकोको बीचमा कपाल खौरिएको सो स्थानमा घाउ भई पाँचवटा टाँका लगाएको, दुवै आँखा अर्धखुला, नाकबाट रगत जस्तो रातो पदार्थ निस्केको, दुवै कानबाट रगत निस्की सुकेको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।
मेरो छोरा लेखबहादुर सुनार मिति २०६८/१२/११ का दिन क्रियामा रहेका बहिनी लक्ष्मी बि.क.को घरमा गएको र भेट गरी अब उप्रान्त झै-झगडा नगरी मिली बस्नु भनी बहिनी ज्वाइँलाई सम्झाई बिदा मागी साइकल लिई डोर्याई पैदल घरतर्फ फर्कने क्रममा खगी सुनारले छोराहरूलाई उक्साई ज्यान मार्न वचन दिई पठाएकोमा रोमन सुनारले लेखबहादुर सुनारलाई काठको मुङ्ग्रोले तिघ्रामा हानी ढलाएको र देव सुनारले फलामको कोदालोले धारतर्फबाट टाउकोमा हानी काटी रगताम्य बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएकोले अन्यायीहरूलाई ज्यानसम्बन्धी महलबमोजिम हदैसम्म कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको मृतककी आमा शान्तामाया वि.क. ले दिएको जाहेरी दर्खास्त ।
म र मेरो दाई कुना बारी किरिया बसिरहेको अवस्थामा मेरी जेठी भाउजू लक्ष्मी सुनारको सहोदर दाई लेखबहादुर सुनार आई हामी दुवै भाइलाई अपशब्द प्रयोग गरी गाली गलौज गरी हातपातसमेत गरेपछि दाइले र मैले सम्झाउँदै घरतर्फ पठाउने क्रममा जामुने सुनारी मगरको घर अगाडिसम्म साइकल डोर्याई पैदल हिँडिरहेको अवस्थामा साइकल उचाली हान्न लागेपछि मैले नजिकै काठको दाउरो फेला पारी तिघ्रामा हानेपछि आमा घरको अगाडि उभिएको देखेको हुँ । तत्काल दाइले समेत जेठान लेखबहादुरको टाउकोमा कोदालोले हानेपछि निजलाई उपचारको लागि मेडिकल कलेज भरतपुरमा लगेको भन्ने सुनेको हुँ । जेठानको टाउकोको चोटको कारण मृत्यु भएको हो । दाइले दोस्रो विवाह गरेपछि लक्ष्मी भाउजू माइती घरमा बस्दै आउनुभएको थियो । दाइले पालनपोषण र हेरचाह नगरेको कारणले हामीसँग पूर्वरिसइवी तथा मनमुटाव भएकोले सो घटना भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रोमन सुनारको मौकाको बयान ।
म र मेरो भाइ रोमन सुनार कुना बारी किरिया बसिरहेको अवस्थामा मेरी जेठी श्रीमती लक्ष्मी सुनारको सहोदर दाई लेखबहादुर सुनार आई हामी दुवै भाइलाई अपशब्द प्रयोग गरी गाली गलौज गरी हातपातसमेत गरेपछि हामीले निजलाई सम्झाउँदै घरतर्फ पठाउने क्रममा जामुने सुनारी मगरको घर अगाडिसम्म साइकल डोर्याई पैदल हिँडिरहेको अवस्थामा साइकल उचाली मेरो भाइ रोमनलाई हान्न लागेपछि आमाले यस्तो मान्छेलाई ठीक पार्नुपर्छ भनेकीले मैले कोदालो लगी जेठान लेखबहादुरको टाउकोमा हानेपछि भुइँमा ढलेका हुन् । निजलाई उपचारको लागि मेडिकल कलेज भरतपुरमा लगेकोमा सोही साँझ उपचारको क्रममा मृत्यु भएको भन्ने सुनेको हुँ । जेठानको सोही चोटका कारण मृत्यु भएको हो । मैले दोस्रो विवाह गरेपछि जेठी श्रीमती माइती घरमा बस्दै आएकीमा मैले पालनपोषण र हेरचाह नगरेको कारणले हामीसँग पूर्वरिसइवी तथा मनमुटाव भएकोले सो घटना भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी देव सुनारको मौकाको बयान ।
मेरी जेठी बुहारीको दाई मेरो भदै नाता पर्ने लेखबहादुर सुनार हाम्रो घरमा आई कुनो बारी किरियामा बसिरहेका छोराहरूलाई अपशब्द गालीगलौज र हातपात गरेपछि छोराहरूले सम्झाउँदै घर पठाउने क्रममा जामुने सुनारी मगरको घर अगाडिसम्म साइकल डोर्याई पैदल हिँडिरहेको अवस्थामा निजले साइकल उचाली मेरो कान्छो छोरालाई हान्न लागेपछि छोरा रोमन सुनारले काठको दाउराले तिघ्रामा हानेको
हो । मैले कुनामा कोरा कपडामा बसेका छोराहरूलाई हातपात गर्नेलाई छोड्नु हुँदैन भनेपछि जेठा छोरा देव सुनारले टाउकोमा हानेपछि भदै लेखबहादुर सुनार भुइँमा ढलेको हो । निजलाई तत्काल उपचारको लागि मेडिकल कलेज भरतपुरमा लगेकोमा सोही साँझ निजको मृत्यु भएको हो । मेरो जेठो छोरा देव सुनारले दोस्रो विवाह गरेपछि जेठी बुहारी लक्ष्मी सुनारलाई हेरचाह तथा पालनपोषणसमेत नगरेको र निज बुहारी माइती घरमा बस्दै आएकीमा मनमुटाव रहेको र सोही कारणले उल्लिखित घटना घट्न गएको हो भन्नेसमेत व्यहोराको खगी सुनारको मौकाको बयान ।
Cause of death महलमा Head Injury भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन सुरू मिसिल सामेल रहेको ।
प्रतिवादी देव सुनार र रोमन सुनारले लेखबहादुर सुनारलाई कुटपिट गरेकामा सोही चोटको कारण निजको मृत्यु भएको हो र प्रतिवादीमध्येकी खगी सुनारले छोराहरूलाई कुटपिट गर्न उक्साएकी थिइन् भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको गान्धी सुनार, जामुने सुनार मगर, लक्ष्मी सुनारसमेतले गरी दिएको करिब एकै मिलान व्यहोराको घटना विवरण कागज ।
लेखबहादुर सुनार आफ्नो बहिनीको घरमा भेटघाटको लागि गएकोमा निज मृतक र निजको बहिनी ज्वाइँबीच सामान्य भनाभन भएकोमा सोपश्चात् लेखबहादुर आफ्नो साइकलमा चढी घरतर्फ जाने क्रममा प्रतिवादी रोमन सुनारले काठको लौरीले तिघ्रामा प्रहार गरेको र देव सुनारले टाउकोमा कोदालोले प्रहार गरी ढालेकामा चितवन मेडिकल कलेज भरतपुरमा लगी उपचार भइरहेकोमा निजको मृत्यु भएको हो भन्ने सुनी थाहा पाएको हुँ । सो घटना प्रतिवादी देव सुनारले दोस्रो विवाह गरेपछि दुवै पक्षका बीच रिसइवी तथा मनमुटाव भएको कारणले उक्त घटना घट्न गएको हो भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको सरस्वती घिमिरे, हर्कबहादुर सार्की र जगबहादुर परियारले गरेको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीमध्येका देव सुनारले मृतककी बहिनी लक्ष्मी सुनारलाई विवाह गरी पछि पुनः दोस्रो विवाह गरेकाले निज लक्ष्मीलाई खानलाउन तथा हेरविचार नगरी निज माइतीमा बस्ने गरेकी कारण मृतक लेखबहादुर सुनार र यी प्रतिवादीहरूका बीच पूर्वरिसइवी एवं वादविवाद परी आएकोमा प्रतिवादी देव सुनारको बाबुको मृत्यु भई क्रियामा रहेका आफ्ना बहिनी ज्वाइँसमेतलाई भेटघाट गर्न भनी मिति २०६८।१२।११ गतेका दिन बहिनी ज्वाइँका घरमा आएका लेखबहादुर सुनार र प्रतिवादीहरूबीच सो दिन पनि मृतकको बहिनीमाथि सौता हाली निजलाई हेला गरेको विषयमा झगडा भई आफ्नो साइकल लिई घर जान भनी हिँडेका लेखबहादुर सुनारलाई प्रतिवादीमध्येकी खगी सुनारले क्रिया बसेका बेला अर्ति दिनेलाई छोड्न हुँदैन भनी ज्यान मार्न वचन दिएपछि प्रतिवादी देव सुनार र रोमन सुनार बाटोमा गई ज्यान मार्ने उद्देश्यले काठको लौरो तथा कोदालोसमेतले लेखबहादुर सुनारको टाउकोसमेतका संवेदनशील अंगमा प्रहार गरी ढाली रगताम्ये अवस्थामा परेको चोटपीडाका कारण निजको मृत्यु भएको देखिँदा प्रतिवादीमध्येका देव सुनार र रोमन सुनारले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसुर अपराध गरेको स–प्रमाण पुष्टिभई आएको देखिँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम र प्रतिवादीमध्येकी खगी सुनारले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं. बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निज खगी सुनारलाई ऐ. महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।
जाहेरवाला मेरो सासु र मृतक जेठान
हुन् । निजहरूले मसँग रिस राखेका थिए । मेरो भने कुनै रिसइवी थिएन । मसमेत बाबुको किरिया बसिरहेको अवस्थामा मेरो जेठी श्रीमतीको दाजु लेखबहादुर आई जथाभावी गालीगलौज गरी तँ बल्ल घर आइस् अब तलाइँ ठीक पार्नुपर्छ भनी मैले क्रिया बस्दा लगाएको लुगा च्याती छेकी बारेको ठाउँमा लछारपछार पारी मसमेतलाई ढुंगाले हान्दा मेरो हातमा चोट लागेको
छ । हामीहरूले १३ दिनपछि कुरा गरौंला भनी निजलाई सम्झाई बुझाई गरेका थियौं । भाइ रोमनले समेत सम्झाई बुझाई तपाइँ घर जानुस् भन्दा भाइ रोमनलाई आफ्नो साइकल उठाएर हान्दा मैले जोगाउन भनी तत्काल त्यस ठाउँमा रहेको लौरो जस्तो लाग्छ, लौरो हो वा कोदालो निर्क्योल गर्न सकिन । बाबुको शोक र निज त्यहाँ आई विवाद झगडा गरेको तनावमा थिएँ । त्यसैबेला निज जेठान लेखबहादुरको साइकल प्रहारलाई रोक्न निजलाई सामान्यरूपमा धकेल्दा सो दुर्घटना हुन गएको हो र पछि मृत्यु भएको हो भनी पछि सुनेको हो । मैले कोदालो प्रहार गरे जस्तो लाग्दैन । दाउराले भाइ रोमनलाई हानेको साइकल प्रहारलाई रोक्न र बचाउन भनी छेकेर रोक्दा प्रयोग गरेको
हो । प्रत्यक्षरूपमा हानेको होइन । मौकाको बयान मैले भनेबमोजिम लेखिएको होइन । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी देव सुनारले सुरू अदालतसमक्ष गरेको बयान ।
जाहेरी व्यहोरा झुठ्ठा हो । हामीहरू बाबुको किरिया बसेको अवस्थामा दाजु देव सुनारका जेठान लेखबहादुर सुनार घरमा आई मेरो दाजुसमेत किरिया बसेको त्रिपालसमेत भत्काई ढुङ्गाले दाइलाई
हाने । हात मुक्काले समेत हानेका हुन् । १३ दिनपछि आउनु भनी निजलाई मैले सम्झाउँदा निजले अपशब्द प्रयोग गरी मलाई साइकलले हान्न खोज्दा मेरो दाजुले लाठीले साइकल छेक्दा लेखबहादुरको टाउकोमा लागेको हो । त्यसपछि लेखबहादुर भुइँमा ढलेका हुन् । पछि उपचारको क्रममा निजको मृत्यु भएको सुनेको हुँ । मैले लेखबहादुरलाई प्रहार गरेको होइन । हामीलाई फसाउन झुठ्ठा जाहेरी दिइएको
हो । उक्त अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रोमन सुनारले सुरू अदालतसमक्ष गरेको बयान ।
मृतक लेखबहादुर सुनार मेरो भदै नाता
पर्छ । सहप्रतिवादी मेरो छोराहरू हुन् । जाहेरी व्यहोरा झुठ्ठा हो । मलाई सो घटनाको बारेमा केही थाहा
छैन । मैले लेखबहादुरलाई मार्न वचन दिएको
होइन । सहप्रतिवादीहरूले हानेका, कुटेका हुन् होइनन् मलाई थाहा भएन । मेरो जेठा छोरा देव सुनारको दुई वटी श्रीमती हुन् । जेठी श्रीमती लक्ष्मीसँग राम्रो सम्बन्ध नभएपछि कान्छी श्रीमती विवाह गरी ल्याएको
थियो । त्यसपछि जेठी बुहारीको माइतीसँग झगडा भएको थियो । लेखबहादुर बीचबीचमा केटाहरू लिई मेरो घरमा आई धम्काउने गर्दथे । पछि लेखबहादुर र देव सुनारको बीच लडाई भई लेखबहादुर घाइते भएकाले अस्पताल लगेका छन् भन्ने थाहा पाएको
थिएँ । मौकाको मेरो भनिएको बयान व्यहोरा मलाई सुनाउँदा मैले भनेबमोजिम लेखिएको होइन । प्रहरीले आफैँ व्यहोरा लेखी मलाई सहिछाप गराएका हुन् । अभियोग दाबीबमोजिमको कसुर मैले गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी खगी सुनारले सुरू अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी देव सुनार र रोमन सुनारलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने, प्रतिवादी खगी सुनारलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्नेसमेत व्यहोराको सुरू अदालतबाट भएको मिति २०६९।१।१० को थुनछेक आदेश ।
प्रतिवादी देव सुनार, निजको भाइ रोमन सुनार र आमा खगी सुनारसमेत भई लट्ठी र कोदालोसमेतले हानी लेखबहादुर सुनारको हत्या गरेका हुन् । पहिले रोमन सुनारले लाठीले तिघ्रामा हानी ढलाए । त्यसपछि आमाले कोदालोले हान मार भनेर कोदालो जेठो छोरा देवलाई दिएकी र निज देव सुनारले कोदालोले थाप्लामा हानी मारेका हुन् । निजको टाउकोमा ठूलो चोट थियो । तिघ्रामा पनि चोट लागेको थियो । प्रतिवादी देवले अर्की श्रीमती पनि विवाह गरेका र मलाई हेला गरेका हुँदा २ वर्षदेखि माइतीमा बस्दै आएकी थिएँ । ससुराको मृत्यु हुँदा मलाई क्रिया बस्न बोलाएका थिए । म आमासँग क्रियामा सँगै थिएँ । मेरो दाजु लेखबहादुर मलाई भेट्न गएको बेला उनलाई मारेका हुन् । यी प्रतिवादीहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको वादी पक्षका साक्षी लक्ष्मी सुनारले सुरू अदालतसमक्ष उपस्थित भई गरेको बकपत्र ।
लेखबहादुर बहिनीलाई भेट्न भनी निजको घरमा जानुभएको थियो । बहिनीलाई भेटी घर फर्कँर्दै गर्दा पहिला रोमन सुनारले लाठीले हानी पल्टाए । त्यसपछि आमाले आफ्नो जेठो छोरा देव सुनारलाई कोदालो दिई मार्न लगाएकी र पहिलो चोटबाटै भुइँमा लडेका व्यक्तिलाई देव सुनारले कोदालोले हानेका थिए । सोको कारण उनको मृत्यु भएको हो । आमाले हान मारसमेत भनेकी थिइन भन्नेसमेत व्यहोराको जाहेरवाला शान्ता वि.क.ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मृतकलाई के कसरी चोट लाग्यो थाहा
भएन । निजको टाउकोमा चोट थियो । निजको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिवादीमध्येकी खगी सुनारले छोराहरूलाई उक्साउने र मार हान भन्ने जस्ता कुरा गरेकी होइनन् । प्रतिवादी देव सुनारसँग लट्ठी थियो । तर भाइ, आमाले चाहिँ मृतकलाई छोएका पनि थिएनन् । तसर्थ सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी राजु वि.क.ले गरेको बकपत्र ।
वारदातको समयमा म खगी सुनारको घरभित्रै थिएँ । बाहिर होहल्ला सुनपछि निस्कँदा घटना घटी सकेको थियो । घाइते लेखबहादुरलाई अलि पर लगिसकेका थिए । घटनामा खगी सुनार बाहिर आउनुभएको थिएन । निज उठ्ने हिँड्ने अवस्थामा हुनुहुन्नथ्यो । उहाँले छोराहरूलाई उक्साएर सो घटना घटाएको भन्ने जाहेरी व्यहोरा झुठ्ठा हो । खगी सुनार निर्दोष छिन् । निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको निजका साक्षी जैमायाँ चुदाराले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
भाइले मुडोले हानी पल्टाएको र दाइले कोदालोले हानी ढलाएको हो भन्नेसमेतको वादी पक्षकै साक्षी वीरबहादुर सुनारी मगरले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीमध्येका देव सुनारको प्रहारका कारण पीडितको मृत्यु भएको पुष्टि भएकोले प्रतिवादीमध्येका देव सुनारलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने
ठहर्छ । प्रतिवादीमध्येका रोमन सुनारले घटनामा नरहेको भनी इन्कार भई बयान गरेको स्थिति भएपनि निज उक्त वारदातस्थलमा रहेको अरू प्रतिवादीहरूले बयान गरेको स्थितिसमेत हुँदा सो वारदातको मतलबी भूमिकामा प्रतिवादी रोमन सुनार पनि रहे भएको देखिँदा यी प्रतिवादी रोमन सुनारलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कैद महिना ६ (छ) हुने ठहर्छ । प्रतिवादी खगी सुनारउपर ज्यान मार्न वचन दिने अभियोजन भएको भएपनि वचन दिएतर्फको प्रमाण वादी नेपाल सरकारको तर्फबाट सुरूदेखि नै प्रस्तुत गर्नसकेको नदेखिँदा यी प्रतिवादी खगी सुनारले आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९।६।१६ को फैसला ।
मसमेत पितृ शोकका कारण क्रियामा बसेको अवस्थामा मृतक स्वयं मेरो घरमा आई वादविवाद झै-झगडा गरी मृतकले मेरा आमा र भाइमाथि साइकल प्रहार गर्न खोज्दा मैले रोक्ने क्रममा लौराले लाग्न गई उक्त दुर्घटना हुन गएको हो । मैले कोदालोले मृतकलाई टाउकोमा हिर्काएको होइन, कोदालो दशीको रूपमा बरामद भएको छैन । दशीको रूपमा लौरी बरामद भएबाट समेत लौराले टाउकोमा लाग्न गई मृतकको मृत्यु भएको हुँदा ज्यानसम्बन्धी महलको ६ नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ. को १३ (३) नं. बमोजिम सजाय गर्ने गरेको सुरू फैसला त्रुटिपूर्ण रहेको छ । ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सजाय गर्न मनसाय तत्त्वको विद्यमानता हुनुपर्दछ । म क्रियामा बसेको अवस्थामा स्वयं मृतकका क्रियाकलापका कारण उक्त दुर्घटना भई मृतकको मृत्यु भएको हुँदा उक्त वारदात ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको वारदात हो । मेरा साक्षी राजु वि.क.ले गरेको बकपत्रलाई सुरू फैसलामा कुनै मूल्याङ्कन नै गरिएको छैन । सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न नजिर सिद्धान्तहरूको विपरीत ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम मलाई सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा ऐ.६ नं. बमोजिम सजाय हुने गरी न्याय इन्साफ पाउँ भन्नेसमेतको प्रतिवादी देव सुनारले पुनरावेदन अदालत, बुटवलसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
प्रतिवादी खगी सुनारले मृतक लेखबहादुरलाई ज्यान मार्ने वचन दिएपछि प्रतिवादी रोमन सुनारले मृतकको तिघ्रामा मुङ्ग्रोले हिर्काई भुइँमा ढालेपछि देव सुनारले टाउकोमा धारिलो कोदालोले प्रहार गरेको तथ्य जाहेरी दरखास्तलगायत लक्ष्मी सुनारले मौकामा गरेको कागजलाई निजले अदालतमा समेत बकपत्र गरी पुष्टि गरेकोमा सो बकपत्रको सुरू फैसलामा कुनै मूल्याङ्कन नै गरिएको छैन । मौकामा प्रतिवादीहरू उपर किटानी कागज गर्ने वीरबहादुर सुनारी मगर, देवीप्रसाद सापकोटासमेतको अदालतमा भएको बकपत्रलाई प्रमाणमा नलिई भएको सुरू फैसलामा प्रमाण ऐन २०३१ को दफा १० र १८ नं. को त्रुटि रहेको छ । प्रतिवादीहरूले मौकामा बयान गर्दा एक अर्कालाई पोल गरी बयान गरेका, प्रतिवादी रोमन सुनार र खगी सुनार वारदातस्थलमा रहेको तथ्यलाई सुरू फैसलाले स्वीकार गरेको, वारदातस्थलबाट कोदालो तथा काठको दाउरा (मुङ्ग्रो) बरामद भएको, मौकामा कागज गर्ने प्रत्यक्षदर्शीहरूको भनाईसमेतबाट प्रतिवादी खगीसराले ज्यान मार्न वचन दिने र प्रतिवादी रोमन सुनारले काठको मुङ्ग्रोले मृतकलाई हिर्काई भुइँमा ढाली प्रतिवादी देव सुनारले कोदालीले हिर्काएका कारण यी तीनै जना प्रतिवादीहरूको सामूहिक कार्यबाट मृतक लेखबहादुर सुनारको मृत्यु भएको तथ्य स्थापित भइरहेको अवस्थामा प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम सजाय गर्ने र प्र. खगी सुनारलाई अभियोग दाबीबाट सफाई दिने गरी भएको सुरू नवलपरासी जिल्ला अदालतको फैसला सो हदसम्म बदर गरी प्र. रोमन सुनार र प्र. खगी सुनारलाई समेत अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, बुटवलसमक्ष पेस भएको पुनरावेदन पत्र ।
प्रतिवादी खगी सुनारले अभियोग दाबीबाट सफाई पाउने गरी र प्रतिवादी रोमन सुनारलाई दाबीभन्दा कम सजाय हुने गरी भएको सुरू फैसलाउपर वादी नेपाल सरकारको र प्रतिवादी देव सुनारको सुरू फैसलाउपर पुनरावेदन पर्न आएको देखिँदा अदालती बन्दोबस्तको २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ उक्त पुनरावेदन पत्रको जानकारी परस्पर गराई अनुपस्थित पक्षलाई झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको आदेश ।
प्रतिवादी देव सुनारले मृतकलाई कर्तव्य गरी मारेको समर्थित भएको देखिएको र प्रतिवादी रोमन सुनारले मृतकलाई प्रहार गरेको एवं प्रतिवादी खगी सुनारले मृतकलाई मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट प्रमाण प्रस्तुत हुन सकेको नदेखिएको हुँदा प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गत र प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गत सजाय हुने र प्रतिवादी खगी सुनारले अभियोग दाबीबाट सफाई पाउने गरी भएको नवलपरासी जिल्ला अदालतको फैसला मनासिब देखिन आयो । तसर्थ, प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने तथा प्रतिवादी खगी सुनारले अभियोग दाबीबाट सफाई पाउने ठहराएको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९।६।१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको र प्रतिवादी देव सुनारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी देव सुनारले मृतकलाई मार्ने मनसाय राखी मार्नको लागि प्रहार गरेको भन्ने नदेखिएको हुँदा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने भई १२(वाह्र) वर्षको सजाय हुन उपयुक्त भएकाले प्रतिवादी देव सुनारलाई १२(बाह्र) वर्ष कैद हुनका लागि अ.बं. १८८ नं अनुसार राय प्रस्तुत गरिएको छ भन्नेसमेतको पुनरावेदन अदालत, बुटवलबाट मिति २०७०/१०/७ मा भएको फैसला ।
प्रतिवादी खगी सुनारले मृतक
लेखबहादुरलाई ज्यान मार्ने वचन दिएपछि प्रतिवादी रोमन सुनारले मृतकको तिघ्रामा काठको दाउराले हिर्काई ढालेको र देव सुनारले कोदालोको धार भएतर्फको भागले टाउकोमा प्रहार गरी मारेको तथ्य जाहेरी दरखास्तलगायत लक्ष्मी सुनारले मौकामा गरेको कागजलाई निजले अदालतमा समेत बकपत्र गरी पुष्टि गरेकोमा सो बकपत्रको कुनै मूल्याङ्कन नै गरिएको छैन । मौकामा प्रतिवादीहरू उपर किटानी कागज गर्ने वीरबहादुर सुनारी मगर, देवीप्रसाद सापकोटासमेतको अदालतमा भएको बकपत्रलाई प्रमाणमा नलिई भएको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १० र १८ नं. को त्रुटि रहेको छ । उक्त फैसला बदर गरिपाऊँ । प्रतिवादी देव सुनारले मौकामा बयान गर्दा आमाले ठीक पार्नुपर्छ भनेपछि मृतकलाई भाइले काठको दाउराले तिघ्रामा हाने मैले कोदालोले टाउकोमा हानेको हुँ भनी उल्लेख गरेको र घटनास्थलबाट कोदालो र काठको दाउरा बरामद भएबाट जाहेरी दरखास्त प्रत्यक्षदर्शीहरूको भनाई पुष्टि भई प्रतिवादी खगी सुनारले मृतकलाई मार्न छोराहरूलाई वचन दिएकी र प्रतिवादी रोमन सुनारले मृतकको खुट्टामा हिर्काइ ढलाएको तथ्य पुष्टि भइरहेको स्थितिमा प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम सजाय गर्ने र प्र. खगी सुनारलाई अभियोग दाबीबाट सफाई दिने गरी भएको सुरू फैसला सदर गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला त्रुटिपूर्ण छ । तत्काल पक्राउ परेका प्रतिवादी रोमन सुनारले वारदात स्थलमा जाँदा मृतकले मलाई साइकल उठाई हान्न लागेकोले बरामद भएको काठको दाउराले मृतकको तिघ्रामा प्रहार गरी ढलाएपश्चात प्रतिवादीमध्येका देव सुनारलेबरामद भएको कोदालोले टाउकोमा प्रहार गरी मरणासन्न हुने गरी घाइते बनाएकोले उपचारको क्रममा मृत्यु हुन गएको हो भनि तीनै जना प्रतिवादीहरूले मौकामा बयान गर्दा एक अर्कालाई पोल गरी बयान गरेकोसमेतका आधार प्रमाणहरूबाट पनि यी प्रतिवादी रोमन सुनारले मृतकलाइ मार्ने संयोग पारी दिने कार्य गरेको तथा बरामद काठको दाउराले पीडितलाई तिघ्रामा हानी ढलाएको भनि स्वीकार गरेको अवस्थामा मतियार रहेको भनि पृथक कसुर गरेको ठहराएको फैसला बदरभागी छ । अदालतलाई प्राप्त विषेश न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने भनि सर्वोच्च अदालत बुलेटिन वर्ष १८, अंक ८ श्रावण,२०६६ पुर्णाङ्क ४१० पृष्ठ ७६मा स्थापित नजिर भएकोले सोसमेतलाइ विचार नगरी प्रतिवादी देव सुनारलार्इ अ.बं. १८८ नं. अनुसार सजायमा छुट दिने गरी राय प्रस्तुत गरिएको, प्रतिवादी खगी सुनारलाई अभियोग दाबीबाट सफाई दिएको र प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम सजाय गर्ने गरी भएको सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी प्रतिवादीहरूलार्इ अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पत्र ।
मृतकको मृत्यु भवितव्यबाट भएको भन्नेसम्मको तथ्यमा साबित रहेको कुरालाई आरोपित कसुरमै पूर्णत: साबित रहेको भन्ने अभिप्रायबाट लाग्दै नलाग्ने ज्यानसम्बन्धीको १३(३) को कसुर कायम गरी मलाई सजाय गर्ने गरेको सुरू फैसलालाइ सदर गर्ने गरको फैसलामा तथ्य प्रमाणको मूल्याङ्कन भएन । घटना घटाउने मेरो कुनै पूर्व सोचविचार नभएको वारदातलार्इ टार्न, पन्छाउन भरमग्दुर प्रयास गरेको, ज्यान मार्नका लागि दोषयुक्त मनसाय र पूर्वतयारीको सर्वथा अभाव रहेको अवस्था स्थिति एकातर्फ स्पष्ट छ भने अर्कोतर्फ मृतक स्वयंले निहुँ झिकी कुनाबारी बसेका भाइ रोमनमाथि साइकल प्रहार गरी लगाएको कोरा च्याती दिएका, मलाई ढुंगाले प्रहार गरी हातमा चोट पारिदिएका जस्ता अत्यन्त बर्जित अवान्छित र आपत्तिजनक हर्कत गरी हामीलाई वारदातमा सामिल हुन बाध्य तुल्याएको हुँदा आत्मरक्षा एवं मृत्यु संस्कारको अभेधता र पवित्रताको रक्षा हेतुक्रियास्थलमा बारेको लाठी / दाउरा प्रहार गर्दा मृतकको टाउकोमा लागी अकल्पनीय घटना घटन गर्इ मृत्यु भएको भन्ने मसमेतको अदालतसमक्षको बयान, मेरो साक्षी तथा घटनासँग अनुभूत रहेका प्रत्यक्षदर्शी राजु वि.क. को बकपत्र एवं परिस्थिति जन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा दाबीबमोजिम सजाय गर्ने गरेको फैसलामा न्यायिक मनको प्रयोग भएन । अभियोगबमोजिम कोदालो नै प्रयोग भएको भएमा पनि लाठीकै रूपमा बिँडतर्फबाट प्रहार भएको छ । धारतर्फबाट प्रहार हुन्थ्यो भने मृतकको टाउकोमा धारिलो हतियारले काटेको खत हुने थियो । सो नभई post mortem report मा cause of death मा due to head injury भन्ने मात्र उल्लेख छ । जाहेरवाला शान्तामाया वि.क. आफू प्रत्यक्षदर्शी नभर्इ सुनी सुनाउका आधारमा मात्र जाहेरी दिएकी छन । घटनाबारे पछि थाहा पाउने निजको जाहेरी व्यहोरा र अदालतसमक्षको बकपत्रले अभियोग दाबीलाइ पुष्टि गर्न सक्दैन । मसँग सौता हालेको कारण रिसइवी रहेकी लक्ष्मी सुनारले गरेको बकपत्र स्वतन्त्र प्रमाणबाट खम्बीर नभइरहेको अवस्थामा अभियोग दाबीबमोजिम सजाय गरेको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी गरी इन्साफ पाउँ भन्नेसमेतको प्रतिवादी देव सुनारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादीमध्येका रोमन सुनारले मौकामा बयान गर्दा दाउराले हानी मृतकलार्इ आफूले लडाई सकेपछि दाजु देव सुनारले कोदालोले टाउकोमा प्रहार गरी मरणासन्न बनाएको र उपचारको क्रममा निजको मृत्यु भएको भनी प्रतिवादीहरूले एक आपसमा पोल गरी मौकामा बयान गरेको देखिन्छ । प्रतिवादीहरूले परस्पर पोल गरेको तथ्यलाइ व्याख्या र विश्लेषण नगरी प्रतिवादीहरूमध्ये खगी सुनारलाइ अभियोग दाबीबाट सफाइ दिने, प्रतिवादी रोमन सुनारलाइ ६ महिना कैद हुने तथा अर्का प्रतिवादीमध्येका देव सुनारलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्याई पुनरावेदन अदालत, बुटवलबाट मिति २०७०/१०/७ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदनको जानकारी पुनरावेदक प्रतिवादी देव सुनारलाई गराउनु, वादी नेपाल सरकारको पुनरावेदनमा उल्लिखित पुनरावेदन नगर्ने प्रतिवादीहरू खगी सुनार र रोमन सुनारलाई झिकाउनु तथा प्रतिवादी देव सुनारको पुनरावेदन परेको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ता कार्यालयका विद्वान् उपन्यायाधिवक्ता श्री नारायण बहादुर थापाले प्रतिवादीहरूमध्ये खगिसरा सुनारले वचन दिएको, रोमन सुनारले लाठाले हिर्काएको, देव सुनारले धारिलो कोदालोले हिर्काएको चोटबाट लेखबहादुरको मृत्यु भएको भन्ने कुरा प्रतिवादीहरूको बयान, घटना विवरण कागज गर्ने व्यक्तीहरूले अदालतसमक्ष गरी दिएको बकपत्रसमेतबाट देखिइरहेको अवस्थामा प्रतिवादी देव सुनारको हकमा अ.बं.१८८ नं. बमोजिम घटी सजाय हुने राय व्यक्त गरेको र अन्य प्रतिवादीहरूमध्ये रोमन सुनारलार्इ ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ६ महिना कैद र खगीसरा सुनारलार्इ सफाइ दिने गरी भएको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसला बदर गरी प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय होस भनी बहस जिकिर गर्नुभयो । प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनालीले मृतक लेखबहादुर सुनारले प्रतिवादीहरू क्रियामा बसिरहेको अवस्थामा अपशब्द प्रयोग गरी गाली गलौज गरेको कारणबाट तत्काल उठेको रिसको झोकमा भएको प्रहारबाट ज्यान मर्न गएको, ज्यान मार्नु पर्नेसम्मको पूर्वरिसइवी केही नदेखिएको र योजनाबिना अनपेक्षितरूपमा घटना घटन गएको, मृतक र प्रतिवादीहरूका बीच नजिकको नाता रहेकोसमेतका आधारमा प्रतिवादी देव सुनारलार्इ भएको कैद सजाय चर्को हुँदा घटी सजाय होस तथा प्रतिवादी रोमन सुनार र खगिसरा सुनारलाई भएको सजाय यथावत् कायम होस भनी र पुनरावेदक प्रतिवादी देव सुनारका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री त्रिलोक बस्नेतले मेरो पक्षले मृतकलार्इ मार्नु पर्नेसम्मको केही पूर्व रिसइवी नरहेको, बुबाको क्रियामा बसिरहेको अवस्थामा मृतकले तथानाम गालिगलौज गरेको र भाई रोमन सुनारलार्इ साइकलले हिर्काउन लागेको अवस्थामा उक्त प्रहार रोक्न खोज्दाका अवस्थामा लागेको चोटबाट घटना हुन गएकोले प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धीको ६(२) नं. अन्तर्गत भवितव्यमा सजाय हुनुपर्ने अवस्था छ । अतः प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजाय गर्ने गरेको हदसम्म पुनरावेदन अदालतको फैसला उल्टी होस भनी गर्नुभएको बहससमेत सुनियो ।
मिसिल संलग्न कागजातहरूको अध्ययन एवं वादी प्रतिवादीतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहससमेत सुनी हेर्दा प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, प्रतिवादी रोमन सुनारलाई ऐ. को १७(३) नं. बमोजिम ६ महिना कैद र प्रतिवादी खगिसरा सुनारलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला सदर हुने र प्रतिवादी देव सुनारको हकमा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १२ हुने गरी पुनरावेदन अदालत, बुटवलबाट व्यक्त राय मिले नमिलेको के हो ? पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादी देव सुनारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मेरो छोरा लेखबहादुर सुनार मिति २०६८/१२/११ का दिन क्रियामा रहेका बहिनी लक्ष्मी वि.क.को घरमा गएको र भेट गरी अब उप्रान्त झै-झगडा नगरी मिली बस्नु भनी बिदा मागी साइकल लिई डोर्याई पैदल घरतर्फ फर्कने क्रममा खगी सुनारले छोराहरूलाई उक्साई ज्यान मार्न वचन दिई पठाएकोमा रोमन सुनारले लेखबहादुर सुनारलाई काठको मुङ्ग्रोले तिघ्रामा हानी ढलाएको र देव सुनारले फलामको कोदालोले धारतर्फबाट टाउकोमा हानी काटी रगताम्य बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएकोले अन्यायीहरूलाइ ज्यानसम्बन्धी महलबमोजिम हदैसम्म कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको मृतककी आमा शान्तामाया वि.क.ले दिएको जाहेरी दर्खास्तबाट मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी देव सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष मसमेत क्रिया बसिरहेको अवस्थामा मृतक लेखबहादुर सुनारले म र मेरो भाइ रोमन सुनारलाई अपशब्द प्रयोग गरी गाली गलौज गरी हातपातसमेत गरी साइकल उचाली मेरो भाइलाई हान्न लागेपछि मैले कोदालोले लेखबहादुरको टाउकोमा हानेपछि निज भुइँमा ढलेका हुन् । सोही चोटका कारण उपचारको क्रममा निजको अस्पतालमा मृत्यु भएको हो भन्ने सुनेको हुँ भनी बयान गरेको देखियो । अदालतमा बयान गर्दा मसमेत बाबुको क्रिया बसिरहेको अवस्थामा मृतक लेखबहादुरले हामीहरूलाई जथाभावी गाली गलौज गरी झगडा गरी भाइ रोमनलाई साइकलले प्रहार गर्दा रोक्ने क्रममा लौराले छेक्दा उक्त दुर्घटना हुन गएको हो र पछि मृत्यु भएको थाहा पाएको हुँ, मैले कोदालो प्रहार गरेजस्तो लाग्दैन, भाइ रोमनलाई हानेको साइकल प्रहारलाई रोक्न र बचाउन खोज्दा उक्त दाउरा प्रयोग भएको हो, मृतकलाई प्रत्यक्षरूपमा हानेको होइन भनी उल्लेख गरेको देखिन्छ । जाहेरवाला शान्ता वि.क.ले अदालतसमक्ष उपस्थित भई गरेको बकपत्रमा पहिला प्रतिवादी रोमन सुनारले निज मृतक लेखबहादुरलाई लाठीले हानी पल्टाएका र त्यसपछि देव सुनारले कोदालोले टाउकोमा हानेका हुन् । सोही चोटको कारण निजको मृत्यु भएको हो भनी लेखाएकी पाइयो । घटना विवरण कागज गर्दा उल्लेख गरेको व्यहोरालार्इ नै समर्थन गरी वादीका साक्षीका रूपमा अदालतसमक्ष उपस्थित भई लक्ष्मी सुनारले प्रतिवादीहरूमध्ये रोमन सुनारले लठ्ठीले तिघ्रामा हानी लेखबहादुरलाई ढलाएका र आमाले कोदालोले हान भनी जेठो छोरा देव सुनारलाई भनेको र निज देव सुनारले कोदालोले थाप्लोमा हानी मारेका हुन भनी व्यहोरा लेखाएको पाइयो । वादी पक्षकै साक्षी देवीप्रसाद सापकोटाले मिति २०६८।१२।११ गते बेलुका प्रतिवादी रोमन सुनारले मृतक लेखबहादुरलाई काठको मुङ्ग्रोले हानेर पल्टाएका र प्रतिवादी देव सुनारले पछाडिबाट टाउकोमा कोदालोले हानेको देखेको हुँ, सोही चोटका कारण निजको मृत्यु भएको हो भनी तथा वादी पक्षकै अर्का साक्षी वीरबहादुर सुनारी मगरले मृतक लेखबहादुरलाई प्रतिवादी रोमनले काठको मुङ्ग्रोले हानी पल्टाएको र प्रतिवादी देव सुनारले कोदालोले हानेको कारण निजको मृत्यु भएको हो भनी एकै मिलानको बकपत्र गरिदिएको देखिन्छ । प्रतिवादी देव सुनारको साक्षी राजु वि.क. ले सामान्य विवादमा मृतक लेखबहादुरले साइकल उचाली प्रतिवादी रोमनलाई साइकलले हान्न लागेको देखी प्रतिवादी देव सुनारले उक्त साइकल रोक्ने क्रममा लाठीले अचानक लाग्दा निज लेखबहादुर भुइँमा बसेको देखेको हुँ, पछि निजलाई अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो भनी बकपत्र गरेको पाइन्छ । लास जाँच मुचुल्काबाट मृतक लासको टाउकोको बीच भागमा कपाल खौरिएको, सो स्थानमा घाउ भई पाँचवटा टाँका लगाएको, नाकबाट रगत जस्तो पदार्थ निस्केको, दुवै कानबाट रगत निस्की सुकेको, लिङ्गबाट तरल पदार्थ बगेको र टाउको अनुहार केही सुन्निएको जस्तो अवस्थामा रहेको देखिएको छ । शव परीक्षण प्रतिवेदनको मृत्युको कारण महलमा “Head injury” भन्ने उल्लेख भएको समेत देखिन आयो । मिति २०६८।१२।११ को घटनास्थल मुचुल्काबाट रगत लागेको फलामको कोदाली र काठको दाउरा घटनास्थलबाट अनुसन्धानकर्ताले बरामद गरेको भन्ने सुरू मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिन्छ ।
३. माथि उल्लिखित जाहेरी व्यहोरा, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, घटना विवरण लेखाइदिने व्यक्तिहरूले अदालतसमक्ष उपस्थित भई गरी दिएको बकपत्र, टाउकोको बीच भागमा घाउ भई ५ वटा टाँका लगाएको भन्नेसमेतको लास जाँच मुचुल्का, Head injury का कारण मृत्यु भएको भनी उल्लेख भएको शव परीक्षण प्रतिवेदन तथा रगत लागेको फलामको कोदाली र काठको दाउरा घटनास्थलबाट बरामद गरेकोसमेतका तथ्यहरूबाट प्रतिवादी देव सुनार आफ्नो बाबुको क्रियामा बसेको अवस्थामा मृतक लेखबहादुर सुनारसँग वादविवाद भई देवबहादुर सुनारले प्रहार गरेको टाउकाको चोटबाट नै लेखबहादुर सुनारको मृत्यु भएको तथ्य मालाकार रूपमा शंकारहित तवरबाट पुष्टि भइरहेको देखियो ।
४. ज्यानसम्बन्धी महलको ५/६नं. को सापेक्षतामा हेरिनु पर्ने भन्ने प्रतिवादी देव सुनारको पुनरावेदन जिकिर र निजतर्फका कानून व्यवसायीको बहस जिकिर सम्बन्धमा विचार गर्दा प्रतिवादी देव सुनारले अदालतमा बयान गर्दा मृतकलाई कोदालोले प्रहार गरेकोमा इन्कार रही मृतकलाई काठले लाग्न गएको भनी लिएको जिकिर प्रमाणबाट समर्थित हुनसकेको देखिँदैन । मिति २०६८।१२।११ को घटनास्थल मुचुल्काबाट रगत लागेको फलामको कोदालीसमेत घटनास्थलबाट अनुसन्धानको क्रममा बरामद भएको देखिन्छ । लास जाँच मुचुल्काबाट मृतकको टाउकोमा पाँचवटा टाँका लगाउनु पर्ने घाउ परेको देखिएको छ । यस स्थितिमा मृतकलाई काठको दाउराको प्रहारबाट मात्र घाउ चोट परेको मान्न सकिने अवस्था देखिँदैन । प्रतिवादी देव सुनारले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानमा निजले प्रहार गरेको धारिलो हतियार कोदालोको घाउ चोटको कारणबाट लेखबहादुरको मृत्यु भएको भन्ने देखिन्छ । सो बयान व्यहोरालाई प्रमाणमा लिन नहुने कुनै कारण देखिँदैन । लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनलगायत मिसिल प्रमाणबाट जोखिमी हतियार कोदालो टाउकोमा प्रहार गरिएको कारणबाट लेखबहादुरको मृत्यु भएको तथ्य पुष्टि भएको छ । यस स्थितिमा प्रतिवादी देव सुनारलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजाय गर्ने गरेको सुरू अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मनासिब नै देखिन आयो । यसप्रकारको वारदातलाई ज्यानसम्बन्धीको ५ र ६ नं. बमोजिमको वारदात ठहर गर्न मिल्ने देखिएन ।
५. प्रतिवादीहरू रोमन सुनारलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्नेमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने गरी भएको सुरू फैसला सदर हुने गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय होस् भनी वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको हकमा विचार गर्दा प्रतिवादी रोमन सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष म र मेरो दाई क्रिया बसिरहेको अवस्थामा मेरो जेठी भाउजू लक्ष्मी सुनारको सहोदर दाई लेखबहादुर सुनारले हामी दुवैलाई अपशब्द प्रयोग गरी गाली गलौज गरी मलाई साइकल उचाली हान्न लागेको अवस्थामा मैले दाउराले हानेको र तत्काल दाजु देव सुनारले कोदालोले टाउकोमा हानेपछि निजलाई उपचारको क्रममा भरतपुर लगेको र सोही टाउकाको चोटको कारण जेठान लेखबहादुरको मृत्यु भएको हो भनी बयान गरेको देखिन्छ । अदालतसमक्षको बयानमा म र मेरो दाजुसमेत बाबुको क्रिया बसेको अवस्थामा मृतक लेखबहादुरले दाजुलाई हात मुक्काले हानेका र मलाई साइकलले हान्न खोज्दा मेरो दाजुले लाठीले साइकल छेक्दा निज लेखबहादुरलाई टाउकोमा लागेको हो, त्यसपछि लेखबहादुर भुइँमा ढलेका हुन्, पछि उपचारको क्रममा निजको मृत्यु भएको सुनेको हुँ, मैले लेखबहादुरालई प्रहार गरेको होइन भनी लेखाएको पाइयो । लेखबहादुरको मृत्यु टाउकोमा कोदालो प्रहार गर्दा लागेको चोटका कारणबाट नै भएको हो भन्ने कुरामा कुनै सन्देह छैन । सो कोदालो प्रहार गर्ने कार्य प्रतिवादी देव सुनारले नै गरेको हो भन्ने तथ्य शंकारहित तवरबाट स्थापित भएको देखिन्छ । प्रतिवादी रोमन सुनारले लेखबहादुरको गोडामा दाउराले प्रहार गरेको कुरा मृतकको शरीरमा परेको घा खतको विवरण उल्लेख गरिएको लास जाँच मुचुल्काबाट देखिन आउँदैन । दाउराले गोडामा हानेको भनी मानेर हेर्दा पनि सोही चोट पीडाका कारणबाट मृत्यु भएको भन्ने देखिँदैन । यस अवस्थामा मृतकसँगको वादविवाद, झगडाको क्रममा स्वभाविक र समान्यरूपमा संलग्न रहेको भन्ने आधारमा नै प्रतिवादी रोमन सुनारलाई ज्यानसम्बन्धी महलको १३ नं. बमोजिम कसुरदार ठहर गर्नु मनासिब देखिएन ।
६. ज्यानसम्बन्धी महलको १७(३) नं.मा उल्लिखित कानूनी व्यवस्था हेर्दा “अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गर्इ अरू कुरा केही नगरी हेरी रहनेलार्इ र लेखिएदेखि बाहेक अरू किसिमका मतलवीलार्इ छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादी रोमन सुनारको प्रहारको कारणबाट ज्यान मरेको भन्ने देखिँदैन । तथापि वारदातमा निजको समेत संलग्नता रहेको, लेखबहादुरसँग निज प्रतिवादी रोमन सुनारको समेत वादविवाद भएको, निजउपर लेखबहादुरले साइकलले प्रहार गर्न खोजेको, प्रतिवादी रोमनले एउटा दाउरा मृतक लेखबहादुरको गोडामा हानेको तथ्यहरू प्रस्तुत हुन आएको देखिन्छ । यसबाट प्रतिवादी रोमन सुनारलाई ज्यान मार्ने कार्यका मतलबीको रूपमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम कसुरदार ठहर गरी ६ महिना कैद हुने भनी गरिएको फैसला मनासिब नै देखिन आयो ।
७. अर्का प्रतिवादी खगी सुनारलार्इ ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरेको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम सजाय होस् भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा प्रतिवादी खगी सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष मैले यसलाई त्यसै छाड्नु हुँदैन भनेपछि जेठा छोरा देव सुनारले टाउकोमा हानेपछि निज भुइँमा ढलेका हुन् । निजलाई तत्काल उपचारको लागि मेडिकल कलेज भरतपुरमा लगेकोमा सोही साँझ निजको मृत्यु भएको हो भनी बयान गरेको देखिन्छ । अदालतमा उपस्थित भई बयान गर्दा मृतक लेखबहादुर र मेरा छोरा देव सुनारबीच लडाई झगडा भई लेखबहादुर घाइते भएकोले तत्काल उपचारको लागि अस्पताल लगेको थाहा पाएको थिएँ । मैले मृतकलाई मार्न छोरा देव सुनारलाई वचन दिएको होइन भनी बयान गरेको पाइयो । प्रतिवादीहरूतर्फका साक्षी जैमाया चुदारा र राजु विकले बकपत्र गर्दा पतिको मृत्युको कारण प्रतिवादी खगी सुनार निकै शिथिल र कमजोर अवस्थामा हुँदा क्रिया बसेको ठाँउमा सुती रहेकीले निजले छोराहरूलार्इ उक्साएको र मार, हान जस्ता कुराहरू गरेकी होइनन्, जाहेरी झुठ्ठा हो, निज निर्दोष छिन् भनी व्यहोरा लेखाएको देखिन्छ । प्रतिवादी खगी सुनारले मृतकलाई मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत हुन सकेको देखिँदैन ।
८. फौजदारी अपराधमा प्रतिवादीउपरको कसुर पुष्टि गर्ने भार वादी पक्षमा रहन्छ । वादी पक्षबाट प्रतिवादीउपरको कसुर शंकारहित तवरबाट पुष्टि गर्नसकेको अवस्थामा मात्र कसुरदार ठहराई सजाय हुन सक्तछ । अन्यथा केवल शंकाकै भरमा कसुरदार कायम गरी सजाय गर्नु फौजदारी न्याय सिद्धान्तविपरीत हुन्छ । प्रतिवादी खगी सुनारले मृतकलाई मार्नको लागि वचन दिएको भन्ने कुरा तथ्ययुक्तरूपमा पुष्टि हुन सकेको देखिँदैन । ज्यानसम्बन्धीको १३(४) नं. मा उल्लेख भएको “वचन दिने” कार्यको अर्थ सामान्य र सतहीरूपमा ग्रहण गरिनु हुँदैन । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनु पर्दछ । यसमा मनसाय तत्त्व र आदेशात्मकरूपमा वचन दिएको कार्यको विद्यमानता देखिनु पर्दछ । विषय र सन्दर्भअनुसार वचन दिएको कुराको मूल्याङ्कन गरिनु पर्दछ । प्रस्तुत विवादको घटनाक्रमतर्फ दृष्टिगत गर्दा आफ्नो पतिको मृत्यु भएको कारणबाट छोराहरूसहित क्रियामा बसेको अवस्थामा लेखबहादुर आई गाली गलौज, अपशब्द प्रयोग गर्दै प्रतिवादीमध्येका रोमन सुनारलाई साइकलले प्रहार गर्न खोजेकोसमेत देखिएको छ । यस अवस्थामा प्रतिवादी खगी सुनारले आवेशमा आई स्वभाविकरूपमा कुनै प्रकारको अभिव्यक्ति प्रकट गरेको थियो होला भन्ने कुरालाई नकार्न सकिँदैन । सो अभिव्यक्तिलाई केवल स्वभाविक मानवीय अभिव्यक्तिको रूपमा लिनुपर्ने अवस्था देखिन्छ । कुनै आपराधिक परिणाम हासिल होस् भन्ने अभिप्रायले प्रतिवादी खगी सुनारले “वचन दिएको” देखिएन । ज्यान मार्ने कार्यमा निजको कुनै प्रकारको संलग्नता रहेको तथ्य पुष्टि हुन आएको पाइएन । तसर्थ प्रतिवादी खगी सुनारलाई अभियोग दाबीबाट सफाई दिने गरेको सुरू अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसला मनासिब नै देखियो ।
९. अत: माथि उल्लिखित अधार प्रमाणबाट प्रतिवादी खगी सुनारलार्इ अभियोग दाबीबाट सफार्इ दिने, प्रतिवादी रोमन सुनारलार्इ ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६(छ) महिना कैद हुने र प्रतिवादी देव सुनारलार्इ ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९/०६/१६ को फैसलालार्इ सदर गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०७०/१०/०७ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय होस् भन्ने वादी नेपाल सरकारको तथा पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी गरिपाउँ भन्ने प्रतिवादी देव सुनारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१०. अब प्रतिवादी देव सुनारलाई अ.बं. १८८ नं. बमोजिम १२(वाह्र) वर्ष मात्र कैद सजाय गर्ने गरी पुनरावेदन अदालतबाट राय व्यक्त भई आएकोतर्फ विचार गर्दा उल्लिखित राय व्यक्त गरिएको कुरामा समेत प्रश्न उठाई वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन जिकिर गरेको देखियो । अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गर्ने र सदर गर्ने कुरा विवादका पक्षले हक अधिकारको रूपमा प्रश्न उठाउने पुनरावेदनको विषय होइन । यो केवल विवादित तथ्य, घटनाक्रम, कसुर हुँदाको अवस्था, परिस्थिति, कसुरदारको मनसाय, भवितव्य हो कि भनी सन्देह गर्नुपर्ने अवस्था, कसुरदारले न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलगायतका विविध सामाजिक सन्दर्भहरूलाई मूल्याङ्कन गरी निरूपण गरिने अदालतको स्वविवेकाधिकारको विषय हो । त्यसैले अ.बं. १८८ नं. अनुसार राय व्यक्त गरिएको कुरालाई पुनरावेदनको विषयको रूपमा हेर्न मिल्दैन ।
११. प्रतिवादी देव सुनारलाई अ.बं. १८८ नं. बमोजिम घटी सजाय हुने हो वा होइन भन्ने सन्दर्भमा विचार गर्दा लेखबहादुर (मृतक) स्वयम्ले यी प्रतिवादीहरू क्रियामा बसेको ठाउँमा गई प्रतिवादीहरू उपर अमर्यादित, अभद्र, अशिष्ट तवरबाट गालीगलौज गरेको देखिएको छ । क्रियामा बसेको अवस्थाको स्वभाविक मानवीय संवेदनशीलताको ठाउँमा विपरीत व्यवहार देखाई प्रतिवादीहरूलाई उत्तेजनामा पुर्याउने कार्य स्वयम् मृतकबाट भएको पाइयो । यसका अतिरिक्त साइकल उठाई प्रतिवादीउपर प्रहार गर्ने प्रयास गरेको र क्रियापुत्री बसेका मानिसउपर हातपात गरी कपडा च्यात्ने कार्यसमेत निज लेखबहादुरले गरेको देखियो । यस परिस्थितिमा नजिकै रहेको कोदालो एक पटक टाउकोमा प्रहार गरिएको कारणबाट निजको मृत्यु हुन पुगेको देखिन्छ । जोखिमी हतियार कोदालो प्रहार गरिएकोसम्मको कारणबाट मानिसको मृत्यु भएको देखिँदा प्रस्तुत वारदातलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम परिभाषित कसुर भनी ठहर गर्न मिलेन । तथापि मृतक स्वयमले उत्पन्न गराएको आवेशको कारणबाट निजलाई जोखिमी हतियार कोदालो प्रहार गरिएको कुरामा कुनै सन्देह छैन । उल्लिखित घटनाक्रमलाई समग्रमा मूल्याङ्कन गर्दा प्रतिवादी देव सुनारलाई ऐनबमोजिम ठहर भएको सर्वस्वसहित जन्मकैद गर्दा सजाय ज्यादै चर्को पर्ने देखिन आयो । तसर्थ प्रतिवादी देव सुनारलाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष मात्र कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी देव सुनारलाई अ.बं.१८८ नं. बमोजिम कैद वर्ष १०(दश) हुने ठहरेकोले निजका नाममा कायम रहेको सर्वस्वसहित जन्मकैदको लगत संशोधन गरी कैद वर्ष १०(दश) को लगत कायम गर्नु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू ....१
प्रतिवादी देव सुनार मिति २०६८।१२।१५ देखि कैदमा बसेको देखिँदा उक्त मिति २०६८।१२।१५ देखि २०७८।१२।१४ सम्म कैदमा राखी २०७८।१२।१५ गतेबाट कैद मुक्त गरिदिनु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू ....२
प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय एवम् प्रतिवादी देव सुनारलाई दिनू ......३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ......४
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत : जगदीशप्रसाद भट्ट
इति संवत् २०७४ साल असार २९ गते रोज ५ शुभम् ।