शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९९९ - सम्बन्ध विच्छेद

भाग: ६० साल: २०७५ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल 

फैसला मिति : २०७५।१।२८

०६७-CR-०७२६

 

मुद्दाः सम्बन्ध विच्छेद

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ नक्साल बस्ने पुरण शमशेर ज.ब.रा. की श्रीमती किरण राणा

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.१ नक्साल घर भई हाल ऐ.का.म.न.पा. वडा नं.४ बालुवाटारमा डेरा गरी बस्ने पुरण शमशेर ज.ब.रा.

 

आमा, छोरा, छोरी र श्रीमतीको रक्षा-शिक्षाको जिम्मेवारीबाट उम्की घरै छोडी हिँड्ने लोग्नेले आफ्नी श्रीमतीसँग निजको मन्जुरी नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने मनसाय मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं.को देहाय १ को कानूनी व्यवस्थाको नभई श्रीमतीले श्रीमान्‌को मन्जुरीबेगर घर छाडी अलग बसेको हकमा मात्र आकर्षित हुने हुँदा उक्त कानूनी व्यवस्थाले प्रत्यर्थी वादीलाई सम्बन्ध विच्छेद गर्न छुट दिएको भन्न नमिल्ने ।

(प्रकरण नं.३)

पत्नीले घर परिवारको (सासु र बालबच्चाको) जिम्मा लिई घरमा बस्दा घरको आर्थिक व्यवहार मिलाउनका निम्ति अंश लिनसक्ने तर पारिवारिक पहिचान (Identity) र सामाजिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी बस्नसक्ने नै 

हुन्छन् । अतः पत्नीले अंश लिएमा पतिलाई आफ्नी पत्नीसँग विवाहवारीको महलको १० नं. ले अर्को विवाह गर्नसक्ने भन्नुको अर्थ सम्बन्ध विच्छेद गर्न बाटो खुलेको भनी अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मुकुन्द शर्मा पौडेल र विद्वान् अधिवक्ता श्री सशिनाथ मरासीनी

अवलम्बित नजिर :

नेकाप २०६७, अंक १०, नि.नं.८४८७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

श्री लेखनाथ घिमिरे

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

श्री देवेन्द्र गोपाल श्रेष्ठ

श्री दिनेश कुमार कार्की

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा  ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः

विपक्षी किरण राणा र मबीच धार्मिक परम्पराअनुसार विवाह भई १ छोरा प्रसुन शमशेर र १ छोरी करिस्माको समेत जायजन्म भइसकेको छ; १५।१६ वर्ष अगाडिदेखि मबाट छुट्टै बसी मेरो उपचार नगरी उल्टै मानसिक यातनासमेत दिई मेरो पैतृक सम्पत्तिमा समेत निजले नै भोगचलन गरिरहेको छ; यसैगरी विपक्षी किरण राणाले यस अदालतमा अंश मुद्दा दायर गरी हामी ४ जना अंशियारमध्ये छोरी र आमाको समेत अंश लिई भिन्न बसेको अवस्थामा हामीहरूबीच सम्बन्ध विच्छेद गरी छुट्टिई जीवनयापन गर्न उचित ठानेको हुँदा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्नेसमेत बेहोराको वादी पुरण शमशेरले काठमाडौं महानगरपालिकामा पेस गरेको निवेदन पत्र ।

मलाई सम्बन्ध विच्छेद गर्न मन्जुर छैन । आधा उमेर पार गरेपछि छोरा छोरीको विवाह नहुँदैको अवस्थामा समेत लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न उपर्युक्त हुन्न । विपक्षीले पलायनवादी नीति अवलम्बन गर्नुभएको देखिन्छ । आफ्नो सामाजिक, व्यावहारिक  र नैतिक कर्तव्यबाट मानिसले विमुख हुन हुँदैन । लोग्ने स्वास्नीको सम्बन्ध सम्पत्ति र अंशमा मात्र सीमित हुँदैन । स्वास्नीको मन्जुरीबेगर कुलत र कुसङ्गतमा लागि स्वास्नीलाई १५।१६ वर्षसम्म छाडी हेरविचार नगरी उल्टै सम्बन्ध विच्छेद गर्ने श्रीमान्‌को नियत मैले बुझ्नसकेको छैन । स्वास्नीलाई कामदारको रूपमा प्रयोग गर्ने र पुरानो जुत्ता जस्तो फुकाली फाल्न मिल्ने अमानवीय कार्य श्रीमान्‌बाट गरेको हुँदा यस्ता सानातिना विवादलाई बिर्सी श्रीमान्‌सँगै जीवनयापन गर्ने प्रण गरेको हुँदा सम्बन्ध विच्छेद हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तर पत्र ।

म हालसम्म पनि क्यान्सर रोगबाट पीडित रहेको अवस्थामा पनि पत्नीले गर्नुपर्ने कर्तव्य पालन नगरेको र आमा खड्ग कुमारीसँग मिली मलाई अंशहकबाट पनि वञ्चित गराएको हुँदा निवेदन दाबीबमोजिम सम्बन्ध विच्छेद हुनुपर्छ भन्नेसमेत बेहोराको वादीका वारेस धिरेन्द्र सिंहले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

वादी श्रीमान्‌लाई मैले छाडेको नभई म घरमा नै हालसम्म बसिरहेको अवस्था हुँदा सम्बन्ध विच्छेद हुनुपर्ने होइन भन्ने बेहोराको प्रतिवादी किरण राणाले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

वादी प्रतिवादीबीच १५।१६ वर्षदेखि छुट्टै बसेको अवस्था रहेको, प्रतिवादीलाई वादीले अंशसमेत दिइसकेको र सँगै बस्ने वातावरणसमेत टुटिसकेको हुँदा वादी प्रतिवादी बीचको लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद हुनुपर्दछ भन्नेसमेत बेहोराको वादीका साक्षी निरज के.सी.ले अदालतमा गरेको बकपत्र ।

प्रतिवादीलाई छोडी वादी अन्तै बस्दै आउनुभएको छ । परिवारलाई हेरविचार गर्नुभएकोसमेत छैन । अंश मुद्दा परी फैसला भइसकेपनि अंश पाउनु भएको छैन । छोरा छोरीको भविष्य तथा हितको लागि सम्बन्ध विच्छेद नगरी मिलेर बस्नु उपयुक्त हुन्छ भन्ने प्रतिवादीको साक्षी शुष्मा राणाले गरेको बकपत्र ।

मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं. को देहाय १ को कानूनी व्यवस्था हेर्दा स्वास्नीले लोग्नेको मन्जुरीबेगर लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग्गै बस्ने गरेको खण्डमा त्यस्तो स्वास्नीसँग लोग्नेले सम्बन्ध विच्छेद गर्न पाउने भएकोले सोही व्यवस्थाबमोजिम वादीले सम्बन्ध विच्छेदको कारबाही चलाएको पाइन्छ । तथापि प्रस्तुत सन्दर्भमा प्रतिवादी आफैँ घर छाडेर अलग बस्ने गरेको नभई वादी नै घर छोडी डेरा लिई बसेको भन्ने स्थितिमा उल्लिखित कानूनी व्यवस्था आकर्षित हुने अवस्था भएन । वादी प्रतिवादीको बीचमा अंश मुद्दा चली प्रतिवादीले दाबीबमोजिम अंश लिई व्यवहार अलग भएको कारण सम्बन्ध विच्छेद गर्ने बाटो खुलेको अर्थ गर्न मिल्दैन । साथै वादी प्रतिवादीको उमेर अवस्था, पारिवारिक स्थिति, छोराछोरीको उमेरसमेतलाई विचार गरी सामाजिक तथा व्यावहारिक रूपले समेत सम्बन्ध विच्छेद गर्न बेमन्जुरी जनाएको प्रतिवादीको भनाईमा असहमत रहनु पर्ने कुनै कारणसमेत नदेखिँदा पति पत्नीबीचको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने वादीको दाबी पुग्न सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।१०।८ को फैसला ।

कानूनी आधारमा लोग्ने स्वास्नीको महलको १ नं. को देहाय १ बमोजिम कुनै पनि लोग्ने स्वास्नीका बीचमा असल सम्बन्ध हुन नसकी अन्यथा स्वास्नी मानिसले ३ वर्षसम्म घर छोडी अलग बसेमा वा लोग्नेको ज्यानसम्म जाने कुनै कार्य गरेमा लोग्नेले सम्बन्ध विच्छेद गर्नसक्ने कुरा स्पष्ट उल्लेख भएकोमा मैले आफू क्यान्सर जस्तो रोगले ग्रस्त भएको अवस्थामा मेरो हेरविचारसाथ सहायतासमेत केही नगरी पैतृक सम्पत्ति अरूलाई नै हस्तान्तरण गर्न आमा खड्ग कुमारीलाई सहयोग गरेको तथा आफू बाध्य भई घर छाडी अलग बस्न परेको बाध्यतालाई लोग्ने स्वास्नीको महलको १ नं. को परिभाषाभित्र नपर्ने भनी गरेको व्याख्याले अन्याय गरेको छ । त्यसैगरी विपक्षीले काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्रमा छोरा छोरी ठूलै भइसकेको कारण यस समयमा आएर सम्बन्ध विच्छेद गर्नु उपर्युक्त नहुने भन्ने भनाई तथा मैले आफैँ घर छाडी हिँडेको र निज प्रतिवादीले मलाई निकाला गरेको होइन भन्ने भनाई कुनै प्रमाणबाट समर्थितसमेत भएको 

छैन । अतः विपक्षीले मप्रति गरेको अन्याय अत्याचार सबै कुरा निजबाटै स्पष्ट देखिँदादेखिँदै उक्त आधारहरूलाई वास्ता नै नगरी तथ्य प्रमाणमा प्रवेश नै नगरी लोग्नेले दिएको निवेदनउपर सम्बन्ध विच्छेद गर्न नमिल्ने भनी गरेको फैसला अन्यायपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीसँगको मेरो लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने वादी पुरण शमशेर ज.ब.रा. को तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीले अंश मुद्दा दायर गरी मानो छुट्टिई अलग बसेको अवस्थामा सम्बन्ध विच्छेद गर्न इन्कार गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ छलफलका निम्ति विपक्षी झिकाई हाजिर भए वा अवधि नाघेपछि पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६६।७।११ को आदेश ।

प्रतिवादी किरण राणाले वादी पुरण शमशेर ज.ब.रा. को मन्जुरीबेगर लगातार ३ वर्षभन्दा बढी १५।१६ वर्षदेखि क्यान्सरबाट पीडित पतिको उपचार स्याहार सम्भार गर्नतर्फ नलागी उल्टै निजउपर अंश मुद्दा गरी पतिलाई छाडी अलग बसेको कुराको पुष्टि हुन आएको अवस्थामा दाबीबमोजिम वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरी दिनुपर्नेमा वादी दाबी नपुग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६५।१०।८ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहर्छ भन्ने तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६७।३।९ को फैसला ।

मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं. को देहाय १ मा उल्लिखित कानूनी व्यवस्था (स्वास्नीले लोग्नेलाई निजको मन्जुरीबेगर लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा) अनुसार घर छोडेर जाने व्यक्ति नै दोषी हुन्छ अर्थात् घर छोडेर अन्यत्र बस्न गएमा ऐ. कानूनी व्यवस्था आकर्षित हुनसक्ने हुन्छ । प्रस्तुत मुद्दामा म घरमै रहेकी छु । यस तथ्यलाई विपक्षीले नकार्न सक्नु भएको छैन भने पुनरावेदन अदालत पाटनले पनि मानेको छ । यस स्थितिमा ऐ. कानूनी व्यवस्था आकर्षित भई सम्बन्ध विच्छेद हुने ठहर्‍याएको फैसला पूर्णतः कानूनी त्रुटिपूर्ण रहेको सो फैसला बदर गरी प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६५।१०।८ को फैसला सदरै कायम राखी न्याय पाउँ भन्ने बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा वादी पुरण शमशेरलाई लागेको भनिएको रोगको सम्बन्धमा प्रमाण नै नबुझी सम्बन्ध विच्छेद हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिएकाले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।०७।१० को आदेश ।

नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणाले लोग्नेस्वास्नीको महलको १ नं. को देहाय १ को कानूनी व्यवस्था श्रीमतीले घर छोडी श्रीमान्‌सँग अलग भएमा लागू हुने हो, श्रीमान् स्वयंले घर छोडी हिँडी अलग भएको अवस्थामा उक्त कानूनी व्यवस्था आकर्षित हुन सक्दैन । प्रस्तुत मुद्दाको परिवेशसमेतलाई विश्लेषण गर्ने हो भने वादी नै दोषी देखिन्छन् । यस्तो अवस्थामा वादी दाबीबमोजिम सम्बन्ध विच्छेद हुने ठहर्‍याएको पुनरावदेन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी भई सुरू काठमाडौं जिल्ला अदालतको फसला सदरै कायम हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी वादीका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री मुकुन्द शर्मा पौडेल र विद्वान् अधिवक्ता श्री सशिनाथ मरासीनीले पति पत्नीको आपसी सम्बन्ध र समझदारी कायम नभएको अवस्थामा १५।१६ वर्षदेखि अलग रहेका श्रीमान् श्रीमतीलाई जबरजस्ती वैवाहिक सम्बन्ध कायम राखी राख्‍न औचित्यपूर्ण  

हुँदैन । वादी कृष्ण शेरचन र प्रतिवादी पदम कुमारी शेरचन भएको ने.का.प. २०६७ अंक १० नि.नं. ८४८७ मा प्रकाशित सम्बन्ध विच्छेद मुद्दामा प्रतिपादित भएको नजिर सिद्धान्तसमेतका आधारमा पुनरावेदन अदालत पाटनको फैसला सदर कायम हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्तानुसारको बहस जिकिर सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको मिति २०६७।३।९ मा भएको फैसला मिलेको छ वा छैन? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्नसक्ने हो वा होइन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाकी पुनरावेदिका आफ्नो श्रीमान्‌सँग १५।१६ वर्षदेखि सँगै नरहेको भन्ने कुरामा कुनै विवाद देखिँदैन । पुनरावेदिका आफ्नो श्रीमान्‌बाट यति लामो समयसम्म सँगै नबसी अलग रहे तापनि निजले आफ्नो घर छाडी अन्यत्र गएको भन्ने देखिँदैन । पुनरावेदिका प्रतिवादी आफ्नो घरमै सासू र बच्चाहरूलाई हेरचाह गरी बसेको भन्ने कुरा निजको प्रतिउत्तरपत्र र सुरू अदालतमा गरेको बयानसमेतबाट देखिन्छ । सो कुरालाई प्रत्यर्थी वादीले अन्यथा खण्डन गर्नसकेको देखिँदैन । वादीले आफू घरमा नरही अन्यत्रै डेरा गरी छुट्टै बसेको भनी आफ्नो फिराद पत्रसमेतमा स्वीकार गरेका छन् । प्रत्यर्थी वादीले आफैँ घर छाडी हिँडेको नभई घरबाट निस्कन बाध्य पारी विस्थापित गरिएको भन्ने जिकिर लिए तापनि के-कसरी घर छाड्नेसम्मको स्थिति पैदा भयो भन्ने कुरा उनले स्पष्ट खुलाएको पाइएन । निज प्रत्यर्थी वादीले मंजेश्री राणासँग मिति २०४७।१।५ मा अर्को विवाह गरेका रहेछन् भन्ने कुरा बहसको क्रममा पेस भएको स्थानीय पञ्जिकाधिकारीको कार्यालय, नेपालगञ्जबाट मिति २०५६।११।२३ मा जारी भएको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिबाट देखिन आउँछ । यसरी अर्को महिलाको निम्ति घर छाडी हिँड्ने वादीलाई पुनरावेदिकाले घरबाट निस्कन बाध्य गरेकी होलिन् भनी विश्वास गर्न सकिएन ।

३. श्रीमान् स्वयंले श्रीमतीलाई घरमा छाडी लगातार तीन वर्षभन्दा बढी समय अलग रहेको कारणबाट निजलाई श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने अधिकार हुन्छ वा हुँदैन? भन्ने प्रश्न विचारणीय देखिन आउँछ । सो सम्बन्धमा विचार गर्दा, नेपालको कानूनले सबै अवस्थामा सरल तरिकाले सम्बन्ध विच्छेदको अधिकार दिएको नभई दुवैको मन्जुरी हुँदा सकेसम्म मेलमिलापको वातावरण बनाउनु पर्ने कुरा कानूनमा स्पष्ट व्यवस्था रहेको छ भने अन्य अवस्थामा सर्तसहितको सम्बन्ध विच्छेदको मात्र व्यवस्था गरेको 

छ । अब लगातार ३ वर्षसम्म अलग रहेमा सम्बन्ध विच्छेद गर्न सकिने भन्ने व्यवस्थाको सन्दर्भमा हेर्दा"स्वास्नीले लोग्नेलाई निजको मन्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा....त्यस्ती स्वास्नीसित लोग्नेले आफ्नो सम्बन्ध विच्छेद गर्न पाउँछ" भनी लोग्नेस्वास्नीको १ नं. को देहाय १ मा उल्लेख भएको पाइन्छ । प्रस्तुत मद्दामा स्वयं श्रीमान्‌ले नै घर छाडी अलग बसेको भन्ने तथ्य तथा प्रमाणबाट देखिन आयो । यसरी आमा, छोरा, छोरी र श्रीमतीको रक्षा-शिक्षाको जिम्मेवारीबाट उम्की घरै छोडी हिँड्ने लोग्नेले आफ्नी श्रीमतीसँग निजको मन्जुरी नहुँदानहुँदै पनि सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने मनसाय उक्त कानूनी व्यवस्थाको नभई श्रीमतीले श्रीमान्‌को मन्जुरीबेगर घर छाडी अलग बसेको हकमा मात्र आकर्षित हुने हुँदा उक्त कानूनी व्यवस्थाले निज प्रत्यर्थी वादीलाई सम्बन्ध विच्छेद गर्न छुट दिएको भन्न मिल्दैन ।

४. प्रत्यर्थी वादी पुरण शमशेर लामो समयदेखि बिरामी भई असक्त भएको भन्ने निजको फिराद पत्रमा उल्लेख भई अदालती बयानको क्रममा समेत व्यक्त भएको पाइन्छ । यसैलाई आधार लिई यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेशसमेत भइसकेपछि आवश्यक प्रमाणहरू गुजारी आफ्नो भनाईलाई पुष्टि गर्ने र अदालतको आशंका हटाउने कार्य गर्नुपर्नेमा प्रत्यर्थी वादीले सो गर्नसकेको देखिएन । वादी स्वयंले आफ्नो भनाईलाई आफैँले पुष्टि गर्न नसकेको स्थिति तथा पुनरावेदिका स्वयंले पतिकी आमा तथा सन्तानलाई हेरचाह गरी बसेको परिप्रेक्ष्यमा उनले पतिको हेरचाह नगरी श्रीमान्‌लाई शारीरिक र मानसिक कष्ट हुने कार्य गरेकी होलिन् भनेर मान्न मिल्ने अवस्था पनि रहेन । यसरी प्रतिवादी आफैँ घर छोडी डेरा लिई बस्ने गरेको नभई वादी नै घर छाडी डेरा लिई बसेको र निजलाई शारीरिक र मानसिक कष्ट हुने कार्य पत्नीबाट भए गरेकोसमेत देखिन नआएको अवस्थामा लोग्ने स्वास्नीको महलको १ नं. को देहाय १ बमोजिम वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्न मिल्ने देखिएन । 

५. वादी प्रतिवादीबीचमा अंश मुद्दा चली प्रतिवादीले दाबीबमोजिम अंश पाउने ठहर भएको अवस्थामा वादी प्रतिवादीबीचको सम्बन्ध विच्छेद हुने वा नहुने प्रश्नतर्फ विचार गर्दा, पत्नीले घर परिवारको (सासु र बालबच्चाको) जिम्मा लिई घरमा बस्दा घरको आर्थिक व्यवहार मिलाउनका निम्ति अंश लिन सक्ने तर परिवारिक पहिचान (Identity) र सामाजिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी बस्न सक्ने नै हुन्छन् । अतः पत्नीले अंश लिएमा पतिलाई आफ्नी पत्नीसँग विहावरीको महलको १० नं. ले अर्को विवाह गर्न सक्ने भन्नुको अर्थ सम्बन्ध विच्छेद गर्न बाटो खुलेको भनी अर्थ गर्न मिल्दैन । प्रचलित कानूनले यस मान्यतालाई स्वीकारेको पनि छैन । अतः अर्को विवाह गर्ने, छुट्टि भिन्न भई बस्ने र सम्बन्ध विच्छेद हुनु फरक अवस्था हुन् । 

६. वादी कृष्ण शेरचन र प्रतिवादी पदमकुमारी शेरचनको सम्बन्ध विच्छेद मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का.प.२०६७, अंक १० नि.नं.८४८७) प्रस्तुत मुद्दाको हकमा आकर्षित हुने हो वा होइन भनी उक्त मुद्दाको फैसला अध्ययन गरी हेर्दा श्रीमतीले श्रीमान्‌को मन्जुरीबेगर लामो समयदेखि घर छाडी माइतीमा बसेको भन्ने तथ्यसँग उक्त मुद्दा सम्बन्धित भएको देखिन आयो । प्रस्तुत मुद्दामा श्रीमान्‌ले नै घर छाडी अलग बसेको र श्रीमतीले आपसी समझदारी बढाउन घर परिवारलाई नै हेरी बसेको देखिन्छ । यसरी एउटा फरक तथ्य रहेको मुद्दाको हकमा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दाको हकमा लागु हुने देखिँदैन । अतः प्रत्यर्थी वादीतर्फका कानून व्यवसायीले प्रस्तुत गरेको नजिर सिद्धान्तले यस मुद्दाका वादी पुरण शमशेरलाई आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न सहयोग पुर्‍याउने देखिँदैन ।  

७. तसर्थ, वादी दाबीबमोजिम वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०६७।३।९ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई पति पत्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने वादीको दाबी पुग्न सक्दैन भन्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६५।१०।८ को फैसला सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई   दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृतः शिवप्रसाद आचार्य

इति संवत् २०७५ साल वैशाख २८ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु