निर्णय नं. ९९८० - अपहरण तथा शरीर बन्धक

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला मिति : २०७४।६।१
मुद्दाः- अपहरण तथा शरीर बन्धक
०७२-CR-१८८७
पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, देवाही गा.वि.स.वडा नं.९ स्थायी घर भई हाल जिल्ला कारागार कार्यालय रौतहट, गौरमा थुनामा रहेको भाग्यनारायण बैठा
विरूद्ध
प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार
०७२-CR-१८८८
पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, सरमजुवा गा.वि.स.वडा नं.५ स्थायी घर भई हाल जिल्ला कारागार कार्यालय रौतहट, गौरमा थुनामा रहेको मनोजकुमार बैठा
विरूद्ध
प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार
०७३-CR-००८६
पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, बेनौली गा.वि.स. वडा नं.२ घर भई ऐ. देवपुर गा.वि.स. वडा नं.६ मा बसोबास गरी हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको अमलदेव ठाकुर
विरूद्ध
प्रत्यर्थी / वादी : राकेश चौधरीको जाहेरीले नेपाल सरकार
पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने ।
(प्रकरण नं.१३)
सह-अभियुक्तको पोललाई विभिन्न कोणबाट मूल्याङ्कन गर्दा, विश्वसनीय र वास्तविकता प्रकट गरेको देखिन आउँछ भने प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.१५)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद फुयाल, विद्वान् अधिवक्ताहरू श्री अम्बर राउत, श्री टिकाराम भट्टराई, श्री मिलन राई, श्री केदारप्रसाद दाहाल, श्री महेश्वर श्रेष्ठ, श्री राजेश्वर तिवारी, श्री नारायण झा र श्री प्रभाकर खनाल
वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०७२, अंक २, नि.नं.९३५२
सम्बद्ध कानून :
सुरू तहबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती
भक्तपुर जिल्ला अदालत ।
पुनरावेदन तहबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत पाटन ।
फैसला
न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
भारत देश स्थायी घर भई हाल भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१६ सुर्यविनायक बाराही स्थान स्थित न्यु मुस्कान सप्लायर्सका सञ्चालक राकेश चौधरीको साढे दुई वर्षको छोरा बिटुकुमार चौधरीलाई उक्त सप्लायर्समै काम गर्दै आएको बारा जिल्ला कलैया घर बताउने वर्ष अं.२०/२२ को राजु यादवले मिति २०७१/०२/१४ गते दिनको ४:०० बजेदेखि आफ्नो साथमा लिई फरार रहेको हुँदा खोजतलास गरिपाउँ भन्नेसमेत बेहोराको महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंको मिति २०७१/०२/१५ गतेको च.नं.२२६० को खोजतलास गर्नेसम्बन्धीको हुलिया पत्र ।
बारा जिल्ला, कलैया न.पा. वडा नं.१० स्थितमा फेला परेका अमलदेव ठाकुरले लगाएको पेन्टको बायाँ साइडको खल्तीमा प्याक गरी लुकाई राखेको अवस्थामा ९८१८९४८०४६, ९८१८९४८०४९, ९८०३७०७८७६, ९८१३७०६५१३ नं. को NCELL को सिम कार्ड थान ४, ४ GB को मेमोरीकार्ड थान १, निजको दायाँ खल्तीबाट WING लेखेको मोबाइल र उक्त मोबाइलभित्र NTC को ९८४५४०१४०९ र NCELL को ९८१११०५४५० नं. को सिम र सोही मोबाइलभित्र बिटु चौधरी भन्ने बालकलाई राखेको कोठा एवं बालकको भिडियोसमेत भएको २ GB को मेमोरी कार्ड, मधेस तराई फोरमको परिचय पत्र थान १ समेत बरामद गरिएको भन्नेसमेत बेहोराको मिति २०७१/०२/२७ गते अनुसन्धानको क्रममा गरिएको खानतलासी तथा बरामदी मुचुल्का ।
मेरो छोरा बिटुकुमार चौधरीलाई मिति २०७१/०२/१४ गते अपहरण भएकोमा महानगरीय प्रहरी अपराध महाशाखाबाट सकुसल उद्दार गरी ल्याई मलाई बुझाउँदा बुझी लिएँ भनी जाहेरवाला राकेश चौधरीले छोरा बिटु चौधरीलाई बुझिलिई गरिदिएको मिति २०७१/०२/२६ गते महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोका काठमाडौंमा गरेको कागज ।
प्रतिवादी राजु यादव बिगत ३५ दिनदेखि मेरो पसलमा सहयोगीको रूपमा काम गर्दै आएका थिए । मिति २०७१।२।१४ गते निजले कामबाट छुट्टी लिए तापनि दिउँसो अं २.०० बजे निज मेरो पसलमा आई मेरो बच्चा बिटुकुमार चौधरीलाई खेलाउँदै थिए । म आफ्नै पसलको काममा व्यस्त थिएँ । त्यसपछि बच्चा के कता गयो थाहा भएन । पछि ५.०० बजेसम्म पनि बच्चा खेली कोठामा नआएको हुँदा वरपर खोजी गर्दासमेत फेला नपरेको हुँदा मेरो पसलमा काम गर्ने राजु यादवको मो नं. ९८१८९४८०४९ मा सम्पर्क गर्दा स्वीच अफ रहेको हुँदा सो समयमा प्रहरीमा सूचना गरी प्रहरीद्वारा खोजतलास गर्दै जाँदा बच्चा भारत पुर्याएको छ भनी बुझिएको र मिति २०७१।०२।१७ गते बिहान हाल नामथर वतन खुल्न आएको विपक्षी अमलदेव ठाकुरले मो.नं.९८१३७०६५१३ बाट मेरो मो.नं. ९८४९७६१८५४ र ९८०३२६९०४९ मा सम्पर्क गरी तिम्रो बच्चा मसँग छ । फिरौती डेढ करोड लिएर आउ नत्र तिम्रो बच्चा मारेर मिल्काई दिन्छौँ भनी कुरा गरेकोले यो जाहेरी दरखास्त लिई उपस्थित भएको छु । यसरी मनोजकुमार बैठा र भाग्यनारायण बैठा मेरै पसलमा टुक्रे कवाड डण्डी बिक्री गर्ने भएकोले सामान्य चिनजान रहेको र निजहरू समेतको मिलेमतोमा प्रतिवादी दिनेश सिंहसमेतका मानिसहरू भई मेरो बच्चालाई अपहरण गरी बन्धक बनाई डेढ करोड रकम फिरौती माग गरेको हुँदा निज व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा हदैसम्मको कानूनबमोजिम कारवाही गर्नुका साथै मेरो बच्चा सकुशल मुक्त गराई निजहरूबाट क्षतिपूर्तिसमेत भराई पाउँ भन्नेसमेत बेहोराको राकेश चौधरीको मिति २०७१।२।२७ गतेको जाहेरी दरखास्त ।
आजभन्दा २ वर्षअगाडि मधेस तराई फोरम नामको पार्टी खोली अमर यादव अध्यक्ष, भाग्यनारायण बैठा उपाध्यक्ष, मनोजकुमार बैठा सदस्यसमेत रही मलगायतका गाउँका मानिसहरूलाई बोलाई छलफल गरी मलाई समेत उक्त पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गरेको हुँदा उक्त पदमा रही काम गर्दै आएको अवस्थामा यकिन मिति थाहा नभएको समयमा म आफ्नो पार्टीको उपाध्यक्ष भाग्यनारायण बैठालाई निजको काठमाडौं गुर्जुधारास्थित कोठामा भेट्न जाँदा सो समयमा निजको कोठामा भारतीय नागरिक दिनेश सिंह, राजु यादव, अध्या राय, मनोजकुमार बैठासमेत रहेका थिए । राजु यादव पसलमा काम गर्दै जाहेरवालाको छोरालाई दयामाया गर्ने लिएर हिँड्ने र अध्या रायलाई राजु यादवले फोन कन्ट्याक गरी जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई इन्डियासम्म पुर्याउने काम दिएको, जाहेरवालाको छोरा अपहरणपछि पैसाको बार्गेनिङ गर्ने काम दिनेश सिंह राजपुतले गर्ने र मनोजकुमार बैठाले जाहेरवालासँग पैसा लिने सम्बन्धित ठाउँमा पुर्याउने, भाग्यनारायण बैठाको योजना र निजको निर्देशनमा जाहेरवालाको छोरालाई अपहरण गरी फिरौती रकम लिने योजना भाग्यनारायण बैठाको कोठामा गरी मैले र अध्या रायले बेलाबेलामा राजु यादवसँग काम मिल्छ मिल्दैन भनी सोध्ने गरिरहेका थियौँ । यसै क्रममा मिति २०७१।०२।१२ गते मुख्य योजनाकार र निर्देशक भाग्यनारायण बैठा र मनोजकुमार बैठाले मलाई फोन गरी काम मिल्ने भयो, तुरून्त काठमाडौंमा आउनु भनी मेरो मोबाइलमा फोन गरी बोलाएपछि मिति २०७१।०२।१३ गते बिहान काठमाडौंमा आई मैले भाग्यनारायण बैठा, मनोजकुमार बैठा, अध्या रायसमेतलाई भेटेको थिएँ । भाग्यनारायण बैठा र मनोजकुमार बैठाले भोलि मिति २०७१।०२।१४ गते राजु यादवले जाहेरवालाको छोरालाई अपहरण गरी ल्याउँछ कोही कसैले थाहा नपाउने गरी काम सफल गर्नुपर्छ भन्दै आएका थिए । जाहेरवालाको छोरालाई अपहरण गर्न मनोजकुमार बैठाले इन्डियाबाट छक्कासमेत ल्याई निजलाई कलंकीमा राखेका थिए । मिति २०७१।०२।१४ गते साँझ १६.०० बजेको समयमा म, मनोजकुमार बैठा भक्तपुर सुर्यविनायक स्थितमा गई राजु यादवले जाहेरवालाको छोरालाई चक्लेट खुवाउँदै घरबाट बाहिर ल्याएपछि मेरो आफ्नै नाममा रहेको बा.३ प.७४८५ नं. को हिरो होण्डा मोटरसाइकलमा म आफैँले चलाई राजु यादवलाई मोटरसाइकल पछाडि र बच्चालाई बीचमा राखी जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई फिरौती माग्ने उद्देश्यले अपहरण गरी हामी ३ जनाले कलंकी लगी सो स्थानबाट म, मनोजकुमार बैठा, राजु यादव र इन्डियन छक्का गरी ४ जना मिली जाहेरवालाको छोरालाई पूर्व धरान जाने गाडीमा चढाई पथलैया पुगी सो स्थानबाट ट्रकमा बसी वीरगञ्ज हुँदै टेम्पोमा रक्सौल लगी त्यहाँबाट रेल्वे स्टेसन हुँदै जीपबाट इन्डियाको घोडासन पुर्याई राजु यादवले जाहेरवालाको छोरालाई लिएर बसेका थिए । मनोजकुमार बैठा दुई तीन दिनपछि काठमाडौं आएको थियो । बिटु चौधरीलाई अपहरण गरी बन्धक बनाई निजको अभिभावकलाई फिरौती रकम माग्दा ९८१३७०६५१३ एनसेलको सिम प्रयोग गरी म र अध्या राय यादवसँगै बसी फिरौती रकम रू.१,५०,००,०००।– (एक करोड पचास लाख) मागेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी अमलदेव ठाकुरले मिति २०७१।३।१ गते अनुसन्धानको क्रममा गरेको बयान कागज ।
मैले मनोजकुमार बैठा, भाग्यनारायण बैठा, अमलदेव ठाकुर, राजु यादव र अध्या रायसमेतका व्यक्तिहरूलाई राम्ररी चिन्दछु । मानिस अपहरण गरी फिरौती माग्ने सो कार्यको लागि भाग्यनारायण बैठाले मानिस पहिचान गरी खबर गर्नेलगायतका विषयमा छलफल गरी सहमत भई हामी छुट्यौ । मिति २०७१ सालको वैशाख महिनातिर अमलदेव ठाकुर, भाग्यनारायण बैठासमेतले हाम्रो योजना सेट भयो काठमाडौं आउनु भनेको हुँदा म पुनः काठमाडौं गुर्जुधारास्थित भाग्यनारायण बैठाको कोठामा आउँदा जाहेरीमा उल्लेख भएको भाग्यनारायण बैठा, मनोजकुमार बैठा, अमलदेव ठाकुरसमेतका मानिस निजको कोठामा थिए । त्यसपछि भाग्यनारायण बैठाले मनोजकुमार बैठाको साथी राकेश चौधरीको भक्तपुरमा न्यू मुस्कान सप्लायर्स कवाडी पसल छ निजको बच्चा अपहरण गर्नुपर्छ, निजसँग टन्न पैसा छ, फिरौती माग्नु पर्छ भनी यसको लागि मनोजकुमार बैठा, राकेश चौधरीको चिनजानको साथी रहेकोले निजले राजु यादवलाई राकेश चौधरीको कवाड पसलमा काम लगाउने, राजु यादवले राकेश चौधरीको बच्चालाई ललाई फकाई आफूप्रति आकर्षित गराउने र कन्ट्रक्याट गरेको समयमा निजलाई लिई हिँड्ने, अमलदेव ठाकुर, अध्या रायले राजु यादवसँग फोन सम्पर्क गरी बच्चा अपहरण गरी बच्चालाई इन्डियासमेत पुर्याउने र मैले भारतमा निज बच्चालाई बन्धक बनाई राख्ने, फिरौती माग्ने, भाग्यनारायण बैठाले उक्त सबै कुराको मनिटर गरी निर्देशन दिने योजना भाग्यनारायण बैठाको गुर्जुधारास्थित कोठामा भाग्यनारायण बैठाकै प्रस्तावमा बनाएका हौं । मिति २०७१।२।१४ गते म भारतको कोडार भन्ने ठाउँमा थिए । साँझको समयमा अमलदेव ठाकुरले निजको मोबाइलबाट मलाई ९७०८१५६३६१ नं. मा फोन गरी बच्चा हामीले अपहरण गरी लिएर आइसकेका छौं । राजु यादव, मनोजकुमार बैठा, इन्डियन छक्का (लेडिज) समेत छौं । हामी लिएर आउँदै छौं । इन्डियामा व्यवस्था मिलाउँदै गर भनेका थिए । भोलिपल्ट बिहान अ.०८.०० बजेको समयमा पुनः अमलदेव ठाकुरले फोन गरी हामी वीरगञ्जमा आइपुग्यौं । यहाँ बच्चा राख्ने व्यवस्था भएन कतै व्यवस्था गर्नुपर्यो भनी भनेको हुँदा भारत घोडासन बस्ने सुरेन्द्र ठाकुरलाई मैले नेपाली बच्चा अपहरण गरी ल्याएको छ राखिदिनु पर्यो भन्दा निजले मसँग राख्ने स्थान छैन । धेरैदिन राख्न सक्दिन । एक दिनको लागि राख्न भन्यौं, त्यसपछि मैले अमलदेव ठाकुरलाई फोन गरी घोडासनदेखि छेउमा रहेको मवाही ग्राममा रहेको सुरेन्द्र ठाकुरकोमा पुर्याई दिनु भनेँ । राजु यादवले बच्चा बिटुकुमार चौधरीलाई छोडी आयो । त्यसको भोलिपल्ट सुरेन्द्र ठाकुरले बच्चा राख्न सक्दिन अन्तै व्यवस्था गर भनेको हुँदा उक्त स्थानमा रहेको राधेश्याम मुखियाको घरमा एक महिनाको रू.४ लाख नेपाली रूपैयाँ दिने गरी उक्त बच्चा राखेको हुँ । म भाग्यनारायण बैठा, मनोजकुमार बैठा, अमलदेव ठाकुरसमेतका जाहेरीमा उल्लिखित सम्पूर्ण प्रतिवादीहरू भई जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई अपहरण गरी भारतसम्म बन्धक बनाई फिरौती रकम माग्ने उद्देश्यले लगेका हौं । अमलदेव ठाकुर, मनोज बैठासमेतले जाहेरवालाको मोबाइल न.मा फोन गरी डेढ करोड रकम फिरौती मागेको थियो । उक्त रकम लिन नपाउँदै घटनामा संलग्न व्यक्तिहरू प्रहरीद्वारा पक्राउमा परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी दिनेशसिंह राजपुतले मिति२०७१।३।१० गते अनुसन्धानको क्रममा गरेको बयान कागज ।
मैले काठमाडौंस्थित गुर्जुधारामा रहेको मेरो कोठामा अमलदेव ठाकुर, मनोजकुमार बैठालगायत भारतीय नागरिकहरू दिनेश सिंह राठौर, राजु यादव र अध्या रायलाई बोलाई कहिले पनि बसेको छैन । निजहरूसँग मेरो भेटघाट भएको छैन । मेरो योजनामा जाहेरवालाको छोरा अपहरण गरी बन्धक बनाइएको होइन । मबाट यस्तो काम भएको छैन । म मधेस तराई फोरम पार्टीमा उपाध्यक्ष भई पार्टी खोल्दा अमलदेव ठाकुर पनि सोही पार्टीमा केन्द्रीय सदस्यको पदमा काम गर्दै आएका थिए । सो अवधिमा हाम्रो पार्टीको गोप्य कुराहरू ए.ने.क.पा. माओवादीका व्यक्तिहरूलाई सुनाउने भएकोले निजसँग बेलाबेलामा वादविवाद भई रहन्थ्यो । यसरी आफ्नो पार्टीमा काम गर्ने व्यक्तिहरू विश्वासिलो नभएकोले म तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेपछि निज अमलदेव ठाकुर ए ने.क.पा. माओवादी पार्टीमा प्रवेश गरेका थिए । त्यसबेलादेखि मेरो र अमलदेव ठाकुरबीच रिसइवी राखी बोलचाल हुँदैन थियो । सोही कारणले गर्दा यो अपहरण घटनामा निजले मेरो नामसमेत घटनामा जोडी फसाउने नियतले गरेको हो । अमलदेव ठाकुर पक्राउ परेपछि रिसइवीको कारण मलाई उक्त घटनामा संलग्न छ र मेरै योजनामा उक्त अपहरण घटना भएको हो भनी लेखाइदिएपछि जाहेरवालाले मेरो नाममा समेत किटानी जाहेरी दरखास्त पेस गरेको हो । जाहेरवालाको छोरा अपहरण भई बन्धक बनाई उद्धारसमेत गरी जाहेरवालालाई बुझाइसकेको हुँदा घटना भएको हो । सो घटना कसरी भयो को को भई उक्त घटना घटाई बन्धक बनाई फिरौती रकम मागेका हुन् मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी भाग्यनारायण बैठाले मिति २०७१।३।११ गते अनुसन्धानको क्रममा गरेको बयान कागज ।
जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई मसमेत संलग्न भई अपहरण गरी फिरौती रकम मागेको होइन । उक्त घटना कहिले भएको हो, को को भई घटना घटाएका हुन् ? मलाई थाहा भएन । प्रहरीले मलाई पक्राउ गरेपछि उक्त घटना सम्बन्धमा सुनी थाहा पाएको हुँ । उक्त घटनामा को कसले फिरौती रकम मागेका हुन्, सो मलाई थाहा भएन । मलगायत जाहेरी दरखास्तमा उल्लिखित व्यक्तिहरू भाग्यनारायण बैठाको कोठामा बसी जाहेरवालाको छोरालाई अपहरण गरी फिरौती रकम माग्नु पर्छ भन्ने सहमति भएको छैन । मिति २०७१।२।१४ गते अमलदेव ठाकुरसँग म जाहेरवालाको छोरा अपहरण गर्न गएको छैन । मलाई यो विषयमा केही थाहा छैन । भारतीय नागरिकहरू राजु यादव, दिनेश सिंह राजपुत र अध्या रायलाई म चिन्दिन । निजहरूसँग मेरो कुनै लेनदेन केही छैन । अमलदेव ठाकुर मेरो कवाडी पसलमा आई छोरालाई विदेश पठाउन लागेको रू.५० हजार अपुग भयो मलाई सापटी दिनु भनेपछि मैले उक्त रकम दिएको थिएँ । उक्त सापटी लगेको लामो समय बितिसक्दा पनि नदिएपछि मेरो मोबाइल नं. ९८५११५८४१९ बाट निजले चलाउँदै आएको ९८४५४०१४०९ नं. मा सोही लेनदेन सम्बन्धमा कुरा हुन्थ्यो । मेरो र अमलदेव ठाकुरको सोही लेनदेनको कारण विवादसमेत भएको थियो । सोही कारणले गर्दा उक्त घटनामा संलग्न छ भनी मलाई फसाउने नियतले मेरो नामसमेत घटनामा संलग्न छ भनी लेखाई दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी मनोजकुमार बैठाले मिति २०७१।३।१ गते अनुसन्धानको क्रममा गरेको बयान कागज ।
प्रहरीले बरामद गरेको बरामदी मुचुल्कामा उल्लिखित मोबाइल, सिम, मेमोरी कार्ड, स.चा.अ.प., मधेस तराई फोरमको परिचय पत्र मेरै साथबाट बरामद भएको हो । देखाउँदा देखी, हेरी, चिनी सनाखत गरिदिएँ । मेरै साथबाट बरामद भएको ९८१८९४८०४६, ९८१८९४८०४९ र ९८१३७०६५१३ नं. को सिम मलाई मनोजकुमार बैठाले र ९८०३७०७८७६ नं. को सिम भाग्यनारायण बैठाले जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग्नुपर्छ भन्ने सहमति भई अपहरण घटना घटाउने प्रयोजनको लागि र फिरौती रकम माग्नको लागि निजहरूले उक्त सिमहरू मलाई दिएका हुन् र मेरै साथबाट बरामद भएको ९८४५४०१४०९ र ९८१११०५४५० नं. को सिम मेरै आफ्नै नाममा कलैया बाराबाट निकालेको हुँ । मसमेत संलग्न भई जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई भिडियो खिचिएको मेमोरी कार्डसमेत मेरै साथबाट बरामद भई भिडियो देखाउँदा देखी चिनी सो भिडियो जाहेरवालासँग फिरौती रकम माग्दा विश्वास दिलाउनको लागि दिनेश सिंह राजपुतले खिचेको भिडियो उक्त भिडियोसहितको मेमोरी दिनेशसिंह राजपुतले मैले नचिनेको महिलालाई दिई पठाएकोले मैले उसैसँग लिएको हुँ । उक्त घटना भाग्यनारायण बैठाकै योजनामा निजकै निर्देशनअनुसार कामको जिम्मेवारी लिई मनोजकुमार बैठाले जाहेरवालाको छोरालाई देखाउने, चिनाउने, घटना भएपछि फिरौती रकमको कारोबार निजले नै गर्ने सहमति भई मसँग उक्त वारदात मितिमा भक्तपुर सुर्यविनायकमा आई जाहेरवालाको छोरालाई अपहरण गरी म, मनोजकुमार बैठा, राजु यादव र इन्डियन छक्कासमेत भई बालकलाई इन्डियाको घोडासनमा पुर्याई दिनेशसिंह राजपुतलाई छाडी आएका हौं । भाग्यनारायण बैठा र मनोजकुमार बैठासँग मेरो कुनै पूर्वरिसइवी, झैं–झगडा लेनदेन केही छैन । निजहरूलाई मैले फसाउने नियतले घटनामा संलग्न छ भनी आरोप लगाएको होइन । उक्त घटनामा निजहरू दुवै जना संलग्न छन् । आफूले गरेको अपराधबाट छुटकारा पाउनको लागि घटनाको बारेमा केही थाहा छैन भनी भनेका हुन् । निजहरू दुवै जना प्रत्यक्ष संलग्न छन् भन्नेसमेत बेहोराको अमलदेव ठाकुरले मिति २०७१।३।१ गते अनुसन्धानको क्रममा गरेको ततिम्बा बयान कागज ।
जाहेरवालाको कवाडी पसलमा घटना हुनुभन्दा एक महिना अगाडिदेखि भारत घर बताउने राजु यादव भन्ने व्यक्ति कवाडमा काम गर्न बसेका थिए । निज आएदेखि जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई माया गर्ने, सँगै लिएर हिँड्ने गर्दै आएको थियो । यसै क्रममा मिति२०७१।०२।१४ गते १६.०० बजेको समयमा निज राजु यादवले जाहेरवालाको छोरालाई हातमा समाई चकलेट खुवाउँदै कवाडी पसलबाट बाहिर बजारमा लगेका थिए । निजले सधैँ जाहेरवालाको छोरालाई लिएर हिँड्ने भएकोले हामीहरूले वास्ता गरेनौं । साँझसम्म निजले बिटुकुमार चौधरीलाई कवाडी पसलमा नल्याएपछि जाहेरवालालगायत हामीहरू समेत भई खोजतलास गर्दा कहीँकतै फेला परेन । निज राजु यादव भन्ने व्यक्तिको मोबाइलमा सम्पर्क गर्दासमेत मोबाइल स्वीच अफ थियो । जाहेरवालाको छोरालाई खोज्दा कहीँकतै भेटिएको थिएन । खोजी कार्य भइरहेको थियो । मिति २०७१।०२।१७ गते बिहान अमलदेव ठाकुर र अध्या राय भन्ने व्यक्तिले जाहेरवालाको मोबाइलमा फोन गरी तिम्रो बच्चा हाम्रो नियन्त्रणमा छ । १ करोड ५० लाख लिएर आउ नभए बच्चा मारी दिन्छौं भनेछन् । अब के गर्ने धेरै पैसा कहाँबाट ल्याउने भनी जाहेरवालाले हामीहरूलाई भनेपछि बिटुकुमार चौधरीलाई राजु यादव भन्ने व्यक्तिले अपहरण गरी लगेको हो भनी थाहा पाएका हौं । निज व्यक्तिले योजना बनाई जाहेरवालाको कवाडी पसलमा काम गरी बिटुकुमार चौधरीलाई अपहरण गरी लैजाने नियतले आएको रहेछ । केही दिनपछि जाहेरवालालाई फोन गर्ने अमलदेव ठाकुर भन्ने व्यक्ति पक्राउ परेपछि जाहेरवालाको छोरालाई अमलदेव ठाकुर, मनोजकुमार बैठा, भाग्यनारायण बैठा र भारतीय नागरिकहरू दिनेश सिंह राजपुत, राजु यादव, अध्या रायसमेतका व्यक्तिहरू संलग्न भई अपहरण गरी बन्धक बनाई भारतको घोडासनमा पुर्याई उक्त फिरौती रकम मागेका हुन् । निज प्रतिवादीहरूले पूर्वयोजना बनाई उक्त घटना घटाएका हुन् । निजहरूले मागेको फिरौती रकम लिन दिन नपाउँदै पक्राउ परेकोले बालकको उद्धार भएको हो । अपहरणकारीहरूले मागेको फिरौती रकम जाहेरवालाले दिन नसक्ने अवस्था थियो । उक्त फिरौती रकम नपाएपछि अपहरणकारीहरूले निज बालकलाई ज्यानसमेत लिने गर्दथ्यो होला । यसरी दु:ख सुख गरी जीविकोपार्जन गर्दै आएको सामान्य परिवारको व्यक्तिको बच्चा अपहरण गरी बन्धक बनाई फिरौती माग्ने गरेको हुँदा जाहेरीमा उल्लिखित प्रतिवादीहरूलाई कानूनबमोजिम कडा कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको विकाशकुमार यादव र दिपक रियालसमेतले गरिदिएको एकै मिलानको मिति२०७१।३।१३ गतेको अनुसन्धानको क्रममा गरेको छुट्टाछुट्टै घटना विवरण कागज ।
मिति २०७१।०२।१४ गते दिनको १६.०० बजेको समयमा मेरो छोरा बिटुकुमार चौधरी मेरो वरिपरि खेलिरहेको थियो । उक्त वारदात घटनाभन्दा अ.१ महिनाअगाडि कलैया घर बताउने राजु यादव भन्ने व्यक्ति मेरो श्रीमान्ले सञ्चालन गर्दै आएको कवाडी पसलमा काम गर्न बसेको थियो । निजले मेरो छोरालाई धेरै माया गर्दथ्यो । उक्त दिन पनि निजले मेरो छोरालाई नास्ता खुवाउँछु एकैछिन डुलाएर लिएर आउँछु भनी लिई गएको थियो । अघिपछि पनि निजले घुमाउन लाने गरेकोले त्यति वास्ता गरिनँ । अबेरसम्म लिई नआएको हुँदा कवाडी पसलमा काम गर्ने अन्य व्यक्तिहरूलगायत म, मेरो श्रीमान् भई भक्तपुर एरियामा खोजतलास गर्दा फेला परेन, राजु भन्ने व्यक्तिको मोबाइलमा फोन सम्पर्क गर्दासमेत मोबाइल अफ रहेको हुँदा निज राजु यादवले मेरो छोरालाई अपहरण गरी लगेको भन्ने शंका लागेको थियो । मिति २०७१।०२।१७ गते बिहान एक्कासी मेरो श्रीमान्को मोबाइलमा फोन गरी तिम्रो छोरा हाम्रो कब्जामा छ रू १ करोड ५० लाख फिरौती दिएमा छोडिदिन्छौं नत्र जे पनि हुनसक्छ भनी फोनमा भनेपछि मेरो छोरालाई अपहरण गरी बन्धक बनाई राखेको रहेछ भन्ने पूर्ण विश्वास लागेको थियो । मेरो छोरा बिटुकुमार चौधरीलाई जाहेरी दरखास्तमा उल्लिखित राजु यादव, अमलदेव ठाकुरलगायतका व्यक्तिहरूले भक्तपुर कमलविनायकस्थित हाम्रो कवाडी पसल अगाडिबाट अपहरण गरी मोटरसाइकलमा कलंकीमा पुर्याई सो स्थानबाट गाडीमा राखी वीरगञ्ज हुँदै भारतको घोडासनमा पुर्याई मेरो छोरालाई बन्धक बनाई फिरौती रकम मागेका हुन् । अपहरणकारीले फिरौती रकम माग्दामाग्दै प्रहरी टोलीले घटनामा संलग्न अमलदेव ठाकुर, मनोजकुमार बैठा, भाग्यनारायण बैठा, दिनेश सिंह राजपुतसमेतका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी प्रहरीद्वारा मेरो छोरालाई इन्डियास्थित घोडासनबाट सकुशल उद्धार गरेको हो । निज व्यक्तिहरूले मेरो छोरालाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती रकमसमेत मागेको हुँदा निजहरूलाई कानूनबमोजिम कडा कारवाही गरिपाउँ भन्नेसमेत बेहोराको मेनुका जैसवाल चौधरीले मिति २०७१।३।१३ गते अनुसन्धानको क्रममा गरिदिएको घटना विवरण कागज ।
मलाई राजु अंकलले चक्लेट खान दिएर हातमा समातेर घुमाउन घरबाहिर बाटोमा आएको, हिँड्दाहिँड्दै पिपिया बाइकमा राजु अंकल म बसी पिपिया बाइक अर्कोले चलाएर लगेको, त्यसपछि चार जनासमेतले गाडीमा राखी मलाई बिस्कुट, चाउचाउ, चक्लेट खुवाउँदै लगेको हो । चार जना मान्छेमध्ये राजु अंकललाई चिन्छु । अरूलाई चिन्दिन । मलाई इन्डिया लगेको हो । मैले ममीलाई नदेखेको हो, मलाई कसरी ममीलाई भेट्न ल्याए थाहा भएन भन्नेसमेत बेहोराको बिटुकुमार चौधरीले मिति २०७१।३।१३ गते अनुसन्धानको क्रममा गरेको कागज ।
प्रतिवादी अमलदेव ठाकुरलाई २०६८ साल तिर बा.३ प.७४८५ नं. को मोटरसाइकल मैले रू.२० हजारमा बेचेको हो । किनेपश्चात् निज १।२ चोटी उक्त मोटरसाइकल बनाउन मेरो वर्कसपमा आएका थिए । मिति २०७१।०२।१४ गते साँझ अ.१८.३० बजेतिर पनि निजले मोटरसाइकल बिग्रियो यहीँ राखिदिनु म भोलि लिन आउँछु भनी मेरो वर्कसपमा राखी गएको थियो । भोलिपल्ट आई लिई गएको हो । निज उक्त मोटरसाइकल लिई आउँदा जाँदा एक्लै आएको थियो । निजले के कहाँबाट कस्तो घटना घटाए मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रेम महर्जनले मिति २०७१।३।१३ गते अनुसन्धानको क्रममा गरिदिएको कागज ।
जाहेरीमा उल्लिखित फिरौती माग्न प्रयोग गरेको भनिएको ९८१३७०६५१३ नं. को मोबाइल नं. जिल्ला सर्लाही नोर्केलवा गा.वि.स. वडा नं.८ बस्ने वर्ष २० को दुर्गाप्रसाद यादवको नाममा रहेको छ भन्ने अपहरण घटना घटेपश्चात् प्रहरीले निजको खोजी गर्ने क्रममा मैले थाहा पाएको हुँ । निज दुर्गाप्रसाद यादव मेरो आफ्नै छोरीको छोरा नाति पर्ने मानिस हुन् । मिति २०७० साल मङ्सिर १४ गते दुर्गाप्रसाद यादव पढ्नको लागि अस्ट्रेलिया गएको हो । निज नेपालमा रहँदा बस्दा ९८१३८८९५७६ र ९८०३८८९७५० नं. को सिम कार्ड दुवै आफ्नो नाममा निकाली प्रयोगमा ल्याएका थिए । उक्त सिमकार्ड निजसँगै छ । निजको नागरिकता २०६८ सालअगावै हराएको हुँदा उक्त बेहोराको जानकारी तत्काल जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दिई मिति २०६८।०६।२२ मा प्रथम नागरिकताको प्रतिलिपि लिएको हो । अपहरणमा प्रयोग गरेको ९८१३७०६८१३ नं. को सिम दुर्गाप्रसाद यादव स्वयम् उपस्थित भई निजले लिएको होइन । निजको हराएको नागरिकताको प्रयोग गरी अपहरणकारीले उक्त सिम लिएको हुन सक्छ । निजको नामबाट पटक–पटक सिम निकालिएको पाइएकोले उक्त सिम कार्डहरू रद्द गर्नसमेत मैले निवेदन दिइसकेको छु । जसले गर्दा अपहरण घटनामा मेरो नाति दुर्गाप्रसाद यादवको कुनै संलग्नता छैन । निजको हराएको नागरिकताबाट प्रतिवादी भाग्यनारायण बैठासमेतका अपहरणकारीले निकाली मेरो नातिलाई फसाउन उक्त कार्य गरेको हो भन्नेसमेत बेहोराको राम प्रताप रायले मिति २०७१।३।१३ गते अनुसन्धानको क्रममा गरेको कागज ।
जिल्ला काठमाडौं बलम्बु गा.वि.स. वडा नं. १ स्थितमा नारायण सुर्खेतीको घरको दोस्रो तल्लाको दक्षिणतर्फको कोठामा प्रतिवादी भाग्यनारायण बैठा डेरा लिई बस्ने गरेको भनिएको, उक्त कोठामा खानतलासी गर्दा अपहरण तथा शरीर बन्धक मुद्दामा प्रमाणमा लाग्ने चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको मिति २०७१।३।१५ गते अनुसन्धानको क्रममा गरेको खानतलासी तथा बरामदी मुचुल्का ।
Using the ESS, an evidence-based, normed, and standardized protocol for test data analysis, the grand total score of -4 equals the required cut-score of -4 for deceptive test. The level of statistical significance, is calculated at p=0.043, which is less than the required alpha boundary (a=.05), and indicates that only small proportion of truthful persons (4.3%) will produce an equal or greater test score. These results support the conclusion that there is DECEPTION INDICATED by the physiological responses to the test stimulus questions during this examination. The examinee’s apparent lie regarding the target the issues under investigation during this examination does not preclude the possibility of additional information pertaining to issues outside the scope of this investigation, and any specific allegations or concerns should be investigated further until satisfactorily resolved. These test result are limited to the above reported target issues of concern and cannot be taken as a direct indicator of general or overall dishonesty and untrustworthiness. Instead, information in this report may be incorporated in a decision-support capacity in support of other assessment and investigative activities. भन्नेसमेत बेहोराको भाग्यनारायण बैठाको Polygraph Examination Report.
Using the ESS, an evidence-based, normed and standardized protocol for test data analysis, the grand total score of -17 exceeds the required cut-score of -4 for deceptive test. The level of statistical significance, is calculated at p=0.001, which is less than the required alpha boundary (a=.05), and indicates that only small proportion of truthful persons (0.1%) will produce an equal or greater test score. These results support the conclusion that there is DECEPTION INDICATED by the physiological responses to the test stimulus questions during this examination. The examinee’s apparent deception regarding the target the issues under investigation during this examination does not preclude the possibility of additional information pertaining to issues outside the scope of this investigation, and any specific allegations or concerns should be investigated further until satisfactorily resolved. These test result are limited to the above reported target issues of concern and cannot be taken as a direct indicator of general or overall dishonesty and untrustworthiness. Instead, information in this report may be incorporated in a decision-support capacity in support of other assessment and investigative activities. भन्नेसमेत बेहोराको मनोजकुमार बैठाको Polygraph Examination Report.
प्रतिवादी मनोजकुमार बैठालाई निज पनि काठमाडौंको बानेश्वरमा कवाडी पसल सञ्चालन गर्ने भएकोले निजले ढलान डण्डी ल्याई म कहाँ बेच्न ल्याउने क्रममा एक वर्ष अगाडिदेखि चिनेको हुँ । घटना हुनुभन्दा ४५।४६ दिन अगाडि निजले एक जना गरिब मान्छे छ । तिम्रो पसलमा काम लगाउनु पर्यो भनी २।३ पटक अनुरोध गरेकोले इमानदार छ भने ल्याई देऊ भनी मैले भनेको थिएँ । घटना हुनुभन्दा अ.३५ दिन अगाडि निजले बारा जिल्लाको कलैया घर बताउने राजु यादवलाई लिई आई मेरो कवाडी पसलमा काम लगाएको थियो । निज राजु यादव मेरो पसलमा काम गर्न थालेपछि पनि मनोजकुमार बैठाले निजलाई फोन सम्पर्क गरिरहन्थ्यो भन्नेसमेत बेहोराको जाहेरवाला राकेश चौधरीले गरिदिएको कागज ।
मिसिल संलग्न तथ्य कागज प्रमाणबाट जाहेरवाला राकेश चौधरीको अढाई वर्षको नाबालक छोरा बिटुकुमार चौधरीलाई प्रतिवादीहरू भाग्यनारायण बैठासमेतको योजनाअनुसार निजकै चिनजानका भारतीय नागरिक राजु यादवलाई जाहेरवालाको सूर्यविनायक बाराहीस्थान स्थित न्यू मुस्कान सप्लायर्समा एक महिनाअगाडि काममा लगाई दिएको र निज प्रतिवादी राजु यादवले बच्चालाई मिति २०७१।२।१४ गते जाहेरवालाको घरबाट बाहिर निकाली अमलदेव ठाकुरको मोटरसाइकलमा राखी निज अमलदेव ठाकुर, मनोजकुमार बैठा, राजु यादवसमेतले भारत घोडासन भन्ने ठाउँमा लगेको र प्रतिवादी दिनेश सिंहले राधेश्याम मुखिया, सुरेन्द्र ठाकुरसमेतको सहयोगमा उक्त अपहरित बालकलाई त्यहाँ राखेको, प्रतिवादीहरूले जाहेरवालासँग एक करोड पचास लाख फिरौतीबापतको रकम माग गरेको, सो रकम माग गर्न प्रयोग भएको सिम कार्डहरू बरामद भएको, अपहरित बालकको फोटोसहितको मेमोरी कार्ड बरामद भएको, अपहरित बालकले गरेको कागज, अपहरण गर्न प्रयोग भएका विभिन्न मोबाइल नं. (९८०३७०७८७६ र ९७०८१५६३६१) तथा फिरौती माग गर्न प्रयोग भएको ९८१३७०६५१३ नं. को मोबाइल नं. हरूको Call details बाट समेत विरूद्ध खण्डका प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा, दिनेश सिंह राजपुत, अमलदेव ठाकुरसमेत हाल फरार रहेका राधेश्याम मुखिया, सुरेन्द्र ठाकुर, अध्या राय, राजु यादव, भारतीय छक्का र एक जना लेडिजसमेतको प्रत्यक्ष संलग्नतामा संगठितरूपमा भाग्यनारायण बैठाको योजनाबमोजिम जाहेरवालाको नाबालक छोरा बिटुकुमार चौधरीलाई अपहरण गरी भारतमा लगी बन्धक बनाई फिरौती मागेको र फिरौती रकम बुझाउन नपाउँदै बालकको सकुशल उद्धार गरिएको पुष्टि भएकोले निज विरूद्ध खण्डका प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीतको कसुर भएकोले निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. बमोजिम सजाय गरी सोही महलको ७ र ९ नं. बमोजिम थप सजायसमेत हुन र जाहेरवाला तथा पीडित बालकलाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिको विचार गरी सोही महलको १२ नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउन र वारदातमा प्रयोग भएका बरामदित सामानहरू र बा.३ प.७४८५ नं. को मोटसाइकलसमेत जफत हुनुका साथै प्रतिवादी दिनेशसिंह राजपुत हाल जिल्ला प्रहरी कार्यालय, बारामा हातहतियार खरखजना मुद्दामा पक्राउ परी बारामा रहेको हुँदा निजको हकमा त्यँहा सम्मानित अदालतबाटै झिकाई कानूनबमोजिम गरी पाउन र उक्त मुद्दामा वारदातपश्चात् फरार रहेका अध्या राय, राजु यादव, राधेश्याम मुखिया, सुरेन्द्र ठाकुर, इन्डियन छक्का, मेमोरी कार्ड लिई आउने महिलासमेतको हकमा यकिन नाम थर वतन खुली आएको बखत मुलुकी ऐन, अ.बं. को ८८ नं. बमोजिम पुरक अभियोग पत्र पेस गरिने, साथै प्रतिवादी अमलदेव ठाकुरका हकमा निज विरूद्ध जिल्ला प्रहरी कार्यालय बारामा शम्भुप्रसाद प्रजापतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निजसमेत भएको कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानमा रहेको भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरवालासँग चिनजान छैन, प्रतिवादीमध्येका दिनेश सिंह इन्डियन मानिस हो, मनोज बैठा, भाग्यनारायण बैठा र मसमेत मधेस तराई फोरम पार्टीका नेता कार्यकर्ता हुँदा चिनजानबाहेक अरू केही छैन । म कलैयामा फर्निचर पसल गरी बसेकोमा भाग्यनारायण बैठाले काम छ भनी काठमाडौं बोलाई बानेश्वरमा रहेको मनोजको कवाडी पसलमा जम्मा भएपछि भाग्यनारायण बैठाले राकेश चौधरीसँग धेरै पैसा भएकोले उसको छोरालाई अपहरण गर्ने योजनाबमोजिम राकेश चौधरीको कवाडी पसलमा काम गर्ने राजु यादवमार्फत बच्चा अपहरण गरी मेरो बा. ३ प. ७४८५ नं.को मोटरसाइकलमा राखी कलंकी पुर्याई, त्यँहाबाट पूर्वको गाडीमा राखी पथलैयाबाट ट्रकमा राखी वीरगंज पुर्याई वीरगञ्जबाट ट्याम्पोमार्फत रक्सौल र रक्सौलबाट जिप चढी भारतको घोडासनसम्म पुर्याउन बच्चा लैजाने योजनाकार मनोज बैठा भएकोले मैले सजाय पाउने होइन । बच्चा दिन म, राजु यादव, मनोजकुमार बैठा र एउटा भारतीय छक्का गएका थियौं । मेरो मोबाइल नं.९८४५४०१४२९ र भाग्यनारायण बैठा मोबाइल नं.९८१३७०६५१३ हो साथै अरू ३ वटा सिम अपहरणमा प्रयोग गर्न भनी मनोज बैठाले दिएका हुन् । खानतलासी मुचुल्कामा उल्लेख भएका सिम, मोबाइल मेरो साथबाट बरामद भएकोमा उक्त सिम मोबाइल भाग्यनारायणले दिनेश सिंहलाई दिन भनी दिएका हुन् । मेरो मोबाइल नं. ९८१३७०६५१३ बाट अध्या रायले फिरौती माग गरी उक्त सिम कार्डहरू मलाई छाडेकोले मसँगबाट बरामद भएको हो । बच्चा अपहरणका योजनाकार भाग्यनारायण, मनोज बैठा, मेरो, राजु यादव र भारतीय छक्काको संलग्नता छ । मनोज बैठाले को सँग पैसा टन्न छ भनी पत्ता लगाउने, भाग्यनारायण बैठाले अपहरणको योजना बनाउने, दिनेश सिंहले आवश्यक हात–हतियारको व्यवस्था मिलाउने र अपहरण गरेको बच्चा घोडासनबाट जिम्मा लिने काम गर्दथे भनी गरेको बयान बेहोरा ठीक छ । भाग्यनारायण बैठाले अनुसन्धानको क्रममा गरेको बयान झुट्ठा हो, अपहरणको योजनाकार निज नै हुन्, उक्त योजनामा अरूले सहयोग पुर्याएका हुन् । मनोज बैठाले अनुसन्धानको क्रममा गरेको बयान भुट्टा हो, मेरो साथबाट बरामद भएका ९८१३७०६५१३, ९८१८९४८०४९ र ९८०३७०७८७६ नं. को सिमहरू अपहरणपछि फिरौती माग्न भनी निज मनोज बैठाले नै मलाई दिएका हुन् । मैले गरेको ततिम्बा बयानको बेहोरा ठीक हो । दाबीका सिमहरू मबाट नै बरामद भएका हुन्, बच्चाको फोटो खिची मलाई दिनेश सिंहले एक महिलामार्फत घोडासनसम्म पठाएकोमा मैले आफ्नो मोबाइलमा उक्त मेमोरी राखेको अवस्थामा पक्राउ गरिएको हो । भाग्यनारायण बैठा, मनोजकुमार बैठासँग मेरो कुनै रिसइवी, झै–झगडा नभई मैले रिसले निजहरूको नाम पोल गरी बयान गरेको होइन । विकासकुमार यादव, मेनुका जैसवाल, बिटु चौधरी, राम प्रताप रायसमेतले गरिदिएको घटना विवरण कागज ठीक हो । मैले प्रयोग गरेको बा.३ प ७४८५ नं.को मोटरसाइकल मैले २०६८ सालमा रू.२०,०००।- तिरी प्रभु महर्जनबाट किनेको हो । भाग्यनारायण बैठा र मनोजकुमार बैठाको Polygraph Examination Report को सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत प्रतिवादी अमलदेव ठाकुरले भक्तपुर जिल्ला अदालतसमक्ष गरेको बयान ।
जाहेरवाला, प्रतिवादीमध्येको भाग्यनारायण बैठा, अमलदेव ठाकुरसँग चिनजान छ, भाग्यनारायण बैठा गाउँका भिनाजु नाताका हुन् । जाहेरवाला राकेश चौधरीको नाबालक छोरा बिटु चौधरीलाई मिति २०७१/०२/१४ गते अपहरण गरी भारतको घोडासनमा पुर्याएको सम्बन्धमा मलाई केही थाहा छैन । अभियोगपत्रअनुसारको दाबीको कसुरमा म निर्दोष छु । मिति २०७१/०२/१४ गते म आफ्नो कवाड पसल बानेश्वरमा थिएँ । मिति २०७१/०२/२७ गतेको मउपर समेत किटानी जाहेरी दिएकोबारेमा मलाई केही थाहा छैन, पहिला मलाई हनुमानढोका प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधमा कारवाही चलाएपछि मलाई यहाँ ल्याएका हुन् । प्रतिवादी अमलदेव ठाकुरलाई निजको छोरा विदेश पठाउन रू.५०,०००।- दिएको थिएँ, सोही पैसा फिर्ता गर्नुपर्ला भनी निजले मलाई समेत पोली अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गरेका हुन्, मैले दाबीको कसुर गरेको छैन । मेरो मोबाइल नं.९८५११५८४१९, ९८१३७०६५१३, ९८१८९४८०४९ र ९८०३७०७८७६ नं. को सिमकार्डहरूको बारेमा मलाई थाहा छैन, साथै उक्त सिमहरू मैले अमलदेव ठाकुरलाई दिएको छैन । मेरो मोबाइल नं.९८५११५८४१९ र अमलदेव ठाकुरको मोबाइल नं. ९८४५४०१४०९ बीच भएको फोनको बेहोरा मसँग लिएको पैसा फिर्ता दिने सम्बन्धमा हामीबीच कुराकानी भइरहन्थ्यो । प्रतिवादी दिनेश सिंहले गरेको बयान झुट्ठा हो, बच्चा अपहरणमा किन मेरो संलग्नता छ भनी लेखाएको हो, जाहेरवालाको छोरालाई अपहरण गरी भारत पुर्याई जाहेरवालासँग डेढ करोड फिरौती मागेको छैन । म र प्रतिवादी भाग्यनारायण बैठाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको बेहोरा ठीक हो । अमलदेव ठाकुरको ततिम्बा बयानअनुसार भाग्यनारायण बैठाको योजनामा बच्चा अपहरणको योजनामा मैले बच्चा चिनाउने, घटना घटाउने, फिरौती रकम माग्ने योजना बनाएको होइन । मेनका जैसवालको बच्चा अपहरण भएको बारेमा मलाई थाहा छैन म र भाग्यनारायण बैठाको Polygraph Examination Report को सम्बन्धमा मलाई केही थाहा छैन, राजु यादवलाई म चिन्दिन भन्नेसमेत बेहोराको प्रतिवादी मनोजकुमार बैठाले भक्तपुर जिल्ला अदालतसमक्ष गरेको बयान ।
जाहेरवाला राकेश चौधरी र प्रतिवादीमध्येका दिनेश सिंहसँग चिनजान छैन, प्रतिवादीमध्येका अमलदेव ठाकुरसँग सामान्य चिनजान छ, प्रतिवादीमध्येका मनोजकुमार बैठा गाउँका साला नातामा पर्छ । मैले अभियोग दाबीको कसुर अपराध गरेको छैन । दाबीको कसुरमा मेरो कुनै संलग्नता नभएको हुँदा निर्दोष छु सफाइ पाउँ किटानी जाहेरीमा बच्चा अपहरण गर्ने अमलदेव ठाकुर र दिनेशसिंह पक्राउ परेपछि मेरो नाम पोल गरेका हुन् मलाई प्रहरी परिसर हनुमानढोकामा केही सार्वजनिक अपराधमा पक्राउ गरी त्यसपछि प्रस्तुत मुद्दामा ल्याएका हुन् । प्रतिवादी अमलदेव ठाकुरले अनुसन्धान अधिकारी र अदालतसमक्ष गरेको बयान झुट्ठा हो, बच्चा अपहरणको मुख्य योजनाकार म होइन, मलाई फसाउन त्यस्तो बयान गरेका हुन् । प्रतिवादी दिनेश सिंहलाई म चिन्दिन, निजले मलाई फसाउन त्यस्तो बयान निजले नै जानुन् । म र मनोजकुमार बैठाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ठीक हो, मेरो बयानमा भएको सहिछाप समेत मेरै हो । ९८५१०७४६८१, ९८५११७४६८१, ९८४१३१९३१३ मा मोबाइलहरू मेरो हो, मेरो मोबाइल नं.९८४१३१९३१३ बाट अमलदेव ठाकुरको मोबाइल नं.९८४५४०१४०९मा कुराकानी पहिला एउटै पार्टीमा हुँदा गरेको हुँ, अहिले गरेको छैन । मैले अमलदेवलाई कुनै सिम दिएको छैन । प्रतिवादी अमलदेव ठाकुरको ततिम्बा बयान झुट्ठा हो, मैले बच्चा अपहरणको योजना बनाउने, भारतबाट छक्कासमेत झिकाई भक्तपुर हुदै कलंकीबाट बच्चालाई अपहरण गरी घोडासनसम्म पुर्याउने काम गरेको छैन । मिति २०७१।३।१५ को खानतलासी मुचुल्काको बेहोरा ठीक हो भन्नेसमेत बेहोराको प्रतिवादी भाग्यनारायण बैठाले भक्तपुर जिल्ला अदालतसमक्ष गरेको बयान ।
मिति २०७१/०२/१४ गते म भारतको झारखण्ड कोडारमा थिएँ । त्यसदिन अमलदेव ठाकुरले मेरो मोबाइलमा फोन गरेको र मलाई अमलदेवले राजविराज आउनु भने, मैले किन आउनु भन्दा अमलदेव ठाकुरले काठमाडौंबाट एउटा बच्चा अपहरण गरी ल्याएको छ त्यो बच्चा वीरगञ्जमा एक रात राखी इन्डियामा निजको सालो सुरेन्द्र ठाकुरको घरमा राखेको छ भने त्यसपछि सुरेन्द्रले त्यो बच्चा म राख्दिन भनेछन् र अमलदेव ठाकुरले मसँग मनोज बैठा, राजु यादव र मलाई नाम थाहा नभएकी एकजना महिलासमेत भई काठमाडौंबाट बच्चा अपहरण गरेर ल्याएको छ कसैले त्यो बच्चा इन्डियामा राख्छ भने भने नेपाली रू.४,००,०००।- दिन्छु कोही मानिस खोज भनी मलाई फोनमा भनेपछि भारत मखिया गाउँको राधेश्याम, विक्रम नाम गरेको मानिस मैले अमलदेवसमेतसँग सम्पर्क गराई दिएको हो । निजहरूले बच्चा लगेर राखे । मलाई जबरजस्ती फोनबाट कसम ख्वाई राजविराज बोलाए, म राजविराज गएपछि त्यहीँ मलाई पक्राउ गरियो । मलाई त्यो बच्चा कहाँ छ निकाल तिमीलाई छाडी दिन्छु भनी एस.पि.साहेबले भनेपछि मैले मदन रायसँग सम्पर्क गराएँ र मेरो इन्डियाको २ कठ्ठा जग्गा नै रू.४,००,०००।- बापत पास गरिदिएपछि नेता मदन रायसमेतका मानिसले बच्चालाई नेपाल ल्याइदिएछन् मलाई कलैया थुनामा राखेको थियो । मैले राधेश्याम र विक्रम भन्ने मानिसलाई अमलदेवसँग सम्पर्क गराएकोसम्म हो राजु यादव र सुरेन्द्र ठाकुरको आफन्त एकजना महिलाले लगी बच्चालाई राधेश्याम र विक्रमलाई दिएछन्, सो कुरा राधेश्यामले मलाई फोनबाट भनेको हो अरू मेरो भूमिका छैन भन्नेसमेत बेहोराको प्रतिवादी दिनेशसिंह राजपुतले भक्तपुर जिल्ला अदालतसमक्ष गरेको बयान ।
पीडित बिटु चौधरीले बुबा राकेश चौधरीको संरक्षकत्वमा अनुसन्धानको क्रममा गरेको कागजलाई समर्थन गरी गरेको बकपत्र मिसिल संलग्न रहेको ।
अनुसन्धानको क्रममा प्रतिवेदन पेस गर्ने प्रतिवेदक प्र.ना.नि. प्रविण घिमिरेले मौकाको प्रतिवेदनलाई समर्थन गरी गरेको बकपत्र मिसिल संलग्न रहेको ।
अनुसन्धानमा कागज गर्ने विकासकुमार यादव, मौकामा कागज गर्ने मेनुका चौधरी र दिपक रियालसमेतले मौकामा गरेको कागजलाई समर्थन गरी गरेको छुट्टाछुट्टै गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादी भाग्यनारायण बैठाको साक्षी देवनाथ बैठा र उपेन्द्र बैठा, प्रतिवादी अमलदेव ठाकुरको साक्षी दिनेशप्रसाद चौरसीया, प्रतिवादी मनोजकुमार बैठाको साक्षी सुवास बैठासमेतले गरेको छुट्टाछुट्टै बेहोराको बकपत्र मिसिल संलग्न रहेको ।
जाहेरवाला राकेश चौधरीले मौकामा प्रहरीसमक्ष दिएको जाहेरीलाई समर्थन जनाई गरेको बकपत्र मिसिल संलग्न रहेको ।
विशेषज्ञ प्र.ना.नि. रामप्रसाद पाण्डेले प्रतिवादी भाग्यनारायण बैठा र प्रतिवादी मनोजकुमार बैठासमेतको पोलीग्राफ प्रतिवेदनका सम्बन्धमा गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादीमध्येका भाग्यनारायणले फिरौती रकम प्राप्त गर्न मानिस अपहरण गर्ने सोच राख्दै आएको, जाहेरवालाको छोरालाई अपहरण गर्ने र बन्धक बनाई फिरौती लिने कार्यको योजना बनाउने, समय र स्थानको बन्दोबस्त मिलाउने, कार्य विभाजन गर्ने, निर्देशन दिने गरेको देखिएको, मनोज बैठा निकट रूपबाट उपर्युक्त कार्यमा सरिक रही अपहरण गरी कलंकीदेखि भारतसम्म पुर्याउने कार्यमा प्रत्यक्षरूपमा संलग्न रहेको, फिरौती माग गर्ने कार्य गरेको देखिएकोले २ जनाभन्दा बढी व्यक्तिहरू मिली संगठितरूपमा फिरौती लिने उद्देश्यले नाबालकलाई अपहरण गरेको र बन्धक बनाएको देखिएबाट निज भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुरमा ३ नं. बमोजिम १० वर्ष, ऐ.महलको ७ र ९ नं. अनुसार २/२ वर्ष गरी जनही जम्मा १४(चौध) वर्ष कैद हुने र ऐ.महलको ३ नं.अनुसार जनही दुई लाख रूपैयाँ जरिवाना हुने ठहर्छ । प्रतिवादी दिनेशसिंह राजपुत, बिटु चौधरीको अपहरण गर्ने कार्यमा भौतिकरूपमा सरिक नरहे पनि प्रतिवादी भाग्यनारायण बैठाको योजनामा सहमत भएको देखिएको, अपहरण गरी भारतमा पुर्याएपछि बन्धक बनाई राख्ने कार्यको बन्दोबस्ती गरी बन्धक बनाई राख्ने व्यक्ति र स्थान मिलाई दिएको देखिएकोमा अनुसन्धानको सिलसिलामा वास्तविकता खुलाई दिएकाले अनुसन्धान कार्यमा सहयोग पुग्न गएको, अपहरित बालकलाई सकुशल फिर्ता गर्न पहल गरेकोसमेतको अवस्थालाई विचार गर्दा कसुरमा इन्कार रहने मुख्य प्रतिवादीहरू सरह नै सजाय गर्न मनासिब नहुने भएबाट अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं.अनुसार ८ वर्ष, ऐ.महलको ७ र ९ नं. अनुसार २।२ वर्ष गरी जम्मा १२(बाह्र) वर्ष कैद हुने र ऐ.को ३ नं. अनुसार एक लाख पचास हजार रूपैयाँ जरिवाना हुने ठहर्छ । अमलदेव ठाकुरको हकमा विचार गर्दा अपहरण गरी भारत सीमासम्म पुर्याउने, बन्धक राख्ने र फिरौती रकम माग गर्ने विषयमा प्रत्यक्षरूपमा संलग्न रहेको देखिएकोमा निजले कसुरसँग सम्बन्धित प्रारम्भदेखि अन्त्यसम्मको यथार्थ विवरण खुलाई अपराध अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी सहयोग पुर्याएको, दिनेश सिंहमार्फत नै अपहरित बालकलाई सकुशल फिर्ता गर्नसमेत भूमिका निर्वाह गरेको, कसुर गरेमा पश्चातापको भावना व्यक्त गरेको समेतका पक्षलाई विचार गर्दा कसुरमा इन्कार रहने मुख्य कसुरदारहरू सरह नै सजाय गर्न उचित हुनसक्ने देखिएन । अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १० नं. अनुसारको सुविधा अमलदेवले पाउनु पर्ने भनी निजको कानून व्यवसायीले बहसको क्रममा जिकिर गर्नुभएतर्फ विचार गर्दा कसुर गर्दागर्दैको अवस्थामा सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेको अवस्था नदेखिँदा उक्त कानूनी व्यवस्था नै आकर्षित हुनसक्ने देखिएन । तथापि प्र.अमलदेवको हकमा उल्लिखित अवस्थालाई विचार गर्दा कानूनद्वारा निर्धारित न्यूनतम सजाय गर्नसम्म मनासिब हुने लागेको हुँदा प्र.अमलदेव ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष, ऐ. महलको ७ र ९ नं. बमोजिम २।२ वर्ष गरी जम्मा ११(एघार) वर्ष कैद र ऐ.को ३ नं. अनुसार एक लाख रूपैयाँ जरिवाना हुने ठहर्छ । फिरौती रकम तिर्न परेको नदेखिँदा फिरौतीको बिगोबापत प्रतिवादीहरूलाई थप जरिवाना गरिरहन पर्ने देखिएन । क्षतिपूर्तिको हकमा विचार गर्दा, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १२ नं. को कानूनी व्यवस्थाको आधारमा क्षतिपूर्तिबापत दुई लाख रूपैयाँ प्रतिवादीहरू चारैजनाबाट दामासाहीले असुल गरी पीडित बिटु चौधरीकी आमा मेनुका जयसवाललाई झिकाई भराई दिनेसमेत ठहर्छ । अभियोगसाथ पेस भएको कसुर गर्ने कार्यमा प्रयोग भएको मोटरसाइकल जफत गर्न भनी दाबी लिएको देखिएको, त्यस्तो सामान जफत गर्नेसम्बन्धी कानूनी व्यवस्था अपहरण गर्ने तथा शरीर बन्धक लिने महलमा नपाइएकोले कानूनद्वारा नतोकिएको कार्य गर्न नमिल्ने हुँदा बरामद भएको मोटरसाइकल जफत गर्नुपर्ने भन्नेसम्मको अभियोग दाबी पुग्नसक्ने देखिएन भन्नेसमेत भक्तपुर जिल्ला अदालतको मिति २०७१।९।२० को फैसला ।
अपहरण भएको नाबालक बिटु चौधरीले अनुसन्धानको क्रममा र अदालतसमक्ष दिएको अभिव्यक्तिसमेतमा राजु अंकललाई चिन्दछु अरूलाई चिन्दिन भनी म भाग्यनारायण बैठाको नाम उल्लेख नगरेकोबाट म भाग्यनारायण बैठाको अपहरण गर्ने तथा फिरौती माग्ने कार्यमा संलग्नता नरहेको कुरा पुष्टि भएको छ । नाबालक बिटु चौधरीलाई अपहरण गर्नेदेखि उद्धार गर्ने कार्यसम्मको कारवाहीमा म पुनरावेदकको संलग्नता कहीँकतै नदेखिएको अवस्था छ । फिरौती माग्ने काम अमलदेव र निजको सहयोगी अध्या रायले गरेको देखिएको छ । पुनरावेदकको हकमा Call detail लाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्नेमा अमलदेव ठाकुर र जाहेरवालाबीचको Call details लाई म भाग्यनारायण बैठाको विरूद्ध प्रमाणको रूपमा ग्रहण गरी भएको फैसला त्रुटिपूर्ण छ । सहअभियुक्त अमलदेव ठाकुर र दिनेश सिंहको झुठो बयानको आधारमा तयार गरिएको जाहेरी दरखास्तको आधारमा म पुनरावेदकलाई सजाय गरिएको फैसला प्रतिपादित नजिर तथा कानूनी सिद्धान्तविपरीत छ । अपहरण गर्ने तथा शरीर बन्धक लिने जस्तो गम्भीर फौजदारी कसुरमा प्रत्यक्ष प्रमाणविना नै शंकाको भरमा म पुनरावेदकलाई मुख्य अभियुक्तको रूपमा अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १ र २ को कानूनी प्रावधानको प्रयोगमा गम्भीर कानूनी त्रुटि गरी सजाय गरेको भक्तपुर जिल्ला अदालतको मिति २०७१।९।२० को फैसला म पुनरावेदकको हकमा उल्टी गरी अभियोग दाबीबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भाग्यनारायण बैठाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
अपहरण भएको नाबालक बिटु चौधरीले अनुसन्धानको क्रममा र अदालतसमक्ष दिएको अभिव्यक्तिसमेतमा राजु अंकललाई चिन्दछु अरूलाई चिन्दिन भनी म मनोजकुमार बैठाको नाम उल्लेख नगरेकोबाट हामी मनोजकुमार बैठाको अपहरण गर्ने तथा फिरौती माग्ने कार्यमा संलग्नता नरहेको कुरा पुष्टि भएको छ । नाबालक बिटु चौधरीलाई अपहरण गर्नेदेखि उद्धार गर्ने कार्यसम्मको कारवाहीमा म पुनरावेदकको संलग्नता कहीँकतै नदेखिएको अवस्था छ । फिरौती माग्ने काम अमलदेव र निजको मानिस अध्या रायले गरेको देखिएको छ । पुनरावेदकको हकमा Call detail लाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्नेमा अमलदेव ठाकुर र जाहेरवालाबीचको Call details लाई म मनोजकुमार बैठाको विरूद्ध प्रमाणको रूपमा ग्रहण गरी भएको फैसला त्रुटिपूर्ण छ । सहअभियुक्त अमलदेव ठाकुर र दिनेश सिंहको झुठो बयानको आधारमा तयार गरिएको जाहेरी दरखास्तको आधारमा म पुनरावेदकलाई सजाय गरिएको फैसला प्रतिपादित नजिर तथा कानूनी सिद्धान्तविपरीत छ । अपहरण गर्ने तथा शरीर बन्धक लिने जस्तो गम्भीर फौजदारी कसुरमा प्रत्यक्ष प्रमाण विना नै शंकाको भरमा म पुनरावेदकलाई मुख्य अभियुक्तको रूपमा अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १ र २ को कानूनी प्रावधानको प्रयोगमा गम्भीर कानूनी त्रुटि गरी सजाय गरेको भक्तपुर जिल्ला अदालतको मिति २०७१।८।२० को फैसला म पुनरावेदकको हकमा उल्टी गरी अभियोग दाबीबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मनोजकुमार बैठाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
मिति २०७१/०२/१४ गते अपहरण भएको बालक बिटु चौधरीलाई मिति २०७१/०२/१६ गते जाहेरवाला राकेश चौधरीले बुझिसकेपछि २०७१/०२/१७ गते परेको जाहेरी तथा मिति २०७१/०२/२७ गते भएको बरामदी मुचुल्का After Thought रहेको स्वतः छर्लङ्ग छ । लाग्नै नसक्ने प्रमाण लगाई भएको फैसला त्रुटिपूर्ण छ । कसुरसँग सम्बन्धित प्रारम्भदेखि अन्त्यसम्मको यथार्थ विवरण खुलाई अपराध अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी सहयोग पुर्याएको र दिनेश सिंहमार्फत नै अपहरित बालकलाई सकुशल फिर्ता गर्नसमेत भूमिका निर्वाह गरेको भन्ने ठहर्याउने भक्तपुर जिल्ला अदालतले वादीको साक्षीसरह मलाई निर्दोष घोषित गरी सफाइ दिनुपर्नेमा कसुरदार ठहर्याई गरेको फैसला मिलेको छैन । म निर्दोष रहेको प्रस्ट छ । उसमा पनि अपराध स्वीकार गर्ने व्यक्तिलाई सजाय नगर्नेसमेत कानूनी व्यवस्था रहेको विपरीत प्रस्तुत फैसला भएको छ । म पुनरावेदक अपराधी नरहेकोले कसुरदार ठहराई निर्णय गर्न मिल्दैन । कुनै पनि प्रमाणको रोहमा म कसुरदार रहेको पुष्टि भएको छैन । मलाई कसुरदार ठहर्याई गरेको सजाय सबुद प्रमाणविपरीत त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी म पुनरावेदकलाई निर्दोष घोषित गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अमलदेव ठाकुरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
प्रतिवादी अमलदेव ठाकुरले मौकामा बयान गर्दा मिति २०७१/०२/१४ गते साँझ १६.०० बजेको समयमा म, मनोजकुमार बैठा भक्तपुर सूर्यविनायक स्थितमा गई राजु यादवले जाहेरवालाको छोरालाई चक्लेट खुवाउँदै घरबाट बाहिर ल्याएपछि मेरो आफ्नै नाममा रहेको बा.३ प. ७४८५ नं. को हिरो होण्डा मोटरसाइकलमा म आफैँले चलाई राजु यादवलाई मोटरसाइकल पछाडि र बच्चालाई बीचमा राखी जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई फिरौती माग्ने उद्देश्यले अपहरण गरेका हौं भनी बयान गरेको देखिन्छ । अपहरित बालक बिटुकुमार चौधरीले अदालतमा आई बकपत्र गर्दा राजु अंकलले चक्लेट दिई पिपिया (मोटरसाइकल) मा चढाई लगेको भनी बकपत्रका क्रममा लेखाई दिएकोले बा.३ प. ७४८५ नं. को हिरो होण्डा मोटरसाइकल वारदातमा प्रयोग भएको पुष्टि भएको छ । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसुरबाट प्राप्त सम्पत्ति वा कसुरसँग सम्बन्धित साधन कसुरदार वा अन्य जुनसुकै व्यक्तिसँग रहे भएको भए तापनि जफत हुनेछ भनी स्पष्ट व्यवस्था गरेको छ । वारदातमा प्रयोग भएको बा.३ प. ७४८५ नं. को हिरो होण्डा मोटरसाइकल जफत नगरी भएको भक्तपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा अभियोग मागदाबीबमोजिम मोटरसाइकल जफत गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी भाग्यनारायण बैठा अदालतमा समेत आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिएको अवस्थामा केवल सहअभियुक्तहरूको पोलको आधारमा मात्र निजलाई समेत सजाय गर्ने गरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ वादी नेपाल सरकार पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई छलफल पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।४।२६ मा भएको आदेश ।
यसमा यसै मुद्दाका प्रतिवादीहरूबाट पर्न आएको ०७१–CS-१५९५, ०७१–CS-१५९६ र ०७१–CS-१७२४ का पुनरावेदनपत्रहरूमा विपक्षी झिकाउने आदेश भइसकेको सन्दर्भमा नेपाल सरकारको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनपत्र पनि ती मुद्दाहरूसँग अन्तरप्रभावी हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ थुनामा रहेका प्रतिवादीहरूलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।७।१५ मा भएको आदेश ।
प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई जनही जम्मा चौध वर्ष कैद र रू २,००,०००।– (दुई लाख) जरिवाना हुने तथा बरामद भएको मोटरसाइकल जफत नहुने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७१।९।२० को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. बमोजिम आठ वर्ष कैद, सोही महलको ७ र ९ नं. बमोजिम क्रमशः दुईदुई वर्ष थप कैद गरी जम्मा जनही बाह्र वर्ष कैद र सोही महलको ३ नं. अनुसार जनही जरिवाना रू.१,५०,०००।–(एकलाख पचास हजार) हुने र बरामद भएको मोटरसाइकल जफत हुने तथा अरूमा सुरू जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा र अमलदेव ठाकुरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको मिति २०७२/०८/२० को पुनरावेदन अदालत पाटनको फैसला ।
जाहेरवालाले जाहेरीमा मेरो नामसम्म उल्लेख गरेका रहेछन् । सो जाहेरीमा मेरो के, कस्तो संलग्नता थियो भन्ने खुलाउन सकेका छैनन् जसले गर्दा मेरो निर्दोषिता पुष्टि भएकै छ । जाहेरी आफैँमा प्रमाण होइन । जाहेरी सूचनासम्म हो । सो सूचनालाई पुष्ट्याइँ गर्ने स्वतन्त्र आधार र प्रमाण नभएमा सोलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । त्यसमा पनि अपहरण भएको भनिएको नाबालक बिटु चौधरीसमेतले अनुसन्धानको क्रममा र अदालतसमक्ष गरेको बकपत्रमा राजु अंकललाई चिन्दछु अरूलाई चिन्दैन भनी म पुनरावेदकको नामसमेत उल्लेख गर्न सकेका छैनन् । तथ्य कानून र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको आधारमा म पुनरावेदकलाई हराउने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ मुलुकी ऐन, शरीर बन्धक तथा अपहरणको महलको ३, ७, ९ को व्याख्यात्मक त्रुटि रहेको र फौजदारी न्यायको मान्य सिद्धान्तको समेत विपरीत भएकोले सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/९/२० को फैसला केही उल्टी गरी र बाँकी सदर गरी मिति २०७२/०८/२० मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी गरी म पुनरावेदकलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक भाग्य नारायण बैठाको यस अदालतमा दर्ता हुन आएको पुनरावेदनपत्र ।
म पुनरावेदकको अपहरण गर्ने तथा फिरौती माग्ने कार्यमा प्रत्यक्षरूपमा संलग्नता रहेको कुरा कुनै पनि स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । अपहरण गर्ने कार्यमा प्रयोग भएको मोटरसाइकल अमलदेव ठाकुरको भएको अनुसन्धानबाट देखिएको छ । नाबालकलाई अपहरण गर्ने तथा भारत पुर्याउने कार्यमा म पुनरावेदकको संलग्नता रहेको कुरा कुनै प्रमाणबाट पुष्टि भएको छैन । र नाबालकले पनि मेरो नाम उल्लेख गर्न सकेको पाइँदैन । दिनेश सिंहको झुट्ठा भनाइको आधारमा तयार गरिएको जाहेरी दरखास्तको आधारमा म पुनरावेदकलाई सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/९/२०को फैसला केही उल्टी गरी र बाँकी सदर गरी मिति २०७२/०८/२० मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी गरी म पुनरावेदकलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक मनोजकुमार बैठाको यस अदालतमा दर्ता हुन आएको पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दामा कुन प्रतिवादीको के कसुर गरेको हो भनी कसुरको मात्रा निर्धारण गरिएको अवस्था छैन । फौजदारी न्यायको सिद्धान्तअनुसार प्रतिवादीको कसुरको मात्रा हेरेर मात्र सोबमोजिम दण्ड सजाय गर्नुपर्ने हो । म पुनरावेदक अमलदेव ठाकुर कसुरमा साबिती भई बयान गरेपनि मेरो कसुरको मात्रालाई हेर्ने हो भने अपहरित भएको बालकलाई अपहरण गर्दाको समयदेखि अपहरण मुक्त भई ज्यान बचाएको र आफन्तको जिम्मा लगाएको अवस्थासम्म आइपुग्दा म पुनरावेदकको कसुर शून्यतामा परिणत हुन आउँदछ तसर्थ, म पुनरावेदकलाई सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/९/२० को फैसला सदर गरी मिति २०७२/०८/२० मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी गरी म पुनरावेदकलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक अमलदेव ठाकुरको यस अदालतमा दर्ता हुन आएको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सुरू तथा रेकर्ड मिसिल अध्ययन गरी पुनरावेदक भाग्यनारायण र मनोजकुमार बैठाको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद फुयाल, विद्वान् अधिवक्ताहरू श्री अम्बर राउत, श्री टिकाराम भट्टराई, श्री मिलन राई, श्री केदारप्रसाद दाहल, श्री महेश्वर श्रेष्ठ, श्री राजेश्वर तिवारी, र श्री नारायण झासमेतले र पुनरावेदक अमलदेव ठाकुरको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री प्रभाकर खनालले पुनरावेदक प्रतिवादीहरूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. अनुसारको कार्य नगरेको अवस्था छ । ऐ. महलको ४ नं. बमोजिमको कसुर गरेको अवस्थामा ऐ. महलको ७ र ९ नं. बमोजिम सजाय गरेको मिलेन तसर्थ, पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसला उल्टी गरी पुनरावेदक / प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिलाई न्याय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी मिसिलसमेत अध्ययन गरी विचार गर्दा, पुनरावेदन अदालत पाटनबाट मिति २०७२/८/२० मा भएको फैसला मिलेको छ, छैन? तथा पुरावेदक / प्रतिवादीहरूको अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, यसमा प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा, दिनेश सिंह राजपुत, अमलदेव ठाकुरसमेत हाल फरार रहेका राधेश्याम मुखिया, सुरेन्द्र ठाकुर, अध्या राय, राजु यादव, भारतीय छक्का र एक जना लेडिजसमेतको प्रत्यक्ष संलग्नतामा संगठितरूपमा भाग्यनारायण बैठाको योजनाबमोजिम जाहेरवालाको नाबालक छोरा बिटुकुमार चौधरीलाई अपहरण गरी भारतमा लगी बन्धक बनाई फिरौती मागेको र फिरौती रकम बुझाउन नपाउँदै बालकको सकुशल उद्धार गरिएको पुष्टि भएकोले विरूद्ध खण्डका प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीतको कसुर भएकोले निज प्रतिवादीहरूलाई सोही महलको ३ नं. बमोजिम सजाय गरी सोही महलको ७ र ९ नं. बमोजिम थप सजायसमेत हुन र जाहेरवाला तथा पीडित बालकलाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिको विचार गरी सोही महलको १२ नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउन र वारदातमा प्रयोग भएका बरामदित सामानहरू र बा.३ प. ७४८५ नं. को मोटसाइकलसमेत जफत गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुरमा ३ नं. बमोजिम १० वर्ष कैद, ऐ. महलको ७ र ९ नं. अनुसार २।२ वर्ष गरी जनही जम्मा १४(चौध) वर्ष कैद हुने र ऐ. महलको ३ नं.अनुसार जनही दुई लाख रूपैयाँ जरिवाना हुने ठहर्छ, प्रतिवादी दिनेशसिंह राजपुतलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार ८ वर्ष कैद, ऐ. महलको ७ र ९ नं. अनुसार २।२ वर्ष गरी जम्मा १२(बाह्र) वर्ष कैद हुने र ऐ.को ३ नं.अनुसार एकलाख पचास हजार रूपैयाँ जरिवाना हुने ठहर्छ, अमलदेव ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७(सात) वर्ष कैद, ऐ. महलको ७ र ९ नं. बमोजिम २।२ वर्ष गरी जम्मा ११ (एघार) वर्ष कैद र ऐ. को ३ नं. अनुसार एक लाख रूपैयाँ जरिवाना हुने ठहर्छ । क्षतिपूर्तिको हकमा विचार गर्दा, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १२ नं. को कानूनी व्यवस्थाको आधारमा क्षतिपूर्तिबापत दुई लाख रूपैयाँ प्रतिवादीहरू चारैजनाबाट दामासाहीले असुल गरी पीडित बिटु चौधरीकी आमा मेनुका जयसवाललाई झिकाई भराई दिनेसमेत ठहर्छ, अभियोगसाथ पेस भएको कसुर गर्ने कार्यमा प्रयोग भएको मोटरसाइकल जफत गर्न भनी दाबी लिएको देखिएको, त्यस्तो सामान जफत गर्नेसम्बन्धी कानूनी व्यवस्था अपहरण गर्ने तथा शरीर बन्धक लिने महलमा नपाइएकोले कानूनद्वारा नतोकिएको कार्य गर्न नमिल्ने हुँदा बरामद भएको मोटरसाइकल जफत गर्नुपर्ने भन्नेसम्मको अभियोग दाबी पुग्नसक्ने देखिएन भनी भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/९/२० मा भएको फैसलाउपर प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा र अमलदेव ठाकुर तथा वादी नेपाल सरकारको तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई जनही जम्मा १४(चौध) वर्ष कैद र रू. दुई लाख जरिवाना हुने र बरामद भएको मोटरसाइकल जफत नहुने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७१/०९/२० मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ८(आठ) वर्ष कैद र सोही महलको ७ र ९ नं. बमोजिम क्रमशः दुई-दुई वर्ष गरी जम्मा जनही १२(बाह्र) वर्ष कैद र सोही महलको ३ नं. अनुसार जनही जरिवाना रू. १,५०,००० (एक लाख पचास हजार) हुने र बरामद भएको मोटरसाइकल जफत हुने तथा अरूमा सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/०९/२० मा भएको फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसलाउपर पुनरावेदक / प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा र अमलदेव ठाकुरको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
३. त्यसैगरी कसुरसँग सम्बन्धित प्रारम्भदेखि अन्त्यसम्मको यथार्थ विवरण खुलाई अपराध अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी सहयोग पुर्याएको र दिनेश सिंहमार्फत नै अपहरित बालकलाई सकुशल फिर्ता गर्नसमेत भूमिका निर्वाह गरेको भन्ने ठहर्याउने भक्तपुर जिल्ला अदालतले वादीको साक्षीसरह मलाई निर्दोष घोषित गरी सफाइ दिनुपर्नेमा कसुरदार ठहर्याई गरेको फैसला मिलेको छैन, म पुनरावेदक अपराधी नरहेको, कुनै पनि प्रमाणको रोहमा म कसुरदार रहेको पुष्टि नभएकोमा मलाई कसुरदार ठहर्याई गरेको सजाय सबुद प्रमाणविपरीत त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी म पुनरावेदकलाई निर्दोष घोषित गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी अमलदेव ठाकुरको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
४. पुनरावेदक / प्रतिवादीमध्ये अमलदेव ठाकुरको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, प्रतिवादी अमलदेव ठाकुरले सुरू अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गर्दा, कलैयामा फर्निचर पसल गरी बसेकोमा भाग्यनारायण बैठाले काम छ भनी काठमाडौं बोलाई बानेश्वरमा रहेको मनोजको कवाडी पसलमा जम्मा भएपछि भाग्यनारायण बैठाले राकेश चौधरीसँग धेरै पैसा भएकोले उसको छोरालाई अपहरण गर्ने योजनाबमोजिम राकेश चोधरीको कवाडी पसलमा काम गर्ने राजु यादवमार्फत बच्चा अपहरण गरी मेरो बा. ३ प. ७४८५ नं.को मोटरसाइकलमा राखी कलंकी पुर्याई, त्यहाँबाट पूर्वको गाडीमा राखी पथलैया पुगी पथलैयाबाट ट्रकमा राखी वीरगञ्ज पुर्याई वीरगञ्जबाट ट्याम्पोमार्फत रक्सौल र रक्सौलबाट जीप चढी घोडासनसम्म पुर्याउन बच्चा लैजाने योजनाकार मनोज बैठा भएकोले मैले सजाय पाउने होइन, बच्चा दिन म, राजु यादव, मनोजकुमार बैठा र एउटा भारतीय छक्का गएका थियौं, मेरो मोबाइल नं.९८४५४०१४२९ र भाग्यनारायण बैठाको मोबाइल नं.९८१३७०६५१३ हो साथै अरू ३ वटा सिम अपहरणमा प्रयोग गर्न भनी मनोज बैठाले दिएका हुन्, खानतलासी मुचुल्कामा उल्लेख भएका सिम, मोबाइल मेरो साथबाट बरामद भएकोमा उक्त सिम मोबाइल भाग्यनारायणले दिनेश सिंहलाई दिन भनी दिएका हुन् मेरो मोबाइल नं. ९८१३७०६५१३ बाट अध्या रायले फिरौती माग गरी उक्त सिम कार्डहरू मलाई छाडेकोले मसँगबाट बरामद भएको हो, बच्चा अपहरणका योजनाकार भाग्यनारायण, मनोज बैठा, मेरो, राजु यादव र भारतीय छक्काको संलग्नता छ, मनोज बैठाले कोसँग पैसा टन्न छ भनी पत्ता लगाउने, भाग्यनारायण बैठाले अपहरणको योजना बनाउने, दिनेश सिंहले आवश्यक हातहतियारको व्यवस्था मिलाउने र अपहरण गरेको बच्चा घोडासनबाट जिम्मा लिने काम गर्दथे । मैले गरेको ततिम्बा बयानको बेहोरा ठीक हो, दाबीका सिमहरू मबाट नै बरामद भएका हुन्, बच्चाको फोटो खिची मलाई दिनेश सिंहले एक महिलामार्फत घोडासनसम्म पठाएकोमा मैले आफ्नो मोबाइलमा उक्त मेमोरी राखेको अवस्थामा पक्राउ गरिएको हो, भाग्यनारायण बैठा, मनोजकुमार बैठासँग मेरो कुनै रिसइवी, झैझगडा नभई मैले रिसले निजहरूको नाम पोल गरी बयान गरेको होइन भनी र मिति २०७१।०२।१४ गते साँझ १६.०० बजेको समयमा म, मनोजकुमार बैठा भक्तपुर सूर्यविनायक स्थित घरमा गई राजु यादवले जाहेरवालाको छोरालाई चक्लेट खुवाउँदै घरबाट बाहिर ल्याएपछि मेरो आफ्नै नाममा रहेको बा. ३ प. ७४८५ नं. को हिरो होण्डा मोटरसाइकलमा म आफैँले चलाई राजु यादवलाई मोटरसाइकल पछाडि र बच्चालाई बीचमा राखी जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई फिरौती माग्ने उद्देश्यले अपहरण गरी हामी ३ जनाले कलंकी लगी सो स्थानबाट म, मनोजकुमार बैठा, राजु यादव र इन्डियन छक्का गरी ४ जना मिली जाहेरवालाको छोरालाई पूर्व धरान जाने गाडीमा चढाई पथलैया पुगी सो स्थानबाट ट्रकमा बसी वीरगञ्ज हुँदै टेम्पोमा रक्सौल लगी त्यहाँबाट रेल्वे स्टेसन हुँदै जीपबाट इन्डियाको घोडासन पुर्याई राजु यादवले जाहेरवालाको छोरालाई लिएर बसेका थिए, मनोजकुमार बैठा दुई तीन दिनपछि काठमाडौं आएको थियो, बिटु चौधरीलाई अपहरण गरी बन्धक बनाई निजको अभिभावकलाई फिरौती रकम माग्दा ९८१३७०६५१३ एनसेलको सिम प्रयोग गरी म र अध्या राय यादवसँगै बसी फिरौती रकम रू.१,५०,००,०००।– (एक करोड पचास लाख) मागेका हौं भनी आरोपित कसुरमा पूर्णरूपमा साबित भई अनुसन्धान अधकारीसमक्ष ततिम्बा बयानसमेत गरेको देखिन्छ ।
५. यी प्रतिवादी अमलदेव ठाकुरले मौकामा अनुसन्धान अधिकारी तथा सुरू अदालतसमक्ष आरोपित कसुरमा पूर्णरूपमा साबित भई गरेको बयान, अर्का सहप्रतिवादी दिनेश सिंह राजपुतले अनुसन्धान अधिकारी तथा सुरू अदालतसमक्ष कसुरमा साबित भई गरेको बयानलाई जाहेरवाला राकेश चौधरीको जाहेरी दरखास्तको बेहोरा तथा मौकामा गरेको कागजलाई समर्थित हुने गरी निजले सुरू अदालतमा गरिदिएको बकपत्र, बुझिएका मानिसहरू दिपक रियालसमेतले मौकामा गरेको घटना विवरण कागजलाई समर्थित हुने गरी सुरू अदालतमा गरिदिएको बकपत्रसमेतबाट यी प्रतिवादी अमलदेव ठाकुरले संगठितरूपमा जाहेरवालाको नाबालक छोरा बिटु चौधरीलाई अपहरण गरी भारतसम्म पुर्याई नेपाल प्रहरीद्वारा सकुशल उद्दार गरेको पुष्टि हुन आएको देखिँदा यी प्रतिवादी अमलदेव ठाकुरले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीत कसुर अपराध गरेको देखिन आयो ।
६. निज प्रतिवादी अमलदेव ठाकुरले मलाई सजाय गरेको मिलेन भनी लिएको पुनरावेदन जिकिरतर्फ हेर्दा, मुलुकी ऐन, शरीर अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा, कसैलाई ...छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुन्छ....भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार निज प्रतिवादी अमलदेव ठाकुरले सोही महलको १ वा २ नं. बमोजिम नाबालक बिटु चौधरीलाई अपहरण गरी शरीर बन्धक बनाएको कुरामा साबित भई बयान गरेकोमा सो बयानलाई सहप्रतिवादी दिनेश सिंहको बयानसमेतले पुष्टि गरेको देखिएबाट निज प्रतिवादी अमलदेव ठाकुरलाई आरोपित कसुरबाट सफाइ दिनसक्ने अवस्था देखिएन साथै निजलाई कानूनले हुनसक्ने न्यूनतम सजाय मात्र सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट भएको पाइन्छ । तसर्थ आरोपित कसुरबाट सफाइ दिलाई वा कम सजाय गरिपाउँ भन्ने निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
७. अतः प्रतिवादी अमलदेव ठाकुरले गरेको साबिती बयान, जाहेवाला एवं पीडितको बकपत्र र बुझिएका माथि उल्लिखित व्यक्तिहरूको बकपत्रबाट प्रतिवादी अमलदेव ठाकुरले पीडितलाई अपहरण गरी शरीरबन्धक बनाउनमा संलग्न रहेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी अमलदेव ठाकुरलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७(सात) वर्ष कैद तथा ऐ. महलको ७ र ९ नं. बमोजिम २/२ वर्ष गरी जम्मा ११(एघार) वर्ष कैद र ऐ.को ३ नं. अनुसार रू. १,००,०००।– (एक लाख) जरिवाना हुने ठहर्याई सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/०९/२० मा भएको फैसला सदर हुने ठहर्याई र बरामद भएको बा.३ प. ७४८५ नं. को हिरो होन्डा मोटर साइकलको हकमा सुरू भक्तपुर जिल्ला अदालतबाट जफत नहुने भनी भएको फैसला केही उल्टी भई उक्त मोटरसाइकल जफत हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।
८. अन्य प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाको हकमा विचार गर्दा, सहअभियुक्तहरू अमलदेव ठाकुर र दिनेश सिंहको झुठो बयानको आधारमा अपहरण गर्ने तथा शरीर बन्धक लिने जस्तो गम्भीर फौजदारी कसुरमा प्रत्यक्ष प्रमाणविना शंकाको भरमा हामी पुनरावेदक / प्रतिवादीहरूलाई मुख्य अभियुक्तको रूपमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कानूनी प्रावधानको प्रयोगमा गम्भीर कानूनी त्रुटि गरी सजाय गरेको भक्तपुर जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदक / प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
९. निज प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गर्दा अभियोग दाबीको कसुर गरेकोमा इन्कार रही बयान गरेको पाइन्छ । सहप्रतिवादी दिनेश सिंह राजपुतले मौकामा अनुसन्धान अधिकारी तथा सुरू अदालतसमक्ष बयान गर्दा, मिति २०७१/०२/१४ गते म भारतको कोडार भन्ने ठाउँमा थिएँ । साँझको समयमा अमलदेव ठाकुरले निजको मोवाईलबाट मलाई फोन गरी हामीले बच्चा अपहरण गरी लिएर आइसकेका छौं, बच्चा राख्ने व्यवस्था गर्नुपर्यो भनी फोन गरेको हुँदा मैले अमलदेव ठाकुरलाई फोन गरी भारतको घोडासनदेखि छेउमा रहेको मवाही ग्राममा रहेको सुरेन्द्र ठाकुरकोमा पुर्याइदिनु भने । राजु यादवले अपहरित बच्चा बिटुकुमार चौधरीलाई छोडी आयो । त्यसको भोलिपल्ट सुरेन्द्र ठाकुरले बच्चा राख्न सक्दिन अन्तै व्यवस्था गर भनेको हुँदा उक्त स्थानमा रहेको राधेश्याम मुखियाको घरमा एक महिनाको ४ लाख नेपाली रूपयाँ दिने गरी उक्त बच्चा राखेको हो । म, भाग्यनारायण बैठा, मनोजकुमार बैठा, अमलदेव ठाकुरसमेतका जाहेरीमा उल्लिखित प्रतिवादीहरू भई जाहेरवालाको छोरा बिटुकुमार चौधरीलाई अपहरण गरी भारतमा लगी बन्धक बनाई फिरौती रकम माग्ने उद्देश्यले अपहरण गरी लगेका हौं । अमलदेव ठाकुर र मनोजकुमार बैठासमेतले जाहेरवालाको मोबाइल नं. मा फोन गरी डेढ करोड रकम फिरौती मागेका थिए । उक्त रकम लिन नपाउँदै घटनामा संलग्न व्यक्तिहरू प्रहरीद्वारा पक्राउ परेको हो भनी बयान गरेको पाइन्छ भने निजले सुरू अदालतमा अमलदेव ठाकुरले मेरो मोबाइलमा फोन गरेको र मलाई अमलदेवले राजविराज आउनु भने, मैले किन आउनु भन्दा अमलदेव ठाकुरले काठमाडौंबाट एउटा बच्चा अपहरण गरी ल्याएको छ त्यो बच्चा वीरगञ्जमा एक रात राखी इन्डियामा निजको सालो सुरेन्द्र ठाकुरको घरमा राखेको छ भने, त्यसपछि सुरेन्द्रले त्यो बच्चा म राख्दिन भनेछन् र अमलदेव ठाकुरले मसँग मनोज बैठा, राजु यादव र मलाई नाम थाहा नभएकी एक जना महिलासमेत भई काठमाडौंबाट बच्चा अपहरण गरेर ल्याएको छ कसैले त्यो बच्चा इन्डियामा राख्छ भने नेपाली रू.४,००,०००।- दिन्छु कोही मानिस खोज भनी मलाई फोनमा भनेपछि भारत मखिया गाउँको राधेश्याम, विक्रम नाम गरेका मानिसहरूलाई मैले अमलदेवसमेतसँग सम्पर्क गराई दिएको हो, निजहरूले बच्चा लगेर राखे, मलाई जबरजस्ती फोनबाट कसम ख्वाई राजविराज बोलाए । म राजविराज गएपछि त्यहीँ मलाई पक्राउ गरियो, मलाई त्यो बच्चा कहाँ छ निकाल तिमीलाई छाडिदिन्छु भनी एस.पि. साहेबले भनेपछि मैले मदन रायसँग सम्पर्क गराएँ र मेरो इन्डियाको २ कठ्ठा जग्गा नै रू.४,००,०००।- बापत पास गरिदिएपछि नेता मदन रायसमेतका मानिसले बच्चालाई नेपाल ल्याई दिएछन्, मलाई कलैया थुनामा राखेको थियो, मैले राधेश्याम र विक्रम भन्ने मानिसलाई अमलदेवसँग सम्पर्क गराएको सम्म हो । राजु यादव र सुरेन्द्र ठाकुरको आफन्त एकजना महिलाले लगी बच्चालाई राधेश्याम र विक्रमलाई दिएछन्, सो कुरा राधेश्यामले मलाई फोनबाट भनेको हो । अरू मेरो भूमिका छैन भनी आरोपित कसुरमा साबित भई बयान गरेको देखिन्छ ।
१०. प्रतिवादी अमलदेव ठाकुरले सुरू अदालतसमक्ष कलैयामा फर्निचर पसल गरी बसेकोमा भाग्यनारायण बैठाले काम छ भनी काठमाडौं बोलाई बानेश्वरमा रहेको मनोजको कवाडी पसलमा जम्मा भएपछि भाग्यनारायण बैठाले राकेश चौधरीसँग धेरै पैसा भएकोले उसको छोरालाई अपहरण गर्ने योजनाबमोजिम राकेश चौधरीको कवाडी पसलमा काम गर्ने राजु यादवमार्फत बच्चा अपहरण गरी मेरो बा. ३ प. ७४८५ नं. को मोटरसाइकलमा राखी कलंकी पुर्याई, त्यहाँबाट पूर्वको गाडीमा राखी पथलैया पुगी पथलैयाबाट ट्रकमा राखी वीरगञ्ज पुर्याई वीरगञ्जबाट ट्याम्पोमार्फत रक्सौल र रक्सौलबाट जिप चढी घोडासनसम्म पुर्याउन बच्चा लैजाने योजनाकार मनोज बैठा भएकोले मैले सजाय पाउने होइन, बच्चा दिन म, राजु यादव, मनोजकुमार बैठा र एउटा भारतीय छक्का गएका थियौं, मेरो मोबाइल नं. ९८४५४०१४२९ र भाग्यनारायण बैठाको मोबाइल नं. ९८१३७०६५१३ हो साथै अरू ३ वटा सिम अपहरणमा प्रयोग गर्न भनी मनोज बैठाले दिएका हुन्, खानतलासी मुचुल्कामा उल्लेख भएका सिम, मोबाइल मेरो साथबाट बरामद भएकोमा उक्त सिम मोबाइल भाग्यनारायणले दिनेश सिंहलाई दिन भनी दिएका हुन् मेरो मोबाइल नं. ९८१३७०६५१३ बाट अध्या रायले फिरौती माग गरी उक्त सिम कार्डहरू मलाई छाडेकोले मसँगबाट बरामद भएको हो, बच्चा अपहरणका योजनाकार भाग्यनारायण, मनोज बैठा, मेरो, राजु यादव र भारतीय छक्काको संलग्नता छ, मनोज बैठाले कोसँग पैसा टन्न छ भनी पत्ता लगाउने, भाग्यनारायण बैठाले अपहरणको योजना बनाउने, दिनेश सिंहले आवश्यक हातहतियारको व्यवस्था मिलाउने र अपहरण गरेको बच्चा घोडासनबाट जिम्मा लिने काम गर्दथे । मैले गरेको ततिम्बा बयानको बेहोरा ठीक हो, दाबीका सिमहरू मबाट नै बरामद भएका हुन्, बच्चाको फोटो खिची मलाई दिनेश सिंहले एक महिलामार्फत घोडासनसम्म पठाएकोमा मैले आफ्नो मोबाइलमा उक्त मेमोरी राखेको अवस्थामा पक्राउ गरिएको हो, भाग्यनारायण बैठा, मनोजकुमार बैठासँग मेरो कुनै रिसइवी, झैझगडा नभई मैले रिसले निजहरूको नाम पोल गरी बयान गरेको होइन भनी आरोपित कसुरमा साबित भई अनुसन्धान अधिकारीसमक्ष ततिम्बा बयानसमेत गरेको देखिन्छ ।
११. जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरको च.नं. ६२४, मिति २०७१।९।११ को पत्रसाथ संलग्न प्रतिवादी मनोजकुमार बैठाको पोलिग्राफ परीक्षण प्रतिवेदनमा उल्लिखित इएसएस रिपोर्टिङ (ESS Reporting) को नेपाली रूपान्तरणमा Emporical Scoring System बाट निजको डाटा विश्लेषण गरेर हेर्दा १७ नम्बर आउँछ, जुन व्यक्ति झुठ बोलेको पुष्टि हुने आवश्यक पर्ने अंक–४ हो, उक्त अंकलाई अल्फा भ्यालुसँग दाँजेर हेर्दा (a=0.5) निज व्यक्ति साँचो बोलेको हुनसक्ने सम्भावना ०.१ प्रतिशत (०.००१) मात्र देखिन्छ, त्यसकारण निज व्यक्तिको पोलिग्राफ गर्दा सोधिएको प्रश्नमा उत्तर दिँदा निज व्यक्ति झुट बोलेको कुरा पुष्टि हुन आउँछ” भन्ने र प्रतिवादी भाग्यनारायण बैठाको पोलिग्राफ परीक्षण प्रतिवेदनमा उल्लिखित इएसएस रिपोर्टिङ (ESS Reporting) को नेपाली रूपान्तरणमा Emporical Scoring System बाट निजको डाटा विश्लेषण गरेर हेर्दा–४ नम्बर आउँछ, जुन व्यक्ति झुट बोलेको पुष्टि हुन आवश्यक पर्ने अंक–४ हो । उक्त अंकलाई अल्फाको भ्यालुसँग दाँजेर हेर्दा (a=०.५) निज व्यक्ति साँचो बोलेको हुनसक्ने सम्भावना ४.३ प्रतिशत (०.०४३) मात्र देखिन्छ । त्यसकारण निज व्यक्तिको पोलिग्राफ गर्दा सोधिएको प्रश्नमा उत्तर दिँदा निज व्यक्ति झुट बोलेको कुरा पुष्टि हुन आउँछ” भन्ने पोलिग्राफ परीक्षण प्रतिवेदन रहेको देखिन्छ ।
१२. पोलिग्राफ परीक्षण गरी राय दिने विशेषज्ञ प्र.ना.नि. रामप्रसाद पाण्डेले Polygraph testing मानिसको शरीरमा आउने मनोशारीरिक परिवर्तनहरूलाई विभिन्न उपकरणको माध्यमबाट रेकर्ड गरेर गणितीय हिसाबमा मापन गरी हेर्न सकिने प्रविधि हो, यसको विकास अमेरिकाबाट करिब २०० वर्ष अगाडिदेखि रिसर्च गर्दै आएर विगत १०० वर्षदेखि प्रयोगमा आइराखेको प्रविधि हो, सन् २०१४ जुन २५ मा प्रतिवादी भाग्यनारायण बैठाको परीक्षण गरी जुन २६ मा प्रतिवेदन भएको पोलिग्राफ रिपोर्ट तयार गरी मैले सहीछाप गरेको हो, घटनाको पोलिग्राफ परीक्षण गर्दा घटनाका सम्बन्धमा ३ वटा प्रश्नहरू सोधिएको थियो, तीनवटै प्रश्नमा निज प्रतिवादीले थिएन भन्ने जवाफ दिनुभएको थियो, बालक भन्नाले कसलाई भनिएको हो भन्ने कुरा प्रस्ट्याइएको समेत थियो, निज प्रतिवादीले थिएन भनी दिएको जवाफ पोलिग्राफ जाँच गरी हेर्दा झुट बोलेको देखिएको थियो, कसुरको विषयमा निजलाई जानकारी भएको कुरा केही न केही पोलिग्राफ जाँचकर्तालाई लुकाई राखेका छन् भन्ने पुष्टि हुन्छ भनी बकपत्र गरेको देखिन आउँछ ।
१३. पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने हुन्छ । यथार्थमा पोलिग्राफ परीक्षण पद्धतिअनुसार परीक्षण गरी प्रस्तुत भएको राय अन्य प्रमाणहरूबाट समर्थित भएमा वा त्यस्तो राय अन्य प्रमाणसँग तादाम्यतापूर्ण भएमा प्रमाणमा लिने कुरालाई अंगीकार गरिएको पाइन्छ ।
१४. प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाको हकमा सहप्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिंह राजपुतको भनाइलाई नै मुख्य प्रमाणको रूपमा रहेको देखिएको छ । यसरी सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले समर्थन गरेको छ, छैन? सो सम्बन्धमा विचार गर्दा, प्रतिवादी अमलदेव ठाकुरले अनुसन्धान अधिकारी तथा सुरू अदालतसमक्ष बयान गर्दा प्रतिवादी भाग्यनारायण बैठाको योजनाअनुसार मनोजकुमार बैठा र आफूसमेत भई बच्चा अपहरण गरी भारतसम्म पुर्याएको भनी निज प्रतिवादीहरूसँग कुनै रिसइवी, लेनदेन, झैझगडा नभएको, निजहरूलाई फसाउनु पर्ने कुनै कारण नभएको, भनी उल्लेख भएको देखिन्छ । अर्का प्रतिवादी दिनेश सिहंको भनाइलाई प्रतिवादीहरू भाग्यनारायण र मनोजकुमार बैठाले अन्यथा हो भनी भन्न सकिरहेको अवस्था देखिँदैन । यस स्थितिमा प्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिंहको भनाइहरू झुट्ठा हुन्, भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई फसाउने नियतले पोल गरेका हुन भनी भन्न सकिने कुनै ठोस आधार विद्यमानता रहेको देखिन आएको पाइँदैन । त्यस्तो आधार र कारण नदेखिएको अवस्थामा प्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिहंको भनाइहरू वास्तविक आधारमा रहेको मान्नुपर्ने देखिन आउँछ । प्रतिवादीहरू भाग्यनारायण बैठाले र मनोजकुमार बैठाले दिएको सिमकार्डहरू प्रतिवादी अमलदेव ठाकुरको साथबाट बरामद हुनु, प्रतिवादी अमलदेव ठाकुर र प्रतिवादी मनोजकुमार बैठाबीच तत्कालीन वारदातपछिको समयमा फोन सम्पर्क हुने गरेको Call Details बाट देखिनु जस्ता आधार प्रमाणहरू समेतबाट प्रतिवादी अमलदेव ठाकुरको भनाइहरू विश्वसनीय देखिएको हुँदा बिटु चौधरीलाई अपहरण गरी शरीर बन्धक बनाउने योजना तथा कार्यमा बिटुकुमार चौधरीको अपहरण भएको र १२/१३ दिनसम्म बन्धक रहेको तथ्य निर्विवादरूपमा देखिइरहेको अवस्थामा प्रतिवादीहरू भाग्यनारायण बैठा तथा मनोजकुमार बैठाको संलग्नता नरहेको भनी भन्न मिल्ने अवस्था देखिएन ।
१५. सहअभियुक्तको पोललाई प्रमाणमा लिई हामीहरूलाई आरोपित कसुर ठहर गरेको मिलेन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा, सहअभियुक्तको पोललाई विभिन्न कोणबाट मूल्याङ्कन गर्दा, विश्वासनीय र वास्तविकता प्रकट गरेको देखिन आउँछ भने प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । फौजदारी न्याय प्रशासनको उद्देश्य सम्बद्ध विश्वसनीय प्रमाणको आधारमा कसुरदारलाई पहिचान गरी सजायभागी गराउनु हो । यसै सन्दर्भमा यस अदालतबाट जोखबहादुर वि.क. विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०७२, भाग ५७, अंक २, नि.नं. ९३५२) मा “सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ मा साक्षी हुनसक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुनसक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने” भन्दै “वारदातसँग सार्थक सम्बन्ध रहेको सहअभियुक्त रिमा परियारको पोल यी प्रतिवादी विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहेको हुँदा प्रस्तुत मुद्दामा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने देखिने” भनी सिद्धान्त प्रतिपादन भई साबित रहेका सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने भनी व्याख्या भएको देखिन्छ ।
१६. उपर्युक्त प्रतिपादित सिद्धान्तअनुसार, प्रस्तुत मुद्दामा प्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिंहले मौकामा अनुसन्धान अधिकारी तथा सुरू अदालतमा गरेको बयानबाट यी प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठा आरोपित कसुरमा संलग्न रहेको विश्वसनीय आधार रहेको देखिएको पाइन्छ । यसैगरी अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरू विकाशकुमार यादव, दिपक रियालसमेतले गरेको घटना विवरण कागजलाई समर्थन हुने गरी सुरू अदालतमा उपस्थित भई गरेको बकपत्र तथा जाहेरवालाले दिएको जाहेरी समर्थन हुने गरी अदालतमा गरेको बकपत्रसमेतबाट प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठा अभियोग दाबीअनुसारको कसुरमा संलग्न रहेको भन्ने देखिएको पाइन्छ । निज प्रतिवादीहरू बिटुकुमार चौधरीको अपहरण गर्ने तथा शरीर बन्धक लिने कार्यमा कुनै किसिमबाट संलग्न नरहेको भन्ने निजहरूको भनाइ निज प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाको भनाइ झुठो रहेको पोलिग्राफ परीक्षण प्रतिवेदनबाट देखिन्छ । निज प्रतिवादीहरूको साक्षीहरू देवनाथ बैठा र सुवास बैठाको बकपत्रले निर्दोषिता पुष्टि हुनसक्ने अवस्था देखिँदैन । तसर्थ, यी आधार र कारणहरू समेतबाट सहअभियुक्तहरू अमलदेव ठाकुर र दिनेश सिंहको पोल भनाइहरू समर्थित भई पुष्टि हुन आएकोले प्रतिवादी भाग्यनारायण बैठाले नाबालक बिटुकुमार चौधरीलाई अपहरण गर्ने तथा शरीर बन्धक बनाउने समेतको योजना बनाएको, त्यस योजनामा संलग्न व्यक्तिहरूको कार्य विभाजन गरी योजना सफल बनाउने कार्यमा संलग्न रहेको र प्रतिवादी मनोजकुमार बैठासमेत उपर्युक्त कार्यमा सहमत भई नाबालक बिटुकुमार चौधरीलाई अपहरण गरी भारतसम्म पुर्याई शरीर बन्धक बनाई फिरौती माग गर्ने कार्यमा संलग्न रहे भएको पुष्टि हुन आएको देखिँदा यी पुनरावेदकहरू विरूद्ध वारदातसँग प्रत्यक्ष सम्बन्ध रहेको सहअभियुक्तहरू अमलदेव ठाकुर र दिनेश सिंहको पोललाई प्रमाणमा लिन मिल्ने नै देखियो ।
१७. यसरी प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठाको पोलिग्राफ परीक्षण पद्धतिअनुसार परीक्षण गरी प्रस्तुत भएको राय एवं पोलिग्राफ परीक्षण गरी राय दिने व्यक्ति प्र.ना.नि. रामप्रसाद पाण्डेको बकपत्र, माथि उल्लिखित प्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिंह राजपुतको बयान, जाहेरवाला एवं पीडितको बकपत्र र बुझिएका माथि उल्लिखित मेनुका चौधरीसमेतको बकपत्रबाट समर्थित भएको देखिँदा प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठा कसुर गरेको कुरामा इन्कार रहे पनि निज प्रतिवादीहरू पीडितलाई अपहरण गरी शरीर बन्धक बनाउन संलग्न रहेको कुरा प्रतिवादीहरू अमलदेव ठाकुर र दिनेश सिंह राजपुतको बयान, जाहेरवाला र पीडितको बकपत्र एवं बुझिएका माथि उल्लिखित मेनुका चौधरीसमेतको बकपत्रबाट पुष्टि भएको देखिएको हुँदा मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ४ नं. मा, “यस महलमा लेखिएको कसुर गर्न दुरूत्साहन गर्ने, आदेश दिने, वा त्यस्तो कसुर हुनुभन्दा अगावै कसुर गर्न सहमति दिने व्यक्तिलाई सो कसुर निजले नै गरेसरह सजाय हुन्छ” भन्ने कानूनी व्यवस्था भएको देखिएबाट प्रतिवादी भाग्यनारायण बैठाले बालक बिटुकुमार चौधरीलाई अपहरण गरी शरीर बन्धक बनाउने कार्य गर्नको लागि योजना बनाई अन्य प्रतिवादीहरूलाई दुरूत्साहन तथा आदेश दिएको र अर्का प्रतिवादी मनोजकुमार बैठा कसुर हुनुभन्दा अगावै त्यस्तो कसुर गर्नका लागि सहमति दिई नाबालक बिटुकुमार चौधरीलाई अपहरण गरी भारतसम्म पुर्याई शरीर बन्धक बनाउने कार्यमा संलग्न रहे भएको देखिँदा निज प्रतिवादीहरूले अभियोग दाबीको कसुर गरेको देखिन आयो ।
१८. प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई के कति सजाय हुने हो? निज प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम सजाय हुनसक्छ वा सक्दैन भन्नेतर्फ हेर्दा, ऐ. अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा कसैलाई...छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुन्छ.... भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
१९. उपर्युक्त कानूनी व्यवस्थाअनुसार, कसैले कसैलाई अपहरण गरी शरीर बन्धक गराई निजको वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने उद्देश्यले यस महलको १ र २ नं. बमोजिम कसुर अपराध गरेमा सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुन्छ, प्रस्तुत मुद्दामा जाहेरवाला राकेश चौधरीको अढाई वर्षको नाबालक छोरा बिटुकुमार चौधरीलाई प्रतिवादी भाग्यनारायण बैठासमेतको योजनाअनुसार निजकै चिनजानका भारतीय नागरिक राजु यादवलाई जाहेरवालाको सूर्यविनायक बाराहिस्थान स्थित न्यू मुस्कान सप्लायर्समा एक महिनाअगाडि काममा लगाई दिएको र निज प्रतिवादी राजु यादवले बच्चालाई मिति २०७१/२/१४ गते जाहेरवालाको घरबाट बाहिर निकाली अमलदेव ठाकुरको मोटरसाइकलमा प्रतिवादीहरू अमलदेव ठाकुर, मनोजकुमार बैठा र राजु यादवसमेतले भारतको घोडासन भन्ने ठाउँमा पुर्याई राखी प्रतिवादी दिनेश सिंहले राधेश्याम मुखिया र सुरेन्द्र ठाकुरको सहयोगमा उक्त अपहरित बालकलाई सोही स्थानमा राखी प्रतिवादीहरूले जाहेरवालासँग डेढ करोड रूपयाँ फिरौतीबापतको रकम माग गरेको तथ्य बरामद भएको सिमकार्डहरूको Call details बाट पुष्टि हुन आएको देखिँदा पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा ऐ. महलको ३ नं. अनुसार प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमर बैठालाई जनही ८(आठ) वर्ष कैद सजाय हुने र सोही महलको ३ नं. बमोजिम जनही रू. १,५०,०००।– (एक लाख पचास हजार) जरिवाना हुने गरी भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।
२०. प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ७ नं. बमोजिम थप दुई वर्ष सजाय हुनसक्छ वा सक्दैन? भन्ने सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. मा भएको कानूनी व्यवस्था हेर्दा, “दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा सङ्गठितरूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्दछ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार जाहेरवाला राकेश चौधरीको अढाई वर्षको नाबालक छोरा बिटुकुमार चौधरीलाई प्रतिवादी भाग्यनारायण बैठासमेतको योजनाअनुसार निजकै चिनजानका भारतीय नागरिक राजु यादवलाई जाहेरवालाको सुर्यविनायक बाराहिस्थान स्थित न्यू मुस्कान सप्लायर्समा एक महिनाअगाडि काममा लगाई दिएको र निज प्रतिवादी राजु यादवले बच्चालाई मिति २०७१/२/१४ गते जाहेरवालाको घरबाट बाहिर निकाली अमलदेव ठाकुरको मोटरसाइकलमा प्रतिवादीहरू अमलदेव ठाकुर, मनोजकुमार बैठा र राजु यादवसमेतले भारतको घोडासन भन्ने ठाउँमा पुर्याई राखी प्रतिवादी दिनेश सिंहले राधेश्याम मुखिया र सुरेन्द्र ठाकुरको सहयोगमा उक्त अपहरित बालकलाई सोही स्थानमा राखी प्रतिवादीहरूले जाहेरवालासँग डेढ करोड रूपयाँ फिरौतीबापतको रकम माग गरेको तथ्य बरामद भएको सिमकार्डहरूको Call details बाट पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरूको उपर्युक्त कार्य दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली सङ्गठितरूपमा नाबालक बिटुकुमार चौधरीलाई अपहरण गरी शरीर बन्धक बनाई सोही महलको ७ नं. विपरीतको कसुर गरी यी प्रतिवादीहरूको संख्या दुईभन्दा बढी देखिएको र संगठितरूपमा कसुर गरेको देखिन आएकोले सोही महलको ७ नं. बमोजिम थप दुई वर्ष कैद सजाय हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२०मा भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।
२१. प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ९ नं. बमोजिम थप दुई वर्ष सजाय हुनसक्छ वा सक्दैन? भन्ने सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं. मा भएको कानूनी व्यवस्था हर्दा, “यस महलको १, २ वा ३ नं. बमोजिमको कसुर महिला वा नाबालक विरूद्ध गरिएको भए यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्दछ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार यस महलको १, २ वा ३ नं. बमोजिमको कसुर महिला वा नाबालक विरूद्ध गरिएको पुष्टि हुन आएमा यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ भनी बाध्यात्मक कानूनी व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा जाहेरवाला राकेश चौधरीको अढाई वर्षको अवोध नाबालक बिटुकुमार चौधरीलाई निजकै घरबाट प्रतिवादीहरूले योजना बनाई सङ्गठितरूपमा अपहरण गरी भारतको घोडासन भन्ने ठाउँमा पुर्याई शरीर बन्धक बनाई फिरौती माग गरेकोमा फिरौती रकम बुझाउन नपाउँदै बालकको सकुशल उद्धार गरिएको पुष्टि हुन आएकोले प्रतिवादीहरूको उपर्युक्त कार्य अढाई वर्षको नाबालक बिटुकुमार चौधरीलाई अपहरण गरी शरीर बन्धक बनाई सोही महलको ९ नं. विपरीतको कसुर गरेको देखिन आएकोले सोही महलको ९ नं. बमोजिम यस महलको १, २, वा ३ नं. बमोजिमको कसुर गरी नाबालकलाई अपहरण गरी शरीर बन्धक गराई राखेको देखिँदा थप दुई वर्ष कैद सजाय हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।
२२. पुनरावेदक / प्रतिवादी भाग्यनारायण बैठाको योजना र आदेशबमोजिम पुनरावेदक / प्रतिवादी मनोजकुमार बैठा सहमत भई अपहरण गर्ने तथा शरीर बन्धक लिने कार्यमा संलग्न भई यी प्रतिवादीसमेत भई नाबालक बिटुकुमार चौधरीलाई अपहरण गरी भारतको घोडासन भन्ने ठाउँमा पुर्याई शरीर बन्धक बनाई छुटकारा (फिरौती) रकम माग गरेकोमा छुटकारा (फिरौती) रकम बुझाउन नपाउँदै प्रहरीले सकुशल उद्दार गरेको कुरा सप्रमाण पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई जनही जम्मा चौध वर्ष कैद र रू. २,००,०००।– (दुई लाख) हुने ठहर्याई सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७१/०९/२० मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ८(आठ) वर्ष कैद, सोही महलको ७ र ९ नं. बमोजिम क्रमशः दुई-दुई वर्ष थप कैद गरी जम्मा १२(बाह्र) वर्ष कैद र सोही महलको ३ नं. बमोजिम जनही जरिवाना रू. १,५०,०००।– (एक लाख पचास हजार) हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।
२३. अतः माथि विवेचित आधार, कारण, र प्रमाणहरू समेतबाट पुनरावेदक / प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा र अमलदेव ठाकुरसमेतले अभियोग दाबीबमोजिम आरोपित कसुर गरेको पुष्टि हुन आएको देखिँदा प्रतिवादीहरू भाग्यनारायण बैठा र मनोजकुमार बैठालाई जनही जम्मा चौध वर्ष कैद र रू. २,००,०००।– (दुई लाख) जरिवाना हुने तथा बरामद भएको मोटरसाइकल जफत नहुने गरी भएको सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७१/०९/२० मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई पुनरावेदक / प्रतिवादीहरू भाग्नारायण बैठा र मनोजकुमार बैठालाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ८(आठ) वर्ष कैद र सोही महलको ७ र ९ नं. बमोजिम क्रमशः दुई-दुई वर्ष थप कैद गरी जम्मा १२(बाह्र) वर्ष कैद र सोही महलको ३ नं. बमोजिम जनही जरिवाना रू. १,५०,०००।– (एक लाख पचास हजार) हुने र बरामद भएको मोटरसाइकल जफत हुने तथा अरूमा सुरू भक्तपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०८/२० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादीहरू भाग्यनारायण बैठा, मनोजकुमार बैठा र अमलदेव ठाकुरको अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत: लोकबहादुर हमाल
इति संवत् २०७४ साल असोज १ गते रोज १ शुभम् ।