निर्णय नं. ९९७८ - कर्तव्य ज्यान र रहजनी चोरी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री मीरा खड्का
फैसला मिति : २०७४।२।३१
०६७-CR-०६०३
मुद्दाः कर्तव्य ज्यान र रहजनी चोरी
पुनरावेदक / प्रतिवादी : गगनसिंह भाटको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / वादी : बारा जिल्ला, रतनपुरी गा.वि.स.वडा नं.७ घर भई कारागार कार्यालय महोत्तरी जलेश्वरमा थुनामा रहेको प्रहार ढुङ्गाना
प्रतिवादीले अदालतमा बयान गर्दा आरोप स्वीकार गरेको अवस्थामा पनि निजको साबिती अन्य प्रमाणबाट पुष्टि हुनुपर्ने भन्ने सिद्धान्तलाई स्वीकार गरिसकेको हाम्रो फौजदारी न्याय प्रणालीले पुनरावेदकले जिकिर गरेजस्तो अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीले गरेको साबिती बयानलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको अवस्थामा वा अन्य स्वतन्त्र प्रमाणले प्रतिवादीउपरको आरोप पुष्टि नगरेको अवस्थामा प्रतिवादीका विरूद्धमा निरपेक्ष रूपमा प्रमाणमा ग्राह्य मान्न मिल्ने नदेखिने ।
(प्रकरण नं.२)
अदालतले पक्षहरू आफ्नो दाबी वा जिकिरसाथ पेस गरेका प्रमाणहरूको परीक्षण गर्ने हुँदा यस्तो मौकामा कागज गर्ने व्यक्तिले अदालतमा बकपत्र गर्दा आफ्नो मौकाको भनाइलाई पुष्टि गर्न सक्दछ तर थप नयाँ भनाइ राख्न पाउँदैन र यदि नयाँ कुरा भनेमा सो हदसम्म प्रमाणमा ग्राह्य नहुने ।
(प्रकरण नं.४)
कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारित गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी प्रमाणित गर्ने भार विधायिकी कानूनले अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक निरपेक्ष रूपमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षमा रहने ।
वादी पक्षले आफ्नो अभियोग प्रमाणित गरेको अवस्थामा सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको हदसम्म मात्र प्रमाण पुर्याउने भार निजमाथि रहने हो, प्रतिवादीको फुर्सद वा छुटको दाबीले वादी पक्षको विधायिकाले तोकेको दायित्वमा कमी आउने होइन । यसबाट प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको भन्ने आधारमा मात्र वादीले अन्य प्रमाणबाट अभियोग प्रमाणित गर्न नसकेको अवस्थामा दाबी ठहर गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डे
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्ले
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य
बारा जिल्ला अदालत ।
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई
माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
पुनरावेदन अदालत हेटौंडा ।
फैसला
न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः-
मिति २०६३/०४/२१ गते पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना.२ ख २६६४ नं. को ट्रकमा २ जना अपरिचित व्यक्ति अमलेखगञ्ज स्थित ३ नं. पुलबाट पथलैया जाने भनी चढेका र राति अं.२१:३० बजे ट्रक चालकसमेतलाई खुकुरी र कटुवा पेस्तोल देखाई ट्रक रोकी चालक तेजबहादुर विष्ट, ट्रकमा रहेका सुरेन्द्र ऐर र वीरसिंह भाटलाई जङ्गलतर्फ लगी नगदसमेत लुटेका र वीरसिंह भाट घटनापश्चात् सम्पर्कमा नआएको, खोजतलास जारी रहेको भन्ने मिति २०६३/०४/२२ को प्रहरी सञ्चार ।
अमलेखगञ्ज गा.वि.स. वडा नं.३ स्थित हेटौंडा-पथलैया राजमार्गदेखि डेढ किलोमिटर टाढा पर्सा वन्यजन्तु आरक्षको जङ्गलमा रहेको लासको नजिकै प्लाष्टिकको निलो चप्पल रहेको, लास भएको ठाउँमा रगत बगेको, खुट्टाको पीडौंला, घाँटी, गर्धन, पछाडि टाउकोसमेतमा धारिलो हतियारबाट काटिएको सडे गलेको अवस्थामा लास रहेको भन्नेसमेतको घटनास्थल लास प्रकृति मुचुल्का ।
मेरो ना.२ख २६६४ नं.को ट्रकमा चढी आएका २ जना व्यक्तिले अपहरण गरी लगेका बैतडी जिल्ला गुरूखोला वडा नं.७ बस्ने वीरसिंह भाटको लास हो भन्नेसमेत बेहोराको तेजबहादुर विष्टको सनाखत कागज ।
मिति २०६३/०४/२१ का दिन हामी काठमाडौंबाट वीरगञ्जका लागि सामान लिन आउँदा मैले चलाई ल्याएको ना.२ख २६६४ नं.को ट्रकमा चढी आएका वीरसिंह भाट र सुरेन्द्र ऐरसमेत बारा जिल्ला, अमलेखगञ्ज वडा नं.८ स्थिति ३ नं. पुलमा चिया खाई अगाडि बढ्न लाग्दा २ जना केटा हाम्रो ट्रकमा चढी अमलेखगञ्ज वडा नं.४ स्थित राजमार्गमा पुगेपछि ती व्यक्तिले खुकुरी खुँडा देखाई हाम्रा साथमा रहेको नगद रू.१०,०००।- तथा कागजपत्रसमेत लुटी हामीसँग आएका वीरसिंह भाटलाई अपहरण गरी जङ्गलमा लगी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेतको तेजबहादुर विष्टको जाहेरी ।
मिति २०६३/०४/२१ का दिन बारा जिल्ला, अमलेखगञ्ज गा.वि.स.वडा नं.८ स्थित ३ नं. पुलबाट ना.२ख २६६४ नं.को ट्रकमा चढी आई सोही ट्रकमा बसी आएका वीरसिंह भाटलाई अपहरण गरी कर्तव्य गरी मार्नेमा प्रहार ढुङ्गाना र एक जना मङ्गोलियन जातिका केटा संलग्न रहेको भन्ने बेहोराको प्रहरीको प्रतिवेदन ।
ना.२ख २६६४ नं.को ट्रकमा चढी आएका म तथा मेरो छोरा वीरसिंह भाट तथा ट्रकमा खलासी सुरेन्द्र ऐरलाई ३ नं. पुलबाट चढी आएका २ जना अपरिचित व्यक्तिले खुकुरी खुँडा देखाई ट्रक रोकी हामीलाई ओराली धडपकडसमेत गर्न लाग्दा म तथा सुरेन्द्र भाग्न सफल भएका र मेरो छोरालाई जङ्गलमा लगी कर्तव्य गरी मारी फालेको अवस्थामा ऐ. २८ गते लास फेला परेको भन्ने ट्रक चालक तेजबहादुर विष्टलाई थाहा हुन आएकाले जाहेरी दिएको छु । सो घटना सम्बन्धमा अनुसन्धान तहकिकात गरी अपराधी पत्ता लगाई लुटी लगेको रू.३७,८९०।- दिलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको गगनसिंह भाटको जाहेरी ।
मिति २०६३/०४/२१ गते बेलुका अमलेखगञ्ज वडा नं.८ स्थित ३ नं. पुलको होटलमा नास्ता खाँदा मृतक वीरसिंह भाटसमेतसँग विवाद भएकाले निजसँग बदला लिने उद्देश्यले म र युद्ध राईसमेत निजहरू चढेकै ट्रकमा चढी आई आधाभार जङ्गलमा आइपुगेपछि निज वीरसिंह भाटलाई ट्रकबाट निकाली मसँग रहेको तरबारले घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेका हौं, सो तरबार मैले हेटौंडा लाम होटलमा लुकाई राखेको छु भन्नेसमेत बेहोराको प्रहार ढुङ्गानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
बुद्धिबहादुर गोले लामाको होटलको माथिल्लो तल्लामा भर्याङ्गको कुनामा लुकाई राखेको अवस्थामा निज प्रहार ढुङ्गानाले देखाएबमोजिमको फलामको तरबार बरामद गरी दाखेला गरेको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मिति २०६३/०४/२१ गते बेलुका आधाभार जङ्गलमा तरबार देखाई पैसा लुटी वीरसिंह भाटलाई अपहरण गरी कर्तव्य गरी मार्नेमा संलग्न एकजना यिनै हुन् र देखाएको तरबार पनि यही हो भनी प्रहार ढुङ्गानालाई चिनी तेजबहादुर विष्टले गरेको सनाखत कागज ।
मिति २०६३/०४/२१ गते बेलुका प्रहार ढुङ्गाना र ट्रकका स्टाफहरू बीच सामान्य विवाद भएको थियो । पछि सबै त्यही ट्रकमा चढी गएकामध्येका २ जना मानिसले वीरसिंह भाटलाई अपहरण गरी कर्तव्य गरी मारी लास २८ गते फेला परेको सुनी थाहा पाएँ । हाल निज प्रहार ढुङ्गानाले सोहीबमोजिम बयान दिएकाले निज प्रहार ढुङ्गानाले नै कर्तव्य गरी वीरसिंह भाटलाई मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेतको रेशमबहादुरको कागज ।
मिति २०६३/०४/२१ गते बेलुका ३ नं. पुल अमलेखगञ्जबाट ना.२ख २६६४ नं.को ट्रकमा चढी पथलैयातर्फ गएका प्रहार ढुङ्गाना तथा निजको साथीसमेतले वीरसिंह भाटलाई अपहरण गरी जङ्गलमा लगी कर्तव्य गरी वीरसिंह भाटलाई मारेको भनी पक्राउ परेका निज प्रहार ढुङ्गानाले बयान दिएको हुँदा निजसमेतले यस्तो घटना घटाएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेतको वस्तुस्थिति मुचुल्का ।
मृतक वीरसिंह भाटलाई आफूसमेत भई कर्तव्य गरी मारेको भन्नेमा स्वीकार गरी बयान दिएका, निजको बयानअनुसार तरबार फेला परेको, निज प्रहार ढुङ्गानाले नै सो वारदात घटाएको भन्ने बुझिएका मानिसहरूको भनाइ कागजातबाट पुष्टि भएकोले निज प्रतिवादीहरू मध्येका प्रहार ढुङ्गानाले ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. बमोजिमको कसुर अपराध गरेको हुँदा ऐ.महलको १३(१) नं. बमोजिम र अर्का प्रतिवादी उद्धव भन्ने युद्ध राईले मृतकलाई मार्न जीउमा समाती पक्रिई ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं. अनुसार कसुर अपराध गरेकाले निजलाई सोही १३(४) नं. बमोजिम तथा रू.३७,७६०।- बराबरको धनमाल लुटपिट गरेतर्फ चोरीको १४(३) नं. बमोजिम सजाय हुन र लुटिएको उक्त बिगोसमेत सोही चोरीको १० र २१ नं. बमोजिम जाहेरवाला गगन सिंह भाटलाई दिलाई भराई पाउँ भन्ने अभियोग पत्र ।
मिति २०६३/०४/२१ गते म काठमाडौं गोंगबु बसपार्कस्थित सीतारामको कपडा पसलमा बसी सेल्समेनको काम गरिरहेको थिएँ । असोज महिनाको ६/७ दिनअघि मात्र म आफ्नो घर रतनपुरीमा आएको अवस्थामा गाउँमा लाग्ने गरेको गोरु बजारमा माओवादीले चन्दा उठाएको विरोध गरेको थिएँ । असोज ९ गते सोही चन्दाको विषयमा निजहरूले मलाई हातपात गरेपछि भोलिपल्टै म डरले डुमरवाना रजघट्टामा भएको घरमा आएपछि माओवादीकै रामशरण भट्टले मलाई चिया खान बोलाई गाउँ विकास समितिको कार्यालयमा ८ घण्टा थुनी राखेपछि प्रहरी आई मलाई ईलाका प्रहरी कार्यालय सिमरामा लगी ३ जना प्रहरीले रक्सी खाई आई प्लाष्टिकको पाइपले कुटपिट गरी नङमा किला गाडी धम्की दिएबाट मैले नगरेको कसुरसमेत गरेँ भन्नुपर्यो । मैले चालक खलासीलाई चिनेको छैन । युद्ध राई भन्ने पनि को हुन् चिनेको छैन । अभियोगअनुसारको कर्तव्य मैले गरेको होइन । घटनास्थलबारे मलाई थाहा नभएकोले के कसो हो भन्न सक्दिनँ । मेराउपरको प्रतिवेदन झुट्ठा हो । जाहेरीमा मैले अपराध गरेको भनी उल्लेख नगरेको हुँदा जाहेरीबारे मेरो केही भन्नु छैन । अधिकारप्राप्त अधिकारीसमक्ष मैले स्वेच्छाले बयान दिएको होइन । कुटपिट गरी बयानमा सही गराएका हुन् । बरामदी तथा खानतलासी मुचुल्काबमोजिम हतियार फेला परेको भन्नेसमेत झुट्ठा हो । देखाइएको तरबार मेरो होइन । बरामद भएको भनिएको ठाउँमा मलाई लगिएको पनि होइन । मसमेत भई घटना घटे घटाएको भन्नेसमेत बेहोराको प्रहरीमा कागज गर्ने तेजबहादुर विष्टसमेतका मानिसहरूको भनाइ झुट्ठा हो । मेरो रोहबरमा सो कागजहरू भएकोसमेत होइन । वस्तुस्थिति मुचुल्का बेहोरासमेतको बुद्धिबहादुर गोलेबाट निजको लजमा म बसेको भन्नेसमेतको सो कागज बेहोरा झुट्ठा हो । म निर्दोष हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रहार ढुङ्गानाको सुरू अदालतसमक्षको बयान ।
प्रतिवादी युद्ध राईका नाममा सुरू अदालतबाट जारी भई मिति २०६३/११/२० मा तामेल भई फरार रहेबाट आदेशबमोजिम मिति २०६५/१०/२७ गते अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको ।
वारदात मितिका दिन प्रहार ढुङ्गाना काठमाडौंमा रहेको, दशैँभन्दा ५/७ दिन अगाडि स्थानीय माओवादी कार्यकर्ता र निजबीच भएको विवादका कारण राजनीतिक प्रतिशोध राखी प्रस्तुत मुद्दामा निजलाई फसाएका हुन् । निजबाट अभियोग दाबीबमोजिमको कार्य नभएकोले अभियोगबमोजिम निजलाई सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी नारायण अधिकारीले गरेको बकपत्र ।
प्रतिवादीमध्येका उद्धव भन्ने युद्ध राई फरार नै रहेको देखिँदा निजका हकमा मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुल्तबीमा राखिदिने ठहर्छ । मिसिल संलग्न प्रमाण कागजातहरूका आधारमा मृतक वीरसिंह भाटलाई मिति २०६३/०४/२१ गते राति यी प्रतिवादी प्रहार ढुङ्गानासमेतले धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको तथ्य प्रमाणित हुन आएको, उक्त कसुर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. अन्तर्गतको हुँदा यी प्रतिवादी प्रहार ढुङ्गानालाई अभियोग दाबीबमोजिम सोही १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । ज्यानबाहेकको चोरी गरी लगेको भनी चोरीको महलको १४(३) नं. बमोजिमको अभियोग दाबी भने ठोस प्रमाणको अभावमा नपुग्ने ठहर्छ भन्ने बेहोराको सुरू बारा जिल्ला अदालतको मिति २०६६/०३/०३ को फैसला ।
रहजनी चोरीतर्फको अभियोग दाबी नपुग्ने ठहर गरेतर्फ चित्त बुझी ज्यानतर्फ मलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद गरेतर्फ सुरू फैसलामा चित्त बुझेन । अभियोग दाबी पुष्टि गर्ने भनिएको कागजले केबल शंकाको भरमा मैले वीरसिंह भाटलाई कर्तव्य गरी मारेको भनिएको छ । घटनाको चश्मदिद गवाह र ठोस सबुत प्रमाण नै प्रस्तुत गरिएको छैन । केबल शंकाको भरमा अभियोग लगाई सोही आधारमा सजाय गरिएको छ । वादी पक्षले मेरो विरूद्धमा प्रस्तुत गरेका प्रतिवेदनका प्रतिवेदक जाहेरवाला मौकामा कागज गर्ने व्यक्ति, सनाखत गर्ने व्यक्ति हेटौंडाका लामा होटलका मालिकसमेतलाई वादी पक्षले उपस्थित गराई बकपत्र गराउन सकेको छैन । प्रहरीले कुटपिट गरी अपराध स्वीकार गरेको कागजमा सही गराएकै भरमा कसुरदार कायम गर्न मिल्दैन । सुरू फैसलामा न्यायिक मनको अभाव रहेको छ । तसर्थ, मलाई सर्वस्वसहित जन्मकैदको सजाय गरेको हदसम्म सुरू बारा जिल्ला अदालतको मिति २०६६/०३/०३ को फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी प्रहार ढुङ्गानाको पुनरावेदनपत्र ।
प्रतिवादी प्रहार ढुङ्गानालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय भएकै देखिँदा ज्यानसम्बन्धी कसुरका सम्बन्धमा केही उल्लेख गर्नु परेन । प्रस्तुत वारदात मिति २०६३/०४/२१ मा भएको र यी प्रतिवादी मिति २०६६/०६/२१ मा पक्राउ परेको देखिन्छ । यसरी लामो समयपश्चात् पक्राउ पर्ने प्रतिवादीबाट दशी बरामद नहुनु स्वाभाविक हो । मृतक वीरसिंह भाटबाट पैसा लुट्ने प्रयोजनको लागि जङ्गलमा लगेको र सवारी चालक र खलासीबाट रकम लुटी लिएको र निजहरू भागी गएको अवस्थामा प्रस्तुत वारदात रकम लुट्ने कार्य गर्दा मृतकलाई मारेकोमा प्रतिवादीलाई कसुर ठहर गर्ने तर प्रतिवादीहरूले रकम चोरी गरेतर्फ दाबी नपुग्ने भनी गरिएको फैसला विरोधाभाषपूर्ण देखिँदा प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम रहजनी चोरीतर्फ समेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादी कसुरमा इन्कार रही अदालतमा बयान गरेको, प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानमा उल्लिखित बेहोरा र मौकामा उपस्थित रहेका चालक तेजबहादुर विष्टले गरेको कागजको बेहोरा फरक-फरक रहेको तथा वादी पक्षले आफ्नो साक्षीहरू अदालतमा उपस्थित गराउन नसकेको अवस्थामा प्रतिवादी प्रहार ढुङ्गानालाई वादी दाबीबमोजिम ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय गर्ने गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिएको र ज्यानतर्फको कसुर कायम गरेर पनि चोरीतर्फ दाबी नपुग्ने ठहर्याएको सुरूको फैसला मिलेन भनी वादी पक्षको समेत पुनरावेदन परेकोले दुवै पक्षको पुनरावेदनपत्रको छायाँप्रति एकअर्कालाई दिई पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६६/११/१८ को आदेश ।
प्रतिवादीलाई कसुरदार ठहर्याएको हदसम्म सुरू बारा जिल्ला अदालतको मिति २०६६/०३/०३ को फैसला मिलेको नदेखिएकाले सोही हदसम्म उक्त फैसला केही उल्टी भई प्रतिवादी प्रहार ढुङ्गानाले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने बेहोराको मिति २०६७/०३/१५ मा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।
अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूबाट वारदातका सम्बन्धमा सिलसिलेवार रूपमा घटनाको यथार्थ विवरण उल्लेख भई आएको अवस्थासमेतबाट उक्त अनुसन्धानबाट निस्किएको स्वाभाविक यथार्थ परिणामलाई नजरअन्दाज गरी केवल अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरू विविध कारणले गर्दा अदालतमा उपस्थित गराउनसम्म नसकिएको अवस्थालाई प्रतिवादीलाई सफाइ दिने मूल आधार बनाई भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७/३/१५ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा पर्न आएको नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीले सिलसिलाबद्ध रूपमा सम्बन्धित सबै कुरा खुलाई अभियोगदाबी स्वीकार गरी मौकामा गरेको बयान तथा निजको बयानअनुसार तरबार बरामद भएकोसमेतको प्रमाणको रोहमा सुरू बारा जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला फरक पर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०७२/०४/१८ को यस अदालतको आदेश ।
नियमबमोजिम साप्ताहिक एवं दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री कुलप्रसाद पाण्डेले प्रतिवादी वारदात भएकोमा साबित छन् । वारदातमा प्रयोग भएको तरबार सोही स्थानबाटै बरामद भएको छ जुनकुरा यी प्रतिवादीले भनेबमोजिम नै छ । यदि अन्य प्रमाणले पुष्टि हुन्छ भने वादी उपस्थित गराउन नसक्दैमा प्रमाण नपुगेको मान्न सकिँदैन । तसर्थ अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूबाट वारदातका सम्बन्धमा सिलसिलेवार रूपमा घटनाको यथार्थ विवरण उल्लेख भई आएको अवस्थासमेतबाट उक्त अनुसन्धानबाट निस्किएको स्वाभाविक यथार्थ परिणामलाई नजरअन्दाज गरी केवल अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरू विविध कारणले गर्दा अदालतमा उपस्थित गराउनसम्म नसकिएको अवस्थालाई मूल आधार बनाई भएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भनी र प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्लेले मौकाको कागजबाट वारदात पुष्टि हुँदैन । जाहेरीमा दिएको हुलियाअनुसार यी प्रतिवादीसँग केही पनि मिल्दैन । परिस्थितिजन्य प्रमाण पनि पुष्टिजन्य हुनुपर्छ । यसमा भएको अनुसन्धान वस्तुगत, प्रमाणमुखी र स्वतन्त्र छैन, बयानमुखी र विषयगत छ । यस अवस्थामा मिसिल संलग्न कागज प्रमाण, फौजदारी न्यायका मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट स्थापित नजिर र प्रचलित कानूनसमेतलाई मध्यनजर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला सदर कायम होस् भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा यी प्रत्यर्थी / प्रतिवादी प्रहार ढुङ्गानाउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. बमोजिमको कसुरमा सोही महलको १३(१) नं. बमोजिम र मुलुकी ऐन चोरीको महलको १ नं. र ५ नं. बमोजिमको कसुरमा सोही महलको १४ नं. को देहाय ३ बमोजिम सजाय हुन माग दाबी लिई अभियोगपत्र दायर भएको देखिन्छ । यी प्रत्यर्थी / प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. बमोजिमको कसुरमा सोही महलको १३(१) नं. बमोजिम जन्मकैद हुने र चोरीतर्फ दाबी नपुग्ने ठहर्याई सुरू बारा जिल्ला अदालतले फैसला गरेउपर चोरीमा समेत प्रतिवादीलाई सजाय हुनुपर्ने भन्नेसमेत वादी नेपाल सरकारको र सफाइ पाउनुपर्ने भन्नेसमेत प्रतिवादी प्रहार ढुङ्गानाको पुनरावेदन परेकोमा पुनरावेदन अदालत हेटौंडाबाट फैसला हुँदा प्रतिवादीलाई कसुरदार ठहर्याएको हदसम्म सुरू फैसला उल्टी गरी प्रतिवादीले सफाइ पाउने ठहर्याएउपर वादी नेपाल सरकारको पुनरावेदन परेको देखिन आयो ।
पुनरावेदक / वादी नेपाल सरकारले आफ्नो पुनरावेदनपत्रमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा वारदातको सम्बन्धमा सिलसिलेवाररूपमा उल्लेख गर्दै आफूसमेतले मृतकलाई तरबारले प्रहार गरी मारेको, नगद धनमालसमेत लुटेको तथ्यमा साबित भएको, मौकामा बुझिएका व्यक्तिहरूको कागज, बरामदी मुचुल्काबाट प्रतिवादीले कसुर गरेको पुष्टि भइरहेको, प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको र अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरू विविध कारणले अदालतमा उपस्थितसम्म गराउन नसकिएको अवस्थालाई सफाइको मूल आधार बनाइएको भन्ने आधारमा पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी प्रतिवादीलाई अभियोग पत्रबमोजिम सजाय हुन जिकिर लिएको पाइयो ।
प्रस्तुत मुद्दामा मिसिल संलग्न कागज प्रमाण र पुनरावेदन जिकिरसमेत अध्ययन गरी पुनरावेदक / वादी तथा प्रत्यर्थी / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूको बहस जिकिर सुनी विचार गर्दा निम्न प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
१. फौजदारी मुद्दामा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानको प्रमाणिक मूल्य के कस्तो हुने हो अथवा त्यस्तो साबिती प्रतिवादीका विरूद्धमा निरपेक्षरूपमा प्रमाणमा ग्राह्य हुने हो, होइन?
२. अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूलाई वादी पक्षले अदालतमा उपस्थित गराउन नसकेको अवस्थामा त्यस्ता अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूको भनाइ प्रमाणमा ग्राह्य हुने हो, होइन?
३. प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको आधारमा अभियोग दाबी ठहर गर्न मिल्ने हो, होइन?
४. प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन? र पुनरावेदन जिकिर पुग्नसक्ने हो, होइन?
२. प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारले प्रतिवादीले अधिकारसमक्ष बयान गर्दा वारदातको सम्बन्धमा सिलसिलेवार रूपमा उल्लेख गर्दै आफूसमेतले मृतकलाई तरबारले प्रहार गरी मारेको, नगद धनमालसमेत लुटेको तथ्यमा साबित भएको भनी जिकिर लिएको हुँदा फौजदारी मुद्दामा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानको प्रमाणिक मूल्य के कस्तो हुने हो अथवा त्यस्तो साबिती बयान प्रतिवादीका विरूद्धमा निरपेक्षरूपमा प्रमाणमा ग्राह्य हुने हो, होइन? भन्ने पहिलो प्रश्नमा विचार गर्नुपर्ने देखिन आयो । प्रस्तुत प्रश्नमा विचार गर्दा, सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ९ को उपदफा (१) मा अनुसूची १ मा उल्लिखित कुनै पनि अपराधको सम्बन्धमा तहकिकात गर्ने प्रहरी कर्मचारीले सरकारी वकिलसमक्ष सम्बन्धित अभियुक्तको बयान लिनेछ भन्ने कानूनी व्यवस्था गरिएको छ भने सो दफाको उपदफा (२) मा अनुसूची १ मा उल्लिखित कुनै अपराधको सम्बन्धमा शंकास्पद देखिएको तथा तत्सम्बन्धमा कुनै महत्त्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने कुनै मनासिब कारण भएको व्यक्तिलाई तहकिकात गर्ने प्रहरी कर्मचारीले सोधपुछ गरी आवश्यक देखेमा निजको कुरा बयानको रूपमा लेखबद्ध गरी राख्नेछ भन्ने कानूनी व्यवस्था गरिएको छ । उल्लिखित कानूनी व्यवस्थाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा उल्लिखित कुनै पनि अपराधको वारदात घटेको अवस्थामा सो वारदातमा संलग्न रहेको भनी विश्वास गरिएको सशङ्कित व्यक्तिको तहकिकात गर्ने प्रहरी कर्मचारीले सरकारी वकिलसमक्ष बयान लिन सक्दछ । यसरी लिइएको बयानमा शङ्कित व्यक्तिले उल्लेख गरेको तथ्य वा यस्तो बयानमा शङ्कित व्यक्तिले आरोपित कसुरलाई स्वीकार गरी गरेको बयानलाई अदालतमा बयान गर्दा अस्वीकार गरेको अवस्थामा पनि प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रतिवादी उपरको अभियोग दाबी प्रमाणित गर्ने भार वादी पक्षमा नै रहेको हुन्छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ९ बमोजिम शङ्कित व्यक्तिसँग तहकिकात गर्ने प्रहरी कर्मचारीले सरकारी वकिलसमक्ष लिएको बयान र अभियोग लगाई अदालतमा पेस गरिसकेपछि स्वतन्त्रतापूर्वक प्रतिवादीले गरेको प्रतिउत्तर जिकिरसरहको बयान दुवैलाई जनाउको लागि सम्बन्धित कानूनमा बयान शब्दको प्रयोग गरिएको भए पनि यी दुई बयानमा सारवान् रूपमा नै भिन्नता रहेको हुन्छ । अनुसन्धानको क्रममा भएको शङ्कित व्यक्तिको बयान मुद्दाको तहकिकातको प्रयोजनको लागि कानूनतः तहकिकात गरिने व्यक्तिलाई आफ्नो नियन्त्रणमा राखेर लिएको हुन्छ । अभियोग नै नलगाई लिइएको यस्तो बयानले अनुसन्धानको लागि महत्त्वपूर्ण सूचना तहकिकात गर्ने अधिकारीलाई उपलब्ध गराउन सक्ने भए पनि शङ्कित व्यक्तिलाई आफ्नो सफाइको जिकिर लिनसक्ने अवसर दिन सक्दैन । यसैगरी प्रतिवादीलाई सजाय गर्न माग दाबी लिई मुद्दा लगाउने वादी पक्षले नै आफ्नो नियन्त्रणमा राखेर लिएको प्रतिवादीको बयानमा उल्लिखित कुरालाई निजले अदालतमा बयान गर्दा अस्वीकार गरेको अवस्थामा वादी पक्षले अन्य ठोस र विश्वसनीय प्रमाणहरूबाट शंकारहित तवरले आफ्नो अभियोग दाबीलाई पुष्टि गर्नुपर्दछ । वादीले अन्य प्रमाण पेस गर्न नसकी केबल आफैँले अनुसन्धानको क्रममा नियन्त्रणमा राखी लिएको प्रतिवादीको बयानको आधारमा मात्र प्रतिवादीलाई सजाय गर्न जिकिर गर्नु प्रमाण ऐन, २०३१ को दफा २५ र १८ को कानूनी व्यवस्था तथा स्वतन्त्र प्रमाणबाट अभियोग पुष्टि हुनुपर्ने भन्ने फौजदारी न्यायको सामान्य सिद्धान्तसमेतको विपरीत हुन जान्छ । प्रतिवादीले अदालतमा बयान गर्दा आरोप स्वीकार गरेको अवस्थामा पनि निजको साबिती अन्य प्रमाणबाट पुष्टि हुनुपर्ने भन्ने सिद्धान्तलाई स्वीकार गरिसकेको हाम्रो फौजदारी न्याय प्रणालीले पुनरावेदकले जिकिर गरेजस्तो अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीले गरेको साबिती बयानलाई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको अवस्थामा वा अन्य स्वतन्त्र प्रमाणले प्रतिवादीउपरको आरोप पुष्टि नगरेको अवस्थामा प्रतिवादीका विरूद्धमा निरपेक्षरूपमा प्रमाणमा ग्राह्य मान्न मिल्ने देखिएन ।
३. अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूलाई वादी पक्षले अदालतमा उपस्थित गराउन नसकेको अवस्थामा त्यस्ता अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूको भनाइ प्रमाणमा ग्राह्य हुने हो, होइन? भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ७ मा प्रहरी कार्यालयलाई उक्त ऐनको अनुसूची १ मा उल्लिखित कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी प्राप्त भएमा सो प्रहरी कार्यालयको कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जाको प्रहरी कर्मचारीले यथाशीघ्र त्यसको तहकिकात गरी सबुद प्रमाण सङ्कलन गर्नुपर्ने र यसरी तहकिकात गर्ने प्रहरी कर्मचारीले यथासम्भव अपराध भएको ठाउँको विवरण, सो ठाउँको वस्तुस्थिति तथा अपराध वा अपराधीसँग त्यसको सम्बन्ध र अपराध भएको ठाउँ वा त्यसको वरपर देखिएको वा पाइएको अन्य कुनै उल्लेखनीय कुराहरू खुलाई मुचुल्का तयार गर्नुपर्ने व्यवस्था गरिएको पाइन्छ । यो कानूनी व्यवस्थाले उक्त ऐनको अनुसूची १ मा उल्लिखित कुनै पनि आपराधिक घटनाको अनुसन्धान तथा तहकिकात गर्ने क्रममा सम्बन्धित प्रहरी कर्मचारीले सो वारदात भएको देख्ने, जान्ने, थाहा पाउने वा सो घटनाबाट प्रभावित मानिस वा घटनासँग सम्बन्धित कुनै कुराको विशेषज्ञको कागज गराउन वा निजहरूबाट प्राप्त जानकारीलाई लेखबद्ध गर्न सक्दछ । यसरी अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूको मौकाको भनाइको प्रमाणमा ग्राह्यताको बारेमा प्रमाण ऐन, २०३१ को दफा १८ मा उल्लेख गरेको पाइन्छ । उक्त दफामा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्था गरी सो दफाको प्रतिबन्धात्मक व्यवस्थामा निम्न कानूनी व्यवस्था गरिएको छः-
(१) शव परीक्षणको प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट) मा सम्बन्धित विशेषज्ञले उल्लेख गरेको कुनै कुराका सम्बन्धमा मुद्दाका पक्षहरूका बीचमा कुनै विवाद नभएमा वा सो कुरा मिसिलमा देखा परेको कुनै प्रमाण वा कुनै वस्तुस्थितिसँग असङ्गत नदेखिएमा सो विशेषज्ञ अदालतमा उपस्थित नभए पनि सो कुरा प्रमाणमा लिन हुन्छ ।
(२) मुद्दाको पुर्पक्ष गर्दा अभियुक्तलाई थुनछेक गर्ने प्रयोजनको लागि अधिकारप्राप्त अधिकारीले गराएको लासजाँच मुचुल्का र मौका तहकिकात सर्जमिन मुचुल्का सो मुचुल्कामा उल्लेख भएका कुराहरू व्यक्त गर्ने व्यक्तिहरू साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान नगरे पनि थुनछेकको लागि प्रमाणमा लिन हुन्छ ।
४. उल्लिखित कानूनी व्यवस्थाले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने मानिसहरूले आफूले मौकामा व्यक्त गरेको कुरा साक्षीको रूपमा अदालतमा उपस्थित भई आफ्नो मौकाको भनाइ प्रमाणित गरेमा मात्र प्रमाणमा लिन मिल्ने हुन्छ । प्रस्तुत दफाको प्रतिबन्धात्मक व्यवस्थाको खण्ड (ख) मा गरिएको मुद्दाको पुर्पक्ष गर्दा अभियुक्तलाई थुनछेक गर्ने प्रयोजनको लागि मौकामा कागज गर्ने व्यक्तिहरूले उल्लेख गरेका कुराहरू सो व्यक्त गर्न व्यक्तिहरू साक्षीको प्रयोजनको लागि मौकामा कागज गर्ने व्यक्तिहरूले उल्लेख गरेका कुराहरू सो व्यक्त गर्ने व्यक्तिहरू साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान नगरे पनि थुनछेकको लागि प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्थाले समेत मुद्दाको सुनुवाइ गरी फैसला गर्ने चरणमा अदालतमा उपस्थित भएर बकपत्र नगर्ने मानिसहरूको मौकाको भनाइ प्रमाणमा लिन मिल्ने देखिएन । यसका अतिरिक्त अदालतले पक्षहरू आफ्नो दाबी वा जिकिरसाथ पेस गरेका प्रमाणहरूको परीक्षण गर्ने हुँदा यस्तो मौकामा कागज गर्ने व्यक्तिले अदालतमा बकपत्र गर्दा आफ्नो मौकाको भनाइलाई पुष्टि गर्न सक्दछ तर थप नयाँ भनाइ राख्न पाउँदैन र यदि नयाँ कुरा भनेमा सो हदसम्म प्रमाणमा ग्राह्य हुँदैन ।
५. प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको आधारमा अभियोग दाबी ठहर गर्न मिल्ने हो, होइन भन्ने तेस्रो प्रश्नतर्फ विचार गर्दा, प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार निरपेक्षरूपमा अभियोजन पक्षमा राखेको छ । यसैगरी सोही ऐनको दफा २७(१) ले प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजको हुनेछ भन्ने कानूनी व्यवस्था गरेको छ । फौजदारी मुद्दामा सामान्यतया आफ्नो अभियुक्तको कसुर अपराध प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षमा रहन्छ । जसले दाबी गर्छ, उसैले प्रमाणित गर्नुपर्छ भन्ने फौजदारी विधिशास्त्रको सामान्य सिद्धान्त रहेको छ । यो सिद्धान्तलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले स्वीकार गरेको छ । सरकार वादी फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गरी सो आधारमा आफ्नो अभियुक्तको अभियोग निर्धारण र अदालतमा मुद्दा दायर गर्ने दायित्व सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ ले वादी पक्षलाई दिएको छ । वादी पक्षको यो दायित्व प्रतिवादीले आफू निर्दोष रहेको वा आफूलाई सजायमा छुट वा कमी हुनुपर्ने भनी जिकिर लिएको कारणले सीमित हुने वा समाप्त हुने होइन । यस अवस्थामा पनि वादी पक्षले आफ्नो अनुसन्धानको आधारमा आफूले तयार र दायर गरेको अभियोग पत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो, विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent Elements of Crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्दछ । अभियोग पत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनुपर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित रहेको छ । कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारित गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी प्रमाणित गर्ने भार विधायिकी कानूनले अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक निरपेक्षरूपमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षमा रहन्छ । प्रतिवादीको निर्दोषिताको जिकिरको आधारमा वादीले आफ्नो दायित्वबाट फुर्सद पाउने हुँदैन । यदि वादी पक्षले आफ्नो अभियोग प्रमाणित गरेको अवस्थामा सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाइ पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको हदसम्म मात्र प्रमाण पुर्याउने भार निजमाथि रहने हो, प्रतिवादीको फुर्सद वा छुटको दाबीले वादी पक्षको विधायिकाले तोकेको दायित्वमा कमी आउने होइन । यसबाट प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान निजले पुष्टि गर्न नसकेको भन्ने आधारमा मात्र वादीले अन्य प्रमाणबाट अभियोग प्रमाणित गर्न नसकेको अवस्थामा दाबी ठहर गर्न मिल्ने देखिएन ।
६. प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? भन्ने चौथो प्रश्नमा विचार गर्दा, यी प्रत्यर्थी / प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा खाना खान बसेका ठाउँमा आफूले मगाएको खाना मृतकले खाएको कारणले मृतकसँग रिस उठेको र सोही विषयमा भनाभन भएको भन्ने आधारबाट मृतकलाई मार्ने मनसाय तत्त्व उत्पन्न भएको भन्ने देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई इन्कार गरेको अवस्था छ । यस अवस्थामा वादी पक्षले प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको मनसाय तत्त्व उत्पन्न हुने अन्य कारण रहेको भनी दाबी लिनसकेको अवस्था छैन । आफूले मगाएको खाना मृतकले खाएको कारणले रिस उठेको र सोही विषयमा भनाभन भएको कारणले मात्र मृतकलाई मार्नेसम्मको मनसाय तत्त्व उत्पन्न भएको भन्ने वादी दाबी स्वाभाविक हो भन्न मिल्ने अवस्थासमेत देखिँदैन । यी प्रतिवादीले अदालतमा कसुरमा इन्कार रही बयान गरेको र आफ्ना साक्षीसमेत पेस गरी बयानको समर्थन भएको पाइएको छ । प्रस्तुत मुद्दामा अभियोग दाबी प्रमाणित गर्ने प्रमाणको भार निरपेक्षरूपमा अभियोजन पक्षमा रहेकोमा वादी पक्षले आफ्ना कुनै साक्षी सबुद अदालतमा पेस गरी अभियोग दाबीको पुष्टि गर्न सकेको देखिँदैन । सुरू अदालतबाट पटकपटक आदेश हुँदासमेत वादी पक्षका जाहेरवालासमेतका साक्षीहरूले अदालतमा आई बकपत्र गर्न सकेको पाइएन । यसबाट अभियोजन पक्षले अनुसन्धानको क्रममा बुझेका मानिसहरूको भनाइ माथि विवेचना गरिएबमोजिम प्रमाणमा ग्राह्य मान्न मिल्ने देखिएन । प्रस्तुत मुद्दामा वादी पक्षले आफ्नो साक्षी उपस्थित गराउन नसकेको अवस्थामा पनि प्रतिवादीले सफाइ पाउनुपर्ने भनी जिकिर निजले प्रमाणित गर्न नसकेको आधारमा दाबी ठहर हुनुपर्ने भन्ने जिकिर लिई प्रस्तुत पुनरावेदन परेको देखिँदा वादीको यस्तो जिकिर प्रमाण ऐन, २०३१ को दफा २५ विपरीत भएकोले पुनरावेदक वादीको पुनरावेदन जिकिर स्थापित हुनसक्ने अवस्था देखिएन । चोरीतर्फ समेत ठोस सबुद वादी पक्षबाट पेस हुन नआएकाले सोतर्फ समेत वादी दाबी पुग्नसक्ने आधार देखिएन । यसबाट यी प्रत्यर्थी / प्रतिवादीलाई कसुरदार ठहर्याएको हदसम्म मिति २०६६/०३/०३ को सुरू बारा जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी प्रहार ढुङ्गानाले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७/०३/१५ को फैसला मिलेकै देखिन आयो ।
७. तसर्थ, उल्लिखित विवेचित आधार र कारणले वादी नेपाल सरकारले यी प्रत्यर्थी / प्रतिवादीउपरको अभियोगपत्र तयार र दायर गर्दा आधार लिएका अनुसन्धानको क्रममा संकलित प्रमाणहरूलाई अदालतमा कानूनबमोजिम स्थापित गर्न नसकेको हुँदा यी प्रत्यर्थी / प्रतिवादीलाई कसुरदार ठहर्याएको हदसम्म मिति २०६६/०३/०३ को सुरू बारा जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी प्रहार ढुङ्गानाले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७/०३/१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. मीरा खड्का
इजलास अधिकृत (शा.अ.): बिमला पौडेल
इति संवत् २०७४ साल जेठ ३१ गते रोज ४ शुभम् ।