शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००१४ - बकसपत्र लिखत बदर

भाग: ६० साल: २०७५ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

फैसला मिति : २०७३।७।२३

०७०-CI-०४८८

 

मुद्दाः बकसपत्र लिखत बदर

 

पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला, मुडली गा.वि.स. वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने मन्जुर आलम 

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने कल्याण महत 

 

मुलुकी ऐन, अंशबन्डाको १ नं. हेर्दा, “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी,  छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाले बाबुआमा, छोराछोरी, लोग्ने स्वास्नीसम्मका नाता पुस्तामा जीवित अंशियारहरूको बीचमा नै अंशबन्डा हुने भन्‍ने देखिन्छ  तापनि नातिको अंशहक आफ्नो बाबुमार्फत प्राप्त हुने हुँदा बाबुले प्राप्त गर्ने अंशहक सम्पत्तिमा नातिको अंशहक निहित रहन जाने ।

पैतृक सम्पत्तिमा आफ्नो बाबुको अंश हकमा नै असर पर्ने गरी बाजेले बिक्री व्यवहार हक हस्तान्तरण गरेको स्थितिमा सर्वप्रथम बाबुले नै आफ्नो हक खोज्न आएको देखिनुपर्ने । 

माथिल्लो पुस्ताका व्यक्तिहरू मिली तेस्रो पुस्ताका व्यक्तिको अंशहक नियतवश अहित गर्ने उद्देश्यले सम्पत्ति हिनामिना गर्ने कार्य भएको प्रमाणित हुने अवस्थामा तेस्रो पुस्ताका व्यक्तिको अंशहक अंशबन्डाको १ नं. ले संरक्षण गर्न नमिल्ने हुँदैन । पिता जीवित नरहेको अवस्थामा पिताको अंश हकमा तेस्रो पुस्ताका नातिले सो ऐनबमोजिम आफ्नो पितातर्फको अंशहक संरक्षण गर्न नपाउने भन्‍न नमिल्ने ।

(प्रकरण नं.४)

मूल अंशियारमध्येका वादीका पिता जीवितै हुँदा पनि बदरमा दाबी लिई बदर गराउन सकेको पाइँदैन । हक प्राप्त गर्ने व्यक्तिको पनि सम्पत्तिमा हक सुनिश्‍चित नभएमा सम्पत्तिसम्बन्धी अधिकारमा अनिश्‍चितता रहन्छ । वादीले आफ्नो पिताबाट अंश हक प्राप्त गर्ने अवस्था रहेकै छ र वादीका पिताले पाउनेभन्दा बढी जग्गा सम्पत्ति दाता बाजेकै नाउँमा रहेको देखिने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री विजयकुमार बस्नेत र श्री हरिमोहन थापा

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प. २०६८, नि.नं.८५८४, पृ.५१६

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री अच्युत विष्ट

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

माननीय न्यायाधीश श्री रामचन्द्र यादव

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

विपक्षीमध्येका मेरा एकाघर सगोलमा बस्ने हजुरबुबा नाता पर्ने गणेश भन्ने दिलबहादुर महत र पूर्णकुमारी महतबाट जायजन्म भएको सन्तानमा मेरो एकाघर सगोलमा बस्ने बुबा शरणकुमार महत एक मात्र सन्तान हुन् । बुबा शरणकुमार महतको सन्तान म फिरादी एक मात्र सन्तान (छोरा) हुँ । म फिरादीले आमालगायत हामीहरू जम्मा परिवार संख्या ५ यो फिराद  गर्दाका  मितिसम्म एकाघर सगोलमा बसिरहेका छौं । मेरो पिता पुर्खाको पालादेखि चल अचल सम्पत्ति हजुरबुबा गणेश भन्ने दिलबहादुरका नाउँ जिम्मामा रहि आएको छ । मेरो पिता शरणकुमारको नाउँमा केही कुनै सम्पत्ति हस्तान्तरण भएको छैन । मिति २०५८ साल मंसिर ४ गतेदेखि म फिरादीका पिता शरणकुमार महत विदेशमा बसिरहनु भएको छ । विपक्षीमध्येकै म फिरादीका हजुरबुबा गणेश भन्ने दिलबहादुर महतको बुबा स्वः चक्रबहादुर महतबाट पुख्यौली सम्पत्ति नामसारी भई आउँदा काठमाडौं जिल्लामा पर्ने विभिन्न ठाउँका ९–०–० जग्गा निज हजुरबुबाको नाउँमा दर्ता कायम भएको थियो र हाल हजुरबुबाले बिक्री वितरण गरी करिब १–०–० जग्गा मात्र बाँकी रहेको छ । यी दुई कित्ता जग्गाहरू विपक्षीको मिलोमतोमा मेरो अंश हक मेट्न गरी लिनुदिनु गरेको हालैदेखिको बकसपत्र पारित लिखत मुलुकी ऐन, अंशबन्डाको महलको १ नं. र ऐ. दान बकसको १ नं.को विपरीत भई बदर भागी भएको हुँदा मिति २०५८।११।२३ र नं.४७०८ को पारित हालैको बकसपत्रको लिखत बदर घोषित गरी अंश हक प्रचलित गरी अंश पाउँ भन्नेसमेत बेहोराको वादीको मिति २०६१।११।१२ को फिराद दाबी ।

विपक्षी वादीले फिराद दायर गर्ने हकदैया नै छैन । निज फिरादीले आफ्नो फिरादमा म प्रतिवादीको दाता दिलबहादुर आफ्नो बाजे हो भनी उल्लेख गरेको छ । नातिले बाजेलाई अंशबापतको हक लाग्ने जग्गामा बिक्री हक हस्तान्तरण भएकाले बदर गरिपाउने माग दाबीमा हकदैया नै छैन । छोराले बाबुसँग मात्र अंशबापतको हक सम्बन्धमा मागदाबी गर्ने हो । बाबु जीवित भएकै अवस्थामा नातिले बाजेसंग अंश माग गर्न कानूनी रूपले मिल्दैन । विपक्षीले आफ्नो फिरादको प्रकरण नं.२ मा आफ्नो अंश हक लाग्ने ९–०–० जग्गा रहेको भन्ने उल्लेख छ । सोमध्येको ८–०–० जग्गा बिक्री हुँदा विपक्षीको हक नलाग्ने तर म प्रतिवादीलाई दिएको १–०–०–० जग्गा बिक्री हुँदा हक जाने कुरा हास्यास्पद छ ।

उक्त जग्गा बिक्री हुँदा विपक्षीलगायतलाई सोही बखत जानकारी थियो । उक्त जग्गामा विपक्षीले इँट्टा खसाल्न ल्याएको पनि छैन र उक्त स्थानमा गएको पनि छैन । अतः म प्रतिवादीलाई दाता दिलबहादुर महतले का.जि.थानकोट गा.वि.स.वडा नं.६ महादेवस्थान कि.नं.३८८ को क्षेत्रफल ०–९–२ कित्ता र ऐ.ऐ.को कि.नं.२१६ को क्षेत्रफल ०–७–२ समेत २ कित्ता जग्गाहरू हस्तान्तरण गरी दिएको मिति २०५८।११।२३ र.नं. ४७०८ को पारित लिखत बदर हुन नसक्ने हुँदा हकदैयाविहीन फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मन्जुर आलमको मिति २०६२।६।९ को प्रतिउत्तर जिकिर ।

प्रतिवादी गणेश भन्ने दिलबहादुर महत र पूर्णकुमारी महतका नाउँमा जारी भएको म्याद मिति २०६१।८।२२ मा तामेल भएकोमा म्यादभित्र प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको रहेछ ।

विवादित लिखतमा वादीको मन्जुरी लिएको पनि नदेखिएको र वादीले सगोलको सम्पत्तिबाट ३ भागको १ भागमध्येबाट ३ भागको १ भाग अंश पाउने हुँदा दाबीको लिखतको ३ भागको १ भागको पिताको हकमध्येबाट ३ भागको १ भाग वादीको अंश भाग जति लिखत नरमगरम मिलाई बदर हुने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६।३।२९ को फैसला ।

छोराले बाबुसँग मात्र अंशबापतको हक सम्बन्धमा दाबी गर्ने हो । बाबु जीवित भएकै अवस्थामा नातिले बाजेसँग अंश माग गर्न कानूनी रूपले 

मिल्दैन । मुलुकी ऐन, अंशबन्डाको १ नं. तथा दानबकसको १ नं.ले विपक्षीलाई मद्दत गर्न नै सक्दैन । विपक्षीको हजुरबुबाले गरेको काम कारबाहीउपर निजको बुबाले कुनै किसिमको दाबी विरोध नगरेको अवस्थामा निजका बाजेले बकसपत्र गरेको सम्पत्तिभन्दा आधी बढी सम्पत्ति निजको बाजेको नाममा रहे भएकै छ । सो तथ्य कि.नं.२३३ को स्रेस्ताले पुष्टि गरेको हुँदा कानूनसम्मत रूपमा गरेको हक हस्तान्तरणलाई बदर गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा सुरू फैसला उल्टी गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको मिति २०६७।१।३१ को पुनरावेदन पत्र ।

यसमा वादीको बाजे गणेश भन्ने दिलबहादुरका नाममा कि.नं.२३३ को १–९–०–० जग्गा बाँकी रहेको अवस्थामा त्यसतर्फ केही उल्लेख नगरी २०५८।११।२३ को र.नं.४७०८ को लिखत बदर गर्ने गरेको सुरू फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६८।३।१२ को आदेश ।

सुरू फैसला मिलेको हुँदा पुनरावेदन पत्र खारेज गरिपाउँ भन्ने बेहोराको प्रत्यर्थीको मिति २०६८।७।३ को पुनरावेदन अदालत पाटनमा पेस भएको लिखित प्रतिवाद बेहोरा ।

विवादित लिखतबाट हक हस्तान्तरण भएको कित्ता जग्गाहरूमा यी वादीका पिता र बाजेको अंश हक निहित रहेको पैतृक सम्पत्ति हो भन्ने देखिन आउँछ । वादीका पिता र बाजेका बीचमा अंशबन्डाको लिखत पारित भएको भन्ने मिसिलबाट देखिँदैन । बन्डा लाग्ने पैतृक सम्पत्तिमा अंश हक निहित रहने हुँदा बकसपत्र लिखत गर्दा अंशियारहरूको मन्जुरी लिनु पर्ने 

हुन्छ । बाबुले नालेस नगर्दैमा यी वादीको समेत अंश हक समाप्त हुने भनी व्याख्या गर्न कानूनसङ्गत पनि देखिँदैन । सो लिखतको ३ भागको १ भाग बाबुको हकमध्ये ३ भागको १ भाग यी वादीको हक निहित रहेको अवस्थामा वादीको हकजति लिखत बदर हुने ठहर्‍याएको सुरू फैसलालाई अन्यथा भन्न सकिएन । यस अवस्थामा सुरू फैसला बदर गरी विवादित लिखत पूरै सदर कायम हुनुपर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर र यस अदालतबाट मिति २०६८।३।१२ मा भएको प्रत्यर्थी झिकाउने आदेशसँग सहमत हुन सकिएन ।

तसर्थ माथि उल्लिखित आधार कारणबाट ३ भागको १ भाग पिताको हकमध्येबाट ३ भागको १ भाग वादीको अंश भाग लिखत बदर हुने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।६।२९।१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६८।७।२३ को फैसला ।

जिल्ला काठमाडौं थानकोट गा.वि.स. वडा नं.६ख कि.नं.३८८ क्षे.फ. रो. ०-९-२ र कि.नं.२१६ क्षे.फ. रो. ०-७-२ को जग्गा र.नं.४७०८ मिति २०५८।११।२३ दाता दिलबहादुर महतबाट हालैको बकसपत्रको लिखत गरी म निवेदकले प्राप्त गरी उक्त मितिदेखि भोगचलन गरी आएको मेरो निजी आर्जनको सम्पत्तिको हो । उक्त सम्पत्तिको लिखत पारित गर्दा दाताको श्रीमती पूर्णकुमारी महतलाई साक्षी राखी खरिद गरी लिएको हुँ । सो सम्पत्ति मुलुकी ऐन, अंशबन्डाको महलको १९(१) नं. बमोजिम दाताले आफूखुस गर्न पाउने सम्पत्ति हो । अंशबन्डाको १९(३) बमोजिम लिखत पारित गर्दाको अवस्थामा २१ वर्ष उमेर नपुगेका नाति नाताका प्रत्यर्थी वादीको मन्जुरी लिई रहनु पर्ने बाध्यता छैन । प्रत्यर्थी वादीका बाबु शरणकुमार महत क्षेत्रीलगायतका अंशियारहरूले उजुर नगरी बसेबाट निजको मन्जुरी रहे भएको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको १९(४) नं. ले आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंशजति आफूखुस गर्न पाउने व्यवस्था गरेको छ । दाताले आफ्नो अंश हकको सम्पत्तिबाट मात्र म निवेदकलाई लिखत पारित गरी दिएका छन् । प्रत्यर्थी वादी अंशबन्डाको १ नं. को परिभाषाभित्रको अंशियार नभएको, अंशबन्डाको १९ नं. को व्यवस्थाअनुसार मन्जुरी लिनु पर्ने व्यक्ति नभएको र प्रत्यर्थी वादीले आफ्नो बाबुसँग अंश मुद्दा हाली अंश हक स्थापित नगरी आफ्नो बाजेले पारित गरेको लिखत व्यवहार विरूद्ध दायर गरेको फिराद खारेज भागी छ ।

दाताले लिखत पारित गरिएको समयदेखि मुद्दा फैसला हुँदासम्म प्रत्यर्थीका पिताले पाउने आधाभन्दा बढी सम्पत्ति दाताका नाउँमा रहिरहेको हुँदा लिखत बदर हुने अवस्था छैन । कुनै पैतृक सम्पत्ति बेचबिखन गर्नुपूर्व अंशबन्डाको लिखत पारित गर्नुपर्छ भन्‍ने कानूनी व्यवस्थासमेत छैन । कानूनको गलत किसिमले व्याख्या गरी आंशिक लिखत बदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड क र ख बमोजिम मुद्दा दोहोर्‍याई हेरी न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी मन्जुर आलमको निवेदन पत्र ।

यसमा मिति २०५८।११।२३ को पारित हालैको बकसपत्र लिखतको सम्बन्धमा मिति २०६१।११।१२ मा मात्र हजुरबाले गरिदिएको लिखत बदर गराउन सो बेलामा २१ वर्षभन्दा कम उमेर रहेका यी वादीले फिराद दायर गरेको पाइन्छ । वादीका बाबु जीवितै हुँदा सोलाई बदर गराउन नसकेको र घर व्यवहार चलाउन दाताले आफूखुस गर्न पाउने तथा हस्तान्तरण गर्दा यी वादीको मन्जुरी लिन नपर्ने अवस्थाको लिखत खण्ड बदर गर्ने गरी कानून तथा प्रमाणको समुचित मूल्याङ्कन नगरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६८।७।२३ मा भएको फैसलामा अंशबन्डाको १९(१) (३) र (४) नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७०।६।७ को आदेश ।

यसमा कल्याण महतको नाममा मिति २०७१।१।१५ मा तामेल भएको म्यादमा घरदैलामा टाँस भएकोमा निज फेला नपरेको सम्बन्धमा मात्र उल्लेख भएको र निजको एकासगोलको परिवार फेला परे नपरेको सम्बन्धमा नबोलेकाले उक्त म्याद अ.बं. ११० नं. विपरीत भई तामेल गरेको देखिँदा बदर गरिदिएको छ अब नियमानुसारको रीत पुर्‍याई म्याद तामेल गर्नु भनी पुनः म्याद जारी गरी तामेल भई आएपछि नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७१।८।१६ को आदेश ।

यस अदालतको मिति २०७१।८।१६ को आदेशअनुसार प्रत्यर्थी वादी कल्याण महतका नाउँमा यस अदालतबाट पुनः म्याद जारी भई मिति २०७१।८।२१ मा निजको दैलोमा टाँस भई रीतपूर्वक तामेल भई मिसिल सामेल रहेको र प्रत्यर्थी वादी कल्याण महत हाजिर नभई अनुपस्थित रहेको 

देखिन्छ ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन 

भयो । पुनरावेदकको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय विजयकुमार बस्नेत र हरिमोहन थापाले मुलुकी ऐन, अंशबन्डाको महलको १९(१) नं. ले चलमा सबै र अचलमा आधासम्म व्यवहार चलाउन स्वास्नी छोरा, अविवाहित छोरी र विधवा बुहारीको मन्जुरी नभए पनि आफूखुसी गर्न पाउने व्यवस्था गरेको छ । प्रत्यर्थी वादी अबन्डाको १ नं. भित्रका अंशियार पनि होइनन् । प्रत्यर्थी आफ्नो बाबुसँग अंश लिनुपर्ने हुँदा बाबुसँग अंश मुद्दा हाली अंश हक स्थापित गर्नुपर्छ निज अ.बं.८२ नं. बमोजिम मुद्दा गर्न हक पुग्ने व्यक्ति होइनन् । नातिको अंश भाग बाजेबाट पाउने 

होइनन् । दाताले जुनबेला बकसपत्र गरी दिएका छन् त्यसबेलादेखि मुद्दा फैसला हुने समयसम्म प्रत्यर्थीका पिताले पाउने आधीभन्दा बढी सम्पत्ति दाताकै नाममा रही रहेको अवस्था छ । प्रत्यर्थीका बाबु र बाजेको बीचमा समेत अंशबन्डा भएको छैन । मुलुकी ऐन, दान बकसको १ नं. ले पनि दातालाई उक्त जग्गा दानबकस गर्न बन्देज लगाएको अवस्था नहुँदा पुनरावेदन अदालत पाटनबाट सुरू काठमाडौं जिल्ला अदालतबाट ३ भागको १ भागबाट वादीको पिताको १ भागको ३ भागको १ भाग वादीको अंश भाग जति लिखत बदर गर्ने ठहर भएको मिति २०६३।३।२९ को फैसला सदर गर्ने गरी मिति २०६८।७।२३ मा भएको फैसला उल्टी गरी बकसपत्र सदर कायम राखिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

यसमा मेरोसमेत अंश हक लाग्ने कि.नं. ३८८ को ज.रो. ०-९-२ र कि.नं.२१६ को ज.रो. ०-७-२ जग्गा दिने मेरो बाजे गणेश भन्ने दिलबहादुर महत र लिने मन्जुर आलम भई मलाई अंश हकबाट वञ्‍चित गर्ने उद्देश्यले मिति २०५८।११।२३ र.नं. ४७०८ बाट हालैको बकसपत्र गरी लिनुदिनु गरेकोले उक्त बकसपत्र बदर गरी अंश हक सुरक्षित गरिपाउँ भन्ने फिराद दाबी भएकोमा वादी दाबीको लिखतमा उल्लिखित ३ भागको १ भाग वादीको पिताको हकमध्येबाट ३ भागको १ भाग वादीको अंश भाग लिखत नरमगरम मिलाई बदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर चित्त नबुझी मुद्दा दोहोर्‍याई पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परी यस अदालतको मिति २०७०।६।७ को आदेशबमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको देखियो । यसमा पुनरावेदन अदालत पाटनबाट सुरू फैसला सदर हुने ठहर्‍याई मिति २०६८।७।२३ मा भएको फैसला मिलेको छ छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्ने हो, होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा एकासगोलका हजुरबा गणेश भन्ने दिलबहादुर महत र पूर्णकुमारी महतका एक मात्र सन्तान मेरो बुबा शरण महत हुनुहुन्छ । शरणकुमार महतको १ एक मात्र सन्तान हुँ । हजुरबुबा, बुबासमेत हालसम्म हामी एकासगोलमा बसी आएका छौं । पिता पुर्खाको पालादेखिको सम्पत्ति हजुरबुबाको नाममा छ । मेरो बुबाको नाममा कुनै पनि सम्पत्ति हक हस्तान्तरण भएको छैन । हजुरबुबा गणेश भन्ने दिलबहादुर महतको बुबा स्व. चक्रबहादुर महतबाट ९-०-० रोपनी हजुरबुबाको नाममा जग्गा नामसारी भई आएको थियो । हाल हजुरबुबाले बिक्री वितरण गरी करिब १ रोपनी जग्गा मात्र बाँकी रहेको छ । हजुरबुबाको नाममा रहेको जग्गामध्ये जिल्ला काठमाडौं, थानकोट गा.वि.स. वडा नं. ६ कि.नं. ३८८ को ज.रो. ०-९-२ ऐ.ऐ. कि.नं. २१६ को ज.रो. ०-७-२ जग्गा दिने हजुरबुबा गणेश भन्ने दिलबहादुर महत लिने प्रतिवादी मन्जुर आलम भई मिति २०५८।११।२३ र नं. ४७०८ बाट हालैको बकपत्र पारित गराएका 

रहेछन् । विपक्षीहरू उक्त कार्यबाट मेरो अंश हकमा आघात पुग्ने भई अंश पाउनबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएकोले मेरो अंश हक लाग्ने जतिमा उक्त बकसपत्र बदर गरिपाउँ भन्ने वादीको फिराद दाबी रहेको पाइन्छ । नातिले बाजेलाई अंशबापतको हक लाग्ने जग्गामा बिक्री हक हस्तान्तरण गरेकाले बदर गरिपाउन मागदाबी गर्ने कानूनी हकदैया छैन । छोराले बाबुसँग मात्र अंशमा दाबी गर्न सक्छ । बाबु जीवितै भएको अवस्थामा नातिले बाजेसँग अंश माग गर्न कानूनी रूपले मिल्ने होइन । मुलुकी ऐन अंशबन्डाको १ नं. र दान बकस १ नं. ले विपक्षी वादीलाई मद्दत गर्दैन । हकदैयाको अभावमा मुलुकी ऐन, अ.बं. ८२ नं. विपरीतको हकदैयाविहीन फिराद खारेज गरिपाउँ भन्ने प्रतिवदी मन्जुरी आलमको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । प्रतिवादीहरू दिलबहादुर महत र पूर्णकुमारी महतले प्रतिउत्तर नफिराई बसेको 

देखिन्छ । बकसपत्रमा उल्लिखित जग्गा वादीको पिता तथा बाजेबीच अंश लाग्ने जग्गा देखिन्छ । यी वादीका पिताले पाउने अंशमध्येबाट ३ भागको वादीको भागमा पर्ने १ भाग अंश हक लाग्ने लिखत बदर हुने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसलाउपर यी पुनरावेदक प्रतिवादीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी उक्त पुनरावेदन अदालतबाट सुरू फैसला सदर हुने ठहर्‍याई मिति २०६८।७।२३ मा फैसला भएको पाइन्छ । सो फैसलाउपर चित्त नबुझाई मुद्दा दोहोर्‍याई हेर्ने निस्सा पाउँ भनी पुनरावेदक प्रतिवादीले यस अदालतमा निवेदन दिएकोमा यस अदालतबाट मिति २०५८।११।२३ को पारित हालैको बकसपत्र लिखतको बदर गराउन सो समयमा २१ वर्षभन्दा कम उमेरका वादीले फिराद दायर गरेको, वादीका बाबु जीवितै हुँदा सोलाई बदर गराउन नसको वादीको मन्जुरी लिन नपर्ने अवस्थाको लिखत बदर हुने फैसला सदर गर्ने पुनरावेदन अदालत पाटनको फैसलामा अंशबन्डाको १९(१) (३) र (४) तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को त्रुटि विद्यमान रहेको भन्ने आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।

३. विवादित मिति २०५८।११।२३ र.नं.४७०८ को पारित हालै देखिको बकसपत्र हेर्दा काठमाडौं जिल्ला थानकोट गा.वि.स. वडा नं.६ महादेवस्थानको कि.नं.३८८ को क्षे.फ. ०-९-२ र कि.नं.२१६ को क्षे.फ. ०-७-२ जग्गा वादीका हजुरबुबा गणेश भन्‍ने दिलबहादुर महतले प्रतिवादी मन्जुर आलमलाई बकसपत्र पारित गरिदिएको 

देखिन्छ । सो लिखतमा वादीका हजुरआमा पूर्णकुमारी महत रोहबरमा साक्षी बसेको पनि देखिन्छ । सो विवादित लिखत हुँदा वादी कल्याण महत २१ वर्ष पूरा नभएको भन्‍ने तथ्यमा पनि विवाद देखिँदैन । वादीले आफ्नोसमेत अंश हक रहने पैतृक सम्पत्ति हक छाडी दिएकोले अंश हक मेट्ने कार्य हुन गएको भनी मुख्य रूपमा फिरादमा अंशबन्डाको १ नं. र दान बकसको १ नं. विपरीत लिखत भएको छ भनी दाबी लिनुभएको छ ।

४. मुलुकी ऐन, अंशबन्डाको १ नं. हेर्दा, “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाले बाबुआमा, छोराछोरी, लोग्नेस्वास्नीसम्मका नाता पुस्तामा जीवित अंशियारहरूको बीचमा नै अंशबन्डा हुने भन्‍ने देखिन्छ । तापनि नातिको अंश हक आफ्नो बाबुमार्फत प्राप्त हुने हुँदा बाबुले प्राप्त गर्ने अंश हक सम्पत्तिमा नातिको अंश हक निहित रहन जाने हुन्छ । पैतृक सम्पत्तिमा आफ्नो बाबुको अंश हकमा नै असर पर्ने गरी बाजेले बिक्री व्यवहार हक हस्तान्तरण गरेको स्थितिमा सर्वप्रथम बाबुले नै आफ्नो हक खोज्न आएको देखिनु पर्दछ । माथिल्लो पुस्ताका व्यक्तिहरू मिली तेस्रो पुस्ताका व्यक्तिको अंश हक नियतवश अहित गर्ने उद्देश्यले सम्पत्ति हिनामिना गर्ने कार्य भएको प्रमाणित हुने अवस्थामा तेस्रो पुस्ताका व्यक्तिको अंश हक अंशबन्डाको १ नं. ले संरक्षण गर्न नमिल्ने हुँदैन । पिता जीवित नरहेको अवस्थामा पिताको अंश हकमा तेस्रो पुस्ताका नातिले सो ऐनबमोजिम आफ्नो पितातर्फको अंश हक संरक्षण गर्न नपाउने भन्‍न  

मिल्दैन ।

५. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा वादी नाति नाताका व्यक्तिले हजुरबुबाले हालैको बकसपत्र गरेको लिखत बदर गर्न दाबी लिएका छन् । सो दाबीको लिखतमा एकासगोलका हजुरआमा पनि रोहबरमा साक्षी बसेको छ । लिखतको हालैदेखिको बकसपत्रको माध्यमबाट पारित भएको छ । वादीका पिता शरणकुमार महतलगायत अन्य वादी सरहका अंशियारहरूले सो लिखतलाई चुनौती दिएको 

देखिँदैन । बाबुपछिको अंशमा नजिकको बुबा समान पुस्ताका आमाले दाबी गर्न आएको देखिँदैन । लिखत हुँदाको समयमा वादीको उमेर २१ वर्ष पूरा भएको देखिँदैन । वादीका बाबुआमासमेत मिली वादीको अंश हक मेट्ने परिपञ्‍च गरेको प्रमाणित हुने तथ्यहरू वादीले पेस गर्न पुष्टि गर्नसकेको पाइँदैन ।

६. हजुरबाबु गणेश भन्‍ने दिलबहादुर महतका नाउँमा काठमाडौं जिल्ला महादेवस्थान गा.वि.स. वडा नं.८ख मा कि.नं.२३३ मा क्षे.फ.१-९-०-० जग्गा दर्ता कायम नै रहेको, मालपोत कार्यालय कलङ्कीको च.नं.७१८८ मिति २०६२।११।२५ को पत्रसाथ प्राप्त स्रेस्ता उतारबाट देखिएको छ । पिता पुर्खाका पालाको अचल सम्पत्ति आधीसम्म व्यवहार चलाउन घरको मुख्य व्यक्ति बाजेले हक छाडी दिन सक्ने र आधीभन्दा बढी हक छाडी दिनु परेमा २१ वर्ष नाघेको स्वास्नी, छोरा, एकासगोलको छोरी, बिधवा बुहारीको मन्जुरी लिनुपर्ने भनी अंशबन्डाको १९(१) नं. मा कानूनी व्यवस्था छ । आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंशजति भने आफूखुस गर्न पाउँछ भनी सोही महलको १९(३) नं. मा उल्लेख छ । लिखतमा हालैको बकसपत्र लेखिए पनि मूल्य खुलाई लिखत पारित भएको देखिन्छ ।

७. विवादित लिखत हालैको बकसपत्रबाट हक हस्तान्तरण गरेको सम्बन्धमा विचार गर्दा पनि मुलुकी ऐन, दान बकसको महलको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिनु हुन्छ । सोबमोजिम दान वा बकस गरिदिँदा हकवालालाई बकस भनेर अरूलाई दान वा बकस जुन बेहोराले दिएपनि हुन्छ । आफूखुस गर्न पाउने बाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिनु हुँदैन भन्‍ने कानूनी व्यवस्था रहेको छ ।

८. विवादित लिखत बाजेले गरी दिएका छन् । बाजे समानका अंशियार बज्यै पनि रोहबरमा साक्षी बसेको हुँदा मूल ३ अंश भागमध्ये २ अंश भाग निजहरूका हकमा अंशबन्डाको १९(३) नं. ले आफूखुस गर्न पाउने नै देखिन्छ । वादीको पिताको १ भाग अंश हकमा निज वा निज समानका पुस्ता आमाले दाबी नै गर्न आएका छैनन् । बाजेको नाउँमा यद्यपि हक छाडी दिएको जग्गाभन्दा बढी नै जग्गा दर्ता नै रहेको देखिन्छ । हक छाडी दिने र लिखतमा साक्षी बस्ने बाजे बज्यैले प्रतिउत्तर नै नफिराई बसेका छन् । नाति पुस्ताका वादीको अहित गर्ने कार्यमा बाजे बज्यै आफ्ना पिता मातासमेत संलग्न रहेको भन्‍ने वादीले तथ्यगत रूपमा पुष्टि गर्न सकेका छैनन् ।

९. जग्गा दर्तावाला घरको मूल व्यक्तिले श्रीमतीसमेत साक्षी राखी हक छाडी दिएको अवस्था छ । मूल अंशियारमध्येका वादीका पिता जीवितै हुँदा पनि बदरमा दाबी लिई बदर गराउन सकेको पाइँदैन । हक प्राप्त गर्ने व्यक्तिको पनि सम्पत्तिमा हक सुनिश्‍चित नभएमा सम्पत्तिसम्बन्धी अधिकारमा अनिश्‍चित रहन्छ । वादीले आफ्नो पिताबाट अंश हक प्राप्त गर्ने अवस्था रहेकै छ र वादीका पिताले पाउनेभन्दा बढी जग्गा सम्पत्ति दाता बाजेकै नाउँमा रहेको छ ।

१०. ने.का.प. २०६८ नि.नं.८५८४ पृष्ठ ५१६ मा यस अदालतबाट प्रतिपादित सिद्धान्तअनुसार पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउन अचल सम्पत्ति बिक्री गर्नुपर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मन्जुरी लिनुपर्ने र आफ्ना समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दामुनिको दोस्रो वा तेस्रो पुस्ताका अंशियारहरूको पनि सहमति वा मन्जुरी लिनुपर्ने भन्‍ने अंशबन्डाको १९(१)(२) नं. एवं लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाको प्रयोजन र उद्देश्य नभएको भन्‍ने उल्लेख भएको पाइन्छ ।

११. उपर्युक्त विवेचित आधार प्रमाणहरूबाट दिने गणेश भन्‍ने दिलबहादुर महत र लिने पुनरावेदक प्रतिवादी मन्जुर आलम भएको मिति २०५८।११।२३ र.नं.४७०८ को हालैको बकसपत्रको लिखत कानूनबमोजिम भएको देखिई वादीको अंश हकमा असर पर्न जाने देखिन आएन । सो दाबीको लिखत ३ भागको १ भाग बाबुको हकमध्येबाट ३ भागको १ भाग लिखत बदर हुने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।६।२९ मा भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०६८।७।२३ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई दाबीको मिति २०५८।११।२३ र.नं.४७०८ बाट पुनरावेदक प्रतिवादी मन्जुर आलमले प्राप्त गरेको हालैको बकसपत्रको लिखत यथावत् कायम भई वादीको दाबी नपुग्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

पुनरावेदन अदालत पाटनबाट मिति २०६८।७।२३ मा भएको फैसला उल्टी भई दाबीको मिति २०५८।११।२३ र.नं.४७०८ बाट पुनरावेदक प्रतिवादी मन्जुर आलमले प्राप्त गरेको बकसपत्रको लिखत यथावत् कायम रहने ठहरी फैसला भएकाले सोको जानकारी सम्बन्धित निकायमा लेखी 

पठाउनू ----------------------------------------------१

दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाई दिनू -------------------------------------२

 

उक्त रायमा सहमत छु  । 

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत: यमप्रसाद बास्कोटा

इति संवत् २०७३ साल कात्तिक २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु