निर्णय नं. १०००८ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
फैसला मिति : २०७३।८।३
मुद्दाः- कर्तव्य ज्यान
०७०-CR-०४७२
पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेको देवीप्रसाद पराजुली
विरूद्ध
प्रत्यर्थी / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार
०७०-CR-०५२१
पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेको छविलाल पराजुली
विरूद्ध
प्रत्यर्थी / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार
०७०-CR-०५२२
पुनरावेदक / वादी : दिलिप लिम्बू खजुमको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ बस्ने देवीप्रसाद पराजुली
ज्यानसम्बन्धीको १३(४) नं. अनुसारको “ज्यान मार्नमा वचन दिने” भन्ने शब्दको निरपेक्ष अर्थ नगरी समय सापेक्ष अर्थ गर्नुपर्ने हुन्छ । ‘मार’ भनी भनेकोलाई सबै सन्दर्भ परिस्थितिमा कानूनअनुसार सजाय गर्दा व्यावहारिक नहुने र यसो गर्दा अन्यायसमेत पर्न जान्छ । त्यसैले ‘मार् हान्’ भनी भनेको कुरा साँच्चिकै मार्ने मनसायसहित भनेको हो, होइन ? यसरी ‘मार्’ भनी वचन दिएकोले मात्र मारेको हो, होइन ? भन्ने जस्ता कुरा यसमा विचारणीय हुन आउने ।
ज्यान मार्ने मनसायले नै मार् भनेको र मार् भनेका कारणले मात्र मारेको भन्ने नि:सन्देह पुष्टि नभएको यस्तो अवस्थामा यी प्रतिवादीले नेपाल सरकारको पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सहभागिता रहेको हो भनी भन्न नसकिने ।
(प्रकरण नं.१०)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री बिमला यादव
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल
इलाम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
मा. मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाइँ
पुनरावेदन अदालत इलाम
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ स्थित कच्ची सडकको बीच भागमा झारपातहरू माडिएको, सो भागमा रगतजस्तो तरल पदार्थ जमेको, सोही स्थानदेखि १० मिटर टाढा २ फिट ३ इन्च लामो खुर्पा रहेको, सो खुर्पाले देवेन्द्र खजुमलाई मिति २०६८/०५/२२ मा छविलाल पराजुलीले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि दमकस्थित लाइफ लाइन अस्पतालतर्फ पठाएको भन्नेसमेत बेहोराको मिति २०६८/०५/२२ को घटनास्थल मुचुल्का ।
झापा जिल्ला, दमक नगरपालिका वडा नं.१० स्थित दमक लाइफ लाइन अस्पतालको इमरजेन्सी कोठाभित्र बेडमा मृतक देवेन्द्र खजुमको शव दक्षिण टाउको, उत्तर गोडा भई बेडमा उत्तानो अवस्थामा रहेको, मृतकका लासको दाहिने साइडको घाँटीमा ७ इन्च लामो ५ इन्च गहिरो काटेको चोट रहेको, घाँटी पछाडि पूरै काटी रगत बगिरहेको भन्नेसमेत बेहोराको मिति २०६८/०५/२२ को लास जाँच मुचुल्का ।
मेरो छोरा इलाम जिल्ला, चुलाचुली गा.वि.स. वडा नं.२ बस्ने वर्ष २६ को देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच मिति २०६८/०५/२२ गते फुटबल खेल खेल्ने विषयमा वादविवाद भई छविलाल पराजुली निज छोरालाई गालीगलौज गर्दै घरतर्फ लागेछन् । सोपछि छविलालको बाबु देवीप्रसाद पराजुलीले यो गधाको छोरा देवेन्द्रलाई मार, म जेल जान तयार छु भन्दै झम्टिएपछि प्रतिवादी छविलाल पराजुलीले धारिलो हतियार खुर्पाले देवेन्द्र खजुमको घाँटीमा २ पटक प्रहार गर्दा देवेन्द्र भुइँमा लडेपछि देवीप्रसाद पराजुलीले लात्तीले हानेछन् । उक्त कुरा चन्द्रकुमार फ्याकसमेतले सुनाएको हो । निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दिलिप लिम्बू खुजुमको जाहेरी दरखास्त ।
प्रतिवादी छविलाल पराजुली र मृतक देवेन्द्र खजुम मिति २०६८/०५/२३ गते फुटबल खेल्ने विषयमा वादविवाद भएपछि मैले सम्झाई बुझाएपछि प्रतिवादी छविलाल आफ्नो घर गएका थिए । सोपछि देवीप्रसाद पराजुली गधाको छोरा भन्दै आई मृतक देवेन्द्रसँग वादविवाद गरी ठेलाठेल गरेपछि मसमेतले छुट्याई रहेको अवस्थामा देवीप्रसाद पराजुलीले ए छोरा हान् मार् भनी आदेश दिनासाथ छविलाल पराजुलीले धारिलो खुर्पाले देवेन्द्र खजुमको घाँटीमा एक्कासी प्रहार गरी काटी रगतपच्छे गराई भुइँमा लडेपछि देवीप्रसाद पराजुलीसमेतले मृतकलाई लात्तीले हानी छोरा ठीक गरिस् भन्दै भागी गएका
हुन् । प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको चन्द्रकुमार फ्याक लिम्बूले गरेको घटना विवरण कागज ।
प्रतिवादी छविलाल पराजुली र मृतक देवेन्द्र खजुमबीच मिति २०६८/०५/२२ गते फुटबल खेल्ने विषयमा वादविवाद गरी दुवैजनालाई सम्झाई बुझाई छुट्याएपछि प्रतिवादी देवीप्रसाद पराजुली गालीगलौज गर्दै आई मृतकसँग वादविवाद गरेपछि मसमेतले छुट्याइरहेको अवस्थामा देवीप्रसाद पराजुलीले छोरा हान् काट् मार् भनी आदेश दिनासाथ छविलालले एक्कासी खुर्पा लिई आई देवेन्द्रको घाँटीमा प्रहार गरी लडाएको हो । पछि छोरा ठीक गरिस् भन्दै देवीप्रसादले मृतकलाई लात्तीले हानेको हो । निजहरूलाई कारबाही होस् भन्नेसमेत बेहोराको सुजन खजुमले गरेको घटना विवरण कागज ।
मिति २०६८/०५/२२ गते बेलुकी अन्दाजी ८:३० बजेको समयमा मृतक देवेन्द्र खजुम र मेरो छोरा छविलाल पराजुलीबीच फुटबल खेलको विषयमा वादविवाद गरिरहेको सुनी तत्कालै निजहरू भएको ठाउँमा गई मेरो छोरालाई तिमीहरू जहिले पनि हेप्छौ भन्नासाथ मृतक देवेन्द्र खजुम र मेरो एकआपसमा वादविवाद भई ठेलाठेल भइरहेको अवस्थामा मेरो छोरा छविलाल पराजुली के कति खेर घरमा गई खुर्पा लिई आई देवेन्द्र खजुमको घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको हो । मैले मार म जेल जान तयार छु भनी छोरालाई आदेश दिएको होइन । मृतकलाई लात्तीले हानेको हैन । बरामद भएको खुर्पा मेरै घरको हो भन्नेसमेत बेहोराको देवीप्रसाद पराजुलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो घरमाथि बाटोमा मृतक देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच वादविवाद सुनी तत्काल जाँदा निजहरू फुटबलको विषयमा विवाद गरिरहेका थिए । चन्द्रकुमार फ्याकसमेतले निजहरूलाई सम्झाई बुझाई छविलाललाई घर पठाएपछि निजको बाबु देवीप्रसाद गालीगलौज गर्दै आई देवेन्द्र खजुमसँग वादविवाद गरी ठेलाठेल गरिरहेको अवस्थामा प्रतिवादी देवीप्रसाद पराजुलीले छोरा काट् मार् हान् भनी आदेश दिनासाथ छविलालले खुर्पा लिई देवेन्द्र खजुमको घाँटीमा काटेको हो र मृतकलाई लात्ती हानी ठीक गरिस् छोरा भन्दै निजहरू भागी गएको हो भन्नेसमेत बेहोराको अनिता खजुमले गरेको घटना विवरण
कागज ।
मृतक मेरो छोरा देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच फुटबलको विषयमा वादविवाद हुँदा प्रतिवादी देवीप्रसाद पराजुलीसमेतले गालीगलौज गर्दै छविलाल पराजुलीलाई काट् मार् भन्ने आदेश दिनासाथ छविलालले देवेन्द्रलाई खुर्पाले घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कृष्णकुमार खजुमले गरिदिएको घटना विवरण कागज ।
देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच फुटबलको विषयमा विवाद हुँदा देवीप्रसाद पराजुलीसमेतले गालीगलौज गर्दै छविलाल पराजुलीलाई काट् मार् भनी आदेश दिनासाथ छविलाल पराजुलीले देवेन्द्रलाई खुर्पाले घाँटीमा हानी कर्तव्य गरी मारेको हो भन्नेसमेत बेहोराको मृतककी आमा मिनाकुमारी खजुम र मृतकको श्रीमती कान्ती खुजुमले गरिदिएको करिब एकै मिलानको घटना विवरण कागज ।
मृतक देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच फुटबलको विषयमा विवाद हुँदा सोही रिसइवीमा प्रतिवादी देवीप्रसाद पराजुलीसमेत देवेन्द्र खजुमसँग विवाद गरी प्रतिवादी छविलाल पराजुलीले देवेन्द्र खजुमलाई खुर्पाले प्रहार गरी भुइँमा लडेपछि देवीप्रसाद पराजुलीले पनि लात्तीले हानेको हो । मृतकलाई प्रतिवादी देवीप्रसाद पराजुली र छविलाल पराजुली मिली कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत बेहोराको सिता खजुम लिम्बूसमेतले गरेको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मृतक देवेन्द्र खजुम लिम्बूको घाँटीमा काटेको चोटबाट रक्तस्राव भएको कारणबाट मृत्यु भएको भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न कागजातबाट फुटबलका विषयमा विवाद भई प्रतिवादीहरू बाबुछोराको मिलेमतोमा खुर्पाले प्रहार गरी मृतकको मृत्यु हुन गएको देखिन्छ । प्रतिवादीहरू छविलाल पराजुली र देवीप्रसाद पराजुलीसमेतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ नं. बमोजिम कसुर अपराध गरेकोले प्रतिवादीमध्येका छविलाल पराजुलीलाई ऐ.महलको १३(१) नं. बमोजिम सजाय हुन र अर्का प्रतिवादी देवीप्रसाद पराजुलीले छोरालाई हान् मार् भनी वचन दिई निज स्वयंले पनि लात्ती हानेकोले ऐ.महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग पत्र ।
उक्त दिन बेलुका ९:०० बजेको समयमा म रेडियो सुनिरहेको थिएँ । मेरो घरमा मृतक देवेन्द्र, चन्द्रबहादुर फ्याक, सुसन खजुम आई सुतिरहेकोमा मेरो छोरालाई उठाई केही पर लगी कुटपिट गर्न
थालेछन् । हल्ला सुनी जाँदा लिम्बूवान् क्षेत्रमा हामीले भनेको मान्नुपर्छ भन्दै थिए । मेरो छोरालाई राति कुटपिट किन गर्छौ भन्दा मलाई देवेन्द्रले कुटपिट गर्न थाल्यो । त्यही समयमा छोरा खुर्पा लिएर घरबाट आई देवेन्द्रलाई प्रहार गरेछ । सो कुरा मैले देखिन । चन्द्र फ्याक र म मृतक देवेन्द्र लडेको ठाउँमा पुगी निजलाई मोटरसाइकलमा राखी उपचार गर्न लगेको हो । कहाँ मृत्यु भयो थाहा छैन, निजलाई मार्न सहयोग गरेको र आदेश दिएको छैन । मैले झगडा नगर भनी छुट्याएको मात्र हो । जाहेरी र वस्तुस्थिति मुचुल्कामा समेत लेखाएको बेहोरा झुट्टा हो । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी देवीप्रसाद पराजुलीले सुरू अदालतमा गरी दिएको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम गरी प्रतिवादी देवीप्रसाद पराजुलीलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं.बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०६८/०६/०९ को आदेश ।
मिति २०६८/०५/२३ गतेका दिन एक दिवसीय फुटबल खेल हुन गइरहेको थियो । उक्त खेलमा म खेल्दिनँ भनेको थिएँ । सोही विषयलाई लिएर अन्दाजी साँझ ७/८ बजेको समयमा देवेन्द्रसहित आई तँलाई आज सिध्याउँछु भनी कराउन थाले र कुटपिट गर्न थाले । सो मेरो बुबाले सुन्नुभएछ र बुबा आई सम्झाउँदा बुबालाई पनि कुट्न थाले । बुबालाई कुटेको देख्न नसकी म घरमा गई खुर्पा लिई आउँदा मृतक देवेन्द्र मपट्टि झम्टिए । मैले खुर्पाले हान्दा निजको घाँटीमा लाग्यो र भुइँमा ढल्यो । त्यसपछि मलाई केही थाहा भएन । म घर आई पेन्ट बोकी खोलातर्फ गएँ । भोलिपल्ट २ बजेतिर म इन्डिया पुगेँ । बुबालाई कुटपिट नगरेको भए हिर्काउने थिइनँ । मार् भनी बुबाले मलाई आदेश दिएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी छविलाल पराजुलीले सुरू अदालतमा गरेको बयान ।
हाल प्रतिवादी छविलाल पराजुलीलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं.बमोजिम पुर्पक्षको लागि थुनामा राख्नु भन्ने निमित्त स्रेस्तेदारको मिति २०६८/०६/२६ को आदेशलाई सदर गरिदिएको छ भन्ने सुरू अदालतको मिति २०६८/०७/०६ को आदेश ।
मिति २०६८/०५/२२ गते बेलुका साढे ८ बजेको घटना हो । फुटबलको विषयलाई लिएर मृतक देवेन्द्रको टिमबाट नखेल्ने भनेपछि छविलाल पराजुलीसँग वादविवाद भयो र निज प्रतिवादी घर पुग्ने बित्तिकै देवीप्रसाद पराजुलीले देवेन्द्र खजुमलाई अपशब्द गाली गरी मार् जेल जानु परे म जान्छु भनी मृतकसँग वादविवाद गरिरहेको बेला छविलाल पराजुलीले धारिलो खुर्पा ल्याई देवेन्द्रको घाँटीमा हानी घटनास्थलमा नै मारेपछि छविलाल फरार भए र देवीप्रसाद पराजुलीलाई प्रहरी कार्यालय, दमकमा बुझाइयो भन्नेसमेत बेहोराको जाहेरवाला दिलिप लिम्बू र बुझिएको मानिस सुजन खजुमले सुरू अदालतमा गरी दिएको करिब एकै मिलानको बकपत्र ।
घटना मेरो घर नजिकैको हो । देवीप्रसाद पराजुली ठूलो स्वरमा चिच्याउँदै त्यो गधाको छोरालाई मार्दे भनेको आवाज सुनी त्यस घटनास्थलमा पुग्दा मृत अवस्थामा देवेन्द्र खजुम भुइँमा लडेका थिए । मैले देवीप्रसादलाई काका तपाईँले के गर्नुभएको भन्दा मैले जे गरेँ ठीक गरेँ । स्याबास् छोरा भन्दै लात्तीले भुइँमा र मृतकको खुट्टामा हिर्काए । यसमा बाबु छोराको नै संलग्नता भएकोले निजहरू दुवैलाई सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस सिता खजुमले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मिति २०६८/०५/२२ गते बेलुकी ८:३० बजेतिर सुजन, चन्द्र र मेरो छोरा देवेन्द्र गोलको विषयमा छलफल गर्न प्रतिवादी छविलालको घरमा गएका हुन् । यी प्रतिवादी निजको घरभन्दा मुनि सीता खजुमको घर अगाडि रहेछन् । मैले घरबाट सुन्दा छविलाललाई देवेन्द्रले हाम्रो टिमबाट किन नखेलेको भन्दै थिए । छविलालले सरी भोलि तिम्रै टिमबाट खेल्छु भन्यो । एकछिनपछि बाबु देवीप्रसाद आई यो गधाका छोरालाई मार्, यसलाई मार्दा हामीलाई के हुन्छ भन्दै कराए । छविलाल घर गएका थिए । निजले घरबाट खुर्पा ल्याएर एक्कासी मेरो छोरालाई हानेछन् । अरू केटाहरू त्यहाँबाट भागेछन् । म कुद्दै जाँदा ढलिसकेका रहेछन् भन्नेसमेत बेहोराको बुझिएका मानिस कृष्णप्रसाद खजुमले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मिति २०६८/०५/२३ गते एक दिवसीय फुटबल म्याच हुने भएको थियो । त्यहीँ फुटबल खेलको विषयमा लिएर मृतक र प्रतिवादीबीच वादविवाद भएको हो । यसै क्रममा हात हालाहाल भएपछि मैले छुट्याई घरतिर लाग्ने क्रममा छविलाल पराजुली खुर्पा लिई आएको अवस्था देखी देवीप्रसाद पराजुलीले मार् छोरा भन्दै आदेश दिएपछि देवेन्द्रको घाँटीमा २ पटक प्रहार गरेपछि देवेन्द्र ढले, अनि छिटो मर् भन्दै लात्तीले मृतकको खुट्टामा हाने । म कराएपछि गाउँलेहरू आए अनि मृतकलाई अस्पताल लग्यो भन्नेसमेत बेहोराको बुझिएका मानिस चन्द्रकुमार फ्याक लिम्बूले सुरू अदालतमा गरिदिएको बकपत्र ।
मैले भोलिपल्ट बिहान छविलाल र देवेन्द्र खजुमबीच झगडा भएको र छविलाल पराजुलीले गोलको निहुँमा खुर्पाले हानी मारेको हो भन्ने सुनेको
हो । अरू केही थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी देवीप्रसाद पराजुलीका साक्षी त्रिलोकसिंह जवेगु भन्ने त्रिलोकप्रसाद जवेगुले सुरू अदालतमा गरिदिएको बकपत्र ।
प्रतिवादी छविलाल पराजुली र मृतक देवेन्द्र खजुमबीच गोलको विषयमा झगडा भएको, सोही विषयलाई लिएर छविलालले देवेन्द्र खजुमलाई खुर्पाले काटी कर्तव्य गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी देवीप्रसाद पराजुलीका साक्षी खगेन्द्र राईले सुरू अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादी छविलाल पराजुलीकै खुर्पाको प्रहारबाट लाग्न गएको घाँटीको चोटबाट देवेन्द्र खजुमको मृत्यु हुन गएको देखियो । यसरी घाँटीमा खुर्पा प्रहार गरी काटी देवेन्द्र खजुमको ज्यान मारेकोमा यी प्रतिवादी छविलाल पराजुलीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.को कसुर अपराधमा सोही महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ र प्रतिवादी देवीप्रसाद पराजुलीले समेत वारदातका अवस्थामा मृतकलाई हात हाल्नुका साथै ज्यान मार्न वचन दिएको भन्ने देखिई निज देवीप्रसाद पराजुलीसमेतको मृतक देवेन्द्र खजुमलाई ज्यान मार्ने कार्यमा संलग्नता रहेको देखियो । तसर्थ निजउपरको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐ. १३(४) नं.को कसुर अपराध स्थापित आएबाट निज देवीप्रसाद पराजुलीलाई सोही ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ भन्ने सुरू इलाम जिल्ला अदालतको मिति २०६९/०४/३१ को फैसला ।
मृतक र म प्रतिवादीबीच पूर्वरिसइवी नरहेको, मृतकलाई मार्नेसम्मको पूर्वतयारी तथा मनसाय नभएको, मृतक तथा म पुनरावेदक एउटै समूहको फुटबल खेलाडी भएको, एकै गाउँघरका साथी भएको अवस्थामा सुरू इलाम जिल्ला अदालतबाट मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम पूर्ण आपराधिक दायित्व बहन गराई गरिएको फैसला न्यायोचित छैन । घटना घट्नुको कारण, मृतकको क्रियाकलाप, घटनाको परिस्थितिसमेतलाई न्यायिक विश्लेषण गरिँदा प्रस्तुत मुद्दामा म पुनरावेदकको कार्य ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसुर कायम हुन नसक्ने भएकोले अभियोग माग दाबीबमोजिम सुरू अदालतबाट भएको सजाय बदर गरिपाउँ भन्ने प्रतिवादी छविलाल पराजुलीको पुनरावदेन पत्र ।
मैले मृतकलाई मार्न वचन दिएको होइन भन्ने भनाइ मेरो साक्षीको बकपत्रबाट समर्थन भइरहेको तथ्यलाई फैसलामा विश्लेषण नगरी र प्रस्तुत मुद्दाका अर्का प्रतिवादी छविलाल पराजुलीले घटना घट्नुको कारण, घटनाको अवस्था र परिस्थितिसमेतलाई उल्लेख गरी गरेको बयानसमेतलाई वास्ता नगरी मलाई सजाय गरिएको छ । म र मृतकबीच कुनै पूर्वरिसइवी नरहेको, फुटबल खेलको विषयलाई लिएर मृतकले प्रतिवादी छविलाललाई कुटपिट गालीगलौज गरी मैले मृतकसमेतलाई सम्झाउँदा मृतकले मलाई निर्घात कुटपिट गरेको र प्रतिवादी छविलालले मृतकलाई खुर्पाले प्रहार गरी मृतकको मृत्यु भएको देखिइरहेको अवस्थामा म निर्दोष वृद्ध व्यक्तिलाई न्यायिक मन, विवेकसमेत प्रयोग नगरी सुरू इलाम जिल्ला अदालतबाट भएको फैसला फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत भएकोले उल्टी गरी अभियोग माग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी देवीप्रसाद पराजुलीको पुनरावेदन पत्र ।
यसमा वारदातको कारण, अवस्था र परिस्थितिसमेतको सन्दर्भबाट सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियमबमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय इलामलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत इलामको मिति २०६९/११/२१ को आदेश ।
प्रतिवादी देवीप्रसाद पराजुलीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.को कसुर गरेको भनी निजलाई सोही नम्बरबमोजिम जन्मकैद गरेको इलाम जिल्ला अदालतको मिति २०६९/०४/३१ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी देवीप्रसादले उक्त महलको १७(३) नं. बमोजिमको कसुर गरेकोले निजलाई ३ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी छविलाल पराजुलीले ऐ.महलको १३(१) नं.को कसुर गरेको ठहर्याई निजलाई सोही नम्बरबमोजिम सर्वस्वसहित जन्मकैद गरेको हदसम्मको सुरू फैसला सदर हुने ठहर्छ भन्ने मिति २०६९/१२/११ को पुनरावेदन अदालत इलामको फैसला ।
मेरो छोरा छविलाललाई यी मृतकले कुटपिट गरिरहेको समयमा म उक्त स्थानमा जाँदा मलाई मृतकले हात हालेको कुरा मैले बयानमा समेत उल्लेख गरेको छु । म कुनै घटना घटाउन त्यहाँ गएको होइन । सो कुरालाई फैसलामा बेवास्ता गरिएको छ । वारदातको प्रकृति, परिस्थिति हेर्दा वारदातको सहायक कारण म नभएको मिसिलबाट प्रस्ट हुँदाहुँदै सोही आधारमा मलाई सजाय गरेको मिलेको छैन । ज्यानसम्बन्धी महलको १७ नं. अनुसार सजाय हुन ज्यान मार्नलाई मतलबमा पसेको हुनुपर्नेमा मेरो कार्यबाट सो भएको नदेखिएकोले पुनरावेदन अदालतको फैसला उल्टी गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी देवीप्रसाद पराजुलीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
मेरो मृतकलाई मार्ने कुनै मनसाय थिएन र सोको कुनै पूर्वयोजना तथा तयारी पनि थिएन । मृतकले मलाई एक्लै लगी कुटपिट गर्न थालेपछि बुबा आई सम्झाउँदासमेत नमानी उल्टै कुटपिट गरी मार्ने धम्की दिएपछि मलाई रिस उठी तर्साउन भनी खुर्पा लिई आउँदा मलाई पुनः कुटपिट गर्न थालेपछि अचानक निजको घाँटीमा लागी मृत्यु हुन गएको हो । यस्तो अवस्थामा मलाई अभियोग दाबीअनुसार पूर्ण दायित्व बहन गराएको मिलेको नहुँदा उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी छविलाल पराजुलीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी कसुरमा इन्कार हुँदैमा अभियोग दाबीबमोजिमको कसुर गरेको होइन भन्न मिल्दैन । यी प्रतिवादीले वारदात स्थलमा गालीगलौजसमेत गर्दै उपस्थित भई मृतकलाई मार्नलाई आदेश दिएको र मृतक भुइँमा लडेपछि पनि मृतकलाई लात्तीले हानेको भन्ने प्रत्यक्षदर्शीहरूको भनाइमा सारभूत रूपमा भिन्नता छैन । यी प्रत्यक्षदर्शीहरूले मौकाको कागजमा र अदालतमा आई सोही कुरालाई समर्थन गरी अदालतमा आई बकपत्र गरिदिएको अवस्थामा प्रतिवादी देवीप्रसाद पराजुलीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. आकृष्ट भई सजाय हुनुपर्नेमा सोबमोजिम नगरी सोही महलको १७(३) नं.बमोजिम घटी सजाय गरी पुनरावेदन अदालतले फैसला गरेकोमा त्रुटिपूर्ण छ । उक्त फैसला बदर गरी प्रतिवादी देवीप्रसाद पराजुलीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा वादी प्रतिवादीहरूको दोहोरो पुनरावेदन परेको हुँदा मुलुकी ऐन अ.बं.२०२ नं.को प्रयोजनको लागि प्रतिवादीहरूको पुनरावेदनको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई र नेपाल सरकारको पुनरावेदनको जानकारी प्रतिवादी देवीप्रसाद पराजुलीलाई दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७३/०२/२८ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा विद्वान् उपन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीले प्रतिवादी देवीप्रसाद पराजुली वारदात स्थलमा गई मृतकसँग झगडा गरी जे परे पर्ला यसलाई मार् छोरा भनी आदेश दिएबाट छोरा छविलाल पराजुलीले खुर्पाले हानेको प्रत्यक्षदर्शी र स्वयं प्रतिवादीहरूको अनुसन्धानमा लेखाइदिएबाट प्रस्ट हुन्छ । यस्तो अवस्थामा प्रतिवादी देवीप्रसाद पराजुलीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । त्यस्तै प्रतिवादी छविलाल पराजुलीका तर्फबाट विद्वान् अधिवक्ता श्री बिमला यादवले यसमा प्रतिवादी छविलाल पराजुलीको मृतकलाई मार्ने मनसाय थिएन, निजले मार्न कुनै तयारी गरेर गएको पनि मिसिलबाट देखिँदैन । मृतक र यी प्रतिवादी दुवैको बीचमा फुटबल खेल्ने विषयलाई लिएर झगडा भएको र यी मृतकले प्रतिवादी छविलाल र निजको बुबालाई समेत कुटपिट गरेकोबाट छविलाललाई रिस उठी हिर्काएको कारण मृतकको मृत्यु हुन गएको हो । यदि मृतकलाई खुर्पाले नहिर्काएको भए यी प्रतिवादीको नै मृत्यु हुने परिस्थिति थियो । यस्तो अवस्थामा प्रतिवादी छविलाललाई हदैसम्मको सजाय गरेको मिलेको छैन । निजलाई अ.बं.१८८ नं. बमोजिम राय लगाई कमभन्दा कम सजाय हुनुपर्ने हो भनी बहस प्रस्तुत गर्नुभयो ।
यसरी बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा सुरू फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ, छैन ? तथा वादी नेपाल सरकार र प्रतिवादीहरू देवीप्रसाद पराजुली र छविलाल पराजुलीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भनी निर्णयमा पुग्न निम्न विषयहरूको निरूपण गर्नुपर्ने हुन आयो ।
१. प्रतिवादी छविलाल पराजुलीको वारदातमा के कस्तो संलग्नता रहेको छ ? निजको संलग्नता के कति सजाय हुने कसुरजन्य कार्यभित्र पर्दछ ?
२. त्यस्तो संलग्नताका आधारमा निजलाई के कति सजाय गर्नु उपयुक्त हुन्छ ?
३. प्रतिवादी देवीप्रसाद पराजुलीको वारदातमा संलग्नता छ छैन र यदि छ भने निजको के कस्तो संलग्नता रहेको छ र त्यस्तो संलग्नतामा कति सजाय हुन्छ ?
यसमा प्रतिवादीहरू छविलाल पराजुली र देवीप्रसाद पराजुलीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ नं. बमोजिमको कसुर अपराधमा प्रतिवादीमध्येका छविलाल पराजुलीलाई ऐ.महलको १३(१) नं. बमोजिम सजाय हुन र अर्का प्रतिवादी देवीप्रसाद पराजुलीलाई ऐ.महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोग पत्र दायर भएकोमा सुरू जिल्ला अदालतबाट निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुने गरी फैसला भएको
पाइयो । सो फैसलाउपर प्रतिवादी छविलाल पराजुलीले अभियोग दाबीबमोजिम पूर्ण आपराधिक दायित्व बहन गराउने गरी भएको फैसला बदर गरिपाउँ भनी र अर्का प्रतिवादी देवीप्रसाद पराजुलीको अभियोग दाबीबाट सफाइ पाउँ भनी पुनरावेदन परी पुनरावेदन अदालत इलामबाट प्रतिवादी छविलाल पराजुलीको हकमा सुरूले ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरेको सदर हुने र प्रतिवादी देवीप्रसाद पराजुलीको हकमा ऐ.महलको १३(४) बमोजिम सजाय गरेको सुरू फैसला केही उल्टी गरी निजलाई ऐ. १७(३) बमोजिमको कसुरमा ३ वर्ष मात्र कैद हुने ठहर्याई फैसला भएको पाइयो । उक्त फैसलाउपर प्रतिवादी छविलाल पराजुलीको पूर्ण आपराधिक दायित्व बहन गराउने गरी भएको फैसला बदर गरिपाउँ भनी, प्रतिवादी देवीप्रसाद पराजुलीको अभियोग दाबीबाट सफाइ पाउँ भनी र वादी नेपाल सरकारको प्रतिवादी देवीप्रसाद पराजुलीलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, मेरो छोरा देवेन्द्र खजुम र प्रतिवादी छविलाल पराजुलीबीच मिति २०६८/०५/२२ गते फुटबल खेल्ने विषयमा विवाद हुँदा छविलाल पराजुलीले देवेन्द्रलाई गालीगलौज गर्दै घरतर्फ लागेकोमा छविलालको बाबु देवीप्रसाद पराजुलीले यो गधाको छोरा देवेन्द्रलाई मार म जेल जान तयार छु भन्दै झम्टिएपछि निज छविलालले धारिलो हतियार खुर्पाले छोरा देवेन्द्रको घाँटीमा २ पटक प्रहार गरी निज भुइँमा लडेपछि देवीप्रसाद पराजुलीले लात्तीले हानेको कुरा चन्द्रकुमार फ्याकसमेतले सुनाएको हो भनी दिलिप लिम्बू खुजुमले जाहेरी दरखास्त दिएको
पाइयो । निजले अदालतमा बकपत्र गर्दासमेत सोही बेहोरा उल्लेख गरिदिएको देखियो । घाँटी गहिरो काटेको चोट रहेको भन्नेसमेत बेहोराको मिति २०६८/०५/२२ को लास जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र मृतक देवेन्द्र खजुम लिम्बूको घाँटीमा काटेको चोटबाट रक्तस्राव भएको कारणबाट मृत्यु भएको भन्नेसमेतको शव परीक्षण प्रतिवेदनबाट समेत निज मृतकको मृत्यु घाँटीमा धारिलो हतियारले प्रहार गरेको कारणबाट भएको देखिएको छ । घटना विवरण कागज गर्ने चन्द्रकुमार फ्याक लिम्बू, सुजन खजुम, अनिता खजुम, कृष्णकुमारी खजुम, मिनाकुमारी खजुम, कान्ती खजुम र वस्तुस्थिति मुचुल्काका सीता खजुमसमेतले प्रतिवादी छविलाल पराजुली र मृतक देवेन्द्र खजुमबीच फुटबल खेल्ने विषयमा वादविवाद भएकोमा सम्झाउँदा प्रतिवादी छविलाल आफ्नो घर गएकोमा पछि देवीप्रसाद पराजुली आई मृतकसँग विवाद गरेपछि मसमेतले छुट्याइरहेको अवस्थामा देवीप्रसाद पराजुलीले मार् भनी आदेश दिँदा छविलालले धारिलो खुर्पाले देवेन्द्र खजुमको घाँटीमा प्रहार गरी निज भुइँमा लडेपछि देवीप्रसाद पराजुलीसमेतले मृतकलाई लात्तीले हानी छोरा ठीक गरिस् भन्दै निजहरू भागी गएका हुन् भनी लेखाइदिएको पाइन्छ । सोही बेहोरासँग मिल्ने गरी नै मौकामा बुझिएका चन्द्रकुमार फ्याक, सुजन खजुम, कृष्णकुमारी खजुम, कान्ती खुजुमले अदालतमा समेत बकपत्र गरिदिएका छन् ।
३. प्रतिवादीमध्येका देवीप्रसाद पराजुलीले उक्त दिन मृतक देवेन्द्र खजुम र मेरो छोरा छविलाल पराजुलीबीच फुटबल खेलको विषयमा विवाद भएको सुनी त्यहाँ गई मेरो छोरालाई तिमीहरू जहिले पनि हेप्छौ भन्नासाथ मृतक देवेन्द्र खजुम र मेरो बीचमा विवाद भई ठेलाठेल भइरहेको अवस्थामा मेरो छोरा छविलाल पराजुली खुर्पा लिई आई देवेन्द्र खजुमको घाँटीमा प्रहार गरी कर्तव्य गरी मारेको हो । मैले मार् भनी छोरालाई आदेश दिएको होइन । मृतकलाई लात्तीले हानेको पनि होइन । बरामद भएको खुर्पा मेरै घरको हो भनी अनुसन्धानका क्रममा बयान गरिदिएको पाइन्छ । त्यस्तै यी प्रतिवादीले अदालतमा बयान गर्दा मेरो घरमा मृतक देवेन्द्र, चन्द्रबहादुर फ्याक, सुसन खजुम आई सुतिरहेको मेरो छोरालाई उठाई केही पर लगी कुटपिट गर्न थालेकोमा त्यहाँ गई मेरो छोरालाई राति कुटपिट किन गर्छौ भन्दा मलाई मृतक देवेन्द्रले कुटपिट गर्न थाल्यो । त्यही समयमा छोरा खुर्पा लिएर आई देवेन्द्रलाई प्रहार गरेछ सो कुरा मैले देखिनँ । पछि चन्द्र फ्याक र मैले मृतक देवेन्द्रलाई मोटरसाइकलमा राखी उपचार गर्न लगेको हो । निजलाई मैले मार्न सहयोग गरेको र मार्न आदेश दिएको नभई झगडा छुट्याउन खोजेको मात्र हो भनी लेखाइदिएको
देखियो । प्रतिवादी छविलाल पराजुलीले मैले फुटबल खेल्दिनँ भनेको विषयलाई लिएर देवेन्द्रसहित आई तँलाई आज सिध्याउँछु भनी कराउन थाले र कुटपिट गर्न थाले । सो मेरो बुबाले सुन्नुभएछ र बुबा आई सम्झाउँदा बुबालाई पनि कुट्न थालेकोले म घरमा गई खुर्पा लिई आउँदा मृतक देवेन्द्र मपट्टि झम्टिए । मैले खुर्पाले हान्दा निजको घाँटीमा लागी भुइँमा ढलेका हुन् बुबालाई कुटपिट नगरेको भए हिर्काउने थिइन । मार् भनी बुबाले मलाई आदेश दिएको होइन भनी अदालतको बयानमा लेखाइदिएको पाइयो ।
४. उपर्युक्तानुसारका तथ्य प्रमाण रहेको सन्दर्भमा प्रतिवादी छविलाल पराजुलीको वारदातमा के कस्तो संलग्नता रहेको छ ? भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा यी प्रतिवादी छविलाल पराजुलीले फुटबल खेल्ने विषयमा विवाद गरी मृतक देवेन्द्रलाई गालीगलौज गर्दै घरतर्फ लागेकोमा छविलालको बाबु देवीप्रसाद पराजुलीले यो गधाको छोरा देवेन्द्रलाई मार् म जेल जान तयार छु भन्दै झम्टिएपछि निज छविलालले धारिलो हतियार खुर्पाले छोरा देवेन्द्रको घाँटीमा २ पटक प्रहार गरी मृतकलाई कर्तव्य गरी मारेको भन्ने जाहेरी दरखास्तको बेहोरा वारदातका प्रत्यक्षदर्शीसमेत रहेका अनुसन्धानमा बुझिएका व्यक्तिहरूको अनुसन्धानको र अदालतको बयानसमेतबाट समर्थित हुन आएको छ । सहप्रतिवादी देवीप्रसाद पराजुलीको अनुसन्धान र अदालतको बयानबाट समेत सोही तथ्य पुष्टि हुन आउँछ । यी प्रतिवादी छविलाल पराजुलीले मृतकको मसँग झगडा हुँदा सम्झाउन गएको मेरो बुबालाई समेत निज मृतकले कुटपिट गर्न लागेकोले मैले मृतकलाई रिस उठी खुर्पाले हानेको हो । मार्न भनी हानेको होइन भनेर लेखाए पनि निजले खुर्पा प्रहार गरेकोबाट मृतकको मृत्यु भएको तथ्य भने निजले स्वीकार गरेको नै पाइयो । यसरी मिसिल संलग्न आधार प्रमाणबाट मृतक देवेन्द्र खजुमको मृत्यु यी प्रतिवादी छविलाल पराजुलीले मृतकको घाँटीमा खुर्पा प्रहार गरेकोबाट हुन गएको प्रस्ट हुन आएको छ ।
५. अब त्यसरी प्रहार गरेको कार्यलाई निज प्रतिवादीको के कस्तो संलग्नता मान्ने भन्ने सम्बन्धमा हेर्दा वारदात हुँदाको परिस्थितिलाई विद्यमान कानूनको आधारमा विश्लेषण गर्नुपर्ने हुन आयो । वारदात हुँदाको परिस्थिति हेर्दा यी प्रतिवादी छविलाल पराजुली र मृतकबीच फुटबल खेलको विषयलाई लिएर झगडा भएको देखिन्छ । सोही विषयमा झगडा हुँदा वारदातका प्रत्यक्षदर्शीसमेत रहनुभएका चन्द्रकुमार फ्याकसमेतका व्यक्तिहरूले सम्झाउँदा यी प्रतिवादी घर गएकोमा पछि निजको बुबासमेत आई बुबासँग पनि मृतकको झगडा भएको देखी यी प्रतिवादी पुनः घरबाट खुर्पा बोकी आई मृतकको संवेदनशील अङ्ग घाँटीमा नै खुर्पा जस्तो धारिलो हतियारले दुई चोटी प्रहार गरेको देखिएको
छ । यसरी आफू आफ्नो बुबासँग झगडा भएको विषयलाई लिएर मृतकको घाँटी जस्तो अङ्गमा धारिलो हतियारले प्रहार गरेको कार्यलाई कार्यको परिणामको जानकारी नहुने अवस्था थियो तथा परिणामको पूर्वअनुमान गर्न नसक्ने परिस्थिति रहेको थियो भनी मान्न सकिँदैन । कार्यको परिणामको पूर्वजानकारी रहने वा परिणामको सम्भावनासम्म रहेको देखिने यस्तो अवस्थामा गरेको कार्य र सोबाट परिणामसमेत आइसकेको स्थितिमा सो परिणाम घटाउने मेरो मनसाय थिएन भनी भन्ने अवस्था रहँदैन ।
६. मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. अनुसारको कसुरअन्तर्गतको कसुर हुन ज्यान मार्नाको मनसाय नभई उसै मौकामा उठेको रिस थाम्न नसकी जोखिम हतियारले नहानेको वा साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले मात्र हानेको
हुनुपर्दछ । प्रस्तुत वारदातमा प्रतिवादीले मृतकलाई तत्काल झगडा हुँदाको अवस्थामा नै साधारण लाठा ढुङ्गाले नै प्रहार गरेको नदेखिई आफूसँग झगडा भइसकेपछि गई घरबाट खुर्पा जस्तो जोखिम हतियार बोकी ल्याई हानेको देखिएको छ । यस्तो क्रियालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अनुसारको आवेशप्रेरित हत्याको कोटीमा राख्नसमेत मिल्ने देखिँदैन । त्यस्तै ज्यानसम्बन्धी महलको ५ नं. अनुसारको भवितव्य ज्यानको कसुर हुन ज्यान मार्ने मनसाय नभएको र कुनै कार्य गर्दा मानिस मर्ला जस्तो पनि नदेखिएको अवस्थामा कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई अकस्मात मानिस मर्न गएको देखिनुपर्दछ । प्रस्तुत वारदात उक्त ५ नं.अनुसारको सावधानी अपनाउँदा अपनाउँदै केबल आकस्मिक तथा अप्रत्यासित रूपमा मात्र हुन गएको वारदात नभई मृतक प्रतिको झगडाको रिसइवीको कारण प्रतिवादीले मृतकलाई प्रहार गर्न भनेर नै खुर्पा जस्तो धारिलो हतियार प्रयोग गरेकोबाट घट्न गएको देखिएकोले भवितव्य ज्यानको कसुरका रूपमा पनि लिन सकिँदैन । त्यसैले ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसारको पूर्ण दायित्व बहन गराएको त्रुटिपूर्ण छ भनी यी प्रतिवादी छविलाल पराजुलीले लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।
७. तसर्थ प्रस्तुत वारदातमा यी प्रतिवादीले झगडाको रिसइवी साँध्न खुर्पा जस्तो धारिलो जोखिम हतियार घाँटी जस्तो संवेदनशील अङ्गमा परिणामको पूर्वजानकारी पर्याप्त रहन सक्ने अवस्थामा प्रहार गरेको देखिएकोले उक्त कसुरलाई मनसायपूर्ण रूपमा भएको कसुर नै मानिन्छ । सो मानिँदा उक्त कसुर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसारको कर्तव्य ज्यानअन्तर्गतको नै कसुर देखिन आएकोले अभियोग दाबीअनुसार सोही नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म मिलेको नै देखिन आयो ।
८. यसरी सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिए पनि निजलाई के कति सजाय गर्नु उपयुक्त हुन्छ भन्ने दोस्रो प्रश्नका सम्बन्धमा हेर्दा कसुर हुनुको कारण, वारदातको परिस्थिति तथा अवस्थाका सम्बन्धमा विचार गर्नुपर्ने हुन आयो । यसमा यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको कुनै पूर्वरिसइवी रहे भएको देखिँदैन । मार्नेसम्मको योजना बनाई तयारी गरेको पनि देखिँदैन । पहिला यी मृतकले आफ्नो टिमबाट प्रतिवादी छविलालले फुटबल नखेलेको कारण आफैँ झगडा गर्न यी प्रतिवादीको घर गएको र निजलाई गाली गरी बाहिर बाटोमा ल्याई झगडा गरेको
देखिन्छ । सामान्य खेलको विषयलाई लिएर यसरी झगडा हुँदा यी प्रतिवादी एकचोटी घर गइसकेको अवस्थामा पुनः मृतकले आफ्नो बुबासँग पनि झगडा गर्न लागेको देखी मृतक आक्रोशमा आई खुर्पाले प्रहार गरेको पाइएको छ । यसरी मिसिल संलग्न कागज हेर्दा मृतकले पहिला आफैँ झगडा गरेका कारण वारदात भएको देखिएको छ । यस्तै यी प्रतिवादीको उमेर पनि २० वर्षको मात्र रहेको र आर्थिक अवस्थासमेत कमजोर नै रहेको देखिन्छ । यस्तो अवस्थामा ठहरिएको कसुरमा ऐनअनुसार सजाय गर्दा दण्ड सजायको मक्सदसमेत पूरा हुँदैन । तसर्थ निजलाई १६ वर्ष मात्र कैद सजाय गर्नु उपयुक्त देखिन्छ ।
९. अब प्रतिवादी देवीप्रसाद पराजुलीको वारदातमा संलग्नता छ, छैन र यदि छ भने निजको के कस्तो संलग्नता रहेको छ र त्यस्तो संलग्नतामा कति सजाय हुन्छ ? भन्ने तेस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, यसमा यी प्रतिवादी देवीप्रसाद पराजुलीउपर मार्नलाई वचन दिएको वा वारदात भइरहेको ठाउँमा गई मार्नलाई संयोग पारिदिएको भनी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सोही नं.अनुसार जन्मकैदको सजाय माग दाबी लिई अभियोग पत्र दायर भएकोमा सोहीअनुसार सजाय हुनुपर्दछ भनी यस अदालतमा वादी नेपाल सरकारले पुनरावेदन जिकिर लिएको छ । यसतर्फ विचार गर्न यी प्रतिवादीले ज्यान मार्ने कार्यमा त्यस्तो सहयोगी भूमिका थियो थिएन ? अर्थात् निजलाई अभियोग दाबीअनुसारको सहयोगी दायित्व बहन गराउन मिल्छ, मिल्दैन ? भन्ने विषय नै विचारणीय हुन आयो । उक्त सन्दर्भमा हेर्दा मृतकलाई मार् भनी प्रतिवादी छविलाललाई वचन दिएको अथवा मृतक भुइँमा ढलेपछि मृतकलाई छिटो मर् भन्दै लात्तीले हानेको कुरामा यी प्रतिवादी अनुसन्धान र अदालतमा इन्कार रहेका छन् । तर यी प्रतिवादीले आफूसमेत वारदातस्थलमा रहेको कुरालाई भने स्वीकार नै गरेको पाइएको छ । सहप्रतिवादी छविलाल पराजुलीले पनि आफ्नो बुबा यी प्रतिवादी देवीप्रसाद पराजुलीले मार् भनी नभनेको झगडा नगर भनी सम्झाएको हो भनी अदालतमा र अनुसन्धानमा लेखाइदिएको पाइन्छ । यसबाट यी प्रतिवादी वारदातको समयमा घटनास्थलमा मौजुद रहेको कुरा पुष्टि हुन जान्छ । घटना विवरण कागज गर्ने चन्द्रकुमार फ्याक लिम्बू, सुजन खजुम, अनिता खजुमसमेतले र वस्तुस्थिति मुचुल्काका सीता खजुमसमेतले प्रतिवादी छविलाल पराजुली र मृतकबीच फुटबल खेल्ने विषयमा विवाद भएकोमा सम्झाउँदा प्रतिवादी छविलाल आफ्नो घर गएकोमा पछि देवीप्रसाद पराजुली आई मृतकसँग विवाद गरी मार भनी आदेश दिएकाले छविलालले धारिलो खुर्पाले देवेन्द्र खजुमको घाँटीमा प्रहार गरी निज भुइँमा लडेपछि देवीप्रसाद पराजुलीसमेतले मृतकलाई लात्तीले हानी छोरा ठीक गरिस् भन्दै भागी गएका हुन् भनी लेखाइदिएको पाइन्छ । यसरी लेखाए पनि यी प्रतिवादीले मृतकलाई ज्यानै लिने मनसायले नै मार भनी आदेश दिएको भनी भन्न सकेको छैन ।
१०. ज्यानसम्बन्धीको १३(४) नं. अनुसारको “ज्यान मार्नमा वचन दिने” भन्ने शब्दको निरपेक्ष अर्थ नगरी समय सापेक्ष अर्थ गर्नुपर्ने
हुन्छ । ‘मार’ भनी भनेकोलाई सबै सन्दर्भ परिस्थितिमा कानूनअनुसार सजाय गर्दा व्यावहारिक नहुने र यसो गर्दा अन्यायसमेत पर्न जान्छ । त्यसैले ‘मार् हान्’ भनी भनेको कुरा साँच्चिकै मार्ने मनसायसहित भनेको हो, होइन ? यसरी ‘मार्’ भनी वचन दिएकोले मात्र मारेको हो, होइन ? भन्ने जस्ता कुरा यसमा विचारणीय हुन
आउँछ । सो सम्बन्धमा हेर्दा यसमा यी प्रतिवादी देवीप्रसाद पराजुलीको यी मृतकलाई मार्नेसम्मकै पूर्वरिसइवी केही रही मार्नलाई अभियोग दाबीबमोजिमको सहयोगी भूमिका निर्वाह गर्ने वा मार्नकै लागि भनी वचन दिनुपर्ने कार्य कारणसमेत केही रहे भएको पाइएन । प्रतिवादी देवीप्रसाद आफैँले हातहतियार बोकी वा सरसल्लाह गरी मृतकलाई मार्ने योजना बनाई वारदातस्थलमा गएको र अर्का प्रतिवादी छविलाल पराजुलीसँग पनि सो विषयमा कुनै पूर्व सरसल्लाह, योजना तथा तयारी गरी आएको भनी वादी नेपाल सरकारले भन्न सकेको छैन । मिसिल संलग्न कागज प्रमाणबाट समेत त्यस्तो कुरा पुष्टि हुन सक्दैन । वारदातको परिस्थिति र सन्दर्भ हेर्दा आफ्नो छोरा र मृतकहरूबीच रातको समयमा भनाभन हात हालाहाल भएको देखेपछि कुनै पनि बाबुले त्यसमा चासो लिएर जानु स्वाभाविक
हुन्छ । यी प्रतिवादी त्यसरी आफ्नो छोरासँग झगडा भएकोमा त्यहाँ जाँदा मृतकसमेतको कारणले भएको झगडा तथा हात हालाहाल र आफूलाई समेत हात हालेकोमा रिस उठी परिणामको कुनै विचार नगरी स्वाभाविक तथा सामान्य रूपमा नै ‘मार्’ छोरा भनेको हुन सक्ने देखिन्छ । त्यस्तै मृतकको मुख्य रूपमा प्रतिवादी छविलालसँग नै झगडा भएको र पछि निजका बुबा यी प्रतिवादीसँग पनि मृतकले झगडा गरेको कारण मारेको भन्ने मिसिल संलग्न माथि वर्णित कागजपत्रबाट देखिएको छ । यस्तो अवस्थामा प्रतिवादीमध्येका छविलालले यी प्रतिवादी देवीप्रसाद पराजुलीले ‘मार्’ भनेकोले मात्र प्रहार गरेको भनी भन्न सक्ने देखिँदैन । यसरी ज्यान मार्ने मनसायले नै मार् भनेको र मार् भनेका कारणले मात्र मारेको भन्ने नि:सन्देह पुष्टि नभएको यस्तो अवस्थामा यी प्रतिवादीले नेपाल सरकारको पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सहभागिता रहेको हो भनी भन्न नसकिने हुँदा सोअनुसारको कसुर नठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखियो । सो सम्बन्धमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्नसक्ने देखिँदैन ।
११. यसरी माथि विवेचना गरिएअनुरूप यी प्रतिवादी वारदातस्थलमा रही स्वाभाविकरूपमा ‘मार् हान्’ भनी भनेको ज्यानसम्बन्धी महलको १३(४) नं.को कसुरअन्तर्गत नपर्ने देखिएपछि निजको उक्त कार्य कसुरजन्य कार्यभित्र पर्छ, पर्दैन ? यदि पर्छ भने के कस्तो कसुरजन्य कार्यभित्र पर्छ ? अर्थात् उक्त कार्यलाई ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसारको कसुरअन्तर्गत पर्ने ठहर्याई पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन ? तथा सफाइ पाउँ भन्ने प्रतिवादी देवीलाल पराजुलीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्नेतर्फ विचार गर्नुपर्ने हुन आयो । यस सम्बन्धमा हेर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं.ले अरू किसिमले मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरिरहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई कसुरदार मानी सजायको व्यवस्था गरेको पाइन्छ । यी प्रतिवादी आफ्नो छोरासँग झगडा गरिरहेको अवस्थामा वारदातस्थलमा पुगेको र मृतकलाई आफ्नो छोरा छविलालले प्रहार गर्दासमेत त्यही रहे भएको देखियो । यस्तो अवस्थामा निजले प्रतिवादी छविलाललाई कसुरजन्य कार्य गर्नबाट रोक्नुपर्ने निजको कर्तव्य हुनेमा निजले रोक्नलाई कुनै प्रयाससमेत गरेको देखिँदैन । निजले मार्नकै लागि भनी मार् नभनेको वा वचन नदिएको र निजले भनेकै कारणले मात्र प्रहार गरेको नभए पनि त्यसो नगर् भनी रोक्नुपर्ने अवस्थामा यस्तो आपत्तिजनक शब्द प्रयोग गरी आफ्नो छोरा प्रतिवादी छविलाललाई कसुर गर्न साथ दिएको वा कसुरका लागि झन् उत्प्रेरित गराएको भन्ने देखिन आउँछ । यस्तो अवस्थामा यी प्रतिवादी पूर्ण निर्दोष रहेको मानी निजको सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन । यसरी यी प्रतिवादी देवीप्रसाद पराजुलीले अर्का प्रतिवादीसँग मत सल्लाहमा पसेको, मार्ने ठाउँमा गई अरू केही नगरी हेरिरहेको तथा कसुर गर्न सहयोग पुग्ने गरी आपत्तिजनक शब्द प्रयोग गरेको देखिन आयो । निजको यस्तो दूषित कार्य (Blameworthy Conduct) ज्यानसम्बन्धी महलको १७(३) नं.ले परिभाषित गरेको कसुरभित्र नै पर्ने देखिएकोले निजलाई सोही नं. बमोजिम ३ (तीन) वर्ष कैद गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो । सफाइ पाउँ भन्ने प्रतिवादी देवीप्रसाद पराजुली र अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१२. अतः माथि विवेचित आधार कारणबाट सुरू इलाम जिल्ला अदालतले प्रतिवादी छविलाल पराजुलीलाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको फैसला सो हदसम्म सदर गरेको र प्रतिवादी देवीप्रसाद पराजुलीलाई ऐ.महलको १३(४) नं. अनुसार जन्मकैदको सजाय गर्ने गरी भएको फैसलालाई सो हदसम्म केही उल्टी गरी निजलाई ऐ.महलको १७(३) नं. अनुसार ३ (तीन) वर्ष मात्र कैद हुने ठहर्याई पुनरावेदन अदालत इलामबाट मिति २०६९/१२/११ मा भएको फैसला मिलेकै देखिन आएकोले सदर हुने ठहर्छ । सो ठहरे पनि वारदातको कार्यकारण, वारदात हुँदाको परिस्थिति, प्रतिवादी छविलाल पराजुलीको उमेर र आर्थिक अवस्था जस्ता कुराहरूमा विचार गर्दा निजलाई ठहरेबमोजिम सजाय गर्दा चर्को पर्न जाने देखिएकोले निज प्रतिवादी छविलाल पराजुलीलाई अदालती बन्दोबस्तको १८८ नं. बमोजिम १६ (सोह्र) वर्ष कैद सजाय हुने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा प्रतिवादीमध्येका छविलाल पराजुलीलाई १६(सोह्र) वर्ष मात्र कैद सजाय हुने ठहरी फैसला भएकोले निजलाई सर्वस्वसहित जन्मकैद हुने गरी भएको जिल्ला तथा पुनरावेदन अदालतको फैसलाअनुसार कसिएको लगत संशोधन गरी १६(सोह्र) वर्ष मात्र कैद सजायको लगत कसी सोहीअनुसारको कैदी पुर्जीसहित जानकारी सम्बन्धित कारागार कार्यालय र प्रतिवादी छविलाल पराजुलीलाई दिनु भनी साथै यी प्रतिवादी छविलाल पराजुलीको सर्वस्व गर्ने प्रयोजनार्थ अंश रोक्का भएको भए फुकुवा गरिदिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू --------------------------------------------------१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ------------------------२
उक्त रायमा सहमत छु ।
न्या.हरिकृष्ण कार्की
इजलास अधिकृत: यदुराज शर्मा
इति संवत् २०७३ साल मङ्सिर ३ गते रोज ६ शुभम् ।