निर्णय नं. १००३४ - लिखत बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।२।८
०६७-CI-०७३४
मुद्दाः लिखत बदर
०६७-CI-०७३४
पुनरावेदक / वादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं. ३ हाल वडा नं. ४ राङ्गभाङ्ग बस्ने वर्ष ७ को मदन दरै, वर्ष ५ को सुमन दरै र वर्ष १२ की मनिषा दरैसमेत जना ३ को हकमा संरक्षक भई निज नाबालकहरूकी आमा ऐ.ऐ. बस्ने धनमाया दरै
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं.४ राङ्गभाङ्ग बस्ने डिलबहादुर दरैसमेत
०६७-CI-०९६८
पुनरावेदक / प्रतिवादी : पाल्पा जिल्ला रामपुर गा.वि.स. वडा नं.४ राङ्गभाङ्ग बस्ने शिवराज डोटेल
विरूद्ध
प्रत्यर्थी / वादी : मदन, सुमन र मनिषा दरै जना ३ नाबालक र आफ्ना हकमा समेत ऐ.ऐ. बस्ने धनमाया दरै
मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन हुने हो । जग्गाको क्षेत्रफल ज्यादा हुने बित्तिकै वा आधाभन्दा बढी हुने बित्तिकै सम्पत्ति आधा हुने होइन । सम्पत्तिको मूल्याङ्कन क्षेत्रफलको आधारमा नभई खरिद बिक्री हुने मूल्यमा गर्नुपर्ने
हुन्छ । सम्पत्तिको अर्थ नै मूल्य हो । मूल्यको आधारमा हेर्दा आधाभन्दा बढी मूल्यको जग्गा बिक्री गरेको देखिएको अवस्थामा केबल क्षेत्रफललाई मात्र आधार लिई आधाभन्दा कम जग्गा बिक्री भएको भनी व्याख्या गर्नु न्यायसम्मत देखिन नआउने ।
अचल सम्पत्तिमा आधीभन्दा बढी सम्पत्तिको व्याख्या केवल जग्गाको क्षेत्रफललाई मात्र आधार मानेमा बाटो मोहडातर्फ कित्ताकाट गरी दिएको जग्गाको मूल्य र पछाडिको बाटो मोहडा नभएको भित्री जग्गाको मूल्यमा धेरै फरक हुने हुँदा जग्गाको बिक्री कुन तर्फबाट कित्ताकाट भएको हो सोसमेत अंशबन्डाको १९(१) नं. को व्याख्या गर्दा ध्यान दिनुपर्ने ।
(प्रकरण नं.४)
प्रतिवादीका तर्फबाट :
वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदार गौतम
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं.
सुरू तहमा फैसला गर्नेः
मा.न्या. श्री हरिप्रसाद बगाले
पाल्पा जिल्ला, अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय मुख्य न्यायाधीश श्री तर्कराज भट्ट
माननीय न्यायाधीश श्री बलराम विष्ट
पुनरावेदन अदालत, बुटवल, रूपन्देही
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
विपक्षी डिलबहादुर म धनमायाको श्रीमान् हुनुहुन्छ । निज र मबाट ३ छोराछोरीको जन्म भएको छ र हाल म ९ महिनाकी गर्भवतीसमेत छु । सानो छोरा जन्मिएपछि श्रीमान्ले मसँग अनाहकमा निहुँ खोज्ने, गाली गलौज गर्ने र हेला गर्न थाल्नुभयो । यसै क्रममा हामीलाई कुनै जानकारी नदिई मिति २०६४।९।१ गते विपक्षी डीलबहादुरले अर्का विपक्षी शिवराजलाई पाल्पा रामपुर-४ को कि.नं.१२६२ को १-०-०-० मध्ये उत्तरतर्फ मोहडाको ०-४-०-० जग्गाको हाल कि.नं. २२८५ कायम गरी रू.२,००,०००।- मा राजीनामा रजिस्ट्रेसन गराएको बेहोरा मिति २०६४।९।२२ मा उक्त राजीनामाको नक्कल लिएपछि थाहा भयो । यसरी छोराछोरीको संरक्षक आमा मलाई एक आखरसम्म नसोधी बाटोको मोहडाको मूल्यवान घडेरी जग्गा बिक्री गरी मूल्य नै नपर्ने भित्री पखेरो जग्गा मात्र बाँकी राखेकोले अन्यायमा परी अदालतको शरणमा आएकी छु । अत: हाल कायम कि.नं. २२८५ को ०-४-०-० मध्ये ३ छोराछोरी र मेरो भागमा पर्ने ५ भागको ४ भाग ०-३-०-३ पूर्व उत्तरतर्फको मोल रू.१,६०,०००।- बराबरको उक्त राजीनामा लिखत बदर गरी मसमेत जना ४ फिरादीका नाउँमा संयुक्त दा.खा. गरी पाउन मालपोत कार्यालय पाल्पाका नाउँमा पुर्जी गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
मुलुकी ऐन, अंशबन्डाको १९(१) नं. ले अचलमा आधीसम्म व्यवहार चलाउनलाई वादीहरूका एकाघरका मुख्य व्यक्ति दाता सहप्रतिवादीले बिक्री गर्न सक्नेमा ४ भागको १ भाग मात्र बिक्री गर्दा विपक्षी वादीको मन्जुरी लिन नपर्नेमा वादी धनमायासमेतसँग सल्लाह गरेर मात्र मैले जग्गा खरिद गरेको हो । घर व्यवहार चलाउनलाई अचलमा आधीसम्म आफूखुस गर्न पाउने भन्ने विषयमा विभिन्न नजिर प्रतिपादन भएकासमेत छन् । मैले राजीनामा गराई लिएपछि खर्च लगाई जग्गा राम्रो बनाएको हुँदा पछि फर्काउन सके धेरै पैसा पार्ने दुरासयले लोग्ने स्वास्नी दुवै मिली यो झुठ्ठा मुद्दा गरे गराएका हुन् । लेनदेन व्यवहारको १० नं. बमोजिम यो नालेस लाग्न नसक्ने हुँदा अ.ब. १८० नं. बमोजिम खारेज गरी उक्त राजीनामा लिखत सदरै कायम राखिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शिवराज डोटेलको प्रतिउत्तर पत्र ।
मेरो केही कमाई नहुँदा वादी धनमायाले नै ज्याला मजदुरी गरी घर खर्च चलाएको भन्ने कुरा साँचो हो । वादीले मलाई खर्च गर्न पैसा पनि नदिने र सधैं झगडा मात्र गरी वाक्क पारेकीले मूल्यवान् घडेरी जग्गा बिक्री गरी मेरो निजी खर्च चलाएको र केही बेतमसुकी कर्जा तिरेको हुँ । मेरो नाममा ३० हजार पर्ने १२ आना जग्गाबाहेक अरू जग्गा नहुँदा शिवराजले मानेमा निजले लिएको जग्गासमेत मिसाई नरम करम मिलाई वादीहरूलाई अंश दिन मन्जुरै छु र मेरो अंशमा पर्ने जग्गा शिवराजलाई दिई निजको नपुग रकम म आफैँ तिर्नेछु, वादीहरूलाई तिराउने छैन भन्नेसमेत बेहोराको प्रतिवादी डिलबहादुर दरैको प्रतिउत्तर पत्र ।
मेरो २ भाइ छोरामा जेठा लाटा दरै र कान्छा डिलबहादुर दरै हुन् । २०५२ सालमा डिलबहादुर दरैसँग अंशबन्डा भई मालपोत कार्यालय पाल्पाबाट बन्डापत्र पारित भएकाले म लाटा दरैसँग एकासगोलमा छु । डिलबहादुर मसँग एकासगोलमा छैनन् । उक्त बन्डापत्रको सक्कलै यसै बयानसाथ पेस गरेकी छु भन्नेसमेत बेहोराको अ.ब. १३९ नं. बमोजिम बुझिएकी कान्तिमाया दरैले पाल्पा जिल्ला अदालतमा गरेको बयान ।
वादी प्रतिवादीका साक्षीको बकपत्र भई मिसिल संलग्न रहेको ।
वादी दाबीबमोजिम प्रतिवादीहरूले आपसमा खरिद बिक्री गरेको कि.नं. १२६२ मध्येको हाल कायमी कि.नं. २२८५ को ०-४-०-० जग्गाको पारित लिखतमध्ये पूर्व उत्तरतर्फबाट ५ भागको ४ भाग लिखत बदर हुने र सो जग्गा वादीहरूका नाउँमा संयुक्त दा.खा. हुनेसमेत ठहर्छ भन्ने पाल्पा जिल्ला अदालतको मिति २०६६।३।२४ को फैसला ।
घरको मुख्य मालिक बाबु प्रतिवादीमध्येका डिलबहादुर भएको र मन्जुरी लिनुपर्ने नै अवस्थामा पनि २१ वर्ष पुगेकाहरूको हकमा मात्र मन्जुरी लिन पर्ने भन्ने यो अंशबन्डाको १९ नं. ले गरेको व्यवस्थाभन्दा बाहिर गई बालबालिकासम्बन्धी ऐन, २०४८ को विषयमा प्रवेश गरी वादी दाबीबमोजिम लिखत बदर हुने गरी भएको सुरू पाल्पा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शिवराज डोटेलको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।
अंशबन्डाको १९(१) नं. को परिप्रेक्ष्यमा सुरू पाल्पा जिल्ला अदालतबाट मिति २०६६।३।२४ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.ब. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।
वादीहरू मध्येका मदन दरै, सुमन दरै र मनिषा दरैको हकमा मुलुकी ऐन, अंशबन्डाको १९(१) नं.बमोजिम २१ वर्ष नपुगेकाले लिखत बदर हुन नसक्नेमा निजहरूको हकमा समेत लिखत बदर हुने ठहर गरी पाल्पा जिल्ला अदालतले मिति २०६६।३।२४ मा गरेको फैसला त्रुटिपूर्ण देखिएकोले सो फैसला सो हदसम्म केही उल्टी भई पूर्व उत्तरतर्फबाट वादी धनमाया दरैको अंश भागसम्म ५ भागको १ भाग लिखत बदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६६।१२।०२ को
फैसला ।
प्रस्तुत मुद्दामा बाबुले जथाभावी रूपमा बढी मूल्य पर्ने अगाडिको घडेरी जग्गा बिक्री गरी पछाडिको अति नै कम मूल्य हुने जग्गा बाँकी राखेको हुँदा बालबालिकाको हितमा समेत ध्यान दिई सुरू पाल्पा जिल्ला अदालतबाट हामीहरूको हकमा समेत लिखत बदर गरेको फैसला सदर गर्नुपर्नेमा सुरू फैसला उल्टी गरी हामी नाबालकहरूको हकमा लिखत बदर नहुने ठहर्याई पुनरावेदन अदालत बुटवलबाट भएको फैसला न्यायोचित नहुँदा उक्त फैसला उल्टी गरी सुरू पाल्पा जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको नाबालक वादीहरू मदन, सुमन र मनिसाको तर्फबाट संरक्षक भई निजहरूको एकाघरको आमा धनमाया दरैले यस अदालतमा दिएको पुनरावेदन पत्र ।
यसमा वादी प्रतिवादी दुवै पक्षको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ उक्त पुनरावेदन पत्र परस्परमा सुनाउनु भन्ने यस अदालतको मिति २०७३।५।२७ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री केदार गौतमले बाबुले नाबालकको हितको लागि जग्गा बिक्री गरेको अवस्था छैन, बाबुले जथाभावी जग्गा बिक्री गरी मासी खाएको देखिन्छ भने भएका जग्गामध्ये सबैभन्दा मूल्यवान् मोटरबाटोसँग जोडिएको मोहडा बिक्री गरी पछाडिको अति कम मूल्य हुने जग्गा बाँकी राखेको अवस्थामा नाबालकहरूको हकमा लिखत बदर नहुने पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण छ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी हेर्दा वादीहरूको मन्जुरी बिना विपक्षी पति पिता डिलबहादुरले विपक्षी शिवराजलाई गरिदिएको राजीनामाको लिखत ५ भागको ४ भाग बदर गरी दा.खा. दर्तासमेत गरिपाउँ भन्ने फिराद दाबी र मुलुकी ऐन, अंशबन्डाको १९(१) ले अचलमा आधासम्म ब्यवहार चलाउनलाई वादीहरूको एकाघरमा मुख्य व्यक्ति दाता प्रतिवादी डिलबहादुरले बिक्री गर्न सक्ने अवस्थामा ४ भागको १ भाग मात्र बिक्री गरेको हुँदा वादीहरूको मन्जुरी लिन पर्ने होइन भन्ने प्रतिवादी शिवराज डोटेलको प्रतिउत्तर तथा प्रतिवादी शिवराज डोटेललाई महंगो घडेरी जग्गा बिक्री गरी आएको रकमले कर्जा तिरेको हुँ भन्ने बेहोराको प्रतिवादी डिलबहादुरको प्रतिउत्तर रहेकोमा वादी दाबीबमोजिम प्रतिवादीहरूले आपसमा खरिद बिक्री गरेको कि.नं. १२६२ मध्ये हाल कायमी कि.नं. २२८५ को ०-४-०-० जग्गाको पारित लिखतमध्ये पूर्व उत्तरतर्फबाट ५ भागको ४ भाग लिखत बदर हुने र सो जग्गाहरू वादीहरूको नाउँमा संयुक्त दाखिल खारेज हुने ठहर गरी सुरू पाल्पा जिल्ला अदालतबाट फैसला भएको देखियो । पुनरावेदन अदालत बुटवलबाट २१ वर्ष नपुगेका वादीहरू मदन दरै, सुमन दरै र मनिषा दरैको हकमा लिखत बदर हुने ठहर गरेको हदसम्मको सुरू पाल्पा जिल्ला अदालतको फैसला केही उल्टी गरी पूर्व उत्तरतर्फबाट वादी धनमाया दरैको अंश भागसम्म ५ भागको १ भाग लिखत बदर हुने ठहर गरी फैसला भएको देखिन
आयो । सो फैसलाउपर नाबालक वादीहरू मदन दरै, सुमन दरै र मनिषा दरैको हकमा संरक्षक भई निजहरूको आमा धनमाया दरैले र प्रतिवादी शिवराज डोटेलले यस अदालतमा पुनरावेदन दिएको देखिन आयो । अब दुवै पक्षको पुनरावेदन जिकिरमा केन्द्रित रही पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी डिलबहादुरले बढी मूल्य पर्ने ०-४-०-० जग्गा अर्का प्रतिवादी शिवराजलाई दुई लाखमा बिक्री गरी कम मूल्य पर्ने जग्गा मात्र बाँकी राखेको हुँदा हामी अंशियारहरूको भाग जति ५ भागको ४ भाग लिखत बदर हुनुपर्छ भन्ने वादीको पुनरावेदन जिकिर रहेको देखिन्छ । घरको मुख्य व्यक्ति डिलबहादुरले घर खर्च गर्न आधाभन्दा कम जग्गा बिक्री गरेको र उक्त जग्गामध्ये आधाभन्दा बढी जग्गा बाँकी रहेको अवस्थामा प्रतिवादी डिलबहादुरले गरेको व्यवहार सदर हुनुपर्छ भन्ने बेहोराको प्रतिवादी शिवराज डोटेलको पुनरावेदन जिकिर रहेको देखिन्छ ।
३. मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं. को देहाय दफा १ मा “पितापुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा, एकासगोलको छोरी वा विधवा बुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउँछ । अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा, एकासगोलका छोरी र विधवा बुहारीहरूको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
४. उक्त कानूनी व्यवस्थाले घर व्यवहार चलाउन पैतृक सम्पत्ति बिक्री गर्ने अधिकार घरको मुख्य व्यक्तिलाई दिएको छ । घरको मुख्य व्यक्तिले घर व्यवहार चलाउन एकासगोलका २१ वर्ष नाघेका अंशियारको मन्जुरी लिनुपर्ने नियन्त्रणात्मक व्यवस्थासमेत गरेको छ । प्रस्तुत मुद्दामा बिक्री भएको ०-४-०-० जग्गा बाटो मोहडातर्फ बढी मूल्य पर्ने जग्गा कित्ता कायम हुने र पछाडि रहेको बाँकी जग्गाको मूल्य र महत्त्व कम रहेको भन्ने वादीको फिरादमा उल्लिखित दाबीलाई प्रतिवादीले अन्यथा भनी खण्डन गर्न सकेको देखिँदैन । प्रतिवादी डिलबहादुरको नाममा रहेको जम्मा जग्गा १-०-०-० मध्ये कि.नं. १२६२ को पश्चिम मोहडा १ मिटर छाडी ०-४-० पूर्व उत्तरतर्फबाट मिति २०६४।९।१ मा प्रतिवादी शिवराज डोटेलले राजीनामाबाट प्राप्त गरेको देखिन्छ । वस्तुतः १ रोपनी जग्गामध्ये बाटो मोहडातर्फबाट ०-४-० जग्गा खरिद बिक्री भएको अवस्थाको जग्गाको मूल्य अधिक रहेको र बाँकी रहेको जग्गाको मूल्य न्यून मात्र रहेको भन्ने वादी दाबीलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको देखिँदैन । यस अवस्थामा मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन हुने हो । जग्गाको क्षेत्रफल ज्यादा हुने बित्तिकै वा आधाभन्दा बढी हुने बित्तिकै सम्पत्ति आधा हुने होइन । सम्पत्तिको मूल्याङ्कन क्षेत्रफलको आधारमा नभई खरिद बिक्री हुने मूल्यमा गर्नुपर्ने हुन्छ । सम्पत्तिको अर्थ नै मूल्य हो । मूल्यको आधारमा हेर्दा आधाभन्दा बढी मूल्यको जग्गा बिक्री गरेको देखिएको अवस्थामा केबल क्षेत्रफललाई मात्र आधार लिई आधाभन्दा कम जग्गा बिक्री भएको भनी व्याख्या गर्नु न्यायसम्मत देखिन आउँदैन । अचल सम्पत्तिमा आधीभन्दा बढी सम्पत्तिको व्याख्या केवल जग्गाको क्षेत्रफललाई मात्र आधार मानेमा बाटो मोहडातर्फ कित्ताकाट गरी दिएको जग्गाको मूल्य र पछाडिको बाटो मोहडा नभएको भित्री जग्गाको मूल्यमा धेरै फरक हुने हुँदा जग्गाको बिक्री कुन तर्फबाट कित्ताकाट भएको हो सोसमेत अंशबन्डाको १९(१) नं. को व्याख्या गर्दा ध्यान दिनुपर्ने देखिन आउँछ । प्रतिवादीले खरिद गरेको जग्गाको मूल्य रू. दुई लाख पर्ने र बाँकी रहेको पछाडिको जग्गाको मूल्य रू.तीस हजार मात्र पर्ने भन्ने वादीको कथनलाई प्रतिवादीले अन्यथा हो भनी खण्डन गर्न सकेको देखिँदैन । बिक्री भएको जग्गाको मूल्य रू.दुई लाख देखिएको र बिक्री गरी बाँकी रहेको जग्गाको मूल्य रू. तीस हजार मात्र भएको अवस्थालाई आधासम्म मात्र बिक्री भएको भन्न मिल्ने देखिएन । प्रतिवादी डिलबहादुरले प्रतिवादी शिवराज डोटेललाई जग्गा बिक्री गरी दिँदा २१ वर्ष नाघेकी निजको श्रीमती वादी धनमायालाई रोहबरमा वा साक्षीमा राखेको समेत अवस्था छैन । प्रतिवादीहरूले जग्गा किनबेच गर्दा वादीको मन्जुरी लिएकोसमेत देखिन आएन । अतः प्रतिवादी पुनरावेदक शिवराज डोटेलले पुनरावेदनमा लिएको जिकिर ४ भागको १ भाग मात्र खरिद बिक्री भएको भन्ने कथनसँग सहमत हुनसक्ने अवस्था नहुँदा आधाभन्दा बढी जग्गा बाँकी रहे पनि मुल्याङ्कनको आधारबाट १-०-०-० जग्गामध्ये ०-४-० जग्गाको मूल्य र बाँकी ०-१२-० जग्गाको मूल्य फरक हुन जाने भई उमेर पुगेको वादी धनमाया दरैको मन्जुरी लिएको नदेखिएको, साक्षी तथा रोहबरमा समेत रहेको नदेखिएबाट वादी धनमायाको हकसम्मको ५ भागको १ भाग लिखत बदर हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब नै देखियो ।
५. अब पुनरावेदक / वादीहरूको हकमा समेत लिखत बदर हुनुपर्छ भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा मुलुकी ऐन, अंशबन्डाको महलको १९ मा अचलमा आधीभन्दा बढी व्यवहार चलाउन परे एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा, अविवाहिता छोरी र विधवा बुहारीहरूको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार अचल सम्पत्ति बिक्री गर्दा मन्जुरी लिनुपर्ने अवस्थामा पनि २१ वर्ष नाघेका स्वास्नी, छोरा, अविवाहित छोरीसमेतको मात्र मन्जुरी लिनुपर्ने देखिन्छ । हाल यी नाबालक वादीहरूलाई निजहरूको बाबुले रेखदेख नगरेको वा खान लाउन नदिएको भनी निजहरूको हकमा अंशबन्डा गरिपाउँ भन्ने फिराद परेको अवस्था देखिँदैन । प्रतिवादी डिलबहादुर दरैले बिक्री गरेको जग्गाबाहेक अंशबन्डा गर्न पर्ने अरू सम्पत्ति नरहेको भन्ने पनि देखिँदैन । नाबालकको अंशहक नै लोप हुने गरी परिपञ्च गरेको वा जालसाजीपूर्ण क्रियाकलाप भएको भन्ने दाबीसमेत रहेको छैन । यस अवस्थामा कानूनमा उल्लिखित व्यवस्थालाई नै अनुसरण गर्नुपर्ने हुन्छ । अंशबन्डाको महलको १९ नं. ले २१ वर्ष ननाघेका स्वास्नी तथा छोराछोरीको मन्जुरी लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको देखिँदैन । वादीहरूको हकमा प्रस्तुत मुद्दामा वादीहरू मदन, सुमन र मनिषाको उमेर १६ वर्ष नपुगी निजहरूको हकमा समेत आमा धनमाया फिराद गर्न आएको अवस्थामा तिनै जना नाबालक वादीहरूको मन्जुरी लिनुपर्नेसम्मको अवस्था नहुँदा प्रतिवादी डिलबहादुरले गरेको व्यवहार नाबालक वादीहरूको हकमा कानूनसम्मत नै दखिन आएकोले निज नाबालकहरूको हकमा लिखत बदर नहुने गरी पुनरावेदन अदालतबाट भएको फैसला कानूनसम्मत नै देखिन आयो ।
६. अतः उपर्युक्तबमोजिम विवेचित आधार कारणबाट वादी दाबीबमोजिम प्रतिवादीहरूले आपसमा खरिद बिक्री गरेको कि.नं. १२६२ मध्येको हाल कायमी कि.नं. २२८५ को ०-४-०-० जग्गाको पारित लिखतमध्ये पूर्व उत्तरतर्फबाट ५ भागको ४ भाग लिखत बदर गरी सो जग्गा वादीहरूका नाउँमा संयुक्त दा.खा. हुनेसमेत ठहर्याएको पाल्पा जिल्ला अदालतको मिति २०६६।३।२४ को फैसला केही उल्टी गरी पूर्व उत्तरतर्फबाट वादी धनमाया दरैको अंश भागसम्म ५ भागको १ भाग मात्र लिखत बदर हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको मिति २०६६।१२।०२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी तथा प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइ दिनू ।
उक्त रायमा सहमति छ ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृत : महेश खनाल
इति संवत् २०७४ साल जेष्ठ ८ गते रोज २ शुभम् ।