शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३२२ - अंश नामसारी

भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक:

निर्णय नं. ४३२२    ने.का.प. २०४८      अङ्क ७

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४५ सालको दे.वि.नं. ४५

फैसला भएको मिति : २०४८।७।२६।३ मा

पुनरावेदक/प्रतिवादी : रुपन्देही सिपना गा.पं. वार्ड नं. ८ बस्ने कृष्ण चमार

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने बर्खु चमार

मुद्दा : अंश नामसारी

(१)    ७ नं. फाराम बाहेक अरु फाराम मैले (साविक पेज नं. ३५०) भरी पेश गरेको छु भनी प्रतिवादीले देखाउन नसकेको र अड्डाखानामा ०२२ सालमा नै दर्ता भइरहेको कागजमा कुनै कैफियत गरिएको भए त्यसतर्फ छुट्टै उजूर गर्न सक्नु पर्ने गर्न नसकेको त्यस्तो कागजलाई सद्दे कीर्तेमा सुनाउनु पर्ने कारण केही नदेखिने ।

(प्रकरण नं. १६)

(२)   सगोल मै रही कमाएकोमा सबैको श्रम सीपबाट कमाएको मान्नु पर्ने ।

(प्रकरण नं. १८)

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     श्री ५ महाराजाधिराजबाट हुकुम बक्से बमोजिम इन्साफ जाँचको लागि पेश भएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :

२.    बालक चमारका २ छोरामा जेठा मेरा बाबु चुल्हाई र कान्छा विपक्षी कृपा चमार हुन । बाजे र बाबु आमा अघि नै परलोक हुनु भयो । हामी वादी प्रतिवादीहरु एकासगोलका अंशियार हो सबै श्रीसम्पत्ति विपक्षीकै नाउँमा छ । मेरो परिवारमा कलह झगडा भएकोले अब मेरो आधी अंश छुटाई दिनु होस् भन्दा हाक जवाफ दिनु भएकोले सम्पूर्ण सम्पत्तिबाट २ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी ।

३.    झाकारीको छोरा बालक र बालकको एक मात्र छोरा म हुँ । बाबु बाजेको पालाको कुनै अचल सम्पत्ति थिएन मैले आफ्नै कमाइबाट उखडा जग्गा आर्जन गरी मेरा नाउँमा दर्ता भएको छ । बालककै छोरा चुल्हाइ होइन मेरो अंशियारा नहुँदा मैले अंश दिनु पर्ने अवस्थै छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    बाबु बाजे म सानै उमेरका छँदा परलोक भएकोले काका कृपा चमारकै एकाघरसंग बसेको भतिजा नाताको अंशियार हुँदा म वादी र प्रतिवादी कृपा चमारका बीच काका भतिजा नाता कायम गरी अंश दिलाई पाउँ भन्ने समेत बर्खु चमारको बयान ।

५.    वादीको बाबु चुल्हाई भन्ने व्यक्ति बालकको छोरा होइन भन्ने समेत प्रतिवादीको साक्षी वाठारी यादवको बयान ।

६.    वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेछ ।

७.    वादीका साक्षीहरुको बकपत्र तथा नाता तर्फ कृपा चमारले ०२२ सालमा भरी भू.सु.मा दाखिल गरेको अनुसूची १ फाराम पनि प्रमाण लगाई पाउँ भनी पेश गरेको सो फाराम हेर्दा जग्गा कमाउनेको नाम थरमा कृपा चमार सो व्यक्तिको एकाघरको परिवारका सदस्यहरुको नाता र नामको प्रकरणमा भाइको छोरा बर्खु भनी उल्लेख भएको देखिन्छ र नागरिकताको प्रमाणपत्रमा समेत चुल्हीको छोरा भन्ने उल्लेख भएको पाइन्छ । यसबाट वादी मेरो अंश कुल मै नभएकोले अंशियारा नाता होइन भन्ने प्रति इन्कारी पुग्न सक्ने देखिएन । तसर्थ वादी प्रतिवादी बीच काका भतिजा नाता कायम भई प्रतिवादीबाट दाखिल भएको तायदात फाँटवारीबाट २ खण्डको १ खण्ड वादीले अंश समेत पाउने ठहर्छ भन्ने समेत शुरु रुपन्देही जिल्ला अदालतको ०४१।३।२२।५ को फैसला ।

८.    शुरु जिल्ला अदालतको फैसलामा चित्त नबुझेकोले बदर गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।

९.    यसमा नाता सम्बन्ध विवाद देखिँदा सम्बन्धित गा.पं.को सरजमीन बुझी कार्य सम्पन्न भएपछि (साविक पेज नं. ३५१) पेश गर्नु भन्ने ०४२।६।९।४ का आदेशानुसार सरजमीन भई मुचुल्का मिसिल सामेल रहेको ।

१०.    यसमा केही व्यक्तिले काका भतिजा नाता पर्ने र केहीले होइन भन्ने हुँदा यस्तो भनाईलाई ठोस प्रमाणमा लिन सकिएन । पारिवारिक लागत हेर्दा भाइको छोरा बर्खु चमार भन्ने स्पष्ट लेखेको देखिँदा प्रतिवादीबाट अंश दिलाएको शुरुको इन्साफ मनासिब ठहर्छ नातातर्फ तजबिजी रु. २०।जरिवाना गर्ने गरेकोमा इन्साफ सदर भएकोले अ.बं. २०३ नं. बमोजिम थप जरिवाना हुन्छ भन्ने प.क्षे.अ.को फैसला ।

११.    सो फैसलामा चित्त बुझेन इन्साफ जाँची पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा परेको बिन्तिपत्रमा हुकुम प्रमांगी भई आएकोमा संयुक्तइजलासमा पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

१२.   पारिवारिक लगतलाई सोझै प्रमाण लगाई वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको प.क्षे.अ.को निर्णयमा अ.बं. ७८ नं. को त्रुटि देखिँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचिमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्षको विरुद्धमा प्रमाण लगाइएको ७ नं. फारामलाई सद्दे कीर्तेमा मैले सुन्न नपाएकोले प्रमाणमा नलगाई भएको शुरु जिल्ला अदालत तथा त्यसलाई सदर गरेको प.क्षे.अ.को इन्साफ मिलेको छैन भन्ने बहस प्रस्तुत गर्नुभयो ।

१४.   प.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

१५.   यसमा निर्णयतर्फ विचार गर्दा शुरु रुपन्देही जिल्ला अदालत तथा प.क्षे.अ.बाट प्रतिवादी कृपा चमारले भूमिसुधार कार्यालय रुपन्देहीमा ०२२।१२।१३ मा भरी पेश गरेको ७ नं. फारामलाई प्रमाणमा लगाई उक्त फाराममा भाइको छोरा वर्खु चमार वर्ष २४ भन्ने उल्लेख भएको हुँदा वादी वर्खुलाई प्रतिवादी कृपा चमारको भतिजा नाता ठहर्‍याई फैसला भएको देखियो ।

१६.    अब उक्त ७ नं. फाराम प्रतिवादीलाई सुनाउनु पर्ने नपर्ने तर्फ हेर्दा उक्त ७ नं. फाराम बाहेक अरु फाराम मैले भरी पेश गरेको छु भनी प्रतिवादी कृपा चमारले देखाउन नसकेको र अड्डाखानामा ०२२ सालमा नै दर्ता भइरहेको कागजमा कुनै कैफियत गरिएको भए त्यसतर्फ छुट्टै उजूर गर्न सक्नु पर्ने गर्न नसकेको त्यस्तो कागजलाई सद्दे कीर्तेमा सुनाउनु पर्ने कारण केही देखिएन ।

१७.   प्रतिवादी आफैंले अड्डाखानामा पेश गरेको फाराममा उल्लेखित वादी बर्खुको उल्लेखित उमेर समेत मिल्न भिड्न आएको र सरजमीन समेतबाट नाता भएको तथ्य खम्बीर हुन आएको देखिँदा वादी बर्खुलाई प्रतिवादी कृपाको भतिजा नाताको ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालत तथा प.क्षे.अ.को इन्साफलाई बेमनासिब भन्न सकिएन ।

१८.   मेरो नाउँमा रहेका जग्गाहरु उखडामा कमाई मेरो हक भएकोले बण्डा गर्न नमिल्ने भन्ने प्रतिवादीको जिकिरतर्फलाई सो उखडा कमाउँदा प्रतिवादी कृपा अन्यत्र स्थानमा रही आफ्नै मात्र श्रम सीपले कमाएको वा बेगल रहेको भन्ने प्रमाण नभएबाट सगोल मै रही कमाएकोमा सबैको श्रम सीपबाट कमाएको मान्नु पर्ने हुँदा ती जग्गा समेतबाट वादीलाई दुई भागको एक भाग अंश दिलाई दिने ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई सदर गरेको प.क्षे.अ.को इन्साफलाई परिवर्तन गर्न परेन प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.गोविन्दबहादुर श्रेष्ठ

इतिसम्वत् २०४८ साल कार्तिक २६ गते रोज ३ शुभम् ।

(साविक पेज नं. ३५२)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु