निर्णय नं. ९९७१ - लिखत बदर दर्ता बदर दर्ता
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७३।११।१५
०७०-CI-०८९७
मुद्दाः लिखत बदर दर्ता बदर दर्ता
पुनरावेदक / वादी : रौतहट जिल्ला जयनगर गा.वि.स. वडा नं.५ बस्ने लालबाबु राय यादवसमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला प्रेमपुर गोनाही गा.वि.स. वडा नं.१ बस्ने उपनेत्रीकुमारी राय यादव
छुट्टी भिन्न भइसकेपछि आमाले आफ्नो अंशको जग्गा छोरीलाई बकसपत्र दिन नपाउने भन्ने हुँदैन । बन्डापत्रमा कुनै सर्त लेख्दैमा सो सर्तले अंशियारलाई बाँध्दैन । अंशियारहरूबीच जियजियै बन्डा गर्नुपर्ने अंशको विषयमा बन्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारहरूको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान बकस गर्न पाउँदैन भन्नु भेदभावपूर्ण हुन जाने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रशन्नकृष्ण दास
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०४६, अंक ६, नि.नं.३८५०, पृ.६३१
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री गुणराज ढुङ्गेल
रौतहट जिल्ला अदालत ।
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू
पुनरावेदन अदालत हेटौंडा ।
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
हाम्रो मूल पुरूष बिगन राय यादव निजको श्रीमती मनवा देवी र हामी दुई छोरा जेठा लालबाबु राय यादव र कान्छो धिरेन्द्र राय यादव भएकोमा बाबुको मिति २०४८।१।१९ मा स्वर्गवास भइसकेपछि मालपोत कार्यालयबाट अंशबन्डापत्र गर्दा र.नं.२८४५ मिति २०६५।८।९ गतेको अंशबन्डापत्रको लिखतमा आमा मनवादेवीको भागमा परेको जग्गाको हकमा दुवै छोराको मन्जुरीले बेचबिखन दान बकसपत्र गर्न बन्देज राखी लिखत पास भएकोमा मानवादेवी वर्ष ६४ को बुढी रहेकोमा निजबाट र.नं.३५७० मिति २०६७।६।२० गते उपनेत्रीकुमारी देवीको नाउँमा दर्ता गराई लिएकोमा बुढी आमाको नाउँको जग्गा दर्ता गराउँदा हामीहरूको मन्जुरी लिनुपर्नेमा सो नलिएकोले र.नं.३५७० मिति २०६७।६।२० गतेको लिखत दर्ता बदर गरी पूर्ववत् आमा मनवादेवीको नाउँमा यथावत् कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
मनवादेवीले आफ्नो अंशमा पाएको जग्गा कानूनको अधीनमा रही आफ्नो छोरी उपनेत्रीकुमारी देवीलाई लिखत गरिदिएकोले बदर नहुने गरी वादीको गैरकानूनी फिरादबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उपनेत्रीकुमारी देवीको प्रतिउत्तर पत्र ।
यी वादीहरूबीच अंशबन्डापत्रको लिखत पारित हुँदा मेरो अंश भागमा परेको जग्गाहरू मेरो दुवै छोराको मन्जुरीले बेचबिखन दान गर्छु भनी सर्त राखिएकोमा मबाट छोरी प्रतिवादीले कि.नं.२५ को जग्गा हालैको बकसपत्रको लिखत पारित गर्दा गराउँदा यी वादी छोराहरूको कुनै मन्जुरी नलिई गुपचुप तरिकाबाट गराएको हुँदा त्यस्तो लिखत मुलुकी ऐन, स्त्री अंशधनको महलको ५ नं. को कानूनप्रतिकूल भएकोले वादी दाबीअनुसार बदर हुनुपर्ने हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मनवादेवीको प्रतिउत्तरपत्र ।
प्रस्तुत मुद्दामा जग्गा अन्यत्र कसैलाई हा.व. गरिदिएको नभई आफ्नै छोरीलाई त्यो पनि पैसा लिएर बेचेको नभई सेवाबापतमा हालैको बकसपत्र गरिदिएको देखिन्छ । छोरीले सेवा गरेको रहिछन् भनेर मान्दा पनि निज प्रतिवादी मनवादेवी यी वादीहरू सँगसाथ बसेकोसमेत देखिन्छ । सोको आधारमा हेर्दा सेवाबापतमा स्वेच्छाले दिएको भन्ने पुस्ट्याईं पनि देखिन्न । सम्पत्ति फिर्ता भई यी वादीहरूका नाउँमा जाने नभई निजै मनवादेवीका नाउँमा नै रहने हुँदा छोरीले फेरि रिझाई लिने अवस्था छँदैछ भने ज्यादै ठूलो मर्का वा नोक्सान के भो भनेर निज प्रतिवादी उपनेत्रीकुमारीले प्रस्ट जिकिर राख्न सकेको पनि पाइन्न । तथापि, मनवादेवीको साख्खै छोरी भएको नाताबाट निज मनवादेवीको २ छोरा र १ छोरी भएको आधारबाट निजको सम्पत्तिमा छोरीलाई समेत न्यायोचित तवरबाट समेट्नु उचित हुन जानेसमेत देखिन्छ । उल्लिखित विश्लेषणका आधारमा मिसिल संलग्न सबुद प्रमाणहरूबाट वादीको फिराद दाबी पुष्टि भएको देखिँदा लिखत कायम रहन सक्ने देखिएन । सो भएबाट ३ भागको १ भाग जग्गा प्रतिवादी उपनेत्रीकुमारीका नाउँमा कायमै राख्न न्यायोचित देखिँदा नरमगरम मिलाई ३ भागको २ भाग मात्र लिखत र दर्ता बदर भई दाता मनवादेवीको नाउँमा दर्ता हुनेसमेत ठहर्छ । अन्य दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू रौतहट जिल्ला अदालतको मिति २०६८।७।२७ गतेको फैसला ।
आमा मनवादेवीबाट म छोरीले हालैको बकसपत्र लिखत गरिलिएकोमा ३ भागको १ भागसम्म म पुनरावेदक प्रतिवादी उपनेत्रीकुमारीको भागमा राखी २ भाग मनवादेवीको नाउमा दर्ता हुने ठहर्याई भएको सुरू फैसलामा मेरो चित्त बुझेन । अंश हक नैसर्गिक हक हो । वादीहरू र आमाको बीचमा अंशबन्डा हुँदा आमाको अंश भागमा परेको जि.बि. ०-१६-२ जग्गा मैले लिखत गरिलिएको हुँ । अंशजस्तो नैसर्गिक अधिकारलाई बन्डापत्रमा उल्लिखित कुनै किसिमको सर्त वा बन्देजले कुनै असर पुर्याउन नसक्ने तथा अंश हकमा रोक वा बन्देज लगाउने सर्त स्वभावतः प्रारम्भदेखि नै शून्य अर्थात् कानूनी मान्यताविपरीत हुने भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको जिकिर लिएकोमा सो जिकिरतर्फ उचित विश्लेषण नै नगरी भएको फैसला मुलुकी ऐन, अ.बं.१८४क नं. र १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ एवं ५४ को गम्भीर त्रुटि हुँदा उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उपनेत्रीकुमारी देवीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
लिखत बदर गरी पूर्ववत् आमा मनवादेवीका नाउँमा यथावत् दर्ता कायम गरिपाउँ भन्ने वादी दाबी भएकोमा वादी दाबीभन्दा बाहिर गई तीन भागको दुई भाग लिखत बदर हुने ठहर्याई भएको सुरू फैसला हकदैया नैसर्गिक अंश हकसम्बन्धी कानूनी प्रश्न प्रमाण मूल्याङ्कन ने.का.प.२०४६ अङ्क ६, नि.नं.३८५० पृष्ठ ६३१ समतुलियादेवी कनुआइनसमेत विरूद्ध महेश्वर साह कानूसमेत भएको लिखत दर्ता बदर दर्ता कायम मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।६।१९ गतेको आदेश ।
सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्तसमेतको आधारमा प्रत्यर्थी वादी छोराहरू लालबाबु राय यादव र धिरेन्द्र राय यादव तथा प्रतिवादी मनवादेवीसमेतबीच भएको मिति २०६५।८।९ को अंशबन्डापत्रको लिखतमा उल्लिखित मनवादेवीको नाउँको जग्गा बेचबिखत दान बकसपत्र गर्दा प्रत्यर्थी वादीहरूको मन्जुरी लिनुपर्ने भन्ने सर्तको कानूनी मान्यता शून्य रहेको देखिन आयो । यस्तो अवस्थामा प्रतिवादी मनवादेवीको मन्जुरीबाट यी पुनरावेदिका छोरी उपनेत्रीकुमारीले हालैको बकसपत्र लिखत गरिलिएको कार्यलाई अंशबन्डामा उल्लिखित कुनै सर्त वा बन्देजले कुनै असर पुर्याउन नसक्नेमा मनवादेवीबाट छोरी उपनेत्रीकुमारीले हालैको बकसपत्र गरिलिएको सम्पत्तिको ३ भागको १ भागसम्म उपनेत्रीकुमारीको नाउँमा कायम राखी ३ भागको २ भाग लिखत र दर्ता बदर हुने भई मनवादेवीको नाउँमा दर्ता हुने ठहर्याएको सुरू फैसला कानूनप्रतिकूल भई मिलेको देखिन आएन ।
तसर्थ, मनवादेवीले मिति २०६५।८।९ को पारित अंशबन्डाले अंश पाएको जग्गा हक हस्तान्तरण गर्न पाउने नै देखिँदा मनवादेवीले प्रतिवादी उपनेत्रीकुमारी देवीलाई मिति २०६७।६।२० मा पारित गरिदिएको हालैको बकसपत्र लिखत ३ भागको २ भाग लिखत र सो लिखतअनुसार भएको दर्ता बदर भई मनवादेवीको नाउँमा दर्ता हुने ठहर गरेको रौतहट जिल्ला अदालतको मिति २०६८।७।२७ को फैसला मिलेको नदेखिँदा उल्टी भई मिति २०६७।६।२० को हालैको बकसपत्र लिखत र सो लिखतअनुसार भएको प्रतिवादी उपनेत्रीकुमारी देवीको नाउँको दर्ता बदर गरी आमा मनवादेवीको नाउँमा पूर्ववत् दर्ता कायम गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।११।२० को फैसला ।
सर्वप्रथमतः मुलुकी ऐन, अंशबन्डाको १ नं. अनुसार “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जियजियैको अंश गर्नुपर्छ” तथा ऐ. महलको १०ख नं. अनुसार “...वृद्ध बाबु आमाको आफ्नो आयस्ताले नै खान लगाउन नपुगे वा हेरचाह गर्न सँग बसेका छोरा वा छोरी वा छोराको छोरा कोही नभए भिन्न बसेका छोरा वा छोरीले पनि आफ्नो इज्जत आमदअनुसार खान लाउन दिई हेरचाह गरी राख्नु पर्ने” भनी स्पष्ट तथा बाध्यात्मक कानूनी व्यवस्था रहेको पाइन्छ । मूल पुरूष बाबु बिगन राय यादव तथा प्रतिवादीमध्येकी आमा मनवादेवीको वैवाहिक दाम्पत्य जीवनबाट हामी वादीमध्येको जेठो लालबाबु राय यादव तथा कान्छो धिरेन्द्र राय यादव गरी २ छोराहरूको जन्म भएकोमा बाबु बिगन रायको मिति २०४८।१।१९ मा मृत्यु भएपश्चात् प्रतिवादी आमा र हामी वादीहरू गरी जम्मा ३ अंशियार रहेका छौं । प्रतिवादी आमा मनवादेवी ६३ वर्षकी असक्त वृद्ध रहेकीले उनीलाई कुनै छोराहरूबाट बुढेसकालमा तिरस्कार गर्ने, दुःख दिने कार्यको सामना गर्नु नपरोस् भन्ने सही नियतबाट हाम्रो मन्जुरीमा मात्र आमाको सम्पत्तिबाट जिउनीको रूपमा मिति २०५६।८।९ मा र.नं.२८४५ को अंशबन्डाको लिखतबाट अंश छुट्याई हामी वादीहरू आफैँसँग प्रतिवादी आमा मनवादेवीलाई राखी खान लाउन दिई हेरचाह गरी आएका थियौँ । यो कुरा निज प्रतिवादी आमाको प्रतिउत्तरपत्रसमेतबाट पुस्ट्याईं भइरहेको छ । प्रतिवादी आमा मनवादेवीको बुढेसकालका लागि हामी वादी छोराहरूले पुर्खौली सम्पत्तिबाट अंश हक छुट्याई आमाको जिउनीको लागि राखिएको सम्पत्तिलाई प्रतिवादी उपनेत्रीदेवीको कपटपूर्ण, गलत नियतबाट धोखामा राखी मिति २०६७।६।३ मा र.नं.३५७० को बकसपत्रबाट जि. रौतहट, जयनगर गा.वि.स. वडा नं.५, कि.नं.२५ को ०-१६-२ (सोह्र कट्ठा दुई धुर) जग्गा बकसपत्र गराई लिएको दूषित मनसायपूर्ण धोकाको बकसपत्र लिखतलाई बन्डापत्रमा प्रतिवादी आमा मनवादेवीको सम्पत्ति संरक्षणकारी सही नियतले उल्लिखित बेहोरालाई सर्तपूर्ण तथ्यको संज्ञा दिई अपव्याख्या गर्दै दूषित मनसायबाट गराई लिएको बकसपत्र लिखतलाई संरक्षकत्व प्रदान गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला अंशबन्डा लिखतको वास्तविक तथ्यको अन्देखापूर्ण हुनुको साथै अंशबन्डा महलको १, १०ख नं. को व्यवस्थाको मर्मविपरीत रहेको हुँदा बदर भागी रहेको छ ।
आमा मनवादेवीको प्रतिउत्तर पत्र बेहोराबाट निज प्रतिवादी आमालाई हामी वादीहरूले नै खान, लाउन, हेरविचार, सेवा सुसार तथा औषधोपचारलगायतका सम्पूर्ण कार्य गरी आएको र निज आमा अंशबन्डा भइसकेपश्चात् पनि हामीसँगै एकै घरमा बसी आएकी थिइन् । प्रतिवादी उपनेत्रीदेवीको दूषित मनसायबाट असक्त बिरामी प्रतिवादी आमालाई आँखा देखाई दिने निहुँमा आफ्नो घरमा लगी त्यहाँबाट भोलिपल्ट एउटा पक्की घरको बरन्डामा बसाई सहिछापसम्म गराएको तथा आँखाको इलाजसमेत नगराई पुनः हामी वादीकै घरमा छोडेको कुरा स्पष्टरूपमा उल्लेख छ ।
मुलुकी ऐन, अ.बं.२४ नं. अनुसार नाबालक र उमेर पुगेका भए पनि कुनै किसिमको रोगले होस ठेगानामा नभएको वा बौलाएको मानिससमेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज लिनु गराउनु हुँदैन भनी स्पष्ट कानूनी व्यवस्था रहेको पाइन्छ । प्रतिवादी उपनेत्रीदेवीले हामी वादीको संरक्षकत्वमा रहेकी ७३ वर्षीय बिरामी होस ठेगानामा नरहेको प्रतिवादी आमालाई ललाई फकाई आँखाको उपचार गराई दिने निहुँमा आफूकोमा लगी दूषित मनसायबाट मालपोत कार्यालयमा गई पास गराई लिएको बकसपत्र लिखत सम्बन्धमा मुद्दाको तथ्य, आधार, प्रमाणसमेतबाट पुष्टि भइरहेको तथा हाम्रो वादीहरूको संरक्षकबेगरको दूषित बकसपत्रको लिखतलाई वैध ठहर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला अ.बं.२४, १८४क, १८५, १८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशसमेतको त्रुटियुक्त हुँदा बदर भागी छ ।
प्रतिवादी मनवादेवीको मिति २०७०।४।८ मा मृत्यु भइसकेको र निज प्रतिवादी आमाको अंशबन्डाको १०ख नं. बमोजिमको हेरचाह पालनपोषणसमेत गरी निजको स्वर्गारोहणपश्चात्को काजकिरियासमेत हामी वादीहरूले नै गरेको हुँदा पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी हाम्रो दाबीबमोजिम न्याय गरिपाउँ भन्ने लालबाबु राय यादव र धिरेन्द्र राय यादवको यस अदालतमा दायर हुन आएको संयुक्त पुनरावेदनपत्र ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री प्रशन्नकृष्ण दासले पुनरावेदक वादीहरूको आमा मनवादेवी र यी पुनरावेदकहरूबीच मिति २०६५।८।९ मा अंशबन्डा हुँदा आमा मनवादेवीको भागमा परेको जग्गा दुवै छोराको मन्जुरीले मात्र बेचबिखन दान दातव्य गर्ने भन्ने उक्त अंशबन्डाको पारित लिखतमा उल्लेख छ । पारित बन्डापत्रको लिखतमा दुवै पक्षको मन्जुरीले लेखिएको सर्त पालन गर्नुपर्ने दुवै पक्षको दायित्व हुन्छ । प्रतिवादीमध्येको मनवादेवीको प्रतिउत्तर पत्रबाट पुनरावेदकहरूले आमा मनवादेवीलाई अंशबन्डापश्चात् पनि खान लाउन दिई हेरविचार, सेवा सुसार गरिरहेको र एकाघरमा बसी आएको कुरा उल्लेख छ । आँखाको उपचार गराउन लैजान्छु भनी झुक्यानमा पारी मनवादेवीलाई थाहा जानकारी नदिई विपक्षी उपनेत्रीदेवीले छलकपट गरी जिल्ला रौतहट जयनगर गा.वि.स. व८ नं.५ कि.नं.२५ को ज.बि. ०-१६-२ जग्गा आफ्नो नाउँमा हालैको बकसपत्र गराई लिएको वास्तविक तथ्यको अनदेखा गरी उक्त बकसपत्र सदर कायम रहने ठहर गरी हेटौंडा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी दाबीबमोजिम गरिपाउँ भनी बहस गर्नुभयो ।
यसमा आमा र हामी पुनरावेदक वादी दुई छोराहरू तीन जना अंशियार भएको हुँदा मिति २०६५।८।९ मा मालपोत कार्यालय रौतहटबाट अंशबन्डाको लिखत पारित भएको र सो अंशबन्डाको लिखतमा आमा मनवादेवीले पाएको जग्गा हामी वादीहरूको मन्जुरीले मात्र बेचबिखन गर्न र दान दातव्य गर्नु मन्जुर भई अंशबन्डा पारित भएकोमा वृद्धा मानसिक सन्तुलन ठीक नभएको आमा मनवादेवीलाई झुक्याई हामीहरूलाई थाहा जानकारी नदिई विपक्षी उपनेत्रीकुमारी देवीले मिति २०६७।६।२० र.नं.३५७० बाट हालैको बकसपत्र लिखत पारित गराई आफ्नो नाउँमा लिएको हुँदा उक्त बकसपत्र बदर गरी आमा मनवादेवीका नाउँमा नै यथावत् कायम गरिपाउँ भन्ने वादी दाबी र अंशबन्डा जस्तो नैसर्गिक अधिकारलाई बन्डापत्रमा उल्लिखित सर्त वा बन्देजले कुनै असर पुर्याउन सक्दैन । अंशहकमा रोक वा बन्देज लगाउने सर्त प्रारम्भदेखि नै कानूनी मान्यताविहीन हुन्छ । वादी दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर भएकोमा ३ भागको १ भाग जग्गा प्रतिवादी उपनेत्रीकुमारीका नाउँमा कायम राखी ३ भागको २ भाग लिखत दर्ता बदर गरी दाता मनवादेवीको नाउँमा दर्ता हुने ठहराएको सुरू रौतहट जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहराई भएको पुनरावेदन हेटौंडाको फैसलामा चित्त नबुझाई वादीहरूको यस अदालतमा पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।११।२० मा भएको फैसला मिलेको छ, छैन? वादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन सोही विषयमा निर्णय गर्नुपर्ने देखियो ।
२. सो सन्दर्भमा हेर्दा, मूल पुरूष बिगन राय यादव र निजको श्रीमती मनवादेवीबाट हामी छोराहरू फिरादी जेठो म लालबाबु राय यादव र कान्छो म धिरेन्द्र राय यादव हौँ । बाबुको स्वर्गवास भइसकेको छ । बाबुको स्वर्गवासपश्चात् मिति २०६५।८।९ मा हामी दुई दाजुभाइ र आमासमेत तीन अंशियारबीच अंशबन्डा गरी बसेका छौं । आमा मनवादेवी वृद्ध र अशक्त बिरामी हुँदा निज आमाको रेखदेख औषधि उपचार र लालनपालनसमेत हामीहरूले गरिरहेका छौं । उल्लिखित अंशबन्डा हुँदा आमा मनवादेवीको अंश भागमा परेको जग्गाजमीन दानदातव्य बेचबिखन गर्नुपर्दा हामी संरक्षक छोराहरूको मन्जुरी लिनुपर्ने भनी आमाको मन्जुरीले बन्डापत्रको लिखतमा उल्लेख गरिएको थियो । हामीहरूले रेखदेख हेरविचार गरी हाम्रो घरमा बसिरहेको अवस्थामा विपक्षी उपनेत्रीकुमारी देवीले आमा मनवादेवीको आँखाको उपचार गराई दिने भनी आफूसँग लगी आमालाई थाहा जानकारी नदिई झुक्यानमा पारी हामीहरूलाई कुनै जानकारी नदिई हाम्रो मन्जुरीबिना मिति २०६७।६।२० र.नं.३५७० बाट जिल्ला रौतहट गा.वि.स. जयनगर वडा नं.५ कि.नं.२५ ज.बि. ०-१६-२ विपक्षी उपनेत्रीकुमारी देवीले हालैको बकसपत्र लिखत पारित गराई लिएकोले सो लिखत बदर गरी दाता आमा मनवादेवीका नाउँमा यथावत् कायम राखिपाउँ भन्ने मुख्य फिराद दाबी रहेको पाइन्छ । मनवादेवीले अंशबन्डाबाट पाएको जग्गा आफ्नो स्वेच्छाले छोरी म प्रतिवादी उपनेत्रीदेवीलाई मिति २०६७।६।२० मा हालैको बकसपत्र पारित गरिदिएको हो । लिखत दर्ता बदर हुनुपर्ने होइन । आमा मनवादेवीको मानसिक स्थिति ठीक छ । अंश जस्तो नैसर्गिक अधिकारलाई बन्डापत्रमा उल्लिखित सर्त बन्देजले कुनै असर पुर्याउँदैन । अंश हकमा बन्देज लगाउने सर्त स्वभावतः प्रारम्भदेखि नै शून्य भई कानूनी मान्यताविहीन हुने हुँदा झुट्ठा फिराद दाबी खारेज गरी हालैको बकसपत्र लिखित यथावत् कायम गरिपाउँ भन्ने प्रतिउत्तरपत्र बेहोरा रहेको पाइन्छ ।
३. मालपोत कार्यालय रौतहटको च.नं.३८८७ मिति २०६७।९।८ को पत्रसाथ प्राप्त यी पुनरावेदक वादी र निजको आमा मनवादेवीबीच मिति २०६५।८।९ मा भएको अंशबन्डाको लिखत हेर्दा यी पुनरावेदक वादी र निजको आमाबीच सम्पूर्ण सम्पत्ति ३ जना अंशियारहरूको बीचमा अंशबन्डा भई कि.नं.२५ र १७ समेतका जग्गाहरू प्रतिवादी मनवादेवीको भागमा परेको देखिन्छ । मनवादेवीले अंश पाएको जग्गा अरू कसैलाई बेचबिखन दान दातव्य, बकसपत्र गर्दा यी पुनरावेदक वादीहरूको मन्जुरी लिनुपर्ने भन्ने उक्त मिति २०६५।८।९ को अंशबन्डाको लिखतमा सर्तको रूपमा उल्लेख भएको पाइन्छ । आफूले अंश भागबापत प्राप्त गरेको अरू कसैको हक नलाग्ने एकलौटी हक स्वामित्व स्थापित भइरहेको जग्गा हक छाडी हक हस्तान्तरण गर्न नमिल्ने भनी कुनै कानूनले रोक बन्देजसमेत लगाएको देखिँदैन । कानूनले बन्देज नगरेको अवस्थामा बन्डा पत्रमा हक नलाग्ने व्यक्तिले रोक लगाउने बेहोरा लेखाए पनि सो बेहोरालाई कानूनअनुकूल भन्न मिल्ने देखिएन ।
४. ने.का.प. २०४६, अङ्क ६, नि.नं.३८५०, पृष्ठ ६३१ समतुलियादेवी कनुआइनसमेत विरूद्ध महेश्वर साह कानूसमेत भएको लिखत दर्ता बदर दर्ता कायम मुद्दामा यस अदालतबाट “अंशहक जस्तो नैसर्गिक अधिकारलाई कानूनले समानरूपबाट निरन्तर संरक्षण प्रदान गर्दै आइरहेको पाइँदा कानूनले रोक लगाएको अवस्थामा बाहेक निजको नैसर्गिक अधिकारलाई पारित बन्डापत्रमा उल्लिखित सर्तनामाले कुनै असर पुर्याउन नसक्ने”, सर्तनामालाई नैसर्गिक अधिकारको अवरोधको रूपमा मानी दिँदा कानून प्रदत्त निजको साम्पत्तिक हकको कानूनी संरक्षण हुन जाँदैन, अंशहकको निर्वाध प्रयोग हुन नसक्ने गरी सर्तनामा राख्नु र सोही सर्तनामाको आधारमा नैसर्गिक अधिकारमा प्रश्न खडा गर्न खोज्नु कानूनतः नमिल्ने”, “अंशहकमा रोक लगाउने सर्तनामा स्वभावतः प्रारम्भिकदेखि नै शून्य अर्थात् कानूनी मान्यताविहीन रहने” भनी सिद्धान्त प्रतिपादन भएको देखियो । उक्त प्रतिपादित सिद्धान्तसमेतको आधारमा पुनरावेदक वादी लालबाबु राय यादव र धिरेन्द्र राय यादव तथा प्रतिवादी मनवादेवीसमेत बीच भएको मिति २०६५।८।९ को बन्डापत्रमा उल्लिखित मनवादेवीको जग्गा बेचबिखन दान बकस गर्दा पुनरावेदक वादीहरूको मन्जुरी लिनुपर्ने भन्ने सर्त राखिएको विषयले कानूनी मान्यता मान्यता पाउँछ भन्न मिल्ने देखिएन ।
५. यी पुनरावेदक वादीहरू र निजको आमा मनवादेवी विधिवत् रूपमा अंशबन्डा लिनुदिनु गरी छुट्टी भिन्न भएको तथ्यमा विवाद रहेको देखिँदैन । छुट्टी भिन्न भइसकेपछि आमाले आफ्नो अंशको जग्गा छोरीलाई बकसपत्र दिन नपाउने भन्ने हुँदैन । बन्डापत्रमा कुनै सर्त लेख्दैमा सो सर्तले अंशियारलाई बाँध्दैन । अंशियारहरूबीच जीयजीयै बन्डा गर्नुपर्ने अंशको विषयमा बन्डापत्रद्वारा अंश हक प्राप्त गर्ने व्यक्तिले छुट्टिएका अन्य अंशियारहरूको मन्जुरी नलिई अंशको जग्गा बेचबिखन दान बकस गर्न पाउँदैन भन्नु भेदभावपूर्ण हुन जान्छ ।
६. प्रतिवादी मनवादेवीले छोरी ज्वाइँले झुक्याई लिखत पारित गराई लिएको भन्ने जिकिर लिई प्रतिउत्तर दर्ता गराएको र पुनरावेदक वादीहरूले अशक्त आमालाई झुक्याई कि.नं.२५ को पूरै कित्ता जग्गा हालैको बकसपत्र लिखत पारित गराई लिएको हुँदा सो लिखत बदर हुनुपर्छ भनी पुनरावेदन जिकिर लिएको देखिए तापनि ने.का.प. २०४६, अङ्क ६, नि.नं.३८५०, पृष्ठ ६३१ मा उल्लिखित नजिरलाई पुनरावेदक वादीहरूले अन्यथा भन्न सकेको देखिएन । यदि प्रतिवादी उपनेत्रीकुमारीसमेतले झुक्याई बकसपत्र पारित गरेको भए सोको उपचारको लागि बकसपत्रको लिखत बदर गराउन स्वयम् मनवादेवीले कानूनी प्रक्रिया अवलम्बन गरी उजुरी दिएको देखिँदैन । तसर्थ, मनवादेवीले प्रतिवादी उपनेत्रीकुमारी देवीलाई र.नं.३५७० बाट मिति २०६७।६।२० मा गरिदिएको हालैको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने पुनरावेदक वादीहरूको पुनरावेदन जिकिरसित सहमत हुन सकिएन ।
७. अतः मनवादेवीले प्रतिवादी उपनेत्रीकुमारी देवीलाई मिति २०६७।६।२० मा र.नं.३५७० बाट पारित गरिदिएको हालैको बकसपत्र लिखत ३ भागको २ भाग बदर गरी मनवादेवीको नाउँमा दर्ता कायम गर्ने ठहर गरेको सुरू रौतहट जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी उपनेत्रीकुमारी देवीका नाउँमा भएको हालैको बकसपत्र यथावत् कायम रहने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।११।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार मिसिल बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.देवेन्द्र गोपाल श्रेष्ठ
इजलास अधिकृतः यमप्रसाद बास्कोटा
इति संवत् २०७३ साल फागुन १५ गते रोज १ शुभम् ।