निर्णय नं. ९९४४ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७३।८।२३
मुद्दाः कर्तव्य ज्यान
०७३-CF-०००२
पुनरावेदक / प्रतिवादी : जिल्ला गोरखा घ्याल्चोक गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय गोरखामा थुनामा रहेका शेरबहादुर गुरूङ
विरूद्ध
प्रत्यर्थी / वादी : लालबहादुर गुरूङको जाहेरीले नेपाल सरकार
०७३-CF-०००३
पुनरावेदक / वादी : लालबहादुर गुरूङको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : जिल्ला गोरखा घ्याल्चोक गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय गोरखामा थुनामा रहेका शेरबहादुर गुरूङ
साधकको रोहबाट संयुक्त इजलासबाट भएको फैसला बदर नभएसम्म पुनरावेदनहरूको सुनुवाइ गर्न नमिल्ने र साधकको रोहमा भएको फैसलालाई समान तहको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने, तसर्थ यस विषयमा पूर्ण इजलासबाट नै सुनुवाइ हुन उपयुक्त हुने भनी व्यक्त भएको राय मनासिब देखिने ।
साधकको रोहबाट संयुक्त इजलासबाट फैसला भइसकेको र वादी प्रतिवादी दुवै पक्षबाट परेको पुनरावेदन बाँकी नै रहेको अवस्थामा पुनः सोही विषयमा प्रमाणको मूल्याङ्कन गरी फैसला गर्नुपर्ने हुँदा साधकको रोहमा संयुक्त इजलासले गरेको फैसला कायम रहन सक्ने अवस्था नहुँदा बदर हुने ।
(प्रकरण नं.४)
कसैलाई मारी तत्कालै झुण्ड्याएकोमा रातो दाग हुने अर्थात् Ligature mark देखिनु स्वभाविक हुने ।
कुनै पनि पुरूषले आफ्नी श्रीमतीले परपुरूषसँगको संसर्गबाट सन्तान जन्मेको आरोप लगाउँछ र त्यही निहुँमा झगडा गर्दछ भने निजको रिस एवं आक्रोस सामान्य छैन भन्ने स्वभाविक अनुमान रहन्छ । यस्तो अवस्थामा श्रीमतीको घरभित्रै अस्वाभाविकरूपमा मृत्यु हुन्छ । निजबाहेक घरमा साबालक अन्य कोही छैन भने निज नै शंकाको स्वभाविक केन्द्र बन्ने हुँदा श्रीमतीको मृत्यु स्वभाविक हो भनी पुष्टि गर्ने दायित्व निजमा नै रहने ।
(प्रकरण नं.७)
घटनापूर्व लामो समयदेखि लोग्नेस्वास्नीबीच बेमेल र झगडाको स्थिति रहेको छ । गाउँलेहरू जुटेका र झगडा मिलाएका छन् । वारदातकै दिन साँझमा पनि झगडा भएको छ । सुत्नुअघि झगडा भएको थियो भनी प्रतिवादीले अदालतमा नै स्वीकार गर्छ, सोही रात श्रीमती मर्छिन् र शव परीक्षण प्रतिवेदनमा चोट देखिन्छन् । घटनास्थलमा पहिलो पटक पुग्ने छोरीलाई प्रतिवादीले आमा बुबाको झगडा भएको कसैलाई नभन्नु पनि भन्छ भने अब घाँटीमै पासो लगाएको प्रत्यक्षदर्शी छैन भन्ने आधारमा परिस्थितिजन्य प्रमाणहरूलाई अस्वीकार गर्न नमिल्ने ।
(प्रकरण नं.८)
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गणेशबहादुर गुरूङ तथा विद्वान् अधिवक्ता श्री कमलविक्रम खड्का
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताद्वय श्री चन्द्रकुमार पोखरेल तथा श्री सोमाकान्ता भण्डारी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०४८
प्रमाण ऐन, २०३१
सुरू फैसला गर्नेः
मा.जि.न्या. श्री प्रभा बस्नेत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री खेमराज शर्मा
मा.न्या. श्री शिवराज अधिकारी
सर्वोच्च अदालतमा फैसला गर्नेः
स. प्रधानन्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री कमलनारायण दास
फैसला
न्या. डा. आनन्दमोहन भट्टराई : यसमा यस अदालतको संयुक्त इजलासबाट मिति २०७३/०३/२१ मा सर्वोच्च अदालत नियमावली २०४९, को नियम ३ (१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने भएका आदेशानुसार पूर्ण इजलासको दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
मेरो बहिनी घइली भन्ने कुमारी गुरूङलाई ज्वाइँ शेरबहादुर गुरूङले दिनहुँ गाली गलौज, कुटपिट, झैझगडा गर्दै आइरहेकोमा मिति २०६५।१२।११ गते राति निज बहिनीलाई ज्वाइँले बायाँ पट्टिको स्तनमा निलडाम हुने गरी कुटपिट गरी बेहोस बनाई झुण्डी मरेको जस्तो बनाउन घरमा कोही नभएको मौका पारी घाँटीमा नाम्लाको डोरीको पासो लगाई झुण्ड्याई कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको लालबहादुर गुरूङको जाहेरी दरखास्त ।
जिल्ला गोरखा धयाल्चोक गा.वि.स.वडा नं. ६ स्थित शेरबहादुर गुरूङको घर भर्याङको बीच भागमा धुरीबलोमा नाम्लाको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको घैली भन्ने कुमारी गुरूङको लास, सो लासको बायाँ पट्टिको स्तन सुन्निएको अवस्थामा रहेको र दायाँ कुमको भागमा ठोकिएको जस्तो रातो डाम रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा लास जाँच मुचुल्का ।
शेरबहादुर गुरूङ मेरो बुबा हुनुहुन्छ । निज बुबा रोजगारको सिलसिलामा पहिला २ वर्ष कतारमा बस्नुभएको र पछि १ वर्ष जति साउदी अरबमा बसी घरमा आउनु भएको १४ महिना जति भयो । बुबा घरमा आएपछि बुबा विदेशमा रहँदा कान्छो भाइ महेन्द्र गुरूङको जन्म भएकोले सोही विषयलाई लिएर दिनहुँ आमालाई गाली गलौज गर्ने जोसँग बोल्यो त्यसैलाई लाञ्छना लगाउने गर्नुहुन्थ्यो । बुबाले जति गाली गलौज गरे पनि आमाले सहँदै आउनु भएको र सहनै नसकी २ पटकसम्म गाउँ समाजले समेत कागज गरी मिलाएको पनि थियो । यस्तोमा मिति २०६५।१२।११ गते साँझ खाना खाने समयमा आमाले आज पनि मलाई बुबाले गोठमा गाली गर्नुभएको थियो भनेकी थिइन् । साँझ खाना खाई म र मेरो साथी कौशिला गुरूङ घरसँग सटिएको अर्को कोठामा सुत्न गयौं । बुबा र आमा झैझगडा गर्दै थिए । राति बुबाले मलाई उठाउनु भएकोले म उठ्दा रातको २ बजेको थियो । बुबाले आमा झुण्डी मरिछन् भनेकोले गई हेर्दा घरको धुरीबलोमा नाम्लाले घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा देखेको हुँ । आमाको कुममा निलडाम र स्तन सुनिएको थियो । मेरो आमा कुमारी गुरूङ आफैँ झुण्डी आत्महत्या गरेको नभई बुबाले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको ओमकुमारी गुरूङको कागज ।
मृतक घैली भन्ने कुमारी गुरूङको मृत्यु Probable cause of death hanging को कारण भएको भन्नेसमेतको शव परीक्षण प्रतिवेदन ।
मृतक कुमारी गुरूङ मेरो आमा हुनुहुन्छ र शेरबहादुर गुरूङ बुबा हुनुहुन्छ । म निजको माहिली छोरी हुँ । बुबा रोजगारीको क्रममा २ पटकसम्म विदेश जानु भई हाल घरमा आई बस्नु भएको छ । बुबा घरमा आएदेखि कान्छो भाइलाई यो मेरो छोरा होइन भन्दै आमालाई गाली गलौज एवं कुटपिट गर्ने र आमा र कान्छो भाइलाई नमारेसम्म घरमा शान्ति हुँदैन भन्नु हुन्थ्यो । बुबाले गरेको व्यवहार सहनै नसकी गाउँ समाजले २ पटकसम्म कागज गरी मिलापत्रसमेत गराएका थिए । मिति २०६५।१२।११ गते दिउँसो सबै जना काममा गएका र मैले घरमा भाइ हेरी बसेकी थिएँ । साँझ सबै जना घरमा आए, मैले खाना बनाएपछि खाना खाइयो र म र दुई बहिनी गाउँमा सुत्न गयौं । घरमा सानो भाइ, आमा, बुबा, बहिनी र निजको साथी थिए । आमा बाहिर बस्नुभएको थियो । बुबाले आमालाई गाली गरी रहनु भएको थियो । सोही राति साहिँली बहिनी म सुतेको ठाउँमा आई बोलाएकीले म उठी घडी हेर्दा २.१५ बजेको रहेछ । बहिनीले आमा झुण्डिएर मरिछन् भनेकीले म घरमा आई हेर्दा आमा घरको माथिल्लो तलामा जाने भर्याङमाथि धुरीबलोमा नाम्लाको पासो घाँटीमा लगाई झुण्डी मरेको अवस्थामा देखेकी हुँ । आमाको शरीरमा निलडामहरू थिए । त्यसपछि बुबा शेरबहादुर गुरूङले आमा बुबाको झगडा भएको कुरा कोही कसैलाई नभन्नु भनेका थिए । विगतमा आमालाई बुबाले गरेको दुर्व्यवहार, झगडा, कुटपिटका कारण बुबाले आमालाई कुटपिट गरी अचेत बनाई पछि झुण्ड्याई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको देउमाया गुरूङको कागज ।
म रोजगारको लागि साउदी अरब गएको अवस्थामा ८ महिनामा कान्छो छोरा महेन्द्र गुरूङको जन्म भएकोले मैले शंका मानी विदेशबाट आएपछि श्रीमती कुमारी गुरूङलाई गाली गलौज कुटपिट गर्ने गरेको र रिसको आवेशमा नमारेसम्म शान्त हुँदैन भनेको हुँ । मिति २०६५।१२।११ गतेको साँझ श्रीमती र मेरो झगडा हुँदा मैले एक थप्पड गालामा हानेको र दुवै जनाको धकेला धकेल भएको हो । खाना खाएपछि म ढलानमा गई सुतेँ । तीन वटी छोरी गाउँमा सुत्न गएका हुन् । श्रीमती कान्छो छोरालाई लिएर भुइँतलामा सुतेकी थिइन् । राति २ बजेको समयमा पिसाब फेर्न बाहिर निस्कन खोज्दा भर्याङमाथि धुरीबलोमा नाम्लाको पासो घाँटीमा लगाई झुण्डी मरेको अवस्थामा श्रीमती कुमारी गुरूङलाई देखेकोले मैले साहिली छोरीलाई उठाई सो कुरा बताएपछि छोरीले अन्य छोरीलाई र गाउँलेहरूलाई खबर गरेकी हुन् । मैले श्रीमती कुमारी गुरूङलाई मारेको होइन, छोरीहरूले कुटपिट गरी अचेत बनाई कर्तव्य गरी मारेको भनी किन लेखाए र जाहेरीमा समेत मैले नै मारेको भनी किन किटानी जाहेरी दिए मलाई थाहा छैन । मैले श्रीमतीलाई कर्तव्य गरी मारेको होइन, छैन भन्नेसमेत बेहोराको शेरबहादुर गुरूङको बयान ।
म मिति २०६५।१२।११ गते साँझ घरबाट खाना खाई ओमकुमारी गुरूङको घरमा बस्न गएकी थिएँ । एकछिनभित्र बसेपछि ओम कुमारीको दिदी र बहिनीहरू गाउँमा सुत्न गएकोले म र ओमकुमारी पनि घरको अर्को कोठामा सुत्न जाँदा शेरबहादुर गुरूङले श्रीमतीलाई गाली गर्नुभएको थियो । राति ढोका बजाई शेरबहादुरले छोरीलाई बोलाएकोले ओमकुमारी उठी ढोका खोल्दा आमा झुण्डिएर मरिछन् भनेकोले मसमेत भई गई हेर्दा निज कुमारी गुरूङ माथिल्लो तलामा जाने भर्याङमाथि धुरीबलोमा नाम्लाको पासो घाँटीमा लगाई झुण्डी मरेको अवस्थामा देखेकी हुँ । पछि निजको शरीरमा निलडाम र बायाँ स्तन सुन्निएको अवस्थामा देखेकी हुँ । निज शेरबहादुर गुरूङले कान्छो छोरा मेरो होइन भनी पटकपटक श्रीमतीलाई कुटपिट गर्ने दुर्व्यवहार गर्दै आएकोले गाउँमा समाज राखी दुई पटकसम्म मिलाएका थिए । सोही विगतका कारणबाट निज शेरबहादुर गुरूङले श्रीमतीलाई कुटपिट गरी मारेपछि मरेको जस्तो बनाउन झुण्ड्याई दिएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको कौशिला गुरूङले गरेको कागज ।
मिति २०६५।१२।११ गते राति म आफ्नै घरमा सुतेको थिएँ । राति कुमारी गुरूङको घरमा रूवाबासी भएको आवाज सुनी थाहा पाई निजको घरमा जाँदा दिदी कुमारी गुरूङ झुण्डी मरेको भन्ने थाहा पाएँ । निज दिदी माथिल्लो तलामा जाने भर्याङमाथि धुरीबलोमा नाम्लोको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा देखेको हुँ । निजको बायाँ स्तनमा चोट र कुममा निलडामसमेत थियो । भिनाजु शेरबहादुर गुरूङ विदेशबाट घरमा आएदेखि कान्छो छोरो मेरो होइन भनी दिदीलाई गाली गलौज तथा कुटपिट गरी दुर्व्यवहार गर्दै आएका र निजहरूको ८/१० महिनादेखि बोलचालसमेत नभएको भन्ने थाहा पाएकी हुँ । निज भिनाजु शेरबहादुर गुरूङले दिदी र कान्छो छोरालाई नमारेसम्म घरमा शान्ति हुँदैन भनेको भन्ने सुनेकी हुँ । सोही कारणबाट दिदी कुमारी गुरूङलाई कुटपिट गरी अचेत अवस्थामा पुर्याई झुण्ड्याई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको गुठीमायाँ गुरूङले गरेको कागज ।
शेरबहादुर गुरूङ विदेश गएको अवस्थामा निजको कान्छो छोराको जन्म भएको थियो । निज विदेशबाट घरमा आएपछि कान्छो छोरो मेरो होइन भनी श्रीमतीसँग वादविवाद गरी कुटपिटसमेत गर्दै आएकोले निजको सम्बन्धमा गाउँ समाज राखी दुई पटकसम्म मिलापत्र गरी समझदारी कायम गरेको हो । त्यति गर्दासमेत निजले श्रीमतीलाई कुटपिट गर्न छाडेका थिएनन् । मिति २०६५।१२।१२ गते म गोरखा सदरमुकाममा थिएँ । गाउँमा कुमारी गुरूङ झुण्डी मरेको भन्ने खबर सुनी थाहा पाएको र लास पोष्टमार्टमको लागि गोरखा अस्पतालमा ल्याएकोले उक्त मृतक लास हेर्दा निजको बायाँ स्तनमा चोट लागि सुन्निएको, दायाँ कम्मरमा चोट लागेको देखेको हुँ । उक्त वारदातका दिनसमेत निज कुमारी गुरूङको श्रीमान् श्रीमतीबीच झैझगडा, वादविवाद भएको भन्ने थाहा पाएको हुँ । निज शेरबहादुर गुरूङले श्रीमतीलाई विगतका दिनहरूमा गर्दै आएको दुर्व्यवहार, हिंसा तथा लासको अवस्थालाई समेत हेर्दा निजले श्रीमतीलाई कुटपिट गरी घाइते बनाई झुण्ड्याई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्नेसमेत बेहोराको वीरबहादुर गुरूङले गरेको कागज ।
मृतक कुमारी गुरूङ मेरो भाइ बुहारी हुन् । भाइ शेरबहादुर रोजगारको लागि साउदी अरब गएकोले अरबबाट आएपछि कान्छो छोरा मेरो होइन अर्काको हो भनी श्रीमतीलाई गालीगलौज कुटपिट गर्ने भएकोले गाउँ समाजले दुई पटकसम्म मिलाई कागजसमेत गरी राखेको हो । त्यति गर्दासमेत निजले आफ्नो बानी भने छाडेका थिएनन् । मिति २०६५।१२।१२ गते अन्दाजी ३.०० बजेको समयमा भाइको घरमा होहल्ला, कराएको आवाज सुनी सोतर्फ जाँदा बुहारी झुण्डी मरेको भन्ने सुनेपछि भित्र गई हेर्दा माथिल्लो तलामा जाने भर्याङमाथि धुरीबलोमा नाम्लोको घाँटीमा पासो लगाई झुण्डी मरेको अवस्थामा देखेको र पछि प्रहरी आई हेर्दा निजको बायाँ स्तनमा चोट लागि सुन्निएको देखेको हुँ । निज भाइ बुहारी वारदातको साँझसमेत झैझगडा गरेको भन्ने थाहा पाएको हुँ । निज भाइ शेरबहादुरले श्रीमतीलाई कुटपिट गरी मार्यो वा आफैँ झुण्डी मरिन् सो कुरा म भन्न सक्दिन भन्नेसमेत बेहोराको पूर्णबहादुर गुरूङले गरेको कागज ।
मिति २०६५।१२।१२ गते बिहान म आफ्नै घरमा थिएँ । गाउँको कुमारी गुरूङ झुण्डी मरेको भन्ने सुनेकोले निजको घरमा गई हेर्दा निज घरको माथिल्लो तलामा जाने भर्याङमाथि धुरीबलोमा नाम्लोको घाँटीमा पासो लगाई झुण्डी मरेको अवस्थामा देखेको हुँ । वारदातको साँझसमेत झैझगडा गरेको कुरा सुनेको हुँ । निज शेरबहादुरले श्रीमती कुमारी गुरूङलाई कान्छो छोरा मेरो होइन, अर्कैको हो भनी गाली गलौज कुटपिट गर्ने भएकोले गाउँ समाजले दुई पटकसम्म मिलाएका हुन् । त्यति गर्दासमेत निजले आफ्नो व्यवहार भने छाडेका थिएनन् । निज शेरबहादुरले श्रीमतीलाई कुटपिट गरी झुण्ड्याई मारे वा आफैँ झुण्डी मरिन्, सो कुरा म यकिन भन्न सक्दिन भन्नेसमेत बेहोराको वीरबहादुर गुरूङले गरेको कागज ।
संकलित हुन आएको मिसिल संलग्न कागजातहरू अध्ययन गरी विचार गर्दा प्रतिवादी विदेशमा रहेको अवस्थामा जन्मेको कान्छो छोराको विषयलाई लिएर बारम्बार मृतकसँग झैझगडा भइरहने, झगडाको समयमा मृतक र कान्छो छोरालाई नमारेसम्म घरमा शान्ति हुँदैन भनी प्रतिवादीले भन्ने गरेको । श्रीमतीको मृत्युपश्चात् छोरीहरू ओमकुमारी र देउमायाँ गुरूङलाई बुबा आमाको झैझगडा कुटपिट भएको थियो भनी नभन्नु है भनेकोसमेत मिसिल संलग्न आधार प्रमाणहरूबाट देखिएको । आफ्नै श्रीमती कुमारी गुरूङलाई अचेत अवस्थामा पुर्याई नाम्लोले घाँटीमा पासो लगाई घरको धुरीबलोमा झुण्ड्याई मारेको कुरा बुझिन र पुष्टि हुन आएकोले निज प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर अपराधमा ऐ. को १३ (३) नं. बमोजिम सजाय हुन माग दाबी लिई मिसिल कागजात र प्रतिवादीलाई यसै अभियोग पत्रसाथ दाखिला गरेका छौं भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
मेरो घरको आर्थिक अवस्था कमजोर र घरमा बालबच्चा धेरै भएको हुँदा बालबच्चा पाल्नको लागि रोजगारीमा विदेश गएको थिएँ । विदेशमा कमाएको पैसा मैले जहान बच्चालाई घरमा पठाएको थिएँ । तर जति पठाएको भएपनि श्रीमती कुमारी गुरूङले पैसा पुगेन भनी रहन्थिन् । श्रीमतीले बियर रक्सी खाँदै हिँडेको, हाटबजार हिँड्ने गरेर पैसा स्वाहा गर्ने गरेको गाउँमा बुझ्दा थाहा भयो । घरको मुख्य मानिस यसो नगर, यसरी घर व्यवहार चल्दैन भनिरहन्थेँ । यस्तैमा २०६५ साल चैतको ११ गते बेलुकी म र मेरो श्रीमतीबीचमा झगडा ठाकठुक भएको, यस्तैमा खाना खाई सुतेकोमा रातको ३.०० बजे मलाई पिसाब लागि बाहिर निस्कँदा मेरो श्रीमती कुमारी गुरूङ भर्याङमाथिको धुरीबलोमा झुण्डी आत्महत्या गरी मरेकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर गुरूङले सुरू गोरखा जिल्ला अदालतमा गरेको बयान ।
मेरो बहिनी कुमारी गुरूङ झुण्डी मरेको होइन । यी प्रतिवादीले कुटपिट गरी, बेहोस अवस्थामा पारी झुण्ड्याएर मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको जाहेरवाला लालबहादुर गुरूङले गरेको बकपत्र ।
मैले कुटपिट गरेको देखेको होइन । आफैँ झुण्डिएको देखिएको पनि होइन । घाउहरू देख्दा कुटपिट गरी झुण्ड्याएको होकि भन्ने लाग्छ भनी प्रहरीमा कागज गर्ने कौशिला गुरूङ । सामान्यतया उसको विगतको क्रियाकलापको कारणले गर्दा यी प्रतिवादीले नै मृतकलाई कुटपिट गरी झुण्ड्याई मारेकोमा शंका लाग्छ भनेको हो र पछि सत्य बुझ्दै जाँदा निज प्रतिवादीले नै झुण्ड्याएको भन्ने लाग्दैन भन्ने प्रहरीमा कागज गर्ने वीरबहादुर गुरूङ । मृतकको घाउमा निलो थियो, त्यसकारण प्रतिवादीले मारी झुण्ड्याएको हो भनेकी हुँ भनी प्रहरीमा कागज गर्ने गुठी मायाँ गुरूङ । मेरो ममी घइली भन्ने कुमारी गुरूङलाई मारेर झुण्ड्याएको हो, मेरो ममीको ओठ र स्तनमा निलडाम भएको आधारमा बुबाले झुण्ड्याई मारेको भनेकी हुँ भनी प्रहरीमा कागज गर्ने देउमायाँ गुरूङले र मेरो बुबा शेरबहादुर गुरूङले मेरो ममीलाई झुण्ड्याएर मारेकोमा विश्वास लाग्छ भनी प्रहरीमा कागज गर्ने ओमकुमारी गुरूङसमेतले गरेको छुट्टाछुट्टै बकपत्र ।
भाइ शेरबहादुरको घरमा खलबल गरेको सुनी के भयो भनेर गई हेर्दा बुहारी झुण्डी रहेको अवस्थामा मैले देखेको हुँ । झुण्डियो वा मर्यो त्यो मलाई थाहा भएन भन्ने बेहोराको वादीका साक्षी पूर्णबहादुर गुरूङले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले आफ्नी श्रीमतीसँग झैझगडा कुटपिट गरी अचेत अवस्थामा पुर्याई नाम्लोले घाँटीमा पासो लगाई आफ्नै घरको धुरीबलोमा झुण्ड्याई मारेको पुष्टि हुन आई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले प्रतिवादी शेरबहादुर गुरूङलाई सोही महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको गोरखा जिल्ला अदालतको मिति २०६६।१२।१६ को फैसला ।
मिसिल संलग्न प्रमाण कागजहरूबाट मृतकलाई मैले झुण्ड्याएर मारेको हो भन्ने पुष्टि हुनसकेको छैन । ज्यानसम्बन्धी अपराधमा अपराध स्थापित हुनका लागि आपराधिक कार्य र आपराधिक मनसाय हुनुपर्नेमा सोको सर्वथा अभाव छ । यसरी मैले अभियोग दाबीबमोजिमको कसुर गरेको हो भन्ने नै पुष्टि हुन नसकेको अवस्थामा केवल अनुमानका भरमा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको भनी मलाई जन्मकैदको सजाय गर्ने गरी भएको गोरखा जिल्ला अदालतको फैसला निराधार र त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मैले अभियोग दाबीबाट सफाइ पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शेरबहादुर गुरूङको पुनरावेदन जिकिर ।
मृतककी छोरी ओमकुमारी गुरूङ र देउमाया गुरूङले पनि बाबु (यिनै प्रतिवादी) को कर्तव्यबाट आमा मरेको भनी किटानी रूपमा अदालतमा बकपत्र गरेका र मृतकको बायाँ स्तनको माथि सुन्निएको, पेटमा रगतको टाटा देखिएको र यिनै मृतकसँगको रिसइवीको कारण निजको कोखबाट जन्मिएको छोरा महेन्द्रलाई यी प्रतिवादीले आफ्नो छोरा होइन भनी भनेको अवस्थासमेतको यस्तो प्रमाणको विद्यमानतामा प्रतिवादीको इन्कारी मात्रले प्रतिवादी निर्दोष रहेछन् भनी भन्न नसकिने हुँदा पुनरावेदन जिकिर तथा पुनरावेदकतर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस बुँदासँग सहमत हुन सकिएन । अतः प्रतिवादी शेरबहादुर गुरूङलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुर अपराध गरेको पुष्टि हुन आएको भन्दै निजलाई जन्मकैदको सजाय हुने ठहर्याई गोरखा जिल्ला अदालतले मिति २०६६।१२।१६ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको मिति २०६७।८।१५ को फैसला ।
मृतकको शरीरमा घाउ चोट देखिएको, मौकामा बुझिएका ओमकुमारी गुरूङसमेतले यी प्रतिवादीले मृतक कुमारी गुरूङलाई कर्तव्य गरी मारेका हुन् भनी आफ्नो मौकाको बेहोरालाई पुष्टि हुने गरी अदालतमा बकपत्र गरेकोसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट यी प्रतिवादीले अभियोग माग दाबीबमोजिम कसुर अपराध गरेको स्वतः स्पष्ट भई प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्नुपर्नेमा जन्मकैद मात्र गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी शेरबहादुर गुरूङको पुनरावेदनमा सुरू गोरखा जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी यसै अदालतबाट फैसला भइरहेको परिप्रेक्ष्यमा प्रस्तुत नेपाल सरकारको पुनरावेदनसमेत सोही आधारमा सुरू गोरखा जिल्ला अदालतको मिति २०६६।१२।१६ को फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६७।९।११ को फैसला ।
साधक जाँचका लागि मिसिल पठाइएको भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको च.नं. १७६, मिति २०६८।४।१५ को पत्र ।
प्रतिवादी स्वयंले बयानमा स्वीकार गरेका तथ्यहरू, जाहेरी बेहोरा, जाहेरवालाको अदालतसमक्षको बकपत्र, अनुसन्धानका सिलसिलामा कागज गर्ने छोरीहरू ओमकुमारी र देउमायाको बकपत्र, घटनास्थल मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतका मालाकार रूपमा जोडिएका र ती तथ्यहरूबीच एक आपसमा सामञ्जस्य स्थापित भएको अवस्थामा यी प्रतिवादी शेरबहादुर गुरूङको इन्कारी बयानकै भरमा निजलाई निर्दोष भनी मान्न मिल्ने देखिएन । तसर्थ प्रतिवादी शेरबहादुर गुरूङले आफ्नै पत्नी कुमारी गुरूङलाई कुटपिट गरी झुण्ड्याई हत्या गरेको भन्ने पुष्टि हुन आएको हुँदा निजलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको १ नं. र १३(३) नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याएको सुरू गोरखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०६७।९।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको साधकको रोहमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८/११/२६ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा प्रतिवादीउपरको अभियोग दाबी लिइएको ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गर्नुपर्नेमा सो नगरी जन्मकैद हुने ठहर गरी भएको फैसला कानूनतः त्रुटिपूर्ण रहेको छ । साथै सुरू फैसलामा नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन जिकिरका सम्बन्धमा पुनरावेदन अदालत मौन रहेको छ । प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको तर्फबाट मिति २०६७/२/२ मा पुनरावेदन परेको र वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन गर्ने म्याद बाँकी रहेकोमा वादी नेपाल सरकारको तर्फबाट मिति २०६७/८/७ मा पुनरावेदन अदालत पोखरामा पुनरावेदन दर्ता गराएको परिप्रेक्ष्यमा दुवैतर्फको पुनरावेदन साथै राखी हेरी निर्णयमा पुग्नुपर्नेमा प्रतिवादीतर्फबाट परेको पुनरावेदनमा समेत सोही आधारमा सुरू गोरखा जिल्ला अदालतको मिति २०६६/१२/१६ को फैसला सदर हुने ठहरी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन जिकिर मौन रही भएको पुनरावेदन अदालतको मिति २०६७/९/११ को फैसला त्रुटिपूर्ण रहेको छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
मृतकको मृत्यु झुण्डिएर भएको हो भन्ने तथ्य शव परीक्षण गर्ने चिकित्सकको प्रतिवेदनमा अखण्डित रूपमा रहेको छ । मृतकको दायाँ कुमको भागमा ठोक्किएको जस्तो देखिएको कुराले मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने पुष्टि हुँदैन । बुझिएकी गुठिमायाले शंकाको भरमा मात्र पोल गरेको भएपनि मिसिल संलग्न कागज प्रमाणबाट निजको भनाई खण्डित भइरहेको छ । मेरा छोरीहरू ओमकुमारी र देउमायाले विगतमा मेरो मृतकसँग विवाद थियो भन्ने आधारमा केवल शंकाको आधारमा भनाई व्यक्त गरेको अवस्था रहेको छ । लास जाँच मुचुल्का र Postmortem Report मा समेत मृतकको शरीरमा ज्यान जान सक्ने कुनै गम्भीर घाउ चोट निलडामसमेत केही देखिएको छैन । Autopsy Report मा मृतकको शरीरमा देखिएको लक्षणका आधारमा Cause of death Hanging उल्लेख भएको छ । पुनरावेदन अदालत पोखराले मलाई सजाय गर्ने गरी सुरू गोरखा जिल्ला अदालतको फैसला सदर गरेको फैसला नमिलेकोले उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा न्याय प्रशासन ऐन, २०४८ को दफा १० तथा मुलुकी ऐन अ.बं. १८६ नं. बमोजिम साधक जाहेरी भई आएको अवस्थामा साधकको रोहबाट यस अदालतले निर्णय गरिसकेको अवस्थामा सोही न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत परिरहेको पुनरावेदनको सम्बन्धमा पुनरावेदनको रोहबाट पुनः संयुक्त इजलासबाट निर्णय गर्न मिल्ने हो होइन भन्ने अहम् प्रश्न समावेश भएको देखियो । पुनरावेदनको रोहमा फैसला गर्न साधकको रोहमा भएको फैसला यस अदालतको संयुक्त इजलासबाट बदर गर्न मिल्ने नदेखिएबाट वादी र प्रतिवादीको तर्फबाट परेको पुनरावेदन पूर्ण इजलासबाट फैसला हुन उपयुक्त देखिएकोले संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (च) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेस गर्नु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश गोपाल पराजुलीको मिति २०७३/३/२१ को राय ।
पुनरावेदन अदालतबाट भएको प्रस्तुत मुद्दाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन सुन्ने र निर्णय गर्ने अधिकार यस अदालतको संयुक्त इजलासलाई नै रहेको छ । संयुक्त इजलासको तह काटिएर एकैपटक पूर्ण इजलासले हेर्दा सोही ऐनको दफा ११ को व्यवस्था अर्थहीन हुन पुग्ने हुँदा प्रस्तुत मुद्दामा पक्षहरूले दिएको पुनरावेदन यो संयुक्त इजलासले नै हेर्नुपर्ने देखिँदा माननीय न्यायाधीश श्री गोपाल पराजुलीको रायसँग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (च) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेस गर्नु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको मिति २०७३/३/२१ को राय ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरूबीच रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई निर्णयार्थ प्रस्तुत इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी शेरबहादुर गुरूङको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री गणेशबहादुर गुरूङ तथा विद्वान् अधिवक्ता श्री कमलविक्रम खड्काले मृतकको मृत्यु झुण्डिएर भएको हो भन्ने तथ्य शव परीक्षण गर्ने चिकित्सकको प्रतिवेदनबाट देखिएको छ । बुझिएकी गुठिमाया तथा प्रतिवादीका छोरीहरूले शंकाको आधारमा भनाई व्यक्त गरेको अवस्था छ । लास जाँच मुचुल्का र Postmortem Report मा समेत मृतकको शरीरमा ज्यान जान सक्ने कुनै गम्भीर घाउ चोट निलडामसमेत केही देखिएको छैन । Autopsy Report मा मृतकको शरीरमा देखिएको लक्षणका आधारमा Cause of Death: Hanging उल्लेख भएको अवस्थामा ज्यान जस्तो गम्भीर अपराधमा शंकाका भरमा सजाय ठहर गर्न मिल्दैन सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।
वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ताद्वय श्री चन्द्रकुमार पोखरेल तथा श्री सोमाकान्ता भण्डारीले मृतकको मृत्यु भएकोमा विवाद छैन । प्रतिवादीउपर किटानी जाहेरी परेको छ । मृतकको शरीरमा घाउचोट थियो भन्ने कुरा घा जाँच मुचुल्काबाट देखिएको छ । छोराछोरीको बकपत्रमा बाबाले आमालाई सताउने गरेको झैझगडा हुने गरेको उल्लेख गरेका छन् । पटकपटक झगडा हुने गरेको र गाउँलेले पनि सम्झाउने गरेको भन्ने देखिन्छ । परिस्थितिजन्य प्रमाणहरू एकापसमा मालाकाररूपमा स्थापित छन् । तसर्थ सुरू तथा पुनरावेदन अदालत पोखराले गरेको फैसला सदर हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।
विद्वान् अधिवक्ताहरू तथा विद्वान् उपन्यायाधिवक्ताहरूले गर्नुभएको बहस जिकिरसमेत सुनी सुरू तथा पुनरावेदन अदालत पोखराबाट भएको फैसला वादी तथा प्रतिवादीका तर्फबाट पेस भएको पुनरावेदनपत्रसहितका मिसिल संलग्न कागजातहरू समेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पोखराले गरेको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्नुअघि प्रस्तुत मुद्दामा भएको कारवाहीसम्बन्धी प्रक्रियाको बारेमा विवेचना गरी साधकको रोहमा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला कायम रहने नरहने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. प्रतिवादी शेरबहादुरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर अपराधमा ऐ. को १३ (३) नं. बमोजिम सजाय हुन माग दाबी लिई वादी नेपाल सरकारको अभियोगपत्र दायर भएकोमा प्रतिवादीले आफ्नी श्रीमतीसँग झैझगडा कुटपिट गरी अचेत अवस्थामा पुर्याई नाम्लोले घाँटीमा पासो लगाई आफ्नै घरको धुरीबलोमा झुण्ड्याई मारेको पुष्टि हुन आई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले प्रतिवादी शेरबहादुर गुरूङलाई सोही महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याएको सुरू गोरखा जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत पोखरामा पुनरावेदन परी पुनरावेदन अदालत पोखराबाट मिति २०६७/८/१५ मा गोरखा जिल्ला अदालतको मिति २०६६।१२।१६ को फैसला सदर हुने ठहर्याई फैसला गरेउपर यस अदालतमा साधकको रोहमा मिति २०६८/८/२ मा दर्ता भएको र सोही मुद्दा वादी नेपाल सरकारको मिति २०६८/२/२० मा र प्रतिवादी शेरबहादुर गुरूङको मिति २०६७/१२/५ मा पुनरावेदन परेकोमा पुनरावेदनको टुङ्गो लाग्नुपूर्व साधकको रोहबाट मिति २०६८/११/२६ मा फैसला भएको पाइयो ।
३. वादी प्रतिवादीको पुनरावेदनहरूमा निर्णय हुन बाँकी रहेबाट सो पुनरावेदनहरूमा संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीश श्री गोपाल पराजुलीले पुनरावेदनको रोहमा फैसला गर्न साधकको रोहमा भएको फैसला यस अदालतको समान स्तरको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने हुँदा पूर्ण इजलासबाट फैसला हुन उपयुक्त देखिएको भनी राय व्यक्त गर्नुभएको र न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन सुन्ने र निर्णय गर्ने अधिकार यस अदालतको संयुक्त इजलासलाई नै रहेको हुँदा पूर्ण इजलासमा सोझै पेस गर्न नमिल्ने हुँदा माननीय न्यायाधीश श्री गोपाल पराजुलीको रायसँग सहमत हुन नसकिने भनी माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायले राय व्यक्त गर्नु भई राय बाझी भएबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई पेस हुन आएको देखियो । यस सम्बन्धमा अवलम्बन गर्नुपर्ने कार्यविधि के हो भन्ने सम्बन्धमा न्याय प्रशासन ऐन, २०४८ को भएको कानूनी व्यवस्थालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।
४. न्याय प्रशासन ऐन, २०४८ को दफा १० मा साधकसम्बन्धी व्यवस्था रहेको देखिन्छ । उक्त ऐनको दफा १० को उपदफा ३ मा साधक पेस भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट र एउटै मुद्दामा कसैको पुनरावेदन परेमा कसैको नपरेमा पुनरावेदन नगर्नेको हकमा समेत साधकको रोहबाट इन्साफ जाँची मुद्दाको किनारा गर्नुपर्दछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । ऐनको मनसाय हेर्दा एउटै प्रतिवादीका उपर पुनरावेदन र साधकको लगत कायम रहन नसक्ने हुँदा साधकको लगत कट्टा गरी पुनरावेदनको रोहमा मुद्दाको सुनुवाइ गरिनुपर्ने ऐनको मनसाय रहेको देखिन्छ । प्रस्तुत मुद्दामा साधकको रोहमा यस अदालतको संयुक्त इजलासबाट फैसला भइसकेकोमा सोपूर्व दर्ता भएको पुनरावेदन बाँकी नै रहेको अवस्था हुँदा उक्त कानूनी व्यवस्थाअनुसार पुनरावेदनकै रोहमा फैसला गर्नुपर्ने भएकाले साधकको रोहमा यस अदालतको संयुक्त इजलासबाट भएको मिति २०६८।११।२६ को फैसला कायम राखी दुवै पक्षबाट पर्न आएका पुनरावेदनहरूका सम्बन्धमा दोहोरो निर्णय गर्ने अवस्था सृजना हुन जाने देखिन्छ । साधकको रोहबाट संयुक्त इजलासबाट भएको फैसला बदर नभएसम्म एकातिर प्रस्तुत पुनरावेदनहरूको सुनुवाइ गर्न नमिल्ने र अर्कोतर्फ साधकको रोहमा भएको फैसलालाई समान तहको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने हुन्छ । तसर्थ यस विषयमा पूर्ण इजलासबाट नै सुनुवाइ हुन उपयुक्त हुने भनी माननीय न्यायाधीश गोपाल पराजुलीले व्यक्त गर्नुभएको राय मनासिब देखियो । प्रस्तुत मुद्दामा प्रतिवादी शेरबहादुर गुरूङको हकमा साधकको रोहबाट संयुक्त इजलासबाट फैसला भइसकेको र वादी प्रतिवादी दुवै पक्षबाट परेको पुनरावेदन बाँकी नै रहेको अवस्थामा पुनः सोही विषयमा प्रमाणको मूल्याङ्कन गरी फैसला गर्नुपर्ने हुँदा साधकको रोहमा संयुक्त इजलासले गरेको मिति २०६८।११।२६ को फैसला कायम रहन सक्ने अवस्था नहुँदा उक्त फैसलासमेत बदर हुन्छ ।
५. अब, पुनरावेदन अदालत पोखराबाट भएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भई सो सम्बन्धमा विचार गर्दा प्रस्तुत कर्तव्य ज्यान मुद्दामा जाहेरवाला लालबहादुर गुरूङले मेरो बहिनी घइली भन्ने कुमारी गुरूङलाई ज्वाइँ शेरबहादुर गुरूङले बायाँ पट्टिको स्तनमा निलडाम हुने गरी कुटपिट गरी बेहोस बनाई झुण्डी मरेको जस्तो बनाउन घरमा कोही नभएको मौका पारी घाँटीमा नाम्लाको डोरीको पासो लगाई झुण्ड्याई कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रक्रिया अगाडि बढेको देखिन्छ ।
६. प्रतिवादी शेरबहादुर गुरूङको अनुसन्धान अधिकारीसमक्ष भएको बयान हेर्दा मिति २०६५।१२।११ गतेको साँझ पनि श्रीमती र आफ्नोबीच वादविवाद झगडा हुँदा मैले एक थप्पड गालामा हानेको र दुवै जनाको धकेलाधकेल भएको हो भन्ने उल्लेख गरेको र अदालतमा बयान गर्दा पनि वारदातको रात आफू र श्रीमतीबीच सामान्य ठाकठुक भएको आफूले गाली गरेको कुरा उल्लेख गरेको पाइन्छ । तर दुवै बयानमा निजले श्रीमती कुमारी गुरूङलाई मारेको होइन भनी आरोपित कसुरमा इन्कार रहेको देखिन्छ । अर्कोतर्फ जाहेरवाला लालबहादुर गुरूङले मेरो बहिनी कुमारी गुरूङ झुण्डी मरेको होइन । यी प्रतिवादीले कुटपिट गरी, बेहोस अवस्थामा पारी झुण्ड्याएर मारेकोमा पूर्ण विश्वास लाग्छ भनी जाहेरीको बेहोरालाई पूर्ण समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । प्रहरीमा कागज गर्ने मृतक तथा प्रतिवादीका छोरीहरू देउमाया गुरूङ र ओमकुमारी गुरूङसमेतले आमा कुमारी गुरूङलाई बुबा शेरबहादुर गुरूङले मारेर झुण्ड्याएको हो, आमाको ओठ र स्तनमा निलडाम भएको आधारमा बुबाले झुण्ड्याई मारेको भनेकी हुँ मेरो बुबा शेरबहादुर गुरूङले आमालाई झुण्ड्याएर मारेकोमा विश्वास लाग्छ भनी बकपत्र गरेको पाइन्छ ।
७. प्रस्तुत मुद्दामा श्रीमती मारेको अभियोग प्रतिवादीउपर लागेको छ । अनुसन्धान र अदालतमा भएको बयानसमेतबाट वारदातको रात प्रतिवादी घरमा नै श्रीमती र छोराछोरीको साथमा रहे भएको देखिएको छ । अदालतको बयानमा पनि वारदातको रात श्रीमतीसँग "झगडा ठाकठुक भएको" कुरा स्वीकार गरेका छन् । अनुसन्धानमा "रोजगारको सिलसिलामा विदेश गएको ८ महिनामा कान्छो छोरा जन्मेको विषयमा शंका लागि श्रीमतीलाई गाली गलौज, कुटपिट गर्ने गरेको" आवेशमा आई "मृतक घइली भन्ने कुमारी गुरूङलाई नमारेसम्म शान्ति हुँदैन" भनेको भन्ने खुल्न आएको छ । लोग्ने स्वास्नीबीच परेको झगडा दुई पटकसम्म गाउँ समाजले मिलाएको भन्ने र मिति २०६४/११/३०, ०६४/१२/२७ मा समेत गाउँलेहरू रोहबरमै कागजसमेत गरेको देखिन्छ । प्रतिवादी शेरबहादुरका छोरीहरू देउमाया गुरूङ र ओमकुमारी गुरूङको बकपत्रसमेतबाट निज शेरबहादुरले श्रीमतीलाई बरोबर सताएको भन्ने खुल्न आएको छ । छोरो समय नपुगी जन्मेको भन्ने निहुँमा बरोबर झगडा हुने गरेको भन्ने भएबाट प्रतिवादी र मृतकबीच सौहार्दपूर्ण सम्बन्ध थिएन भन्ने देखिन आउँछ । लास जाँच मुचुल्का हेर्दा बायाँ स्तनमाथि सुन्निएको, पेटमा रगतको टाटा देखिएको, बायाँ कुममा रातो दाग देखिएको, योनिबाट रगत निस्किएको र दायाँ गोडाको घुँडासम्म पुगेको भन्ने देखिन्छ भने शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Hanging लेखिएको र सो प्रतिवेदनमा Breasts are extensively bloated र An abrasion furrow or ligature mark is over the anterior neck. It is 2-3 cm in Size भन्नेसमेत उल्लेख भएको पाइन्छ । कसैलाई मारी तत्कालै झुण्ड्याएकोमा रातो दाग हुने अर्थात् Ligature mark देखिनु स्वभाविक हुन्छ । प्रतिवादीको श्रीमतीसँगको पूर्व व्यवहार र वारदातको दिनसमेतको परिस्थिति र घटनाक्रम हेर्दा यहाँ लास जाँच मुचुल्कामा जे जस्तो कुराहरू देखिएका छन् यसबाट समेत मृतक झुण्डिएको नभई निजलाई झुण्ड्याइएको रहेछ भन्ने देखिन आउँछ । वारदात अवस्थामा प्रतिवादीको घरमा निजबाहेक अन्य साबालक व्यक्ति कोही रहे भएको देखिँदैन । निज प्रतिवादीले छोरी ओमकुमारीलाई "आमा बुबाको झगडा भएको कसैलाई नभन्नु" भनेको र छोरीहरूले अदालतमा समेत आई बाबुले नै आमालाई मारेको हो भनी बकपत्र गरेको अवस्था देखिन्छ । आफ्नै छोरीहरूले नभएको कुरा गरी बाबुलाई दोष लगाउनु पर्ने कुनै कारण देखिँदैन । नाबालक सन्तानको आमा मृतक अकारण त्यसै झुण्डी मर्ने अवस्था स्वभाविक देखिँदैन । कुनै पनि पुरूषले आफ्नी श्रीमतीले परपुरूषसँगको संसर्गबाट सन्तान जन्मेको आरोप लगाउँछ र त्यही निहुँमा झगडा गर्दछ भने निजको रिस एवं आक्रोश सामान्य छैन भन्ने स्वभाविक अनुमान रहन्छ । यस्तो अवस्थामा श्रीमतीको घरभित्रै अस्वाभाविकरूपमा मृत्यु हुन्छ । निजबाहेक घरमा साबालक अन्य कोही छैन भने निज नै शंकाको स्वभाविक केन्द्र बन्ने हुँदा श्रीमतीको मृत्यु स्वभाविक हो भनी पुष्टि गर्ने दायित्व निजमा नै रहन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीको पारिवारिक विवादको स्थिति, घटनापूर्वको अवस्था, घटना घटेको रातको क्रियाकलाप र मृतकको शरीरमा लागेका चोटसमेतका समग्र सबुद प्रमाणहरूको मूल्याङ्कन गर्दा यी प्रतिवादी शेरबहादुर गुरूङ निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन ।
८. प्रतिवादी स्वयंले बयानमा स्वीकार गरेका तथ्यहरू, जाहेरीको बेहोरा, जाहेरवालाको अदालतसमक्षको बकपत्र, अनुसन्धानका सिलसिलामा कागज गर्ने छोरीहरू ओमकुमारी र देउमायाको बकपत्र, घटनास्थल मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतका विषयहरू मालाकाररूपमा जोडिएका छन् । घटनापूर्व लामो समयदेखि लोग्नेस्वास्नीबीच बेमेल र झगडाको स्थिति रहेको छ । गाउँलेहरू जुटेका र झगडा मिलाएका छन् वारदातकै दिन साँझमा पनि झगडा भएको छ । सुत्नुअघि झगडा भएको थियो भनी प्रतिवादीले अदालतमा नै स्वीकार गर्छ, सोही रात श्रीमती मर्छिन् र शव परीक्षण प्रतिवेदनमा चोट देखिन्छन् । घटनास्थलमा पहिलो पटक पुग्ने छोरीलाई यी प्रतिवादीले आमा बुबाको झगडा भएको कसैलाई नभन्नु पनि भन्छ भने अब घाँटीमै पासो लगाएको प्रत्यक्षदर्शी छैन भन्ने आधारमा परिस्थितिजन्य प्रमाणलाई अस्वीकार गर्न मिल्छ त ? यसप्रकारको तथ्यगत अवस्थालाई यी परिस्थितिजन्य प्रमाणहरूलाई अस्वीकार गर्न कतै मिल्दैन । यसो हुँदा प्रतिवादी शेरबहादुर गुरूङको इन्कारी बयानकै भरमा निजलाई निर्दोष ठहर गर्न मिल्ने अवस्थाको प्रस्तुत मुद्दामा देखिँदैन । यसो गर्दा न्याय मर्छ । तसर्थ प्रतिवादीले आफ्नी पत्नी घइली भन्ने कुमारी गुरूङलाई कुटपिट गरी नाम्लोको पासो लगाई झुण्ड्याई मारेको पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. कसुरमा सर्वस्वसहित जन्मकैद ठहर गर्नुपर्नेमा जन्मकैदको मात्र सजाय गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ ।
९. अब, प्रस्तुत वारदातको अवस्था परिस्थितिसमेतलाई विचार गर्दा ऐनबमोजिम नै सजाय गर्नु मनासिब हो होइन भन्नेतर्फ हेर्दा प्रतिवादी वैदेशिक रोजगारमा गइरहने व्यक्ति देखिन्छ । निज वैदेशिक रोजगारमा रहेको अवस्थामा मृतकले जन्म दिएको छोरा आफूसँगको सहवासबाट नभएको भन्ने विषयमा मृतक र प्रतिवादीका बीच बारम्बार झगडा कुटपिट हुने गरेको भन्ने देखिन्छ । दुई / दुई पटकसम्म गाउँलेहरूले मिलाएको भन्ने पनि देखिन्छ । छोराकै विषयमा बराबर हुने झगडाकै जरियाबाट भएको आपसी झगडा कुटपिटको कारण प्रस्तुत वारदात घट्न गएको देखिएको छ । प्रतिवादीका नाबालक छोराछोरीहरू रहेको र प्रतिवादीलाई लामो समयसम्म कैदमा राखिरहँदा अभिभावकीय अभावका कारण निजका आश्रित छोराछोरीहरूकै शिक्षा स्वास्थ्य एवं सामाजिकीकरणमा पर्न जाने नकारात्मक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्न जाने देखिएकोले मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं. बमोजिम कसुरदारको कसुर गर्दाको परिस्थिति, कसुरदारको पारिवारिक अवस्था एवं कसुरदारउपर तोकिएको सजायको असरबीचको सामञ्जस्यतालाई विवेकसङ्गतरूपमा विचार गर्दा प्रतिवादी शेरबहादुर गुरूङलाई अ.बं. १८८ नं. बमोजिम १० (दश) वर्ष कैद गर्दा न्यायको उद्देश्य पूरा हुने देखिएकोले सोहीबमोजिम कैद वर्ष १० हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी शेरबहादुर गुरूङके, माथि ठहर खण्डमा लेखिएबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय हुनेमा मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष मात्र कैद हुने ठहरेकोले निजको हकमा सुरू तथा पुनरावेदन अदालतको फैसलाबमोजिम राखिएको जन्मकैदको लगत राख्नु परेन । सो लगत कट्टा गरी निज प्रतिवादी मिति २०६५।१२।१४ देखि प्रहरी हिरासतमा बसेको देखिँदा सोही मितिबाट १० (दश) वर्षको कैद सजाय गणना हुने गरी मिति २०७५/१२/१३ सम्म कैदमा राखी अन्य मुद्दाबाट थुना वा कैदमा राख्न नपर्ने भए प्रस्तुत मुद्दाबाट मिति २०७५/१२/१४ गते थुनामुक्त गरिदिनु भनी सुरू गोरखा जिल्ला अदालतमा लेखी पठाइदिनू ...........१
प्रतिवादी थुनामा हुँदा फैसलाको जानकारी निजलाई दिनू ............................................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ..................३
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय
प्रस्तुत मुद्दामा प्रतिवादी शेरबहादुर गुरूङको हकमा साधकको रोहमा फैसला भइसकेको र प्रतिवादीको पुनरावेदन बाँकी नै रहेको अवस्थामा पुनः संयुक्त इजलासबाट इन्साफ गर्न नमिल्ने हुँदा पूर्ण इजलासबाट सुनुवाइ हुन मनासिब हुने देखिँदा यस अदालतको संयुक्त इजलासले गरेको मिति २०६८/११/२६ को फैसला कायम रहनसक्ने अवस्था नहुँदा उक्त फैसला बदर हुन्छ भनी यस इजलासका माननीय न्यायाधीशज्यूहरूले व्यक्त गर्नुभएको रायमा सहमति रहेको छ । प्रतिवादीलाई निजको श्रीमतीलाई कर्तव्य गरी मारेको मानी कसुरदार ठहर गरेतर्फ बहुमतको रायमा मेरो सहमति नरहेकोले फरक राय प्रस्तुत गर्दछु ।
मेरो बहिनी घइली भन्ने कुमारी गुरूङलाई ज्वाइँ शेरबहादुर गुरूङले नाम्लाको डोरीको पासो लगाई झुण्ड्याई कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको लालबहादुर गुरूङको जाहेरी दरखास्त परी प्रस्तुत मुद्दाको अनुसन्धानको कारवाही अगाडि बढेको देखिन्छ । अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा श्रीमतीसँग झैझगडा भएको र धकेलाधकेलसम्म भएको तर मैले मृतकलाई मारी झुण्ड्याएको होइन भनी आरोपित कसुरमा पूर्णतः इन्कार रही बयान गरेको देखिन्छ । लासजाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न कागजातबाट घइली भन्ने कुमारी गुरूङको मृत्यु झुण्डिएको कारणबाट भएको भन्ने तथ्यमा विवाद देखिएन । यसमा मृतक कुमारी गुरूङ आफैँ झुण्डी आत्महत्या गरेको हो या प्रतिवादी शेरबहादुर गुरूङले बेहोस बनाई झुण्ड्याएको हो भन्ने विषयमा विचार गर्दा यी प्रतिवादी अनुसन्धानमा र अदालतमा आफूले कसुर गरेकोमा इन्कार रही सामान्य झैझगडा भई धकेला धकेलसम्म भएको भन्ने तथ्यमा सम्म स्वीकार गरी बयान गरेको पाइन्छ । तथ्यको स्वीकारोक्ति नै अपराधमा साबित भएको मान्न मिल्दैन ।
मिसिल संलग्न प्रमाणहरूको विश्लेषणबाट प्रतिवादीको मृत्यु कर्तव्यबाट भएको हो वा आत्महत्या हो भन्ने निष्कर्षमा पुग्नु पर्ने हुन्छ । जाहेरवाला लालबहादुर गुरूङले जाहेरी दरखास्त दिँदा मेरो बहिनी घइली भन्ने कुमारी गुरूङलाई ज्वाइँ शेरबहादुर गुरूङले दिनहुँ गाली गलौज कुटपिट झैझगडा गर्दै आइरहेकोमा मिति २०६५।१२।११ गते राति निज बहिनीलाई ज्वाइँले बायाँपट्टिको स्तनमा निलडाम हुने गरी कुटपिट गरी बेहोस बनाई झुण्डी मरेको जस्तो बनाउन घरमा कोही नभएको मौका पारी घाँटीमा नाम्लाको डोरी पासो लगाई झुण्ड्याई कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने उल्लेख गरेको पाइन्छ भने सोही बेहोरालाई समर्थन जनाई यी प्रतिवादीले कुटपिट गरी बेहोस अवस्थामा मारी झुण्ड्याएर मारेकोमा पूर्ण विश्वास लाग्दछ भनी अदालतमा बकपत्र गरेको पाइयो ।
प्रतिवादीकी छोरी ओमकुमारीले मिति २०६५।१२।११ गते साँझ खाना खाई म र मेरो साथी कौशिला गुरूङ घरसँग सटिएको अर्को कोठामा सुत्न गयौं । राति बुबाले मलाई उठाउनु भएकोले म उठ्दा रातको २ बजेको थियो । बुबाले आमा झुण्डी मरिछन् भनेकोले गई हेर्दा घरको धुरीबलोमा नाम्लाले घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा देखेको हुँ भनी बकपत्र गरिदिएको अवस्था छ भने प्रतिवादीकी अर्की छोरी देउमायाँ गुरूङले विगतमा आमालाई बुबाले गरेको दुर्व्यवहार, झगडा, कुटपिटका कारण बुबाले आमालाई कुटपिट गरी अचेत बनाई पछि झुण्ड्याई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी शंकाको भरमा बकपत्र गरेको र निजहरूले प्रत्यक्षरूपमा घटना वारदात देखेको भनी बकपत्र गरेको अवस्था देखिँदैन ।
प्रहरीमा कागज गर्ने कौशिला गुरूङले मैले कुटपिट गरेको देखेको होइन । आफैँ झुण्डिएको देखिएको पनि होइन । घाउहरू देख्दा कुटपिट गरी झुण्ड्याएको होकि भन्ने लाग्छ भनी बकपत्र गरेको देखिन्छ । प्रहरीमा कागज गर्ने वीरबहादुर गुरूङले विगतको क्रियाकलापको कारणले गर्दा यी प्रतिवादीले नै मृतकलाई कुटपिट गरी झुण्ड्याई मारेकोमा शंका लाग्छ भनेको हो र पछि सत्य बुझ्दै जाँदा निज प्रतिवादीले नै झुण्ड्याएको भन्ने लाग्दैन भनी बकपत्र गरेको देखिन्छ । प्रहरीमा कागज गर्ने गुठी मायाँ गुरूङले मृतकको घाउमा निलो थियो, त्यसकारण प्रतिवादीले मारी झुण्ड्याएको हो भनेकी हुँ भनी बकपत्र गरेको देखिन्छ भने वादीका साक्षी पूर्णबहादुर गुरूङले अदालतमा गरेको बकपत्र हेर्दा भाइ शेरबहादुरको घरमा खलबल गरेको सुनी के भयो भनेर गई हेर्दा बुहारी झुण्डी रहेको अवस्थामा मैले देखेको हुँ । झुण्डियो वा मर्यो त्यो मलाई थाहा भएन भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ ।
प्रमाण ऐन, २०३१ को दफा ३७(२) मा मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्दछ अर्थात् देख्ने, सुन्ने वा कुनै इन्द्रियको सहायताले थाहा पाउन सकिने कुनै कुरालाई प्रमाणमा दिन खोजिएको भए सो कुरा प्रत्यक्ष देख्ने, सुन्ने वा थाहा पाउने व्यक्तिले त्यस सम्बन्धमा मौखिक प्रमाण दिएको हुनुपर्दछ भन्ने व्यवस्था रहेको छ । प्रस्तुत मुद्दामा मौकामा तथा अदालतमा आफ्नो बेहोरा लेखाउने जाहेरवालालगायतका अभियोजन पक्षका कुनै पनि साक्षीहरू प्रत्यक्षदर्शीको रूपमा रहेको पाइँदैन । घटना भइसकेपछि झुण्डिएको अवस्थामा देख्ने वा मृतक र प्रतिवादीको बीचको पहिले पहिले झगडा हुने गरेको पूर्वजानकारी रहेको आधारमा निजले मारेको विश्वास लाग्ने भनी जाहेरी दिने र बकपत्र गर्ने साक्षीहरू मात्र वादी पक्षले पेस गरेको पाइयो । यस्तो लाग्छ, यस्तो हुन सक्छ भनी शंका विश्वास र अनुमानको आधारमा मात्र जाहेरी दिएको मौकामा कागज गरेको र सोहीअनुरूप अदालतमा बकपत्र गरेको अवस्था हुँदा यसरी शंका अनुमान र विश्वास लाग्छ भनेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा ३७(२) अनुसार प्रमाणमा ग्रहण गरी दोषी ठहर गर्न सकिने देखिएन ।
लासजाँच मुचुल्का हेर्दा सामान्य निलडामहरू, दायाँ कुमको भागमा ठोक्किएको जस्तो रातो डाम देखिएको, योनिबाट रगत निस्केको र उक्त रगत दाहिने खुट्टाको घुँडासम्म बगेको भनी उल्लेख भएको पाइन्छ । घटनास्थल हेर्दा भर्याङ्गमा केही खाली ठाउँमाथि धुरीको बलामा नाइलनको नाम्लाको डोरी घाँटीमा पासो लगाएको अवस्थामा रहेको देखिन्छ । लासमा रहेको चिह्नहरूबाट लासमा देखिएको निलडामहरू कुटपिटबाट भएका हुन् भन्न सक्ने अवस्थाको देखिएका छैनन् भने योनिबाट निस्केको रगत योनिको वरिपरिको कुटपिटका चिह्न नदेखिएको र योनिमा रगत निस्कने तहसम्मको शरीरको अन्य भागमा गम्भीर चोट नदेखिएको स्थितिमा अन्य ठोस र वस्तुगत प्रमाणको अभावमा प्रतिवादीको कुटपिटको कारणबाट निलडाम भएका वा योनिबाट रगत निस्केको भनी अर्थ गर्नु मनासिब देखिँदैन ।
प्रस्तुत मुद्दामा शव परीक्षण प्रतिवेदनले महत्त्वपूर्ण प्रमाणको स्थान ग्रहण गर्ने देखिन्छ । चिकित्सकले शव परीक्षण प्रतिवेदन (Report of Autopsy) मा मृत्युको सम्भावित कारण Hanging भनी उल्लेख गरेको पाइन्छ भने लासको बाह्य र आन्तरिक परीक्षण यसप्रकार रहेको छः
External examination
Besides decomposition fluid from the decedent’s body staining the clothes of the decedent, no significant findings are observed in the examination of the clothes of the decedent.
Decomposition is advanced: the face is blackened and bloated, with the tongue protruding and decomposition epidermal peeling of the right forehead; decomposition purge fluid is present from the nose and the mouth; gas stiffening of all the joints is advanced; decomposition blisters are present over all of the body surface; the breasts are extensively bloated; the above decomposition characteristics are more advanced in the face and lower limbs.
An abrasion furrow or ligature mark is over the anterior neck. It is 2-3 cm in width, is above the thyroid, and extends upwards and backwards to completely encircle the neck and reach up above the hairline at the back of the neck.
No other gross injuries are observed in the external examination.
Internal examination
The tissues and organs of the neck subjacent to the abrasion furrow or ligature mark of the neck described above show no gross injuries.
The scalp, skull and brain present with no gross injuries. The brain tissue is semi-liquified as a result of decomposition.
The stomach contains a semi digested meal.
Besides decomposition softening of the chest, abdominal and pelvic organs, no gross injuries of these organs are observed.
No other significant finding is observed in the rest of the internal examination
The police autopsy request form Gorkha state that the decedent was allegedly found hanging by a plastic ‘namlo’ form a ceiling rafter near a staircase in her house in Gorkha.
Besides the abrasion furrow or ligature mark of the neck described above, no gross external or internal injuries sufficient to account for the cause of death are observed.
The autopsy findings are consistent with hanging.
बाह्य परीक्षणमा घाँटीमा रहेको डोरीको चिह्न सो डोरीको चिह्नबाहेक अन्य गम्भीर प्रकृतिको चोट नदेखिएको, आन्तरिक परीक्षणबाट टाउको, घाँटी, छाती, पेटको भागमा गम्भीर प्रकृतिका कुनै चोटहरू नदेखिएपश्चात् परीक्षण गर्ने चिकित्सकले बाह्य र आन्तरिक परीक्षणबाट मृत्युको कारण हुन सक्नेसम्मका गम्भीर चोटहरू नरहेको भनी Hanging सँग मेल खान्छ भनी राय पेस भएको देखिन्छ । यसप्रकार चिकित्सकले हचुवा र अनुमानका भरमा शव परीक्षण प्रतिवेदन दिएको नभई लासको बाह्य र आन्तरिक परीक्षण गर्दा मृत्यु हुनसक्ने वा बेहोस हुने प्रकृतिका कुनै गम्भीर चोटहरूको विद्यमानता नरहेको अवस्थामा चिकित्सकीय विधिशास्त्रमा आधारित भई आफ्नो राय प्रस्तुत गरेको विशेषज्ञको रायलाई प्रमाणमा ग्राह्य गर्नुपर्ने नै देखिँदा चिकित्सकले दिएको रायको प्रतिकूल हुने गरी प्रतिवादीले कुटपिट गरी बेहोस बनाई झुण्ड्याएको भनी निष्कर्षमा पुग्नु प्रमाण कानूनको सिद्धान्तअनुकूल हुने देखिँदैन ।
अब परिस्थितिजन्य प्रमाणतर्फ हेर्दा लास झुण्ड्याई केही खाली ठाउँमाथि धुरीको बलामा नाइलनको नाम्लोको डोरी घाँटीमा पासो लगाएको अवस्थामा रहेको देखिन्छ । वारदातमा प्रतिवादीबाहेक अन्य कोही व्यक्तिसमेतको संलग्नता छ भन्ने देखिएको अवस्था छैन । मृतक ४० वर्षकी भई ५ फिट ७ इन्च (६७ इन्च) लम्बाइको रहेको पाइन्छ । अचेत अवस्थामा रहेको भन्ने शव परीक्षण प्रतिवेदन र लासजाँच प्रकृति मुचुल्काबाट पुष्टि भएको अवस्थामा पनि देखिएको छैन । मृतक आफ्नै कमजोर शारीरिक अवस्थाको भन्ने पनि देखिएको छैन । यस स्थितिमा अत्यन्तै शारीरिक अवस्था कमजोर भएको वा अचेत भएको अवस्थामा बाहेक एक जना व्यक्तिले झुण्ड्याएर मार्न सक्ने अवस्था रहँदैन भन्ने चिकित्सकीय विधिशास्त्रको मान्यता रहेको पाइन्छ । यसका अतिरिक्त शरीरमा रहेका सामान्य निलडाम स्तनमाथि छातीमा र दायाँ कुमको भागमा देखिएको छ । लासजाँच मुचुल्कामा दायाँ कुमको भागमा ठोक्किएको जस्तो रातो निलडाम देखिएको भनी उल्लेख भएको छ । भर्याङनजिक रहेको धुरीको बलोमा झुण्डिने क्रममा नै भर्याङमा ठोक्किन गएको तथ्यलाई इन्कार गर्न सकिने अवस्था हुँदैन । प्रतिवादीको कुटपिटबाट नै सो निलडाम भएको नै शंकारहित तवरबाट स्थापित भएको अवस्था एकातिर छैन भने कुटपिटको कारणबाट मानिस बेहोस हुनसक्ने अवस्था स्थापित हुन सकेको छैन । यसरी परिस्थितिजन्य प्रमाणबाट पनि प्रतिवादीलाई दोषी ठहर गर्न सक्ने देखिएन ।
तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट Hanging को कारणबाट मृत्यु भएको भनी Autopsy Report बाट स्थापित तथ्य रहेको स्थितिमा यी प्रतिवादीले नै कर्तव्य गरी मृतकलाई मारेको हो भन्ने प्रत्यक्ष प्रमाणको अभाव रहनुका साथै शंकारहित तवरले उक्त निष्कर्षमा पुग्न सक्ने मालाकार कडीको रूपमा स्थापित परिस्थितिजन्य प्रमाणको समेत अभाव रहेको अवस्थामा वस्तुनिष्ठ ठोस सबुद प्रमाणको अभावमा पति पत्नीबीचमा पहिले झगडा भइरहने भन्ने आधारमा दिएको जाहेरी र मौकामा व्यक्त गर्ने व्यक्तिहरूको शंका, विश्वास र अनुमानको कथनलाई प्रमाणको रूपमा ग्रहण गरी ज्यानजस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको रोहमा मिल्ने देखिँदैन । प्रतिवादी शेरबहादुर गुरूङले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । यस अदालतको संयुक्त इजलासबाट साधकको रोहमा हेरी किनारा गरिसकेको मुद्दा पुनरावेदनको रोहमा पुनः संयुक्त इजलासबाटै हेर्न न्यायोचित नहुने भनी व्यक्त रायसँग सहमति जनाउँदै प्रतिवादीलाई आरोपित कसुरमा ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर गर्नुहुने माननीय न्यायाधीशहरूको रायसँग सहमत हुन सकिएन । माननीय न्यायाधीशहरूको रायसँग सहमत हुन नसके पनि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(४) बमोजिम बहुमत न्यायाधीशहरूको राय कायम हुने हुँदा सोहीबमोजिम गर्नू ।
इजलास अधिकृत: रामप्रसाद बस्याल
इति संवत् २०७३ साल मङ्सिर २३ गते रोज ५ शुभम् ।