शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००३५ - अंश दर्ता

भाग: ६० साल: २०७५ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७५।३।१८

 

मुद्दाः- अंश दर्ता

 

०६६-CI-११५१

पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ बस्ने प्रेमप्रसाद तिम्सिनासमेत

विरूद्ध

प्रत्यर्थी / वादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१७ बस्ने रामानन्द तिम्सिना

 

०६६-CI-११५२

पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ र १७ दोघर गरी बस्ने मैनादेवी तिम्सिना 

विरूद्ध

प्रत्यर्थी / वादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१७ बस्ने रामानन्द तिम्सिना

 

०६७-CI-१०६८

पुनरावेदक / प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा न.पा. वडा नं.१ बस्ने डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना

विरूद्ध

प्रत्यर्थी / वादी : डिल्लीप्रसादको छोरा ऐ.ऐ. बस्ने रामानन्द तिम्सिनासमेत

 

अंशबन्डा वा मानो छुट्टिएको लिखत कानूनबमोजिम रजिस्ट्रेसन नभएको अवस्थामा विधिवत् अंशबन्डा भएको वा मानो छुट्टिएको भनी मान्न नमिल्ने ।

(प्रकरण नं.३)

मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलको १ नं. अनुसार पारित भएको 

हुनुपर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको, अस्तित्वमा नै नआएको घरसारमा भएको भनिएको अंशबन्डाको लिखतका आधारमा मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने ।

(प्रकरण नं.४)

स्वआर्जन गरेको भन्ने कुरा सो सम्बन्धमा जिकिर लिने पक्षले नै प्रमाणित गर्नु 

पर्दछ । त्यसरी अन्यथा प्रमाणित गरिएको अवस्थामा बाहेक एकाघर सगोलमा रहँदा आर्जन गरेको जुनसुकै अंशियारका नाउँमा दर्ता रहेको भए पनि सबै अंशियारको बराबर हक लाग्ने सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने ।

कसैको निजी आर्जनको सम्पत्तिलाई पैतृक (अंशबन्डा लाग्ने) सम्पत्तिमा मिसाइयो (Blended in Common Stock) भने त्यस्तो सम्पत्तिले समेत पैतृक सम्पत्ति अर्थात्‌ सबै अंशियारको हक लाग्ने साझा सम्पत्तिको स्वरूप धारण गर्दछ । यो अंशसम्बन्धी विधिशास्त्रीय मान्यता 

हो । त्यसैले कुनै निजी आर्जनको सम्पत्ति बन्डा नलाग्ने मानिनका लागि त्यस्तो सम्पत्तिमा अन्य अंशियारहरूको समेत साझा हक लाग्ने पैतृक सम्पत्ति मिसाइएको (Blended) हुन नहुने ।

(प्रकरण नं.५)

पारित लिखतमा  “बकसपत्र” भन्ने शब्द प्रयोग गरिएको छ भन्दैमा एकासगोलका अंशियारका नाउँमा रहेको सम्पत्तिलाई निजी आर्जनको, बन्डा नलाग्ने सम्पत्ति भन्न हुँदैन । बकसपत्र दिनुको प्रयोजन पनि तार्किक रूपमा पुष्टि हुनुपर्ने ।

(प्रकरण नं.६)

अन्य अंशियारको समेत अंश हक लाग्ने सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई बकसपत्र गरी दिँदैमा त्यस्तो सम्पत्ति बन्डा नलाग्ने हुँदैन । एक अंशियारले अर्को अंशियारलाई बकसपत्रकै माध्यमबाट अन्य अंशियारहरूको समेत अंशहक लाग्ने सम्पत्ति हस्तान्तरण गरेको र त्यस्तो बकसपत्र लिखत कायम रहेको (बदर नभएको) अवस्थामा पनि सो सम्पत्ति अंशबन्डा लगाउन कानूनी बाधा नपर्ने ।

(प्रकरण नं.८)

 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, श्री कृष्ण सापकोटा र विद्वान्‌ अधिवक्ता श्री कृष्ण थापा 

वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गंगाप्रसाद पोखरेल

अवलम्बित नजिर :

नेकाप २०५२, अंक २, नि.नं.५०४७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री देवराज श्रेष्ठ

उदयपुर जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः- 

मा. मुख्य न्या. श्री अली अकवर मिकरानी

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरू प्रेमप्रसाद तिम्सिनासमेत प्रतिवादी मैनादेवी तिम्सिना र प्रतिवादी डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिनाको तर्फबाट बेग्लाबेग्लै तीनवटा यस अदातलमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

 

वादीको फिराद दाबी :

विपक्षी पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना तथा आमा मैनादेवी तिम्सिनाबाट जेठो मीनप्रसाद, माहिला दुर्गा प्रसाद, साँहिलो म फिरादी, काहिँलो प्रेमप्रसाद र कान्छो राजन तिम्सिनासमेत जम्मा ५ भाइ छोरा तथा एक छोरी गुण कुमारीको जायजन्म भएकोमा बहिनी गुण कुमारीको विवाह भइसकेको हुँदा हामी ७ अंशियार सगोलमा छौं । हामीबीच हालसम्म अंशबन्डा भएको छैन । दाजु दुर्गाप्रसाद २०३८ सालदेखि घर छाडी बाहिर जानु भएकोमा हालसम्म फर्की आउनु भएको छैन । हाम्रो रूपाटार गा.वि.स. अन्तर्गत रहेको पैतृक सम्पत्तिको आय स्रोतबाट बढे बढाएको सम्पत्ति लगानी गरी त्रियुगा न.पा. क्षेत्रभित्र विभिन्‍न अंशियारका नाममा केही जग्गा खरिद गरी घरहरू समेत बनाई बसोबास गरी भोगचलन गरी आएका थियौं । विपक्षीहरूले मलाई अंश ठग्ने नियतले एक अंशियारका नामको जग्गा अर्को अंशियारका नाममा बकसपत्र पारित गर्ने कार्य गर्न लागेकोले विपक्षीहरूलाई भेटी सोधनी गर्दा हामीले जे गरे पनि तँलाई के मतलब भनी भनेका र विपक्षीहरूलाई मेरो अंश छुट्याई दिनुहोस् भन्दा पनि तँलाई अंश दिँदैनौं । यो घरमा बस्न पनि दिँदैनौं भनी जवाफ दिएकोले प्रतिवादीहरूबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी दाखेल गराई ७ भाग लगाई सो ७ भागको १ भाग सम्पत्ति मलाई दिलाई भराई मेरो नाममा दर्तासमेत गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६१।९।११ को वादी रामानन्द तिम्सिनाको फिराद दाबी ।

 

प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाको प्रतिउत्तर पत्र :

हामी हालसम्म एकासगोलमै छौं । हामीहरूबीच हालसम्म अंशबन्डा भएको छैन । विपक्षीलाई हेला गरेको होइन र अंश दिन्‍न भनेकोसमेत छैन । मैले आफ्ना नामको कुनै जग्गा सगोलका अंशियारका नाममा सार्ने सराउने कार्य गरे गराएको 

छैन । अन्य प्रतिवादीहरूले के के गरे, गराए मलाई जानकारी छैन । पिता पुर्खाका पालादेखिको पैतृक सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति सगोलका अंशियारहरू सबैले अंश हक बराबरी हिस्सा गरी बन्डा गरी खाएमा मेरो मन्जुरी नै छ । रूपाटारका कि.नं. २९, २२, ३३, ४२ समेतका पैतृक सम्पत्ति बिक्री गरी आएको रकम र सगोलको खेतीपातीबाट प्राप्त रकमबाट मीनप्रसाद, प्रेमप्रसाद, राजनसमेतका नाउँमा विभिन्न मितिमा विभिन्न कित्ता जग्गाहरू खरिद गरी घरसमेत बनाएको छ । दाबीअनुरूपको अन्याय कार्य व्यवहार मबाट भएको छैन । तसर्थ विपक्षीको झुठ्ठा फिराद दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी डण्डीकेशर उपाध्याय भन्‍ने डिल्लीप्रसाद तिम्सिनाको मिति २०६१।११।१४ को प्रतिउत्तर पत्र ।

 

प्रतिवादी मीनप्रसाद तिम्सिनासमेतको प्रतिउत्तर पत्र : 

वादी दाबी झुठ्ठा हो । हामी अंशियारहरू २०४० साल भाद्र २ गते हाम्रा घर व्यवहारमा अंश भागमा पर्ने जग्गा बाँडफाँड तथा चुलो मानो अलग गरी बसी आएका छौं । हाम्रा अंश भागको पैतृक सम्पत्ति हामीसरहकै प्रतिवादी पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसादकै जिम्मामा छ । हामी छुट्टी भिन्‍न भएपछि आ-आफ्नै तरिकाले घर व्यवहार तथा जग्गा जमिन भोगचलन तिरो दर्ता जग्गा खरिद बिक्री गरी आएका 

छौं । विपक्षीले जिल्ला उदयपुर, रूपाटार गा.वि.स. वडा नं. ४ कि.नं. ७४ को ज.रो. १-१०-१-२ जग्गासमेत घर व्यवहार चलाउने क्रममा मिति २०६१।११।२० गते र.नं. १७४१ बाट गौतम तिम्सिनालाई बिक्री गरेको छ भने पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसादले र.नं. २८२३ मिति २०४१।२।१८ गते म प्रतिवादी मीनप्रसादलाई जग्गाहरू बिक्री गर्नुभएको छ । त्यस्तै मिति २०४१।२।१८ गते म प्रेमप्रसादबाट प्रतिवादी बाबु डिल्लीप्रसादले मिति २०४८।८।१० गते पिताको काजक्रियाको लागि ऋणसमेत कर्जा लिएकोबाट छुट्टी भिन्‍न भएको प्रस्ट हुन्छ । हामी अंशियारहरू छुट्टी भिन्‍न भएको कागज प्रमाणबाट देखिरहेको अवस्थामा पुनः वादीले अंशमा दाबी गर्न पाउने होइन । तसर्थ विपक्षीको झुठ्ठा फिराद दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रेमप्रसाद तिम्सिना, राजन तिम्सिना र मीनप्रसाद तिम्सिनाको मिति २०६१।१२।५ को संयुक्त प्रतिउत्तर पत्र ।

 

प्रतिवादी मैनादेवी तिम्सिनाको प्रतिउत्तर पत्र :

प्रतिवादीमध्ये म मैनादेवी र डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना यी वादी प्रतिवादीहरूको माता पिता भएकोले आफ्ना छोरा छोरीलाई इज्जत आमदअनुसार खान लाउन बस्न तथा उचित ‍औषधी उपचार, शिक्षा, दिक्षालगायतका आवश्यक सुविधा उपलब्ध गराई यी वादी प्रतिवादीलाई पढाइ, लेखाइ, हुर्काइ आफ्नो खुट्टामा उभ्याई काम गर्न सक्ने भएपछि मिति २०४०।५।२ देखि चुलो मानो अलग गरी छुट्टी भिन्‍न भई छोराहरूले आ-आफ्नो ज्ञान सीपबाट निजी जमिन जोडी घर बनाई बसोबास गरिरहेका छन् । वादी प्रतिवादीहरूले पाउनु पर्ने सम्पूर्ण पैतृक सम्पत्ति हामी वादी प्रतिवादीका पिता तथा पति डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाका नाम दर्तामा छ । मसरहकै अन्य प्रतिवादीहरूले निजी ज्ञान सीप प्रयासबाट आर्जन गरेका जग्गा हडप्न सकिन्छ कि भनी झुठ्ठा मुद्दा दिएका हुँदा वादीले अंश पाउने होइन, छैन भन्नेसमेत बेहोराको मिति ०६१।१२।५ को प्रतिवादी मैनादेवी तिम्सिनाको प्रतिउत्तर पत्र ।

 

वादीका साक्षीको बकपत्र :

वादी प्रतिवादीहरू सगोलका अंशियार हुन् । निजहरूबीच अंशबन्डा भएको छैन । वादी प्रतिवादीका नाउँमा भएको सम्पूर्ण सम्पत्तिमा वादीले ७ भागको १ भाग अंश पाउनु पर्दछ । प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना र प्रतिवादी मीनप्रसाद तिम्सिनाबीच जग्गा राजीनामा लिनुदिनु गरेको भन्ने मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ । कपाली तमसुक सम्बन्धमा थाहा छैन भन्नेसमेत बेहोराको वादीका साक्षी हिराप्रसाद पोखरेलले गरेको बकपत्र ।

वादी प्रतिवादी सगोलका अंशियार हुन् । निजहरूबीच अंशबन्डा भएको छैन । मिति २०४० सालमा घरसारमा बन्डा भएको भन्ने भनाई गलत हो । प्रतिवादीहरूका नाउँमा भएको घर जग्गा पैतृक सम्पत्तिबाटै बढे बढाएको रकमबाट किनेको हुँदा बन्डा लाग्ने सम्पत्ति हो भन्नेसमेत बेहोराको वादीको साक्षी हेमप्रसाद तिम्सिनाले गरेको बकपत्र ।

 

प्रतिवादी प्रेमप्रसाद तिम्सिनासमेतको साक्षीको बकपत्र :

वादी प्रतिवादीहरू घरसारमा मानो छुट्टिई अलग अलग भई बसेको कुरा मिति २०४५ सालमा जिल्ला शिक्षा कार्यालयमा प्रतिवादी मीनप्रसाद सँगसँगै रहँदा थाहा पाएको हुँ । प्रतिवादीको नाउँको जग्गा निजी आर्जनबाट खरिद गरेका हुन्, बन्डा लाग्ने 

होइन । बन्डा गर्नुपर्छ भन्ने फिराद दाबी झुट्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी मीनप्रसाद तिम्सिनासमेतको साक्षी वृषबहादुर खत्री र पेसलकुमार खड्काको करिब एकै मिलानको बकपत्र ।

 

प्रतिवादी मैनादेवी तिम्सिनाको साक्षीको बकपत्र :

वादी प्रतिवादीहरू मिति २०४० सालमा घरसारमा मानो चुल्हो छुट्टिएर खति उपति आ-आफ्नो गरी आएका छन् । प्रतिवादीहरूका नाउँमा भएको घर जग्गाहरू निजी आर्जनका हुन् । पैतृक सम्पत्ति प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसादका नाउँमा छ । सो सम्पत्तिमा सबैको भाग लाग्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी मैनादेवी तिम्सिनाको साक्षी वेदकुमारी बराल र ईश्वरीप्रसाद भट्टराईले गरेको करिब एकै मिलानको बकपत्र ।

 

वादी रामानन्द तिम्सिनाले गरेको सनाखत बयानः

धनी प्रेमप्रसाद तिम्सिना ऋणी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना भएको थैली रू.११,०००।- मिति २०४८।८।१० को सक्कल लिखतमा भएको सहिछाप ऋणीको हो होइन र लिखत सद्दे किर्ते जालसाज के हो ? ऋणी नै जानुन् तर हालसम्म हामी सगोलमै छौं । रूपैयाँ लिए नलिएको ऋणीलाई नै जानकारी हुने कुरा हो । मिति २०४१।२।१८ को राजीनामा लिखत सद्दे होइन । मलाई अंश ठग्न खडा गरिएको प्रमाण मात्र हो भन्नेसमेत बेहोराको वादी रामानन्द तिम्सिनाले मिति २०६२।७।२० मा गरेको सनाखत बयान ।

 

डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले गरेको बयानः 

मिति २०४८।८।१० मा भएको तमसुकको सहिछाप मेरो हो । रूपैयाँ लिनुदिनु गरी तमसुक गरेको होइन । लिफा कागजमा तमसुक खडा गरेको हो । हामीबीच हालसम्म अंश बन्डा भएको छैन । मिति २०४१।२।१८ गतेको राजीनामामा भएको सहिछापसमेत मेरो नभई किर्ते हो । प्रतिवादीहरूले उनाऊ व्यक्ति खडा गरी किर्ते लिखत तयार गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले मिति २०६२।७।२० मा गरेको बयान ।

 

प्रतिवादी प्रेमप्रसाद तिम्सिनासमेतको प्रतिवाद बयान :

वादी र प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले गरेको सनाखत बयान झुठ्ठा हो । पैसा लेनदेन भएर नै उक्त कपाली तमसुक कागज तयार भएको हुँदा कागज सद्दे हो, लिफामा तयार गरेको होइन । राजीनामा लिखत किर्ते होइन, जग्गा लिनुदिनु गरी ऋणीले नै सहिछाप गरी दिएको सद्दे व्यवहारको राजीनामा कागज हो भन्नेसमेत प्रतिवादी प्रेमप्रसाद तिम्सिना, मीनप्रसाद तिम्सिना र राजन तिम्सिनाको वारेस मोतिलाल चौधरीले मिति २०६२।७।२० मा गरेको प्रतिवाद बयान ।

 

सुरू जिल्ला अदालतको तायदाती फाँटवारी लिने आदेश :-

यी वादी प्रतिवादी छुट्टी भिन्‍न भएको लिखत पारित नभएको र वादीका साक्षीसमेतले वादी प्रतिवादीबीच अंशबन्डा भएको छैन भनी बकपत्रसमेत गरेबाट वादीले प्रतिवादीबाट अंश छुट्याई लिन पाउने नै देखिँदा फिराद परेको अघिल्लो दिन मिति २०६१।९।१० लाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । सो मितिसम्मको बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम वादी प्रतिवादीहरूबाट दाखिल गराई पेस गर्नु भन्‍ने आदेशानुसार वादी प्रतिवादीहरूबाट तायदाती फाँटवारी दाखिल भई मिसिल सामेल रहेको ।

 

विशेषज्ञको राय :

प्रतिवादीबाट पेस भएका मिति २०४८।८।१० को घरसारको कपाली तमसुक र मिति २०४१।२।१८ को सक्कल राजीनामा लिखत जाँच गरी व्यक्त गरेको विशेषज्ञको राय प्रतिवेदन मिसिलसाथ रहेको ।

 

उदयपुर जिल्ला अदालतको फैसला :

विशेषज्ञको रायसमेतबाट प्रतिवादी मीनप्रसाद तिम्सिनाले पेस गरेको र.नं. २८२३ मिति २०४१।२।१८ को लिखत किर्ते गरेको पुष्टि हुँदा किर्ते कागजको १ नं. को कसुरमा ऐ.को ७ नं. बमोजिम रू. २,८००।- जरिवाना हुने र प्रतिवादीमध्ये प्रेमप्रसाद तिम्सिनाले पेस गरेको मिति २०४८।८।१० को तमसुक लिफामा तयार गरी किर्ते कागजको १ नं. को कसुर गरेको पुष्टि हुँदा ऐ. को ७ नं. बमोजिम रू. ११,०००।- जरिवाना हुने ठहर्छ । अब अंशबन्डातर्फ वादी प्रतिवादीहरूबीच नाता पुस्तेवारी तथा अंशियार भएकोमा विवाद देखिँदैन । यी वादी प्रतिवादीहरू छुट्टि भिन्‍न भएको भन्‍ने ठोस लिखत प्रमाण पेस दाखिल हुन सकेको नदेखिँदा वादी प्रतिवादी सगोलका अंशियार भएको पुष्टि हुन आयो । वादी प्रतिवादीहरूबाट पेस दाखिल भएको तायदाती फाँटवारीमध्येका केही जग्गा निजी आर्जनको बन्डा नलाग्ने भन्‍ने उल्लेख भए तापनि त्यस्तो निजी आर्जनको भन्‍ने पुष्टि हुने ठोस प्रमाण दाखेल हुन नसकेकोले निजी आर्जनको भन्‍ने जिकिर मनासिब देखिएन । वादी प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारीहरूमा उल्लिखित जग्गा र घरहरू वादी प्रतिवादीहरू ७ अंशियार देखिँदा ७ भाग लगाई सो ७ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । सो अंशको जग्गा घर वादीको नाउँमा दर्ता गरी दिनेसमेत ठहर्छ भन्नेसमेत बेहोराको उदयपुर जिल्ला अदालतको मिति २०६४।७।२० मा भएको फैसला । 

 

प्रतिवादी मैनादेवी तिम्सिनाको पुनरावेदन : 

मैले छोराहरू प्रेमप्रसाद तिम्सिना र मीनप्रसाद तिम्सिनाबाट बकसपत्र पाएको सम्पत्ति निजी आर्जनको मानिँदैन भन्ने अंशबन्डाको १८ नं. मा उल्लेख छैन । बकसपत्र पाएको जग्गा अंश मुद्दाबाट बदर गर्न मिल्ने होइन, बकसपत्रको लिखत बदर गराउन वादीले नालेस उजुर गरेकोसमेत देखिँदैन । मेरो निजी आर्जनको सम्पत्तिलाई समेत बन्डा लाग्ने गरी सुरू उदयपुर जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मैनादेवी तिम्सिनाले पुनरावेदन अदालत राजविराजमा मिति २०६४।१२।११ मा दायर गरेको पुनरावेदन पत्र । 

 

प्रेमप्रसाद तिम्सिनासमेतको पुनरावेदन :

सुरू जिल्ला अदालतबाट मुलुकी ऐन, अ.बं. ७८ नं. को प्रक्रिया नै गलत रूपमा गरिएको छ । लिखत जाँच गर्ने विशेषज्ञको बकपत्र नगराई निजको रायलाई प्रमाणमा लिन प्रमाण ऐन, २०३१ ले मिल्दैन । हामीहरू २०४० साल भाद्र २ गते घरसारमा अंशबन्डा गरी मानो छुट्टिई अलग अलग बसी छुट्टाछुट्टै कारोबार गरेको देखिँदादेखिँदै पनि सगोलको कायम गर्नु न्यायसङ्गत छैन । अंशियारहरूको सुविधाअनुसार पैतृक सम्पत्ति पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाकै नाउँमा राखी पिताको नामबाट आफ्नो आफ्नो नाममा दाखिल खारेज गराई आफ्नो आफ्नो व्यवहार कारोबार गर्दै समयानुसार अचल सम्पत्तिलाई विभिन्‍न रूपमा परिवर्तन गरी सम्पत्ति बढाएको हो । हामी प्रतिवादीहरू मीनप्रसाद, प्रेमप्रसाद र राजन तिम्सिनाले निजी आर्जन गरी कमाएको सम्पत्तिबाट वादीलाई अंश लाग्ने होइन । तसर्थ सुरू जिल्ला अदालतको फैसला बदर गरी वादीले हामीबाट अंश नपाउने गरी न्याय सम्पादन गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू मीनप्रसाद, प्रेमप्रसाद र राजन तिम्सिनाले पुनरावेदन अदालत राजविराजमा मिति ०६५।३।२२ मा दायर गरेको संयुक्त पुनरावेदन पत्र ।

 

पुनरावेदन अदालत राजविराजबाट भएको प्रत्यर्थी झिकाउने आदेशः

प्रतिवादीहरूले निजी आर्जनको सम्पत्ति हो भनी स्रोत देखाएको ठेक्का पट्टा, विभिन्‍न पदमा काम गरेको, विभिन्न प्रकारका ऋणहरू लिएको र सो सम्बन्धमा विभिन्न प्रमाणहरूसमेत दाखिल गरिरहेको सन्दर्भमा ती पेस भएका कुनै प्रमाणहरूको मूल्याङ्कन नै नगरी निजी आर्जन नहुने अंश लाग्ने भनी ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि पेस गर्नु भन्‍ने पुनरावेदन अदालत राजविराजको मिति २०६६।३।२४ को आदेश ।

 

वादी रामानन्द तिम्सिनाको लिखित प्रतिवाद :

सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिलाई निजी आर्जनको भन्‍ने पुनरावेदक प्रतिवादीहरूको जिकिर मनासिब छैन । हामीहरूबीच अंशबन्डासमेत भएको छैन । विपक्षीहरूले अंश मार्नका लागि विभिन्‍न लिखतहरू गरेको र सो लिखत जाँच गर्न पठाउँदा किर्ते भनी जाँच भई आएकोसमेत छ । विपक्षीहरूको नाममा भएको सम्पत्तिसमेत सगोलबाट आर्जन भएको हुँदा सबैको अंशहक लाग्ने हो भन्‍ने कुरा घरको मुख्य व्यवहार गर्ने विपक्षी पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाको कथनबाट समेत प्रस्ट हुन्छ । जहाँसम्म पुनरावेदक प्रतिवादी आमा मैनादेवी तिम्सिनालाई छोराहरू मीनप्रसाद तिम्सिना र प्रेमप्रसाद तिम्सिनाले बकसपत्र गरिदिएको सम्पत्ति जग्गा निजी आर्जनको भन्‍ने दाबी छ, उक्त जग्गाहरू सबैका अंशहक लाग्ने सम्पत्ति हो । दानबकसको १ नं. ले आफ्नो खुस गर्न पाउनेबाहेक अन्य अंशियारको हक पुग्ने अंशियारहरूको मन्जुरी नलिई गरेको सदर हुँदैन भन्‍ने न्यायिक सिद्धान्तसमेत छ । तसर्थ मैनादेवीका नाममा भएको जग्गालाई समेत बन्डा लगाउने गरी उदयपुर जिल्ला अदालतबाट भएको फैसला न्यायपूर्ण छ । तसर्थ उदयपुर जिल्ला अदालतले प्रमाणको मूल्याङ्कन र विश्‍लेषण गरी गरेको न्यायोचित फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रत्यर्थी वादीको मिति २०६६।५।५ को लिखित प्रतिवाद ।

 

पुनरावेदन अदालत राजविराजको फैसला :

वादी प्रतिवादीहरूबीच मुलुकी ऐन, अंशबन्डाको ३० नं. बमोजिम अंशबन्डाको लिखत रजिस्ट्रेसन नभएको अवस्थामा मिति २०४०।५।२ गते नै घरसारमा छुट्टि भिन्‍न भएको र सोपश्‍चात् बढे बढाएको सम्पत्ति निजी आर्जनको भई बन्डा नलाग्ने भन्‍ने पुनरावेदक प्रतिवादीहरूको जिकिर मनासिब देखिन आएन । मिति २०३४।९।२७ को संशोधनपश्‍चात् खडा भएको प्रतिवादीहरूले पेस गरेको मिति २०४१।२।१८ र ०४८।८।१० को लिखतलाई प्रमाणमा ग्रहण गरी किर्ते ठहर गरेको फैसला सो हदमा मिलेको देखिन आएन । प्रस्तुत मुद्दामा पेस भएका तथ्य प्रमाणहरूबाट वादी प्रतिवादीहरूबीच अंशबन्डाको लिखत रजिस्ट्रेसन पास भएको देखिन नआएको, मिति २०३४।९।२७ भन्दा अगावै व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको पनि नदेखिएको साथै तायदाती फाँटवारीमा उल्लिखित सम्पत्ति निजी आर्जनको हो भन्‍ने प्रतिवादीहरूको जिकिर तथ्ययुक्त प्रमाणहरूबाट पुष्टि हुन सकेकोसमेत देखिन नआएकोले वादीले  प्रतिवादीहरूबाट अंश पाउने ठहर्‍याई भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रमाणमा ग्रहण गर्नु नपर्ने लिखतलाई प्रमाणमा ग्रहण गरी किर्ते ठहर गरेको सुरू उदयपुर जिल्ला अदालतको मिति २०६४।७।२० को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६६।८।२३ को फैसला ।

 

प्रतिवादी प्रेमप्रसाद तिम्सिनासमेतले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र :

मिति २०४०।२।५ मा अनुपस्थित अंशियार दुर्गाप्रसाद तिम्सिनाबाहेकका सबै अंशियारहरूको मौखिक सहमतिबमोजिम बन्डा भएको कुरा हामी पुनरावेदकहरू तथा प्रत्यर्थीले अलग अलग सम्पत्ति बिक्री व्यवहार गरेबाट पुष्टि भएको छ । बन्डा भएपछि पुनरावेदकमध्ये म मीनप्रसाद तिम्सिनालाई पिता डण्डी केशरले कि. नं ४२ र २०४ को जग्गा मिति २०४१।२।१८ मा राजीनामा गरी दिनुभएको र म मीनप्रसाद तिम्सिनाले निजी आर्जनको कि.नं. २०४ जग्गा मिति २०६१।९।४ मा र म प्रेमप्रसाद तिम्सिनाले कि. नं.७६८ को जग्गा मिति २०५७।३।२८ को लिखतबाट आमा मैनादेवी तिम्सिनालाई हालैको बकसपत्र दिएका हौं । सगोलका अंशियार भए त्यसरी लेनदेन हुने नै थिएन । यसरी एक आपसमा भए गरेका कारोबारले छुट्टी भिन्न भएको प्रमाणित भएकोले पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ विपरीत छ । अंशबन्डा एक पटक हुने र सदा सर्वदाको लागि हुने विवादरहित कानूनी यथार्थता हुँदा वादीको फिराद अंशबन्डाको १, २ तथा अ.बं. ८२ को विपरीत छ । मिति २०४८।८।१० को कपाली तमसुक तथा मिति २०४१।२।१८ को  पिता डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिमसिनाले म मीनप्रसाद तिम्सिनालाई जग्गा हस्तान्तरण गरी दिनुभएको पारित राजीनामा लिखतलाई जालसाज ठहर्‍याई जरिवाना गर्दा लिखत जाँच गर्ने व्यक्तिलाई अदालतमा उपस्थित गराई बकपत्र गराउनु पर्नेमा सो नगरी विशेषज्ञको राय प्रमाणमा लिन मिल्दैन । पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण ऐन, २०३१ तथा अ.बं. ७८, १८४(क) तथा १८५ नं. विपरीत छ । हामी पुनरावेदकहरूका नाममा भएको सम्पत्ति सगोलको सम्पत्तिबाट बढे बढाएको होइन । बन्डा भएपश्चात् निजी आर्जनको सम्पत्तिबाट खरिद गरिएका हुँदा ती जग्गासमेत बन्डा लाग्ने ठहर्‍याएको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ ।

 

प्रतिवादी मैनादेवी तिम्सिनाले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र :

म पुनरावेदिकाको नाममा रहेको कि.नं. ९०२ र २०४ को जग्गाहरू पैतृक गोश्वाराका जग्गा नरही छोराहरू मिति २०४० सालमा छुट्टी भिन्न भइसकेपछि अन्य व्यक्तिहरूबाट खरिद गरी मलाई बकसपत्र दिएबाट मेरो एकलौटी हक हुन आएका जग्गालाई अंश बन्डाको १८ नं., स्त्री अंशधनको ४ र ५ नं. बमोजिम बन्डा गर्न मिल्दैन । अंशियारहरूले आफ्नो पालामा गरेको आर्जन आफूखुस गर्न पाउने भनी यस सम्मानित अदालतको बृहत् पूर्ण इजलासबाट ने.का.प. २०५९ अङ्क ५/६ पृ.२५४ नि.नं. ७०८७ मा प्रतिपादित सिद्धान्तविपरीत छ । तसर्थ मिति २०४०।५।२ मा छुट्टी भिन्न भइसकेपछि निजी आर्जनबाट प्राप्त सम्पत्तिसमेत बन्डा गर्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी हक इन्साफ पाऊँ ।

 

प्रतिवादी डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिनाले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र :

वादी प्रतिवादीहरूबाट पेस भएको तायदाती फाँटवारीमा उल्लिखित जग्गा र घरहरूमा ७ भागको १ भाग वादीले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसलामा चित्त बुझेको छ । सोमा मेरो पुनरावेदन जिकिर छैन । प्रतिवादीहरूबाट पेस भएको मिति २०४१।२।१८ र मिति २०४८।८।१० को लिखतलाई प्रमाणमा ग्रहण गरी किर्ते ठहर गरेको सुरू फैसला मिलेन भन्ने पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण छ । मिति २०४८।८।१० मा भएको तमसुकको सहिछाप मेरो हो तापनि रूपैयाँ लिनु दिनु गरी दिएको तमसुक होइन । लिफा कागजलाई कपाली तमसुक खडा गरेको हो । मिति २०४१।२।१८ को राजीनामामा भएको सहिछाप मेरो होइन, किर्ते हो । पुनरावेदन अदालत राजविराजको फैसला आंशिक उल्टी गरी उदयपुर जिल्ला अदालतको फैसला सदर गरिपाऊँ ।

 

यस अदालतबाट भएको प्रत्यर्थी झिकाउने आदेश :

यसमा  पुनरावेदक प्रेमप्रसाद तिम्सिनाले विष्णुमान दनुवारबाट हालैको बकसपत्र पारित गरी मिति २०५०।३।२३ मा निजी तबरबाट प्राप्त गरेका कि.नं. ३५४ र ४०० का जग्गाहरू अंशबन्डाको १८ नं. बमोजिम पाउनेको निजी ठहर्‍याउनु पर्नेमा सो जग्गाहरू पनि वादीलाई अंश दिलाउने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला उक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि लगाउका नं. CI-१०६८, CI-११५२ का पुनरावेदनहरू र AP-०३४५ को निवेदनसमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।६।२५ को आदेश ।

 

वादी रामानन्द तिम्सिनाको लिखित प्रतिवाद :- 

मिति २०६१।९।१० लाई मानो छुट्टिएको मिति कायम गरी पेस भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट ७ भागको १ भाग अंश पाउने ठहर्‍याएको सुरू उदयपुर जिल्ला अदालतको फैसला पुनरावेदन अदालतले सदर गरेकोमा २ तह सदर गरेको अवस्थामा सोतर्फको पुनरावेदन सोझै खारेज योग्य छ, खारेज गरिपाऊँ । मिति २०५०।३।२३ मा प्रतिवादीले प्राप्त गरेका भनिएका कि. नं. ३५४ र ४०० का जग्गाहरू निजी आर्जनका नभई सगोलबाट नै आर्जित सम्पत्ति हुँदा सबै अंशियारका बीच बन्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला कानूनसम्मत भएकोले सदर हुनुपर्दछ ।

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागजातहरू अध्ययन गरी पुनरावेदक प्रतिवादी प्रेमप्रसाद तिम्सिनासमेतको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान्‌ अधिवक्ता श्री कृष्ण थापाले यी वादी प्रतिवादीबीच २०४० साल भाद्र २ गते घरसारमा अंशबन्डा भई आ-आफ्नो व्यवहार कारोबार गर्दै समयानुसार अचल सम्पत्ति खरिद गरी बढे बढाएको हो । प्रतिवादीहरू मीनप्रसाद, प्रेमप्रसाद र राजन तिम्सिनाले निजी आर्जन गरी कमाएको सम्पत्तिबाट वादीलाई अंश लाग्ने होइन । निजी आर्जनको सम्पत्तिसमेत बन्डा लाग्ने ठहर गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादीमध्येका मैनादेवी तिम्सिनाको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटाले छोराहरू प्रेमप्रसाद तिम्सिना र मीनप्रसाद तिम्सिनाबाट बकसपत्र पाएको सम्पत्ति मैनादेवीको निजी आर्जनको हुन्छ । बकसपत्र पाएको जग्गा अंश मुद्दाबाट बदर गर्न मिल्ने होइन, बकसपत्रका लिखत बदर गराउन वादीले नालेस उजुर गरेकोसमेत 

देखिँदैन । मेरो पक्षको निजी आर्जनको सम्पत्तिलाई समेत बन्डा लाग्ने गरी सुरू उदयपुर जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

वादी रामानन्द तिम्सिनाको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री गंगाप्रसाद पोखरेलले प्रतिवादीहरूले वादीलाई अंश नदिएको, सगोलको सम्पत्ति पनि बेचबिखन गरेका, आमा मैनादेवी तिम्सिनालाई सगोलको सम्पत्ति बकसपत्र गरी दिएको, यिनीहरूबीच हालसम्म अंशबन्डा नभएकोले फिराद परेको अघिल्लो दिन मिति २०६१।९।१० गतेलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादी प्रतिवादीबीच ७ भाग लगाई सो ७ भागको १ भाग वादीले अंश पाउने ठहर गरी प्रतिवादीहरू मीनप्रसाद तिम्सिना र प्रेमप्रसाद तिम्सिनालाई किर्तेतर्फ सजायसमेत गर्ने गरेको सुरू जिल्ला अदालतको फैसलालाई किर्तेतर्फ उल्टी गरी अंशतर्फ मात्र सदर  गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिँदा किर्तेतर्फ समेत सजाय गर्ने गरेको सुरू उदयपुर जिल्ला अदालतको फैसलाबमोजिम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब यसमा सुरू उदयपुर जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।०८।२३ को फैसला मिलेको छ, छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णयमा पुग्न मुख्यरूपमा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियोः- 

(१) मिति २०४०।०५।०२ मा यी वादी प्रतिवादीहरूले घरसारमा मानो चुल्हो छुट्टिई अंश बुझिलिई गरिदिएको भनिएको लिखतको कानूनी हैसियत के हो र सो लिखतले वादी प्रतिवादीबीच मानो छुट्टिएको मिति निर्धारण गर्न सक्ने अवस्था छ वा छैन ?

(२) वादीले कुन कुन सम्पत्तिबाट अंश पाउने हो ? 

(३) प्रतिवादी प्रेमप्रसाद तिम्सिनाले विष्णु दनुवारबाट बकसपत्रको माध्यमबाट पाएको जग्गा निजी आर्जनको हो भन्ने प्रमाणित हुन्छ हुँदैन? उक्त जग्गा बन्डा लाग्ने नलाग्ने के हो?  

(४) छोराबाट बकसपत्रको माध्यमबाट आमाले पाएको जग्गालाई निजी स्त्री अंशधनअन्तर्गतको मान्न मिल्ने नमिल्ने के हो? 

(५) मिति २०४१।२।१८ र मिति २०४८।८।१० को लिखत किर्ते ठहर हुने नहुने के हो?

 

सर्वप्रथम प्रस्तुत मुद्दाका पक्ष विपक्षका मानिसको पुस्तेवारीतर्फ दृष्टिगत गर्दा मूल पुरूष डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिना, निजका श्रीमती मैनादेवी तिम्सिना, निजहरूबाट जन्मेका जेठा छोरा मीनप्रसाद, माहिला दुर्गाप्रसाद, साहिला रामानन्द, काँहिला प्रेमप्रसाद र कान्छा राजन गरी ५ भाइ छोरा र एक छोरी गुण कुमारीको जायजन्म भएकोमा गुण कुमारीको विवाह भइसकेको देखिन्छ । वादी प्रतिवादीहरू हाल ७ जना मात्र अंशियार रहेको भन्‍ने देखिएको छ । उपर्युक्त तथ्यमा वादी प्रतिवादीबीच मुख मिलेको देखियो । पुस्तेवारी र नातातर्फ कुनै विवाद रहेको देखिँदैन । नातातर्फ कुनै विवाद नरही प्रतिवादीहरूले समेत वादी आफ्ना अंशियार भएकाले अंश पाउनु पर्ने तथ्यलाई स्वीकार गरेको अवस्था छ । प्रतिवादीहरूको प्रतिउत्तर पत्रमा मुख्य रूपमा वादी प्रतिवादीहरूले मिति २०४०।०५।०२ मा घरसारमा आ-आफ्नो भागको अंश बुझी सकेकोले सो मिति अगावैको बाबु डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिनाको नाममा भएको पैतृक सम्पत्ति मात्र बन्डा गर्नुपर्ने हो, मिति २०४०।०५।०२ पछि स्वआर्जन गरेको कुनै पनि सम्पत्ति बन्डा गर्नुपर्ने होइन भन्‍ने जिकिर लिएको  देखियो । तसर्थ यही प्रश्नको सर्वप्रथम निरूपण गर्नुपर्ने देखियो ।

मिति २०४०।०५।०२ मा यी वादी प्रतिवादीहरूले घरसारमा मानो चुल्हो छुट्टिई अंश बुझिलिइसकेकाले सोपूर्वको पैतृक सम्पत्तिमा मात्र वादीले अंश पाउने भन्‍ने प्रतिवादीहरूको जिकिर रहेको छ । सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतले मिति २०६१।९।१० गतेलाई मानो छुट्टिएको मिति कायम गरी फैसला गरेको देखियो । अब वादी र प्रतिवादीहरूबीच मानो छुट्टिएको मिति फिरादपत्र परेको अघिल्लो दिन कायम हुने हो वा प्रतिवादीहरूले जिकिर गरेबमोजिम मिति २०४०।०५।०२ गतेको मानो छुट्टिएको मिति कायम हुने हो भने प्रश्नको निरूपण गर्नुपर्ने देखिन आएको छ । यस सम्बन्धमा भएको कानूनी  व्यवस्था हेर्दा मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. मा “... अचल सम्पत्ति भएकाको मानो छुट्टिएको वा मानो जोरिएको लिखत गर्दा गराउँदा रजिस्ट्रेसन गराउनु पर्छ” भनी बाध्यात्मक कानूनी व्यवस्था रहे भएको पाइन्छ । त्यसैगरी अंशबन्डाको ३० नं.मा “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्‌याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्‍नु पर्छ । सोबमोजिम नभएको बन्डा सदर 

हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारिजसमेत गराई सकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्‍न पाउँदैन । रजिस्ट्रेसन नभएपनि बन्डा भएको सदर 

हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ” भन्ने उल्लेख भएको देखिन्छ ।

२. उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्थातर्फ दृष्टिगत गर्दा यी वादी प्रतिवादीहरूका बीचमा मिति २०४०।०५।०२ मा मानो चुल्हो छुट्टिई घरसारमा अंशबन्डा भएको भनिएको कानूनबमोजिम रीत पुगेको लिखत पेस गर्न सकेको देखिँदैन । वादी प्रतिवादीहरू मिति २०४०।०५।०२ मै घरसारमा चुल्हो मानो अलग गरी अंशसमेत लिई छुट्टिभिन्न भएका  कुरा मिति २०४१।२।१८ मा  प्रतिवादी मीनप्रसादले बाबु नाताका प्रतिवादी डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिनासँग राजीनामा गरी जग्गा लिएको र प्रतिवादी प्रेमप्रसाद तिम्सिनाले बाबुलाई मिति २०४८।८।१० मा रू.११,०००।–कर्जा दिएको घरसारको लिखतबाट पुष्टि हुन्छ भनी जिकिर गरेको देखियो । मिति २०४०।०५।०२ मा वादी प्रतिवादीहरू मानो चुल्हो छुट्टिई अंशबन्डा गरेको भनिएको लिखत रजिस्ट्रेसन भएको देखिएन । 

३. ने.का.प. २०५२ अंक २ नि.नं. ५०४७ मा प्रकाशित निवेदक प्रतिवादी चिजकुमार श्रेष्ठसमेत विपक्षी मु.स. गर्ने भोला श्रेष्ठसमेत भएको अंश मुद्दामा यस अदालत बृहत् पूर्ण इजलासबाट “मुलुकी (सातौं संशोधन) ऐन, २०३४।९।२७ द्वारा संशोधित अंशबन्डाको महलको ३० नं. बमोजिम मिति २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराई सकेको वा बन्डाबमोजिम आ-आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको हुनुपर्ने, यो यो पैतृक सम्पत्ति वादी प्रतिवादीहरूले आ-आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्नसमेत सकेको नदेखिँदा अंशबन्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरू छुट्टी भिन्‍न भएको भनी अर्थ गर्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उक्त व्यवस्था प्रारम्भ हुनुपूर्व बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल सम्पत्ति अंशबन्डा गरी आआफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेज गराई सकेको बन्डाबमोजिम आआफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको भन्ने प्रमाणबाट देखिएमा अंशबन्डाको लिखत रजिस्ट्रेसन नभएपनि बन्डा भएको मानिन्छ । मिति २०३४।९।२७ पछि रजिस्ट्रेसनको महलको १ नं.बमोजिम मानो छुट्टिएको, मानो जोरिएको, अंशबन्डा भएको लिखत अनिवार्य रूपमा रजिस्ट्रेसन भएको हुनुपर्छ भनी अंशबन्डाको महलको ३० नं. मा व्यवस्था रहेको छ, साथै यस अदालतबाट नजिर सिद्धान्तहरू समेत प्रतिपादन भएका छन् । अंशबन्डा वा मानो छुट्टिएको लिखत कानूनबमोजिम रजिस्ट्रेसन नभएको अवस्थामा विधिवत् अंशबन्डा भएको वा मानो छुट्टिको भनी मान्न मिल्दैन । प्रस्तुत मुद्दामा यी वादी प्रतिवादीहरूको मानो चुल्हो छुट्टिई अंशबन्डा भएको भनिएको घरसारको लिखत मुलुकी ऐन, सातौं संशोधन मिति २०३४।९।२७ पूर्वको नभई मिति २०४०।०५।०२ मा भएको देखियो । मिति २०४०।०५।०२ को घरसारमा मानो चुल्हो छुट्टिएको भन्ने लिखतलाई रजिस्ट्रेसनको महलको १ नं. र अंशबन्डाको ३० नं. प्रयोजनको लागि विधिसम्मत रूपमा भएको लिखत मान्न 

मिल्दैन । तसर्थ प्रतिवादीहरूले मिति २०४०।०५।०२ मा मानो चुल्हो छुट्टिई घरसारमा अंशबन्डा गरेकाले सो मितिलाई नै मानो छुट्टिएको मिति कायम गरिपाउँ भनी गरेको प्रतिउत्तर जिकिरसँग सहमत हुन सकिएन । 

४. मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्य रूपमा रजिस्ट्रेसनको महलको १ नं. अनुसार पारित भएको हुनुपर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको, अस्तित्वमा नै नआएको घरसारमा भएको भनिएको अंशबन्डाको लिखतका आधारमा मानो छुट्टिएको मिति कायम गर्न मिल्दैन । त्यसैले अन्यथा प्रमाणित भएको अवस्था नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई नै मानो छुट्टिएको मिति कायम गर्नुपर्ने  हुन्छ । तसर्थ फिराद परेको अघिल्लो दिन अर्थात्‌ मिति २०६१।९।१० लाई मानो छुट्टिएको मिति कायम गरेको कुरालाई पनि अन्यथा बेमुनासिब  ठान्न मिलेन ।

५. अब अंशबन्डा लाग्ने सम्पत्तिका सम्बन्धमा विचार गर्दा तायदाती फाँटवारीमा उल्लेख गरेका केही जग्गाहरूका सम्बन्धमा सगोलको पैतृक सम्पत्ति हो वा स्व-आर्जनको हो भन्‍ने विवाद रहेको पाइयो । प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले तायदाती फाँटवारीमा पेस गरेको आफ्नो नाउँ दर्ताको उदयपुर जिल्ला, रूपाटार गा.वि.स. वडा नं. ८ झ कि.नं. ६० क्षे.फ. २-२-०-०, ऐ .वडा नं. २क कि.नं. ३५३ क्षे.फ. ०-६-० को जग्गा बाहेक वादी रामानन्द तिम्सिनाले तायदाती फाँटवारीमा उल्लिखित सम्पत्ति नोकरीबाट प्राप्त तलब भत्ताले खरिद गरी निजी स्व-आर्जनको भएको, प्रतिवादी मैनादेवी तिम्सिनाले जेठा छोरा मीनप्रसाद तिम्सिनाबाट र.नं. ६५६ मिति २०६१।८।९मा कि.नं. ९०२ क्षे.फ. ०-३-० र काईला छोरा प्रेमप्रसाद तिम्सिनाबाट र.नं. ४६४७ मिति २०५७।३।२८ मा कि.नं. २०४ क्षे.फ. ४-०-०-० को जग्गा हालैको बकसपत्रबाट प्राप्त गरेकोले बन्डा लाग्ने होइन भनी र प्रतिवादीहरू प्रेमप्रसाद तिम्सिना, मीनप्रसाद तिम्सिना र राजन तिम्सिनाले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सबै सम्पत्ति आआफ्नो पेसा रोजगार गरी आर्जन गरेकाले बन्डा लाग्ने होइन भनी तायदाती फाँटवारी पेस गरेको देखिन्छ । वादी प्रतिवादीहरूले तायदाती फाँटवारीमा स्वआर्जन भएकाले बन्डा लाग्ने होइन भनी लिएको जिकिरका सम्बन्धमा हेर्दा उक्त जग्गाहरू आफ्नो निजी ज्ञान सीपले कमाएको धनले खरिद गरेको स्व.आर्जनको सम्पत्ति हो भनी देखिने कुनै युक्तियुक्त र भरपर्दो प्रमाण पेस गर्न सकेको देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था रहेको छ । स्वआर्जन गरेको भन्ने कुरा सो सम्बन्धमा जिकिर लिने पक्षले नै प्रमाणित गर्नुपर्दछ । त्यसरी अन्यथा प्रमाणित गरिएको अवस्थामा बाहेक एकाघर सगोलमा रहँदा आर्जन गरेको जुनसुकै अंशियारका नाउँमा दर्ता रहेको भए पनि सबै अंशियारको बराबर हक लाग्ने सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्दछ । प्रस्तुत मुद्दामा आफ्नो ज्ञान सीपले आर्जन गरेको भन्ने तथ्ययुक्त र विश्वसनीय प्रमाण पेस हुन आएको देखिएन । कुनै अंशियारले जागिर खाएको वा ठेक्कापट्टाको व्यवसाय गरेको भन्ने कुरालाई नै निजी आर्जनको निश्चयात्मक प्रमाण (Conclusive Evidence) मान्न मिल्दैन । निजी आर्जन गरेको तथ्य विश्वसनीय प्रमाणबाट पुष्टि हुनुपर्दछ । यस प्रसङ्गमा अर्को विचारणीय कुरा के छ भने कसैको निजी आर्जनको सम्पत्तिलाई पैतृक (अंशबन्डा लाग्ने) सम्पत्तिमा मिसाइयो (Blended in Common Stock) भने त्यस्तो सम्पत्तिले समेत पैतृक सम्पत्ति अर्थात्‌ सबै अंशियारको हक लाग्ने साझा सम्पत्तिको स्वरूप धारण गर्दछ । यो अंश सम्बन्धी विधिशास्त्रीय मान्यता हो । त्यसैले कुनै निजी आर्जनको सम्पत्ति बन्डा नलाग्ने मानिनका लागि त्यस्तो सम्पत्तिमा अन्य अंशियारहरूको समेत साझा हक लाग्ने पैतृक सम्पत्ति मिसाइएको (Blended) हुन हुँदैन । यस दृष्टिबाट विचार गर्दासमेत तायदाती फाँटवारीमा उल्लेख गरिएका सम्पत्तिलाई निजी आर्जनको मान्न मिलेन । सो सम्पत्ति अंश भाग बन्डा लाग्ने प्रकृतिकै देखिन आयो । 

६. प्रतिवादी प्रेमप्रसाद तिम्सिनाले विष्णुमान दनुवारबाट बकसपत्रको माध्यमबाट पाएको जग्गा निजी आर्जनको सम्पत्ति हो होइन? उक्त जग्गा बन्डा लाग्ने, नलाग्ने के हो? भन्ने प्रश्न सम्बन्धमा विचार गर्दा उदयपुर जिल्ला, भुमरसुवा गा.वि.स. वडा नं. २क  कि.नं. ३५४ क्षे. फ. ०-४-० र ऐ. कि.नं. ४०० क्षे. फ. ०-३-१० जग्गा प्रेमप्रसाद तिम्सिनाले विष्णु दनुवारबाट मिति २०५०।३।२३ मा हालैदेखिको बकसपत्र लिखतको माध्यमबाट प्राप्त गरेको 

देखियो । बकसपत्रको कैफियत महल हेर्दा उक्त जग्गा हा.व. दिनलाई मेरा बाबुलाई अविभावक राखी मलाई रिझ, गुन गरी रिझाएबापत हा.व. लेखिदिएको भनी वर्ष १४ का विष्णुमान दनुवारले सहिछाप गरिदिएको पाइयो । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. अनुसार कसैबाट निजी तबरले दान वा बकस पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउने र बन्डा गर्न कर नलाग्ने हुन्छ । प्रमाणमा आएको बकसपत्रको लिखत हेर्दा राजीनामा सरह रू.१३,५००।– रकम मूल्य कायम गरी बकसपत्र पारित गरेको देखिन्छ । बकसपत्र दाता र प्राप्तकर्ताको बीच रिझ गुन लगाउनु पर्ने अवस्था, सम्बन्ध वा व्यवहार केही खुलेको पाइएन । बकसपत्र दिनुपर्ने कारण वा औचित्यसमेत प्रमाणित हुन सकेको देखिँदैन । पारित लिखतमा “बकसपत्र” भन्ने शब्द प्रयोग गरिएको छ भन्दैमा एकासगोलका अंशियारका नाउँमा रहेको सम्पत्तिलाई निजी आर्जनको, बन्डा नलाग्ने सम्पत्ति भन्न हुँदैन । बकसपत्र दिनुको प्रयोजन पनि तार्किक रूपमा पुष्टि हुनुपर्दछ । तसर्थ प्रतिवादी प्रेमप्रसाद तिम्सिनाले नाबालक विष्णुमान दनुवारबाट बकसपत्रको माध्यमबाट पाएको उक्त जग्गा निजी आर्जन भन्ने देखिएन । सो जग्गासमेत  बन्डा लाग्ने नै देखियो ।

७. छोराबाट बकसपत्रको माध्यमबाट आमाले पाएको जग्गासम्बन्धी प्रसङ्ग पनि विचारणीय देखिन्छ । प्रतिवादी मैनादेवी तिम्सिनाले कि.नं. २०४ क्षे.फ. ४-०-०-० को जग्गा र.नं. ६५६ मिति २०६१।८।९ मा प्रतिवादीमध्येकै छोरा मीनप्रसाद तिम्सिनाबाट र कि.नं. ९०२ क्षे.फ. ०-३-० को जग्गा र.नं. ४६४७ मिति २०५७।३।२८ मा प्रतिवादीमध्येकै छोरा प्रेमप्रसाद तिम्सिनाबाट हालैको बकसपत्रको लिखतबाट प्राप्त गरेको देखिन्छ । उक्त कि.नं. २०४ को जग्गा मीनप्रसाद तिम्सिना र कि.नं. ९०२ को जग्गा प्रेमप्रसाद तिम्सिनाको नाममा के कसरी प्राप्त भएको रहेछ भन्ने सन्दर्भमा हेर्दा जिल्ला उदयपुर, रूपाटार गा.वि.स. वडा नं. ८ज, कि.नं. २०४ क्षे.फ. ४-०-०-० को जग्गा र.नं. २८२३ मिति २०५१।२।१८ मा बाबु डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाबाट राजीनामाको लिखत गरी प्रतिवादी मीनप्रसाद तिम्सिनाको नाममा आएको र सोही जग्गा आफ्नी आमा मैनादेवी तिम्सिनालाई मिति २०५७।३।२८ मा हालैको बकसपत्र गरिदिएको देखियो । त्यसैगरी जिल्ला उदयपुर, भुमरसुवा गा.वि.स. वडा नं. ४ क कि.नं. ७६८ क्षे. फ. ०-६-०१/४ जग्गा र.नं. ११८१ मिति २०५५।१०।१२ मा चक्रबहादुर बस्नेतबाट राजीनामाको लिखतबाट प्रतिवादी प्रेमप्रसाद तिम्सिनाले खरिद गरेको र सोही जग्गा आफ्नी आमा मैनादेवी तिम्सिनालाई कित्ताकाट गरी हाल कायम कि.नं. ९०२ क्षे.फ. ०-३-० जग्गा र.नं. ६५६ मिति २०६१।८।९ मा हालैको बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरिएको पाइयो । उक्त जग्गाहरू निज प्रतिवादी मीनप्रसाद तिम्सिना र प्रेमप्रसाद तिम्सिनाले आफ्नो निजी आर्जनको कमाइबाट खरिद गरेको आफूखुश गर्न पाउने सम्पत्ति हो भन्ने तथ्ययुक्त प्रमाण पेस हुन आएको पाइएन ।

८. मुलुकी ऐन, अंशबन्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तबरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । विवादित सम्पत्ति उल्लिखित कानूनी व्यवस्थाको परिधिभित्र पर्ने अवस्थाको देखिँदैन । बकसपत्रदाता स्वयंको आफूखुस गर्न पाउने, बन्डा गर्न कर नलाग्ने प्रकृतिको सम्पत्ति हो भन्ने देखिएको छैन । अन्य अंशियारको समेत अंश हक लाग्ने सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई बकसपत्र गरी दिँदैमा त्यस्तो सम्पत्ति बन्डा नलाग्ने हुँदैन । एक अंशियारले अर्को अंशियारलाई बकसपत्रकै माध्यमबाट अन्य अंशियारहरूको समेत अंशहक लाग्ने सम्पत्ति हस्तान्तरण गरेको र त्यस्तो बकसपत्र लिखत कायम रहेको (बदर नभएको) अवस्थामा पनि सो सम्पत्ति अंशबन्डा लगाउन कानूनी बाधा पर्दैन । विवादित कि.नं. ९०२ र २०४ को सम्पत्ति मैनादेवी तिम्सिनाको निजी आर्जन वा स्त्री अंश धनअन्तर्गतको सम्पत्ति भनी मान्न सकिने अवस्था देखिएन । तसर्थ मैनादेवीले छोराहरूबाट बकसपत्रको लिखत गरी प्राप्त गरेका उल्लिखित जग्गासमेतबाट वादीले अंश भाग पाउने नै देखियो । 

९. अब मिति २०४१।२।१८ र मिति २०४८।८।१० को लिखत किर्ते ठहर हुने नहुने के हो? भन्ने प्रश्न सम्बन्धमा विचार गर्दा प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले जिल्ला उदयपुर, रूपाटार गा.वि.स. वडा नं. ४ घ कि.नं. ४, ऐ. वडा नं. ८ झ कि.नं. ४२ र ऐ. कि. नं. २०४ को जग्गा र.नं. २८२३ मिति २०४१।२।१८ मा प्रतिवादी छोरा मीनप्रसाद तिम्सिनालाई राजीनामा गरिदिएको देखिन्छ । त्यसैगरी यिनै प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले प्रतिवादी छोरा प्रेमप्रसाद तिम्सिनाबाट रू.११,०००।– कर्जा लिई मिति २०४८।८।१० मा कपाली तमसुक गरिदिएको भनी कागज गरिदिएको पाइयो । मिति २०४१।२।१८ मा भएको राजीनामाको लिखत मैले गरिदिएको होइन, किर्ते हो । मिति २०४८।८।१० मा भएको कपाली तमसुक गरिदिएको होइन, लिफामा तयार गरेको हो भनी सो लिखतहरूको सम्बन्धमा प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले सुरू अदालतमा अ.बं. ७८ नं. बमोजिम बयान गरेकोसमेत देखियो । निज प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनाले गरेको बयान जिकिरबमोजिम सो लिखतहरू विशेषज्ञ कहाँ जाँच गर्न पठाउँदा निज प्रतिवादीले सुरू अदालतमा  गरेको सहिछाप र मिति २०४१।२।१८ मा प्रतिवादी मीनप्रसाद तिम्सिनाले राजीनामा गरी लिएको पारित लिखतको दिनेको महलमा भएको ल्याप्चे सहिछापका रेखाका गुणहरू आपसमा फरक भई नभिडेको भनी र मिति २०४८।८।१० को प्रतिवादी प्रेमप्रसादले प्रतिवादी डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिनालाई कर्जा दिएको भनिएको तमसुक लिखतको बेहोराको बायाँतर्फको हरफ अन्य हरफको दाँजोमा केहीभित्र घुसाएर लेखिएको र बेहोरामा भएको सहिछापले अक्षरहरू नछोएको भनी विशेषज्ञबाट राय व्यक्त भई आएको देखिन्छ । तथापि विवादित लिखतको साक्षीहरू तथा लिखत परीक्षण गर्ने विशषज्ञको समेत अदालतमा बकपत्र भएको मिसिल संलग्न कागजातबाट देखिँदैन । को कसले लिखत किर्ते गरेको हो भनी यकिन दाबी जिकिर गरिएको पनि देखिँदैन । यस अवस्थामा  मिति २०४१।२।१८ मा भएको राजीनामा लिखत र मिति २०४८।८।१० मा भएको तमसुक लिखतलाई किर्ते ठहर गर्नु मनासिब देखिएन । 

१०. माथि विवेचित आधार प्रमाणहरूबाट यी वादी प्रतिवादीहरू मिति २०३४/९/२७ भन्दा अगावै व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको नदेखिएको, मानो छुट्टिएको लिखत रजिस्ट्रेसन भएको नदेखिएको, तायदाती फाँटवारीमा उल्लिखित केही सम्पत्ति निजी आर्जनको हो भन्ने यी वादी प्रतिवादीहरूको जिकिर तथ्ययुक्त प्रमाणहरूबाट पुष्टि हुन नसकेको, वादीका बाबु डण्डीकेशर भन्ने डिल्लीप्रसाद तिम्सिनाले हामी अंशियारहरूबीच हालसम्म मानो चुल्हो छुट्टिई अंशबन्डा नभई एकासगोलमै रहेको तथा पैतृक सम्पत्ति र सोबाट बढे बढाएको रकमबाट प्रतिवादी छोराहरूका नाममा भएका घर जग्गाहरू खरिद गरेको भनी प्रतिउत्तर फिराएको, प्रतिवादीहरू मैनादेवी तिम्सिना, मीनप्रसाद तिम्सिना, प्रेमप्रसाद तिम्सिना, राजन तिम्सिनाले मिति २०४०।०५।०२ मा मानो चुल्हो छुट्टिई अंशबन्डा भएको भनी प्रतिउत्तर  जिकिर लिएको भए पनि सो  लिखत मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम रजिस्ट्रेसन पास भएको देखिन नआएको हुँदा यस अदालतबाट मिति २०६८।०६।२५ मा प्रत्यर्थी झिकाउने गरी भएको आदेशमा उल्लेख गरिएका कुरासँग सहमत हुन सकिएन । 

११. अतः प्रतिवादी मीनप्रसाद तिम्सिनालाई मुलुकी ऐन, किर्ते कागजको १ नं. को कसुरमा ऐ. को ७ नं. बमोजिम रू.२,८००।– जरिवाना र अर्का प्रतिवादी प्रेमप्रसाद तिम्सिनालाई किर्ते कागजको १ नं. को कसुरमा ऐ. को ७ नं. बमोजिम रू.११,०००।–जरिवाना गरी वादी प्रतिवादीहरू ७ अंशियार देखिँदा तायदाती फाँटवारीमा उल्लिखित घर जग्गाहरू ७ भाग लगाई सो ७ भागको १ भाग वादीले अंश पाउने ठहर्‍याई सुरू उदयपुर जिल्ला अदालतबाट मिति २०६४।०७।२० मा भएको फैसला किर्ते ठहर गरेको हदसम्म केही उल्टी गरी वादी दाबीबमोजिम वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६६।८।२३ को  फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू मैनादेवी तिम्सिना, डण्डीकेशर उपाध्याय भन्ने डिल्लीप्रसाद तिम्सिना, तथा प्रेमप्रसाद तिम्सिनासमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजको  फैसला सदर हुने ठहरी फैसला भएकोले वादीले फिराद दर्ता गर्दा सुरू उदयपुर जिल्ला अदालतमा कोर्ट फी रू. २००।– राखेको र बाँकी कोर्टफी पछि दाखिल गर्ने गरी कोर्टफी ऐन, २०१७ को दफा २३ बमोजिम सुविधा लिएको देखिएको तथा पुरावेदन अदालत राजविराजमा प्रतिवादीहरू मीनप्रसाद, प्रेमप्रसाद र राजन तिम्सिनाले पुनरावेदन गर्दा र.नं. ५४५ मिति २०६४।१२।११ मा रू.२०००।- र प्रतिवादी मध्येका मैनादेवी तिम्सिनाले र.नं. ५४४ मिति २०६४।१२।११ मा रू. ४०।- धरौटी राखेको मिसिल संलग्न धरौटी रसिदबाट देखिएको र पुनरावेदन अदालत राजविराजको फैसलाको तपसिल खण्डमा उक्त धरौटी रकमको बारेमा केही नबोली फैसला गरेको देखिँदा उक्त धरौटी रकम सदर स्याहा गर्नु भनी पुनरावेदन अदालत राजविराजको लेखा शाखामा लेखी पठाउनू .....................................१

नक्‍कल माग्‍ने सरोकारवालालाई नियमानुसार नक्‍कल दिनू ..................................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ...................३

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत: डल्लुराम चौधरी

इति संवत् २०७५ साल असार १८ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु