शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९४३ - जिउ मास्ने बेच्ने

भाग: ६० साल: २०७५ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।१०।११

०७२-CR-००२४

 

मुद्दाः- जिउ मास्ने बेच्ने

 

पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला बलिया गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय कैलालीमा थुनामा बसेकी वर्ष ५० की ज्ञानुदेवी राना

विरूद्ध

विपक्षी / वादी : श्रीमती विमली वदेनीको जाहेरीले तत्कालीन श्री ५ को सरकार

 

मानिस बेचबिखन गर्ने, इच्छाविपरीत जबरजस्ती यौन कार्यमा संलग्न गराउने तथा वेश्यावृत्ति गर्न बाध्य पार्ने कार्यले मानिसको सम्मानपूर्वक बाँच्न पाउन मानव अधिकारमा समेत आघात पुग्दछ । सभ्य समाजमा मानिस बेचबिखन गर्ने कार्य मानवता विरूद्धकै घृणित कार्य मानिने ।

मानिस बेचबिखन गर्ने कार्य आपराधिक कार्य हो र मानिस बिक्रीपश्चात् वेश्यावृत्ति गर्न बाध्य पार्नु झन् जघन्य अपराध हुने । 

जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ तथा ४ (ग) ले स्वास्नी मानिसलाई कुनै पनि किसिमबाट बेचबिखन गर्न र वेश्यावृत्तिमा लगाउन नपाउने गरी निषेध गरेको छ । उक्त कानूनी प्रावधानले स्वास्नी मानिसलाई बेचबिखन गरेमा वा वेश्यावृत्तिमा लगाएमा कसुर हुने स्पष्ट उल्लेख गरेको देखिँदा विधिले शासित मुलुकमा यस्ता घृणित तथा अमानवीय दूष्कार्यहरू क्षम्य हुन नसक्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री किरण कुमारी गुप्ता

विपक्षी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३

 

सुरू तहमा फैसला गर्ने:- 

मा. जिल्ला न्या. श्री नारायणप्रसाद धिताल

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री नरबहादुर शाही

 

फैसला

न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार रहेको छः-

मिति २०५५।०४।१२ गते म तथा मेरी साथी राजु वदेनी आफ्नो दाजुको घर जाने सिलसिलामा थिरू रानाको घरमा बास बसेका र ऐ. १३ गते निज थिरू राना, ज्ञानुदेवी राना र कोकिला वदेनीले हामी दुई जनालाई धनगढी फिल्म हेर्न जाउँ भनी लगेकोमा निजहरूले धनगढीबाट हाम्रा इष्टमित्र बम्बैमा छन् घुम्न जाउँ भनी प्रलोभनमा पारी ललाई फकाई म जाहेरवाली तथा मेरी साथी राजु वदेनीलाई बम्बै कमाटीपुरको वेश्यालयमा पुर्‍याई भारू ५०,०००।- का दरले बिक्री गरेका हुन् । वेश्या गरेको सहन गर्न नसकी १० महिनापछि म भाग्न सफल भएकी र मेरो साथी राजु बदेनी सोही वेश्यालयमा भएकीले उल्लिखित मानिसहरू माथि कारवाही गरिपाउँ भन्ने जाहेरी । 

थिरू राना, ज्ञानुदेवी राना, र कोकिला वदेनीले मलाई र मेरो साथी राजु वदेनीलाई भारत बम्बैको कमाटीपुरमा लगी भा.रू. ५०,०००।- का दरले बिक्री गरेका र वेश्यालयकी मालिकनी राधाले हाम्रो इच्छा विरूद्ध वेश्यावृत्तिमा जबरजस्ती लगाएकी र म वेश्यावृत्ति कार्यबाट भाग्न सफल भएकी र पीडित साथी राजु वदेनी हालसम्म पनि सोही वेश्यालयमा छन् भन्ने पीडित बिमली वदेनीले गरेको बयान कागज । 

मेरी बहिनी ज्वाइँ तथा छोराहरू समेत बम्बैमा नोकरी गर्ने भएकोले बहिनी कोकिला बिरामी भई निजलाई औषधी उपचार गराउन २०५५।०४।१२ गते जाहेरवाली विमली, निजको आमा र राजु वदेनी मेरो घरमा आई हामीसँग बम्बै घुम्न जाने भनेकाले २०५५।०२।१३ गते थिरू राना, बहिनी कोकिला वदेनी, बिमली वदेनी र राजु वदेनीसमेत भारतको बम्बैमा पुगी छोरी ज्वाइँहरू सेते वादीको कोठामा बस्यौं । त्यसपछि छोरा थिरूबहादुर र ज्वाइँसहितले निजहरू दुवैलाई एउटा गेष्ट हाउसमा प्रतिमहिना रू.५,०००।- तलब दिने गरी नोकरी व्यवस्था गरेको कुरा भनेका थिए भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानुदेवी रानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

म र छोरी औषधी उपचार गर्न भारतको बम्बै जाने बेलामा ज्ञानुदेवी राना, थिरू राना जाने निश्चित भइसकेपछि जाहेरवाली विमली वदेनी, निजकी आमा र राजु वदेनीलाई ज्ञानुदेवी रानाको घरमा आई निज विमलीकी आमा त्यहीँ दिदीकै घरमा बस्ने र विमली वदेनी र राजु वदेनी हामीसँग बम्बै जाने सल्लाह गरी बम्बै गयौं । जाने खर्च निजसँग नभएकाले हामीले हालेका हौं, बम्बै पुगेपछि बहिनी ज्वाइँ सेते वादी र थिरू रानाले निजहरूलाई एउटा गेष्ट हाउसमा पुरूषहरूसँग यौन सम्पर्क गर्ने र सोबापत मासिक रू.५,०००।- का दरले तलब लिने गरी निज विमली र राजुलाई नोकरी लगाई दिएका र हालसम्म नोकरी गर्दै थिए, भन्नेसमेत व्यहोराको प्रतिवादी कोकिला वदेनीको अधिकारप्राप्त अधिकारीमा गरेको बयान कागज । 

मिति २०५५।०४।१२ गते विमली वदेनी र निजकी आमा राजु घुम्न भलका बजारमा ज्ञानु राना मगरको घरमा आएका र सोही १३ गते ज्ञानुदेवी राना, कोकिला वदेनी र थिरू राना औषधी उपचारको लागि भारत बम्बैमा जाने तयारी भएको हुँदा विमलीले म पनि बम्बै जान्छु भनी बम्बै गई सेते वादीको डेरामा बस्यौं त्यहाँ पुगेपछि मेरो प्रेमवाला केटा नभेटाएपछि मलाई काममा लगाई दिनु भनेकीले सेते वादी र थिरू रानाले एउटा गेष्ट हाउसमा मासिक रू.५,०००।- मा काममा लगाई दिँदा १ महिनासम्म यौन सम्पर्क राख्ने काम गर्दा होटल मालिकले खाना र लुगा मात्र दिएको र मेरो पूरानो प्रेमी जितेन्द्रसँग भेट भएकोले निजसँग गएकी हुँ, हामीलाई रू.५०,०००।- मा बिक्री गरेको होइन भन्नेसमेत व्यहोराको पीडित राजु वदेनीको बयान । 

म बम्बैमा वाचमेनको काम गर्दथें । गेष्ट हाउस घुम्न जाँदा मैले चिनेकी र पहिला पनि प्रेम बसेकी राजु वदेनीलाई देखी चिनीसकेपछि विवाह गरौं भनेकोमा निजले गेष्ट हाउस छाडी मसँग विवाह गरेकी हुन निजको लोग्ने लाल वादी पनि त्यहीँ नै थियो । निजहरू बिक्री भएका होइनन्, भन्नेसमेत व्यहोराको जितेन्द्र वादीको कागज । 

मिति २०५५।४।१२ गते मेरी छोरी विमली वदेनी तथा राजु वदेनी र म तिनै जना ज्ञानुदेवी रानाको घरमा आएर भोलिपल्ट निजहरू धनगढी घुम्न जाउँ भनी हामीलाई ललाई फकाई ल्याएका र पछि विभिन्न प्रलोभन दिई बम्बै लगी भा.रू. ५०,०००।- का दरले वेश्यालयमा बिक्री गरेको हो, म १० महिनापछि भाग्न सफल भएकी हुँ, भनी छोरी विमलीले भनेकी थिइन् भन्नेसमेत व्यहोराको पदमी भन्ने सीमा वदेनीको कागज । 

मिति २०५५।०४।१३ गते ज्ञानुदेवी राना, थिरू राना र कोकिला वदेनीसँग जाहेरवाली विमली वदेनी र राजु वदेनी आफ्नो खुशीका साथ भारतको बम्बै गएका हुन् निजहरू गेष्टहाउसमा नोकरी गर्दछन् । नोकरी सेते वादीले लगाई दिएको हो भन्ने कुरा सुनी थाहा पाएको हौ, भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइ । 

ज्ञानु रानासमेतसँग सल्लाह गरी बम्बै घुम्न गएको र होटलमा काम गरेको हो, बिक्री गरेजस्तो लाग्दैन भन्ने पीडितमध्ये राजुदेवी वदेनीको बयान, विमली र राजुसँग बम्बैमा भेट भयो, तिनीहरूले मासिक रू.५,०००।- तलब लिने गरी गेष्टहाउसमा वेश्यावृत्ति गरेका रहेछन् भन्ने जितेन्द्र वादीको कागजलगायतका संकलित आधार प्रमाणबाट पीडित विमली वदेनी र राजु वदेनीलाई धनगढी घुम्न जाउँ भनी फकाई बेचबिखन गर्ने उद्देश्यले भारतस्थित बम्बै कोठीमा लगी नोकरी गर्ने भनी झुक्याई मासिक रू.५,०००।– पाउने भनी वेश्यावृत्तिको काममा लगाएकाले प्रतिवादी थिरू बहादुर राना मगर, ज्ञानु राना, कोकिला नेपाली र सेते वादीसमेतले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ग) बमोजिम कसुर अपराध गरेको देखिँदा निजहरूलाई ऐनको दफा ८(३) अनुसार सजायको मागदाबी लिइएको अभियोग पत्र । 

मेरो छोरा बम्बैमा नोकरी गरी बस्ने भएकाले उपचार गराउन बम्बै जान लाग्दा प्रतिवादीमध्येकी कोकिला वदेनीले मैले पनि उपचार गराउनु छ, म पनि जान्छु भनेकीले हुन्छ सँगै जाउँ भन्दा विमली वदेनी र राजु वदेनीले हामी पनि तपाइँसँगै जान्छौ भन्दा हामीले निजहरूलाई सँगै साथ लैजान नखोज्दा विमली वदेनीको आमाले लैजाउ छोरीहरू घुमेर आउँछन् भनेकीले हुन्छ भनी बम्बैसम्म लगी दिएका हौं, हामी बम्बैमा उपचार गराएर फर्किँदा विमली र राजुलाई घर जाने हैनौ भन्दा हामीहरू अहिले घर जाँदैनौ, तिहारमा मात्र आउँछौं भनेकाले छोडेर आएका हौं, विमलीको लोग्ने गएर विमलीलाई चैत्रमा घर ल्याए राजुले राजापुर घर भई भारतमा नोकरी गरी बस्ने जितेन बहादुरसँग विवाह गरेकी हुन, हामीले जाहेरवालीहरूलाई बिक्री गरेका होइनौं भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानुदेवी रानाले अदालतमा गरेको बयान । 

म पेटको अल्सरको बिमारी भएकोले औषधी उपचार गराउने उद्देश्यले भारतमा दिदी भिनाजुसमेत भएकाले ज्ञानुदेवीसँग बम्बै गएकी हुँ, राजु वदेनी र विमली वदेनी मेरी बहिनी नाताका मानिस भएकाले निजहरूकी आमाले राजु र विमलीलाई बम्बैमा लगी देउ भनेकीले हामीसँग निजहरू बम्बै गएकी हुन् । हामी उपचार गराएर घर फर्किन लाग्दा निजहरूलाई घर जाउँ भन्दा निजहरूले तपाइँहरू जानुहोस् हामी दशैं, तिहार मान्न आउँला भनेकीले उनीहरूलाई बम्बैमा नै छोडेर हामी घर आएका हौं, हामीले कसैलाई बिक्री वितरण गरेको छैनौं भन्नेसमेत व्यहोराको प्रतिवादी कोकिला वदेनीले अदालतमा गरेको बयान । 

२०५५।०४।१६ गते प्रतिवादी ज्ञानुदेवी राना मेरो घर पसल धनगढीमा आएका थिए, निजका साथमा मैले तत्काल नचिनेका कोकिला, जाहेरवाली विमली र राजु वदेनी साथमा थिए, मैले ज्ञानुदेवीलाई तपाइँहरू कहाँ जान लाग्नुभयो भन्दा औषधी उपचारको लागि बम्बै जान आएको हुँ, कोकिला पनि साथै छ, विमली र राजुको बम्बैमा सेते वादी भन्ने दाजु छ त्यसलाई भेट्न जान्छु भनी भनेकाले साथै लागी आएका हुन् भनी भनेको थिए, तिनीहरूलाई ज्ञानुदेवीसमेतले भारतमा लगेर बिक्री गरेको हैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी रामदास चौधरीको बकपत्र । 

प्रतिवादीहरू थिरबहादुर राना मगर र सेते वादीको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबी राखी दिने ठहर्छ । अन्य प्रतिवादीहरू ज्ञानुदेवी तथा कोकिला वदेनीलाई जनही १२ (बाह्र) वर्ष कैद हुने ठहर्‍याएको कैलाली जिल्ला अदालतको फैसला ।

वादी दाबी पुष्टि नभएको अवस्थामा जीउ मास्ने बेच्ने (नियन्त्रण) ऐन, २०४३ बमोजिम प्रतिवादीले निर्दोषिताको प्रमाण पुर्‍याउन पर्ने अवस्था होइन । साथै प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम जुन पक्षले जुन कुराको जिकिर लिन्छ सो कुरा सोही पक्षले नै पुष्टि गर्नु पर्ने भएकाले प्रस्तुत घटनाको प्रमाण पुष्टि गर्न नसकेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणको न्यायिक मूल्याङ्कन नै नगरी भएको फैसला बदर गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानुदेवी रानाको पुनरावेदन पत्र ।

यसमा सुरू कैलाली जिल्ला अदालतबाट मिति २०५९।०२।०४ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.वं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, दिपायललाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, दिपायलको आदेश ।

प्रतिवादीहरूलाई जनही १२(बाह्र) वर्ष कैद सजाय हुने ठहर्‍याई भएको कैलाली जिल्ला अदालतले फैसला सदर गरेको पुनरावेदन अदालत, दिपायलको फैसला ।

अनुसन्धान र अदालत दुवै ठाउँमा इन्कारी रही साक्षीले हाम्रो इन्कारी बयानलाई समर्थन गरी गरेको बकपत्र तथा पीडित भनिएकी जाहेरवाली तथा अर्की पीडित भनिएकी राजु वदेनीको कथन एकआपसमा बाझिएको अवस्थामा सम्पूर्ण कागज प्रमाणको न्यायिक ढंगबाट व्याख्या विश्लेषण नगरी, न्यायिक मूल्याङ्कन नगरी भए गरेको फैसला बदर गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ज्ञानुदेवी रानाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सुरू तथा रेकर्ड मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी ज्ञानुदेवी रानाको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री किरण कुमारी गुप्ताले पीडित भनिएकी राजुदेवीले नोकरी गर्ने भनी आफूखुसी गएको भनेसमेतबाट प्रतिवादी ज्ञानुदेवी राना निर्दोष भएको पुष्टि भएको हुँदा सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, दिपायलको फैसला उल्टी गरी आरोपित कसुरबाट सफाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब, कैलाली जिल्ला अदालतबाट वादी दाबीबमोजिम कसुर ठहर्‍याई भएको फैसला सदर गरेको पुनरावेदन अदालत, दिपायलको फैसला मिलेको छ छैन ? र प्रतिवादी ज्ञानुदेवी रानाको पुनरावेदन जिकिर पुग्नसक्छ सक्दैन ? भनी निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, विमली वदेनी तथा राजु वदेनी दाजुको घरमा जान भनी हिँडेका र रात परेकोले प्रतिवादीमध्येका थिर बहादुरको घरमा बास बसेका, थिरबहादुर आफ्नो आमालाई औषधी उपचार गराउने सिलसिलामा बम्बै लैजाने कुरा चल्दा यी दुवै पीडितलाई पनि बम्बै घुम्न जाने भनी प्रलोभन देखाएको कारणबाट बम्बै लगी बिक्री गरी वेश्यावृत्तिमा लगाएको भन्ने पीडित विमली वदेनीको किटानी जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू थिरबहादुर राना मगर, ज्ञानुदेवी राना, कोकिला नेपाली र सेते वादीसमेतले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ को (ग) बमोजिमको कसुर अपराध गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा ८(३) अनुसार सजाय मागदाबीसहितको अभियोग रहेकोमा सुरू कैलाली जिल्ला अदालतबाट प्रतिवादीहरू ज्ञानुदेवी राना र कोकिला नेपालीलाई कसुरदार ठहर्‍याई जनही १२ वर्ष कैद सजाय हुने ठहर्‍याएउपर प्रतिवादी ज्ञानुदेवी रानाको पुनरावेदन परी पुनरावेदन अदालत, दिपायलले कैलाली जिल्ला अदालतको फैसला सदर गरेको र सो फैसलाउपर प्रतिवादी ज्ञानुदेवी रानाको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । 

३. प्रतिवादी ज्ञानुदेवी राना आफू बेकसुर रहेको जिकिरतर्फ विचार गर्दा, यी प्रतिवादीउपर पीडित विमली वदेनीको किटानी जाहेरी परेको र उक्त किटानी जाहेरीलाई समर्थन हुने गरी निज जाहेरवालीले यी प्रतिवादीसमेतले घुम्न जाने प्रलोभन देखाई कैलालीको धनगढी हुँदै बम्बै पुर्‍याई वेश्यालयमा लगी यो होटल हो, यहाँ भाडा वर्तन माझ्नु पर्छ, मासिक रू.५,०००।– तलब पाउँछ भनी छोडेर गएको र पछि घर मालिकले तिमीहरूलाई रू.५०,०००/- (पचास हजार) मा बेची गएका हुन् भनी जबरजस्ती कुटपिट गरी वेश्यावृत्ति गर्न बाध्य बनाएको भनी पीडित विमली वदेनीले बयान कागज गरेको देखिन्छ । यी प्रतिवादी ज्ञानुदेवी राना स्वयम्‌ले पनि पीडित विमली वदेनी आफूसँगै धनगढी हुँदै बम्बैसम्म गएको र सेते वादीले गेष्टहाउसमा यौनधन्दा गर्ने काम लगाएको हो भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको पाइन्छ भने अदालतमा समेत पीडितहरू आफूहरूसँगै साथमा लागि बम्बै गएको हो भनी यी प्रतिवादीले उल्लेख गरेको देखिन्छ अर्कातर्फ राजु वदेनीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गर्दा आफू पीडितहरूलाइ बिक्री गरेको नभनेपनि परपुरूषसँग यौन सम्बन्ध राख्ने काममा लगाएको हो भनी उल्लेख गरिदिएबाट पीडित विमली वदेनी र राजु वदेनी यी प्रतिवादीसमेतको सँगसाथमा बम्बैसम्म गएको र गेष्टहाउसमा नोकरी पाएको भन्ने उल्लेख गरी यी दुई पीडित किशोरीहरूको बारेमा सोध खोज नगरी यी प्रतिवादी ज्ञानुदेवी राना फर्की आएको देखियो ।

४. पीडितहरूलाई यी प्रतिवादी ज्ञानुदेवी रानासमेतले आफ्नै खर्चमा घुम्न जाने बहाना बनाई प्रलेाभनमा पारी पीडितलाई धनगढी हुँदै बम्बै पुर्‍याई निजहरूका आफ्ना नजिकका मानिसहरूको जिम्मा लगाउनुको सट्टा सेते वादीको जिम्मा लगाई सेते वादीले पीडितलाई होटल हो भनी राखी झुक्यानमा पारी मासिक रू.५,०००।– तलब आउने नोकरी हो भनी यी प्रतिवादीसमेतको मिलेमतो र योजनामा पीडित विमली वदेनीलाई बिक्री गरी जबरजस्ती यौनकार्यमा संलग्न गराएको देखियो । मानिस बेचबिखन गर्ने, इच्छाविपरीत जबरजस्ती यौन कार्यमा संलग्न गराउने तथा वेश्यावृत्ति गर्न बाध्य पार्ने कार्यले मानिसको सम्मानपूर्वक बाँच्न पाउन मानव अधिकारमा समेत आघात पुग्दछ । सभ्य समाजमा मानिस बेचबिखन गर्ने कार्य मानवता विरूद्धकै घृणित कार्य मानिन्छ । मानिस बेचबिखन गर्ने कार्य आपराधिक कार्य हो र मानिस बिक्रीपश्चात् वेश्यावृत्ति गर्न बाध्य पार्नु झन् जघन्य अपराध हो । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ तथा ४ (ग) ले स्वास्नी मानिसलाई कुनै पनि किसिमबाट बेचबिखन गर्न र वेश्यावृत्तिमा लगाउन नपाउने गरी निषेध गरेको छ । उक्त कानूनी प्रावधानले स्वास्नी मानिसलाई बेचबिखन गरेमा वा वेश्यावृत्तिमा लगाएमा कसुर हुने स्पष्ट उल्लेख गरेको देखिँदा विधिले शासित मुलुकमा यस्ता घृणित तथा अमानवीय दुष्कार्यहरू क्षम्य हुन सक्दैनन् । जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(१) ले “कुनै स्वास्नी मानिसलाई निजको अभिभावक वा नजिकको नातेदारबाहेक अन्य कसैले विदेश लैजाने लागेकोमा बेचबिखन गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको हो भन्ने उजुर परेमा त्यस्तो उद्देश्यले लगेको होइन भन्ने कुराको प्रमाण अभियुक्तले पुर्‍याउनु पर्ने छ" भन्ने व्यवस्था गरेको  पाइन्छ । उक्त व्यवस्थाअनुसार निज प्रतिवादी ज्ञानुदेवी रानाले उक्त कसुर अपराध गरेको होइन भनी दाबी लिएपछि सो कसुरमा आफ्नो निर्दोषिताको दाबी प्रमाणित गर्ने भार निज प्रतिवादी स्वयम्‌मा नै रहन्छ । तर प्रस्तुत मुद्दामा संरक्षकविनाका यी दुई किशोरीहरूलाई बम्बैमा साथमा लिई जानु, तत्‌पश्चात् निजहरू रहने बस्ने सुरक्षित बसोबास आदिको ख्याल नगर्नु, आफूबाट छुट्टिएपछि कहाँ के काम गर्दै छन् भन्नेतिर सोधखोज गरेको नदेखिनुसमेतबाट यी प्रतिवादी ज्ञानुदेवी राना उक्त कसुरमा संलग्न रहेको देखिन आई निज प्रतिवादीले आफूमाथि लागेको आरोपको खण्डन कुनै वस्तुनिष्ठ ठोस सबुत प्रमाणसमेत पेस गर्नसकेको नदेखिएको र मिसिल संलग्न प्रमाणहरूले निजले आरोपित कसुर गरेको पुष्ट्याई गरिरहेको अवस्थामा यी पुनरावेदक प्रतिवादी निर्दोष रहेको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

५. अतः निज प्रतिवादीउपर पीडितको किटानी जाहेरी, सो जाहेरीलाई समर्थन हुने गरी निज जाहेरवालीको बयान कागज, राजु वदेनीको बयान र प्रतिवादीहरू स्वयम्‌को बयानका साथै मिसिल संलग्न अन्य प्रमाणहरू समेतबाट निज प्रतिवादीसमेत भई पीडित विमली वदेनीलाई झुक्यानमा पारी बम्बै लगी बेची इच्छाविपरीत जबरजस्ती यौन कार्यमा लगाएको पुष्टि हुन आई अभियोग मागदाबीबमोजिम यी प्रतिवादीले जिउ मास्ने बेच्ने कार्य तत्कालीन जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को कसुर गरेकै देखिँदा सोही ऐनको दफा ८(३) बमोजिम निज प्रतिवादी ज्ञानुदेवी रानालाई १२(बाह्र) वर्ष कैद सजाय हुने ठहर्‍याई भएको सुरू कैलाली जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, दिपायलको मिति २०७१।१२।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी ज्ञानुदेवी रानाको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृत: गिता श्रेष्ठ

इति संवत् २०७४ साल माघ ११ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु