शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०००३ - लागु औषध खैरो हेरोइन

भाग: ६० साल: २०७५ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७३।८।१६

०७२-CF-०००७

 

मुद्दाः लागु औषध खैरो हेरोइन

 

पुनरावेदक / वादी : प्र.ना.नि. उमाशंकरप्रसाद गुप्ताको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१४ घर भई ऐ. वडा नं.१३ मा डेरा गरी बस्ने राजेशकुमार लामा

 

प्रतिवादीसँग लागु औषध फेला परेको अवस्थामा प्रतिवादीले त्यसको वैधता प्रमाणित गर्नै पर्दैन भन्ने होइन । यसो भन्नुको मतलब लागु औषधको कसुरमध्ये प्रतिवादीले कुन कसुर गरेको हो, सेवनको कसुर हो वा कारोबारको कसुर हो भन्ने कुरालाई स्पष्ट गर्नुपर्ने, तत्सम्बन्धी आवश्यक कुरा खुलाउनु पर्ने र सोको प्रारम्भिक प्रमाण पुर्‍याउनु पर्ने वादीको दायित्वलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले समाप्‍त गरेको हो भन्न पनि नमिल्ने । 

(प्रकरण नं.१०)

कसुरको दफा मात्र उल्लेख गरेर पुग्दैन सो दफाबमोजिमको काम प्रतिवादीबाट भएको भन्ने कुरा र तत्सम्बन्धी प्रमाण पनि दाबीमा खुल्नु आवश्यक हुने । 

(प्रकरण नं.१२)

बरामदित लागु औषधको मात्रा थोरै छ बरामद भएको मात्रालाई नै अदालतले आधारको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । बरामदित मात्रा थोरै छ बरामद भएको मात्रालाई पन्छाएर हचुवाको भरमा बरामद थोरै भए पनि कारोबारी नै हुन् भनी भन्न पनि मिल्दैन । अर्कोतर्फ एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेको कारणले मात्रै निजलाई लागु औषधको कारोबारी ठहर गर्नु न्यायोचित नहुने ।

(प्रकरण नं.१५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठक

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू फैसला गर्नेः-

जिल्ला न्यायाधीश श्री पशुपति आचार्य 

पर्सा जिल्ला अदालत ।

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

माननीय न्यायाधीश श्री सत्यमोहन जोशी

पुनरावेदन अदालत, हेटौंडा । 

संयुक्त इजलासबाट फैसला गर्नेः 

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

 

फैसला

न्या.जगदीश शर्मा पौडेल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७२/०६/११ मा सर्वोच्च अदालत नियमावली २०४९, को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ स्थित पूर्वमा घण्टाघर जाने सडक, पश्चिममा खाली जग्गा, उत्तरमा हरेन्द्र किशोर पंडितको घर, दक्षिणमा मुकेश कलवारको घर यति चार किल्लाभित्र अशोककुमार वर्माको घरमा राजेशकुमार लामा कोठा लिई बसेकोमा निजको कोठा खानतलासी लिँदा कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएको भन्ने मिति २०६६।४।२७ को खनतलासी तथा बरामदी

मुचुल्का ।

मिति २०६६/४/२७ गते राति २४:३० बजेको समयमा जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१४ घर भई ऐ. वडा नं.१३ मा अशोक वर्माको घरमा कोठा लिई बसेको राजेशकुमार लामाको कोठा खानतलासी गर्दा निज राजेशकुमार लामा भागी गएको र सो कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम तथा चरेस १० ग्राम र रू.२/- को नोट दुवैतिर आगो लागेको र सो कोठामा बसेका सर्लाही जिल्ला, वरहथवा गा.वि.स. वडा नं.८ घर भएका सञ्जय दास, ऐ.ऐ. बस्ने नविनकुमार दास र ऐ. हरिवन-९ बस्ने ललन दासलाई पक्राउ गरी सोधपुछ गर्दा हामीहरू लागु औषध सेवन गर्ने व्यक्ति होइनौं । बरामद भएको लागु औषध राजेशकुमारले के कहाँबाट ल्याएको हो, हामीलाई थाहा छैन भनी बताएकोले तीनै जनालाई पक्राउ गरी कारबाहीको लागि यसै प्रतिवेदनसाथ दाखेल गरेको भन्नेसमेत बेहोराको प्र.ना.नि. उमाशंकर गुप्ताको प्रतिवेदन ।

मेरी भान्जी किरण देवी सुत्केरी व्यथा लागी वीरगञ्ज लगेकोले म पनि निजलाई हेर्न वीरगञ्ज गएको थिएँ । बेलुकाको समयमा म नविनकुमार दास र भान्जा ललन दास घुम्न भनी वीरगञ्जको घण्टाघरमा गएका थियौं । त्यहाँ मेरो काठमाडौंमा खाना खाने होटलको साहुनी इन्दिरा लामासँग भेट भयो । निजले मेरो दिदी भिनाजुको कोठा यहीँ छ, जाउँ भनेकीले हामी तीनै जना इन्दिराको भिनाजुको कोठामा गई खाना खाई निजको भिनाजु राजेशकुमार लामासँग सुतेका थियौं । राति प्रहरी आई कोठा चेकजाँच गर्दा निज राजेशकुमार लामा भागी फरार भएको र कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएकोले प्रहरीले हामीलाई पनि पक्राउ गरेको हो । म लागु औषध सेवन गर्ने व्यक्ति होइन । सो लागु औषध मेरो होइन । हामीलाई पक्राउ गर्नुभन्दा अगाडि उक्त कोठामा लागु औषध छ भनि हामीलाई थाहा थिएन भन्नेसमेत बेहोराको सञ्जय दासले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मेरी दिदी किरण देवीलाई डेलिभरीको व्यथा लागेकोमा दिदीसँगै वीरगञ्ज आएकोमा मिति २०६६/४/२७ गते मामा सञ्जयदास र नविनकुमार दास पनि वीरगञ्ज आएकोमा बेलुका हामी घण्टाघर घुम्न गएका थियौं । त्यहाँ मामाको साथी इन्दिरासँग भेट भई इन्दिराले मामालगायत मलाई पनि निजको भिनाजुको कोठामा जान आग्रह गरेकोले हामी तीनै जना निजको दिदी भिनाजु राजेशकुमार लामाको कोठामा गई रातिको खाना खाई सुतेका थियौं । रातिको समयमा प्रहरी आएकोले निज राजेशकुमार लामा भागी गएको र प्रहरीले कोठा खानतलासी गर्दा दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएको 

हो । त्यही समयमा हामीलाई पनि प्रहरीले पक्राउ गरेको हो । म लागु औषध सेवन गर्ने व्यक्ति होइन । हामी सुतेको कोठामा लागु औषध छ भनी हामीलाई थाहा थिएन । प्रहरीले बरामद गरेको लागु औषध राजेशकुमार लामाको हो भन्नेसमेत बेहोराको ललन दासले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६६/४/२७ गते म वीरगञ्ज बसपार्कमा आएकोमा गाउँका छिमेकी दाजु सञ्जयसँग भेट भई कुराकानी गर्दा निज सञ्जयले मेरो भान्जी किरण देवीलाई सुत्केरीको ब्यथा लागेकोमा वीरगञ्ज लिई आएको छु हेर्न जाउँ भनेकोले म पनि निज सञ्जय दाससँग निजको भान्जी किरण देवी भएको स्थानमा गएको हो । हामी निजको कोठामा बसी बेलुका हामी तीनै जना वीरगञ्जको घण्टाघर घुम्न गएकोमा सञ्जय दासको साथी इन्दिरासँग भेट भयो । निज इन्दिराले मेरो दिदी भिनाजुको कोठामा जाउँ भनेकोले हामी तीनै जना निजले भनेको कोठामा गई रातिको खाना खाई निज इन्दिराको भिनाजु नाताका राजेशकुमार लामासँगै सुतेका थियौं । रातिको समयमा प्रहरी आएको देखी निज राजेशकुमार लामा भागी गएका र प्रहरीले कोठा तलासी गर्दा कोठामा रहेको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद गरेको हो । म लागु औषध सेवन गर्दिन । बरामद भएको लागु औषध राजेशकुमार लामाको हो भन्नेसमेत बेहोराको नविनकुमार दासले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मेरो विवाह १२ वर्ष अगाडि राजेशकुमार लामासँग भएको हो । मेरो श्रीमान् राजेशकुमार लामाले लागु औषध सेवन गर्ने गर्दछन् । उल्लिखित दिनमा पनि लागु औषध सेवन गरी हल्ला गर्न लागेकोले सोको जानकारी प्रहरीलाई गराएकी थिएँ । प्रहरी आएको देखी राजेशकुमार लामा भागी गएको र बहिनीको साथी सञ्जय दास, ललन दास र नविनकुमार दासलाई पक्राउ गरी कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद गरेको हो । बरामद भएको लागु औषध मेरो श्रीमान्‌ले खरिद गरी सेवन गर्नको लागि लिई आएको हो । पक्राउ परेका संजय दास, ललन दास र नविनकुमार दास लागु औषध सेवन गर्ने व्यक्ति होइनन् । निजहरू पाहुनाको रूपमा आएका हुन् भन्नेसमेत बेहोराको पूजा लामाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।

मिति २०६६/४/२७ गते म काम विशेषले वीरगञ्जको घण्टाघर गएकोमा मेरो चिनेका साथी संजय दाससँग भेट भयो । निजसँग ललन दास, नविन दास पनि आएकोले मैले निजहरूलाई मेरो दिदी भिनाजुको कोठा यहीँ छ भनी कोठामा जाउँ भन्दा निजहरू पनि आई रातिको खाना खाई म दिदीसँग र निज साथी सञ्जय दास, नविनकुमार दास भिनाजुसँग सुतेकोमा रातिको समयमा प्रहरी आइपुगेको हो । लागु औषध के कहाँबाट बरामद गरेको हो मलाई थाहा छैन भन्नेसमेत बेहोराको इन्दिरा लामाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।

मलाई सुत्केरीको ब्यथा लागेकोले चेक जाँच गर्नको लागि वीरगञ्ज आई चेक जाँच गराई वीरगञ्जमा बसेकोमा मिति २०६६/४/२५ गते मेरो भाई ललन दास घरबाट आएका र मिति २०६६/४/२७ गते मेरो मामा संजय दास र गाउँले मामा नविनकुमार दास बजार घुम्न गएका हुन् । बेलुकासम्म पनि निजहरू फर्की आएनन् र फोन गर्दा निजहरूले हामी साथीको कोठामा बस्छौं भनेका हुन् । निजहरू लागु औषध सेवन गर्ने व्यक्तिहरू होइनन् भन्नेसमेत बेहोराको किरण देवीले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।

मिति २०६६/४/२७ गते राति जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं.१३ स्थित राजेशकुमार लामाको डेरा कोठाबाट प्रहरीले लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद गरेको हो । सञ्जय दास, ललन दास र नविनकुमार दासलाई प्रहरीले पक्राउ गरेको सुनी थाहा पाएको 

हो । बरामद भएको लागु औषध राजेशकुमार लामाको हो, पक्राउ परेका मानिसहरूको होइन भन्नेसमेत बेहोराको सत्यनारायण साहसमेतका व्यक्तिहरूले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

भौतिक सबुद नं.१ मा हेरोइन (Heroin) र भौतिक सबुद नं.२ मा चरेस (Hashis) पाइएको छ भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

मैले लागु औषध सेवन गर्न थालेको ६ / ७ महिना भयो । आफैँ सेवन गर्नको लागि मैले मिति २०६६/४/२७ गते बिहान भारतको रक्सौल गई भारतीय मानिससँग रू.१,०००/- नेपालीमा लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम किनी घरमा आई दराजमा राखेको थिएँ । सोही बेलुका मेरो साली इन्दिराले ३ जना साथीहरूलाई लिई आएकोमा निजहरूसँग परिचय गराउँदा सञ्जय दास, ललन दास, नविनकुमार दास भनी परिचय भएकोमा हामी सबैजना मिली रातिको खाना खाई सुतेका थियौं । पाहुनाहरू निदाई सकेकोले म उठी दराजबाट लागु औषध निकाली २ रूपैयाँको नोटमा आगो लगाई खाने क्रममा घरबाहिर प्रहरीको गाडी आएको देखी बाँकी लागु औषध दराजमा राखी पर्खालबाट हाम फाली भागी गएको हुँ । प्रहरीले मेरो कोठाको दराज तलासी गर्दा मैले राखेको लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम तथा सेवन गर्ने सामग्री प्रहरीले बरामद गरी सालीका साथीहरू सञ्जय दास, ललन दास र नविन दासलाई पक्राउ गरी लगेको हो । उक्त बरामद भएको लागु औषध मैले आफूले सेवनको लागि किनी ल्याएको हो । निजहरू सेवन गर्ने व्यक्ति होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी राजेशकुमार लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६६/६/२७ गते राति प्रहरीले राजेशकुमार लामाको कोठा दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद गरेको कुरा सुनी थाहा पाएको हो । उक्त लागु औषध राजेशकुमार लामाले किनी ल्याएको हो । निज लागु औषध सेवन गर्ने व्यक्ति हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।

राजेशकुमार लामाले आफूले सेवन गर्नको लागि कोठामा अवैध लागु औषध ल्याई राखेको देखिँदा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध खैरो हेरोइनको सम्बन्धमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) र (छ) को कसुर अपराध गरेको देखिँदा निजलाई सोही ऐनको दफा १४(१)(ङ) तथा (छ)(१) बमोजिम सजाय हुन र लागु औषध चरेसको सम्बन्धमा सोही ऐनको दफा ४(क) को कसुरमा सोही ऐनको दफा १४(१)(क) तथा घ(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

मलाई मेरो श्रीमतीले प्रहरीमा फोन गरेकोले प्रहरी आई पक्राउ गरी लगेको हो । मैले लागु औषध खरिद बिक्री गर्ने गरेको छैन, तर सेवन गर्ने गरेको छ भन्नेसमेत बेहोराको प्रतिवादी राजेशकुमार लामाले अदालतमा गरेको बयान ।

प्रतिवादी राजेशकुमार लामा लागु औषधको ओसारपसार गर्ने व्यक्ति होइनन् । निजले सेवन मात्र गर्ने हुन् भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी मैया लामाले गरेको बकपत्र ।

वीरगञ्ज उपमहानगरपालिका वडा नं. १३ स्थित अशोककुमार वर्माको घरमा केही व्यक्तिहरू लागु औषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा सम्बन्धित ठाउँमा गई घरको कोठा खोल्नासाथ प्रहरीलाई देख्ने बित्तिकै एक जना व्यक्ति झ्यालबाट हाम फाली भागेको र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । घर खानतलासी गर्दा दराजभित्रबाट ३ ग्राम खैरो हेरोइन, १० ग्राम चरेस, १ वटा लाइटर, दुवैपट्टि जलेको रू.२/- को कागजको नोट र राजेशकुमार लामाको नागरिकताको प्रतिलिपि फेला परेकोले बरामद गरेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ना.नि. उमाशंकर प्रसाद गुप्ताले गरेको बकपत्र ।

लागु औषधको परिमाण, प्रतिवादीको बयान, बकपत्रसमेतका परिस्थितिजन्य प्रमाणहरूबाट प्रतिवादीको कोठाबाट बरामद भएको लागु औषध बेचबिखन, ओसारपसार गर्न राखेको नभई सेवनको प्रयोजनको लागि राखेको भन्ने देखिँदा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम ४ महिना ५ दिन कैद र रू.२०००।– जरिवानासमेत हुने ठहर्छ भनी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६६/१०/१२ गते भएको फैसला ।

प्रतिवादी राजेशकुमार लामाको कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएको भन्ने खानतलासी तथा बरामदी मुचुल्काबाट देखिएको र सो बरामद लागु औषध प्रतिवादीले रू.१,०००/- मा भारत रक्सौलबाट खरिद गरी घरमा ल्याई दराजमा राखी रहेको अवस्थामा बरामद भएको भन्ने कुरालाई स्वीकार गरी बयान गरेको छ । प्रतिवादीको उक्त क्रियाकलाप लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) बमोजिम जुनसुकै प्रयोजनका लागि भए पनि लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसारपसार गर्ने कार्य गर्न निषेध गरेको र दफा ४(छ) ले लागु औषध सेवन गर्ने कार्यलाई निषेध गरी कसुर मानेको अवस्था हुँदा निज प्रतिवादीले गरेको उक्त कार्यबाट उल्लिखित दुवै कसुर भएको पुष्टि भइरहेको देखिन्छ । यसरी अलग अलग कसुर गरेको व्यक्तिलाई कसुर स्वीकार गरिसकेको अवस्थामा दुवै कसुर कायम गरी सोहीअनुसार दुवैमा सजाय गर्नुपर्नेमा केवल सेवन गर्न ल्याएको भनी प्रतिवादीले जिकिर लिएको भरमा निजलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम सेवनको कसुर कायम गरी सोअनुसार सजाय गर्ने गरी भएको फैसला सो हदसम्म मिलेको नदेखिई त्रुटिपूर्ण हुँदा बदर भागी छ भन्ने बेहोराको मिति २०६८/९/१८ गतेको नेपाल सरकारको पुनरावेदन पत्र ।

यसमा चरेससमेत बरामद भएकोमा त्यसतर्फ विवेचना नभई भएको सुरूको फैसला फरक पर्नसक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई आए वा अवधि भुक्तान भएपछि पेस गर्नु भन्ने मिति २०६८/१२/१४ गतेको आदेश ।

प्रतिवादीहरूको कोठाबाट बरामद भएको ३ ग्राम खैरो हेरोइन र १० ग्राम चरेस सेवन गर्ने प्रयोजनको लागि राखेको कसुर गरेको देखिँदा चरेस राखेको हकमा केही नबोली भएको फैसला केही उल्टी भई चरेस सेवन र खैरो हेरोइन सेवन गर्नेलाई फरकफरक सजायको व्यवस्था भएकोमा ठूलो सजाय हुने खैरो हेरोइन सेवनतर्फमा निज प्रतिवादी राजेशकुमार लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम ४ महिना ५ दिन कैद र रू.२,०००/- जरिवाना हुने ठहराई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६६/१०/१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९/४/१६ को फैसला ।

यसमा प्रतिवादी राजेशकुमार लामाको कोठाबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम बरामद भएको र उक्त लागु औषध भारतको रक्सौलबाट खरिद गरेको हो भन्ने तथ्यलाई प्रतिवादीले स्वीकार गरी बयान गरेको अवस्थामा निजको उक्त कसुरबाट लागु औषधको खरिद, ओसारपसार र सञ्चय गरेको पुष्टि भइरहेको अवस्थामा निजलाई अलगअलग कसुर कायम गरी सजाय हुनुपर्दछ । लागु औषधको खरिद, ओसारपसार तथा सञ्चय प्रथम दृष्टिमा नै अपराधजन्य कसुर भएको र प्रतिवादीलाई सेवन गर्दागर्दैको अवस्थामा पक्राउ परेको नभई घर कोठाबाट बरामद भएको अवस्थामा सेवन गर्न ल्याएको भन्ने गलत तर्कको सहारामा भएको फैसला त्रुटिपूर्ण रहेको छ । अतः बरामद भएको लागु औषधको मात्रा र परिमाणसमेतको आधारमा कसुर कायम गरी अलगअलग कसुरमा अलगअलग सजाय गर्नुपर्नेमा सेवनमा मात्र सजाय गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९/४/१६ को फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)क बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादी नेपाल सरकारको मिति २०६९/७/३ मा यस अदालतमा परेको निवेदन ।

यसमा प्रतिवादीको कोठाबाट ३ ग्राम खैरो हेरोइन र १० ग्राम चरेस बरामद भएकोमा प्रतिवादी राजेशकुमार लामालाई एकातर्फ ठूलो कैदको हदतर्फ मात्र सजाय गर्ने भनी हेरोइनतर्फ पनि सेवनतर्फ मात्र सजाय गरेको तर लागु औषधको परिमाणसमेतको प्रमाणहरूको अध्ययन गर्दा सेवनतर्फ मात्र सजाय गरिनु कानूनसङ्गत नहुँदानहुँदै सेवनतर्फ मात्र सजाय गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा मुलुकी ऐन, दण्ड सजायको ४१ नं., अ.बं. १८४क, १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) र (छ) को त्रुटि भएको विद्यमान देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७०/४/२८ को आदेश ।

सेवन र सञ्चय अलगअलग कसुर हो, यसलाई एकैसाथ राखी एउटै कसुर कायम गरी सजाय गर्न मिल्ने होइन । सेवनकर्ता हुँ भन्ने व्यक्तिले जति पनि सञ्चय गर्न पाउने भने होइन । सञ्चय गर्नासाथ त्यो सञ्चयको कसुर हुन्छ । कानूनले नै सेवन र सञ्चयमा अलगअलग कसुर कायम गरी सजायको व्यवस्था गरिरहेको अवस्था छ । तथापि सञ्चयको परिमाण हेरी कसुर कायम गर्नुपर्ने हुन आउँछ । एक दुई पटक सेवन गर्नसक्ने सम्मलाई सेवनको कसुर भन्नु पर्ने हुन्छ । प्रस्तुत मिसिल संलग्न बरामदी मुचुल्काबाट बरामद भएको लागु औषधको मात्रा र परिमाणसमेतलाई अन्देखा गरी प्रतिवादीलाई सेवनमा मात्र सजाय गरेको फैसला मिलेको नदेखिँदा प्रतिवादी राजेशकुमार लामा लागु औषधको सेवन कर्ता मात्र नभई निजले गरेको कसुर लागु औषध नियन्त्रण ऐन, २०३३ दफा ४(च) र (छ) विपरीत रहेको हुँदा निजलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम पाँच वर्ष कैद र रू.५०००।– जरिवानासमेत हुने ठहर्छ । माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्यायको रायसँग सहमत हुन नसकी छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायको राय ।

एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेको कारणबाट मात्रै उसलाई कारोबारी ठहर गर्नु उपयुक्त हुँदैन । दुर्व्यसनीले खैरो हेरोइन र चरेस दुवै खाँदैनन् भन्न मिल्दैन । बरामद लागु औषधको मात्राको आधारबाट सेवन वा कारोबारको टुंगो लगाउनु पर्दछ । प्रतिवादीसँग बरामद भएको लागु औषधको मात्रा अत्यन्त न्यून रहेको 

छ । न्यून मात्राको लागु औषध बरामद भएको भन्दैमा कारोबारी नभई सेवनकर्ता मात्र हुन् भनी अनुमान गर्न मिल्ने हुँदैन । कारोबारी नै रहेको पनि हुन सक्दछ तर त्यसका लागि प्रतिवादी कारोबारी भएको पुष्ट्याईं वादी पक्षले वस्तुनिष्ठ प्रमाणका आधारमा गर्नुपर्दछ । प्रतिवादी विरूद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसुरलाई वादीले शंकारहित तवरबाट प्रमाणित गर्न नसकेकोले प्रतिवादीले उक्त ऐनको दफा ४(छ) को लागु औषध सेवनको कसुर गरेको ठहर्‍याई निजलाई दफा १४(१)(ङ) बमोजिम ४ महिना ५ दिन कैद र रू. २ हजार जरिवाना गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।४।१६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको रायसँग सहमत हुन नसकी छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले प्रतिवादीको कोठाबाट ३ ग्राम खैरो हिरोइन र १० ग्राम चरेस बरामद भएको अवस्था छ । यो ठूलो परिमाण 

हो । यति ठूलो परिमाण सञ्चय गरी राखेको अवस्था हुँदा प्रतिवादीलाई सेवनमा मात्र सजाय गर्न मिल्ने अवस्था हुँदैन । प्रतिवादी लागु औषधको कारोबारी नै भएको हुँदा कारोबारमा सजाय गर्नुपर्नेमा सेवनमा मात्र सजाय गरेको मिलेको छैन । सुरू तथा पुनरावेदन अदालतले गरेको फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम कारोबारमा सजाय गर्ने गरी माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायले व्यक्त गर्नुभएको राय कायम हुनुपर्दछ भन्ने बेहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिरसमेत सुनी मिसिल संलग्न रहेका सुरू तथा पुनरावेदन अदालतले गरेको फैसला तथा यस अदालतको संयुक्त इजलासबाट भएका फैसलासहितका कागज प्रमाणसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीलाई लागु औषधको कारोबारमा सजाय गर्नुपर्छ भनी माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायले व्यक्त गर्नुभएको राय मनासिब हुने वा लागु औषध सेवनमा सजाय गर्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्यायको राय कायम हुने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. प्रतिवादी राजेशकुमार लामाले सेवन गर्नको लागि कोठामा अवैध लागु औषध ल्याई राखेको देखिँदा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) र (छ) मा उल्लिखित खैरो हेरोइन कसुरमा उक्त ऐनको दफा १४(१)(ङ) तथा (छ१) र सोही ऐनको दफा ४(क) मा उल्लिखित चरेस कसुरमा दफा १४(१)(क) तथा (घ)(१) बमोजिम सजाय गरिपाउँ भनी अभियोगपत्र दायर भएकोमा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध कारोबारमा नभई सेवन प्रयोजनको लागि राखेको देखिँदा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम ४ महिना ५ दिन कैद र रू. २ हजार जरिवानासमेत हुने ठहर्‍याई भएको सुरू पर्सा जिल्ला अदालतको फैसला वादीको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाले सुरू पर्सा जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरी फैसला भएउपर वादी नेपाल सरकारको यस अदालत समक्ष मुद्दा दोहोर्‍याई हेरी पाउँ भनी निवेदन परेकोमा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई संयुक्त इजलाससमक्ष पेस भएकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरूको राय बाझी भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता हुन आई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको 

देखियो । प्रतिवादी राजेशकुमार लामाको कोठा खानतलासी लिँदा कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम मिति २०६६।४।२७ मा बरामद भएपछि प्रस्तुत मुद्दाको अनुसन्धानको प्रक्रिया अगाडि बढेको देखिन्छ भने निज प्रतिवादीसँग लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम खानतलासी तथा बरामद भएको भन्ने विषयमा कुनै विवाद देखिँदैन ।

३. मिति २०६६/४/२७ गते राति २४:३० बजेको समयमा जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं. १४ घर भई ऐ. वडा नं. १३ मा अशोक वर्माको घरमा कोठा लिई बसेको राजेशकुमार लामाको कोठा खानतलासी गर्दा निज राजेशकुमार लामा भागी गएको र सो कोठाको दराजबाट लागु औषध खैरो हेरोइन ३ ग्राम तथा चरेस १० ग्राम र रू.२/- को नोट दुवै तिर आगो लागेको र सो कोठामा बसेका सञ्जय दास, नविन कुमार दास र ललन दासलाई पक्राउ गरी सोधपुछ गर्दा हामीहरू लागु औषध सेवन गर्ने व्यक्ति होइनौं । बरामद भएको लागु औषध राजेशकुमारले के कहाँबाट ल्याएको हो, हामीलाई थाहा छैन भनी बताएका र तीनै जनालाई पक्राउ गरी कारबाहीको लागि यसै प्रतिवेदनसाथ दाखेल गरेको भन्ने प्र.ना.नि. उमाशंकर गुप्ताको प्रतिवेदन परेको देखिन्छ भने पक्राउमा परेका तीनै जनाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा लागु औषध आफूहरूको नभएको बेहोरा अनुसन्धान अधिकारीसमक्ष लेखाइदिएको देखिन्छ ।

४. प्रतिवादी राजेशकुमार लामाले आफूले सेवन गर्नको लागि कोठामा अवैध लागु औषध ल्याई राखेको देखिँदा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध खैरो हेरोइनको सम्बन्धमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) र (छ) को कसुर अपराध गरेको देखिँदा निजलाई सोही ऐनको दफा १४(१)(ङ) तथा (छ)(१) बमोजिम सजाय हुन र लागु औषध चरेसको सम्बन्धमा सोही ऐनको दफा ४(क) को कसुरमा सोही ऐनको दफा १४(१)(क) तथा घ(१) बमोजिम सजाय गरिपाउन माग दाबी लिई प्रतिवादी राजेशकुमार लामाका हकमा मात्र अभियोगपत्र दायर भएको देखिन्छ ।

५. प्रतिवादी राजेशकुमार लामाको अनुसन्धान अधिकारीसमक्ष भएको बयान बेहोरा हेर्दा मैले लागु औषध सेवन गर्न थालेको ६ / ७ महिना भयो । आफैँ सेवन गर्नको लागि मैले मिति २०६६/४/२७ गते बिहान भारतको रक्सौल गई भारतीय मानिससँग रू. १,०००/- नेपालीमा लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम किनी घरमा आई दराजमा राखेको थिएँ । प्रहरी आएको थाहा पाई म भागी गएको हुँ । प्रहरीले मेरो कोठाको दराज तलासी गर्दा मैले राखेको लागु औषध खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम तथा सेवन गर्ने सामग्री प्रहरीले बरामद गरी सालीका साथीहरू सञ्जय दास, ललन दास र नविन दासलाई पक्राउ गरी लगेको हो । उक्त बरामद भएको लागु औषध मैले आफूले सेवनको लागी किनी ल्याएको 

हो । निजहरू सेवन गर्ने व्यक्ति होइनन् भन्नेसमेत बेहोरा उल्लेख भएको देखिन्छ भने अदालतसमक्ष भएको बयान बेहोरामा आफूले लागु औषध खरिद बिक्री गर्ने गरेको छैन, तर सेवन गर्ने गरेको छु भन्नेसमेत बेहोरा लेखाएको देखिन्छ । बरामदी लागु औषध केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा भौतिक सबुद नं. १ मा हेरोइन (Heroin) र भौतिक सबुद नं. २ मा चरेस (Hashis) पाइएको छ भन्ने बेहोरा उल्लेख भएको देखिँदा बरामदी वस्तु लागु औषध भएकोमा समेत विवाद देखिएन ।

६. संकलित तथ्यबाट प्रतिवादीको कोठाको दराजमा लागु औषध रहेको तथ्यमा विवाद रहेको छैन भने प्रतिवादीको कोठाको दराजबाट बरामद भएको लागु औषध सेवन गर्ने प्रयोजनका लागि निजले आफ्नो कोठामा राखेका थिए वा यी प्रतिवादी लागु औषधका कारोबारी नै हुन् भन्ने ठहर गर्नुपर्ने मुख्य प्रश्न उपस्थित भएको छ । सो सम्बन्धमा विचार गर्दा प्रतिवादी राजेशकुमार लामालाई लागु औषध खैरो हेरोइनको सम्बन्धमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) र (छ) को कसुर अपराधमा निजलाई सोही ऐनको दफा १४(१)(ङ) तथा (छ)(१) बमोजिम सजाय हुन र लागु औषध चरेसको सम्बन्धमा सोही ऐनको दफा ४(क) को कसुरमा सोही ऐनको दफा १४(१)(क) तथा घ(१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र मागदाबी रहेको देखिन्छ । उक्त ऐनको दफा ४ ले निषेध गरिएका कार्यहरू भनी देहाय (क) मा “गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, सञ्चय गर्न वा सेवन गर्न”, देहाय (च) मा “लागु औषधको खरिद गर्ने, सञ्चय गर्ने, राख्‍ने वा ओसार पसार गर्ने” र देहाय (छ) मा “गाँजाबाहेक अन्य लागु औषध सेवन गर्ने” कार्य भनी उल्लेख गरेको देखिन्छ ।

७. प्रतिवादी राजेशकुमार लामाले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा लागु औषध सेवनकर्ता मात्र रहेको लागु औषधको कारोबार आफूले नगर्ने भनी अभियोग दाबीमा इन्कार भई बयान गरेको पाइन्छ । प्रतिवेदक उमाशंकरको  अदालतमा भएको बकपत्र बाहेक प्रतिवादी राजेशकुमार लामा लागु औषधकै कारोबारी हुन् भन्ने वस्तुनिष्ठ प्रमाण वादी पक्षले गुजार्न सकेको पाइँदैन । प्रतिवेदक उमाशंकरले गरेको बकपत्रको जवाफ ५ मा अशोककुमार वर्माको घरमा केही व्यक्तिहरू लागु औषध सेवन गरिरहेको भन्ने सूचना प्राप्‍त भएको सो सूचना बाटोमा हिँडिरहेको व्यक्तिले दिएको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ भने जवाफ १२ मा जलेको रू. २।- को कागजको नोटको आधारमा उक्त लागु औषध सेवन गर्ने प्रयोजनको लागि राखिएको हुन सक्ने देखिन्छ भन्ने बेहोरा उल्लेख गरेको देखिन्छ । प्रतिवेदक उमाशंकरको बकपत्र बेहोराले समेत प्रतिवादीले लागु औषध सेवन गर्ने गरेको कुरालाई संकेत गरेको देखिन्छ ।

८. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले “कुनै व्यक्तिको साथमा कुनै लागु औषध भएको फेला परेमा ...त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्‍त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेस गर्नुपर्नेछ । त्यस्तो प्रमाण पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ ।” भनी कुनै व्यक्तिको साथमा  लागु औषध रहेको पाइएमा त्यसको वैधतालाई प्रतिवादीले प्रमाणित गर्नुपर्ने भनी प्रमाणको भारको व्यवस्था गरेको पाइन्छ । लागु औषध प्रतिवादीसँग के कसरी रहेको हो भन्ने कुरा प्रतिवादीको जानकारी (knowledge) भित्र पर्ने कुरा भएकोले यसलाई प्रतिवादीले नै यसको प्रमाण गुजार्नु पर्दछ भन्ने विषयलाई उल्लेख गरेको पाइन्छ ।

९. खासगरी लागु औषधको अवैध दुर्व्यसन र तस्करीको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको र यसको नियन्त्रणका लागि कुनै एउटा राष्ट्रले नियन्त्रण गर्न नसक्ने र यो अपराध अन्तरदेशिय संगठित अपराध (Transnational Organised Crime) का रूपमा विकसित भइरहेको अवस्था छ । लागु औषधको सेवन नभई दुर्व्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरूपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको छ । यस्ता अपराध नियन्त्रणमा सबैको सामूहित चासो र सरोकारको विषय पनि बन्दै गएको पाइन्छ । त्यसैले यस्ता अपराधमा निर्दोषिताको प्रमाण पुर्‍याउने भारसमेत प्रतिवादीलाई तोकेर कानून बनाउने गरेको पाइन्छ । 

१०. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को कानूनी व्यवस्थाले प्रतिवादीले लागु औषध आफ्नो साथमा रहेकोमा अवैध तरिकाले लागु औषध नराखेको कुरा प्रमाण पुर्‍याउनु पर्दछ भन्ने विषयमा उक्त दफामा भएको व्यवस्था स्पष्ट नै रहेको छ । प्रतिवादीसँग लागु औषध फेला परेको अवस्थामा प्रतिवादीले त्यसको वैधता प्रमाणित गर्नै पर्दैन भन्ने होइन । यसो भन्नुको मतलब लागु औषधको कसुरमध्ये प्रतिवादीले कुन कसुर गरेको हो सेवनको कसुर हो वा कारोबारको कसुर हो भन्ने कुरालाई स्पष्ट गर्नुपर्ने, तत्सम्बन्धी आवश्यक कुरा खुलाउनु पर्ने र सोको प्रारम्भिक प्रमाण पुर्‍याउनु पर्ने वादीको दायित्वलाई उक्त दफा १२ ले समाप्‍त गरेको हो भन्न पनि मिल्दैन । 

११. प्रस्तुत मुद्दाको वारदातको अवस्थालाई हेर्दा जलेको रू. २।- को नोटको मिति २०६६।४।२७ को बरामदी मुचुल्काले लागु औषध सेवनतर्फ संकेत गरेको अवस्था छ । प्रहरीले अनुसन्धान गर्नको लागि तयार गरेको प्रतिवेदनमा वडा नं. १३ स्थित लागु औषध दुर्व्यसनीहरू लागु औषध सेवन गरिरहेको भन्ने सूचना प्राप्‍त हुन आएको भन्ने बेहोरा रहेको 

देखिन्छ । प्रतिवादीको श्रीमती पूजा लामाले गरेको मौकाको कागजमा श्रीमान राजेश लामाले लागु औषध सेवन गर्ने गर्दछन् । उल्लिखित दिनमा पनि लागु औषध सेवन गरी हल्ला गर्न लागेकोमा सोको जानकारी प्रहरीलाई गराएकी थिएँ । बरामद भएको लागु औषध श्रीमानले खरिद गरी सेवन गर्नको लागि लिई आएको हो भन्ने बेहोरा उल्लेख भएको अवस्था छ । मिति २०६६।५।१२ र २०६६।७।२३ को वस्तुस्थिति मुचुल्कामा प्रतिवादी राजेश लामा धेरै पहिलादेखि लागु औषध सेवन गर्ने व्यक्ति हुन कारोबार गर्ने व्यक्ति होइनन् । सधैँ मादक पदार्थ सेवन गरी होहल्ला गरी आएकोमा निजको श्रीमतीले प्रहरीलाई जानकारी गराई प्रहरी आएपछि राजेश भागेको हो भन्ने बेहोरा उल्लेख छ । घरधनी विकासकुमार वर्माले राजेश लामा सेवन गर्ने खालका व्यक्ति हो भन्ने बेहोराको कागज गरेको देखिन्छ । प्रतिवादी राजेशकुमार लामाले आफूले लागु औषध सेवन गर्न थालेको ६।७ महिना भयो । २०६६।४।२७ गते बिहान भारतको रक्सौल गई भारतीय मानिससँग रू १ हजारमा खैरो हेरोइन ३ ग्राम र चरेस १० ग्राम किनी दराजमा राखेको थिएँ । २ रूपैयाँको नोट निकाली लागु औषध खाने क्रममा प्रहरीको गाडी आएको देखी बाँकी लागु औषध दराजमा राखी भागी गएको हुँ । बरामद लागु औषध मैले सेवनको लागि किनी ल्याएको हो भनी सेवनमा सम्म साबित भई मौकामा बयान गरेको देखिन्छ । 

१२. वादीले नै सेवन गर्नको लागि लागु औषध ल्याएको उल्लेख गरी सोहीअनुरूपको प्रमाण राखी अभियोगपत्र दायर गरेको र लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को दाबीतर्फ सो दफा मात्र उल्लेख गरी तत्सम्बन्धमा कुनै पनि प्रमाण पेस गर्न नसकेको र दफाको उल्लेखनबाहेक अरू जिकिरसमेत लिन नसकेको दाबीलाई दफा ४(च) को सन्दर्भमा स्पष्ट दाबी लिएको भन्न मिल्दैन । कसुरको दफा मात्र उल्लेख गरेर पुग्दैन सो दफाबमोजिमको काम प्रतिवादीबाट भएको भन्ने कुरा र तत्सम्बन्धी प्रमाण पनि दाबीमा खुल्नु आवश्यक हुन्छ । 

१३. अदालतमा संकलित प्रमाणको विश्लेषण गर्दा प्रतिवादी राजेशकुमार लामाले अभियोगदाबीमा इन्कार भई अदालतमा बयान गरेको अवस्था छ । प्रतिवेदक उमाशंकरले अदालतमा बकपत्र गरेबाहेक वादीले अरू कुनै प्रमाण अदालतमा पेस गर्न सकेको देखिँदैन । प्रतिवेदक उमाशंकरले गरेको बकपत्रको जवाफ ५ मा अशोक कुमार वर्माको घरमा केही व्यक्तिहरू लागु औषध सेवन गरिरहेको भन्ने सूचना प्राप्‍त भएको सो सूचना बाटोमा हिँडिरहेको व्यक्तिले दिएको भन्ने बेहोरा र जवाफ १२ मा जलेको रू. २।- को कागजको नोटको आधारमा उक्त लागु औषध सेवन गर्ने प्रयोजनको लागि राखिएको हुन सक्ने देखिन्छ भन्ने बेहोरा रहेको पाइन्छ । ती बेहोराहरूले समेत लागु औषध सेवनको कार्यलाई नै इंगित गरेको 

देखिन्छ ।

१४. प्रतिवादी राजेशकुमार लामाको कोठाको दराजबाट बरामद भएको लागु औषधको मात्रा हेर्दा रू. १ हजारको ३ ग्राम खैरो हेरोइन र १० ग्राम चरेस पैसा र मात्रा दुवै हिसाबले थोरै मात्राको देखिन्छ भने त्यति थोरै मात्राको लागु औषध भेटिनु सेवनभित्र नपर्ने भन्ने कुनै कारण देखिँदैन । प्रतिवादीसँग रहेको लागु औषधको मात्रा हेर्दा निकै न्यून अवधिलाई पुग्ने खालको मात्र देखिन्छ । दुर्व्यसनीको लत कस्तो छ एक्लै सेवन गर्ने हो वा साथीभाइसँग मिलेर सेवन गर्ने हो भन्ने आधारमा पनि कतिपय कुरा निर्क्यौल गर्न सकिने हुन्छ । मात्रात्मक हिसाबले अत्यन्त न्यून मात्राको लागु औषध बरामद भएको अवस्था छ भने एक्लै खाने भएपनि धेरै दिनलाई नपुग्ने र साथीभाइसँग मिलेर खाने भए झन् थोरै अवधिको लागि पुग्ने अवस्थाको 

देखिन्छ । होइन मात्रा थोरै भए पनि बरामदित लागु औषध धेरै दिनलाई पुग्ने मात्रा हो कारोबार नै गर्न मिल्ने मात्रा हो भनी जिकिर लिने हो भने त्यसको प्रमाण वादीले नै गुजार्नु पर्ने हुन्छ । यस सम्बन्धमा वादीको कुनै वस्तुनिष्ठ प्रमाण पेस गर्न सकेको मिसिलबाट देखिँदैन । 

१५. अर्कोतर्फ एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेकै कारणबाट मात्र उसलाई लागु औषधको कारोबारी ठहर गर्न मिल्दैन । दुर्व्यसनीले खैरो हेरोइन र चरेस दुवै खाँदैनन भन्न मिल्दैन । पहिले पहिले लागु औषधको कारोबार गर्ने गरेको बरामद मात्र थोरै भएको हो भन्ने भनाइ पनि वादीको रहेको देखिँदैन । बरामदित लागु औषधको मात्रा थोरै छ बरामद भएको मात्रालाई नै अदालतले आधारको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । बरामदित मात्रा थोरै छ बरामद भएको मात्रालाई पन्छाएर हचुवाको भरमा बरामद थोरै भएपनि कारोबारी नै हुन भनी भन्न पनि मिल्दैन । अर्कोतर्फ एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेको कारणले मात्रै निजलाई लागु औषधको कारोबारी ठहर गर्नु न्यायोचित हुँदैन । त्यसैगरी लागु औषधका दुर्व्यसनीले खैरो हेरोइन र चरेस दुवै खाँदैनन भन्न पनि मिल्दैन । प्रतिवादी राजेशकुमार लामा लागु औषधको ओसारपसार गर्ने व्यक्ति होइनन् निजले सेवन मात्र गर्ने हुन् भनी प्रतिवादीको साक्षी मैया लामाले गरेको बकपत्रसमेतबाट प्रतिवादी राजेशकुमार लामा कारोबारी नभई सेवनकर्ता रहेको भन्ने थप पुष्टि हुन आएको देखिन्छ । 

१६. तसर्थ माथि विश्लेषण गरिएका आधार कारण र प्रमाणसमेतबाट प्रतिवादी राजेशकुमार लामा विरूद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) को कसुरलाई वादीले शंकारहित तवरबाट प्रमाणित गर्न नसकेकोले प्रतिवादीले उक्त ऐनको दफा ४(छ) को लागु औषध सेवनको कसुर गरेको ठहर्‍याई निज प्रतिवादी राजेशकुमार लामालाई दफा १४(१)(ङ) बमोजिम ४ महिना ५ दिन कैद र रू. २ हजार जरिवाना गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६९।४।१६ को फैसला मनासिब देखिँदा सो फैसला सदर हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी राजेशकुमार लामालाई लागु औषधको कारोबारमा सजाय हुने ठहर गर्नुहुने माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय तथा लागु औषधको परिमाणसमेतबाट सेवनतर्फ सजाय गरेको फैसला फरक पर्न सक्ने भनी यस अदालतको संयुक्त इजलासले मुद्दा दोहोर्‍याई हेर्ने भनी दिएको मिति २०७०/४/२८ को निस्साको आदेशसँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला अपलोड गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. ईश्वरप्रसाद खतिवडा

न्या.डा.आनन्दमोहन भट्टराई

 

इजलास अधिकृतः- रामप्रसाद बस्याल

इति संवत् २०७३ साल मंसिर १६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु