निर्णय नं. ९९६१ - ज्यान मार्ने उद्योग
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।७।२९
०७०-CR-०२९५
मुद्दा : ज्यान मार्ने उद्योग
पुनरावेदक / वादी : हर्षलक्ष्मी बज्राचार्यको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : चित्र कोइरालाको छोरा, सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं.१५ बस्ने शैलेश कोइरालासमेत
वारदातको समयमा तेस्रो पक्षको उपस्थितिको कारणले पीडितको ज्यान मर्न नपाएको भन्ने प्रत्यक्ष प्रमाणबाट टड्कारैरूपमा देखिन र पुष्टि हुन सकेको अवस्थामा ज्यान मार्ने उद्योगको कसुर पुष्टि हुने योभन्दा उत्तम र विशिष्ट श्रेणीको आधार हुन नसक्ने ।
वारदातको प्रकृति एवं पृष्ठभूमि, व्यक्तिहरूको संलग्नता, पूर्व रिसइवी एवं इविलाग र मनसायको विद्यमानता, पूर्व तयारी एवं योजना र सोच, प्रयोग भएको साधन एवं हतियार, पीडितलाई चोट लागेको शरीरको भाग, चोटको प्रकृति र संख्या, पीडितको तत्काल मर्ने बाँच्ने दोसाँधको अवस्था, पीडितले तत्काल प्राप्त गरेको उद्धार र उपचारको व्यवस्था आदिले पनि तत्काल तेस्रो पक्षको उपस्थिति भए नभएको अवस्थालाई गौण र तेस्रो पक्षको उपस्थितिको तुलनामा पीडितलाई लागेको गम्भीर प्रकृतिको चोटलाई नै गम्भीर मानी प्राथमिकता दिई सोलाई नै उद्योगको कसुरलाई पुष्टि गर्ने पर्याप्त आधारको रूपमा लिन सकिने ।
(प्रकरण नं.७)
ज्यान मार्ने उद्योगको वारदात व्यक्तिहरूको समूहबाट आक्रमण भएको अवस्थामा चोट छाड्नेलगायत सो कार्यमा प्रत्यक्षरूपमा सघाउ पुर्याउने हिसाबले सहयोग गर्ने वा चोट छाड्ने क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसरह एउटै श्रेणीमा राखेको हुँदा ज्यान मार्ने उद्योगको वारदातको जुनसुकै अवस्थाको जुनसुकै प्रकृतिको क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसँग छुट्याएर हेर्न मिल्ने अवस्था देखिँदैन । मुख्य अभियुक्तको कार्य ज्यान मार्ने उद्योगको कसुरको दायराभित्र परेपछि सो सरहका कार्यमा प्रत्यक्ष, क्रियात्मक एवं सहभागितात्मकरूपमा अन्य अभियुक्तहरू पनि संलग्न रहेको प्रमाणबाट पुष्टि हुन गएमा तिनीहरू पनि सोही प्रमाणको आधारमा सोही कसुरको दायराभित्र नै पर्न आउने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुषाल
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी
माननीय न्यायाधीश श्री प्रेमराज ढकाल
पुनरावेदन तहबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री शिवनारायण यादव
माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर
फैसला
न्या. तेजबहादुर के.सी. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः
मिति २०६६/०७/१७ गते साँझको समयमा गाउँ नजिकै होहल्ला भएको र केको हल्ला हो भनी मेरो छोरा रोशन बज्राचार्य घरबाट बाहिर आउँदाको अवस्थामा विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले हान् मार् भन्ने हो-हल्ला गर्दै प्रतिवादीमध्येका निश्चल बुढाथोकीले बोकेको खुकुरी हतियारले मार्ने नै उद्देश्यले छोराको गर्धन टाउकोमा ताकी प्रहार गरेको, तत्काल तेस्रो पक्षको उपस्थितिले मर्ने बाँच्ने दोसाँधमा, निज छोराको उपचार भइरहेको र पछि बुझ्दा अघिल्लो दिन अर्थात् मिति २०६६/०७/१६ गते हाउजी कार्यक्रममा कोको केटाहरूले वादविवाद गरेको र सोही विषयमा निज प्रतिवादीहरू हातहातमा हतियार बोकी हुल हुज्जत गर्दै आउँदा छोरा रोशनलाई भेटी प्रहार गरेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको हर्षलक्ष्मी बज्राचार्यको जाहेरी दरखास्त ।
सुनसरी जिल्ला धरान नगरपालिका वडा नं.१५ स्थित पूर्वमा श्याम चौक, पश्चिममा वरगाछी चोक जाने बाटो, उत्तरमा गम्भीरमानको घर र दक्षिणमा कुमार लिम्बूको घर यति चार किल्लाभित्र उक्त वारदात भएको र सो स्थानमा रगत जस्तो तरल पदार्थ पोखिएको देखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६६/०७/१७ गते धरान नगरपालिका वडा नं.१५ स्थित अडाहा भन्ने टोलमा प्रतिवादी अशोक भन्ने शुक्रराज लिम्बू (दाई) को अध्यक्षतामा हाउजीको कार्यक्रम भएको र सो कार्यक्रममा दाजु शुक्रराजलाई अडाहाको अम्मर राईसमेतका केटाहरूले कुटपिट गरेको, सो कुरा थाहा पाई भोलिपल्ट निजै शुक्रराज लिम्बू र मणी लिम्बूको नेतृत्वमा हामीहरू निश्चल बुढाथोकी, विषन श्रेष्ठ, विजय लिम्बू, राजेश दास, शैलेश कोइराला, निपेन श्रेष्ठ, रन्जित भन्ने आदिवासी, सुरेन राई, मनिष विष्टसमेत भेला जम्मा भई हातहातमा खुकुरी, रड, लाठीसमेत बोकी अडाहाको बाटो हुँदै श्यामचोकतर्फ जाँदा बाटोमा रोशन बज्राचार्य बसिरहेको देखी हाम्रो समूहबाट यही हो हिजो शुक्रराजलाई कुटपिट गर्ने भन्दै हो हल्ला गर्दै निजलाई लखेटदै घेराउमा पारी निश्चल बुढाथोकी, विजय लिम्बू, शैलेश कोइराला, मणी लिम्बूसमेतका साथीहरूले खुकुरी, लाठी, लात्ती, मुक्काले प्रहार गरी ढालेको र सोपछि अझ अगाडि बढ्ने क्रममा दिपेश सेन्चुरीलाई फेला पारी निजलाई समेत हतियार प्रहार गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी केबल राइले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६/०७/१६ गते धरान नगरपालिका वडा नं.१५ स्थित अडाहा भन्ने टोलमा प्रतिवादी अशोक भन्ने शुक्रराज लिम्बूको अध्यक्षतामा हाउजीको कार्यक्रम भएको र सो कार्यक्रमको समयमा दाजु शुक्रराजलाई अडाहाको अम्मर राईसमेतका केटाहरूले कुटपिट गरेको र सो कुरा थाहा पाई भोलिपल्ट निजै शुक्रराज लिम्बू र मणी लिम्बूको नेतृत्त्वमा हामीहरू केबल राई, विषन श्रेष्ठ, विजय लिम्बू, राजेश दास, शैलेश कोइराला, निपेन श्रेष्ठ, रन्जित भन्ने आदिवासी, सुरेन राई, मनिष विष्टसमेत भेला जम्मा भई हातहातमा खुकुरी, रड, लाठीसमेत बोकी अडाहाको बाटो हुँदै श्यामचोकतर्फ जान लाग्दा बाटोमा रोशन बज्राचार्य बसिरहेको देखी हाम्रो समूहबाट यही हो हिजो शुक्रराजलाई कुटपिट गर्ने भन्दै हो हल्ला गर्दै निजलाई लखेट्दै घेराउमा पारी म तथा विजय लिम्बू, शैलेश कोइराला, मणी लिम्बूसमेतका साथीहरूले खुकुरी, लाठी, लात्ती, मुक्काले प्रहार गरी ढालेको र सोपछि अझ अगाडि बढ्ने क्रममा दिपेश सेन्चुरीलाई फेला पारी निजलाई समेत हतियार प्रहार गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी निश्चल बुढाथोकीले अधिकारप्राप्त अधिकारीसमक्षमा गरेको बयान ।
२०६६/०७/१६ गते धरान १५ स्थित अडाहा भन्ने टोलमा प्रतिवादी अशोक भन्ने शुक्रराज लिम्बूको अध्यक्षतामा हाउजीको कार्यक्रम भएको र सो कार्यक्रमको समयमा शुक्रराजलाई अडाहाको अम्मर राईसमेतका केटाहरूले कुटपिट गरेको, सो कुरा थाहा पाई भोलिपल्ट निजै शुक्रराज लिम्बू र मणी लिम्बूको नेतृत्वमा हामीहरू केबल राई, विषन श्रेष्ठ, निश्चल बुढाथोकी, राजेश दास, शैलेश कोइराला, निपेन श्रेष्ठ, रन्जित भन्ने आदिवासी, सुरेन राई, मनिष विष्टसमेत भेला जम्मा भई हातहातमा खुकुरी, रड, लाठीसमेत बोकी अडाहाको बाटो हुँदै श्यामचोकतर्फ जाँदा रोशन बज्राचार्य बसिरहेको देखी हाम्रो समूहबाट यही हो हिजो शुक्रराजलाई कुटपिट गर्ने भन्दै हो हल्ला गर्दै निजलाई लखेटदै घेराउमा पारी निश्चल बुढाथोकी, शैलेश कोइराला, मणी लिम्बूसमेतका साथीहरूले खुकुरी, लाठी, लात्ती, मुक्काले प्रहार गरी ढालेको र सोपछि अझ अगाडि बढ्ने क्रममा दिपेश सेन्चुरीलाई फेला पारी निजलाई समेत हतियार प्रहार गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विजय लिम्बू, शैलेश कोइरालाले अधिकारप्राप्त अधिकारीसमक्षमा गरेको छुट्टाछुट्टै बयान बयान ।
मिति २०६६/०७/१७ गते म आफ्नै घरमा घर परिवारसँग गफ गरिरहेको अवस्थामा श्यामचोकतर्फबाट ४०/५० जनाको युवाको समूह र सो स्थानतर्फ गई दृश्य हेरी घर फर्कने क्रममा एक जना मुख छोपेका मानिसले तँ कहाँको होस् भन्दा मैले यसै गाउँको भन्नासाथ निजले यही हो हान् मार् भन्दै मलाई खुकुरी प्रहार गरेको, प्रहारबाट म ढलेको अवस्थामा पुनः निजैले अर्को प्रहार गर्दा मैले हातले छेक्दा मेरो हातसमेत काटिन गएको र अन्य विजय लिम्बू, निपेन श्रेष्ठ, शैलेश कोइरालासमेतका प्रतिवादीहरू आई मलाई प्रहार गर्न थालेको कुटपिट गरेको, हातले प्रहार छेक्दा हात काटिन गएको र उक्त मुख छोप्ने केटा प्रतिवादी निश्चल बुढाथोकी जस्तो लाग्यो, निजको आवाजले निज हुन् भन्ने चिनेको हुँ । हाल मेरो उपचार भइरहेको छ, हिँडडुल गर्न सक्दिन, हातसमेत चल्दैन भन्नेसमेत बेहोराको बुझिएका पीडित रोशन बज्राचार्यको कागज ।
मिति २०६६/०७/१७ गते म तथा मेरो भाइ रोशन बज्राचार्य घर अगाडि बसिरहेको अवस्थामा श्यामचोकतर्फबाट ४०/५० जनाको युवाहरूको समूह झगडा तथा कुटपिट गर्न आए जस्तो गरी हो हल्ला गर्दै आएको र मैले भाइलाई हेर भनेकोमा निज के कति खेर उक्त स्थानमा गएछ, केही समयपछि हाम्रो घर अगाडि कसैलाई उक्त समूहले लखेटेको र घरअगाडि नै मेरो आमा भनी ढल्दा भाइकै आवाज जस्तो लाग्यो, गई हेर्दा भाइ रोशन रहेछ, निजलाई हतियार प्रहार गर्नेमध्येका निश्चल बुढाथोकीलाई चिनेँ, अन्यलाई चिनिन निजहरूले मेरो भाइलाई विनाकारण निजहरूले काटेको हो, भाइको उपचार धरानमा हुन नसकी हाल काठमाडौं टिचिङ हस्पिटलमा भइरहेको र हालसम्म उपचार खर्चसमेत पाएको छैन भन्नेसमेत बेहोराको पीडितकी दिदी सुस्मिता बज्राचार्यको कागज ।
मिति २०६६/०७/१७ गतेका दिन विरूद्ध खण्डमा उल्लिखित पक्राउ तथा फरार रहेका प्रतिवादीहरू केबल राईसमेतले पीडित रोशन बज्राचार्य र दिपेश सेन्चुरीलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योगको वारदात गरेको हुन भन्नेसमेत बेहोराको बुझिएका ओमप्रकाश श्रेष्ठसमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
यसमा हालसम्मको अनुसन्धानमा मिसिल संलग्न किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पक्राउ प्रतिवादीहरू केबल राई, विजय लिम्बू, निश्चल बुढाथोकी र शैलेश कोइरालासमेतको भिन्दा भिन्दै बयान, बुझिएका मानिसहरू एवं वस्तुस्थिति मुचुल्कामा कागज गर्ने मानिसहरूको भनाइसमेतका आधार प्रमाणहरूबाट मिति २०६६/०७/१७ गते धरान नगरपालिका वडा नं.१५ स्थित श्याम चौक नजिक पीडित रोशन बज्राचार्यउपर प्रतिवादी निश्चल बुढाथोकीसमेतका समूहले ज्यान मार्ने उद्योगको वारदात घटित गरे गराएको तथ्य स्थापित हुन आएको हुँदा निज प्रतिवादीहरूले पीडितउपर ज्यान मार्ने उद्योग गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरू निश्चल बुढाथोकी, केबल राई, शैलेश कोइराला, विजय लिम्बू, विषन श्रेष्ठ, राजेश दास, निपेन श्रेष्ठ, मनिष विष्ट, सुरेन राई, मणी लिम्बू र शुक्रराज लिम्बूसमेतको उपयुक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १५ नं. बर्खिलाप कसुर भए गरेको देखिँदा निज प्रतिवादीहरू निश्चल बुढाथोकी, केबल राई, शैलेश कोइराला, विजय लिम्बू, विषन श्रेष्ठ, राजेश दास, निपेन श्रेष्ठ, मनिष विष्ट, सुरेन राई, मणि लिम्बू र शुक्रराज लिम्बूलाई ऐ. ऐन महलको १५ नं. बमोजिम सजाय हुन मागदाबी लिइएको छ । वारदातपश्चात् फरार रहेका प्रतिवादीहरू विषन श्रेष्ठ, राजेश दास, निपेन श्रेष्ठ, मनिष विष्ट, सुरेन राई, मणी लिम्बू र शुक्रराज लिम्बूको नाममा अदालतबाटै म्याद जारी गरिपाउँ र यकिन विवरण नखुलेका अन्य व्यक्तिको हकमा अ.बं. ८८ नं. बमोजिम पुरक अभियोग पेस गरिने भन्नेसमेत अभियोग पत्र ।
घाइते जाहेरवालीलाई चिन्दछु, २०६६/०७/१७ गते म मेरो घरमा थिएँ, घाइतेलाई को कसले कसरी ज्यान मार्ने उद्योगको अपराध गरे मैले देखिनँ । अन्य प्रतिवादीहरूले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान सम्बन्धमा जानकारी भएन, मैले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा अभियोगबाट सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी केबल राईले अदालतमा गरेको बयान ।
मिति २०६६/०७/१७ गते दिउँसो म इटहरी गएको थिएँ । साँझको ३/४ बजेतिर घरमा आई घरैमा बसेँ । साँझपख धरानको वरगाछी चोकतिर घुम्न निस्केको थिएँ, सो समयमा सुवास राईसँग भेट भयो, जाहेरवाला र रोशन बज्राचार्यसँग भेट भएन । जाहेरी बेहोरा झुट्ठा हो, वारदातमा म संलग्न थिइनँ, सुमन भन्ने मानिसले २०६६/०६/१६ गते हाउजी खेलाएको ठाउँमा गएको, त्यहाँ शुक्रराज पनि गएका र निजलाई समेत कुटपिट गरेको रहेछ, कोको मानिस भई पीडितलाई कुटपिट गरे मैले देखिन, चोकमा झगडा भएको हल्ला सुनी बाहिर निस्कँदा घाइतेलाई प्रहरीको गाडीले उपचारको लागि लिएर जाँदै गर्दा देखेको हो । प्रहरीमा भएको मेरो बयान मैले भनेको होइन, पढेर सुनाएनन् भन्नेसमेत बेहोराको निश्चल बुढाथोकीले अदालतमा गरेको बयान ।
जाहेरवाला तथा पीडितहरूसँग मेरो उक्त वारदात मिति समयमा भेटघाट भएन, प्रतिवादीहरूसँग उक्त मिति २०६६/०७/१७ गते साँझमा धरान ८ स्थित वरगाछी चोकमा भेट भएको थियो, मसमेतले रोशन बज्राचार्य र दिपेश सेन्चुरीलाई काटी ज्यान मार्ने उद्योगको अपराध गरेको होइन, घटनाको अघिल्लो दिन हाउजी खेलाएको ठाउँमा केटी जिस्काएको विषयमा झगडा तथा वादविवाद भएको थियो शुक्रराज लिम्बूसँग झगडा भएको विषयमा छलफल छ भनी म पनि गएको थिएँ, म पछाडि थिएँ, अगाडिको हुलमा मणी लिम्बू, शुक्रराज लिम्बू, मनिष श्रेष्ठ, निपेन श्रेष्ठसमेतले घाइते पीडितहरूलाई कुटपिट गरेको हुनुपर्छ, म पछिपछि भएको र रातिको समय भएकोले मैले देखिन मैले कुटपिट गरेको होइन, को कसले हतियार बोकेको थियो आँखाले नदेखेको हुँदा म भन्न सक्दिन, मैले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विजय लिम्बूले अदालतमा गरेको बयान ।
जाहेरवाला तथा पीडितसँग चिनजान छैन, जाहेरी अनुसार मैले रोशन बज्राचार्य र दिपेश सेन्चुरीलाई ज्यान मार्ने उद्योगको अपराध गरेको होइन । २०६६/०७/१६ गतेको हाउजी खेलमा पनि म गएको थिइन । अधिकारप्राप्त अधिकारीमा गरेको बयान मेरो होइन, सही सम्म मेरो हो । मिति २०६६/०७/१७ गते म आफ्नै घरमा थिएँ, मैले दाबीबमोजिमको कसुर नगरेकोले अभियोग दाबी सफाइ पाउँ भन्नेसमेत बेहोराको शैलेश कोइरालाले अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादीमध्येका निश्चल बुढाथोकीलाई पुर्पक्षको निमित्त थुनामा राख्ने र अरू प्रतिवादीहरू केबल राई, शैलेश कोइराला र विजय लिम्बूबाट जनही रू.१५,०००।– जेथा जमानत लिई मुद्दाको कारवाही गर्ने भन्ने मिति २०६६/०८/१८ गतेको यस अदालतको आदेश भई प्रतिवादी निश्चल बुढाथोकी पुर्पक्षको निमित्त कारागार कार्यालय झुम्कामा थुनामा रहेका र अन्य प्रतिवादीहरूले माग गरेको नगद धरौटी लिई तारेखमा रहेको ।
वारदात भएको अघिल्लो दिन हाउजी खेलमा झगडा भएको रहेछ सो हाउजीमा म गएको थिइन, क्लबमा म पनि गएको थिएँ । सुस्मिता बज्राचार्यले गरेको कागजअनुसार पीडितलाई निश्चल बुढाथोकीले खुकुरी प्रहार गरेका हुन्, मैले कसुर नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येका निपेन श्रेष्ठले अदालतमा गरेको बयान ।
आदेशानुसार प्रतिवादी निपेन श्रेष्ठसँग माग भएको नगद रू.१५,०००।– जेथा दिन नसकी मुद्दा पुर्पक्षको निमित्त प्रतिवादी कारागार कार्यालय झुम्कामा थुनामा रहेको । प्रतिवादी राजेश दाससँग माग भएको धरौट राखी निज तारेखमा रहेको ।
आदेशानुसार वादी पक्षका साक्षी पीडित तथा कागज गर्ने सुस्मिता बज्राचार्यले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादी निश्चल बुढाथोकी कसुर इन्कार भई यस अदालतमा बयान गरेको भए तापनि निजउपर किटानी जाहेरी, पीडितकी बहिनी सुस्मिताको कागज र पीडितको कागज एवं निजहरूको बकपत्र बेहोरामा आरोपित गरिएको र अधिकारप्राप्त अधिकारीसमक्ष साबिती रहेकोले निज कसुरदार हुन् भन्ने कुरामा विवाद भएन ।
अन्य प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष वारदातमा संलग्न रहेका भए तापनि धारिलो हतियार प्रहार गरेको नभएर लाठी हात मुक्काले सम्म कुटपिट गरेको भनी बयान गरेको देखिन्छ । पीडितले मौकामा कागज गर्दा स्पष्टरूपमा यी प्रतिवादीहरू समेतले धारिलो हतियार प्रहार गरेको भन्न सकेको देखिँदैन । प्रतिवादी विषन श्रेष्ठ–१, प्रतिवादी मणी लिम्बू–१, प्रतिवादी मनिष श्रेष्ठ, प्रतिवादी सुरेन राई–१, प्रतिवादी अशोक भन्ने शुक्रराज लिम्बू–१ का नाममा यस अदालतबाट जारी भएको वारेन्टसहितको म्यादमा निजहरू अदालतमा उपस्थित नभई सुरू म्यादै गुजारी बसेको देखिँदा निज प्रतिवादीहरूका हकमा अ.बं.१९० नं. बमोजिम मुल्तबीमा राखिदिएको छ । अतः प्रतिवादी निश्चल बुढाथोकीले अभियोग दाबीबमोजिम कसुर गरेको देखिँदा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५(पाचँ) वर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादी राजेश दास, शैलेश कोइराला, विजय लिम्बू, केबल राई, निपेन श्रेष्ठले कसुर गरेको नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुनसरी जिल्ला अदालतको मिति २०६७/१२/०१ को फैसला ।
प्रतिवादी शुक्रराज लिम्बूसँग हाउजीको खेल विषयमा विवाद भई यी प्रतिवादीसमेतको नेतृत्वमा गएको समूहबाट वारदात भएको देखिन आएकोले ज्यान मार्ने उद्योगको मतसल्लाहमा यी प्रतिवादीसमेत रहे भएको देखिन आएको र नेतृत्वकर्ता भन्नेसमेत देखिँदा यी प्रतिवादीको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. नभई १७ नं.को कसुर देखिन आएकोले संलग्न प्रमाणको आधारमा प्रतिवादी मणी लिम्बूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम १ (एक) वर्ष कैद सजाय हुने ठहरी सुनसरी जिल्ला अदालतबाट मिति २०६९/०३/२५ मा भएको फैसला ।
सुरूको इन्साफमा चित्त बुझेन । यसमा प्रस्तुत मुद्दा र स.फौ.नं. २००१ को एकै मिति समयको वारदात देखाई मउपर दुईवटा मुद्दा दायर गरी दुवैमा ५/५ वर्ष कैद सजाय गर्ने गरेको फैसला नागरिक अधिकार ऐन, २०१२ को दफा ११(२) को प्रतिकूल रहेको छ । जाहेरवालाको सुरू जाहेरी र अदालतमा गरेको बकपत्रसमेतमा फरकफरक बेहोरा लेखाएकी छन् । सो प्रमाण, प्रमाण ऐन, २०३१ को दफा १८ र ३७ को प्रतिकूल हुँदा सुरूको फैसला बदरभागी छ । त्यसरी नै पीडितको दिदी सुस्मिता बज्राचार्यको मौकाको कागज र अदालतमा गरेको बकपत्र एक आपसमा फरक फरक रहेका छन् । पीडित वसन्त भनिने रोशन बज्राचार्यको मौकाको कागज र अदालतमा गरेको बकपत्रमा अलग अलग बेहोरा भएकोले उपर्युक्त ३ वटै बकपत्रहरू प्रमाण ग्राह्य नभएको तथा मेरो अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजसमेत मेरो स्वेच्छा विरूद्धको भएकोले सुरूको त्रुटिपूर्ण फैसला उल्टी गरी झुट्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको निश्चल बुढाथोकीको पुनरावेदन अदालत विराटनगरमा पर्न आएको पुनरावेदन ।
सुरूले वारदात कायम गरी निश्चल बुढाथोकीलाई कसुर गरेको ठहर गरी सजाय भएको हुँदा वारदातको सम्बन्धमा थप जिकिर लिनु परेन । ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम कसुरमा मद्दत गर्ने व्यक्तिलाई समेत कसुर गर्ने व्यक्तिसरह सजाय हुने र सो तथ्य यी प्रतिवादीहरूले एक आपसमा गरेको पोलबाट समर्थित भएको हुँदा अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याएको सुरू फैसला त्रुटिपूर्ण छ । रोशन बज्राचार्यको मौकाको कागज प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान, जाहेरवाली र मौकामा बुझिएका व्यक्तिहरूको कागज र बकपत्रसमेतबाट विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरूको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा पर्न आएको पुनरावेदन ।
घटनाको उठान, प्रतिवादीहरूको कार्य, मिसिल संलग्न प्रमाण एवं घाउ जाँच रिपोर्टसमेतलाई हेर्दा ज्यान मार्ने उद्योग मुद्दामा ठहर गरेको फैसला र समान तहका प्रतिवादीहरूका हकमा सफाइ दिने गरी भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम वादी नेपाल सरकारको पुनरावेदन प्रतिवादी पक्षलाई र प्रतिवादीको पुनरावेदन वादी नेपाल सरकारलाई उपलब्ध गराई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६८/०७/२७ को आदेश ।
सुरू सुनसरी जिल्ला अदालतको मिति २०६७/१२/०१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी निश्चल बुढाथोकी तथा नेपाल सरकार दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको मिति २०६९/११/०२ को पुनरावेदन अदालत विराटनगरको फैसला ।
पीडित रोशन बज्राचार्यले घटनास्थलमा यी प्रतिवादीको उपस्थिति उल्लेख गरी प्रहार गर्नेमा अन्य प्रतिवादीको नाम उल्लेख गरेका छन् । माथि विवेचित आधार प्रमाणसमेतबाट यी प्रतिवादीले कुटपिटकर्ताको समूहको नेतृत्व गरेको तर आफैँले प्रहार नगरेको अवस्थामा ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसार १(एक) वर्ष कैद सजाय हुने ठहर्याई सुनसरी जिल्ला अदालतबाट मिति २०६९/०३/२५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला ।
प्रस्तुत वारदात सामूहिक र सांघातिकरूपमा घातक हतियारसमेत प्रयोग गरी घटाइएको वारदात देखिन्छ । सफाइ पाउने प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा पक्राउ परी बयान गर्दा वारदातमा संलग्न रहेको तथ्यलाई स्वीकार गरेका छन् । रोशन बज्राचार्यको मौकामा भएको कागज, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयान, जाहेरवाली र मौकामा बुझिएका मानिसहरूको कागज र बकपत्रसमेतबाट प्रतिवादीहरूको कसुर पुष्टि भइरहेको अवस्थामा प्रतिवादी निश्चल बुढाथोकीलाई कसुर ठहर गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको त्रुटिपूर्ण छ । घटनाको उठान प्रतिवादीहरूको कार्यबाट भएको भन्ने मिसिल संलग्न प्रमाण एवं घाउजाँच रिपोर्टसमेतबाट वारदातमा प्रतिवादीहरू संलग्न रहेको तथ्य हुँदाहुँदै सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । अत: सुरू अभियोग मागदाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन ।
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमको दाबी लिएकोमा सो महलको १७(३) नं. बमोजिम सजाय हुने गरेको सुरू तथा पुनरावेदन फैसलामा सो १७(३) नं. को व्याख्यात्मक त्रुटि देखिई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को अवस्था विद्यामान देखिँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदएको छ भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७०/०५/०२ मा मुद्दा दोहोर्याई हेर्नका लागि निस्सा प्रदान गरेको आदेश ।
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत पुनरावेदनसहितको सुरू तथा प्रमाण मिसिलसमेत अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुषालले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमको दाबी लिएकोमा सो महलको १७(३) नं. बमोजिम सजाय हुने गरेको सुरू तथा पुनरावेदन फैसलामा सो १७(३) नं.को व्याख्यात्मक त्रुटि देखिएकोले सुरू अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिल अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको छ, छैन? तथा प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०६७/०७/१७ पीडित रोशन बज्राचार्यलाई प्रतिवादीहरूले धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्योग गरेकाले ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोगपत्र दायर भएकोमा प्रतिवादी विषन श्रेष्ठ, प्रतिवादी मणी लिम्बू, प्रतिवादी मनिष श्रेष्ठ, प्रतिवादी सुरेन राई, प्रतिवादी अशोक भन्ने शुक्रराज लिम्बूको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबी रहेकोमा प्रतिवादी निश्चल बुढाथोकीले अभियोग दाबीअनुसारको कसुर गरेको ठहर भई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५(पाँच) वर्ष कैद प्रतिवादी विजय लिम्बू, प्रतिवादी शैलेश कोइराला, निपेन श्रेष्ठ, राजेश दास, केबल राईले अभियोग दाबीबाट सफाइ पाउने र मणी लिम्बूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ज्यान मरिसकेको नदेखिँदा १(एक) वर्ष कैद हुने ठहरी सुनसरी जिल्ला अदालतबाट मिति २०६७/१२/१ मा र मिति २०६९/३/२५ मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी निश्चल बुढाथोकी र वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा सदर हुने ठहर्याई र मणी लिम्बूको हकमा पनि सदर हुने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका निश्चल बुढाथोकीलाई कसुरदार ठहर भइसकेको अवस्था हुँदा ज्यान मार्ने उद्योगको वारदात भएको तथ्यमा विवाद नरहेको अवस्था देखिएको, प्रतिवादीमध्येका प्रतिवादी मणी लिम्बूलाई वारदातमा संलग्न रहेको तथ्यलाई स्वीकार गरी सकेपछि ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिनुपर्नेमा अप्रासाङ्गिक ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजाय गरेको फैसला त्रुटिपूर्ण छ । प्रस्तुत मुद्दामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) लाई प्रयोग गरी भएको फैसलामा सोही महलको १५ नं. र १७(३) नं. को गम्भीर व्याख्यात्मक त्रुटि रहेको हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखिन आयो ।
४. प्रतिवादी मणी लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा सुरू सुनसरी जिल्ला अदालतबाट प्रतिवादी मणी लिम्बूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद सजाय हुने गरी भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको छ, छैन? सोतर्फ विचार गर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) मा, “अरू किसिमबाट मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई छ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
५. उपर्युक्त कानूनी व्यवस्थाअनुसार, ज्यान मार्नलाई अरू किसिमबाट मत सल्लाहमा पसेको हुनुपर्ने देखिन्छ । यसैगरी वारदात स्थलमा गई बसी भौतिकरूपमा उपस्थित हुनुपर्ने, केही नगरी हेरिरहेको अवस्था विद्यामान हुनुपर्ने देखिन्छ । यो कानूनी व्यवस्था र वारदातको अवस्थामा ज्यान मार्ने उद्योगको कसुरको लागि नभई ज्यानै मरेको अवस्थामा आकर्षित हुँदै आएको प्रस्ट छ । प्रस्तुत वारदातलाई हेर्दा, मिति २०६६/०७/१७ गते प्रतिवादीहरूले हातहातमा हतियार बोकी हुल हुज्जत गर्दै आउँदा छोरा रोशनलाई भेटी प्रहार गरेको हुँदा प्रतिवादीहरूलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने हर्षलक्ष्मीको जाहेरी दरखास्त परेको देखिन्छ । जिल्ला सुनसरी धरान न.पा.वडा नं.१५ स्थित पूर्वमा श्याम चोक, पश्चिममा वरगाछी चोक जाने बाटो, उत्तरमा गम्भीरमानको घर र दक्षिणमा कुमार लिम्बूको घर यति चारकिल्लाभित्र वारदात भएको र सो स्थानमा रगतजस्तो तरल पदार्थ पोखिएको देखिएको भन्ने घटनास्थल मुचुल्का देखिन्छ । यसैगरी रोशन बज्राचार्यको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको च.नं.१०४६ मिति २०६६/०३/२३ को पत्रसाथ प्राप्त घाउ जाँच केश फारम हेर्दा, “Scalp cut-5-6 cm upto the bone, Rt. Forearm cut 4-5 cm, Rt. hand deep cut Reposing bone, Rt. Forearms deep cut.” भन्ने उल्लेख भएको पाइन्छ ।
६. ज्यानसम्बन्धी उद्योगको कसुर हुन ज्यान मर्नेसम्मको कार्य भएको तर तेस्रो पक्षको उपस्थितिले गर्दा ज्यान भने मर्न नपाएको अवस्था विद्यमान भएको हुनुपर्ने भनी लामो समयदेखि नै कानूनी व्याख्या एवं प्रतिपादित न्यायिक सिद्धान्तका आधारमा स्वीकारिँदै आइएको छ । तर ज्यान मार्ने उद्योगको कसुरको निम्ति सबै वारदातमा यिनै तत्त्वहरू अनिवार्यरूपमा नै विद्यमान भएको हुनुपर्छ भन्ने पूर्वसर्त भने मानिन हुँदैन ।
७. ज्यान मार्ने उद्योगको वारदातमा तेस्रो पक्षको मौकैमा उपस्थिति भएको कारणले गम्भीर चोट लाग्न नपाएको अतिरिक्त सोबाहेकको अवस्थामा पनि ज्यान मार्ने उद्योगको लागि आवश्यक पर्ने अन्य आपराधिक तत्त्वको विद्यमानता भए नभएको सन्दर्भसँग पनि जोडेर सूक्ष्मरूपले केलाएर नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ । वारदातको समयमा तेस्रो पक्षको उपस्थितिको कारणले पीडितको ज्यान मर्न नपाएको भन्ने प्रत्यक्ष प्रमाणबाट टड्कारै रूपमा देखिन र पुष्टि हुन सकेको अवस्थामा ज्यान मार्ने उद्योगको कसुर पुष्टि हुने यो भन्दा उत्तम र विशिष्ट श्रेणीको आधार हुन सक्दैन । यो बाहेकको अवस्थामा पनि वारदातको प्रकृति एवं पृष्ठभूमि, व्यक्तिहरूको संलग्नता, पूर्व रिसइवी एवं इविलाग र मनसायको विद्यमानता, पूर्व तयारी एवं योजना र सोच, प्रयोग भएको साधन एवं हतियार, पीडितलाई चोट लागेको शरीरको भाग, चोटको प्रकृति र संख्या, पीडितको तत्काल मर्ने बाँच्ने दोसाँधको अवस्था, पीडितले तत्काल प्राप्त गरेको उद्धार र उपचारको व्यवस्था आदिले पनि तत्काल तेस्रो पक्षको उपस्थिति भए नभएको अवस्थालाई गौण र तेस्रो पक्षको उपस्थितिको तुलनामा पीडितलाई लागेको गम्भीर प्रकृतिको चोटलाई नै गम्भीर मानी प्राथमिकता दिई सोलाई नै उद्योगको कसुरलाई पुष्टि गर्ने पर्याप्त आधारको रूपमा लिन सकिने नै हुन्छ ।
८. यसैगरी ज्यान मार्ने उद्योगको वारदात व्यक्तिहरूको समूहबाट आक्रमण भएको अवस्थामा चोट छाड्नेलगायत सो कार्यमा प्रत्यक्षरूपमा सघाउ पुर्याउने हिसाबले सहयोग गर्ने वा चोट छाड्ने क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसरह एउटै श्रेणीमा राखेको हुँदा ज्यान मार्ने उद्योगको वारदातको जुनसुकै अवस्थाको जुनसुकै प्रकृतिको क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसँग छुट्याएर हेर्न मिल्ने अवस्था देखिँदैन । मुख्य अभियुक्तको कार्य ज्यान मार्ने उद्योगको कसुरको दायराभित्र परेपछि सो सरहका कार्यमा प्रत्यक्ष, क्रियात्मक एवं सहभागितात्मकरूपमा अन्य अभियुक्तहरू पनि संलग्न रहेको प्रमाणबाट पुष्टि हुन गएमा तिनीहरू पनि सोही प्रमाणको आधारमा सोही कसुरको दायराभित्र नै पर्न आउने हुन जान्छन् ।
९. यसै सन्दर्भमा वारदातको प्रकृति हेर्दा, मिति २०६६/०७/१६ गते धरान नगरपालिका वडा नं.१५ स्थित अडाहा भन्ने टोलमा शुक्रराज लिम्बूको अध्यक्षतामा हाउजी खेलको कार्यक्रम भएको र निज शुक्रराज लिम्बू र मणी लिम्बूको नेतृत्वमा हामीहरू सबै भेला जम्मा भई हातमा खुकुरी, रड र लाठी बोकी श्यामचोकतर्फ जाँदै गर्दा रोशन बज्राचार्य बसिरहेको देखी हाम्रो समूहबाट यही हो हिजो शुक्रराजलाई कुटपिट गर्ने भन्दै हो हल्ला गर्दै निजलाई लखेट्दै घेराउमा पारी मणी लिम्बूसमेतका साथीहरूले खुकुरी, लाठी र मुक्काले प्रहार गरी ढालेको र पछि अघि बढ्ने क्रममा दिपेश सेन्चुरीलाई फेला पारी निजलाई समेत हतियार प्रहार गरेको हो भनी सहप्रतिवादीहरू बिजय लिम्बू, शैलेश कोइराला, केबल राईसमेतले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिन्छ । यसैगरी शुक्रराज लिम्बूसँग झगडा परेको विषयमा छलफल छ भनी म पनि गएको थिएँ । म पछाडि थिएँ । अगाडि हुलमा मणी लिम्बू र शुक्रराज लिम्बू थिए । निजहरूले घाइते पीडितलाई कुटपिट गरेको हुनुपर्छ भनी सहप्रतिवादी विजय लिम्बूले सुरू अदालतमा बयान गरेका छन् । वारदातको पृष्ठभूमि र प्रकृतिअनुसार यी प्रतिवादी मणी लिम्बूसमेतको नेतृत्त्वको समूहले पीडितलाई लखेट्दै घेराउमा पारी प्रतिवादी मणी लिम्बूसमेत पीडितलाई कुटपिट गर्ने कार्यमा संलग्न रहेको भनी पुष्टि हुन आउँदा निज प्रतिवादी मणी लिम्बूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमको कसुर गरेको देखिन आयो ।
१०. घटनास्थल मुचुल्का, पीडितको घाउजाँच केश फारम र सहप्रतिवादी विजय लिम्बूसमेतले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानसमेतको आधार प्रमाणसमेतबाट प्रतिवादी मणी लिम्बूले समूहको नेतृत्त्व गरी ज्यान मार्ने उद्योगको वारदात घटाएको देखिँदा सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६९/०३/२५ मा ज्यान मार्ने उद्योगको कसुरको मतसल्लाहमा यी प्रतिवादी रहे भएको देखिन आएको र नेतृत्वकर्तासमेत रही पीडितलाई चोटसमेत छाडेको देखिँदा प्रतिवादी मणी लिम्बूको हकमा अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.को सट्टा ऐ.को १७ नं. विपरीतको कसुर देखिन आएकोले उपर्युक्त प्रमाणहरूको आधारमा प्रतिवादी मणी लिम्बूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ज्यान मरिसकेको नदेखिँदा १(एक) वर्ष कैद हुने ठहर्याई भएको फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको नदखिँदा केही उल्टी भई प्रतिवादी मणी लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५(पाँच) वर्ष कैद सजाय हुने ठहर्छ ।
११. त्यस्तै अन्य प्रतिवादीहरू विजय लिम्बू, शैलेश कोइराला, निपेन श्रेष्ठ, राजेश दास र केबल राईलाई अभियोग दाबीबाट सफाइ दिएको सुरूको इन्साफ मिलेन, अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, यी प्रतिवादीहरू सुरू अदालतमा उपस्थित भई बयान गर्दा कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । निजहरूको इन्कारीलाई निजका साक्षीहरूले समर्थन गरी बकपत्र गरेको पाइन्छ । पीडितले मौकामा कागज गर्दा प्रस्ट रूपमा यी प्रतिवादीहरूले समेत धारिलो हतियार प्रयोग गरेको भन्न सकेको देखिँदैन । पीडितका दिदीले निश्चल बुढाथोकीले धारिलो हतियार प्रयोग गरेको भनेकी देखिएको अवस्थामा सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६७/१२/०१ मा प्रतिवादीहरू शैलेश कोइराला, विजय लिम्बू, निपेन श्रेष्ठ, राजेश दास र केदल राईसमेतले कसुर गरेका रहेछन् भन्न मिल्ने नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको देखिँदा यी प्रतिवादीहरूको हकमा पुनरावेदन अदालत विराटनगरको फैसला सदर हुने ठहर्छ । यी प्रतिवादीहरू शैलेश कोइराला, विजय लिम्बू, निपेन श्रेष्ठ, राजेश दास र केबल राईसमेतलाई सुरू अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसमेतसँग सहमत हुन सकिएन ।
१२. अतः माथि उल्लिखित विवेचित आधार र कारणहरूबाट प्रतिवादीहरू शैलेश कोइराला, राजेश दास, विजय लिम्बू, केबल राई, र निपेन श्रेष्ठले ज्यान मार्ने उद्योगको कसुर गरेको नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६७/१२/०१ मा भएको फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । र प्रतिवादी मणी लिम्बूले ज्यानसम्बन्धी महलको १५ नं. नभई १७ नं. को कसुर गरेको देखिन आएकोले संलग्न प्रमाणको आधारमा प्रतिवादी मणी लिम्बूलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम १(एक) वर्ष कैद हुने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६९/०३/२५ मा भएको फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट मिति २०६९/११/०२ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी मणी लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५(पाँच) वर्ष कैद हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी मणी लिम्बूको हकमा पुनरावेदन अदालत विराटनगरको फैसला केही उल्टी भई प्रतिवादी मणी लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ५(पाँच) वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले ५(पाँच) वर्षको लगत कसी असुल उपर गर्नू भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाइदिनू --------१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू --------------------२
उक्त रायमा सहमत छु ।
न्या. टंकबहादुर मोक्तान
इजलास अधिकृत : लोकबहादुर हमाल
इति संवत् २०७४ साल कात्तिक २९ गते रोज ४ शुभम् ।