शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९३१ - लिखत बदर दर्ता बदर दर्ता

भाग: ६० साल: २०७५ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा 

फैसला मिति : २०७४।११।२२

०७१-CI-०४५५

 

मुद्दाः लिखत बदर दर्ता बदर दर्ता

 

पुनरावेदक / प्रतिवादी : जिल्ला रौतहट गा.वि.स. प्रतापपुर पलटुवा वडा नं.९ बस्ने रोजदिन मियाँको छोरा बद्री अन्सारी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला रौतहट गा.वि.स. अकोलवा वडा नं.६ हाल ऐ. गा.वि.स. प्रतापपुर पलटुवा वडा नं.९ बस्ने वर्ष ३ की नाबालिग छोरी रोकसाना बेगमको हकमा अनुमति प्राप्‍त गरी आफ्नो हकमा समेत निजकी आमा ऐ.बस्ने मतिउर रहमान देवान फकीरकी श्रीमती खुसमुदा खातुन

 

अदालतमा अंश मुद्दा प्रवेश गरिसकेपछि वादी प्रतिवादीहरूको अंश हक सम्बन्धमा सगोलको सम्पूर्ण सम्पत्ति अदालतमा विचाराधीन रहेको हुन्छ । अंश हक सम्बन्धमा निर्क्योल नभएसम्म त्यस्तो विचाराधीन सम्पत्ति हक हस्तान्तरण गरेकोलाई वैध मान्‍न मिल्दैन र त्यस्तो हक हस्तान्तरणउपर नालेस गर्न सम्बन्धित पक्षलाई मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. को हदम्यादले रोक्छ भन्‍ने अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री नारायणप्रसाद देवकोटा

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्या. श्री कृष्णप्रसाद बास्तोला

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री उमेश कुमार सिंह

माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

पति प्रतिवादी मतिउर रहमान देवान फकीरले खान लाउन नदिई अंशसमेत नदिएकोले मैले दे.नं.१०५३ को अंशदर्ता मुद्दा दिएकोमा अंशको वादी दाबी पुग्ने ठहरी मिति २०६६।८।१ मा फैसला भई अन्तिम अवस्थामा रहेको छ । सो मुद्दामा फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६४।८।१० गते मानो छुट्टिएको मिति कायम भएकोले सो मिति भन्दा पहिलेको सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने व्यवस्था अंशबन्डाको १८ नं. र प्रमाण ऐन को दफा ६(क) समेतले गरेको छ । विपक्षी मतिउर रहमानको नाम दर्तामा रहेको कि.नं.५५९ को ०-३-१८१/४ जग्गाबाट म वादीलाई अंश हक हुन नदिने आफ्नो एकलौटी जनाई खाने नियतले विपक्षी पति पिताले विपक्षी प्रतिवादी बद्री अन्सारीको नाममा सो जग्गा हस्तान्तरण गरिदिनुभएको कुरा मिति २०६७।८।२७ गते नक्‍कल लिई थाहा पाएकोले यो फिराद गर्न आएका छौं । अतः दिने मतिउर रहमान देवान फकिर र लिने बद्री अन्सारी भई र.नं.१७९५ बाट मिति २०६५।५।१३ गते पारित भएको लिखत तथा सो लिखतमा उल्लिखित कि.नं.५५९ को ०-३-१८१/४ मध्ये हाम्रो अंशभागमा पर्न आउने ३ भागको २ भाग बदर गरी हामी वादीहरूका नाउँमा संयुक्त दर्तासमेत गरिपाउँ भन्‍नेसमेत व्यहोराको फिराद पत्र ।

यी वादीले आफूलाई सगोलको श्रीमती देखाउँदै प्रतिवादी मतिउर रहमान देवान फकीरउपर मिति २०६४।८।११ मा दे.नं.११५३ को अंशदर्ता मुद्दा दर्ता गराउँदा उक्त मुद्दामा फिराद परेको अघिल्लो दिन मिति २०६४।८।१० लाई मानो छुटेको मिति कायम गरी तायदाती माग्ने आदेश भई यी वादीले आफ्नो लोग्ने प्रतिवादी मतिउर रहमान देवान फकीरको हकमा श्रीसम्पत्ति दाखिल गर्दा विवादित कित्ता जग्गा पेस दाखिल नगरेको र पेस भएका श्रीसम्पत्तिबाट वादीले कानूनबमोजिम अंश पाउने भनी सुरू अदालतबाट मिति २०६६।८।१ मा फैसला भएको परिप्रेक्ष्यमा यी वादी मिति २०६४।८।१० मै अलगिया अंशियार रहेको कुरा स्वयं साबित छ । अर्कोतर्फ मिति २०६४।८।१० पश्‍चात् यी वादीको लोग्ने प्रतिवादी मतिउर रहमान देवान फकीरले म प्रतिवादीको नाममा मिति २०६५।५।१३ मा लिखत पारित गरिदिएको लिखत सम्बन्धमा नालेस उजुर गर्ने मुलुकी ऐन अ.बं.८२ नं.हकदैया नै नभएकोले प्रस्तुत फिराद मुलुकी ऐन अ.बं.१८० नं. बमोजिम खारेज गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी बद्री अंसारीको प्रतिउत्तरपत्र ।

प्रतिवादी मतिउर रहमान देवान फकीरको नाउँमा जारी भएको इतलायनामा म्याद मिति २०५७।११।१२ गते तामेल भएकोमा निजले म्यादभित्र प्रतिउत्तर पत्र नफिराई सुरू म्यादै गुजारी बसेको ।

लोग्ने र आफू मात्रै २ अंशियारको पुस्तेवारी देखाएकी वादीले सगोलमा छँदा आफ्नो जग्गा जमिनको जानकार भएकोमा आफैँले तायदाती पेस गर्दाकै बखत सो विवादित कि.नं.५५९ को जग्गा नदेखाएकी र सोही समय लिखत बदरतर्फ कानूनले निर्दिष्ट गरेको लेनदेन व्यवहारको महलको १० नं.अनुसार नालेस गरी आफ्नो हक सुरक्षित गराउन सक्नुपर्नेमा सो नगरी अंश मुद्दा परेकै भन्‍ने आधारमा लेनदेन व्यवहारको १० नं.समेतको दाबी लिई प्रस्तुत नालेस पर्न आएको तथा मिति २०६५।५।१३ को लिखतउपर मिति २०६७।९।२८ मा मात्रै फिराद परेको देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत व्यहोराको सुरू रौतहट जिल्ला अदालतबाट मिति २०६८।७।२ मा भएको फैसला ।

म वादी खुशमुदा खातुनले देन.नं.१०५३ को अंश मुद्दा दिएको अवस्थामा वादी रोकसाना बेगम गर्भमा रहेकी र प्रस्तुत लिखत दर्ता बदर दर्ता मुद्दा दिँदा निज ३ वर्ष लागेकीले जन्म नै नभएकी नाबालकलाई अंश मुद्दामा कसरी अंशियार देखाउन मिल्छ र? अंश मुद्दाको तायदातीमा विवादित कि.नं. नदेखाएको सुरू फैसलाको जहाँसम्म प्रश्‍न छ, म वादी खुशमुदा खातुनलाई विपक्षी पतिले जानकारी नगराएका र मैले तायादती पेस गर्ने अवस्थामा मालपोत कार्यालय रौतहटले दिएको दर्ता उतारबमोजिमको तायदाती दाखेल गरेकी हुँ । कि.नं.५५९ को जग्गा प्रतिवादी पिता पति मतिउर रहमानको नाउँमा दर्ता नरही सोभन्दा अगावै मिति २०६५।५।१३ मा र.नं.१७९५ को लिखतद्वारा प्रतिवादी बद्री अन्सारीको नाउँमा हस्तान्तरण भइसकेको अवस्था भएकोले तायदातीमा देखाउन सक्ने कुरा भएन । लिखत बदर ठहर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्‍नेसमेत व्यहोराको पुनरावेदक वादीहरूको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

यसमा पुनरावेदकले प्रत्यर्थी प्रतिवादीमध्येको मतिउर रहमानउपर अंश मुद्दा दिई अंश मुद्दा चलिरहेको अवस्थामा पुनरावेदक वादीले समेत जग्गा हक हस्तान्तरण गरी अंश हकमा असर पार्ने गरी लिखत गरिदिएको सन्दर्भमा सुरूको फैसला विचारणीय भई फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।५।२५ को आदेश ।

प्रस्तुत मुद्दाका वादीहरू र प्रतिवादी मतिउर रहमान एकासगोलको अंशियार रही निजहरू बीच सुरू अदालतमा अंश मुद्दा चल्दाचल्दैको अवस्थामा वादीहरूको समेत अंशहक रहेको वादी दाबीको जग्गा सम्पत्ति पुनरावेदक वादीको स्वीकृती एवं मन्जुरीविना राजीनामा लिखतबाट हक हस्तान्तरण गरी वादीहरूको अंश हकमा आघात पुर्‍याएको देखिँदा वादी दाबीको कि.नं.५५९ को जग्गा हक हस्तान्तरण गरेको मिति २०६५।५।१३, र.नं.१७९५ को पारित राजीनामा लिखतमध्ये ३ भागको २ भाग लिखत बदर गर्नुपर्नेमा सो नगरी भएको सुरू रौतहट जिल्ला अदालतको मिति २०६८।७।२ को फैसला नमिलेको देखिँदा उल्टी भई मिति २०६५।५।१३, र.नं.१७९५ को पारित राजीनामा लिखतमध्ये नरमगरम मिलाई ३ भागको २ भाग लिखत र सोको आधारमा प्रत्यर्थी प्रतिवादी बद्री अन्सारीका नाममा भएको दर्तासमेत बदर भई पुनरावेदक वादीहरूको नाउँमा दर्तासमेत हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७१।३।१ मा भएको फैसला ।

वादीले दायर गरको संवत् २०६४ सालको दे.नं.१०५३ को अंश मुद्दा फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६४।८।१० लाई चुल्हो मानो छुट्टिएको मिति मानेको अवस्था छ । मेरो दाताले दाबीको जग्गा मलाई मिति २०६५।५।१३ मा रा.पा. गर्नुभएको छ । यसरी चुल्हो मानो छुट्टिएको मितिपश्‍चात् भएको बिक्रीउपर वादीको नालेस लाग्न सक्दैन । मेरो दाता र विपक्षी वादीबीच अंश मुद्दामा तायदाती पेस हुँदा ज.वि. ०-१२-१३/४ र दाताले बिक्री गरेको जग्गा ज.वि. ०-३-१८१/४ गरी जम्मा ज.वि. ०-१६-० जग्गा हुन आउँदा उक्त कूल ज.वि. ०-१६-० मध्ये जम्मा ज.वि. ०-३-१८१/४ अर्थात् आधाभन्दा कम न्यून जग्गा हस्तान्तरण गरेको छ । अंशबन्डाको १९(१) ले पनि मेरो दातालाई उक्त जग्गा बेचबिखन गर्न पाउने हक अधिकार प्रदान गरेको छ । त्यसै गरी २०६५।५।१३ मा भएको राजीनामा लिखतउपर वादीको २०६७।९।२० मा अर्थात् मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघेर फिराद परेको छ । तसर्थ, चुल्हो मानो छुट्टिएपछि भएको राजीनामा लिखतउपर नालेस गर्ने विपक्षी वादीसँग हकदैया नभएको, हदम्याद नाघी फिराद दायर भएको अवस्थामा लिखत बदर हुने ठहर गरी फैसला गर्न कदापी मिल्दैन । अतः मेरो पुनरावेदन जिकिर तथा प्रतिउत्तर जिकिरबमोजिम हुने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको कानूनी त्रुटिपूर्ण फैसला उल्टाई बदर गरी न्याय पाउँ भन्‍नेसमेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री नारायणप्रसाद देवकोटाले वादी र मेरो पक्षको दाता प्रतिवादीबीच चुल्हो मानो छुट्टिएको मितिपश्‍चात् मेरो पक्षको दाताले मेरो पक्षलाई  आधाभन्दा कम सम्पत्ति जग्गा बिक्री गरिदिएको राजीनामाको लिखतउपर वादीहरूले लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी दायर गरेको फिरादको आधारमा उक्त लिखत बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला लेनदेन व्यवहारको १० नं. तथा अंशबन्डाको महलको १९(१) नं.समेतको विपरीत भएकोले प्रत्यर्थी झिकाई पुनः इन्साफ गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

पति पिता मतिउर रहमान देवान फकीरले हामीबीच अंश मुद्दा चल्दाचल्दैको अवस्थामा निजको नाँउमा रहेको सगोलको कि.नं. ५५९ को जग्गा हाम्रो मन्जुरीबेगर विपक्षी बद्री अन्सारीलाई मिति २०६५।५।१३ मा राजीनामा पारित गरिदिएको दूषित लिखतमध्ये हाम्रो अंश भाग लाग्ने ३ भागको २ भागसम्म बदर गरी हाम्रो नाउँमा दर्तासमेत गरिपाउँ भन्‍ने फिराद दाबी तथा प्रतिवादीमध्ये बद्री अन्सारीको इन्कारी प्रतिउत्तर जिकिर रही प्रतिवादीमध्ये फकीर अन्सारीले सुरू म्यादै गुजारी बसेकोमा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू फैसलाउपर वादीको पुनरावेदन परी वादी दाबी पुग्ने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा चित्त नबुझी प्रतिवादीमध्ये बद्री अन्सारीको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । वादी र प्रतिवादी मतिउर रहमानबीच चुल्हो मानो छुट्टिएपछि मतिउर रहमानले आधाभन्दा कम जग्गा मलाई हक हस्तान्तरण गरिदिएको कानूनसम्मत राजीनामाको लिखत बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. तथा ऐ. अंशबन्डाको महलको १९(१) समेतको विपरीत भएकोले उल्टी गरिपाउँ भन्‍ने मुख्य पुनरावेदन जिकिर रहेको पाइन्छ ।

पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो, होइन ? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यिनै वादी खुसमुदा खातुनले आफ्नो पति प्रतिवादीमध्ये मतिउर रहमान देवान फकिरउपर दायर गरेको दे.नं. १०५३ को अंश मुद्दामा अदालतको आदेशबाट फिराद परेको अघिल्लो मिति अर्थात् २०६४।८।१० गतेलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीहरूबीच अंशबन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती माग भएको प्रमाण स्वरूप प्राप्त उक्त मुद्दाको मिसिलबाट देखिन्छ । सो मुद्दामा प्रतिवादीले इतलायनामा म्याद बुझे तापनि प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको र निजबाट तायदातीसमेत पेस नभएको देखियो । उक्त अंश मुद्दामा फैसला नहुँदै मतिउर रहमानले आफ्नो नाउँको दाबीको कि.नं. ५५९ को जग्गा प्रतिवादीमध्ये बद्री अन्सारीलाई र.नं. १७९५ मिति २०६५।५।१३ बाट बिक्री गरेको लिखत आफू र आफ्नो नाबालिग छोरी रोकसाना बेगमसमेतको हकसम्म बदर गरिपाउँ भनी वादी खुसमुदा खातुनबाट मिति २०६७।९।२८ मा प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ । चुल्हो मानो छुट्टिएपश्‍चात् बिक्री गरेकोमा वादीको नालेस लाग्न सक्दैन भनी प्रतिवादीले पुनरावेदन जिकिर लिएको पाइन्छ । अंश मुद्दामा अंशबन्डाको प्रयोजनको लागि अदालतद्वारा चुल्हो मानो छुट्टिएको मिति कायम गरेकोलाई वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको अर्थ गरी अंश मुद्दा चल्दाचल्दैको अवस्थामा अंशियारको समेत हक लाग्ने सम्पत्ति निजहरूको मन्जुरी नलिई बिक्री गर्न पाइँदैन । यसर्थ, वादीको नालेस नै लाग्न सक्दैन भन्‍ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।

३. त्यसैगरी, २०६५।५।१३ को लिखतउपर २०६७।९।२८ मा दायर भएको फिराद हदम्यादविहीन छ भनी प्रतिवादीले देखाएको मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. मा एकाघरका अंशियार साक्षी नबसेको वा निजहरूको मन्जुरी नलिई सगोलको सम्पत्ति हक हस्तान्तरण गरिदिएको लिखतउपर हकवालाले रजिस्ट्रेसन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैँतीस दिनभित्र उजुर गर्न पाउने व्यवस्था गरेको पाइन्छ । अदालतमा अंश मुद्दा प्रवेश गरिसकेपछि वादी प्रतिवादीहरूको अंश हक सम्बन्धमा सगोलको सम्पूर्ण सम्पत्ति अदालतमा विचाराधीन रहेको हुन्छ । अंश हक सम्बन्धमा निर्क्योल नभएसम्म त्यस्तो विचाराधीन सम्पत्ति हक हस्तान्तरण गरेकोलाई वैध मान्‍न मिल्दैन र त्यस्तो हक हस्तान्तरणउपर नालेस गर्न सम्बन्धित पक्षलाई मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं. को हदम्यादले रोक्छ भन्‍ने अर्थ गर्न मिल्दैन । यसर्थ, फिराद पत्र नै हदम्यादविहीन छ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन ।

४. प्रतिवादी मतिउर रहमानले यी पुनरावेदक प्रतिवादी बद्री अन्सारीलाई सगोलको सम्पत्तिमध्ये आधाभन्दा कम जग्गा बिक्री गरेकोले कानूनसम्मत रहेको भनी पुनरावेदक प्रतिवादीले देखाएको मुलुकी ऐन, अंश बन्डाको महलको १९(१) मा “पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा एकासगोलका छोरी वा विधवा बुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउँछ । अचलमा आधीभन्‍दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा एकासगोलका छोरी र विधवा बुहारीहरूको मन्जुरी लाई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन ।” भन्‍ने कानूनी व्यवस्था भएको पाइन्छ । दाबीको कि.नं. ५५९ को जग्गा साबिकमा प्रतिवादी मतिउर रहमानले आफ्नो बाबु बसिर देवानसँगको अंश मुद्दाको तायदातीमा उल्लिखित कि.नं. ६७ कि.का. भई कायम भएको जग्गा भई निजले अंश हक स्वरूप प्राप्त गरेको देखिन्छ । वादी प्रतिवादीबीच अंश मुद्दामा मानो छुट्टिएको मिति कायम भए तापनि मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पक्षको अंशहक मेटिने गरी सम्बन्धित पक्षको मन्जुरी नलिई पैतृक स्रोतबाट प्राप्त सम्पत्ति हक हस्तान्तरण गरिदिएकोलाई ऐ. अंशबन्डाको १९(१) को कानूनी व्यवस्थाले वैधता दिनसक्ने नदेखिँदा र.नं. १७९५ मिति २०६५।५।१३ को उक्त लिखत कानूनसम्मत छ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

५. तसर्थ, प्रस्तुत मुद्दाका वादीहरू र प्रतिवादी मतिउर रहमान एकासगोलको अंशियार रही निजहरूबीच सुरू अदालतमा अंश मुद्दा चल्दाचल्दैको अवस्थामा वादीहरूको समेत अंशहक रहेको वादी दाबीको जग्गा सम्पत्ति वादीको स्वीकृति एवं मन्जुरी विना राजीनामा लिखतबाट हक हस्तान्तरण गरी वादीहरूको अंश हकमा आघात पुर्‍याएको आधारमा वादी दाबीको कि.नं.५५९ को जग्गा हक हस्तान्तरण गरेको मिति २०६५।५।१३, र.नं.१७९५ को पारित राजीनामा लिखतमध्ये ३ भागको २ भाग लिखतमध्ये नरम गरम मिलाई ३ भागको २ भाग लिखत र सोको आधारमा प्रत्यर्थी प्रतिवादी बद्री अन्सारीका नाममा भएको दर्तासमेत बदर भई वादीहरूको नाउँमा दर्तासमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।३।१ को फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृत: विकास कुमार रजक

इति संवत् २०७४ साल फाल्गुन २२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु