निर्णय नं. १००२१ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला मिति : २०७३।१०।१३
०७२-NF-०००२
मुद्दा: कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं.८ बस्ने कुमान गुरूङसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : कृष्णकुमारी सापकोटाको जाहेरीले नेपाल सरकार
फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने ।
कुनै घटनामा परिस्थितिजन्य प्रमाणले नै घटनाक्रम उजागर गरी घटनाको पुष्टि गरिरहेको छ भने प्रत्यक्ष प्रमाण प्रस्तुत हुन नसकेकै कारण निर्दोषिताको आधार बन्न नसक्ने ।
(प्रकरण नं.१०)
अ.बं.१८८ नं. को व्यवस्थाले मूल रूपमा निर्णयकर्ताले इन्साफको रोहमा घटित घटना भवितव्य हो कि भन्न हुनेसम्मको शंकाको स्थितिको विद्यमानता हुनुपर्ने वा कसुरदारले अपराध गरेको अवस्था तथा परिस्थितिलाई विचार गर्दा कसुरदारलाई तोकिएको सजाय गर्दा चर्को पर्न जाने भन्ने कुराको महसुस भएको अवस्था विद्यमान हुनुपर्ने देखिन्छ । निर्णयकर्ताले यी दुई वाक्यांशलाई ध्यान दिई यी दुई वाक्यांशलाई समर्थन गर्ने आधार प्रमाण मिसिलमा भएको कुरा र ती आधार प्रमाणका आधारमा आफूले सजाय घटाउन राय प्रस्ताव गरिएको भन्ने कुरा सो रायबाट नै स्पष्ट रूपमा देखाउन सक्नु पर्ने ।
(प्रकरण नं.१५)
पुनरावलोकनको रोहमा विचाराधीन मुद्दाका सन्दर्भमा अ.बं.१८८ नं. बमोजिम व्यक्त भएको राय कायम गर्ने वा नगर्ने भन्ने कुरा सम्बन्धित इजलासको स्वविवेकभित्र पर्ने विषयवस्तु हो । कसुरदारले कसुर गर्दाको अवस्था परिस्थितिलगायतका यावत् पक्षहरूलाई मनन गरी त्यस्तो राय कायम राख्ने वा नराख्ने निर्णय गर्न सम्बन्धित इजलास स्वतन्त्र रहन्छ तर अ.बं.१८८ नं. को राय कायम हुन पर्ने वा नपर्ने भन्ने जिकिर लिई पुनरावलोकनको निवेदनमार्फत चुनौती दिने हक मुद्दाका पक्षहरूलाई हुन नसक्ने ।
(प्रकरण नं.१८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र त्रिपाठी, श्री सन्तोषकुमार पाण्डे र श्री जयनारायण पौडेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गुरूप्रसाद वाग्ले
अवलम्बित नजिर :
ने.का.प.२०६८, अंक २, नि.नं.८५५२
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.
मुलुकी ऐन, अ.बं.१८८ नं.
सुरू तहमा फैसला गर्ने:
मा.जिल्ला न्या.श्री नीलकण्ठ उपाध्याय रेग्मी
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री रामप्रसाद खनाल
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत पोखरा
सर्वोच्च अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला
न्या.ओमप्रकाश मिश्र : यस अदालत संयुक्त इजलासको मिति २०७१।७।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को देहाय (ख) बमोजिम पुनरावलोकन गरी हेरिपाउँ भनी प्रतिवादीहरूको तर्फबाट परेको निवेदनमा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं.८ तिबेनियास्थित जंगलमा वनमासाको झाडीमा आलो माटोले पुरिएको, खन्दै जाँदा ५/५ फिट लम्बाई र ३ फिट चौडाईको खाल्डोमा उत्तर टाउको, दक्षिण गोडा पारी उत्तानो अवस्थामा रहेको मृतक लास फेला परेको, दुवै आँखा बन्द, बायाँतर्फको भाग किचिएको, जिब्रो टोकिएको र बाहिर निस्किएको, घाँटी लुलो भई टाउको लत्रिने भएको, टाउकोको बायाँतर्फ अंग्रेजी “भि” आकारको ४ इन्च लम्बाईको चोट देखिएको, लास सडी गलिसकेको र दुर्गन्धित अवस्थामा रहेको देखिएको भन्ने बेहोराको लास जाँच मुचुल्का ।
कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं.९ स्थित रमेश सापकोटाको घरमा दैलो ठेलानजिक गारोको भित्ता उप्किएको र सोही ठाउँमा रमेश सापकोटालाई कुटपिट गरिएको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
रमेश सापकोटालाई कुमान गुरूङ, ध्रुव गुरूङ, जितबहादुर गुरूङ, ओमप्रकाश गुरूङसमेतले नेत्रप्रसाद नेपालीको गोरुको खुट्टा काटी दिएको विषयलाई लिएर कुटपिट गरी घाँटी कसी मारी मिति २०६६।५।१९ गते तिबेनिया जंगलमा लास गाडेको अवस्थामा लास फेला पारी लास हेर्दा गम्भीर चोटपटक लागेको अवस्था रहेको हुँदा निजहरूले रमेश सापकोटालाई कुटपिट गरी कर्तव्यबाट मारी लास गाडिदिएको हुँदा कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त ।
मिति २०६६।५।३ गते बेलुकी २१.५० बजे समयमा कुमान गुरूङसमेत आई नेत्रप्रसाद नेपालीको गोरुले रमेश सापकोटाको घाँस खाई गोरुको खुट्टा काटिदिएको सम्बन्धमा छलफल गर्न मगना गुरूङले बोलाएको छ भनी मलाई रमेश सापकोटाको घरमा पुर्याए । मगना गुरूङले रमेश सापकोटालाई कुटपिट गर्दै थिए । चार जनाले बाँधी हात मुक्का, हँसियाले हानी मरेतुल्य भएको थियो । तैंले कसैलाई बताइस् भने तँलाई पनि मार्छौं भन्दै धम्की दिई रमेश सापकोटालाई कुटपिट गर्दै थिए । चारै जनाले बाँधी हातमुक्का, हँसियाले हानी मरेतुल्य भएको थियो । रमेश सापकोटाको घाँटीमा लगाएको तारले तान्दै तिबेनिया जंगलतर्फ लागेका हुन् । म आफ्नो घरमा गई सुतेँ । भोलिपल्ट रमेश सापकोटा हराएको भनी मिटिङ
बस्यो । मलाई मिटिङमा नआउनु भनेका हुँदा गइन । १९ गते तिबेनिया जंगलमा खाडलमा लास भएको थाहा पाई प्रहरी आई उत्खनन गर्दा रमेश सापकोटाको लास फेला परेको हो भन्ने बेहोराको मनबहादुर तामाङको कागज ।
लास सडी गलिसकेको हुँदा मृत्युको कारण यकिन भन्न नसकिने भन्ने बेहोराको पोस्टमार्टम
रिपोर्ट ।
मिति २०६६।५।२ गतेका दिन दाजुको छोराको मृत्यु भएकोले उक्त ठाउँमा गई घर फर्कँदा गोरुको खुट्टा काटिएको अवस्थामा पाएँ । गोरुले रमेश सापकोटाको पिँढीमा रहेको घाँस खाएको देखेको हुँदा निजले गोरुको खुट्टा काटिदिएको विषयमा सोधपुछ गर्न कुमान गुरूङ, ध्रुव गुरूङ, जितबहादुर र ओमप्रकाश गुरूङलाई बताएको थिएँ । मिति २०६६।५।४ गते बिहान रमेश सापकोटा हराएकोले खोजतलास गर्दा अर्मलाको जंगलमा खाडलमा गाडिएको अवस्थामा लास फेला पारी प्रहरीले उत्खनन् गरी निकालेको थाहा पाएको हुँ । रमेश सापकोटालाई ओमप्रकाश गुरूङ, कुमान गुरूङ, जितबहादुर गुरूङ र ध्रुव गुरूङसमेतले कर्तव्य गरी लास गाडिदिएको भन्ने बेहोराको नेत्रप्रसाद नेपालीको कागज ।
मिति २०६६।५।२ गतेका दिन नेत्र नेपालीको गोरुको खुट्टा कसले काटिदिएको भनी पत्ता लगाउन नेत्र नेपालीले ध्रुव गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र कुमान गुरूङलाई भनेका थिए । मिति २०६६।५।३ गते साँझमा हामी ४ जना भेट भई रमेश सापकोटाको घाँस खाएकोले निजले गोरुको खुट्टा काटिदिएको विषयमा कुराकानी गर्न जाँदा रमेश सापकोटाले विभिन्न कुरा गरेको हुँदा पालैपालो लात मुक्काले हानेका हौं । बिजुलीको तारले घाँटीमा फनफनी बेरी एकातर्फ ध्रुव गुरूङ र जितबहादुर अर्कोतर्फ ओमप्रकाश र मैले तानी हात खुट्टा फालेकोले छट्पटाउन छाडे । त्यसपछि हामी चारैजनाले रमेश सापकोटालाई बोरामा हाली जंगलमा लगी खाडल खनी गाडेको हो भन्ने बेहोराको कुमान गुरूङको
बयान ।
मिति २०६६।५।२ गतेका दिन रमेश सापकोटाको घरमा नेत्रप्रसाद नेपालीको गोरुले घाँस खाई गोरुको खुट्टा काटिदिएको विषयमा सोधपुछ गरिदिनु पर्यो भनी नेत्रप्रसाद नेपालीले भनेका
थिए । मिति २०६६।५।३ गते साँझमा जितबहादुर गुरूङ, कुमान गुरूङ, ध्रुव गुरूङ र म रमेश सापकोटाको घरमा गई सोधपुछ गर्ने क्रममा निज रमेश सापकोटाले अपशब्द प्रयोग गर्दै गाली गरेको हुँदा ध्रुवले एक थप्पड लगाए । त्यसपछि मसमेतले हात मुक्काले कुटपिट गरी मैले तानी दिँदा छट्पटाउन छाडेपछि निजलाई बोरामा पोको पारी जंगलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने बेहोराको ओमप्रकाश गुरूङको बयान ।
नेत्रप्रसाद नेपालीको गोरुको खुट्टा काटिएको विषयमा रमेश सापकोटाको घरमा गई सोधपुछ गर्न खोज्दा निजले अपशब्द प्रयोग गर्दै गाली गरेकोले बिजुलीको तारले घाँटीमा फनफनी बेरी कुटपिट गर्दै एकातर्फ कुमान गुरूङ र ओमप्रकाश गुरूङ अर्कोतर्फ ध्रुव र मैले तानी दिँदा छट्पटाउन छाडेपछि निजलाई बोरामा पोको पारी जंगलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने बेहोराको जितबहादुर गुरूङको बयान ।
रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरुले घाँस खाएकोले गोरुको खुट्टा काटिदिएको विषयमा कुराकानी गर्न रमेश सापकोटाको घरमा पुग्दा रमेश सापकोटाले अपशब्द प्रयोग गर्दै गाली गरेकोले बिजुलीको तारले घाँटीमा फनफनी बेरी बाँधी तानी दिँदा छट्पटाउन छाडेपछि बोरामा पोको पारी जंगलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने बेहोराको ध्रुव गुरूङको बयान ।
रमेश सापकोटाले गोरुको खुट्टा काटिदिएको विषयमा ध्रुव गुरूङ, कुमान गुरूङ, जितबहादुर गुरूङ र ओमप्रकाश गुरूङले निजलाई कुटपिट गरी बाँधी घाँटी कसी कर्तव्य गरी लासलाई जंगलमा लगी गाडिदिएको अवस्थामा लास फेला परेको हो भन्ने बेहोराको बुझिएका मानिसहरूको कागज ।
प्रतिवादी कुमान गुरूङसमेत चारैजना प्रतिवादीहरूको साबिती बयान, किटानी जाहेरी, सरिता भण्डारीसमेतका मौकामा बुझिएका व्यक्तिहरूको कागज र घटनास्थल मुचुल्काका आधार प्रमाणबाट मिति २०६६।५।३ गते बेलुकी २१:४५ बजे रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरुको खुट्टा काटिदिएको रिसइवीका कारणले प्रतिवादीहरू कुमान गुरूङ, ध्रुव गुरूङ, ओमप्रकाश गुरूङ र जितबहादुर गुरूङले रमेश सापकोटालाई कुटपिट गरी घाँटीमा बिजुलीको तारले कसी कर्तव्य गरी मारेको देखिएको हुँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. अनुसारको कसुर गरेको देखिँदा निजहरूलाई ऐ.१३(३) नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी ।
नेत्रप्रसाद नेपालीको गोरुले रमेश सापकोटाको घाँस खाइदिएको विषयमा कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जीतबहादुर गुरूङ र मसमेत मिति २०६६।५।३ गते रमेश सापकोटाको घरमा गई गोरुको खुट्टा काट्न हुन्थेन भन्दा उसले हामीलाई गाली गरेकाले हामी चारैजनाले निजलाई सामान्य कुटपिट गरी आँगनमा छाडिदिएको हो । पछि उनको लास जंगलमा गाडिदिएको अवस्थामा फेला परेको थाहा
भयो । हामीले उनलाई हतियार प्रयोग गरी कुटपिट गरेको र तारले घाँटीमा कसेर मारी जंगलमा लगेर गाडेको होइन । जाहेरी झुठ्ठा हो । सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी ध्रुव गुरूङको अदालतमा भएको बयान ।
मिति २०६६।५।१ गते नेत्रप्रसादको गोरुले आफ्नो घाँस खाएकोले रमेश सापकोटाले गोरुको खुट्टा काटिदिएको विषयमा छलफल गर्न मिति २०६६।५।३ गते कुमान गुरूङ, ओमप्रकाश, ध्रुव गुरूङ र म रमेश सापकोटाको घरमा गई गोरुको खुट्टा काट्न हुन्थेन भनी सम्झाउँदा रक्सी खाई बसेका निज रमेशले गोरुको खुट्टा मात्र होइन तिमीहरूलाई पनि काटिदिन्छु भनी हामीलाई कुटपिट गर्न आई हात हालाहाल हुँदा निज सामान्य घाइते भए । त्यसपछि रक्सी खाएका मान्छेलाई कुटपिट गर्नु हुँदैन । भोलिपर्सी कुरा गरौंला भनी त्यहाँबाट आ-आफ्नो घर गएका हौं । तारले घाँटीमा कसेर मारी जंगलमा लगेर गाडेको होइन । उनको मृत्यु कसरी भयो थाहा भएन । जाहेरी झुठ्ठा हो । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी जीतबहादुर गुरूङको अदालतमा भएको बयान ।
मिति २०६६।५।१ गते नेत्रप्रसाद नेपालीको गोरुले रमेश सापकोटाको घाँस खाएकोले उसले गोरुको खुट्टा काटिदिएको हुँदा ऐ.३ गते बेलुकी म र अन्य ३ जना प्रतिवादीहरू रमेश सापकोटाको घरमा गई सोधपुछ गर्दा उनले रक्सी खाएका र हामीसँग झगडा गरेकोले २/४ मुक्का हिर्काई भुइँमा लडेपछि हामी घर गएका हौं । निजलाई कर्तव्य गरी मारेको र तारले तान्दै जंगलमा लगेर खाल्डो खनी पुरेको
होइन । जाहेरी झुट्ठा हो । म निर्दोष छु । सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी ओमप्रकाश गुरूङको अदालतमा भएको बयान ।
मिति २०६६।५।१ गते नेत्रप्रसाद नेपालीको गोरुले रमेश सापकोटाको घाँस खाएकोले उनले सो गोरुको खुट्टा काटिदिएको हुँदा ऐ.३ गते बेलुकी हामी चारैजना रमेशको घरमा सम्झाई बुझाई गर्दा ऊ रक्सी खाएको र झगडा गर्न लागेकोले हामीले ४/५ थप्पड लगायौं । ऊ भुइँमा लडेपछि हामी घरतिर गएका
हौं । निजलाई हामीले मर्ने गरी कुटेको होइन र मरेपछि लतार्दै जंगलमा लगेर गाडेको पनि होइन । जाहेरी झुठ्ठा हो । म निर्दोष छु । सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी कुमान गुरूङको अदालतमा भएको बयान ।
रमेश सापकोटाको मृत्यु कर्तव्यबाट भई जंगलमा लगी गाडिएकोमा विवाद देखिएन । गोरुको खुट्टा काटेको विषयमा छलफल हुँदा कुटपिट भएको कुरा प्रतिवादीहरूले स्वीकार गरेकै छन् । यी प्रतिवादीहरूबाहेक अन्यले मारेको भन्ने कतै नहुँदा प्रतिवादी कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र मगना भन्ने ध्रुव गुरूङले रमेश सापकोटालाई कर्तव्य गरी मारेको र यसैको सांघातिक चोटले मरेको भन्ने नदेखिँदा सबैलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. ले जन्मकैद हुने ठहर्छ । प्रतिवादीहरूको मृतकसँग कुनै पूर्वरिसइवी
देखिँदैन । मृतकले नेत्रप्रसादको गोरुको खुट्टा काटिदिएको विषयमा छलफल गर्नसम्म गएको अवस्थामा भनाभन भई कुटपिट भएको, गोरुको खुट्टा काट्न हुन्थेन भनी सम्झाउँदा उल्टै मृतकले गाली गरेको, प्रतिवादीहरू आफैँ प्रहरीमा उपस्थित भई कानूनबमोजिम होस् भनी अनुसन्धानमा र अदालतमा सत्य कुरा व्यक्त गरी सहयोग गरेको देखिँदा जन्मकैद गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं. अनुसार १०/१० वर्ष कैद हुन राय व्यक्त गर्दछु भन्ने बेहोराको सुरू कास्की जिल्ला अदालतको मिति २०६८।२।४ को फैसला ।
कास्की जिल्ला अदालतको फैसलामा चित्त बुझेन । घटनास्थल प्रकृति मुचुल्काले कुटपिट भएको स्थानसम्म पनि किटान छैन । उक्त घटना भयो भनिएको ठाउँमा पनि कुनै संकेत देखिएको छैन । शव परीक्षण प्रतिवेदनमा लास सडेगलेको हुँदा मृत्युको कारण खुलाउन नसकिने भनिएको छ । लास प्रकृति मुचुल्कामा त्यस्तो स्थिति वा चोटपटक र तारले बाँधेको कुनै संकेत देखिँदैन । बुझिएका मानिस, स्वयं जाहेरवाला र मेरा साक्षी जुमप्रसाद गुरूङले मृतक बढी रक्सी सेवन गर्ने अल्कोहलिक भएको भनेको अवस्था छ । केवल अनुमान र शंकाकै भरमा हामीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था होइन । सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादीहरूको पुनरावेदन अदालत पोखरामा परेको संयुक्त पुनरावेदन जिकिर ।
पूर्वरिसइवी नभई तत्काल भएको भनाभनबाट सामूहिक रूपले कुटपिट गरेको कारणबाट मृत्यु भएको अवस्थामा ज्यानसम्बन्धीको महलको १३(३) नं. को सजाय गरेको सुरू कास्की जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, पोखरालाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।५।११ को पुनरावेदन अदालत पोखराको आदेश ।
पुनरावेदक प्रतिवादीहरूको सामूहिक कुटपिटको कारण रमेश सापकोटाको मृत्यु भएको, यसैको चोटको कारण मृत्यु भएको भन्ने खुल्न नआएको हुँदा प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याएको र मृतकसँग प्रतिवादीहरूको पूर्वरिसइवी केही नभएको, नेत्रप्रसाद नेपालीको गोरुको खुट्टा मृतकले काटिदिएको विषयमा छलफलको क्रममा वादविवाद भई कुटपिट हुन गएको र प्रतिवादीहरूले आफूले गरेको गल्ती महसुस गरी आफैँ प्रहरी कार्यालयमा उपस्थित भई न्यायिक प्रक्रियामा सहयोग गरेको तथ्यलाई विचार गर्दा प्रतिवादीहरूलाई अ.बं.१८८ नं. अनुसार १०/१० वर्ष कैद हुन सुरूले व्यक्त गरेको राय मनासिबै देखिँदा सुरू कास्की जिल्ला अदालतको मिति २०६८।२।४ को फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६८।८।२६ को फैसला ।
मिति २०६६।५।३ का दिन मृतक रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरुले आफ्नो घाँस खाएको रिसमा गोरुको खुट्टा काटेको विषयमा त्यसो गर्नु हुन्न भनी सम्झाउँदा बुझाउँदा उल्टै मृतक रमेश सापकोटा हामीमाथि आइलागेकोले हामीबाट सामान्य कुटपिट भएको, सो कुटपिटको कारणले मृत्यु भएको पुष्टि नभएको, जाहेरवालीले घटना प्रत्यक्ष आफूले नदेखी अर्काले भनेको कुराको भरमा जाहेरी दिएकोमा पछि अदालतमा Hostile भएकी, हामी प्रतिवादीहरू आफैँ प्रहरीसमक्ष उपस्थित भई न्यायिक कारबाहीमा सहयोग गरेको, अ.बं.११५ नं. बमोजिम बुझिएका घटनाका प्रत्यक्षदर्शी मनबहादुर तामाङले अदालतसमक्ष आई बकपत्र गर्दा घटनामा प्रतिवादीहरूको संलग्नता नरहेको भनी उल्लेख गरेको अवस्थामा हामीहरूउपर कसुर ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत प्रतिवादीहरूको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।
कर्तव्य ज्यानजस्तो गम्भीर र संगीन अपराध गरी लाससमेत दबाउने काममा यी प्रतिवादीहरूको संलग्नता पुष्टि भइरहेको स्थितिमा वारदातका प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले अदालतमा आई प्रहरीसमक्ष आफूले गरेको कागजमा लेखिएको कुरा आफ्नो जानकारीमा नभएको र वारदातमा प्रतिवादीहरू संलग्न नरहेको भनेको र जाहेरवाला कृष्णकुमारी सापकोटा अदालतमा Hostile भएकै भरमा यी प्रतिवादीहरू निर्दोष छन् भन्ने निष्कर्षमा पुग्न सकिएन । तसर्थ, यी चारैजना प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०६८।८।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
जहाँसम्म अ.बं.१८८ नं. को रायको प्रसङ्ग छ, यी प्रतिवादीहरूले आफूले गल्ती गरेको महसुस गरी आफैँ प्रहरीसमक्ष उपस्थित भई न्यायिक काम कारबाहीमा सहयोग गरेको भन्ने आधारमा सुरूले अ.बं.१८८ नं. को प्रयोग गरी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने भनी जनही १०/१० वर्ष मात्र कैद हुने ठहराएको सुरूको राय समर्थन गरेको पुनरावेदन अदालतको राय सम्बन्धमा विचार गर्नुपर्ने देखियो । अमानवीय तबरले कुटपिट गरेको, घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तबरले रातारात लास जंगलमा लगी गाडिएको र घटनापश्चात् यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको देखिन्छ । ज्यान मारीसकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जंगलमा लगी लास गाडी दबाउने प्रयास भएको देखिन्छ । यसरी अपराध गरेको अवस्थाबाट प्रतिवादीहरूतर्फ दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार देखिँदैन । तसर्थ प्रस्तुत मुद्दामा वारदातको दृष्टिबाट भवितव्य हो कि भनी शंका गर्नुपर्ने स्थिति पनि नभएको र अपराध गरेको अवस्थाबाट पनि प्रतिवादीहरूलाई जन्मकैद गर्दा चर्को पर्ने नदेखिएको अवस्थामा जिल्ला तथा पुनरावेदन अदालतबाट अ.बं.१८८ नं. अनुरूप जनही १० वर्ष कैद सजाय लगाएको रायसँग सहमत हुन सकिएन भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०७१।७।१७ को फैसला ।
मिति २०६८।२।४ मा सुरू कास्की जिल्ला अदालतबाट फैसला गर्दा ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसारको कसुर भनी ज्यान मार्नको लागि कुनै मनसाय नभएको, पूर्वरिसइवी पनि नभएको, तत्काल गोरुको विषयमा विवाद भई कुटपिट हुँदा मृत्यु भएको भनी अ.बं.१८८ नं. बमोजिम राय लगाई मिति २०६८।८।२६ मा फैसला भएकोमा मिति २०७१।७।१५ मा सम्मानित सर्वोच्च अदालतबाट फैसला हुँदा उक्त रायसँग सहमत हुन सकिएन भनी जन्मकैद हुने गरी भएको फैसला अ.बं.१८८ नं. तथा सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तसमेतले त्रुटिपूर्ण छ । हामीलाई अदालतद्वारा म्याद जारी गरेको भन्ने कुरा थाहा पाई आफैँ उपस्थित भई बयान गरेका छौं । हामीहरूले मृतकलाई मार्नु पर्नेसम्मको कुनै कारण र पूर्वरिसइवी पनि छैन । गोरुले घाँस खाई गोरुको खुट्टा काटिदिएको विषयमा छलफल हुँदा मृतकले जथाभावी गाली दिएबाट उठेको रिसको कारण कुटपिट भएको अवस्था मिसिलबाट प्रस्ट देखिन्छ भने स्वयं जाहेरवाली कृष्णकुमारीले अदालतमा आई बयान गर्दा मैले आफूले देखेको नभई मनबहादुर तामाङले भनेको आधारमा जाहेरी दिएको र स्वयं मनबहादुर तामाङले अदालतमा आई बयान कागज गर्दा प्रहरीमा भएको कागज मैले भनेबमोजिम लेखिएको होइन भनी अस्वीकार गरिएको छ भने जाहेरी दरखास्तसमेत आफैँमा खण्डित
छ । यस परिप्रेक्ष्यमा विधायिकाद्वारा निर्मित कानून अ.बं.१८८ नं. को स्वविवेकीय अधिकारलाई समेत खण्डित हुने गरी सर्वोच्च अदालत संयुक्त इजलासबाट फैसला हुँदा सो कानून एवं सर्वोच्च अदालत बुलेटिन २०६६ वैशाख १-१५ पूर्णाङ्क ४०३ वर्ष १८ अंक १, त्यस्तै ने.का.प.२०६२ अंक १ नि.नं.७४७७ पृष्ठ १ मणिकुमार राई विरूद्ध कृष्णबहादुर राईको जाहेरीले श्री ५ को सरकार, त्यस्तै ने.का.प.२०६६ भाग ५१ अंक ६ नि.नं.८१६७ जितबहादुर बुढाथोकी विरूद्ध कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित अदालतद्वारा प्रतिपादित सिद्धान्त र कानूनसमेतको आधारमा उपर्युक्त संयुक्त इजलासको फैसला त्रुटिपूर्ण हुँदा सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर गरी पाउन पुनरावलोकन गरी हेरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावलोकन गरिपाउँ भन्ने निवेदन ।
यसमा प्रतिवादीहरूले अदालतमा बयान गर्दा सामान्य कुटपिटसम्म गरेको तर मृतकलाई कर्तव्य नै गरी लास गाड्ने कार्य नगरेको भनी इन्कार रहेको देखिन्छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण यकिन नभएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभावमा यी प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको यकिन हुन आएको देखिँदैन । मुद्दाको उठान, वारदातको स्वरूप र प्रतिवादीहरूको प्रहरीमा भएको साबितीमा थप विश्लेषण नै नगरी अ.बं.१८८ नं. को राय इन्कार गर्ने गरी भएको यस अदालतको संयुक्त इजलासको मिति २०७१।७।१७ को फैसला ने.का.प.२०६६ अंक ६ नि.नं.८१६७ पृ.९४० र ने.का.प.२०६२ अंक १ नि.नं.७४७७ पृ.१ मा प्रतिपादित सिद्धान्तविपरीत भई न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) को अवस्था विद्यमानता देखिँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिदिएको छ । सम्बन्धित मिसिल झिकाई विपक्षीहरूलाई सोको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।२।२९ गतेको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र त्रिपाठी, श्री सन्तोषकुमार पाण्डे र श्री जयनारायण पौडेलले वारदातको समयमा प्रतिवादीहरू वारदातस्थलमा रही कुटपिटमा संलग्न रहेको पुष्टि हुँदैमा कर्तव्यतर्फ कसुर ठहर गर्न मिल्दैन । जाहेरवाला कृष्णकुमारी सापकोटाले घटनाको विषयमा आफूले देखेको नभई प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले भनेको भरमा जाहेरी दिएको र अदालतमा Hostile भएको अवस्था छ । साथै प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले समेत अदालतमा आई प्रतिवादीहरू निर्दोष रहेको बताइरहेको अवस्थामा प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न मिल्ने अवस्था छैन । साथै यी प्रतिवादीहरूको मृतकसँग कुनै पूर्वरिसइवी देखिँदैन । मृतकले नेत्रप्रसादको गोरुको खुट्टा काटी दिएको विषयमा छलफल गर्न गएका बेला आपसमा भनाभन हुँदा कुटपिटसम्म भएको देखिन्छ । प्रतिवादीहरू आफैँ प्रहरीसमक्ष उपस्थित भई न्यायिक प्रक्रिया र कारबाहीमा सहयोग गरेको अवस्था हुँदा कसुर ठहर गरेको तर अ.बं.१८८ नं. को राय कायम हुनुपर्ने अवस्था छ । पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गर्दाका आधारलाई यथावतै कायम गरी न्याय पाउँ भन्नेसमेत बहस गर्नुभयो ।
विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गुरूप्रसाद वाग्लेले प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आरोपित कसुरमा साबित रहेका छन् । गोरुको खुट्टा काटिएको विषयमा छलफल गर्न गएकोमा झगडा भएको कुरा स्वीकारेका छन् । छलफल गर्न जाँदा पनि उज्यालोमा नगई रातिको समयमा रक्सी खाएर कुटपिट गर्ने कार्य आपराधिक मनसायबाट ग्रसित भई ४/४ जना प्रतिवादीहरूले १ जना निरीह व्यक्तिउपर निर्मम प्रहार गरी पाशविक तरिकाले हत्या गर्ने कार्य भएको छ । प्रतिवादीहरूसँग सान्दर्भिक विषय नै नभएको कुरामा कानून हातमा लिएर असान्दर्भिक मानिसहरू अर्काको घरमा राति राति गएर कुटपिट गरी मृतकलाई मार्नेसम्मको कार्य गरेकोले सुरू तथा पुनरावेदन अदालतले लगाएको १८८ नं. को राय बदर गरेको संयुक्त इजलासको राय कानूनसम्मत भएकाले सोही सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उक्त बहससमेतलाई सुनी प्रस्तुत मुद्दा पुनरावेदक प्रतिवादीहरूलाई कसुरदार ठहर गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहराएको सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला सो हदसम्म सदर गरी सुरू र पुनरावेदन तहबाट प्रतिवादीहरूलाई अ.बं.१८८ नं. बमोजिम जनही दश वर्ष कैद सजाय हुने भनी व्यक्त भएको राय कायम नहुने ठहराएको यस अदालतको संयुक्त इजलासको फैसला मिलेको छ वा छैन र प्रतिवादीहरूको जिकिर पुग्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र ध्रुव गुरूङसमेत भई मृतक रमेश सापकोटालाई कुटपिट गरी घाँटीमा बिजुलीको तारले कसी कर्तव्य गरी मारी मृतकको लास जंगलमा लगी खाडल खनी गाडेको भन्ने कुरा किटानी जाहेरी, प्रतिवादीहरूको साबिती बयान, घटनास्थल मुचुल्का एवं मौकामा बुझिएका व्यक्तिको कागजसमेतका आधार प्रमाणबाट पुष्टि भएकाले प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिम सजायको माग दाबी लिई वादी पक्षबाट अभियोगपत्र दायर भएको
देखिन्छ । सुरू कास्की जिल्ला अदालतले प्रतिवादीहरूले मृतक रमेश सापकोटालाई कर्तव्य गरी मारेको ठहर्याई निजहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने र जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भनी अ.बं.१८८ नं. बमोजिम जनही दश वर्ष कैद सजाय हुने भनी राय व्यक्त भएको फैसला पुनरावेदन अदालत पोखराबाट सदर भएको देखियो । सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट प्रतिवादीलाई कसुरदार ठहराएको सुरू र पुनरावेदन तहको फैसला सो हदसम्म सदर गरी अ.बं.१८८ नं. बमोजिमको राय कायम नहुने ठहर्याई फैसला भएको देखिन्छ । यस अदालतको सो फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी प्रतिवादीहरूको यस अदालतमा निवेदन परेकोमा पुनरावलोकनको निस्सा प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. प्रतिवादीहरूले यस अदालतमा पुनरावलोकन गरी हेरिपाउँ भनी दिएको निवेदनमा निजहरूको मृतकलाई मार्नु पर्ने पूर्वरिसइवी नभएको, गोरुले घाँस खाई गोरुको खुट्टा काटिदिएको विषयमा छलफल हुँदा मृतकले जथाभावी गाली गरेको कारण कुटपिटसम्म भएको, जाहेरवालाले अदालतमा इन्कारी बयान गरेको अवस्था आफूहरू निर्दोष हुँदाहुँदै कसुरदार ठहराएको र अ.बं.१८८ नं. का स्वविवेकीय अधिकारलाई खण्डित हुने गरी घटी सजाय गर्ने राय कायम नहुने भनी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएको भनी जिकिर लिइएको पाइन्छ ।
४. यस अदालतबाट प्रस्तुत मुद्दामा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गर्दा प्रतिवादीहरूले अदालतमा बयान गर्दा मृतकलाई सामान्य कुटपिटसम्म गरेको तर कर्तव्य गरी लास गाड्ने कार्यमा इन्कार गरेका, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण यकिन नभएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभावमा प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको यकिन नभएको तथा मुद्दाको उठान वारदातको स्वरूप र प्रतिवादीहरूको प्रहरीमा भएको साबितीमा थप विश्लेषण नगरी अ.बं.१८८ नं. को राय इन्कार गरिएको फैसला प्रतिपादित सिद्धान्तविपरीत भएको भन्नेसमेत आधार लिइएको देखिन्छ । उपर्युक्तानुसारको प्रतिवादीहरूको पुनरावलोकनको निवेदन जिकिर एवं यस अदालतबाट पुनरावलोकनको निस्सा प्रदान गर्ने आदेशको पृष्ठभूमिमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्थासमेतको उल्लेखन हुन सान्दर्भिक हुने देखिन आयो ।
५. यस सम्बन्धमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्था हेर्दा पुनरावेदक प्रतिवादीहरूले मिति २०६७।१।२७ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको निवेदनको आधारमा प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । सो निवेदनमा नेत्रप्रसाद नेपालीको गोरुले रमेश सापकोटाको घरमा राखेको घाँस खायो भन्ने रिसले रमेश सापकोटाले गोरुको खुट्टा आँसीले काटिदिएको विषयमा मिति २०६६।५।३ गते मृतक रमेश सापकोटासँग कुरा गर्दा मनपरी अश्लिल शब्द प्रयोग गरी गाली गरेकाले हामी चार जनाले रिस थाम्न नसकी भनाभन र पिटापिट हुँदा रमेश सापकोटाको सोही ठाउँमा मृत्यु भएपश्चात् हामी चारै जना डराएर भागी भारतमा गई बसेकोमा गल्ती महसुस गरी कानूनबमोजिम जो जे सजाय भोग्नुपर्छ भोग्छौं भनी यस कार्यालयमा उपस्थित भएका छौं भन्ने बेहोरा उल्लेख भएको देखियो । उक्त निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएपश्चात् प्रतिवादीहरू पक्राउ परी प्रस्तुत मुद्दाको कारबाही प्रारम्भ भएको देखिन आयो ।
६. प्रस्तुत वारदात मिति २०६६।५।३ मा भएको भन्ने मिसिल संलग्न कागजातबाट देखिएकोमा मिति २०६६।५।१९ मा मृतककको लास तिवेनिया जंगलमा खाल्डो खनी पुरिएको अवस्थामा बरामद भएको देखिन्छ । मृतकको लास बरामद हुँदाको अवस्थामा शरीरको बायाँतर्फको भाग किचिई काटिएको, घाँटी लुलो भई टाउको लत्रिने भएको, टाउकोमा चार इन्च लम्बाईको चोट, पछाडि ढाडको भागमा एघार वटा घोस्रिएको घाउ भएको भन्ने लास जाँच मुचुल्कामा उल्लेख भएको देखिन्छ । मृतकको लास सडीगली गएकोले मृत्युको कारण यकिन गर्न नसकिएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भई सोही प्रतिवेदनमा लासमा भएका घाउ चोटका सम्बन्धमा Multiple Fracture of Ribs on Both Sides भन्ने उल्लेख भएको देखिन्छ । यसरी मृतक रमेश सापकोटाको शव जंगलमा खाल्डो खनी माटोमा पुरिएको अवस्थामा बरामद भएको, मृतकको शवको टाउको तथा शरीरका अन्य भागहरूमा घाउ चोटसहितका संघर्षका चिह्नहरू रहेको भन्ने लास जाँच मुचुल्कामा उल्लेख भएको र शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण लास सडी गली गएकाले यकिन गर्न नसकिएको भन्ने शव परीक्षण गर्ने चिकित्सकले राय दिएको भए पनि लासमा विभिन्न चोटहरू रहेको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको पृष्ठभूमिमा मृतकको मृत्यु स्वभाविक रूपमा भएको मान्न
मिलेन । उल्लिखित तथ्यहरूबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने पुष्टि हुन आयो ।
७. अब को कसको कर्तव्यबाट निज रमेश सापकोटाको मृत्यु भएको भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादीहरूले मृतकसँग भएको भनाभनमा कुटपिटसमेत हुँदा निजको मृत्यु भएकोले फरार रही भारतमा लुकेको भनी मिति २०६७।१।२७ मा आफैँ जिल्ला प्रहरी कार्यालय कास्कीमा कानूनबमोजिम जे कारबाही हुन्छ होस् भन्ने निवेदन दिई उपस्थित भएको अवस्था छ । निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मृतक रमेश सापकोटाले नेत्रबहादुर नेपालीको गोरुको खुट्टा काटिदिएको विषयमा छलफल गर्न भनी चार जना प्रतिवादीहरू मिति २०६६।५।३ मा मृतकको घरमा गएकोमा मृतकले अपशब्द प्रयोग गरी गाली गरेकाले निजलाई लात मुक्काले हानेको र बिजुलीको तारले मृतकको घाँटीमा फनफनी बेरी तारको एकापट्टि दुई जनाले र अर्कापट्टि दुई जनाले समाई बल गरी तारले घाँटीमा कसी निज मरेपछि जंगलमा लगी खाल्डो खनी गाडेको भनी साबिती बयान गरेको देखिएको छ ।
८. प्रतिवादीहरूले अदालतमा गरेको बयानमा निजहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित हुँदा दिएको निवेदन बेहोरा एवं अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानभन्दा फरक हुने गरी वारदातको दिन मृतकको घरमा गएको र गोरुको खुट्टो काटिदिएको विषयमा झगडा हुँदा मृतकलाई कुटपिटसम्म गरेको तथ्यलाई स्वीकार गरी मृतकलाई मारेको तथा जंगलमा लगी लास गाडेको भन्ने तथ्यलाई इन्कार गरेको देखिन्छ । प्रतिवादीहरूले अदालतको बयानमा मृतकलाई मारेको भन्ने तथ्यमा इन्कार रहे पनि वारदातपश्चात् गाउँघरबाट भागी घटना भएको लामो समयपश्चात् आफूहरूलाई कानूनबमोजिम कारबाही होस भन्ने निवेदनसाथ प्रहरीमा हाजिर भएको देखिन्छ । निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा उल्लेख गरेको स्थानबाट खाल्डो खनी पुरिएको अवस्थामा मृतकको शव बरामद भएको छ । सो बयानमा मृतकको घाँटीमा बिजुलीको तारले कसेको भन्ने उल्लेख भएबमोजिम मृतकको घाँटी लुलो भई टाउको लत्रिने भएको भन्ने लास प्रकृति मुचुल्कामा उल्लेख छ । शव परीक्षण प्रतिवेदनमा समेत मृतकको शरीरमा चोटपटकहरू रहेको भन्ने देखिएको छ । मृतकसँग यी प्रतिवादीहरूको झगडा तथा कुटपिट भएको र प्रतिवादीहरूले नै मृतकलाई मारी जंगलमा लगी लास गाडेको भनी मृतकको लास बरामद भएपश्चात् जाहेरवालाले जाहेरी दिएको
देखिन्छ । मौकामा बुझिएका मनबहादुर तामाङ र नेत्रप्रसाद नेपालीले समेत प्रतिवादीहरूले मृतकलाई कुटपिट गरेको कारण निजको मृत्यु भएको र प्रतिवादीहरूले नै मृतकको लासलाई जंगलमा लगी गाडेको भन्ने उल्लेख गरेको पाइयो ।
९. जाहेरवाला र मौकामा कागज गर्ने मनबहादुर तामाङले अदालतमा बकपत्र गर्दा मौकाको कागजभन्दा फरक बेहोरा उल्लेख गरेको देखिए पनि जाहेरवाली स्वयं प्रत्यक्षदर्शी नभएको, वारदातपश्चात् फरार रहेका प्रतिवादीहरूले मृतकलाई कुटपिट गरी मारी लास जंगलमा गाडेको हुँदा कानूनबमोजिम सजाय भोग्न तयार रहेको भनी निवेदनसहित आफैँ प्रहरी कार्यालयमा हाजिर भएको देखिएको, निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, मौकामा कागज गर्नेको भनाई, शव परीक्षण प्रतिवेदनलगायतको स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिएको पृष्ठभूमिमा प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङ र जाहेरवालाले मौकामा गरेको भन्दा फरक हुने गरी अदालतमा गरेको अर्कै बेहोराको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने हुँदैन ।
१०. जहाँसम्म प्रत्यक्ष प्रमाणको प्रश्न छ, फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबीन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुन्छ । कुनै घटनामा परिस्थितिजन्य प्रमाणले नै घटनाक्रम उजागर गरी घटनाको पुष्टि गरिरहेको छ भने प्रत्यक्ष प्रमाण प्रस्तुत हुन नसकेकै कारण निर्दोषिताको आधार बन्न सक्तैन । प्रस्तुत मुद्दाको घटनाको उठान तथा तत्पश्चात्का घटना र मृतकका शव बरामद हुँदाको अवस्थितिसमेतको समग्र रूपलाई विचार गर्दा जाहेरवाला र घटनाको प्रत्यक्षदर्शी भनिएका व्यक्तिले प्रतिवादीलाई लाभ पुग्ने गरी अदालतमा अन्यथा जिकिर लिए पनि परिस्थितिजन्य प्रमाणहरू एक आपसमा शृङ्खलाबद्ध रूपमा जोडिएर मालाकार कडीको रूपमा प्रस्तुत हुन आएको सन्दर्भबाट यी प्रतिवादीहरू निर्दोष रहेको मान्न मिलेन । मिसिल संलग्न उपर्युक्त तथ्यहरूबाट प्रस्तुत वारदात भवितव्य हो कि भनी शंका गर्नुपर्ने अवस्था पनि छैन । उल्लिखित अवस्थामा यी प्रतिवादीहरूको कर्तव्यबाट नै मृतक रमेश सापकोटा मृत्यु भएको भन्ने तथ्य स्थापित हुन आयो । यस अवस्थामा प्रतिवादीहरूलाई कसुरदार ठहराएको सुरू र पुनरावेदन अदालतको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला मनासिब देखिन आएकाले पुनरावलोकनको निवेदनमा आफूहरू निर्दोष भएकाले सफाइ पाउनु पर्ने भनी प्रतिवादीहरूले लिएको जिकिर र पुनरावलोकनको निस्सा दिने यस अदालतको आदेशमा उल्लेख भएको आधारसँग सहमत हुन सकिएन ।
११. अब सुरू र पुनरावेदन अदालतले अ.बं.१८८ नं. बमोजिम प्रतिवादीहरूलाई जनही १० वर्ष कैद हुन व्यक्त भएको राय कायम नहुने भनी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला सम्बन्धमा प्रतिवादीहरूले पुनरावलोकनको निवेदनमा लिएको जिकिर तथा यस अदालतबाट पुनरावलोकनको निस्सा प्रदान गर्दा अ.बं.१८८ नं. को राय सम्बन्धमा उल्लेख भएको बेहोरा सम्बन्धमा विचार गर्नुपर्ने भएको छ ।
१२. वस्तुतः प्रस्तुत मुद्दामा सुरू कास्की जिल्ला अदालतले प्रतिवादीहरूको मृतकसँग कुनै पूर्वरिसइवी नभएको, मृतकले नेत्रप्रसादको गोरुको खुट्टा काटिदिएको विषयमा छलफल गर्दा भनाभन भई कुटपिट भएको, प्रतिवादी आफैँ प्रहरीमा उपस्थित भई कानूनबमोजिम होस् भनी अनुसन्धान अभियोगमा र अदालतमा समेत सत्य कुरा व्यक्त गरी सहयोग गरेको पृष्ठभूमिमा प्रतिवादीहरूलाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भएकाले अ.बं.१८८ नं. बमोजिम जनही १० वर्ष कैद हुने राय व्यक्त भएको देखियो । सुरू जिल्ला अदालतको उक्त रायलाई पुनरावेदन अदालतबाट मनासिब ठहर भएकोमा यस अदालतको संयुक्त इजलासबाट उक्त रायसँग असहमति व्यक्त गरी राय कायम नहुने ठहर भएको देखिन्छ । यस अदालत संयुक्त इजलासले उक्त रायसँग असहमति व्यक्त गर्दा निर्मम तबरले कुटपिट गरेको घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तबरले रातारात लास जंगलमा लगी गाडिएको र घटनापश्चात् यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको, ज्यान मारिसकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जंगलमा लगी लास गाडी दबाउने प्रयास भएकोले अपराध गरेको अवस्थाबाट प्रतिवादीहरूतर्फ दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार नदेखिएको तथा वारदातको दृष्टिबाट भवितव्य हो कि भनी शंका गर्नुपर्ने स्थिति पनि नभएको र अपराध गरेको अवस्थाबाट पनि प्रतिवादीहरूलाई जन्मकैद गर्दा चर्को पर्ने नदेखिएको भन्ने उल्लेख भएको देखिन्छ ।
१३. प्रतिवादीहरूलाई घटी सजाय गर्ने भनी सुरू र पुनरावेदन अदालतले अ.बं.१८८ नं. बमोजिम व्यक्त गरेको रायलाई इन्कार गरेको यस अदालत संयुक्त इजलासको फैसला प्रतिपादित सिद्धान्तविपरीत भएको भन्नेसमेत आधारमा प्रस्तुत मुद्दामा पुनरावलोकनको निस्सा प्रदान भएको सन्दर्भमा अ.बं.१८८ नं. को राय इन्कार भएको संयुक्त इजलासको उक्त फैसला पुनरावलोकनको रोहबाट हेरी रायमा परिवर्तन गर्न मिल्ने हो या नमिल्ने हो भन्नेतर्फ विचार गर्नुपर्ने देखिन आयो ।
१४. यस सम्बन्धमा मुलुकी ऐन अ.बं.१८८ नं. को व्यवस्था हेर्दा “ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटी सजाय तोक्न हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ ।
१५. अ.बं.१८८ नं. को उक्त व्यवस्थाले मूल रूपमा निर्णयकर्ताले इन्साफको रोहमा घटित घटना भवितव्य हो कि भन्न हुनेसम्मको शंकाको स्थितिको विद्यमानता हुनुपर्ने वा कसुरदारले अपराध गरेको अवस्था तथा परिस्थितिलाई विचार गर्दा कसुरदारलाई तोकिएको सजाय गर्दा चर्को पर्न जाने भन्ने कुराको महसुस भएको अवस्था विद्यमान हुनुपर्ने देखिन्छ । निर्णयकर्ताले यी दुई वाक्यांशलाई ध्यान दिई यी दुई वाक्यांशलाई समर्थन गर्ने आधार प्रमाण मिसिलमा भएको कुरा र ती आधार प्रमाणका आधारमा आफूले सजाय घटाउन राय प्रस्ताव गरिएको भन्ने कुरा सो रायबाट नै स्पष्ट रूपमा देखाउन सक्नु पर्दछ । साथै यसरी राय व्यक्त गरी प्रस्ताव गरिएको सजायलाई अन्तिम निर्णय दिने अदालतबाट समर्थित भएमा मात्र सो प्रस्तावित राय कार्यान्वयनयोग्य हुने भन्ने कुरा पनि सोही कानूनी व्यवस्थाबाट स्पष्ट हुन्छ ।
१६. अ.बं.१८८ नं. को उक्त व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दाको घटनाक्रमलाई हेर्दा प्रतिवादीहरूले मृतकलाई कुटपिट गरी घाँटीमा बिजुलीको तारले फनफनी बेरी तारको एकापट्टि दुई जनाले र अर्कापट्टि दुई जनाले बल गरी घाँटी कसी निर्मम तबरले मारेको देखिएको छ । मृतक आफैँ प्रतिवादीहरूसँग झगडा गर्न गएको नभई यी प्रतिवादीहरू नै मृतकको घरमा गई झगडा गरेको अवस्था छ । घटनाको प्रकृतिलाई हेर्दा भवितव्यबाट वारदात भएको हो कि भन्न सकिने अवस्था छैन । प्रतिवादीहरूले मृतकलाई मारीसकेपछि पनि कुनै पश्चाताप नगरी लास दबाउने उद्देश्यले जंगलमा लगी खाडल खनी मृतकको लासलाई गाडेपश्चात् लामो समयसम्म फरार रहेको देखिएको छ । आफूहरूले प्रतिवादीलाई मारेकाले कानूनबमोजिम होस भन्ने निवेदनसाथ प्रहरी कार्यालयमा हाजिर भएका यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कसुर गरेकोमा पूर्ण साबित भई बयान गरे पनि अदालतसमक्षको बयानमा मृतकसँग झगडा र कुटपिटसम्म भएको तर मृतकलाई मारेको र जंगलमा लगी लास गाडेको भन्ने कुरामा इन्कार रहेको देखिएकोले निजहरूले न्यायिक प्रक्रियामा सहयोग गरेको भन्न मिल्ने अवस्था पनि रहेन । यसरी प्रस्तुत मुद्दाको वारदातको अवस्था र प्रकृतिसमेतबाट भवितव्य हो कि भन्ने शंका गर्नुपर्ने स्थिति नभएको र प्रतिवादीहरूले मृतकलाई निर्ममपूर्वक मार्ने र मृतकको लाससमेत दबाई अपराधबाट उम्कनेसमेत मनसाय राखी जंगलमा लगी लास गाड्नेसमेतको आपराधिक कार्यमा अ.बं.१८८ नं. आकर्षित हुनसक्ने अवस्था देखिन आएन ।
१७. नेपाल कानून पत्रिका २०६८ अंक २ निर्णय नं.८५५२ म प्रकाशित पुनरावेदक वादी श्यामप्रसाद भट्टको जाहेरीले नेपाल सरकार प्रत्यर्थी प्रतिवादी मुसाई भन्ने विवेक लामा भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतको पूर्ण इजलासबाट “अ.बं.१८८ नं. बमोजिम भएको सजाय बढी भएको भनी प्रतिवादीहरूले अथवा सो घटी सजाय गर्ने रायविपरीत बढी सजाय हुनुपर्ने भनी वादीले पुनरावेदन गर्न पाउने हुँदैन । अ.बं.१८८ नं. को प्रयोगको विषय न्यायिक विवेकको विषय भएकाले त्यसलाई मुद्दाका कुनैपनि पक्षले चुनौती दिन वा सोसम्बन्धी विषयलाई अधिकारको रूपमा दाबी गर्न सक्ने हुँदैन । अ.बं.१८८ नं.मा त्यस्तो राय व्यक्त गर्ने आधारहरू तोकिएको भए तापनि राय व्यक्त गर्ने कुरा सम्बन्धित न्यायाधीशको विवेकको अधीनमा राखिएको छ । त्यसरी राय व्यक्त गर्नुपर्ने गरी कसैले पनि बाध्य गर्न सक्दैन, न त रायमा व्यक्त गरिएभन्दा घटी वा बढी सजाय हुनुपर्ने गरी दाबी नै लिन सकिन्छ । त्यस्तो रायलाई समर्थन गर्ने वा नगर्ने वा फरकरूपमा समर्थन गर्ने भन्ने अधिकार केवल माथिल्लो अदालतलाई मात्र हुन्छ । वादी वा प्रतिवादीले त्यसमा प्रश्न उठाउन सक्ने देखिँदैन । अ.बं.१८८ नं. मा घटी सजाय हुनुपर्ने केही आधार तोकिएको भए पनि ती आधार भनेको न्यायकर्ताले अनुभूति गर्ने विषय हुन् । न्यायिक विवेक प्रयोग गर्न पाउने गरी कानूनले अनुमति प्रदान गरेको अवस्थामा त्यसरी प्रयोग गरिने विवेकमाथि अंकुश लगाउने गरी मुद्दाका पक्षले नै चुनौती दिने हो भने त्यस्तो अधिकार निर्थक हुन जान्छ । कसुरदार देखिँदा देखिँदै पनि विभिन्न परिस्थितिहरूको आँकलन र विश्लेषणबाट कम सजाय हुनुपर्ने महसुस गरिएको अवस्थामा मात्र स्वविवेकीय अधिकारको प्रयोग गरिन्छ । त्यसरी विवेक प्रयोग गर्दासमेत त्यसको स्पष्ट आधार र कारण खुलाउनु पर्ने व्यवस्था आफैँमा स्वविवेकीय अधिकारको स्वेच्छाचारी प्रयोग हुन नहुने मान्यताको उपज भएकाले त्यसमा पुनः पक्षद्वारा आपत्ति जनाउने वा यस्तो हुनुपर्ने भनी आग्रह गर्न मिल्दैन । यदि यस्तो विषयलाई पुनरावेदनको माध्यमबाट चुनौती दिने परम्परा स्थापित गर्ने हो भने अ.बं.१८८ नं. को कानूनी व्यवस्था निरर्थक हुन जान्छ र राय व्यक्त गर्ने र अन्तिम निर्णय गर्नेले त्यस्तो राय सदर वा बदर गर्न सक्ने न्यायिक मान्यता र परम्परासमेत खण्डित हुन जान्छ” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
१८. यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित उक्त सिद्धान्तअनुसार प्रस्तुत मुद्दामा सुरू र पुनरावेदन अदालतले अ.बं.१८८ नं. बमोजिम प्रतिवादीहरूलाई घटी सजायको प्रस्ताव गरी व्यक्त भएको रायलाई यस अदालतको संयुक्त इजलासबाट अस्वीकृत भई उक्त राय कायम नहुने ठहर भएपछि सुरू र पुनरावेदनको राय कायम हुनुपर्ने भनी यस अदालतमा पुनरावलोकनको निवेदनमार्फत चुनौती दिने अधिकार प्रतिवादीहरूलाई भएको देखिएन । पुनरावलोकनको रोहमा विचाराधीन मुद्दाका सन्दर्भमा अ.बं.१८८ नं. बमोजिम व्यक्त भएको राय कायम गर्ने वा नगर्ने भन्ने कुरा सम्बन्धित इजलासको स्वविवेकभित्र पर्ने विषयवस्तु हो । कसुरदारले कसुर गर्दाको अवस्था परिस्थितिलगायतका यावत् पक्षहरूलाई मनन गरी त्यस्तो राय कायम राख्ने वा नराख्ने निर्णय गर्न सम्बन्धित इजलास स्वतन्त्र रहन्छ तर अ.बं.१८८ नं. को राय कायम हुन पर्ने वा नपर्ने भन्ने जिकिर लिई पुनरावलोकनको निवेदनमार्फत चुनौती दिने हक मुद्दाका पक्षहरूलाई हुन सक्दैन । उल्लिखित अवस्थामा संयुक्त इजलासबाट अ.बं.१८८ नं. को राय इन्कार गरिएको भन्नेसमेत आधारमा प्रस्तुत मुद्दामा पुनरावलोकनको निस्सा प्रदान गर्ने भनी यस अदालतबाट भएको आदेशसँग सहमत हुन सकिएन ।
१९. तसर्थ उपर्युक्त आधार र कारणसमेतबाट प्रतिवादीहरूले मृतक रमेश सापकोटालाई कर्तव्य गरी मारेको ठहर्याई निजहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहराएको सुरू कास्की जिल्ला अदालतको फैसला सो हदसम्म सदर गरी सुरू र पुनरावेदन अदालतले अ.बं.१८८ नं. बमोजिम प्रस्ताव गरेको रायलाई इन्कार गरेको यस अदालत संयुक्त इजलासको मिति २०७१।७।१७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी कैदमा रहेका प्रतिवादीहरूलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. हरिकृष्ण कार्की
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतः ठगिन्द्र कट्टेल
इति संवत् २०७३ साल माघ १३ गते रोज ५ शुभम् ।