निर्णय नं. ९९८१ - जबरजस्ती करणी
प्रस्तुत मुद्दामा गोपनीयताको लागि जाहेरवाला र पीडितको परिवारको नाममा ................. राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
फैसला मिति : २०७४।४।३२
मुद्दाः जबरजस्ती करणी
०६९-CR-०३६५
पुनरावेदक / वादी : .....................को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कैलाली बलीया गा.वि.स. वडा नं.९ बस्ने ध्वजबहादुर रावलको छोरा प्रकाश रावल
०६९-CR-०४३०
पुनरावेदक / प्रतिवादी : जोरासिंहको छोरा कैलाली जिल्ला बलिया गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय कंचनपुरमा बन्दी रहेको प्रकाश रावल
विरूद्ध
प्रत्यर्थी / वादी : .....................को जाहेरीले नेपाल सरकार
पीडित महिलाउपर प्रतिवादीहरूले गरेको षड्यन्त्र, आपराधिक नियत र कार्यहरू (Mens Rea and Actus Rea) बाट नै सामूहिक बलात्कार हो वा होइन भन्ने पत्ता लगाउनु पर्ने हुन्छ । सामूहिक बलात्कारको कसुर स्थापित हुनको लागि एउटै वारदातस्थल र समय हुनुपर्छ भन्ने नहुने ।
छ जनाको समूहमा रहेका यी प्रतिवादीहरूले एक नाबालक महिलालाई नियन्त्रणमा लिई आफ्नो अनुकूलको समय र स्थानमा लगी जबरजस्ती करणी गर्छन् भने उक्त वारदातहरूलाई अलगअलग मानी सजायबाट छुट दिनु न्यायसङ्गत हुन नसक्ने ।
पीडित प्रतिवादीहरूको नियन्त्रणबाट मुक्त भएपछि मात्र अर्को जबरजस्ती करणीको वारदात भएको भए सो वारदातलाई अलग रूपमा लिन मिल्थ्यो होला तर प्रतिवादीहरूको नियन्त्रणमा रहेकै अवस्था तथा प्रतिवादीहरूकै इच्छाअनुसार स्थान परिवर्तन गरेको अवस्थामा घटेका जबरजस्ती करणीको वारदातहरूलाई एकै शृङ्खला (Chain) अन्तर्गत घटेको वारदात मानी हेर्नुपर्छ । अलगअलग स्थान र समयमा भएको भन्ने आधारमा सजायबाट छुट हुन नसक्ने ।
(प्रकरण नं.११)
गम्भीर अपराधमा कानूनले फरकफरक स्थान र समयमा भएको जबरजस्ती करणी सामूहिकरूपमा भएको जबरजस्ती करणी होइन भनी प्रस्टरूपमा उन्मुक्ति प्रदान नगरेको अवस्थामा कानूनको व्याख्या गर्दा कसुरदारलाई छुट र उन्मुक्ति नहुने किसिमबाट गर्नुपर्छ । समूहगत रूपमा मिली नाबालकलाई नियन्त्रणमा लिई आफ्नो इच्छाअनुसारको समय र स्थानमा शृङ्खलाबद्ध रूपमा जबरजस्ती करणी गरेको यसप्रकारको जघन्य कार्यमा अलगअलग स्थान र समयमा भएको भन्ने आधार लिई अपराधको दायित्वबाट उन्मुक्ति दिनु विधायिकाको मनसायविपरीत त हुन्छ नै पीडितको न्याय पाउने अधिकारको समेत विपरीत हुन जाने ।
(प्रकरण नं.१३)
राज्यको निकायबाट कुनै अभियोग लागी अदालतमा मुद्दा दायर भएको अवस्थामा अदालतमा उपस्थित भई सो अभियोगको खण्डन गरी आफ्नो निर्दोषिता पुष्टि गर्नु वा दोषी ठहर भएको अवस्थामा कानूनबमोजिमको सजाय भोग्नु नागरिकको कर्तव्य हो । कानूनको रीतबमोजिम सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने पनि अदालतले प्राप्त प्रमाणको आधारमा न्यायिक निष्कर्षमा पुग्नु नै पर्ने ।
प्राप्त प्रमाणबाट सामूहिकरूपमा जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट स्थापित भएको अवस्थामा सहअभियुक्तहरू फरार रहेको भन्ने आधारमा मात्र प्रतिवादीलाई सजायबाट छुट दिनु न्यायसङ्गत हुन नसक्ने ।
(प्रकरण नं.१४)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री कृष्णप्रसाद सापकोटा, विद्वान् अधिवक्ता श्री कलमबहादुर खत्री
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्या. श्री नारायणप्रसाद धिताल
कैलाली जिल्ला अदालत ।
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री थीरबहादुर कार्की
पुनरावेदन अदालत दिपायल ।
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
म जाहेरवाली जनसेवा माध्यमिक विद्यालय गणेशपुर बलियामा कक्षा ८ मा पढ्ने भएकी हुँदा मिति २०६६।७।११ का दिन म विद्यालय पढ्न भनी गई साँझतिर विद्यालयबाट आफ्नो घरतर्फ आउन लाग्दा जिल्ला कैलाली बलिया ८ बस्ने जोरा सिंह रावलको छोरा वर्ष २५ को प्रकाश रावलसमेतले मलाई आफ्नो मोटरसाइकलमा राखी घरसम्म पुर्याई दिन्छु भनी अण्डामा नसालु पदार्थ मिसाई खुवाई मलाई विभिन्न स्थानमा लगी मिति २०६६।७।२० गतेसम्म जबरजस्ती करणी गरेको हुँदा निज अन्यायीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
जिल्ला कैलाली बलिया ८ लम्की बजार स्थित पूर्वमा अं.१० मिटर टाढा लम्की देखी टिकापुर खक्रौला जाने कच्ची ग्राबिल सडक बाटो, पश्चिममा टेकबहादुर शाहीको पक्की घर, उत्तरमा रोहन ढकालको पक्की घर र दक्षिणमा जीतबहादुर चौधरीको पक्की घर यति चार किल्लाभित्र पर्ने दुई तल्ले पौडेल होटल एण्ड लजको होटल घरको कोठा नं.३ मा जिल्ला कैलाली बलिया ८ लम्की बस्ने अन्दाजी वर्ष २२ को प्रकाश रावल, अनुप बुच्चर, भरत जैशी, प्रकाश रावल, तिर्थ तारामी लगायतका ६ जनाले .....................लाई मिति २०६६।७।२० गते राति जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०६६।७।२० गते म आफ्नै घरपसलमै थिएँ । जाहेरवाली .....................लाई मैले जबरजस्ती करणी गरेको होइन । निजले ममाथि झुठ्ठा कुरा भनी आरोप लगाएकी हुन् । सो राति म उक्त होटलमा पनि गएको थिइन । सो सम्बन्धमा साहुलाई बुझ्दा हुन्छ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६६।७।२० गते म आफ्नै घरमा थिएँ । जाहेरवाली ..................... मेरो लम्की स्थित सि.डी.पसलमा आइरहने भएकीले एक महिनापूर्वदेखि निजलाई चिन्दछु । निज बजारमा मैले नचिनेका केटाहरूसँग घुमेको देखी निजलाई सम्झाउने गर्दथेँ । निजलाई मैले जबरजस्ती करणी गरेको होइन । निजले ममाथि झुट्ठा आरोप लगाएकी हुन् । अन्य कसैले गरेको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
जिल्ला कैलाली बलिया ८ स्थित त्रिशक्त सामुदायिक वनजंगल स्थित पूर्वमा ऐ. वनमा जाने कच्ची बाटो, पश्चिममा अं.५०० मि. टाढा धुपेनी खोला, उत्तरमा अं.५० मि.टाढा ठूलो सालको रूख र दक्षिणमा अं.२०० सम्म टाढा पूर्व पश्चिम महेन्द्रराजमार्ग यति चार किल्लाभित्र पर्ने स्थानमा सालघारी तथा स-साना रूइनाका बोट-विरूवाहरूको जंगल रहेको सो ठाउँमा मिति २०६६।७।११ गते दिउँसो साँझतिर जिल्ला कैलाली बलिया ८ लम्की बस्ने प्रकाश रावल र तिर्थ तारामीले पीडित .....................लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
जिल्ला कैलाली बलिया ८ लम्की स्थित पूर्वमा रन सिंह बि.क.को पक्की घर, पश्चिममा दिप सिंह बिष्टको पक्की घर, उत्तरमा खुल्ला खाली रहेको जमिन र दक्षिणमा ३० मि. टाढा पूर्व पश्चिम महेन्द्रराजमार्ग यति चार किल्लाभित्र अवस्थित दक्षिण मोहडा भएको दुई तल्ला भएको प्रदिप बुढाले पञ्चकोशी होटल सञ्चालन गरेको घर, उत्तर घरको तल्लो तल्लाको उत्तरपट्टिको ग्यालरीभन्दा पूर्वपट्टिको कोठा नं. १०४ मा प्रतिवादी प्रकाश रावलले .....................लाई मिति २०६६।७।११ गते राति जबरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थलमा घटनासँग सम्बन्धित सबुद प्रमाण फेला नपरेको घटनास्थल प्रकृति मुचुल्का ।
जिल्ला कैलाली बलिया ८ लम्की बजार स्थित पूर्वमा बुटवल फर्मा मेडिकल रहेको एक तल्ले घर, पश्चिममा उमेश भिडियो रहेको पसल कोठा, उत्तरमा खुल्ला रहेको जमिन र दक्षिणमा पूर्व पश्चिम महेन्द्रराजमार्ग यति चार किल्लाभित्र पर्ने स्थानमा मेडिकल रहेको एक तल्ले पक्की घर उक्त घरको उत्तरपट्टिको प्रतिवादी भरत जैशीले डेरामा लिई बसेको कोठामा मिति २०६६।७।१२ गते राति अन्दाजी १ बजेको समयमा प्रतिवादी भरत जैशीले पीडित ................लाई जबरजस्ती करणी गरेको भनी देखाइएको घटनाथलमा घटनासँग सम्बन्धित सबुद प्रमाण फेला नपरेको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६६।७।११ को दिन म आफ्नै होटलमा थिएँ । प्रतिवादी प्रकाश रावललाई म चिन्दछु, पीडितलाई म चिन्दिन । प्रतिवादी प्रकाश रावलले मेरो होटलमा पीडित .....................लाई ल्याएको र करणी गरेको सम्बन्धमा मलाई केही थाहा छैन । पीडितले मेरो होटलमा करणी भएको भनी के कसरी जाहेरी दिएकी हुन् मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रदिप बुढाले मौकामा गरेको कागज ।
मिति २०६६।७।११ गते म आफ्नै होटलमा थिए । पञ्चकोशी होटलको पूर्वपट्टिको सी.डी चक्का पसल गरी बस्ने प्रकाश रावलले मेरो होटलमा आई मलाई कोठा चाहिएको छ, तपाइँको होटलमा कोठा खाली छ कि छैन भनी सोध्दा मैले कोठा त छ भनी माथिल्लो तल्लामा मिति २०६६।६।२० गते कोठा दिएको थिएँ । निज जाहेरवाली .....................लाई प्रतिवादी प्रकाश रावलसमेतले जबरजस्ती करणी गरेको थियो भन्ने कुरा सुनी थाहा पाएको थिएँ । सो राति मैले हो हल्ला भएको सुनेको थिएन भन्नेसमेत बेहोराको शिव सुवेदीले मौकामा गरेको कागज ।
मिति २०६६।७।११ गते म आफ्नै घरमा थिएँ । ऐ. १७ गते जाहेरवाली ........................ मेरो छोरीसँग आई दुई तीनदिन जति बसी गएकी थिइन् । निजलाई को कसले जबरजस्ती करणी गरेका हुन् केही थाहा छैन । पछि सुन्दा प्रतिवादी प्रकाश रावललाई सोही घटनाको आरोपमा प्रहरीले पक्राउ गरी लगेका हुन् भन्ने कुरा सुनी थाहा पाएको थिएँ भन्नेसमेत बेहोराको टिकाराम धमलाले मौकामा गरेको कागज ।
मिति २०६६।७।११ गते दिउँसो म आफूले पढाउने गरेको दिपेन्द्र नि.मा.वि.थपालीपुर लम्कीमा थिएँ । ऐ.२० गते राति पनि आफ्नै घरमा थिएँ । जाहेरवाली ..................... मेरो भान्जी नाता पर्छिन् । निजलाई प्रतिवादी प्रकाश रावलसमेतका व्यक्तिहरूले ऐ.बलिया ८ लम्की स्थित पौडेल होटलमा जबरजस्ती करणी गरेको भन्ने कुरा वारदात भएपश्चात् निज भान्जी .....................ले भन्दा सुनी थाहा पाएकी थिए । निज प्रतिवादीहरू राम्रा चरित्रका होइनन् भन्नेसमेत बेहोराको कमला कुमारी मिश्रले मौकामा गरेको कागज ।
मिति २०६६।७।११ को दिन म आफ्नै पसलमा थिएँ । त्यस्तै ऐ.७।२० गतेका दिन तथा राति पनि म पसल तथा घरमा नै थिएँ । जाहेरवाली .....................लाई म चिन्दिन । त्यस्तै प्रतिवादीहरू ६ जनालाई नै चिन्दिन । उक्त घटना भए नभएको मलाई थाहा भएन । उक्त समयमा मलाई केही कुरा पनि थाहा भएन । तापनि मिति २०६६।७।२२ गते प्रहरीहरू पौडेल होटलमा आइसकेपछि हिजो एउटा मानिस बसेको थियो । त्यसै सम्बन्धमा बुझ्न आएका हुन् भनी होटल साहुले मलाई भनेका र प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गरिसकेपछि सो घटना सम्बन्धमा मिति २०६६।७।२७ गते मात्र थाहा जानकारी पाएको थिएँ । घटना घटे नघटेको केही थाहा भएन भन्नेसमेत बेहोराको प्रकाश जैशीसमेतका व्यक्तिहरूले गरी दिएको वस्तुस्थिति मुचुल्का कागज ।
पीडित वर्ष १५ की .....................लाई प्रतिवादी प्रकाश रावल, प्रेम योगी, अनुप कुरेशी बुच्चर, तिर्थ तारामीले जबरजस्ती करणी गरेको देखिएकोले निजहरूलाई मुलुकी ऐनजबरजस्ती करणी महलको १x३ (३) x ३ (क) नं. विपरीतको कसुर अपराधमा सोही महलको ३(३) नं. को कसुर सजाय गरी सोही महलको ३(क) नं.बमोजिम थप सजायको दाबी लिई र सोही महलको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति भराई पाउने दाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
जाहेरवाली ................. लाई चिनेको र मेरो सी.डी. पसलमा सी.डी. चक्का लिन आउने जाने गरेकी हुनाले त्यसदिन पनि म त्यो बाटो भएर आइरहेको बेलामा निज ...............लाई बाटोमा हिँडी घर तिर आई रहेको देखी बहिनी तिम्रो घरसम्म पुर्याई दिन्छु मोटरसाइकलमा बस भनी भन्दा निज मेरो मोटरसाइकलमा नबसी सरासर हिँडी आफ्नो घरमा गएकी हुन् । मैले निजलाई जबरजस्ती करणी गरेको होइन अन्य को-कस्ले कहाँ के गरे मलाई केही थाहा छैन । ममाथि लगाइएको आरोप झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलले अदालतमा गरेको बयान ।
मिति २०६६।७।११ गतेदेखि २० गतेसम्म मैलेसमेत जाहेरवालीलाई जबरजस्ती करणी गर्यो भन्ने कुरा झुट्ठा हो । उक्त मिति र समयमा निजसँग मेरो भेटघाट पनि भएको छैन । निजलाई म पहिले चिन्दैनथेँ । लम्की बजारमा मेरो पसल भएकोले मेरो पसलमा आउने जाने क्रममा ४।५ महिना अगाडिदेखि मात्र चिन्दछु । मैले निज जाहेरवालीलाई कुनै पनि मिति र समयमा केही कुनै बेहोराले जबरजस्ती करणी गरेको छैन । अरू कसले गर्यो थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलले अदालतमा गरेको बयान ।
उक्त मिति र समयमा म लम्की स्थित बजारमा नै थिएँ । उक्त समयमा कुनै किसिमको जबरजस्ती करणी कोही कसैलाई पनि भएको गरेको थिएन । यी दुवै राम्रो चरित्र भएका व्यक्ति हुन् । राजनीतिक पूर्वाग्रह र पैसाको लोभलालचमा मात्र यी दुईजनाको विरूद्धमा आरोप लगाइएको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलद्वयका साक्षी पहल शाहीले अदालतमा गरेको बकपत्र ।
रिसइवीको कारण यी प्रकाश रावलद्वयको नाममा जाहेरी दिइएको हो । यी जाहेरवालीको चरित्र राम्रो छैन भन्ने कुरा यी प्रकाश रावलद्वयलाई थाहा जानकारी भएकाले आफ्नो सम्पूर्ण पोल खुल्छ भन्ने डरले यी जाहेरवालीले यी प्रतिवादीद्वय प्रकाश रावलका नाउँमा झुट्ठा जाहेरी दिएकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलद्वयका साक्षी दलबहादुर रावलले अदालतमा गरेको बकपत्र ।
म तरकारी व्यापार गरी फर्कंदा मेरो काम गर्ने केटाले रू.१०००।– दिएको थियो । सो सबै काम खानासमेत दिने र हिसाब गर्ने काम त्यही केटाले गर्ने गर्दथ्यो र यस मुद्दाका प्रतिवादीहरू प्रकाश रावल र प्रकाश रावललाई मैले मेरो होटलमा भोलिपल्ट बिहान देखिन रातमा देखेँ । भोलिपल्ट बिहान १ जना बहिनीलाई देखेको थिएँ । सोको हुन् मलाई थाहा भएन, ततपश्चात् म तरकारी बेच्न आफ्नो काममा गइहालेँ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने शिव सुवेदीले अदालतमा गरेको बकपत्र ।
मिति २०६६।७।११ गते छोरी घरबाट निस्की स्कुल गएकी र साँझ घर नफर्केपछि भोलिपल्टदेखि म छोरीको खोजीमा निरन्तर लागेकोमा शिवराज कोइराला र रनसिंह वि.क. भन्ने व्यक्तिले निज छोरीलाई बलियाकै भल्का भन्ने ठाउँमा छ भनी पत्ता लगाई त्यहाँबाट छोरी लम्की ल्याएका हुन् र पछि मैले यी यी व्यक्तिबाट यस्तो भयो भनी चौकीमा निवेदन हालेको थिएँ । यी २ जना प्रतिवादी प्रकाश रावल र प्रकाश रावललाई शिवराज कोइराला र रन सिंह वि.क. समेतको सहयोगमा प्रहरीले पक्राउ गरी ल्याएका हुन् । तत्पश्चात् टिकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लगाएको हो । मैले फरार रहेका प्रतिवादीहरूको पनि खोजी गरिदिनु पर्यो भनी पटकपटक प्रहरीमा निवेदन दिएको छु । उनीहरूले देखाएका घटनास्थलसमेत मैले हेरेको थिएँ । यी प्रतिवादी प्रकाश रावलद्वयले नसालु अण्डा खुवाउने र सो कार्यमा भरत जैशी पनि थिए । बेहोस भएकै अवस्थामा धुपेनी खोलामा पीडितलाई लगेका र तत्पश्चात् पीडितलाई अनुप बुच्चरको जिम्मामा इन्डिया लगी बेची दिनु भनी लगाएका र इन्डिया लैजाने क्रममा भल्काबाट शिवराज कोइराला र रन सिंह वि.क.ले फिर्ता ल्याएका थिए । मैले छोरीलाई सोध्दा यी प्रतिवादीहरूले मलाई बेहोस गराएका हुन् भनी भनेकी थिइन् भन्नेसमेत बेहोराको जाहेरीमा रोहवरमा बस्ने पीडितका बुबा ................ले अदालतमा गरेको बकपत्र ।
स्कुल छुट्टी भएपछि स्कुलको गेटमा दुवै जना प्रकाश रावल र तिर्थ तरामी बसिराखेकोमा मलाई आउ हाम्रो मोटरसाइकलमा बस, हामी तिम्रो घर पुर्याई दिन्छौं भनी प्रकाश रावलले भन्दा म प्रकाश रावलको मोटरसाइकलमा चढी गएको र अलि पर पुगेपछि प्रकाश रावलले तिमीलाई भोक लागेको छ कि भनी सोधेको र मैले लागेको छ भनी भनेकीले मैले उसिनेको अण्डा ल्याएको छु खाऊ भनी भनेकाले मैले उक्त उसिनेको अण्डा खाएको थिएँ । तत्पश्चात् मलाई रिङ्गटा चलेकोमा मैले मलाई कहाँ लैजाँदै छौं भन्दा म तिम्रै घरतिर लैजाँदै छु भनेका र मेरो स्कुलबाट २।३ घण्टा लाग्ने ठाउँ धोबेनी खोला लगेर गए । त्यसपछि तिर्थ तरामीलाई सोही खोलामा छोडी मोटो प्रकाश रावलले मलाई भित्र झाडीमा लगेको र त्यही मोटरसाइकल खडा गरी मैले लगाएको स्कर्टमाथि गरी मलाई जबरजस्ती करणी गरेको हो र मैले चिच्याउँदा कराउँदा कसैले सुनेन र मलाई चुप लाग हल्ला नगर भनी धाक डर देखाए । म झारीबाट आउँदै गर्दा तिर्थ तरामीले मलाई जबरजस्ती भुइँमा पल्टाई मलाई जबरजस्ती गर्न खोज्यो । तत्पश्चात् म बाटोमा आएकोमा बाटोमा पातलो वाला प्रकाश उभी राखेको थियो । म अलि दगुर्दै माथि गएकोमा रात परिसकेकोले सुनसान थियो र मलाई डर लागिरहेको थियो । मलाई निजहरूले चुपचाप लागी बाइकमा बस भनी बाइकमा बसाए । उक्त बाइक चलाउने तिर्थ तरामी थिए भने मेरो पछाडि मोटो प्रकाश रावल पनि बसेको थियो । तत्पश्चात् खक्रौला रोडमा रहेको पञ्चकोशी होटलमा लगेर गएका र मलाई सो होटलको भान्सा नजिकैको कोठामा राखेका थिए । त्यसपछि मोटो प्रकाश रावल मलाई कोठामा छोडी गएकोमा मैले नचिनेको अपरिचित मानिस कोठाभित्र पस्यो । मैले प्रकाश भनी बोलाउँदा उक्त व्यक्ति मसँग केही नबोलेकोले मलाई शंका लागी सोही कोठाको बाथरूममा पसी चुकुल लगाएकी थिएँ । सो व्यक्तिले मलाई चुकुल खोल भनी भनेकोमा म कराएको र उक्त होटलको साउजी र प्रकाश रावल (मोटो) आएका थिए । उक्त स्थानमा पातलो प्रकाश रावल र तिर्थ तरामी पनि थिएनन् । मैले बाथरूमको चुकुल खोल्दा उक्त अपरिचित व्यक्ति बाहिर निस्किसकेको थियो । तत्पश्चात् मोटो प्रकाश रावलले खाना मगाई म र प्रकाशले सँगै खाना खाएका थियौँ । धेरै राति भएको र लगभग राति ११.०० बजे मलाई बस काउण्टर नजिक रहेको पौडेल होटलमा लगी विभिन्न डर त्रास देखाई सिढी नजिकको कोठामा लगेका थिए । तत्पश्चात् प्रकाश रावल (मोटो) वालाले उसिनेको अण्डामा नसालु पदार्थ मिसाई मलाई जबरजस्ती खुवाएको र त्यसको केही बेरपछि मलाई रिङ्गटा लागी सो कोठाको खाटमा पल्टिएको थिएँ । म बेहोस भएकोले होसमा आउँदा अनुप बुच्चर मेरो शरीरमाथि चढेको र मेरो शरीरको सबै लुगा खोलिएको थियो । मलाई उनले जबरजस्ती करणी गरी राखेका थिए फेरि पुनः म बेहोस भई हाले त्यसको १, २ घण्टापछि म फेरि होसमा आउँदा रातिको १.०० बजिसकेको थियो । त्यहाँबाट मलाई भरत जैशीले आफ्नो डेरामा लगेको थियो । डेरामा लगी मलाई रातभर ३।४ पटक जबरजस्ती करणी गरेका थिए । तत्पश्चात् म फेरि बेहोस भई बिहान एकै चोटि बिउझिएकी थिएँ । त्यसपछि मलाई पुनः मोटो प्रकाश रावल र भरत जैशीले बेहोस गराई मलाई बलियातिर लग्दै गरेको अवस्थामा रन सिंह अंकलहरूले मलाई भेटाएका हुन् । रन सिंह अंकलका साथ शिवराज कोइराला पनि थिए भन्नेसमेत बेहोराको जाहेरवाली तथा पीडित .....................ले अदालतमा गरेको बकपत्र ।
मैले प्रत्यक्ष देखेको होइन । यी दुवै प्रतिवादीहरू र .....................लाई मोतीपुर प्रहरी चौकीमा ल्याइसकेपछि मलाई केटीहरूले आईमाई कुरा भन्दछन् यी पीडितलाई सोध भनेकोले सोध्दा यी पीडित मेरी भान्जीले मलाई भनेअनुसार प्रतिवादीहरूले बाइकमा बस भनी बाइकमा भान्जी बसेकी र बजारमा पुगेपछि भोक लाग्यो भनी सोधेको र भान्जीले भोक लागेको छ भनी भन्दा नास्ता खाउ भनी यी प्रतिवादीहरूले उसिनेको अण्डा खान दिएको र खाएको एकछिनपछि निजलाई चक्कर लागेको र पुनः ठुलो प्रकाश रावलले बाइक चलाई पछाडिपट्टि सानोवाला प्रकाश रावल बसी लम्कीभन्दा पर पूर्वतिर धुपेनी खोलातिर लगेको र ठुलो वाला प्रकाश रावलले तिर्थ तरामीलाई बाइक कुर्न लगाई जंगलमा लगी ठुलो प्रकाश रावल, तिर्थ तरामी र सानो प्रकाश रावलले पालै पालो जबरजस्ती करणी गरेका हुन् भनेकी हुन् । तत्पश्चात् यी भान्जीले भाग्न खोज्दा तँलाई नाङ्गै रोडमा छोडिदिन्छु भनी जाहेरवालीलाई होटलमा ल्याएपछि फेरि कुन चाहिँ प्रकाश हो मलाई थाहा भएन, तत्पश्चात् तिर्थ तरमीले पुन: जबरजस्ती करणी गरेका हुन् र पछि पुन: अण्डा र अन्य नास्ता खुवाई तत्पश्चात् जाहेरवाली बेहोस भइन् । होसमा आउँदा यी जाहेरवालीको कुनै कपडा थिएन र अनुप कुरैसी यी जाहेरवालीको शरीरमाथि चढिराखेको र म कराएँ चिच्चाएँ र पल्लो कोठाको मान्छेले यो कोठामा के भयो भनी भनेका हुन् । सो दिन सोही होटलमा बसेको र पुनः यी केटाहरूले खोज्न थालेपछि यी केटाहरू र जाहेरवालीलाई माओवादीहरूले भेट्टाएपछि चौकीमा बुझाएको हो भनी जाहेरवाली भान्जीले मलाई भनेको हो । जाहेरवालीले सबै कुरा मलाई प्रहरी चौकीमा भनेकी हुन् भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने कमला कुमारी मिश्राले अदालतमा गरेको बकपत्र ।
एउटी अवला उमेर नपुगेकी नाबालिकाले किटान गरी नाम खुलाई आफूलाई करणी भएको कुरा प्रस्ट लेखाइदिएकोलाई जाहेरी, मौकामा बुझिएका मानिस र पीडितको बकपत्रमा सामान्य फरक भएको मात्र कारणले प्रतिवादीहरू निर्दोष रहेछन् भन्ने देखिँदैन । पीडितलाई करणी भएको भन्ने कुरा निजको शारीरिक जाँच एवं केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट जाँच भई आएका भौतिक प्रमाणसमेतले पुष्टि गरेको देखिँदा प्रतिवादी प्रकाश रावल र अर्कै प्रकाश रावलले जाहेरवालीलाई जबरजस्ती करणी गरेकोमा निजहरूलाई मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं. विरूद्धको कसुरमा सोही ऐनको ३(२) बमोजिम १६ वर्षमुनिको बालिकालाई करणी गरेको देखिँदा निजहरूलाई जनही ७ वर्ष कैद र सोही ऐनको ३ क बमोजिम सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिँदा थप ५ वर्ष कैदको सजाय हुनका साथै प्रतिवादीहरूबाट पीडितले जनही रू.१,००,०००।– का दरले क्षतिपूर्तिसमेत भराई पाउने ठहराएको सुरू कैलाली जिल्ला अदालतको मिति २०६८।३।१५ को फैसला ।
प्रतिवादीमध्येको म पातलो प्रकाश रावलले अनुसन्धान अधिकारी र सम्मानित अदालतमा गरेको इन्कारी बयान, पीडित जाहेरवालीसमेतले अदालतमा बकपत्र गर्दा म पातलो प्रकाश रावलको कहीँकतै पनि कुनै किसिमको दोष भएको भनी नभनेको, मौकामा बुझिएका व्यक्ति र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको भनाइमा एकरूपता नभएको, स्वयं जाहेरवालीका बकपत्र र जाहेरी बेहोरामा समेत एकरूपता नहुनु आदि आधार हुँदाहुँदै पनि मलाई हराउने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पातलो प्रकाश रावलले पुनरावेदन अदालत‚ दिपायलमा दायर गरेको पुनरावेदनपत्र ।
म पुनरावेदक प्रकाश रावलले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा पूर्ण रूपमा इन्कार रहेको‚ पातलो प्रकाश रावलले समेत मलाई नपोलेको, पीडितले अदालतमा बकपत्र गर्दा कुनै पनि वारदातमा मेरो उपस्थितिसम्म नदेखाएको, मौकामा बुझिएका व्यक्ति र वस्तुस्थिति मुचुल्काका व्यक्तिको भनाइमा एकरूपता नभएको, स्वयं जाहेरवालीको बकपत्र र जाहेरी बेहोरामा एकरूपता नहुँदा नहुँदै पनि जाहेरीमा उल्लेख भएको नामलाई आधार लिई मलाई हराउने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रकाश रावलले पुनरावेदन अदालत‚ दिपायलमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा सुरूको फैसला विचारणीय देखिँदा मुलुकी ऐन अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदनपत्रको प्रतिलिपिसहित पेसीको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय दिपायललाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत दिपालयबाट मिति २०६८।९।२५ मा भएको आदेश ।
जोरा सिंह रावलको छोरा पुनरावेदक प्रकाश रावललाई अभियोग दाबीबमोजिम कसुरमा १२(बाह्र) वर्ष कैद एवं निजबाट पीडितले रू.१,००,०००।– (एकलाख) क्षतिपूर्ति भराई पाउने गरी गरेको फैसला मिलेकै देखिन्छ । धोजबहादुर रावलको छोरा पुनरावेदक प्रकाश रावलले पीडितलाई करणी गरेको नदेखिए पनि जोरा सिंह रावलको छोरा प्रकाश रावलसमेतले पीडितलाई करणी गर्ने भएको कुरा जानी थाह पाई हुल गरी सँग लागी जाने कार्य गरेको देखिँदा धोजबहादुर रावलको छोरा प्रकाश रावलको हकमा अभियोग दाबीबमोजिम सजाय र निजबाट रू. एकलाख पीडितले क्षतिपूर्ति भरी पाउने गरेको हदसम्म सुरू कैलाली जिल्ला अदालतको मिति २०६८।३।१५ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई धोजबहादुर रावलको छोरा प्रकाश रावललाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ४ नं.बमोजिम पीडित १६ वर्ष मुनीको देखिँदा १(एक) वर्षको दोब्बर २(दुई) वर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपालयबाट मिति २०६८।१२।१३ मा भएको फैसला ।
म पुनरावेदकले पीडितलाई जबरजस्ती करणी गरेको छैन । पीडितको भनाइ आफैँमा विवादित र असङ्गत रहेको छ । त्यसैगरी पीडितको पिता ................ र कमला कुमारी मिश्रको बकपत्रले आपसमा मेल नखाई विरोधाभासपूर्ण अवस्था विद्यमान रहेको छ । विपक्षीको शारीरिक परीक्षण प्रतिवेदन पनि आफैँमा विवादित रहेको छ । शारीरिक परीक्षण गर्ने चिकित्सकलाई अदालतबाट बुझ्ने काम नगरी निजले प्रस्तुत गरेको हचुवा रिपोर्टलाई विशेषज्ञको रिपोर्ट भन्ने संज्ञा दिई मेरा विरूद्ध प्रमाण लगाई मलाई हराई गरेको फैसला प्रमाण ऐन‚ २०३१ को दफा १८ को प्रतिकूल छ । अतः सुरू कैलाली जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत‚ दिपायलको फैसला बदर गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने बेहोराको जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
पीडितको बकपत्रको स.ज.८ मा ध्वजबहादुरको छोरा प्रकाश रावलले समेत करणी गरेको उल्लेख छ । त्यसैगरी जाहेरी दरखास्तको विरूद्ध खण्डमा जोरा सिंहको छोरा प्रकाश रावलको साथै ध्वजबहादुर रावलको छोरा प्रकाश रावलसमेत उल्लेख छ । जाहेरी दरखास्तको प्रकरण नं. ३ मा ध्वजबहादुर रावलको छोरा प्रकाश रावलको नाम उल्लेख भएको र प्रकरण नं. ३ मा उल्लिखित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको पेटबोलीमा उल्लेख भएको अवस्थामा उमेर नपुगेकी बालिकाले प्रतिवादीहरूको नाम किटान गरी दिएको जाहेरी दरखास्त र बकपत्रको भनाइ र लेखाइको तरिका फरक पर्दैमा जाहेरी दरखास्तमा ध्वजबहादुर रावलको छोरा प्रकाश रावलले जबरजस्ती करणी गरेको भनी उल्लेख नभएको भनी अर्थ गरी पुनरावेदन अदालत दिपायलले करणीको ४ नं. बमोजिम २ वर्ष कैद हुने ठहर्याई गरेको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय होस् भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले गर्नुभएको बहस जिकिर देहायबमोजिम रहेको छ ।
वरिष्ठ अधिवक्ता श्री शम्भु थापा
प्रस्तुत मुद्दामा सामूहिक बलात्कार भएको अवस्था हैन । सामूहिक बलात्कार हुनको लागि प्रतिवादीहरूले पीडितलाई सामूहिकरूपमा एकैपटक करणी गरेको हुनुपर्छ । वारदातको प्रकृति हेर्दा सामूहिकरूपमा करणी गरेको अवस्था नभई प्रतिवादीहरूलाई फरकफरक समयमा करणी गरेको आरोप हुँदा सामूहिकरूपमा करणी भएको भनी मान्न मिल्दैन । प्रतिवादीहरूले एकैपटक पीडितलाई करणी गरेको अवस्था होइन । सामूहिक करणी नै नभएको अवस्थामा प्रतिवादी प्रकाश रावललाई सामूहिक बलात्कारबापत थप सजाय गर्ने पुनरावेदन अदालत दिपायलको फैसला नमिलेको हुँदा बदर गर्नुपर्छ ।
वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा
सामूहिक बलात्कार प्रमाणित हुनको लागि करणीको कार्यमा सामूहिकरूपमा सबै जना संलग्न भएको देखिनुपर्छ । हाल दुईजना प्रकाश रावल मात्र रहेको र अन्य प्रतिवादीहरू फरार रहेको अवस्थामा सामूहिक बलात्कार भएको भनी प्रमाणित हुन सक्दैन । करणीको विवादमा पीडितको भनाइलाई प्रमाणमा लिनको लागि भनाइहरूमा एकरूपता रहेको हुनुपर्छ । त्यसमा शंका गर्न सकिने अवस्था हुन हुँदैन । पीडितको भनाइ फरकफरक भएमा अन्य स्वतन्त्र प्रमाणबाट समेत प्रमाणित हुनुपर्छ । प्रस्तुत मुद्दामा पीडितको भनाइ नै एक आपसमा बाझिएका छन् भने उक्त भनाइलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न सकेको अवस्थासमेत छैन । यस अवस्थामा प्रतिवादी प्रकाश रावलउपरको आरोप प्रमाणित हुन सक्दैन । निजलाई अभियोग दाबीबाट सफाइ दिनुपर्छ ।
अधिवक्ता कलमबहादुर खत्री
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम नजिकको प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गर्नुपर्नेमा सो भएको अवस्था छैन । पीडितको पिताले अदालतमा बकपत्र गर्दा १८ गते छोरी फेला परेको भनेका छन् भने २० गते छोरी खोज्नको लागि निवेदन दिएका छन् । मौकामा कागज गर्ने तथा अदालतमा आई बकपत्र गर्ने व्यक्तिहरूको भनाइ पनि एक आपसमा विरोधाभाषपूर्ण छ । फौजदारी मुद्दामा कसुरदार ठहर्नको लगि निर्विवाद प्रमाणको भूमिका र उपस्थिति अनिवार्य सर्त हो । प्रस्तुत मुद्दामा प्रतिवादीको प्रमाणहरूको न्यायोचित सुनुवाइ र मूल्याङ्कन नगरी विशेषज्ञलाई अदालतबाट बुझ्दै नबुझी जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावललाई १२ वर्ष कैद हुने ठहराएको कैलाली जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला बदर गरी जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावललाई सफाइ दिनुपर्छ ।
त्यसैगरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीले निम्न अनुसार बहस गर्नुभयो ।
सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी
पीडितको बकपत्रको स.ज.८ मा ध्वजबहादुर रावलको छोरा प्रकाश रावलले समेत करणी गरेको उल्लेख छ । जाहेरी दरखास्तको प्रकरण नं. ३ मा ध्वजबहादुर रावलको छोरा प्रकाश रावलको नाम उल्लेख भएको र प्रकरण नं. ३ मा उल्लिखित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको पेटबोलीमा उल्लेख भएको अवस्थामा उमेर नपुगेकी बालिकाले प्रतिवादीहरूको नाम किटान गरी दिएको जाहेरी दरखास्त र बकपत्रको भनाइ र लेखाइको तरिका नमिल्दैमा ध्वजबहादुर रावलको छोरा प्रतिवादी प्रकाश रावललाई घटी सजाय गर्ने गरी गरेको पुनरावेदन अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला सो हदसम्म बदर गरी सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ ।
उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा मुख्यतः निम्न प्रश्नहरूमा केन्द्रित रही विवादको निर्णय गर्नुपर्ने देखियो ।
१. जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलउपर सामूहिकरूपमा जबरजस्ती करणीको कसुर स्थापित हुन्छ वा हुँदैन?
२. ध्वजबहादुर रावलको छोरा प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको ठहर्छ वा ठहर्दैन?
३. प्रतिवादी प्रकाश रावल र वादी नेपाल सरकार दुवैको पुनरावेदन परेकोमा पुनरावेदन जिकिर पुग्छ वा पुग्दैन?
२. उपर्युक्त प्रश्नहरूको सम्बन्धमा विचार गर्नुपूर्व प्रस्तुत मुद्दाको तथ्यहरूको संक्षिप्त चर्चा गर्नु वाञ्छनीय हुने देखिन्छ । म जाहेरवाली मिति २०६६।७।११ गतेका दिन विद्यालयबाट घरतर्फ आउन लाग्दा जिल्ला कैलाली बलिया ८ बस्ने जोरा सिंह रावलको छोरा प्रकाश रावलसमेतले मोटरसाइकलमा घरसम्म पुर्याइदिन्छु भनी अण्डामा नसालु पदार्थ मिलाई खुवाई विभिन्न स्थानमा लगी मिति २०६६।७।२० गते सम्म जबरजस्ती करणी गरेको हुँदा निज अन्यायीहरूलाई कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू जोरा सिंह रावलको छोरा प्रकाश रावल, ध्वजबहादुर रावलको छोरा प्रकाश रावल, प्रेम योगी, भरत जैसी, तिर्थ तारामी र हनिप कुरेशी बुच्चरले जबरजस्ती करणी गरेको देखिएकोले निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १×३(३) ×३(क) नं. विपरीतको कसुर अपराधमा सोही महलको ३(३) नं. को कसुर सजाय गरी सोही महलको ३(क) नं. बमोजिम थप सजाय र सोही महलको १० नं. बमोजिम पीडितलाई मनासिब क्षतिपूर्ति भराई पाउन दाबी लिई सुरू कैलाली जिल्ला अदालतमा अभियोगपत्र दायर भएको देखिन्छ ।
३. सुरू कैलाली जिल्ला अदालतबाट प्रतिवादीहरू प्रकाश रावलद्वयलाई मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं. विरूद्धको कसुरमा सोही ऐनको ३(२) बमोजिम १६ वर्ष मुनिको बालिकालाई करणी गरेको देखिँदा ७ वर्ष कैद र सोही ऐनको ३क बमोजिम सामूहिकरूपमा जबरजस्ती करणी गरेको देखिँदा थप ५ (पाँच) वर्ष कैद तथा प्रतिवादीहरूबाट पीडितले जनही रू. १,००,०००।- (एक लाख) को दरले क्षतिपूर्ति भराई पाउने तथा फरार अन्य प्रतिवादीहरूको हकमा १९० नं. बमोजिम मुलतबीमा राखी दिने ठहराई फैसला भएको रहेछ ।
४. सुरू कैलाली जिल्ला अदालतको उक्त फैसलाउपर चित्त नबुझाई दुवै प्रकाश रावलले पुनरावेदन अदालत, दिपायलमा पुनरावेदन दायर गरेकोमा पुनरावेदन अदालत‚ दिपायलबाट जोरा सिंह रावलको छोरा पुनरावेदक प्रकाश रावललाई अभियोग दाबीबमोजिम १२(बाह्र) वर्ष कैद एवं निजबाट पीडितले रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराई पाउने तथा अर्का प्रतिवादी ध्वजबहादुर रावलको छोरा प्रकाश रावलको हकमा मुलुकी ऐन जबरजस्ती करणीको महलको ४ नं. बमोजिम पीडित १६ वर्ष मुनिको देखिँदा १ (एक) वर्षको दोब्बर २(दुई) वर्ष कैद हुने ठहराएको रहेछ । पुनरावेदन अदालत, दिपायलको उक्त फैसलाउपर समेत चित्त नबुझाई जोरा सिंह रावलको छोरा प्रतिवादी प्रकाश रावल र वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दोहोरो पुनरावेदन परेको रहेछ ।
५. अब जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलउपर सामूहिक जबरजस्ती करणीको अभियोग स्थापित हुन्छ वा हुँदैन भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा सर्वप्रथम निज प्रतिवादीले पीडितउपर जबरजस्ती करणी गरेको थियो वा थिएन तथा उक्त जबरजस्ती करणी सामूहिकरूपमा गरेको हो वा होइन भन्ने सम्बन्धमा विवेचना गर्नुपर्ने हुन्छ । जबरजस्ती करणीको अपराध स्थापित हुनको लागि मूलतः दुईवटा तत्त्व आवश्यक पर्दछ । पहिलो यौन समागम (Sexual intercourse) र दोस्रो सहमतिको अभाव (Against will) । प्रतिवादी प्रकाश रावलले पीडितलाई करणी गरेको हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा जाहेरवालाले आफ्नो जाहेरीमा जोरा सिंह रावलको छोरा प्रकाश रावलले आफूलाई स्कुलबाट घरसम्म पुर्याइदिन्छु भनी आफ्नो मोटरसाइकलमा राखी अण्डामा नसालु पदार्थ मिलाई खुवाई विभिन्न स्थानमा लगी मिति २०६६।७।२० गतेसम्म जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको देखिन्छ । जाहेरवालाले अदालतमा गरेको बकपत्रमा पनि जोरा सिंह रावलको छोरा प्रकाश रावलले आफूलाई स्कुलबाट घरसम्म पुर्याइदिन्छु भनी आफ्नो मोटरसाइकलमा राखी पीडितको पछाडि तिर्थ तारामीलाई बसाई धुपेनी खोलापारीको जंगलमा लगी दुवैजनाले करणी गरेपश्चात् पञ्चकोशी होटलमा निज प्रकाश रावलले पुनः जबरजस्ती करणी गरेको त्यसपछि पञ्चकोशी होटलभन्दा अगाडि चौराहमा रहेको बस काउन्टर नजिकको पौडेल होटलको माथिल्लो तल्ला सिँढी नजिकको कोठामा लगी अनुप वुच्चरले करणी गरेको र त्यहाँबाट भरत जैशीले आफ्नो डेरामा लगी ३।४ पटकसम्म करणी गरेको भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ ।
६. यसरी पीडितले आफ्नो जाहेरीमा जोरा सिंह रावलको छोरा प्रकाश रावलले आफूलाई करणी गरेको कुरालाई प्रस्टसँग उल्लेख गरेको देखिन्छ भने अदालतमा गरेको बकपत्रमा पनि सोही कुरालाई पुष्टि गरेको देखिन्छ । त्यसैगरी पीडितले माथि उल्लेख गरेको घटनाक्रम मौकैमा पीडितका पिता .................... र कमलाकुमारी मिश्रलाई बताएकोमा सोहीबमोजिम निज ..................... र कमला कुमारी मिश्रले समेत सोही बेहोराको बकपत्र गरेको पाइन्छ । त्यसैगरी मौकामा बुझिएका मानिस पौडेल होटलका सञ्चालक शिव सुवेदीले पीडितलाई जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलले आफ्नो होटलमा ल्याएको भन्ने कुरालाई पुष्टि गरेका छन् भने पञ्चकोशी होटलका सञ्चालक प्रदिप बुढाले पनि प्रतिवादी प्रकाश रावलले आफ्नो होटलमा पीडितलाई ल्याएको कुरालाई पुष्टि गरेका छन् । पौडेल होटलका सञ्चालक शिव सुवेदीले अदालतमा गरेको बकपत्रमा समेत प्रतिवादीहरू प्रकाश रावल र पीडित आफ्नो होटलमा बस्न आएको कुरालाई पुष्टि गरेका छन् । यसरी पीडितले जाहेरी तथा अदालतसमक्ष गरेको बकपत्रमा आफूलाई पौडेल होटल तथा पञ्चकोशी होटलमा लगी जबरजस्ती करणी गरेको भनी दाबी गरेकोमा उक्त होटलका सञ्चालकहरूले समेत आफ्नो होटलमा प्रतिवादीहरूले पीडितलाई लिएर आएको कुरालाई पुष्टि गरेको देखिन्छ । त्यसैगरी पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा Hymen च्यातिएको र पीडितलाई यौन सम्पर्क गरेको देखिएको भन्ने उल्लेख भएबाट पीडितलाई करणी गरेको भन्ने तथ्य सप्रमाण पुष्टि हुन आउँछ ।
७. जबरजस्ती करणीको अपराध स्थापित हुनको लागि पीडितको सहमति थियो वा थिएन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । तर कानूनले तोकेको उमेर नपुगेको नाबालकको हकमा सहमति थियो वा थिएन भन्ने कुराको कुनै सरोकार रहँदैन । मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने स्पस्ट व्यवस्था गरिएको छ । यसरी सोह्र वर्षभन्दा कम उमेरकी महिलासँग निजको सहमति वा असहमति जुनसुकै अवस्थामा करणी गरेको खण्डमा जबरजस्ती करणी हुने भनी कानूनले व्यवस्था गरेको छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा पीडितको उमेर १६ वर्षभन्दा कम रहेको देखिन्छ । पीडित जाहेरवालीले जाहेरी दरखास्तमा उमेर १४ वर्ष भनी लेखाएको देखिन्छ भने पीडितको स्वास्थ्य परीक्षणबाट निजको उमेर १४ वर्षदेखि १५ वर्षको देखिएको छ । त्यसैगरी व्यावहारिक दृष्टिकोणबाट हेर्दासमेत पीडित कक्षा ८ मा अध्ययनरत छात्रा भएको देखिन्छ । पीडितको उमेर १६ वर्षभन्दा बढी छ भनी प्रतिवादीहरूले कहिँकतै जिकिर लिएको अवस्थासमेत प्रस्तुत मुद्दामा देखिँदैन । अतः पीडित १६ वर्ष उमेर नपुगेको नाबालक नै भएको देखिन्छ । यसरी पीडित १६ वर्ष उमेर नपुगेको नाबालक भएको तथ्य स्थापित भएको सन्दर्भमा पीडितको सहमति थियो वा थिएन भन्ने विषय प्रस्तुत मुद्दामा अप्रसाङ्गिक रहेको छ । तसर्थ पीडितको सहमति थियो वा थिएन भन्ने सम्बन्धमा विवेचना गरिरहन आवश्यक भएन । प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको नै देखिन्छ ।
८. जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित भएपछि निज प्रतिवादीउपर सामूहिकरूपमा गरेको जबरजस्ती करणीको कसुर स्थापित हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा निर्णय गर्नुपूर्व सामूहिकरूपमा गरिने जबरजस्ती करणी कस्तो प्रकारको कसुर हो र यो स्थापित हुनको लागि के कस्तो तत्त्वहरूको आवश्यकता पर्दछ भन्ने सम्बन्धमा विवेचना हुन आवश्यक देखियो । मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा ३क मा सामूहिकरूपमा जबरजस्ती करणी गरेमा थप ५ वर्ष कैद हुने भनी उल्लेख गरेको भए तापनि सामूहिकरूपमा गरिने जबरजस्ती करणी भनेको के हो तथा यसप्रकारको कसुर स्थापित हुनको लागि के कस्तो तत्त्वहरूको आवश्यकता पर्छ भनी प्रस्टरूपमा परिभाषित गरेको देखिँदैन । यस सम्बन्धमा भारतको Indian Penal Code ले केही विस्तृत व्यवस्था गरेको देखिन्छ । उक्त Code को दफा ३७६(D) मा "Where a women is raped by one or more persons constituting a group or acting in furtherance of a common intention…” भनी उल्लेख गरेको छ । जसअनुसार समूहको निर्माण गरी वा साझा मनसायको कार्यान्वयनको लागि एक वा बढी व्यक्ति मिली एकजना महिलाउपर जबरजस्ती करणी गरेमा सो प्रकारको करणीलाई सामूहिकरूपमा गरिने जबरजस्ती करणी भनी मान्नु पर्ने भन्ने देखिन्छ । मुलुकी ऐनले यसप्रकारको विस्तृत व्यवस्था नगरेकोले हाम्रो सन्दर्भमा दुई वा दुईभन्दा बढी व्यक्तिले पीडितउपर जबरजस्ती करणी गर्छ भने त्यसप्रकारको करणीलाई सामूहिकरूपमा गरेको जबरजस्ती करणी मान्नुपर्छ । यसप्रकारको करणी स्थापित हुनको लागि आवश्यक तत्त्व भनेको करणी कार्यमा एकभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको हुनुपर्छ ।
९. जबरजस्ती करणी आफैँमा एक जघन्य अपराध हो । अझ एकजनाभन्दा बढी व्यक्तिहरू समूहमा मिली गरिने जबरजस्ती करणीको अपराध त सिङ्गो मानव सभ्यताकै कलंक हो । त्यसैकारण विश्वका प्रायजसो सभ्य कानूनी प्रणालीमा सामूहिकरूपमा जबरजस्ती करणी गर्ने व्यक्तिलाई थप सजाय गर्ने व्यवस्था गरेको देखिन्छ । उदाहरणको लागि नर्वेको Norwegian Penal Code को दफा १९२ मा जबरजस्ती करणीको कसुरमा १० वर्षसम्म कैद हुने व्यवस्था गरेको छ भने सोही दफाले केही अवस्थामा गरिने जबरजस्ती करणीलाई गम्भीर प्रकृतिको (Aggravated Rape) सूचीमा राखी २१ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । जसमध्ये सामूहिकरूपमा गरिने जबरजस्ती करणी पनि रहेको छ । त्यसैगरी रूसको Criminal Code of Russia को दफा १३१(१) मा जबरजस्ती करणीको कसुरमा ३ देखि ६ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ भने सामूहिकरूपमा गरिने जबरजस्ती करणीलाई Aggravating Circumstances मा गरिने गम्भीर प्रकृतिको कसुरमानी ४ देखि १० वर्षसम्म कैद हुनसक्ने व्यवस्था गरेको छ । भारतको सन्दर्भमा हेर्दा पनि Indian Penal Code को दफा ३७६ मा जबरजस्ती करणीको कसुरदारलाई ७ वर्षसम्मको कैदको व्यवस्था गरेकोमा ३७६घ मा सामूहिकरूपमा गरिने जबरजस्ती करणीको कसुरको हकमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुनसक्ने व्यवस्था गरेको छ । यसरी विश्वका विभिन्न देशहरूले सामूहिकरूपमा गरिने जबरजस्ती करणीलाई गम्भीर प्रकृतिको अपराध मानी यसप्रकारको अपराधमा थप सजाय गरेको पाइन्छ ।
१०. प्रस्तुत मुद्दाको सन्दर्भमा पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरिएको हो वा होइन भन्ने सम्बन्धमा विचार गरी घटनाक्रम हेर्दा पीडितलाई विभिन्न स्थानमा लगी विभिन्न व्यक्तिहरूले करणी गरेको देखिन्छ । सबैभन्दा पहिला जोरा सिंह रावलको छोरा प्रकाश रावलले धुपेनी खोलापारीको जंगलमा लगी करणी गरेको‚ तत्पश्चात् पञ्चकोशी होटलमा निज प्रकाश रावलले पुनः जबरजस्ती करणी गरेको‚ त्यसपछि पौडेल होटलको माथिल्लो तल्ला सिँढी नजिकको कोठामा अनुप बुच्चरले करणी गरेको र त्यसपछि भरत जैशीले आफ्नो डेरामा लगी ३।४ पटकसम्म करणी गरेको भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । पीडितले सो कुरा आफ्नो जाहेरी तथा अदालतसमक्ष गरेको बकपत्रमा समेत उल्लेख गरेको अवस्था छ । यसरी पीडितलाई एक जनाभन्दा बढी व्यक्तिले जबरजस्ती करणी गरेको देखिन आउँछ ।
११. प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले आफ्नो बहसमा एकैपटक करणी गरेको अवस्था नभई अलगअलग समय र स्थानमा करणी गरेको अवस्थामा सामूहिकरूपमा जबरजस्ती करणी गरेको स्थापित हुन सक्दैन भन्ने जिकिरलाई महत्त्वको साथ उठाएको पाइयो । मुलुकी ऐन‚ जबरजस्ती करणीको महलको ३क को कानूनी व्यवस्थाले सामूहिक जबरजस्ती करणीले के कस्तो अवस्था र परिस्थितिमा भएको करणीलाई जनाउँछ भन्ने सम्बन्धमा व्यवस्था गरेको छैन । उक्त कानूनी व्यवस्थामा सामूहिकरूपमा गरिने जबरजस्ती करणीलाई गम्भीर अपराध मानी थप सजायको समेत व्यवस्था गरेको भए तापनि फरकफरक स्थान र समयमा गरेको जबरजस्ती करणीबाट सामूहिकरूपमा गरिने जबरजस्ती करणी स्थापित हुनसक्छ वा सक्दैन भन्ने सम्बन्धमा स्पस्ट व्यवस्था गरेको देखिँदैन । सो हुनाले पीडित महिलाउपर प्रतिवादीहरूले गरेको षड्यन्त्र, आपराधिक नियत र कार्यहरू (Mens Rea and Actus Rea) बाट नै सामूहिक बलात्कार हो वा होइन भन्ने पत्ता लगाउनु पर्ने हुन्छ । तसर्थ सामूहिक बलात्कारको कसुर स्थापित हुनको लागि एउटै वारदातस्थल र समय हुनुपर्छ भन्ने हुँदैन । प्रस्तुत मुद्दामा पीडितलाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको स्थान र समय फरकफरक भएको भए तापनि उक्त अवधिको बीचमा पीडित प्रतिवादीहरूकै कब्जामा रहेको देखिन्छ । पीडित मिति २०६६।७।११ गतेदेखि घर नआएको र सो दिनदेखि मिति २०६६।७।२० गतेसम्म प्रतिवादीहरूले अलगअलग स्थानमा लगी जबरजस्ती करणी गरेको भन्ने पीडित नाबालिकाको बकपत्रबाट देखिन्छ । यसरी मिति २०६६।७।११ गते स्कुलबाट घर फर्कंदा मोटरसाइकलमा राखी लगेपश्चात् मिति २०६६।७।२० गतेसम्म यी पीडित प्रतिवादीहरूकै पूर्ण नियन्त्रणमा रहेको अवस्था छ । प्रस्तुत मुद्दामा पीडित १५ वर्षकी नाबालिक रहेकी छन् भने प्रतिवादीहरूले फरकफरक स्थानमा लगी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको छ । असन्तुलित शक्ति संरचनामा आधारित उक्त घटनामा एकातर्फ एकजना उमेर नपुगेको नाबालक केटी रहेकी छन् भने अर्कोतर्फ उमेर पुगेका ६ जना जवान व्यक्तिहरू रहेका छन् । ६ जनाको समूहमा रहेका यी प्रतिवादीहरूले एक नाबालक महिलालाई नियन्त्रणमा लिई आफ्नो अनुकूलको समय र स्थानमा लगी जबरजस्ती करणी गर्छन् भने उक्त वारदातहरूलाई अलगअलग मानी सजायबाट छुट दिनु न्यायसङ्गत हुन सक्दैन । पीडित प्रतिवादीहरूको नियन्त्रणबाट मुक्त भएपछि मात्र अर्को जबरजस्ती करणीको वारदात भएको भए सो वारदातलाई अलग रूपमा लिन मिल्थ्यो होला तर प्रतिवादीहरूको नियन्त्रणमा रहेकै अवस्था तथा प्रतिवादीहरूकै इच्छाअनुसार स्थान परिवर्तन गरेको अवस्थामा घटेका जबरजस्ती करणीको वारदातहरूलाई एकै शृङ्खला (Chain) अन्तर्गत घटेको वारदात मानी हेर्नुपर्छ । अलगअलग स्थान र समयमा भएको भन्ने आधारमा सजायबाट छुट हुन सक्दैन ।
१२. कुनै प्रकारको डर, त्रास, धम्की, अनुचित प्रभावमा पारी महिलाको अस्मिता लुट्ने प्रपञ्च, योजना, तयारी अपराधीहरूले गरेका हुन्छन् । पीडित महिलालाई कब्जामा लिई विभिन्न स्थानमा लगी धेरै व्यक्तिहरूले जबरजस्ती करणी गर्नसक्ने अवस्था रहन्छ । जुलुमीले एक स्थानबाट अर्को स्थानमा लगी फरकफरक व्यक्तिलाई सम्पर्क गरी बोलाई जिम्मा दिई असहाय र मजबुर तुल्याइएको महिलालाई जबरजस्ती करणी गरिन्छ भने त्यस्तो वारदातमा अपराध गर्ने नियत वा कार्यहरूबाट नै सामूहिक बलात्कारको उद्देश्य रहेको देखिन्छ । पहिलो पटक पीडितउपर जबरजस्ती करणीको वारदात भएपश्चात् फरकफरक स्थानमा लगी अन्तिम पटक गरिएको आपराधिक कार्य (Actus Rea) सम्म पनि सुरूवातदेखिकै अपराधको निरन्तरता (Continuity of crime) रहिरहेको हुन्छ । यसरी फरकफरक स्थानमा लगी भएको जबरजस्ती करणी एउटै महिलाउपर हुने र अपराधीहरूको आपराधिक कार्यको निरन्तरता भइरहने हुँदा अलगअलग स्थान र समयमा गरिएको जबरजस्ती करणीलाई सामूहिकरूपमा जबरजस्ती करणी भएको मान्न नमिल्ने भनी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस तर्कसँग सहमत हुन सकिएन ।
१३. मुलुकी ऐन‚ जबरजस्ती करणीको महलको ३क मा सामूहिकरूपमा जबरजस्ती करणी गरेमा थप ५ वर्ष कैद गर्नेसम्म उल्लेख छ । यसप्रकारको गम्भीर अपराधमा कानूनले फरकफरक स्थान र समयमा भएको जबरजस्ती करणी सामूहिकरूपमा भएको जबरजस्ती करणी होइन भनी प्रस्टरूपमा उन्मुक्ति प्रदान नगरेको अवस्थामा कानूनको व्याख्या गर्दा कसुरदारलाई छुट र उन्मुक्ति नहुने किसिमबाट गर्नुपर्छ । समूहगतरूपमा मिली नाबालकलाई नियन्त्रणमा लिई आफ्नो इच्छाअनुसारको समय र स्थानमा शृङ्खलाबद्धरूपमा जबरजस्ती करणी गरेको यसप्रकारको जघन्य कार्यमा अलगअलग स्थान र समयमा भएको भन्ने आधार लिई अपराधको दायित्वबाट उन्मुक्ति दिनु विधायिकाको मनसायविपरीत त हुन्छ नै पीडितको न्याय पाउने अधिकारको समेत विपरीत हुन जान्छ ।
१४. प्रस्तुत मुद्दामा प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले बहसको क्रममा सामूहिकरूपमा गरिने जबरजस्ती करणीको कसुर स्थापित हुनको लागि सबैजना प्रतिवादीहरूले जबरजस्ती करणी गरेको प्रमाणित हुनुपर्ने तर अन्य प्रतिवादीहरू फरार रहेको अवस्थामा यी प्रतिवादी जोरा सिंहका छोरा प्रकाश रावललाई उपर मात्र सामूहिकरूपमा जबरजस्ती करणी गरेको कसुर स्थापित हुन सक्दैन भन्ने जिकिर लिनुभयो । सो सम्बन्धमा विचार गर्दा अन्य प्रतिवादीहरू फरार रही अ.बं. १९० नं. बमोजिम मुल्तबीमा रहेको भए तापनि माथिल्ला प्रकरणहरूमा विवेचना भएबमोजिम जबरजस्ती करणीको वारदातमा एक जनाभन्दा बढी व्यक्तिको सहभागिता भएको नै देखिन्छ । राज्यको निकायबाट कुनै अभियोग लागी अदालतमा मुद्दा दायर भएको अवस्थामा अदालतमा उपस्थित भई सो अभियोगको खण्डन गरी आफ्नो निर्दोषिता पुष्टि गर्नु वा दोषी ठहर भएको अवस्थामा कानूनबमोजिमको सजाय भोग्नु नागरिकको कर्तव्य हो । कानूनको रीतबमोजिम सूचना दिँदासमेत अदालतमा उपस्थित नभई कुनै अभियुक्त फरार रहन्छ भने पनि अदालतले प्राप्त प्रमाणको आधारमा न्यायिक निष्कर्षमा पुग्नु नै पर्ने हुन्छ । प्राप्त प्रमाणबाट सामूहिकरूपमा जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट स्थापित भएको अवस्थामा सहअभियुक्तहरू फरार रहेको भन्ने आधारमा मात्र यी प्रतिवादीलाई सजायबाट छुट दिनु न्यायसङ्गत हुन सक्दैन । अतः जोरा सिंहका छोरा प्रतिवादी प्रकाश रावलले पीडितलाई अन्य व्यक्तिहरूसँग मिली सामूहिकरूपमा जबरजस्ती करणी गरेको नै देखिन्छ ।
१५. अब ध्वजबहादुर रावलको छोरा प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको ठहर्छ वा ठहर्दैन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा पीडितले आफ्नो जाहेरीमा धुपेनी खोला पारीको जंगलमा ध्वजबहादुर रावलको छोरा प्रकाश रावलले करणी गरेको भनी लेखाएको देखिँदैन । पीडितले बकपत्र गर्दा पौडेल होटलमा ध्वजबहादुरको छोरा प्रकाश रावलले जबरजस्ती करणी गरेको भनी लेखाएको तथ्य मौकाको जाहेरीभन्दा पृथक अवस्थामा रहेको देखिँदा निजको सो कथनलाई विश्वासलायक मान्न मिल्ने अवस्था देखिँदैन । जबरजस्ती करणीको मुद्दामा पीडितको भनाइलाई प्रमाणको रूपमा लिनको लागि उक्त भनाइहरूमा एकरूपता रहेको हुनुपर्छ र त्यसमा शंका गर्न सकिने अवस्था रहनु हुँदैन । प्रस्तुत मुद्दामा अन्य प्रतिवादीहरूको संलग्नताको सम्बन्धमा पीडितको भनाइमा एकरूपता रहेको भए तापनि यी प्रतिवादी प्रकाश रावलको हकमा पीडितको भनाइहरूमा एकरूपता देखिँदैन । पीडितले घटना घटेपश्चात् प्रहरीमा दिएको जाहेरी जसबाट नै सम्पूर्ण मुद्दाको अनुसन्धान प्रारम्भ भएको थियो सोही जाहेरीमा नै यी प्रतिवादी ध्वजबहादुरको छोरा प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको भनी कहीँकतै उल्लेख भएको छैन । अदालतसमक्ष गरेको बकपत्रमा जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको भए तापनि कुन स्थान र समयमा करणी गरेको हो सो कुरा खुलाउन सकेको देखिँदैन । निश्चय नै जबरजस्ती करणी जस्तो संवेदनशील मुद्दामा पीडितको भनाइलाई अदालतले गम्भीरताका साथ लिनुपर्छ । तर त्यस्तो गर्दा पीडितको भनाइलाई अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणले पनि पुष्टि गरेको हुनुपर्छ । शंकारहित तवरबाट पुष्टि भएर मात्र आरोपित कसुरदार ठहरिने (Guilty should be proved reasonable doubt) प्रतिवादीको अधिकार जुनसुकै मुद्दामा पनि सुरक्षित रहेको हुन्छ । यसरी पीडितको भनाइहरूमा एकरूपता नरहेको र अन्य स्वतन्त्र प्रमाणहरूबाट समेत पुष्टि नभएको अवस्थामा यी प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको ठहर्ने देखिँदैन । यी प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको नदेखिए तापनि धुपेनी खोलापारिको जंगलमा जोरा सिंह रावलको छोरा प्रकाश रावल र तिर्थ तारामीले करणी गर्दा यी प्रतिवादी बाटोमा कुरी बसेको र अर्को ठाउँमा लैजाउ भनेको भनी पीडितले मौकाको जाहेरीमा उल्लेख गरेको देखिन्छ । तसर्थ ध्वजबहादुरको छोरा यी प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गरेको नभए तापनि जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलले पीडितलाई जबरजस्ती करणी गर्दै छ भन्ने थाहा पाए तापनि सँगै गई करणी कार्यमा सहयोगसम्म गरेको देखिन्छ ।
१६. अब‚ पुनरावेदक प्रतिवादी प्रकाश रावल र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने तेस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत‚ दिपायलले जोरासिंहको छोरा प्रतिवादी प्रकाश रावललाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको ठहर गरी १२ (बाह्र) वर्ष कैद र १‚००‚०००।- (रू. एक लाख) जरिवाना गरेकामा सोउपर चित्त नबुझाई प्रतिवादी प्रकाश रावलको यस अदालतमा पुनरावेदन परेको देखिन्छ भने अर्का प्रतिवादी प्रकाश रावललाई जबरजस्ती करणी गरेको अभियोगबाट सफाइ दिई मुलुकी ऐन‚ जबरजस्ती करणीको ४ नं. बमोजिमको कसुरमा २ वर्ष कैद हुने ठहराई गरेको पुनरावेदन अदालत‚ दिपायलको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको पुनरावेदन परेको देखिन्छ । माथिल्ला प्रकरणहरूमा विवेचना भएबमोजिम जोरा सिंहको छोरा प्रतिवादी प्रकाश रावलले पीडितलाई सामूहिकरूपमा जबरजस्ती करणी गरेको नै देखिँदा निजलाई १२ (बाह्र) वर्ष कैद र १‚००‚०००।- (रू. एक लाख) जरिवाना गर्ने तथा ध्वजबहादुरको छोरा अर्का प्रतिवादी प्रकाश रावलको हकमा पनि निजले पीडितलाई जबरजस्ती करणी गरेको प्रमाणित नभएको तर जबरजस्ती करणी गर्ने व्यक्तिहरूसँग साथ गई निजहरूलाई सहयोग गरेको देखिँदा मुलुकी ऐन‚ जबरजस्ती करणीको महलको ४ नं. बमोजिम २ वर्ष कैद गर्ने गरी पुनरावेदन अदालत‚ दिपायलबाट भएको फैसला मिलेकै देखिन्छ ।
१७. अतः कैलाली जिल्ला अदालतको मिति २०६८।३।१५ को फैसला केही उल्टी हुने गरी पुनरावेदन अदालत‚ दिपायलले गरेको मिति २०६८।१२।१३ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी प्रकाश रावलको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१८. प्रस्तुत मुद्दाको जाहेरवाली जबरजस्ती करणी अपराधको पीडित एक नाबालक रहेको देखिन्छ । विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनियता राख्नेसम्बन्धी कार्यविधि निर्देशिका‚ २०६४ बमोजिम यसप्रकारको पीडितको परिचयात्मक विवरण गोप्य राख्नुपर्नेमा प्रस्तुत मुद्दामा सुरू अनुसन्धानदेखि नै पीडितको नाम र अन्य विवरणहरू गोप्य राखेको नदेखिँदा आगामी दिनहरूमा निर्देशिकाले निर्दिष्ट गरेको पीडितहरूको नाम र अन्य परिचयात्मक विवरण गोप्य राखी मुद्दाको अनुसन्धान‚ अभियोजन र सुनुवाइ गर्नु भनी सम्बन्धित प्रहरी कार्यालय‚ सरकारी वकिल कार्यालय र अदालतमा लेखी पठाई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृत: सन्देश श्रेष्ठ
इति संवत् २०७४ साउन ३२ गते रोज ४ शुभम् ।