निर्णय नं. ९९२२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।११।६
मुद्दाः- कर्तव्य ज्यान
०७३-CR-०६७३
पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १७ घर भई हाल पूर्व क्षेत्रीय कारागार कार्यालय, झुम्का सुनसरीमा थुनामा रहेको चक्रबहादुर लिम्बू
विरूद्ध
प्रत्यर्थी / वादी : पञ्चबहादुर लिम्बुको जाहेरीले नेपाल सरकार
अपराध गरे पनि आफ्नो कसुर लुकाई अन्तिम समयसम्म उम्कन खोज्ने अपराधी र कसुरमा साबित भई अदालती प्रक्रियालाई सहयोग पुर्याउने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त हुँदैन । यस्ता दुवै प्रकृतिमा अपराधीलाई समान सजाय तोक्ने हो भने भविष्यमा कसुरमा साबित भई न्यायिक प्रक्रियामा सहयोग पुर्याउने प्रवृत्ति निरूत्साहित हुन जाने र अपराध स्वीकार गर्ने प्रवृत्तिमा पनि नकारात्मक असर पर्न जाने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
मा. जिल्ला न्यायाधीशः श्री परशुराम भट्टराई
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री शिवराज अधिकारी
मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
सुनसरी जिल्ला धरान न.पा. वडा नं. १७ स्थित पूर्वमा श्याम देवानको खाली जग्गा, पश्चिममा सानो गोरेटो बाटो, उत्तरमा सुक्र कुमार राई, दक्षिणमा कमला राईको घर यति चार किल्लाभित्रमा पर्ने वरिपरि पक्की टिनको छानो भएको ३ कोठे चन्द्रबहादुर लिम्बुको पश्चिम मोहडा भएको सो घरको बीच पूर्व साइडको कोठामा प्रतिवादी चक्रबहादुर लिम्बुले निजकै श्रीमती वर्ष २९ की विमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको उक्त कोठाको भुइँमा र दक्षिणपट्टिको वाल (भित्तामा) रगतको छिटा लागेको । सोही घटनास्थलमा घटनामा प्रयोग भएको काठको लम्बाई २ फिट १० ईन्च, गोलाई ७ ईन्च भएको आग्लो फेला पारी बरामद गरी लगेको भन्ने घटनास्थल / बरामदी मुचुल्का ।
विपक्षी मेरो जेठी छोरी विमला लिम्बुका पति हुन् । विपक्षी र मेरी छोरी विमला लिम्बुका बीचमा विगत १० वर्षअगाडि सामाजिक परम्पराअनुसार विवाह भई दुवै जना घरजम गरी बस्दा हाल २ छोरीसमेत
छन् । विपक्षी ज्वाइँ केही महिनाअगाडि विदेश साउदी अरेवियामा रोजगारी गरी फर्किएका हुन, निज ज्वाइँ विदेशबाट फर्किएपछि हाल वर्ष २९ की मेरी छोरी विपक्षीकी पत्नी विमला लिम्बुलाई आँखा लगाई दिनहुँ झगडा गरी पटकपटक नमारी छाडदिन भन्दै आक्रमणको प्रयास गर्ने गरेको कुरा छोरीले बताउँदै आएकी थिइन् । यस्तैमा उल्लिखित मिति र समयमा विपक्षीले मेरी छोरी विमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी मरणासन्न भई घाइते तुल्याएको अवस्थामा स्थानीयहरूले थाहा पाई प्रहरीसमेतलाई खबर गरी घाइते छोरी विमला लिम्बुलाई तत्काल उपचारका लागि वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा ल्याई उपचार गराउन लाग्दा चिकित्सकले मृत घोषण गरेकोले मृतक लास सोही प्रतिष्ठान धरानको शव गृहमा आई हेर्दा मेरी छोरी विमला लिम्बुको लास देखी चिनी म मृतकको बुबाको हैसियतले यो सूचना दिन आएको छु । अतः मेरी छोरी विमला लिम्बुलाई विपक्षी एक्लै कर्तव्य गरी मारेको हो या अन्य मतियारसमेत छन् भन्ने प्रस्ट नभएकाले निज विपक्षीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनबमोजिम कारबाही गरी पाउनका साथै हाललाई मृतक लास कानूनको प्रक्रिया पुर्याई संस्कार गर्न इजाजत दिलाई पाउँ भन्नेसमेत व्यहोराको पञ्चबहादुर लिम्बुको जाहेरी दरखास्त ।
सुनसरी जिल्ला धरान न. पा. वडा नं. १८ स्थित पूर्व पश्चिम उत्तर दक्षिण यति चार किल्लाभित्रमा रहेको वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको कम्पाउण्डभित्र रहेको शव गृहमा मृतक विमला लिम्बुको टाउको दायाँपट्टि कानको साइडमा १० से. मी. चोटसमेत भएको र लास टाउको पश्चिम खुट्टा पूर्व बनाई राखेको फलाम स्टेचरमा रहेको भन्नेसमेत व्यहोरा लास जाँच प्रकृति मुचुल्का ।
म वैदेशिक रोजारको सिलसिलामा पहिलादेखि जाने आउने गर्दै थिएँ । मैले निज श्रीमतीलाई पैसा पठाई दिइरहेकोमा बालबच्चा सोही पैसाले पालपोषण, शिक्षा दिक्षा दिँदै आइरहेको अवस्थामा श्रीमती जाँड खाने, अरू केटाहरूसँग हिँड्ने बस्ने गरेको कुरा थाहा पाई म विदेशबाट आई मैले पठाएको पैसाको हिसाब माग्दा निजले खाई मासिसकेको भन्ने गर्दै आइरहेकी थिइन् । निजलाई सम्झाउँदा बुझाउँदा नमान्ने घरबाट हिँड्ने, राति ९.००/१०.०० बजेतिर आउने, कहाँ गएकी थियौ ? भन्दा मलाई विभिन्न किसिमका गालीगलौज गर्ने, मसँग नसुत्ने जस्ता कार्य गर्दै आइरहेकी थिई, यस्तैमा मिति २०७१/०३/२६ गतेका दिन बिहान यस्तै ०८.३० बजेको समयमा छोरा छोरीलाई खाना खुवाई निजले स्कुल लिई गएकीमा एकै चोटी दिनको १४.०० बजेको समयमा घरमा आई केही समय बसेपछि निस्की हिँडेकीमा राति ९.०० बजेको समयमा घरमा मादक पदार्थ सेवन गरी मातेर आई मैले निजलाई कहाँ गएर आएकी भन्दा निजले मलाई विभिन्न किसिमका गालीगलौज गरी थुक्न थालेकाले मलाई सारै रिस उठी ढोकामा लगाउने आग्लो निकाली निजलाई मारी दिनु पर्यो भनी सोही आग्लोले टाउकोमा २ पटक हान्दा निज भुइँमा ढली त्यसपछि हल्लाखल्ला भयो र गाउँका मानिस भेला जम्मा भई निजलाई उपचारको लागि घोपा लगेको, सोही चोटको कारण निजको सोही राति मृत्यु भएको हुँदा मैले निजलाई कर्तव्य गरी मारेको हुँदा मैले त्यस्तो अपराध गरेकोले मउपर कानूनबमोजिम कारबाही भएमा मन्जुर छ भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर लिम्बुले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
निज प्रतिवादी चक्रबहादुर लिम्बु र निजकी श्रीमती विमला लिम्बु मेरो वडा नं. फरक परे तापनि छिमेकी हुन्, निजहरूबीच केही समयदेखि झगडा गर्दै आइरहेको भन्ने मैले सुनेकी थिएँ । मिति २०७१/०३/२६ गतेका दिन बेलुका म आफ्नो छोरीको घरमा गई आँगनमा उभिइरहेको अवस्थामा निज मृतक विमला लिम्बु कताबाट आई मलाई मेरो घरमा आउनभन्दा मैले हुन्छ भनी निजको पछि पछि निजको घरमा गएँ । घरभित्र प्रवेश गर्दा निज चक्रबहादुर लिम्बुलाई खाना खाउ भनेपछि सामान्य वादविवाद भयो, अनि निज विमला लिम्बुले थुकी दिई थुकेपछि निज चक्रबहादुर लिम्बुले कताबाट काठको आग्लो ल्याई टाउकोमा २ पटक प्रहार गरेको मात्र देखेकी थिएँ, त्यसपछि विमला लिम्बु भुइँमा लडी अनि निज चक्रबहादुर लिम्बु बाहिर निस्की गयो अनि मैले हल्ला खल्ला गरी निज विमलालाई पानी खुवाई दिएँ । अरू मान्छे भेला जम्मा भई निज घाइतेलाई उपचारको लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पठाएकोमा उपचार हुन नसकी निजको सोही राति मृत्यु भएको कुरा थाहा भएको हुँदा निज प्रतिवादीले आफ्नै श्रीमतीलाई सामान्य कुरामा वाद विवाद हुँदा काठको ढोकामा लगाउने आग्लोले प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निजउपर कानूनबमोजिम कारबाही होस् भन्नेसमेत व्यहोराको कृष्णकुमारी राईले गरेको घटना विवरण कागज ।
मिति २०७१/०३/२६ गतेका दिन बेलुका २१.३० बजेको समयमा म आफ्नै घरमा थिएँ, बेलुकाको खाना खाई सुती निदाउन लाग्दा प्रतिवादी चक्रबहादुर लिम्बुको घरमा हल्लाखल्ला हुँदा के भएछ भनी बाहिर निस्की निजको घरमा जाँदा प्रतिवादीको श्रीमती विमला लिम्बु रगताम्मे अवस्थामा भुईंमा छटपटाई रहेको देखी के भयो भनी सोद्धा प्रतिवादी चक्रबहादुर लिम्बुले मेरो श्रीमती बाहिर गई पटक-पटक बोलाउन जाँदा नआएकी र अहिले मातेर आई मलाई गालीगलौज गरी थुक्न थाली मलाई रीस उठी थाम्न नसकी रीसको आवेशमा आई ढोकामा लगाउने आग्लोले टाउकोमा प्रहार गरी घाइते बनाएको हुँ भनी सुनाएको हुँदा निज घाइतेलाई उपचारको लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाएकोमा उपचार हुन नसकी मृत्यु भएको हुँदा निज अपराधीले बिनाकारण आफ्नै घरभित्र रहेको काठको आग्लोले टाउकोमा प्रहार गरी घाइते बनाई सोही चोटका कारण मृत्यु भएको हुँदा निजउपर कानूनबमोजिम कारबाही होस भन्नेसमेत व्यहोराको वस्तुस्थिती मुचुल्का ।
Cause of death is head injury भन्नेसमेत व्यहोराको मृतक विमला लिम्बुको घोपा धरानमा गराएको शव परीक्षण प्रतिवेदन ।
प्रतिवादी चक्रबहादुर लिम्बुले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) अनुसारको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई ऐ. ऐन महलको दफा १३(३) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदाबी ।
मिति २०७१/०३/२६ गते दिउसो मेरी श्रीमती विमला लिम्बु गाउँमा साथीको घरमा गएकी थिइन् । दिउसो २.०० बजेतिर गएकी राति ९.०० बजे आइन् । मैले मेरा ससुरालाई ८.०० बजे फोन गरेँ । श्रीमती नआएको कुरा जानकारी गराएँ, त्यसपछि ९.०० बजे श्रीमती मेरो घरमा आइन् । श्रीमती मातेर आएकीमा श्रीमतीसँग विवाद हुन थाल्यो । मलाई श्रीमतीले थुकी दिइन् । मैले सम्झाउँदा र आग्लो खोसी लिँदा मेरो हातबाट श्रीमतीको टाउकोमा लाग्न गयो । श्रीमतीको टाउकोबाट रगत आउन थालेको देखी गाउँका मानिस खोजी हस्पिटल लगियो । हस्पिटल लैजाँदा लैजाँदैको अवस्थामा बाटोमा नै श्रीमतीको मृत्यु भएको हो र मलाई आत्मग्लानी भई प्रहरीसमक्ष बुझाइदिनू भनी प्रहरीमा आफैँ गएको हुँ । रिसको आवेशमा आई मैले मेरी श्रीमतीको टाउकोमा प्रहार गरेको हुँ । मेरो चोटबाटै मेरी श्रीमतीको मृत्यु भएको हो । मार्ने मनसाय त
थिएन । मारौं भनेर हत्या गरेको होइन । एक्कासी मनमा रीस उठी हिर्काई दिएको थिएँ । टाउकोमा लाग्न गई मृत्यु हुन गएकोले कानूनबमोजिमको हुने सजाय भोग्न तयार छु भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर लिम्बुले सुरू अदालतसमक्ष गरेको बयान ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष समेत बयान गर्दा आफू वैदेशिक रोजगारीमा गई कमाएको हरहिसाबसमेत नदिई मृतक आफूखुशी अरू केटाहरूसँग हिँड्ने गरेकी र यहीक्रममा मिति २०७१/३/२६ गतेका दिन राति मात्र घर आएकी श्रीमतीसँग भनाभन हुँदाकै क्रममा निजले मलाई थुकेकीले तत्काल उठेको रिस थाम्न नसकी आग्लो निकालेर टाउकोमा एकपटक प्रहार गरेकोमा घाइते भएकी र उपचारको लागि लैजाँदे गर्दाको क्रममा निजको मृत्यु भएको हो भनी अपराध गरेकोमा साबित नै रही बयान गरेको देखिएको र निजको सो बयानलाई अनुसन्धानमा बुझिएका मानिसहरूले गरिदिएको कागज व्यहोरा एवं Cause of death is head injury भन्नेसमेत व्यहोराको मृतक विमला लिम्बुको घोपा धरानमा गराएको शव परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी चक्रबहादुर लिम्बुले कसुर गरेको भन्ने देखिँदा निज प्रतिवादीलाई सोही कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सर्वस्वसहित जन्म कैद हुने
ठहर्छ । उपर्युक्त सजाय ठहरे पनि मृतक मरेपछि अपसोचको भाव, प्रतिवादीमा आएको, क्रूर र यातनापूर्ण हत्या नदेखिएको,बारम्बार प्रहार नभएको एवं तत्काल उठेको रिस थाम्न नसकी मर्नेसम्मको अवस्था भएको देखिँदा घट्ना घटेको अवस्था परिस्थितिसमेतलाई विचार गर्दा उपर्युक्त सजाय चर्को पर्न जाने हुँदा प्रतिवादीलाई अ.वं १८८ नं. बमोजिम २(दुई) वर्ष कैद हुने ठहर्छ, साधक जाँचको लागि मिसिल पुनरावेदन अदालतमा पठाई दिनु भन्ने व्यहोराको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/३/२७/१ को फैसला ।
वारदात मितिका दिन रातको ९ बजेको समयमा मातेर घरमा आएकी मेरी श्रीमती मृतक बिमला लिम्बुले के हिसाब खोज्छस् भनी मेरो मुखमा थुकी ढोकाको आग्लो निकाली मलाई हान्न खोज्दा मैले आत्मरक्षाको लागि सो आग्लो खोस्न लाग्दा ढोकामा ठोक्किई निज मृतकको टाउकोमा लागि निज भुइँमा लडेकीले तत्काल अस्पताल लैजाँदै गर्दाका अवस्थामा बाटोमा निजको मृत्यु भएको हो । मैले निजको मृत्युपश्चात् अपसोच गरेको र बारम्बार कुटपिट नभएको, मृतकको मृत्यु भबितब्यबाट हुन गएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद गरी अ. वं. १८८ नं . बमोजिम २(दुई) वर्ष कैद सजाय हुने राय व्यक्त गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी थुनामुक्त गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक / प्रतिवादी चक्रबहादुर लिम्बुको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा, श्रीमतीले हिसाब नबुझाएको र राति अबेर घरमा आई आपसमा डिसकस पर्दा श्रीमतीले आफूलाई थुकी आग्लोले हान्न खोजेकीले सोही आग्लो खोसी हान्दा निजको मृत्यु भएको हो भन्ने प्रतिवादीको बयान भएको अवस्थामा निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहरी भएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७२/३/२७ को फैसला विचारणीय हुँदा मुलुकी ऐन, अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ प्रतिवादीको पुनरावदेनको प्रतिलिपि साथै राखी पुनरावेदन सरकारी वकिल कार्यालय, विराटनगरलाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०७३/२/२४ को आदेश ।
पुनरावेदक प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुर गरेको ठहर गरी सोही महलको १३ (३) नं. अनुसार प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतले मिति २०७२।०३।२७ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने
ठहर्छ । निज प्रतिवादीलाई मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम २ वर्ष मात्र सजाय गर्ने गरी व्यक्त गरेको राय कसुर अपराधको संवेदनशीलताको दृष्टिकोणले उपयुक्त नदेखिँदा सो हदसम्म सुरूको फैसला उल्टी भई पुनरावेदक प्रतिवादीलाई ५(पाँच) वर्ष कैद हुने राय व्यक्त गरी साधक सदरको लागि श्री सर्वोच्च अदालतमा पठाइदिने ठहर्छ भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०७३।०४।१९ को फैसला ।
म पुनरावेदकले मृतकलाई मार्नेसम्मको कुनै पूर्वरिसइवी नभएको श्रीमतीले म पुनरावेदकलाई हान्न खोजेको आग्लो मैले खोसी निजलाई एकपटक प्रहार गरेको अवस्थामा मृत्यु भएको र सो कुरालाई मैले अदालतसमक्षको बयानको स.ज. ८ मा समेत उल्लेख गरेको छु । विदेशबाट पठाएको पैसाको हिसाबको कुरामा विवाद हुँदा मृतकबाट मलाई थुकी मलाई नै हिर्काउन खोज्दा तत्काल रिस थाम्न नसकी भएको घटना भवितव्य भएको हुँदा पुनरावेदन अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चक्रबहादुर लिम्बूको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादीको मार्ने मनसाय रहेको देखिँदैन । मृतककै क्रियाकलापबाट तत्काल उठेको रिसले केही गर्दा मृतकको ज्यान गएको अवस्था छ । वारदात पछि उपचार गर्न प्रतिवादीले नै लगेको र मृत्युपश्चात् पश्चाताप गरेको एवं अनुसन्धानलाई सहयोग गरेको अवस्थासमेत हुँदा प्रतिवादीको मार्ने मनसाय थिएन भन्ने पुष्टि हुन्छ । यसर्थ प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित बहस जिकिर सुनी पुनरावेदन पत्रसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा मिति २०७१।०३।२६ गते बेलुका अं.२१:३० बजेको समयमा प्रतिवादी चक्रबहादुर लिम्बुले आफ्नै श्रीमती बिमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुर अपराधमा ऐ.ऐ. महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी रहेकोमा सुरू जिल्ला अदालतले अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरी अ.बं. १८८ नं. बमोजिम २ वर्ष कैदको राय व्यक्त गरेको फैसलालाई पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजायलाई सदर गरी अ.बं.१८८ नं. बमोजिम ५(पाँच) वर्ष कैदको सजाय गर्ने राय व्यक्त गरेकोमा सो फैसलाउपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन परेको देखिँदा पुनरावेदन अदालत, विराटनगरको मिति २०७३।०४।१९ को फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, प्रतिवादी र मेरो छोरी बिमला लिम्बुका बीचमा १० वर्षअघि विवाह भएको र २ छोरीको जन्म भएको छ । ज्वाइँ केही महिनाअघि विदेश साउदी अरेबियामा रोजगारी गरी फर्किएका हुन् । यसैमा मिति २०७१।०३।२६ गते बेलुका २१:३० बजेको समयमा झगडा गरी मेरो छोरी बिमला लिम्बुलाई ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गरी मरणासन्न भई घाइते तुल्याएको अवस्थामा स्थानीयले थाहा पाई प्रहरीलाई खबर गरी उपचारको लागि लगेकोमा निजको मृत्यु भएको हुँदा निज चक्रबहादुर लिम्बुलाई हदैसम्म सजाय गरिपाउँ भन्ने मृतकका बाबु पञ्चबहादुर लिम्बुको जाहेरी परी प्रस्तुत मुद्दामा अनुसन्धान सुरू भएकोमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा म वैदेशिक रोजगारीमा गई आउने जाने गरेकोमा मैले नै पैसा पठाएर बालबच्चाको पालन पोषण र शिक्षादिक्षाको कार्य गर्दै आएकोमा श्रीमती जाँड खाने, अरू केटाहरूसँग हिँड्ने बस्ने गरेको, सम्झाउँदा बुझाउँदा पनि नमान्ने र मिति २०७१।०३।२६ का दिन बच्चा लिई स्कूल गएकीमा एकैचोटी राति ९ बजेको समयमा मादक पदार्थ सेवन गरी मातेर आई मलाई विभिन्न किसिमका गालीगलौज गरी थुक्न थालेकी र मलाई साह्रै रिस उठी ढोकामा लगाउने आग्लो निकाली टाउकोमा २ पटक हान्दा निज भुइँमा ढली हल्ला खल्ला भई निजलाई उपचारको लागि अस्पताल लगेकोमा सोही चोटको कारण निजको मृत्यु भएको हो भनी बयान गरेको र मार्ने मनसाय नभए पनि एक्कासी उठेको रिसले हिर्काउँदा मेरै चोटको कारण श्रीमतीको मृत्यु भएको हो भनी अदालतमा समेत कसुर स्वीकार गरी बयान गरेको देखिँदा अन्य प्रमाणबाट समर्थित भएको प्रतिवादीको सबिती बयानलाई अन्यथा मान्नुपर्ने देखिएन ।
३. घटनास्थल मुचुल्काबाट प्रतिवादीले मृतकलाई हिर्काएको आग्लो काठ बरामद भएको र मृतकको शव परीक्षण प्रतिवेदनबाट Cause of death is head injury भन्ने देखिएको छ भने घटना विवरण कागज गर्ने कृष्ण कुमारी राईले म छोरीको घरमा गई आउँदा बिमला लिम्बु भेट भई उनको घरमा सँगै जाँदा चक्रबहादुर लिम्बुसँग सामान्य विवाद भई बिमला लिम्बुले थुकेपछि निज चक्रबहादुर लिम्बुले कताबाट काठको आग्लो ल्याई टाउकोमा २ पटक प्रहार गरेको देखेकी थिएँ, त्यसपछि बिमला लिम्बु भुइँमा लडिन निज चक्रबहादुर लिम्बु बाहिर निस्की गएपछि मैले बिमलालाई पानी खुवाएँ । मैले हल्लाखल्ला गरेपछि अरू मान्छे भेला जम्मा भई उपचारको लागि अस्पताल लगेको हो भनी खुलाई कागज गरिदिएको अवस्थाले स्वयं प्रतिवादीको मौकाको एवं अदालतमा भएको साबिती बयानलाई नै समर्थन र संपुष्टि गरेको हुँदा उपर्युक्त आधार र कारणबाट निजले नै हानेको चोटबाट मृतकको मृत्यु हुन गएको पुष्टि भएको देखिन आउँदा अभियोग दाबीबाट सफाई पाउनुपर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तथा निजको कानून व्यवसायीबाट प्रस्तुत बहससँग सहमत हुन सकिएन ।
४. अत: माथि विवेचित आधार प्रमाणबाट पुनरावेदक प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को कसुर गरेको ठहर गरी सोही १३(३) नं. अनुसार निज प्रतिवादीलाई सर्वस्वसहित जम्मकैद हुने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०७३।०४।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
५. अब प्रतिवादीलाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ५(पाँच) वर्ष मात्र कैद गर्ने गरी राय व्यक्त गरेको पुनरावेदन अदालत, विराटनगरको राय मनासिब छ, छैन भन्ने सम्बन्धमा विचार गर्दा, यी पुनरावेदक प्रतिवादी र मृतकबीच पति पत्नीको नाता रहेको र दुई सन्तानको जायजन्म भएको देखिन्छ । यी प्रतिवादी विदेशमा वैदेशिक रोजगारीमा रही परिवार र बालबच्चाको लालन पालन पढाई लेखाईसमेतको खर्च बेहोर्ने गरेको भन्ने मिसिलबाट खुलेको छ । यी प्रतिवादी स्वयं जाँड रक्सी खाने श्रीमतीलाई दु:ख दिने तथा घरेलु हिंसा गर्ने गरेको भन्ने पनि देखिँदैन । मुलुकी ऐन, अ.बं.१८८ नं.को व्यवस्था हेर्दा “सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नपर्ने भएका मुद्दामा साबित ठहरे पनि ईन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय गर्दा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकेमा लेखी जाहेर गर्नुपर्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भन्ने व्यवस्था रहेको पाईन्छ । यो व्यवस्था पूर्ण न्याय गर्ने मनसायले विधायिकाले न्यायपालिकालाई दिएको स्वविवेकीय अधिकार हो । फौजदारी कानूनले यसलाई नेपालको सन्दर्भमा ज्यानसम्बन्धी मुद्दाका चार प्रकार ज्यानमारा, आवेशप्रेरित हत्या, भवितव्य हत्या र मिटिगेटेड होमीसाईड (mitigated homicide) मध्ये चौथो प्रकारमा विकसित भएको अवस्था छ । जसलाई न्यायपालिकीय सृजनाको रूपमा लिने गरिन्छ । प्रस्तुत स्वविवेकीय अधिकारको प्रयोग गर्दा सर्वोच्च अदालतले विभिन्न मुद्दा र विभिन्न समयमा निश्चित मापदण्ड र आधारहरूको (शान्ति वि.क. वि. नेपाल सरकार, ने.का.प. २०६१ असोज, नि.नं. ७३९९) सृजना र व्याख्या गरेकोसमेत पाइन्छ ।
६. पुनरावेदक प्रतिवादीको मृतक बिमला लिम्बुलाई मार्नुपर्नेसम्मको कुनै रिसइवी र निजलाई मार्नलाई पूर्वयोजना बनाई योजनाबमोजिम हत्या गरेको देखिँदैन । वारदातमा जोखिमी हतियारको प्रयोग नभई काठको आग्लो प्रयोग भएको अवस्था छ । मृतक आफैँ रक्सी सेवन गरी ढिला गरी घर आई प्रतिवादीलाई थुकी निहुँ खोजी वारदात हुनका लागि प्रतिवादीलाई रिस उठाउने र वारदात हुनमा उत्प्रेरित गरेको पाइन्छ । मृतकउपर प्रतिवादीले चोट छाड्नु पर्ने कारक तत्त्वको रूपमा मृतक स्वयंको प्रतिवादी प्रतिको दुर्व्यवहार नै रहेको देखिन्छ । यी प्रतिवादीले मृतक र आफूबीच वारदातको दिन भएको सबै घटना विवरण उल्लेख गर्दै अनुसन्धान अधिकारीसमक्ष र अदालतमा समेत वारदातमा साबित भई न्यायिक प्रक्रियालाई सहयोग पुर्याएको देखिन्छ । अपराध गरे पनि आफ्नो कसुर लुकाई अन्तिम समयसम्म उम्कन खोज्ने अपराधी र कसुरमा साबित भई अदालती प्रक्रियालाई सहयोग पुर्याउने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त हुँदैन । यस्ता दुवै प्रकृतिमा अपराधीलाई समान सजाय तोक्ने हो भने भविष्यमा कसुरमा साबित भई न्यायिक प्रक्रियामा सहयोग पुर्याउने प्रवृत्ति निरूत्साहित हुन जाने र अपराध स्वीकार गर्ने प्रवृत्तिमा पनि नकारात्मक असर पर्न जाने देखिन्छ । उल्लिखित यी सबै तथ्यलाई विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको सर्वस्वसहितको पुरै सजाय गर्दा चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम ५(पाँच) वर्ष मात्र सजाय गर्ने गरी राय व्यक्त गरेको पुनरावेदन अदालत, विराटनगरको साधक जाहेरी रायसमेत मनासिब देखिँदा सदर भई निज प्रतिवादीलाई सोहीबमोजिम ५(पाँच) वर्ष मात्र कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, विराटनगरबाट प्रतिवादी चक्रबहादुर लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद ठहर गरी मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम ५(पाँच) वर्ष मात्र कैद गर्ने गरी भएको मिति २०७३।०४।१९ को फैसला सदर भएकोले सुरू सुनसरी जिल्ला अदालतबाट राखेको तपसिल खण्डको देहाय १ नं. बमोजिमको सर्वस्वसहित जन्मकैदको लगत कट्टा गरी ५(पाँच) वर्ष कैदको लगत राखी सोहिबमोजिम असुल गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ....................१
इन्साफ खण्डमा लिखिएबमोजिम ५(पाँच) वर्षमात्र कैदको सजाय हुने ठहरेकाले प्रतिवादीको अंश सर्वस्व गर्न नपर्ने भएको हुँदा सुरू फैसलाबमोजिम प्रतिवादीको अंश भागको घरजग्गा सर्वस्वबापत रोक्का राकेको भए फुकुवा गरिदिनु भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .............................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ....................................३
उक्त रायमा सहमत छु ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृत: ढाकाराम पौडेल
इति संवत् २०७४ साल फागुन ६ गते रोज १ शुभम् ।