निर्णय नं. ९९७२ - लिखत दर्ता बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
फैसला मिति : २०७४।८।४
०७०-CI-११३४
मुद्दाः लिखत दर्ता बदर
पुनरावेदक / प्रतिवादी : भीमबहादुर घोले तामाङकी पत्नी ललितपुर जिल्ला भारदेव गाउँ विकास समिति वडा नं. ८ बस्ने मञ्जली घोले तामाङ
विरूद्ध
विपक्षी / वादी : ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ बस्ने केदार स्याङ्तानको छोरा रविन स्याङ्तान
जुन जग्गाको स्रोत नै जालसाजीपूर्ण रहेको छ । त्यस्तो जग्गाको सम्बन्धमा भए गरेको लिखतलाई सद्दे भनी व्याख्या गर्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने ।
(प्रकरण नं.६)
जालसाजीपूर्ण कार्य जहिलेसुकै पनि गैरकानूनी नै हुन्छ । हदम्याद नभएको भन्ने आधारमा जालसाजीपूर्ण कार्यले वैधानिकता पाउन नसक्ने ।
गैरकानूनी तवरबाट प्राप्त हुन आएको सम्पत्ति कानूनसम्मत तवरबाट लिखत पारित गरेको भन्ने मात्र आधारमा कानूनसम्मत मान्न नमिल्ने हुँदा प्रतिवादीसमेतको अंश हक लाग्ने जग्गामा लिनुदिनु गरी भएको लिखत वादीको हकसम्म बदर हुने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री अमृता ओझा
विपक्षी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश मैनाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या.श्री बाबुराजा कार्की
ललितपुर जिल्ला अदालत ।
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री शिवराज अधिकारी
माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल
पुनरावेदन अदालत पाटन ।
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत पाटनको मिति २०७०।५।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
विपक्षी केदार सिं स्याङ्तान मेरो पिता हुनुहुन्छ । विपक्षी पिता, भाइ राजेन्द्र र मेरा परिवारसमेत सगोलमा नै बसी आएका छौं । हामीबीच अंशबन्डा भएको छैन । म भारततिर रहने गर्दछु । भारतबाट घर फर्की आउँदा ममाथि समेत श्रीमतीले अंश मुद्दा हालेको थाहा पाएँ । विपक्षी पितासँग अंश छुट्याई दिनुस् भन्दा मसँग केही अंश छैन धितोमा राखेको जग्गा खाई दिइसक्यो भनेकोले मालपोत कार्यालय गई यथार्थ कुरा बुझ्दा दिने केदार सिं स्याङ्तान लिने रामकुमार राना क्षेत्री भई मिति २०६५।११।२२ मा र.नं. ५२२२(घ) बाट लिने दिने गरेको र सो जग्गा रामकुमार रानाले र.नं. ७३२०(घ) मिति २०६६।०२।०५ मा मञ्जली घोलेलाई बिक्री गरिदिने जालसाजी तरिका अपनाई सगोलका अंशियार हकवालालाई थाहा जानकारी नदिई मन्जुरीको लिखत नगराई साक्षीसम्म नबसाई लिखत पास गरी गराई लिए दिएको ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ कि.नं. १४६ क्षेत्रफल ५–२–०–० जग्गामध्ये ३ खण्डको २ खण्ड मलगायतको अंश हक हुन आउने क्षेत्रफल ३–६–२–२ जग्गाको हकसम्मको लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको रविन स्याङ्तानको फिरापत्र ।
विपक्षीको फिराद दाबी झुठ्ठा हो । विपक्षीका पिताले घर खर्च गर्न भनी मसँग जग्गाको पूरा मूल्य लिई जग्गा बिक्री गर्नुभएको हो । मालपोत कार्यालयबाट कानूनबमोजिम पारित गरी लिएको लिखत बदर हुनसक्दैन । विपक्षीलाई मुद्दा गर्ने हकदैया नहुँदा फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको रामकुमार रानाक्षेत्रीको प्रतिउत्तरपत्र ।
विपक्षीको फिराद दाबी झुठ्ठा हो । विपक्षी वादीका पिताले आफ्नो एकलौटी हकभोगको जग्गा रू.१,००,०००।– लिने सहमति भई बाबु छोराको मन्जुरीबाट २०६५।११।२२ मा मालपोत कार्यालय ललितपुरबाट रामकुमार राना क्षेत्रीलाई राजीनामा पारित गरी दिएको, सोही जग्गा मिति २०६६।२।५ मा र.नं. ७३२० बाट रामकुमार रानाक्षेत्रीले म प्रतिवादी मञ्जली घोलेलाई बिक्री गरेको हो । जग्गा जालसाजी तवरबाट खरिद गरी लिएको होइन । सो जग्गाको लिखत जालसाजी ठहर हुनुपर्ने होइन । प्रतिवादीमध्येका रामकुमार राना क्षेत्रीले खरिद गरी लिएको जग्गा म प्रतिवादी मञ्जली घोलेले खरिद गरी भोगचलन गरी आएको छु । बाबु छोराको मिलोमतोबाट यो झुठ्ठा मुद्दा दायर गरेको हो । वादीका पिता केदार सिंउपर लिखत बदरमा मुद्दा नपरेको र कानूनसम्मत रूपमा जग्गा खरिद गरी भोग चलन गर्दै आएकोले लिखत बदर मुद्दा खारेज गरिपाउँ भन्नेसमेत बेहोराको मञ्जली घोले तामाङको प्रतिउत्तरपत्र ।
र.नं. ७३२०(घ) मिति २०६६।२।५ मा पारित राजीनामाको लिखत र र.नं. ५२२२(घ) मिति २०६५।११।२२ मा पारित राजीनामाको लिखत सम्बन्धित मालपोत कार्यालयबाट झिकाई पेस गर्नु भन्ने ललितपुर जिल्ला अदालतको मिति २०६८।१।२२ को आदेशानुसार उक्त लिखत प्राप्त भई मिसिल सामेल रहेको ।
यिनै वादी प्रतिवादी भएको लिखत बदर मुद्दामा उल्लिखित केदार सिंबाट रामकुमारले र.नं. ५२२२(घ) मिति २०६५।११।२२ को राजीनामाबाट प्राप्त गरेको कि.नं. १४६ को जग्गा नै प्रतिवादी रामकुमारले प्रतिवादी मञ्जली घोलेलाई राजीनामा पारित गरिदिएको र उक्त लिखत बदर नहुने गरी फैसला भएको देखिँदा उक्त लिखत बदर गरिपाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ भन्नेसमेत बेहोराको ललितपुर जिल्ला अदालतको मिति २०६८।७।२ को फैसला ।
पुनरावेदकका पिता केदारसिं स्याङ्तानले म र भाइ राजेन्द्रको मन्जुरी नलिई साक्षीसमेत नराखी विपक्षीमध्येका रामकुमार राना क्षेत्रीलाई हामीहरू समेतको हक लाग्ने ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा न. १ कि.नं. १४६ क्षे.फ. ५–२–०–० जग्गा मिति २०६५।११।२२ मा रू १,००,०००।– मा लिखत गरी दिएको र विपक्षी रामकुमार रानाक्षेत्रीले आफूले राजीनामा पारित गरी लिएको १ वर्ष पुग्न नपाउँदै मिति २०६६।२।५ मा रू ३५,०००।– मा आफूले खुलाएको मूल्यभन्दा पनि धेरै कम उल्लेख गरी विपक्षीमध्येकी मञ्जली घोलेलाई लिखत गरी दिएको कार्य मुलुकी ऐन अंशबन्डाको महलको १९ नं. को विपरीत छ । विपक्षी पिताले कुनै सम्पत्ति बाँकी नराखी घरबारीको घरसमेत नदेखाई घरबारीसमेत केही नराखी सम्पूर्ण श्रीसम्पत्ति विपक्षीलाई लिखत गरी दिन नपाउनेमा हामी उमेर पुगेका एकासगोलका अंशियार हुँदाहुँदै गुपचुप तरिकाले उनाउ व्यक्तिलाई लिखत गरी दिएको कार्य स्वत: बदर हुनुपर्नेमा सदर हुने गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीअनुसार ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ कि.नं. १४६ क्षेत्रफल ५–२–०–० जग्गामध्ये ३ खण्डको २ खण्ड मलगायतको अंश हक हुन आउने क्षेत्रफल ३–६–२–२ जग्गाको हकसम्मको लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी रविन स्याङ्तानको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको ०५९–CP–०१९० को जालसाजी मुद्दामा विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी हुँदा यसमा पनि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।८।२४ को पुनरावेदन अदालत पाटनको आदेश ।
प्रचलित कानूनले लिखत बदर र जालसाजीमा दुई उपचारको व्यवस्था गरेकोमा जालसाजीमा दाबी गर्न पाउने नै हुँदा यसै लगाउको २०६९ सालको CP–०१९० को जालसाजी मुद्दा, ०६९ सालको CP-०१८९ को अर्को जालसाजी मुद्दा र ०६९ सालकै DP–०५८२ को लिखत बदर मुद्दामा पनि उक्त लिखतहरू जालसाजी ठहर हुनुको साथै र.नं. ५२२२(घ) मिति २०६५।११।२२ को लिखत पनि वादीको हक जति अर्थात् ३ भागको १ भाग बदर हुने ठहर भई आजै यसै इजलासबाट फैसला भएको र प्रस्तुत मुद्दामा पनि सोही आधारमा दिने रामकुमार रानाक्षेत्री र लिने मञ्जली घोले तामाङ भएको र.नं. ७३२० मिति २०६६।२।५ को लिखत वादीको हकजति मात्र ३ खण्डको १ खण्ड लिखत बदर गर्नुपर्नेमा सो नगरी लिखत बदरमा दाबी नपुग्ने ठहर गरी ललितपुर जिल्ला अदालतले गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७०।५।२ को फैसला ।
लगाउको ०६९-CP-०१९० को जालसाज मुद्दामा जालसाज ठहरेकाले यसमा पनि जालसाज ठहर्छ भनी मलाई प्रतिवादी नबनाइएको र मेरो उपस्थिति नै नरहेको मुद्दाको आधारमा जालसाज मुद्दामा जालसाजी ठहरेको उल्लेख गरी लिखत बदर हुने ठहराउन मिल्दैन । दाबीको कि.नं. १४६ को जग्गा मैले रामकुमार राना क्षेत्रीबाट मिति २०६६।२।५ मा खरिद गरी लिँदाका अवस्थामा थैली अङ्क उल्लेख गर्दा मेरो तत्कालीन व्यवहारअनुसार रू. ३५,०००।- उल्लेख गरेको हो । सोभन्दा पहिला २०६५।११।२२ को र.नं. ५२२२घ को लिखतमा कति अङ्क राखेको छ वा थियो मलाई थाहा थिएन र तत्काल मैले थाहा पाउनु पर्ने कुरा पनि होइन । थैली अङ्क उल्लेख गर्दा मेरो गलत नियत थियो भन्ने कतै उल्लेख गर्नसकेको छैन । संयोगवश पहिलोभन्दा पछिल्लो अङ्क घटी भयो भने पनि मनसायबिना कुनै फौजदारी अपराध हुन सक्दैन । मुलुकी ऐन रजिस्ट्रेसनको ४२ नं. विपरीत ममाथि शंका गरी पुनरावेदन अदालतले गरेको फैसला न्यायिक मान्यताप्रतिकूल रहेको छ । कानूनबमोजिम स्रेस्ता पुर्जा खडा भइरहेको जग्गा मैले सामान्य तवरले खरिद गरी लिएकोमा हदम्यादसम्बन्धी विषय र तेस्रो पक्षको हक सिर्जना भइसकी तेस्रो पक्षको कुनै गल्ती नभएको अवस्थामा तेस्रो पक्षको हितलाई ध्यान दिनुपर्नेमा ललितपुर जिल्ला अदालतको फैसला उल्टी गरी पुनरावेदन अदालतबाट जालसाज मुद्दामा जालसाज ठहरेको भनी लेनदेन व्यवहारको १० नं. मा भएको व्यवस्थालाई उल्लेखसम्म नगरी लिखत बदर गर्ने गरी भएको फैसला बदर गरी सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोरा प्रतिवादी मञ्जली घोलेको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा केदार सिंले रामकुमारलाई मिति २०६५।११।२२ मा छोरा राजेन्द्रको मन्जुरीबाट बिक्री गरेको जग्गा नै मिति २०६६।२।५ मा निज रामकुमारले मञ्जली घोलेलाई बिक्री गरेको देखिन्छ । मिति २०६५।११।२२ को राजीनामाउपर वादीको नालिस परेको देखिँदैन । निजले बिक्री गरेको लिखतमा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं.को म्यादभित्र नालिस गर्न नसकेकोमा जालसाजीको दाबीबाट लिखत बदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०७०।५।२ । को फैसलामा उक्त जालसाजीको कानूनी व्यवस्था र लेनदेन व्यवहारको कानूनी व्यवस्थासमेत मिलेको नदेखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।९।३ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् अधिवक्ता श्री अमृता ओझाले विवादित कि.नं.को जग्गाको मिति २०६६।२।५ मा खरिद बिक्री भएको अवस्थामा हदम्याद नघाई परेको फिराद खारेज गर्नुपर्नेमा पुनरावेदकलाई प्रतिवादीसम्म कायम नगरेको मुद्दा जालसाजी ठहर भएको भन्ने आधारमा प्रस्तुत मुद्दाको लिखत बदर हुने ठहर भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर कायम हुनुपर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश मैनालीले विवादित कि.नं. को जग्गामा घरसमेत रहेकोमा सो घर नदेखाई पुनरावेदक प्रतिवादीका परदाता र दाताबीच लिनुदिनु गरी भएको लिखत नै जालसाजीपूर्ण रहेको हुँदा जालसाजीपूर्ण तवरबाट भएको लिखत बदर हुनुपर्ने हुँदा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित दुवैतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन पुग्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा विपक्षीहरूले एक आपसमा मिलोमतो गरी मलगायत परिवारको अंश हक मार्ने जाल परिपञ्च रची मिति २०६५।११।२२ र.नं. ५२२२(घ) मार्फत रू.१,००,०००।- मूल्य राखी ललितपुर जिल्ला चौघरे गाउँ विकास समिति वडा नं. १ कि.नं. १४६ को क्षेत्रफल ५-२-०-० जग्गा विपक्षी पिताले विपक्षी प्रतिवादी रामकुमार रानालाई बिक्री गर्नु र विपक्षी रामकुमार रानाले विपक्षी मञ्जली घोलेलाई र.नं.७३२० मिति २०६६।२।५ मा राजीनामा पारित गरी लिनुदिनु गरेको हुँदा उक्त जग्गामध्ये ३ खण्डको २ खण्ड मलगायतको अंश हक हुन आउने क्षेत्रफल ३-६-२-२ जग्गाको हकसम्म लिखत बदर गरिपाउँ भन्ने फिराद दाबी भएकोमा वादी दाबी पुग्न नसक्ने गरी भएको ललितपुर जिल्ला अदालतको फैसलाउपर वादीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सुरूको फैसलालाई उल्टी गरी भएको फैसलाउपर प्रतिवादी मञ्जली घोले तामाङको प्रस्तुत पुनरावेदन परी इजलाससमक्ष पेस हुन आएको पाइयो ।
३. पुनरावेदकलाई प्रतिवादी नबनाइएको र पुनरावेदकको उपस्थिति नै नरहेको लगाउको ०६९-CP-०१९० को जालसाज मुद्दामा जालसाज ठहरेको भन्ने आधारमा कानूनबमोजिम स्रेस्ता पुर्जा खडा भइरहेको जग्गा सामान्य तवरले खरिद गरी लिएको अवस्थामा वादी दाबी नपुग्ने ठहर गरी भएको सुरूको फैसला उल्टी गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर गरी सुरू जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्ने प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको पाइन्छ ।
४. पुनरावेदकलाई प्रतिवादी नै नबनाइएको लगाउको ०६९-CP-०१९० को मुद्दाको आधारमा पुनरावेदकलाई हराई भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा विवादित कि.नं. १४६ को ५-२-०-० जग्गा वादी रविन स्याङ्तानका पिता केदारसिं स्याङ्तानको नामबाट प्रतिवादीका दाता रामकुमार राना क्षेत्रीलाई मिति २०६५।११।२२ मा राजीनामाको लिखत पारित गरी लिनुदिनु गरेको जग्गा भन्नेमा विवाद देखिएन । वादी रविन स्याङ्तान र निजका पिता केदारसिं स्याङ्तान छुट्टी भिन्न नभई एकासगोलमा रहे भएको भन्ने मिसिल संलग्न प्रमाण मिसिलबाट खुल्न आई वादी रविन स्याङ्तान र प्रतिवादीका परदाता केदारसिं स्याङ्तान एकासगोलका अंशियार रहेकोमा समेत विवाद देखिएन । विवादित जग्गामा घरसमेत रहेको भन्ने मिसिल संलग्न कागजातबाट खुल्न आएको पाइन्छ । अंश नभई एकासगोलमा रहेका अंशियारबीच अंश लाग्ने अचल सम्पत्ति हक छाडी लिनुदिनु गर्दा कानूनबमोजिम अंशियारहरूलाई साक्षी राखेको वा निजहरूको मन्जुरी आवश्यक पर्ने देखिन्छ । विवादित जग्गा राजीनामा पारित गरी पुनरावेदक प्रतिवादीका दाता परदाताबीच मिति २०६५।११।२२ मा लिखत गर्दा प्रत्यर्थी वादी रविन स्याङ्तानसमेतका अंशियारहरूको मन्जुरी लिएको भनी उक्त लगाउको ०६९-CP-०१९० को मुद्दामा प्रतिवादी केदारसिं स्याङ्तानले जिकिर लिनसकेको समेत पाइएन ।
५. मुलुकी ऐन, लेनदेनको १० नं. मा “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिन नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ ...” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदक प्रतिवादीका परदाता केदारसिं स्याङ्तानले विवादित घर जग्गा आफूखुसी गर्न पाउने घर जग्गा रहेको भनी दाबी जिकिर लिनसकेको समेत देखिँदैन । आफ्नो नाममा रहेको घर जग्गा पुनरावेदकका दाता रामकुमार राना क्षेत्रीलाई राजीनामा लिखत गरी दिँदा पुनरावेदक वादीको मन्जुरी लिएको वा साक्षी राखेकोसमेत नदेखिएको आधारमा मिति २०६५।११।२२ मा वादीका पिता केदारसिं स्याङ्तान दिने र रामकुमार राना क्षेत्री लिने भई र.नं. ५२२२(घ) बाट लिनुदिनु गरेको कार्यलाई जालसाजी ठहर गरी पुनरावेदन अदालतबाट मिति २०७०।५।२ मा भएको फैसलाउपर उक्त मुद्दाका प्रतिवादीहरूको पुनरावेदन नपरी उक्त फैसला अन्तिम भएर रहेको देखिन्छ ।
६. जुन जग्गाको स्रोत नै जालसाजीपूर्ण रहेको छ त्यस्तो जग्गाको सम्बन्धमा भए गरेको लिखतलाई सद्धे भनी व्याख्या गर्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने हुँदा पुनरावेदक प्रतिवादीका परदाता र दाताबीच विवादित जग्गा लिनुदिनु गरी भएको लिखतलाई जालसाजी ठहर गरी भएको फैसला अन्तिम भएर रहेको अवस्थामा सोही जग्गा नै पुनरावेदक प्रतिवादीले निजका दाता रामकुमार राना क्षेत्रीबाट मिति २०६६।२।५ मा लिनु दिनु गरी पारित गरेको लिखतलाई बदर हुनुपर्ने होइन भनी व्याख्या गर्न मिल्ने देखिएन ।
७. मिति २०६६।२।५ मा लिखत भएको हुँदा वादीलाई प्रस्तुत मुद्दा गर्ने हदम्याद नरहेको भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा जालसाजीपूर्ण कार्य जहिलेसुकै पनि गैरकानूनी नै हुन्छ । हदम्याद नभएको भन्ने आधारमा जासलासीपूर्ण कार्यले वैधानिकता पाउन सक्दैन । जहाँसम्म प्रतिवादी नै नबनाएको मुद्दामा भएको फैसलाको आधारमा प्रस्तुत मुद्दामा लिखत बदर हुने ठहर गर्न नमिल्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर रहेको छ सो सम्बन्धमा पुनरावेदक प्रतिवादीका दाता-परदाताबीच सोही जग्गा लिनुदिनु गरी भएको कार्यलाई जालसाजीपूर्ण कार्य ठहर भएको अवस्थामा सोही जग्गाको विषयमा लिनुदिनु गरी पुनरावेदक प्रतिवादी र निजका दाता रामकुमार राना क्षेत्रीबीच मिति २०६६।२।५ मा भएको लिखतलाई कानूनसम्मत लिखत भनी व्याख्या गर्न मिल्ने देखिएन । गैरकानूनी तवरबाट प्राप्त हुन आएको सम्पत्ति कानूनसम्मत तवरबाट लिखत पारित गरेको भन्ने मात्र आधारमा कानूनसम्मत मान्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीसमेतको अंश हक लाग्ने जग्गामा लिनुदिनु गरी भएको लिखत प्रत्यर्थी वादीको हकसम्म बदर हुने नै देखियो ।
८. फिराद दाबी हेर्दा प्रत्यर्थी प्रतिवादीहरू जम्मा ३ अंशियार रहेको भन्ने खुल्न आएको पाइयो । ३ जना अंशियारहरूमध्ये प्रत्यर्थी वादीको हकसम्म अर्थात् ३ भागको १ भाग उक्त मिति २०६५।११।२२ को र.नं. ५२२२(घ) को लिखत बदर हुने भनी मिति २०७०।५।२ मा पुनरावेदन अदालत पाटनबाट लगाउको ०६९-DP-०५८२ मुद्दामा भएको फैसला अन्तिम भएर रहेको हुँदा सोही आधारमा दिने रामकुमार राना क्षेत्री र लिने मञ्जली घोले तामाङ भएको र.नं. ७३२० मिति २०६६।२।५ को लिखत वादीको हकजति मात्र ३ खण्डको १ खण्ड बदर गरी भएको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न मिलेन ।
९. अतः विवेचित तथ्य एवं कानूनी व्यवस्था र प्रमाणको आधारमा वादी दाबी पुग्न नसक्ने ठहर गरी भएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६८।७।२ को फैसला उल्टी भई मिति २०६६।२।५ को र.नं. ७३२०(घ) को लिखत वादीको हकजति मात्र ३ खण्डको १ खण्ड बदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७०।५।२ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. हरिकृष्ण कार्की
उपरजिष्ट्रार: इन्दिरा शर्मा
इति संवत् २०७४ साल मङ्सिर ४ गते रोज २ शुभम् ।