निर्णय नं. १५३३ - लुटपिट

निर्णय नं. १५३३ ने.का.प. २०३९ अङ्क १
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३८ सालको फौ.पु.नं. २७९
फैसला भएको मिति : २०३९।१।६।२ मा
पुनरावेदक : जि.सुनसरी मधेशा गा.पं.वडा नं.९ बस्ने घुरनी थरुनीसमेत
विरुद्ध
विपक्षी : ऐ.ऐ.वार्ड नं.७ बस्ने देवीप्रसाद दाहाल
मुद्दा : लुटपिट
(१) अदालतको फैसलाले समेत वादी दावी हक स्थापित भई भोग चलन गरी रहेको वादी दावीका जग्गाको बाली लुटपिट गरेको होईन भनी तथ्ययुक्त सबूत प्रमाण समेत प्रतिवादीहरुबाट गुज्रन आएको नदेखिनुका साथै सो वादी दावीका जग्गाको बाली प्रतिवादी समेत भई लुटपिट गरेको हो भनी वादीको साक्षी समेतले किटान बकी दिएको समेत देखिन्छ । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलामा लेखिएको बुँदा प्रमाण समेतको आधारबाट वादी दावीका जग्गाको बाली प्रतिवादीहरुले लुटपिट गरेको ठहराएको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
फैसला
न्या.बासुदेव शर्मा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१२।४।३ को फैसला उपर पुनरावेदन गर्न न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :
२. मेरो हक भोग चलनको मधैशा गा.पं.वार्ड नं.८ (ग) को कि.नं.१२८ को ज.वि.१–१२–० को ०३१ सालको बाली एक बिगाहामा पटुवा र बार्ह कठ्ठामा मकै लगाएको पाकी तयार भएको ०३१।६।२५ गते प्रतिवादीहरुले लुटपिट गरेकोले प्रतिवादीहरुबाट दिलाई भराई पाउँ भन्ने समेतको वादी देवीप्रसाद दाहालको मिति ०३१।९।२२ गतेको फिरादपत्र रहेछ ।
३. वादी दावी बमोजिमको बाली हामीले लुटपिट गरेको होइन । दावीको जग्गा ज.मि.को १८ नं.बमोजिम उजुर गरी वादीले हक गराई लिएको छु भनी लेख्न सकेको छैन । वादी दावीबाट अलग गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खसी थरुनी धुरुनी र सत्यनारायण चौधरीको संयुक्त प्रतिउत्तर रहेछ ।
४. वादी दावीको जग्गामा मैले लुटपिट गरेको छैन भन्ने समेत प्रतिवादी मुखिलाल चौधरीको प्रतिउत्तर रहेछ ।
५. जग्गामा नालेस गर्ने हक समेत कानूनले छुटिसकेकोले सो जग्गाको बालीमा वादीले नालेस गर्ने हक समेत नरहेको हुँदा वादीको बालीमा यो लुटपिट गर्यो भन्ने उजुर लाग्न नसक्ने देखिँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३३।१।२९ गतेको सुरु सुनसरी जिल्ला अदालतको फैसला रहेछ ।
६. उक्त फैसलामा पुनरावेदन पर्दा दावी खारेज गरेको सुरु जिल्ला अदालतको फैसला मिलेको नहुँदा बदर गरी दिएको छ । यसै मिसिलबाट जे जो बुझ्नु पर्छ बुझी जग्गा लुटपिटमा समेत ठहर फैसला गरी दिनु भनी सुनसरी जिल्ला अदालतमा मिसिल पठाई दिनु भन्ने समेत व्यहोराको को.अञ्चल अदालतबाट मिति ०३५।९।२५ गतेमा फैसला भएको रहेछ ।
७. वादी दावीको जग्गाको धान तथा पटुवा बाली लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको सुरु सुनसरी जिल्ला अदालतको मिति ०३५।३।२५ को फैसला रहेछ ।
८. उक्त फैसला इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण चौधरी समेतको पुनरावेदन रहेछ ।
९. सुरु सुनसरी जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको मिति ०३६।५।६ गतेको फैसला रहेछ ।
१०. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण चौधरी समेत जवान ३ को पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेतको निवेदन परेकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्न अनुमति प्राप्त गरेको रहेछ ।
११. विवादको जग्गाको बाली प्रतिवादीहरुले लुटपिट गरेको हो भनी वादीका साक्षीहरुले बकपत्र गरी दिएकोले समेत सुरुबाट वादीकै हक भोग दर्ता कायम गर्ने गरी बिगो रु.२९१०।–को धान पटुवा बाली प्रतिवादीहरुले लुटपिट गरेको ठहर्याई छिनेको सुरु सुनसरी जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको कोशी अञ्चल अदालतको फैसला मनासिव ठहर्छ भन्नेसमेत व्यहोराको मिति ०३७।१२।४ गतेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
१२. उक्त फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको धुरनी थारुनी समेत जवान ३ को निवेदन रहेछ ।
१३. मेरो हक भोग चलनको कि.नं.१२८ को ज.वि.१–१२–० मा लगाएको २०३१ सालको बाली प्रतिवादीहरुले लुटपिट गरी लगेकोले बिगो रु.२९१०।–प्रतिवादीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत वादीले फिराद गरेको र यिनै वादीले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको ०३१।४।२० को बिन्तिपत्रमा मलाई राजीनामाको जग्गामा जान, माग्न १० बर्ष सम्म झुक्याई बाली खान नदिएको भन्ने उल्लेख गरेको भनी निवेदन जिकिर गरेको देखिएकोले ०३१ सालको बाली वादीले लगाएको भन्ने कुरा देखिन आउँदैन । यस स्थितिमा वादी दावी बमोजिम प्रतिवादीहरुले लुटपिट गरेको ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा लुटपिटको १ नं.को प्रत्यक्ष गम्भिर कानूनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०३८।५।२२ गतेको डिभिजनबेञ्चको आदेश रहेछ ।
१४. पुनरावेदक प्रतिवादीहरुका वारेस ईश्वरलाल श्रेष्ठलाई रोहवरमा राखी पुनरावेदक सत्यनारायण चौधरी समेतका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालको बहस समेत सुनी विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ, छैन भनी निर्णय दिनु परेको छ ।
१५. जि.सुनसरी मधेशा गा.पं.वार्ड नं.८ (ग) को कि.नं.१२८ को १–१२–० जग्गा अदालतको फैसला समेतले मेरो हक भोग चलनको जग्गामा लगाएको ०३१ सालको पटुवा र मकै लगाएको ०३१।६।२५ गतेका दिन प्रतिवादीहरुले लुटपिट गरेकोले बिगो रु.२९१०।–प्रतिवादीहरु बाट भराई पाउँ भन्ने वादी देवीप्रसाद दाहालको फिराद दावीमा भोगै नभएको जग्गाको बाली लुटपिट गरे भनी वादीले झुठ्ठा कुराको उजुर गरेकोले फिराद खारेज गरी पाउँ भन्ने खसी थरुनी समेतको प्रतिउत्तर भएकोमा सुरुबाट वादीकै हक भोग दर्ता कायम गर्ने गरी बिगो रु.२९१०।–को धान पटुवा बाली प्रतिवादीहरुले लुटपिट गरेको ठहर्याएको सुरु सुनसरी जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्याई मिति ०३७।१२।४।३ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको पाईन्छ ।
१६. यसमा यिनै वादी र यिनै प्रतिवादी मुखीलाल चौधरीबाट वादी दावीको जग्गा ०३१।११।२८ गते राजीनामा लिखत गरी लिए उपर म्याद भित्र पास गरी नदिएकोले उजुर परी लिखत पास हुने ठहरी भएको फैसला उपर यिनै प्रतिवादी खसी थरुनी समेतले यिनै वादी देवीप्रसाद दाहाल समेतका नाउँमा लिखत बदर हक सफा गरी पाउँ भन्ने उजुर गरेकोमा वादी दावी पुग्न नसक्ने ठहरी यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३०।२।२५ गते फैसला भएको सुरु मिसिल संलग्न उक्त फैसला नक्कल समेतबाट देखिन्छ । यसरी अदालतका फैसलाले समेत वादी देवीप्रसादको हक स्थापित भई भोग चलन गरी रहेको उक्त वादी दावीका जग्गाको बाली लुटपिट गरेको होइन भनी तथ्ययुक्त सबूत प्रमाण समेत प्रतिवादीहरुबाट गुज्रन आएको नदेखिनुका साथै सो वादी दावीको जग्गाको बाली प्रतिवादी समेत भई लुटपिट गरेको हो भनी वादीका साक्षी छविलाल समेतले किटानी बकी दिएका समेत देखिन्छ । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारबाट वादी दावीका जग्गाको बाली प्रतिवादीहरुले लुटपिट गरेको ठहराएको उक्त पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।
तपसील
प्रतिवादी देहायका मानिस के पुनरावेदन गरे बापत अं.बं.२०३ नं.ले सुरु जरिवाना रु.११६।४० को सयकडा ५ प्रतिशत ले जनही रु.५।८२ जरिवाना लाग्छ । रुजु नहुँदा ऐन बमोजिम असुल उपर गर्नु भनी सुनसरी जिल्ला अदालतलाई पत्र लेखी पठाउन का.जि.अ.मा लगत दिनु.................................................१
प्र.रुव मुखिलालको श्रमति धुरनी थरुनीके रु.५।८२,प्र.जयनारायण चौधरीके ५।८२ प्र.सत्यनारायण चौधरीके रु.५।.................................२
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् ०३९ साल बैशाख ६ गते रोज २ शुभम् ।