निर्णय नं. ४३२३ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ४३२३ ने.का.प. २०४८ अङ्क ७
संयुक्तइजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
२०४७ सालको रिट नं. ७७२
आदेश भएको मिति : २०४८।७।२६।३ मा
रिट निवेदक : स्वास्थ्य मन्त्रालय इपिडेमियोलजी महाशाखा टेकुको ल्याब असिष्टेण्ट पदको नियुक्तिबाट बदर गरिएको वर्ष २८ को स्वयं प्रकाश भण्डारी
विरुद्ध
प्रत्यर्थी : श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखा काठमाडौंसमेत
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) परीक्षणकालको अवधिमा हटाइएको नदेखिँदा दफा ६.१(च) प्रयोग गरी नियुक्ति बदर गरेको नमिल्ने ।
(प्रकरण नं. ८)
(२) चाहिने न्यूनतम अनुभव ३ वर्ष भन्दा बढी ४ वर्षको अनुभव प्रमाणित गरी दिएको देखिनाले असम्बन्धित विषयमा अनुभव प्राप्त गरेको पनि देखिन नआएकोले असम्बन्धित विषयको अनुभवलाई मान्यता हुँदैन भन्ने बहससंग सहमत हुन नसकिने ।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल
प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
न्या.रुद्रबहादुर सिंह
१. नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।
२. म निवेदक इपिडेमियोलजी महाशाखा टेकुमा ल्याब ब्वाई (रा.प.अ. चतुर्थ श्रेणी प्रा.) पदमा ०३९।१०।१० मा अस्थाई नियुक्ति भई ०४०।७।२१ मा स्थायी भई कार्यरत थिएँ । उक्त शाखा अन्तर्गत जुनोटिक रोग नियन्त्रण शाखामा रिक्त ल्याब असिष्टेण्ट पद–१ स्थायी पद पूर्ति गर्नु पर्ने भनी दर्खास्त आव्हान गरिएको मिति ०४५।४।४ को गो.प.मा प्रकाशित सूचना अनुसार दर्खास्त दिई खुल्ला प्रतियोगिताद्वारा मिति ०४५।६।७ मा ल्याब असिष्टेण्ट (रा.प.अ. द्वितीय प्रा.) पदमा स्थायी नियुक्ति भएँ । त्यसपछि भारत, दिल्लीमा जुनोसिस ल्यावोरेटरी विषयमा १ महीना तालिममा पठाइएकोले भाग लिएँ । उक्त महाशाखाको प्रमुख ज्यूबाट महाशाखाको मिति ०४२।६।६ को पत्र अनुसार तपाइलाई मिति ०४५।६।७ देखि लागू हुने गरी ल्याब असिष्टेण्ट पदमा दिएको नियुक्तिलाई बदर गर्नु र तपाइको पूर्व पद ल्याब ब्वाई पदमा कायम गर्नु भनी स्वा.मं.क.प्र.शाखाको मिति ०४७।५।६ को पत्रबाट लेखी आएकोले यो पत्र लेखिन्छ, अतः तपाइलाई दिएको उक्त ल्याब असिष्टेण्टको नियुक्तिलाई मिति ०४७।५।१३ देखि लागू हुने गरी बदर गरी ल्याव व्बाई पदमा कायम गरिएको व्यहोरा सूचित गरिन्छ भन्ने व्यहोराको पत्र दिइयो । पाइसकेको नियुक्ति बिना कुनै कसूर बदर हुनु हुँदैन । बिना कारण २ तह मुनि घटाएको छ । (साविक पेज नं. ३५३) यसबाट मेरो हक हनन् हुन गएकोले इपिडेमियोलजी महाशाखाको मिति ०४७।५।८ को पत्र र सो पत्रमा उल्लेखित स्वा.मं.कर्मचारी प्रशासन शाखाको मिति ०४७।५।६ को पत्र एवं तत्सम्बन्धी कारवाही निर्णय भएको भए सो समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः नियुक्ति कायम गरी दिनु भन्ने समेत परमादेशको आदेश गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।
३. यसमा निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो, विपक्षहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति ०४७।६।२ को आदेश ।
४. यस महाशाखामा रिक्त ल्याब असिष्टेण्ट पद १ स्थाई पूर्तिको लागि मिति ०४५।४।४ को गो.प.मा विज्ञापन प्रकाशित हुँदा दशम कक्षा उत्तीर्ण भई ३ वर्षको अनुभव प्राप्त योग्यता माग गरिएको थियो । त्यसको अन्तर्वार्ता भई निर्णयको लागि स्वा.मं. पेश हुँदा निर्णय भई आए अनुसार निवेदकलाई ०४५।६।७ देखि लागू हुने गरी नियुक्ति दिइएको थियो । पछि वैकल्पिक उम्मेदवार विष्णुप्रसाद कोइरालाले योग्यता नपुगेको व्यक्तिलाई छनौट गरियो भनी उजूर दिएको थियो । यस महाशाखामा ल्याब असिष्टेन्ट नभएकोले निज ल्याब ब्वाई स्वयं प्रकाशलाई नै ल्या.अ.को काम सिकाई ४ वर्ष काम लगाइएको थियो । सो अनुभवको आधारमा निजलाई ल्या.अ.मा छनौट गरिएको थियो । उजूर परेपछि फाइल स्वा.मं.क.प्र.शाखामा पठाइयो । पछि स्वा.मं.क.प्र.शाखाको पत्र अनुसार नियुक्ति बदर गरी स्वयं प्रकाशलाई ल्याब ब्वाईमा कायम गरिएको हो । यस महाशाखालाई नियुक्ति बदर गर्ने अधिकार नभएकोले माथिबाट भई आएको आदेश र निर्णय गरिने हुँदा स्वा.मं.क.प्र.शाखाबाट फाइल मगाई आवश्यक कारवाही गरी पाउँ भन्ने समेत स्वा.मं. इपिडेमियोलजी महाशाखाको लिखितजवाफ ।
५. निवेदकलाई ल्या.अ.मा नियुक्ति दिए उपर उजूर परेपछि लो.से.आ., म.क्षे.नि. बाट छानविन निरीक्षण गर्दा असम्बन्धित योग्यता अर्थात योग्यता नै नभएकोलाई छनौट गरिएको देखिन आएकोले सो नियुक्ति आयोगको कार्यविधि ऐन, नियम तथा सिद्धान्त अनुरुप नदेखिएको हुँदा निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड च बमोजिम बदर गर्नु भन्ने ०४६।१२।७ को निर्णय अनुसार अनुरोध गरिन्छ भन्ने मिति ०४६।१२।७ को म.क्षे.नि.को पत्र प्राप्त भएकोले सोही बमोजिम श्री ५ को सरकारको ०४७।४।३२ को निर्णय अनुसार गरिएकोले बिना कारण आधारमा निजको नियुक्ति बदर गरेको भन्ने निवेदकको भनाई सरासर गलत छ रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको स्वास्थ्य मन्त्रालयको लिखितजवाफ ।
६. यसमा के कसो भएको हो सबै व्यहोरा खोली लिखितजवाफ पठाउनु भनी लो.से.आ., म.क्षे.नि.मा लेखी पठाउनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासबाट भएको मिति ०४७।१२।१३ को आदेश ।
७. सम्बन्धित पदको लागि दशम कक्षा उत्तीर्ण भई सम्बन्धित विषयमा २ वर्षको तालिम प्राप्त वा दशम कक्षा उत्तीर्ण भई सम्बन्धित विषयमा ३ वर्षको अनुभव प्राप्त भनी योग्यता निर्धारण भएको छ । निवेदकले तालिमको प्रमाणपत्र दर्खास्त साथ पेश नगरेको, अनुभव सम्बन्धमा बुझ्दा ल्याब ब्वाई पदको काम ल्याब असिष्टेण्ट पदको कामसंग बिलकुल सम्बन्ध नभएको भनी स्पष्ट गरी दिएको छ । यसबाट निवेदकको सम्बन्धित पदमा योग्यता नपुगेको देखिन्छ । तसर्थ स्वा.मं.ले निवेदकको नियुक्ति उपर कारवाही गरेको हो । कानुन नियम विपरीत गरिएको छैन भन्ने समेत व्यहोराको लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको लिखितजवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी (साविक पेज नं. ३५४) पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले निवेदकले मिति ०४५।६।७ मा पाएको ल्या.अ.को नियुक्तिलाई बिना कारण तथा बिना आधार बदर गरिएको कानुन बमोजिम भएको छैन । कुनै पनि निजामती कर्मचारीलाई बर्खासी गर्नु पर्दा नि.से.नि., २०२१ को नियम १०.१ तथा नियम १०.५ अनुसार प्रकृया अपनाउनु पर्ने सो बमोजिम गरिएको छैन । साथै परीक्षणकाल १ वर्ष व्यतित भइसकेपछि निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(च) आकृष्ट हुन सक्तैन । ल्याब ब्वाइको पदमा रहेर काम गरिसकेपछि सम्बन्धित विषयमा अनुभव नभएको भन्न मिल्ने होइन । सम्बन्धित महाशाखाले सोही ल्या.अ.को काम ४ वर्ष गरेको भनी प्रमाणित गरिसकेपछि त्यस कुरालाई नमानी अनुभव नपुगेको भन्नु पनि न्यायसंगत छैन तसर्थ गैरकानुनी तरिकाले नियुक्ति बदर गरिएको निर्णय एवं पत्र तथा कारवाही बदर गरी पाउँ भनी बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थीतर्फबाट उपस्थित हुनुभएका का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले निवेदक सम्बन्धित महाशाखामा ल्याब ब्वाइको पदमा रहेकोमा ल्या.अ.को पदको लागि अनुभव भएको मान्न सकिंदैन दुवैको कामको प्रकृति फरक छ । लो.से.आ. बाट प्रत्यायोजित अधिकार प्रयोग गर्दा लोकसेवा सम्बन्धी ऐन नियमलाई ख्यालमा राखी सोही अनुरुप नियुक्ति गर्नु पर्नेमा योग्यता नै नपुगेको व्यक्तिलाई गरेको नियुक्ति बदर गरेको कुरालाई अन्यथा भन्न मिल्दैन । लो.से.आ. को प्रकृया र शर्त पूरा नगरी नियुक्ति गरेको अवस्थामा नियुक्ति बदर गर्नलाई सफाइको मौका दिइरहनु पर्ने बाध्यता नहुने व्यवस्था नि.से. ऐन, २०१३ को दफा ६(१)(च) ले गरेकै छ तसर्थ रिट खारेज हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । फाइल संलग्न कागजात तथा दुवै पक्षका वकीलको बहस समेत सुनी इन्साफ निर्णयतर्फ विचार गर्दा यसमा कुनै पनि निजामती कर्मचारीलाई निज उपर गरिने कारवाहीको सम्बन्धमा सफाइको सबूद दिने मनासिब माफिकको मौका नदिई बर्खास्त गर्न हुँदैन भन्ने व्यवस्था नि.से.ऐन, ०१३ को दफा ६(१) मा भएको छ । लोकसेवाबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रकृया र शर्त पूरा नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनी लोकसेवा आयोगबाट लेखी आएमा त्यसरी नियुक्ति भएको कर्मचारीलाई निजको परीक्षणकालको अवधि भित्र हटाइने भन्ने व्यवस्था ऐ.ऐनको दफा ६(१)(च) मा व्यवस्था भएको छ । निवेदकलाई ०४५।६।७ मा १ वर्षको परीक्षणकालमा राखिने गरी नियुक्ति दिएको र ०४६।६।६ मा १ वर्ष परीक्षणकालको अवधि समाप्त भई कार्यरत रहेकोमा ०४७।५।१३ देखि लागू हुने गरी मिति ०४७।५।८ मा नियुक्ति बदर गरेको देखिएको, परीक्षणकालको अवधिमा हटाइएको नदेखिँदा उक्त दफा प्रयोग गरी नियुक्ति बदर गरेको मिल्न आएन । निवेदकको सम्बन्धित विषयमा ३ वर्षको अनुभव प्राप्त भए नभएतर्फ विचार गरिएमा निवेदक ल्याब ब्वाई भए पनि शाखामा अरु कोही कर्मचारी नभएकोले निजलाई नै ल्या.अ.को काम सिकाई ४ वर्ष देखि काममा लगाइएको थियो भन्ने अनुभवको प्रमाणित गर्ने मुख्य काम लिने लगाउने इपिडेमियोलोजी महाशाखाले लोकसेवा आयोग म.क्षे.नि.मा दिएको पत्रबाट र यस अदालतको लिखितजवाफ समेतबाट पुष्टी गरी चाहिने न्यूनतम अनुभव ३ वर्ष भन्दा बढी ४ वर्षको अनुभव प्रमाणित गरी दिएको देखिनाले असम्बन्धित विषयमा अनुभव प्राप्त गरेको पनि देखिन नआएकोले असम्बन्धित विषयको अनुभवलाई मान्यता हुँदैन भन्ने प्रत्यर्थी तर्फका सहन्यायाधिवक्ताले प्रस्तुत गर्नु भएको बहससंग सहमत हुन सकिएन । अतः लो.से.आ. म.क्षे.नि.को मिति ०४६।१२।७ को पत्र श्री ५ को सरकारको मिति ०४७।४।३२ को निर्णय, स्वा.मं.को ०४७।५।६ को पत्र तथा इपिडेमियोलजी महाशाखाको ०४७।५।८ को पत्र समेतबाट निवेदकको ०४५।६।७ को नियुक्तिलाई बदर गर्ने गरेको निर्णय तथा कार्यवाहीहरु कानुन अनुरुप भएको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । (साविक पेज नं. ३५५) नियुक्ति बदर गर्ने निर्णय तथा कारवाही नै बदर भइसकेकोले निवेदकले पाएको ०४५।६।७ को नियुक्ति स्वतः कृयाशील भइरहने हुँदा परमादेशको आवश्यकता परेन । महान्यायाधिवक्ताको कार्यालय मार्फत प्रत्यर्थीलाई आदेशको जानकारी दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४८ साल कार्तिक २६ गते रोज ३ शुभम् ।