निर्णय नं. १००२५ - मानव बेचबिखन तथा ओसार पसार
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।९।२३
०७१-CR-१२५८
मुद्दाः मानव बेचबिखन तथा ओसार पसार
पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला गाती गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय रामेछापमा थुनामा रहेका ताराबहादुर बस्नेत
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम बाह्रबिसे "वि" को जाहेरीले नेपाल सरकार
वारदात हुँदाका बखत प्रचलनमा रहेको ऐनले जिउ मास्ने बेच्ने कसुरमा निर्धारण गरेको सजायभन्दा पछिल्लो ऐनले निर्धारण गरेको सजाय बढी रहेकोले वारदातका कसुरदारलाई पछि बनेको ऐन (मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार सजाय गर्दा बढी सजाय हुन जाने र त्यसो गर्नु अतित प्रभावी सिद्धान्त (Principle of Ex-Post Facto law) अनुसार नमिल्ने भएकाले कसुरदारलाई जिउ मास्ने बेच्ने (नियन्त्रण) ऐन, २०४३ अनुसार सजाय गर्नुपर्ने ।
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) मा "मानिस बेचबिखन गर्ने व्यक्तिलाई १० वर्षदेखि २० वर्षसम्म कैद हुनेछ" भन्ने उल्लेख भएको देखिँदा मानिस बेचबिखनको कसुरमा संलग्न हुने कसुरदारलाई संलग्नताको स्तर हेरेर विवेकशील निर्णय गर्न विधि निर्माणकर्ताले न्यायकर्तालाई पर्याप्त स्वविवेकीय अधिकार दिएको देखिन्छ । यसरी मानिस बेचबिखनको कार्यमा संलग्न कसुरदारलाई १० वर्षदेखि २० वर्षसम्म कैद हुने फैसला गर्न न्यायकर्ता सक्षम रहे पनि निर्णय गर्दा विवेकशील, न्यायोचित र औचित्यता हेरी निर्णय गर्नुपर्दछ, भने कसुरदारलाई गरिएको सजाय र कसुरको स्तरबीचमा औचित्यपूर्ण सम्बन्ध पनि देखिनुपर्ने ।
(प्रकरण नं.८)
पीडितलाई क्षतिपूर्ति भराउने प्रयोजनार्थ पहिलाको ऐनभन्दा उदार व्यवस्थासहित आएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ लागू नहुने भन्न मिल्ने देखिँदैन, साथै जाहेरी पर्दा र अभियोग दर्ता हुँदाका बखत लागू रहेको ऐनले पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने व्यवस्था गरेकोमा कसुर हुँदाका बखत लागू रहेको कानूनले क्षतिपूर्तिको व्यवस्था नगरेको भन्ने आधारमा पीडितलाई क्षतिपूर्ति नभराउने गरी व्याख्या गर्नु पीडित मैत्री विधि शास्त्रीय मान्यताअनुकूल नहुनुका साथै त्यसरी गरिएको व्याख्याले कानूनको उदार व्याख्यासम्बन्धी सिद्धान्तसँग समेत समाञ्जस्यता नराख्ने हुँदा पीडितलाई क्षतिपूर्ति भराउनु सिद्धान्ततः मनासिब र औचित्यपूर्ण हुने ।
(प्रकरण नं.१२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी
अवलम्बित नजिर :
नेकाप २०६०, अंक ७/८, नि.नं.७२६०
नेकाप २०६१, अंक ९, नि.नं.७४३२
सम्बद्ध कानून :
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
नेपालको अन्तरिम संविधान, २०६३
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे
सिन्धुपाल्चोक जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टेकराज नेपाल
माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला
पुनरावेदन अदालत पाटन
फैसला
न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत पाटनको मिति २०७१।७।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :-
मिति २०५८ साल भदौमा म १६ वर्षको हुँदा घरमा खेती किसानी गरी खान नपुग्ने भई दुःख भएको हुँदा विपक्षी ताराबहादुर बस्नेतले काठमाडौंमा काम लगाइदिन्छु सुख हुन्छ भनी फकाई म र फुलबहादुर तामाङको छोरी गाती गा.वि.स. वडा नं.१ बस्ने .....................लाई मिति २०५८ साल भाद्र २६ गते घरबाट काठमाडौंमा लगी एक जना नाम थर वतन नखुलेको प्रकाश भन्नेको जिम्मा लगाई होटेलमा काममा लगाइदिन्छु भनी म जाहेरवाली र .................लाई २ दिन काठमाडौं कोठामा बन्धक बनाई राखी त्यसपछि ताराबहादुर बस्नेतको मिलेमतोमा म र .................लाई भारतको बम्बई सहरअन्तर्गत कमान्ठीपुरा भन्ने स्थानमा लगी बिक्री गरेपछि मात्र मैले बिक्री भएको कुरा थाहा पाएँ, बिक्री भएपश्चात् मलाई भारतीय रूपैयाँ ५०,०००।– मा बिक्री गरेको भनी यौन व्यापार गर्ने मालिक्नीले भनेपछि मात्र थाहा पाएँ । उक्त कोठीमा मैले यौन व्यापार जस्तो घृणित नारकीय जीवन व्यतित गर्दैको अवस्थामा २०५९ साल अर्थात् बेचिएको १ वर्षपछि म जाहेरवाला बिरामी भएपछि कोठी मालिक्नीले अस्पतालमा लगेको अवस्थामा म र भारत बेङलोरकी कोठीमा काम गर्ने लक्ष्मी नामकी महिला औषधी किन्दै गर्दा मालिक्नीलाई झुक्याई भाग्न सफल भएका हौं । मलाई बिक्री गर्ने अपराधीलाई जिउ मास्ने बेच्नेसम्बन्धी ऐन र अन्य आवश्यक कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको वि. बाह्रबिसेको मिति २०६९।८।१ गतेको जाहेरी दरखास्त ।
म लेखपढ गर्न नजान्ने भएकोले घरमै बसी खेतबारीको काम गर्दै आइरहेकोमा मेरो घरमा खेतीबारीको कमाइले वर्ष दिनसम्म खान लगाउन पुग्दैनथ्यो । मिति २०५८ साल भदौ २५ गते म र गाउँकै मेरो फुपू नाता पर्ने ..................लाई गाती गा.वि.स. वडा नं. १ बस्ने गाउँकै ताराबहादुर बस्नेतले मेरो काठमाडौंमा होटल छ, होटलमा काम गर्ने मानिसहरू छैन, तिमीहरूलाई पैसा पनि दिउँला दशैंमा पनि तिमीहरूलाई घरसम्म ल्याइदिउँला तिमीहरू जान्छौ भन्दा हामीहरूले अहिलेसम्म काठमाडौं गएका छैनौं, हामीहरू नजाने भन्दा निजले तिमीहरू मेरो बहिनी हो, मसँग जाँदा केही फरक पर्दैन, धेरै पैसा आउँछ, गाउँमा जस्तो काम पनि गर्न पर्दैन भनेपछि हामीहरूले गाउँकै चिनेको दाजु भएकोले हुन्छ भन्यौं र निज ताराबहादुरले भोलि मेरो गाउँमा आउ भन्यो । म र ..................ले सल्लाह गरी घरमा कसैलाई समेत थाहा नदिई भदौ २६ गते दिउँसो १.०० बजेको समयमा निज ताराबहादुर बस्नेतको घरमा गयौं र निजसँग बाह्रबिसे बजारबाट काठमाडौं जाने बस चढी काठमाडौं बसपार्कमा गयौं र निजले नाम थाहा नभएको १ जना प्रकाश भन्ने व्यक्तिको जिम्मा लगाई तिमीहरू बस्दै गर म एकछिनमा आउँछु भनी उक्त स्थानबाट गए । निजले तिमीहरूलाई प्रकाश दाजुले काम लगाउने हो भनेका थिए र बेलुका भइसकेकोले निज प्रकाश भन्ने व्यक्तिले होटलमा लगी चिया खुवाउनु भयो र ताराबहादुर एकछिनपछि आउँछ हिँड मसँगै जाउँ भनेपछि निजले कोठामा लगे । कोठामा एकजना साथी र श्रीमतीसमेत रहेछन् र सो रात सोही स्थानमा सुतियो । भोलिपल्ट दिनभर पनि ताराबहादुर बस्नेत नआएपछि हामीहरूले हामीलाई होटलमा काम लगाइदिन्छु भनी ल्याएको अहिलेसम्म आएनन् भनी प्रकाश भन्ने व्यक्तिलाई सोध्दा आउँछ, होटलमा ताल्चा लगाई गएको छ भन्नुभयो र सो रात पनि निज प्रकाश भन्ने व्यक्तिको साथीको कोठामा बस्यौं र सोही बिहान ३.०० बजे उठायो र अब होटलमा काम नगर्ने, व्यापार गर्नुपर्छ, होटल बन्द गरेछन् भनी मलाई र ..................लाई प्रकाश, निजको नाम थाहा नभएको साथी र निजको श्रीमतीलगायत ५ जना भई जंगलै जंगल गई उज्यालो भएपछि बस चढाई लगे, के कुन स्थानमा लगे हामीलाई थाहा भएन, भारतको बम्बई सहर पुगिएछ र सो स्थानमा पुगेपछि एकजना महिला आएर निज प्रकाश र निजका साथीहरूले ऊ मेरो दिदी हो भनी तिमीहरू यहीँ दिदीसँग ट्याक्सीमा जाउ भनी हामी गयौं र निज अपरिचित महिलाले घरको कोठामा लगी राख्नुभयो र ३ दिनसम्म खाना खान दिने र कोठा बन्द गरी हामीहरूलाई कोठामा थुनेर सँगै राखी ३ दिनपछि अन्य हामीहरू जस्तै महिला भेटी सोध्दा तिमीहरूलाई यहाँ रू. ५०,०००।– मा बेचेको हो, यो बम्बईको कोठी हो अब यहाँबाट जान पाउँदैनौ, तिमीहरूलाई यहाँ यौन व्यवसायको लागि लिएर आएको हो भने र मसँग भएकी ..................लाई १ महिला आई अन्यत्र के कुन स्थानमा लगिन् मलाई थाहा भएन र १ वर्ष उक्त कोठीमा बसी म बिरामी भएको बेलामा कोठी मालिक्नीले अस्पतालमा लगेको अवस्थामा म र भारत बेङलोरकी कोठीमा काम गर्ने लक्ष्मी नामकी महिला औषधी किन्दै गर्दा मालिकलाई झुक्याई भागेका हौं । म र ..................लाई ताराबहादुर बस्नेतले ललाई फकाई प्रकाश भन्ने व्यक्तिलाई जिम्मा दिई बम्बईको कोठीमा लगी बचेको हो भन्नेसमेत बेहोराको बि. बाह्रबिसेले अनुसन्धानका क्रममा गरेको बयान ।
मिति २०५८ सालमा म काठमाडौंमा रिक्सा चलाउने काम गर्दथें । रिक्सा चलाउने क्रममा प्रकाश भन्ने व्यक्तिसँग भेटघाट भएको थियो । निज पनि रिक्सा चलाउने गर्दथ्यो । २०५८ सालको भदौ महिनामा निज प्रकाश भन्ने व्यक्तिले सधैँ खाना खाने गरेको धोबीचौरको होटलमा काम गर्ने कामदारहरू चाहिएको छ, तिम्रो गाउँमा भए खोजिदेउ भनेपछि मैले गाउँमा गएर सोध्नुपर्छ भनेँ, त्यसपछि प्रकाशले म पनि तिमीसँगै तिम्रो गाउँमा जान्छु, गाउँ घुमेर पनि आउँछु काम गर्ने कामदार पनि भेटेको खण्डमा लिएर आउँछु भनेर हामी दुवै जना २०५८ भदौ २५ गते काठमाडौंबाट मेरो घर सिन्धुपाल्चोक जिल्ला गाती १ कुखुरे भन्ने स्थानमा गयौं र गाउँकै नाम गोप्य राखी परिवर्तन गरिएकी बि. बाह्रबिसे र ..................लाई भेटी निजलाई काठमाडौंमा हामीले खाना खाने होटलमा काम गर्ने कामदार चाहिएको छ, तलब पछि धेरै आउँछ तिमीहरू जाने भनी सोध्दा निजहरूले जान्छौं भनेपछि मिति २०५८।५।२६ गते मेरो घरमुनि बि. बाह्रबिसे र ..................सँग भेटी बि. बाह्रबिसे, .................., प्रकाश र मसमेत ४ जना भई बाह्रबिसेबाट काठमाडौं जाने बस चढी काठमाडौंको पुरानो बसपार्कमा ओर्लिई निज बि. बाह्रबिसे र ..................लाई म ट्वाइलेट गरेर आउँछु, तिमीहरू प्रकाश दाईसँग बस्दै गर भनेँ ट्वाइलेटमा गई १० मिनेटपछि निजहरू पहिले बसेको स्थानमा आउँदा निजहरू ..................समेत सो स्थानमा रहेनछन् । मैले यता उता चारैतिर खोज्दासमेत फेला परेनन् । पछि निजहरू के कुन स्थानमा पुगे सो मलाई थाहा भएन निजको नाम गोप्य राखी परिवर्तन गरिएकी बि. बाह्रबिसे र ..................लाई प्रकाश भन्ने व्यक्तिले ललाई फकाई भारतमा बम्बई भन्ने स्थानमा लगी बचेको हो भन्ने हाल आएर थाहा पाएँ । निज बि. बाह्रबिसे र ..................लाई मैले बेचेको होइन । आफ्नै गाउँका चेलीबेटीलाई बेचबिखन गर्ने कार्य मेरो मिलेमतोमा भएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी ताराबहादुर बस्नेतले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
प्रकाश भन्ने व्यक्तिसँग बि. बाह्रबिसे र ..................लाई मिति २०६९।५।२६ गते काठमाडौं पुरानो बसपार्कमा राखी म ट्वाइलेट गएर आउँदा निजहरूलाई निजले लगेको हो । देखाइएको फोटो निजै प्रकाश भन्ने व्यक्तिको हो भनी प्रतिवादी ताराबहादुरले फोटो सनाखत गरेको कागज ।
बि. बाह्रबिसे र गाउँकै ..................लाई गाउँघरमा बसिरहेको अवस्थामा सिन्धुपाल्चोक जिल्ला गाती गा. वि. स. वडा नं. १ बस्ने ताराबहादुर बस्नेतले २०५८ साल भदौ २६ गते काठमाडौं होटलमा काम लगाइदिन्छु तलब पनि धेरै आउँछ, दशैंमा घरसम्म पुर्याइदिउँला भनी ललाई फकाई गरी निजलाई काठमाडौं लगी प्रकाश भन्ने व्यक्तिको जिम्मा लगाई निजले बि. बाह्रबिसे र ..................लाई भारतको बम्बई सहर कमाण्ठीपुरा भन्ने स्थानमा पुर्याई भारतीय रूपैयाँ पचास हजारमा बिक्री गरी उक्त स्थानमा वि. बाह्रबिसे १ वर्ष नरकीय जीवन बिताई कोठी मालिक्नीले उपचार गराउन लागेको अवस्थामा मालिक्नीको आँखा छली उक्त स्थानबाट भागी नेपाल आएपछि बि. बाह्रबिसेले भनेको सुनी थाहा पाएको हुँ । .................. हालसम्म बेपत्ता भएकी छिन् यसरी गाउँका चेलीबेटीलाई ललाई फकाई भारतको बम्बई भन्ने स्थानमा बेचबिखन गरी नारकीय जीवन बिताउन बाध्य बनाउने निजको साथी प्रकाश भन्ने व्यक्तिलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही र जेल सजाय होस् भन्नेसमेत बेहोराको सोमबहादुर तामाङ, राजेन्द्र तामाङ, पशुपति तामाङ, सितल तामाङसमेतले लेखाइदिएको एकैमिलानको घटना विवरण वस्तुस्थिति मुचुल्का ।
अभियुक्त ताराबहादुर बस्नेतले पीडित बि. बाह्रबिसेसमेतलाई पीडितको घरबाट होटलमा काम लगाइदिने भनी काठमाडौंमा लिई प्रकाशसँग सरसल्लाह गरी बम्बई पुर्याई बिक्री गरेको सप्रमाण पुष्टि हुन आएको र प्रस्तुत वारदात २०५९ सालको भएकोले अभियुक्तले तत्काल प्रचलनमा रहेको जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (क) को अपराध पुष्टि हुन्छ । हाल उक्त ऐन प्रचलनमा नरही खारेज भइसकेको अवस्थामा हाल प्रचलनमा रहेको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा २० (२) मा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गत भए गरेका काम कारबाहीहरू यसै ऐनअन्तर्गत भए गरेका मानिने छन् भनी उल्लेख भएको हुँदा प्रस्तुत अपराधमा अभियुक्तलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत दफा ४(१)(क) को अपराधमा सोही ऐनको दफा १५(१)(क) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग पत्र ।
मैले केटीहरू लगेको होइन, बि. बाह्रबिसे र .................. गाउँकै केटीहरू हुन् । निजहरू के कसरी इन्डिया पुगे मलाई थाहा भएन । मैले ललाई फकाई गरी लगी बेचेको होइन । प्रकाश भन्ने केटा देखेँ चिनेजानेको हो, निजसँग अरू कुनै सम्बन्ध नभएको, ठेगाना पनि थाहा नभएको हुँदा निजसँग लागि केटीहरूलाई ललाउने फकाउने गरेको होइन । प्रहरीमा भएको बयान बेहोरा मेरो होइन । मैले गाउँका चेलीबेटीलाई बेचबिखन गर्न लगेको नहुँदा दाबीबमोजिम सजाय हुनुपर्ने होइन, दाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी ताराबहादुर बस्नेतले सुरू अदालतमा गरेको बयान ।
ताराबहादुर बस्नेतले मिति २०५८ साल भदौ २६ गते २.०० बजे दिउँसो घरबाट होटेलको काम लगाइदिन्छु भनी मलाई काठमाडौं लगी सोही दिन बेलुका ७.०० बजेतिर प्रकाश भन्ने मानिसलाई म र मेरो ..................लाई जिम्मा लगाई ताराबहादुर उक्त स्थानबाट गएका हुन् । प्रकाशको कोठामा निजको एकजना साथी र श्रीमतीसमेत रहेछन् । २ दिन उक्त कोठामा राखेपछि निज प्रकाशले हामीलाई काम लगाइदिन्छु भनी बस चढाई लगेको हो । मैले काठमाडौं ठूलो रहेछ भन्ठानेको थिएँ । ३।४ दिनपछि भारतको बम्बई कमान्ठीपुरा भन्ने ठाउँमा पुर्याएको रहेछ । ३ दिनपछि मात्र मैले बम्बई पुगेको कुरा त्यहाँको घर मालिक्नी विमला तामाङले तिमीहरूलाई यहाँ रू. ५०,०००।– मा बेचेको हो भनेपछि थाहा पाएँ । त्यसपछि मलाई हरेक दिन जबरजस्ती यौन धन्दामा लगाइयो । करिब १ वर्ष उक्त कोठीमा बसी म बिरामी भएको बेलामा कोठी मालिक्नीले अस्पतालमा लगेको अवस्थामा म र भारत बेङगलोरकी कोठीमा काम गर्ने लक्ष्मी नामकी महिला औषधी किन्दै गर्दा मालिकलाई झुक्याई भागेका हौं । म पनि लक्ष्मीसँगै बैङगलोर गई ५।६ वर्ष जति गारमेन्टमा काम गरी बसी २ वर्षअगाडि जति म नेपाल आएकी हुँ भन्नेसमेत बेहोराको बि. बाह्रबिसेले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवाला बि. बाह्रबिसेलाई मेरो दाइले बिक्री गर्न लगेको होइन । दाई काठमाडौं एक्लै गएका थिए, म सानै थिएँ । अरू मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कान्छा बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो बहिनी बि. बाह्रबिसेलाई प्रतिवादी ताराबहादुर बस्नेतले तिम्रो दाजु र ममा कुनै फरक छैन म तिमीलाई काठमाडौं लगी काम लगाइदिन्छु र दशैं तिहारमा पनि सँगै ल्याइदिन्छु भनी निजले काठमाडौं लगी २ दिन कोठामा थुनी राखी इन्डिया लगी बेचेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुलकाका मानिस ..................ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी ताराबहादुर बस्नेतले जाहेरवाली बि. बाह्रबिसेलाई मिति २०५८।५।२६ गते काठमाडौं लगेको होइन । निज जाहेरवालीलाई प्रतिवादीले फकाएको पनि होइन । प्रतिवादीउपर लगाइएको आरोप एवं उजुरी झुट्टा हो । उक्त मितिमा मैले ताराबहादुरलाई काठमाडौं सोह्रखुट्टे प्रहरी चौकीमा भेटेको थिएँ । ऐ. २५ गते प्रहरीले निजलाई पक्राउ गरेका हुन् । प्रतिवादीउपर जाहेरवालीको कुनै लेनदेन, रिसइवी केही पनि थिएन । किन उजुरी गरे मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी शिवबहादुर बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०५८ साल भदौ २६ गते गाउँका बि. बाह्रबिसे र .................. घरमा नभएको खबर पाएँ । गाउँघरमा खोजतलास गर्दा ताराबहादुर बस्नेतले ललाई फकाई काम लगाइदिन्छु भनी काठमाडौं लगेको कुरा जानकारी भयो । त्यसपछि प्रतिवादीलाई खोजतलास गर्दा भेट भई बहिनीहरू खोई भन्दा मैले अर्को साथीको जिम्मा लगाएको छु भन्यो र निजलाई हामीले सोह्रखुट्टे प्रहरी बिटमा लग्यौं । मिति २०५८।५।२८ गते नै निजलाई महिला सेलमा लग्दा उसले तत्कालै निजको साथी प्रकाशको जिम्मा लगाएको र प्रकाशले बहिनीहरूलाई भारतमा लगेको कुरा स्वीकार गरेका थिए । तत्काल मुद्दा चलेपछि निजले बहिनीहरूलाई खोजेर ल्याउँछु भन्ने सर्तमा प्रहरीले थुनाबाट छाडेको हो । पीडितले स्वयं बेचिएको १०/११ वर्षपछि नेपाल फर्की आई निजलाई बेचबिखन गरेको कुरा भनेपछि ताराबहादुरले निजहरूलाई बेचेको कुरा थाहा भयो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस राजेन्द्र तामाङले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीलाई वारदात हुँदाका बखत तत्काल प्रचलनमा रहेको जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसुरमा सोही ऐनको दफा ८(१) मा व्यवस्था भएबमोजिम अधिकतम २० वर्ष कैद सजाय हुने ठहर्छ । सबै पीडितले समानरूपले राहत पाउने उनीहरूको नैसर्गिक अधिकार हो । त्यसको सुनिश्चितताका लागि स्पष्ट कानूनी व्यवस्था गरी यही ऐनमा भएको कोषको दायरा बढाई परिचालन गर्ने हो वा छुट्टै कोषको कानूनी व्यवस्था गरी सबै पीडितले समान रूपमा न्याय माग्न आउनासाथ पहिलो ढोकामै सो राहत पाउने व्यवस्था गर्न समय सापेक्ष र न्यायसम्मत हुने देखिन्छ । त्यसरी उपलब्ध गराएको रकम मुद्दाको अन्तिम किनारा लागेपछि सो रकम सरकारी बाँकीसरह नेपाल सरकारले प्रतिवादीबाट असुल गर्ने व्यवस्था भएमा प्रभावकारी हुने देखिन्छ । मानव बेचबिखन तथा ओसार पसार विरूद्धको अभियान सञ्चालनका लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) नियमावली, २०६५ को नियम ३ बमोजिम गठित राष्ट्रिय समिति र ऐ. नियम ६ बमोजिम गठित जिल्ला समिति क्रियाशील रहेको वर्तमान समयमा सो विशेष कार्यका लागि गठित ती समिति तथा नेपाल सरकारको सम्बन्धित मन्त्रालयमार्फत नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष उल्लिखित कानूनी व्यवस्था गर्नु अत्यावश्यक भएकोले स्थानीय रूपमा क्रियाशील रहेको जिल्ला समितिलाई त्यसतर्फ पहल गर्न ध्यान आकृष्ट गराउनु आफ्नो कार्यानुभवको आधारमा यो इजलास आफैँमा अन्तरनिहित दायित्वबोधसमेत
गर्दछ । तसर्थः फैसलाको जनाउ सम्बन्धित निकायलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत दिनु भन्ने सुरू अदालतको मिति २०७०।२।२७ को फैसला ।
जाहेरवालीलाई भारत बम्बई लगी बिक्री गर्ने व्यक्ति प्रकाश हो भन्ने तथ्य निज जाहेरवालीको अनुसन्धानको क्रमको बयान बकपत्रसमेतबाट पुष्टि भइरहेको छ । मैले जाहेरवालीलाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौं ल्याएको भन्ने तथ्य स्थापित भएको छैन । मैले निजहरूलाई होटलमा कार्य गर्नका लागि भनी मात्र काठमाडौं ल्याई प्रकाशको जिम्मा लगाएको हो । निजहरूलाई होटलमा बन्धक बनाउनेलगायतको कार्यमा मेरो संलग्नता पुष्टि भएको छैन । मैले निजहरूलाई बेचबिखन गर्ने उद्देश्य रहेको भए होटलमा बन्धक बनाउने कार्यमा समेत संलग्नता रहने थियो । जाहेरवालीलाई सिन्धुपाल्चोकबाट काठमाडौंसम्म ल्याउने कार्य र काठमाडौंबाट बम्बई लगी बिक्री गर्ने कार्य समान प्रकृतिको अपराध कायम हुने गरी मलाई अधिकतम सजाय गर्ने गरी भएको फैसलामा न्यायिक मन र विवेकको प्रयोग भएको छैन । अतः सुरू जिल्ला अदालतबाट भएको फैसला त्रटिपूर्ण हुँदा उल्टी गरी अभियोगदाबीबाट सफाइ पाउन वा न्यूनतम सजाय हुन अनुरोध छ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
प्रतिवादीले पीडितलाई मानव बेचबिखनजन्य कार्य गरेको मिसिल संलग्न प्रमाणहरूबाट स्थापित भई प्रतिवादीलाई सजाय गरेको अवस्था हुँदा पीडित बि. बाह्रबिसे अशिक्षित ग्रामीण महिला आफू भारतमा बेचिएको लामो समयपछि अनकौं दुःख र पीडा झेली उद्दार भई नेपाल फर्की आएको अवस्थाको भन्ने देखिन्छ । मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३०(२) मा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐनअर्न्तगत भए गरेका मानिने छन् भन्ने व्यवस्था गरेको पाइन्छ । सजायको सम्बन्धमा Ex-Post Facto Law (अतित प्रभावी कानून) प्रयोग हुने सिद्धान्त आकर्षित भएपनि पीडितलाई क्षतिपूर्ति भराउनेसम्बन्धी व्यवस्था सजाय नभई पीडितको हित एवं उद्दारको लागि भएको हुँदा पीडित पक्षको कल्याणको लागि गरिएको कानूनी व्यवस्थालाई अतित प्रभावी कानूनको संज्ञा दिई पीडितको हितविपरीत व्याख्या एवं अर्थ गर्न मिल्ने होइन । सुरू अदालतबाट क्षतिपूर्तिको सम्बन्धमा दाबी गरिएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को व्यवस्था कार्यान्वयनको पाटो प्रभावकारी नभएको भन्ने अर्थ लगाई पीडितलाई क्षतिपूर्ति भराउनेतर्फ उदासिन भई गरेको फैसला कानूनको व्याख्या एवं Victim Justice को Prospective बाट समेत खण्डनीय भई बदरभागी देखिन आउँछ । Calder Vs. Bull को मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै कार्य गर्दा अपराध नमानिएको र पछि बनेको कानूनले अपराध मानेको अपराध गर्दाको अवस्थामा भन्दा बढी गम्भीर बनाउने, गर्दाको समयमा भन्दा बढी सजाय तोक्ने र अपराध गर्दाको समयमा भन्दा कम वा फरक प्रमाण बुझ्ने गरी व्यवस्था भएको कानूनलाई मात्र अतित प्रभावी मानिने व्यवस्था गरेको जसभित्र सुविधा दिने, पीडितलाई राहत दिने कानून नपर्ने विश्वव्यापी मान्यता रही आएको सन्दर्भमा पीडितलाई पर्न गएको पीडाको मापन गरी क्षतिपूर्ति भराउनुपर्ने अन्तरनिहित विषयतर्फ न्यायिक दृष्टि नपुर्याई क्षतिपूर्ति पीडितलाई नदिलाउने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भई बदरभागी देखिन आउँछ मागदाबीअनुरूप क्षतिपूर्ति भराउनु पर्नेमा नभराउने गरी सुरू अदालतबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी पीडितलाई अभियोग मागदाबीबमोजिम प्रतिवादीबाट क्षतिपूर्ति भराई पाउन अनुरोध गरिन्छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा सुरू सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ एक अर्काको पुनरावेदन पत्र दुवै पक्षलाई परस्पर सुनाई प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।७।४ को आदेश ।
सुरू सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७०।२।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।७।२५ को फैसला ।
जाहेरी दरखास्तको बेहोरा, पीडित बाह्रबिसे बि. ले अनुसन्धान अधिकारी र अदालतसमक्ष गरेको बयान, म पुनरावेदक / प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष गरेको बयानसमेतका कागजातबाट पीडित बाह्रबिसे बि. लाई प्रकाशले भारत लगेको भन्ने देखिइरहेको र मेरो निर्दोषिता प्रमाणित र पुष्टि भइरहेको तथ्यलाई पूर्ण रूपमा बेवास्ता र बेमतलब गरी म प्रतिवादीले जाहेरवालीलाई बिक्री गरेको भनी केवल हचुवा र आशंकाको भरमा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) बमोजिमको कसुर कायम गरेको सुरू एवं पुनरावेदन अदालतको फैसलाहरू त्रुटिपूर्ण रहेको छ । यसैगरी तत्काल प्रचलनमा रहेको जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) मा मानिस बेचबिखन गर्ने व्यक्तिलाई १० वर्षदेखि २० वर्षसम्म कैद हुन्छ भन्ने कानूनी व्यवस्था गरेको छ र उक्त दफाबमोजिमको सजाय हुनका लागि कुनै पनि व्यक्तिले मानिसको बेचबिखन गरेको कार्यको शंकारहित तबरले पुष्टि र प्रमाणित भएको हुनुपर्दछ । पीडितको जाहेरी दरखास्तदेखि सम्मानित अदालतको फैसलाको सम्पूर्ण कागजातहरूको अध्ययन गर्दा जाहेरवालीलाई निजले भनेबमोजिम बेचबिखन गर्ने प्रकाशलाई कसुरअनुसार सजाय हुनुपर्नेमा सो नगरी स्वयं झुक्यानमा पर्ने म पुनरावेदकलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (क) मा उल्लेख भएबमोजिमको कसुर अपराध गरेको भनी उक्त ऐनको दफा ८(१) बमोजिम अधिकतम हदैसम्म २० वर्ष कैद सजाय हुने गरी मिति २०७०।२।२७ मा सिन्धुपाल्चोक जिल्ला अदालतबाट भएको फैसलालाई यथावत् सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१।७।२५ मा भएको फैसला न्यायोचित र विवेकपूर्ण नभई त्रुटिपूर्ण रहेको हुनाले उक्त फैसला उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी ताराबहादुर बस्नेतको यस अदालतमा परेको पुनरावेदन ।
यसमा पीडित महिलालाई प्रतिवादी ताराबहादुर बस्नेतले सिन्धुपाल्चोकबाट काठमाडौंसम्म ल्याई प्रकाश भन्ने व्यक्तिको जिम्मा लगाएको भन्नेसम्मको संलग्नता देखाइएको तथ्यगत सन्दर्भमा निजलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसुर कायम गरी दफा ८(१) बमोजिम २० वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।७।२५ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।४।१७ को आदेश ।
उल्लिखित बेहोरा भएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेलले यी प्रतिवादी / पुनरावेदकले बाह्रबिसे बि. लाई बेचबिखन गरेको भन्ने कहिँकतैबाट खुलेको अवस्था छैन । केवल सिन्धुपाल्चोकबाट काठमाडौंसम्म सँगै आएको भन्ने मात्र देखिएको
छ । पीडितकै जाहेरी र बकपत्रबाट पनि भारत लैजाने र बिक्री गर्ने व्यक्ति प्रकाश हो भन्ने स्पष्ट भइरहेको अवस्था छ । यस्तो अवस्थामा मेरो पक्षलाई अलिकति पनि न्यायिक मन प्रयोग नगरी हदैसम्मको २० वर्ष कैद सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला विवेकपूर्ण नभई त्रुटिपूर्ण भएको हुँदा सो फैसला उल्टी हुनुपर्दछ र मेरो पक्षले सफाइ पाउनु पर्दछ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी विपक्षी / वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले यी प्रतिवादी / पुनरावेदक र प्रकाशको मिलेमतोबाट यी पीडित बाह्रबिसे बि. लाई भारत पुर्याई बिक्री गरिएको अवस्था छ । पीडितलाई सिन्धुपाल्चोकबाट काठमाडौं ल्याई प्रकाशको जिम्मा लगाउने काम यी पुनरावेदकले गरेको भन्ने स्पष्टै छ । विपक्षी पुनरावेदक र प्रकाश दुवै साथी साथी रहेका र मानव बेचबिखन गर्ने काम गर्ने व्यक्तिहरू भएका भन्ने देखिएको छ । विपक्षीले पीडितलाई बिक्री गर्ने सन्दर्भमा विभिन्न Step (चरण) मा भूमिका निर्वाह गरेको देखिएको अवस्थामा निज निर्दोष हो भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिएकाले उल्टी बदर हुनुपर्ने अवस्था छैन भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक / प्रत्यर्थीतर्फबाट प्रस्तुत भएको उल्लिखित बेहोराको बहस सुनी मिसिल अध्ययन गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको मिति २०७१।७।२५ को फैसला मिले नमिलेको के हो ? तथा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरअनुसार हुनुपर्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णय सम्बन्धमा विचार गर्दा यी पुनरावेदकले मिति २०५८।५।२६ गते काठमाडौंमा काम लगाइदिन्छु भनी पीडित बाह्रबिसे बि. लाई निजको घर सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याएको र काठमाडौंमा प्रकाश भन्ने व्यक्तिको जिम्मा लगाएपछि निज प्रकाशले भारत बम्बई पुर्याई कोठीमा बिक्री गरेका रहेछन् । बिक्री भएको कुरा आफूलाई कोठी मालिक्नीले भनेपछि मात्र थाहा भएको र १ वर्षजति सोही कोठीमा काम गरेपछि बिरामी भई कोठी मालिक्नीले उपचार गराउन लगेको बेलामा औषधी किन्न जाँदा मालिक्नीलाई झुक्याइ भाग्न सफल भएकी हुँ । अतः मलाई बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिहरूउपर कारबाही गरिपाउँ भनी मिति २०६९।८।१ मा जाहेरी परेको देखिन्छ । जाहेरी दरखास्त परेपछि अनुसन्धान भई यी पुनरावेदक / प्रतिवादीले तत्कालीन समयको जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को अपराध गरेको र हाल उक्त ऐन प्रचलनमा नरही मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ प्रचलनमा रहिरहेकोले उक्त मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३०(२) मा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐनअन्तर्गत भए गरेका मानिने छन् भनी उल्लेख भएको हुँदा प्रस्तुत अपराधमा अभियुक्तलाई मानव बेचबिखन अथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत दफा ४(१)(क) को अपराधमा सोही ऐनको दफा १५(१)(क) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भनी सिन्धुपाल्चोक जिल्ला अदालतमा अभियोग दायर भएकोमा यी पुनरावेदक / प्रतिवादीलाई तत्काल प्रचलनमा रहेको जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसुरमा सोही ऐनको दफा ८(१) मा व्यवस्था भएबमोजिम अधिकतम २० वर्ष कैद सजाय हुने तथा क्षतिपूर्ति दिनको लागि आवश्यक कोष र कानूनी व्यवस्था गर्न नेपाल सरकारसमक्ष सम्बन्धित जिल्ला समितिमार्फत पहल गर्न ध्यानाकृष्ट गराउनु भनी सुरू सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७०।२।२७ मा फैसला भएकोमा सो फैसलामा चित्त नबुझाई आफूलाई २० वर्ष कैद सजाय हुने ठहर गरी भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी सफाइ पाउँ भनी प्रतिवादी ताराबहादुर बस्नेतले र पीडितलाई क्षतिपूर्ति भराउनुपर्नेमा नभराई क्षतिपूर्ति सम्बन्धमा आवश्यक कोष र कानूनी व्यवस्था गर्न सम्बन्धित स्थानीय समितिमार्फत नेपाल सरकारको ध्यानाकृष्ट गराउनु भनी भएको फैसला सो हदसम्म नमिलेको हुँदा मागबमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराई पाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत पाटनले सुरू सिन्धुपाल्चोक जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर हुने ठहर गरी मिति २०७१।७।२५ मा फैसला गरेको देखिन्छ । पुनरावेदन अदालत पाटनले गरेको उक्त फैसला न्यायपूर्ण र विवेकपूर्ण नभएकोले सो फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी पुनरावेदक / प्रतिवादी ताराबहादुर बस्नेतको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. प्रस्तुत घटनाको वारदात २०५८।५।२६ मा भएको भनी ०६९।८।१ मा जाहेरी परेको र मिति २०६९।८।२६ मा अभियोग दायर भएको
देखियो । वारदात मिति२०५८।५।२६ भएकोमा तत्काल प्रचलनमा रहेको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१) मा कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिएभन्दा बढी सजाय गरेको छैन भन्ने व्यवस्था रहेको देखिन्छ भने जाहेरी पर्दाका बखत प्रचलित नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(४) मा कुनैपनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन भन्ने व्यवस्था रहेको देखिन्छ । त्यसैगरी हाल प्रचलित नेपालको संविधानको धारा २०(४) ले पनि सो संवैधानिक व्यवस्थालाई निरन्तरता प्रदान गरेको देखिँदा कसुर गर्दाका बखत प्रचलनमा नरहेको कानूनबमोजिम कारबाही र सजाय गर्न नमिल्ने भन्ने संवैधानिक व्यवस्था रहेकोमा विवाद देखिएन ।
४. प्रस्तुत मुद्दामा पीडितलाई मिति २०५८।५।२६ मा भारतको बम्बैमा पुर्याई बिक्री गरी कसुर गरेको भन्ने देखिन्छ ।२०५८।५।२६ मा कसुर गरेको समयमा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ प्रचलनमा रहेको थियो भने मिति २०६९।८।२६ मा जाहेरी पर्दाको बखत मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ लागू रहेको देखिएकोले प्रतिवादीउपर कुन कानूनअन्तर्गत कारबाही र सजाय हुने हो भन्ने द्विविधा भएको र त्यस सन्दर्भमा विचार गर्दा साबिकको ऐनबमोजिमको कसुरमा हालको ऐनको कार्यविधि लागू हुने भनी प्रेमबहादुर मोक्तान विरूद्ध नेपाल सरकार (ने.का.प. २०६०, अंक ७/८, नि.नं. ७२६०) भएको जिउ मास्ने बेच्ने मुद्दामा यस अदालतबाट सिद्धान्त प्रतिपादित भई प्रकाशितसमेत भइरहेको पाइन्छ । उल्लिखित संवैधानिक व्यवस्था तथा अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा हेर्दा कानूनका दुई प्रकारमध्ये कार्य विधिगत कानूनको हकमा सम्बन्धित मुद्दाको कार्यविधि चल्दाको अवस्थामा प्रचलित कानून नै लागू हुने देखिन्छ भने Substantive कानूनको हकमा पश्चातदर्शी रूपमा कानूनको प्रयोग गर्न मिल्ने देखिँदैन ।
५. substantive कानूनको प्रयोग पश्चातदर्शी रूपमा गर्न नमिल्ने संवैधानिक व्यवस्था भएपनि अपराध गर्दाको बखत प्रचलनमा रहेको कानूनको स्थानमा नयाँ कानून निर्माण भएको अवस्थामा कुन कानूनको आधारमा सजाय हुने हो भन्ने द्विविधाको समाधान अदालती व्याख्याबाट भएको पाइन्छ । यस सम्बन्धमा Calder Vs. Bull को मुद्दा (सन् १७९८) मा अमेरीकी सर्वोच्च अदालतले निम्न प्रकृतिको कानूनलाई अतीत प्रभावी हुने भनी व्याख्या गरेको देखिन्छः-
(१) कानून बन्नुभन्दा पहिले अपराध नमानिने कुनै कार्यलाई पछाडि बनेको कानूनले अपराध घोषित गर्ने गरी निर्माण गरिएको कानून (Every law that makes an action done before the passing of the law and which was innocent when done criminal and punishes that action.)
(२) कुनै कसुर गर्दाको अवस्थामा सानो र कम गम्भीर मानिएको कसुरलाई पछाडि ठूलो र बढी गम्भीर हुने गरी निर्माण गरिएको कानून (Every law that aggravates a crime or makes it greater than it was when committed.)
(३) कसुर गर्दाको समयमा कम सजाय हुने कुनै कसुरमा पछाडि सजाय परिवर्तन गरी बढी सजाय गर्ने गरी निर्माण गरिएको कानून (Every law that changes the punishment and inflicts a greater punishment than the law annexed to the crime when committed.)
(४) अपराध गर्दा अपराधीलाई कसुरदार ठहर गर्न आवश्यक पर्ने प्रमाणसम्बन्धी कानूनी नियमहरूमा फेरबदल गरी कसुर प्रमाणित गर्न कम प्रमाण भए पुग्ने गरी निर्माण गरिएको कानून (Every law that alters the legal rules of evidences and receives less or different testimony than the law required at the time of the commission of the offence in order to convict the offender.)
६. अतीत प्रभावी कानूनका सम्बन्धमा अमेरिकी सर्वोच्च अदालतले गरेको उल्लिखित व्याख्यालाई नेपालको सर्वोच्च अदालतबाट उत्तम लामा वि. श्री ५ को सरकार भएको जिउ मास्ने बेच्ने मुद्दा (ने.का.प. २०६१, अंक ९, नि.नं.७४३२) मा स्वीकार गरिएको पाइन्छ । उपर्युक्त व्याख्याको सन्दर्भमा प्रस्तुत मुद्दालाई हेर्दा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ र मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ दुवैले मानव बेचबिखन तथा ओसार पसारको कार्यलाई अपराध भनी मान्यता दिएको देखिन्छ । मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३०(२) ले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐनअन्तर्गत भए गरेको मानिने छन् भन्ने व्यवस्था गरेकोले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ बहाल रहेको अवस्थामा भएको कसुरमा मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही चलाउन सकिने नै देखिन्छ ।
७. अमेरिकी सर्वोच्च अदालतले गरेको उल्लिखित व्याख्या र कानूनको अतित प्रभावी सिद्धान्तलाई प्रस्तुत मुद्दाको सम्बन्धमा विचार गर्दा प्रतिवादी / पुनरावेदक ताराबहादुर बस्नेत काठमाडौंमा बस्ने गरेकोमा निज आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक गई पीडितसमेतलाई काठमाडौंमा काम लगाइदिन्छु, धेरै पैसा आउँछ भनी फकाई फुलाई प्रलोभनमा पारी निजहरूको घरपरिवारसँग सरसल्लाह नगरी परिवारको सहमति नलिई पीडितलाई निजको घर सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याई प्रकाश भन्ने व्यक्तिको साथमा (जिम्मामा) लगाएको भन्नेमा विवाद देखिएन । निज पुनरावेदक / प्रतिवादीले पीडितलाई आफ्नो चिनजानको साथी प्रकाशको जिम्मा लगाएपछि निज प्रकाशले पीडितलाई भारत बम्बईको कमान्ठीपुरामा पुर्याई कोठीमा बिक्री गरेको भन्ने निज पीडितको बयानबाट देखिनुका साथै प्रतिवादीले यस अदालतमा बयान गर्दा पीडित बाह्रबिसे बि. र .................. गाउँकै केटीहरू हुन्, प्रकाश भन्ने व्यक्ति चिनजानको मान्छे भएकोले केही समय निजको साथमा बस्न भनेको हो, निजले भारत बम्बैमा लगी बेच्ला जस्तो लागेको थिएन भनी बयान गरेकोसमेत
देखियो । यसप्रकार यी पुनरावेदक / प्रतिवादीको अदालतको बयानबाट समेत यिनले नै पीडितलाई सिन्धुपाल्चोकको निजको घर / गाउँदेखि ल्याई प्रकाश भन्ने व्यक्तिको जिम्मामा दिएको र प्रकाशले भारत बम्बई पुर्याई निज पीडितलाई बिक्री गरेको भन्ने देखिएको सन्दर्भमा सो बिक्री गर्ने कार्यमा यी पुनरावेदक / प्रतिवादी ताराबहादुर बस्नेतको कहिँकतै पनि सहयोग र संलग्नता थिएन भनी मान्न मिल्ने नदेखिई निजको सो कार्य जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ तथा मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(३) अन्तर्गतको कसुर कायम हुने देखियो ।
८. उल्लिखित कसुरका प्रतिवादी / पुनरावेदकलाई हुने सजायको सम्बन्धमा विचार गर्दा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार १० वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने देखिन्छ भने मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) अनुसार पुनरावेदक / प्रतिवादीलाई २० वर्ष कैद र २(दुई) लाख जरिवाना हुने देखिन्छ । यसप्रकार वारदात हुँदाका बखत प्रचलनमा रहेको ऐनले उल्लिखित कसुरमा निर्धारण गरेको सजायभन्दा पछिल्लो ऐनले निर्धारण गरेको सजाय बढी रहेकोले प्रस्तुत वारदातका कसुरदारलाई पछि बनेको ऐन (मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४) अनुसार सजाय गर्दा बढी सजाय हुन जाने र त्यसो गर्नु अतित प्रभावी सिद्धान्त (Principle of Ex-Post Facto law) अनुसार नमिल्ने भएकाले प्रस्तुत मुद्दाका कसुरदार पुनरावेदक ताराबहादुर बस्नेतलाई जिउ मास्ने बेच्ने (नियन्त्रण) ऐन, २०४३ अनुसार सजाय गर्नुपर्ने
देखियो । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) मा "मानिस बेचबिखन गर्ने व्यक्तिलाई १० वर्षदेखि २० वर्षसम्म कैद हुनेछ" भन्ने उल्लेख भएको देखिँदा मानिस बेचबिखनको कसुरमा संलग्न हुने कसुरदारलाई संलग्नताको स्तर हेरेर विवेकशील निर्णय गर्न विधि निर्माणकर्ताले न्यायकर्तालाई पर्याप्त स्वविवेकीय अधिकार दिएको देखिन्छ । यसरी मानिस बेचबिखनको कार्यमा संलग्न कसुरदारलाई १० वर्षदेखि २० वर्षसम्म कैद हुने फैसला गर्न न्यायकर्ता सक्षम रहेपनि निर्णय गर्दा विवेकशील, न्यायोचित र औचित्यता हेरी निर्णय गर्नुपर्दछ, भने कसुरदारलाई गरिएको सजाय र कसुरको स्तरबीचमा औचित्यपूर्ण सम्बन्ध पनि देखिनुपर्दछ ।
९. प्रस्तुत मुद्दामा पुनरावेदक ताराबहादुर बस्नेतको आपराधिक कार्यमा संलग्नता रहेको देखिए पनि त्यस्तो संलग्नता सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म पीडित पक्षलाई ल्याउने कार्यमा सीमित रहेको देखिन्छ । काठमाडौंदेखि भारतको बम्बईको कमान्ठीपुरामा पुर्याई बिक्री गर्नेसमेतका कार्यमा निजको संलग्नता रहेको देखिँदैन । साथै पीडित बाह्रबिसे बि. लाई बम्बईको कोठीमा बिक्री गरेबापत प्राप्त रकम बाँडफाँड भएको तथा त्यस्तो रकमको बाँडफाँडबाट केही हिस्सा यी पुनरावेदकले लिई आर्थिक लाभ प्राप्त गरेको भन्नेसमेत कहिँकतैबाट खुल्न आएको देखिँदैन ।
१०. सिन्धुपाल्चोक बस्ने पीडित बाह्रबिसे बि. लाई सिन्धुपाल्चोकदेखि काठमाडौं हुँदै भारतको बम्बईसम्म पुर्याई बिक्री गर्ने कार्य पूरा गर्दा पूरा गर्नुपर्ने विभिन्न चरणहरूमध्ये पहिलो चरणको सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न हुने यी पुनरावेदकलाई विधायिकाले कानून बनाउँदा निर्धारण गरेको सजायको उच्च स्तरको मात्रा प्रयोग गरी हदैसम्मको दण्ड दिनु न्यायोचित र विवेकसम्मत नहुने र न्यूनतम सजाय गर्दा पनि कानूनको मनसाय पूरा हुने देखिन्छ ।
११. अतः माथि विवेचित आधार र कारणसमेतबाट प्रस्तुत मुद्दाका पुनरावेदक / प्रतिवादी ताराबहादुर बस्नेतलाई निजले पीडित बाह्रबिसे बि. लाई बेचबिखन गर्न निर्वाह गरेको भूमिकाको आधारमा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम हदैसम्मको सजाय गर्नु न्यायोचित नदेखिँदा पुनरावेदन अदालत पाटनबाट मिति २०७१।७।२५ मा पुनरावेदक / प्रतिवादी ताराबहादुर बस्नेतलाई २० वर्ष कैद सजाय हुने ठहर गरी भएको फैसला सो हदसम्म उल्टी भई निजलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १०(दश) वर्ष कैद हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१२. प्रस्तुत मुद्दामा कानून (ऐन) द्वारा प्रतिवादीलाई तोकिएको सजायको दृष्टिकोणबाट जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लागू भएपनि मानव बेचबिखन ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३०(२) को कानूनी व्यवस्थाले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लाई समर्थन गरेको अवस्था तथा सोही मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्ति दिलाई पाउँ भन्नेसमेतको अभियोग दाबी भएको सन्दर्भमा पीडितलाई क्षतिपूर्ति भराउने प्रयोजनार्थ पहिलाको ऐनभन्दा उदार व्यवस्थासहित आएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ लागू नहुने भन्न मिल्ने देखिँदैन, साथै जाहेरी पर्दा र अभियोग दर्ता हुँदाका बखत लागू रहेको ऐनले पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने व्यवस्था गरेकोमा कसुर हुँदाका बखत लागू रहेको कानूनले क्षतिपूर्तिको व्यवस्था नगरेको भन्ने आधारमा पीडितलाई क्षतिपूर्ति नभराउने गरी व्याख्या गर्नु पीडित मैत्री विधि शास्त्रीय मान्यताअनुकूल नहुनुका साथै त्यसरी गरिएको व्याख्याले कानूनको उदार व्याख्यासम्बन्धी सिद्धान्तसँग समेत सामञ्जस्यता नराख्ने हुँदा प्रस्तुत मुद्दामा पीडितलाई क्षतिपूर्ति भराउनु सिद्धान्ततः मनासिब र औचित्यपूर्ण हुने देखियो ।
१३. मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ मा प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने भन्ने उल्लेख भए पनि प्रस्तुत मुद्दामा पीडितले प्रतिवादीबाट क्षतिपूर्ति भराई पाउन सक्ने अवस्था मिसिलबाट देखिँदैन । साथै पीडित एच. आइ. भि. को संक्रमित रोगी भएकाले नियमित उपचार गर्नुपर्ने अवस्थामा रहेको तथा निजको आर्थिक अवस्थासमेत कमजोर रहेको भन्ने निजको बयान बेहोराबाट देखिन्छ । यसप्रकारको संवेदनशील रोग तथा कमजोर आर्थिक स्थितिको बिरामी (पीडित) ले कसुरदारबाट क्षतिपूर्ति भराई लिन पाउने अवस्था नभएको हुँदा निजको संरक्षकत्वको भूमिका निर्वाह गर्नबाट राज्य पन्छिन मिल्ने देखिएन ।
१४. तसर्थः यस्तो अवस्थाका पीडितलाई क्षतिपूर्तिको व्यवस्थासमेत गर्न मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १४ मा व्यवस्था भएको पुन:स्थापना कोषबाट पीडितले रू.३,००,०००।- (तीन लाख) क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ । यस्तो रकम बैंक खाताबाट निकाल्न पीडितलाई सहज हुने गरी निजलाई पायक पर्ने सरकारी बैंकमा निज पीडितको नाममा खाता खोल्न लगाई यथाशीघ्र सो खातामा जम्मा गर्ने व्यवस्था गर्नु गराउनु भनी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ । तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि इन्साफ खण्डमा ठहर भएबमोजिम पुनरावेदन अदालत पाटनको मिति २०७१।७।२५ को फैसला केही उल्टी भई पुनरावेदक / प्रतिवादी ताराबहादुर बस्नेतलाई १०(दश) वर्ष कैद सजाय हुने ठहरेकाले सुरू जिल्ला अदालतको तपसिल खण्डको १ नं. को लगत कायम नरहने हुँदा सो लगत संशोधन गरी पुनरावेदक / प्रतिवादीलाई पक्राउ परेको मिति (२०६९।८।२) देखि गणना गरी १० वर्ष कैद असुल गर्न लगत कसी संशोधित कैदी पुर्जीसहितको जानकारीपत्र सम्बन्धित कारागारमा पठाई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ।
२. इन्साफ खण्डमा ठहर भएबमोजिमको रकम यथाशीघ्र पीडितलाई क्षतिपूर्ति भराउने प्रयोजनार्थ प्रस्तुत आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिनू ।
३. प्रस्तुत फैसलाको प्रति विद्युतीय अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृतः उद्धवप्रसाद गजुरेल
इति संवत् २०७४ साल पुस २३ गते रोज १ शुभम् ।