निर्णय नं. ९९५६ - जबरजस्ती करणी
प्रस्तुत मुद्दामा गोपनियताको लागि जाहेरवाला र पीडितको दिदीको नाममा ...................... राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।९।४
मुद्दाः जबरजस्ती करणी
०७१-CR-०५३६
पुनरावेदक / वादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने ....................... को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने चतुर्गण थारू चौधरीको छोरा लङ्गडा पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरी
०७१-CR-०६४५
पुनरावेदक / वादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने चतुर्गण थारू चौधरीको छोरा लङ्गडा पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरी
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ बस्ने ....................... को जाहेरीले नेपाल सरकार
योनिभित्र लिङ्ग प्रवेश गराई भित्रबाहिर समेत गरेको कुरा पुष्टि भएको अवस्थामा करणीको कार्य सम्पन्न भइसकेको मान्नुपर्ने ।
(प्रकरण नं.६)
कुनै अपराध पूर्ण अपराध (Full Crime) हो वा सो अपराधको उद्योग (Attempt) मात्र हो भन्ने ठहर्याउन कसुरदारले गरेको कार्य र सोको परिणामसमेतलाई विचार गर्नुपर्ने हुन्छ । अपराध गर्ने उद्देश्यसहित अपराध गर्ने कार्य गर्दा बीचमा अवरोध सृजना भई कार्यले पूर्णता नपाएको अवस्थामा मात्र उद्योग हुने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहाल
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०६५, अंक १, नि.नं.७९२३
ने.का.प. २०७३, अंक १, नि.नं.९५१९, पृ.१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद
पुनरावेदन तहमा फैसला गर्नेः
मा.का.मु.मुख्य न्या.श्री चोलेन्द्र शमशेर
ज.ब.रा.
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
फैसला
न्या. हरिकृष्ण कार्की : तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०७०/०९/२९ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः
मेरी छोरी वर्ष ६ की नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीलाई मिति २०६५/१०/२२ गतेका दिन दिउँसो अन्दाजी १६:०० बजेको समयमा प्रतिवादी लङ्गडा भन्ने पञ्चराम चौधरीले आफ्नो घरको माथिल्लो तलाको कोठामा लगी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको ....................... को जाहेरी दरखास्त ।
मिति २०६५/१०/२२ गतेका दिन दिउँसो म पञ्चराम चौधरीको घरमा खेल्दै गर्दा निज प्रतिवादीले मलाई आफ्नो घरको माथिल्लो तलामा लगी चकलेट खान दिई निजले मेरो पिसाब फेर्ने स्थानमा आफ्नो निकाली पसाली भित्रबाहिर गरी करणी गरेका र म रोई कराई गर्दा निजले हातले मेरो मुखसमेत थुनिदिएका हुन् र निजले करणी गरेपछि मलाई छाडी दिई म रूँदै आफ्नो घरमा आई दिदीलाई बताएकी हुँ भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको कागज ।
नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको करणी गरिएको देखिन्छ भन्नेसमेत बेहोराको शारीरिक जाँच परीक्षण प्रतिवेदन ।
नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स. ४ स्थित भागडा भन्ने स्थानको पूर्व खड्कबहादुर चौधरीको घर, पश्चिम गुरूदेव चौधरीको घर, उत्तर उत्तर गाउँबाट राजमार्ग जाने बाटो, दक्षिण पञ्चराम चौधरीको घर यति चार किल्लाभित्र पर्ने पञ्चराम चौधरीको घरको माथिल्लो तलाको कोठामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
प्रतिवादी पञ्चराम चौधरीको लिङ्ग परीक्षण गर्दा लिङ्गको वरिपरि सेतो पदार्थसमेतको आधारमा करणी गरेको देखिन्छ भन्नेसमेत बेहोराको पञ्चराम चौधरीको शारीरिक परीक्षण प्रतिवेदन ।
निलो रङ्गको सुरूवाल नाम परिवर्तन गरिएको ‘ख’ कुमारी चौधरीको सुरूवाल प्रहरीले परीक्षणको लागि हामीहरूको रोहबरमा लिएको हो भन्नेसमेत बेहोराको मुचुल्का ।
मिति २०६५/१०/२२ गतेका दिन पीडित मेरो कोठामा आएकी र मलाई निजले लङ्गडा भनेकीले सोही कारण पिटेको हुँ । निजलाई करणी गरेको होइन चक्लेटसमेत खान दिएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी लङ्गडा पञ्चराम भन्ने खेमनारायण चौधरीको बयान कागज ।
मिति २०६५/१०/२२ गतेका दिन मेरो बहिनी वर्ष ६ की नाम परिवर्तन गरिएकी ‘ख’ कुमारीलाई प्रतिवादीको घरमा खेल्न गएको अवस्थामा प्रतिवादीले निजलाई आफ्नो घरको माथिल्लो तलाको कोठामा लगी चकलेट खान दिई करणी गरेका भनी बहिनी रूँदै आएकी र मैले सोध्दा बताएकी हुन् । निजको यौनाङ्गसमेत सुन्निएको थियो । निजलाई प्रतिवादीले करणी गरेका हुन् भन्नेसमेत बेहोराको पीडितको दिदी .............................को कागज ।
गा.वि.स.को जन्म दर्ताको अभिलेखअनुसार निज नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको जन्ममिति २०५९/११/०१ देखिन्छ भन्ने तिलकपुर गा.वि.स. कार्यालयको च.नं.६६२ मिति २०६५/११/०६ को पत्र ।
मिति २०६५/१०/२२ गते दिउँसो १६:०० बजेको समयमा नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.वडा नं.४ स्थित पञ्चराम चौधरीको घरको तलाको खाटमा नाबालक ‘ख’ कुमारी चौधरीलाई पीडक पञ्चराम चौधरीले चकलेट खान दिई खाटमा पल्टाई जबरजस्ती करणी गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादी पञ्चराम चौधरीले वर्ष ६ की बालिका ‘ख’ कुमारीलाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेका हुँदा निज प्रतिवादी पञ्चराम चौधरीलाई ऐ. ऐन तथा महलको ३(१) नं.अनुसार सजाय हुन र ऐ को १० नं. अनुसार पीडित ‘ख’ कुमारीलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
जाहेरवाला र पीडित दुवैलाई चिनेको छु । जाहेरवालासँग मेरो बुबाको पहिलादेखि जग्गा जमिनको विषयमा रिसइवी थियो । मसँग कुनै केही थिएन । उक्त दिन मलाई ‘ख’ कुमारीले लङ्गडा भनी जिस्काएकीले निजलाई तर्साई लखेटेको हुँ । मैले लखेट्दा निज रोएकी हुन् । मैले निजलाई करणी गरेको होइन । निजको बुबा आमाले फसाउन खोजेका हुन् । मौकाको बयान र सोमा भएको सहिछाप मेरो नै हो । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लङ्गडा पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीले अभिभावक बाबु चतुर्गुण थारूको रोहबरमा सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०६५/१०/२२ गतेका दिन दिउँसो मेरो छोरी रोइरहेकी थिइन् । छोरीसँग किन रोएको भनी सोध्दा मेरो ठूली छोरी ..................ले निज ‘ख’ कुमारीलाई पञ्चराम भन्नेले जबरजस्ती करणी गरेको भनेपछि प्रहरीमा जानकारी गराएको हुँ । प्रतिवादी शारीरिकरूपमा अलिअलि अपाङ्ग छन् । मैले देखेको होइन । छोरी ................ले भनेर थाहा पाएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला ...........................ले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
आदेशानुसार पीडित ‘ख’ कुमारीको बकपत्र र वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेछ ।
पीडितले बयान गर्दा प्रतिवादी आफूमाथि सुतेको भन्ने लेखाएको भए पनि सो तथ्यलाई समर्थन गर्ने अन्य प्रमाणको अभाव रहेको प्रतिवादीको अपाङ्गता प्रमाणित भई आएको प्रतिवादीले अनुसन्धान एवं अदालतसमक्ष गरेको बयानमा पूर्णतः इन्कार भई बयान गरेको तथा प्रतिवादीको जिकिरलाई निजकै साक्षीको बकपत्रले समेत पुष्टि गरेको देखिन्छ । अतः यस्तो अवस्थामा अदालतको इजलासमा विना सहारा एक तलामा पनि आउन नसक्ने प्रतिवादीले पीडित नाबालिकालाई आफैँले उठाई वारदातस्थल घरको दोस्रो तलामा लगी सुताई करणी गरेको भन्ने अभियोग दाबी संलग्न प्रमाणबाट विश्वसनीय नभएकोले यस मुद्दाका यी अपाङ्गता सिद्ध भएका प्रतिवादी खेमनारायण चौधरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०६९/०३/२७ मा भएको फैसला ।
प्रतिवादी श्री ज्ञानोदय प्रा.वि. तिलकपुर भगडा नवलपरासीमा विद्यालय सञ्चालन भएको मितिदेखि पियन पदमा रही काम गरेको भनी उक्त विद्यालयको पत्रबाट देखिएको, लिङ्गको वरिपरि सेतो पदार्थसमेतको आधारमा १ देखि १:३० घण्टा पहिले करणी गरेको देखिएको र प्रतिवादी स्पष्ट बोल्न नसक्ने भए पनि मानसिकरूपमा स्वस्थ ठीक रहेको भन्ने निज प्रतिवादीको शारीरिक परीक्षणबाट देखिएको अवस्थामा प्रतिवादीलाई लङ्गडो अपाङ्ग भनी सफाइ दिएको फैसला मिसिल स्थापित तथ्यविपरीत भई बदर भागी छ । प्रतिवादीले पीडितलाई करणी गरेको वारदात मितिपछि अपाङ्गको प्रमाणपत्र लिएको कुरा मिसिल संलग्न अपाङ्गता परिचयपत्रबाट देखिएको स्थितिमा यस्तो शंकास्पद परिचयपत्रको आधारमा मिसिल सम्बद्ध सबुद प्रमाणको मूल्याङ्कन नै नगरी प्रतिवादीलाई सफाइ दिने गरी भएको नवलपरासी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा २०६५/१०/२२ को वारदातभन्दा पछाडि यी प्रतिवादी अपाङ्ग भएको भनी मिति २०६५/१०/२८ मा अपाङ्गताको परिचय पत्र लिएका प्रतिवादीलाई सोही अपाङ्गताको परिचयपत्रमा खुलाइएको अपाङ्गताको कारणलाई आधार लिई सफाइ दिने गरी मिति २०६९/०३/२७ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०६९/१२/२५ को आदेश ।
पीडित ‘ख’ कुमारीको बकपत्र, जाहेरवालाको बकपत्र, बुझिएका मानिसहरू कमला चौधरी, भीमकला भट्टराई, धनिसरा भुसाल, नरदेवी चौधरी र हेम कुमारी चौधरीको बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट प्रतिवादीले पीडित ‘ख’ कुमारीलाई जबरजस्ती करणी गर्ने उद्योग गरेको पुष्टि भएको देखिएको हुँदा प्रतिवादीले सफाइ पाउने ठहर्याई भएको नवलपरासी जिल्ला अदालतको फैसला मिलेको देखिन आएन । तसर्थ प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६९/०३/२७ को फैसला मिलेको नदेखिँदा केही उल्टी हुने र प्रतिवादीको शारीरिक अवस्था, पीडितको उमेर, प्रतिवादीले जबरजस्ती करणीको उद्योग गरेको कार्यको स्वरूप एवं प्रकृति र प्रतिवादीले गरेको कसुरको मात्राको आधारमा प्रतिवादी लङ्गडा पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीलाई जबरजस्ती करणीको ५ नं.अनुसार सोही महलको ३(१) नं. अनुसार हुने सजायको आधा पाँच वर्ष कैद हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको ३(१) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाट क्षतिपूर्ति भराई पाउँ भन्नेसम्म वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको मिति २०७०/०९/२९ को पुनरावेदन अदालत बुटवलको फैसला ।
६ वर्षकी नाबालिका छोरीलाई प्रतिवादीले चकलेट खान दिई फकाई घरको तलामा लगी जबरजस्ती करणी गरेको भनी छोरी रूँदै आई बताएकी र छोरीको यौनाङ्ग हेर्दा सुन्निएको, दुवै कुहिनाको छाला खोल्सिएको समेत देखिएको भनी दिएको किटानी जाहेरी र सोही बेहोराको पीडितको मौकाको कागज बेहोरालाई समर्थन हुने गरी अदालतसमक्ष बकपत्रसमेत भएको, पीडितको दाहिने कुहिनामा २ वटा लछारिएको घाउ देखिएको, योनि वरिपरि रातो डाम देखिएको र उक्त रातो डाम र सेतो पदार्थका आधारमा करणी भएको देखिन्छ भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट देखिएको अवस्थामा ती प्रमाणहरूको बेवास्ता गरी कन्याजाली च्यातिएको यकिन नभएकाले पीडितले आफूमाथि चढेकोसम्म उल्लेख गरी बकपत्र गरेको कुरालाई आधार बनाई पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।९।२९ मा भएको फैसला सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम पीडितको शारीरिक परीक्षण रिर्पोटमा विवाद रहेको र विवादास्पद देखिइसकेपछि डा. महेशबहादुर अधिकारीलाई बकपत्रको लागि बोलाइएकोमा निजको उपस्थिति बिना विवादास्पद शारीरिक परीक्षण प्रतिवेदनलाई प्रमाणमा लिएको, पीडितको शारीरिक परीक्षणबाट करणी भएको नदेखिएको, मेरो बयानलाई आधार लिने हो भने लङ्गडा भनी जिस्काएकोले हातले गालामा हिर्काएको कुरा प्रस्तुत अभियोग दाबीको कसुर हुन नसक्ने, मेरो अपाङ्गता बारेमा मेरो शारीरिक परीक्षण विशेषज्ञ डाक्टरसँग गराई निष्कर्षमा पुग्नु पर्नेमा केवल दायाँ हात र खुट्टा चलेको भन्ने अनुमान गरी जबरजस्ती करणीको उद्योग गरेको ठहराएको, ‘ख’ कुमारीले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा आई गरेको बकपत्रमा भिन्नता रही आपसमा बाझिएको हुँदा यस्तो विवादास्पद बकपत्रलाई आधार मान्न नमिल्ने, जाहेरवाला र बुझिएका भनिएका व्यक्तिहरू देखिजान्ने व्यक्ति नभएको, मेरो शारीरिक अपाङ्गताले अभियोग दाबीबमोजिमको कसुर हुन गर्न सक्ने अवस्थामै नरहेको र त्यस्तो अपराध गर्ने विकृत मानसिकता पनि मेरो नभएको अवस्थामा ‘ख’ कुमारीले लङ्गडा भनी जिस्काएको कुरामा चित्त नबुझी हिर्काएको कुरालाई अनावश्यकरूपमा अन्यत्र मोडी प्रस्तुत मुद्दाको अभियोग पत्र दायर गरिएको, मेरो शारीरिक परीक्षणमा जबरजस्ती करणीको कुनै संकेतसम्म पनि नेभेटिएको, अभियोग दाबी वादी पक्षबाट निसंकोच तारिकाले पुष्टि गर्न पनि नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा २५ र शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सम्बन्धमा सम्मानित अदालतबाट नि.नं. ७१५७ (ने.का.प. २०५९ अंक ११/१२ पृष्ठ ७७९) को मुद्दामा प्रतिपादित नजिर सिद्धान्तको विपरीत भएको, मेरा साक्षीको बकपत्रबाट मेरो निर्दोषिता पुष्टि भएको अवस्थामा मेरा साक्षीको बकपत्र र मेरो शरीरको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई प्रमाणमा नलिई प्रमाण ऐन, २०३१ को दफा ५४ विपरीत बुझ्नु पर्ने प्रमाण नबुझी जिल्ला अदालतको फैसला परिवर्तन गर्नपर्ने कुनै युक्तियुक्त कारण नहुँदा नहुँदै सुरूको फैसला केही उल्टी गरी जबरजस्ती करणी उद्योग गरेको ठहराई भएको फैसलामा वस्तुनिष्ठ ठोस आधार नलिई अनुमान एवं शंकाको भरमा भएको पुनरावेदन अदालत बुटवलले सुरू जिल्ला अदालतको फैसलालाई आशिंक उल्टी गरी जबरजस्ती करणी उद्योगमा मलाई ५ वर्ष कैद सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण पुनरावेदन अदालतको उक्त फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदरै कायम राखिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लङ्गडा पञ्चराम भन्ने खेमनारायण चौधरीको पुनरावेदन पत्र ।
यसमा वादी नेपाल सरकारको पुनरावेदन प्रतिवादीलाई र प्रतिवादीको पुनरावेदन नेपाल सरकारलाई मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ सुनाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।११।१५ को आदेश ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीले यस अदालतबाट तोकिएको तारिखमा हाजिर नभई गुजारी बसेको हुँदा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले पीडितको मौकाको कागज र अदालतको बकपत्र, किटानी जाहेरी र बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन र पीडितकी दिदी ........................को मौकाको कागज र बकपत्र, पीडित तथा प्रतिवादीको शारीरिक परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादीले नाबालक ‘ख’ कुमारीलाई जबरजस्ती करणी गरेको पुष्टि भएको अवस्थामा अभियोग दाबीबमोजिम सजाय नगरी उद्योगमा मात्र सजाय गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा सुरू, रेकर्ड र पुनरावेदनसहितका सक्कल मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी पञ्चराम चौधरीले आफ्नो घरको तलाको खाटमा नाबालक ‘ख’ कुमारी चौधरीलाई चकलेट खान दिई खाटमा पल्टाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादी पञ्चराम चौधरीलाई वर्ष ६ की बालिका ‘ख’ कुमारीलाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराधमा ऐ. महलको ३(१) नं. अनुसार सजाय हुन र सोही महलको १० नं. अनुसार पीडित ‘ख’ कुमारीलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग माग दाबी रहेकोमा प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०६९/०३/२७ मा फैसला भएको र सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परी पुनरावेदन अदालत बुटवलबाट सुरू फैसला उल्टी गरी प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बमोजिम जबरजस्ती करणीको उद्योगसम्म गरेको ठहर्याई ऐ. महलको ३(१) नं. बमोजिम हुने सजायको आधा ५ वर्ष कैद सजाय हुने ठहर्याई मिति २०७०।९।२९ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी दुवैतर्फबाट पुनरावेदन परी पेस हुन आएको देखियो ।
उल्लिखित बहस जिकिर र तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत बुटवलबाट मिति २०७०/९/२९ मा भएको फैसला मिलेको छ वा छैन? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी लङ्गडा पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०६५।१०।२२ गते आफ्नो घरको माथिल्लो तलाको कोठामा बसिरहेको अवस्थामा पीडित आएकी र मलाई लङ्गडा भनी जिस्काएकीले छातीको भागमा हान्दा खाटमा उत्तानो गरी पल्टिएकी र खुट्टा कमजोर भएकाले मसमेत निजमाथि ढल्न खोजेको हुँ । निजलाई मैले लिई गएको होइन, निज आफैँ आएकी हुन् । चकलेट खान दिएको र करणी गरेको होइन भनी बयान गरेका र जाहेरवालासँग मेरो बुबाको जग्गाको विषयमा रिसइवी भएकाले पीडितको बुबा आमाले मलाई फसाउन खोजेका हुन्, मिति २०६५।१०।२२ गते पीडितले मलाई लङ्गडा भनी जिस्काएकीले निजलाई तर्साउन लखेट्दा रोएकी हुन्, करणी गरेको होइन भनी अदालतसमक्ष बयान गरेको भए तापनि मिति २०६५।१०।२२ गते म जाहेरवालाको नाबालक छोरी ‘ख’ कुमारी छिमेकी चतुरगुण चौधरीको घरछेउ रहेको धर्म भकारीमा खेलिरहेको अवस्थामा चतुरगुणको छोरा लङ्गडा भन्ने पञ्चराम चौधरी आफ्नो घरमा कोही नभएको मौका छोपी छोरीलाई चकलेट खान दिई दुई तले घरको माथिल्लो तलाको कोठामा लगी पलङ्गमा उत्तानो पल्टाई सुताई सुरूवाल खोली जबरजस्ती करणी गरेको भनी छोरी ‘ख’ कुमारी निजको घरबाट रूँदै आई दिदी .......................लाई भनेपछि घर परिवार सबैलाई भनी थाहा पाएको हुँदा निज लङ्गडा भन्ने पञ्चराम चौधरीलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने ...........................को जाहेरी दर्खास्त र सोलाई समर्थन हुने गरी अदालतमा गरेको बकपत्र, नवलपरासी जिल्ला, तिलकपुर गा.वि.स.४ स्थित पञ्चराम चौधरीको घरको माथिल्लो तलाको कोठामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल प्रकृति मुचुल्का, मिति २०६५/१०/२२ गतेका दिन दिउँसो म पञ्चराम चौधरीको घरमा खेल्दै गर्दा निजले मलाई चकलेट खान दिई आफ्नो घरको माथिल्लो तलामा लगी पलङ्गको बिछ्यौनामा उत्तानो पारी मेरो सुरूवाल खोली निजले मेरो पिसाब फेर्ने स्थानमा आफ्नो नुनी निकाली भित्र पसाल्दा मलाई दुखेकाले रोई कराई गर्दा मुख तथा हातहरू समेत च्यापी नुनी भित्रबाहिर गरी करणी गरेपछि सुरूवाल लगाई दिई पठाएकाले म रोई कराई गर्दै जाँदा मेरो कुहिनाको छाला खुइलिएको देखी दिदीले सोध्दा बताएकी हुँ । पीडित नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीले मौकामा गरेको कागज समर्थन हुने गरी बकपत्रसमेत गरेको, नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको योनि वरिपरि देखिएको रातो दाग र सेतो पदार्थको आधारमा १ देखि १.३० घण्टाअगाडि करणी गरिएको देखिन्छ । दाहिने कुइनामा स-सानो दुइवटा लछारिएको घाउ देखिएको भन्ने मिति २०६५।१०।२२ को परासी अस्पताल विकास समिति नवलपरासीको शारीरिक जाँच परीक्षण प्रतिवेदन, लङ्गडा पञ्चराम चौधरीको लिङ्ग परीक्षण गर्दा लिङ्गको वरिपरि सेतो एवं चिल्लो पदार्थको आधारमा १ देखि १.३० घण्टा अगाडि करणी गरेको देखिन्छ । निज शारीरिकरूपमा अपाङ्ग भएको, स्पष्ट बोल्न नसक्ने तर मानसिकरूपमा ठीक भएको भन्ने मिति २०६५।१०।२२ को परासी अस्पताल विकास समिति नवलपरासीको शारीरिक परीक्षण प्रतिवेदन, मिति २०६५/१०/२२ गतेका दिन मेरो बहिनी वर्ष ६ की नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी प्रतिवादीको घरमा खेल्न गएको अवस्थामा एक्कासी रूँदै आएकीले के भयो भनी सोध्दा लङ्गडा भन्ने पञ्चराम चौधरीले आफ्नो नूनी पसालेको र दुखेको भनेकीले हार गुहार गर्दा कमला चौधरीसमेतका मानिसहरू आई बहिनीको कपडा खोली हेर्दा यौनाङ्ग सुन्निएको, रगत बगेको, कुहिनाका छाला खुइलिएको देखी बाबालाई खबर गरी शारीरिक परीक्षणका लागि लिई जानु भएको हो । मेरो बहिनीलाई प्रतिवादीले खेल्दै गरेको अवस्थामा चकलेट खान दिई कोठामा लगी जबरजस्ती करणी गरेका हुन् भनी मौकामा गरेको कागज र सोही बेहोराको अदालतको बकपत्र, ...........................को छोरी ‘ख’ कुमारीलाई लङ्गडा भन्ने पञ्चराम चौधरीले घरको कोठामा लगी करणी गरे भन्ने सुनी गई पीडितलाई सोध्दा लङ्गडा भन्ने पञ्चराम चौधरीले चकलेट खान दिई आफूलाई पिसाब फेर्ने ठाउँमा करणी गरेको भनी बताएकी र यौनाङ्ग सुन्निएको, कुहिनाका छाला खुइलिएको अवस्थामा थिइन् भन्ने कमला चौधरी, भिमकला भट्टराई, धनिसरा भुसाल, नरदेवी चौधरी र हेमकुमारी चौधरीको घटना विवरण कागज र सोही बेहोराको अदालतको बकपत्र रहेको देखिन्छ ।
३. मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको छ । सोही नं. को स्पष्टीकरणको (ग) मा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ” भन्ने व्यवस्था रहेको छ । सोही महलको ३ नं. को देहाय १ मा दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुने व्यवस्था छ भने सोही महलको ५ नं. मा जबरजस्ती करणी गर्न उद्योग गरेको करणी गर्न भने पाएको रहेनछ भने जबरजस्ती करणी गर्नेलाई हुने सजायको आधा सजाय हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ ।
४. यस सन्दर्भमा करणी गर्दा वा गर्न खोज्दा लिङ्गको पूर्ण प्रवेश हुन पायो वा पाएन भन्ने कुरा वस्तुस्थितिमा भर पर्ने कुरा हो । सो पूर्ण प्रवेश हुन पाएको वा नपाएको हुनसक्छ । पूर्ण प्रवेश भएमा एउटा र आंशिक प्रवेश वा योनिमा घर्षण भए अर्को कुरा मानी कसुरको छुट्टै वर्गीकरण गर्न सकिने अवस्था रहँदैन । करणी गर्ने उद्देश्यले कार्य हुन्छ भने योनिमा लिङ्गको पूर्ण वा आंशिक प्रवेश भएपनि करणी गरेको मान्नु पर्ने, लिङ्ग र योनिको सम्पर्क गरी करणीको कार्य हुने हुनाले योनिमा कति प्रवेश होइन कि योनिमा किञ्चित घर्षण वा प्रवेश पनि करणी गर्ने उद्देश्यले भएको छ भने सो करणी भएको मान्नु पर्ने, यौन कार्यको लागि योनिमा घर्षण मात्रै पनि एउटा अवस्था हुनसक्छ अथवा योनिच्छेदन गर्ने कार्य पूर्णरूपले सफल नभएको पनि हुनसक्छ । तर पूर्ण प्रवेश नहुनु, पूर्ण सन्तुष्टि नहुनु, वीर्य स्खलन नहुनु आदि यौन कार्यभित्रकै विविध अवस्थाहरू हुन् । योनिमा लिङ्ग रगड्ने कार्य निर्दोष र प्रवेश मात्रै दोषयुक्त भन्ने अवस्था होइन । एकाको गुप्ताङ्ग जबरजस्ती खोली योनिमा लिङ्गको घर्षण गराउने कार्य गरिन्छ भने त्यो आपराधिक कार्य नै हो र त्यो जबरजस्ती करणीको उद्योग मात्रै नभई उद्योगको कार्यान्वयन गरी जबरजस्ती करणीकै एउटा अवस्था मान्नु पर्ने" भनी यस अदालतको पूर्ण इजलासबाट पुनरावेदक वादी नेपाल सरकार, प्रत्यर्थी प्रतिवादी टसी वि.क.समेत भएको ०७०-CF-०००१ को जबरजस्ती करणी (ने.का.प.२०७३ अंक १ नि.नं. ९५१९ पृष्ठ १) मुद्दामा सिद्धान्तसमेत प्रतिपादित भएको छ ।
५. त्यसैगरी घटनाका सम्बन्धमा घटनाबाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा तथा घटना भएको थाहा पाउने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुने हुँदा पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० (क) र (ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने । प्रतिवादीले आफ्नो लिङ्ग पीडितको योनिमा दुई तीनपटक भित्र बाहिर गराई निजको योनिबाट रगत आएको हुँदा लिङ्ग बाहिर निकाली बाहिर जमिनमा वीर्य स्खलन गरेको भनी बयान गरेको र सो बयानलाई अदालतमा समेत इन्कार नगरेको हुँदा प्रस्तुत वारदातमा पीडितको योनिमा प्रतिवादीको वीर्य वा दाग नभेटिनुलाई स्वाभाविक र यथार्थपरक नै मान्नु पर्ने । प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (Complete penetration) र वीर्य योनिमा स्खलन (Emission of semen) नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसङ्गत नदेखिने । जबरजस्ती करणी हुनको निम्ति स्त्रीको योनिभित्र पुरूष जनेन्द्रीय पूर्णरूपमा प्रवेश भएकै हुनुपर्ने, स्त्रीको कन्याजाली (Hymen) च्यातिएको वा फाटेकै हुनुपर्ने वा पुरूष वीर्य योनिमा स्खलन भई योनिको वरिपरि वीर्य वा सोको दाग लागेकै हुनुपर्ने अनिवार्यतासमेत नरहेको अवस्थामा वीर्य स्खलनसहित वा रहित योनिको बाह्य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसुर हुन पर्याप्त हुने भनी अर्जुनबहादुर पाण्डे वि. नेपाल सरकार भएको जबरजस्ती करणी (ने.का.प. २०६५ अङ्क १ निर्णय नं.७९२३) मुद्दामा मिति :२०६४/१०/०९ सिद्धान्त प्रतिपादन भएको छ ।
६. योनिभित्र लिङ्ग प्रवेश गराई भित्रबाहिरसमेत गरेको कुरा पुष्टि भएको अवस्थामा करणीको कार्य सम्पन्न भइसकेको मान्नुपर्ने हुन्छ । करणीको उद्योगको कसुर हुनका लागि करणी गर्न नपाएको अवस्थाको विद्यमानता हुनुपर्ने हुन्छ । निज प्रतिवादीले योनिभित्र लिङ्ग प्रवेश गराई भित्रबाहिर गरी वीर्य स्खलनसमेत भएको कुरा तथ्यबाट स्थापित भएको अवस्थामा करणी नगरेको र उद्योग मात्रको कसुर भएको मान्न नसकिने हुन्छ । नाम परिवर्तन गरिएकी ‘ख’ कुमारी चौधरीको जन्ममिति २०५९/११/०१ रहेको भन्ने ज्ञानोदय प्राथमिक विद्यालय तिलकपुर-४ नवलपरासीको च.नं.३३ मिति २०६५/११/०४ को पत्र तथा तिलकपुर गा.वि.स. कार्यालयको च.नं.६६२ मिति २०६५/११/०६ को पत्रबाट देखिएको अवस्थामा पीडित वर्ष ६ की नाबालिका रहेकी र निजले मन्जुरी गरी करणी लिनु दिनु गरेको भनी मान्न मिल्ने अवस्थासमेत विद्यमान देखिँदैन । पीडित ६ वर्षको नाबालिका रहेको अवस्थामा निजको मन्जुरी लिई करणी गरेपनि सो कार्य अपराधजन्य र कानूनले जबरजस्ती करणी गरेको कसुरजन्य नै हुने हुन्छ । पुनरावेदक प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीले बयान गर्दा आफूले निज पीडितलाई करणी गरेको होइन । आफू अपाङ्ग भएकाले सोकार्य गर्न सक्ने होइन भनी जिकिर लिएका भए तापनि निज शारीरिकरूपमा अपाङ्ग भएको, स्पष्ट बोल्न नसक्ने तर मानसिकरूपमा ठीक भएको भन्ने मिति २०६५।१०।२२ को परासी अस्पताल विकास समिति नवलपरासीको शारीरिक परीक्षण प्रतिवेदन छ भने पञ्चराम लङ्गडा छन्,तर हिँड्न र बोल्न सक्छन् । स्कुलमा पियनको काम गर्थे । एउटा हात मात्र अपाङ्ग छ, अलिअलि खुट्टा पनि अपाङ्ग छ भनी मौकामा घटना विवरणमा कागज गर्ने ............................, हेम कुमारी चौधरी, नरदेवी चौधरी, धनिसरा भुसाल, भिमकला भट्टराईसमेतका मानिसहरूले अदालतमा बकपत्र गरेका छन् । यसबाट के देखिन्छ भने यी पुनरावेदक प्रतिवादी पूर्णरूपमा अपाङ्ग नभई हिँड्न डुल्न सक्ने आंशिक खालको अपाङ्ग रहेको भन्ने देखिन्छ । दायाँ हात र दायाँ खुट्टा राम्रोसँग नचल्ने भएपनि निजको अरू शरीरका अङ्ग सद्दे रहेको अवस्थामा निजले दाबीको कसुर गर्न नसक्ने भन्न मिल्ने देखिएन । मिसिल संलग्न कागज प्रमाणबाट वारदात भएको पुष्टि हुन आएको अवस्थामा निजको प्रतिवेदनलाई प्रमाणकै रूपमा ग्रहण नगरी सूचनामा लिन नमिल्ने भन्न मिल्ने पनि देखिँदैन ।
७. पीडित तथा प्रतिवादीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर बकपत्रका लागि अदालतमा उपस्थित नभए तापनि जाहेरवालाको जाहेरी दर्खास्त र अदालतको बकपत्र, घटना विवरण कागज गर्ने मानिसहरूको मौकाको कागज र अदालतमा भएको बकपत्र, पीडितको मौकाको कागज एवं बकपत्रसमेतका प्रमाणहरूले घटना वारदात पुष्टि गरिरहेको अवस्थामा स्वास्थ्य परीक्षण प्रतिवेदनले सहायक प्रमाणको स्थान पनि ग्रहण गर्न सक्दैन भन्न मिल्ने हुँदैन । अपाङ्ग भएकै कारण कसुर नगरेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । कुनै अपराध पूर्ण अपराध (Full Crime) हो वा सो अपराधको उद्योग (Attempt) मात्र हो भन्ने ठहर्याउन कसुरदारले गरेको कार्य र सोको परिणामसमेतलाई विचार गर्नुपर्ने हुन्छ । अपराध गर्ने उद्देश्यसहित अपराध गर्ने कार्य गर्दा बीचमा अवरोध सृजना भई कार्यले पूर्णता नपाएको अवस्थामा मात्र उद्योग हुने हो । प्रस्तुत मुद्दामा वर्ष ६ की नाबालिकाको योनिभित्र लिङ्ग प्रवेश गराई भित्रबाहिर समेत गराएको र वीर्य स्खलनसमेत भएको देखिएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने र योनिमा घाउचोट नभएपनि रातो दाग देखिएको अवस्थामा जबरजस्ती करणीको उद्योग मात्र हुने भनी सम्झन नमिल्ने हुँदा पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।९।२९ मा भएको फैसला मिलेको देखिएन ।
८. सुरू मिसिल संलग्न अन्य प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादीले घरमा कोही नभएको मौका पारी पीडित ‘ख’ कुमारीलाई चकलेट खान दिई आफ्नो घरको दोस्रो तलाको कोठामा लगी हात मुख छोपी खाटमा उत्तानो पारेर सुताई सुरूवाल खोली जबरजस्ती करणी गरी पठाएको भन्ने जाहेरवालाको मौकाको जाहेरी तथा अदालतसमक्षको बकपत्र, पीडितको मौकाको कागज तथा अदालतसमक्षको बकपत्र, घटना विवरणका साक्षीहरूको मौकाको कागज तथा अदालतसमक्षको बकपत्र, पीडित तथा प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका सुरू मिसिल संलग्न प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादीले पीडित नाम परिवर्तित “ख” कुमारी चौधरीलाई जबरजस्ती करणी गरेको भन्ने वारदात स्थापित हुन आएकाले उद्योग मात्र ठहर गर्ने गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।९।२९ मा भएको फैसला केही उल्टी भई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३ नं. को देहाय १ नं. बमोजिम प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीलाई १०(दश) वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट ऐ. महलको १० नं. बमोजिम पीडित ‘ख’ कुमारी चौधरीलाई रू.५०,०००।- क्षतिपूर्ति भराई दिने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत बुटवलबाट मिति २०७०।९।२९ मा भएको फैसला केही उल्टी भई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३ नं. को देहाय १ नं. बमोजिम प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीलाई १०(दश) वर्ष कैद सजाय हुने र निज प्रतिवादीबाट ऐ. महलको १० नं. बमोजिम पीडित ‘ख’ कुमारी चौधरीलाई रू.५०,०००।– क्षतिपूर्ति भराई दिने ठहरेकाले निज मिति २०६५।१०।२२ मा पक्राउ परी मिति २०६५।११।१७ सम्म २६(छब्बीस) दिन थुनामा बसी मिति २०६५।११।१८ मा सुरू अदालतले मागेको धरौट रू.१०,०००।– नगद दाखिल गरी तारिखमा छुटेको सुरू मिसिलबाट देखिएकाले निज थुनामा बसेको अवधि मुलुकी ऐन, अ.बं.१२० नं. बमोजिम ठहरेको कैदबाट कट्टा गरी बाँकी ९ वर्ष ११ महिना ४ दिन कैद निज प्रतिवादी बेरूजु हुँदा लगत कसी कानूनबमोजिम असुल गर्नु भनी सुरू अदालतमा लेखी पठाउनू ................................................१
पीडित ‘ख’ कुमारी चौधरीलाई प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीबाट रू.५०,०००।– क्षतिपूर्ति भराई दिने ठहरेकाले मुलुकी ऐन, जबरजस्ती करणी महलको १०ग. नं. बमोजिम पीडितलाई फैसलाको जानकारी दिई सो भराई पाउने ठहरेको क्षतिपूर्तिमध्ये प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीले पुनरावेदन अदालत बुटवलमार्फत यस अदालतमा पुनरावेदन गर्दा मुलुकी ऐन, अ.बं. १९४ नं. को सुविधा लिई पुनरावेदन अदालत बुटवलमा र.नं. ५२ बाट मिति २०७१।८।११ मा नगद रू.४५,०००।– (पैंतालीस हजार) धरौट दाखिल गरेको देखिँदा उक्त धरौट रकमबाट पीडितलाई भराई दिन भनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा लेखी पठाउनु र बाँकी हुने क्षतिपूर्ति रू.५,०००।–निज प्रतिवादीले र.नं. १८८ मिति २०६५।११।१८ मा सुरू नवलपरासी जिल्ला अदालतमा दाखिल गरेको धरौट रू.१०,०००।– बाट भराई दिनु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू .....................२
सुरू नवलपरासी जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको फैसलाको तपसिल खण्ड कायम नरहने हुँदा प्रतिवादी लङ्गडो पञ्चराम चौधरी भन्ने खेमनारायण चौधरीलाई ठहरेको कैद असुली भएपछि निजले सुरू नवलपरासी जिल्ला अदालतमा दाखिल गरेको धरौट रू.१०,०००।– मध्ये पीडितलाई क्षतिपूर्ति भराई दिई बाँकी हुने रू.५,०००।– निज प्रतिवादीले मुलुकी ऐन, दण्ड सजायका महलको ५१ नं.का म्यादभित्र फिर्ता पाउँ भनी दर्खास्त गर्न आए कानूनबमोजिम गरी निजलाई फिर्ता दिनु र म्यादभित्र फिर्ता माग्न नआए सदर स्याहा गरी सरकारी राजस्वमा आम्दानी बाँध्नु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू ..............................३
फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ..........................................४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ..............................५
उक्त रायमा सहमत छु ।
न्या. टंकबहादुर मोक्तान
इजलास अधिकृत : शिवलाल पाण्डेय
इति संवत् २०७४ साल पुस ४ गते रोज ३ शुभम् ।