शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९६९ - जबरजस्ती करणी

भाग: ६० साल: २०७५ महिना: असार अंक:

 

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडितको परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री मीरा खड्का

फैसला मिति : २०७४।१।२८

०७१-CR-११८५

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : अछाम जिल्ला जनालीकोट गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा अछाममा कैदमा रहेको डिल्ली स्वाँरसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : शान्ति धामी (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार

 

जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्‍याउनपर्ने हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिला गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्‍ठपोषण गरेसरह हुन जाने । 

(प्रकरण नं.५)

गाउँ समाजको परिवेश, गरिबीसमेतका कारणले सामाजिक प्रभाव, दबाब वा आर्थिक लोभमा परी वारदात नै नभएको भनी निवेदन पर्नुलाई अस्वाभाविक मान्‍न मिल्दैन । वास्तवमा, कुनै पनि वारदात सम्बन्धमा भएको अनुसन्धानको नतिजा नै कसुर भए नभएको तथ्य निर्धारण गर्ने महत्त्वपूर्ण कसीको रूपमा रहेको हुन्छ । पछिबाट कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरेकै आधारमा मात्र सफाइ दिने हो भने न्याय व्यवस्थाको उपहास हुन जाने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सञ्‍जिव कुमार लामा

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः

मा.जिल्ला न्या. श्री विष्‍णुप्रसाद अर्याल

अछाम जिल्ला अदालत ।

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या. श्री भानुभक्त शर्मा न्यौपाने

मा.न्या. श्री हिमालयराज पाठक

पुनरावेदन अदालत डोटी ।

 

फैसला

न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः-

मिति २०६८।११।२४ गतेका साँझतिर नाम परिवर्तित राधा धामी गाउँको पटकानी भन्‍ने ठाउँमा होली जात्रा हेर्न गर्इ घर फर्की आउने क्रममा बाटोमा पर्ने वडघारी खेतमा पुगेपछि अभियुक्तहरू रोचक कुँवर, डिल्ली स्वाँर, ध्रुव कुँवर, राकेश कुँवरसमेत जना ४ मिली निज पीडितलार्इ जबरजस्ती रूपमा समार्इ निजको मुखसमेत बन्द गरी सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलार्इ कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको जाहेरी दरखास्त ।

मिति २०६८।११।२४ गते साँझ म गाउँको पटकानीमा होलीको जात्रा हेर्न गएकी थिएँ । होली जात्रा हेरी राति घर आउने क्रममा बाटोमा ध्रुव कुँवर, डिल्ली स्वाँर, राकेश कुँवर, रोचक कुँवरसमेत जना ४ ले तँलार्इ घरसम्म पुर्‍याइदिन्छु भनी मलार्इ समार्इ जौ बारीमा पल्टार्इ मेरो मुखसमेत थुनी जबरजस्तीरूपमा पालैपालो गरी सामूहिकरूपमा जबरजस्ती करणी गरेका र घटनाबारे कसैलार्इ भनिस् भने तेरो ज्यानसमेत जान सक्छ भनी ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा आफ्नोसमेत बेइज्जत हुन्छ भन्‍ने डरले सुरूमा मैले घटनाबारे कोही कसैलार्इ भनेकी थिइनँ । केही दिनपछि मेरी भाउजूले सोध्दा मैले घटना भएको कुरा बताएपछि निज भाउजूले जाहेरी गरेकी हुन् भन्‍ने पीडित राधा धामीले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको कागज ।

अछाम जनालीकोट गा.वि.स वडा नं. ४ बडधारास्थित पूर्वमा हर्केस भुलको जौ बाली पश्‍चिममा ऐ. कै जौ वाली उत्तर पटकानी बजारबाट पीडितको घर जाने कच्ची बाटो, दक्षिण उपेन्द्र स्वाँरको २ मिटर टाढा गोठ छाना रहेको यति ४ किल्लाभित्र हर्केस भुलको जौ बारीमा डिल्ली स्वाँरसमेतले बलात्कार गरेको भनी बताएको उक्त घटनास्थलमा रहेको जौ भाँचिएका जुत्ता तथा चप्पलका छापहरू रहेका र उक्त जौ बारीमा पहेँलो रातो रंगको पोतेका जस्ता दानाहरू (टुक्रा) रहेका सोही ठाउँमा सेतो धागोमा पहेँलो रातो रंगको पोते छुटेको अवस्थामा फेला परेको भन्‍ने घटनास्थल प्रकृति मुचुल्का ।

नाम परिवर्तित राधा धामी मिति २०६८।११।२४ गते राति होली हेर्न गाउँको पटकानी गएकी र २५ गतेका बिहान पेट दुख्यो भनी भन्दै 

थिइन् । मैले छोरा दिपेन्द्रलार्इ सोधपुछ गर्दा छोरा दिपेन्द्रले वडघारीस्थित जौ बारीमा कुँवरका केटाहरूले फुपूलार्इ छोपेको थियो भनी बताएपछि सोधपुछ गर्दा राकेश कुँवर, डिल्ली स्वाँर, रोचक कुँवर, ध्रुव कुँवरसमेत मिली मलार्इ जबरजस्ती करणी गरेका हुन् भनी पीडितले मलार्इ बताएकी हुन् । डर, धाक धम्कीका कारण भन्‍न नसकेकी रहिछ भन्‍ने अनुसन्धान अधिकारीसमक्ष पुरनबहादुर स्वाँरले गरिदिएको कागज ।

मिति २०६८।११।२४ गते म पनि पटकानीमा होली हेर्न गएको थिएँ । घर आउने क्रममा राकेश कुँवरसमेतले फुपूलार्इ समाती बाटोबाट तलतिर लिइरहेका थिए । डरले म घर आएर सुतिहालेँ फुपू कति बेला घर आइन् थाहा भएन । पछि फुपूलार्इ आमाले सोधपुछ गर्दा होली हेरी घरमा आउने क्रममा वडघारी जौ बारीमा ध्रुव कुँवर, रोचक कुँवर, डिल्ली स्वाँर, राकेश कुँवरसमेतले जबरजस्ती करणी गरेका हुन् कसैलार्इ भनीस् भने मारी दिन्छु भनेकोले मैले कसैलार्इ भन्‍न सकिन भनी फुपूले आमासँग भनेकी हुन् भन्‍ने अनुसन्धान अधिकारीसमक्ष बुझिएका ................ले गरेको कागज ।

यसमा मिति २०६८।११।२४ गतेका राति मलार्इ सामूहिकरूपमा जबरजस्ती करणी गर्ने मेरो अगाडि खडा गरी राखेको १० जनामध्ये एकै पंक्तिमा उभिएका दायाँतर्फबाट २ जना रोचक कुँवर र राकेश कुँवर हुन् र बायाँतर्फबाट ८ जना को बायाँतर्फ रहेका ९ औं जना डिल्ली स्वाँर र १० औं जना धुव्र कुँवर हो भनी राधा धामीले गरेको मिति २०६८।१२।१२ को सनाखत मुचुल्का ।

मिति २०६८।११।२४ गतेका राति नाम परिवर्तित राधा धामी पटकानीबाट होली हेरी घर आउने क्रममा वडघारी स्थित जौ बारीमा राकेश कुँवर, रोचक कुँवर, डिल्ली स्वाँर, ध्रुव कुँवरसमेत चार जनाले सामूहिक जबरजस्ती करणी गरेका हुनाले निज प्रतिवादीहरूलार्इ हदैसम्मको सजाय हुनुपर्छ भन्‍ने अनुसन्धान अधिकारीसमक्ष बुझिएकी माया स्वाँरले गरेको कागज ।

मिति २०६८।११।२४ गते रातमा होली हेर्न पटकानी भन्‍ने ठाउँमा गएको र त्यहाँ ध्रुव कुँवर, रोचक कुँवरसँग भेट भयो र केही छिनपछि राकेश कुँवरसँग भेट भएपछि हामी सबैजना पीडितको घर जाने बाटोतिर कुरी बसेको समयमा पीडित एक्लै घर आउन लागेको समयमा समात्‍न खोज्दा निज पीडितले हो-हल्ला गरी भाग्ने क्रममा निजको कुर्तासमेत च्यातिएको हो । निज पीडितलार्इ हामीहरूले पूर्वयोजना बनाई चारै जनाले पालैपालोसँग जबरजस्ती करणी गरेका हौं भन्‍नेसमेत बेहोराको अनुसन्धान अधिकारीसमक्ष अभियुक्त डिल्ली स्वाँरले गरेको बयान कागज ।

मिति २०६८।११।२४ गते साँझ होली हेर्न गएको समयमा राकेश कुँवर, ध्रुव कुँवर, डिल्ली स्वाँरसँग भेट भएको थियो । होली हेर्ने ठाउँमा चारै जनाले रक्सी खायौं । राधा धामीसँग कति बेला घर जाने हो भनी सोध्दा पीडितले म एक्लै घर जाने हो भनेपछि राकेश कुँवर, डिल्ली स्वाँरसमेतसँग भन्दा हामी चारै जना जाउँ भनी निज पीडितको घर जाने बाटोमा पर्खी बसेका थियौं । पीडित एक्लै आएपछि वडघारीस्थित जौ बारीमा ध्रुव कुँवर, डिल्ली स्वाँरले निज पीडितलार्इ समाती पल्टार्इ ध्रुव कुँवरले पहिला करणी गरेको र त्यसपछि डिल्ली स्वाँर र राकेश कुँवर र मैले अन्तिममा करणी गरेको हुँ । करणी गरिसकेपछि गाउँघरमा कसैसँग नभन्‍नु भनी डिल्ली स्वाँरले रू.१००।- दिएको थियो भन्‍नेसमेत बेहोराको अभियुक्त रोचक कुँवरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६८।११।२४ गते राति पटकानीमा होली हेर्न गएको समयमा रोचक कुँवर, डिल्ली स्वाँरसमेतसँग भेट भएकोले रोचकले केटी पट्याएको छु भनेकोले हामी चारै जनाले आज यसलार्इ करणी गर्नुपर्छ भनी चारै जनाले अलिअलि रक्सी खार्इ पीडितको घर जाने बाटोमा पर्खी बसी पीडित आएपछि निजलार्इ जबरजस्ती रूपमा समाती हामी चारै जनाले सामूहिक जबरजस्ती करणी गरेका हौं भन्‍ने अभियुक्त राकेश कुँवर र ध्रुव कुँवरसमेतले एकै मिलान हुने गरी अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।  

मिति २०६९।११।२४ गते साँझ पीडित होली हेर्न गएकी र घर फर्की आउने क्रममा वडघारीस्थित जौ बारीमा ध्रुव कुँवर, राकेश कुँवर, रोचक कुँवर, डिल्ली स्वाँरसमेत चारै जनाले पीडितलार्इ सामूहिकरूपमा जबरजस्ती करणी गरेको हुँदा निजहरूलार्इ कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भन्‍ने शिव बोगटीसमेत जना ५ ले गरिदिएको वस्तुस्थिति  मुचुल्का ।

मिति २०६८।११।२४ गते राति गाउँमा होलीको मेला हेर्न गर्इ घर फर्किने क्रममा बीच बाटोमा एक्लै रहेकी पीडित नाम परिवर्तित वर्ष १५ की नाबालिका राधा धामीलार्इ प्रतिवादीहरू रोचक कुँवर, डिल्ली स्वाँर, राकेश कुँवर, ध्रुव कुँवरसमेत जना ४ ले सामूहिकरूपमा जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणीको १ नं. ले परिभाषित ३(३) नं. ले कसुरजन्य कार्य भए गरेको देखिँदा त्यस्तो कसुरजन्य कार्य गर्ने निज प्रतिवादीहरूलार्इ सोही महलको ३(३) नं. अनुसार सजाय गरी ४ जना भई सामूहिक बलात्कार गरेकोमा सोही महलको ३(क) नं. बमोजिम थप सजाय गरी ऐ.को १० र १०(ग) नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलार्इ क्षतिपूर्तिसमेत दिलार्इ भरार्इ पाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी । 

पीडित राधा धामीकी भाउजू घरमा रक्सी बनाउँथिन् हामीले रक्सी नबनाउनुहोस् भनेका थियौँ । सोही रिसइवीका कारण हामीहरूका नाउँमा जाहेरी दरखास्त दिएकी हुन् । पीडितलार्इ जबरजस्ती करणी गरेको होइन । प्रहरीहरूले कुटपिट गरेको हुँदा डरले जबरजस्ती करणी गरेको हो भनी बयान दिएका हौं भन्‍नेसमेत बेहोराको प्रतिवादी रोचक कुँवरको सुरू अदालतमा भएको बयान ।

मिति २०६८।११।२४ गते साँझ म पनि होली हेर्न गएको थिएँ । पीडित राधा धामीलार्इ पनि जात्रामा देखेको थिएँ । मसमेत भर्इ जबरजस्ती करणी गरेको होइन । मसमेत ४ (चार) जनाले जबरजस्ती करणी गरेको भए तुरून्तै जाहेरी गर्नुपर्ने थियो । १७ दिनपछि जाहेरी भएकोले मलार्इ फसाउन मात्र जाहेरी दिएकी हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादी ध्रुव कुँवरको सुरू अदालतमा भएको बयान ।

मिति २०६८।११।२४ गते म पटकानीमा होली हेर्न गएको थिएँ । राति आफ्नो घरमा आर्इ सुतिहालेँ । मैले उक्त राति पीडित राधा धामीलार्इ जबरजस्ती करणी गरेको भनी मेरा नाउँमा दिएको जाहेरी दरखास्त झुट्ठा हो । झुट्ठा जाहेरी किन दिएकी हुन् मलार्इ थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी डिल्ली स्वाँरको सुरू अदालतमा भएको बयान ।

मिति २०६८।११।२४ गते साँझ गाउँको पटकानीमा होली हेर्न गएको थिएँ । पीडित राधा धामी कहाँ थिइन्, मलार्इ थाहा छैन । सो राति मैले पीडितलार्इ जबरजस्ती करणी गरेको भनी मेरा नाउँमा दिएको जाहेरी दरखास्त झुट्ठा हो । म निर्दोष मानिस हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी राकेश कुँवरको सुरू अदालतमा भएको बयान ।

पीडित राधा धामीलार्इ प्रतिवादी राकेश कुँवर, रोचक कुँवरले जबरजस्ती करणी गरेको होइन । पीडितको घरमा अवैध रक्सी बनाउने गर्ने गरेको थियो । प्रतिवादीहरूले रक्सी बन्द गराउन खोज्दा विवाद भएको थियो । सोही कारणबाट प्रतिवादीउपर जाहेरी दिएको हो । सो जाहेरी झुट्ठा हो भन्‍ने रोचक कुँवर, राकेश कुँवरका साक्षी मकर कुँवरको बकपत्र ।

सो घटना प्रत्यक्षरूपमा मैले देखेको होइन, सुनेअनुसार डिल्ली स्वाँरसमेतका ४ जना प्रतिवादीहरूले पीडित राधा धामीलार्इ होलीको मेलामा एकान्त ठाउँमा छोपी जबरजस्ती करणी गरेका र सो कार्य कसैलार्इ नभन्‍नु भनी पीडितलार्इ धाक धम्की दिएको भन्‍ने मैले सुनेको हो यस्तो कार्य गर्नेलार्इ हदैसम्म सजाय हुनुपर्छ भन्‍ने बुझिएका मदन भुलको बकपत्र ।

मिति २०६८।११।२४ गते राति फुपूलार्इ प्रतिवादीहरूले हातपात गरी जबरजस्ती करणी गरेको हो भनी छोरा ................ले भन्दा मैले नन्द पीडित राधालार्इ सोधपुछ गर्दा पहिला ध्रुव कुँवरले मलार्इ समाती पल्टाइसकेपछि चारै जना प्रतिवादीहरूले पालै पालोसँग मलार्इ जबरजस्ती करणी गरी यो कुरा तिमीले तिम्रा दाइ भाउजू कसैलार्इ भनी जानकारी गराएमा तिमीलार्इ मारी दिन्छौँ भनेका हुँदा डरले मैले कसैसँग भन्‍नसकेकी होइन भनी नन्दले मसँग बताएकी हुन् भन्‍ने जाहेरवाली नाम परिवर्तित शान्ति धामीको बकपत्र ।

मिति २०६८।११।२४ गते राति पीडित राधा धामीलार्इ प्रतिवादी राकेश कुँवरले जबरजस्ती करणी गरेको हुँदा कारवाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्त झुट्ठा हो । राकेश कुँवरसमेतका मानिसले मदिरा उत्पादन गर्न बन्द गर्न खोज्दा त्यसको रिसइवीले प्रतिवादी राकेश कुँवरको नाममा जाहेरी दिएकी हुन् । निजले पीडितलार्इ जबरजस्ती करणी गरेको होइन भन्‍ने प्रतिवादी राकेश कुँवरका साक्षी नरेन्द्र भाटको बकपत्र ।

प्रतिवादी ध्रुव कुँवरले पीडित राधा धामीलार्इ जबरजस्ती करणी गर्‍यो गरेन मलार्इ थाहा छैन तर ध्रुव कुँवर मिति २०६८।११।२४ गते राति मसँगै थियो भन्‍ने प्रतिवादी ध्रुव कुँवरका साक्षी विरेन्द्र कुँवरको बकपत्र ।

प्रतिवादी ध्रुव कुँवरले मिति २०६८।११।२४ गते राति पीडित राधा धामीलार्इ जबरजस्ती करणी गर्‍यो गरेन मलार्इ थाहा छैन । प्रतिवादी ध्रुव कुँवर सो राति मसँगै थियो । घरायसी झगडाका कारण प्रतिवादीउपर जाहेरी दिएकी हुन् भन्‍ने प्रतिवादी ध्रुव कुँवरका साक्षी पूर्ण कुँवरको बकपत्र ।

प्रतिवादी डिल्ली स्वाँर र म मिति २०६८।११।२४ गते राति तपेन्द्र स्वाँरको पसलमा सुतेका थियौं । प्रतिवादी र पीडित राधा धामीबीच रिसइवी थियो । सोही कारणबाट जाहेरी दिएकी हुन् । पीडित राधा धामीलार्इ प्रतिवादीले जबरजस्ती करणी गरेको होइन भन्‍ने प्रतिवादी डिल्ली स्वाँरको साक्षी लोकेन्द्र स्वाँरको बकपत्र ।

मिति २०६८।११।२४ गते गाउँको पटकानीमा होली जात्रा हेरी राति १२ बजेको समयमा घरमा आउन लागेकी थिएँ । वडघारी भन्‍ने ठाउँमा पुगेपछि बाटोमा ध्रुव कुँवर आर्इ तिमीलार्इ घर पुर्‍याइदिन्छु भन्दा मैले मलार्इ पुर्‍याउनु पर्दैन भन्दा निज ध्रुव कुँवरले मलार्इ झम्टी पल्टाइसकेपछि अन्य प्रतिवादी डिल्ली स्वाँर, राकेश कुँवर, रोचक कुँवरसमेत ३ जना आर्इ मलार्इ पालैपालो जबरजस्ती करणी गर्दा मेरो योनि दुखी मेरो योनिबाट रगत आर्इ म थलाबाट उठ्न नसकी त्यसै ठाउँमा पल्टी राखेकी थिएँ । एकछिनपछि उठी घरतिर गर्इ सुतेकी हुँ । निज प्रतिवादीहरूले मलार्इ यो कुरा कहीँकतै कसैलार्इ भनिस् भने तलार्इ मारी दिन्छौं भन्‍ने धम्कीसमेत दिएकोले मैले कसैसँग भन्‍नसकेकी थिइन पछि भाउजूले थाहा पार्इ मलार्इ सोध्दा मैले भनेपछि भाउजू शान्ति धामीले जाहेरी दिएकी हुन् भन्‍ने पीडित राधा धामीको बकपत्र ।

म घटना भएको दिनमा कञ्‍चनपुर जिल्ला महेन्द्रनगरमा थिएँ । मेरो भाउजूले फोन गरी उक्त घटनाको बारेमा सुनाउँदा मैले फोनबाटै प्रहरीलार्इ खबर गर्नु भनेकी थिएँ । पछि घर आर्इ बहिनी पीडित राधा धामीलार्इ सोधपुछ गर्दा पीडित बहिनीले रूँदै भनिन् मिति २०६८।११।२४ गते होली हेरी घरमा आउने क्रममा वडघारी भन्‍ने ठाउँमा पुगेपछि प्रतिवादी राकेस कुँवर, रोचक कुँवर, डिल्ली स्वाँर, ध्रुव कुँवरसमेत चार जनाले पूर्वयोजना बनाई पालैपालोसँग मलार्इ जबरजस्ती करणी गरी यो कुरा कसैलार्इ भनिस् भने मारी दिनेछौं भन्‍ने धाक धम्की दिएको हुँदा मैले कसैसँग भन्‍न सकिन भनी बहिनी राधा धामीले मसँग भनेकी हुन् । बहिनीको अवस्था राम्रो थिएन । योनि सुनिएको थियो । पेट दुःखीरहेको थियो भन्‍ने बुझिएकी ........................को बकपत्र ।

मिति २०६८।११।२४ गते राति फुपू र म होलीको जात्रा हेरी घरमा आउन लागेको समयमा बडघारी भन्‍ने ठाउँमा पुगेपछि फुपू दिशा गर्न पछाडि रहिन् । म बाटोमा उभिएको थिएँ । डिल्ली स्वाँरले मलार्इ ट्वाफी किनिदियो । तँ घर गैहाल भनेपछि म एकछिन त्यहीँ लुकी रहेँ फुपू मम्मी मम्मी भनी कराउँदै थिइन् । पछी फुपूको मुखमा रूमाल कोची मुख बन्द गरिदियो र फुपूको शरीरका लुगा कपडा खोली फुपूलार्इ नाङ्गी बनाई प्रतिवादी राकेस कुँवर, ध्रुव कुँवर, डिल्ली स्वाँर, रोचक कुँवरसमेतले पालैपालोसँग जबरजस्ती करणी गरेका हुन् । म डरले घरमा आर्इ सुतेँ । फुपू कतिबेला घर आइन् थाहा भएन भन्‍ने बुझिएका ................को बकपत्र ।

पीडित नाम परिवर्तित राधा धामी मिति २०६८।११।२४ गते रातको समयमा होली जात्रा हेरी आफ्नो घरतर्फ फर्कने क्रममा बाटोमा एकान्त रहे भएको मौका छोपी यी प्रतिवादीहरूले निज पीडितलाई डर धाक धम्कीसमेत दिई सामूहिकरूपमा पालैपालो गरी जबरजस्ती गरेको भन्‍ने मिसिल संलग्न कागज प्रमाणबाट पुष्‍टि हुन आएकोले प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. बमोजिमको कसुर गरेकाले प्रतिवादीमध्ये डिल्ली स्वाँर, ध्रुव कुँवर र राकेश कुँवरको हकमा जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम ५ वर्ष र ऐ.को ३(क) नं. बमोजिम ५ वर्ष गरी जम्मा जनही १० वर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादी रोचक कुँवरलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम उमेर पुगेको प्रतिवादीहरूलाई हुने सजायको आधा ५ वर्ष कैद सजाय हुने भई निजलाई तोकिएको सजाय तत्काल भोग्नु नपर्ने गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५०(२) बमोजिम सजाय स्थगित हुने र जबरजस्ती करणी महलको १० नं. बमोजिम प्रतिवादीहरूबाट जनही ५०,०००।- का दरले पीडितलाई क्षतिपूर्ति भराई दिने ठहर्छ भन्‍ने अछाम जिल्ला अदालतको मिति २०७०।५।१८ को फैसला । 

पीडित र जाहेरवालीको घरबाट हिँडेर प्रहरी कार्यालय बयलपाटा पुग्न १५/२० मिनेटको समय लाग्ने हुँदा अछाम जिल्ला अदालतले भनेजस्तो सामूहिक बलात्कारको घटना १७/१८ दिनसम्म लुक्न छिप्नसक्ने अवस्था हुँदैन । १७/१८ दिनमा पीडित, जाहेरवाली र निजहरूका आफन्तले षड्यन्त्रको जाल बुनी बुनाउ गरी हामीहरूलाई फसाउनका लागि पीडितका लुगा आफैँ च्याती चुरापोते फुटाई कथित घटनास्थलमा फ्याँकी ती फ्याँकिएका च्यातिएका बनावटी झुट्ठा तथ्यलाई सनाखत गरेको नाटक विपक्षीले बनाई हामीहरूले जबरजस्ती करणी नगरेको भन्‍ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको बेवास्ता गरी सुरू अछाम जिल्ला अदालतबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा २३(७) २५, ५४ तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत हुँदा सो फैसला बदर गरी झुट्ठा अभियोग मागदाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादीहरू डिल्ली स्वाँर, ध्रुव कुँवर र राकेश कुँवरको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदनपत्र । 

यसमा वारदातको करिब २ हप्‍तापछि जाहेरी दरखास्त परेको, ढिलो जाहेरी गर्नु परेको पर्याप्‍त कारण खुलेको नदेखिएको र पीडित तथा जाहेरवालीसमेतले झुट्ठा जाहेरी दिएको भनी मिति २०७०।२।१६ मा दिएको निवेदन मिसिल सामेल रहेको पाइयो । प्रतिवादीहरूले अदालतमा बयान गर्दा पीडितको भाउजूले रक्सी बनाउने गरेको कारणबाट रिसइवी राखी नियोजितरूपमा फसाउनका लागि उजुरी गरेको भनी जिकिर गरेकोसमेतका सन्दर्भमा सुरू फैसला विचारणीय भएकाले छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ समेतको प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय दिपायललाई पुनरावेदनको जनाउ दिई प्रत्यर्थी झिकाई अरू नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत दिपायलबाट मिति २०७१।१।३० मा भएको आदेश । 

सुरू अछाम जिल्ला अदालतले प्रतिवादीहरूलाई १० (दश) वर्ष कैद सजाय र प्रतिवादीबाट जनही रू.५०,०००।- पीडितलाई क्षतिपूर्ति भराउने ठहर गरेको मिति २०७०।५।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत दिपायलको मिति २०७१।३।२९ को फैसला । 

प्रस्तुत मुद्दामा हामी प्रतिवादी पुनरावेदकहरूले गरिएको भनिएको अपराध मिति २०६८।११।२४ गते राति भनिएको छ । जबरजस्ती करणी जस्तो जघन्य अपराधको जानकारी १७ दिनपछि मात्रै जिल्ला प्रहरी कार्यालय, अछाममा जाहेरी दरखास्त परेपछि उक्त गाउँघरका अन्य छरछिमेकहरूमा थाहा जानकारी हुन्छ । त्यसभन्‍दा अघि कहिँकतै उक्त घटनाको बारेमा कोही कसैलाई जानकारीसमेत छैन । घरनजिकै रहेको ईलाका प्रहरी कार्यालयसमेतलाई जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेपछि मात्र खबर थाहा हुन्छ भने यसबाट के पुष्‍टि हुन्छ भने घटना घट्दै नघटी हामी प्रतिवादीहरूसँग भएको रिसइवी साँध्नलाई उक्त जाहेरी दरखास्त दिएको हो ।

जाहेरवालाको जाहेरी दरखास्तमा उल्लिखित बेहोरा, जाहेरवालीले मौकामा गरिदिएको कागज, प्रत्यक्षदर्शी वर्ष १० को ................ले गरेको कागज, पीडित भनिएको व्यक्तिको प्रहरीका कागज र अदालतमा यी तिनै जना व्यक्तिले गरी दिएको बकपत्रका बेहोराहरू फरकफरक छ । पीडित राधा धामीको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको कुनै पनि भागमा चोटपटक नभएको, पीडितको हाइमेन च्यातिएको भन्‍ने मात्र उल्लेख भएको पाइन्छ । पीडित भनिएका व्यक्तिलाई हामी पुनरावेदकहरूले जबरजस्तीसँग कार्य गरेको भए, निजको शरीरमा घा खत हुनुपर्ने, करणी भएको भए स्वास्थ्य परीक्षण प्रतिवेदनमा देखिनु पर्ने थियो । पीडित पढ्दै गरेको विद्यालय महेन्द्र उच्च माध्यमिक विद्यालय, चण्डिका-४, बयलपाटा, अछामको मिति २०६९।६।२६ को पत्रानुसार पीडित राधा धामीले कक्षा ७ को वार्षिक परीक्षा मिति २०६८।११।२१ देखि २०६८।१२।१ सम्म नियमितरूपमा परीक्षामा समावेश भई उत्तीर्ण भएको छ । यसरी एउटा व्यक्ति जसलाई ४ जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भनिएको छ ती व्यक्तिले नियमितरूपमा कसरी परीक्षा दिनसक्छ, तर जसलाई जाहेरीमा मानसिक तथा शारीरिक अवस्था ठीक नभएको भनी उल्लेख गरी जाहेरी दिएको छ । जाहेरवाली शान्ती धामी र पीडित राधा धामीले प्रतिवादीहरूले जबरजस्ती करणी नगरेका गाउँघरका मानिसहरूले डर त्रास देखाई रिसइवी साँध्न झुट्ठा जाहेरी दिई बकपत्र गर्न लगाएका हुन् भनी हुलाकमार्फत मिति २०७०।२।१६ मा निवेदन दिएका छन् । यसबाट के पुष्‍टि हुन्छ भने हुँदै नभएको घटनालाई बनावटी बनाई घटनाको बारेमा झुट्ठा जाहेरी दिई कारवाही प्रक्रिया अगाडि बढाएको कुरा स्पष्ट हुन्छ । फौजदारी मुद्दा जस्तो जघन्य अपराधमा फैसला गर्दा तथ्यहरूको सूक्ष्मरूपमा विश्‍लेषण गरी गर्नुपर्ने हुन्छ । सुरू जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलामा स्वास्थ्य परीक्षणमा हाइमेन च्यातिएको अवस्थालाई जबरजस्ती करणीको वारदातको प्रमाण लिएको पाइन्छ । उक्त प्रतिवेदनलाई हेर्ने हो भने पीडितको हाइमेन के कसरी च्यातिएको हो भन्‍नेबारेमा केही उल्लेख छैन । हाइमेन च्यातिएकोलाई मात्र जबरजस्ती करणीको वारदातमा बलियो प्रमाण मान्‍न मिल्दैन भनी श्री सर्वोच्च अदालतको पूर्ण इजलासबाट ने.का.प. २०५९, अंक ३/४, पृष्‍ठ १२३, नि.नं. ७०६९ मा सिद्धान्तसमेत प्रतिपादन भइसकेको अवस्थामा उक्त सिद्धान्तको विपरीत गई गरेको फैसलामा त्रुटिपूर्ण रहेको छ । तसर्थ मिति २०७०।५।१८ को अछाम जिल्ला अदालतको फैसला र सो फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत डोटी, दिपायलको मिति २०७१।३।२९ को फैसला त्रुटिपूर्ण रहेको हुनाले बदर गरी हामी पुनरावेदकको पुनरावेदन जिकिरअनुसार झुट्ठा अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरूको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सञ्‍जिव कुमार लामाले प्रस्तुत मुद्दाको वारदात भएको भनेको १७/१८ दिनपछि मात्र जाहेरी परेको छ । तत्काल जाहेरी नपरी ढिलो गरी जाहेरी पर्नु नै शंकास्पद छ । अन्य प्रमाणबाट पुष्‍टि नभएमा पीडितको कन्याजाली च्यातिनुले मात्र जबरजस्ती करणी गरेको नहुने भन्‍ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको छ । घटना भएको प्रत्यक्षदर्शी भनिएका ................को प्रहरीमा भएको बयान र अदालतमा भएको बकपत्र फरक छ । तसर्थ शंकारहित तवरबाट अभियोग पुष्‍टि नभएको अवस्थामा पुनरावेदक प्रतिवादीहरूलाई कसुरदार ठहर गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्दछ भन्‍नेसमेत बहस प्रस्तुत गर्नुभयो । 

उपर्युक्तानुसारको तथ्य एवं बहस बुँदा रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत दिपायलबाट मिति २०७१।३।२९ मा भएको फैसला मिलेको छ, छैन? र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्नसक्ने हो, होइन? भन्‍ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, मिति २०६८।११।२४ गतेका राति पीडित नाम परिवर्तित वर्ष १५ की नाबालिका राधा धामीलाई डिल्ली स्वाँरसमेतका ४ जना प्रतिवादीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेकोले प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको ३(३) नं. अनुसार सजाय गरी सामूहिक बलात्कार गरेतर्फ सोही महलको ३क. नं. अनुसार थप सजायसमेत गरी सोही महलको १० र १०ग नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी रहेकोमा प्रतिवादीहरू मध्ये डिल्ली स्वाँर, ध्रुव कुँवर र राकेश कुँवरको हकमा जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. को ३क. नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा जनही १०(दश) वर्ष कैद हुने र प्रतिवादीमध्ये रोचक कुँवर १६ वर्ष भन्दा कम उमेर भएको देखिएकोले निजलाई अन्य प्रतिवादीहरूलाई भएको सजायको आधा सजाय ५ (पाँच) वर्ष कैद हुने र निजलाई तोकिएको कैद सजाय भोग्नु नपर्ने गरी स्थगित हुने र पीडितले प्रतिवादीहरूबाट जनही ५०,०००।- का दरले क्षतिपूर्ति भराई पाउने ठहरी अछाम जिल्ला अदालतबाट फैसला भई पुनरावेदन अदालत दिपायलमा प्रतिवादीहरूको पुनरावेदन परी सुरूको फैसला सदर हुने गरी उक्त अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूका तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । 

३. पुनरावेदकहरूले पुनरावेदनपत्रमा अपराध भएको भनिएको धेरै दिनपछि मात्रै जाहेरी दरखास्त परेकोले जाहेरी झुट्ठा बनावटी हो, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट हाइमेन च्यातिएको भनिएकोलाई मात्र प्रमाणमा लिएर शंकाको आधारमा कसुरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला बदर हुनुपर्ने भन्‍ने मुख्य पुनरावेदन जिकिर लिएको पाइन्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिरतर्फ विचार गर्दा मिति २०६८।११।२४ गतेका दिन गाउँमा होली हेरी राति घर फर्कने क्रममा डिल्ली स्वाँर, ध्रुव कुँवर, राकेश कुँवर, रोचक कुँवरसहितका ४ जना व्यक्तिले जबरजस्तीरूपमा मेरो मुखसमेत बन्द गरी पालैपालो जबरजस्ती करणी गरेका हुन् भनी पीडित मेरो नन्द नाम परिवर्तित राधा धामीले आफूलाई बताएको भनी नाम परिवर्तित शान्ति धामीले किटानी रूपमा यी प्रतिवादीहरूउपर जाहेरी दरखास्त दिएको देखिन्छ । सोही जाहेरीको बेहोरालाई पुष्‍टि हुने गरी पीडितले मौकामा कागज गरेको साथै अदालतमा आई बकपत्र गरेको देखिन्छ । त्यस्तै आफूउपर सामूहिकरूपमा जबरजस्ती करणी गर्ने व्यक्तिहरू यिनै हुन् भनी पीडितले प्रतिवादीहरूको सनाखत गरेकोसमेत देखिन्छ । घटनाका प्रत्यक्षदर्शीको रूपमा रहेका ................ले फुपूलाई चारै जना प्रतिवादीले पालैपालोसँग जबरजस्ती करणी गरेका हुन् भनी घटनाको बेहोरा खुलाई लेखाई दिएको देखिन्छ । घटनास्थल मुचुल्कामा जौका बोटहरू भाँचिएका, माटोमा खुट्टाका जुत्ता तथा चप्पलका छापहरू रहेका र उक्त जौ बारीमा पहेँलो रातो रंगका पोतेका जस्ता दानाहरू र पोतेको टुक्रा रहेको भन्‍ने उल्लेख भएको देखिन्छ । यसैगरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा हाइमेन च्यातिएको भन्‍ने कुरा उल्लेख भएको देखिन्छ । घटनाक्रमहरूबाट वारदात भएको भन्‍ने पुष्‍टि हुन आएको अवस्थामा पीडितको हाइमेन अन्य कारणले Rapture भएको भन्‍ने अर्थ गर्न मिल्ने हुँदैन । त्यसमा पनि पीडितको स्वास्थ्य परीक्षण घटना भएको १५ दिनपछि मात्र भएकोले जाहेरी दरखास्तमा उल्लेख भएअनुसार भएको जबरजस्ती करणीको कारणबाटै हाइमेन च्यातिएको होइन भन्‍न मिल्ने देखिन आएन । 

४. प्रतिवादीहरूले अदालतमा बयान गर्दा आफूहरूले पीडितलाई करणी गरेकोमा इन्कार रहे तापनि निजहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा रातको समयमा प्रतिवादीहरू चारै जनाले पीडितको पिछा गरी पीडितलाई जौ बारीमा लगी सामूहिकरूपमा जबरजस्ती करणी गरेको भनी साबिती बयान गरेको पाइन्छ । अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान कुटपिट डर त्रासबाट भएको हो कि भन्‍नलाई सो बयान अन्यथा भएको भन्‍ने प्रतिवादीहरूको जिकिर प्रमाणित हुनसकेको देखिँदैन । प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयान, मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, जाहेरवाली र पीडितको बकपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका स्वतन्त्र प्रमाणहरूबाट प्रतिवादीहरू विरूद्धको अभियोग पुष्‍टि भइरहेको देखिँदा शंकाको आधारमा कसुरदार ठहर गरिएको भन्‍ने निजहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

५. जाहेरी दरखास्त ढिला परेको भन्‍ने जिकिरको हकमा विचार गर्दा कानूनको हदम्यादभित्र नै जाहेरी पर्न आएको र यी प्रतिवादीहरू उपर झुट्ठा जाहेरी दिनुपर्ने कुनै कारणसमेत मिसिलबाट देखिएको छैन । जाहेरी ढिला गरी परेको कारण सम्बन्धमा विवेचना गर्दा पीडितको परिवेशतर्फ पनि विचार पुर्‍याउनपर्ने हुन्छ । अशिक्षा, अभाव, अज्ञानतासमेत रहेको समाजमा ढिला गरी जाहेरी पर्दैमा सोही कारणले मात्र वारदात नै नभएको निष्कर्षमा पुग्दा अन्यायको पृष्‍ठपोषण गरेसरह हुन जान्छ । त्यसमा पनि प्रस्तुत जाहेरी जबरजस्ती करणीको महलको  ११ नं. ले व्यवस्था गरेको हदम्यादभित्रै परेको देखिन्छ । 

६. त्यसैगरी पीडित र जाहेरवालीले प्रस्तुत वारदात नै नभएको प्रतिवादीहरूसँग रिसइवी भएका गाउँघरका मानिसहरूले डर, त्रास देखाई दबाब दिई झुट्ठा जाहेरी तथा बकपत्र गर्न लगाएका हुन् भनी हुलाकमार्फत मिति २०७०।२।१६ मा दिएको निवेदनमा उल्लेख गरेको हुँदा प्रतिवादीहरूले सफाइ पाउनु पर्ने भनी पुनरावेदक प्रतिवादी पक्षको जिकिर रहेतर्फ विचार गर्दा गाउँ समाजको परिवेश, गरिबीसमेतका कारणले सामाजिक प्रभाव, दबाब वा आर्थिक लोभमा परी वारदात नै नभएको भनी निवेदन पर्नुलाई अस्वाभाविक मान्‍न मिल्दैन । वास्तवमा, कुनै पनि वारदात सम्बन्धमा भएको अनुसन्धानको नतिजा नै कसुर भए नभएको तथ्य निर्धारण गर्ने महत्त्वपूर्ण कसीको रूपमा रहेको हुन्छ । पछिबाट कसुरदार होइन भनी निवेदन परेको वा प्रतिवादीलाई सफाइ दिई बकपत्र गरेकै आधारमा मात्र सफाइ दिने हो भने न्याय व्यवस्थाको उपहास हुन जान्छ । प्रस्तुत मिसिल संलग्न किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको बकपत्रलगायतका प्रमाणको मूल्याङ्कनबाट पुनरावेदक प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्‍टि भइरहेको देखिँदा निजहरूलाई अभियोग मागदाबीबमोजिम कसुरदार ठहर गरी सुरू अछाम जिल्ला अदालतले गरेको फैसला सदर हुने गरी मिति २०७१।३।२९ मा पुनरावेदन अदालत दिपायलबाट भएको फैसला अन्यथा नभई मनासिब देखिन आयो ।

७. तसर्थ, पुनरावेदक प्रतिवादीहरू डिल्ली स्वाँर, राकेश कुँवर र ध्रुव कुँवरलाई जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम ५ (पाँच) वर्ष कैद र ऐ.को ३ क नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा १० वर्ष कैद सजाय र प्रतिवादीहरूबाट जनही रू.५०,०००।- (पचास हजार रूपैयाँ) पीडितलाई क्षतिपूर्ति भराई दिने गरी भएको पुनरावेदन अदालत दिपायलको मिति २०७१।३।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. मीरा खड्का

इजलास अधिकृत: शिवहरी पौड्याल

इति संवत् २०७४ साल वैशाख २८ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु