निर्णय नं. ९९३९ - वैदेशिक रोजगार ठगी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।६।३०
०६८-CR-०८७७
मुद्दाः- वैदेशिक रोजगार ठगी
पुनरावेदक / वादी : सुचिन पोखरेलसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली दरख गा.वि.स. वडा नं. ४ बस्ने योगेन्द्रबहादुर तामाङ
अपराधको सूचनाको रूपमा रहेको जाहेरी दरखास्त र सो जाहेरी समर्थनको लागि पेस भएको कागजको व्यहोरालाई निज जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गर्दाका अवस्था होस् वा कुनै कागज गर्दाका अवस्था होस् अघिपछिका भनाइमा एकरूपता र तादम्यता हुनु विश्वसनीय मान्न सकिने ।
आफ्नो भनाइमा एकरूपता भई अडिग र सार्थकता हुनुपर्नेमा अघि व्यक्त गर्दा वैदेशिक रोजगारीको लिखत भन्ने र पछि व्यक्त गर्दा लेनदेनको लिखत हो व्यहोरासम्म फरक हो भन्ने कथन व्यहोरा तात्विकरूपमा नै फरक प्रकृतिका व्यवहार देखिन आउने ।
एउटा कथन व्यहोरा देवानी दायित्व (Civil Liability) सँग सम्बन्धित र अर्को भनाइ फौजदारी दायित्व (Criminal Liability) सँग सम्बन्धित देखिन आएको अवस्थामा मुद्दा मामिलामा कुन दायित्व आकर्षित हुने हो भन्ने कुरा विधिशास्त्रीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण र विचारणीय हुने ।
अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा वैदेशिक रोजगारको लागि रकम लिएको भन्ने जाहेरी व्यहोराको तथ्य नै शंकास्पद र सन्देहपूर्ण देखिन आएको अवस्थामा त्यस्तो शंकास्पद कथनमा आधारित व्यहोराको आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय अध्यक्ष श्री निर्मलकुमार ढुंगाना
माननीय सदस्य श्री अग्नीप्रसाद थपलिया
माननीय सदस्य डा. श्री रवि शर्मा अर्याल
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
यसमा जाहेरवालाहरूलाई विपक्षी योगेन्द्रबहादुर तामाङले वैदेशिक रोजगारीको सिलसिलामा ललाईफकाई राम्रो जागिर र धेरै तलब दिलाउने प्रलोभनमा पारी झुठ्ठा आश्वासन दिई अमेरिकास्थित कम्पनीमा पठाइदिन्छु भनी हामी निवेदकहरूमध्ये सचिन पोखरेलसँग मिति २०६५।११।०४ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार) नवराज कार्कीसँग मिति २०६५।११।८ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार) र रवि बरालसँग मिति २०६५।११।४ मा रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार)समेत जम्मा रू. ४९,९५,०००।– (उनान्पचास लाख पन्चानब्बे हजार) बुझिलिनु भएको र पटकपटक विपक्षीलाई अमेरिका पठाइदिन आग्रह गर्दासमेत आजभोलि आजभोलिभन्दै आलटाल गरी आएको १५ दिन पहिले हामीले कि अमेरिका पठाइदिनुहोस् नभए हामीहरूबाट लिएको रकम सकुसल फिर्ता गरिदिनुहोस् भनी अनुनय विनय गर्दा रकम पनि दिन सक्दिन र अमेरिका पठाउन पनि सक्दिन भनी विदेश पठाउन र रकम फिर्ता गर्न इन्कार गर्नुभएकोले निज विपक्षीलाई पक्राउ गरी हाम्रो रकम दिलाई निजलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य विपक्षीबाट भए गरेकाले निज अन्यायीलाई ऐ. ऐनको दफा ४३ बमोजिम हदैसम्मको कैद सजाय गरी न्याय पाउँ भनी जाहेरवालाहरू सचिन पोखरेल, नवराज कार्की र रवि बरालसमेतको छुट्टाछुट्टै जाहेरी दरखास्त ।
जाहेरी निवेदनसाथ निवेदकलाई प्रतिवादीले गरिदिएको रकम बुझिलिएको कागजको प्रतिलिपि पेस गरेको ।
यसमा मैले सचिन पोखरेल, नवराज कार्की र रवि बराल तिनै जना नचिनेको उनीहरूलाई आफूले अमेरिका पठाइदिने भनी प्रतिव्यक्ति रू.१६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार) का दरले दिएको रकम पनि लिएको छैन । उक्त लिखित मलाई सरोज थापा (रोज राणा) र ऋषि न्यौपानेलगायत ८।१० जना व्यक्तिहरूले अपहरण गरी जबरजस्ती खाली कागजमा सहिछाप गराएका हुन् । म एउटा निर्माण व्यवसायी हुँ । मैले वैदेशिक रोजगार व्यवसाय पनि सञ्चालन गरेको छैन, राजेन्द्र पन्तले कम्पनीमा रू.४८,६०,०००।– अठ्चालीस लाख साठी हजार) लगानी गरेकोमा रू.४,००,०००।– (चार लाख) मैले फिर्ता गरिसकेको र काम गर्ने सिलसिलामा गोपाल सापकोटाले माथि उल्लिखित रकम रू. ४८,६०,०००।– (अठ्चालीस लाख साठी हजार) पूरै लिएर फरार भयो । पछि निजलाई प्रहरीद्वारा पक्राउ गरी हनुमान ढोकामा बुझाएको र ध्रुवनारायण श्रेष्ठले उहाँलाई जमानतमा लिई छुट्टाउनु भएको । राजेन्द्र पन्तले ल्याउनु भएको रू.४८,६०,०००।– (अठ्चालीस लाख साठी हजार) सरोज थापा (रोज राणा) र गोपाल भुसाल (खेन) को रहेछ । सरोज थापाले राजेन्द्र पन्तलाई पैसासम्बन्धी कुरा गर्न बोलाउँदा म पनि साथमा गएको त्यहाँ पुगेपछि पुन: सरोज थापाले ६।७ जनाको नाम भएको एउटै कागजमा वैदेशिक लेनदेनको कागज बनायो र त्यसपछि पुन सरोज थापाले राजेन्द्र पन्तलाई बोलायो र सो कागजले काम नगरेकोले तपाइँले अलगअलग कागजमा सही गर्नु पर्यो भनी कागज गराएकाले सो कागजउपर जिल्ला अदालत काठमाडौंमा सरोज थापा, गोपाल भुसाल विरूद्ध करकाप मुद्दा दायर गरी मलाई साक्षी राखेकोले सरोज थापाले सो कुरा थाहा पाई म र ध्रुव नारायण श्रेष्ठलाई बागबजारतर्फ लिएर गयो । त्यहाँ गएपछि मलाई ३।४ वटा वैदेशिक कागजमा सहिछाप गरायो । त्यसपछि हामीले जिल्ला अदालत काठमाडौंमा सरोज थापा र ऋषि न्यौपानेको नाममा करकापसम्बन्धी मुद्दा दायर गरेको हो भन्नेसमेत प्रतिवादी योगेन्द्रबहादुर तामाङले गरेको बयान कागज ।
यसमा जाहेरी दरखास्त, प्रतिवादीका बयानसमेतका आधार कारणबाट प्रतिवादी योगेन्द्रबहादुर तामाङले जाहेरवालाहरूलाई विनाइजाजत विदेश पठाउन भनी रकम बुझिलिएको देखिँदा निजको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत हुँदा निजलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी सचिन पोखरेलको रू. १६,६५,०००।– (सोह्र लाख पैंसठ्ठी हजार), नवराज कार्कीको रू.१६,६५,०००।– र रवि बरालको रू.१६,६५,०००।– गरी जम्मा बिगो रू. ४९,९५,०००।– (उनान्पचास लाख पन्चानब्बे हजार) र सोको ५०% हर्जानाबापतको रकम रू. २४,९७,५००।– (चौबीस लाख सन्तानब्बे हजार पाँच सय) समेत जम्मा रू. ७४,९२,५००।– (चौहत्तर लाख बयानब्बे हजार पाँच सय) प्रतिवादी जाहेरवालालाई दिलाई भराई पाउँ भन्नेसमेत अभियोग पत्र मागदाबी ।
यसमा पेस भएको तमसुक कागजको सहिछाप मेरै हो । तर उक्त तमसुक रोज राणा र ऋषि न्यौपानेले मलाई अपहरण गरी मैतिदेवीबाट ट्याक्सीमा हालेर बागबजारतिर लगी आँखामा पट्टी बाँधी घाँटीमा धारिलो हतियार देखाई मार्ने धम्की दिई लेखेको ३ वटा र २।३ वटा नलेखेको कागजमा सही गराएका र मैतिदेवीमै छोडिदिएका हुँदा के कुन व्यक्तिका नाममा के कति रकमको कागज गराएका हुन् थाहा भएन त्यही कागजको प्रतिलिपि हुनुपर्छ । जाहेरवालाहरूसँग मेरो कुनै कारोबार नभएको नगरेको हुँदा जाहेरी व्यहोरा झुठ्ठा हो । म निर्माण व्यवसायी हुँ । मैले कसैलाई विदेश पठाउने कुरा आउँदैन । अभियोग मागदाबी झुठ्ठा हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत प्रतिवादी योगेन्द्रबहादुर तामाङले काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान ।
यसमा प्रतिवादी योगेन्द्रबहादुर तामाङबाट दिए रू.३७,५०,०००।– नगद वा सो बराबरको जेथा लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत काठमाडौं जिल्ला अदालतको मिति २०६६।२।२७ को थुनछेक आदेशानुसार प्रतिवादीले हरिप्रसाद घिमिरेका नामको गोरखा जिल्ला रानीस्वारा गा.वि.स. वडा नं. ८ को कि.न. ७ र ऐ.ऐ. ५७५ का जग्गा जेथा जमानत राखी मिति २०६६।३।९ देखि तारेखमा बसेकोमा निजले मिति २०६६।६।२६ देखिको तारेख गुजारी बसेको देखिन्छ ।
यसमा जाहेरवाला रवि बराल, सचिन पोखरेल, नवराज कार्कीले गरेको बकपत्र मिसिल सामेल रहेछ ।
प्रतिवादीले अदालतमा उपस्थित भई बयान गर्दा आफू निर्माण व्यवसायी भएकाले वैदेशिक रोजगारको कारोबार नै नगर्ने भएकोमा जबरजस्ती अपहरण गरी मलाई कागज गराएका हुन् । मैले विदेश पठाउने भनी जाहेरवालाबाट रकम नलिएको हुँदा आरोपित कसुरबाट सफाई पाउनु पर्दछ भनी बयान गरेको देखिनुका साथै जाहेरवालाहरूमध्ये सचिन पोखरेलले प्रतिवादीसँग वैदेशिक रोजगारको कारोबार नभई लेनदेन कारोबार भएकोमा सो मिलिसकेको भनी, अन्य जाहेरवालाद्वय रवि बराल र नवराज कार्कीले प्रतिवादीसँग व्यापारिक प्रयोजनका लागि कारोबार भएकोमा सो रकम प्राप्त भइसकेको भनी न्यायाधिकरणसमक्ष मिति २०६८।१।२० गते भिन्नभिन्न दरखास्त दिई सोको पीठमा सनाखतसमेत गरिसकेको देखिन आएकोले रवि बराल र सचिन पोखरेलसँग मिति २०६५।११।४ र नवराज कार्कीसँग मिति २०६५।११।८ मा प्रतिवादीले गरेको लिखतमा रकम लिनुको प्रयोजन वैदेशिक रोजगार पठाउने भन्ने वाक्यांश प्रयोग भएकै आधारमा ठोस प्रमाणको अभावमा वैदेशिक रोजगार ठगी जस्तो फौजदारी अपराधमा दोषी करार गर्न मनासिब नभएकोले प्रतिवादी योगेन्द्रबहादुर थापाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ । लेनदेन र व्यापारिक कारोबारको लेनदेन तथा आर्थिक कारोबारलाई वैदेशिक रोजगारको लिखत खडा गरी झुठ्ठा उजुरी दिई बकपत्रसमेत गरी न्यायाधिकरणसमेतलाई गुमराहमा पारेको देखिँदा दण्ड सजायको १८ नं. बमोजिम जाहेरवालाहरू क्रमशः सचिन पोखरेल, रवि बराल र नवराज कार्कीलाई तजबिजी जनही रू. ५०००।– का दरले जरिवाना हुने ठहर्छ भन्ने वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०६८।१।२० को फैसला ।
जाहेरवालाहरूमध्ये सचिन पोखरेलले प्रतिवादीसँग वैदेशिक रोजगारको कारोबार नभई लेनदेन कारोबार भएकोमा सो मिलिसकेको भनी र अन्य जाहेरवालाहरूले प्रतिवादीसँग व्यापारिक प्रयोजनका लागि लेनदेन भएकोमा सो रकम प्राप्त भइसकेको भनी दरखास्त दिई सोको पीठमा सनाखत गरे तापनि प्रतिवादीसँग वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति भएको नदेखिएबाट वैदेशिक व्यवसाय सञ्चालन गर्न अनुमति नभएको व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी लिखतसमेत गरी रकम लिएपछिको अवस्थामा जाहेरवालाहरूले प्रतिवादीलाई बचाई दिने उद्देश्यले अन्यथा व्यहोरा खुलाई बकपत्र गरेकोमा बिगोको हकमा विचारणीय भए पनि प्रतिवादीलाई कसुरबाट उन्मुक्ति दिने गरी भएको फैसला वैदेशिक रोजगार ऐन, २०६४ को भावना र प्रावधानविपरीत भई त्रुटिपूर्ण हुँदा सफाई दिने गरी भएको फैसला बदरभागी हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले यस अदालतमा लिएको पुनरावेदन जिकिर ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।
यसमा प्रतिवादीले जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा पठाई दिने भनी सचिन पोखरेलबाट रू.१६,६५,०००।-, नवराज कार्कीबाट रू.१६,६५,०००।- र रवि बरालबाट रू.१६,६५,०००।- समेत जम्मा रू. ४९,९५,०००।- लिई विदेश रोजगारमा नपठाई विना ईजाजत वैदेशिक रोजगार कारोबार गरेको देखिँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीतको कार्यमा ऐ. दफा ४३ बमोजिम सजाय गरी निजबाट हर्जानासहित जाहेरवालाहरूको बिगो भराई पाउँ भनी अभियोग दाबी भएकोमा वैदेशिक रोजगार न्यायाधिकरणले प्रतिवादीलाई सफाई दिने ठहर गरेउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो । अब वैदेशिक रोजगार न्यायाधिकरणको फैसला मिलेको छ, छैन ? वादीको पुनरावेदन जिकिर पुग्ने हो, होइन? भनी निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा लेनदेन तथा व्यापारिक कारोबारको लेनदेन तथा आर्थिक कारोबारलाई वैदेशिक रोजगारको लिखत खडा गरी झुठ्ठा उजुरी दिई बकपत्रसमेत गरी न्यायाधिकरणसमेतलाई गुमराहमा पारेको देखिँदा दण्ड सजायको १८ नं. बमोजिम जाहेरवालाहरू त्रय क्रमशः सचिन पोखरेल, रवि बराल र नवराज कार्कीलाई तजबिजी जनही रू. ५,०००।– पाँच हजारका दरले जरिवाना हुने ठहराई वैदेशिक रोजगार न्यायाधिकरणले फैसला गरेउपर जाहेरवालातर्फबाट कुनै पुनरावेदन जिकिर लिएको नदेखिँदा त्यसतर्फ केही बोली रहनुपरेन ।
३. प्रतिवादी योगेन्द्रबहादुर तामाङले अदालतमा बयान गर्दा आफू निर्माण व्यवसायी भएकोले वैदेशिक रोजगार व्यवसायको कारोबार नै नगर्ने भएकोले कसैलार्इ विदेशमा पठाउने कुरा पनि आउँदैन । तमसुक कागजमा भएको ल्याप्चे छाप र सही मेरो हो तर उक्त तमसुक रोज राणा (सरोज थापा) र ऋषि न्यौपानेले मलार्इ अपहरण गरी मैतिदेवी चोकबाट बागबजारको के कुन घर कोठामा लगे र कागज गराएका हुन । के कुन व्यक्तिको नामबाट के कति रकमको कागज गराएका हुन् मलार्इ थाहा छैन । मैले विदेश पठाउने भनी जाहेरवालाहरूबाट रकम नलिएको हुँदा आरोपित कसुरबाट सफाई पाउनु पर्छ इन्कारी बयान गरेको पाइयो । जाहेरवालाहरूमध्ये सचिन पोखरेलले अदालतमा बकपत्र गर्दा प्रतिवादीलार्इ अमेरिका जान भनी रू.१६६५०००।- दिएको थिएँ तर सर्तअनुसार अमेरिका नपठाएकोले प्रस्तुत जाहेरी दिएको हुँ भनी खुलाएकोमा अदालतमा मिति २०६८।१।२० मा दिएको निवेदनमा प्रतिवादीसँग घरायसी लेनदेनअन्तर्गत कारोबार भएकोमा उक्त ऋण छिटो छरितो तवरबाट उठ्छ भनी वैदेशिक रोजगारीको लिखत तयार भएको थियो सो रकमको सावाँ ब्याजसमेत सम्पूर्ण रकम बुझिसकेको छु भन्ने निवेदनमा सनाखतसमेत गरेको देखिन्छ । अन्य जाहेरवालाद्वय रवि बराल र नवराज कार्कीले प्रतिवादीसँग व्यापारिक प्रयोजनको लागि लेनदेन भएकोमा सो रकम प्राप्त भइसकेको भनी वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष मिति २०६८।१।२० गते भिन्न भिन्न निवेदन दिई सोको पीठमा सनाखतसमेत गरिसकेको देखिन आएको छ । जाहेरी व्यहोरा, अदालतमा गरेको बकपत्र एवं अदालतमा निवेदन दिर्इ गरेको सनाखतको व्यहोरामा एकरूपता नभई पृथक व्यहोरा उल्लेखन भइरहेको अवस्थाले जाहेरवाला नै आफ्नो भनाइमा अडिग नरहेको र जाहेरी पुष्टि गरी आफ्नो भनाइ खम्बिर गर्न सकेको पाइएन ।
४. रवि बराल र सचिन पोखरेलसँग मिति २०६५।११।४ र नवराज कार्कीसँग मिति २०६५।११।८ मा प्रतिवादीले गरेको लिखतमा रकम लिनुको प्रयोजन वैदेशिक रोजगारमा पठाउने भन्ने उल्लिखित वाक्यांश प्रयोग भए पनि सो तथ्यलाई समर्थन गर्न निज प्रतिवादीले वैदेशिक रोजगारको व्यवसाय गरेको तथ्य पुष्टि हुने कुनै प्रमाण वादी पक्षबाट पेस दाखिल गरेको पाइँदैन । वैदेशिक व्यवसाय गर्ने कार्य प्रत्यक्षरूपमा एक्लै गर्ने कार्य नभई त्यसलाई अन्य Document ले समर्थित पुष्टि हुने गर्दछ । अपराधको सूचनाको रूपमा रहेको जाहेरी दरखास्त र सो जाहेरी समर्थनको लागि पेस भएको कागजको व्यहोरालाई निज जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गर्दाका अवस्था होस् वा कुनै कागज गर्दाका अवस्था होस् अघिपछिका भनाइमा एकरूपता र तादम्यता हुनु विश्वसनीय मान्न सकिने हुन्छ । आफ्नो भनाइमा एकरूपता भई अडिग र सार्थकता हुनुपर्नेमा अघि व्यक्त गर्दा वैदेशिक रोजगारीको लिखत भन्ने र पछि व्यक्त गर्दा लेनदेनको लिखत हो व्यहोरासम्म फरक हो भन्ने कथन व्यहोरा तात्विकरूपमा नै फरक प्रकृतिका व्यवहार देखिन आउँछ । एउटा कथन व्यहोरा देवानी दायित्व (Civil Liability) सँग सम्बन्धित छ र अर्को भनाइ फौजदारी दायित्व (Criminal Liability) सँग सम्बन्धित देखिन आएको अवस्थामा मुद्दा मामिलामा कुन दायित्व आकर्षित हुने हो भन्ने कुरा विधिशास्त्रीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण र विचारणीय हुने हुँदा सो दृष्टिले समेत हेर्नुपर्ने हुन्छ । एकातर्फ जाहेरवालाको कथनबाट नै पृथकपृथक दायित्वको अवस्था देखिएको र अर्कोतर्फ प्रतिवादीसमेत वैदेशिक रोजगारको व्यवसाय गर्ने गरेको पुष्टि नभएको र जाहेरवालालार्इ रोजगारीमा पठाउने गरी कुनै घरायसी लिखतबाहेकका अन्य आदान प्रदान र कारोबार (Transmit & Transaction) गरेकोसमेत पुष्टि हुने कागज र व्यवहार नभएको अवस्थामा सो जाहेरी व्यहोरामा वस्तुनिष्ठता नभई खण्डित भएको छ । अत: अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा वैदेशिक रोजगारको लागि रकम लिएको भन्ने जाहेरी व्यहोराको तथ्य नै शंकास्पद र सन्देहपूर्ण देखिन आएको अवस्थामा त्यस्तो शंकास्पद कथनमा आधारित व्यहोराको आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुने देखिँदा वैदेशिक रोजगार न्यायाधिकरणको फैसला मिलेकै देखिन आउँछ ।
५. तसर्थ ठोस प्रमाणको अभावमा वैदेशिक रोजगार ठगी जस्तो फौजदारी अपराधमा दोषी ठहर गर्न मनासिब नदेखिएकोले प्रतिवादी योगेन्द्रबहादुर थापाले आरोपित कसुरबाट सफाई पाउने ठहराएको वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६८।१।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझार्इ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सपना प्रधान मल्ल
इजलास अधिकृत: हर्कबहादुर क्षेत्री
इति संवत् २०७३ साल असोज ३० गते रोज १ शुभम् ।