निर्णय नं. ४३२७ - लागू औषध हेरोकइन बिक्री

निर्णय नं. ४३२७ ने.का.प. २०४८ अङ्क ७
संयुक्तइजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २७०
फैसला भएको मिति : २०४८।७।१७ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा सेन्ट्रल जेल काठमाडौंमा थुनामा रहेको सोम वान्तवा राई
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
मुद्दा : लागू औषध हेरोकइन बिक्री
(१) सेवनको लागि सञ्चय गरेको हुँदा क्षे.अ.ले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) अन्तर्गत कायम गरेको कसूर नभई ऐ.ऐनको दफा ४(छ) अन्तर्गतको कसूर हुँदा ऐ.ऐनको दफा १४(घ) (साविक पेज नं. ३६६) अनुसार १ वर्ष कैद र रु. ७,०००।– (सात हजार) जरिवाना हुने ।
(प्रकरण नं. १३)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय
वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य
फैसला
न्या.लक्ष्मणप्रसाद अर्याल
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी सोम वान्तवा राइको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार रहेछ ।
२. लक्ष्मी लामा सुत्ने पलङ मुनि प्लाष्टिकमा पोको पारी कागजले बेरी राखेको औषध ब्राउन सुगर हेरोइन फेला परेको भन्ने समेत मिति ०४४।१।२० को बरामदी मुचुल्का ।
३. मेरो श्रीमान सोम वान्तवाले बाहिरबाट खरीद गरी ल्याई बिक्री गर्न मलाई छाडेको हेरोइन मैले बिक्री गर्न नपाउँदै प्रहरीद्वारा खानतलासी हुँदा फेला परेको हो भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौंमा भएको लक्ष्मी लामाको बयान ।
४. लक्ष्मी लामा र सोम बान्तवाले लागू औषध नियन्त्रण ऐन (संशोधन सहित), ०३३ को दफा ४(घ)(च) को कसूर गरेकोले दफा १४(ग) अनुसार कारवाही सजायँ हुन अनुरोध छ भन्ने समेत वागमती विशेष अदालतमा दायर भएको मिति ०४४।२।११ को जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रहरी प्रतिवेदन ।
५. मेरो डेरामा केही फेला परेन जि.सी.भन्ने इन्सपेक्टरले आफूले लगाई राखेको ज्याकेटको बगलीबाट पुरिया झिकी देखाई मलाई पक्राउ गरी कारवाही चलाएको हो । अभियोग अनुसार मैले कसूर गरेको होइन भन्ने समेत लक्ष्मी लामाले वागमती विशेष अदालतमा गरेको बयान ।
६. मैले हेरोइन सेवन गर्ने गरेको श्रीमतीलाई थाह छैन । बिक्री गर्ने गरेको छैन सेवन गर्ने गरेको मात्र हो । बिक्री गर्ने गरेको भए श्रीमतीले थाह पाउथी भन्ने समेत व्यहोराको सोम वान्तवाको बयान ।
७. लक्ष्मी लामा सुत्ने पलंग मुनि प्लाष्टिकमा पोको पारी कागजले बेरी राखेको लागू औषध २५ ग्राम बरामद भएको हो भन्ने समेत बरामदी मुुचुल्काका मानिस प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठको बकपत्र ।
८. आफूले लागू औषध सेवन गर्ने र बाँकी रहेको बिक्री गर्ने प्र.सोम वान्तवा मुख्य अभियुक्त भई निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(क) को कसूर गरेको ठहरी लागू औषधको मात्रा र दूव्र्यसनी भएको स्थिति समेत विचार गरी ऐ.ऐनको दफा १४(ग) अनुसार कैद वर्ष ७ र जरिवाना रु. २०००।– हुन्छ । प्र.लक्ष्मी लामाको हकमा सोम वान्तवाको अनुपस्थितिमा निजको अरोट बमोजिम कार्य गरेको देखिन आएकोले पतिको सहयोगसम्म मान्नु परी ऐ.ऐनको दफा १७ को कसूरमा पारिवारिक स्थिति पतिलाई भएको सजायँ समेत दृष्टिगत गरी कैद वर्ष ३ र जरिवाना रु. १०००।– हुने ठहर्छ भन्ने समेत वा.वि.अ. को मिति ०४६।२।२० को फैसला ।
९. प्र.लक्ष्मी लामाको हकमा लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा १७ बमोजिम प्र.सोम बान्तवाको मतियारसम्म कायम गरी सजायँ गर्ने गरेको तर्फ निज लक्ष्मी लामाले पुनरावेदन नगरी चित्त बुझाई बसेको देखिन्छ । लक्ष्मी लामाको घरमा खानतलासी डोर आएको भन्नेमा निजको बयानबाट विवाद भएको देखिँदैन र बरामत दशी लागू औषध सम्बन्धमा घरमा बरामद भएको छैन भन्नेतर्फ सबूद गुजार्न पर्ने भन्ने निज प्रतिवादी यसमा निहित भएको लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा १२ ले व्यवस्था भए तर्फ कुनै साक्षी (साविक पेज नं. ३६७) प्रमाण गुजार्न सकेको देखिँदैन र प्र.सोम बान्तवा एकाघरको लोग्ने नाताको निज लागू औषध सेवन गर्ने हैन भन्ने लक्ष्मी लामाको बयान प्रतिकूल आफूले सेवन गरी आएको भन्ने तर्फ प्र.सोम बान्तवा सावित भई अदालतमा बयान गरेको समेतबाट निज लक्ष्मी लामाको अदालतमा गरेको बयानमा सत्यता रहेको देखिएन । बरामद उक्त २५ ग्राम हेरोइन बिक्री वितरणबाट बाँकी रहेको भन्ने प्रहरी प्रतिवेदन जिकिरसम्म नभएको को कसलाई के कति बिक्री गरेको तथ्य न त खुलाउन सकेको देखिन्छ न त बरामद गर्दा बिक्री वितरणसंग सम्बन्धित औषध बिक्री गर्न प्रयोग हुने माल सामान बरामद नै हुन सकेको छ । यस अवस्थामा प्र.सोम बान्तवाको हकमा लागू औषध बिक्री वितरण गर्ने अपराध गरेको कार्यमा सजायँ गर्ने गरेको वागमती विशेष अदालतको सो हदसम्मको फैसला मिलेको देखिएन । बरामद हेरोइन घर कोठामा लोग्ने सोम बान्तवाले सेवनलाई लुकाई राखेकोसम्म देखिन आई निजको प्रयोगलाई संचित गरी राखेकोसम्म प्रमाणित भएको देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्र.लक्ष्मी लामालाई सजायँ हुनुपर्छ कि भन्न वादी पक्षको बहस जिकिरसंग सहमत हुन सकिएन र प्रतिवादी सोम बान्तवाले लागू औषध बिक्री वितरण गरेको भन्ने अपराध कायम हुने शंकारहित सबूद प्रमाणको अभावमा भएको समेतबाट बरामद लागू औषध संचय गरी लागू औषध नियन्त्रण (संशोधन सहित) ऐन, ०३३ को दफा ४(च) को अपराधसम्म गरेको देखिनेमा दावी बमोजिम बिक्री वितरण गरेको भनी दफा ४(घ) को अपराध कायम गरी दफा १४(ग) बमोजिम कैद वर्ष ७ र जरिवाना रु. २०००।– गर्ने गरेको वागमती विशेष अदालतको फैसला केही उल्टी भई दफा ४(च) को अपराधमा दफा १४(ग) ले अपराधको गहनताको दृष्टिबाट कैद वर्ष ६ र जरिवाना रु. २०००।– हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन पुग्न सक्तैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. म.क्षे.अ.ले मलाई संचयतर्फ सजायँ गरेको त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सजायँबाट सफाई पाउँ भनी प्र.सोम बान्तवाको यस अदालतमा पर्न आएको पुनरावेदन ।
११. लागू औषध हेरोइन बरामद हँुदाका अवस्थामा प्रतिवादीकी श्रीमतीले उक्त लागू पदार्थ लोग्नेको सेवनको लागि राखेको भनेकी छन् । प्रतिवादी अदालतमा उपस्थित भई बयान गर्दा आफूले लागू पदार्थ सेवन गरेकोमा सावितसम्म भई संचित गरेको र ओसार पसार गरेकोमा इन्कार रहेको देखिन्छ । यस स्थितिमा ला.औ.नि. ऐन, ०३३ (संशोधन सहित) दफा ४(च) बमोजिम संचयतर्फ अभियोग ठहरगरेको म.क्षे.अ.को इन्साफ विचारणीय हुँदा अ.बं.२०२ नं. बमोजिम वादी पक्षलाई झिकाई पेशगर्नु भन्ने यस अदालत सं.इ.को मिति ०४८।६।१३ को आदेश ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी सोम बान्तवा राइको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले मेरो पक्ष प्रतिवादी कसूरमा अदालतमा इन्कार छन् लागू औषध हेरोइन बिक्री गर्ने प्रयोजनले संचय गरेको होइन । मेरो पक्षको अनुपस्थितिमा भएको बरामदी मुचुल्का गैरकानुनी हुँदा म.क्षे.अ.को फैसला त्रुटिपूर्ण छ मेरो पक्षले सफाई पाउनु पर्छ भनी बहस जिकिर गर्नुभयो । वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्यले सेवन गर्ने मात्र उद्देश्यले २५ ग्राम हेरोइनको मात्रा धेरै बढी भएको हुँदा बिक्री वितरण गर्ने प्रयोजनले संचय गरेको हुँदा म.क्षे.अ.को फैसला कायम हुनुपर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१३. यसमा म.क्षे.अ.को फैसलामा लक्ष्मी लामाको हकमा निर्णय गर्दा बरामद भएको हेरोइन घरको कोठामा लोग्ने सोम बान्तवाको सेवनको लागि लुकाई (साविक पेज नं. ३६८) राखेकोसम्म देखिन आई निजको प्रयोगको लागि संचित गरी राखेकोसम्म प्रमाणित भएको भन्ने उल्लेख गरेको र सोम बान्तवाले बिक्री गरेको ठहर्दैन, संचयसम्म गरेको ठहर्याएकोबाट बिक्री वितरणको लागि संचय गरेको नभई सोम बान्तवाको सेवनको लागि संचित गरेको भन्ने अर्थ गरी सेवनको लागि पनि संचित भएमा ला.औ.नि. ऐन, ०३३ को संशोधित दफा ४(च) अन्तर्गतको कसूरगरेमा ऐ.ऐनको दफा १४(ग) अनुसार कैद वर्ष ६ र जरिवाना रु.२००० सजायँ गरेको पाइयो । उक्त ऐनको दफा ४(च) अन्तर्गतको संचय उक्त दफामा वर्णित अन्य खरिद बिक्री वितरणको तात्पर्यले संचित गरिने कार्यलाई लक्षित भएको मनासिब हुन आउँछ । तसर्थ सेवनको तात्पर्यले सम्म राखेको भन्ने लक्ष्मी लामाको प्रहरीको भनाई र सोम बान्तवाको अदालतको बयानबाट पुष्टी हुन आउँछ । निज प्रतिवादी सोम बान्तवालाई लागू औषध ब्राउन सुगर हेरोइन सेवन मुद्दा (फौ.नि.नं. २७०।०४५) मा वा.वि.अदालतबाट सेवन गरेको ठहर्याई ६ महीना कैद र रु. २००।– जरिवाना गरेको समेतबाट निज प्रतिवादी सोम बान्तवा लागू औषध सेवन गर्ने रहेछ भन्ने कुरा पुष्टी हुन आयो । सेवनको लागि संचय गरेको हुँदा म.क्षे.अ.ले लागू औषध (नियन्त्रण) ऐन, ०३३ को दफा ४(च) अन्तर्गत कायम गरेको कसूर नभई ऐ.ऐनको दफा ४(छ) अन्तर्गतको कसूर हुँदा ऐ.ऐनको दफा १४(घ) अनुसार १ वर्ष कैद र ७,०००।– (सात हजार) जरिवाना हुने ठहर्छ । म.क्षे.अ.ले उपरोक्त ऐनको दफा ४(च) अन्तर्गतको कसूर कायम गरी दफा १४(ग) अन्तर्गतको सजायँ गर्ने गरेको फैसला मिलेन । सो हदसम्म उल्टी हुन्छ ।
तपसील
पुनरावेदक प्रतिवादी सोम बान्तवा राइके माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को मितिको फैसला उल्टी हुने ठहरेकाले उक्त फैसलाले राख्न पठाएको लगत कट्टा गर्नु भनी का.जि.अ.त.मा लेखी पठाउनु...१, ऐ.के माथि इन्साफ खण्डमा लेखिए बमोजिम कैद वर्ष...१ र जरिवाना रु. ७०००।– सजायँ भएको र निज का.जि.अ.को मिति २०४५।१०।१० को फैसलाले मिति २०४६।८।१५ सम्म थुनामा रहेको र त्यसपछि निज यस मुद्दामा थुनामा रहेको देखियो । निज आफूलाई सजायँ भए भन्दा बढी कैद बसेको र जरिवाना बापतको रकमलाई निज बढी बसेको कैदमा मिलान गर्दा समेत बढी कैद बसेको देखिँदा निजलाई अन्य मुद्दाबाट थुनामा राख्नु पर्ने नभए थुनाबाट छाडी दिनु भनी कारागार शाखा काठमाडौंलाई लेखी पठाउनु...२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३
उक्त रायमा म सहमत छु । न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०४८ साल कार्तिक १७ गते रोज शुभम् ।