शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९२७ - क्षतिपूर्ति भराई पाऊँ

भाग: ६० साल: २०७५ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७४।८।१२

 

मुद्दा : क्षतिपूर्ति भराई पाऊँ

 

०७२-CI-०५४९

पुनरावेदक / प्रतिवादी : फैसलामा परोपकार मेटरनटी एण्ड विमेन्स हस्पिटल, थापाथली भनी उल्लेख भएकोमा सो नभई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीको तर्फबाट ऐ.को अख्तियारप्राप्‍त अमरनाथ अमात्य

विरूद्ध

प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर

 

०७२-CI-०५४८

पुनरावेदक / प्रतिवादी : साबिकमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत रही हाल अवकाशप्राप्‍त का.जि., का.म.न.पा. वडा नं. ४ बस्ने डा.सुधा थापा

विरूद्ध

प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर

 

०७२-CI-०५५२

पुनरावेदक / प्रतिवादी : महोत्तरी जिल्ला, मडै गा.वि.स. वडा नं. ४ घर भई हाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीका सिनियर मेडिकल अधिकृत (सि.रजिस्ट्रार) पदमा कार्यरत डा. मीना झा

विरूद्ध

प्रत्यर्थी / वादी : धादिङ जिल्ला, कम्पुर गा.वि.स. वडा नं. ३ बस्ने सुब्बा पुलामी मगर

 

भर्खर जन्मिएकी नाबालकलाई आफूउपर भएको ज्यादती लापरवाही वा अन्याय विरूद्ध उपचार माग्ने हदम्याद निज बालिग भएपछि सुरू हुने भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी निश्‍चित अवस्थासम्म हदम्यादको लचकता वृद्धि हुने सिद्धान्त (Doctrine of Tolling) लाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४० नं. ले अङ्गीकार गरेको देखिने ।

(प्रकरण नं.४)

सामान्यतः चिकित्सकबाट भएको कार्य सम्पादन (Performance) Standard of care भन्दा निम्नस्तरको कार्य / व्यवहार हो अथवा घटनाको कारण यही हो भनी विशेषज्ञ (Expert) ले पहिचान गर्नसक्ने प्रकृतिको हुने भएकोले यस सम्बन्धमा विशेषज्ञको कथन महत्त्वपूर्ण मानिने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री देवेन्द्र झा, श्री गणेश विक्रम कार्की

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योती बानियाँ तथा श्री हरिश्‍चन्द्र तिमल्सेना

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू निर्णय गर्ने निकायः

जिल्ला क्षतिपूर्ति समिति, काठमाडौं

पुनरावेदन तहमा फैसला गर्नेः-

मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी

माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा

 

फैसला

न्या. दीपकराज जोशी : न्याय  प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।१०।२३ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउन निवेदन परी दोहोर्‍याई हेर्ने निस्सा भएउपर पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

प्रसूतिको लागि अस्पताल लगी जन्म भएको मेरो नाबालक छोरीलाई विपक्षीहरूले उपचारको क्रममा प्रयोग गरेको औषधी र नाबालकलाई सुई दिँदा प्रयोग गरेको पद्धति, उचित पर्याप्तरूपमा हेरचाह र वास्ता नगरी लापरवाही गरी उपचार गरेको कारणले गर्दा नाबालकको देब्रे खुट्टा काटी अपाङ्ग बनाई हानि नोक्सानी पुर्‍याएकोले विपक्षीहरूबाट उपचार खर्च, औषधी खर्च, शारीरिक अपाङ्गताबापत तथा मानसिक क्षतिबापत समेत एकमुष्ठ रू.९०,४०,०००।– (नब्बे लाख चालीस हजार) क्षतिपूर्ति दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको मिति २०६६।२।३ गते जिल्ला क्षतिपूर्ति समिति काठमाडौंमा परेको निवेदनपत्र ।

उजुरीकर्ताकी पत्‍नी मिति २०६५।१०।१४ गतेका राति ०९:२५ बजे यस अस्पतालमा भर्ना भई प्रसूतिसम्बन्धी उपचार गराएको हो । उपचारको क्रममा सोही राति १२ बजे ३० हप्ता अवधि पूरा भएको १.५ के.जि.तौलको FEMALE बच्चा Premature Vaginal Delivery भएको देखिन्छ । बिरामीको अभिभावकको हैसियतमा यिनै उजुरीकर्ताको मन्जुरीमा उपचार गरिएको अस्पतालको Admission and Summary Report बाट देखिन्छ । बिरामी विमला थापा मिति २०६५।११।२ मा डिस्चार्ज भएको र निज विमला थापालाई जण्डिस भएको पनि उपचारसम्बन्धी अभिलेखबाट देखिन्छ । Premature baby unit मा राखिएको बच्चीको देब्रे खुट्टाको तल्लो एक तिहाई भाग निलो भएको र त्यस्तो केसको उपचार यस अस्पतालमा नहुने भएकोले सोको उपचारको लागि कान्ती अस्पताल रेफर गरेको देखिन आउँछ । यस अस्पतालबाट मिति २०६५।११।२ मा बिरामी डिस्चार्ज गरिसकेको अवस्थामा बच्चीको खुट्टाको उपचारको जानकारी हामी प्रतिवादीलाई छैन । तसर्थ हामीबाट उपचारमा कुनै लापरवाही तथा हेलचेक्राईं नभए नगरेको हुँदा फिराद व्यहोरा झुठ्ठा हुँदा खारेज गरिपाउँ भन्‍ने व्यहोराको मिति २०६६।८।१६ को प्रतिवादी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली र ऐ.मा कार्यरत डाक्टर सुधा थापाको प्रतिउत्तर जिकिर ।

प्रतिवादी मीना झाका हकमा प्रतिउत्तर नै नफिराई सुरू म्यादै गुजारी बसेको ।

वादी पक्षका साक्षी कमला मगर र श्याम सिलवालले तथा प्रतिवादीका साक्षी डा. धनराज अर्यालले गरेको बकपत्र मिसिल सामेल रहेको ।

जिल्ला क्षतिपूर्ति समितिको आदेशअनुसार नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट उपचारमा कुनै अप्राकृतिक कार्य भएको हुनसक्ने सम्भावना नदेखिएको भन्‍नेसमेत व्यहोराको सम्बन्धित विशेषज्ञको रायसमेत मिसिल सामेल रहेको ।

वादीको नवजात शिशुको उपचार गर्दा  मानवीय विचार नै गुमाई अवलम्बन गर्नुपर्ने चिकित्सकीय पद्धतिको अनुशरण नै नगरी लापरवाहीपूर्ण उपचार गरेको कारणबाट बच्चाको देब्रे खुट्टा नै काट्नु परेको अवस्था सृजना भएको पुष्टि हुँदा प्रतिवादी डा.सुधा थापाबाट रू.४,५०,०००।– (चार लाख पचास हजार), प्रतिवादी डा. मीना झाबाट रू.४,५०,०००।– (चार लाख पचास हजार) र प्रतिवादी परोपकार मेटरनिटी एण्ड विमन्स हस्पिटल, थापाथलीबाट रू.१,००,०००।– (एक लाख) यी वादी सुब्बा पुलामी मगरले क्षतिपूर्तिबापत दिलाई भराई लिन पाउने ठहर्छ भन्‍ने सुरू जिल्ला क्षतिपूर्ति समिति, काठमाडौंको मिति २०६८।४।४ को निर्णय ।

उजुरीकर्ताकी पत्‍नी मिति २०६५।१०।१४ गते राति ९:२५ बजे यस अस्पतालमा भर्ना भई प्रसूतिसम्बन्धी उपचार गराएको हो । सोही राति १२:०० बजे ३० हप्ता अवधि पूरा भएको १.५ के.जि. तौलको FEMALE बच्चा Premature Vaginal Delivery भएको देखिन्छ । यो Case को Delivery डा.दिप्तीबाट भएको उपचारसम्बन्धी अभिलेखबाट देखिन्छ । बिरामी विमला थापा मिति २०६५।११।२ मा डिस्चार्ज भएको र निज विमला थापालाई जन्डिस भएको पनि उपचारसम्बन्धी अभिलेखबाट पुष्टि भएको छ । Premature baby unit मा राखिएको बच्चीको देब्रे खुट्टाको तल्लो एक तिहाई भाग नीलो भएको र त्यस्तो केशको उपचार यस अस्पतालमा नहुने भएकाले सोको उपचारका लागि तत्काल बच्चालाई कान्ति बाल अस्पताल, महाराजगञ्ज रेफर गरेको पाइन्छ । मिति २०६५।११।२ सम्म राखी डेलिभरीसम्बन्धी उपचार गरी डिस्चार्ज गरेको हुँदा खुट्टाको उपचारको जानकारी हामी प्रतिवादीलाई छैन । खुट्टाको उपचार यस अस्पतालबाट भएको पनि होइन । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ बमोजिमको हदम्यादभित्र पनि उजुरी नपरेको र अस्पतालमा भएको उपचारमा कुनै चिकित्सकीय लापरवाही ढिलासुस्ती नभएको र सही तथा उपयुक्त तवरले चिकित्सकीय पद्धतिको अवलम्बन गरी उपचार भएको अवस्थामा क्षतिपूर्ति दिलाउने गरी भएको जिल्ला क्षतिपूर्ति समितिको मिति २०६८।४।४ को निर्णय प्रतिपादित कानूनी सिद्धान्त एवं प्रचलित कानूनी व्यवस्थाविपरीत भई त्रुटिपूर्ण भएकाले सो निर्णय उल्टी गरी दाबी खारेज गरिपाउँ भन्‍नेसमेत व्यहोराको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

विपक्षीले दाबी गरेको नवजात बच्चाको उपचारमा म कतै कुनै प्रकारले संलग्न छैन । म बच्चाहरूको उपचार गर्ने विशेषज्ञ पनि होइन । उक्त अस्पतालको जिम्मेवार पदमा रहेकै कारणले उजुरी परी मैले प्रतिवाद गर्नु परेको हो । Special Care Baby Unit को Discharge Summary बाट बच्चाको उपचार गर्ने चिकित्सक शान्ति नामको व्यक्ति रहेको देखिएको छ । म स्त्री तथा प्रसूति रोगको विज्ञको हैसियतले स्त्रीरोग तथा प्रसूति रोग चिकित्सकको हैसियतले समूह D को प्रमुखको रूपमा कार्यरत रहेको र उजुरवालाकी श्रीमती विमला थापाको उपचार समूह D अन्तर्गतसम्म भएको हो । म आफैँ संलग्न नरही मेरो समूहकी सहयोगी डा.मीना झा संलग्न रहेकी हुन् र सो कुरा विमला थापाको डिस्चार्ज समरीबाट समेत स्पष्टरूपमा देखिएको छ । मिति २०६७।११।१८ को रामेश्वरप्रसाद पोखरेलसमेतको रायले उपचार पद्धतिमा कुनै त्रुटि वा लापरवाही भएको नदेखिएको, उपचारमा चाहिने औषधी समयमा नै प्रयोग भएको कुरा पुष्टि भइरहेको छ । अतः कुनै आधार बेगर दक्षतापूर्वक उपचार गरी देखिएको जटिलताको आधारमा सम्बन्धित विशेषीकृत अस्पतालमा रेफर गरिएको र विद्यमान उपचार प्रणालीअन्तर्गत सम्बन्धित चिकित्सकले गरेको चिकित्सामा कुनै त्रुटि लापरवाही नभएको हुँदा एवं प्रस्तुत उजुरी उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेको कानूनबमोजिमको हदम्याद नघाई दायर भएको हुँदा खारेजभागी छ भन्‍नेसमेत व्यहोराको मिति २०६८।११।२९ को डा.सुधा थापाको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

म पुनरावेदक, विपक्षीको श्रीमती विमला थापाको उपचारको क्रममा संलग्न चिकित्सक होइन, छैन । उपचारसम्बन्धी कागजाहरूको डिस्चार्जसम्बन्धी प्रमाणपत्रमा फर डा.मीना मात्र लेखिएको आधारमा मलाई विपक्षी बनाई मेरा विरूद्ध मुद्दा दायर गरिएको हो । उक्त कागजातमा भएको सही मेरो होइन । अस्पतालको प्रतिउत्तरपत्रको प्रकरण २ को ख मा विपक्षीको श्रीमतीको उपचार डा.दिप्तीबाट भएको तथ्य उल्लेख गरिएको छ । निज बिरामीको उपचारमा मेरो संलग्नता नभएको तथ्यतर्फ दृष्टि नपुर्‍याई हचुवा तवरबाट दिएको उजुरीको आधारमा नगद रू.४,५०,०००।– क्षतिपूर्ति भराउने गरी म पुनरावेदक विरूद्ध गरिएको जिल्ला क्षतिपूर्ति समितिको निर्णय कानूनी आधार, नजिर सिद्धान्तसमेतको प्रतिकूल हुँदा खारेज गरी झुठ्ठा दाबीबाट फुर्सद दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको डा.मीना झाको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

एउटा रोगको उपचार गर्दा उपचारको क्रममा अर्को रोगको लक्षण देखिनु, अर्को रोग पत्ता लाग्नु, अरू जटिलताहरू पैदा हुँदै जानु स्वभाविकै हो, सोको निदानका लागि अपनाउनुपर्ने उचित चिकित्सकीय पद्धतिलाई अनुसरण गर्नु बाध्यकारी हुन्छ । प्रस्तुत मुद्दामा डेलिभरी भई बच्चा जन्मिसकेपछि बच्चाको खुट्टामा समस्या देखिँदा तत्सम्बन्धमा विचारै नगरी बच्चाको खुट्टामा देखा परेको समस्यातर्फ तत्काल मौकैमा अपनाउनुपर्ने उचित स्वास्थ्य सेवा प्रदान नगरिएकै कारण जरियाबाट नवजात अबोध शिशुको देब्रे खुट्टाको घुँडा मुनिसम्मको पूरै भाग काट्नु परी जीवनभरि अपाङ्ग हुनुलाई सेवा प्रदायक अस्पताल एवं चिकित्सक यी प्रतिवादीहरूको दायित्व नरहेको भन्न सकिने अवस्था देखिँदैन । यस सम्बन्धमा नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट प्राप्त विशेषज्ञको रायमा यकिन जवाफ नआई गोश्‍वारा रूपमा राय प्राप्त भएको राय प्रदान गर्ने विशेषज्ञलाई परीक्षणको लागि बुझ्न पत्राचारसमेत हुँदा निज विशेषज्ञले कुनै चासोसमेत नदेखाई उपस्थितै नभई बसेको अवस्थासमेत हुँदा त्यस्तो रायलाई आधार मानी उपभोक्ताको हकहित एवं प्रस्तुत मुद्दाको संवेदनशीलतासमेतलाई हेर्दा त्यत्तिकै भरमा न्यायिक निरूपण हुनसक्ने अवस्थासमेत नहुँदा मिसिल संलग्न प्रमाणका सूक्ष्मगत अध्ययनबाट निवेदक वादीको नवजात शिशुको उपचार गर्दा मानवीय दृष्टिकोणले मौकैमा अपनाउनुपर्ने कार्यविधिको विचार नै नगरी अवलम्बन गर्नुपर्ने चिकित्सकीय पद्धतिको अनुसरण नै नगरी हेलचेक्राई गरी लापरवाहीपूर्ण तरिकाले उपचार गरेको कारणबाट बच्चाको देब्रे खुट्टा नै काट्नु परेको अवस्थाको सृजना भएको पुष्टि हुन आउँछ । बच्चा नाबालकबाट साबालक नभएसम्म बच्चालाई उजुर गर्ने हदम्याद कानूनले नै सुरक्षित गरेको अवस्था हुँदा संरक्षक बाबुको मागबमोजिम उपभोक्ता संरक्षण मञ्‍चको पत्रबाट उजुरी दर्ता भएकोलाई ३५ दिने हदम्याद नाघेर दर्ता भएको भनी हदम्यादको अभाव देखाई मुद्दा खारेज गर्न मिल्ने अवस्था देखिँदैन । तसर्थ प्रतिवादीहरूबाट जम्मा रू.९०,४०,०००।– क्षतिपूर्ति रकम दिलाई भराई पाउँ भन्‍ने निवेदक वादीको निवदेन उजुरी दाबी रहेकोमा प्रतिवादीमध्ये परोपकार प्रसूति तथा स्त्रीरोग   

अस्पताल, थापाथली, काठमाडौंबाट रू.१,००,०००।–, सो अस्पतालमा कार्यरत उपचारमा संलग्न प्रतिवादीहरू डा.सुधा थापाबाट रू.४,५०,०००।–, प्रतिवादी डा. मीना झाबाट रू.४,५०,०००।– गरी जम्मा रू.१०,००,०००।– उजुरकर्ता वादीले क्षतिपूर्तिबापत दिलाई भराई पाउने ठहराएको सुरू क्षतिपूर्ति समिति, काठमाडौंबाट मिति२०६८।४।४ मा भएको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।१०।२३ को फैसला ।

अस्पतालको प्रतिउत्तरपत्रको प्रकरण २ को ख मा विपक्षीको श्रीमतीको उपचार डा.दिप्तीबाट भएको तथ्य उल्लेख गरिएको छ । निज बिरामीको उपचारमा मेरो संलग्नता नभएको तथ्यतर्फ दृष्टि नपुर्‍याई हचुवा तवरबाट दिएको उजुरीको आधारमा नगद रू.४,५०,०००।– क्षतिपूर्ति भराउने गरी म पुनरावेदक विरूद्ध गरिएको जिल्ला क्षतिपूर्ति समितिको निर्णय कानूनी आधार, नजिर सिद्धान्तसमेतको प्रतिकूल हुँदा खारेज गरी झुठ्ठा दाबीबाट फुर्सद दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको डा.मीना झाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

म स्त्री तथा प्रसूति रोगको विज्ञको हैसियतले स्त्रीरोग तथा प्रसूति रोग चिकित्सकको हैसियतले समूह D को प्रमुखको रूपमा कार्यरत रहेको र उजुरवालाकी श्रीमती विमला थापाको उपचार समूह D अन्तर्गतसम्म भएको हो । म आफैँ संलग्न नरही मेरो समूहकी सहयोगी डा.मीना झा संलग्न रहेकी हुन् र सो कुरा विमला थापाको डिस्चार्ज समरीबाट समेत स्पष्टरूपमा देखिएको छ । मिति २०६७।११।१८ को रामेश्वरप्रसाद पोखरेलसमेतको रायले उपचार पद्धतिमा कुनै त्रुटि वा लापरवाही भएको नदेखिएको, उपचारमा चाहिने औषधी समयमा नै प्रयोग भएको कुरा पुष्टि भइरहेको छ । अतः कुनै आधार बेगर दक्षतापूर्वक उपचार गरी देखिएको जटिलताको आधारमा सम्बन्धित विशेषीकृत अस्पतालमा रेफर गरिएको र विद्यमान उपचार प्रणालीअन्तर्गत सम्बन्धित चिकित्सकले गरेको चिकित्सामा कुनै त्रुटि लापरवाही नभएको हुँदा एवं प्रस्तुत उजुरी उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेको कानूनबमोजिमको हदम्याद नघाई दायर भएको हुँदा खारेजभागी छ भन्‍नेसमेत व्यहोराको डा. सुधा थापाको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

Premature baby unit मा राखिएको बच्चीको देब्रे खुट्टाको तल्लो एक तिहाई भाग नीलो भएको र त्यस्तो केशको उपचार यस अस्पतालमा नहुने भएकाले सोको उपचारका लागि तत्काल बच्चालाई कान्ति बाल अस्पताल, महाराजगञ्ज रेफर गरेको पाइन्छ । मिति २०६५।११।२ सम्म राखी डेलिभरीसम्बन्धी उपचार गरी डिस्चार्ज गरेको हुँदा खुट्टाको उपचारको जानकारी हामी प्रतिवादीलाई छैन । खुट्टाको उपचार यस अदालतबाट भएको पनि होइन । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ बमोजिमको हदम्यादभित्र पनि उजुरी नपरेको र अस्पतालमा भएको उपचारमा कुनै चिकित्सकीय लापरवाही ढिलासुस्ती नभएको र सही तथा उपयुक्त तवरले चिकित्सकीय पद्धतिको अवलम्बन गरी उपचार भएको अवस्थामा क्षतिपूर्ति दिलाउने गरी भएको जिल्ला क्षतिपूर्ति समितिको मिति २०६८।४।४ को निर्णय प्रतिपादित कानूनी सिद्धान्त एवं प्रचलित कानूनी व्यवस्थाविपरीत भई त्रुटिपूर्ण भएकाले सो निर्णय उल्टी गरी दाबी खारेज गरिपाउँ भन्‍नेसमेत व्यहोराको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, थापाथलीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा डा. सुधा थापा उपचारमा संलग्‍न नभएको प्रसूति गृहबाट मिति २०६५।११।२ मा कान्ति अस्पतालमा जान रेफर गरी डिस्चार्ज भएकोमा सोको १८ दिन पछि मिति २०६५।११।१९ मा मात्र कान्ती अस्पतालमा भर्ना भएको र हदम्यादको व्याख्यात्मक प्रश्‍नसमेत भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्‍नेसमेत व्यहोराको मिति २०७२।५।९ गतेको यस अदालतको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री देवेन्द्र झा, श्री गणेश विक्रम कार्कीले विपक्षी यस अस्पतालमा २०६५।१०।१४ गतेमा भर्ना भई मिति २०६५।११।१ मा डिस्चार्ज भएको र मिति २०६६।२।३ गतेमा उजुरी दिएको देखिन्छ । यस्तो स्थितिमा उजुरी हदम्यादविहीनको देखिएको तथा विपक्षीको नाबालक छोरीको खुट्टा काट्‍ने कार्य प्रतिवादी अस्पतालबाट समेत भएको छैन । बच्‍चा Premature जन्मिएको तथ्यसमेत उपचारको कागजबाट पुष्टि छ । प्रतिवादीमध्ये मिना झाबाट उपचार भएको पनि होइन । डा.सुधा थापासमेत उपचारमा संलग्‍न होइन । बेलैमा रेफर गरी पठाएकोसमेत अवस्था छ । यस्तो स्थितिमा प्रतिवादीहरूको कुनै लापरवाही पुष्टि हुन नसकेको अवस्था भएकोले पुनरावेदन अदालतको फैसला उल्टी भई प्रतिवादीहरूले सफाई पाउनुपर्छ भनी तथा प्रत्यर्थी / निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री ज्योती बानियाँ तथा हरिश्‍चन्द्र तिमल्सेनाले मिसिल संलग्‍न कागजात हेर्दा पनि डा. सुधा थापा उपचारमा संलग्‍न रहेको कुरा डिस्चार्ज सर्टिफिकेटको टिकटमा नै उल्लेख भएको, निजले दिएको प्रतिउत्तरको प्रकरण २(ख) नं. र व्यहोराबाट तथा पुनरावेदन पत्रको प्रकरण ४ मा आफू सो समूहको प्रमुखको रूपमा कार्यरत रहेको भनी उल्लेख गरेबाटै निजको कर्तव्य र संलग्‍न नभएको भन्‍ने कुरा सर्वथा झुठ्ठा हो । यसैगरी प्रसूति गृहबाट मिति २०६५।११।१ मा कान्ति अस्पतालमा रिफर गरी २०६५।११।१ भन्‍ने भई २०६५।११।२३ मा मात्र डिस्चार्ज भएकी छन् । २०६५।११।२६ मा भर्ना गराएको त केवल Gangrenous Foot काट्न अपरेशन भएको थियो । पीडित नाबालक भएकोले हदम्याद गुज्रिएको अवस्था पनि छैन र निस्सामा उल्लेख भएको कुनै आधार कारण प्रस्तुत मुद्दामा सान्दर्भिक नहुँदा सुरू मिति २०६८।४।४ को फैसला निर्णय र पुनरावेदन अदालत, पाटनको २०६९।१०।२३ को फैसला सदर हुने गरी पूर्ण न्याय पाउँ भनी गर्नुभएको बहससमेत सुनी मिसिल तथा दुवैतर्फबाट पेस भएको बहसनोटसमेत अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षीहरूबाट गरेको गलत उपचारले गर्दा मेरो नाबालक बच्‍चाको देव्रे खुट्टा अपाङ्ग बनाई हानि नोक्सानी गरेको र बालक जन्मिएपछि सुन्‍निएको देख्दादेख्दै र मैले बारम्बार भन्दाभन्दै लापरवाही गरेको हुँदा रू.९०,४०,०००।– क्षतिपूर्ति दिलाई पाउँ भन्‍ने उजुरी निवेदन परी जिल्ला क्षतिपूर्ति समिति काठमाडौंबाट डा. सुधा थापा र डा.मिना झाबाट जनही रू.४,५०,०००।– तथा प्रतिवादी परोपकार मेटरनिटी एण्ड विमेन्स अस्पताल थापाथलीबाट रू.१,००,०००।– क्षतिपूर्ति भराई दिने गरी फैसला भएकोमा सोउपर प्रतिवादीहरूको पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट सुरू फैसला सदर गर्ने गरी भएको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउन प्रतिवादीहरूको निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भई पेस हुन आएको देखियो ।

३. निवेदककी श्रीमती विमला थापाको उपचारमा डा. सुधा थापा संलग्‍न रहे नरहेको भन्‍नेतर्फ मिसिल संलग्‍न निजकै लिखित जवाफबाट विमला थापाको उपचार गर्ने युनिट “D” ग्रुपको प्रमुखको रूपमा निज डा.सुधा थापा रहेको भन्‍ने उल्लेख भएको देखिएको छ । प्रस्तुत विवादमा नाबालकको जन्म हुँदाकै क्रममा संलग्‍न चिकित्सकले लापरवाही गरेको भन्‍ने नभई नाबालक जन्मदै खुट्टा सुन्‍निएको अवस्थाको रहेकोमा त्यसको Due Care नगरेको कारण गम्भीर अवस्था सृजना भई देव्रे खुट्टा काट्‍ने अवस्थामा पुर्‍याएको भन्‍ने देखिएको छ । सो सन्दर्भमा नाबालक जन्मिएपछि आफ्नो वार्डको बिरामीको Follow up गर्ने कामको जिम्मेवारीसमेत सो वार्डको इन्चार्जको कार्यक्षेत्रअन्तर्गत नै रहने कुरालाई अन्यथा भन्न सकिँदैन । निवेदक / प्रत्यर्थीको नाबालक छोरीको उपचारको क्रममा gangrine भई क्रमशः खुट्टाको अवस्था बिग्रदै गई काट्‍ने अवस्थामा पुगेको देखिएकोले बिरामीको उपचारको सम्पूर्ण प्रक्रिया र Follow up को महत्त्वपूर्ण स्थान रहने र त्यसमा सो वार्डका प्रमुखको समेत दायित्व रहने कुरालाई इन्कार गर्न सकिने अवस्था देखिँदैन ।

४. निवेदन हदम्यादविहीन भएको भनी जिकिर लिएको सम्बन्धमा हेर्दा निवेदककी छोरी नाबालक रहेको र उपचारको क्रममा खुट्टा काट्‍नु परी अपाङ्ग भएको अवस्था देखिन्छ । त्यस्ती भर्खर जन्मिएकी नाबालकलाई आफूउपर भएको ज्यादती लापरवाही वा अन्याय विरूद्ध उपचार माग्ने हदम्याद निज बालिग भएपछि सुरू हुने भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी निश्‍चित अवस्थासम्म हदम्यादको लचकता वृद्धि हुने सिद्धान्त (Doctrine of Tolling) लाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४० नं.ले अङ्गीकार गरेको छ । उक्त नम्बरको व्यवस्था हेर्दा “हदम्यादभित्र नालिस गर्नुपर्ने मानिस सोह्र वर्ष नाघेको रहेनछ भने सोह्र वर्ष नाघेका दिनदेखि हदम्यादसम्म नालिस दिए लाग्‍छ...” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो व्यवस्थासमेत प्रस्तुत सन्दर्भमा सान्दर्भिक छ । 

५. निवेदक प्रत्यर्थीकी पत्‍नी मिति २०६५।१०।१४ मा परोपकार मेटरनिटी एण्ड विमेन्स हस्पिटल थापाथलीमा भर्ना भई प्रसूति उपचारको क्रममा रही राति १२.३० बजे ३० हप्‍ता अवधि पुगेको Female बच्‍चाको जन्‍म भएको भन्‍ने कुरामा विवाद देखिँदैन । सामान्यतः एउटा रोगको उपचारको लागि अस्पताल पुगेको बिरामीलाई अर्को रोग लाग्न नसक्ने भन्ने पनि होइन तर यसरी रोग लागेको देखिएपछि समयमै उपचारका standard of care को अवलम्बन गरिएकै हुनुपर्छ भन्ने कुरामा दुईमत राख्‍न पनि सकिँदैन । पीडित नाबालकको जन्म भएपछि उपचारको क्रममा देब्रे खुट्टामा Gangrine भई काट्नु परेको प्रस्तुत अवस्था चिकित्सकको लापरवाहीका कारण भएको हो होइन भनी विचार गर्दा सर्वप्रथम स्वास्थ्य उपचारमा लापरवाहीको सन्दर्भलाई केलाउनु पर्ने देखिन्छ । 

६. चिकित्साकर्मी वा चिकित्सा व्यवसायीले उपचारको क्रममा पालना गर्नुपर्ने आधारभूत स्तर (Standard of care) वा विधि (Method) को अवलम्बनको प्रश्‍न, अवलम्बन गर्नुपर्ने आचरण (Code of Condnct) को प्रश्‍न वा बिरामीलाई दिनुपर्ने सूचना र सहमति (Informed Consent) सम्बन्धी मान्यता नै स्वास्थ्य उपचारमा लापरवाहिको सन्दर्भमा महत्त्वपूर्ण रूपमा केलाउनु पर्ने तथ्यहरू हुन् । उल्लिखित महत्त्वपूर्ण तथ्य र अवस्थाहरूलाई बिरामीको उपचारको क्रममा इमान्दारीपूर्वक पालना नगरेको वा बेवास्ता गरेको परिणाम स्वरूप निज चिकित्सकसँग उपचार गराई रहेको वा सेवा लिइरहेका बिरामीलाई थप नकारात्मक असर परेमा, हानि नोक्सानी भएमा वा मृत्यु भएमा त्यसलाई चिकित्साकर्मीबाट भएको वा स्वास्थ्य उपचारमा लापरवाही भएको मानिन्छ । यसरी लापरवाही भएको स्थापित हुनुका लागि मूख्यतः ४ वटा तत्त्वहरू प्रमाणित हुनुपर्दछ । 

क) सम्बन्धित चिकित्सकलाई सेवाग्राहीप्रति ध्यान पुर्‍याई उपचार गर्नुपर्ने दायित्व वा कर्तव्य थियो (duty to care),

ख) सो कर्तव्यको चिकित्साकर्मीको तर्फबाट भंग गरियो वा पालना गरिएन (Breach of duty),

ग) त्यसरी कर्तव्य पालना नगरेको कारण सेवाग्राहीलाई खराब असर पुग्‍न गयो (Causation), 

घ) सो असरको परिणाम स्वरूप सेवाग्राहीलाई क्षति भयो वा मृत्यु भयो (Damage) ।

 

७. प्रस्तुत वारदातमा पीडित नवजात नाबालकको जन्मको लागि परोपकार मेटरनिटी एण्ड विमेन्स अस्पतालमा निजकी आमा विमला थापा भर्ना भई नाबालकको जन्म सोही अस्पतालमा भएको कारण निजलाई उचित ध्यान पुर्‍याई (duty to care) उपचार गर्नु सम्बन्धित चिकित्सक, चिकित्सकको टोली र अस्पतालको दायित्व हुनु स्वाभाविक हुन्छ । जन्मिदा खुट्टा सुन्‍निएको नवजातलाई थप उपचार सो अस्पतालमा हुन नसक्ने भए तत्काल रेफर गर्नुपर्नेमा पटकपटक निवेदकले भनेपश्‍चात् पनि खासै विचार नपुर्‍याई ढिला गरी कान्ति बाल अस्पतालमा रेफर गरेको भन्‍ने सामान्य नजरमा देखिएको अवस्था छ । यसरी logical analysis बाट देखिन आएको तथ्यलाई चिकित्सा शास्त्रीय दृष्टिले समेत पुष्टि हुनसकेको खण्डमा घटनाको थप यथार्थ चित्रण हुनसक्ने हुन्छ । त्यसको लागि विशेषज्ञको कथन प्रभावकारी हुन सक्छ । 

८. सामान्यतः चिकित्सकबाट भएको कार्य सम्पादन (Performence) Standard of care भन्दा निम्नस्तरको कार्य / व्यवहार हो अथवा घटनाको कारण यही हो भनी विशेषज्ञ (Expert) ले पहिचान गर्नसक्ने प्रकृतिको हुन भएकोले यस सम्बन्धमा विशेषज्ञको कथन महत्त्वपूर्ण मानिन्छ । यस सन्दर्भमा Bolam v. Friern Hospital Management Committee (1957) (MY Rathor, Informed Consent: A socio-Legal Study, Medical Journal Malaysia, Vol.66, No5, P.225) को मुद्दामा बोलिएको पाइन्छ ।  तर सबै अवस्थामा यो सिद्धान्तलाई अवलम्बन गरिनु उपयुक्त नभएको भनी घटनाको अन्य विवरण तथा तार्किक विश्लेषणलाई पनि मान्यता दिनुपर्ने व्यख्याहरू गरिएका विदेशी अदालतका निर्णयहरूको दृष्टान्त रहेको पाइन्छ । Expert को रूपमा रहेको व्यक्ति उपचारकर्ता चिकित्सकका सहकर्मी (Peers) हुने भएकोले निजहरूका प्रतिवेदनसमेत चिकित्सकको हिततर्फ आउन सक्ने कुरालाई समेत कतिपय मुद्दाहरूमा विचार गरी Medical Expert को कथन नै अन्तिम होइन र तार्किक विष्लेषण (Logical analysis) बाट पनि लापरवाही प्रमाणित हुनसक्ने प्रकृतिको निर्णय गरिएको उदाहरण Huck v. cole को मुद्दा तथा Bolitho v. city and Hackey Health authority को मुद्दामा पाउन सकिन्छ । (Medical Journal Malaysia, Vol.66, No.5) 

९. प्रस्तुत अभ्यासहरूको अध्ययनबाट विशेषज्ञको प्रतिवेदन तथा तार्किक विश्लेषण (Logical analysis) दुवै अवस्थाबाट घटनाको यथार्थ बुझ्ने प्रयास अदालतले गर्नुपर्ने हुन्छ । यसै परिप्रेक्ष्यमा उचित हेरचाहमा असफल रहनु (Fail to Observe resonable care) पनि Medical negligence प्रमाणित हुन आवश्‍यक एक महत्त्वपूर्ण तत्त्व मान्‍न सकिन्छ (Dr. Sr.Louie v. Smt Kannoli Pathumma, PK Majumdar, Law of Consumer Protection in India 2000, P. 786) । प्रस्तुत सन्दर्भमा अस्पताल र वार्ड प्रमुखसमेतको दायित्वको विषय समावेश भएकोले बिरामीप्रति गरिनु पर्ने हेरचाहको स्तरसमेतको विषय सान्दर्भिक रहेको देखिन्छ ।

१०. पीडितलाई २०६५।११।१ मा रेफर गरेको भनी प्रतिवादी अस्पतालले जवाफ फिराएकोमा सोभन्दा पूर्व ०६५।१०।१७ गतेपछि नै बच्चाको घुँडामुनि समस्या देखिइसकेको अवस्था छ । पीडित नाबालकलाई २०६५।११।१ का दिन नै कान्ति बाल अस्पताल पुर्‍याएको भन्ने आकस्मिक बिरामी टिकटबाट देखिन आएको छ । प्रतिवादीहरूबाट गरिएको उपचारका सम्बन्धमा सम्बन्धित विशेषज्ञबाट प्रतिवेदनसमेत लिइएको मिसिलबाट देखिन्छ । विशेषज्ञबाट प्राप्‍त मिति २०६७।११।१८ को प्रतिवेदन अध्ययन गर्दा प्रतिवेदनको अन्तिम वाक्याशंले लापरवाही होइन भने तापनि सोको माथिल्लो व्यहोराहरूबाट प्रतिवेदनमा “सायद, हुनसक्छ, कहाँ रेफर गरेको हो थाहा हुँदैन” भन्‍ने जस्ता वाक्यांश तथा सो उपचारको पद्धति किन अपनाइयो त्यो उचित थियो थिएन जस्ता कुरा खुल्न नसकेको समेतका विभिन्‍न कारणले उक्त प्रतिवेदन अस्पष्‍ट रहेको देखिएको अवस्था छ । यस्तो अस्पष्‍टता समाधानको लागि विशेषज्ञको बकपत्रका निमित्त आदेश भई बकपत्रको लागि झिकाउँदा विभिन्‍न कारण देखाई उपस्थित हुन नसक्ने भनी प्राप्‍त भएको पत्र मिसिल सामेल रहेको देखिन्छ । प्रतिवेदनको स्पष्‍टताको लागि झिकाउनु पर्ने विशेषज्ञ उपस्थित हुन नसक्नाको कारण समाधान हुने गरी तथा पुनः आदेश गरेर भए तापनि अदालतले झिकाई बकपत्र गराउनु पर्नेमा पुनरावेदन अदालतबाट त्यस किसिमको प्रयास भएको अवस्था पनि देखिँदैन । 

११. प्रस्तुत घटनाको सम्बन्धमा पुनरावेदन अदातलबाट विशेषज्ञलाई झिकाउने र प्रतिवेदनलाई स्पष्‍ट पार्ने प्रयास भएको नदेखिएकोसमेतका बुझ्नु प्रमाण नबुझेको तथा निर्क्यौल गर्नुपर्ने सबै प्रश्‍नहरूको समाधान गरेको नदेखिएकोसमेतको अवस्था विद्यमान देखिएकोले पुनरावेदन अदालत, पाटनको मिति २०६९।१०।२३ को फैसला बदर गरिदिएको छ । अब पुनः विशेषज्ञलगायतको प्रमाण बुझी उठेका सबै प्रश्‍नहरूको निरूपण गरी फैसला गर्नु भनी प्रस्तुत मुद्दा उच्च अदालत पाटनमा फिर्ता पठाइदिने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी पक्षहरूलाई सोहीअनुसार उच्च अदालत पाटनमा जानु भनी तारेख तोकी पठाउनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

इति संवत् २०७४ साल मङ्‌सिर १२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु