निर्णय नं. १००१९ - जबरजस्ती करणी र अप्राकृतिक मैथुन
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।११।६
०७२-CR-१८९३
मुद्दाः- जबरजस्ती करणी र अप्राकृतिक मैथुन
पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला तिलाहार गा.वि.स. वडा नं.८ घर भई हाल जिल्ला कारागार कार्यालय, कुश्मामा थुनामा रहेको बमबहादुर खत्री
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित जिल्ला ४४ को कुश्मा (घ), कुश्मा (ङ) र कुश्मा (च) को जाहेरीले नेपाल सरकार
सामान्यत: महिला र पुरूषबीच स्वभाविकरूपमा हुने यौन एवं मैथुनको क्रियालाई प्राकृतिक मैथुन मानिने र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनको क्रियाबाहेक अन्य अस्वभाविक एवं अप्राकृतिक तरिकाबाट हुने विभिन्न प्रकारका यौनजन्य क्रियाकलाप र मैथुनलाई अप्राकृतिक मैथुन भनी बुझ्नुपर्ने हुन्छ । यो क्रियामा पुरूषको लिङ्ग महिला एवं स्त्रीको योनिमा प्रवेश गराउने क्रियादेखि बाहेक अन्य क्रियाकलापहरू जस्तै पुरूषको लिङ्ग खेलाउन लगाउने, लिङ्ग चुसाउने, लिङ्गलाई योनिबाहेक गुद्द्वार एवं मुखमा हाल्ने, निकाल्ने क्रिया गर्ने, लिङ्गलाई स्तन, मुख एवं गुद्द्वारको वरिपरि दल्ने, नाबालिका केटीहरूको स्तन समाउने, यौनाङ्ग मुसार्ने, स्त्री यौनाङ्गमा औंला छिराउने आदि जस्ता क्रिया पर्ने ।
एकै पटकको क्रियामा पीडितको योनि र गुदद्वारलगायत शरीरका अन्य भागमा लिङ्ग दलदाल एवं घर्षण गर्नुको अतिरिक्त लिङ्गसँग सम्बन्धित उपर्युक्त प्रकृतिका अन्य अप्राकृतिक किसिमका क्रियाकलापहरू गरेको अवस्था नै अप्राकृतिक मैथुनको कसुर गरेको मानिन जाने ।
(प्रकरण नं.६)
पुरूष वा महिला नाबालक भनी उल्लेख नगरेबाट दुवै लिङ्गका नाबालकलाई बुझ्नुपर्ने र यस्ता नाबालकउपर गरेको अस्वभाविक यौन क्रियाकलापलाई अप्राकृतिक मैथुनको दर्जामा राखेको पाइने ।
(प्रकरण नं.९)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
मा. जिल्ला न्यायाधीश श्री मोहनराज भट्टराई
पर्वत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा
माननीय न्यायाधीश श्री लोहितचन्द्र शाह
पुनरावेदन अदालत, बागलुङ
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
हाम्रा नाबालिका नातिनी, भतिजी, बहिनी परिवर्तित नाम थर कुश्मा (छ), कुश्मा (ज), कुश्मा (झ) समेत श्री ज्ञानेन्द्र प्रा.वि.मा अध्ययन गर्ने गरेकामा उक्त विद्यालयका शिक्षक प्रतिवादी बमबहादुर खत्री क्षेत्रीले विगतदेखि पटकपटक डर‚ धाक‚ धम्की दिई विद्यालयको लाइब्रेरी कोठामा पालैपालो लगी आफ्नो लिङ्ग समाई खेलाई दिने, मुखमा राखी चुस्न लगाउने र नाबालिकाहरूको शरीर, योनिमा समेत घर्षण गराई वीर्य स्खलन गराउने गरेका तथा मिति २०७२।२।२१ को विद्यालय समयमा पनि निज प्रतिवादीले पीडित नाबालिकाहरू माथि सोही किसिमको दुर्व्यवहार गरेको भन्ने कुरा पीडितहरूले बताई थाहा भएको हुँदा प्रतिवादीलाई मु.ऐ. जबरजस्ती करणी महलको १ नं. तथा ९ नं (क) बमोजिमको कसुरमा सोही महलबमोजिम हदैसम्मको कारबाही गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०७२।२।२५ को परिवर्तित नाम कुश्मा (घ), कुश्मा (ङ) र कुश्मा (च) को जाहेरी दरखास्त ।
पर्वत जिल्ला‚ तिलाहार-९ थामार्जुङ स्थित पूर्व र उत्तरमा सामुदायिक वन, पश्चिममा खड्गबहादुर खत्रीको पाखोबारी र दक्षिणमा सुनबहादुर खत्रीको पाखोबारी यति चार किल्लाभित्र पर्ने श्री ज्ञानेन्द्र प्राथमिक विद्यालयमा ऐ. विद्यालयका शिक्षक बमबहादुर खत्री क्षेत्रीले ऐ. विद्यालयमा अध्ययन गर्ने जाहेरवाली परिवर्तित नाम थर कुश्मा (घ) समेतको नाबालिका बहिनीहरूलाई मिति २०७२।२।२१ को दिन यौन दुर्व्यवहार गरेको भन्नेसमेत बेहोराको मिति २०७२।२।२५ को घटनास्थल मुचुल्का ।
म श्री ज्ञानेन्द प्रा.वि.तिलाहार-९ थामार्जुङमा कक्षा २ मा अध्ययन गर्छु । विद्यालयमा पढाउने शिक्षक प्रतिवादी बमबहादुर खत्री क्षेत्रीले डर त्रास देखाई विगतका विभिन्न दिनहरूमा म तथा परिवर्तित नाम थर जिल्ला ४४ बस्ने कुश्मा (छ), जिल्ला ४४ बस्ने कुश्मा (ज) समेतलाई होमवर्क चेक गर्ने समयमा कक्षामा भएका अन्य केटा साथीहरूलाई बाहिर पठाई म तथा उल्लिखित पीडितहरू समेतको छाती, स्तन, गुप्ताङ्ग छुने चिमोट्ने साथै निजको लिङ्ग खेलाउन लगाउने जस्ता कार्य गर्दै आएका तथा मिति २०७२।२।२१ को दिनसमेत त्यस्तै कार्य गरी हामी नाबालिकामाथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने अपराध गरेको हुँदा प्रतिवादीलाई हदैसम्म कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ को पीडित परिवर्तित नामथर कुश्मा (झ) ले गरेको घटना विवरण कागज ।
म श्री ज्ञानेन्द प्रा.वि. तिलाहार-९ थार्माजुङ्गमा कक्षा ३ मा अध्ययन गर्छु । विद्यालयमा पढाउने शिक्षक प्रतिवादी बमबहादुर खत्री क्षेत्रीले डर त्रास देखाई बिगतका विभिन्न दिनहरूमा म तथा परिवर्तित नाम ४४ कुश्मा (छ), ४४ कुश्मा (झ) समेतलाई गृहकार्य चेक गर्ने समयमा कक्षामा भएका अन्य केटा साथीहरूलाई बाहिर पठाई पालैपालो लाइब्रेरी कोठामा हामीहरूलाई डाकी, लगी म तथा उल्लिखित पीडितहरू समेतको छाती, स्तन, गुप्ताङ्ग छुने चिमोट्ने साथै निजको लिङ्ग खेलाउन लगाउने जस्ता कार्य गर्दै आएका तथा मिति २०७२।२।२१ को दिनसमेत निज प्रतिवादीले मसमेतलाई गृहकार्य चेक गर्न भनी लाइब्रेरी कोठामा बोलाई कोठाको झ्याल बन्द गरी मेरो स्तन, योनि मुसार्ने तथा आफ्नो लिङ्ग निकाली समाती खेलाउन लगाएका हुन् । यसरी हामी नाबालिकाहरू माथि निज प्रतिवादी शिक्षकले डरधाक देखाई यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने अपराध गरेको हुँदा प्रतिवादीलाई हदैसम्म कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ मा पीडित परिवर्तित नामथर कुश्मा (ज) ले गरेको घटना विवरण कागज ।
म श्री ज्ञानेन्द प्रा.वि.तिलाहार ९ थामार्जुङमा कक्षा २ मा अध्ययन गर्छु । विद्यालयमा पढाउने शिक्षक प्रतिवादी बमबहादुर खत्री क्षेत्रीले म कक्षा १ मा पढ्दादेखि नै डर त्रास देखाई लाइब्रेरी कोठामा लगी मेरो छाती, स्तन, योनि समात्ने खेलाउने, आफ्नो लिङ्ग निकाली समात्न, खेलाउन, मुखमा राखी चुस्न लगाउने तथा शरीर, योनिमा लिङ्ग दली वीर्य स्खलन गर्ने जस्ता कार्य गर्दै आएको र त्यस्तै कार्य अन्य पीडितहरू परिवर्तित नाम थर जिल्ला ४४ बस्ने कुश्मा (ज) र जिल्ला ४४ बस्ने कुश्मा (झ) समेतलाई गर्दै आएका तथा मिति २०७२।२।२१ को दिनसमेत त्यस्तै कार्य गरी हामी नाबालिकामाथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने अपराध गरेको हुँदा प्रतिवादीलाई हदैसम्म कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ को पीडित परिवर्तित नामथर कुश्मा (छ) ले गरेको घटना विवरण कागज ।
योनिच्छेद नभएको, योनिबाहिर वीर्य, रौं नभेटिएको, योनिबाहिर घाउचोट नभएको, शारीरिक तथा मानसिक अवस्था सामान्य भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ मा पर्वत जिल्ला अस्पताल, कुश्माको पीडित कुश्मा (छ) को स्वास्थ्य तथा शारीरिक जाँच प्रतिवेदन ।
दाहिने हातमा २ सेमी कोतरिएको घाउ, छातीमा १२.५ सेमीको अप्रेसनको घाउ, योनिच्छेद नभएको, योनिबाहिर वीर्य, रौं नभेटिएको, योनिबाहिर घाउचोट नभएको, शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको भन्नेसमेत बेहोराका मिति २०७२।२।२६ को पर्वत जिल्ला अस्पताल, कुश्माबाट भएको कुश्मा (ज) को स्वास्थ्य तथा शारीरिक जाँच प्रतिवेदन ।
योनिच्छेद नभएको, योनिबाहिर वीर्य, रौं नभेटिएको, योनिबाहिर घाउचोट नभएको, शारीरिक तथा मानसिक अवस्था सामान्य भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ को पर्वत जिल्ला अस्पताल, कुश्माबाट भएको कुश्मा (झ) को स्वास्थ्य तथा शारीरिक जाँच प्रतिवेदन ।
देब्रे छातीको अगाडिको माथिल्लो भागमा ३ वटा कोतरिएको सन्चो हुने अवस्थाको ५ से.मी. को घाउ रहेको, दाहिने पाखुराको अगाडिको भागमा ४१.५ से.मी.को निलडाम भएको, दाहिने पाखुरा उठाउन गाह्रो भएको भन्नेसमेत बेहोराको मिति २०७२।२।२६ को पर्वत जिल्ला अस्पताल, कुश्माबाट भएको प्रतिवादी बमबहादुर खत्री क्षेत्रीको स्वास्थ्य तथा शारीरिक जाँच प्रतिवेदन ।
मैले श्री ज्ञानेन्द्र प्रा.वि. तिलाहार ९ थामार्जुङमा मिति २०४८।१२।२५ देखि पढाउँदै आएको छु । कक्षा २ का विद्यार्थीहरूलाई लाइब्रेरी कोठामा राखी पढाइने गरिएको थियो । परिवर्तित नाम थर कुश्मा (छ), कुश्मा (ज) र कुश्मा (झ) कक्षा २ र ३ मा पढ्ने छात्राहरू भएको र निजहरू पढाइमा पनि कमजोर हुनुका साथै दिएको गृहकार्यसमेत नगर्ने हुँदा मैले निजहरूलाई हातले पिट्ने छाती तथा संवेदनशील भागहरूमा चिमोट्ने गरेको हुँ । गृहकार्य चेक गर्ने क्रममा छात्रहरूलाई कक्षाबाहिर निकाली छात्राहरूलाई मात्र कोठामा राखी छातीलगायत संवेदनशील भागहरूमा चिमोट्ने गर्थें । उक्त विद्यालयमा अध्ययन गर्ने छात्राहरू माथि दुर्व्यवहार भएको विषयमा मिति २०६८।५।७ मा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको बैठक बसी छलफल गरी पुनः दुर्व्यवहार नगर्ने भनी कबुलियतनामा कागज भएको हो । संवेदनशील अंगमा चिमोट्नु मेरो गल्ती हो तर मैले लिङ्ग खेलाउन लगाउने, चुस्न लगाउने जस्ता कार्य गरेको छैन भन्नेसमेत बेहोराको मिति २०७२।२।२८ मा प्रतिवादी बमबहादुर खत्रीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
श्री ज्ञानेन्द्र प्रा.वि.को अध्ययन अध्यापन कार्यका क्रममा शिक्षक श्री बमबहादुर खत्री क्षेत्रीबाट छात्राहरूमाथि दुर्व्यवहार भएको भन्ने कुरा कार्यालयमा सुनुवाइ हुन आएकोले विद्यालय स्टाफ र छात्रहरूको रोहबरमा अबदेखि निज बमबहादुरलगायत अन्य शिक्षकले त्यस्ता गल्ती दोहोर्याउने छैन भन्नेसमेत बेहोराको मिति २०६८।५।७ को कबुलियतनामा कागज ।
म जिल्ला पर्वत तिलाहार-९ स्थित श्री ज्ञानेन्द्र प्रा. वि. मा ई.सि.डि.को कोटामा सहजकर्ताको रूपमा एक कक्षासम्म अध्यापन गर्ने गर्छु । मिति २०७२।२।२० का दिन १६.०० बजेतिर कक्षा २ का छात्रा दिया वि.क. तथा पीडितहरू कुश्मा (छ) र (ज) ले प्रधानाध्यापक टेकबहादुर भुवाजी, कार्यालय सहयोगी गंगा खत्री र मसमेतलाई भेटी प्रतिवादी शिक्षक बमबहादुर खत्रीले आफूलाई छाती, पेट, साँप्रामा चिमोट्ने, पिट्ने गरेको कुरा बताएका हुँदा उक्त दिन स्कुल बन्द हुने समय भइसकेकोले सो विषयमा पछि छलफल गरौंला भनी गएको र ऐ. २१ गतेसमेत पीडितहरू कुश्मा (छ), (ज) र (झ) ले पुनः प्रतिवादी शिक्षकले आफूहरूलाई त्यस्तै व्यवहार गरेको कुरा कार्यालय सहयोगी गंगा खत्रीलाई भनी निजले मलाई बताएकी हुन् । सो विषयमा ऐ.२३ गते बिहान विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसी छलफल हुँदा पीडितहरूलाई निज प्रतिवादीले आफ्नो लिङ्गसमेत चुसाउने गरेको कुरा अभिभावकहरूबाट थाहा भएको र निज प्रतिवादीले २०६८ सालमा समेत विद्यालयका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेकोले कबुलियतनामा कागज गरेको थाहा भएको र छलफलमा निज प्रतिवादीले आफूले गल्ती गरेको हुँदा राजीनामा जाने बताएका हुन् । त्यसरी कलिला छात्राहरू माथि यौन दुर्व्यवहार गर्ने निज प्रतिवादी शिक्षकमाथि कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।३२ मा बुझिएकी शिक्षिका अमृता लामिछानेले गरेको घटना विवरण कागज ।
मिति २०७२।२।२१ को दिन म आफूले अध्यापन गराउने विद्यालय श्री ज्ञानेन्द्र प्रा.वि. तिलाहार ९ मा गई अध्यापन गराई फर्किएको र ऐ. २२ गते पनि म विद्यालयमा जान भनी जाँदै गर्दा प्रतिवादी शिक्षक बमबहादुर क्षेत्रीले विद्यालयमा छात्राहरू माथि यौन दुर्व्यवहार गर्छन् रे भनी बाटोमा स्थानीयले आपसमा कुराकानी गरेको सुनी घटना थाहा पाएको हुँ । सो घटना सम्बन्धमा ऐ.२३ को दिन विद्यालयमा शिक्षक अभिभावकको बैठक बस्दा छलफल हुन नसकी प्रहरीमा उजुरी पर्न आएको हो । प्रतिवादीले छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भए कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।३२ को बुझिएका शिक्षक कमल नेपालीले गरेको कागज ।
मिति २०७२।२।२० को दिन विद्यालय सकिएपछि विद्यार्थीहरूलाई घर पठाउन लाइन लगाउने क्रममा छात्रा दिया वि.क.ले बमबहादुर खत्री सरले मसमेतलाई नराम्रो व्यवहार गर्नुहुन्छ । विद्यालयबाट निकाल्नुपर्छ भनेको र ऐ. २१ गतेका दिनमा पनि निजले सोही कुरा दोहोर्याएको हुँदा ऐ.२३ गतेका दिन विद्यालयमा शिक्षक अभिभावक बैठक बसी छलफल हुँदा निज प्रतिवादीले आफूले छात्राहरू कुश्मा (छ), कुश्मा (ज), कुश्मा (झ) माथि दुर्व्यवहार गरेकोमा क्षमा मागी राजीनामा दिन्छु भनेका हुन् । निज प्रतिवादीले पहिला पनि छात्राहरू माथि दुर्व्यवहार गरेकोमा पुनः त्यस्ता गल्ती नदोहोर्याउने भनी मिति २०६८।५।७ मा कबुलियतनामा कागजसमेत भएको हो । प्रतिवादीउपर कसुरअनुसारको कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।२।३२ मा बुझिएकी गंगाकुमारी के.सी.ले गरेको कागज ।
प्रतिवादी शिक्षक बमबहादुर खत्रीले २०६८ सालमा पनि छात्राहरू माथि दुर्व्यवहार गरेको विषयमा विद्यालयमा छलफल भई माफी मागी पुनः गल्ती नदोहोर्याउने सर्तमा कबुलियतनामा कागज भएकोमा निजले पुनः छात्राहरू माथि दुर्व्यवहार गरेको भनी मिति २०७२।२।२० मा कक्षा २ की छात्रा दिया वि.क.बाट जानकारी हुन आएको, ऐ. २१ गते भतिजाको बिहे परेकोले म विद्यालयमा छुट्टी बसेकोमा ऐ. २२ गते बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेरो घरमा आई केही विद्यार्थीहरू विद्यालय
आएनन् । अभिभावकसँग गई बुझ्नु भनेको हुँदा म दिया वि.क.,रोशिका बस्नेतसमेतको घरमा गई बुझ्दा शिक्षक बमबहादुर खत्रीले विद्यालयमा बालबच्चाहरू माथि दुर्व्यवहार गर्दा रहेछन्, बच्चाहरू डराएर विद्यालय जान मानेका छैनन् भनेका ऐ. २३ गते विद्यालयमा बैठक राख्ने सल्लाह भई अभिभावकहरूलाई पत्र काटी डाकी सो विषयमा छलफल हुँदा प्रतिवादी शिक्षकले आफ्नो गल्ती स्वीकार गरी माफी मागी राजीनामा जान्छु भनेका हुन् । प्रतिवादीले गरेको कसुरको बारेमा मलाई पीडित विद्यार्थीहरू तथा अभिभावकहरूबाट जानकारी हुन आएको हुँदा प्रतिवादीउपर कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।१ मा बुझिएका शिक्षक प्र.अ. टेकबहादुर भुवाजीले गरेको कागज ।
मिति २०७२।२।२१ का दिन म विद्यालयबाट तालिमको लागि कुश्मा स्थित स्रोत केन्द्र शिवालयमा आई ऐ.२२ गते घर फर्कने क्रममा प्र.अ. टेकबहादुर भुवाजीले फोन गरी बमबहादुर सरले विद्यालयमा छात्रहरूमाथि दुर्व्यवहार गरेको भन्ने विद्यार्थी अभिभावकको उजुरी छ । २३ गते बिहान विद्यालयमा बैठक छ भनी जानकारी गराएको हुँदा सो दिन विद्यालयमा शिक्षक अभिभावकको बैठक बसी छलफल हुँदा अभिभावकहरू आक्रोशित भई छलफल हुन नसकेको हो । प्रतिवादीले विद्यार्थीलाई दिएको गृहकार्य नगरेकोमा सजाय दिएको हुनुपर्छ । निज प्रतिवादीले २०६८ सालमा पनि विद्यार्थीहरू माथि कुटपिट दुर्व्यवहार गरेकोले विद्यालयमा कबुलियतनामा कागज गराएकोमा पुनः गल्ती नदोहोर्याएका हुँदा नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुनका घटना घटाएको भए कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।१ मा बुझिएका शिक्षक धनबहादुर खत्रीले गरेको कागज ।
मिति २०७२।२।२१ मा परिवर्तित नामथर कुश्मा (ट) ले मलाई फोन गरी प्रतिवादी शिक्षकले छोरीहरू माथि यौन दुर्व्यवहार गर्ने गर्दा रहेछन् भनी बताउनुभएकोले मैले पीडितहरू कुश्मा (छ), (ज), (झ) लाई भेटी सोधपुछ गर्दा आफूहरूलाई प्रतिवादी शिक्षकले विद्यालयको लाइब्रेरी कोठामा पालैपालो बोलाई स्तन माड्ने, योनि चलाई दिने, आफ्नो लिङ्ग निकाली खेलाउन, चुस्न लगाउने, योनिमा घर्षण गराई वीर्य स्खलन गराउने गर्छन् भनी बताएका र सो घटनाबारे विद्यालयमा बुझ्दा निज प्रतिवादीले उक्त वारदातका दिन तथा सोभन्दा पहिला पनि पीडितहरू माथि त्यस्ता कार्य गर्दै आइरहेको, सो विषयमा विद्यालयमा बैठक बसी कुराकानी हुँदा प्रतिवादीले आफूले गल्ती गरेको हुँदा राजीनामामा जान्छु भनेको, निज प्रतिवादीले पहिला पनि छात्राहरू माथि त्यस्तै कार्य गरेको हुँदा मिति २०६८ सालमा विद्यालयमा कबुलियतनामा कागजसमेत गरी छाडेको भन्ने बुझिएको र उक्त २१ गते वारदातका दिन प्रतिवादीले कक्षा २ का विद्यार्थीको हाजिर नगरेको भन्नेसमेत सुनेको हुँ । शिक्षक भएर विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।२ मा बुझिएका मानबहादुर क्षेत्रीले गरेको कागज ।
मिति २०७२।२।२१ को साँझ पीडितहरू कुश्मा (छ), (ज), (झ) लाई प्रतिवादी शिक्षक बमबहादुर खत्रीले विद्यालयमा यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्छन् भन्ने कुरा जाहेरवालाहरूबाट सुनी थाहा पाई मेरो छोरी दिया भन्ने दिक्षा वि.क.लाई सोध्दा निज प्रतिवादीले गृहकार्य नगरेको भन्ने बहानामा छाती समात्ने, साँप्रामा हान्ने चिमोट्ने गर्छन् भनी बताएको र पीडितहरूसँग समेत बुझ्दा निज प्रतिवादीले पीडितहरूलाई पालैपालो लाइब्रेरी कोठामा बोलाई स्तन, यौनाङ्ग चलाई आफ्नो लिङ्ग चुस्न लगाउने, योनिमा लिङ्ग घर्षण गराउने, कुश्मा (झ) को योनिमा लिङ्ग घर्षण गराई वीर्य स्खलन गराएको कुरा थाहा भएको हो । सो विषयमा विद्यालयमा शिक्षक अभिभावकबीच छलफल हुँदा निज प्रतिवादीले आफूले गल्ती गरेको हुँदा माफी पाउँ भनी राजीनामा दिन्छु भनेका र २०६८ सालमा पनि छात्राहरू माथि दुर्व्यवहार गरेकोले कबुलियतनामा कागज भएको भन्ने बैठकमा सुनेको हुँ । त्यसरी नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादी शिक्षकउपर कानूनबमोजिम कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।२ मा बुझिएका गिता वि.क.ले गरेको कागज ।
म श्री ज्ञानेन्द्र प्रा.वि.मा मिति २०७१।१।२१ गतेदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कार्यरत रहँदै आएको छु । प्रतिवादी शिक्षक बमबहादुर खत्रीले विद्यालयका छात्राहरू माथि नराम्रो व्यवहार गर्ने गरेकोले अभिभावकले विद्यार्थीलाई पढ्न नपठाउने भनेका छन् रे बुझ्न जाउँ भनी मिति २०७२।२।२२ को बिहान प्र.अ. टेकबहादुर भुवाजीको घरमा गई जानकारी गराई छात्रा रोशिका बस्नेतको घरमा गई बुझ्दा निज प्रतिवादीले पहिलादेखि नै छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आएको कुरा खुलेको र पीडितहरू कुश्मा (छ),(ज),(झ) ले समेत आफूहरूलाई प्रतिवादी सरले लिङ्ग खेलाउन चुस्न लगाउने, स्तन चिमोट्ने, गुप्ताङ्ग चलाउने जस्ता कार्य गर्ने गरेको बताएका हुँदा ऐ.२३ गते बिहान विद्यालयमा शिक्षक अभिभावक बैठक बसी छलफल हुँदा प्रतिवादी शिक्षक बमबहादुर खत्रीले आफ्नो कसुर स्वीकार गरी माफी मागी राजीनामा दिने भनेका हुन् । निज प्रतिवादीले २०६८ सालमा पनि छात्राहरू माथि यौन दुर्व्यवहार गरेको हुँदा कबुलियतनामा कागज भएको भन्ने सुनेको छु । शिक्षक भएर नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम हदैसम्म सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।२ मा बुझिएका श्री ज्ञानेन्द्र प्रा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रसाद भट्टराईले गरेको कागज ।
मिति २०७२।२।२१ मा मेरी छोरी परिवर्तित नामथर कुश्मा (छ) विद्यालय गएर घरमा आउँदा नबोलेकी र ऐ. बेलुकी अ ५:३० बजेतिर विना वि.क. सँग भेट हुँदा निजले प्रतिवादी बमबहादुर सरले विद्यालयमा परिवर्तित नामथर कुश्मा (छ),(ज), (झ) को स्तन, गुप्ताङ्ग चिमोट्ने, लिङ्ग खेलाउन लगाउने चुस्न लगाउने गर्छन् रे भनी बताएपछि छोरीलाई फकाई फुलाई सोधपुछ गर्दा निजले रूँदै आफू तथा उल्लिखित अन्य पीडितहरू माथि डर धाक देखाई यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने गरेको बताएकी हुन् । सो विषयमा ऐ.२३ गते विद्यालयमा बैठक हुँदा प्रतिवादीले आफूले गल्ती गरेको भनी माफी मागी राजीनामा मागेका थिए । निजले २०६८ सालमा पनि छात्राहरू माथि यौन दुर्व्यवहार गरेका कारण कबुलियतनामा कागज भएको रहेछ । यसरी विद्यालयमा अध्ययन गर्न गएका नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।२ मा परिवर्तित नामथर कुश्मा (ट) ले गरेको कागज ।
मिति २०७२।२।२१ मा पीडितहरू परिवर्तित नाम थर कुश्मा (छ),(ज),(झ) तथा अन्य छात्राहरू ................................ समेतले विद्यालयमा बमबहादुर खत्री सरले आफूहरूको स्तन, गुप्ताङ्ग चिमोट्ने निजको लिङ्ग खेलाउन, चुस्न लगाउने गरेको कुरा बताएका हुन् । निज प्रतिवादीले २०६८ सालमा पनि विद्यालयमा छात्राहरू माथि दुर्व्यवहार गरेको कारण कबुलियतनामा कागज भएको हो । त्यसरी नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादी माथि कानूनबमोजिम कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।५ मा बुझिएका रामकृष्ण सुनारले गरेको कागज ।
मिति २०७२।२।२१ को बेलुकी गिता वि.क. मेरो घरमा आई विद्यालयमा बमबहादुर सरले छोरीहरू माथि दुर्व्यवहार गर्छन् रे तपाइँको छोरीसँग पनि बुझ्नु न भनेकी हुँदा मैले छोरी रेजिना वि.क. सँग बुझ्दा निज प्रतिवादीले कक्षामा पढ्ने छात्राहरूलाई पालैपालो बोलाई लिङ्ग खेलाउन, चुस्न लगाउने, योनि खेलाइदिने, स्तन चिमोट्ने गरेको कुरा बताएकी र वारदातका दिनमा निज प्रतिवादीले परिवर्तित नाम थर कुश्मा (छ), (ज), (झ) लाई लाइब्रेरी कोठामा पालैपालो बोलाई उल्लिखित किसिमको कार्य गरेको कुरा छोरीबाट थाहा भएको हो । सो विषयमा ऐ.२३ गते विद्यालयमा बैठक हुँदा प्रतिवादीले आफूले गल्ती गरेको भनी माफी मागी राजीनामा दिने भनेका थिए । निजले २०६८ सालमा पनि छात्राहरू माथि यौन दुर्व्यवहार गरेको कारण कबुलियतनामा कागज भएको रहेछ । यसरी विद्यालयमा अध्ययन गर्न गएका नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।६ मा बुझिएका विनाकुमारी वि.क.ले गरेको कागज ।
प्रतिवादी शिक्षक बमबहादुर खत्रीले विद्यालयमा मेरो भतिजी नाता पर्ने परिवर्तित नाम थर कुश्मा (छ) समेतलाई यौन दुर्व्यवहार गर्छन् रे भन्ने कुरा मिति २०७२।२।२२ मा थाहा पाई पीडित भतिजीसँग बुझ्दा ऐ.२१ गते तथा सोपूर्वका दिनहरूमा समेत निज प्रतिवादीले विद्यालयको लाइब्रेरी कोठामा पीडितहरूलाई पालैपालो बोलाई छाती, गुप्ताङ्ग चिमोट्ने, चलाई दिने, आफ्नो लिङ्ग पीडितहरूको हातले खेलाउन लगाउने, मुखले चुस्न लगाउने, योनिमा घर्षण गरी वीर्य स्खलन गर्ने जस्ता कार्य गरेको थाहा भएको हो । नाबालिकाहरू माथि त्यसरी यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।३।६ मा बुझिएकी चन्द्रा क्षेत्रीले गरेको कागज ।
प्रतिवादी शिक्षक बमबहादुर खत्रीले विद्यालयमा छात्राहरू माथि दुर्व्यवहार गर्ने गरेको कुरा मिति २०७२।२।२० मा ज्ञानेन्द्र प्रा.वि. तिलाहारमा अध्ययन गर्ने छात्रा दिया भन्ने दिक्षा वि.क.ले बताएकी र ऐ.२१ गते वारदातका दिनमा पीडितहरू परिवर्तित नाम थर कुश्मा (छ),(ज),(झ) लाई निज प्रतिवादीले आफ्नो लिङ्ग खेलाउन, चुस्न लगाउने, पीडितहरूको छाती, योनि चिमोट्ने, खेलाई दिने, योनिमा लिङ्ग घर्षण गरी वीर्य स्खलन गरेको कुरा जाहेरवाला तथा पीडितहरू समेतले बताएकाले थाहा भएको हो । सो विषयमा ऐ.२३ गते विद्यालयमा बैठक हुँदा प्रतिवादीले आफूले गल्ती गरेको भनी माफी मागी गोजीबाट राजीनामा निकाली टेवलमा राखेका थिए । निजले २०६८ सालमा पनि छात्राहरू माथि यौन दुर्व्यवहार गरेको कारण कबुलियतनामा कागज भएको रहेछ । यसरी विद्यालयमा अध्ययन गर्न गएका नाबालिका छात्राहरू माथि यौन दुर्व्यवहार तथा अप्राकृतिक मैथुन र जबरजस्ती करणी गर्ने निज प्रतिवादीउपर कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको नन्दकली नेपाली, विष्णु नेपाली र तेजबहादुर सुनारसमेत जना ३ ले मिति २०७२।३।१० मा गरेको वस्तुस्थिति मुचुल्का ।
विद्यालयमा पढ्ने छात्रालाई कुटपिट गरेको विषयमा मिति २०६८।५।७ मा गरिएको कबुलियतनामा कागजमा भएको मेरो नामको दस्तखत मेरो हो । मैले पहिलो पिरियड कक्षा २ मा पढाउँछु । वारदात मिति २०७२।२।२१ मा कक्षा १ मा हाजिरी गराएँ । कक्षा २ मा हाजिर गराउन बिर्सिएँ । मैले विद्यार्थीलाई दुर्व्यवहार गरेको कुरा आएपछि गल्ती स्वीकारी माफ मागी राजीनामा दिन्छु भनेको हुँ भन्नेसमेत बेहोराको मिति २०७२।३।१४ को प्रतिवादी बमबहादुर खत्रीको ततिम्बा बयान ।
मिति २०७२।२।२१ मा मेरो कक्षामा म, दिया वि.क., विन्दिया वि.क., परिवर्तित नाम कुश्मा (झ) समेत गएका थियौं । सो दिन पहिलो पिरियड पढाउन आएका प्रतिवादीले हाजिरी किताब ल्याई हाजिरी रोल नं. अनुसार हाम्रो नाम बोलाएकोमा निजले हाजिरीमा हाम्रो हाजिर गरे गरेनन् मलाई थाहा भएन । हाजिरी रोलक्रम बोलाएपछि निजले अरूलाई बाहिर पठाई निजले आफ्नो लिङ्ग मलाई मुखले चुस्न लगाई सो लिङ्ग मेरो योनिमा दल्दा घोट्दा मलाई दुखेकोले म रोएपछि निजले मलाई छोडेको हो भन्नेसमेत बेहोराको पीडित कुश्मा (छ) को पूरक कागज ।
मिति २०७२।२।२१ को बिहानको खाना खाई मेरो नातिनी परिवर्तित नाम कुश्मा (ज) विद्यालय गएकोमा विद्यालयबाट घर आउँदा निजको दाहिने हातमा कोतरिएको देखी के भयो भनी सोध्दा प्रतिवादीले मेरी नातिनीलाई एक्लै कक्षामा राखी आफ्नो लिङ्ग नातिनीलाई खेलाउन लगाई नातिनीको योनिमा लिङ्ग घर्षण गरेको र सो घर्षणको पीडा खप्न नसकी प्रतिकार गर्न खोज्दा कोठाको भित्तामा ठोक्किन गई कोतरिई चोट लागेको तथा प्रतिवादीले सोपूर्वका दिनहरूमा पनि बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको कुरा नातिनीले बताएकोले सुनी थाहा पाएको हुँ, भन्ने परिवर्तित नाम कुश्मा (ठ) को मिति २०७२।३।१४ को कागज ।
मिति २०७२।२।२१ मा श्री ज्ञानेन्द्र प्राथमिक विद्यालयमा म, परिवर्तित नामथर जिल्ला ४४ बस्ने कुश्मा (छ), (ज) र (झ) समेत गई बिहानको प्रार्थना सामेली भई आ-आफ्नो कक्षा कोठामा गई अध्ययन गर्ने क्रममा सोही विद्यालयका शिक्षक बमबहादुर खत्रीले कापी चेक गर्ने क्रममा कक्षा कोठामा अध्ययन गर्ने केटाहरूलाई बाहिर खेल्न पठाई मसमेतलाई सो कोठामा राखी आफ्नो लिङ्ग खेलाउन लगाई, मेरो छातिमा, गुप्ताङ्गमा समातेका थिए । सो वारदात मितिमा प्रतिवादीले कक्षा कोठामा पीडितहरू कुश्मा (छ), (ज) र (झ) समेतलाई राखी निजको लिङ्ग समाउन, खेलाउन लगाउने, पीडितहरूको छाती, स्तन समात्ने, आफ्नो लिङ्ग पीडितहरूको योनिमा राख्ने गरेको कुरा पीडितहरूले वारदातको मितिमा घर फर्कने क्रममा बताएर थाहा पाएकी हुम भन्नेसमेत बेहोराको मिति २०७२।०३।१५ मा बुझिएकी रेजिना सुनारले गरेको कागज ।
मिति २०७२।२।२१ मा म श्री ज्ञानेन्द्र प्राथमिक विद्यालयमा पढ्न गएकोमा सो दिन मेरो कक्षामा म, दिया वि.क.,परिवर्तित नाम कुश्मा (छ) र (झ) समेत भएकोमा सो दिन पहिलो पिरियडमा प्रतिवादी बमबहादुर खत्री सर आउनु भई हामीहरूको हाजिरी रोलक्रमअनुसार बोलाउनु भएकोमा हाम्रो हाजिरी निजले हाजिरी पुस्तिकामा जनाए जनाएनन् थाहा भएन, हाजिरी नाम बोलाइसकेपछि निजले मसमेतलाई बाहिर पठाई कुश्मा (छ) लाई कक्षाकोठामा राखेकोमा निजलाई के गरे मलाई थाहा भएन । केही समयपश्चात् प्रतिवादीले मेरो कपी जाँच्न भनी मलाई बोलाई भित्र जाँदा निजले मेरो छातीमा समाई साँप्रामा चिमोटी मलाई बाहिर पठाएका हुन् । सो दिन प्रतिवादीले पीडितहरूलाई कक्षा कोठामा पालोपालो बोलाई निजको लिङ्ग समाई मुखले चुस्न लगाई, आफ्नो लिङ्ग पीडितहरूको योनिमा जोडी सेतो चिप्लो तरल पदार्थ निकालेको र सो कार्य प्रतिवादीले वारदातपूर्वका दिनहरूमा पनि पटकपटक गर्ने गरेको कुरा पीडितरूले वारदातको मितिमा घर फर्कने क्रममा बताएर थाहा पाएकी हुँ । निजलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको मिति २०७२।०३।१५ मा बुझिएकी विन्दिया वि.क.ले गरेको कागज ।
मिति २०७२।२।२१ मा म आफ्नो विद्यालयमा पढ्न गएको थिएँ । सो दिन मेरो कक्षामा म, दिया वि.क.,परिवर्तित नाम कुश्मा (झ) र विन्दिया सुनारसमेत थियौं । सो दिन पहिलो पिरियड पढाउन प्रतिवादी बमबहादुर खत्री आउनु भई हाजिरी रोलक्रमअनुसार नाम बताइसकेपछि निजले गृहकार्य चेक गर्ने भनी अरूलाई बाहिर पठाई मलाई कक्षाकोठामा राखी निज कुर्चीमा बसी निजको लिङ्ग निकाली मलाई चलाउन मुखले चुस्न लगाई चुसाई मलाई निजैको अगाडि उभ्याई मेरो पिसाब घर निजले चलाई पुनः निजको लिङ्ग मेरो योनिमा जोडी दल्दा मलाई दुखेकोले मैले प्रतिकार गर्दा मेरो हातको नङले निजको छातीमा कोतारिनुको साथै म जबरजस्ती निजबाट फुत्किँदा उछिट्टिई भित्तामा मेरो दाहिने हात धसारिँदा सो हातमा ददारेको कोतारेको हो । प्रतिवादीले सो दिन अन्य पीडितहरूलाई पनि मलाई जस्तै नराम्रो व्यवहार गरेको कुरा पीडितहरूले विद्यालयबाट घर फर्कने बेलामा मलाई बताएको हो । निजले वारदातका दिन तथा पटकपटक मसमेतलाई अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने मिति २०७२।०३।१५ मा परिवर्तित नामथर जिल्ला ४४ बस्ने कुश्मा (ज) ले गरेको कागज ।
प्रतिवादी बमबहादुर खत्रीले आफूले पढाउने गरेको श्री ज्ञानेन्द्र प्रा.वि. तिलाहार पर्वतका छात्राहरूउपर विगत समयमा पनि यौनजन्य दुर्व्यवहारसमेत गर्दै आएका वारदात मिति २०७२।२।२१ का दिन एवं सोअघिका दिनहरूमा समेत कक्षा २ र ३ मा अध्ययन गर्ने पीडित छात्राहरू परिवर्तित नामथर वर्ष ६ की कुश्मा (छ), वर्ष ९ की कुश्मा (ज) र वर्ष ६ की कुश्मा (झ) समेतलाई डरधाक धम्की, अनुचित प्रभाव, झुक्यानमा पारी विद्यालय समयमा विद्यालय कक्षा कोठाभित्र राखी जबरजस्ती करणी र अप्राकृतिक मैथुन गरेकोले निज प्रतिवादी बमबहादुर खत्रीको उल्लिखित कार्य मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं विपरीत ३(१) र ९क.नं अनुसारको कसुर अपराध भएको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(१) नं. बमोजिम सजाय गरी ऐ. महलको ९क नं. बमोजिम थप सजाय हुन र पीडितहरू कुश्मा (छ), कुश्मा (ज) र कुश्मा (झ) समेतलाई सोही महलको ९क, १०, १०ग. नं बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ । प्रतिवादीको अंश भागसमेत सोही महलको १०ग नं. बमोजिम रोक्का गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
अभिभावकहरूले रिसइवीका कारण जाहेरी दिएका हुन् । वारदात भएको भनिएको दिन विद्यार्थीहरू कक्षा २ मा एकजना पनि उपस्थित थिएनन् । जाहेरीमा भनेजस्तो गर्न स्कुलमा सम्भव छैन, मेरो नातिनी जस्तै बालबालिकालाई यस्तो कार्य गर्न महापाप
हुन्छ । विद्यार्थीलाई यस्तो व्यवहार गर्यो भन्ने जाहेरी झुट्टा ठहर्छ । रिसइवीका कारण जाहेरी परेको हो । मेरो चरित्र हत्या गर्नका लागि जाहेरी दिएका हुन् । मेरो कुनै गल्ती छैन । प्रहरीले जबरजस्ती मुचुल्का खडा गरेको हो । छोरीको विवाहमा दलितलाई निम्ता नगरेको रिसइवीसमेत साँधेका हुन् । अभिभावकले सिकाएर विद्यार्थीले त्यस्तो झुट्टा बेहोरा लेखाएका हुन् । मैले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी बमबहादुर खत्रीले सुरू अदालतमा गरको बयान ।
होमर्वक चेक गराउन जाँदा बमबहादुर सरले मेरो दूध छाम्ने आफ्नो फोहोरी कुरामा मेरो हात लैजानुहुन्थ्यो । यस्तो गरेको भनिस् भने पुलिसले लान्छन् भन्नुहुन्थ्यो । फोहोरी कुराबाट सेतो सेतो के हो झार्नुहुन्थ्यो । यस्तो कार्य गरेको टेकबहादुर सरलाई भने त्यसपछि टेकबहादुर सरले गंगा मिसलाई भन्नुभयो, मैले साथीहरूलाई पनि भने भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कुश्मा (ज) ले यस अदालतमा अभिभावक कुश्मा (ङ) को रोहबरमा गरेको बकपत्र ।
बमबहादुर सरले आफ्नो फोहोरी कुरा मेरो फोहोरी कुरामा जोडनु हुन्थ्यो । कसैलाई नभन् भनिस् भने पुलिसले लैजान्छ भन्नुहुन्थ्यो । आफ्नो फोहोरी कुरा खेलाउन लगाउनुहुन्थ्यो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कुश्मा (छ) ले सुरू अदालतमा गरेको बकपत्र ।
मलाई स्कुलमा बमबहादुर सरले पढाउँदा फोहोर कुरा गर्नुहुन्थ्यो, फोहोर कुरा छाम्न लगाउनुहुन्थ्यो । आफ्नो फोहोर कुरामा हात लैदिनु हुन्थ्यो र दुध-दुधमा समाउनु हुन्थ्यो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कुश्मा (झ) ले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मितिमा उक्त विद्यालयमा त्यस्तो जबरजस्ती करणी र अप्राकृतिक मैथुन गर्ने वातावरण थिएन । प्रतिवादी बमबहादुरको आनीबानी राम्रो थियो । जबरजस्ती करणी र अप्राकृतिक मैथुन गर्ने जस्तो कार्य यी प्रतिवादीले गरेको भन्ने मलाई लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी भिमबहादुर के.सीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीको समाजमा आनीबानी राम्रो
थियो । पहिला केही कुरा सुनिन । पछि स्कुलमा जम्मा भई छलफल भएको थियो । प्रतिवादीले मैले गरेको होइन भन्नु भयो अरूले प्रतिवादीलाई दोष लगाए भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी मानबहादुर खत्रीले सुरू अदालतमा गरेको बकपत्र ।
कामदार र विद्यार्थीहरू समेत भएको अवस्थामा त्यस्तो कार्य गर्न मिल्दैन । तहाँ त्यस्तो वातावरण थिएन । प्रतिवादीउपर लगाइएको अभियोग सरासर झुट्टा हो । उहाँले जाँड रक्सीसमेत खानु हुन्न र यौन शोषण र दुर्व्यवहार गर्ने स्वभावका व्यक्ति
होइनन । प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सिता अखेलीले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो बहिनीलाई मैले सोध्दाखेरी मेरो बहिनीले प्रतिवादीले आफ्नो मुखमा लिङ्ग चुसाउन लगाउनुहुन्थ्यो । आफ्नो लिङ्ग हातमा समाउन लगाउने, डर धम्की देखाएर घरमा कसैलाई भन्न हुन्न भन्ने गर्नुहुँदो रहेछ । बहिनीले उक्त कुरा भनेर थाहा पाएको हुँ । पीडितहरूले भनेअनुसार सोभन्दा पहिला पनि गर्ने गर्नुहुन्थ्यो । केटालाई टवाइलेट जा भनेर पठाउने र त्यस्तो क्रियाकलाप गर्नुहुँदो रहेछ भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम कुश्मा (घ) ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बमबहादुर एउटा अनुशासित शिक्षक थिए । निजले महिलामाथि यौन दुर्व्यवहार गर्ने जस्ता घृणित कार्य गर्दैनथे । यी प्रतिवादीलाई झुट्टा आरोप लगाइएको हो । प्रतिवादीले नाबालिकाहरूलाई अप्राकृतिक मैथुन, जबरजस्ती करणी गर्ने काम नगरेको हुँदा घरायसी रिसइवीका कारण झुट्टा आरोप लगाएको देखिन्छ । वनसम्बन्धी विषयमा आन्तरिक रिसइवी थियो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी नरबहादुर भुवाजीले सुरू अदालतमा गरेको बकपत्र ।
अनुसन्धानमा गरेको कागज बेहोरा, सहिछाप मेरो हो । पीडित ................लाई सोध्दा आफूलाई बमबहादुर सरले लाइब्रेरी कोठामा लगेर गुप्ताङ्ग खेलाउने गर्नुहुन्थ्यो । घिउ जस्तो चिज निकाल्नुहुन्थ्यो भन्थी । प्रतिवादीलाई सजाय त हुनैपर्छ भन्नेसमेत बेहोराको वादीका साक्षी चन्द्र क्षेत्रीले यस अदालतमा गरेको बकपत्र ।
बच्चाहरूलाई प्रतिवादी बमबहादुरले लाइब्रेरीको कोठामा बोलाएर चेन खोल्ने, लिङ्ग बाहिर निकाल्ने, छाम भन्ने काखमा राख्ने गरेको कुरा स्कुलमा पढ्ने ................ले घरमा आइ भने पछि थाहा भएको हो । उक्त मितिभन्दा पहिला पनि यस्तो कार्य गरेको थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी नन्दकली नेपालीले सुरू अदालतमा गरेको बकपत्र ।
छोरीले सरले घिउजस्तो पदार्थ निकाल्नु भयो भनेपछि मैले विश्वास गरेकी हुँ । बमबहादुर सरले काखमा राख्ने, लिङ्ग खेलाउन लगाउने, नानीको पिसाब फेर्नेमा औंला राखेर नानीका पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्ने राखेर घिउ जस्तो पदार्थ निकाल्ने गर्नुहुन्छ भन्थी । हामीले देखेको होइन छोरीले भनेको आधारमा भनेको हो भन्नेसमेत बेहोराको वादीका साक्षी परिवर्तित नाम कुश्मा (ट) ले सुरू अदालतमा गरेको बकपत्र ।
हामीले नातिनीलाई स्कुल पठाएको हो, सरले कोठामा तानी तानी दुध खेलाउनी, होमर्वक लिएर जाँदा खेरी पिसाब फेर्ने खेलाउन लगाउने, आदि गर्नुहुँदो रहेछ । मैले नातिनीले भनेर उक्त कुरा थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम कुश्मा (ङ) ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले बच्चाहरूलाई एकएक गरी बोलाई बालकहरूलाई बाहिर जाउ भनी बालिकाहरूलाई आफ्नो लिङ्ग खेलाउन लगाउने, चुसाउने जस्ता कार्य गरेको भनी बच्चाहरूले भनेपश्चात् थाहा भएको भन्नेसमेत बेहोराको जाहेरवाल परिवर्तित नाम कुश्मा (च) ले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७२।२।२१ मा विद्यालयमा यी पीडित भनिएका बच्चीहरू नै नआएका हुँदा जबरजस्ती करणी र यौन दुर्व्यवहार गर्ने कुरा भएन भन्नेसमेत बेहोराको वादीका साक्षी अमृता लामिछानेले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बमबहादुर सरले बच्चाहरूलाई आफ्नो लिङ्ग चुसाउन लगाउने गर्नुहुँदो रहेछ । हामीले देखेको होइन । बमबहादुर सरले फोहोरी कुरा खेलाउन दिनुहुन्छ । घिउ झार्नुहुन्छ भन्थे बच्चाहरूले भन्नेसमेत बेहोराको वादीका साक्षी विष्णु नेपालीले सुरू अदालतमा गरेको बकपत्र ।
हामीलाई बच्चाले भनेर थाहा पाएको हो । बच्चाहरूले भनेअनुसार बमबहादुर सरले लाइब्रेरीमा लैजाने चिमोटने, लिङ्ग समाउन भन्ने जस्ता कुराहरू गर्नुहुन्थ्यो भन्थे भन्नेसमेत बेहोराको वादीका साक्षी मानबहादुर क्षेत्रीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले पहिला पनि त्यस्तो काम गर्ने गर्दथे मैले सो कुरा बच्चाबाट सुनेको हुँ । निज दोषी छन्, अपराध गरेका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी तेजबहादुर सुनारले सुरू अदालतमा गरेको बकपत्र ।
उल्लेख गरेजस्तो क्रियाकलाप केही पनि देखिएन, त्यस्तो क्रियाकलाप हुन सक्छ जस्तो लाग्दैन भन्नेसमेत बेहोराको वादीका साक्षी गंगाकुमारी के.सीले सुरू अदालतमा गरेको बकपत्र।
म त्यो दिन बिदामा रहेको छु, त्यसकारण यो बारेमा मलाई थाहा छैन भन्नेसमेत बेहोराको वादीका साक्षी टेकबहादुर भुवाजीले सुरू अदालतमा गरेको बकपत्र ।
म तालिममा थिएँ यस विषयमा थाहा भएन अरू प्रमाण बोल्ला भन्नेसमेत बेहोराको वादीका साक्षी धनबहादुर खत्रीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बमबहादुर सरले फोहोरी कुरा गर्नुहुन्थ्यो । अनि ममीलाई भन्छेस् कि भन्दिनस् भन्नुहुन्थ्यो भनिस् भने मारदिन्छु भन्नुहुन्थ्यो । छातीहरू छाम्नुहुन्थ्यो, अनि हाम्रो कुरामा आफ्नो फोहोरी कुरा हाल्नु हुन्थ्यो । आफ्नो पिसाब फेर्ने ठाँउमा समाउन लगाउनुहुन्थ्यो नसमाते पिट्नुहुन्थ्यो भन्नेसमेत बेहोराको वादीका साक्षी रेजिना सुनारले सुरू अदालतमा गरेको बकपत्र ।
योनिच्छेदन नभएको, योनिबाहिर घाउचोट नभएको, योनिबाहिर वीर्य रौं नभेटिएको शारीरिक जाँच गर्दा नै पत्ता लागेको हो भन्नेसमेत बेहोराको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक डा.कुशल रानाभाटले सुरू अदालतमा गरेको बकपत्र ।
जिल्ला सरकारी वकिल कार्यालय पर्वतको च.नं ३० मिति २०७२।४।२२ को पत्रसाथ प्राप्त केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको ।
मिसिल संलग्न कागज प्रमाण हेर्दा प्रतिवादी बमबहादुर खत्री ज्ञानेन्द्र प्रा.वि को शिक्षक भएको, पीडितहरू सोही विद्यालयका विद्यार्थीहरू भएको देखिएको, शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ङ) मा "विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनु पर्ने छ" भन्ने उल्लेख भएको छ भने सोही उपनियमको खण्ड (च) मा "आज्ञाकारिता, अनुशासन, सदभावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य, सच्चरित्रलाई प्रोत्साहन दिनुपर्ने" भन्ने उल्लेख भएको छ भने सो उपनियमको खण्ड (ट) मा "विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने" भनी शिक्षकले पालना गर्नुपर्ने आचार संहिताको कानूनले व्यवस्था गरेकोमा प्रतिवादीले आफ्नो पेसागत आचार संहिताविपरीत पीडितहरूलाई पढाउनुको सट्टा मानसिक, शारीरिक यातना दिई आफ्नो मैथुनको इच्छा अप्राकृतिक तरिकाबाट पूरा गरेको देखियो । सामुदायिक विद्यालयमा अध्ययनरत पीडित बालिकाहरूलाई सोही विद्यालयका सामाजिक विषय पढाउने शिक्षक पदमा आसिन प्रतिवादी बमबहादुर खत्रीले डर, त्रास र प्रभावमा पारी अप्राकृतिक मैथुन गरेको हुँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ९क नं को कसुर अपराधमा सोही महलको ३ नं को देहाय (१) बमोजिम १० वर्ष कैद र सोही महलको ९क नं. वमोजिम थप १ वर्ष कैदसमेत गरी जम्मा ११ वर्ष कैद सजाय हुने ठर्हछ साथै वादी नेपाल सरकारले आफ्नो अभियोग पत्रमा प्रतिवादीबाट पीडितहरूलाई क्षतिपूर्ति दिलाई पाउँ भनी अभियोग माग दाबी सम्बन्धमा विचार गर्दा, जबरजस्ती करणीको महलको १० नं. मा कसैले कुनै महिलालाई जबरजस्ती करणी गरेको ठहरेमा अदालतले त्यस्ती महिलालाई भएको शारीरिक वा मानसिक क्षति विचार गरी मनासिब ठहराएबमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराइदिनुपर्ने छ । त्यस्तो क्षतिपूर्ति निर्धारण गर्दा कसुरको गाम्भिर्य, कसुरबाट पीडित व्यक्तिको मृत्यु भइसकेको रहेछ भने निजका आश्रित नाबालक छोराछोरी भए निजहरूलाई पर्न गएको पीडासमेत विचार गरी निर्धारण गर्नुपर्नेछ भन्ने कानूनी व्यवस्था भएको हुँदा प्रतिवादीले यी नाबालक पीडितहरू आफ्नो विद्यार्थीहरू ६, ७ र ९ वर्षका कलिला बालिकाहरूलाई अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीबाट पीडितहरूलाई पर्न गएको सामाजिक, आर्थिक, मानसिक, शारीरिक क्षतिको वास्तविक क्षतिपूर्ति नभए तापनि निजहरूलाई केही राहत पुगोस् भन्ने अभिप्रायले क्षतिपूर्ति भराइ दिन व्यवस्था कानूनले गरेको देखिँदा प्रतिवादीको आर्थिक हैसियत, पीडितलाई पुगेको क्षतिसमेतका आधारमा प्रतिवादीबाट पीडितहरू परिवर्तित नाम कुश्मा (छ), कुश्मा (ज) र कुश्मा (झ) ले जनही रू.५०,०००।- का दरले क्षतिपूर्ति पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू पर्वत जिल्ला अदालतको मिति २०७२।६।११ को फैसला ।
म पुनरावेदक ज्ञानेन्द्र प्रा.वि.को शिक्षक हुनु र पीडित भनिएकाहरू विद्यार्थी भएकै तथ्यले अपराध भएको भन्न मिल्दैन । जहाँसम्म मिति २०७२।२।२१ मा पीडित भनिएकाहरूलाई सांकेतिक नम्बरअनुसार पालैपालो बोलाई विद्यालयको लाइब्रेरी कोठामा लगी आफ्नो लिङ्ग समाउने चुसाउने लिङ्ग खेलाउन लगाउने गरेको कुरा पीडितहरूले घरमा आई भनेबाट थाहा पाई जाहेरी गरेको भन्ने किटानी जाहेरीलाई समर्थन गरी बकपत्र भएको भन्ने मलाई दोषी करार गर्न लिएको आधार छ त्यस सम्बन्धमा पीडित भनिएकाहरू मध्ये कुश्मा (ज) ले अनुसन्धानमा कागज गर्दा टेकबहादुर भुवाजी सरलाई रिपोट गरेकी अरू कोही कसैलाई नभनेकी भन्ने कागज गरेकी
छिन् । त्यस्तै पीडित भनिएकी कुश्मा (झ) ले अदालतमा बकपत्र गर्दा बकपत्रको स.ज. १३ मा गंगा मिस अमृता मिसलाई फोहोरी कुरा गरेको कुरा बताएकी र मिसलाई बताइन भनी बकपत्र गरेकी
छन् । कुश्मा (झ) को आमा कुश्मा (च) सो बकपत्रको रोहवरमा संरक्षक भई सहीछापसमेत गरेकी छन् । पीडित भनिएकी कुश्मा (छ) ले अदालतमा बकपत्र गर्दा बकपत्रको स.ज. १२ मा बमबहादुर सरले फोहोर कुरा गरेको भनी को कोलाई भन्नुभयो भनी सोधिएको प्रश्नमा साथी सरलाई भनेकोले ममीलाई आफूले नभनेको भन्ने बकपत्र गरेकी छिन् । त्यस्तै जाहेरवाली कुश्मा (ट) ले अदालतमा बकपत्र गर्दा बकपत्रको स.ज. १५ मा हामीले देखेको होइन छोरीले भनेको आधारमा भनेको हो भनी बकपत्र गरेकी छन् । यसरी जाहेरवालाहरूको भनाइ र पीडित भनिएकाहरूको भनाइसमेत परस्पर बाझिएको तथ्य स्पष्ट देखिएकोमा जाहेरवालाको किटानी जाहेरी भनी प्रमाणमा ग्रहण गरी म पुनरावेदकलाई दोषी करार गर्न मिल्ने होइन । त्यस्तै मौकामा कागज गर्ने रेजिना वि.क.‚ तेजबहादुर र मानबहादुर क्षेत्रीसमेत घटनाका प्रत्यक्षदर्शी
होइनन । वारदात भयो भनिएको दिन हाजिर नभएकी रेजिना र घटनास्थलभन्दा टाढा चित्रे घर भएका मानबहादुर र तेजबहादुरले सुनेको कुराहरू भनेको अवस्था छ । निजहरू विद्यालयमा आएको अवस्था होइन । मैले भन्दै नभएको कुराहरू अनुसन्धानको बयानमा मलाई पढ्न लेख्न नदिई सहीछापसम्म गराइएको हो भनी मैले सुरू अदालतसमक्ष बयान गर्दा उल्लेख गरेको र मैले गरेको इन्कारी बयानलाई प्रमाण ग्रहण नगरी २०६८ सालमा भएको भनिएको कबुलियत नामाको कागज र पीडितहरूलाई होमवर्क नगर्दा पिट्ने र चिमट्ने गरेको भनी मैले गरेको बयानको गलत तर्क गरी मैले पीडित भनिएकाहरूलाई पुस्तकालयमा यौन दुर्व्यवहार गरेको भन्ने जस्ता गलत अर्थ लगाई मलाई दोषी करार गर्न सुरू अदालतले लिएको आधार अनुमान र मनोगत तर्कका आधारमा आधारित छ । त्यस्तै पीडित भनिएकाहरू कक्षा २ र ३ मा पढ्ने भनिएको र एउटा शिक्षकको २ वटा कक्षामा प्रथम पिरियड पढाउने हुन सक्दैन । पीडित कुश्मा (ज) वारदात मिति २०७२।२।२१ मा विद्यालयम हाजिर नभएको हाजिरी रजिस्टारबाट स्पष्ट देखिएको छ । हाजिर लिन छुटेको भनी मलाई गराइएको ततिम्बा बयान स्पष्ट झुट्टो देखिएको हुँदा सुरूबाट भएको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको बमबहादुर खत्रीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी बमबहादुर खत्रीलाई मुलुकी ऐन‚ जबरजस्ती करणीको महलको १ र ९क नं. को कसुरको सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र सोही महलको ९क नं. बमोजिम थप १ वर्ष कैदसमेत गरी जम्मा ११ वर्ष कैद सजाय हुने र ऐ. महलको १० नं. बमोजिम पीडितहरूले जनही रू. ५०‚०००।- का दरले क्षतिपूर्ति पाउने ठहरी भएको सुरू पर्वत जिल्ला अदालतको मिति २०७२।६।११ को फैसला प्रमाण मूल्याङ्नको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय‚ बागलुङलाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०७२।९।२७ को आदेश ।
आफ्ना विद्यालयमा पढ्ने नाबालिकाहरूलाई पुस्तकालयभित्र लगी निज बालबालिकाहरूको स्तन समाउने, योनिमा मुसार्ने, आफ्नो लिङ्ग निकाली खेलाउन र चुस्न लगाउने साथै आफ्नो वीर्य स्खलन गराउने जस्ता अप्राकृतिक मैथुनका कार्यहरू गरेको भन्ने कुरा जाहेरवालाहरूले किटानी जाहेरी र निजहरूले गरेको बकपत्र तथा प्रतिवादीले गरेको कबुलियतनामासमेतबाट यी प्रतिवादी बमबहादुर खत्रीले अभियोग मागदाबीअनुसार कसुर गरेकोले निजलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) र ९क बमोजिम सजाय गर्ने गरेको सुरू पर्वत जिल्ला अदालतको मिति २०७२।०६।०१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत बागलुङको मिति २०७२।११।०५ को फैसला ।
घटनास्थल भनिएको लाइब्रेरी र निर्माणाधीन भवन नजिकै रहेकोमा सो भवनमा निर्माण गर्ने व्यक्तिहरू रहेको दिनको बिहान १० बजेदेखि ४ बजेसम्म पीडितलाई पालैपालो बोलाई लाइब्रेरीमा यौन दुर्व्यवहार गरेको भन्ने घटनास्थल मुचुल्का गराई पीडित भनिएकालाई लिङ्ग समाउन लगाउने, चुसाउने, खेलाउन लगाउने कुरा घरमा आई भनेको भनी झुट्टा जाहेरी दिई त्यस्तो वारदात नै सम्भव नहुने कुरालाई कसुर कायम गरी सुरू र पुनरावेदन अदालतले ११ वर्षसम्म कैद सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले वारदातको प्रकृति र वारदात स्थल तथा वारदात समयलाई विचार गर्दा प्रतिवादीले कसुर गरेको भन्ने अवस्था देखिँदैन । अभियोग दाबी र पीडितको बयानलाई सही सत्य भन्दा पनि वारदात केवल उद्योगसम्मको देखिएको अवस्था हुँदा सोतर्फ विश्लेषण नै नगरी भएको पुनरावेदन अदालत बागलुङको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाउने आदेश हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादी बमबहादुर खत्रीले आफूले पढाउने गरेको श्री ज्ञानेन्द्र प्रा.वि. का छात्राहरूउपर बिगत समयमा पनि यौनजन्य दुर्व्यवहारसमेत गर्दै आएका र प्रस्तुत मुद्दाको वारदात मिति २०७२।०२।२१ मा कक्षा २ र ३ मा अध्ययन गर्ने पीडित छात्राहरूसमेतलाई डर धाक धम्की अनुचित प्रभाव झुक्यानमा पारी विद्यालय समयमा विद्यालय कक्षा कोठाभित्र राखी जबरजस्ती करणी र अप्राकृतिक मैथुन गरेको तथ्य पुष्टि भएकोले प्रतिवादीको उल्लिखित कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. विपरीत ३(१) र ९(क) नं. बमोजिम थप सजाय हुन र पीडितहरू ४४ कुश्मा (छ) ४४ कुश्मा (ज) र ४४ कुश्मा (झ) समेतलाई सोही महलको ९क, १०, १०(ग) नं. बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी रहेकोमा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(१) बमोजिम १० वर्ष कैद र सोही महलको ९क नं. बमोजिम थप १ वर्ष कैद गरी जम्मा ११ वर्ष कैद सजाय गरी पीडितलाई जनही रू.५०,०००।- क्षतिपूर्ति भराउने गरी भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत बागलुङको मिति २०७२।११।०५ को फैसलाउपर चित्त नबुझी प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिँदा पुनरावेदन अदालत बागलुङको फैसला मिलेको छ छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, पीडित पढ्ने विद्यालयका शिक्षक प्रतिवादी बमबहादुर खत्रीले परिवर्तित नाम वर्ष ७ की कुश्मा (छ), वर्ष ९ की कुश्मा (ज) र वर्ष ६ की कुश्मा (झ) लाई ज्ञानेन्द्र प्रा.वि.को लाइब्रेरी कोठामा स्कुल समयमा पीडितलाई पालैपालो बोलाई लिङ्ग चुस्न लगाउने, लिङ्ग शरीर र योनिमा दल्ने पीडितलाई काखमा राखी चुम्बन गरी लिङ्ग खेलाउन लगाउने तथा जिउज्यान योनिमा घर्षण गरी वीर्य स्खलनसमेत गरी कसुर अपराध गरेकाले कानूनबमोजिम कारबाही गरिपाउँ भनी पीडितका अभिभावक परिवर्तित नाम कुश्मा (घ), कुश्मा (ङ) र कुश्मा (च) को जाहेरी परी प्रस्तुत मुद्दामा अनुसन्धान सुरू भएको देखिन्छ ।
३. मिसिल संलग्न रहेको घटनास्थल मुचुल्का र पीडितहरूले गरेको घटना विवरण कागजबाट श्री ज्ञानेन्द्र प्राथमिक विद्यालयका शिक्षक प्रतिवादी बमबहादुर खत्रीले पीडित नाबालिकाहरूलाई विद्यालय समयमा पालैपालो लाइब्रेरीमा बोलाई विभिन्न यौन दुर्व्यवहार गर्ने गरेको र मिति २०७२।०२।२१ गतेका दिन जाहेरी दरखास्तमा उल्लेख भएबमोजिमका क्रियाकलापहरू जस्तै आफ्नो लिङ्ग समाउन लगाउने शरीरका विभिन्न भागमा दल्ने, मुखमा लगेर चुस्न लगाउने, लिङ्ग योनिमा दल्ने, वीर्य निकाल्ने जस्ता कार्य गरेको भनी पीडित कुश्मा (छ) समेतले कागज गरिदिएको देखिन्छ ।
४. प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रही विभिन्न रिसइवीको कारण गाउँलेले जाहेरी दिएका हुन् भनी बयान गरे पनि अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पीडित भनिएका विद्यार्थीले गृहकार्य नगरेकाले छाती तथा अन्यत्र चिमोट्ने, पिट्ने गरेको चिमोट्दा कता चिमोटियो थाहा भएन । मिति २०६८।०५।०७ मा विद्यालयमा छलफल हुँदा मैले अरू कोही छात्रामाथि दुर्व्यवहार नगर्ने भनी कबुलियतनामा गरी मलाई सुध्रने मौका स्वरूप छाडिएको थियो । पीडितहरूलाई संवेदनशील अंगमा चिमोट्नेसमेत गर्नु मेरो गल्ती हो भनी वारदातलाई स्वीकार गरी बयान गरेको देखिन्छ ।
५. पीडितहरू अदालतमा उपस्थित भई बकपत्र गर्दा कुश्मा (ज) ले होमवर्क चेक गराउन जाँदा बमबहादुर सरले मेरो दूध छाम्ने, आफ्नो फोहोरी कुरामा मेरो हात लैजाने गर्नुहुन्थ्यो, यसो गरेको भनेमा पुलिसले लान्छन् भन्नुहुन्थ्यो, अनि आफ्नो फोहरी कुराबाट सेतो सेतो लेदो झार्नुहुन्थ्यो । सो कुरा टेकबहादुर सर र गंगा मिसलाई भनेकी थिएँ भनी लेखाएको अवस्था छ भने कुश्मा (झ) र कुश्मा (छ) ले सरले दूधमा समाउने, आफ्नो फोहोर कुरा छाम्न लगाउने र सो कुरा कसैलाई नभन्नु भन्नुहुन्थ्यो भनी जाहेरी लाई पुष्टि हुने गरी बकपत्र गरेको देखिन्छ । वादीका साक्षी विद्यालयमा कार्यरत शिक्षक टेकबहादुर भुवाजीले बकपत्र गर्दा यस विषयमा गाउँका अभिभावक र प्रतिवादीबीच झगडा र तनावको स्थिति सृजना भएको भनी वारदात घटेको कुरालाई समर्थन हुने गरी लेखाइदिएको देखिन्छ भने जाहेरवालाहरूले मौकाको जाहेरी समर्थन हुनेगरी अदालतमा समेत बकपत्र गरिदिएको देखिन्छ ।
६. सामान्यत: महिला र पुरूषबीच स्वभाविकरूपमा हुने यौन एवं मैथुनको क्रियालाई प्राकृतिक मैथुन मानिने र प्राकृतिक तबरमा गरिने स्वभाविक मैथुनको क्रियाबाहेक अन्य अस्वाभाविक एवं अप्राकृतिक तरिकाबाट हुने विभिन्न प्रकारका यौनजन्य क्रियाकलाप र मैथुनलाई अप्राकृतिक मैथुन भनी बुझ्नुपर्ने हुन्छ । यो क्रियामा पुरूषको लिङ्ग महिला एवं स्त्रीको योनिमा प्रवेश गराउने क्रियादेखि बाहेक अन्य क्रियाकलापहरू जस्तै पुरूषको लिङ्ग खेलाउन लगाउने, लिङ्ग चुसाउने, लिङ्गलाई योनिबाहेक गुद्द्वार एवं मुखमा हाल्ने, निकाल्ने क्रिया गर्ने, लिङ्गलाई स्तन, मुख एवं गुद्द्वारको वरिपरि दल्ने, नाबालिका केटीहरूको स्तन समाउने, यौनाङ्ग मुसार्ने, स्त्री यौनाङ्गमा औला छिराउने आदि जस्ता क्रिया पर्ने गर्दछन् । प्रतिवादी शिक्षक कसुर प्रति अदालतको बयानमा इन्कार रहेपनि मौकामा प्रहरीसमक्ष पीडित छात्राले गृह कार्य नगरेको भनी चिमोट्ने तथा पिटने कार्यसम्म गरेको हो भनी तथ्यको नजिकसँग मिल्ने गरी बयान गरेका छन् । प्रतिवादीले प्रहरीसमक्ष गरेको बयानलाई हेर्दा पीडितहरूले आफूहरू उपर प्रतिवादीले अप्राकृतिक मैथुनको क्रिया गरेको भनी अदालतमा गरेको बकपत्रलाई नै संपुष्टि गरेको देखिन आउँछ । प्रतिवादीले आफ्नो लिङ्ग समाउन, खेलाउन र चुस्न लगाउने, छाती तथा शरीरका अन्य भागमा दल्ने जस्ता क्रियाहरू प्रतिवादी एवं पीडितका शारीरिक एवं यौनाङ्गको परीक्षण एवं पीडितको योनि रसको परीक्षणबाट देखिने कुरा नभई केबल सोको घटनाबाट पीडित भएका महिला, स्त्री एवं नाबालिका केटीहरूले मात्र मौकामा वा अदालतमा नै उपस्थित भएर कागज गरी दिएको वा बयान गरेको अवस्थालाई नै अन्य स्वतन्त्र प्रमाणहरूसँग केलाएर र दाँजेर हेर्नुपर्ने हुन्छ । यस्तो किसिमको वारदातमा पुरूष वीर्य पीडितको शरीर एवं कपडामा फेला पर्ने अवस्था नहुन पनि सक्छ । एकै पटकको क्रियामा पीडितको योनि र गुद्द्वारलगायत शरीरका अन्य भागमा लिङ्ग दलदाल एवं घर्षण गर्नुको अतिरिक्त लिङ्गसँग सम्बन्धित उपर्युक्त प्रकृतिका अन्य अप्राकृतिक किसिमका क्रियाकलापहरू गरेको अवस्था नै अप्राकृतिक मैथुनको कसुर गरेको मानिन जान्छ । नाबालिकाउपरको अप्राकृतिक मैथुनको क्रिया आफैँ मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. ले जबरजस्ती करणीको कसुरको दायराभित्र पर्ने गरी परिभाषासमेत गरेको पाइन्छ ।
७. प्रस्तुत मुद्दामा शिक्षकसमेत रहेका बमबहादुर खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने नाबालिका छात्रालाई गृहकार्य चेक गर्ने भनी पुस्तकालय कक्षमा पालैपालो बोलाई लगी नाबालिकाहरूको स्तन खेलाउने, यौन अंग मुसार्ने, आफ्नो लिङ्ग समाउन वा खेलाउन लगाउने, लिङ्ग चुस्नसमेत लगाई आफ्नो वीर्य स्खलन गराउने गरेको क्रिया भए गरेको तथ्य मिसिल संलग्न कागजहरूबाट देखिन
आउँछ । यसरी प्रतिवादी शिक्षकले आफ्नै छात्राहरू पीडित नाबालिकाहरूलाई अप्राकृतिक मैथुनका क्रिया गरी नैतिक शिक्षा सिकाउनुपर्ने शिक्षक जस्तो मर्यादित पेसालाई नै लज्जाबोध हुनेगरी नाबालिका छात्राउपर अप्राकृतिक मैथुनको कसुर गरेको तथ्य मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, मौकाको कागज र जाहेरवाला तथा पीडितहरू स्वयं अदालतमा उपस्थित भई गरेका बकपत्रसमेतबाट पुष्टि भइरहेको देखिन आउँछ ।
८. मुलुकी ऐन, जबरजस्ती करणीको महलको कानूनी व्यवस्थालाई हेर्दा सो महलको ९क नं. मा “कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्कासमेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब माफिकको क्षतिपूर्तिसमेत भराई दिनुपर्छ” भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।
९. उल्लिखित कानूनी व्यवस्थाले पीडितलाई नाबालक भनी उल्लेख गरेको सन्दर्भमा पुरूष वा महिला नाबालक भनी उल्लेख नगरेबाट दुवै लिङ्गका नाबालकलाई बुझ्नुपर्ने र यस्ता नाबालकउपर गरेको अस्वाभाविक यौन क्रियाकलापलाई अप्राकृतिक मैथुनको दर्जामा राखेको पाइन्छ । त्यसैगरी जबरजस्ती करणी महलको ९क. ले नाबालक एवं नाबालिकाउपरको अप्राकृतिक मैथुनको क्रियालाई जबरजस्ती करणीको १ नं. को कसुरको दायराभित्रको परिभाषामा समेटी सोही महलको ३ नं. ले १० वर्षभन्दा कम उमेरको बालिकालाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १५ वर्षसम्म कैदको सजाय हुने व्यवस्था गरेको देखिँदा पीडितहरूको उमेर ६, ७ र ९ वर्षको रहेको सन्दर्भमा उल्लिखित कानूनी व्यवस्थाबमोजिम प्रतिवादीले नाबालिकाउपर अप्राकृतिक मैथुन गरेको ठहर गरी प्रतिवादीलाई १० वर्ष कैद र १ वर्ष थप कैदसमेत गरी जम्मा ११ वर्ष कैद गरेको पुनरावेदन अदालतको फैसलालाई मोल्हुसेन हेन्ड्रिक ओटो वि. नेपाल सरकार भएको अप्राकृतिक मैथुन र जबरजस्ती करणी मुद्दामा (ने.का.प.२०६९ कात्तिक नि.नं.८८६०, पृ.१०९६) श्री सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तसमेतको आधारमा अन्यथा भन्न मिलेन ।
१०. तसर्थ, माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी बमबहादुर खत्रीले जबरजस्ती करणीको महलको १ नं. र सोही महलको ९क नं. विपरीतको कसुर गरेको तथ्य पुष्टि भएकोले निजलाई सोही महलको ३(१) नं. बमोजिम १०(दश) वर्ष साथै ९क नं. बमोजिम थप १(एक) वर्ष कैद गरी जम्मा ११ वर्ष कैद र ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडित कुश्मा (छ), कुश्मा (ज) र कुश्मा (झ) लाई जनही रू.५०,०००।- क्षतिपूर्ति भराई दिने ठहर्याई भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत बागलुङको मिति २०७२।११।०५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृत: ढाकाराम पौडेल
इति संवत् २०७४ साल फागुन ६ गते रोज १ शुभम् ।