निर्णय नं. ९९३५ - मानव बेचबिखन तथा ओसारपसार
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७४।२।९
मुद्दा : मानव बेचबिखन तथा ओसारपसार
०७०-CR-१४३२
पुनरावेदक / वादी : झापा जिल्ला सुरूङ्गा गाउँ विकास समिति वडा नं. ९ बस्ने मन्जुकुमारी ठटालको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाँचथर, प्राङ्बुङ्ग-२ माइतीघर र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका सामाखुसी घर भई झापा दमक नगरपालिका वडा नं. १४ बस्ने सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ)
०७१-CR-०००५
पुनरावेदक / प्रतिवादी : श्यामलाल डंगोलको श्रीमती काठमाडौं जिल्ला चण्डेश्वर गाउँ विकास समिति वडा नं. १ सामाखुशी घर भई हाल जिल्ला कारागार कार्यालय भद्रपुर, झापामा थुनामा रहेकी वर्ष ३१ की सानुमाया राई (डंगोल)
विरूद्ध
प्रत्यर्थी / वादी : मन्जुकुमारी ठटालको जाहेरीले नेपाल सरकार
कतिपय विशेष अवस्थामा फौजदारी मुद्दामा पनि प्रमाणको भार प्रतिवादीमा सार्न सकिने वा प्रतिवादीमा रहने (Shifting of burden of proof to the accused person) गरी विधायिकी कानून बन्नसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइन्छ । खासगरी आफूसँग कब्जा (Possession) मा रहेको वस्तुको वैधता यौनजन्यलगायतका अन्य अपराधमा प्रमाणको भार प्रतिवादीमा रहने गरी कानून निर्माण हुनसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइने ।
(प्रकरण नं.६)
के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजन पक्षले नै शंकारहित तवरले (Beyond the doubt) पुष्टि गरेको हुनुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित वा समाप्त नहुने ।
आफ्नो निर्दोषिता प्रमाणित गर्ने काम प्रतिवादीको हुने भए पनि वादी पक्षले आफ्नो अभियुक्त यकिन गर्ने र अनुसन्धानको आधारमा आफूले तयार पारी दायर गरेको अभियोग पत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो भनी विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्यरूपमा उल्लेख गरेको हुनुपर्ने ।
अभियोग पत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनु पर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित हुने ।
अभियोजन पक्षले प्रतिवादी नै प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको वा सरेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीले पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री सिताराम अधिकारी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री गिरीराज गौतम
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल
मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
फैसला
न्या. सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः
म जाहेरवाली सामान्य काम गरी जीविकोपार्जन गरी आएको छु, झापा दमक नगरपालिका बस्ने सोनिया राई (श्रेष्ठ) सँग चिनजान भएकोले गफगाफ गर्ने क्रममा निजले मलाई पटकपटक आर्थिक प्रलोभनमा पारी ललाई फकाई राम्रो कामको लागि विदेश लगी दिने भनी ढाँटी निज तथा निजको श्रीमान् ज्वाइँसमेतको मिलेमतोमा मिति २०६८।१।२९ गते घरबाट लगी भारतमा छाडी आएको र सो स्थानको व्यवहारसमेतबाट मलाई बेचबिखन गरेको भन्ने थाहा भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको मन्जुकुमारी ठटालको जाहेरी दरखास्त ।
जिल्ला झापा सुरूङ्गा बस्ने सम्झना बस्नेत मेरो साथी हुन्, निजसँग कुराकानी हुँदा निजले विदेश जाने कुरा गरेकी र म पनि जाने भन्दा झापा दमक बस्ने सोनिया राई (श्रेष्ठ) सँग चिनजान गराई मिति २०६८।१।२९ गते रोजगारको लागि लाने भनी सोनिया राईको ज्वाइँ सुभाष राईले झापा सुरूङ्गामा बोलाई गाडीमा हाली लगी झापा काँकडभिट्टाभन्दा अर्को बाटो हुँदै भारतको नक्साल हुँदै भारतको मुम्बइमा लगी आएको र मलाई विभिन्न धाक धम्की दिई यौन शोषणसमेत गरिरहेको अवस्थामा सो स्थानबाट अन्यत्र लाने भन्ने थाहा पाई म भागी आएको र मलाई निजै सोनिया राईको ज्वाइँ सुभाष राईसमेतले भारतमा लगी बेचबिखन गरेको हो कानूनबमोजिम होस् भन्नेसमेत व्यहोराको मन्जुकुमारी ठटालको बयान ।
मेरो श्रीमान्को घर काठमाडौं भए पनि हाल झापा दमकमा बसोबास छ । म पहिला आफैँ रोजगारको लागि विदेश गएको थिएँ । सोही कारण रोजगारको लागि बाहिर जाने मानिसहरू चिनजानको कोही भए सरसल्लाह गर्न आउने गर्दथे । मैले जानेको कुराहरू भनी दिने क्रममा सम्झना बस्नेत भन्ने सम्झना वि.क.ले रोजगारको बारेमा सल्लाह दिन भनी निजको साथी भन्दै मन्जुकुमारी ठटाललाई मेरो घरमा लिएर आएकी हुँदा चिनजान गरी रोजगारको लागी जाने सल्लाह दिएको मात्र हो । सोपछि निज को कससँग रोजगारमा गईन भन्ने कुरा मलाई केही थाहा छैन । मैले निजलाई लिएर गएको छैन भन्नेसमेत व्यहोराको सोनिया राई (श्रेष्ठ) को बयान ।
जिल्ला झापा दमक बस्ने सोनिया राई श्रेष्ठ पहिला विदेश गएर आएकी मानिस हुन् र झापा सुरूङ्गा बस्ने मन्जु कुमारी ठटाललाई रोजगारको लागि जाने कुरामा सल्लाह दिएकी र निज मन्जुकुमारी ठटाल आफ्नो राजीखुशीका साथ विदेश जान भनी हिँडी फिर्ता आएको भन्ने सुनेको हो निजलाई अन्य कसैले जबरजस्ती लगेको होइन भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने प्रकाश चन्द्र राईले गरेको कागज ।
मेरो छोरी मन्जुकुमारी ठटालको विवाह भइसकेको र ज्वाइँसमेतको सल्लाहअनुसार माइतीघरमा नै बसी आएको अवस्थामा के कसरी हो झापा दमक बस्ने सोनिया राई (श्रेष्ठ) सँग चिनजान भएको र निजले मलाई फकाई रोजगारमा लाने भनी लगी भारतमा यौन कार्यमा संलग्न गराएको भनी खबर गरेकी हुँदा म आफैँले पहल गरी ल्याएको हो । त्यसरी अभिभावकसमेतलाई जानकारी नगराई रोजगारको नाममा भारतमा लगी बेचबिखन गर्नेउपर कारबाही होस् भन्नेसमेत व्यहोराको घटना विवरण कागजका कुसुमकुमारी चौधरीले गरेको कागज ।
उक्त वारदात मितिमा म घर, गाउँमै थिएँ । निज सोनिया राई (श्रेष्ठ) समेतले जाहेरीमा उल्लिखित मितिमा मन्जुकुमारी ठटाललाई काकडभिट्टाको वर्मेली टोल हुँदै सिमाना पार गराई मुम्बईसम्म पर्याई बेचबिखन गरेको सम्बन्धमा यकिनसाथ भन्न सक्तिन । निज प्रतिवादी सोनिया राईसमेतले कोही कसैलाई विदेश पठाउने काम गर्ने गरेकोसमेत थाहा छैन भन्नेसमेत व्यहोराको घटना विवरण कागजका रामलाल साहले गरेको कागज ।
पीडिता जाहेरवाली मन्जुकुमारी ठटाललाई हाल पक्राउ परी आएका सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) ले वैदेशिक रोजगारका लागि भनी आर्थिक प्रलोभनमा पारी भारतको मुम्बईमा लगी बिक्री गरी मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको भन्ने पीडिताले सुनाउँदा थाहा पाएको हुँ । निज प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) र अन्य फरार रहेका श्याम श्रेष्ठ र सुवास राईले पीडितालाई बेचबिखन गरेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस कृष्ण शिवाकोटीसमेतले गरिदिएको कागज ।
प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ), श्याम श्रेष्ठ, सुवास राईको मिलेमतोमा जाहेरवाली मन्जु कुमारी ठटाललाई विदेश पठाई दिन्छु भनी विभिन्न आर्थिक प्रलोभन देखाई भारतको मुम्बई पुर्याई एउटा घरमा राखी यौन कार्यमा संलग्न गराई यौन शोषण गराएको भन्ने पुष्टि हुन आएकोले प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ), श्याम श्रेष्ठ, सुवास राईले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र दफा ४(२)(क)(ख) बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ), श्याम श्रेष्ठ, सुवास राईलाई ऐ.ऐनको दफा १५ को उपदफा १ को देहाय (ङ)(१) बमोजिम सजाय हुन र ऐ. दफा १७ बमोजिम पीडितालाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६८।४।२९ मा दर्ता भएको अभियोगपत्र ।
म मन्जुकुमारी ठटाल, सुवास राई, श्याम श्रेष्ठलाई चिन्दिन, मेरो पतिको नाम श्याम डंगोल हो, एक जना गौरी भन्ने महिलाले मलाई फोन गरी विनायक होटलमा बोलाई कोठामा थुनी २ लाख रूपैयाँँ १५ दिनमा तिर्ने कागज गराई १५ दिनभित्र तिर्न नसक्दा मलाई यो मान्छे बेच्ने अभियोग लगाई पक्राउ गरेको हो, अभियोग झुठ्ठा हो, अनुसन्धानको बयान व्यहोरा मेरो होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) ले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) लाई पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ.बं.११८ को देहायको दफा २ बमोजिम थुनुवा पुर्जी दिनु भन्ने सुरू अदालतको थुनछेक आदेश ।
वस्तुस्थिति मुचुल्कामा भएको व्यहोरा र सहिछाप मेरै हो । सोनिया श्रेष्ठ, श्याम श्रेष्ठ र सुवास राई यी तिनै जनाले मन्जुकुमारी ठटाललाई लगेको हो । सानुमाया राईको नाम नै सुनेको थिइँन भन्ने व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस हरिनारायण चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८।४।२० मा भएको मुचुल्काको व्यहोरा र सहिछाप मेरै हो, प्रतिवादी सोनिया श्रेष्ठले जाहेरवालालाई विदेश लान्छु भनेर नेपालबाट मुम्बई लगेकी हुन् पासपोर्ट थिएन । २०।२२ दिन मुम्बईमा राखेपछि बिक्री गर्छ भन्ने कुरा थाहा पाएर मुम्बईबाट भागेर घर आएपछि मलाई सुनाएकोले मैले थाहा पाएको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस लिला चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो छोरी भागेर विदेश जाने भयो । लाने श्याम श्रेष्ठ, सुभाष राई, सोनिया श्रेष्ठले दिल्ली मुम्बईबाट लान्छु भनेको छोरीको मुखबाट सुनेको हो, विदेश लाँदा विना पासपोर्ट लगेका हुन् । बिक्री गर्छ भनेर छोरी भागेर घर आएको कुरा छोरीले भनेपछि मैले सुनेको हो । उक्त घटना विवरण कागजको व्यहोरा र सहिछाप मेरै हो सोनिया राई र सानुमाया राई अलगअलग मानिस हुन् पक्राउ परेकी सानुमाया राईलाई यही अदालतमा आजै देखेको हो, सानुमाया निर्दोष मानिस हुन् भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने कुसुमकुमारी चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
म विदेश जान्छु भनी श्याम श्रेष्ठलाई भनेँ, श्याम श्रेष्ठ, सुभाष राई, सोनिया श्रेष्ठसमेतले मसमेत ५ जनालाई काकडभिट्टा हुँदै मुम्बई लगे मुम्बई गएपछि पैसामा किनबेच गर्छ भन्ने कुरा मैले सुनी त्यहाँबाट म भागी घर सुरूङ्गा आई पुगेकी हुँ । मिति २०६८।४।३ गतेका दिनको जाहेरी र २०६८।४।४ मा गरेको बयानको व्यहोरा र सहिछाप मेरै हो । मिति २०६८।५।१९ गतेको निवेदनको व्यहोरा र सहिछाप मेरै हो । मलाई बेचबिखन गर्ने मानिसहरू अहिलेसम्म पक्राउ परेको छैन । मलाई बजारतिर जाँदा धम्की दिन्थे । बचाउका लागि उक्त निवेदन दिएको हो । मलाई प्रतिवादी सानुमाया राईले बेचबिखन गरेको होइन । सोनिया श्रेष्ठ, श्याम श्रेष्ठ, सुभाष राईले बेचबिखन गरेको हो भन्नेसमेत व्यहोराको जाहेरवाली मन्जुकुमारी ठटालले सुरू अदालतमा गरेको बकपत्र ।
म विगत ४।५ वर्ष अगाडिदेखि प्रतिवादी सानुमाया राईलाई चिन्दछु निजको उपनाम छैन । प्रतिवादी सानुमाया राई काठमाडौंको सामाखुशीबाट दमक आई डेरा गरी बसेका हुन् त्यस्तो घृणीत कार्य सानुमाया राईबाट हुन सक्दैन । वारदातको समयमा प्रतिवादी काठमाडौंमा नै थिइनँ । सानुमाया राईको वास्तविक नाम सानुमाया राई हो सोनिया भन्ने मलाई थाहा छैन । सानुमाया राईको वास्तविक श्रीमान् श्यामलाल डंगोल हो । श्याम श्रेष्ठ चाहिँ होइन भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी प्रकाशचन्द्र राईले सुरू अदालतमा गरेको बकपत्र ।
फरार प्रतिवादी श्याम श्रेष्ठको अंश रोक्का भई मुचुल्का मिसिल सामेल रहेको ।
प्रतिवादी श्याम श्रेष्ठ फरार रहेको देखिँदा निजको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबीमा रहने ठहर्छ । अर्का प्रतिवादी सोनिया भन्ने सानुमाया (श्रेष्ठ) राईको हकमा विचार गर्दा, पीडिताको मौकामा प्रमाणित बयानमा प्रतिवादी सोनिया भन्ने सानुमाया (श्रेष्ठ) राईसमेतको संलग्नतामा पीडितालाई भारतको मुम्बइमा वारदातको मितिमा नेपाल सरहदबाट लगी बिक्री गर्ने कार्य नभएको वा अभियोगको विरूद्ध खण्डमा उल्लेख भएको व्यक्ति नभएको भनी जिकिर लिए पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ बमोजिम सोको जिकिर (प्रमाण ऐन, २०३१ को दफा २७समेत) पुष्टि गर्नसकेको नदेखिँदा प्रतिवादीले सोही ऐनको दफा ३ र दफा ४(२)(क)(ख) बमोजिम कसुर गरेको ठहरेकाले प्रतिवादी सोनिया भन्ने सानुमाया राई श्रेष्ठलाई ऐ.ऐनको दफा १५(१)(ङ)(१) बमोजिम कैद वर्ष १०र रू.५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर्छ र पीडिताले दफा १७ बमोजिम क्षतिपूर्तिसमेत भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू झापा जिल्ला अदालतको मिति २०६९।१।१०।१ को फैसला ।
पीडिताले अदालतमा बयान गर्दा प्रतिवादीलाई चिन्दिन आजै देखेको हो । निज प्रतिवादी मैले भनेको सोनिया श्रेष्ठ होइन अर्को व्यक्ति हो भनी सनाखत गरी रहेको अवस्थामा प्रतिवादी निर्दोष रहेको भन्ने कुरा उल्लिखित आधार प्रमाणहरूबाट पुष्टि भइरहेको हुँदा मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ को दफा ९ को गलत र भ्रामक अर्थ लगाई प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम प्रतिवादीको जिकिर पुष्टि भइरहेको अवस्थामा सो कुरालाई विश्लेषण नै नगरी प्रमाण ऐन, २०३१ को दफा ३, ५४, १०, १८ तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६, ९ समेतको व्याख्यात्मक एवं प्रयोगात्मक त्रुटि गरी विद्यमान कानूनी व्यवस्था एवं विधायिकी भावनाविपरीत गरेको सुरू झापा जिल्ला अदालतको मिति २०६९।१।१०।१ को त्रुटिपूर्ण फैसला बदर गरी पुनरावेदन जिकिरबमोजिम अभियोग दाबीबाट सफाई गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी सानुमाया राई (श्रेष्ठ) को पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी सोनिया राई श्रेष्ठको अनुसन्धान अधिकारीसमक्षको बयान व्यहोरा तथा जाहेरवाली पीडिताको प्रमाणित बयान व्यहोरा तथा निजहरूले सुरू अदालतसमक्ष गरेको बयान बकपत्रको परिप्रेक्ष्यमा सुरू फैसला फरक पर्नसक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।११।२१।२ गतेको पुनरावेदन अदालतको आदेश ।
पीडित मन्जुकुमारी ठटालको प्रमाणित बयानमा पुनरावेदक प्रतिवादीले विदेश जान पठाएकी हुन् भन्नेसमेतको आधार प्रमाणबाट यी पुनरावेदक प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) लाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (ज) बमोजिम सजाय गर्नुपर्नेमा ऐ.ऐ.दफा १५(१)(ङ)(१) बमोजिम सजाय गरेको सो हदसम्म सुरू झापा जिल्ला अदालतबाट भएको फैसला नमिलेकोले सो फैसला बदर भई यी प्रतिवादी पुनरावेदक सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) लाई ऐ.ऐनको दफा १५(१) (ङ)(१) का आधारमा ऐ.ऐ.१५(१)(ज) बमोजिम कैद वर्ष ७(सात) महिना ६(छ) र रू.५०,०००।– (रू. पचाहजार) जरिवाना हुने तथा पीडितले सोको आधा क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०७०/५/१० गतेको फैसला ।
जाहेरवालीले जाहेरी दर्खास्त र प्रमाणित बयानबाट निजलाई लोभ लालच र प्रलोभनमा पारी विदेश पठाउने सोनिया राईलाई चिनेको देखिन्छ । रात सँगै बसेका छन् तर जाहेरवालीले बकपत्र गर्दा प्रतिवादीलाई चिन्दिनँ भनेकी छन् । रात सँगै बसेकी व्यक्ति भएकी भए निजले नचिन्ने प्रश्न नै आउँदैन । जाहेरवाली पीडिता मन्जुकुमारी ठटालले अदालतमा बकपत्र गर्दा सोनिया राई (श्रेष्ठ) र सानुमाया राई अलगअलग हुन् भनेकी छन् । सानुमायाले बेचबिखन गरेको होइन । सोनिया, श्याम श्रेष्ठ र सुभाष राईले हो भनेकी छन् । घटना विवरण कागजका रामलाल साह, प्रकाशचन्द्र राई, कुसुम कुमारी, वस्तुस्थिति मुचुल्काका लीला चौधरी, हरिनारायण चौधरीसमेतले म पुनरावेदिका कसुरदार नभएर अलग व्यक्ति भएको भनी बकपत्र गरेका छन् । अभियोग लगाएकी व्यक्ति म होइन भनी आफ्नो प्रमाण प्रस्तुत गरेको अवस्थामा मुख्यरूपमा पहिचानको प्रश्न उठेपछि सोको निर्णय गर्नुपर्नेमा नगरी मलाई दोषी ठहर गरी गरिएको फैसला बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सानुमाया राईको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ) लाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) ज बमोजिम सजाय गर्दा प्रतिवादीको कार्य दुरूत्साहन, षड्यन्त्र वा मतियार कुन कसुर हो स्पष्ट आधार कारण नखुलाई मनोगत आधारमा दाबीभन्दा घटी सजाय गरेको त्रुटिपूर्ण छ । यी प्रतिवादीले पीडितालाई विदेश पठाइदिन्छु भनी आर्थिक प्रलोभनमा पारी आफ्नो घरमा बोलाई मोबाइलसमेत दिई पठाएको र विदेश जानको लागि आवश्यक खर्च रू.३५,०००।– समेत पछि कमाएर दिने सल्लाह सोनियाको घरमै भएको भनी पीडितको मौकाको प्रमाणित बयानमा उल्लेख गरेको र जाहेरी र प्रमाणित बयानलाई सनाखतसमेत गरेको अवस्था छ । प्रतिवादीसमेतको मिलेमतोमा पीडितालाई बेचबिखन गर्ने उद्देश्यले भारत मुम्बई पुर्याएको अवस्थामा पुनरावेदन अदालत, इलामले यी प्रतिवादीले मतियारको भूमिका मात्र निर्वाह गरेको मानी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी सानुमाया राई दुवै पक्षको पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदनको जानकारी परस्पर एक अर्कोमा गराई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३/५/१६ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री सिताराम अधिकारीले जाहेरीमा पोल गरेको पीडितले बयानमा उल्लेख गरेकी व्यक्ति यी पुनरावेदक प्रतिवादी होइनन् । सोनिया राई श्रेष्ठ र सानुमाया राई (डंगोल) भन्ने व्यक्ति छुट्टाछुट्टै हुन् । पीडित जाहेरवालीले यी प्रतिवादीलाई प्रत्यक्ष देखेको छैन । साक्षी बकपत्र गर्न अदालतमा उपस्थित भएको अवस्था पीडितले मलाई बिक्री गर्न लाने सोनिया राई भन्ने व्यक्ति यी प्रतिवादी होइनन्, निजलाई म चिन्दिनँ भनी बकपत्र गरिसकेको अवस्था छ । प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण पेस गरिसकेको स्थितिमा सो प्रमाणलाई नजरअन्दाज गरी कसुर ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेको छैन । प्रतिवादीले पूर्णरूपमा सफाई पाउनु पर्छ भनी बहस प्रस्तुत गर्नुभयो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानले प्रतिवादी सोनिया राई (श्रेष्ठ) र सानुमाया राई फरक व्यक्ति होइनन् । अनुसन्धानको क्रममा गरेको बयानमा प्रतिवादीले पीडितलाई भेटी वैदेशिक रोजगारीमा जाने सल्लाह दिएको, निजको पतिको नाम श्याम श्रेष्ठ र निजको घर काठमाडौंमा रहेको भनी उल्लेख गरेकी छन् । उक्त बयानमा म सोनिया राई (श्रेष्ठ) होइन भनी जिकिर लिएकी छैनन् । मानव बेचबिखन जस्तो मुद्दामा प्रतिवादीले आफ्नो निर्दोषिता आफैँ प्रमाणित गर्नु पर्दछ । पीडितको जाहेरी र मौकामा गरेको प्रमाणित बयान र प्रतिवादीको बयान तथ्यगतरूपमा मिलेकोले यी प्रतिवादी नै सोनिया राई (श्रेष्ठ) भएको पुष्टि हुन्छ । प्रतिवादीले आफैँ पीडितालाई ललाई फकाई विदेश पठाउने कार्य गरेको, यसमा निजका पति र ज्वाइँं नाताका व्यक्ति प्रत्यक्ष संलग्न रहेको र सामूहिक रूपमा प्रतिवादीहरूले पीडितलाई बेचबिखन गर्ने उद्देश्यले भारतको मुम्बई पुर्याएको हुँदा मतियारको रूपमा मात्र प्रतिवादीलाई सजाय गरेको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उक्त बहससमेत सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, इलामको फैसला मिलेको छ, छैन? र पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, झापा दमक नगरपालिका बस्ने सोनिया राई (श्रेष्ठ) सँग चिनजान भएकोले निजले मलाई आर्थिक प्रलोभनमा पारी ललाई फकाई राम्रो कार्यको लागि विदेश लगिदिने भनी ढाँटी निज, निजको श्रीमान्, ज्वाइँसमेतको मिलेमतोमा मिति २०६८/१/२९ गते घरबाट भारत मुम्बई लगी छोडी आएको र सो स्थानको व्यवहारसमेतबाट मलाई बेचबिखन गरेको थाहा भएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेतको मन्जु कुमारी ठटालको जाहेरी दर्खास्त परेपश्चात् अनुसन्धान प्रारम्भ भई प्रतिवादी सोनिया भन्ने सानुमाया राई (श्रेष्ठ), श्याम श्रेष्ठ र सुवास राईले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र दफा ४(२)(क)(ख) बमोजिमको कसुर गरेकोले निजहरूलाई १७ नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने व्यहोराको अभियोगपत्र प्रस्तुत भएकोमा सुरू झापा जिल्ला अदालतबाट प्रतिवादी सुवास राईको हकमा अभियोगपत्र दरपिठ भएको र प्रतिवादी श्याम श्रेष्ठको हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी रहेको तथा प्रतिवादी सोनिया राई भन्ने सानुमाया राई (श्रेष्ठ) को हकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र दफा ४(२)(क)(ख) को कसुरमा ऐ. दफा १५ १)(ङ)(१) बमोजिम कैद वर्ष १० र रू.५०,०००।– जरिवाना र पीडितलाई क्षतिपूर्ति भराइदिने ठहर भई भएको फैसला केही उल्टी भई सो दफा १५(१)(ज) बमोजिम ७ वर्ष ६ महिना कैद र रू.५०,०००।– जरिवाना हुने ठहर भएको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले आफू पीडितलाई भारत लगी बिक्री गर्ने सोनिया राई नभई आफ्नो नाम सानुमाया राई भएको र आफूले पीडितलाई भारतमा लगी बिक्री गर्ने कार्य नगरेकाले निर्दोष व्यक्तिलाई कसुरदार ठहराई सजाय गरेको सुरू र पुनरावेदन तहको फैसला त्रुटिपूर्ण भएकोले उल्टी भई आफूले सफाई पाउनु पर्ने भनी पुनरावेदन पत्रमा मुख्य रूपमा जिकिर लिएकाले सर्वप्रथम सोही सम्बन्धमा विचार गर्नुपर्ने देखिएको छ ।
४. पीडित मन्जुकुमारीले आफूलाई आर्थिक प्रलोभन देखाई वैदेशिक रोजगारमा पठाइदिने भनी भारत मुम्बईमा पुर्याई १०/१५ दिनसम्म मुम्बईको कोठामा थुनामा राखी प्रतिवादी सोनिया राई श्रेष्ठ, श्याम श्रेष्ठ र शुभाष राईले मलाई देखाई बिक्री गर्न लागेको निजहरूको हाउभाउ र व्यवहारबाट थाहा पाई त्यहाँबाट उम्की आएको भनी जाहेरी दिई सोही व्यहोरा प्रमाणित हुने गरी बयान गरेको देखिन्छ । प्रतिवादी सोनियाँ राई श्रेष्ठले मौकामा बयान गर्दा आफ्नो नाम सोनिया भनी उल्लेख गरे पनि पीडितले जाहेरीमा उल्लेख गरेको नाम सोनीया राई श्रेष्ठ म होइन । मेरो नाम सानुमाया राई हो भनी आफू सोनिया नभएको भनी मिति २०४०/५/२५ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको प्रतिलिपि र अन्य कागजात पेस गरेको देखिन्छ । पीडितले आफूलाई बिक्री गर्न विदेश भारत लग्ने प्रतिवादी सोनिया भन्ने यी सानुमाया हुन् भनी किटान हुने गरी बकपत्र गर्न सकेको देखिँदैन, अदालतमा जाहेरवालीले प्रतिवादीको रोहबरमा बकपत्र गर्दा आफूलाई बिक्री गर्ने व्यक्ति यी प्रतिवादी होइन, निजलाई चिन्दिन, निजले मलाई बेचबिखन गरेको होइन भनी स्पष्टरूपमा लेखाएको देखिन्छ । प्रस्तुत मुद्दामा पीडितले नै प्रतिवादीलाई सनाखत गर्न सकेको देखिँदैन । अदालतमा बकपत्र गर्दा आफूलाई भारत लगी बिक्री गर्ने सोनिया राई भन्ने व्यक्ति यी नभएको भनी जाहेरवाला एवं पीडितले आफैँले बताएको अवस्था छ । पीडितको उक्त बकपत्रको व्यहोराबाट वादी पक्षको अभियोजन दाबी अनुमान र शंकाको भरमा दायर भएको भन्ने यी प्रतिवादी सानुमायाको पुनरावेदन जिकिर समर्थित हुन आएको देखिन्छ ।
५. पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सरकारी वकिलले मानव बेचबिखन गम्भीर प्रकृतिको फौजदारी अपराध भई विधायिकी कानूनले नै प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण आफैँ पुर्याउन पर्ने भई प्रमाणको भार अभियोजन पक्षबाट प्रतिवादीमा नै सारिएको हुँदा यी प्रतिवादीले नै आफ्नो निर्दोषिताको प्रमाण पुर्याउनु पर्ने अवस्था रहेको भनी बहसमा जिकिर लिनुभएको सन्दर्भमा प्रस्तुत मुद्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत दायर भएको र ऐनको दफा ९ ले प्रमाणको भार वादीबाट प्रतिवादीमा सारेको अवस्था हुँदा यस्तो प्रकृतिको मुद्दामा वादी प्रतिवादीको प्रमाण पर्याउने के कस्तो दायित्व रहने हो भन्ने सन्दर्भमा विचार गर्नुपर्ने अवस्था देखियो ।
६. फौजदारी मुद्दामा सामान्यतया आफ्नो अभियुक्तको कसुर अपराध प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षमा रहन्छ । जसले दाबी गर्छ उसैले प्रमाणित गर्नुपर्छ भन्ने फौजदारी विधिशास्त्रको सामान्य सिद्धान्त रहेको छ । यो सिद्धान्तलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले स्वीकार गरेको छ । तर कतिपय विशेष अवस्थामा फौजदारी मुद्दामा पनि प्रमाणको भार प्रतिवादीमा सार्न सकिने वा प्रतिवादीमा रहने (Shifting of burden of proof to the accused person) गरी विधायिकी कानून बन्नसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइन्छ । खासगरी आफूसँग कब्जा (Possession) मा रहेको वस्तुको वैधता यौनजन्यलगायतका अन्य अपराधमा प्रमाणको भार प्रतिवादीमा रहने गरी कानून निर्माण हुनसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको छ । यही सिद्धान्तको आधारमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था गरी अभियोग लागेको कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण प्रतिवादीले पुर्याउनु पर्ने व्यवस्था गरिएको छ ।
७. वस्तुतः सरकारवादी फौजदारी मुद्दाको आपराधिक कार्यमा संलग्न अभियुक्तको यकिन गरी निजउपर अनुसन्धान तहकिकात गरी सो आधारमा आफ्नो अभियुक्तको अभियोग निर्धारण गर्ने र अदालतमा मुद्दा दायर गर्ने मुख्य जिम्मेवारी अभियोजन पक्षको रहने कुरामा दुईमत हुन सक्दैन । के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्ने कुरा पनि अभियोजन पक्षले नै शंकारहित तवरले (Beyoard the doubt) पुष्टि गरेको हुनुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त हुने होइन । आफ्नो निर्दोषिता प्रमाणित गर्ने काम प्रतिवादीको हुने भए पनि यस अवस्थामा पनि वादी पक्षले आफ्नो अभियुक्त यकिन गर्ने र अनुसन्धानको आधारमा आफूले तयार पारी दायर गरेको अभियोग पत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो भनी विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्यरूपमा उल्लेख गरेको हुनुपर्दछ । अभियोग पत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनुपर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित रहेको छ । वादी पक्षले आफ्नो अभियोग पत्रमा स्पष्टरूपमा कसुर स्थापित गरी कसुरवालालाई कानूनबमोजिम सजाय गर्न मागदाबी लिइएको अभियोगपत्र रहेको अवस्थामा विधायिकी कानूनले निर्दोषिताको प्रमाणित गर्ने भार प्रतिवादीमा राखेको भए प्रतिवादीले आफूले निर्दोष रहेको जिकिर लिन्छ भने आफ्नो निर्दोषिता आफैँले प्रमाणित गर्नुपर्ने हुन्छ । तर वादी पक्षले आफ्नो अभियुक्त भनी प्रतिवादी बनाएको व्यक्ति आफू नभई अन्य व्यक्ति भएको वा आफू अभियोजित व्यक्ति नभएको भनी जिकिर लिई आफ्नो नागरिकताको प्रमाणपत्रसमेत पेस गरेको, निजले पाएको नेपाली नागरिकताको प्रमाणपत्रमा निजको नाम अभियोजन पक्षले दाबी गरेबमोजिम नाम नभई प्रतिवादीको जिकिरबमोजिमको देखिएको अवस्थामा निज आफ्नो अभियुक्त हो भन्ने दाबी पुर्याउने भार पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रतिवादीमा सारेको भन्न मिल्ने हुँदैन । वादीले प्रतिवादी यकिन गरी अभियोग दाबी लिएको अवस्थामा प्रतिवादीको पहिचानमा विवाद नभएमा मात्र उक्त ऐनको दफा ९ ले प्रतिवादीमा प्रमाणको भार सारेको मान्नुपर्ने हुन्छ अर्थात् वादीले आफ्नो मुद्दाको प्रतिवादी यी हुन् भनी गरेको दाबी प्रमाणित गरेपछि मात्र अभियोग अस्वीकार गर्ने प्रतिवादीले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार बहन गर्नुपर्ने हुन्छ । अभियोजन पक्षले प्रतिवादी नै प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको वा सरेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीले पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न मिल्दैन । उल्लिखित कानूनी व्यवस्थालाई निरपेक्षरूपमा अर्थ गर्न मिल्ने हुँदैन । त्यसो गर्दा अभियोजन पक्षले आफ्नो दायित्व पूरा नगरेको त्रुटिको दुष्परिणाम प्रतिवादीमा सर्ने हुन्छ जुन विधायिकी मनसाय होइन ।
८. प्रस्तुत मुद्दामा प्रतिवादीले आफू कसुरदार नभएको, आफ्नो नाम नै फरक रहेको भनी लिएको जिकिरलाई निजले पेस गरको नागरिकताको प्रमाण पत्रले पुष्टि गरेको अवस्था एकातिर छ भने स्वयं पीडितले अदालतमा उपस्थित भई आफूलाई भारतमा बिक्री गर्न लैजाने व्यक्ति यी प्रतिवादी नभई अरू नै व्यक्ति रहेको भनी किटान गरी बकपत्र गरको अवस्थामा वादी पक्षको दाबी शंकारहित देखिन आएन । केवल उक्त ऐनको दफा ९ को व्यवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहराउन न्याय र कानूनी व्यवस्थाको रोहमा समेत मनासिब देखिन आएन ।
९. तसर्थ, उपर्युक्त आधार र कारणसमेतबाट अभियोजन पक्षले वास्तविक कसुरदार पहिचान नगरी छुट्टै नाम र पहिचान भएको व्यक्तिलाई प्रतिवादी बनाई अभियोग पत्र दायर गरेको जाहेरी दरखास्त र अभियोग पत्रमा उल्लेख गरिएको सोनिया राई (श्रेष्ठ) भन्ने व्यक्ति यिनै सानुमाया राई (डंगोल) भन्ने कुरा वादी पक्षले शंकारहित तबरमा पुष्टि गराउन नसकेको र पीडित स्वयम्ले आफूलाई भारत लगी बिक्री गर्ने व्यक्ति यी प्रतिवादी सानुमाया नभएको भनी अदालतका आई बकपत्र गरेको तथ्यहरूको पृष्ठभूमिमा यी प्रतिवादीलाई कसुरदार मान्न मिल्ने देखिन आएन । यस अवस्थामा यी प्रतिवादीलाई सुरू जिल्ला अदालतले ऐनको दफा ३ र दफा ४(ख) को कसुरमा कायम गरी दफा १५(१)(ङ) बमोजिम सजाय गर्ने गरेको फैसला नमिलेको भनी ऐ. ऐनको दफा १५ (१)(ङ) १ का आधारमा ऐ.ऐनको१५(१) को (ज) बमोजिम कैद ७ वर्ष ६ महिना र ऐ.को ६(६) बमोजिम रू.५०,०००।– (पचास हजार) जरिवाना गर्ने गरेको पुनरावेदन अदालत, इलामको मिति २०७०/५/१० को फैसला त्रुटिपूर्ण देखिएकोले उल्टी भई प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ । अन्य कुरामा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी सानुमाया राईले अभियोग दाबीबाट सफाई पाउने ठहरी फैसला भएकोले यस अदालतको मिति २०७४।२।९ को संक्षिप्त आदेशबाट निज थुनामुक्त भइसकेको देखिँदा थप केही गरिरहन परेन ------------------------------१
प्रस्तुत मुद्दाका प्रतिवादी सानुमाया राई श्रेष्ठको हकमा पुनरावेदन अदालत, इलामको फैसलाले लागेको कैद वर्ष ७ (सात) ६ महिनाको कैद र रू.५०,०००।– जरिवानाको लगत कट्टा गर्नु भनी सुरू झापा जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------२
दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू -------------३
उक्त रायमा सहमत छु ।
न्या. तेजबहादुर के.सी.
इजलास अधिकृतः जीवनकुमार भण्डारी
इति संवत् २०७४ साल जेठ ९ गते रोज ३ शुभम् ।