निर्णय नं. ९९५१ - उत्प्रेषण / परमादेश
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
आदेश मिति : २०७४।८।१२
०७०-WO-०४४२
विषयः उत्प्रेषण / परमादेश
निवेदक : सोलुखुम्बु जिल्ला जुभिङ्ग गा.वि.स. वडा नं. १ खरिखोला गाउँमा जन्म भई काठमाडौं जिल्ला कपन गा.वि.स. वडा नं. २ अस्थायी ठेगाना भएको हाल संयुक्त राज्य अमेरिका वासिङ्टन राज्यको २३, १५२ नौ प्लेस साउथ इष्ट, लिन बुड् वासिङटन ९८०८७ बस्ने कितेम्बा शेर्पाको नाति थरके शेर्पाको छोरा वर्ष ४६ को लाक्पा गेलु शेर्पा
विरूद्ध
विपक्षी : माननीय मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, कठमाडौंसमेत
कुनै काम गर्नको लागि कानूनले निश्चित कार्यविधि र प्रक्रियाको व्यवस्था गरेको छ भने उपर्युक्त कार्यविधि र प्रक्रिया पूरा गरेको अवस्थामा मात्र सो कार्यले वैधानिकता प्राप्त गर्न सक्छ । छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढी विश्व कीर्तिमान कायम गर्ने जस्तो गम्भीर र राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारको विषयमा कानूनले तोकेको कार्यविधि र प्रक्रिया पूरा भएको छ वा छैन भन्ने कुरालाई कठोरताको साथ परीक्षण गरिनुपर्ने ।
पर्वतारोहीसँग जाने सम्पर्क अधिकृत नेपाल सरकारको प्रतिनिधिसमेत हो । पर्वतारोहण टोलीसँग गएर फर्किएपश्चात् सम्पर्क अधिकृतले नियमावलीले व्यवस्था गरेबमोजिमको विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायसमक्ष पेस गर्नुपर्ने ।
(प्रकरण नं.५)
निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिशङ्कर निरौला र श्री भैरवराज पन्त
विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायधिवक्ता श्री किरण पौडेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९
आदेश
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:
म निवेदक लाक्पा गेलु शेर्पाले सगरमाथाको आधार शिविरबाट १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा सन् २००३ को मे २६ का दिन बिहान ३ बजेर ५६ मिनेट ४६ सेकेण्डमा पुगी विश्व कीर्तिमान स्थापना गरेकोमा यस सत्यगत तथ्यउपर प्रत्यर्थीहरू मध्येको पेम्बा दोर्जी शेर्पाले शंका गर्दै आवश्यक छानबिनका लागि प्रत्यर्थी मन्त्रालयसमक्ष निवेदन दिनु भएकोमा विस्तृतरूपमा अनुसन्धान तथा छानबिन गर्दा उल्लिखित विश्व कीर्तिमान कायमै रहेको देखिएको भन्नेसमेत मिति २०६० साल साउन १३ को तत्कालीन श्री ५ को सरकार (मन्त्रीस्तरीय) को निर्णय अन्तिमरूपमा रहेको छ । सन् २००४ को मे २१ तदनुसार २०६१ साल जेठ ८ गते (औंशीको भोलिपल्ट) सबैभन्दा छोटो समय ८ घण्टा १० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथा पुगी नयाँ विश्व कीर्तिमान कायम गरेको भनी प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले दाबी गरेकोमा मैले उक्त दाबी झुठ्ठा र निराधार भएकोले सत्य तथ्य कुरा छानबिन गरिपाउँ भन्नेसमेत बेहोराको उजुरी निवेदन मिति २०६१।२।१८ मा प्रत्यर्थी मन्त्रालयसमक्ष दिएको थिएँ । सोपश्चात् सो सम्बन्धमा विस्तृत छानबिन गरी सत्य तथ्य विवरण पत्ता लगाउनुको साथै भविष्यमा पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्ने विषयमा अपनाउनु पर्ने प्रक्रिया र कार्यविधिको बारेमा पनि राय सुझावसहित प्रतिवेदन पेस गर्न प्रत्यर्थी मन्त्रालय, ट्रेकिङ तथा पवर्तारोहण शाखाका उपसचिवको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिको गठन भएको थियो । उक्त समितिले प्रत्यर्थी मन्त्रालयसमक्ष पेस गरेको प्रतिवेदनको आधारमा निज पेम्बा दोर्जे शेर्पाले सगरमाथा आरोहणको क्रममा कायम गरेको ८ घण्टा १० मिनेटको विश्व कीर्तिमानलाई श्री ५ को सरकार (मन्त्रीस्तर) को मिति २०६१।५।२९ को निर्णयबाट अनुमोदन गरिएको बेहोरा” प्रत्यर्थी मन्त्रालयबाट मिति २०६१।५।३१ मा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख भएको थियो । सो विज्ञप्तिउपर मेरो चित्त नबुझी बदर गरिपाउँ भनी सबुद प्रमाणसहित पटकपटक विभिन्न मितिमा प्रत्यर्थीहरू समक्ष उजुरी निवेदन पत्रहरू दिइएकोमा सोउपर कुनै निर्णय नभएको कारणले बाध्य भई शीघ्र निर्णय गरी गराई पाउँ भनी पुनरावेदन अदालत, पाटनमा परमादेशको माग गरी निवेदन दायर गरेकोमा सो अदालतबाट शीघ्र उचित न्याय दिनु भनी मिति २०६९।६।३ मा परमादेशको आदेश जारी भएको थियो ।
पुनरावेदन अदालत, पाटनको उल्लिखित आदेशबमोजिम निर्णय गरिपाउँ भनी मैले प्रत्यर्थी मन्त्रालयमा निवेदन दिएकोमा सो मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट “सम्पर्क अधिकृतको रिपोर्ट, सो दलका नेताको रिपोर्ट, छानबिन समितिको प्रतिवेदनलगायतका प्रमाणहरूको आधारमा मिति २०६१।५।२७ गते यस मन्त्रालय (मा.मन्त्रीस्तर) को निर्णयबमोजिम जारी भएको प्रेस विज्ञप्तिअनुसार श्री पेम्बा दोर्जी शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई मिति २०६१।५।३१ मा यस मन्त्रालयबाट अनुमोदन भइसकेकोले निवेदकको मिति २०६१।२।१८ लगायतका निवेदनमा थप कारवाही गर्नु नपर्ने देखिएकोले सोही बेहोराको जानकारी निज निवेदक लाक्पा गेलु शेर्पालाई दिने” भनी मिति २०७०।४।२३ मा निर्णय भएको रहेछ । जुन कुरा प्रत्यर्थी मन्त्रालयबाट मिति २०७०।७।२८ मा मलाई दिएको जानकारीबाट थाहा भयो ।
मिति २०६९।०६।०३ मा पुनरावेदन अदालत, पाटनबाट जारी भएको “शीघ्र नै उचित निर्णय गर्नु” भन्ने परमादेशको आदेशबमोजिम प्रत्यर्थीहरूले मलगायत सरोकारवालाहरू सबैलाई रोहबरमा राखी मैले दिएको २०६७।१२।२१ समेतको निवेदन पत्रमा लेखिएको दाबीको सम्बन्धमा छलफल गराई निष्कर्ष तथा निर्णयमा पुग्नु पर्नेमा त्यसतर्फ कुनै ध्यानदृष्टि नै नदिई मेरो विरूद्धमा पूर्वाग्रह राखी मिसिल संलग्न वस्तुनिष्ठ सबुत प्रमाणको न्यायिक मनले वस्तुनिष्ठ मूल्याङ्कन नगरी, टिप्पणी सदर गर्ने विना निर्णयाधारको “हुन्छ” भन्ने निर्णय २०७०।०४।२३ मा प्रत्यर्थीमध्येको मन्त्रीज्यूबाट भएको छ । जुन कार्य पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६९।०६।०३ मा भएको आदेशविपरीत रहेको छ ।
मिति २०६१।०५।३१ मा प्रत्यर्थी मन्त्रालयबाट प्रकाशित प्रेस विज्ञप्तिमा उद्धृत मिति २०६१।०५।२९ को निर्णयको बुँदा तथा आधारहरू केलाई हेर्दा “श्री पेम्बा दोर्जी शेर्पाले उल्लिखित समयमा सगरमाथा शिखरमा पुगेको तस्विर र साक्षी जस्ता ठोस प्रमाण पेस गर्न नसकेको भए तापनि शिखरबाट आधार शिविरमा रहेका सम्पर्क अधिकृतलाई वाकीटकीबाट टिपाएका सामानहरू निजले आफूसँगै फर्कंदा ल्याई मन्त्रालयमा बुझाएको प्रमाण, सम्पर्क अधिकृतले मन्त्रालयलाई उपलब्ध गराएको सोही बेहोराको जानकारी, निजसँग सम्बन्धित आरोहण दलका नेताले उल्लिखित समयमा शिखरमा पुगेको भनी प्रमाणित गरिदिएको कागजात, शिखरबाट ल्याएका प्रमाणहरू मध्ये रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिनु र लामा घेसेको कुपर भनिएका कागजात पाङ्गवोचेका दा सोनाम शेर्पाले १७ मे मा सगरमाथा आरोहण गर्दा शिखरमा छोडेको पक्षसमेत अन्यथा प्रमाणित नभएसम्म प्रमाणको कोटीमा राख्नु पर्ने कारणले गर्दा निज पेम्बा दोर्जे शेर्पाले उल्लिखित समयमा सगरमाथा आरोहण नगरेको भन्न सकिने अवस्था नरहेको भन्ने राय सुझाव छानबिन समितिले मन्त्रालयमा प्रस्तुत गरेको छ । साथै, उक्त समितिले प्रतिवेदन बुझाएपश्चात् पाङ्गबोचेका दा सोनाम शेर्पाले लामा घेसेको कुपर १७ मे मा आफूले नै शिखरमा छाडेको भन्ने कुरा इमेलमार्फत यस मन्त्रालयमा पठाएको जानकारीसमेतको आधारमा निज पेम्बा दोर्जे शेर्पाले सगरमाथा आरोहणको क्रममा कायम गरेको ८ घण्टा १० मिनेटको विश्व कीर्तिमानलाई श्री ५ को सरकार (मन्त्री स्तरको) को मिति २०६१।