शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५३२ - लिखित बदर

भाग: २४ साल: २०३९ महिना: बैशाख अंक:

निर्णय नं. १५३२     ने.का.प. २०३९ अङ्क १

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३८ सालको दे.फु.नं. ३७२

फैसला भएको मिति : २०३९।१।२ मा

निवेदक      : का.प.जि.चलाल गणेशस्थान गा.पं.वडा नं.४ बस्ने कृष्णबहादुर कुँवर

विरुद्ध

विपक्षी : ऐ.सुननाथ शारदा गा.पं.वाड नं.३ बस्ने रत्नबहादुर खत्री क्षेत्री

मुद्दा : लिखत बदर

(१)                विवादको जग्गा प्रेमबहादुरका नाउँमा दर्ता भएको निजले तिरो तिरान गरी राखेको जग्गा निजले राजीनामा गरी दिएको देखिन आएकोले सो विवादको जग्गामा वादीको अ.बं.८२ नं.बमोजिम हकदैया लाग्न नसक्ने देखिनाले वादी दावी लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिनाले उल्टी हुने ठहर्छ ।

(प्रकरण नं. २०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती   

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चबाट ०३८।५।१५।२ मा भएको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

२.    बाजे धनराजका २ छोरामा मानबहादुर र ऐमान सिंह मेरो बाबु, मानबहादुरका चार छोरामा जेठा भीमबहादुर, माहिला पदमबहादुर, साहिला हनुमान, कान्छो म खड्गबहादुर भएकोमा भीमबहादुर मरेको र पदमबहादुर बिदेश गएको । ऐमान सिंह तर्फका जेठा काजीराम, माहिला पदमबहादुर, साँहिला टेकबहादुर, कान्छा सिसे भएकोमा जेठो काजिराम माहिलो पदमबहादुर कान्छो, सिसे मरेको साहिलो टेकबहादुर बिदेश गएको माहिलो दाजुको छोरा कृष्ण पनि विदेश गएको मरे बाँचेको ठेगाना नभई बेपत्ता भएकोले ३ पुस्ता भित्रको म हकदार हुँदा बिदेशिएकाको  सम्पत्ती हिनामिना गर्ने र कसैले हक नपुग्ने सम्पत्ती नोक्सान गरी दिँदा मर्का पर्ने हुँदा दाजु पदमबहादुर साहिला बाबुको छोरा हुँदा उनले ०९।८।२।१ मा पनौती यालाछे टोल बस्ने जगतबहादुर साहुलाई आफ्ना हकको बारी रु.५१८।मा भोगबन्धकी पास गरिदिनु भएछ । त्यसपछि पदमबहादुरको जिन्दगी बितेको छोरो पनि विदेशिएकोले अरु नजिकको हकदार कोही छैनन् । जग्गा साहुको भोगबन्धकी पास भएको २०२१ सालमा भूमिसुधार लागू भएपछि बारी विजन ।।४ को दाजु पदमबहादुरले मोहिया भै जोताह अस्थाई फाराम २०२३२९ मा पाएको थियो । त्यस्तैमा मोही निष्कासन गरे भनी दाजु पदमबहादुरको नाउँमा दुर्गा सिंहले तत्कालिन भूमिसुधार बिशेष अदालतमा उजुर गरी कारवाही हुँदा बन्धकी साहुलाई झिकाएकोमा बन्धकी जग्गाको आयस्ता खाएको छैन भन्ने बयान गरी ०३३।५।७ गते मुद्दा छिनी पदमबहादुरले जग्गा निष्कासन गरेको ठहरेन । बारी विजन ।।४ को तिरो भोगबन्धकी जनाउ साहुले तिरेको २०२३ साल देखी गा.पं.मा विदेशी छोराको नाउँ जनाई तिरो तिरी आएको छु । जग्गा दुर्गा सिंह र दाजु पदमबहादुरले भोग चलन गरेनन् बाँझै छ, रेखदेख मैले गरी आएको छु । त्यस्तैमा यो जग्गा प्रेमबहादुर खडा गरी बिक्री गर्ने लिने कृष्णबहादुर भई का.प.मालमा रजिष्ट्रेशनमा २०३०।९।२ मा रु.२०००।मा पास गरी दिएछन् । सो कुरा गाउँमा हल्ला सुनी २०३०।११।११।६ मा नक्कल सारी लिँदा थाहा भयो । प्रेमबहादुरको हक, तिरो दर्ता नभएको दाजु पदमबहादुरका नाउँमा जोताहा भोग छ र दर्ता समेत छ । पूर्व दुर्गा सिंह, पश्चिम ईन्द्रकुमारीको साँध, उत्तर नरबहादुर, दक्षिण दुर्गा सिंहको बारी यति ४ किल्ला भित्रको बिजन ।।४ को बारी हकै नभएको प्रेमबहादुर दिने र कृष्णबहादुर लिने भई गरेको राजीनामा म ३ पुस्ता भित्रको हकदार हुँदा विदेश भएको कृष्ण आएमा निजैलाई फिर्ता दिने र नआएमा सम्म मेरो जिम्मा रहने गरी उक्त राजीनामा लिखत बदर गरी पाउँ भन्ने समेत फिरादपत्र ।

३.    पिता पदमबहादुरका २ श्रीमतीमा म कान्छी पट्टिको छोरो प्रेमबहादुर र जेठी पट्टिका छोरा दाजु कृष्णबहादुर भएकोमा पिता पदमबहादुर र सौतेनी जेठी आमा समेत परलोक भएछ । दाजु कृष्णबहादुर विदेश जानु भएछ, म नावालक हुँदा फटके साक्षीमा ढुकुरे घर्ती क्षेत्री साक्षी बसी मेरो बाबु बाजेको आर्जनको जग्गा हाँडो भाँडो जे भएको तालुुकदार दिमबहादुरको भरपाई गराई जिम्मा दिएको भरपाई आमाबाट पाएछन् । त्यसपछि ढुकुरे घर्ती पनि मरेछन् । आमा खोपासी धान फाँट बस्ने पदमबहादुर प्रहरीसँग पोइल गइछन् । मलाई पनि साथै लानु भएछ । मेरो उमेर पुगेपछि अचल सम्पत्ती जिम्मा लिने दिपबहादुरसँग फिर्ता लिई वादी दावी बमोजिमको जग्गा मैले रु.२९००।मा ०३०।९।२।२ मा राजीनामा गरी दिएको हुँ । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रेमबहादुरको प्रत्युत्तर ।

४.    मेरो दाता प्रेमबहादुरको नाउँमा गा.पं.ले गरी दिएको रसिद र तालुकले बारी जिम्मा लिएको भरपाई समेत देखिएकोले उक्त जग्गा रु.२९००।मा ०३०।९।२।२ मा राजीनामा पास गरी लिएको हुँ । वादी दावी झुठ्ठा हो भन्ने समेत कृष्णबहादुर कुँवरको प्रत्युत्तर ।

५.    पदमबहादुर खत्रीको छोरा प्रेमबहादुर हो होइन थाहा छैन । पदमबहादुरको छोरा कृष्णबहादुर नाबालकमै विदेश गएको भन्ने सुनेको छु । प्रेमबहादुरको हक लाग्ने हो होईन थाहा छैन भन्ने समेत वादीको साक्षी उदयबहादुर, हर्षबहादुर र नानी बाबुको बकपत्र ।

६.    पदमबहादुरले भोटेनी स्वास्नी ल्याएको थिए रे निजको छोरा कृष्णबहादुर बिदेश गएको थियो रे भन्ने सुनेको हुँ । आए नआएको थाहा छैन भन्ने प्र.को साक्षी घन सिंह, कान्छा भण्डारी र रुद्रबहादुरको बकपत्र ।

७.    नक्कली व्यक्ति गरी लिनु दिनु गरेको लिखत बदर गरी पाउँ भन्ने दावीमा नक्कली व्यक्ति खडा गरे भन्ने तर्फ फौज्दारी र लिखत बदर तर्फ देवानी छुट्टा छुट्टै फिराद दर्ता गर्न पर्नेमा एउटै फिराद गरेको हुँदा खारिज हुन्छ भन्ने समेत का.प.जि.अ.को फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन भनी वादीले दिएको पुनरावेदनमा वादीका २ दावी भए तापनि इन्साफ गर्न नपर्ने जति कुरा दरपिठ गरी इन्साफ गर्न पर्नेमा खारेज गरेको मिलेन । कारवाई किनारा गर्नु भनी मिसिल सुरुमा पठाई दिने भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

९.    वादीको दावीको राजीनामा लिखत बदर हुने ठहर्छ भन्नेसमेतका का.प.जि.अ.को फैसला ।

१०.    सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी कृष्णबहादुरको पुनरावेदन ।

११.    जग्गा बिक्री गर्ने भनेको प्रेमबहादुर पदमबहादुरका छोरा हो होइन त्यस तर्फ अ.बं.८० को कार्यविधि अपनाई लिखत बदर हुने नहुने निर्णय फैसला गर्नु भन्ने बागमती अञ्चल अदालतको फैसला ।

१२.   दाता प्रेमबहादुरका बाबु पदमबहादुरको २००९ साल फाल्गुणमा परलोक भई सकेको प्रेमबहादुरको दाजु कृष्णबहादुर २००४ साल तिर बिदेश गएको प्रेमबहादुरको आमा डल्ली भोटेनी लोग्ने परलोक भएपछि गाउँकै ढुकुरे घर्ति क्षेत्रीसँग पोइल गई निज डल्ली पछि खोपासी दानघाट बस्ने पदमबहादुर प्रहरीसँग पोइल जाँदा प्रेमबहादुरलाई समेत साथै लगेको हो भन्ने समेत कृष्णबहादुरको बयान ।

१३.   बाजे धनराजको २ छोरामा मानबहादुरको छोरा म हुँ र ऐमानको छोरा पदमबहादुर र निजको छोरा कृष्णबहादुर भई कृष्णबहादुर २००७ सालमा बिदेश तर्फ गएको हो । निजको सौतेनी आमाबाट जन्मेको छोरा समेत कोही छैनन् । नभएको मानिसलाई भएको भनी नक्कली प्रेमबहादुर खडा गरेको हो भन्ने समेत वादीको बयान ।

१४.   पदमबहादुरको छोरा कृष्णबहादुर २००७ सालमा बिदेशिएको र २००९ सालमा फाल्गुण ९ गतेमा पदमबहादुर परलोक भएकोले पदमबहादुरका अरु स्वास्नी र छोरा छैनन् भन्ने समेत प्र.का.बयान, पेटबोलीबाट बुझिएको पदमबहादुरको बयान ।

१५.   प्रेमबहादुरलाई उपस्थित गराउनु भन्ने आदेश भई कागज हुँदा समेत उपस्थित गराउन असमर्थ छु भनी कागज गरेको समेत देखिएकोले प्रेमबहादुर, पदम बहादुरको छोरा हो भन्ने प्रमाण प्रतिवादीले गुजार्न सकेको नहुँदा प्रतिवादी जिकिरसँग सहमत हुन सकिएन । अतः प्रेमबहादुर नै पदमबहादुरको छोरा देखिन नआएकोले पदमबहादुरको नाउँको जग्गा कृष्णबहादुरलाई बिक्री गरेको रु.२९००।को मिति २०३०।९।२।२ मा पारित भएको लिखत बदर हुने ठहर्छ भन्ने समेत काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।

१६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.कृष्णबहादुर कुँवर क्षेत्रीको पुनरावेदन ।

१७.   पदमबहादुरको छोरा कृष्णबहादुर खत्री भई निज हाल सरहदमा नभई विदेश पसी बेपत्ता भई राखेको कुरामा पक्ष बिपक्ष दुवैको मुख मिलेको छ । प्रेमबहादुर पदमबहादुरको कान्छी स्वास्नी पट्टिको छोरा हो कि त भन्नालाई निज तर्फबाट सो कुराको प्रमाण जुटाउन सकेको देखिएन । प्रेमबहादुर बुझ्दा बेपत्ता म्याद तामेल भएको छ । यदि प्रेमबहादुर पदमबहादुरको छोरा भएको भए आफू पदमबहादुरको छोरा नठहरिँदा आफ्नु बाबु पदमबहादुरको बंशबाटै आफू बिलुप्त हुने कुरामा निजले त्यसरी अरु प्रतिवादीसँग लागी अदालतमा हाजिर हुन नआई बस्नै नपर्ने  हो। परन्तु निज सक्कली प्रेमबहादुर नभई अर्थात पदमबहादुरको छोरा प्रेम नभएको कारणले निज अदालतमा आउन बयान दिन नसकेको रहेछन् भन्ने कुरा स्पष्ट देखिन आएको छ । त्यस्तो हक नपुग्ने व्यक्तिले दिएको राजीनामा सदर हुन नसक्ने हुनाले लिखत बदर हुने ठहराएको इन्साफ सुरुको मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत ०३८।५।१५।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१८.   उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा प्रेमबहादुर जालसाजी मानिस हो भन्ने मुद्दा नचलाई लिखत बदर तर्फ मुद्दा चलाएको देखिँदा मुद्दाको रुप नै फरक भएकोबाट लिखत बदरमा वादीले उजुर गर्ने हद अ.बं.२ नं.ले नपुग्ने हुनाले लिखत बदर गर्ने ठहराएको गैरकानूनी देखिँदा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः कानूनी त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने ०३।९।५।१ को डिभिजनबेञ्चको आदेश ।

१९.    पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना तथा विपक्षी वादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले गर्नु भएको बहस समेत सुनियो ।

२०.   यसमा वादी दावी बमोजिमको लिखत बदर हुने ठहराई म.क्षे.अ.ले गरेको फैसला मिलेको छ, छैन त्यस तर्फ मिसिल संलग्न रहेका कागजात अध्ययन गरी निर्णय तर्फ हेर्दा म ३ पुस्ता भित्रको हकदार हुँदा विदेशिएको कृष्णबहादुरलाई फिर्ता दिन कृष्णबहादुर कुँवर क्षेत्रीले नभएको प्रेमबहादुरलाई खडा गरी जग्गा बिक्री गरेको बदर गरी पाउँ भनी दावी भएकोमा प्रेमबहादुरको नामको जग्गा मैले खरीद गरी लिएको हुँदा बदर हुन नपर्ने भनी प्रतिवादी जिकिर समेत भएको प्रतिवादी कृष्णबहादुर कुँवर क्षेत्रीको दाता प्रेमबहादुर उपस्थित नभएको कारण देखाई विवादको लिखत बदर हुने ठहराएको देखिन्छ । विवादको जग्गा प्रेमबहादुरको नाउँमा दर्ता भएको निजले तिरो तिरान गरी राखेको जग्गा निजले कृष्णबहादुर कुंँवरलाई राजीनामा गरी दिएको देखिन आएकोले सो विवादको जग्गामा वादीको अ.बं.८२ नं.बमोजिम हकदैया लाग्न नसक्ने देखिनाले वादी दावी लिखत बदर हुने ठहराएको म.क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिनाले उल्टी हुने ठहर्छ । वादी दावी अ.बं.८२ नं.बमोजिम खारेज गर्नु पर्नेमा इन्साफ गरेको मिलेको नदेखिँदा वादी दावी खारेज हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु  ।

तपसील

वादी रत्नबहादुर भन्ने खड्गबहादुर खत्री क्षेत्रीकै माथि इन्साफ खण्डमा लेखिए बमोजिम सुरु काभे्रपलान्चोक जिल्ला अदालतका ०३५।३।१९।२ को फैसलाले प्र.प्रेमबहादुर १ र कृष्णबहादुर कुँवर १ समेत बाट कोर्ट फी रु.१०।नक्कल दस्तुर १।२० इतलायनामा दस्तुर ।५० समेत जम्मा रु.११।७० वादीलाई भराई दिने भनी लेखिएकोमा सो कोर्ट फी नै जफत हुने हुँदा अब सो बमोजिम गर्न परेन सो को लगत काटि दिनु भनी र प्रतिवादी कृष्णबहादुर कुँवर क्षेत्रीले बा.अं.मा ०३५।४।२२ मा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.।७५ पैसा र यस अदालतमा पुनरावेदन दर्ता गर्दा ०३८।९।२८ मा प्र.ले नै राखेको कोर्ट फी रु.१।५० समेत जम्मा रु.२।२५ वादीको जेथा देखाई प्रतिवादीहरुको म्यादभित्र दर्खास्त परे दस्तुर केही नली वादीबाट भराई दिनु भनी सुरु काभ्रेपलान्चोक जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.........................१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु............................................२

उपरोक्त रायमा मेरो सहमत छ ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०३९ साल बैशाख २ गते रोज ५ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु