निर्णय नं. ९९४९ - गैंडा मारी खाग बिक्री व्यवसाय
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।१२।२०
मुद्दाः गैंडा मारी खाग बिक्री व्यवसाय
०७१-CR-१२५२
पुनरावेदक / वादी : चितवन राष्ट्रिय निकुञ्जका स.स.अ. लालबहादुर भण्डारीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला कोराक गा.वि.स. वडा नं. ९ बस्ने दलबहादुर प्रजासमेत
०७१-CR-१४३२
पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला दाङसीङ गा.वि.स. वडा नं. ९ उल्लेरी घर भई हाल ऐ. पोखरा उपमहानगरपालिका वडा नं. ३ नदिपुर बसोबास भई हाल कारागार कार्यालय भरतपुर चितवनमा कैदमा रहेको जितबहादुर पुन
विरूद्ध
प्रत्यर्थी / वादी : चितवन राष्ट्रिय निकुन्जका स.स.अ. लालबहादुर भण्डारीको जाहेरीले नेपाल सरकार
कानूनले नै मुद्दा सुन्ने अधिकारी तोकिसकेपश्चात् सो अधिकारीले मुद्दाको कारवाहीको सिलसिलामा बयान, बकपत्रलगायतका प्रमाण बुझ्ने अधिकारसमेत रहेको मानिन्छ । त्यस्तो मुद्दा हेर्न अधिकारी तोकिसकेपश्चात निजले गराएको बयान स्वतन्त्रपूर्वक भएको होइन भनी प्रतिवादीको भनाईको आधारमा मात्र मान्न मिल्दैन । त्यस्तो अधिकारीले मुद्दा सुनुवाइको क्रममा गरे गराएको कार्य अन्यथा प्रमाणित नभएसम्म स्वच्छ सुनुवाइको सिद्धान्तअनुसार नै गराएको मान्नु पर्ने ।
अनुसन्धानको क्रममा एवं मुद्दा हर्ने अधिकारीसमक्ष भएको बयान एक आपसमा मेल खाइरहेको अवस्थामा उक्त बयानहरू स्वतन्त्रपूर्वक भएको होइन भन्ने जिकिर प्रतिवादीले लिएको खण्डमा सो कुरा प्रमाणित गर्ने दायित्व पनि निजको नै हुन आउने ।
(प्रकरण नं.५)
सहअभियुक्तको पोल आफैँमा कुनै ठोस प्रमाण होइन । यो मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित भएको खण्डमा मात्र प्रमाणयोग्य मानिने ।
(प्रकरण नं.६)
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री युवराज ओली
वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९
सुरू तहमा फैसला गर्नेः
श्री कमलजङ्ग कुँवर
फैसला गर्ने निकायः
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
चितवन राष्ट्रिय निकुञ्जभित्रको डुमरिया पोष्टदेखि दक्षिणतर्फ गौर मचान नजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा अन्दाजी २० वर्ष जिन उमेर भएको भाले गैंडा मृत अवस्थामा फेला परेको, सो गैंडाको खाग धारिलो हतियारले काटी चोरी लगेको भन्नेसमेत बेहोराको मिति २०६७।०२।२८ को घटनास्थल प्रकृति मुचुल्का ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको डुमरिया पोष्टदेखि दक्षिणतर्फ गौर मचाननजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा जसको G.P.S. Location : 0542774 USR 3046844 रहेको अन्दाजी २० वर्षजति उमेर भएको भाले गैंडा मृत अवस्थामा फेला परेको, सो गैंडालाई गोली हानी मारी खाग काटी चोरी लगेको भन्नेसमेत बेहोराको वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैरेले जाँच गरी दिएको मिति २०६७।२।२९ को लास जाँच (Postmortem Report) प्रतिवेदन ।
चितवन राष्ट्रिय निकुञ्जको चोरी शिकार प्रतिरोध ईकाई र गोरखबहादुर गणको संयुक्त गस्ती टोलीले सुराकीले दिएको गोप्य सूचनाको आधारमा गैंडा मारी खाग बिक्री तथा ओसारपसार गर्ने कार्यमा संलग्न भएको, गैंडालाई गोली हानी मारी खाग काटी काठमाडौं लगेर बिक्री व्यवसाय गरेको कसुरमा जिल्ला कास्की, दाङसिङ गा.वि.स. वडा नं. ९ उल्लेरी घर भई हाल ऐ. पोखरा-उपमहानगर पालिका वडा नं. ३ नदीपुर बस्ने जितबहादुर पुन, जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं.९ कालोखोला बस्ने दलबहादुर प्रजा, जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं.८ देवीटार बस्ने महेन्द्र गुरूङलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पेस गरेको छु भन्नेसमेत बेहोराको सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीको मिति २०६७।११।१५ को जाहेरी प्रतिवेदन ।
मिति २०६७।३।१३ का दिन जिल्ला चितवन, गा.वि.स. वडा नं.९ चिप्लेटी बस्ने काजीमान प्रजा, ऐ. कोराक गा.वि.स. वडा नं.९ कालीखोला घर भई हाल ऐ. खैरहनी गा.वि.स. वडा नं.४ नयाँ पर्सामा बस्ने शक्ति प्रजा र मसमेत पोखराबाट आई काजीमानको घरमा सो राति बास बस्यौं । भोलिपल्ट बिहान शक्ति प्रजा चितवनको विरेन्द्रनगर पर्सातर्फ फर्कनु भयो । त्यसदिन बिहानै काजीमान प्रजाले खसी काटी खानपिनको लागि आआफ्ना इष्टमित्रलाई बोलाई खानपिन गर्दै गरेको अवस्थामा म, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङ र दलबहादुर प्रजा पक्राउमा पर्यौं, काजीमान प्रजा घटनास्थलबाट भाग्न सफल हुनुभयो । मिति २०६७।२।२७ मा काजीमानको घरमा ऐ.ऐ. कालीखोला बस्ने राजकुमार प्रजा, काजीमान प्रजा, शक्ति प्रजा र म भएर निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी भोलिपल्ट बिहान मिरमिरे उज्यालोमा निकुञ्ज क्षेत्रभित्रको गौर मचान, चुरे घाँच क्षेत्रमा आई पुग्यौं, त्यहाँ गैंडा फेला पर्यो । काजीमान प्रजा र राजकुमार प्रजाले सो क्षेत्रमा लुकाई राखेको भरूवा बन्दुक तिनीहरूले लिएर आएर गैंडालाई पिछा गर्दै करिब बिहान ४꞉४५ बजे राजकुमार प्रजाले गोली हानेकोमा गोली गैंडाको गर्दनमा लाग्यो तर गैंडा नढलेपछि गैंडा रन्थनिँदै भाग्यो । राजकुमार प्रजाले पुनः दायाँ पाटामा गोली हानी गैंडा मारेको हो । गैंडा मारिसकेपछि, मैले बोकेको बञ्चराले काजीमान प्रजा, राजकुमार प्रजाले खाग काटेका हुन् । खाग काटिसकेपछि बन्दुक तिनीहरूले त्यहीँ नजिकको जंगलमा लुकाएर राखी खाग लिएर राजकुमार प्रजा, काजीमान प्रजा र म मिति २०६७।२।२८ गते दिनको १/२ बजेतिर काजीमानको घरमा पुगेका थियौं । उक्त खागलाई काजीमानको घरमा उसिनेको थियो । खाग ७०० ग्रामको थियो । उक्त खाग भोलिपल्टै म र शक्ति भएर माइक्रोबसबाट काठमाडौं लगेर गोंगबुस्थित तारा होटलमा बसेका जिल्ला चितवन खैरहनी गा.वि.स. वडा नं.४ बस्ने बुद्धिबहादुर प्रजालाई दियौं । काजीमान प्रजा र राजकुमार प्रजा पहिल्यै मोटरसाइकलबाट उक्त होटलमा पुगिसकेका रहेछन् । बुद्धिबहादुर प्रजाले मलाई र शक्तिलाई ५।५ हजार खाग ल्याएको बाटो खर्च भनी तत्काल दिएपश्चात् म पोखरा र शक्ति चितवनतर्फ लाग्यौं । उक्त खाग बुद्धिबहादुर प्रजामार्फत २० लाखमा बेचेको हो । खाग बुद्धिबहादुर प्रजाले कसलाई बिक्री गर्यो त्यो मलाई थाहा छैन । खाग बिक्रीको हिस्सा भनी मलाई २ लाख बुद्धिबहादुर प्रजाले पछि पोखरामा ल्याएर दिएको हो । बुद्धिबहादुर प्रजा आफूलाई विकास गुरूङ, काजीमान प्रजा आफूलाई मिलन थापा र राजकुमार प्रजा आफूलाई रोहित थापा भनी लुकीछिपी आफूले गरेको कर्तुत लुकाउनलाई पोखराको नदीपुरमा डेरा गरी विदेश जाने तयारीको लागि सेक्युरिटी गार्ड, भाषा एवं कम्प्युटर तालिम लिई बस्ने गरेका छन् भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर पुनले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं.९ चिप्लेटी बस्ने बिजराम प्रजा मेरो ससुरा हुनुहुन्छ । उहाँले आफ्नो घरको शौचालय निर्माणको लागि भनी मिति २०६७।३।१४ मा मलाई अनुरोध गरेकाले म शौचालय निर्माणको काममा गएको थिएँ । काजीमान मेरो सालो हो । त्यसदिन मेरो सालोको घरमा खसी काटेको रहेछ । काजीमानले खानपिनको लागि आग्रह गरेकाले म सो कार्यक्रममा सरिक हुँदा पक्राउ परेको हुँ । खानपिनको क्रममा दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङ र जितबहादुर पुन पनि पक्राउ परेका छन् । निजहरू गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न भएको जस्तो लाग्दैन । फरार राजकुमार प्रजा मेरो साख्य कान्छो भाइ हो । तिनीहरू नामुद गैंडा मारी खाग बिक्री व्यवसाय गर्ने तस्करहरू हुन भन्नेसमेत बेहोराको प्रतिवादी दलबहादुर प्रजाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
काजीमानले निर्माण गर्दै गरेको पक्की घरमा बेलाबखतमा ज्याला मजदुरी गर्न गई रहन्थेँ । मिति २०६७/०३/१४ मा पनि म सो काम गर्न गएको थिएँ । त्यस बखतमा काजीमानले खसी काटेका रहेछन, उनका इष्टमित्रसमेत बसी खानपिन गरिरहेका थिए र घरमा काम गर्ने मान्छेलाई पनि खान बोलाइएको हुँदा खानपिनको क्रममा पक्राउ गरिएको हो । सो क्रममा काजीमान भाग्न सफल हुनुभयो । निज नामुद गैंडाको खाग तस्कर हुन् । म गैंडा मारी खाग तस्करी कार्यमा लागेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर तामाङले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
मिति २०६७/३/१३ का दिन म जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटी स्थित मेरो मित आमा धनमाया तामाङनीको घरमा भेटघाटको लागि गएको थिएँ । काजीमान प्रजाको घरसँगै मेरो मितआमाको घर छ । काजीमानको श्रीमती मेरो गाउँ शक्तिखोरकी चेली हुन् । म उनलाई साइँली दिदी भनेर सम्बोधन गर्छु । गएको दिन रात म मितआमाको घरमा बसे र भोलिपल्ट बिहान साइँली दिदीको घरनजिक रहेको धारामा मुख धुन जाँदा खेरी आज खसी काटेको छ, खानपिनको लागि आउ है भाइ भनेर मलाई साइँली दिदीले भनेको हुँदा म निजको घरमा खाना खान गएको बेला पक्राउ परेको हुँ । मैले गैंडा मार्ने र खाग तस्कर गर्ने कार्य गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी महेन्द्र गुरूङले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं. ९ बस्ने दलबहादुर प्रजाको माहिलो भाइ रामकुमार प्रजा गैंडा मारी खाग तस्कर गरेको मुद्दामा जेलमा छ । निजको कान्छो भाइ राजकुमार प्रजा सोही मुद्दा लागेर लुकीछिपी हिँडी हाल पनि त्यही पेसा गर्दै हिँडिरहेको छ । पक्राउ परेका दलबहादुर प्रजा पनि दश वर्ष पहिले यस्तै पेसा गर्दै हिँडेको भन्ने सुनिन्थ्यो । अहिले विदेशबाट आएर पनि २/३ महिनादेखि गैंडा मारी खाग तस्कर गर्ने काजीमान प्रजा, घिन्चि काईला, श्रीमान् साहिँला, आफ्नै भाइ राजकुमार प्रजा, बुद्धिमान प्रजा र शक्ति प्रजा जस्ता गैंडा मारी खाग तस्कर गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी पार्टी खाने गरेको देखियो । जितबहादुर पुन र महेन्द्र गुरूङ पनि गैंडा मारी खाग तस्कर गर्ने कार्यमा संलग्न भएको हुनुपर्छ । पक्राउ परेको मिति २०६७/३/१४ का दिन यी व्यक्तिहरू काजिमानको घरमा खसी काटी भोज खाँदै गैंडा मार्न जाने योजना बनाइरहेका थिए भन्नेसमेत बेहोराको प्रेमबहादुर प्रजासमेतले गरी दिएको सर्जमिन मुचुल्का ।
प्रतिवादीहरू जीतबहादुर पुन, काजीमान प्रजा, राजकुमार प्रजाले गैंडा मारी खाग बिक्री गरेको कार्य मसिल संलग्न कागज प्रमाणबाट पुष्टि भएकोले प्रतिवादीहरूको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) र प्रतिवादीहरू शक्ति प्रजा, बुद्धिबहादुर प्रजाले सोही ऐनको दफा १९(१) को कसुर गरेको देखिँदा प्रतिवादीहरू जीतबहादुर पुन, मिलन भन्ने काजिमान प्रजा, राजकुमार प्रजा, शक्ति प्रजा, बुद्धिबहादुर प्रजा, दलबहादुर पर्जा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङलाई सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
मिति २०६७/३/१३ का दिन जिल्ला चितवन, गा.वि.स. वडा नं. ९ चिप्लेटी बस्ने काजीमान प्रजा, ऐ. कोराक गा.वि.स. वडा नं. ९ कालीखोला घर भई हाल ऐ. खैरहनी गा.वि.स. वडा नं. ४ नयाँ पर्सामा बस्ने शक्ति प्रजा र मसमेत पोखराबाट आई काजीमानको घरमा सो राति बास बस्यौं । भोलिपल्ट बिहान शक्ति प्रजा चितवनको वीरेन्द्रनगर पर्सातर्फ फर्कनु भयो । त्यसदिन बिहानै काजीमान प्रजाले खसी काटी खानपिनको लागि आ-आफ्ना इष्टमित्रलाई बोलाई खाँदै गरेका थिए । त्यहाँ काजीमान प्रजाको नयाँ घर बन्दै थियो । भोज खानेमा कामदार पनि थिए । खानपिन गर्दै गरेको अवस्थामा पक्राउमा पर्यौं, काजीमान प्रजा घटनास्थलबाट भाग्न सफल हुनुभयो । यसभन्दा अघि मिति २०६७।२।२७ मा काजीमानको घरमा राजकुमार प्रजा, काजीमान प्रजा, शक्ति प्रजा र म भएर गैंडा मार्ने योजना बनाएका थियौं । सो दिनको साँझ गैंडा मार्न आउँदा राप्ती नदीमा आइपुग्दा निकै रात परिसकेको थियो । शक्ति त्यहीँबाट फर्कनु भयो । म, काजीमान प्रजा र राजकुमार चितवन राष्ट्रिय निकुञ्जको गौर मचान, चुरे घाँच क्षेत्रमा आई पुगेको कुरा निजहरूले बताएका थिए । मिरमिरे उज्यालोमा एउटा गैंडा फेला पर्यो । गैंडालाई पिछा गर्दै करिब बिहान ४:४५ बजे राजकुमार प्रजाले गोली हानेकोमा गोली गैंडाको गर्दनमा लाग्यो तर गैंडा नढलेपछि गैंडा रन्थनिँदै भाग्यो । राजकुमार प्रजाले पुन: दायाँ पाटामा गोली हान्दा गैंडा ढल्यो । मैले बोकेको बञ्चराले काजीमान प्रजा, राजकुमार प्रजाले खाग काटेका हुन् । हामीले खाग काट्ने बञ्चरो र बन्दोबस्तीका सामान लिएर गएका थियौं । बन्दुकको गोली र बारूद राजकुमार प्रजा र काजीमान प्रजाले बोकेका थिए । बन्दुक प्लाष्टिकले बेरी जंगलमै लुकाएर राखेका थिए । खाग राजकुमार प्रजा, काजीमान प्रजाले पालैपालो बोकी मिति २०६७/२/२८ दिनको १/२ बजेतिर काजीमानको घरमा आई उक्त खाग उसिनेर मासु छुट्याई तौल गरी मलाई र शक्तिलाई लिएर आउनु भनी काजीमान प्रजा र राजकुमार प्रजा मोटरसाइकलबाट काठमाडौं लागे । खाग ७०० ग्रामको थियो । हामी दुवैजना उक्त खाग लिएर गोंगबु स्थित तारा होटलमा गयौं । त्यहाँ बुद्धिबहादुर प्रजा बसेका रहेछन् । काजीमान प्रजा र राजकुमार प्रजा पहिल्यै मोटरसाइकलबाट उक्त होटलमा पुगिसकेका
रहेछन । उक्त खाग बुद्धिबहादुर प्रजामार्फत रू. बीस लाखमा बिक्री गरे । तर कसलाई बिक्री गरे थाहा भएन । त्यसपछि बुद्धिबहादुर प्रजाले हामीलाई ५/५ हजार दिएका हुन् । सोही दिन बेलुका म पोखरातर्फ लागेँ, शक्ति चितवनतर्फ लागेँ । खाग बिक्री भएको २/३ दिनपछि बुद्धिबहादुर प्रजाले पोखरा आएर मलाई २ लाख दिएको हो । उक्त रकम मैले घर खर्च गरेँ भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर पुनले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
मेरो ससुरा बिजराम प्रजाले आफ्नो घरको शौचालय बनाई दिनु पर्यो भनी मिति २०६७।३।१४ मा बोलाएकोले म ससुराको घरमा गएको थिएँ । ससुरा र सालो काजीमानको एउटै आँगन भएको र सालोले पनि घर बनाउँदै गरेकोले त्यहाँ केशरबहादुर तामाङ, रामबहादुर तामाङ र दुर्गाबहादुर तामाङ साला काजीमानको घरमा काम गरिरहेका थिए । त्यसदिन मेरो सालोको घरमा खसी काटेको र खानपिनको लागि मलाई बोलाएका थिए । खानपिन गर्दागर्दैको अवस्थामा पक्राउ परेको हुँ । मैले गैंडा मारी खाग बिक्री व्यवसाय गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी दलबहादुर प्रजाले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७/३/१३ का दिन म जिल्ला चितवन, कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटी मा बस्ने मेरो मितआमा धनमाया तामाङको घरमा भेटघाटको लागि गएको थिएँ । काजीमानको श्रीमती मेरो गाउँ शक्तिखोरकी चेली हुन् । म उनलाई साइँली दिदी भनेर बोलाउँछु । भोलिपल्ट बिहान मितआमाको घरमा हातमुख धोइसकेपछि साइँली दिदीले मलाई बोलाई खसी काट्ने योजना छ, खानपिन गर्न आउ है भनेर बोलाएकोले म साइँली दिदीको घरमा खानपिन गर्न लागेको थिएँ । खानपिन गरेर फर्कंदा मसमेतलाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी महेन्द्र गुरूङले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
काजीमानले घर निर्माण गर्दै गरेकोले काजीमानको घरमा म काम गर्न गएको थिए । त्यसदिन काजीमानले खसी काटी मलाई पनि खानपिनको लागि बोलाए । मलगायत दलबहादुर प्रजा, महेन्द्र गुरूङ र जीतबहादुर पुन खानपिन गरिरहेका थियौं । त्यसैबखत पक्री ल्याएको हो । काजीमान प्रजा र राजकुमार प्रजा गैंडा मारी खाग व्यवसाय गर्ने तस्कर हुन् भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाबहादुर तामाङले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७/३/१३ का दिन जिल्ला कास्की दाङसिङ गा.वि.स. वडा नं. ९ उल्लेरी घर भई हाल ऐ. पोखरा-उपमहानगरपालिका वडा नं. ३ बस्ने जितबहादुर पुन, जिल्ला चितवन खैरहनी पर्सा बस्ने शक्ति प्रजा भन्ने शक्ति पुन र म पोखराबाट बसमा नारायणगढ आयौं । त्यहाँबाट मिनिबस चढी जिल्ला चितवन वीरेन्द्रनगर गा.वि.स. नजिक पम्फा पूलमा ओर्ली मेरो घरमा गएर बास बस्यौं । त्यसको भोलिपल्ट शक्ति पुन बिहान आफ्नो घरतिर फर्किए । म र जितबहादुर पुन मेरै घरमा बस्यौं । मैले नयाँ घर बनाएकोले मिति २०६७ साल असार १४ का दिन मैले आफ्नो छरछिमेक र ईष्ट मित्रहरूलाई खसी काटी भोज खुवाउन थालेको थिएँ । खानपिनको क्रममा निकुञ्जबाट गएको गस्ती टोलीले जितबहादुर पुन, दलबहादुर प्रजा, मेरो भिनाजू, जिल्ला चितवन कोराक गा.वि.स. वडा नं. ९ बस्ने दलाबहादुर प्रजा, ऐ. शक्तिखोर गा.वि.स वडा नं. ८ बस्ने महेन्द्र गुरूङलाई पक्राउ गरेका हुन् । म भाग्न सफल भए । मिति २०६७।३।१४ का दिन बेलुका गैंडा मार्ने योजना बनाएका थियौं । यसभन्दा अगाडि मिति २०६७/२/२७ का दिन मेरो घरमा म, राजकुमार प्रजा, जितबहादुर पुन, शक्ति प्रजासँगै बसी गैंडा मार्ने योजना बनाएका थियौं । मिति २०६७/२/२७ को साँझमा म, राजकुमार प्रजा, जितबहादुर पुन, शक्ति प्रजा (पुन) कोराकबाट गैंडा मार्न भनी हिँडेर आउँदा राप्ती नदीमा निक्कै रात परिसकेको थियो । शक्ति प्रजा (पुन) राप्ती नदीमा आइपुगेपछि फर्किए । म, राजकुमार प्रजा र जितबहादुर पुन रातारात हिँडेर चितवन राष्ट्रिय निकुञ्जको गौर मचार चुरेघाँचमा आइपुग्यौं । बिहानीपख हुन लागेको थियो । बिहान मिरमिरे उज्यालोमा एउटा भाले गैंडा फेला पर्यो, बिहान करिब ४:४५ बजे राजकुमार प्रजाले भरूवा बन्दुकले गोली हान्दा गैंडाको गर्दनमा लाग्यो तर गैंडा ढलेन पुन: राजकुमार प्रजाले गोली हान्दा दायाँपट्टि गोली लाग्यो र गैंडा ढल्यो । खाग काट्ने बञ्चरो जितबहादुर पुनले बोकेका थिए । उक्त गैंडाको खाग काटी पालैपालोसँग राजकुमार प्रजा र मैले बोकेका थियौं । हामी खाग काट्ने बञ्चरो र बन्दोबस्तीका सामानसँगै लिएर गएका थियौं । मैले बन्दुकमा लाग्ने गोली र निलो पाइपमा बारूद बोकेको थिएँ । बन्दुकमा लाग्ने गोली फलामको छड काटी बनाएको हो । उक्त गोली पाडो भेना भन्ने शिवलाल वि.क.सँग लिएको हो । उक्त खाग बोकी मिति २०६७/२/२८ को दिनको १:३० बजे मेरो घरमा ल्याई उसिनेर मासु छुट्टयाई खागको तौल गरी जितबहादुर पुन र शक्ति पुनलाई काठमाडौं ल्याउनु भनी राजकुमार प्रजा र म मोटरसाइकलमा काठमाडौं गयौं । हामी काठमाडौं बसपार्कको तारा होटलमा जिल्ला चितवन खैरहनी ४ पर्साबजार बस्ने बुद्धिबहादुर प्रजासँगै बसेका थियौं । उक्त खाग बुद्धिबहादुर प्रजामार्फत बिक्री गरी रू.२०,०००००।– (बीस लाख) लिएका हौं । उक्त रकममध्ये शक्ति पुन र जितबहादुर पुनलाई पहिले ५/५ हजार दिई २/३ दिन पछि उनीहरूलाई २/२ लाख दिई अरू हामीले बाँडेर लिएका हौं । हामीले गैंडा मार्न प्रयोग गरेको बन्दुक जिल्ला चितवन कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटी बस्ने बलबहादुर प्रजाको हो । म, राजकुमार प्रजा र बुद्धिबहादुर प्रजासमेत भएर २०६० सालदेखि गैंडा मारी खाग बिक्री व्यवसाय गरी आर्थिक लाभ लिएका हौं । मसमेत जिल्ला चितवन कोराक गा.वि.स. वडा नं. ९ बस्ने राजकुमार प्रजा, ऐ.ऐ. बस्ने राजकुमार प्रजाको माइला दाजु बलबहादुर प्रजा, जिल्ला चितवन शक्तिखोर गा.वि.स. वडा नं. ७ सुकबहादुर प्रजा, ऐ. कोराक गा.वि.स. वडा नं. ९ बस्ने श्रीमान् साइला भन्ने शेरबहादुर चेपाङ, जिल्ला चितवन शक्तिखोर गा.वि.स. वडा नं. ८ अजिङ्गरे बस्ने व्यापारी कान्छा भन्ने केदार प्रजा, जिल्ला चितवन खैरहनी गा.वि.स. वडा नं. ४ बस्ने बुद्धिबहादुर प्रजा, कोराक ९ बस्ने रोगे भन्ने दिपे प्रजा, शक्तिखोर गा.वि.स. वडा नं. ८ बस्ने मेरो जेठान बुद्धिबहादुर प्रजासमेत भई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरी विभिन्न क्षेत्रमा गैंडा मारी खाग बिक्री व्यवसाय गरी आर्थिक लाभ लिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिलन भन्ने काजिमान प्रजाले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७/२/२७ का दिन जिल्ला चितवन कोराक गा.वि.स. वडा नं.९ चिप्लेटी बस्ने काजीमान प्रजा र जिल्ला कास्की दाङसिङ गा.वि.स. वडा नं. ९ उल्लेरी घर भई पोखरा उ.म.न.पा. वडा नं. ३ नदीपुर बस्ने जितबहादुर पुनलाई मैले मेरो मोटरसाइकलमा राखी जिल्ला चितवन वीरेन्द्रनगर गा.वि.स. वडा नं. २ बाट कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटीसम्म पुर्याएको हुँ । मैले त्यसभन्दा अगाडि जीतबहादुर पुनलाई चिनेको थिइन । मैले मेरो मामा काजिमान प्रजालाई राम्ररी चिन्दछु । जितबहादुर पुन र काजिमान प्रजा हाल गैंडा मारी खाग बिक्री व्यवसाय गरेको कसुरमा कारागार कार्यालय भरतपुर चितवनमा थुनामा रहेका छन् । मैले गैंडा मारी खाग बिक्री व्यवसाय गरेको छैन, आर्थिक लाभ लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी शक्ति प्रजाले मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।३।५ मा मैले दिएको प्रतिवेदनमा लागेको सहिछाप र बेहोरा मेरो हो भन्नेसमेत बेहोराको प्रतिवेदक सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा गरेको बकपत्र ।
सर्जमिन मुचुल्काको सहिछाप र बेहोरा मेरो हो भन्नेसमेत बेहोराको सर्जमिन मुचुल्काका मानिस वेदबहादुर खड्काले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा गरेको बकपत्र ।
मिसिल संलग्न आधार प्रमाणहरूबाट जीतबहादुर पुनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसुर अपराध गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम १४ वर्ष कैद र रू. ९०,०००।– (नब्बे हजार रूपैयाँ) जरिवाना हुने, प्रतिवादी काजिमान प्रजाले ऐ. ऐनको दफा ५(क) र १९(१) को कसुर अपराध गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम १५(पन्ध्र) वर्ष कैद र रू.१,००,०००।– (एक लाख) रूपैयाँ जरिवाना हुने, प्रतिवादी शक्ति प्रजाले सोही ऐनको दफा ५(क) र १९(१) को कसुर अपराध गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम १२(बाह्र) वर्ष कैद र रू.६०,००० (साठी हजार) रूपैयाँ जरिवाना हुने, प्रतिवादी राजकुमार प्रजाले ऐ. ऐनको दफा ५(क) र १९(१) को कसुर अपराध गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम १५ (पन्ध्र) वर्ष कैद र रू.१,००,०००।– (एक लाख) रूपैयाँ जरिवाना हुने, प्रतिवादी बुद्धिबहादुर प्रजाले ऐ. ऐनको दफा ५(क) र १९(१) को कसुर अपराध गरेको पुष्टि भएकोले निजलाई सोही ऐनको दफा २६(१) बमोजिम सोही ऐनको दफा २६(१) बमोजिम १५ (पन्ध्र) वर्ष कैद र रू.१,००,०००।– (एक लाख रूपैयाँ) जरिवाना हुने र प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, र महेन्द्र गुरूङले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट भएको फैसला ।
मैले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, इजलाससमक्ष बयान गर्दा मिति २०६७/२/२७ का दिन प्रतिवादीहरू काजीमान प्रजा र जितबहादुर पुनलाई मेरो मोटरसाइकलमा राखी जिल्ला चितवन विरेन्द्र नगर गा.वि.स. वडा नं. २ बाट कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटीसम्म पुर्याएको हुँ । मैले गैंडा मारी खाग बिक्री व्यवसाय गरेको छैन र आर्थिक लाभ लिएको छैन भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेको छु । मैले आफू कसुरमा सहभागी छैन भनी पूर्णरूपमा इन्कार रही बयान गर्दाको अवस्थामा पनि विना आधार प्रमाण मलाई दोषी ठहर गरिएको छ । जहाँसम्म सहअभियुक्तहरू काजीमान प्रजा र जितबहादुर पुनले गैंडाको खाग उसिनेर तयार भएपछि शक्ति प्रजा र जितबहादुर पुनले काठमाडौं पुर्याएको भनी मउपर पोल गरेका छन्, सो सहअभियुक्तको पोलहरू झुठ्ठा, बनावटी तथा काल्पनिक हुन् । निजहरूले मउपर किन त्यस किसिमको दोषारोपण गरे म जान्दिन । मैले उक्त खाग बिक्री वितरण गर्नको लागि काठमाडौं लागेको पनि छैन र उक्त खाग बिक्री वितरणपछि रू. ५,०००।– र २,००,०००।– लिएको पनि छैन । मैले आफ्नो बयानमा काजीमानसँग पहिलादेखि नै चिनजान भएको र जितबहादुर पुनलाई मेरो मोटरसाइकलमा राखी वीरेन्द्रनगर गा.वि.स. वडा नं. २ बाट कोराक गा.वि.स. वडा नं. ९ चिप्लेटीसम्म पुर्याई दिँदा चिनजान भएको हो । सोभन्दा अगाडि निज जितबहादुर पुनसँग चिनजान भएको थिएन र छैन भनी प्रस्टरूपमा उल्लेख गरी बयान गरेतर्फ न्यायकर्ताबाट कुनै किसिमको विवेचना भएको छैन । यसरी नेपाल सरकारले मैले अपराध गरेको पुष्टि गरी सजाय गर्नुपर्नेमा थुनामा रहेको व्यक्तिले ईन्कारी बयान पुष्टि गर्न नसकेको भन्ने अत्तो थापी मउपर सजाय गरेको गैरकानूनी तथा न्यायिक मनसायविपरीत भएको प्रस्ट छ । प्रतिवेदक लालबहादुर भण्डारीले पनि म पुनरावेदक शक्ति प्रजा उक्त गैंडा मारी खाग बिक्री वितरण गर्नमा संलग्न भएको छ भनी भन्न र लेखाउन सकिरहेको अवस्था छैन । यसरी मलाई निजले कहिँकतै पनि मेरो संलग्नता थियो भनी भन्न र लेख्न सकेको छैन । त्यस्तै सर्जमिन मुचुल्काका काम तामेल गर्ने वेदबहादुर खड्का उक्त सर्जमिनका मानिस होइनन् । निज उक्त कार्यालयका सहायक संरक्षण अधिकृत हुन् । अदालतमा बकपत्र गर्दा सर्जमिन गर्दा बेहोरा उल्लेख गर्ने व्यक्तिहरूले मात्र अदालतमा आई बकपत्र गर्ने हो, सर्जमिनको काम तामेल गर्ने व्यक्तिले अदालतमा साक्षी सरह बकपत्र गर्न मिल्ने नहुँदा त्यस्तो बकपत्रलाई प्रमाणमा लिई मलाई दोषी करार गर्न मिल्ने नमिल्ने हुँदा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले मलाई दोषी ठहर गरी गरेको फैसला गैरकानूनी भएकोले उल्टी गरी अभियोगबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शक्ति प्रजाले पुनरावेदन अदालत हेटौंडामा दायर गरेको पुनरावेदन पत्र ।
म पुनरावेदक प्रतिवादीले गैंडा मारेको कुरामा साबित भई बयान गरेको भनेकोमा मलाई मौकामा तथा संरक्षण अधिकृतसमक्ष समेत बयान गराउँदा कुनै पनि प्रश्न सोधिएको थिएन । कुनै पनि मुद्दाको अनुसन्धानको क्रममा भएको साबिती बयानको आधारमा मात्र मलाई कसुर गरेको भनी ठहर गर्न मिल्दैन । २०६७।२।२८ मा मारिएको गैंडाको सम्बन्धमा थप अनुसन्धान भएको र कुनै प्रमाणसमेत संकलन गरिएको अवस्थासमेत छैन । घटनास्थल मुचुल्का तयार गरी सो सम्बन्धमा अन्य कुनै पनि प्रमाणहरू संकलन भएको छैन । म पुनरावेदक प्रतिवादीले गैंडा मारेको हो भनी कुनै पनि कागज प्रमाणबाट देखिँदैन । वादीले मउपरको अभियोग दाबी निर्विवादरूपमा प्रमाणित गर्ने सकिरहेको अवस्था छैन । मैले गैंडा मार्न जाउँ भनी अन्य प्रतिवादीहरूलाई लिई गएको र कुनै फाइदा लिएको मिसिल प्रमाणबाट देखिँदैन । म गैंडालाई गोली हान्ने मानिस पनि होइन । मैले गैंडाको खाग काटी ल्याएको भन्ने पनि छैन । सर्जमिनको कुनै पनि मानिसले सो वारदातमा मेरो संलग्नता देखाई बेहोरा लेखाउन सकेका छैनन् । जितबहादुर पुन पनि गैंडा मारी खाग तस्कर गर्ने कार्यमा संलग्न भएको हुनुपर्छ भनी सर्जमिन बेहोरामा लेखाएको अनुमान र शंकाको आधारमा मात्र मलाई सजाय गर्न मिल्ने अवस्था हुँदैन । सहप्रतिवादीहरूको पोललाई मेरो विरूद्धमा प्रमाणमा लिन मिल्दैन । वारदात भयो भनिएको दिन म सो निकुञ्ज क्षेत्रमा गएको अवस्था छैन । सो दिन म आफ्नो घर जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं. ३ नदीपुरमा रहेको थिएँ । म सो खाग बेच्नको लागि काठमाडौं गएको पनि छैन । वारदातस्थलमा र सोपश्चात् मलाई कसुर अपराध गर्दाकै अवस्थामा देख्ने कोही पनि प्रत्यक्षदर्शी मानिस भएको अवस्था छैन । अन्य सहप्रतिवादीहरूको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्दछ । तर निजहरूको पोल कुनै अन्य प्रमाणबाट पुष्टि नभएको हुँदा निजहरूको पोललाई मेरो विरूद्धमा प्रमाणमा लिन नमिल्ने हुँदा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराले मलाई सजाय गरी गरेको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर पुनले पुनरावेदन अदालत हेटौंडामा दायर गरेको पुनरावेदन पत्र ।
मिति २०६७।३।१४ गते दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङसमेतलाई गैंडा मारी खाग बिक्री तथा ओसारपसार गरेको कार्यमा संलग्न भएको बुझिएकोले निजहरूलाई पक्राउ गरी आवश्यक कानूनी कार्वाहीका लागि पेस गरेको भन्ने सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीको प्रतिवेदन परेको देखिनुका साथै निजले उक्त प्रतिवेदनको बेहोरालाई पुष्टि गर्दै मुद्दा सुन्ने अधिकारीसमक्ष बकपत्र गरेका छन् । त्यस्तै सर्जमिन मुचुल्काका व्यक्तिहरूको मौकाको भनाई, लेखाई र बेदबहादुर खड्काको बकपत्रबाट यी प्रतिवादीहरू गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहे भएको कुरा स्पष्ट हुन आएको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवनले उक्त प्रमाणहरूको समुचितरूपमा मूल्याङ्कन एवं विश्लेषण गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले फैसला गर्ने क्रममा यी सफाइ पाएका प्रतिवादीहरूले योजनाबद्ध ढङ्गले गैंडा मारी खाग बेची तस्करी गरी रूपैयाँ कमाउने लालचमा कसुर गर्न खोजेको, गैंडा मार्न र खाग बिक्री व्यवसाय गर्नका लागि मतसल्लाहमा पसी योजना बनाई खाग बिक्री गरी रूपैयाँ बाँडी खानेसमेतको कार्य संयुक्तरूपमा प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिएको छ । जसबाट समेत उक्त फैसला स्वयम्मा विरोधाभाषपूर्ण रहेको छ । यी प्रतिवादीहरू आरोपित कसुर अपराधमा इन्कार रहे पनि सो इन्कारीलाई निजहरूले ठोस प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । यी प्रतिवादीहरू समेत प्रतिवादी काजीमान प्रजाको घरमा खसी काटी खाई खानपिन गरी बसी गैंडा मारी खाग बिक्री व्यवसाय गर्ने कुरा गरी योजना बनाई मतसल्लाह गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यी प्रतिवादीहरूको आरोपित कसुरमा संलग्नता रहे भएको तथ्यलाई पुष्टि गर्ने आधार प्रमाणहरूको विद्यमानता देखिँदादेखिँदै पनि निज प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसला सो हदसम्म कानूनीरूपमा त्रुटिपूर्ण रहेकोले उक्त फैसला बदर गरी निज प्रतिवादीहरूलाई समेत अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत हेटौंडामा दायर गरेको पुनरावेदन पत्र ।
सर्वप्रथम म पुनरावेदकलाई फरार रहेको भन्ने अत्तो थापी मलाई सजाय गरिएको छ । तर म कहिले पनि फरार नभई आफ्नो गाउँ घर तथा रोजगारीको लागि पोखरा तथा काठमाडौंमै रही बसी आएको छु । म गैंडालाई गोली हान्ने तथा गैंडा मार्ने कार्यमा संलग्न छैन । यसरी मेरो अनुपस्थितिमा मेरो बयान नलिई मनोमानी ढंगबाट मिसिल खडा गरी मलाई सजाय गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराको फैसला गैरकानूनी छ । फैसलापछि मलाई पक्राउ गरी गराइएको बयान मेरो स्वेच्छाले गरेको होइन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मिति २०७०/२/२९ मा मलाई १५ वर्ष कैद र रू. १,००,०००।– जरिवाना हुने गरी फैसला गरेपछि आफूले गरेको फैसलालाई कायम राख्न मलाई पक्राउ गरी निजहरूले तयार गरेको बनी बनाउ बयानमा सहिछाप गर् भनी भन्दा मैले इन्कार गरी सही गर्न नमान्दा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा कर्मचारी र सेनासमेतले मलाई कुटपिट गरी खुट्टामा बाँधी उधोमुन्टो पारी मेरो पैतालामा हिर्काई र सुकेको खुर्सानी आगोमा हाली त्यसको धुवाँ सुँघाएर मलाई जबरजस्ती सहिछाप गराएको हो । कुनै पनि मुद्दा फैसला भइसकेपछि र सो मुद्दामा सजाय दिइसकेपछि सोही मुद्दाका प्रतिवादीलाई पक्राउ गरी थुनामा राखी बयान लिन पाउने कानूनी प्रावधान कहीँकतै कुनै कानूनमा नभएकाले उक्त बयान कानून विरूद्ध भएको प्रस्टरूपमा देखिएको छ । यसको साथै म हेपाटाइटीस बि. को रोगी उक्त वारदातमा संलग्न हुन सक्ने अवस्थाको पनि छैन । सहअभियुक्तहरू काजीमान प्रजा र जितबहादुर पुनको बयानको आधारबाट मलाई दोषी करार गरेको छ । निज सहअभियुक्तहरूको के कसो गरी बयान लिए सो कुरा निजहरूले नै व्यक्त गर्ने कुरा हो । निजहरूलाई पनि डर धाक धम्की र यातना दिई बयान गराएको हुन सक्छ । सो कारणले निजहरूले मलाई पोल्ने बित्तिक्कै म दोषी करार हुने होइन । सहअभियुक्तको पोल आफैँमा आधारभूत प्रमाण होइन । सहअभियुक्तको पोलबाहेक अन्य प्रमाण हेरी मेरो संलग्नात छ कि छैन भनी हेर्नुपर्नेमा सो नहेरी मिसिल संलग्न कागजातबाट मलाई कहीँकतैबाट पनि दोषारोपण गर्न नसकेको अवस्थामा केवल २ जना सहअभियुक्तले मलाई पोल गरेको कारणबाट मात्र मलाई दोषी करार गर्न मिल्दैन । शंकारहित स्वतन्त्र प्रमाणबाट मेरो कसुर पुष्टि हुन नआएको अवस्थामा मलाई कसुरदार ठहर गरी भएको त्रुटिपूर्ण फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धिबहादुर प्रजाले पुनरावेदन अदालत हेटौंडामा दायर गरेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी जितबहादुर पुनसमेत र लालबहादुर भण्डारीको जाहेरीले वादी नेपाल सरकारको तर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ नेपाल सरकारको पुनरावेदनका हकमा प्रतिवादीहरूलाई र प्रतिवादीहरूको पुनरावेदनको हकमा नेपाल सरकारलाई झिकाई / एक अर्कालाई सुनाई लगाउको मुद्दाहरू साथै राखी पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको आदेश ।
गैंडा मार्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरी गैंडा मारी खाग काटी लगी बिक्री गरेको आएको रकम प्राप्त गर्ने प्रतिवादी जितबहादुर प्रजा पोखरा निवासी भएको देखिन्छ । पोखरामा प्रतिवादी काजीमानसँग साथ गैंडा मार्ने योजनामा गएको भन्ने पुष्टि हुन्छ । यसप्रकार नियोजित मनसायपूर्वक रूपमा गैंडा मार्न संलग्न रहेका प्रतिवादी जितबहादुर पुनले गरेको कसुरको मात्रा र अपराधको गाम्भिर्यतासमेतलाई विचार गर्दा निज प्रतिवादी जितबहादुर पुनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार १४ वर्ष कैद र रू. ९० हजार जरिवानासमेत गर्ने गरी भएको फैसला अन्यथा देखिन आएन । त्यस्तै प्रतिवादी शक्ति प्रजाले गैंडा मार्न गएका अन्य ३ जना साथीलाई राप्तीको खोलासम्म पुर्याएका, गैंडा मारी खाग ल्याएपछि सो खाग प्रतिवादी जितबहादुर पुन र निज प्रतिवादी शक्ति प्रजा भई काठमाडौंसम्म माइक्रो बसमा पुर्याई खाग बिक्री गरी रकम प्राप्त गरेको सो गैरकानूनी व्यवसायमा प्रत्यक्ष संलग्न भई आपराधिक कार्य गरेकोले निजले गरेको कसुरको मात्रा र अपराधको गाम्भिर्यतासमेतलाई विचार गरी उक्त ऐनको दफा २६(१) अनुसार निज प्रतिवादी शक्ति प्रजालाई कैद १२ वर्ष र जरिवाना रू.६० हजारसमेत हुने गरी भएको फैसला अन्यथा देखिन आएन । प्रतिवादीहरू दुर्गाबहादुर तामाङ, दलबहादुर प्रजा र महेन्द्र गुरूङ काजीमानको घरमा खानपिन, ज्याला मजदुरी गर्न गएको अवस्थामा पक्राउ परेको देखियो । निज प्रतिवादीहरूले प्रस्तुत गैंडा मार्ने, खाग बिक्री व्यवसाय गर्ने आपराधिक कार्यमा संलग्न रहेको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन आएको पाइएन । अतः निज प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङले दाबीको कसुर गरेको देखिन नआएकोले निज तिनै जना प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसलालाई अन्यथा गर्नुपर्ने नदेखिँदा प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ महेन्द्र गुरूङबाहेकका अन्य प्रतिवादीहरूले गैंडा मारी खाग बिक्री व्यवसाय गरेको पुष्टि हुन आएकोले प्रतिवादी जितबहादुर पुन, शक्ति प्रजा, बुद्धिबहादुर प्रजासमेतलाई निजहरूले गरेको कसुरको मात्राअनुसार सजाय गर्ने गरी र प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवनको मिति २०७०।२।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।
मिति २०६७।३।१४ का दिन दलबहादुर प्रजा, दुर्गाबहादुर र महेन्द्र गुरूङसमेतलाई गैंडा मारी खाग बिक्री तथा ओसारपसार गरेको कर्यमा संलग्न भएको बुझिएकोले निजहरूलाई पक्राउ गरी आवश्क कानूनी कारवाहीका लागि पेस गरेको भन्ने लालबहादुर भण्डारीको प्रतिवेदन पर्नुका साथै सोही बेहोरालाई मिलान हुने गरी इजलासमा बकपत्रसमेत गरेका छन् । त्यस्तै सर्जमिन मुचुल्काका व्यक्तिहरूको मौकाको भनाई लेखाई र वेदबहादुर खडकाको बकपत्रबाट समेत यी प्रतिवादीहरू गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न भएको कुरा स्पष्ट हुन आएको देखिन्छ । प्रतिवादीहरूले योजनाबद्धरूपले गैंडा मार्ने र खाग बिक्री व्यवसाय गर्नका लागि मत सल्लाहमा पसी योजना बनाएको देखिन्छ । यी प्रतिवादीहरू आरोपित कसुरमा इन्कार रहेपनि सो इन्कारी बयानलाई पुष्टि हुने गरी कुनै ठोस प्रमाण पेस गर्ने सकेको नदेखिएकोले निजहरूलाई सफाइ दिएको हदसम्म पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई अभियोग माग दाबीअनुसार सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
अनुसन्धान अधिकारी र इजलासमा मेरो बयान लिएको होइन । पहिलादेखि तयार गरेर राखेको कागजमा मलाई जबरजस्ती सहिछाप गराएको हो । यसरी मेरो इच्छाविपरीत गराइएको उक्त बयानलाई मेरो विरूद्ध प्रमाणमा लिन मिल्दैन । मजस्तै अन्य प्रतिवादीहरूलाई पनि जबरजस्ती बयान गराइएको हुनसक्ने भएकोले सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म प्रमाणमा लिन मिल्दैन । प्रस्तुत गैंडा मारेको कार्यमा मेरो संलग्नता छ की छैन भन्ने कुरा वस्तुनिष्ट प्रमाणबाट पुष्टि हुन सकेको छैन । यस्तो अवस्थामा केवल सहअभियुक्तको बयानको आधारमा मलाई दोषी ठहर गर्न मिल्दैन । प्रतिवेदक लालबहादुर भण्डारीको बकपत्रमा म प्रतिवादी गैंडा मारेको कार्यमा संलग्न भएको भनी भन्न सकेको अवस्था छैन । वेदबहादुर खड्का सर्जमिन मुचुल्काका मानिस होइनन् निज सर्जमिन गराउने मानिस मात्र भएकोले निजको बकपत्रले कानूनी मान्यता पाउने होइन र निजको बकपत्रको आधारमा मलाई सजाय गर्न नमिल्ने हुँदा मलाई आरोपित कसुरमा सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितबहादुर पुनको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागज अध्ययन गरी पुनरावेदक प्रतिवादी जितबहादुर पुनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री युवराज ओलीले प्रतिवादी जितबहादुर अनुसन्धानको क्रममा एवं मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको भनिएको बयान निजको आफ्नो बेहोरा नभई पहिलादेखि तयार गरेर राखेको कागजमा जबरजस्ती सहिछाप गर्न लगाएको हो । सहअभियुक्तहरूको बयान पनि सोही तरिकाले भएको र उक्त बयान मिसिल संलग्न कुनै अन्य कागज प्रमाणबाट पुष्टि नभएकोले त्यस्तो बयानलाई प्रमाणमा लिन मिल्दैन । त्यस्तो प्रमाणको आधारमा प्रतिवादी जितबहादुर प्रजालाई आरोपित कसुरमा सजाय गर्ने गरी भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण रहेकोले बदर गरी प्रतिवादीले सफाइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन सोही सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू जितबहादुर पुन, काजीमान प्रजा, राजकुमार प्रजासमेत भई राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गैंडा मारी खाग काटी ल्याई शक्ति प्रजा र बुद्धिबहादुर प्रजासमेत भई काठमाडौं लगी बिक्री गरेको सो कार्यमा दलबहादुर प्रजा, महेन्द्र गुरूङ, दुर्गाबहादुर तामाङसमेतको संलग्नता रहेकोले प्रतिवादीहरू जितबहादुर पुन, काजीमान प्रजा र राजकुमार प्रजालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसुरमा, प्रतिवादीहरू शक्ति प्रजा, बुद्धिबहादुर प्रजा, दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङसमेतलाई ऐ.ऐनको दफा १९(१) को कसुरूमा सोही ऐनको दफा २६(१) बमोजिम सजाय हुन माग दाबी लिई अभियोग पत्र दायर भएको रहेछ । प्रतिवादी जितबहादुर पुनले अनुसन्धानको क्रममा एवं मुद्दा सुन्ने अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुर स्वीकार गरेका छन् भने प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङ आरोपित कसुरमा अनुसन्धानको क्रममा एवं मुद्दा सुन्ने अधिकारीसमक्ष बयान गर्दा इन्कार रहेकोमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवनले प्रतिवादी जितबहादुर पुनलाई १४ वर्ष कैद र रू. ९०,०००।- जरिवाना र प्रतिवादीहरू मध्ये दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङले सफाइ पाउने ठहर्याएको निर्णयउपर पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाबाट निज प्रतिवादीहरूको हकमा भएको सुरू फैसला सदर भएकोले सोउपर प्रतिवादी जितबहादुर पुन र नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. यस अदालतमा पुनरावेदन नपरेका प्रतिवादीहरूको हकमा केही बोली रहनु परेन । चितवन राष्ट्रिय निकुञ्जभित्र गौर मचाननजिक बाँस खोला पश्चिम सालघारीमा भाले गैंडा मृत अवस्थामा फेला परेको, सो गैंडाको खाग धारिलो हतियारले काटी चोरी लगेको भनी घटनास्थल प्रकृति मुचुल्काबाट देखिन्छ । उक्त गैंडाको दायाँ काँधको नजिक खाल परेको घाउ रहेको, गैंडाको दुईवटा करङ्गको हड्डी भाँचिएको, गैंडाको छातीबाट घरेलु गोली प्राप्त भएको भनी गैंडाको मृत्युको कारण Hemorrhagic shock due to injuries of the bullet on the lungs भएको भनी पोष्टमार्टम प्रतिवेदनबाट देखिन्छ । उक्त घटनास्थल मुचुल्का र पोष्टमार्टम प्रतिवेदनमा उल्लिखित बेहोराबाट गैंडाको मृत्यु गोली लागेर भएको तथ्यमा विवाद भएन ।
४. उक्त गैंडा मारेको आरोपमा पुनरावेदक प्रतिवादी जितबहादुर पुनसमेतलाई सजाय हुने ठहरेको पुनरावेदन अदालतको फैसलाउपर निज जितबहादुरको र प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङलाई सफाइ दिएको उपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेकोले सर्वप्रथम प्रतिवादी जितबहादुर प्रजाको पुनरावेदनको सन्दर्भमा विचार गर्दा गैंडा मारी खाग काटी बिक्री गरेको भनी यी प्रतिवादीसमेतलाई किटान गरी जाहेरी परेको देखिन्छ । सहअभियुक्त काजीमान प्रजाले मुद्दा हेर्ने अधिकारीसमक्ष यी प्रतिवादीसमेत भई गैंडा मार्ने योजना बनाई जंगलभित्र गई गैंडा फेला पारी मारी खाग काटेको हो भनी निजलाई पोल गर्दै बयान गरेका छन् । प्रतिवादी जितबहादुर पुन अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्ष गैंडा मार्ने योजना बनाएको हतियार लिई जंगलमा गई गैंडा फेला पारी मारेको हो । निज आफूले बञ्चरो बोकेको भनी आरोपित कसुरमा साबित भई बयान गरेका छन् ।
५. प्रतिवादी जितबहादुर पुनले यस अदालतमा पुनरावेदन गर्दा अनुसन्धान अधिकारी इजलाससमक्षको निजको बयान स्वतन्त्रपूर्वक नभएकोले र सहअभियुक्तको पोलको आधारमा मात्र दोषी मुकरर गर्न मिल्दैन भनी जिकिर लिएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३१ ले ऐनको दफा २६ को उपदफा (१) र (२) अन्तर्गत कसुर हुने मुद्दाको सुरू कारवाही र किनारा गर्ने अधिकार प्रमुख संरक्षण अधिकृतलाई दिएको देखिन्छ । कानूनले नै मुद्दा सुन्ने अधिकारी तोकिसकेपश्चात् सो अधिकारीले मुद्दाको कारवाहीको सिलसिलामा बयान, बकपत्रलगायतका प्रमाण बुझ्ने अधिकारसमेत रहेको मानिन्छ । त्यस्तो मुद्दा हेर्न अधिकारी तोकिसकेपश्चात निजले गराएको बयान स्वतन्त्रपूर्वक भएको होइन भनी प्रतिवादीको भनाईको आधारमा मात्र मान्न मिल्दैन । त्यस्तो अधिकारीले मुद्दा सुनुवाइको क्रममा गरे गराएको कार्य अन्यथा प्रमाणित नभएसम्म स्वच्छ सुनुवाइको सिद्धान्तअनुसार नै गराएको मान्नु पर्ने हुन्छ । अनुसन्धानको क्रममा एवं मुद्दा हर्ने अधिकारीसमक्ष भएको बयान एक आपसमा मेल खाइरहेको अवस्थामा उक्त बयानहरू स्वतन्त्रपूर्वक भएको होइन भन्ने जिकिर प्रतिवादीले लिएको खण्डमा सो कुरा प्रमाणित गर्ने दायित्व पनि निजको नै हुन आउने देखिन्छ । तर प्रस्तुत मिसिल संलग्न त्यस्तो कुनै प्रमाण यी प्रतिवादीले पेस गर्न नसकेकोले उक्त बयान स्वतन्त्रपूर्वक भएको होइन भनी शंका गर्न मिल्दैन ।
६. जहाँसम्म सहअभियुक्तको पोलको प्रश्न छ । सहअभियुक्तको पोल आफैँमा कुनै ठोस प्रमाण होइन । यो मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित भएको खण्डमा मात्र प्रमाणयोग्य मानिन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीलाई पोल गर्ने सहअभियुक्त काजीमान प्रजाको बयान निज प्रतिवादी जितबहादुरको अनुसन्धानको क्रममा एवं मुद्दा हेर्ने अधिकारीसमक्ष भएको बयानबाट समर्थित भएको देखिन्छ । उक्त बयान स्वतन्त्रपूर्वक भएको देखिएको अवस्थामा त्यस्तो बयानलाई प्रमाणमा नलिनु पर्ने कारण देखिँदैन । यसका साथै सहअभियुक्त काजीमान प्रजासँग निज प्रतिवादीको कुनै पूर्वरिसइवी इत्यादि केही नभएको देखिएबाट सो बयानलाई प्रमाणमा लिन मिल्ने नै देखियो । तसर्थ यी प्रतिवादीको अनुसन्धान एवं मुद्दा हेर्ने अधिकारीसमक्ष भएको साबिती बयान, सहअभियुक्त काजीमान प्रजाले निजलाई पोल गरी गरेको बयानसमेतका मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी जितबहादुर पुन गैंडा मार्ने योजना बनाई सो योजनालाई कार्यान्वयन गर्न अन्य प्रतिवादीहरूसँगै आवश्यक हातहतियार लिई निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी गैंडा मारी खाग काटेको कार्यमा संलग्न रहेको देखियो ।
७. प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङलाई पनि अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेकोले सोतर्फ हेर्दा, यी प्रतिवादीहरू उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसुरमा २६(१) बमोजिमको सजायको माग दाबी लिई अभियोग दायर भएको देखिन्छ । आरोपित कसुरमा प्रतिवादीहरू तिनै जना अनुसन्धानको क्रममा एवं मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा इन्कार रहेको देखिन्छ । निज प्रतिवादीहरू काजीमानको घरमा खानपिन गर्न गएको बेला पक्राउ परेको मिसिल संलग्न निजहरूको बयान बेहोराबाट देखिन्छ । यी प्रतिवादीहरूलाई कुनै पनि सहअभियुक्तहरूले पोल गर्न सकेका छैनन् । अन्य सहअभियुक्तहरूको बयान बेहोराबाट पनि निजहरू गैंडा मार्ने योजना बनाउने उद्देश्यले निकुञ्जभित्र प्रवेश गरेको वा बिक्री गर्ने कार्यमा निजहरूको कुनै तवरले संलग्नता रहेको कुरा पनि देखिँदैन । फौजदारी मुद्दामा अभियुक्तको अपराध शंकारहित तवरले प्रमाणित हुनुपर्ने भनी फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रही आएको छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङको नाम जाहेरी प्रतिवेदन एवं अभियोग पत्रबाहेक अन्यत्र उल्लेख भएको देखिँदैन । जाहेरी प्रतिवेदन आफैँमा कुनै प्रमाण नभई वारदात घटेको सूचनासम्म भएको र त्यसमा उल्लेख भएको बेहोरा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्दछ । प्रतिवेदक लालबहादुर भण्डारीले इजलाससमक्ष बकपत्र गर्दासमेत यी प्रतिवादीहरूलाई दोषी देखाउन सकेका छैनन् । यसका साथै प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरूङको उपर लगाइएको आरोप मिसिल संलग्न कुनै पनि स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले निजहरूलाई आरोपित कसुरबाट सफाइ दिएको फैसलालाई अन्यथा मान्न मिलेन ।
८. प्रतिवादी जितबहादुर पुन गैंडा मार्ने कार्यमा संलग्न रहेको देखिएपश्चात् निजको सो कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (चौथो संशोधन २०४९) को दफा ५(क),१९(१) र २६(१) मा वर्णित अपराध भएकोले निज प्रतिवादीलाई सोही २६(१) बमोजिम सजाय हुने देखियो । सो दफा २६(१) मा “गैरकानूनी तरिकाले गैंडा... मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग... राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पचासहजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने" व्यवस्था रहेको छ । यी प्रतिवादीसमेतले निकुञ्जभित्र गैरकानूनीरूपमा हातहतियार लिई प्रवेश गरी संरक्षण गर्नुपर्ने अति दुर्लभ वन्यजन्तु गैंडा मारेको र त्यसको खाग बिक्री गरी आर्थिक फाइदा लिएको देखिएबाट निजले गरेको कसुरको गम्भीरतासमेतलाई विचार गर्दा निजलाई उपर्युक्त कानूनी व्यवस्थाबमोजिम १४ वर्ष कैद र रू.९०,०००।- जरिवाना हुने ठहर्याएको फैसला कानूनसम्मत नै देखिन आएकोले परिवर्तन गरिरहनु परेन । प्रतिवादी जितबहादुर पुनले आरोपित कसुरबाट सफाइ पाउनु पर्दछ भनी निजका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस एवं निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. तसर्थ माथि विवेचित आधार, कारण एवं प्रमाणबाट प्रतिवादी जितबहादुर पुनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (चौथो संशोधन, २०४९) को दफा २६(१) बमोजिम १४ वर्ष कैद र रू.९०,०००।- जरिवाना तथा प्रतिवादीहरू दलबहादुर प्रजा, दुर्गाबहादुर तामाङ र महेन्द्र गुरूङलाई आरोपित कसुरबाट सफाइ दिने गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा, चितवनबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१०।२७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत: रामु शर्मा
इति संवत् २०७३ चैत २० गते रोज १ शुभम् ।