५।२९ को निर्णयबाट अनुमोदन गरिएको” भन्ने लेखिएको पाइन्छ । यसरी उक्त प्रेस विज्ञप्ति तथा २०६१।०५।२९ को निर्णयमा सगरमाथा शिखरमा प्रत्यर्थी पेम्बा दोर्जी शेर्पा पुगेको तस्विर र साक्षी जस्तो ठोस प्रमाण पेस गर्न नसकेको भन्ने कुरा स्पस्टसँग उल्लेख गरिएको छ । ठोस प्रमाण विना विश्व कीर्तिमान जस्तो उच्च सम्मानको रूपमा कसैलाई पनि मान्यता दिन सकिने कुरा होइन र त्यसरी दिन पनि मिल्ने होइन । ठोस प्रमाणको अभावमा ८ घण्टा १० मिनेटमा आधार शिविरबाट सगरमाथा शिखरमा चढेको भन्ने प्रत्यर्थी मन्त्रालयसमेतले गरेको निर्णय हचुवा र त्रुटिपूर्ण रहेको स्पस्ट हुन्छ । निज पेम्बा दोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा चढेको भनी निर्णय गर्दा लिइएका आधारहरू भ्रामक र तथ्यहीन रहेका छन् । ठोस र स्वतन्त्र प्रमाणको अभावमा निजले त्यसदिन सगरमाथा शिखरको आरोहण गरेको मान्न कुनै हालतमा मिल्दैन । शिखरबाट आधार शिविरमा सम्पर्क अधिकृतलाई वाकिटकीबाट टिपाएको सामानहरू निजले आफसँगै फर्कंदा ल्याई मन्त्रालयमा बुझाएको भन्ने विषय आफैँमा प्रमाण होइन । त्यस्तो कुनै वस्तु प्रमाण हुनै सक्दैन । पेम्बा दोर्जी शेर्पा आफैँले मात्र सामानहरू टिपाउने र त्यसैलाई सम्पर्क अधिकृतले अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभइकन निजहरू दुई जनाको मात्र मिलेमतोपूर्ण साँठगाँठले बनाएको कागजातले कानूनको दृष्टिमा प्रमाणिक महत्त्व राख्दैन । त्यसरी सामान टिपाउनु पर्ने व्यवस्था वा अभ्यास कुनै ऐन, नियम र नीतिमा समेत छैन ।
सम्पर्क अधिकृतले मन्त्रालयलाई जानकारी गराएको भन्ने आधारमा मात्र त्यसले निर्णयाधारको स्थान ग्रहण गर्न सक्दैन । सम्पर्क अधिकृतले भरपर्दो, विश्वसनीय र स्वतन्त्र प्रमाणबाट समर्थित तथा विवादरहित तथ्य कुराको मात्र प्रतिवेदन वा सूचना प्रवाह गर्ने हो । आरोहण दलको नेता स्वीस नागरिक थिए र निजले मे २१ मा सगरमाथा शिखरमा चढेको भनी प्रमाणित गरी कुनै कागजात लेखिदिएको छैन । निज पेम्बा दोर्जी शेर्पाले ल्याएको भनिएको तथाकथित प्रमाणमा रातो कपडामा सेतो क्रस भएको झण्डा मित्र राष्ट्र स्वीसको राष्ट्रिय झण्डा हो । तर त्यसदिन अर्थात् मे २१ मा स्वीस झण्डा बोकेर शिखर चढ्ने कसैको कार्यक्रम पनि थिएन ।
निर्णयाधारमा मे १७, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिनु भन्ने निर्णयाधार स्वयंमेव हास्यास्पद छ । किनभने मे १७ मा खिचिएको फोटोमा चार दिनपछि मे २१ मा शिखर चढेको तस्विर आउने कुरा हुँदैन । मे १७ मा तस्विर खिच्दा त्यस दिनभन्दा पहिल्यै भए गरेको घटनाको मात्र तस्विर आउन सक्ने हो । लामा घेसेको कुपर (कार्ड जस्तो पहेंलो वा निलो कागज) पाङ्गवोचेको दा सोनाम शेर्पाले १७ मे मा सगरमाथा आरोहण गर्दा शिखरमा छोडेको भन्ने बुँदाको हकमा पनि प्रथमतः त्यस्तो कागज कुनै आधिकारिक होइन । लामाको दर्शन गर्न जाने जोसुकै पर्वतारोही वा पदयात्रीलाई आशिर्वाद स्वरूप निज लामाले कुपर दिएको हुन्छ । यसको कुनै प्रामाणिक महत्त्व छैन । त्यस्तो कुपर प्रत्यर्थी पेम्बा दोर्जीसँग पहिल्यैदेखि रहेको हुनसक्छ । त्यस्तो एउटा कुपर प्रत्यर्थी शेर्पाले मे १६ ता. मा सफल आरोहण गरेका बखत खिचिएको तस्विरमा पनि देखिएको छ । जुन मे २१, २००४ सम्म सगरमाथाको शिखरमा कुनै हालतमा रहन सक्दैन । वास्तवमा त्यस दिन खराब मौसमको कारणले कसैले पनि शिखरमा चढेको छैन । विभिन्न निराधार र तथ्यहीन कुरामा अवैध मिलेमतो गरी भए गरेको यससम्बन्धी सम्पूर्ण काम कारवाही र निर्णयसमेत बदरतुल्य छ ।
माथिका विभिन्न प्रकारणहरूमा लेखिएअनुसार र मेरोतर्फबाट मुकरर हुने कानून व्यवसायीको बहस बुँदासमेतको आधारमा प्रत्यर्थी मन्त्रालयले गरेको मिति २०७०।०४।२३ तथा २०६१।५।२९ को निर्णय, तत्सम्बन्धी प्रेस विज्ञप्ति र पत्रहरू, प्रत्यर्थी छानबिन समितिको सिफारिसलगायत सम्पूर्ण काम कारवाहीहरू समेतबाट म निवेदकको नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(३) को (च) १३(१) र १९(१) समेत द्वारा प्रदत्त आरोहणसम्बन्धी पेसागत मौलिक हक समानताको हक र सम्पत्तिसम्बन्धी हकलगायत अन्य नेपाल कानूनद्वारा प्रत्याभूत हक हितको प्रचलनमा अवरूद्ध हुन गएकोले अर्को कानूनी व्यवस्थाको उपचार नहुँदा धारा ३२ र १०७(२) अन्तर्गत सविनय यो निवेदन गरेको छु ।
तसर्थः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम उत्प्रेषणको आदेशद्वारा माथि उल्लिखित निर्णयहरू, सिफारिस, पत्रहरू र तत्सम्बन्धी सम्पूर्ण काम कारवाहीसमेत पूर्वाग्रह पीडित, आत्मनिष्ठ तथा अवैध हुँदा बदर गरी पु.अ. पाटनबाट जारी भएको परमादेशको आदेशसमेत अन्तर्गत म निवेदकसमेतलाई बुझी वस्तुनिष्ठ ठोस प्रमाणको आधारमा उचित निर्णय गर्नु भन्ने प्रत्यर्थीहरूको नाममा परमादेशको आदेश जारी गरिपाऊँ ।
यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार र कारण खुलाई आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. ६ को हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र अन्य विपक्षीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनु भनी यो आदेश र रिट निवेदनको एकप्रति नक्कल साथै राखी म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि वा सो पर्ने अवधि नाघेपछि प्रस्तुत मुद्दाको विषयवस्तुको संवेदनशीलतासमेतलाई दृष्टिगत गर्दा छिटो निर्णय हुनुपर्ने देखिँदा अग्राधिकार दिई नियमबमोजिम गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७०।९।१६ को आदेश ।
रिट निवेदकले यस मन्त्रालयसमेतलाई विपक्षी बनाई श्री पुनरावेदन अदालत, पाटनमा दायर गर्नुभएको रिट नं. ०६९-WO-०७३१ समेतको मुद्दामा सम्मानित अदालतबाट निवेदकले पेस गरेका २०६१।२।१८ लगायतका निवेदनमा शीघ्र उचित निर्णय गर्नु भनी मन्त्रालय र यसअन्तर्गतको पर्यटन उद्योग महाशाखाको नाममा अन्तरिम आदेश जारी भएको र सो आदेश कार्यान्वयनको सन्दर्भमा मिति २०७०।४।२३ गते नेपाल सरकार (मा. मन्त्रीस्तर) बाट श्री पेम्बा दोर्जे शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई मिति २०६१।५।३१ मा यस मन्त्रालयबाट अनुमोदन भइसकेकोले निवेदकको मिति २०६१।२।१८ लगायतका निवेदनहरूमा थप कारवाही गर्नु नपर्ने देखिएकोले सोही बेहोराको जानकारी निज शेर्पालाई दिई सकिएकोले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन उद्योग महाशाखाको मिति २०७०।१०।२३ को लिखित जवाफ ।
रिट निवेदकले यस मन्त्रालयसमेतलाई विपक्षी बनाई श्री पुनरावेदन अदालत, पाटनमा दायर गर्नुभएको रिट नं. ०६९-WO-०७३१ समेतको मुद्दामा सम्मानित अदालतबाट निवेदकले पेस गरेका २०६१।२।१८ लगायतका निवेदनमा शीघ्र उचित निर्णय गर्नु भनी मन्त्रालय र यसअन्तर्गतको पर्यटन उद्योग महाशाखाको नाममा अन्तरिम आदेश जारी भएको र सो आदेश कार्यान्वयनको सन्दर्भमा मिति २०७०।४।२३ गते नेपाल सरकार (मा. मन्त्रीस्तर) बाट श्री पेम्बा दोर्जे शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई मिति २०६१।५।३१ मा यस मन्त्रालयबाट अनुमोदन भइसकेकोले निवदेकको मिति २०६१।२।१८ लगायतका निवेदनहरूमा थप कारवाही गर्नु नपर्ने देखिएकोले सोही बेहोराको जानकारी निज शेर्पालाई दिई सकिएकोले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौंको मिति २०७०।१०।२३ को लिखित जवाफ ।
रिट निवेदकले यस मन्त्रालयसमेतलाई विपक्षी बनाई श्री पुनरावेदन अदालत, पाटनमा दायर गर्नुभएको रिट नं. ०६९-WO-०७३१ समेतको मुद्दामा सम्मानित अदालतबाट निवेदकले पेस गरेका २०६१।२।१८ लगायतका निवेदनमा शीघ्र उचित निर्णय गर्नु भनी मन्त्रालय र यसअन्तर्गतको पर्यटन उद्योग महाशाखाको नाममा अन्तरिम आदेश जारी भएको र सो आदेश कार्यान्वयनको सन्दर्भमा मिति २०७०।४।२३ गते नेपाल सरकार (मा. मन्त्रीस्तर) बाट श्री पेम्बा दोर्जे शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई मिति २०६१।५।३१ मा यस मन्त्रालयबाट अनुमोदन भइसकेकोले निवेदकको मिति २०६१।२।१८ लगायतका निवेदनहरूमा थप कारवाही गर्न नपर्ने देखिएकोले सोही बेहोराको जानकारी निज शेर्पालाई दिई सकिएकोले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री रामकुमार श्रेष्ठको मिति २०७०।१०।२३ को लिखित जवाफ ।
रिट निवेदकले यस मन्त्रालयसमेतलाई विपक्षी बनाई श्री पुनरावेदन अदालत, पाटनमा दायर गर्नुभएको रिट नं. ०६९-WO-०७३१ समेतको मुद्दामा सम्मानित अदालतबाट निवेदकले पेस गरेका २०६१।२।१८ लगायतका निवेदनमा शीघ्र उचित निर्णय गर्नु भनी मन्त्रालय र यसअन्तर्गतको पर्यटन उद्योग महाशाखाको नाममा अन्तरिम आदेश जारी भएको र सो आदेश कार्यान्वयनको सन्दर्भमा मिति २०७०।४।२३ गते नेपाल सरकार (मा. मन्त्रीस्तर) बाट श्री पेम्बा दोर्जे शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई मिति २०६१।५।३१ मा यस मन्त्रालयबाट अनुमोदन भइसकेकोले निवदेकको मिति २०६१।२।१८ लगायतका निवेदनहरूमा थप कारवाही गर्नु नपर्ने देखिएकोले सोही बेहोराको जानकारी निज शेर्पालाई दिई सकिएकोले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने होइन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कानून महाशाखाको मिति २०७०।१०।२३ को लिखित जवाफ ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिशङ्कर निरौला र श्री भैरवराज पन्तले विपक्षी पेम्बा शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेको भन्ने तथ्य साक्षी र ठोस प्रमाणबाट पुष्टि हुनसकेको छैन । निजले आरोहण गरेको भनेको दिन खराब मौसमको कारण कुनै पनि व्यक्तिले आरोहण गरेको थिएन । निजले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ ले तोकेबमोजिमको अनिवार्य प्रमाण, तस्विर र साक्षी पेस गर्न सकेको छैन । विपक्षी पेम्बा दोर्जी शेर्पाले निवेदकको दाबीलाई चुनौती दिएर अदालतमा लिखित जवाफसमेत पेस नगरी निवेदकको दाबीलाई स्वीकार गरी बसेकोले निवेदन दाबीबमोजिम रिट जारी हुनुपर्छ भनी बहस गर्नुभयो । त्यसैगरी प्रत्यर्थीहरूको तर्फबाट उपस्थित विद्वान् नायब महान्यायाधिवक्ता श्री किरण पौडेलले पेम्बा दोर्जी शेर्पाको आरोहणको सम्बन्धमा निवेदकले उजुरी दिएकोमा उक्त विषयमा छानबिन गर्नको लागि नेपाल सरकारले समिति गठन गरी सोको प्रतिवेदनको आधारमा निर्णय गरिएको हो । नेपाल सरकारले गरेको निर्णय विषयवस्तु बुझी आफ्नो क्षेत्राधिकारभित्र रही गरेको हुँदा बदर हुनुपर्ने अवस्था छैन । रिट निवेदन खारेज हुनुपर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत रिट निवेदनमा निम्न प्रश्नहरूको सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
(१) प्रत्यर्थीमध्येका पेम्बा दोर्जी शेर्पाले सन् २००४ मे २१ गते ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको हो वा होइन?
(२) निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन?
२. अब, प्रत्यर्थीमध्येका पेम्बा दोर्जी शेर्पाले सन् २००४ मे २१ गते ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको हो वा होइन भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा सो दाबीलाई सर्वप्रथम यिनै निवेदकले चुनौती दिँदै मिति २०६१।२।२८ मा प्रत्यर्थी मन्त्रालयमा उजुरी दिएकोमा सो मन्त्रालयले सो उजुरीउपर छानबिन गर्नको लागि सात सदस्यीय छानबिन समितिको गठन गरेको रहेछ । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा नै तत्कालीन श्री ५ को सरकारले मिति २०६१।५।२९ मा मन्त्रीस्तरको निर्णय गरी पेम्बा दोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेको कीर्तिमानलाई अनुमोदन गरेको देखिन्छ । सो निवेदनउपर समेत यी निवेदकले चित्त नबुझाई बदर गराउन माग गर्दै प्रत्यर्थी निकायहरू समक्ष उजुरी दिएकोमा प्रत्यर्थी निकायहरूबाट समयमा नै निर्णय नभएको र पछि पुनरावेदन अदालत, पाटनबाट शीघ्र उचित निर्णय गर्नु भन्ने बेहोराको परमादेशको आदेश जारी भएकोमा प्रत्यर्थी मन्त्रालयबाट पेम्बा दोर्जी शेर्पाले कायम गरेको ८ घण्टा १० मिनेटको कीर्तिमानलाई यस मन्त्रालयबाट मिति २०६१।५।३१ मा अनुमोदन भइसकेको कारणले निवेदकको निवेदनमा थप कारवाही गरिरहनुपरेन भन्ने बेहोराको निर्णय भएको देखिन्छ । प्रत्यर्थी मन्त्रालयको उक्त निर्णयमा समेत चित्त नबुझाई निवेदकले कानूनी उपचारको अन्य व्यवस्था नभएको जिकिरसहित यस अदालतमा प्रस्तुत रिट निवेदन दायर गरेको देखिन्छ ।
३. प्रस्तुत रिट निवेदनसाथ पेस भएका कागजातहरूको अध्ययन गर्दा प्रत्यर्थी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेम्बा दोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको कीर्तिमानलाई अनुमोदन गर्दा उक्त मन्त्रालयबाट गठन भएको सात सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएको देखिन्छ । उक्त प्रतिवेदनमा "श्री पेम्बा दार्जी शेर्पाले उल्लिखित समयमा सगरमाथा शिखरमा पुगेको तस्विर र साक्षी जस्ता ठोस प्रमाण पेस गर्न नसकेको भए तापनि शिखरबाट आधार शिविरमा रहेका सम्पर्क अधिकृतलाई वाकिटकीबाट टिपाएका सामानहरू निजले आफूसँगै फर्कंदा ल्याई मन्त्रालयमा बुझाएको प्रमाण, सम्पर्क अधिकृतले मन्त्रालयलाई उपलब्ध गराएको सोही बेहोराको जानकारी, निजसँग सम्बन्धित आरोहण दलका नेताले उल्लिखित समयमा शिखरमा पुगेको भनी प्रमाणित गरिदिएको कागजात, शिखरबाट ल्याएका प्रमाणहरू मध्ये रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिनु र लामा घेसेको कुपर भनिएका कागजात पाङ्गबोचेका दा सोनाम शेर्पाले १७ मे मा सगरमाथा आरोहण गर्दा शिखरमा छोडेको पक्षसमेत अन्यथा प्रमाणित नभएसम्म प्रमाणको कोटीमा राख्नु पर्ने कारणले गर्दा निज पेम्बा दोर्जे शेर्पाले उल्लिखित समयमा सगरमाथा आरोहण नगरेको भन्न सकिने अवस्था नरहेको" भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । उक्त प्रतिवेदनको बेहोरा हेर्दा पेम्बा दोर्जी शेर्पाले उक्त समयमा सगरमाथा शिखरमा पुगेको तस्विर र साक्षी जस्ता ठोस प्रमाण पेस गर्न नसकेको भन्ने तथ्यलाई सुरूमै स्वीकार गरेको देखिन्छ । तस्विर र साक्षी जस्तो ठोस प्रमाण पेस नगरेको भए तापनि सम्पर्क अधिकृतलाई वाकिटाकीबाट टिपाएको सामान मन्त्रालयमा ल्याई बुझाएको, सम्बन्धित आरोहण दलका नेताले उल्लिखित समयमा शिखरमा पुगेको भनी प्रमाणित गरिदिएको, शिखरबाट ल्याएका प्रमाणहरू मध्ये रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिएको भन्नेलगायतका अन्य आधारहरूमा निज पेम्बा दोर्जे शेर्पाले उल्लिखित समयमा सगरमाथा आरोहण गरेको भन्ने आशय उक्त प्रतिवेदनको रहेको देखिन्छ ।
४. पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची ११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा सोही अनुसूचीको देहाय खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्त्वपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदनलगायतका विवरणहरू अनिवार्यरूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ । त्यसैगरी नियम ३१ सँग सम्बन्धित अनुसूची १२ बमोजिम पर्वतारोहण दलका नेताले पेस गर्नुपर्ने प्रतिवेदनको देहाय खण्ड १६ मा आधार शिविरभन्दा माथि गएका सदस्यको संख्या उल्लेख गर्नुपर्ने किटानी व्यवस्था गरेको छ । नियमावलीले गरेको यो व्यवस्था अनिवार्यरूपमा पालना गरिनुपर्ने व्यवस्था हो । प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले दाबी गरेबमोजिमको समयमा निजले सगरमाथाको आरोहण गरेको हो वा होइन भन्ने प्रश्नको निरूपण गर्न कानूनले तोकेको यी प्रमाणहरू पेस भएका छन् वा छैनन् भन्ने कुरालाई विचार गरिनुपर्ने हुन्छ । यसप्रकार कानूनले अनिवार्य गरेको शिखर आरोहण गरेको तस्विर, पर्वतारोही दलको सदस्य संख्यासहितको प्रतिवेदनलगायतका प्रमाणहरू सम्पर्क अधिकृत वा पर्वतारोही दलको नेताले पेस गरेको अवस्था देखिँदैन । जुन तथ्यलाई प्रत्यर्थी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा समेत स्वीकार गरिएको छ ।
५. कुनै काम गर्नको लागि कानूनले निश्चित कार्यविधि र प्रक्रियाको व्यवस्था गरेको छ भने उपर्युक्त कार्यविधि र प्रक्रिया पूरा गरेको अवस्थामा मात्र सो कार्यले वैधानिकता प्राप्त गर्न सक्छ । छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढी विश्व कीर्तिमान कायम गर्ने जस्तो गम्भीर र राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारको विषयमा कानूनले तोकेको कार्यविधि र प्रक्रिया पूरा भएको छ वा छैन भन्ने कुरालाई कठोरताको साथ परीक्षण गरिनुपर्छ । पर्वतारोहीसँग जाने सम्पर्क अधिकृत नेपाल सरकारको प्रतिनिधिसमेत हो । पर्वतारोहण टोलीसँग गएर फर्किएपश्चात् निजले नियमावलीले व्यवस्था गरेबमोजिमको विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायसमक्ष पेस गर्नुपर्छ । प्रत्यर्थी पेम्बा दोर्जी शेर्पाले छोटो समयमा सगरमाथा आरोहण गरेको भनी दाबी लिएको भए तापनि निजसँग गएको सम्पर्क अधिकृतले सो कुरालाई पुष्टि गर्न सक्ने नियमावलीले निर्दिष्ट गरेको फोटो तथा साक्षी पेस गर्न सकेको अवस्था देखिँदैन । जसबाट उक्त दिन उक्त समयमा पेम्बा दोर्जी शेर्पा सगरमाथाको शिखरमा पुगेको तथ्य शंकारहित तवरबाट स्थापित हुन सकेको देखिँदैन ।
६. प्रत्यर्थी मन्त्रालयले गठन गरेको छानबिन समितिले सम्पर्क अधिकृतलाई वाकिटाकीबाट टिपाएको सामान मन्त्रालयमा ल्याई बुझाएको, सम्बन्धित आरोहण दलका नेताले उल्लिखित समयमा शिखरमा पुगेको भनी प्रमाणित गरिदिएको, शिखरबाट ल्याएका प्रमाणहरू मध्ये रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिएको भन्नेलगायतका आधारमा निज पेम्बा दोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको देखिने भनी उल्लेख गरेको छ भने प्रत्यर्थी मन्त्रालयले पनि सोही आधारमा पेम्बा दोजी शेर्पाको दाबीलाई अनुमोदन गरेको छ । निज पेम्बा दोर्जी शेर्पाले सम्पर्क अधिकृतलाई वाकिटाकीबाट टिपाएको सामान मन्त्रालयमा बुझाएको भनिए तापनि उक्त बुझाइएको भनिएको सामान के हो? त्यो खुलाउन सकेको छैन भने त्यस प्रकारको सामानको कुनै प्रमाणिक महत्त्व हुने पनि देखिँदैन । त्यसरी सामान टिपाउनु पर्ने व्यवस्था कुनै ऐन, नियम वा नीतिमा रहेको देखिँदैन । केवल सम्पर्क अधिकृतलाई वाकिटाकीबाट टिपाएको सामान फिर्ता बुझाएको भन्ने आधारमा मात्र निज पेम्बा दोर्जी शेर्पाले उक्त दिन सगरमाथा आरोहण गरेका थिए भनी विश्वास गर्न सकिने देखिँदैन ।
७. त्यसैगरी शिखरबाट ल्याएका प्रमाणहरू मध्ये रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिएको तथा लामा घेसेको कुपर भनिएका कागजात पाङ बोचेको दा सोनाम शेर्पाले १७ मे मा सगरमाथा आरोहण गर्दा शिखरमा छोडेको पक्षसमेतलाई अन्यथा प्रमाणित नभएसम्म प्रमाणको कोटिमा राख्नुपर्ने भन्ने जिकिर गरिएको छ । सो सम्बन्धमा विचार गर्दा सर्वप्रथम यो आफैँमा स्वतन्त्र प्रमाण होइन । २१ मे २००४ मा पेम्बा दोर्जे शेर्पाले सगरमाथा आरोहण गरेको तथ्य अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको भए सो भनाइलाई पनि सन्दर्भ सामग्रीको रूपमा सम्म लिन मिल्थ्यो होला तर उक्त तथ्य नै स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा रातो कपडामा सेतो क्रस भएको झण्डा र ताराहरू भएको झण्डा १७ मे, २००४ मा अन्य पर्वतारोहीहरूबाट सगरमाथा शिखरमा खिचिएका तस्विरहरूमा देखिएको भन्ने आधारमा मात्र निज पेम्बा दोर्जी शेर्पाले सो दिन सगरमाथा आरोहण गरेको भन्ने तथ्य स्थापित हुन सक्दैन । अत्यन्त तीव्र गतिमा हावा चल्ने विश्वको सर्वोच्च चुचुरोमा मे १७, २००४ मा राखिएको उक्त सामग्रीहरू २१ मे २००४ सम्म सुरक्षित रहेको र निज पेम्बा दोर्जी शेर्पाले फिर्ता ल्याएको भन्ने तथ्य व्यवहारिक दृष्टिकोणबाट पनि पत्यारयोग्य देखिँदैन ।
८. प्रस्तुत रिट निवेदनमा निवेदनको साथ The Mountaineering Association of Tibet Autonomous Region नामक संस्थाले सन् २००४ जुलाई ७ मा प्रमाणित गरिदिएको पत्र तथा American Alpine Club ले सन् २०१३ डिसेम्बर २२ मा प्रमाणित गरिदिएको पत्रसमेत साथ राखी पेस भएको रहेछ । यी संस्थाहरूको पृष्ठभूमि हेर्दा पर्वतारोहण सम्बन्धमा अध्ययन तथा अभिलेख राख्ने काममा लामो समयदेखि संलग्न रहेको देखिन्छ । तसर्थ यी निकायहरूले प्रमाणित गरेको विषयलाई पर्वतारोहणसम्बन्धी पेसामा लागेका व्यक्तिहरूको लागि उपयोगी सामग्री अर्थात् तथ्याङ्क फेहरिस्त, सूची विवरण वा लेखको रूपमा मान्न सकिन्छ । जसबाट प्रमाण ऐन, २०३१ को दफा १६ बमोजिम उक्त प्रमाणिक विवरणहरूलाई पनि प्रमाणको रूपमा लिन सकिन्छ । उक्त पत्रको बेहोरामा निज पेम्बा दोर्जी शेर्पाले सगरमाथा आरोहण गरेको भनी दाबी गरेको २१ मे २००४ मा खराब मौसमको कारणले कसैले पनि सगरमाथाको आरोहण नगरेको भन्ने बेहोरा उल्लेख भएको पाइन्छ । सोबाट समेत पेम्बा दोर्जी शेर्पाले २१ मे २००४ मा सगरमाथाको आरोहण गरेको देखिँदैन ।
९. अब निवेदकको निवेदन मागबमोजिमको आदेश जारी हुनपर्ने हो वा होइन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा माथिल्ला प्रकरणहरूमा विवेचना भएबमोजिम पेम्बा दोर्जी शेर्पाले २१ मे २००४ मा सगरमाथा आरोहण गरेको नदेखिँदा उक्त मितिमा निजले ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेको भनी भएको प्रत्यर्थी पर्यटन मन्त्रालयको मिति २०७०।४।२३ तथा मिति २०६१।५।२९ को निर्णय र तत्सम्बन्धी प्रेस विज्ञप्ति र पत्रहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आगामी दिनहरूमा पर्वतारोहणसम्बन्धी कीर्तिमान कायम हुने कुनै महत्त्वपूर्ण निर्णय गर्दा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० र ३१ तथा सोसँग सम्बन्धित अनुसूचीहरूले निर्दिष्ट गरेको प्रक्रिया र विवरण पूरा भएको सुनिश्चित गरी सोको सार्वजनिक सूचना प्रकाशन गरी कसैको दाबी विरोध भएमा सोलाई समेत विचार गरी निर्णय गर्नु भनी प्रत्यर्थी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा निर्देशात्मक आदेश जारी गरिदिएको छ । यस आदेशको जानकारी प्रत्यर्थीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. डम्बरबहादुर शाही
इजलास अधिकृतहरू: सन्देश श्रेष्ठ, शोभा पाठक
इति संवत् २०७४ साल मङ्सिर १२ गते ३ रोज शुभम् ।