शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००१७ - वैदेशिक रोजगार

भाग: ६० साल: २०७५ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७४।८।१३

२०७०-CR-१५७७

 

मुद्दाः वैदेशिक रोजगार

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१५ बस्ने भवानी काफ्ले तुलाधर

विरूद्ध

प्रत्यर्थी / वादी : रमेश पाण्डेको जाहेरीले नेपाल सरकार

 

विवादमा आएको कुनै पनि लिखतमा लेखिएको बेहोरा अवस्था परिस्थितिअनुसार फरकफरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुनु पनि आवश्यक हुन्छ । सदैव लिखतको शब्दबाट मात्र फौजदारी दायित्व सृजना हुँदैन, यसको लागि मनसाय र क्रियाको साथसाथै पक्षहरूको परिस्थितिजन्य प्रमाणको विश्‍वसनीयता आवश्यक हुन्छ । व्यक्तिव्यक्तिबीच भएको लिखतको हरेक अवस्थामा वैदेशिक रोजगारी भन्‍ने शब्दको प्रयोग हुनासाथ यान्त्रिक तवरबाट सजाय गरिहाल्ने प्रवृत्ति विकास भएमा न्याय मर्ने सम्भावना 

रहन्छ । यस अवस्थामा पक्षहरूले आफ्ना लेनदेन वा अन्य मनसायबाट खडा भएको कुनै लिखतमा त्यसको कार्यान्वयन गर्न दबाब सृजना गर्ने उद्देश्यले वैदेशिक रोजगार शब्दको प्रयोग गर्दैमा स्वतः दण्डनीय अपराध मानिएमा यसको दुरूपयोग भई परिबन्धबाट निरपराधी पनि सजायको भागी हुन जानेतर्फ अनुसन्धान एवं अभियोजनकर्ता, अदालत तथा न्यायिक निकाय सदैव सचेत हुनुपर्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङ

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राम पाण्डे

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

सदस्य माननीय श्री अग्निप्रसाद थपलिया

सदस्य माननीय श्री रवि शर्मा अर्याल

वैदेशिक रोजगार न्यायाधिकरण

 

फैसला

न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

प्रतिवादी भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगारका लागि यु.के. पठाइदिन्छु भनी मिति २०६७।८।१५ गते मेरो सक्‍कल राहदानी र रू.१०,००,०००।– (दश लाख) लिई मिति २०६८।२।१८ मा रोजगार पठाउन नसकी रकमसमेत फिर्ता नगरी ठगी गरेकाले यी प्रतिवादीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सजाय गरी मेरो बिगो र हर्जानासमेत दिलाई भराई पाउँ भनी मिति २०६८।४।२२ को उजुरी ।

जाहेरवालालाई यु.के. पठाउन भनी मैले रकम लिएको होइन । यो जाहेरवालालाई चिनेको समेत थिइन । का.जि.का.म.न.पा वडा नं.१५ डल्लु बस्ने मन्जु नेपालीसँग २०६७ साल मङ्सिर पुसतिर जम्मा रू. ४,००,०००।– (चार लाख रूपैयाँ) घरायसी व्यवहार मिलाउन ऋण लिएकोमा गत जेठ महिनामा मन्जु नेपालीले १२ जना नचिनेका मानिसहरू समेत लगाई जबरजस्ती यी जाहेरवाला रमेश पाण्डेका नाउँमा वैदेशिक रोजगारको कागज गराएका हुन् । सो कागज गराएपश्चात् यी जाहेरवालाहरूलाई रू.७०,०००।– (सत्तरी हजार) फिर्ता गरिसकेको छु । सो बारेमा मन्जु नेपालीलाई बुझेमा सम्पूर्ण कुरा थाहा हुने नै हुँदा उक्त झुट्टा उजुरीबाट फुर्सद पाउँ भन्‍ने बेहोराको भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगार विभागसमक्ष गरेको बयान ।

प्रतिवादी भवानी काफ्ले तुलाधरबाट नगद रू.१०,००,०००।– (दश लाख) धरौटी वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्‍नु नदिए हिरासतमा राख्‍न वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गर्ने गरी भएको वैदेशिक रोजगार विभागको आदेश।

प्रतिवादीको बयानमा उल्लेख भएको यस विभागबाट बुझिएकी मन्जु नेपालीले बयान गर्दा यी प्रतिवादीले जाहेरवालालाई अमेरिका पठाउने भनी पटकपटक गरी रू.१०,००,०००।– (दश लाख) लिएको भनी गरी दिएको बयान मिसिल संलग्न रहेको ।

प्रतिवादी भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतसमेत नलिई जाहेरवालालाई विदेश पठाइदिने भनी रकम लिई विदेश नपठाई रकम फिर्ता नगरी ठगी गरेको देखिएको र निजको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवाला रमेश पाण्डेको बिगो रू.१०,००,०००।- (दश लाख) तथा सोको ५० प्रतिशतले हुने हर्जाना रू.५,००,०००।- (पाँच लाख) समेत जम्मा रू.१५,००,०००।– (पन्ध्र लाख) जाहेरवालालाई दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको मिति २०६८।६।२५ मा वैदेशिक रोजगार न्यायाधिकरणमा पेस हुन आएको अभियोग पत्र ।

रमेश पाण्डेको जाहेरी सुनी पाएँ । मैले जाहेरवाला रमेश पाण्डेलाई यु.के. पठाउन भनी रू.१०,००,०००।- (दश लाख) लिएको होइन । मन्जु नेपालीसँग व्यवहार चलाउन भनी रू.४,००,०००।- (चार लाख) लिएकी थिएँ । निजले मलाई गोंगबुमा एउटा सल्लाह गर्नु छ भनी बोलाएर निज मन्जु, जाहेरवाला रमेश पाण्डेसमेत १०/१२ जना भेला भएर उक्त रू.४,००,०००।- (चार लाख) फिर्ता गर् नत्र तैँले रू.१०,००,०००।- को कागज गर्नुपर्छ भनी दबाब दिएका थिए । म अहिले तत्कालै दिन सक्दिन, ६ महिनाको समय पाएमा तिर्नेछु भनेकी थिएँ । मैले जाहेरवाला रमेश पाण्डेलाई चिनेको थिइन, सोही दिन गोंगबुमा देखेकी हुँ । रमेशसँग मेरो व्यवहार पनि होइन, मन्जुले किन रमेश पाण्डेलाई अगाडि सारेर कागज गराएकी हुन् र रमेश पाण्डेले किन ममाथि झुट्टा जाहेरी दिएका हुन् मलाई थाहा छैन । मिति २०६८।२।१८ को वैदेशिक रोजगारको लिखत कागज गोंगबुमा मलाई १०/१२ जनाले दबाबमा पारी जबरजस्ती सहिछाप गर्न लगाएका हुन् र मलाई सहिछाप गराएपछि लिखत पढेर सुनाएका हुन् । मैले रू.७०,०००।- (सत्तरी हजार) निज रमेश पाण्डेलाई दिइसकेकी छु, मलाई वैदेशिक रोजगारसम्बन्धी केही थाहा नभएको र मैले वैदेशिक रोजगारको कारोबारसमेत नगरेकी हुँदा मउपरको अभियोग दाबी झुट्टा हो । मैले अभियोग दाबीबमोजिम कसुर अपराध नगरेको हुँदा मैले सजाय पाउनु पर्ने होइन । म निर्दोष छु । सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी काफ्ले तुलाधरले यस न्यायाधिकरणसमक्ष मिति २०६८।६।२५ मा गरेको बयान ।

प्रतिवादी भवानी काफ्ले तुलाधरले गरिदिएको मिति २०६८।२।१८ को कागजमा वैदेशिक रोजगारमा पठाउनलाई गरिदिएको कागज पेस भए तापनि जाहेरवालाले विदेश जानको लागि पासपोर्ट नदिएको देखिएको र कहिले यु.के. र कहिले अमेरिका भनी फरकफरक बेहोरा उल्लेख गरेको अवस्था र वैदेशिक रोजगारीलाई पैसा लेनदेन भएको कुरा प्रति शङ्का देखिएकोले निज प्रतिवादीले मन्जु नेपालीलाई दिन बाँकी रू.३,३०,०००।- आफैँ स्वीकारेको समेतको अवस्थालाई विचार गर्दा अब ११८ को देहाय ५ र १० लाई आधार लिई पछि ठहरेबमोजिम हुने नै हुँदा तत्काल प्राप्त प्रमाणको आधारमा यी अभियुक्तबाट रू.३,५०,०००।- नगद वा सो बराबरको जेथा जमानत दिए तारेखमा राखी र दिन नसके नियमानुसार सिधा खान पाउने गरी अ.बं.१२१ बमोजिम थुनुवा पुर्जी दिई स्थानीय कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भनी वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६८।६।२५ मा भएको थुनछेक आदेश ।

प्रतिवादी भवानी काफ्ले तुलाधरले मलाई यु.के. मुलुकमा वैदेशिक रोजगारमा पठाउन भनी रू.१०,००,०००।- लिई नपठाई पैसासमेत फिर्ता नदिई मलाई ठगी गरेका हुन् । निजले मलाई पासपोर्ट र रू.४०,०००।- मात्र फिर्ता दिएकी छन् । सो कुरा सक्‍कल लिखतको पछाडि लेखिएको छ । मैले प्रतिवादीबाट रू.९,६०,०००।- र सोको ५० प्रतिशतले हुने हर्जानासमेत पाउनुपर्छ भन्‍नेसमेत बेहोराको जाहेरवाला रमेश पाण्डेले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष मिति २०६८।१२।२२ मा गरेको बकपत्र ।

मिति २०६८।२।१८ को कागजको सही मेरो हो । अनुसन्धानको क्रममा वैदेशिक रोजगार विभागमा गरेको बकपत्रको बेहोरा र सही मेरो हो । म प्रतिवादीलाई ६/७ वर्षअघि देखि चिन्दछु । निजको चालचलनबारे मलाई थाहा छैन । म अन्तरसाक्षी मात्र हुँ । प्रतिवादी भवानी काफ्लेले साक्षी बसिदिनु भनेकाले बसेको 

हुँ । अन्य कुरा मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको लिखत साक्षी मन्जु नेपालीले यस न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।

प्रतिवादीले आरोपित कसुर गरेको देखिँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम विदेश पठाइनसकेको स्थितिलाई मध्यनजर राखी यी प्रतिवादी भवानी काफ्ले तुलाधरलाई १।६।० (एक वर्ष छ महिना) कैद रू.१,५०,०००।- जरिवाना हुने र जाहेरवालाले रकम फिर्ता पाएको कुरा सक्‍कल लिखतको पीठमा जनिएको देखिँदा सो रकम रू.४०,०००।- कट्टा गरी बाँकी रू.९,६०,०००।- र सोको ५० प्रतिशतले हुने रकमसमेत जम्मा रू.१४,४०,०००।- (चौध लाख चालीस हजार रूपैयाँ) हर्जानाबापत प्रतिवादीबाट जाहेरवालाले भरिपाउने ठहर्‍याई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६९।८।११ मा भएको फैसला ।

प्रमाण ऐन, २०३१ को दफा २५ ले आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेछ भनी कसुर प्रमाणित गर्ने दायित्व वादी पक्षलाई छोडी रहेको अवस्थामा वादी पक्षबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ अन्तर्गतको कसुर प्रमाणित गर्ने कुनै पनि ठोस प्रमाण पेस गर्न सकेको अवस्था छैन । कागज जो कोहीले पनि बनाउन सकिन्छ । तर, सो बेहोराबमोजिमको कारोबार भए नभएको मिसिल संलग्न अन्य प्रमाणहरूले पुष्टि गरिरहेको अवस्था छ, छैन भन्‍ने कुरा न्यायकर्ताले विश्‍लेषण गर्ने कुरा हो । जाहेरीकर्ता र लिखतका साक्षीबीचको बयान, बकपत्र आफैँमा विवादास्पद रहेको देखिन्छ । यी जाहेरवालाले विभागमा बोलेको कुरा न्यायाधिकरणमा उपस्थित हुँदा कुरा फेरी जाहेरवालालाई चिन्दिन भनेकी 

छिन् । मन्जु नेपालीले म पुनरावेदकसँग रकम लिनुछ भनी स्वीकार गरेकी छिन् । हामीबीच भएको लेनदेनलाई लिई यी जाहेरवालाको नाउँमा कागज गरिएको भन्‍ने आँकलन गर्न कुनै गाह्रो छैन । यस्तो अवस्थामा पनि न्यायकर्ताबाट न्यायिक विवेकता नपुर्‍याई गरिएको फैसला उल्टी गरिपाऊँ ।

यसरी कसुर प्रमाणित गर्ने प्रमाणहरू विल्कुल शङ्कारहित हुनुपर्ने र शङ्कास्पद भएमा सोको सुविधा अभियुक्तलाई स्वतः जाने भएको फौजदारी कानूनको सर्वमान्य सिद्धान्त तथा प्रतिपादित नजिरविपरीत उक्त फैसला भएको देखिन्छ । एक जनासँग भएको कारोबारलाई लिई आफूअनुकूलको मानिसको नाउँमा जोरजुलुममा पारी बेहोरा नै फरक बनाई पढ्न, सुन्‍नसमेत नदिई सहिछाप गर्न लगाएको, कहीँकतै उजुरबाजुर गरेमा ज्यानै लिनेसम्मको बाहुबलको धम्की दिई गरेको कागजबाट उठान भएको प्रस्तुत मुद्दामा म एउटा सामान्य घर घरायसी कामकाज गर्ने गृहिणी महिलालाई फसाइएको हो । आजका मितिसम्म मैले कोही कसैलाई विदेश पठाई दिन्छु भनी रकम लिएको छैन । त्यो हैसियत मसँग छैन । तसर्थ, वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ अन्तर्गतको कसुर मैले गरेकै छैन । ऐ. को दफा ४३ बमोजिम मलाई सजाय हुनुपर्ने होइन । बरू यी जाहेरीकर्ता र लिखतका अन्तर साक्षी झिकाइएका मानिस मन्जु नेपालीलाई ममाथि अन्याय गरी करकापमा कागज गराई झुट्टा कपोलकल्पित जाहेरी दिई मलाई फसाउने यी व्यक्तिहरू माथि कानूनबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीको तर्फबाट यस अदालतमा परेको निवेदनपत्र ।

यसमा जाहेरवालाले जाहेरी दर्खास्तमा वैदेशिक रोजगारको लागि यु.के. पठाउन मिति २०६७।८।१५ मा रू.१०,००,०००।– र राहदानीसमेत प्रतिवादीले लिएको भनी उजुरी गरेकोमा मिति २०६७।८।१५ को लिखत पेस गर्न नसकेको र मिसिलसाथ संलग्न रहेको मिति २०६८।२।१८ को लिखत बेहोरा हेर्दा वैदेशिक रोजगारको लागि कुन मुलुक पठाउने भनी रकम लिएको हो सो बेहोरा नखुल्नुको अतिरिक्त लिखत बेहोराबाट वैदेशिक रोजगारमा विदेश पठाउनको लागि रकम लिएको भन्‍ने देखिन नआएकोले समग्र प्रमाणको मूल्याङ्कनको अभावमा वैदेशिक रोजगार न्यायाधिकरणको फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदनसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४।२।३० मा भएको आदेश ।

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातको अध्ययन गर्दा वैदेशिक रोजगार न्यायाधिकरणको फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

पुनरावेदक प्रतिवादी भवानी काफ्लेका तर्फबाट इजलासमा उपस्थित विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङले मेरो पक्षले आरोपित कसुरमा सुरूदेखि इन्कार गर्दै आएका छन् । जाहेरवालालाई कुन देशमा पठाउने भन्‍ने कहीँकतैबाट खुलेको 

छैन । लिखतमा वैदेशिक रोजगार भन्‍ने उल्लेख भएकै आधारमा कसुरदार कायम हुँदैन । यी जाहेरवालासँग प्रतिवादीको चिनजान नै नभएको अवस्था हुँदा वैदेशिक रोजगारमा कसुरदार ठहर भएको सुरू फैसला उल्टी भई मेरो पक्षले सफाइ पाउनु पर्छ भनी  आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

जाहेरवाला रमेश पाण्डेको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री राम पाण्डेले मेरो पक्षबाट विदेश लैजान्छु भनी पटकपटक गरी रू.१०,००००० (दश लाख) प्रतिवादीले लिएकोमा विदेश लैजान नसकेपछि फिर्ता दिन्छु भनी कागज गरेको हुँदा लेनदेन भएकै हो । करकापबाट कागज भएको होइन । सुरू न्यायाधिकरणबाट भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी भवानी काफ्ले तुलाधरले वैदेशिक रोजगारका लागि यु.के. पठाइदिन्छु भनी जाहेरवालाबाट रू.१०,००,०००।- (दश लाख) लिई वैदेशिक रोजगारमा पठाउन नसकी रकम फिर्तासमेत नगरी ठगी गरेकाले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सजाय गरी बिगो र हर्जाना भराई पाउँ भन्‍ने अभियोग पेस भएकोमा प्रतिवादीले आरोपित कसुर गरेको देखिँदा १ वर्ष ६ महिना कैद हुने र रू.१४,४०,०००।– बिगो र हर्जानाबापत जाहेरवालाले भरिपाउने ठहर्‍याई वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. मिसिल अध्ययन गर्दा यी जाहेरवालालाई चिनेको थिएन, यु.के. पठाउन भनी रकम लिएको पनि होइन, घरायसी व्यवहार मिलाउन मन्जु नेपालीसँग २०६७ सालमा चार लाख लिएको थिएँ, निज मन्जुले नचिनेका १०/१२ जना मानिस लगाई मलाई जबरजस्ती जाहेरवाला रमेश पाण्डेका नाउँमा वैदेशिक रोजगारको कागज गराएका हुन्, उजुरी झुट्टा हो भनी प्रतिवादीले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष बयान गरेको अवस्था छ ।

४. जाहेरवालाले जाहेरी दरखास्तमा वैदेशिक रोजगारका लागि यु.के. पठाउन भनी मिति २०६७।८।१५ मा प्रतिवादीले रू.१०,००,०००।- (दश लाख) र सक्‍कल राहदानी लिएको उल्लेख गरेको अवस्था छ भने मिति २०६८।२।१८ को वैदेशिक रोजगारमा पठाउन नसकेको हुँदा रकम फिर्ता गर्ने भन्‍ने बेहोरा उल्लिखित लिखतमा दुई महिनाभित्र पाँच लाख र अर्को दुई महिनाभित्र अर्को पाँच लाख फिर्ता दिनेछु भनी प्रतिवादीले कागज गरी दिएको पाइयो । तर, उक्त लिखतमा कुन देशमा वैदेशिक रोजगारमा पठाउने र के सर्तमा कति अवधिका लागि कुन प्रकृतिको काममा कति पारिश्रमिक पाउने गरी पठाउने भन्‍ने खुलाएको पाइएन । जाहेरी दरखास्तमा यु.के. पठाउने भनी रकम लिएको भन्‍ने उल्लेख गरे पनि जाहेरवालाको साक्षीले विभागसमक्ष बयान दिँदा अमेरिका पठाउन भनी रकम लिएको भन्‍ने उल्लेख गरेबाटै वादीतर्फबाट पेस दुईवटा प्रमाणहरू एक आपसमा मेल नखाने प्रकृतिको रहेको छ । तीनै लिखत साक्षी मन्जु काफ्लेले न्यायाधिकरणमा उपस्थित भई बकपत्र गर्दा आफू अन्तरसाक्षी मात्र भएको र प्रतिवादीले साक्षी बसिदिनु भनेकोले बसेको हो, अरू कुरा थाहा छैन भनेबाट वादी तर्फबाट पेस भएका यी प्रमाणहरूको सत्यता र विश्‍वसनीयतामा गम्भीर शङ्का उपत्‍न हुन आउँछ ।

५. यस्तै जाहेरी दरखास्तमा मिति २०६७।८।१५ मा रू.१०,००,०००।- (दश लाख) प्रतिवादीले लिएको भन्‍ने बेहोरा उल्लेख भए पनि किटानी रूपमा मिति २०६८।२।१८ मा गरिएको कागजमा उक्त रकम सोही दिन वा त्यसअघि कुन मितिमा कतिकति रकम लिनुदिनु भएको भन्‍ने बेहोरा उल्लेख हुन सकेको पाइएन । केवल वैदेशिक रोजगारमा पठाइदिनका लागि रकम लिएकोमा रोजगारमा पठाउन नसकेकोले भन्‍ने बेहोरा उल्लेख गरी लेनदेन प्रकृतिको कागजबाट फौजदारी दायित्व सृजना हुने प्रकृतिको बेहोरा लेखी रकम फिर्ता तिर्ने बुझाउने सर्तको भाका पनि कायम गरेको पाइन्छ ।

६. विवादमा आएको कुनै पनि लिखतमा लेखिएको बेहोरा, अवस्था, परिस्थितिअनुसार फरकफरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुनु पनि आवश्यक हुन्छ । सदैव लिखतको शब्दबाट मात्र फौजदारी दायित्व सृजना हुँदैन, यसको लागि मनसाय र क्रियाको साथसाथै पक्षहरूको परिस्थितिजन्य प्रमाणको विश्‍वसनीयता आवश्यक हुन्छ । व्यक्तिव्यक्तिबीच भएको लिखतको हरेक अवस्थामा वैदेशिक रोजगारी भन्‍ने शब्दको प्रयोग हुनासाथ यान्त्रिक तवरबाट सजाय गरिहाल्ने प्रवृत्ति विकास भएमा न्याय मर्ने सम्भावना रहन्छ । यस अवस्थामा पक्षहरूले आफ्ना लेनदेन वा अन्य मनसायबाट खडा भएको कुनै लिखतमा त्यसको कार्यान्वयन गर्न दबाब सृजना गर्ने उद्देश्यले वैदेशिक रोजगार शब्दको प्रयोग गर्दैमा स्वतः दण्डनीय अपराध मानिएमा यसको दुरूपयोग भई परिवन्धबाट निरपराधी पनि सजायको भागी हुन जानेतर्फ अनुसन्धान एवं अभियोजनकर्ता, अदालत तथा न्यायिक निकाय सदैव सचेत हुनुपर्दछ । अदालत वा न्यायाधिकरणमा पटकपटक भएका कतिपय लिखतहरूमा लेनदेन विषयको विवाद सुल्झाउन वैदेशिक रोजगारी भन्‍नेसम्म उल्लेख गरी कागज बनाई वा बनाउन लगाई फौजदारी मुद्दामा परिणत गराई क्षतिपूर्तिसमेत दाबी गरी अन्यायिक रूपमा फाइदा लिन प्रयत्‍नरत रहेका उदाहरणहरू पनि टडकारो रूपमा देखिएका छन् । यस्तै प्रकारको विवादमा लिखतमा वैदेशिक रोजगारमा पठाउने योजनाको लागि रकम लिएको भन्‍ने वाक्यांश उल्लेख भएकै आधारमा मात्र वैदेशिक रोजगार ठगीको कसुर कायम गर्न नमिल्ने भनी सर्वोच्च अदालत बुलेटिन, २०७२ वैशाख १६-३१ पूर्णाङ्क, ५४१ पृष्ठ ४२ नेपाल सरकार विरूद्ध गणेश बम मल्ल भएको मुद्दामा निर्णय भएको पनि देखियो ।

७. प्रस्तुत मुद्दामा पनि प्रतिवादीले लिखतका अन्तरसाक्षीसमेत रहेका मन्जु नेपालीसँग २०६७ सालको मङ्सिर पुसतिर घरायसी व्यवहारको लागि रू. ४,००,००० (चार लाख) लिएकोमा निज मन्जु नेपालीकै अगुवाईमा प्रस्तुत कागज जबरजस्ती जाहेरवालाका नाउँमा खडा गरिएको भन्‍ने प्रतिवादीको भनाइ रहेको, लेनदेन भएको भनिएका मन्जु नेपाली विवादित लिखतमा साक्षी बसेको, निज मन्जु नेपालीको भनाइहरू एक अर्कामा मेल नखाएको अवस्था 

छ । घरायसी लेनदेनको व्यवहारलाई छिटो छरितो र विश्‍वसनीय रूपमा कार्यान्वयन गर्ने उद्देश्यसम्मको लागि वैदेशिक रोजगारको कागज बनेको शङ्कास्पद अवस्था मिसिल संलग्न प्रतिवादीको बयान, कागजात एवं जाहेरीमा कारोबार भएको भनिएको मिति २०६७।८।१५ भन्दापछि मिति २०६८।२।१८ मा मात्र लिखत खडा हुनुलगायतका परिस्थितिजन्य प्रमाणबाट देखिन आएको हुँदा जाहेरीमा उल्लेख गरिएको रकम वैदेशिक रोजगारअन्तर्गतको नभई घरायसी लेनदेनअन्तर्गत भएको भन्‍ने पुष्टि हुन आउँछ ।

८. यसरी मिसिल संलग्न जाहेरी बेहोरा तथा जाहेरीसाथ पेस भएको लिखतमा यी पुनरावेदक प्रतिवादीले जाहेरवालालाई वैदेशिक रोजगारमा पठाउन नसकेपछि रकम फिर्ताको कागज गरिदिएको भन्‍ने बेहोरा देखिए तापनि वैदेशिक रोजगारमा पठाउने प्रयोजनका लागि रकम लिएको भन्‍नेमा पूर्णतः इन्कारी रही प्रतिवादीले अनुसन्धानका क्रममा र न्यायाधिकरणमा गरेको बयानलगायतका माथि विवेचित प्रमाणहरूबाट जाहेरवाला र प्रतिवादीबीचको कारोबार वैदेशिक रोजगारअन्तर्गतको नभई लेनदेन व्यवहारअन्तर्गत भएको देखिन आयो ।

९. यस्तोमा देवानी दायित्वतर्फ कानूनी कारबाही नगरी वैदेशिक रोजगारसम्बन्धी कानूनको दुरूपयोग गरी फौजदारी दायित्व सृजना गराई आफ्नो इच्छा पूर्ति गर्न प्रयत्‍न गर्ने जाहेरवालालाई यस अदालतले सहयोग गर्न सक्दैन ।

१०. अतः यी प्रतिवादीले आरोपित कसुर गरेको ठहर गरी प्रतिवादी भवानी काफ्ले तुलाधरलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम १ वर्ष ६ महिना कैद, रू.१,५०,०००।– जरिवाना र जाहेरवालालाई रू.१४,४०,०००।– हर्जाना बुझाउनु पर्ने ठहर गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६९।८।११ मा भएको फैसला उल्टी भई आरोपित कसुरबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ । तपसिलका कुरामा देहायबमोजिम गर्नू ।

तपसिल

प्रतिवादी भवानी काफ्ले तुलाधरले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले निजलाई लागेको १ वर्ष ६ महिना कैद र रू.१,५०,००० जरिवाना असुल गर्नु भनी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसलाको तपसिल खण्डको २ नं. मा राखेको लगत कट्टा गर्नु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाइदिनू ...........१

प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले जाहेरवालाले प्रतिवादीबाट भरिपाउने भनी राखेको हर्जानाको बिगो भराई दिनु पर्ने नदेखिँदा वैदेशिक रोजगार न्यायाधिकरणको फैसलाको तपसिल खण्डको ३ नं. मा राखेको लगत कट्टा गर्नु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाइदिनू ......२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .......................................३

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान 

 

इजलास अधिकृतः हिरा डंगोल

इति संवत् २०७४ साल मङ्सिर १३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु