शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९५८ - मानव बेचबिखन

भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।४।२२

 

मुद्दा : मानव बेचबिखन

 

०७२-CR-०६००

पुनरावेदक / प्रतिवादी : जाजरकोट जिल्ला, पजारू गाउँ विकास समिति वडा नं. ८ घर भई कपिलवस्तु जिल्ला, चनई गाउँ विकास समिति वडा नं. ७ खरेन्द्रपुरमा बद्रीनाथ ७ नं. होटल एण्ड रेष्टुरेन्ट सञ्चालक रही हाल कारागार कार्यालय नेपालगञ्जमा थुनामा रहेको करवीर शाही

विरूद्ध

प्रत्यर्थी / वादी : ‘क’ कुमारी समेतको जाहेरीले नेपाल सरकार

 

०७२-CR-०७९७

पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला, चनई गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय पाल्पामा थुनामा रहेको माया भन्‍ने सुकुमारी लामासमेत

विरूद्ध

प्रत्यर्थी / वादी : ‘क’ कुमारी समेतको जाहेरीले नेपाल सरकार

 

गरिबी र बेरोजगारीमा रहेकाले आफैँले आफूलाई बेच्न शोषण गर्न तयार हुँदैमा वेश्यावृत्तिमा लगाउन पाइन्छ भन्ने कदापि होइन र यो कानूनको मनसाय पनि होइन । कानूनले स्पष्टरूपमा कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने तथा वेश्यागमन गर्नेलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषाभित्र राखी कसुर नै मानेको अवस्था देखिने ।

(प्रकरण नं.७)

मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मानवता विरूद्धको अपराधमा पीडितहरू त्रसित, कमजोर र हतोत्साही अवस्थामा रहने र एकजना पीडित बालिका नै रहेको  अवस्थामा घटनाको परिस्थिति र घटनाको असरहरूमा फरक बयान नरहेको अवस्थामा पीडितहरूको बयानमा कतै घटनाको क्रमबद्धरूपमा वर्णन नभएकोले केही विरोधाभास देखिन्छ भन्ने आधारमा मात्र पीडितहरूको बयानलाई अन्यथा भन्न नमिल्ने ।

(प्रकरण नं.९)

 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा, विद्वान्‌ अधिवक्ताहरू श्री मुकुन्द न्यौपाने र श्री गोविन्द शर्मा वन्दी

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी

अवलम्बित नजिर :

ने.का.प. २०६६, नि.नं. ८१६६

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू ‍निर्णय गर्ने :

मा. जिल्ला न्या. श्री अच्युतप्रसाद भण्डारी

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल

मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान 

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

जिल्ला कपिलवस्तु चनई गा.वि.स.वडा नं. ८ वनकट्टी स्थित महेन्द्र राजमार्ग सडक खण्डमा मिति २०७०।५।२ गते “क” कुमारी र “ख” कुमारीलाई बिक्री गर्ने उद्देश्यले लैजान थालेको अवस्थामा निरा भन्ने निर्मला परियारलाई पक्राउ गरेको र “क” कुमारी र “ख” कुमारीलाई उद्धार गरिएको भन्ने मिति २०७०।५।२ को घटनास्थल प्रकृति मुचुल्का ।

प्रतिवादी निरा भन्ने निर्मला परियार हामीहरूको दिदी पर्ने एवं पहाड घर एकै ठाउँमा भएकोले निज पहाड गएको बेला तराइमा राम्रो काम र पैसा पाइन्छ भनी फकाउने गरेकीमा हामीहरू सो लोभमा परी मिति २०७०।४।२९ गते घरबाट हिँडी निर्मला परियारलाई हामी आयौं भनी फोन गरेकोमा प्रतिवादीहरू निर्मला परियार र सुकुमारी लामा हामीलाई लिन बुटवल पुगी हामीहरू ४ जना भई सुकुमारी लामाको घरमा पुगेका र निजहरू २ जनाले भारत बैंङलोर लगी जागिर लागाइदिन्छौं भनेकोमा हामीहरूले नमानेपछि मिति २०७०।४।३० गते बद्रीनाथ नं. ७ होटल एण्ड रेष्टुरेन्टमा लगी हिन्दी भाषी केटाहरूसँग निजहरूले कुरा गरी हामीलाई बियर पिउन भनेका र हामीले सो नमानी होटल बाहिर निस्केकोमा सुकुमारीले दुवैलाई गाली गरी “ख” कुमारीलाई हातपातसमेत गरी निर्मला परियारको घरमा लगेका, अर्को दिन ३२ गते निजहरू २ जनाले बद्रीनाथ गेष्ट हाउसको साहु करवीर शाहीले राम्रो काम लगाइदिने भनी बोलाएको छ, हिँड् भनेकोले म “क” कुमारी निजको होटलमा गएकोमा निर्मला परियार र सुकुमारी लामाले हिन्दी भाषीसँग के के कुरा गरी मलाई सो होटलको कोठामा छोडी बाहिर निस्केका र त्यसपछि हिन्दी भाषी भारतीय मूलको मानिसले कोठामा पसी निर्मला परियारले तिमीलाई करणी गर्न रू.१५००।– लिएको छ भनी मलाई जबरजस्ती करणी गरेको र निज बाहिर गएपछि अर्को आएकोमा मैले प्रतिकार गरी म बाहिर निस्किएँ । म बाहिर निस्किएपछि निर्मला परियार र होटल सञ्चालक करवीर शाहीसमेतले काम नगर्ने भए किन आएको भनी गाली गलौज गरे । पुनः भदौ २ गतेसमेत हामी दुईलाई एकछिन होटलमा बसी जाउँला भनेका थिए । यसरी होटल सञ्चालक करवीर शाही, निर्मला परियार र सुकुमारी लामाले हामीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको हुँदा निज प्रतिवादीहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको “क” कुमारी र “ख” कुमारीको जाहेरी दरखास्त र प्रमाणित बयान ।

चनई गा.वि.स. वडा नं. ८ वनकट्टीस्थित महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ उत्तर मोहडा भएको २ तले टिका कुँवरको घर भएको, सो घरमा करवीर शाहीले सञ्चालन गर्दै आएको बद्रीनाथ होटलको पूर्वतर्फको बीच कोठामा सुकुमारी लामा र निर्मला परियारले “क” कुमारीलाई होटल सञ्चालकसमेतको मिलेमतोमा जबरजस्ती करणी गराएको भन्नेसमेतको घटनास्थल प्रकृति मुचुल्का ।

पीडितलाई होटलमा अपरिचित व्यक्तिसँग करणी गराउन बाध्य पारिएको भनी बताएकी, दायाँ तिघ्रामा भुत्ते हतियार (blunt object) को चोटको निलडाम रहेको र यौन आक्रमण (sexual assault) को विशेषता देखिएको भन्नेसमेतको पीडित “क” कुमारीको शारीरिक परीक्षण प्रतिवेदन ।

बद्रीनाथ होटल एण्ड रेष्टुरेन्ट ७ नं. का सञ्चालक करवीर शाही र निजको श्रीमती विष्णु नेपालले मलाई यौन कार्य गराएमा पैसा पाइन्छ भनी बताएकी र म मेरो माइती गएको बेला राम्रा केटी ल्याउनु भनेकोले मैले मेरो गाउँका “क” कुमारी र “ख” कुमारीलाई मधेशमा राम्रो काम र पैसा धेरै पाइन्छ भनेकी र म फर्की आएपछि निजहरूले फोन गरी हामी आउँदै छौं भनी फोन गरेकाले म र सुकुमारी लामाले सल्लाह गरी बुटवलसम्म गई निजहरूलाई सुकुमारीको घरमा ल्याएको हो । साउन ३० गते पनि करवीर शाही र निजको श्रीमती विष्णु नेपालले पुलिस आएको बेला भाँडा माँझे जस्तो गर्ने र अरू बेला वेश्यावृत्ति गर्ने केटी चाहिएको छ भनेका थिए, सो राति “क” कुमारीलाई सुकुमारी, करवीर शाही र विष्णु नेपालले जबरजस्ती वेश्यावृत्तिमा लगाएका रहेछन्, अर्को दिन ३२ गते “क” कुमारी र सुकुमारीसँग २ जना मानिसले करणी गरेका हुन्, सोबापत “क” कुमारीलाई रू.१,५००।– दिने भनेपनि दिएका होइनन्, भदौ २ गते पुनः पीडितहरू र मसमेत होटलतर्फ जाँदै गर्दा पीडितलाई उद्धार र हामीलाई पक्राउ गरेका हुन् भन्नेसमेतको प्रतिवादी निरा भन्ने निर्मला परियारको बयान । 

निर्मला परियारको आग्रहबमोजिम मिति २०७०।४।२९ गते निजको बहिनीहरू “क” कुमारी र “ख” कुमारीलाई लिन बुटवल गई निजहरू २ जनालाई लिई ४ जना मेरो घरमा बसेको हो । बद्रीनाथ होटल एण्ड रेष्टुरेन्टको करवीर शाही र विष्णु नेपालले नयाँनयाँ कस्टमरसँग यौनक्रिया गरेमा तिमीहरू र हामीलाई फाइदा हुन्छ, राम्रा केटी भए ल्याउनु, पुलिस आएको बेलामा भाँडा माझे जस्तो गर्नुपर्छ भनेको र ३० गते कस्टमर आएकाले होटलमा लगी मैले र “क” कुमारीले सो होटलभित्र यौनक्रिया गरेका हौं, त्यसपछि अर्को दिन पनि “क” कुमारीलाई होटलमा लगि यौनक्रिया गराएको हो भन्ने सुकुमारी लामाले गरेको बयान ।

प्रतिवादीहरू निरा भन्ने निर्मला परियार र सुकुमारी लामा एवं पीडित “क” कुमारी र “ख” कुमारी मिति २०७०।४।३० र त्यसपछि खाजा खान आइ बियर मासुसमेत खाई बसेका हुन्, निजहरूलाई वेश्यावृत्तिमा मैले लगाएको होइन, श्रीमतीले के गरिन् मलाई थाहा भएन भन्नेसमेतको प्रतिवादी करवीर शाहीले गरेको बयान ।

निर्मला परियारले “क” कुमारी र “ख” कुमारीलाई गुल्मीबाट बोलाई सुकुमारी लामा, बद्रीनाथ होटल एण्ड रेष्टुरेन्टका सञ्चालक करवीर शाही र विष्णु नेपालको मिलेमतोमा सो होटलमा मिति २०७०।४।३२ समेतमा “क” कुमारीलाई आर्थिक प्रलोभन देखाई जबरजस्ती यौन कार्य गर्न लगाएको भन्ने हामीले थाहा पाएका हौं भन्नेसमेतको बुझिएका मानिस कमला वि.क., पुष्पा राना र वस्तुस्थिति मुचुल्काका मानिसहरू बाटुली परियार, कमला परियार र बसन्ती परियारले लेखाइदिएको बेहोरा ।

करवीर शाहीले प्रयोग गरेको मोबाइल नं. ९८१९५५९७३६ नं. को फोनबाट निर्मला परियारले प्रयोग गरेको ९८११५७३५०५ नं. को फोनमा सन् २०१३–८–१ तद्‌अनुसार साउन १७ मा एकपटक फोन गरेको सन् २०१३–८–७ (साउन २३) मा एकपटक सन् २०१३–८–१६ (साउन ३२) मा २ पटक फोन गरेको कल डिटेलबाट देखिएको भन्नेसमेतको कल डिटेल विवरण ।

मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, पीडितहरूको प्रमाणित बयान, प्रतिवादीहरूले गरेको बयान कागज, कल डिटेल, बुझिएका मानिसहरूको कागज र वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाइदिएको बेहोरासमेतका प्रमाणहरूबाट प्रतिवादी बद्रीनाथ होटल एण्ड रेष्टुरेण्टका सञ्चालक करवीर शाही र विष्णु नेपाल शाहीले प्रतिवादी निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालाई आर्थिक फाइदा लिई वेश्यावृत्तिमा लगाएको एवं निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामामार्फत परिवर्तित नाम “क” कुमारी र “ख” कुमारीलाई गुल्मीबाट बोलाई आर्थिक फाइदा लिई वेश्यावृत्तिमा लगाएको र प्रतिवादीहरू निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामाले गुल्मी जिल्लाबाट परिवर्तित नाम “क” कुमारी र “ख” कुमारीलाई राम्रो काम र धेरै पैसा पाइन्छ भनी चन्द्रौटा बोलाई बुटवलसम्म लिन गई प्रतिवादी बद्रीनाथ होटल एण्ड रेष्टुरेण्टका सञ्चालक करवीर शाही र विष्णु नेपाल शाहीको आग्रहबमोजिम सो होटलमा लगी जबरजस्ती आर्थिक फाइदा लिने उद्देश्यले वेश्यावृत्तिमा लगाएको पुष्टि भई निज प्रतिवादीहरू करवीर शाही, विष्णु नेपाल शाही, निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत दफा (४) को उपदाफा (१) खण्ड (ख) को कसुर अपराध गरेको देखिएकोले निज प्रतिवादीहरू निरा भन्ने निर्मला परियार, माया भन्ने सुकुमारी लामा, करवीर शाही र विष्णु शाहीलाई उक्त ऐनको दफा १५ को उपदफा (१) खण्ड (ख) बमोजिम सजाय हुन र निज चारैजना प्रतिवादीहरूबाट पीडितहरू “क” कुमारी र “ख” कुमारीलाई उक्त ऐनको दफा १७ बमोजिम मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई पाउन भन्नेसमेतको अभियोग मागदाबी । 

“क” कुमारी र “ख” कुमारी मेरो घरमा बस्थे निजहरूले नराम्रो काम गर्ने र राति ९।१० बजे रक्सी खाई आउने गर्थे, मैले निजहरूलाई मेरो बेइज्जत गराउँछौं भनी १।२ थप्पड हानेको रिसइवीका कारण जाहेरी दिएका हुन् । मैले निजहरूलाई बुटवल लिन गएको पनि होइन । मैले कुनै कसुर गरेको छैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा मैले भनेअनुसार लेखिएको होइन भन्नेसमेतको प्रतिवादी निरा भन्ने निर्मला परियारले सुरू अदालतमा गरेको बयान । 

जाहेरवालाहरूले ममाथि किन जाहेरी दिए,मलाई थाहा छैन, मैले कुनै कसुर गरेको छैन,निर्मला परियार घर छिमेकी हुँदा र करवीरको होटल हुँदा निजसँग सामान्य चिनजान छ, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा मैले भनेअनुसार लेखिएको होइन भन्नेसमेतको प्रतिवादी सुकुमारी लामाले सुरू अदालतमा गरेको बयान । 

विष्णु नेपाल मेरो श्रीमती हुँदा चिन्छु, निर्मला परियार र सुकुमारीलाई सामान्य चिन्छु । म मिति २०७०।४।३० नेपालगञ्ज गई ऐजन भदौ २ गते चन्द्रौटा आएको हो । जाहेरी बेहोरा झुठा हो । मैले मेरो होटलमा कुनै अभद्र व्यवहार गर्ने गरेको छैन । मैले कुनै कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन, अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजको बेहोरा मैले भनेअनुसार लेखाएको होइन भन्नेसमेतको प्रतिवादी करवीर शाहीले गरेको बयान । 

फरार प्रतिवादी विष्णु नेपाल (शाही) को नाउँमा वारेन्टसहितको म्याद जारी भएकोमा निज आफ्नो सुरू म्यादै गुजारी थाम्ने थमाउने अवधि व्यतित गरेको ।

२०७०।५।२ गते जाहेरी र सोमा भएको सहिछाप मेरो हो । निरा परियार मेरो घरमा गई तिमीहरूलाई सुर्ती फ्याक्ट्रीमा जागिर लगाई दिन्छु भनेकी थिइन् । हामीहरूलाई फोन गरी बोलाएकीले २०७० साल साउन महिनाको अन्त्यमा बुटवल आएका थियौं । निजको कपिलवस्तुमा घर भएको थाहा नभएकोले हामीहरूलाई लिन निर्मला र सुकुमारी लामाले बुटवल आई घरमा राखी अर्को दिन बुटवल घुम्न जाउँ भनी झुक्याई हामीहरूलाई होटलको कोठाभित्र लगे त्यहाँ २ जना केटाहरू थिए ती केटाहरूले हामीलाई समाती खाटमा पल्टाउन लागेकोमा लात्ती र मुक्काले हानेर म बाहिर उभिएकीमा निरा भन्ने निर्मलाले पुनः कोठामा आइज भनेकीले म केही गरी भित्र नगएकीले निजले घर जाउँ भनी हामीहरूलाई आफ्नो घरमा नलगी सुकुमारी भन्नेको घरमा लगी राखी अर्को दिन घर जाउँ भनी हामीहरूलाई झुक्याई भारतमा बेच्न भनी लान लागेको अवस्थामा बाटोमा गाडी पर्खेर बसिरहेको अवस्थामा प्रहरीको गाडी आएको देखेपछि प्रहरीको गाडी रोकाई सबै कुरा बताएपछि त्यस दिन साथी संस्थामा बसी अर्को दिन प्रहरीमा जाहेरी दिएको हो भनी जाहेवाली परिवर्तित नाम "ख" कुमारीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७०।५।१६ गते वस्तुस्थिति मुचुल्कामा गरेको सहिछाप मेरो हो । सुकुमारी मुख्य व्यक्ति हुन् । अरू कसैको बारेमा थाहा छैन । सुकुमारी र निर्मलाबाहेक अरूको कुनै संलग्नता छैन भनी वादी पक्षका साक्षी बाटुली परियारले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीमध्ये निरा भन्ने निर्मला परियार तथा पीडितहरू परिवर्तित नाम "क" कुमारी र "ख" कुमारीको पहाड घर एकै ठाउँमा पर्ने भएकाले प्रतिवादीहरू पहाड घर गएको बेला तराईमा राम्रो काम पाइन्छ, जसबाट पैसा पनि राम्रो पाइन्छ भनी हामीहरूलाई उक्साइ हामीहरू मिति २०७०।४।२९ गते घरबाट हिँडी आफूहरू आयौं भनी निर्मला परियारलाई फोन गरेकामा प्रतिवादीहरू निर्मला परियार र सुकुमारी परियार हामीलाई लिन बुटवल पुगी हामी चारैजनासँग साथै सुकुमारी लामाको घरमा आयौं र निजहरूले राम्रै पैसा कमाउन भारतको बैंङ्गलोरमा जागिर लगाई दिन्छौं भन्दा भारत जान नमानेपछि मिति २०७०।४।३० गते बद्रीनाथ ७ नं. होटल एण्ड रेष्टुरेण्टमा लगी हिन्दी भाषी केटाहरूसँग निजहरूले कुरा गरी हामीलाई बियर पिउन भनेका र हामीले बियर पिउन नमान्दा सुकुमारीले गाली गरी म "ख" कुमारीलाई हातपातसमेत गरी निर्मला परियारले घरमा लगेको, अर्कोदिन साउन ३२ गते निजहरू २ जनाले बद्रीनाथ गेष्ट हाउसका साहु करवीर शाहीले राम्रो काम लगाइदिने भनी बोलाएको छ भनी म "क" कुमारीलाई निजले होटलमा लिएर गएको र निर्मला परियार र सुकुमारी लामाले हिन्दी भाषामा के के कुरा गरी मलाई होटलको कोठामा छाडी बाहिर निस्केका र त्यसपछि भारतीय मूलका मानिसहरू कोठाभित्र पसी निर्मला परियारले तिमीलाई करणी गर्न भनी रू.१५००।- लिएको छ भनी मलाई जबरजस्ती करणी गरेका र निजले करणी गरी बाहिरगएपछि अर्को व्यक्ति कोठामा आएकोमा प्रतिकार गर्दै बाहिर निस्किएपछि निर्मला परियार र होटल सञ्चालक करवीर शाहीसमेतले काम गर्ने नभए किन आएको भनी भनेका थिए । निजहरूलाई कारवाही गरिपाउँ भनी परिवर्तित नाम "क" कुमारी र "ख" कुमारीको किटानी जाहेरी रही अदालतसमक्ष प्रतिवादी निर्मलाले बोलाएकोले आएकी हुँ, प्रतिवादी सुकुमारीको घरमा बसी अर्को दिन बुटवल घुम्न जाउँ भनी झुक्याई हामीलाई होटलको कोठाभित्र लगे, त्यहाँ २ जना केटाहरू थिए । तिनीहरूले हामीलाई एक एकवटाले समाती खाटमा पल्टाउन लाग्दा लात्ति र मुक्काले हानी हामी बाहिर निस्कन सफल भएका हौं, पुनः निर्मला परियारले कोठाभित्र बोलाउँदै गरेकी र होटल मालिक करवीर शाहीले यस्तो कार्य नगर्ने भए किन आएको भनी गाली गरेका थिए । उक्त दिन पुनः सुकुमारीको घरमा बसी भोलिपल्ट भारतमा बेच्न लागिरहेका अवस्थामा बाटामा गाडी पर्खेर बसेको अवस्थामा प्रहरीको गाडी रोकाई सबै कुरा भनेपछि यी प्रतिवादीहरूलाई पक्राउ गरेका हुन भनी जाहेरवाली परिवर्तित नाम "ख" कुमारीले बकपत्र गरी दिएको पाइन्छ ।

मौकाको कागज र जाहेरवालीको बकपत्र एकअर्कासँग मिल्दोजुल्दो नरही एकापसमा बाझिएको पाइन्छ । पीडित "क" कुमारीको दायाँ तिघ्रामा Blunt injury को चोटको निलडाम रहेको पाइए तापनि स्वयं "ख" कुमारीले आफूलाई खाटमा पल्टाउन खोज्ने लाई लात्ती र मुक्काले हिर्काई बाहिर निक्लने क्रममा चोट लागेको भनी बकपत्र गरेबाट समेत मौकाको कागजको बेहोरा र बकपत्रमा विरोधाभास देखिन्छ । वादीका साक्षी बाटुली परियारले यी प्रतिवादी सुकुमारी र निर्मला परियारले जाहेरवालीका आमाबुबालाई रू.२०।२० हजार दिई लिएर आएका हुन् भनी सुनेकी हुँ, यिनै २ जना प्रतिवादीहरू आरोपित कसुरका मुख्य व्यक्तिहरू हुन् भनी अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । प्रतिवादीमध्ये सुकुमारी र निर्मला परियारले अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुर स्वीकारी अदालतसमक्ष इन्कारी बयान गरेको पाइन्छ भने प्रतिवादीमध्येका करवीर शाही अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष कसुरमा इन्कार रही बयान गरेको पाइन्छ । जाहेरवालीको अदालत र मौकाको कागजमा भिन्नभिन्न भनाई रहेको एकातिर पाइन्छ भने अर्कोतिर "क" र "ख" कुमारीसँग वेश्यागमन गर्ने को हुन्, नामसम्म उल्लेख गर्न सकेको पाइँदैन । अर्कोतिर जाहेरवालीहरूको जबरजस्ती करणी भएको भनेको दिनको वारदातपश्चात् पनि यिनै प्रतिवादीसँग एकसाथ रहेको र यथा समयमा वेश्यागमन गराएको भन्नेबारे जाहेरी दिनसमेत सकेको पाइँदैन, रकम बरामद भएको अवस्था छैन, वेश्यागमन गराएको भन्ने वारदात स्थलबाट यी प्रतिवादीहरू पक्रेको भन्ने पनि देखिँदैन । यसरी जाहेरवालीको भनाइ विरोधाभास भई वेश्यागमन गराउने कार्यमा प्रतिवादीहरूको संलग्नता रहेको नपाइँदा वेश्यावृत्तिमा सजाय गर्न मिलेन प्रतिवादीमध्ये निर्मला परियार र सुकुमारी लामाले नै बुटवल गई यी जाहेरवालीलाई आफ्नो साथमा लिएर आई प्रतिवादी सुकुमारीले साथमा राखेको देखिन्छ । घटनास्थल मुचुल्कामा मिति २०७०।५।२ गते अ. ६.१५ बजेको समयमा प्रतिवादीमध्येकी निर्मला परियार जाहेरवालीलाई पक्राउ गरेको साथै पीडितको उद्धार गरेको भन्ने पाइन्छ । प्रतिवादीहरू निर्मला परियार र सुकुमारीले बुटवल घुम्न जाउँ भनी लगी होटलको कोठाभित्र लगेका र २ जना केटाहरूले आफूलाई जबरजस्ती गर्न खोजेपछि लात्तीले र मुक्काले प्रहार गरी बाहिर भाग्न सफल भएपछि पुनः आफूहरूलाई सुकुमारीको घरमा राखी अर्को दिन घरजाने बहानमा हामीलाई झुक्याई भारततर्फ लान लागेको अवस्थामा प्रहरीको गाडी देखी रोकी सबै कुरा बताएपछि त्यस दिन साथी संस्थामा बसी जाहेरी दिई यी प्रतिवादीहरूलाई पक्राउ गराएका हौं भनी जाहेरवाली परिवर्तित नाम "ख" कुमारीले अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । प्रतिवादी सुकुमारी र निर्मला परियारको संलग्नता छ, सोबाहेक अरूको संलग्नता छैन, सुकुमारी मुख्य व्यक्ति हुन् भनी वादी पक्षका साक्षी बाटुली परियारले यस अदालतसमक्ष बकपत्र गरेको पाइन्छ । प्रतिवादीमध्येकी निर्मला परियार जाहेरवाली घटनास्थलबाट नै साथै पक्राउ परेकी देखिन्छ । जसबाट यी प्रतिवादीहरूको मिलेमतोमा जाहेरवालीलाई गुल्मी जिल्लाबाट बोलाई बुटवलसम्म सँगै साथैमा लिएर आई सुकुमारीको घरमा राखी भारतमा पुर्‍याइसकेको अवस्था नदेखिए पनि गुल्मीबाट बुटवल हुँदै कपिलवस्तुमा बोलाई ल्याई अन्यत्रै लैजान लागेको अवस्थामा पक्राउ परेको पाइँदा नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरेको कार्य कानूनसम्मत छ, असल नियतले सदासयताले गरेका हुन् शोषण गर्ने उद्देश्यले गरेका होइनन् भन्न मिलेन । तसर्थ यी प्रतिवादीहरू करवीर शाही, मिरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालाई अभियोग दाबीबमोजिम सजाय गर्न नमिली मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम जनही २ (दुई) वर्ष दरले कैद सजाय हुने ठहर्छ । साथै प्रतिवादीमध्ये विष्णु नेपाल शाहीको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबीमा राखिदिएको छ भन्नेसमेत बेहोराको सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७१।५।२४ मा भएको फैसला ।

पीडितहरूले मौकामा आफूहरूलार्इ प्रतिवादीहरूमध्येकी निरा भन्ने निर्मला परियार र सुकुमारी लामाले फकार्इ गुल्मीबाट बुटवल हुँदै कपिलवस्तुमा करवीर शाहीको होटलमा पुर्‍यार्इ कोठा थुनी ग्रहकहरूसँग वेश्यावृत्तिमा लगाएको भनी किटानी जाहेरी दिएकी र सोहीबमोजिम निजहरूले गरेको बयान प्रमाणित भइरहेकोमा पछि पीडितले अदालतमा प्रतिकूल बकपत्र गरे तापनि प्रमाणित बयानलार्इ प्रमाणमा ग्रहण गरी फैसला गर्नुपर्ने सम्बन्धमा “मौकामा जिल्ला न्यायाधीशसमक्षको प्रमाणित बयान प्रतिकूल पीडितले अदालतमा बकपत्र गर्दा अन्यथा भन्नुले खास असर पाइँदैन । मिसिल संलग्न प्रमाण एवं मिसिल संलग्न तथ्यले देखाएको परिस्थितिले प्रतिवादीउपरको अभियोग पुष्टि हुने अवस्था देखा पर्दछ भने साक्षीले प्रतिकूल भनाइ राखे पनि फौजदारी न्यायको उद्देश्यलार्इ अनदेखागरी निर्णय गर्न नहुने’’ भन्ने ने.का.प.२०६६ अंक ६ नि.नं.८१६६ मा सिद्धान्त प्रतिपादन भइरहेकोमा सो सिद्धान्तलार्इ बेवास्ता गरी बकपत्र र कागज बाझिएको भनी पीडितको स्वास्थ्य परीक्षणमा देखिएको sexual assault तथा तिघ्रामा लागेको चोटको विश्लेषण नै नगरी गरिएको फैसला त्रुटिपूर्ण छ । पीडितहरूलार्इ शोषण गर्ने उद्देश्यले ओसारपसार गरी ल्याएको तथ्यमा सहमत भएको इजलास होटलमा वेश्यावृत्ति गर्न लगाएको तथ्यलार्इ पुष्टि हुने पीडितको स्वास्थ्य परीक्षणलार्इ अन्यथा भन्न मिल्ने होइन । प्रतिवादीहरूले वेश्यावृत्तिमा लगार्इ आर्थिक लाभ लिने स्पष्ट देखिएकोमा शोषण गर्ने उद्देश्यले ओसारपसार गरेको भनी तथ्यविपरीत पृथक कसुर ठहर गरी भएको फैसला कानूनसङ्गत छैन । फैसलामा प्रतिवादीहरूले पीडितलार्इ नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्य शोषण गर्ने उद्देश्यले गरेका होइनन् भन्न मिलेन भनी ऐनको दफा ४(२)(ख) बमोजिम नेपालको एकठाउँबाट अर्को ठाउँमा लैजाने व्यक्तिलार्इ ऐनको दफा १५(१)(च) बमोजिम सजाय गरिएको छ । जुन मिसिलको समग्र तथ्यविपरीत छ । प्रस्तुत मुद्दाको वारदात सन्दर्भमा पीडितहरूलार्इ दास तुल्याउने, बाधा बनाउने वा निजहरूको शरीरको कुनै अंश झिक्ने उद्देश्यले गुल्मीबाट बुटवल हुँदै वेश्यावृत्तिमा लगाउने उद्देश्यले ओसारपसार गरेको प्रस्टै देखिँदा आरोपित कसुर ठहर गरी दाबीको दफा १५(१)(ख) बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी वारदातको प्रकृतिविपरीत असङ्गत दफा प्रयोग गरी भएको सुरू फैसला त्रुटिपूर्ण रहेकाले बदर गरी प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय गरी पीडितहरूलार्इ क्षतिपूर्तिसमेत दिलार्इ भरार्इ पाउँ भन्नेसमेत वादी नेपाल सरकारले पुनरावेदन अदालत बुटवलमा गरेको पुनरावेदन पत्र ।

अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मैले कोही कसैलार्इ डरधाक देखार्इ वेश्यावृत्ति गर्न लगाएको होइन, मिति २०७०।४।३२ गते म दिनभर होटलमा थिइन । साँझ घर फर्कदा होटलमा कोही थिएनन् भनी लेखाएको छु । अदालतमा बयान गर्दासमेत कसुरमा इन्कारी बयान गरेकोमा सो बयानलार्इ प्रमाणमा नलिर्इ उक्त वारदातमा मेरो कुनै संलग्नता नरहेको अवस्थामा २ वर्ष कैद गर्नेगरी गरेको फैसला त्रुटिपूर्ण छ । क र ‘ख’ कुमारीले मसमेत उपर दिएको जाहेरीको प्रकरण ३ मा मिति २०७०।४।३० गते हामीलार्इ होटलमा हिन्दीमा कुरा गर्ने २ जना मानिसहरूसँग सुकुमारी र निर्मलाले नमालुम के कुरा गरेका र हामीलार्इ रक्सी बियर पिउन भनेकाले होटलभित्र नपसी बाहिरै बसेको भनी लेखाएका छन् । मौकामा कागज गर्दासमेत सोही कुरा लेखाएका छन् । तर सम्मानित अदालतमा आर्इ बकपत्र गर्दा, स.ज.६ को जवाफमा बुटवल घुम्न जाउँ भनी होटलको कोठाभित्र लागी २ जना केटाले हामीलार्इ समाती खाटमा पल्टाउन लागेकोमा हात खुट्टाले हानी भागेको भनी लेखाएका छन् । यसरी जाहेरी मौकाको कागज र बकपत्र एक आपसमा बाझिएको छ । सहप्रतिवादीहरूले अनुसन्धानमा मलार्इ पोलगरी बयान गरे तापनि अदालतमा सो पोल बयानलार्इ खण्डित हुने गरी बयान गरेका छन् । वादीका साक्षी बाटुली परियारले अदालतमा बकपत्र गर्दा करवीर शाहीको उक्त मुद्दामा कुनै संलग्नता छैन भनी लेखाएबाट म निर्दोष भएको प्रस्ट छ । कल डिटेल्सलार्इ मेरो विरूद्धको प्रमाण भनी पेस गरिएको छ । ९८१९५५९७३६ नं. को सिम मेरो नभएकोमा मैले प्रयोग नै नगरेको फोनलार्इ मैले गरेको भनी मेरो विरूद्ध प्रमाणमा लिन मिल्ने होइन । मैले जाहेरवालाहरूलार्इ चिने जानेको छैन । मैले निजहरूलार्इ बोलाएको, गुल्मी गई लिएर आएकोसमेत छैन । निजहरू मेरो होटलबाट पक्राउ परेका छैनन् । पक्राउ हुँदा म साथमा छैन । यसरी जाहेरवालाहरूलार्इ मैले नचिनेकोमा शोषण गर्ने उद्देश्यले नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजान लागेको भनी २ वर्ष कैद हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफार्इ पाउँ भन्नेसमेत प्रतिवादी करवीर शाहीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीमध्येका करवीर शाहीसमेतलार्इ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम सजाय गरेउपर चित्त नबुझार्इ प्रतिवादी करवीर शाहीको र प्रतिवादीहरूलार्इ अभियोग दाबीभन्दा न्यून सजाय गरेउपर वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको र पीडितले मौकामा जिल्ला न्यायाधीशसमक्ष प्रमाणित बयानमा उल्लिखित तथ्य र पीडितहरूको शारीरिक परीक्षण गर्दा तिघ्रामा लागेको चोट देखिएकोमा सो तथ्यलार्इ विश्लेषण नै नगरी अभियोग दाबीभन्दा पृथक सजाय गर्ने गरी सुरूले गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा वादी नेपाल सरकार तथा प्रतिवादी करवीर शाहीको तर्फबाट पर्न आएका पुनरावेदन पत्रहरू एक आपसमा जानकारी गराउनु र पुनरावेदन नगरेका निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालार्इ मुलुकी ऐन, अ.बं.२०२नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकार्इ आएपछि वा सोको अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०७१।१२।१७ को आदेश ।

प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम जनही २ वर्ष कैद सजाय गर्ने गरेको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।५।२४ को फैसला नमिलेकाले उल्टी भई पुनरावेदक प्रतिवादी करवीर शाही तथा प्रतिवादीहरू निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालार्इ अभियोग दाबीबमोजिम उक्त ऐनको दफा ३,४(१)(ख) को कसुर अपराधमा सोही ऐनको दफा १५(१)(ख) बमोजिम जनही १० वर्ष कैद र रू.५०,०००।- का दरले जरिवाना हुने ठहर्छ । साथै उक्त ऐनको दफा १७ बमोजिम पीडितहरू परिवर्तित नाम “क” कुमारी र “ख” कुमारीले जनही रू.२५,०००।- (पच्चीस हजार) क्षतिपूर्तिबापत प्रतिवादीहरूबाट भरार्इ पाउनेसमेत ठहर्छ भन्‍ने मिति २०७२।०३।१५ पुनरावेदन अदालत बुटवलबाट भएको फैसला ।

म निर्मला र म सुकुमारीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा साबिती रही पोल गरी बयान गरे तापनि अदालतमा आई बयान गर्दा उक्त अनुसन्धान अधिकारीसमक्ष भएको बयान हामीलाई पढी बाची नसुनाई जबरजस्ती सहिछाप गराएको हो भनेर बयान गरेका छौं । अदालतमा आई कसुरबाट इन्कार रही अनुसन्धानको पोल बयानलाई खण्डित हुने गरी बयान गरेबाट अनुसन्धानमा गरेको बयान खण्डित भएको छ । यस्तो खण्डित बयान हाम्रो विरूद्ध प्रमाण लाग्ने होइन ।

मौकामा कागज गर्ने व्यक्ति पुष्पा सुनार, कमला वि.क. र विकास कुवरले गाउँ घरमा हल्ला सुनेर थाहा पाएको भनी लेखाएका छन भने वस्तुस्थिति मुचुल्कामा बाटुली परियार, कमला परियार र वसन्ती परियारले समेत सो वेश्यावृत्तिको कसुर गरे गराएको कुरा किटानी गरी लेखाउनु सकेको छैनन् । वादीको साक्षी बाटुली परियारले सम्मानित अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरू निर्दोष छन् भनी प्रस्ट बकपत्र गरेका छन् । 

मिसिल संलग्न प्रमाणलाई हेर्दा क र ‘ख’ कुमारीसँग वेश्यागमन गर्ने पुरूष को हो नखुलेको, ऊ पक्राउ नपरेको, उसको नाम वतनसम्म खुल्न नसकेको, के कति रूपैयाँ लेनदेन भयो उक्त रूपैयाँ बरामद नभएको र दशीको रूपमा पेस हुन नसकेको भनिएको वारदात स्थलमा वेश्यावृत्ति कार्य सम्पन्‍न भएको भन्‍ने चिह्न अवशेषहरू फेला नपरेको, पीडित भन्‍ने जाहेरवालीका बयान र बकपत्रमा एकरूपता नभएको । निजले मौकामा नै मलाई वेश्यावृत्तिमा लगाएको भनी जाहेर गर्न नसकेको । प्रतिवादी वारदात स्थलबाट पक्राउ नपरेको, "क" कुमारी शरीरको जाँचबाट जबरजस्ती वेश्यावृत्ति गराएको भनी देखिने अवशेषहरू नदेखिएको, वारदात स्थलमा वेश्यावृत्ति कार्य सम्पन्‍न भएको देख्‍ने प्रत्यक्षदर्शी नभएको, मौकामा जबरजस्ती वेश्यावृत्ति भएको भए हार गुहार गर्नुपर्ने सो नगरिएको, उक्त होटलमा वेश्यावृत्ति गराउने कोठा स्थान वातावरण नभएकोसमेतका आधार प्रमाणबाट हामीलाई वेश्यावृत्तितर्फको कसुरमा सजाय गरिएको कानून र न्यायको दृष्टिले समेत मिलेको छैन । अतःउक्त फैसला त्रुटिपूर्ण भएको हुँदा सो फैसला उल्टी गरी अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिलाई इन्साफ पाउँ भन्‍ने सुकुमारी लामा र निर्मला परियारको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

पुनरावेदकले कसुर अपराध नगरेको कुरा मौकाको बयान र अदालतमा भएको बयानमा नै उल्लेख गरेको छु । होटलमा आई अन्य मानिसहरूसँग बसी बियर खाएको तथ्यलाई उजागर गर्नु अपराधको स्वीकारोक्ति होइन । तथ्यको स्वीकारोक्ति कसुरदार ठहर गर्ने आधार बन्‍न सक्दैन । कसुरदार ठहरिनको लागि आपराधिक मन र आपराधिक कार्य भएको भन्‍ने मिसिल संलग्न प्रमाण कागजातबाट देखिनु पर्दछ । यस्तो अवस्था नदेखिनुको साथै मेरो इन्कारीलाई अदालतमा उपस्थित भई बकपत्र गर्न वादीका साक्षी बाटुली परियारले बकपत्र गरी पुष्टि गरिदिएको छन् । निजले अदालतमा उपस्थित भई बकपत्र गर्दा सुकुमारी र निर्मलाबाहेक अरूको कुनै संलग्नता छैन भनी किटानी बकपत्र गरिदिएको अवस्थामा म पुनरावेदकको मौकाको तथा अदालतको इन्कारीलाई पुष्टि नभएको भनी निर्णयाधार बनाई गरेको फैसला मुखाकृतिबाटै बदरभागी हुनुको साथै यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट मौकामा कागज गर्नेहरूको अदालतसमक्ष बकपत्र र प्रतिवादीका साक्षीहरूसमेत यी पुनरावेदकलाई निर्दोष देखाएको पाइन्छ । केवल जाहेरी दरखास्तमा नाम उल्लेख गर्दैमा फौजदारी अपराधमा सजाय गर्न उपयुक्त हुने देखिँदैन । सो जाहेरी पुष्टि गर्ने अन्य प्रमाणहरूसमेत मालाकाररूपमा प्रमाणित भएर वादी पक्षले देखाउन सक्नु पर्ने (स.अ.बु. २०६८, पृ. ४५८, पृ. ४०) भनी प्रतिपादित सिद्धान्तविपरीत समेत भएकाले बदरभागी छ । 

पीडित जाहेरवालीमध्येकी ‘ख’ कुमारीले प्रतिवादीको बद्रीनाथ नं.७ होटलमा मिति २०७०।४।३० गतेको दिनमा नचिनेको व्यक्तिहरूसँग यौनसम्पर्क गर्न लगाउँदा प्रतिवादीहरू निर्मला, सुकुमारी तथा होटलवाला करवीर शाहीले कुटपिट गरी विभिन्‍न अपशब्द प्रयोग गरी गाली गलौज गरेका भनी मौकाको प्रमाणित बयानमा लेखाएको तथा पीडित ‘क’ कुमारीको प्रमाणित बयानबाट समेत सोही तथ्यको घटनाक्रम भए गरेको दखिएको भन्‍ने निर्णयाधार बनाई म पुनरावेदकलाई कसुरदार ठहर गरिएको छ । पीडित जाहेरवालीहरूले जाहेरी दरखास्त तथा मौकाको प्रमाणित बयानमा मिति २०७०।४।३० गते यौनसम्पर्क गर्न लगाउँदा प्रतिवादीहरूले कुटपिट गरी विभिन्‍न अपशब्द प्रयोग गरी गाली गरेको भन्‍ने बेहोरा उल्लेख गरेको छैन । उक्त निर्णयाधार अदालत आफैँले सृजना गरेको निर्णयाधार हो । यस्तो अदालतले सृजना गरेको निर्णयाधारको आधारमा कसुरदार ठहर गर्न नमिल्ने हुनुको साथै मिसिल संलग्न सम्पूर्ण कागजातबाट म पुनरावेदकले कसुर गरेको पुष्टि नहुनुको साथै मेरो मौकाको तथा अदालतको इन्कारीलाई वस्तुस्थिति मुचुल्काका मानिसहरूले अदालतमा उपस्थित भई बकपत्र गर्दा पुष्टि गरी दिएको अवस्थामा निर्दोषिता पुष्टि नभएको भन्‍ने आधारमा म पुनरावेदकलाई कसुरदार ठहर गर्ने गरी भएको फैसला निराधार एवं त्रुटिपूर्ण भएकोले बदरभागी छ । 

पीडित जाहेरवाली ‘ख’ कुमारीले अदालतसमक्ष गरेको बकपत्रबाट समेत प्रतिवादीहरूले जाहेरवालीहरूलाई वारदातस्थल होटलमा लगेको पहिलो दिनमा दुवैलाई होटलको कोठाभित्र लगी त्यहाँ अपरिचित व्यक्तिहरूले पीडितहरूसँग यौन कार्य गर्न खोजेको र हामीले त्यसो गर्न नमान्दा करवीर शाही र निजकी श्रीमतीले त्यस्तो गलत काम नगर्ने भए किन आएको भन्दै कुटपिट गरेको हुन् पीडित ‘क’ कुमारीले आफ्नो प्रमाणित बयानमा लेखाएअनुसारको तथ्य उल्लेख गरी बकपत्र गरेको देखिँदा सो बकपत्रसमेतबाट प्रतिवादीहरू उपरको आरोपित कसुरको अभियोग दाबी पुष्टि भएको देखिन्छ भन्‍ने निर्णयाधार नै गलत छ । जाहेरवाली ‘क’ कुमारीको जाहेरी दरखास्त तथा प्रमाणित बयानमा होटलमा लगेको पहिलो दिन यौन कार्य गर्न खोजेको भनी कुनै कथन उल्लेख गरेको छैन । साथै गलत कार्य नगर्ने भए किन आएको भनी भन्दै कुटपिट गरेको भन्‍ने कथन नै जाहेरी दरखास्त तथा मौकाको बयानमा उल्लेख नै नभएको काल्पनिक कथन अदालतले सृजना गरी कसुरदार ठहर गरी भएको सुरू फैसला तथा पुनरावेदन अदालतको फैसलासमेत निराधार, त्रुटिपूर्ण तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकोले उक्त फैसलाहरू बदर गरी अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय निरूपण गरिपाउन सादर अनुरोध छ भन्‍ने करिवर शाहीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा आफ्नो इच्छाविपरीत करणी गर्न बाध्य पारिएको भन्ने पीडित ‘क’ कुमारीको भनाई रहेकोमा मौकाको जाहेरीलाई समर्थन गरी अदालतमा बकपत्र गर्न नसकेको, पीडित ‘ख’ कुमारीको अदालतसमक्ष भएको बकपत्र र जाहेरी बेहोरा एक आपसमा बाझिएको देखिएकोमा प्रतिवादीहरूले पीडितहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा १ को खण्ड (ख) को कसुर गरेको भन्ने ठोस सबुद प्रमाणको अभावमा प्रतिवादीहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत बुटवलको मिति २०७२।३।१५ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत मिति २०७३।११।१० को यस अदालतको आदेश ।

 

यस अदालतको ठहर

नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारीले पीडितहरूले मौकामा यी प्रतिवादीहरूले गुल्मीबाट बोलाई कपिलवस्तु स्थित करवीर शाहीको होटलमा पुर्‍यार्इ ग्राहकहरूसँग वेश्यावृत्ति गर्न लगाएको भनी किटानी जाहेरी दिएका र सोहीबमोजिम गरेको मौकाको बयान प्रमाणित भएको अवस्था छ । प्रतिवादीहरूले अदालतमा अन्यथा बकपत्र गरेपनि मौकामा साबिती बयान गरेको प्रमाणमा लिन मिल्ने हुन्छ । प्रतिवादीहरूले आरोपित कसुर गरेकोले प्रतिवादीहरूलार्इ अभियोग मागदाबीबमोजिम सजाय गरेको फैसला मिलेको हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो । पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा, विद्वान्‌ अधिवक्ता श्री मुकुन्द न्यौपाने र विद्वान्‌ अधिवक्ता श्री गोविन्द शर्मा वन्दीले  ‘क’ कुमारीको अदालतमा बकपत्र नभएको, ‘ख’ कुमारीको बकपत्रबाट निजलाई वेश्यावृत्ति गराइएको भन्ने तथ्य नखुलाइएको, ‘ख’ कुमारीसँग कोही कसैको शारीरिक सम्पर्क नभएको, मेरो पक्ष प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेका, सहमतिले रोजगारीमा आएको र सहमतिले वेश्यावृत्ति गरेकोलाई बेचबिखन भन्न नमिल्ने, कसुर के हो तथ्यबाट समेत हेर्नुपर्ने हुँदा पुनरावेदन अदालतको फैसला तथ्य प्रमाणविपरीत हुँदा सफाइ दिलार्इ पाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

प्रतिवादी करवीर शाही र विष्णु नेपाल शाहीले प्रतिवादी निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामामार्फत “क” कुमारी र “ख” कुमारीलार्इ गुल्मीबाट बोलार्इ आर्थिक फाइदा लिर्इ वेश्यावृत्तिमा लगाएको हुँदा निज प्रतिवादीहरूलार्इ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत दफा (४)(१)(ख) को कसुर अपराधमा उक्त ऐनको दफा १५(१)(ख) बमोजिम सजाय हुन र पीडितहरूलार्इ उक्त ऐनको दफा १७ बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलार्इ भरार्इ पाउँ भन्नेसमेत अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा सुरू कपिलवस्तु अदालतबाट जाहेरवालीहरूलार्इ वेश्यागमन गराउने कार्यमा प्रतिवादीहरूको संलग्नता रहेको नपाइँदा वेश्यावृत्तिमा सजाय गर्न मिलेन, जाहेरवालीहरूलार्इ गुल्मीबाट ल्यार्इ सुकुमारीको घरमा राखी भारतमा पुर्‍यार्इ सकिएको अवस्था नदेखिए पनि गुल्मीबाट कपिलवस्तुमा बोलार्इ अन्यत्रै लैजान लागेको अवस्थामा पक्राउ परेको पाइँदा शोषण गर्ने उद्देश्यले नेपालको एक ठाउँबाट अर्को ठाउँमा लैजाने कार्य गरेकोले प्रतिवादीहरूलार्इ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(च) बमोजिम जनही २ वर्ष कैद सजाय हुने ठहरी भएको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको तथा प्रतिवादी करवीर शाहीको तर्फबाट पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा प्रतिवादीहरूलार्इ अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा १५(१)(च) बमोजिम जनही २ वर्ष कैद सजाय गर्ने गरेको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०७१।५।२४ को फैसला नमिलेकाले उल्टी भई पुनरावेदक प्रतिवादी करवीर शाही तथा प्रतिवादीहरू निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालार्इ अभियोग दाबीबमोजिम उक्त ऐनको दफा ३, ४(१)(ख) को कसुर अपराधमा सोही ऐनको दफा १५(१)(ख) बमोजिम जनही १० वर्ष कैद र रू.५०,०००।- का दरले जरिवाना हुने ठहर्छ । साथै उक्त ऐनको दफा १७ बमोजिम पीडितहरू परिवर्तित नाम “क” कुमारी र “ख” कुमारीले जनही रू.२५,०००।- (पच्चीस हजार) क्षतिपूर्तिबापत प्रतिवादीहरूबाट भरार्इ पाउनेसमेत ठहर्छ भन्‍ने मिति २०७२।०३।१५ पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर प्रतिवादी करवीर शाही र सुकुमारी लामा निर्मला परियारको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । 

अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले आफूहरूले आर्थिक फाइदा लिने उद्देश्यले जाहेरवालीहरू परिवर्तित नाम ‘क’ कुमारी र ‘ख’ कुमारीलार्इ प्रतिवादी करवीर शाहीको होटलमा लगी जबरजस्ती वेश्यावृत्तिमा लगार्इ अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(१)(ख) द्वारा परिभाषित कसुर गरेको हो होइन भन्ने तथ्यको निरूपण गर्नुपर्ने देखिन आएको छ । पुनरावेदक प्रतिवादी करवीर शाहीले आरोपित कसुर गरेकोमा प्रहरीमा र अदालतमा आफू इन्कार रहेको र जाहेरवाली “क” कुमारीले अदालतसमक्ष बकपत्र गर्दा होटलको कोठाभित्र २ जना केटाहरूले जाहेरवालीहरूलार्इ समाती खाटमा पल्टाउन लागेकोमा हात खुट्टाले हानी भागेको भनी लेखाएबाट जाहेरी, मौकाको कागज र बकपत्र एक आपसमा बाझिएको छ भन्दै सो कुरालार्इ आफूले आरोपित कसुरबाट सफार्इ पाउनु पर्ने मुख्य आधारको रूपमा पुनरावेदन जिकिर लिएको पाइन्छ । 

३. प्रतिवादीहरूमध्येकी नीरा भन्ने निर्मला परियार एउटै गाउँ ठाउँकी मानिस भएकीले पूर्व चिनजान भएकोमा निजले पीडित जाहेरवालीहरूलार्इ राम्रो काम छ भनी बारम्बार फोन गरी बोलाएकीले जाहेरवाली दुवै दिदीबहिनी मिति २०७०।४।२९ गते गुल्मीबाट बुटवल आएको, निजहरूलार्इ लिन बुटवल आएका निर्मला परियार र सुकुमारी लामाले निज सुकुमारी लामाको घरमा लगी राखेको, भारतको बैंगलोरमा राम्रो काम पाइन्छ जानुपर्छ भनेको र जाहेरवालीहरूले जान इन्कार गर्दा त्यसो भए यही राम्रो काममा लगाउँछौ भनी मिति २०७०।४।३० गते वारदातस्थल कपिलवस्तु, चनर्इ-८ स्थित प्रतिवादी करवीर शाही र निजकी श्रीमती विष्णु नेपाल शाहीको बद्रीनाथ नं.७ होटलमा लगी त्यहाँ भारतीय जस्तो हिन्दीमा कुरा गर्ने दुर्इजना केटाहरूसँग प्रतिवादीहरू सुकुमारी लामा र निर्मला परियारले के कुराकानी गरी जाहेरवालीहरूलाई रक्सी पिउनभन्दा निजहरूले रक्सी पिउन नमानेकोले गाली गलौज हातपातसमेत गरेको र मिति २०७०।४।३१ गते जाहेरवालीहरू निर्मला परियारको घरमा बसेको, मिति २०७०।४।३२ गते जाहेरवालीहरू मध्ये ‘क’ कुमारीलार्इ पुनः उक्त होटलमा लगी त्यहाँ भारतीय मूलको जस्तो मानिसले तिम्रो साथीले रू.१५००।- लिएको छ भनी जबरजस्ती करणी गरेकोले प्रतिवादीहरूलार्इ जाहेरवाली ‘क’ कुमारी र नाबालिका ‘ख’ कुमारीलार्इ जबरजस्ती वेश्यावृत्तिमा लगाएको कसुरमा हदैसम्मको कारवाही गरिपाउँ भन्ने बेहोराको घटना विवरण उल्लेख गरी प्रतिवादीहरू उपर किटानी जाहेरी दिएको देखिन्छ । मौका अनुसन्धान तहकिकातको सिलसिलामा निज पीडितहरूले वेश्यावृत्तिमा लगाउने प्रयास / उद्योग गरिएको बयान गरी दिएको र निजहरूको बयान मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६(२) बमोजिम सुरू कपिलवस्तु जिल्ला अदालतबाट प्रमाणित भएको देखिन्छ । 

४. मिति २०७०।५।२ मा गरिएको “क” कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट निजको बाँया साँप्रामा घाउ चोट लागेको र निजउपर यौन हिंसा भएको भनी विशेषज्ञले उल्लेख गरेको देखिँदा जाहेरवालीहरूलार्इ प्रतिवादीहरूले हातपातसमेत गरेको भन्ने मौका अनुसन्धानको प्रमाणित बयानमा लेखाएको तथ्य घाजाँच प्रतिवेदनबाट समर्थित भइरहेको देखिन आउँछ । उक्त स्वास्थ्य परीक्षण प्रतिवेदनमा  Bluish injury mark over right front thigh by blunt object (Victim says due to strike to door while attempting to run from incident.) Findings consistent with sexual assault भन्ने विशेषज्ञको रायबाट प्रतिवादीहरूले पीडितउपर हातपात गर्न खोजेको र भाग्न कोसिस गर्दा निज पीडित “क” कुमारीलाई चोट लाग्न गएको देखिँदा प्रतिवादीहरूले पीडित जाहेरवालीहरूलाई हातपात कुटपिटसमेत गरेको पुष्टि भएको देखिन्छ ।

५. प्रतिवादी करवीर शाहीले मौकामा गरेको बयानमा पीडितहरूलार्इ वेश्यावृत्तिमा लगाएको होइन, मेरी श्रीमती विष्णु नेपालले मेरो होटलमा कोही कसैलार्इ बोलार्इ कस्टमरसँग यौन कार्य गराए गराएनन् मलार्इ थाहा छैन, निज विष्णु नेपाल हाल के कहाँ छिन् मलार्इ थाहा भएन भनी आरोपित कसुरमा इन्कार रहेको देखिए पनि मिति २०७०।४।३० गते प्रतिवादीहरू सुकुमारी र निर्मला परियार तथा पीडितहरू ‘क’ कुमारी र ‘ख’ कुमारी निजको होटलमा आर्इ अपरिचित कष्टमरहरूसँगै बसेर मासु बियर खाएको भन्ने कुरालार्इ प्रतिवादीले उक्त बयानमा स्वीकार गरेको देखिन्छ । अदालतसमक्ष बयान गर्दा उक्त मितिमा अर्थात्‌ साउन ३० गते नेपालगञ्ज गर्इ भदौ २ गते मात्र फर्केको हुँ भन्दै आरोपित कसुरमा इन्कार रहेपनि निज प्रतिवादीले आफ्नो इन्कारी जिकिरलार्इ प्रमाणित गर्न साक्षी प्रमाण पेसगर्न सकेको देखिँदैन । प्रतिवादीहरू मध्ये सुकुमारी लामा र निर्मला परियारले करवीर शाही तथा उनको पत्नी विष्णु नेपालले नै केटीहरू होटलमा चाहिएको छ ल्याउनु भनी पठाएको भनी मौकामा एकरूपको कागज गरेको, पीडित जाहेरवालीमध्येकी ‘ख’ कुमारीले प्रतिवादी बद्रीनाथ नं. ७ होटलमा मिति २०७०।४।३० गतेको दिनमा नचिनेका व्यक्तिहरूसँग यौनसम्पर्क गर्न प्रतिवादीहरू निर्मला, सुकुमारी तथा होटलवाला करवीर शाहीसमेतले अपशब्द प्रयोगगरी गाली गलौज गरेका र हातपात गरेको भनी मौकाको प्रमाणित बयानमा लेखाएको देखियो ।

६. पीडित जाहेरवाली ‘ख’ कुमारीले अदालतसमक्ष गरेको बकपत्रबाट समेत प्रतिवादीहरूले जाहेरवालीहरूलार्इ वारदातस्थल होटलमा लगेको पहिलो दिनमा दुवैलाई होटलको कोठाभित्र लगी त्यहाँ अपरिचित व्यक्तिहरूले पीडितहरूसँग यौन कार्य गर्न खोजेको र हामीले त्यसो गर्न नमान्दा करवीर शाही र निजकी श्रीमतीले त्यस्तो गलत काम नगर्ने भए किन आएको भन्दै कुटपिट गरेका हुन् भनी अर्की पीडित ‘क’ कुमारीले आफ्नो प्रमाणित बयानमा लेखाए अनुसारको तथ्य नै उल्लेख गरी बकपत्र गरेको देखिन्छ । सो बकपत्रबाट समेत प्रतिवादीहरू उपरको आरोपित कसुरको अभियोग दाबी पुष्टि भएको देखिन्छ । प्रतिवादीहरू निर्मला परियार र सुकुमारीका साक्षी विष्णुबहादुर वि.क.ले प्रतिवादीहरू माथि लागेको मुद्दा झुठ्ठा हो भनी बकपत्र गरेपनि निज साक्षीहरू वारदात स्थलमा उपस्थित रहेका व्यक्तिहरू नभर्इ अनुमानित आधारमा लेखार्इ दिएको उक्त बकपत्रले प्रतिवादीको ईन्कारी जिकिरलार्इ पुष्टि गरेको मान्न मिलेन । यस अवस्थामा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

७. पीडितहरूकै बयानबाट “क” र “ख” कुमारी सहमति मै रोजगारीको लागि आए तापनि “ख” कुमारी नाबालिग नै रहेको देखिन्छ । साथै निजहरूलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले ललाई फकाई ल्याएको देखिन्छ । यस्तो अवस्थामा सहमतिमै रोजगारीमा आएको भए तापनि पीडितमध्ये “ख” कुमारी नाबालिग रहेकोले सहमतिको कुनै अर्थ नरहने र ‘क’ कुमारीले रोजगारीको लागि सहमति दिँदैमा वेश्यावृत्ति गराउने उद्देश्यले ल्याएकोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ४(१)(ख) आकर्षित नै हुने । जहाँसम्म मानव बेचबिखन ‌ओसारपसार वा वेश्यावृत्तिमा लगाइएको कुन कानूनअन्तर्गत सजाय गर्ने प्रश्नको सन्दर्भमा ओसारपसारको उद्देश्य वेश्यावृत्तिमा लगाउने भन्ने तथ्य पीडितको बयान तथा अभियुक्तको मौकाको कागजबाट नै स्पष्ट भएको सन्दर्भमा १५(१)(क) अन्तर्गतको सजाय मिल्ने नै देखिने । आर्थिक प्रलोभन दिई ललाई फकाई सहमति कै आधारमा वेश्यावृत्ति गराउन पाउने हो कि होइन भन्ने प्रश्नमा गरिबी र बेरोजगारीमा रहेकाले आफैँले आफूलाई बेच्न शोषण गर्न तयार हुँदैमा वेश्यावृत्तिमा लगाउन पाइन्छ भन्ने कदापि होइन र यो कानूनको मनसाय पनि होइन । कानूनले स्पष्टरूपमा कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने तथा वेश्यागमन गर्नेलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषाभित्र राखी कसुर नै मानेको अवस्था छ ।

८. जहाँसम्म “क” कुमारी अदालतसमक्ष उपस्थित भई बकपत्र गर्न नआएको हुँदा मौकाको कागजको आधारमा मात्र आरोप प्रमाणित गर्न नसकिने बहसको सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ ले जिल्ला अदालतमा बयान प्रमाणित रहेको अवस्थामा प्रमाणित बयानलाई अदालतले प्रमाणमा लिन नै सक्ने देखिन्छ । यसै सन्दर्भमा ने.का.प. २०६६ नि.नं. ८१६६ को मुद्दामा प्रमाणित बयानमा उल्लिखित तथ्य मिसिलको तथ्य, परिस्थिति र प्रमाणबाट समर्थित भएकोमा प्रमाणको रूपमा पेस गरिएको त्यस्तो बयान प्रतिकूल पीडितले नै अदालतमा आई बकपत्र गरेपनि फौजदारी न्यायको उद्देश्यलाई अनदेखा गर्न नहुने सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादित भइसकेको र यस मुद्दामा दुवै जाहेरवाली पीडितले मौकामा गरेको कागज २०७०।५।३ मा अदालतमा प्रमाणित भएको स्थित छ र एकजना जाहेरवाली पीडित ‘ख’ कुमारी अदालतसमक्ष पनि उपस्थित भई बकपत्र गरेको अवस्था रहेकोमा उक्त प्रमाणित बयानलाई समेत प्रमाणको रूपमै ग्राह्य हुने ।

९. मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मानवता विरूद्धको अपराधमा पीडितहरू त्रसित कमजोर र हतोत्साही अवस्थामा रहने र एकजना पीडित बालिका नै रहेको  अवस्थामा घटनाको परिस्थिति र घटनाको असरहरूमा फरक बयान नरहेको अवस्थामा पीडितहरूको बयानमा कतै घटनाको क्रमबद्ध रूपमा वर्णन नभएकोले केही विरोधाभास देखिन्छ भन्ने आधारमा मात्र पीडितहरूको बयानलाई अन्यथा भन्न मिलेन । जहाँसम्म सजायको हकमा १५(१)(ख) आकर्षित हुने वा नहुने प्रश्नमा पीडितहरूकै बयानबाट वेश्यावृत्ति गर्न खोज्दा भागी उम्किन सफल भएको भन्ने जिकिर लिएकाले कार्य पूरा भइसकेको नदेखिँदा उद्योगमात्र भएको देखिन्छ । तसर्थ पुनरावेदन अदालत बुटवलको मिति २०७२।३।१५ को फैसला केही उल्टी भई प्रतिवादीहरू करवीर शाही, निरा भन्ने निर्मला परियार र सुकुमारी लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(ख) बमोजिमको कसुरको उद्योग गरेको देखिँदा दफा १५(१)(ख) बमोजिम सजाय गरेको नमिलेकोले दफा १५(१)(ज) बमोजिम आधा अर्थात्‌ जनही ५(पाँच) वर्ष कैद र रू.२५०००।– पच्चीस हजारका दरले जरिवाना भई प्रतिवादीहरूबाट पीडितहरूलाई रू.४०,०००।– को दामासाहीका हिसाबले हुने रकम दफा १७ बमोजिम क्षतिपूर्तिसमेत भराइ दिने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

पुनरावेदक प्रतिवादी करवीर शाही तथा प्रतिवादीहरू निरा भन्ने निर्मला परियार र माया भन्ने सुकुमारी लामालार्इ अभियोग दाबीबमोजिम उक्त ऐनको दफा ३,४(१)(ख) को कसुर अपराधमा सोही ऐनको दफा १५(१)(ख) बमोजिम जनही १० वर्ष कैद र रू.५०,०००।- का दरले जरिवाना गरी उक्त ऐनको दफा १७ बमोजिम पीडितहरू परिवर्तित नाम “क” कुमारी र “ख” कुमारीले जनही रू.२५,०००।- (पच्चीस हजार) क्षतिपूर्तिबापत प्रतिवादीहरूबाट भरार्इ पाउने ठहर्‍याई पुनरावेदन अदालत बुटवलबाट २०७२।०३।१५ मा फैसला भएकोमा सो फैसला केही उल्टी भई प्रतिवादीहरू करवीर शाही, निरा भन्ने निर्मला परियार र सुकुमारी लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ४(१)(ख) बमोजिमको कसुरको उद्योग गरेको देखिँदा दफा १५(१)(ख) बमोजिम हुने सजायमा दफा १५(१)(ज) बमोजिम आधा अर्थात्‌ जनही ५(पाँच) वर्ष कैद र रू.२५०००।– पच्चीस हजारका दरले जरिवाना भई प्रतिवादीहरूबाट पीडितलाई रू.४०,०००।– को दामासाहीका हिसाबले हुने रकम दफा १७ बमोजिम क्षतिपूर्तिसमेत भराइ दिने ठहरी फैसला भएकोले कानूनबमोजिम लगत कसी असुल गर्ने गरी संशोधित कैदी पुर्जी दिई सम्बन्धित कारागार कार्यालयहरूमा लेखी पठाउनु भनी सुरूमा लेखी पठाइ दिनू -------१

माथि ठहर खण्डमा लेखिएबमोजिम पीडितहरू परिवर्तित नाम ‘क’ कुमारी र ‘ख’ कुमारीले प्रतिवादीहरूबाट जनही रू.४०,०००।– क्षतिपूर्ति भराइ पाउने ठहरेकाले प्रतिवादीहरूबाट पीडितहरूलाई कानूनबमोजिम फैसलाले ठहर भएको क्षतिपूर्ति नियमानुसार भराई दिनु भनी सुरू अदालतमा लेखी पठाइ दिनू ----------२

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू -------------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत: जयराम श्रेष्ठ

इति संवत् २०७४ साल साउन २२ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु