शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९६६ - बच्चा जिम्मा लगाई पाऊँ

भाग: ६० साल: २०७५ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

स.का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७४।१२।१४

०६८-CI-०१४७

 

मुद्दाः बच्चा जिम्मा लगाई पाऊँ

 

पुनरावेदक / प्रतिवादी : राम विलास महतोको श्रीमती जिल्ला सप्तरी, गा.वि.स. कोचाबखारी वडा नं. ४ बस्ने पुनिता देवी महतो

विरूद्ध

प्रत्यर्थी / वादी : सुकदेव महतोको छोरा ऐ.ऐ. बस्ने नारायण महतो

 

फिराद दायर हुनुअघि नै लोग्ने स्वास्नीको महलको ३ को देहाय २ नं.को  कानूनी व्यवस्था लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले खारेज गरिसकेको देखिन आएकाले फिराद माग दाबीबमोजिम वादीलाई न्याय प्रदान गर्न मिल्ने देखिन नआउने ।

(प्रकरण नं.४)

मुलुकी ऐन, लोग्नेस्वास्नीको महलको कानूनी व्यवस्थाको ३ नं. को देहाय १ मा आमाले आफैँ पाल्न चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने उल्लेख भएबाट ५ वर्ष नपुगेका वा ५ वर्षदेखि माथिका नाबालक पाल्ने पहिलो दायित्व आमामा नै रहेको र निजले पाल्न नचाहेमा मात्र बाबुले पाल्न पाउने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री डालकुमार खड्का

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ताराबहादुर न्यौपाने

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्या. श्री शम्भुराम कार्की

सप्तरी जिल्ला अदालत ।

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्यायाधीश श्री जगदीश शर्मा पौडेल

मा.न्यायाधीश श्री दीपककुमार कार्की

पुनरावेदन अदालत राजविराज ।

 

फैसला

का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम अनुमति प्रदान भई पुनरावेदन दायरीमा दर्ता हुन आई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः

विपक्षीमध्येका पुनिता देवी मेरो पत्नी नाताको भई हाम्रो दाम्पत्य जीवनबाट २०५९ साल वैशाख महिनामा एक छोरा विकासकुमार महतोको जायजन्म भएको छ । मिति २०५९।८।२९ गतेमा विपक्षी पुनिता देवी मेरो धनमालसमेत लिई विपक्षी रामविलाससँग पोइल गएकोमा निजहरूउपर सा.दे.नं. २००६ को धनमाल तथा म र विपक्षी पुनिता देवीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भनी सम्बन्ध विच्छेद मुद्दा चलाएकोमा म वादी र विपक्षी पुनिता देवीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहरी र धनमाल मुद्दामा वादी दाबी नपुग्ने ठहरी मिति २०६२।११।११ मा सप्तरी जिल्ला अदालतबाट फैसला भएको छ । सो फैसला पुनरावेदन नपर्दा मिति २०६४।२।१ गते विपक्षीहरू समिपमा गई मेरो नाबालक छोरालाई म आफैँ पाल्छु मेरो जिम्मा दिनुस्‌ भन्दा विपक्षीहरूले तिम्रो छोरा दिँदैनौं भनी जवाफ दिएका हुँदा तथा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको दफा ३ को देहाय २ मा ५ वर्षेदेखि माथिका नाबालकलाई आमाले अर्को विवाह गरेको अवस्थामा बाबुले पाल्नु पर्छ भन्ने कानूनी व्यवस्था भएको र मेरो छोरा मिति २०६४।२।१ गते ५ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेकोले मेरो नाबालक छोरा विकासकुमार महतोलाई मेरो जिम्मा लगाई पाउँ भन्ने बेहोराको वादी नारायण महतोको फिराद पत्र ।

वादीको छोरा विकासकुमार महतोलाई हामी प्रतिवादीहरूले राखेको होइन छैन । हामी प्रतिवादीहरूको जिम्मामा वादीको छोरा विकासकुमार छैन । वादीले हामीहरू उपर दायर गरेको सा.दे.नं. २००६ को धनमाल मुद्दामा छोरा विकासकुमारको नाम कहिँकतै उल्लेख भएको छैन । यी वादीले सम्बन्ध विच्छेद मुद्दामा प्रतिउत्तर फिराउँदा विकासकुमार मेरो छोरा होइन भनी जिकिर लिएकी छन् । हाम्रो जिम्मा वादीको छोरा विकासकुमार नभएको हुँदा झुठ्ठा दाबी दाबीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर ।

यी वादी र बच्चा विकासको आमाबीच सम्बन्ध विच्छेद भइसकेको देखिएको र यी वादीका छोरा विकासकुमार प्रतिवादीहरूकै सँगसाथमा रहेको देखिँदा प्रस्तुत मुद्दामा वादी दाबीबमोजिम वादीको छोरा विकास वादीको जिम्मा लगाई पाउने ठहर्छ भनी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६४।१०।२७ को फैसला ।

सा.दे.नं. २००६ को मुद्दामा प्रत्यर्थी वादीले छोरा विकासकुमारको उल्लेख कतैकतै नगरेको, त्यस्तै स.फौ.नं. १२६ को सम्बन्ध विच्छेद मुद्दामा म पुनरावेदक रामविलास महतोको वीर्यबाट विकासकुमार जन्मेको हो भन्ने प्रतिउत्तर जिकिरमा उल्लेख गरेबाट पनि प्रत्यर्थी वादीले मुद्दा गर्नुपर्ने अवस्था नै रहँदैन । साथै प्रत्यर्थी वादीले उल्लेख गरेको विकासकुमार हाम्रो साथमा पनि छैन । तसर्थ सुरू अदालतको फैसला बदर गरिपाउँ भनी पुनरावेदक प्रतिवादीहरू रामविलास महतो र पुनिता देवी महतोको पुनरावेदनपत्र ।

नाबालक विकासकुमारको उमेर ६ वर्ष लागेको समेत पुष्टि भएको अवस्थामा यी विपक्षी वादीको छोरा विकासकुमार यिनै विपक्षी वादी नारायण महतोको जिम्मामा नै लगाउनु पर्ने अवस्था देखिन आएकोले सुरू जिल्ला अदालतको मिति २०६४।५।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६६।४।१८ को फैसला ।

सुरू जिल्ला अदालतको म निवेदिका प्रतिवादी पुनिता देवी महतोले रामविलास महतो जो मेरो अहिलेको पनि हुन, निजको वीर्यबाट जायजन्म भएको नाबालक जो अहिले कक्षा ४ मा पढ्दै गरेको विद्यार्थी बच्चा निजको कुनै आशयसमेत नबुझी निजको मन्जुरीसमेत नलिई खारेज भइसकेको लोग्ने स्वास्नीको महलको दफा ३(२) नं. को कानूनी व्यवस्थाको आधारमा परेको गैरकानूनी फिराद पत्रको आधारमा लोग्ने स्वास्नीको महलको दफा ३(१) नं. को विपरीत हुने गरी बच्चा जिम्मा लगाउने गरी गरेको फैसला सदर गर्ने गरी गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६८।३।२३ को फैसला त्रुटिपूर्ण भएकोले मुद्दा दोहोर्‍याउने अनुमति प्रदान गरी सुरूको फैसला बदर गरी वादी दाबी खारेज गरी नाबालक बच्चा म आमालाई जिम्मा लगाई पाउँ भन्ने बेहोराको प्रतिवादी पुनितादेवी महतोको निवेदन ।

सुरू सप्तरी जिल्ला अदालतले कानूनविपरीत हुने गरी गरेको फैसलालाई चुनौती दिई यस सम्मानित अदालतमा निवेदनसमेत गरेको हुँदा मेरो छोरा मसँगै राख्‍न पाउने कानूनी अधिकारको संरक्षण गरी हाल गैरकानूनी फैसलाको आधारमा कार्यान्वयनको सिलसिला चलेको हुँदा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ नभएसम्म फैसला कार्यान्वयन नगर्नु नगराउनु भन्ने विशेष आदेश जारी गरिपाउँ भन्ने बेहोराको प्रतिवादी पुनितादेवी महतोको निवेदन ।

प्रस्तुत निवेदन दोहोर्‍याई पाउँ भन्ने निवेदनका सन्दर्भमा पर्न आएको हुँदा यसरी दुई तहबाट सदर भइसकेको फैसलाउपर पर्न आएको प्रस्तुत निवेदन मागबमोजिम अन्तरकालीन आदेश जारी गर्दा फैसला कार्यान्वयनको प्रक्रिया रोकिन जाने भएकोले निवेदन मागबमोजिमको आदेश जारी गर्न मिलेन भन्ने बेहोराको यस अदालतका रजिस्ट्रारबाट भएको मिति २०६८।३।२७ को आदेश ।

वादीले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको दफा ३ को आधारमा आमाले अर्को विवाह गरेको अवस्थामा ५ वर्षभन्दा माथिको नाबालक बाबुले राख्‍न पाउने भनी नालेस मिति २०६४।३।१० मा दायर गरेको र सोहीअनुसार सुरू जिल्ला तथा पुनरावेदन अदालत राजविराजबाट फैसला भएको देखियो । तर प्रस्तुत मुद्दा पर्नुपूर्व नै मिति २०६३।७।१७ मा उक्त लोग्ने स्वास्नीको ३ नं. मा “पाँच वर्षको उमेर नपुगेसम्म” भन्ने शब्दको सट्टा “नाबालकलाई” भन्ने शब्द राखिएकोबाट नाबालकलाई आमाले पाल्न चाहेमा आमाले नै पाल्न पाउने अवस्था देखिन आयो । अतः प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने बेहोराको मिति २०६८।४।३० मा आदेश । 

नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री डालकुमार खड्काले लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधन भएको लोग्ने स्वास्नीको महलको देहाय १ नं. मा आमाले पाल्न नचाहेमा मात्र बाबुले पाल्न पाउने कानूनी व्यवस्थाविपरीत पुनरावेदन अदालत राजविराजको फैसला देखिन आएकोले उक्त त्रुटिपूर्ण फैसला बदर गरी नाबालक विकासकुमारको पालनपोषणको अधिकार आमामा हस्तान्तरण गरिपाउँ भनी र प्रत्यर्थी वादी नारायण महतोका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री ताराबहादुर न्यौपानेले वादी नारायण महतोसँग प्रतिवादी पुनिता देवी महतोको वैवाहिक सम्बन्ध कायम भई २०५९ साल वैशाख महिनामा विकासकुमारको जन्म भएको हो । प्रतिवादी पुनितादेवीले २०५९ साल मङ्सिरमा दोस्रो विवाह अर्का प्रतिवादी रामविलास महतोसँग गरेकी हुन् । यी प्रतिवादी स्वयंले दिएको सम्बन्ध विच्छेद मुद्दामा वादी नारायण महतोसँग सम्बन्ध रहेकै अवस्थामा छोरो विकासकुमारको जायजन्म भएको भनी स्वीकारसमेत गरिरहेको र नाबालक विकासकुमारको उमेर हाल १४ वर्षको समेत भइसकेको हुँदा वादीका छोरा विकासकुमारलाई वादी नारायण महतोको जिम्मा लगाउने गरी सुरू र पुनरावेदन दुई तहबाट भएको फैसला मिलेकै देखिँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तबमोजिम पक्ष विपक्षतर्फबाट उपस्थित विद्वान्‌हरूको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा लोग्ने स्वास्नीको महलको ३ को देहाय २ नं. मा ५ वर्ष देखि माथिका नाबालकलाई आमाले अर्को विवाह गरेको अवस्थामा बाबुले पाल्नु पर्छ भन्ने कानूनी व्यवस्था भएको र नाबालक विकासकुमार छैठौं वर्षमा प्रवेश गरेकोले आफ्नो जिम्मा लगाई पाउँ भन्ने फिराद दाबी भई हामी प्रतिवादीहरूले वादीको छोरा विकासकुमारलाई साथमा नराखेको हुँदा झुठ्ठा फिराद दाबीबाट अलग फुर्सद गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेकोमा वादी दाबीबमोजिम नाबालक विकासकुमार वादीको जिम्मा लगाई पाउने ठहर्छ भन्ने सुरू सप्तरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६६।४।१८ को फैसला मिलेको छ छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादी पुनिता देवी र प्रत्यर्थी वादी नारायण महतोबीच २०५७ सालमा विवाह भई २०५९ साल वैशाख महिनामा विकासकुमारको जायजन्म भएको विवाद देखिँदैन । नाबालक विकासकुमारको जन्मपश्चात् यी पुनरावेदक प्रतिवादी पुनिता देवीले प्रतिवादी रामविलास महतोसँग दोस्रो विवाह गरेको देखिन्छ । प्रत्यर्थी वादी नारायण महतोले यी पुनरावेदक प्रतिवादी पुनितादेवी अर्का प्रतिवादी रामविलास महतोसँग दोस्रो विवाह गरेकाले सम्बन्ध विच्छेद गरिपाउँ भन्ने र धनमाल फिर्तातर्फ फिराद दायर गरी प्रत्यर्थी वादी नारायण महतो र पुनरावेदक प्रतिवादी पुनितादेवीबीच सम्बन्ध विच्छेद भइसकेकोमा विवाद देखिँदैन । प्रत्यर्थी वादी नारायण महतोले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं. को देहाय २ मा ५ वर्षदेखि माथिका नाबालकलाई आमाले अर्को विवाह गरेको अवस्थामा बाबुले पाल्नु पर्छ भन्ने कानूनी आधारमा फिराद माग दाबी लिई प्रस्तुत फिराद मिति २०६४।३।१० गते सप्तरी जिल्ला अदालतमा दायर गरेको देखिन्छ । 

३. सुरू सप्तरी जिल्ला अदालतले मिति २०६४।१०।२७ मा वादी नारायण महतो र प्रतिवादी पुनितादेवीबीच सम्बन्ध विच्छेद भइसकेको र यी वादीका छोरा विकासकुमार प्रतिवादीहरूकै सँगसाथमा रहेको देखिँदा वादी दाबीबमोजिम वादीको छोरा विकास वादीको जिम्मा लगाई पाउने ठहर्छ भन्दै ऐन संशोधन भइसकेको कुरालाई बेवास्ता गर्दै मुद्दा फैसला गरेको देखिन्छ भने पुनरावेदन अदालत, राजविराजले पनि मिति २०६६।४।१८ मा सुरू फैसला सदर गर्दा संशोधित ऐन सम्बन्धमा विचार गर्नसकेको देखिन आएन । यस अदालतबाट मिति २०६८।४।३० मा “प्रस्तुत मुद्दा पर्नुपूर्व नै मिति २०६३।७।१७ मा उक्त लोग्ने स्वास्नीको ३ नं. मा “पाँच वर्षको उमेर नपुगेसम्म” भन्ने शब्दको सट्टा “नाबालकलाई” भन्ने शब्द राखिएकोबाट नाबालकलाई आमाले पाल्न चाहेमा आमाले नै पाल्न पाउने अवस्था देखिन आयो” भनी मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको देखिन्छ ।

४. यसरी प्रत्यर्थी वादीको फिराद माग दाबीको कानूनी आधार लोग्ने स्वास्नीको महलको ३ को देहाय २ नं. को ५ वर्षदेखि माथिका नाबालकलाई आमाले अर्को विवाह गरेको अवस्थामा बाबुले पाल्नु पर्छ भन्ने व्यवस्था नै लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज भइसकेपश्चात् प्रस्तुत फिराद पत्र दायर भएको देखिन्छ । प्रस्तुत फिराद दायर हुनुअघि नै लोग्ने स्वास्नीको महलको उक्त कानूनी व्यवस्था लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले खारेज गरिसकेको देखिन आएकाले प्रस्तुत फिराद माग दाबीबमोजिम यी वादीलाई न्याय प्रदान गर्न मिल्ने देखिन आएन । अतः सुरू र पुनरावेदन अदालतबाट भएको फैसलालाई कानूनसम्मत मान्‍न मिलेन । 

५. यी पुनरावेदक प्रतिवादी पुनिता देवी मुलुकी ऐन लोग्ने स्वास्नीको महलको संशोधित कानूनी व्यवस्थाबमोजिम बच्चा आफूले पालनपोषण गर्न पाउनुपर्छ भनी पुनरावेदन जिकिर लिएको सम्बन्धमा हेर्दा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं. को कानूनी व्यवस्था हेर्नुपर्ने हुन्छ ।

लोग्ने स्वास्नीको महलको ३ नं. को कानूनी व्यवस्था हेर्दाः- 

३ नं. ऐनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको मितिले दुईसय बहत्तर दिनभित्र जन्मेको सन्तान अन्यथा प्रमाणित नभएमा सो सम्बन्ध विच्छेद भएको लोग्नेकै सन्तान ठहर्छ । त्यस्ता सन्तान र पाँच वर्ष नपुगेका वा पाँच वर्षदेखि माथिका नाबालक पाल्ने विषयमा देहायबमोजिम हुन्छ:

नाबालकलाई आमाले आफैँ पाल्न चाहेमा निजैले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ.........................................१

......................................................२

यस नम्बरको १ दफामा जुनसुकै कुरा लेखिएको भए तापनि आमा बाबु दुवैको मन्जुरी भएमा त्यस्तो नाबालकलाई आमा बाबुमध्ये कुनैले वा आलोपालो गरी पाल्न पाउँछ .............................................३

आमा बाबुमध्ये जोसुकैले पाले पनि नाबालकको अहित हुने अवस्था वा त्यस्तो अहित हुने मनासिब आशङ्का नभएमा पाल्ने आमाबाबुले नपाल्ने आमा वा बाबुलाई बीचबीचमा नाबालकसँग भेटघाट गर्ने मौका दिनुपर्छ । त्यस्तो मौका अर्को विवाह गर्ने आमाले पनि पाउँछ .............४

आमाले पाल्दा बाबुले आफ्नो इज्जत आमदअनुसार नाबालकलाई खान, लाउन, शिक्षा र औषधी उपचारसमेतको मनासिब खर्च दिनुपर्छ । आमाले नपाली बाबुले त्यस्तो नाबालक पालेको रहेछ र बाबुभन्दा आमाको आयस्ता बढी रहेछ भने अड्डाले अवस्था विचार गरी आदेशद्वारा तोकिदिएबमोजिम त्यस्तो स्वास्नी मानिसले पनि नाबालकको खान, लाउन, शिक्षा र औषधी उपचारको खर्च व्यहोर्नु पर्छ ................................................५ 

 

६. उल्लिखित कानूनी व्यवस्थाको ३ नं. को देहाय १ मा आमाले आफैँ पालन चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने उल्लेख भएबाट ५ वर्ष नपुगेका वा ५ वर्षदेखि माथिका नाबालक पाल्ने पहिलो दायित्व आमामा नै रहेको र निजले पाल्न नचाहेमा मात्र बाबुले पाल्न पाउने देखिन्छ । प्रस्तुत मुद्दामा नाबालक विकासकुमारको पालन पोषण आफूले गर्न पाउनु पर्छ भन्ने पुनरावेदक प्रतिवादी पुनिता देवीको पुनरावेदन जिकिरसमेत रहेको देखिँदा यी नाबालक विकासकुमारको पालनपोषण गर्न पाउने पहिलो अधिकार आमा पुनरावेदक प्रतिवादी पुनिता देवी महतोको नै रहेको देखिन आयो । उल्लिखित कानूनी व्यवस्थाबमोजिम नाबालक विकासकुमारको पालनपोषण गर्न पाउने पहिलो अधिकार आमा पुनरावेदक प्रतिवादी पुनिता देवी महतोको नै रहेको देखिन आए तापनि हालसम्म यी नाबालकका बाबु वादी नारायण महतोले निजको हित हुने गरी आफ्नो इज्जत आमदअनुसार खान, लाउन, शिक्षा र औषधी उपचारसमेत उपलब्ध गराई पाली आएको देखिन आएकाले उल्लिखित कानूनी व्यवस्थाको ३ नं. को देहाय ४  मा उल्लेख भएबमोजिम मनासिब आशंका नभएमा पाल्ने आमा बाबुले नपाल्ने आमा वा बाबुलाई बीचबीचमा नाबालकसँग भेटघाट गर्ने मौका यी वादी नारायण महतोले पाउनु पर्ने कुरामा अन्यथा देखिँदैन । 

७. उल्लिखित आधार कारणबाट पुनरावेदक प्रतिवादी पुनिता देवी र प्रत्यर्थी वादी नारायण महतोबीच सम्बन्ध विच्छेद भइसकेको र नाबालक ५ वर्ष लागेकोसमेत पुष्टि भएको भन्दै नाबालक विकासकुमारलाई प्रत्यर्थी वादी नारायण महतोको जिम्मा लगाउने गरी गरेको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६६।४।१८ को फैसला उल्टी भई नाबालक विकासकुमारलाई निजकी आमा पुनरावेदक प्रतिवादी पुनितादेवी महतोको जिम्मा लगाउनु पर्ने ठहर्छ । मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३ नं. को देहाय ४ बमोजिम हालसम्म आफ्नो इज्जत आमदअनुसार खान, लाउन, शिक्षा र औषधी उपचारसमेत उपलब्ध गराई पालन पोषण गर्ने बाबु वादी नारायण महतोले नाबालक विकासकुमारलाई बीचबीचमा भेटघाट गर्न पाउनु पर्नेसमेत ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नु ।

तपसिल

पुनरावेदन अदालत राजविराजको मिति २०६६।४।१८ को फैसला उल्टी भई नाबालक विकासकुमारलाई निजकी आमा पुनरावेदक प्रतिवादी पुनिता देवी महतोको जिम्मा लगाउने ठहरी फैसला भएकोले ऐनका म्यादभित्र प्रतिवादीको दरखास्त परे नाबालकलाई प्रत्यर्थी वादीबाट फिर्ता गराई पुनरावेदक प्रतिवादी पुनिता देवी महतोलाई जिम्मा लगाई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ....................१

लोग्ने स्वास्नीको महलको ३ नं. को देहाय ४ बमोजिम नाबालकमा बाबु वादी नारायण महतोले नाबालक विकासकुमारलाई बीचबीचमा भेटघाट गर्न पाउनु पर्नेसमेत ठहर्छ भनी फैसला भएकाले वादी नारायण महतोले नाबालक विकासकुमारसँग भेटघाट गर्न पाउँ भनी निवेदन दिए भेटघाटको व्यवस्था मिलाई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ..............२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ...........................३

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई 

 

इजलास अधिकृत: ईश्‍वरमणि ओझा

इति संवत् २०७४ साल चैत्र १४ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु