शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३३० - नाता कायम गरी न्वारान गराई पाउँ

भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक:

निर्णय नं. ४३३०     ने.का.प. २०४८      अङ्क ७

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४५ सालको फौ.पु.नं. ३९७

फैसला भएको मिति : २०४८।७।१८।२ मा

पुनरावेदक/प्रतिवादी : पाल्पा जिल्ला पिपल डांडा गा.पं. वडा नं. ३ अगाहाखोला रामडाडा बस्ने मोहनबहादुर बस्नेत

विरुद्ध

विपक्षी/वादी : नवलपरासी जिल्ला वेणिमणिपुर गा.पं. वडा नं. ६ घर देखाई धौलागिरी अं., पर्वत जिल्ला सराड्डखोला गा.पं. वडा नं. ३ बस्ने जयन्ति बस्नेत राखेको जयन्ति भारती

मुद्दा : नाता कायम गरी न्वारान गराई पाउँ

(१)    पतिसंग सहवास भई सन्तानोत्पत्ति हुन नसक्ने जस्ता प्रमाणको अभावमा पतिले वादी तथा निजबाट जन्मेको सन्तान छोरालाई अदालतमा उपस्थित भई अस्वीकार नगरेको अवस्थामा वादीबाट जन्मेको छोरा अर्काको वीर्यबाट जन्मेको भनी भन्न सकिने ठोस आधार प्रमाण नभएकोले पति नाता कायम गरी न्वारान गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. ११)

पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री युवराज    संग्रौला

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४४।११।२३ मा फैसला भई (साविक पेज नं. ३७९) सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    मेरो माइतिघर नजिकै कोलटाडी भन्ने स्थानमा मेरी फुपुको छोरी दिदीको घर भएकोले ०३८ साल देखि आउने जाने गरेकी थिएँ । विपक्षी मोहन बस्नेतको घर पनि दिदीको घरसंगै जोडिएको हुँदा निज मोहन बस्नेतसंग परिचय भयो । यसै क्रममा हाम्रो भेटघाट ठट्टा मस्करी हुँदै जाँदा गत ०४०।५।१० गते साँझको समयमा म रजस्वला भएको दशौं दिनको दिन प्र.पं. केशव रेग्मीको घर पछाडि बाँसको झ्याँगमा हामी दुवैको करणी लेनदेन भयो । सो करणी वीर्यको कारणबाट गर्भ रहन गयो । हामी विदेश भाग्ने सरसल्लाह हुँदै थियो । यस्तैमा मेरो बुबा आमाको जोड बलले एक नाउँ गाउँ थाहा नभएको व्यक्तिसंग वैवाहिक सम्बन्ध जोडी दिनु भयो । म पहाडमा गई बसेर यसरी निज पतिसंग संगै बसे पनि पति र पत्नीमा हुनु पर्ने यौन संसर्ग भएन । लोग्ने भारततर्फ लागेपछि म माइतिघर फर्की आएँ, यस्तैमा ०४१ ज्येष्ठ २८ गते भरतपुर अस्पतालमा निज मोहन बस्नेतको करणी विर्यबाट रहन गएको गर्भबाट छोरा जन्मी न्वारान गराई दिनु हवस भन्दा नगरी दिएको एवं घर जाँदा समेत घरबाट निकाला गरी दिएको हुँदा उक्त बच्चाको न्वारान गराई निज मोहन बस्नेतसंग पति नाता कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    वादीसंग मेरो करणी सम्बन्ध भएको र मेरो करणी वीर्यबाट गर्भ रही छोरा जन्मेको भन्ने फिराद लेख झुठ्ठा हो । वादीसंग मेरो चिनाजानी छैन, निज वादीको जि.पर्वत गा.पं. सराङखोला वडा नं. ३ साधनी गाउँ बस्ने भविश्वर भारतीसंग विवाह भइसकेको छ, भविश्वरकै करणी वीर्यबाट गर्भ धारण गरेकी हुन, निज वादीको बाबुसंग रुपैयाँ लेनदेनको कारणबाट झैं झगडा भएको तथा वादीका बाबुको आर्थिकस्थिति कमजोर भएको कारणले केही रकम समेत झार्ने नियत लिई म उपर यो झुठ्ठा उजूरी गरेकी हुन् । भविश्वरले लेखेको चिठ्ठीमा निजलाई साईली शब्दले प्यार प्रदर्शन गरेको एवं हेरविचार गर्न विवशता देखाएको समेतबाट निज वादीले जन्माएकी बच्चा भविश्वरकै हो भन्ने स्पष्ट छ । तसर्थ मैले न्वारान गर्नुपर्ने र वादीको म पति नाता कायम हुनु पर्ने होइन, साथै यो फिरादले अ.बं. ३६ नं. को सुविधा नपाउने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    वादी प्रतिवादीको साक्षीहरुको बकपत्र र नाता सम्बन्धमा ०४३।४।१६ मा सरजमीन भई मिसिल सामेल रहेको ।

५.    वादी जयन्ती बस्नेतबाट जन्मिएको बच्चा प्रतिवादी मोहन बस्नेतकै वीर्यबाट जन्मिएको र प्रतिवादी मोहन बस्नेतसंग वादीको लोग्ने नाता कायम हुने र छोराको न्वारान गरी दिनुपर्ने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको मिति ०४३।५।२६ को फैसला ।

६.    उक्त इन्साफमा चित्त बुझेन शुरु नवलपरासी जिल्ला अदालतको फैसला बदर गरी झुठ्ठा दावाबाट फुर्सद गराई पाउँ भन्ने प्रतिवादी मोहनबहादुर बस्नेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

७.    शुरु नवलपरासी जिल्ला अदालतका बुँदा प्रमाण समेतबाट वादी जयन्ती बस्नेत र प्रतिवादी मोहनबहादुर बस्नेत बीच लोग्ने स्वास्नीको नाता कायम गरी न्वारान गरी दिनु पर्ने ठहर्‍याएको नवलपरासी जिल्ला अदालतको २०४३।५।२६ को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।

८.    उक्त फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी मोहनबहादुर बस्नेतको यस अदालतमा परेको निवेदनपत्रमा प्रतिवादी पहाड घरमा बसेको भन्ने र प्र.को रगत र जातकको रगतको गु्रप समेत फरक देखिएको साथै बुझिएका सरजमीनले पनि (साविक पेज नं. ३८०) अधिकांश सरजमीनले भविश्वरकै वीर्यबाट बच्चा जन्मेको भनी प्रतिवादीलाई सफाई दिएको र निजका साक्षीले पनि विवादित गर्भ प्रतिवादीको होइन भनी किटानी बकपत्र गरेको पाइन्छ । यस्तो स्थितिमा लोग्ने स्वास्नीको नाताकायम हुने ठहराएको शुरुले गरेको निर्णय लाई सदर गरी प.क्षे.अ.ले गरेको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ६(घ)तथा दफा ५४ समेतको व्याख्यामा त्रुटि गरी गरेको देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख), (ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत सं.इ.को मिति २०४५।२।३२ को आदेश ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मोहनबहादुर बस्नेत तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले वादी जयन्तीको भविश्वरसंग विवाह भई केही समय पतिसंग रहेको स्वयं वादीले स्वीकार गरेको अवस्थामा वादी जयन्तीबाट जन्मिएको बच्चा प्रतिवादी मोहन बस्नेतको हुन सक्दैन भन्ने समेत र पुनरावेदक प्रतिवादी तर्फकै अर्का विद्वान अधिवक्ता श्री युवराज संग्रौलाले वादी जयन्ती स्वयंले भविश्वरसंग विवाह भई केही समयसंग रहेको स्वीकार गरेको र सरजमीनका अधिकांश व्यक्तिहरुले वादीबाट जन्मिएको बच्चा वादीको विवाहित पति भविश्वरकै सन्तान हो भन्ने समेत लेखाई दिएकोले वादी दावी पुग्न सक्दैन भन्ने समेत गर्नु भएको बहस सुनियो ।

१०.    यसमा निर्णयतर्फ विचार गर्दा वादी जयन्ती बस्नेत र प्रतिवादी मोहन बस्नेत बीच लोग्ने स्वास्नीको नाता कायम गरी न्वारान गरी दिनु पर्ने ठहर्‍याएको नवलपरासी जिल्ला अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेतर्फ निर्णय दिनु पर्ने देखिन आयो ।

११.    यसमा प्रतिवादी मोहनबहादुर बस्नेतले वादी जयन्तीको विवाह भविश्वरसंग भएको भनी आफू प्रतिवादीको आरोप तथा दावीमा इन्कार रहेको, वादी जयन्तिले पनि फिरादमा २०४०।१।६ मा विवाह गर्न पर्छ भनी पहाडतर्फ लगी नाउँ गाउँ नजानेको केटोसंग बस्न बाध्य गराएको र केही समयसंग साथमा रहे भएको कुरामा सावित भएको देखिन्छ । सरजमीनका व्यक्तिहरुले पनि वादी जयन्तिको विवाह भविश्वरसंग भएको र वादीबाट जन्मिएको छोरा विवाह भएकै केटोबाट जन्मेको कुरा सरजमीनका अधिकांश व्यक्तिहरुले लेखाई दिएको देखिन्छ । सरजमीनका वादीका भाइ रामप्रसाद गिरीले विवाह हुनु भन्दा अगाडि नै वादीको गर्भ रहेकोमा गर्भ रहेपछि भविश्वरसंग विवाह भयो भन्ने आधार देखाई गर्भ प्रतिवादी मोहन बस्नेतको गर्भ भनी लेखाएको देखिन्छ । तर स्वयं वादीको फिराद लेखबाट सो कुरा नदेखाई मिसिल संलग्न प्रमाणबाट वादीको २०४०।१।६ मा मात्र भविश्वरसंग विवाह भएको र विवाह पश्चात पनि पति भविश्वरसंग रहे बसेको भन्ने देखिन्छ । फिरादपत्रमा २०४०।५।१० मा मात्र प्रतिवादीसंगको करणीबाट गर्भ रहेको भन्ने भनाई रहेको देखाएको छ । यसबाट वादीको लेखबाट विवाह हुँदाका अवस्था गर्भ रहेको भन्ने देखिँदैन । वादीको भविश्वरसंग विवाह नै नभएको तथा निजसंग साथ बसेको छैन भन्ने वादीको भनाई छैन । मिसिल संलग्न प्रमाणबाट वादी जयन्ति र भविश्वर भारती बीच विवाह भएको देखिन्छ । संग साथमा रहेका पनि देखिन्छन् । पतिको संग साथमा रहँदा सहवास नभएको भनी विश्वास गर्न सकिने आधार प्रमाण वादीबाट गुजार्न सकेको देखिँदैन । भविश्वरलाई अ.बं. १३९ नं. बमोजिम बुझ्दा पनि अदालतमा उपस्थित भएको देखिँदैन । मिसिल संलग्न महेन्द्र आदर्श चिकित्सालय भरतपुरको २०४५।३।३० को पत्रबाट २०४१।२।२८ का दिन भर्ना भएको जयन्ति भारतीले २०४१।२।२८ मा छोरा पाएको भन्ने देखिनुका अतिरिक्त निजको पति भविश्वर भन्ने देखिन्छ । तसर्थः विवाह भएको वादी आफ्नो विवाहित (साविक पेज नं. ३८१) लोग्ने संग साथमा विवाह पछि रहेभएको कुरालाई स्वीकार गरेको र प्रमाणबाट पति भविश्वर भन्ने देखिन्छ । पतिसंग सहवास भई सन्तानोत्पत्ति हुन नसक्ने जस्ता प्रमाणको अभावमा पति भविश्वर समेतले वादी तथा निजबाट जन्मेको सन्तान छोरालाई अदालतमा उपस्थित भई अस्वीकार नगरेको अवस्थामा वादीबाट जन्मेको छोरा मोहन बस्नेतको वीर्यबाट जन्मेको भनी भन्न सकिने ठोस आधार प्रमाण नभएकोले मोहन बस्नेत पति नाता कायम गरी न्वारान गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादी जयन्तीबाट जन्मेको बच्चा प्रतिवादी मोहन बस्नेतको वीर्यबाट जन्मिएको र प्रतिवादी मोहन बस्नेतसंग वादीको लोग्ने नाता कायम हुने र छोराको न्वारान गराई दिनु पर्ने ठहराएको शुरुको सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ । अरु तपसीलबमोजिम गर्नु ।

तपसील

प्रतिवादी मोहन बस्नेत के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु र क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहरेकाले शुरु नवलपरासी जिल्ला अदालतले निजलाई गर्ने गरेको जरिवाना रु. १०।र पश्चिमाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको जरिवाना रु १।समेत जम्मा रु. ११।फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए कानुन बमोजिम फिर्ता दिनु भनी शुरुमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत, तहसीलमा लगत दिनु...१, मिसिल नियमानुसार बुझाई दिनु...२

उक्त रायमा म सहमत छु । न्या.गजेन्द्रकेशरी बास्तोला

इतिसम्वत् २०४८ साल कार्तिक १८ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु