शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००३३ - लागु औषध खैरो हेरोइन

भाग: ६० साल: २०७५ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

फैसला मिति : २०७४।६।३१

०७०-CR-१६११

 

 मुद्दाः- लागु औषध खैरो हेरोइन

 

पुनरावेदक / वादी : प्र.ना.नि. जयदिप शमशेर ज.व.रा. समेतको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने सुवास मानन्धरको छोरा मनिष मानन्धरसमेत

 

लागु औषध प्रतिवादीले सेवन र बिक्री वितरण दुवै प्रयोजनको लागि ओसार पसार गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रा र अन्य प्रमाणहरूको आधारमा विचार गरिनुपर्ने ।

प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न मिल्दैन । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने ।

(प्रकरण नं.४)

लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) ले लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसार पसार गर्नेलाई अपराधको एउटा वर्गीकरण गरी १४(१)(छ) मा गाँजाबाहेक अन्य लागु औषध सेवन गर्नेलाई अर्को वर्गीकरणअन्तर्गत राखी १४(१)(ङ) मा सजायको व्यवस्था गरेको छ । ओसार पसारलगायतका अन्य कार्यलाई गम्भीर कसुरको रूपमा राखेको पाइन्छ भने सेवनलाई कम सजाय निर्धारण गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाले सेवनका लागि लिएर हिँड्ने क्रममा प्रयोग भएको सवारी साधन जफत गर्ने कानूनको उद्देश्य नरहेको प्रस्ट हुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री टेकनारायण कुँवर

मकवानपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री बम कुमार श्रेष्ठ

माननीय न्यायाधीश श्री उमेशकुमार सिंह

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-

 

तथ्य खण्ड

जिल्ला मकवानपुर, भीमफेदी-२ स्थित सडकमा पूर्वमा कारागार जाने बाटो, पश्‍चिममा इलाका प्रहरी कार्यालय भीमफेदी, उत्तर र दक्षिण सडक यति चार किल्लाभित्र काठमाडौं जान आएको बा.१३ प २२२० नं. को मोटरसाइकलमा सवार रहेका मनिष मानन्धर र लक्ष्मण महर्जनलाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मनिष मानन्धरको पेन्टीभित्र गुप्‍ताङ्गमा लागु औषध खैरो हेरोइन ६ ग्राम फेला परेको र उक्त लागु औषध ओसार पसारमा लक्ष्मण महर्जनको समेत संलग्नता रहेकोले ओसार पसारमा संलग्न मोटरसाइकलसमेत बरामद गरिएको भन्नेसमेत बेहोराको खानतलासी एवम् बरामदी मुचुल्का ।

मिति २०६९।७।२७ गते बिहान अं. १७:०० बजेको समयमा जिल्ला मकवानपुर, भीमफेदी-२ स्थित सडकमा बा.१३ प २२२० नं. को मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मनिष मानन्धरले लगाएको पेन्टीभित्र लुकाई ल्याएको अवस्थामा लागु औषध (खैरो हेरोइन) ६ ग्राम फेला परेको र सो लागु औषध ल्याउनमा लक्ष्मण महर्जनसमेत संलग्न रहेको हुँदा मोटरसाइकलसहित निजहरूलाई पक्राउ गरी कारबाहीको लागि पेस गरेको भन्नेसमेत बेहोराको प्र.ना.नि. जयदिप शमशेर ज.ब.रा. समेतको प्रतिवेदन ।

मिति २०६९।७।२७ गते अं.१७:०० बजेको समयमा जिल्ला मकवानपुर, भीमफेदी-२ अगाडि चेकजाँच गर्ने क्रममा हेटौंडाबाट भीमफेदी आउँदै गरेको बा.१३ प २२२० नं. को मोटरसाइकलमा सवार रहेका मनिष मानन्धर र लक्ष्मण महर्जनको शरीर चेकजाँच गर्दा मोटरसाइकल चालक मनिष मानन्धरले लगाएको पेन्टीभित्र गुप्‍ताङ्गमा लुकाई ल्याएको अवस्थामा ६ ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज ।

परीक्षणको लागि पठाइएको नमुनामा लागु औषध खैरो हेरोइन पाइएको (Diacetyl morphine (Heroin) has been detected in the exhibit no.1) भन्नेसमेत बेहोराको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

बा. १३ प २२२० नं. को मोटरसाइकल मेरो हो । मैले लक्ष्मण महर्जनलाई रू. २५,०००।- मा बिक्री गरेको हुँ । कामको व्यस्तताले नामसारी गर्न नभ्याएको हो । निजले उक्त मोटरसाइकलमा लागु औषध ओसार पसार गरेको कुरा मलाई थाहा छैन । उक्त लागु औषधमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको मोटरसाइकल धनी विष्‍णुप्रसाद सिग्देलको कागज ।

बरामद लागु औषध खैरो हेरोइन ६ ग्राम मनिष मानन्धरबाट बरामद भएको हो । उक्त लागु औषध साथी मनिष र मसमेत भई भारत रक्सौलमा गई फर्की वीरगञ्जमा आई रिक्सावालाबाट रू. ४,०००।- मा खरिद गरी सो रात वीरगञ्जमै बसी केही मात्रा लागु औषध खैरो हेरोइन सेवन गरी आउने क्रममा घटनास्थलमा पक्राउमा परेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण महर्जनले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

बरामद लागु औषध खैरो हेरोइन ६ ग्राम मेरो साथबाट बरामद भएको हो । उक्त लागु औषध साथी लक्ष्मण र मसमेत भई भारत रक्सौलमा गई फर्की वीरगञ्जमा आई रिक्सावालाबाट रू. ४,०००।- मा खरिद गरी सो रात वीरगञ्जमै बसी केही मात्रामा लागु औषध खैरो हेरोइन सेवन गरी भीमफेदी हुँदै जाने क्रममा घटनास्थलमा मेरो पेन्टीभित्र गुप्‍ताङ्गबाट फेला पारी प्रहरीले हामी दुवै जनालाई पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी मनिष मानन्धरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ), (ङ), (च) र (छ) को कसुर गरेकोमा सोही ऐनको दफा १४(१)(छ)(१) र १४(१)(ङ) बमोजिम सजाय हुनुको साथै लागु औषध खैरो हेरोइन ओसार पसार गर्न प्रयोग भएको बरामद बा.१३ प २२२० नं. को मोटरसाइकल सोही ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

मैले लागु औषध खैरो हेरोइन सेवन गर्न थालेको ६/७ महिना भयो । त्योभन्दा अगाडि म गाँजा खान्थेँ । म र साथी मनिष मानन्धर लागु औषध सेवन गर्ने मानिस हौं । मिति २०६९।७।२६ गते लालवन्दीमा दशैं महोत्सव मेला हेरी फर्कने क्रममा रक्सौलमा लागु औषध सस्तोमा पाइन्छ भन्ने सुनेको हुँदा हामी दुवैजनाको बराबर रूपैयाँ हाली रू. ४,०००।- मा लागु औषध खैरो हेरोइन खरिद गरी १ डोज खाई बाँकी साथी मनिषले राखी मोटरसाइकल चलाई आउँदा भीमफेदीमा चेकजाँच हुँदा हामी दुवैजना लठ्ठ अवस्थामा देखी प्रहरीले पक्राउ गरेको हो । हामी दुवैजनाले सेवन गर्न ल्याएको लागु औषध खैरो हेरोइन मनिष मानन्धरको साथबाट बरामद भएको हो । निजले चलाएको मोटरसाइकल मेरो हो । सो समयमा उक्त मोटरसाइकल निज साथी मनिष मानन्धरले चलाएका थिए । उक्त लागु औषध खैरो हेरोइन हामी आफैँले सेवन गर्न ल्याएको हो । बिक्री वितरण गर्न ल्याएको होइन । मोटरसाइकल जफत हुनुपर्ने होइन । अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण महर्जनले सुरू अदालतमा गरेको बयान ।

मैले लागु औषध खैरो हेरोइन सेवन गर्न लागेको करिब ७/८ महिना भयो । त्योभन्दा अगाडि म गाँजा खान्थेँ । साथी लक्ष्मण महर्जन पनि लागु औषध सेवन गर्ने मानिस हुन् । निज र म लागु औषध सेवन गर्दा सँगै सेवन गर्ने गरेका हौं । मिति २०६९।७।२५ गते लालबन्दीमा दशैं तिहार महोत्सव मेला लागेको हुँदा साथीहरू घुम्न भनी गई मेला हेरी मिति २०६९।७।२६ गते म र लक्ष्मण महर्जन काठमाडौं जान भनी निजको मोटरसाइकलमा बसी आएकोमा साथीहरूले वीरगञ्ज रक्सौलमा सस्तोमा पाइन्छ भन्ने सुनेको हुँदा हामी दुवैजनाको सल्लाह भई वीरगञ्ज गई उक्त दिन वीरगञ्जमा बसी भोलिपल्ट मिति २०६९।७।२७ गते बिहान रिक्सा चालकसँग सोधपुछ गर्दा निजले नै बरामद लागु औषध ल्याई दिए । हामी दुवैजनाले बराबर रूपैयाँ हाली रू. ४,०००।- मा खरिद गरी उक्त लागु औषध १ डोज खाई बाँकी लागु औषध मैले राखी मोटरसाइकल चलाई आउँदा भीमफेदीमा चेकजाँच हुँदा हामीहरूलाई लागु औषधले लठ्ठ अवस्थामा देखी प्रहरीले पक्राउ गरेको हो । बरामद लागु औषध हामी दुवैजनाले सेवन गर्न ल्याएको हो । बरामद मबाट मात्र भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मनिष मानन्धरले सुरू अदालतमा गरेको बयान ।

मिति २०६९।७।२७ गतेका दिन मसमेतको टोलीले जिल्ला मकवानपुर, भीमफेदी गा.वि.स., वडा नं. २ मा चेकजाँच गर्दा मनिष मानन्धरको पेन्टीभित्र गुप्‍ताङ्गमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध खैरो हेरोइन ६ ग्राम फेला परेको हो । निजसँग रहेको अर्को साथी लक्ष्मण महर्जनसँग केही पनि 

थिएन । सँगै देखिएकाले उक्त लागु औषध बरामद गरी बरामदी मुचुल्का तयार गरी प्रतिवेदनसाथ जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पेस गरेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक तथा काम तामेल गर्ने प्र.ना.नि. जयदिप शमशेर ज.व.रा. ले सुरू अदालतमा गरेको बकपत्र ।

निज प्रतिवादीहरू राम्रो चालचलन भएका मानिसहरू हुन् । निजहरू लागु औषध ओसार पसार र बिक्री वितरण गर्ने मानिस होइनन् । यिनीहरूले लागु औषध सेवन गर्न थालेको हल्ला गाउँघरमा चलेको कारण मैले थाहा पाएको हुँ । लागु औषध ओसार पसार गर्ने कार्य निजहरूले नगर्ने हुँदा निजहरूलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । निजहरूले केवल आफूले सेवन गर्नको लागि लागु औषध ल्याएको हुँदा सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीहरू लक्ष्मण महर्जन र मनिष मानन्धरका साक्षी अनिष महर्जन श्रेष्‍ठले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवेदकको जाहेरी प्रतिवेदन एवं अदालतको बकपत्र, प्रतिवादीहरूको मौका तथा अदालतमा भएको बयान, बरामदी मुचुल्का तथा बरामद भई आएको लागु औषधको परिमाण र प्रकृति, लागु औषधको उद्‌गम र पुर्‍याउन लागेको स्थानसमेतबाट प्रतिवादीहरू उपरको अभियोग दाबी शंकारहित रूपमा पुष्‍टि भएको हुँदा निज प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ), (ङ), (च) र (छ) को कसुरमा सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम खरिद ओसार पसारसमेत तर्फ जनही ५ (पाँच) वर्ष कैद र रू.१०,०००।- (दश हजार रूपैयाँ) जरिवाना र दफा १४(१) (ङ) बमोजिम सेवनतर्फ रू. १०,०००।- (दश हजार रूपैयाँ) जरिवानासमेत हुने ठहर्छ । साथै लागु औषध ओसार पसार गर्न प्रयोग भएको बरामद बा.१३ प २२२० नं. को मोटरसाइकल सोही ऐनको दफा १८ बमोजिम जफत हुनेसमेत ठहर्छ भन्ने बेहोराको सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६९।१२।२० मा भएको फैसला ।

हामी प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा बयान गर्दा बरामद लागु औषध सेवन गर्न ल्याएको कुरा स्वीकार गरी बिक्री वितरण गर्न ल्याएको होइन भनी कसुरमा इन्कार रही बयान गरेका छौं । हामीले सेवनसम्म गर्ने गरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भनी हाम्रा साक्षीले समेत बकी लेखाई दिएका छन् । त्यसैले हामीलाई सेवनमा मात्र कसुरदार ठहर हुनसक्ने 

हो । लागु औषध खरिद बिक्री गर्दाको अवस्थामा हामी पक्राउ परेका होइनौं । बरामद लागु औषधको परिमाण पनि कम रहेको  छ । हामीले कारोबार गर्ने गरेको भन्ने कुरा प्रमाणित हुन सकेको छैन । म लक्ष्मणबाट केही पनि बरामद भएको होइन । अनुसन्धानमा हामीले लेखाएको कुरालाई प्रमाणमा लिन मिल्ने होइन । लागु औषध बिक्री वितरणको लागि खरिद गरेको, हामीले सो लागु औषध बिक्री वितरण गर्ने गरेको कुनै सबुद प्रमाण (ढक, तराजु आदि) नभएको हुँदा हामीलाई सेवनमा कसुरदार ठहर गरिसकेपछि अनुमानको आधारमा खरिद सञ्चय र ओसार पसारमा समेत कसुरदार ठहर गरी सुरू अदालतबाट हामीलाई ५/५ वर्ष कैद तथा जरिवानाको सजाय गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी अभियोग दाबीको कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरूको संयुक्त  पुनरावेदन पत्र ।

यसमा दुई जनाका लागि ३/३ ग्रामका दरले लागु औषध सेवन गर्नको लागि लिई आएको भन्ने प्रतिवादीहरूको बयान भएको परिप्रेक्ष्यमा बरामदी लागु औषधको परिमाणसमेतलाई विचार गर्दा खरिद, ओसार पसार र सेवनतर्फ समेत सजाय गर्ने गरेको सुरू मकवानपुर जिल्ला अदालतको मिति २०६९।१२।२० को फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।१०।२८ को आदेश ।

लागु औषधको परिमाण न्यून भएको पाइनु, प्रतिवादीको घरबाट अन्य संदिग्ध कुनै वस्तु र सामान फेला नपर्नु, सुरूदेखि नै बयान गर्दा सेवनमा साबित भई ओसार पसार गरेको कुरामा प्रतिवादीहरू इन्कार भएको पाइनु, सेवनको सिलसिलामा ल्याएर राखेको अवस्थामा सञ्चय र ओसार पसार भन्न मिल्दैन भनी नजिर सिद्धान्त प्रतिपादित भएको देखिनुसमेतका उल्लिखित आधार एवं कारणहरूबाट प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ) बमोजिम सजाय गरेको हदसम्म मकवानपुर जिल्ला अदालतबाट मिति २०६९।१२।२० मा भएको फैसला नमिलेकोले त्यति हदसम्म केही उल्टी भई पुनरावेदक / प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनसमेतले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (४)(छ) बमोजिमको कसुरसम्म गरेको भन्ने देखिँदा ऐ. ऐनकै दफा १४(१)(ङ) नं. बमोजिम जनही रू.१०,०००।- (दश हजार रूपैयाँ) निजहरूलाई जरिवाना हुने 

ठहर्छ । मोटरसाइकलबाट लागु औषध बरामद भएको अवस्था नहुँदा जफत हुने ठहर्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/१२/२० को फैसला ।

बा.१३ प २२२० नं. को मोटरसाइकल चलाई आएका प्रतिवादी मनिष मानन्धरले गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा ६ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको र सोही मोटरसाइकलमा सवार लक्ष्मण महर्जनको समेत उक्त लागु औषध ओसार पसारमा संलग्न भएको भनी तयार भएको प्रहरी प्रतिवेदनलाई प्रतिवादीहरू रहोवरमा बसेको बरामदी मुचुल्काले पुष्टि गरेको देखिएको, प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्षको बयानबाट समेत यी प्रतिवादीहरूले काठमाडौंबाट वीरगञ्ज गई लागु औषध खरिद गरी काठमाडौंसम्म ओसार पसार गरेको देखिएको, प्रहरी कर्मचारीको अदालतको बकपत्र, बुझिएका मानिसहरूको कागज बेहोरा, प्रतिवादीहरूको अदालतको बयान र बरामदित चिजवस्तु लागु औषध खैरो हिरोइन भएको भन्ने परीक्षण प्रतिवेदनबाट समेत प्रतिवादीहरूबाट समेत दुवै प्रतिवादीले संयुक्त रूपमा उक्त लागु औषध खरिद गरेका र लागु औषधको परिमाण पनि ठूलो रहेको पुष्टि भएको, प्रतिवादीहरू चढी आएको मोटरसाइकलमा सवार रहेका यी प्रतिवादीबाट उक्त लागु औषध बरामद भएको अवस्थामा मोटरसाइकलबाट लागु औषध बरामद नभएको भन्न नमिल्ने, लागु औषध मुद्दा कठोर दायित्वअन्तर्गतको मुद्दा भएको र यस्तो मुद्दामा प्रमाणको भार प्रतिवादीहरूले पुर्‍याउनु पर्नेमा प्रतिवादीहरूले आफूहरूले सेवनका लागि लिएको भनी जिकिर लिएबाहेक अन्य कुनै प्रमाणद्वारा सेवनको लागि लिएको भनी पुष्टि गराउन सकेको नदेखिएको र निजहरूले लागु औषध सेवन गरेको भन्ने पनि पुष्टि हुन नआइरहेको अवस्थामा पुनरावेदन अदालतबाट भएको फैसलामा प्रचलित कानूनी व्यवस्था तथा प्रतिपादित कानूनी सिद्धान्तसमेतको प्रतिकूल देखिँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर । 

 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले मोटरसाइकलमा सवार प्रतिवादीहरूबाट नै ६ ग्राम लागु औषध बरामद भएको भन्ने कुरा बरामदी मुचुल्कालगायत यी प्रतिवादीहरूको अनुसन्धान अधिकारी र अदालतको बयानबाट पुष्टि भएको अवस्था छ । प्रतिवादीहरूले सेवनको लागि लिई आएको भने पनि सो कुरालाई कुनै प्रमाणबाट पुष्टि गराउन सकेको अवस्था छैन । लागु औषधको परिमाण हेर्दा पनि सानो परिमाण नभई ६ ग्राम रहेको देखिएको अवस्था छ । प्रतिवादीहरूले लागु औषध सेवन गरेको भन्ने पनि देखिएको छैन । यस्तो अवस्थामा प्रतिवादीहरूलाई सेवनतर्फ सजाय गरी निज प्रतिवादीहरू सवार मोटरसाइकल पनि जफत नगरी फिर्ता गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गर्ने प्रयोजनार्थ प्रत्यर्थी झिकाउने आदेश होस् भनी गर्नुभएको बहससमेत सुनियो ।

बा.१३ प २२२० नं. को मोटरसाइकलमा सवार रहेका प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनमध्ये मनिष मानन्धरको साथबाट ६ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको र उक्त लागु औषध दुवै प्रतिवादीहरूले मिलेमतोमा खरिद गरी ओसार पसार, बिक्री वितरण र सेवन गर्ने प्रयोजनको लागि लिई आएको पुष्टि भएकाले निज प्रतिवादीहरूको उक्त कार्य लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ), (ङ), (च) र (छ) को कसुर भएकोले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१)(छ)(१) र १४(१)(ङ) बमोजिम सजाय गरी लागु औषध खैरो हेरोइन ओसार पसार गर्न प्रयोग भएको बरामद बा.१३ प २२२० नं. को मोटरसाइकल सोही ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र रहेको देखिन्छ । सुरू अदालतबाट प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम खरिद ओसार पसारसमेततर्फ जनही ५ (पाँच) वर्ष कैद र रू.१०,०००।- (दश हजार रूपैयाँ) जरिवाना तथा दफा १४(१)(ङ) बमोजिम सेवनतर्फ रू. १०,०००।- (दश हजार रूपैयाँ) जरिवानासमेत हुने ठहर्छ । साथै लागु औषध ओसार पसार गर्न प्रयोग भएको बरामद बा.१३ प २२२० नं. को मोटरसाइकल सोही ऐनको दफा १८ बमोजिम जफत हुनेसमेत ठहर्छ भनी भएको फैसला केही उल्टी गरी पुनरावेदन अदालत हेटौंडाबाट प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) नं. बमोजिम जनही रू. १०,०००।- (दश हजार रूपैयाँ) निजहरूलाई जरिवाना हुने र बरामद भएको मोटरसाइकल जफत नहुने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकारको चित्त नबुझी प्रतिवादीहरूलाई खरिद ओसार पसारतर्फ लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम र बरामद भएको मोटरसाइकलसमेत जफत गरिपाउँ भनी प्रस्तुत पुनरावेदन गरेको देखियो ।

अब, पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ वा छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, खानतलासी तथा बरामदी मुचुल्का हेर्दा बा.१३ प २२२० नं. को मोटरसाइकलमा सवार मनिष मानन्धर र लक्ष्मण महर्जनमध्ये मनिष मानन्धरको साथबाट ६ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको र सो बरामद भएको लागु औषध दुवै जनाको मिलेमतोमा खरिद गरेको भन्ने देखिएको छ । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बरामद भएको लागु औषध आफूहरूले संयुक्त रूपमा लगानी गरी वीरगञ्जमा रिक्सा चालकबाट खरिद गरेको र सोही दिन सेवन गरी होटलमा बसी अर्को दिन पनि केही मात्रामा सेवन गरी साथमा लिई आएको हो । उक्त लागु औषध सेवनको लागि प्रयोग गर्ने हो भनी उल्लेख गरेको देखियो । प्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत बरामद भएको लागु औषध हामी दुवै जनाले बराबर रूपैयाँ हाली रू.४,०००/- मा खरिद गरी १ डोज सेवन गरी आउँदै गर्दा भिमफेदीमा प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको हो । सेवनको लागि उक्त लागु औषध ल्याएको भनी उल्लेख गरेको देखियो । खानतलासी तथा बरामदी मुचुल्का हेर्दा लागु औषधसँग सम्बन्धित कुनै वस्तु नभेटिएको भन्ने देखिन्छ । प्रतिवेदक जयदिप शमशेर ज.ब.रा.ले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूलाई खरिद बिक्री तथा कारोबार गरेको अवस्थामा पक्राउ गरिएको होइन । चेकजाँचको क्रममा पक्राउ गरिएको हो भनी उल्लेख गरेको देखियो ।

३. यसरी प्रतिवादीहरू दुवैले बराबर रकम लगानी गरी सेवन गर्नको लागि उक्त लागु औषध किनेको भन्ने निजहरूको बयानबाट देखिएको, दुई जनाले उक्त लागु औषध बाँड्दा ३/३ ग्राम हुन आउने देखिएको अवस्थामा उक्त परिमाण ठूलो भन्ने नदेखिएको, प्रतिवादीको घर खानतलासी लिँदा बिक्री वितरणसँग सम्बन्धित कुनै सामान बरामद भएको नदेखिएको, प्रतिवादीहरूले कोही कसैलाई बिक्री वितरण गर्न लगेको भन्ने पनि नदेखिएको, प्रतिवेदकले पनि अदालतमा बकपत्र गर्दा बरामद भएको भन्नेसम्म मात्र खुलाई बिक्री वितरणको लागि लगेको भनी भन्न नसकेको अवस्थामा प्रतिवादीहरूले बिक्री वितरण गरे भनी आरोपित गर्दैमा निजहरूलाई सोबमोजिम सजाय गर्न मिल्ने हुँदैन । 

४. लागु औषध प्रतिवादीले सेवन र बिक्री वितरण दुवै प्रयोजनको लागि ओसार पसार गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रा र अन्य प्रमाणहरूको आधारमा विचार गरिनुपर्ने हुन्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को स्पष्टीकरण खण्डमा अपराधको मात्रा भन्नाले “लागु औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद, बिक्री, ओसार पसार वा निकासी पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा सङ्गठन, अभियुक्तहरूले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक सामाजिक र साँस्कृतिक सङ्गठन जस्ता संस्थालाई माध्यम बनाई गरिएको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरूपयोग गरी गरेको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा” मानिने भनी व्यवस्था गरिएको हुँदा आरोपित व्यक्ति कसुरमा संलग्न रहँदाको सम्पूर्ण अवस्थाको विचार गरी सजाय निर्धारण गरिनुपर्ने विधायिकी मनसाय रहेको देखिन आउँछ । यस अर्थमा हेर्दा प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न मिल्दैन । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्दछ ।

५. प्रस्तुत मुद्दामा वादी पक्षले प्रतिवादीहरूबाट बरामद भएको लागु औषध खैरो हिरोइन सञ्चय, बिक्री वितरण र सेवनको लागि ल्याएको भन्ने कुरा पुष्टि गर्ने कुनै प्रमाण पेस गर्न सकेको अवस्था छैन । प्रतिवादीहरूले सेवनको लागि ल्याएको भनी अनुसन्धान अधिकारीसमक्ष उल्लेख गरेको र सोही बेहोरा अदालतमा समेत व्यक्त गरेको पाइन्छ । यी प्रतिवादीहरूको कथनलाई निजहरूका साक्षीले समेत पुष्टि गरिदिएको देखिएबाट प्रतिवादीहरूले सेवनसम्म गर्ने प्रयोजनको लागि उक्त बरामद भएको लागु औषध लिई आएको देखिन आयो ।

६. अब बरामद बा.१३प २२२० नं. को मोटरसाइकल जफत नहुने भनी पुनरावेदन अदालतबाट भएको फैसला मिलेन भन्ने पुनरावेदनतर्फ विचार गर्दा बरामद मोटरसाइकलमा प्रतिवादीहरू सवार रही आएकोमा विवाद देखिँदैन । प्रतिवादीहरूबाट बरामद भएको लागु औषध खैरो हिरोइन निजहरूले सेवन गर्ने प्रयोजनको लागि ल्याएको पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादीहरू सवार रहेको मोटरसाइकल जफत हुनुपर्ने हो होइन भनी सोसम्बन्धी कानूनी व्यवस्था हेर्नुपर्ने हुन्छ । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ ले “अपराधसित सम्बन्धित मालसामान जफत हुने: यस ऐनअन्तर्गत सजाय हुने अपराधसित सम्बन्धित सबै लागु औषध तथा त्यस्तो लागु औषध निर्माण वा उत्पादन गर्न प्रयोग गरिएका सबै मालसामान तथा यन्त्रहरू जफत हुनेछन् र त्यस्तो लागु औषध राखी ओसार पसार गर्न प्रयोग गरिएका रेल तथा हवाइजहाजबाहेक जुनसुकै सवारीसमेत जफत 

हुनेछ । तर सो सवारी त्यस्तो अपराध गर्न प्रयोग गरिने वा गरिएको कुरा सवारी धनीलाई थाहा थिएन भन्ने कुराको प्रमाण निजले पेस गर्न सकेमा भने त्यस्तो सवारी जफत गरिने छैन” भनी उल्लेख गरेको पाइन्छ । ऐ. ऐनको दफा ४(च) ले लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसार पसार गर्नेलाई अपराधको एउटा वर्गीकरण गरी १४(१)(छ) मा गाँजाबाहेक अन्य लागु औषध सेवन गर्नेलाई अर्को वर्गीकरणअन्तर्गत राखी १४(१)(ङ) मा सजायको व्यवस्था गरेको छ । ओसार पसारलगायतका अन्य कार्यलाई गम्भीर कसुरको रूपमा राखेको पाइन्छ भने सेवनलाई कम सजाय निर्धारण गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाले सेवनका लागि लिएर हिँड्ने क्रममा प्रयोग भएको सवारी साधन जफत गर्ने कानूनको उद्देश्य नरहेको प्रस्ट 

हुन्छ । साथै “राज्यले लागु औषध सेवनकर्ता उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा दायर गरी सजाय गराउने कार्यलाई प्राथमिकता दिनुभन्दा सेवनकर्तालाई सेवन गर्नबाट बिमुख गराउनेतर्फ समुचित ध्यान दिन जरूरी देखिन्छ । यसका लागि आवश्यक मनोचिकित्सक र विज्ञ चिकित्सकसहितको चिकित्सा केन्द्रलगायतका सुधार केन्द्रको स्थापना, Probation Officer को व्यवस्था गरी निजमार्फत आवधिक प्रगति प्रतिवेदन लिने एवं विभिन्‍न सामाजिक संघसंस्था (Social Organization) बाट सहयोग र समन्वय प्राप्त गरी सेवनकर्ताको औषधोपचार गराउने र उनीहरूलाई राष्ट्रका लागि आवश्यक एवं सभ्य नागरिकको रूपमा समाजमा पुनः स्थापित गराउनका लागि आवश्यक उपाय अवलम्बन गर्नु आजको आवश्यकता भएकाले त्यसतर्फ कानून निर्माण गर्नेलगायतका आवश्यक व्यवस्था गर्नेसम्बन्धी पहल गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को सचिवालय, गृह मन्त्रालयलाई र कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको ध्यानाकर्षणको लागि लेखी पठाई दिनु” भनी यसै अदालतको संयुक्त इजलासबाट पुनरावेदक प्रतिवादी पेम्बा शेर्पा प्रत्यर्थी वादी नेपाल सरकार भएको मु.नं. ०७१-CR-०१४८ को मुद्दामा मिति २०७३/०६/०७ मा फैसलासमेत भएको परिप्रेक्ष्यमा समेत प्रतिवादीहरूबाट बरामद भएको मोटरसाइकल जफत नहुने गरी पुनरावेदन अदालतबाट भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिँदैन ।

७. तसर्थ उल्लिखित आधार एवं कारणहरूबाट पुनरावेदन अदालत हेटौंटाबाट मिति २०७०/११/२० मा प्रतिवादीहरू मनिष मानन्धर र लक्ष्मण महर्जनलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) नं. बमोजिम जनही रू. १०,०००।- (दश हजार रूपैयाँ) जरिवाना हुने र बरामद भएको मोटरसाइकल जफत नहुने ठहरी भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नुहोला ।  

तपसिल

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ...........................१

नक्कल माग्ने सरोकारवालाहरूलाई नियमानुसार नक्कल दिनू ............................२

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ..................३

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृत: विष्णुप्रसाद आचार्य 

इति संवत् २०७४ साल असोज ३१ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु