निर्णय नं. ९९२८ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।१२।२१
मुद्दाः कर्तव्य ज्यान
०७१-CR-१५३०
पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.१७ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंअन्तर्गत सेन्टर जेलमा कैदमा रहेको तिर्थ महर्जन
विरूद्ध
प्रत्यर्थी / वादी : चन्द्रमान तामाङको जाहेरीले नेपाल सरकार
०७२-CR-०५१६
पुनरावेदक / प्रतिवादी : जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १० घर भई हाल कारागार कार्यालय झुम्का सुनसरीमा कैदमा रहेको सार्के तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : चन्द्रमान तामाङको जाहेरीले नेपाल सरकार
०७३-RC-००९२
वादी : चन्द्रमान तामाङको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : जिल्ला सुनसरी भोक्राहा गा.वि.स. वडा नं. २ घर भई हाल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैदमा रहेको साविर मियाँसमेत
एउटा अपराधमा अदालतबाट सजाय पाई भुक्तान गरिरहेका यी प्रतिवादीहरूले कैदी भएकै अवस्थामा योजनाबद्ध ढंगले अर्को अपराध गरेको हुँदा यस्तो अवस्थामा कानूनले तोकेको अधिकतम सजाय गर्नु नै उत्तम हुन्छ । आफूले गरेको पहिलै गरिसकेको आपराधिक कार्यको सम्बन्धमा अदालतबाट सजाय पाइसकेपछि यी प्रतिवादीहरूले पश्चाताप गरी सुधारोन्मुख हुनुपर्नेमा कैदी जीवन व्यतित गरिरहेकै अवस्थामा अर्को अपराध गरेको देखिँदा प्रतिवादीहरू छुटी कारागार बाहिर जाँदा समाजको लागिसमेत खतरा हुनसक्ने भएकोले यस्ता व्यक्तिहरूलाई सजाय गर्दा अदालतले प्रतिवादीहरूले गरेको अपराधको प्रकृति, त्यसबाट समाजमा पर्ने असरसमेतलाई मध्यनजर गरी सजाय निर्धारण गर्नुपर्ने ।
प्रतिवादीहरू धेरै जनाको समूहमा भई कारागारभित्र पनि अर्को कारागार जस्तो बनाई स्वच्छन्दतापूर्वक कैदी रहेको एकजना व्यक्तिलाई लगातार यातना दिई मारेको देखिएको तर को कसको चोटबाट मृत्यु भएको हो भन्ने नदेखिएको हुँदा यस्तो अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. ले तोकेको जन्मकैदको सजाय हुन मनासिब हुने ।
(प्रकरण नं.९)
कुनै अपराध गरेको अभियोग लागि अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका मानिसले पनि कानूनको दायरामा रही नेपालको संविधानको धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने हक आम नागरिकसरह नै उपयोग गर्न पाउनु पर्दछ । राज्यले आफ्नो नियन्त्रणमा (Custody) मा लिएको व्यक्तिको सुरक्षा गर्नु पनि राज्यको दायित्वभित्र पर्ने ।
(प्रकरण नं.१२)
प्रतिवादीका तर्फबाट :
वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
कारागार नियमावली, २०२० को नियम २४(क)(१), २९
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री ब्रजेश प्याकुरेल
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री राजकुमार वन
माननीय न्यायाधीश श्री रमेश बहादुर थापा
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
जिल्ला सुनसरी भादगाउँ सिनवारी गा.वि.स. वडा नं. ५ मा रहेको क्षेत्रीय कारागार कार्यालय, झुम्काको कम्पाउण्डभित्र रहेको २'४" गोलाई भएको आँपको रूखको ८'४" माथि उत्तरपट्टि भएको हाँगाले अर्जुन तामाङसमेतलाई कुटपिट गरेको तथा सोही कारागारको पश्चिम पट्टिको कोठामा थुनी कुटपिटसमेत गरेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
हामीहरू चन्दन थापा, अर्जुनबहादुर तामाङ, विशेश्वर राजवंशी, सूर्य राजवंशी, सुवास भन्ने ठमनाथ न्यौपाने, प्रदिप राई र सानुबाबु राजवंशीसमेत सातजना भई विभिन्न मुद्दामा कारबाहीमा परी झापा कारागारमा कैदीको जीवन बिताई आएकोमा मिति २०६६।५।२१ मा हामी ७ जनालाई झापा कारागारबाट स्थानान्तरण गरी क्षेत्रीय कारागार कार्यालय, झुम्कामा ल्याइएको थियो । झुम्का कारागारभित्र पस्नासाथ कारागारको आन्तरिक प्रशासनको चौकीदार देवकुमार मेहताको समूहले हामीहरूलाई नियन्त्रणमा लिई हाम्रो साथमा भएको रूपैयाँँ खोसी पश्चिम उत्तरपट्टिको ट्वाइलेटनजिक रहेको कोठामा थुनी बाहिरबाट ताल्चा लगाएको थियो । करिब १ घण्टापछि निजै देवकुमार मेहता र तिर्थकुमार महर्जनको नेतृत्वमा आएका सार्के तामाङ, साविर मियाँ, रमेश यादव, हरि नारायण यादव, धर्मेन्द्र मेहतासमेतका कोठाको नाइकेहरू हात हातमा लाठी, बाँसको भाटा बोकी आई हामी ७ जनामध्ये पहिले सूर्य नारायण राजवंशीलाई कोठाबाट बाहिर निकाली दुवै खुट्टामा डोरीले बाँधी चौकीदार सुत्ने कोठा अगाडिको आँपको रूखको हाँगामा उधोमुन्टो पारी बाँकी झुण्डाई उल्लिखित प्रतिवादीहरूले बोकी ल्याएको बाँसको भाटा, लाठी, लात्ती मुक्काले शरीरको जत्रतत्र भागमा प्रहार गरी बेहोस बनाई रूखबाट झिकी पुनः सोही कोठामा थुनेको थियो । सोपछि क्रमशः हामीहरू सबैलाई त्यस्तै रीतले रातिको १२ बजेसम्म कुटपिट गरी कोठामा थुनेका हुन् । उक्त कुरा कसैलाई भने सुनाएमा मार्नेसमेतको धाक धम्की दिँदै भोलिदेखि तिमीहरूको मान्छे बोलाई रूपैयाँँ नमगाए ज्यानै मार्ने भन्दै पटकपटक धम्की दिएको र कारागार प्रशासन चेकिङ्गमा आउँदा निज प्रतिवादीहरू देवकुमार मेहतासमेत प्रशासन प्रहरीको अघिपछि हिँड्ने गर्नाले सुनाउन पाएनौं । अन्य तरिकाले सुनाएको थाहा पाए पुनः कुटाई खाने डरले भन्न व्यक्त गर्न सकिएन । निजहरूको कुटाईबाट हामीहरूसमेत घाइते पीडित बनेको र निजैहरूको कुटपिटबाट घाइते बनेका अर्जुनबहादुर तामाङको मृत्युसमेत भएको हो । मृतकसँग निज देवकुमारसमेतको पूर्वरिसइवीसमेत रहेको भन्ने हामीहरूले थाहा पाएका थियौं । यसरी अर्जुनबहादुर तामाङलाई कुटपिट गरी मार्ने निज प्रतिवादीहरूउपर कडा कारबाही हुनुपर्छ भन्नेसमेत व्यहोराको चन्दन थापा, विशेश्वर राजवंशी, सुवास भन्ने ठमनाथ न्यौपाने, सूर्य नारायण राजवंशी, सानुबाबु राजवंशी र प्रदिप राईले लेखाई दिएको करिब एकै मिलानको भिन्दाभिन्दै घटना विवरण कागज ।
मेरो एकासगोलको भाइ अर्जुनबहादुर तामाङ, कुलबहादुर राईको जाहेरी परेको कर्तव्य ज्यान मुद्दामा अदालतको फैसलाबमोजिम पहिला मोरङ कारागारमा थुनामा रहेको र पछि कारागार कार्यालय झापामा स्थानान्तरण भई बस्दै आएकोमा मिति २०६६।५।२१ गते क्षेत्रीय कारागार झुम्कामा ल्याइएको थियो । भाइ झुम्का कारागारमा स्थानान्तरण भई आइसकेपश्चात् सो कारागारका कैदी (चौकीदार) देवकुमार मेहताको निर्देशनमा सि.टि. कमान्डर तिर्थ महर्जनसमेतले मेरो भाइलाई फलामको रङ, बाँसको भाटा, लात्ती, मुक्कासमेतले जत्रतत्र कुटपिट गर्न थालेको । सोही मितिदेखि आन्तरिक प्रशासन भन्ने कोठामा र कारागारभित्रै रहेको रूखमा उधोमुन्टो पारी झुण्डाउने कुटपिट गर्ने कार्य गर्दै आएको कुरा मैले मिति २०६६।५।२६ मा कारागारमा भाइलाई भेट्न जाँदा थाहा पाएको र भाइको शरीर हेर्दा शरीरभरि चोटपटक प्रसस्तै देखिएको थियो । मैले जेलरलाई उक्त कुरा भन्दै उपचार गराउन लगाउँदा चिकित्सकले समेत केही हुँदैन ठीक भइहाल्छ भनेकोले म विश्वस्त भई घर गएकोमा मिति २०६६।५।३० का दिन मेरो भाइलाई कारागारभित्रै कुटेर मारेको भन्ने थाहा पाएको थिएँ । सो कुरा बुझ्न उक्त स्थानमा जाँदा कारागारभित्रै कैदमा रहेका कैदी चौकीदारलगायतले लगातार एकहप्तासम्म कुटपिट गरी निर्मम तरिकाले अमानवीय व्यवहार गर्दै मारेको भनी थाहा पाएको हुँदा निज प्रतिवादीउपर आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको चन्द्रमान तामाङले दिएको जाहेरी दरखास्त ।
मृतक अर्जुनबहादुर तामाङको शरीरका भागहरू मध्ये गाला, चिउँडोमा चोट, पेटमा, तिघ्राको कापमा र पैतालासमेतमा डाम देखिएको, दुवै घुँडामा १/१ इन्च काटिएको घाउ, पछाडि पाता चाकलगायतको भागमा कुटपिट भएको डाम, देब्रे हातका औंलाहरूमा छेडिएको डामसमेत देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल / लास जाँच मुचुल्का ।
अर्जुनबहादुर तामाङको मृत्युको कारणमा Shock as a result of internal and external bledding due to blunt trauma भन्नेसमेत व्यहोरा उल्लेख भएको शव परीक्षण प्रतिवेदन ।
मिति २०६६।५।२१ का दिन झापा कारागारबाट स्थानान्तरण भई क्षेत्रीय कारागार झुम्कामा ल्याइएका ७ जना कैदीहरूलाई कारागारभित्र पस्नासाथ तिर्थ महर्जन, देवकुमार मेहता, सार्के तामाङ, साविर मियाँ, रमेश यादवले भित्र ल्याई १ घण्टा थुनी सोपछि बाहिर निकाली पालैपालो सबैलाई बेहोस गरी कोठामा थुन्ने गरेको र मलाईसमेत तिर्थ महर्जनले कुटपिट गर भनेका हुन् । निज प्रतिवादीहरूले पैसासमेत असुल्ने उद्देश्यले मृतकउपर कुटपिट गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी जुगल भन्ने युगनन्दन मुखियाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
प्रतिवादीमध्येका सार्के तामाङ कारागार झापामा चौकीदार हुँदा मृतकका ग्रुपले निजलाई चौकीदारबाट हटाई कारागार मोरङमा पठाउने कार्य गरेका रहेछन्, सो क्रममा निज सार्केले कारागार झापामा रू. साढे पाँच लाख उठाउन बाँकी रहेको रकम निजै अर्जुन तामाङले उठाई खाएकोले निजले रिस राखेको र निज सार्के मोरङबाट झुम्का सरूवा भई आई बसेको अवस्थामा मिति २०६६।५।२१ का दिन निज अर्जुनबहादुर तामाङलगायत झापा कारागारबाट झुम्का क्षेत्रीय कारागारमा आएपछि निजै सार्के चौकीदार देवकुमार मेहता, सि.टी. कमान्डर तिर्थ महर्जन, साविर मियाँसमेतलाई गुहारी पैसा असुल्ने उद्देश्यले पहिलो दिन झापाबाट आएका ७ (साथै) जनालाई देवकुमार मेहता, तिर्थ महर्जन, साविर मियाँ, सार्के तामाङले कुटपिट गरेको हो । म सोही स्थानमा हेरी बसेको थिएँ । म कुटपिट गरेको थिइनन । कुटपिटमा लाठी, भाटा, लात्ती र मुक्काको प्रयोग गरेको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी हरि नारायण यादवले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङउपर प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँसमेत भई कुटपिट गरेको र कुटपिटको उद्देश्य सार्के तामाङले झापा कारागारमा उठाउनु पर्ने रकम निज अर्जुनबहादुर तामाङले उठाई खाएको र उक्त रूपैयाँँ असुल्ने उद्देश्यले भएको हो । मैले कुटपिट गरेको झ्यालबाट देखेको हो । चौकीदार, सि.टि. कमान्डर र नाइकेहरू मिली कुटपिट गरेको हुँदा कसैको पनि बोल्ने हिम्मत थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी धर्मेन्द्र कुमार महतोले अनुसन्धान अधिकृतसमक्ष गरिदिएको बयान ।
मृतक अर्जुनबहादुर तामाङउपर प्रतिवादीहरू देवकुमार मेहता तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँसमेत भई कुटपिट गरेको र कुटपिटको उद्देश्य सार्के तामाङले झापा कारागारमा उठाउनु पर्ने रकम निज अर्जुनबहादुर तामाङले उठाई खाएको र उक्त रूपैयाँँ असुल्ने उद्देश्यले भएको हो । कुटपिट गर्दा हामीहरूले निज प्रतिवादीहरूलाई मान्छे मर्छ कुटपिट नगर्नुहोस् भनी चौकीदार देवकुमारलाई भनेको हो । तर कारागारको आन्तरिक प्रशासनका पदाधिकारी नै कैदीहरूको सर्वेसर्वा हुने र कारागार प्रशासनलाई हामीहरूले जानकारी गराएमा हामीहरूलाई नै कुटपिट गर्ने यातना दिने डरले हामीहरूले बेलैमा सूचना गर्न नसकेको र कुटपिटमा हाम्रो संलग्नता छैन भन्नेसमेत व्यहोराको महेश यादवले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङउपर प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँ, रमेश कुमार यादव, जुगल मुखियासमेत भई कुटपिट गरेको र कुटपिटको उद्देश्य सार्के तामाङले झापा कारागारमा उठाउनु पर्ने रकम निज अर्जुनबहादुर तामाङले उठाई खाएको र उक्त रूपैयाँँ असुल्ने उद्देश्यले भएको हो । कुटपिट गर्दा हामीहरूले निज प्रतिवादीहरूलाई मान्छे मर्छ कुटपिट नगर्नुहोस् भनी चौकीदार सिटी कमान्डर सार्के तामाङसमेतलाई भनेको हो । तर कारागारको आन्तरिक प्रशासनका पदाधिकारी नै कैदीहरूको सर्वेसर्वा हुने र कारागार प्रशासनलाई हामीहरूले जानकारी गराएमा हामीहरूलाई नै कुटपिट गर्ने यातना दिने डरले हामीहरूले बेलैमा सूचना गर्न नसकेको र कुटपिटमा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको राम सागर मेहताले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङउपर प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँ, रमेश कुमार यादव, जुगल मुखियासमेत भई कुटपिट गरेको र कुटपिटको उद्देश्य सार्के तामाङले झापा कारागारमा उठाउनु पर्ने रकम निज अर्जुनबहादुर तामाङले उठाई खाएको र उक्त रूपैयाँँ असुल्ने उद्देश्यले भएको हो । कारागारको आन्तरिक प्रशासनका पदाधिकारी नै कैदीहरूको सर्वेसर्वा हुने र कारागार प्रशासनलाई हामीहरूले जानकारी गराएमा हामीहरूलाई नै कुटपिट गर्ने यातना दिने डरले हामीहरूले बेलैमा सूचना गर्न नसकेको र कुटपिटमा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको कृष्णदेव मेहताले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङउपर प्रतिवादीहरू देवकुमार मेहता तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँसमेत भई मिति २०६६।५।२१ र २२ गते लाठी र भाटाले कुटपिट गरेको र कुटपिटको उद्देश्य सार्के तामाङले झापा कारागारमा उठाउनु पर्ने रकम निज अर्जुनबहादुर तामाङले उठाई खाएको र उक्त रूपैयाँँ असुल्ने उद्देश्यले भएको हो । २१ गतेको कुटपिटमा मैले त्यति ध्यान दिइँन तर २२ गते म पिकेट ड्युटीमा बसेको अवस्थामा भित्र ड्याङ्ग डुङ्ग गरेको आवाज सुनी घटनास्थलमा जाँदा निज प्रतिवादीहरूले लात्ती मुक्काले अर्जुनबहादुरलाई कुटपिट गरेको देखी मैले नकुट मर्छ भनी छुट्याएको हो । कुटपिटकै चोट पीडाबाट अर्जुनबहादुरको मृत्यु भएको हो भन्ने भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश कुमार यादवले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म २०६५ सालमा झापा कारागारमा हुँदाको अवस्थामा जेलभित्रको आन्तरिक प्रशासन हर्ने चौकीदार अर्जुनबहादुर तामाङ रहेको थियो । त्यहाँ मलाई निजले धेरै दुःख दिने गरेको हुँदा मेरो रिसइवी रही रहेको थियो । सोही क्रममा निज अर्जुनबहादुर तामाङले सोही कारागारमा रहेका कैदी सार्के तामाङलाई अर्जुनबहादुरको समूहले चौकीदारबाट हटाई दुःख दिने गरेको र निज सार्केको साढे पाँच लाख रूपैयाँसमेत निज अर्जुनबहादुर तामाङले खाई दिएको हुँदा निजसमेतसँग रिसइवी रहेको थियो । निज अर्जुनबहादुर झापा कारागारबाट हामीहरू बस्दै गरेको क्षेत्रीय कारागार झुम्कामा स्थानान्तरण भई आउने सूचना पाएपछि हामी जेलभित्रका सार्के तामाङ, चौकीदार देवकुमार मेहता, सि.टी. कमान्डर तिर्थ महर्जनसमेत भई कारागार झापाबाट आएको अर्जुनबहादुर तामाङसमेतको ७ जनाले कैदी टोलीलाई कुटपिट गरेको र भोलिपल्टदेखि निज मृतकलाई पूरानो रिसइवीको कुरा गर्दै रूखमा समेत बाँधी झुण्डाउँदै कुटपिट गरेका हौं । उक्त कुटपिटबाट निज सिरियस भएको र सो कुरा अन्य कसैले कारागार प्रशासनलाई भनेमा भौतिक कारबाही गर्नेसम्मको धम्की दिएको र उपचारमा आएको चिकित्सकलाई समेत हामीहरूले मृतकको अवस्था सामान्य छ भन्न बाध्य पारेका हौं र निजको मृत्यु हाम्रै कुटाइको कारण भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी साविर मियाँले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतक अर्जुन तामाङउपर पहिला मोरङ तथा झापा कारागारमा बन्दी भई बस्दाको अवस्थामा हाल क्षेत्रीय कारागार झुम्काको चौकीदार देवकुमार मेहता, सि.टी. कमान्डर तिर्थ महर्जन, साविर मियाँ सार्के तामाङको पूर्वरिसइवी रहेको र निजहरूबाट पैसासमेत असुल्ने उद्देश्यले निज क्षेत्रीय कारागार झुम्कामा आउँदा निजै प्रतिवादीहरूले अर्जुनबहादुर तामाङलाई कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका निज तथा अन्य कैदीहरूलाई यो कुरा कारागार प्रशासनलगायत कसैलाई नभन्नु भन्दै थर्काएको कारणले कारागार प्रशासनलाई जानकारी गराउन नसकेको र घाइते अवस्थामा चिकित्सकले परीक्षण गर्दासमेत चौकीदारले डाक्टरसमेतलाई थर्काई म जे भन्छु त्यही गर भनी धम्काएकोले निजको समयमा उपचार हुन नसकी मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी पदम घिमिरेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङलाई कुटपिट गर्नुपर्ने कारण चौकीदार देवकुमार र तिर्थ महर्जन मोरङ कारागारमा हुँदा निज मृतक दाई चौकीदार रहेको र निजले देवकुमारसमेतका उपर कुटपिट गरेको र दुःख दिएका थिए । त्यस्तै साविर मियाँ झापा कारागारमा हुँदा निज अर्जुनबहादुर तामाङले निजउपर समेत कुटपिटलगायतका सास्ती दिएको रहेछ । निजहरूले सोही विषयमा रिसइवी राखी रहेकामा निज मृतकसमेतका ७ जना झापाबाट क्षेत्रीय कारागार झुम्का आएपछि पहिला झापामा कारागारमा हुँदा विशेश्वर प्रसाद राजवंशीले मेरो रूपैयाँँ हिनामिना गरेकोले पैसा असुल्ने उद्देश्यले निज देवकुमार, तिर्थ महर्जन, साविर मियाँ र मसमेतले सातै जनाउपर कुटपिट गरेको हो । कुटपिटमा धेरै कुटाई अर्जुनबहादुर तामाङले खाएको र सोपछि निज घाइते हुँदै सिरियस भएपछि मात्र कारागार प्रशासनलाई जानकारी गराई उपचार गराउँदा चिकित्सकले ठीक हुन्छ भनेकोमा निज झन् साह्रो हुँदै गएकोले बाहिर उपचारको लागी पठाउँदा निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सार्के तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६।५।२१ का दिन अर्जुनबहादुर तामाङसमेतका ७ जना झापा कारागारबाट क्षेत्रीय कारागार झुम्कामा स्थानान्तरण भई आएपछि निज सातै जनालाई म, सि.टी. कमान्डर तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँ हात खुट्टा बाँधी कुटपिट गरेको र भोलिपल्ट निज अर्जुनबहादुर तामाङलाई मेरै निर्देशनमा निर्मम तरिकाले कुटपिट गरेको हो । कुटपिट गर्नुपर्ने कारण निज अर्जुनबहादुर तामाङ मोरङ कारागारमा हुँदा मलाई र सि.टी. कमान्डर तिर्थ महर्जनलाई निजले कुटपिट र सास्ती दिएको त्यसैगरी निजैले साविर मियाँलाई झापा कारागारमा हुँदा कुटपिट गरेको कारणबाट निजउपर हामीहरूले रिसइवी राखेको हो । त्यस्तै सार्के तामाङले झापा कारागारमा उठाउने रकम विशेश्वर राजवंशीले उठाई खाएकोले उक्त पैसा उठाउने सल्लाहसमेत भएकोले निज सार्केसमेत भई मृतक अर्जुनबहादुर तामाङसमेतका ७ जना कैदी क्षेत्रीय कारागार झुम्कामा आउनासाथ हामीहरूले पहिलो दिन कुटपिट गरेको र भोलिपल्ट निज अर्जुनबहादुरलाई मात्र हामीहरूले कुटपिट गरेको र सोही कुटपिटबाट निजको मृत्युसमेत भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कारागारका चौकीदार देवकुमार मेहताले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङ मोरङ कारागारमा चौकीदार हुँदा निजले देवकुमारलाई कुटपिट गरेको । निजै अर्जुनका दाजु (जाहेरवाला) ले मलाई मोरङ कारागारमा हुँदा कुटपिट गर्नुका साथै यातनासमेत दिएको थियो । त्यसैगरी साविर मियाँलाई निज अर्जुनबहादुरले झापा कारागारमा हुँदा झुण्डाई कुटपिट गरेको र झापामै हुँदा सार्के तामाङको रूपैयाँँ निजले खाएकोले सबैको निजउपर रिसइवी थियो । मिति २०६६।५।२१ का दिन झापा कारागारबाट अर्जुन तामाङलगायतका ७ जना कैदीहरू स्थानान्तरण भई क्षेत्रीय कारागार झम्कामा आइपुगेपछि निजहरू सातै जनालाई हामीहरूले एउटा कोठामा थुनी करिब एक घण्टापछि बाहिर ल्याई सबै कैदीहरूले देख्ने गरी निजहरूलाई लाठी, भाटा, लात्ती, मुक्काले कुटपिट गरेका थियौं । भोलिपल्ट बिहान निज अर्जुनबहादुर तामाङलाई कोठाबाट बाहिर निकाली बेन्चमा बाँधी हामीहरू पाँचै जनाले कुटपिट गरेका हौं । हाम्रो सोही दुई दिनको कुटपिटको कारण निज घाइते भई सुविधा सम्पन्न अस्पतालको उपचार नपाएकोले निजको मृत्यु भएको हो । हाम्रो जेलको आन्तरिक प्रशासन हामीहरूले नै सञ्चालन गर्ने गरेको र कारागार प्रशासनलाई कुटपिटको जानकारी हामीले नगराएको हो । अन्य कैदीले पनि उक्त कुरा भन्न नसकेको र घाइतेहरूले समेत मौकामा हाम्रो डरले उक्त घटनाको बारेमा कारागार प्रशासनलाई जानकारी नगराएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी तिर्थ महर्जनले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
भदौको महिनाको दोस्रो हप्तादेखि क्षेत्रीय कारागार कार्यालय, झुम्कामा सुरक्षा गार्डको प्रमुख भई काम गर्दै आएको थिएँ । मृतक अर्जुनबहादुर तामाङलाई को कसले कुटपिट गरेका थिए तत्काल मलाई थाहा भएन । निज अर्जुनबहादुर तामाङ बिरामी भएको खबर थाहा पाउन साथै तत्कालै कारागार प्रमुख जेलरलाई रिपोर्ट गरेको हुँ । तत्पश्चात् डाक्टर झिकाई निजलाई उपचार गराउँदा मसमेतले के भयो भनी सोध्दा धारामा लडेर जिउ पनि दुखिरहेको छ भनेको थियो । कुटपिट गरेको कुरा मलाई निजले र अन्य कैदीहरूले समेत भनेका थिएनन् भन्नेसमेत व्यहोराको विमलकुमार निरौलाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
म तत्काल क्षेत्रीय कारागारको का.मु. कार्यालय प्रमुख भई कार्यरत रहँदा, झापा कारागारबाट स्थानान्तरण भई झुम्का कारागारमा ल्याइएका मृतक अर्जुनबहादुर तामाङउपर कुटपिट भएको कुरा निजको मृत्यु भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोग गठन भई छानबिनपश्चात् थाहा पाएको हुँ । कारागारभित्रको समस्या र कुराहरू कारागारभित्रै कैदीहरूले आन्तरिक प्रशासन गठन गरी गर्ने गरेको हुँदा आन्तरिक प्रशासनका चौकीदारसमेतका पदाधिकारीले निज अर्जुनबहादुरलाई कुटपिट भएको कुरा सुनाएका थिएनन् । निज बिरामी भएको भन्नेसम्म खबर पाएको र मैले नै उपचारको व्यवस्था गरेको
थिएँ । कारागारको नियमित चेक जाँचमा समेत त्यस्तो वारदात भएको भन्ने कोही कसैले नभनेको र निज मृतकलाई समेत सोद्धा निजले आफू धारामा लडेको सोही कारणबाट बिरामी परेको भनी सुनाएको र पहिलो उपचारपश्चात् हिँडडुल गर्ने गरेको देखेको थिएँ । सोधपुछ गर्दा निजले ठिक भएको भनी बताएकोमा मिति २०६६।५।२९ का दिन पुनः बिरामी परेको सुनी थप उपचारको लागि व्यवस्था मिलाई पठाई उपचारको क्रममा निजको मृत्यु भएको हो । निजलाई कुटपिट गर्न कारागारका चौकीदार देवकुमार मेहता, तिर्थ महर्जनसमेत रहेको पछि थाहा भयो । मैले मेरो जिम्मेवारीको कार्य इमान्दारीताका साथ सम्पन्न गरेको हुँ भन्नेसमेत व्यहोराको क्षेत्रीय कारागार कार्यालय झुम्का सुनसरीका जेलर संजिव निरौलाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६।५।२१ मा झापा कारागारबाट अर्जुनबहादुर तामाङलगायतका सातजना कैदी बन्दीहरू कारागार स्थानान्तरण भई झुम्का कारागारमा आइसकेपछि झुम्का कारागारका चौकीदार देवकुमार मेहताको अगुवाइमा आन्तरिक प्रशासनका सि.टि. कमान्डर तिर्थ महर्जन, साबिर मियाँ, रमेश कुमार यादव, धर्मेन्द्र यादव तथा सार्के तामाङसमेतका व्यक्तिहरूले लाठी, भाटा, लात्ती, मुक्काले कुटपिट गरेको मैले प्रत्यक्ष देखेको हुँ । कारागारको नियमित चेक जाँचमा समेत त्यस्तो वारदात भएको भन्ने कोही कसैले आवाज उठाए आन्तरिक प्रशासनका व्यक्तिहरूले आवाज उठाउनेउपर नै कारबाही (कुटपिट, यातना) गर्ने हुँदा म टुलटुलु हेर्नु सिवाय अन्य उपाय नहुने हुँदा केही गर्न सकिएन । भोलिपल्ट अर्जुनबहादुर तामाङलाई बाहिर बेन्चमा निकाली लाठी, भाटासमेतले कुटपिट गरेको हो सोही कुटपिटको कारणबाट निजको समयमा उपचार हुन नसकी निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस गंगाप्रसाद यादवले अनुसन्धानको क्रममा गरिदिएको कागज ।
मिति २०६६।५।२१ मा झापा कारागारबाट अर्जुनबहादुर तामाङलगायतका सातजना कैदी बन्दीहरू कारागार स्थानान्तरण भई झुम्का कारागारमा आइसकेपछि झुम्का कारागारका चौकीदार देवकुमार मेहताको अगुवाइमा आन्तरिक प्रशासनका सि.टि. कमान्डर तिर्थ महर्जन, साबिर मियाँ, रमेश कुमार यादव, धर्मेन्द्र यादव तथा सार्के तामाङसमेतका व्यक्तिहरूले लाठी, भाटा, लात्ती, मुक्काले कुटपिट गरेका हुन् । कारागारभित्र आन्तरिक प्रशासनको बोलवाला हुने हुँदा उनीहरूको विरूद्धमा कोही बोल्न मिल्दैन । भोलिपल्ट अर्जुनबहादुर तामाङलाई बाहिर बेन्चमा निकाली लाठी, भाटासमेतले कुटपिट गरेको हो सोही कुटपिटको कारणबाट निजको समयमा उपचार हुन नसकी निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस उमर अन्सारीले अनुसन्धानको क्रममा गरिदिएको कागज ।
मिति २०६६।५।२१ मा झापा कारागारबाट अर्जुनबहादुर तामाङलगायतका सातजना कैदी बन्दीहरू कारागार स्थानान्तरण भई झुम्का कारागारमा आइसकेपछि झुम्का कारागारका चौकीदार देवकुमार मेहताको अगुवाइमा आन्तरिक प्रशासनका सि.टि. कमान्डर तिर्थ महर्जन, साबिर मियाँ, सार्के तामाङसमेतका व्यक्तिहरूले लाठी, भाटा, लात्ती, मुक्काले कुटपिट गरेको मैले प्रत्यक्ष देखेको हुँ । कारागारको नियमित चेक जाँचमा समेत त्यस्तो वारदात भएको भन्ने कोही कसैले आवाज उठाए यही हालत गर्ने भनी निजहरूले धम्की दिएको हुनाले हामीले कसैलाई भन्न सकेनौं । अर्जुनबहादुर तामाङलाई निजहरूले पटकपटक कुटपिट गरेको कारणबाट बिरामी भई समयमा उपचार हुन नसकी निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस गुणराज आचार्यले अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मिति २०६६।५।२१ मा झापा कारागारबाट अर्जुनबहादुर तामाङलगायतका सातजना कैदी बन्दीहरू कारागार स्थानान्तरण भई झुम्का कारागारमा आइसकेपछि झुम्का कारागारका चौकीदार देवकुमार मेहताको अगुवाईमा आन्तरिक प्रशासनका सि.टि. कमान्डर तिर्थ महर्जन, साबिर मियाँ, सार्के तामाङसमेतका व्यक्तिहरूले लाठी, भाटा, लात्ती, मुक्काले कुटपिट गरेको मैले प्रत्यक्ष देखेको हुँ । भोलिपल्ट अर्जुनबहादुर तामाङलाई बाहिर बेन्चमा निकाली लाठी, भाटासमेतले कुटपिट गरेको हो सोही कुटपिटको कारणबाट निजको समयमा उपचार हुन नसकी निजको मृत्यु भएको हो । पछि बुझ्दै जाँदा मोरङ कारागारको पूर्वरिसइबीको कारण र पैसाको लेनदेनको कारण कुटपिट भएको रहेछ भन्नेसमेत व्यहोराको बुझिएका मानिस अजमुद्धिन अन्सारीले अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मिति २०६६।५।२१ मा झापा कारागारबाट अर्जुनबहादुर तामाङलगायतका सातजना कैदी बन्दीहरू कारागार स्थानान्तरण भई झुम्का कारागारमा आइसकेपछि झुम्का कारागारका चौकीदार देवकुमार मेहतासमेत भई कोठामा लगी थुनेका हुन् । राति भएकाले को को भई कुटपिट गरेका हुन् थाहा भएन । भोलिपल्ट अर्जुनबहादुर तामाङलाई तिर्थ महर्जनसमेतले बाहिर बेन्चमा निकाली लाठी, भाटासमेतले कुटपिट गरेको मैले टाढाबाट देखेको हो । सो कुरा कसैलाई भन्यो भने आन्तरिक प्रशासनका व्यक्तिहरूले कुटपिट गर्ने भएकोले कसैलाई भन्न सकेनौँ । सोही कुटपिटको कारणबाट अर्जुनबहादुर तामाङको समयमा उपचार हुन नसकी निजको मृत्यु भएको हो भान्नेसमेत व्यहोराको धर्मेश राईले अनुसन्धानको क्रममा लेखाई दिएको घटना विवरण कागज ।
मिति २०६६।५।२१ का दिन झापा कारागारबाट स्थानान्तरण भई झुम्का कारागारमा आएका अर्जुनबहादुर तामाङलगायतका ७ जना कैदीहरू कारागारभित्र पस्नासाथ आन्तरिक प्रशासनका चौकीदार देवकुमार मेहताको निर्देशनमा तिर्थ महर्जनसमेतले लाठी, भाटा, लात्ती, मुक्कासमेतले शरीरको जत्रतत्र भागमा कुटपिट गरेको हो । भोलिपल्ट सि.टि. कमान्डर तिर्थ महर्जनले समेत बाहिर निकाली बेन्चमा बाधी कुटेका हुन् । सोही चोटका कारण निजको मृत्यु भएको हो । कारागारभित्र आन्तरिक प्रशासनका मानिसहरूको बोलवाला हुने हुँदा अरू कसैको केही चल्दैन भन्नेसमेत व्यहोराको बुझिएका कृष्ण तामाङले अनुसन्धानको क्रममा लेखाई दिएको कागज ।
अर्जुनबहादुर तामाङ आफ्नै कोठाको बेडमा सुतिरहेको देखी के भयो भनी सोध्दा पेट दुख्छ, उल्टी हुन्छ, खाना खान मन लाग्दैन भनी भनेकोले चेक गर्दा हेमोग्लोबिन कमी देखिएकोले आवश्यक औषधी लेखी आएको हो । निजको चेक जाँच गर्ने बेलामा शरीरको कुनै भागमा घाउ चोट देखेको होइन । मिति २०६६।५।२९ मा एक जना कैदी बिरामी परेको भनी जानकारी पाएपछि गई हेर्दा निजको शरीरमा केही चोटपटक देखी के हो भनी सोध्दा झापा हुँदादेखिकै चोट हो भनेका थिए । निजलाई चेक गरी फर्केपछि ३ बजेतिर संजिव सरले फेरी फोन गरी बोलाएको हुँदा गई चेक गर्दा निज साह्रै सिरियस भएको देखेपछि हस्पिटल लानु पर्छ भनी सल्लाह दिएअनुसार एम्बुलेन्स मगाई अस्पताल पठाउन लगाएको हो । पछि निजको मृत्यु भयो भनी थाहा पाएको हो । चौकीदार देवकुमार मेहतासमेतको कुटपिटको कारण निजको मृत्यु भएको भनी पछि सुनी थाहा पाएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दुर्गाप्रसाद फुयालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६।५।२१ को राति ३:०० बजे देखि ६:०० बजेसम्म मेरो कारागारमा डिउटी थियो । मेरो ड्युटी भर कारागारमा कुटपिट भएको मलाई थाहा भएन । मिति २०६६।५।२९ का दिन एक जना कैदी (अर्जुनबहादुर तामाङ) बिरामी भई उपचारार्थ लगेको देखी थाहा पाएको हो । निजको उपचारको क्रममा मृत्यु भएको र भोलिपल्ट मृतकका आफन्तलगायतले नारा जुलुस गर्दा मात्र अर्जुनबहादुर तामाङलाई आन्तरिक प्रशासनका चौकीदार देवकुमार मेहतासमेतले कुटपिट गरेको भन्ने सुनी थाहा पाएका हौं भन्नेसमेत व्यहोराको कारागार कार्यालय झुम्कामा कार्यरत प्रहरी जवान देव नारायण दास, मात्रिकाप्रसाद कुर्मी, दिपेन्द्र थापाले अनुसन्धानको क्रममा गरेको एकै मिलानको छुट्टाछुट्टै कागज ।
मिति २०६६।५।२१ का दिन झापा कारागारबाट मृतक अर्जुनबहादुर तामाङसमेतका ७ जना कैदीहरू झुम्का स्थित क्षेत्रीय कारागारमा ल्याइएकोमा सोही मितिमा निजहरू सातै जनालाई कारागारका चौकीदार देवकुमार मेहतासमेतका आन्तरिक प्रशासनका व्यक्तिहरूले कुटपिट गरेको हो । भोलिपल्टसमेत सातजनामध्ये अर्जुनबहादुर तामाङलाई निजै देवकुमार मेहतासमेतका आन्तरिक प्रशासनका व्यक्तिहरूले कुटपिट गरेको हो । निज प्रतिवादीहरूले अर्जुनबहादुर तामाङउपर रिसइवी रहेको भन्ने पनि हामीले थाहा पाएका थियौं । घटनाका सम्बन्धमा हामीले कसैलाई भनेमा आन्तरिक प्रशासनका मानिसहरूले हामीहरूलाई नै कारबाही गर्ने हुँदा हामीले केही भन्न गर्न सकेनौँ र सोही कुटपिटबाट निज पीडित भएकोमा पछि कारागार प्रशासन र प्रहरीले थाहा पाई उपचार गर्न पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको भन्नेसमेत व्यहोराको सोही कारागारमा कैदमा रहेका गोपी कृष्ण भुर्तेल, पुष्प भुजेल, भिमलाल काफ्ले, शिवु मेहता र सुनिल श्रेष्ठले पृथकपृथकमा लेखाई दिएको वस्तुस्थिति मुलुल्का ।
जाहेरी दरखास्त, लास प्रकृति मुचुल्का, मृतकको पोष्टमार्टम रिपोर्ट, घाइतेसमेत बनेका पीडितहरू चन्दन थापा, अर्जुनबहादुर तामाङ विशेश्वर राजंवशी, सूर्य राजवंशी, सुवास भन्ने ठमनाथ न्यौपाने, प्रदिप राई र सानुबाबु राजवंशीले लेखाई दिएको भिन्दाभिन्दै कागज, मृतकको मृत्यु हाम्रै कुटाईको कारण भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको स्वीकारोक्ति बयान, बुझिएका मानिसहरूले लेखाई दिएको कागज, वस्तुस्थिति मुचुल्कासमेतको आधारमा अर्जुन तामाङको मृत्यु प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ र साविर मियाको सामूहिक कुटपिटबाट भएको भन्ने तथ्य पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. बर्खिलापको कसुर देखिँदा प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ, साविर मियालाई ऐ. ऐनको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको छ । ज्यान मार्ने कार्यमा मतलबी देखिएका हरि नारायण यादव, पदम घिमिरे, युगनन्दन मुखिया, रमेश कुमार यादव, धर्मेन्द्र मेहतालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बर्खिलाप कसुरमा सोही १७(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग दाबी ।
प्रतिवादीमध्येका देवकुमार मेहता र मृतक अर्जुन तामाङ विराटनगर कारागारमा सँगै बसेका रहेछन् त्यहाँ बस्दा मृतक अर्जुनले प्रतिवादी देवकुमारलाई कुटपिट गरी कारबाही गरेका रहेछन् । अर्जुनबहादुर तामाङ क्षेत्रीय कारागार कार्यालय झुम्कामा आउँदा देवकुमार कारागारको चौकीदारमा थिए, यिनले पूरानो रिस साँध्नका लागि सि.टी. कमान्डर तिर्थ महर्जन, अर्का प्रतिवादी जुगल भन्ने युगनन्दन मुखिया, धर्मेन्द्र कुमार मेहता, रमेश कुमार यादवसमेतसँग मिली मृतक अर्जुलाई कुटपिट गर्ने गर्दथे । मैले चौकीदार देवकुमार मेहतालाई अर्जुनलाई कुट्नु हुँदैन मर्छ भनी भन्दा बचाउने प्रयास गरिस् भने तँ पनि मर्छस् भन्दथे । मैले जाहेरवालाको भाइ अर्जुनलाई कुटपिट गरी मारेको हैन । चौकीदार देवकुमार मेहताको आदेशमा तिर्थ महर्जन, युगनन्दन मुखिया, धर्मेन्द्र कुमार मेहता, रमेश कुमार यादवसमेतले पटकपटक कुटपिट गरी निजहरूकै कुटाईबाट अर्जुन तामाङको मृत्यु भएको हो । अनुसन्धानमा बुझिएका मानिसहरूले हल्लाको भरमा कागज गरी दिएका हुन् देखेको होइन । मुचुल्का गरी दिने मानिसले किन त्यस्तो व्यहोरा लेखाई दिए थाहा भएन । मैले अर्जुनलाई कुटपिट गरी कर्तव्य गरी मारेको होइन कुटपिट गर्नेले सजाय पाउनु पर्छ । म निर्दोष भएको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सार्के तामाङले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
जाहेरवाला चन्द्रमान तामाङसँग कारागार विराटनगरमा हुँदा ठाकठुक झै-झगडा भएको थियो । सोही रिसइवीले जाहेरी दिएका हुन् मैले अर्जुनबहादुर तामाङलाई कुटपिट गरेको होइन । रमेश यादव, जुगल मुखिया, देवकुमार मेहता, धर्मेन्द्र मेहतासमेतले अर्जुनलाई कुटपिट गरेको मैले देखेको हुँ । कुटपिटबाट बिरामी भएपछि अर्जुनलाई उपचारको लागि हस्पिटल लानुपर्छ भनी चौकीदारलाई भनेको पनि थिएँ । सोही कुटपिटको कारणले उनी मरे । अन्य प्रतिवादीहरूले मलाई किन पोल गरे मलाई थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा मेरो होइन । जेलर, अन्य बुझिएका मानिस तथा मुचुल्काका मानिससमेतले मेरो नाम किन पोल गरे मैले अर्जुनबहादुरलाई कुटपिट गरेको होइन । आफूले कुटपिट नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी तिर्थ महर्जनले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
मैले अर्जुनबहादुर तामाङलाई कुटपिट गरेको होइन । अन्य प्रतिवादीहरूले कुटपिट गरेको भन्ने सुनेको हुँ । अन्य प्रतिवादीहरूको कुटपिटको कारणले गर्दा अर्जुनको मृत्यु भएको हो । अन्य प्रतिवादीहरूले मेरो संलग्नता छ भनी किन लेखाए मलाई थाहा भएन । मैले अर्जुनलाई नकुटेको र बुझिएका मानिस एवं वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूले कुटपिटको कारणले अर्जुन तामाङको मृत्यु भएको भनी लेखाएको व्यहोरा ठीक साँचो हो । अन्य प्रतिवादीहरूको संलग्नता थियो । म कुटपिटको घटनामा संलग्न नभएको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी साविर अन्सारीले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
सार्के तामाङको पैसा अर्जुन तामाङले खाएको कारणले निजसमेत भई अर्जुनलाई बेञ्चमा बाँधेर हात तथा भाटाले कुटेका हुन् । सोही चोटको कारणले गर्दा उनी मरे । मैले त कुटपिट नगर भनी बचाउन खोजेको थिएँ । कागज गर्ने मानिसहरूले किन त्यस्तो व्यहोरा लेखाए थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा मैले अर्जुनलाई कुटपिट गरेको थाहा पाई हेर्न जाँदा अर्जुन लडिरहेका थिए । उठाउन खोज्दा सार्के तामाङले लातले हिर्काई लडाई दिए भनी लेखाएको हो । कुटपिट भएको कुरा कतै भन्ने मौका नदिने भएको हुँदा भन्न पाइन । मैले कुटपिट गरेको हेरी बसेको होइन र कुटपिटसमेत नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी हरि नारायण यादवले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
अर्जुनबहादुर तामाङलाई जेलको आन्तरिक प्रशासनका मानिसहरूले कुटी मारेको भनी सुनेको हुँ । सो कुटपिटमा मेरो संलग्नता छैन । जाहेरवालाको मेरो नाम किन पोल गरे थाहा भएन । घटना विवरण कागज गर्ने मानिसहरूले लेखाएको व्यहोरा सम्बन्धमा मलाई केही थाहा छैन । म घटनामा संलग्न नभएको हुँदा केही थाहा छैन । कुटपिटकै कारणबाट अर्जुन मरेको भन्ने सुनेको मात्र हुँ । अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा मेरो होइन सहिछाप मात्र मेरो हो । अन्य प्रतिवादीहरूले मेरो संलग्नता छ भनी लेखाएको व्यहोरा झुठ्ठा हो । मुचुल्कामा बस्ने मानिसहरूले लेखाई दिएको व्यहोरा सम्बन्धमा मलाई थाहा भएन । अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जुगल भन्ने युगनन्दन मुखिया सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
मृतक अर्जुन तामाङलाई को-कसले कुटपिट गरे मैले देखिन, म त्यो घटनामा संलग्न नभएको हुँदा केही थाहा छैन । मउपर किन जाहेरवालाले पोल गरे थाहा भएन । घटना विवरण कागज गर्नेले किन त्यस्तो व्यहोरा लेखाई दिए मलाई थाहा भएन । म कुटपिटको घटनामा संलग्न पनि छैन र देखेको पनि होइन । मृतकको शरीरमा के कसरी घाउ चोट लाग्यो निजलाई नचिनेको हुँदा केही थाहा भएन । अन्य प्रतिवादीहरूले मेरोसमेत संलग्नता छ भनी लेखाएको व्यहोरा झुठ्ठा हो । मुचुल्काका मानिसहरूले मेरोसमेत संलग्नता छ भनी किन लेखाए थाहा भएन । आफूले अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी धर्मेन्द्र कुमार मेहताले सुनसरी जिल्ला अदालतमा गरेको इन्कारी बयान ।
मिति २०६६।५।२२ का दिन जेलको सरसामान किन्न झुम्का गई दिउँसो ११:०० बजे फर्केपछि प्रहरीले मलाई अर्जुनलाई कुटपिट गरेको कुरा सुनाएपछि अर्जुन तामाङ भएको ठाउँमा गई सोध्दा निजले तिर्थ महर्जन, सार्के तामाङ, साविर मियाँ, कृष्ण तामाङसमेत ४ जनाले मलाई कुटपिट गरेको भनी बताएका थिए । सो कुरा मैले जेलर तथा प्रहरी प्रमुखलाई जानकारी गराएको थिएँ । जानकारी भएपछि जेलरले दुर्गा फुयाललाई बोलाई उपचार गराएका हुन् । फेरी अर्जुनको स्वास्थ्य सुधार नभएपछि जेलर र स.ई. साहेवलाई सो कुरा सुनाई पुनः डाक्टर बोलाई दिएको हो । अर्जुनबहादुर बेहोस भएपछि जेलर र स.ई. साहेबले एम्बुलेन्स बोलाई उपचारको लागि वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान. धरान पठाइएकोमा भोलिपल्ट मृत्यु भएको सुनेको हुँ । मैले निज अर्जुन तामाङलाई कुटपिट गरेको होइन । अर्जुनलाई कुटपिट भएको मैले आँखाले नदेखेको र निजैले भनेअनुसार तिर्थ महर्जन, साविर मियाँ, सार्के तामाङ र कृष्ण तामाङ ४ जनाले कुटपिट गरी निजको मृत्यु भएको हो । अनुसन्धान अधिकारीसमक्ष गरेको बयान व्यहोरा मेरो होइन, सहिछाप मात्र मेरो हो । अन्य प्रतिवादीहरूले मेरो संलग्नतामा कुटपिट भयो भनी गरेको बयान झुठ्ठा हो । मैले अर्जुन तामाङलाई कुटपिट गरेको नहुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी देवकुमार मेहताले सुनसरी जिल्ला अदालतमा गरेको बयान ।
मृतक अर्जुनबहादुर तामाङको प्रतिवादी तिर्थ महर्जन, साविर मियाँ, सार्के तामाङले कुटपिट गरेको कारण मृत्यु भएको हो । मैले मृतकलाई कुटपिट गरेको होइन । आफूले मृतकलाई कुटपिट नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश कुमार यादवले सुनसरी जिल्ला अदालतमा गरेको इन्कारी बयान ।
कारागार प्रशासनका नाइकेसमेतको मिलोमतोमा अर्जुन तामाङको कुटपिट भई सोही कारणबाट मृत्यु भएको हो । अन्य प्रतिवादीहरू सार्के तामाङ, साविर मियाँ र तिर्थ महर्जनसमेतको कुटपिटको चोटबाट सोही पिरले निजको मृत्यु भएको हो । मैले मृतकलाई कुटपिट नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय हुने होइन सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पदम घिमिरेले सुनसरी जिल्ला अदालतमा गरेको ईन्कारी बयान ।
अदालतमा आदेशानुसार प्रतिवादी साविर अन्सारीको साक्षी पिन्टु साह, साविर अन्सारी प्रतिवादी सार्के तामाङको साक्षी कृष्ण तामाङ, रामदल राई, विकास राई गोरे भन्ने अमिर राई प्रतिवादी देवकुमार मेहताको साक्षी हरि नारायण खवास, प्रतिवादी तिर्थ महर्जनका साक्षी सुरेश तामाङ प्रतिवादी धर्मेन्द्र मेहताको साक्षी प्रमोद थापा मगर, साने कुमार मेहता, प्रतिवादी हरि नारायण यादवको साक्षी शंकर मुखिया, वादीका साक्षी सानुबाबु राजवंशी तथा अदालतबाट बुझिएका दुर्गाप्रसाद फुयालले सुनसरी जिल्ला अदालतमा गरेको बकपत्र मिसिल संलग्न रहेको देखिन्छ ।
मिसिल संलग्न प्रमाण कागजहरूबाट प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ र साविर मियाँले अन्य कारागारमा रहँदा रकमको लेनदेन लगाएका विषयमा रहेको पूरानो रिसइवीको कारण जाहेरवालाको भाइ अर्जुनबहादुर तामाङलाई कारागार जस्तो चारैतिर बन्द रहेको र आफ्नो आन्तरिक प्रशासनको बाहुल्यता र नियन्त्रण रहेको अवसरको फाइदा उठाई निर्मम तरिकाले कुटपिट गरी यातना दिई अर्जुन तामाङलाई मारेको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं.को कसुरमा ऐ.१३(३) नं. बमोजिम जन्मकैदको सजाय हुन्छ । प्रतिवादीहरू जुगल भन्ने युगनन्दन मुखिया, पदम घिमिरे, हरिनारायण यादव, रमेश कुमार यादव र धर्मेन्द्र कुमार मेहताले ज्यान मार्ने कार्यमा मतलबीको भूमिका निर्वाह गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. को कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही नं. बमोजिम १ वर्ष कैद हुन्छ भन्नेसमेत व्यहोराको सुनसरी जिल्ला अदालतबाट भएको फैसला ।
अनुसन्धनको क्रममा साबित रही बयान गरेको भनी हामीउपरको कसुर कायम गरेको पाइन्छ । वारदात भएको भनिएको समयमा हामी घटनास्थलमा थिएनौं । को कसले के कार्य गरे हामीलाई थाहा छैन । अनुसन्धानमा स्वेच्छाले कसुर स्वीकार गरेको भए अदालतमा अस्वीकार गर्नुपर्ने अवस्था रहँदैन । अनुसन्धानको क्रममा पहिलादेखि लेखी तयार पारेर राखेको कागजमा सहिछाप गराएको हुँदा सो कागजलाई आधार लिई हामीलाई कसुरदार ठहर गरेको फैसला मिलेको छैन । बाहिरबाट आएका व्यक्तिहरूले वा प्रतिवादीहरू बाहेका अन्य व्यक्तिहरूको कुटाईबाट मारेको भन्ने पुष्टि नभएसम्म प्रतिवादीहरूको संलग्नता सम्बन्धमा अन्यथा अनुमान गर्न मिल्ने होइन । फौजदारी मुद्दामा शंका र अनुमानको आधारमा कसुरदार कायम गर्न मिल्ने देखिँदैन । कारागारभित्र कसैको मृत्यु हुनुमा हामी नै दोषी भनी अनुमान गर्न न्यायसङ्गत हुँदैन । अन्य कुनै पनि प्रतिवादीहरूले हामीले कसुर गरेको भनी लेखाइदिएका छैनन । मृतककै गठमेलका झापा कारागारबाट सरूवा भई आएका हामीसँग पूर्वाग्रह राख्ने व्यक्तिहरूले गरेको कागजलाई आधार लिई हामीलाई कसुरदार ठहर गरी गरेको सर्वस्वसहित जन्मकैदको सजाय मिलेको नहुँदा त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेतको प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङको पुनरावेदन अदालत, विराटनगरमा परेको संयुक्त पुनरावेदन पत्र ।
अनुसन्धानको क्रममा साबित रही बयान गरेको भनी मउपरको कसुर कायम गरेको पाइन्छ । वारदात भएको भनिएको समयमा म सो स्थानमा थिइनन । अनुसन्धानमा स्वच्छाले कसुर स्वीकार गरेको भए अदालतमा अस्वीकार गर्नुपर्ने अवस्था रहँदैन । अनुसन्धानको क्रममा पहिलेदेखि लेखी तयार पारेर राखेको कागजमा सही छाप गराएको हुँदा सो कागजलाई आधार लिई मलाई कसुरदार ठहर गरेको सुरूको फैसला मिलेको छैन । बाहिरबाट आएका व्यक्तिहरूले वा प्रतिवादीहरू बाहेकका अन्य व्यक्तिहरूको कुटाईबाट मारेको भन्ने पुष्टि नभएसम्म प्रतिवादीहरूको संलग्नता सम्बन्धमा अन्यथा अनुमान गर्न सकिने अवस्था देखिँदैन । फौजदारी मुद्दामा शंका र अनुमानको आधारमा कसुरदार कायम गर्न नमिल्ने हुँदा कारागारभित्र कसैको मृत्यु हुनुमा म नै दोषी भनी अनुमान गर्न मिल्ने होइन । अन्य कुनै पनि प्रतिवादीहरूले मैले कसुर गरेको भनी लेखाई दिएको छैन । मृतककै गठमेलका झापा कारागारबाट सरूवा भई आएका मसमेतसँग पूर्वाग्रह राख्ने व्यक्तिहरूले गरेको कागजलाई आधार लिई मलाई कसुरदार ठहर गरी गरेको सर्वस्वसहित जन्मकैदको सजाय मिलेको नहुँदा त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी साविर मियाँको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र ।
मृतक अर्जुन तामाङलाई मार्ने कार्यमा मेरो कुनै किसिमको संलग्नता र निजलाई मार्नु पर्ने कारण छैन । घटनाको समयमा वारदातस्थलमा मौजुद रही जेल प्रशासनलाई खबर नगरेको भन्ने कुराको सम्बन्धमा मैले अनुसन्धानको क्रममा एवं अदालतमा समेत बयान गर्दा प्रस्टसँग खुलाई सकेको छु । जेलभित्रको आन्तरिक प्रशासनभित्रको कुरा कोही कसैलाई जानकारी गराउनु भनेको आफू मारिनु भन्दा पीडादायक हुन्छ । कारागारभित्र घटेको घटनाको विषय जेल प्रशासनलाई जानकारी गराउनु पर्ने नभई थाहा भएकै विषय हो । अर्जुन तामाङको मृत्यु को कसको कर्तव्यबाट भएको हो भन्ने कुरा मिसिलमा प्रस्ट देखिरहेको छ । अर्जुन कुमार तामाङलाई मार्ने कार्यमा मेरो कुनै किसमको संलग्नता नरहेको तथ्य मिसलबाटै पुष्टि हुँदाहुँदै मलाई घटना हेरी बसेको भनी १ वर्ष कैदको सजाय गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पदमप्रसाद घिमिरेको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र ।
पुनरावेदन अदालत, विराटनगरको मिति २०७१।३।२५ को आदेशानुसार प्रतिवादी देवकुमार मेहताको हकमा साधकमा दर्ता भएको ।
मृतक अर्जुनकुमार तामाङको बाहिर र भित्रबाट अत्याधिक रक्तश्राव भई मृत्यु भएको हो । निजको शरीरभरि विभिन्न प्रकार तथा आकारका चोटपटक पाइएको थियो भन्नेसमेत व्यहोराको अर्जुनबहादुर तामाङको शव परीक्षण गर्ने डा. शिवेन्द्र झाले पुनरावेदन अदालत, विराटनगरमा उपस्थित भई गरेको बकपत्र ।
यसमा प्रतिवादीहरूले अदालतमा आई बयान गर्दा आरोपित कसुर आफूले नगरेको भनी व्यहोरा खुलाई दिएको, जाहेरी दरखास्त पर्नुअघि प्रदीप राईसमेतका व्यक्तिहरूको कागज भएको, प्रतिवादीहरूका साक्षीहरूले प्रतिवादीको वारदातमा संलग्नता नरहेको भनी बकपत्र गरेकोसमेतका अवस्थामा पुनरावेदक प्रतिवादीहरूलाई कसुर ठहर गरी सजाय गरेको सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउने प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरलाई पुनरावेदनको जानकारी गराई पेस गर्नु भनी पुनरावेदन अदालत, विराटनगरको आदेश ।
घटना विवरण कागज गर्ने सानुबाबु राजवंशीले अदालतमा आई गरेको बकपत्र, प्रतिवादीहरूले अनुसन्धानमा गरेको साबिती बयान, अदालतमा कसुरमा आफ्नो संलग्नता इन्कारी एक अर्कालाई पोल गरी गरेको बयान, घटना विवरण कागज गर्नेले खुलाई दिएको विवरण, वादीका साक्षीले गरेको बकपत्रसमेतबाट प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ र साविर मियाँको प्रत्यक्ष संलग्नता र योजनामा घटना भएको देखिन्छ । मृतक अर्जुनकुमार तामाङको बाहिर र भित्रबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको हो, मृतकको शरीरभरि विभिन्न प्रकार तथा आकारका चोटपटक पाइएको थियो भनी मृतकको शव प्ररीक्षण गर्ने डा. शिवेन्द्र झाले बकपत्र गरेको र मृतकको लास जाँच मुचुल्कासमेतबाट मृतकलाई उल्लिखित प्रतिवादीहरूले सांघातिक निर्ममरूपमा कुटपिट गरेको तथ्य पुष्टि हुन आएको छ ।
प्रतिवादीमध्येका देवकुमार मेहता कारागार कार्यालय झुम्काको चौकीदार रहेको, मृतक अर्जुनकुमार तामाङसमेत झापा कारागारबाट सरूवा भई आएदेखि नै निजलाई कुटपिट गर्ने कार्यमा मुख्यरूपमा सरिक रहेको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको देखिन्छ । अर्जुनकुमार तामाङलाई प्रतिवादी देवकुमार मेहतासमेत भई लाठी, मुक्का, लात्तीसमेतले कुटपिट गरेको र सोही चोटका कारणले निजको मृत्यु भएको पुष्टि भएको अवस्थामा प्रतिवादीहरू देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ तथा साविर मियाँले अर्जुनबहादुर तामाङलाई कारागार जस्तो चारैतिर बन्द रहेको स्थानमा निर्मम तरिकाले कुटपिट यातना दिई ज्यान मार्ने जस्तो गम्भीर प्रकृतिको कसुर अपराध गरेको ठहर्याई निज प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा सोही नं. बमोझिम जन्म कैदको सजाय हुने ठहर्याई सुनसरी जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला ।
मृतकसँगै झापा कारागारबाट सरूवा भई आएका मृतकका नजिकका व्यक्तिहरूले पूर्वाग्रह राखी मसमेतले कुटपिट गरेको भनी कागज गरेकै भरमा त्यसैलाई आधार लिई मलाई दोषी ठहर गर्न मिल्दैन । तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु अलग अलग विषय हुन् । तथ्यको स्वीकारोक्तिलाई नै साबिती सरह निजको विरूद्धमा प्रमाणमा ग्रहण गर्न मिल्दैन । मैले घटनाका बारेमा तथ्य स्वीकार गरी यी यी व्यक्तिले अर्जुनलाई कुटेको र निज अर्जुनबहादुरलाई बिरामी भएपछि हस्पिटल लानुपर्छ भनी देवकुमारलाई भनेको अवस्थामा सोलाई उल्टै मेरो भनाइलाई आधार नलिई मलाई अपराध गरेको भन्दै दोषी ठहर गर्न मिल्दैन । मृतक अर्जुनबहादुरसँग मेरो कुनै लेनादेना नभएको, कुनै पूर्वरिसइवी, झै-झगडा नभएको र मैले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारणसमेत थिएन । देवकुमार मेहतासमेतलाई मृतकले झापा र मोरङ कारागारमा रहँदा रकम असुलेको पहिला कुटपिट गरेको आधार प्रमाणबाट सो रिसइवी साँध्ने नियतले निज देवकुमार मेहतासमेतले कुटपिट गर्दा मृतक अर्जुनबहादुर तामाङको मृत्यु भएको अवस्थामा म प्रतिवादी तिर्थ महर्जन सो वारदातमा संलग्न नै नभएको व्यक्ति उपर परेको जाहेरी र अभियोग पत्रका आधारमा मलाई ज्यान जस्तो गम्भीर अपराधमा कसुरदार ठहर गरी जन्मकैद हुने गरी भएको जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी म प्रतिवादी तिर्थ महर्जनले सफाई पाउनु पर्दछ भन्नेसमेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन पत्र ।
मृतकसँग मेरो सम्बन्ध राम्रो थियो तर अन्य प्रतिवादीहरू भने मोरङ कारागारमा रहँदैका अवस्थादेखि नै मृतक अर्जुन तामाङसँग झै-झगडा भएका व्यक्तिहरू रहेछन निजहरूले पूर्वरिसइवीका कारण गरेको कार्यमा मलाई समेत मुछी आफू सजायबाट उन्मुक्ति पाउनलाई मसमेतलाई पोल गरी आफू ईन्कार रही बयान गरेको हुँदा कसुरमा आफू साबित भई गरेको पोल मात्र प्रमाणमा ग्राह्य हुने तर आफूले गरेको कसुरमा आफू ईन्कार हुने अनि निर्दोष व्यक्तिको नाम उल्लेख गरी पोल गरेकै आधारमा मैले सजाय पाउने भन्ने प्रश्नै आउँदैन । घटना भएको प्रत्यक्ष देख्ने भनिएका मानिसलाई साक्षीसम्म नराखिएकोले उक्त घटनाको वास्तविकता सार्वजनिक नभएको अवस्थामा केवल आफूखुसी राखिएका वादीको साक्षी भनिएका व्यक्तिको बकपत्रका आधारमा मात्र मलाई कसुरदार ठहर्याउन मिल्ने होइन । सहअभियुक्तले अदालतमा बयान गर्दा मलाई पोल नगरेको, वादीका साक्षीले मेरो संलग्नता देखाउन नसकेको अवस्थामा पनि मलाई कसुरदार ठहर्याउने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सार्के तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीहरू साविर मियाँ, देवकुमार मेहतालाई कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) अनुसार जन्मकैद हुने ठहरी सुनसरी जिल्ला अदालतबाट भएको फैसलालाई पुनरावेदन अदालत, विराटनगरबाट सदर हुने ठहरी फैसला भएकोमा सो फैसलाउपर प्रतिवादीहरू साविर मियाँ, देवकुमार मेहताको म्यादभित्र पुनरावेदन नपरेकोले प्रतिवादीहरू साविर मियाँ, देवकुमार मेहताको हकमा साधक दायरीमा दर्ता गर्नु भन्ने यस अदालतको मिति २०७३।११।०२ को टिप्पणी आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मसिल संलग्न कागज अध्ययन गरियो । देवकुमार मेहता, तिर्थ महर्जन, सार्के तामाङ र साविर मियाँको सामूहिक कुटपिटबाट अर्जुन तामाङको मृत्यु भएकोले प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. विपरीत रहेकोले निज प्रतिवादीहरूलाई ऐ.ऐनको दफा १३(३) नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोग माग दाबी रहेको देखिन्छ । प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रही अदालतमा बयान गरेकोमा सुनसरी जिल्ला अदालतबाट यी प्रतिवादीहरूलाई जन्मकैदको सजाय हुने ठहरी भएको फैसलाउपर प्रतिवादीहरू तिर्थ महर्जन, सार्के तामाङ र साविर मियाँको पुनरावेदन परेको र प्रतिवादी देवकुमार मेहताको हकमा साधकको रोहमा पुनरावेदन अदालत, विराटनगरबाट फैसला हुँदा निज प्रतिवादीहरूको हकमा सुरूबाट भएको फैसला सदर हुने ठहरेकोले सो फैसलाउपर प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङको यस अदालतमा पुनरावेदन पर्न आएको र प्रतिवादीहरू साविर मियाँ र देवकुमार मेहताको हकमा साधकको रोहमा पेस हुन आएको देखियो ।
उपर्युक्तबमोजिमको तथ्य रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, घटनास्थल लास जाँच मुचुल्काबाट अर्जुनबहादुर तामाङको गालामा, चिउँडोमा चोट देखिएको, पैतालामा कुटेर कालो निलो डाम परेको, घुँडामा १/१ इन्च लम्बाइको काटिएको घाउ देखिएको, देब्रे खुट्टामा घाउहरू भएको, मृतकको दुवैपट्टिको कोखामा, तिघ्रामा, चाकमा रातो निलो डाम देखिएको, देब्रे हातको औंलामा बाहिर पट्टिबाट छेडिएका घाउहरू भएको देखिन्छ । अर्जुनबहादुरको मृत्युको कारण Shock as a result of internal and external bleeding due to blunt trauma भनी शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको छ । जाहेरी दरखास्त व्यहोराबाट समेत अर्जुनबहादुर तामाङ सुनसरी कारागारमा कैदमा रहेको बेलामा निजसँग कुटपिट भएको देखिएकोले अर्जुनबहादुर तामाङको मृत्यु कुटपिटबाट गम्भीर चोटपटक लागि भएको तथ्य पुष्टि हुन आएको छ ।
३. अब उक्त बारदातमा यस अदालतमा पुनरावेदन गर्ने प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङ तथा साधकको रोहमा पेस भएका प्रतिवादीहरू देवकुमार मेहता र साविर मियाँको के कस्तो संलग्नता रहेको छ भन्ने सन्दर्भमा हेर्दा, चन्द्रमान तामाङले जाहेरी दिँदा प्रतिवादी देवकुमार मेहताको निर्देशनमा अन्य प्रतिवादीहरूले मृतकलाई पैसा नदिएको निहुँमा दिनहुँ जसो कुटपिट गर्ने गरेको कुरा भाइलाई कारागारमा भेट्न जाँदा थाहा पाएको हो । वारदातको दिन पनि यी प्रतिवादीहरूले भाइलाई कुटपिट गरी मारेको हो भनी उल्लेख गरेका रहेछन् । अर्जुनबहादुर तामाङ कैदमा रहेको कारागारमा नै कैदमा रहेको चन्दन थापा, विशेश्वर प्रसाद राजवंशी, सुभाष भन्ने ठमानाथ न्यौपाने, सूर्य नारायण राजवंशी, सानुबाबु राजवंशी र प्रदिप राईले कारागारको चौकीदार देवकुमार मेहतासमेतका मानिसहरूले अन्य कैदीहरूसँग पैसा मागेको र नदिँदा कुटपिट गर्ने गरेको साथै मृतक अर्जुन तामाङसँग पहिला विराटनगर कारागारको रिसइवी रहेकोले सोही कारणले कुटपिट गरी मारेको हो भनी अनुसन्धानको क्रममा कागज गरिदिएको देखिन्छ । प्रतिवादीहरू सार्के तामाङ, साविर मियाँ, देवकुमार मेहता, तिर्थ महर्जनसमेतले अनुसन्धान अधिकारीसमक्ष आरोपित कसुरमा स्वीकार रही एक अर्कालाई पोल गर्दै बयान गरेको देखिन्छ । यी प्रतिवादीहरूको उक्त बयान व्यहोराबाट मोरङ कारागारमा हुँदा अर्जुन तामाङले प्रतिवादी देवकुमार मेहतालाई कुटपिट गरेको र दुःख दिएको, अर्जुन तामाङको दाजु चन्द्रमान तामाङले प्रतिवादी तिर्थ महर्जनलाई मोरङ कारागारमा बस्दा कुटपिट गरेको सास्ती दिएको, झापा कारागारमा बस्दा अर्जुन तामाङले साविर मियाँलाई कुटपिट गरेको र सार्के तामाङले झापा कारागारको चौकीदार हुँदा लगानी गरेको पाँच लाख पचास हजार रूपैयाँँ अर्जुन तामाङ चौकीदार हुँदा नदिएकोले यी प्रतिवादीहरूले उपर्युक्त रिसइवी साँध्नको लागि कुटपिट गरेको देखिन्छ ।
४. मिसिल संलग्न प्रतिवादीहरू हरि नारायण यादव, धर्मेन्द्र कुमार मेहता, महेश यादव, राम सागर मेहता, कृष्ण देव मेहतासमेतले यी प्रतिवादीहरू तिर्थ महर्जन, सार्के तामाङ, देवकुमार मेहता, साविर मियाँसमेत भई पैसाको लेनदेनलगायतको पहिलाको रिसइवी साँध्नको लागि कुटपिट गरेको भनी प्रतिवादीहरूलाई पोल गर्दै बयान गरेको देखिन्छ । सोही झुम्का कारागारमा कैदी जीवन बिताइरहेका धर्मेश राई, अजमुदिन अन्सारी, गुणराज आचार्य, उमर अन्सारी, गंगाप्रसाद यादवले कारागारका तत्कालीन आन्तरिक प्रशासनका व्यक्तिहरूको कुटाईबाट अर्जुन तामाङको मृत्यु भएको हो भनी अनुसन्धानको क्रममा कागज गरिदिएको देखिन्छ । मृतकसहितका ७ जना कैदी बन्दीहरू झापा कारागारबाट स्थानान्तरण गरी झुम्का कारागारमा ल्याउँदा सोही दिनदेखि नै मृतक अर्जुन तामाङलगायत अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी देवकुमार मेहताको निर्देशनमा अन्य प्रतिवादीहरू समेत भई कुटपिट गरेका हुन् भनी वस्तुस्थिति मुचुल्काका मानिसहरू गोपीकृष्ण भुर्तेल, पुष्प भुजेल, भिमलाल काफ्ले, शिबु मेहता, र सुनिल श्रेष्ठले अनुसन्धानको क्रममा लेखाई दिएका छन् । प्रतिवादीहरू देवकुमार मेहता, सार्के तामाङ, तिर्थ महर्जन र साविर अन्सारीले अदालतमा उपस्थित भई बयान गर्दा आरोपित कसुरमा आफ्नो संलग्नता रहेको हुरा इन्कार गरी अन्य प्रतिवादीहरूलाई पोल गरेको देखिन्छ । उक्त वारदातका प्रत्यक्षदर्शी तथा अनुसन्धानको क्रममा कागज गर्ने सानुबाबु राजबंशीले जिल्ला अदालतमा उपस्थित भई प्रतिवादी देवकुमार मेहताको नेतृत्वमा कारागारको तत्कालीन आन्तरिक प्रशासनमा भएका व्यक्तिहरूले पूर्वरिसइवीको कारणले अर्जुन तामाङलाई कुटपिट गरेको हुँदा निजको मृत्यु भएको हो भनी बकपत्र गरिदिएको देखिन्छ ।
५. प्रतिवादी देवकुमार मेहता वारदातको समयमा क्षेत्रीय कारागार कार्यालय झुम्का सुनसरीको आन्तरिक प्रशासनको चौकीदार रहेको र यस अदालतमा पुनरावेदन गर्ने प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङ र साधकको रूपमा पेस भएका प्रतिवादी साविर मियाँ पनि सोही कारागारको आन्तरिक प्रशासनका व्यक्ति भएको तथ्यमा विवाद छैन । मृतक अर्जुनबहादुर तामाङ मिति २०६६।५।२१ मा झापा कारागारबाट स्थानान्तरण भई झुम्का कारागारमा आएपश्चात् कुटपिट हुँदा मिति २०६६।५।२९ मा निजको मृत्यु भएको तथ्य स्थापित हुन आएको छ । उक्त वारदातका प्रत्यक्षदर्शीहरू अनुसन्धानको क्रममा कागज गर्दा प्रतिवादीहरू, तिर्थ महर्जन, सार्के तामाङ, देवकुमार मेहता, साविर मियाँसमेतलाई किटान गरी कागज लेखाएको र सानुबाबु राजवंशीले अदालतमा उपस्थित भई यी प्रतिवादीहरूको समेत नाम उल्लेख गरी बकपत्र गरिदिएको छन् । यी प्रतिवादीहरूले पनि अनुसन्धानको क्रममा आरोपित कसुर स्वीकार गरी बयान गरेका छन् । निजहरूको उक्त बयान व्यहोरा अनुसन्धानको क्रममा त्यतिबेला कारागारभित्र रहेका अन्य व्यक्तिहरूले गरिदिएको कागजबाट समर्थित भएको छ । निज प्रतिवादीहरूले आरोपित कसुरमा अदालतमा उपस्थित भई बयान गर्दा इन्कार रहेको र निजका साक्षीहरूले सो कुरालाई समर्थन गर्दै अदालतमा बकपत्र गरेपनि निजहरूले अदालतसमक्षको बयानमा आफू इन्कार रहँदै एक अर्कालाई पोल गरेको देखिन्छ । निजहरूले इन्कार रही अदालतमा गरेको बयानलाई समर्थन गराउन पेस गरेका साक्षी सोही कारागारको भएकोले निज साक्षीहरूलाई यी आन्तरिक प्रशासनमा रहेका व्यक्तिहरूले सहजै प्रभावमा पार्नसक्ने अवस्था विद्यमान रहेको देखिँदा त्यस्ता साक्षी मात्रको बकपत्रको आधारमा यी प्रतिवादीहरू निर्दोष रहेका छन् भनी मान्न मिल्दैन ।
६. प्रतिवादीहरू मध्ये देवकुमार मेहता, सार्के तामाङ र साविर मियाँको मृतक अर्जुन तामाङसँग र प्रतिवादी तिर्थ महर्जनको मृतकका दाजु तथा प्रस्तुत मुद्दाका जाहेरवाला चन्द्रमान तामाङसँग पूर्वरिसइवीसमेत रहेको देखिन्छ । निज प्रतिवादीहरूले आरोपित कसुर नगरेको भए घटना विवरण कागज गर्ने मानिसहरू एवं वस्तुस्थिति मुचुल्काका मानिसहरूले निजहरूको नाम उल्लेख गराउनुको एवं अदालतमा उपस्थित भई बकपत्र गर्नुका अन्य कारण मिसिल संलग्न कागज प्रमाणबाट खुल्दैन । निजहरूले अदालतमा बयान गर्दा एक अर्कालाई पोल गरेको कागजबाट समेत प्रतिवादीहरू आफू आरोपित कसुरबाट बच्न खोजेको देखिन्छ । यसबाट समेत प्रतिवादीहरू तिर्थ महर्जन, सार्के तामाङ, देवकुमार मेहता, साविर मियाँसमेतको संलग्नतामा अर्जुन तामाङउपर कुटपिट भई सोही कुटपिटको कारणबाट निजको मृत्यु भएको तथ्य स्थापित हुन आएको छ ।
७. यसरी यी प्रतिवादीहरूको बयान व्यहोरा, प्रत्यक्षदर्शीहरू भनाइलगायत मिसिल संलग्न अन्य कागज प्रमाणबाट सिलसिलेवाररूपमा अर्जुनबहादुर तामाङको मृत्यु यी प्रतिवादीहरूको कर्तव्यबाट भएको देखिएको र प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. विपरीत रहेकोले निज प्रतिवादीहरूलाई आरोपित कसुरमा सजाय गर्ने गरेको फैसलालाई अन्यथा गरिरहनु परेन । आरोपित कसुरबाट सफाइ पाउनु पर्दछ भने प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
८. अब यी प्रतिवादीहरूलाई हुने सजायको सन्दर्भमा हेर्दा प्रतिवादी तिर्थ महर्जन लागु औषध मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाबमोजिम (१० वर्ष कैद र रू ७५०००।- जरिवाना भएको) कैदमा रहेको, अर्का प्रतिवादी सार्के तामाङ पनि लागु औषध मुद्दामा झापा जिल्ला अदालतबाट भएको फैसला (१५ वर्ष कैद र रू.५,०००००।- जरिवाना भएको) बमोजिम कैदमा रहेको, प्रतिवादी देवकुमार मेहता जिउ मास्ने बेच्ने मुद्दामा मोरङ जिल्ला अदालतको फैसला (१० वर्ष कैद भएको) अनुसार कैदमा रहेका, अर्का प्रतिवादी साविर मियाँ पनि जिउ मास्ने बेच्ने मुद्दामा ७ वर्ष कैद सजाय भएकोले कैदी जीवन बिताइरहेको भनी निजहरूको बयानबाट देखिन्छ । प्रतिवादीहरूको अर्जुन तामाङलाई कुटपिट गर्नुको कारण पहिला विभिन्न कारागारमा सँगै बस्दा भएको झगडाको रिसइवी एवं रकम लेनदेन रहेको छ । अर्जुनबहादुर तामाङ झुम्का कारागारमा आएको मिति २०६६।५।२१ देखि नै योजनाबद्ध तवरले यी प्रतिवादीहरूले कुटपिट गरेको देखिन्छ । प्रतिवादीहरू र मृतक सबैजना कैदमा रहेको अवस्था भए पनि प्रतिवादीहरू जेलको आन्तरिक प्रशासनमा रहेको र मृतक अर्को कारागारबाट स्थानान्तरण भई आएको रहेछन् । कारागारका आन्तरिक प्रशासनमा रहेका मानिस अन्य कैदी बन्दीको तुलनामा कारागार भित्रै पनि बढी स्वतन्त्रताको उपयोग गर्न पाउने कुरामा दुईमत हुन सक्दैन । निजहरूले उक्त स्वतन्त्रता पनि अन्य कैदी बन्दीको हितको लागि प्रयोग गर्नुपर्ने भनी कानूनले अपेक्षा गरेको हुन्छ । तर प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूको कार्य कानूनले अपेक्षा गरेको भन्दा विपरीत रहेको र सोही स्वतन्त्रताको गलत फाइदा उठाउँदै कुटपिट गर्दा अर्जुन तामाङको मृत्यु भएको देखिन्छ ।
९. यसरी एउटा अपराधमा अदालतबाट सजाय पाई भुक्तान गरिरहेका यी प्रतिवादीहरूले कैदी भएकै अवस्थामा योजनाबद्ध ढंगले अर्को अपराध गरेको हुँदा यस्तो अवस्थामा कानूनले तोकेको अधिकतम सजाय गर्नु नै उत्तम हुन्छ । आफूले गरेको पहिल्यै गरिसकेको आपराधिक कार्यको सम्बन्धमा अदालतबाट सजाय पाइसकेपछि यी प्रतिवादीहरूले पश्चाताप गरी सुधारोन्मुख हुनुपर्नेमा कैदी जीवनमा व्यतित गरिरहेकै अवस्थामा अर्को अपराध गरेको देखिँदा प्रतिवादीहरू छुटी कारागार बाहिर जाँदा समाजको लागिसमेत खतरा हुनसक्ने भएकोले यस्ता व्यक्तिहरूलाई सजाय गर्दा अदालतले प्रतिवादीहरूले गरेको अपराधको प्रकृति, त्यसबाट समाजमा पर्ने असरसमेतलाई मध्यनजर गरी सजाय निर्धारण गर्नुपर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू धेरै जनाको समूहमा भई कारागारभित्र पनि अर्को कारागार जस्तो बनाई स्वच्छन्दतापूर्वक कैदी रहेको एकजना व्यक्तिलाई लगातार यातना दिई मारेको देखिएको तर को कसको चोटबाट अर्जुनबहादुर तामाङको मृत्यु भएको हो भन्ने नदेखिएको हुँदा यस्तो अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. ले तोकेको जन्मकैदको सजाय हुन मनासिब हुने देखिन्छ ।
१०. तसर्थ माथि विवेचित आधार कारण एवं प्रमाणबाट पुनरावेदक प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङ तथा साधकको रोहमा पेस भएका प्रतिवादीहरू देवकुमार मेहता र साविर मियाँलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) को कसुरमा सोही १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०७१।९।२३ को फैसला पुनरावेदक प्रतिवादीहरू तिर्थ महर्जन र सार्के तामाङ र साधकको रोहमा प्रतिवादीहरू देवकुमार मेहता र साविर मियाँको हकमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
११. यसका अतिरिक्त अर्जुनबहादुर तामाङको मृत्यु निज आफूलाई अदालतबाट भएको कैद सजाय कारागारमा बसी भुक्तान गरिरहेको अवस्थामा सोही कारागारको आन्तरिक प्रशासनका चौकीदार लगायतका मानिसहरूको लगातारको कुटपिटबाट भएको देखिएकोले प्रस्तुत मुद्दामा निम्नलिखित कानूनी निर्देशन जारी हुन आवश्यक देखिन आएको छ ।
१२. प्रस्तुत मुद्दाका प्रतिवादीहरू एवं मृतक विभिन्न मुद्दामा कैदी जीवन बिताइरहेका मिसिल संलग्न कागजबाट देखिन्छ । सुरक्षाको दृष्टिकोणले कारागार एकदमै संवेदनशील स्थान हो र सोहीअनुसार यहाँ सुरक्षा व्यवस्था पनि कडा नै रहेको आम बुझाई रहेको छ । यस्तो कडा सुरक्षा घेरामा पनि कैदमा रहेका मानिसउपर दिनहुँ कुटपिट हुनु र सोही कुटपिटबाट मृत्युसमेत हुनु भनेको कारागार व्यवस्थापन तथा कारागारभित्रको सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चुक हो । कुनै अपराध गरेको अभियोग लागि अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका मानिसले पनि कानूनको दायरामा रही नेपालको संविधानको धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने हक आम नागरिकसरह नै उपयोग गर्न पाउनु पर्दछ । राज्यले आफ्नो नियन्त्रणमा (Custody) मा लिएको व्यक्तिको सुरक्षा गर्नु पनि राज्यको दायित्वभित्र पर्दछ । तर प्रस्तुत मुद्दालगायत कारागारमा रहेका कैदीहरूले अन्य कैदी बन्दीहरूलाई कुटपिट गरेको सोबाट कतिपयको मृत्यु भएको तथा अवाञ्छित र गैरकानूनी क्रियाकलापमा संलग्न रहेको घटनाहरू बेलाबखत सार्वजनिक भइरहेको देखिन्छ । यसबाट राज्यले आफ्नो नियन्त्रण वा हिरासतमा भएका व्यक्तिहरूको सुरक्षा गर्न उपयुक्त कदम चालेको देखिएन । तसर्थ कारागारमा कैद जीवन बिताइरहेका कैदी बन्दीहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै निजहरूको जिउ ज्यानको सुरक्षाको प्रत्याभूति गर्नेतर्फ गृह मन्त्रालय र कारागार व्यवस्था विभागलगायत सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरूरी छ ।
१३. कारागार नियमावली, २०२० को नियम २४(क)(१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिने प्रयोजनको लागि जेलरले कारागारका कैदीहरूमध्येबाट चौकीदार, नाइके र सहनाइके नियुक्ति गर्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट चौकीदार, नाइके र सहनाइकेको नियुक्ति कारागारको आन्तरिक प्रशासनमा सहयोग लिने उद्देश्यले गरेको देखिन्छ । तर चौकीदार नियुक्तिमा आर्थिक चलखेल पनि हुने गरेको प्रस्तुत मुद्दाकै तथ्यबाट देखिन्छ । सो कुरा बेलाबखत सञ्चार माध्यममा पनि आएको पाइन्छ । यसका साथै चौकीदारको नियुक्ति सोझै जेलरबाट भएको हुँदा जेलर र चौकीदार एक अर्काको नजिक हुनु स्वभाविक पनि देखिन्छ । यसबाट अन्य कैदीउपर चौकीदार, नाइके, सहनाइकेले केही गैरकानूनी कार्य गरेकोमा जेलरले कैदी बन्दीको कुरा नसुनी चौकीदारको कुरा सुन्ने अवस्था हुँदा कारागारको आन्तरिक व्यवस्थापनका व्यक्तिहरूको नियुक्ति प्रक्रिया कैदी बन्दीको हितमा हुने गरी पुनर्विचार हुन आवश्यक देखिन्छ ।
१४. माथि उल्लेख भएबमोजिम चौकीदारलगायत कारागारको आन्तरिक व्यवस्थापनमा नियुक्त हुने व्यक्तिहरूको नियुक्ति प्रक्रिया कैदी मैत्री नभएसम्म कारागार नियमावली, २०२० को नियम २४ (क) (४) र नियम ५३ मा भएको व्यवस्थालाई अनिवार्यरूपमा पालना गर्ने गराउने । चौकीदार, नाइके, सहनाइके नियुक्ति गर्दा नियमावालीको नियम ५३ बमोजिमको निजहरूको नियुक्तिपूर्वको र नियुक्तिपछिको चाल चलन, निजहरूले आपराधिक पृष्ठभूमिसमेतको अभिलेख राख्नु भनी कारागार व्यवस्था विभागले सबै कारागार कार्यालयहरूमा पत्राचार गर्ने ।
१५. न्यायिक निकायलगायत अन्य सरोकारवाला निकाय वा गैरसरकारी संस्थाहरूले कारागारहरूको निरीक्षण गर्न जाँदा कैदीहरू, आन्तरिक व्यवस्थापनका मानिसहरू, कारागार कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीसँग छुट्टाछुट्टै भेटघाट गरी उनीहरूको कुरा सुन्नु पर्दछ । यसका साथै कारागारको भौतिक अवस्थाको निरीक्षण तथा कैदीहरूसँग कारागारभित्र कुराकानी गर्न जाँदा सुरक्षा आवश्यक परेमा कारागारमै कार्यरत सुरक्षाकर्मीको सट्टा बाहिरको सुरक्षाकर्मीको सहयोग लिनुपर्ने तथा आन्तरिक प्रशासनका मानिसहरूलाई आफूसँगै लिएर नजानेतर्फ सचेत हुनुपर्ने देखिन्छ ।
१६. दण्डसम्बन्धी नेपालको विद्यमान कानूनी व्यवस्था हेर्दा यसले हतोत्साह एवं निरोधात्मक दण्डको अवधारणालाई केही हदसम्म अवलम्बन गरेको देखिए पनि हाल आएर सुधारात्मक अवधारणालाई बढी महत्त्व दिएको देखिन्छ । तर सोहीअनुसारको कार्यक्रमहरू राज्यको तर्फबाट नल्याइसकेकोले कैद भुक्तान गरिरहेका वा गरेर बाहिर आएका व्यक्तिहरू पुनः अपराधमा संलग्न हुने गरेको देखिन्छ । तसर्थ अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका कैदीहरूलाई आफ्नो कैद भुक्तान गरिसकेपछि पुनः समाजमा गएर घुलमिल हुन तथा फेरी आपराधिक कार्य गर्नेतर्फ उन्मुख हुनबाट रोकथाम गर्नको लागि निजलाई समाजमा पुनर्स्थापना गराउन आवश्यक तालिम दिन वा सिप सिकाउनेतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
१७. अपराध घटाउनमा व्यक्ति मानसिक अवस्थाले पनि महत्त्वपूर्ण भूमिका खेल्दछ । कैदी बन्दीहरू घर परिवारबाट टाढा भएको कारागारको वर्तमान भौतिक अवस्थाले गर्दा बसाई सहज हुन नसकेकोले निजहरूको मानसिक अवस्था पनि समान्य अवस्था जस्तो एकाग्र, शान्त र सन्तुलित नहुन सक्छ । निजहरूलाई आपराधिक कार्यतर्फ उन्मुख गराउन महत्त्वपूर्ण कारक तत्त्वको रूपमा यी यस्ता अन्य कुराहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । यसका साथै हाम्रो कारागारमा पटके अपराधी र परिबन्धले अपराध गर्न पुगेका व्यक्तिहरूलाई छुट्टाछुट्टै राख्ने व्यवस्था नभएकोले पटके अपराधीहरूले परिबन्धले अपराध गर्न पुगेका व्यक्तिहरूलाई आपराधिक कार्यतर्फ सजिलै तान्न सक्छन् । तसर्थ कारागारमा कैद भुक्तान गरेर बसिरहेका कैदीहरूको मानसिक अवस्था बलियो बनाउन र भविष्यमा पुन: अपराध गर्न रोक्नको लागि कैदी बन्दीहरूलाई मानसिक व्यायाम जस्तै योग ध्यान इत्यादि गराउनेतर्फ आवश्यक व्यवस्था हुनुपर्ने ।
१८. कारागार नियमावली २०२० को नियम २९ ले असल चालचलन भएका कैदीको कैद सजाय छोट्याउने व्यवस्था गरेको देखिन्छ । तर उक्त नियम २९(१क) मा उल्लिखित मुद्दाहरूमा कैद सजाय पाएका व्यक्तिको कैद सजाय छोट्याउन सकिने छैन भनी व्यवस्था रहेको छ । उक्त सूचीमा यी प्रतिवादीहरूले कैद भुक्तान गरिरहेको लागु औषध र जीउ मास्ने बेच्ने अपराध पनि समावेश रहेको देखिन्छ । अब यी प्रतिवादीहरूलाई प्रस्तुत कर्तव्य ज्यान मुद्दामा सजाय हुँदा कर्तव्य ज्यान मुद्दामा निजहरूलाई भएको सजाय लागु औषध र जीउ मास्ने बेच्ने मुद्दाको सजायभन्दा ठूलो भएकोले पछि प्रस्तुत मुद्दामा लागेको कैदको मात्र लगत राखी यी प्रतिवादीहरूलाई सजायमा छुट दिनसक्ने अवस्था रहन्छ । यसर्थ प्रतिवादीहरू पहिला गरेको लागु औषध र जीउ मास्ने बेच्ने अपराधको समेत अभिलेख राखी निजहरूलाई नियम २९(१) बमोजिमको सुविधा दिन मिल्ने नमिल्ने सम्बन्धमा विचार गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त यी प्रतिवादीहरू चौकीदार, नाइके, सहनाइकेको रूपमा काम गर्दाको अवस्थामा प्रस्तुत वारदात घटाएको देखिन्छ । निजहरूले आफ्नो कार्य गर्दाको अवस्थामा प्रस्तुत वारदात घटाएको हुँदा निजहरूले आफ्नो कार्य बफादारीका साथ गरेको नदेखिएकोले कारागार नियमावली, २०२० को नियम २९(२) बमोजिम निजहरूले कैद कट्टी सुविधा पाउने नपाउने सम्बन्धमा पनि विचार गरी आवश्यक व्यवस्था गर्नु भनी सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
१९. उपर्युक्त कानूनी निर्देशनअनुसारको कार्य गर्न गराउनका लागि प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत गृह मन्त्रालय एवं कारागार व्यवस्था विभाग र निरीक्षणसम्बन्धी निर्देशन पालना गर्न गराउनको लागि उच्च अदालतहरू र जिल्ला अदालतहरूलाई दिई प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृतः रामु शर्मा
इति संवत् २०७३ साल चैत २१ गते रोज २ शुभम् ।