निर्णय नं. १००३६ - उत्प्रेषण / परमादेश
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
आदेश मिति : २०७४।१।३
०७०-WO-०३१५
विषयः उत्प्रेषण / परमादेश
रिट निवेदक : कृष्णबहादुर श्रेष्ठको छोरा काठमाडौं जिल्ला नैकाप गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४३ को रोशनकुमार श्रेष्ठ
विरूद्ध
विपक्षी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालय भद्रकाली प्लाजा काठमाडौंसमेत
कुनै पनि संस्थाले कर्मचारीको नियुक्ति गर्दा केही उद्देश्य राखेको हुन्छ । कर्मचारीसम्बन्धी सेवा सर्तलाई कर्मचारीले पाउने र संस्थाले उपलब्ध गराउने सुविधाहरू लिपिबद्ध गरिराखेको अवस्थामा त्यस्तो सेवा सर्त प्रचलित कानूनसँग नबाझिएसम्म कर्मचारी तथा रोजगारदाता दुवैले समान रूपमा मान्नु पर्ने नै हुन्छ । कर्मचारीले सुविधाको दाबी गर्दै जाने र रोजगारदाताको लागि गर्नुपर्ने काममा लापरवाही गर्ने वा बद्नियत चिताई कुनै काम गर्ने वा तोकिएको काममा अटेर गरी बस्ने कर्मचारीलाई त्यस्तो सेवा सर्त एवं प्रचलित कानूनले पनि सुविधा दिन सक्दैन । सेवा सर्तले तोकेको पुर्वावस्थाहरू पूरा भएको अवस्थामा मात्र त्यसबमोजिमको सुविधाको माग गर्न
मिल्ने ।
नयाँनयाँ कारण देखाई बिदा माग गर्ने, विना पूर्व सूचना अनुपस्थित हुने र कारबाही भएको निर्णयउपर रिट दर्ता गर्ने कार्यमा सफा हातसमेत देखिँदैन । यसर्थ ९० दिनभन्दा बढी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई भविष्यमा कम्पनीको सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको निर्णय कानूनविपरीत भन्न मिल्ने देखिन नआउने ।
(प्रकरण नं.८)
रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान् अधिवक्ता श्री पुष्पराम पौडेल
विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पिताम्बर भण्डारी र श्री सुरज अधिकारी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१
आदेश
न्या. अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः
म निवेदक रोशनकुमार श्रेष्ठ तत्कालीन नेपाल दूरसञ्चार संस्थान हाल नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सहायक पदमा मिति २०४५।११।१० गते अस्थायी नियुक्ति भई २०५२।१०।१२ को निर्णयअनुसार सहायक स्तर ४(प्र.) पदमा स्थायी नियुक्ति पाई अनवरत रूपमा काम गर्दै आएकोमा मिति २०५९।१२।१३ को पदपूर्ति समितिको निर्णयअनुसार सहायक स्तर ५(प्र.) पदमा बढुवा भई कार्य गर्दै आएकोमा २०६७।४।२८ को निर्णयअनुसार अधिकृतस्तर ६(प्र)लेखा) सहायक लेखा अधिकृत पदमा बढुवा भई विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा अनवरत रूपमा सेवा गर्दै आएकोमा दूरसञ्चार कम्पनी लिमिटेड परासीको दरबन्दीमा रही दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा कार्यरत रहेको अवस्थामा मलाई घरायसी कारणबाट असाधारण बिदा चाहिएकोले मिति २०६७।९।६ देखि २०६९।९।५ सम्म असाधारण बिदा स्वीकृत गराई बिदामा बसेकोमा मेरो घरायसी काम समाप्त भइसकेकाले मिति २०६९।४।३१ को निर्णयअनुसार मिति २०६९।४।३१ गतेदेखि विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा हाजिर गराई कामकाज गर्न पाउने गरी विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट मिति २०६९।४।३१ को पत्र प्राप्त भई हाजिर हुन गई कामकाज गरी आएको अवस्थामा मलाई पुनः घरायसी कारणबाट घर बिदा आवश्यक परेकाले विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा बिदाको आवेदन गरेकोमा मिति २०६९।५।७ देखि लागू हुने गरी मिति २०६९।०८।१५ गतेसम्मको घर बिदा क्षेत्रीय निर्देशनालय भैरहवाको क्षेत्रीय निर्देशकज्यूले मिति २०६९।५।६ को निर्णयले बिदा स्वीकृत गरी म घर बिदामा बसेको थिए ।
यसरी घर बिदा स्वीकृत गरी घर बिदामा बसिरहेको अवस्थामा मलाई घर बिदा समाप्त हुने मिति २०६९।८।१५ गते मलाई मिति २०६९ साल पौष मसान्तसम्म मेरो सञ्चित बिरामी बिदाबाट कट्टा हुने गरी बिरामी बिदाको लागि मिति २०६९।९।१२ गते विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा द.नं. १५१८५ को निवेदन दर्ता गरी कारबाही चलाएकोमा मलाई सो कुराको कुनै जानकारीसमेत दिइएन । त्यसपछि म निवेदक २०६९ साल चैत्र महिनामा विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा हाजिर हुन जाँदा मलाई विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको मौखिक आदेशमा हाजिर हुन नदिनु भनेकाले भनी मलाई हाजिर नगराई त्यसै झुलाएर नै राखियो । मलाई हाजिर हुन नपाउने कुनै जानकारीसमेत दिइएन र म हाजिर हुन पाउने आसमा बसिरहेको थिएँ ।
यसरी मलाई लामो समयसम्म पनि हाजिर हुन नदिएकाले मैले विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा मिति २०७०।०६।०३ गते द.नं. ५२४२ मा हाजिर गर्न पाउँ भनी निवेदन दिएकोमा पुनः हाजिर गराउन दिइएन । यसरी हाजिर गर्नसमेत नदिएको दर्साउँदै मिति २०७०।०६।०७ गते द.नं. ५५१६ मा सञ्चालक समितिको अध्यक्षज्यूलाई निवेदन दिई उक्त निवेदन नेपाल टेलिकममा पठाइदिने भनी आदेश भई विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा आउँदासमेत मलाई हाजिर गराइएन । त्यस्तै पुन: २०७०।०६।१३ गते दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समितिमा हाजिर हुन दिएको निवेदनमा समेत कुनै कारबाही भएको जानकारी मलाई दिइएन । यसरी पटकपटक दिएको निवेदनउपर कुनै कारबाही नभई मलाई एक्कासी २०७० साल असोज १५ गते गोरखापत्र दैनिक पत्रिकामा म रिट निवेदक मिति २०६९।०८।१६ देखि बिदा स्वीकृत नगराई लगातार ९० औं दिनभन्दा बढी कार्यालयमा उपस्थित नभएकाले र पत्रमा सञ्चित बिरामी बिदाको लागि चिकित्सकको प्रेसक्रिप्सन विना २०६९ साल चैत्र मसान्तसम्मको बिदा मागेको भन्ने दुई थरीको लिखित आधार देखाई फरक तरिकाको एकै निर्णय भनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ९७ को उपविनियम (६) को खण्ड (घ) को अवस्था विद्यमान रहेकाले सोही विनियमावलीको विनियम ९३(क) को (१०) को अभियोगमा विनियम ८९(५) अनुसार भविष्यमा कम्पनीको सेवामा अयोग्य नठहरिने गरी मिति २०६९।०८।१६ गतेदेखिनै लागू हुने गरी सेवाबाट हटाउने भनी सञ्चालक समितिको मिति २०७०।०५।२१ को निर्णय भएकोले निर्णयअनुसार जानकारी गर्नु हुन भन्ने सूचना प्रकाशित भएकोमा के भएको रहेछ त भनी विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा गई मिति २०७०।०७।०५ गते निर्णयको जानकारी प्राप्त गरेकाले उक्त निर्णयहरूले मलाई अन्याय परेकाले उक्त निर्णयहरू बदर गराउन पाउने अन्य वैकल्पिक तथा प्रभावकारी उपचारको बाटो नभएकाले तथा मेरो साबिकको दरबन्दी रहेको स्थान विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड परासी नवलपरासी तथा मलाई बिदा स्वीकृत गर्ने काजमा रही कार्य गरी आएको विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देही भएकाले उक्त सबै विपक्षीहरूको काम व्यवहार बदर गराउने क्षेत्राधिकार प्राप्त निकाय सम्मानित सर्वोच्च अदालत मात्र भएकाले सम्मानित अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १८, १९, २७ ले दिएको अधिकार कुण्ठित भएको तथा विपक्षीको निर्णयमा गम्भीर कानूनी तथा संवैधानिक त्रुटि भएकाले सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र ग्रहण गरी धारा ३२ तथा १०७(२) बमोजिम प्रस्तुत रिट निवेदन लिई उपस्थित भएको छु । अतः विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा बिदाको आवेदन गरेकोमा मिति २०६९।५।७ देखि लागू हुने गरी मिति २०६९।८।१५ गतेसम्मको घर बिदा स्वीकृत गरी घर बिदामा बसिरहेको अवस्था रहेको कुरा उक्त मिति २०६९।५।६ गते बिदा स्वीकृत गरेको निर्णयले स्पष्ट पारिरहेको अवस्था छ । उक्त बिदा स्वीकृत भई म निवेदक बिदामा बसिरहेको अवस्थामा विपक्षी दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समितिको मिति २०७०।५।२१ गते भनिएको कथित निर्णयको मिति २०६९।८।२६ देखि लागू हुने गरी भएको निर्णय गैरकानूनी हुँदा र मलाई नोकरीबाट हटाउने निर्णय प्रबन्ध निर्देशकले गर्नुपर्नेमा विपक्षी सञ्चालक समितिले सोझै अधिकार प्रयोग गरी मिति २०७०।५।२१ मा निर्णय गरेकाले अख्तियार विनाको अधिकारीले गरेको निर्णय हुँदा उत्प्रेषणको आदेशद्वारा बदरभागी छ ।
विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समितिको मिति २०७०।५।२१ गते भनिएको कथित निर्णयको मिति २०६९।८।२६ गतेदेखि लागू हुने गरी भएको भनिएको निर्णय नै गलत छ । मैले मिति २०६९।५।७ गतेदेखि मिति २०६९।८।२५ गतेसम्म बिदा लिएको बिदा स्वीकृत भएको निर्णय पर्चा विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा बिदाको आवेदन र स्वीकृतिले स्पष्ट पार्दछ । उक्त बिदा स्वीकृति नभएको र चाँडो हाजिर हुनुपर्ने भन्ने पत्र मलाई विपक्षीहरूले बुझाएका छैनन् । म निवेदक बिदा स्वीकृत गरेर मात्र बिदामा बसेको अवस्था छ । लगातार कम्पनीलाई थाहा जानकारी नदिई ९० दिन गैरहाजिर रहेको नभई मैले बिदा स्वीकृत गरेर मात्र बिदामा बसेकाले मलाई मिति २०६९।८।१६ देखि लागू हुने गरी नोकरीबाट हटाउने गरी भएको निर्णय गैरकानूनी तथा हचुवाको भरमा मलाई सुनुवाइको मौकासमेत नदिई भएकाले विपक्षीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदरभागी हुनुका साथै मलाई मेरो बिदा स्वीकृत नभएको र मलाई हाजिर हुन आउने भन्ने कुनै किसिमको सूचना दिएको अवस्था छैन । विपक्षीसँग मैले बिरामी बिदा स्वीकृतको लागि दिएको निवेदनको साथमा चिकित्सकको सर्टिफिकेट साथ निवेदन गरेकोमा सो कुरालाई उल्लेख नगरी भएको निर्णय बदरभागी छ ।
विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग मैले पटकपटक हाजिर हुन पाउँ भनी निवेदन दिइरहेको अवस्था छ । उक्त निवेदनको कुनै जवाफ मलाई प्राप्त भएको छैन । विपक्षीले निर्णय गर्नुभन्दा अगाडिका मितिमा दिएको निवेदनउपर कुनै कारबाही भएको छैन । मलाई हाजिर गराउनु नपर्ने कुनै कारण उल्लेख हुन सकेको छैन । म विपक्षीहरूको सम्पर्कमा पटकपटकको निवेदनद्वारा आइरहेको अवस्थामा मलाई कुनै स्पष्टीकरण नसोधिनु र मलाई नोकरीबाट हटाउँदा लिइएको आधार उल्लिखित नहुनुले पनि २०७०।५।२१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मलाई नोकरीमा पुनर्वहाली गरी मलाई दिनुपर्ने तलबभत्ता सुविधालगायतका कर्मचारीले पाउने सम्पूर्ण रकमसमेत दिनु भन्ने विपक्षीहरूका नाउँमा परमादेशलगायतका जो चाहिने आज्ञा आदेश पुर्जीसमेत जारी गरिपाउँ भन्नेसमेत बेहोराको रोशनकुमार श्रेष्ठको निवेदन माग बेहोरा ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? जारी हुनु नपर्ने कुनै कारण भए सोको आधार खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरूका नाउँमा आफैँ वा कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी सूचना पठाई लिखित जवाफ पेस भएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू ।
प्रस्तुत निवेदनमा उठाइएको विषय कर्मचारीको रोजगारीसँग सम्बन्धित भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६३(३)(च५) बमोजिम अग्राधिकार दिइएको छ भनी यस अदालतबाट मिति २०७०।७।७ मा भएको आदेश ।
विपक्षी निवेदक रोशनकुमार श्रेष्ठ साबिकको नेपाल दूरसञ्चार संस्थानमा मिति २०४५।११।१० को निर्णयअनुसार सहायक पदमा रही अस्थायी नियुक्ति हुनु भएकोमा मिति २०५२।१०।१४ मा सहायकस्तर तह ४ प्रशासन पदमा मिति २०५९।१०।२८ देखि ज्येष्ठता कायम हुने गरी मिति २०५९।१२।१३ को निर्णयअनुसार सहायकस्तर ५ मुख्य सहायक पदमा बढुवा नियुक्ति हुनु भएको थियो । मिति २०६७।०४।२८ को निर्णयअनुसार निवेदक २०६७।०४।२४ देखि ज्येष्ठता कायम हुने गरी अधिकृतस्तर तह ६ प्र./ले.सहायक लेखा अधिकृत पदमा बढुवा नियुक्ति भई कम्पनीको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाअन्तर्गतका कार्यालयमा विना भत्ता काज खटाइएको थियो ।
निज विपक्षी २०६७।७।२२ देखि २०६७।९।५ सम्म घर बिदा स्वीकृत गराई बिदामा बसेको, २०६७।९।६ देखि कार्यालयमा अनुपस्थित भएकोमा कम्पनीको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाबाट स्पष्टीकरणसहित हाजिर हुन घर ठेगानामा पत्राचार गरिएकोमा बुझ्नुभएको थिएन । त्यस्तै कम्पनीको केन्द्रीय कार्यालयबाट मिति २०६८।०१।२३ मा १५ दिन भित्र हाजिर हुन पत्राचार भएको थियो । विपक्षीले २०६८।०४।२४ मा बुबाको औषधी उपचारको लागि विदेश जानुपर्ने भएकाले १ वर्षको लागि असाधारण बिदा माग गर्नुभएकोमा मिति २०६८।०८।०७ मा घरासयी कारणले सम्बन्धित कार्यालयमा अनुपस्थित भएकाले अनुपस्थित अवधिभर सञ्चित बिदा कट्टा गरी बिदा मिलान गरिदिनु भनी अनुरोध भएकोमा मिति २०६७।०९।०६ देखि २०६८।०९।०५ सम्म एक वर्ष असाधारण बिदा २०६८।०८।२३ को निर्णयअनुसार स्वीकृत भएको हो । तत्पश्चात् २०६८।०९।०६ देखि कार्यालयमा उपस्थित हुनुपर्नेमा हाजिर नभएकोले कम्पनीको केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभागबाट मिति २०६८।१२।२१ मा ३० दिनभित्र सम्पर्क राख्न आउनुका लागि पत्राचार गरिएकोमा निजले पुनः मिति २०६९।०१।०३ मा सञ्चित बिदा स्वीकृतिको लागि निवेदन गरेको तथा मिति २०६९।०२।१९ मा पुन: मिति २०६८।०९।०५ सम्म एक वर्ष असाधारण बिदा माग गरी कम्पनीमा निवेदन दर्ता गर्नुभएकोमा अन्तिम पटकका लागि भनी मिति २०६९।०२।३२ को निर्णयअनुसार मिति २०६८।०९।०६ देखि २०६९।०९।०५ सम्म एक वर्षको लागि असाधारण बिदा स्वीकृत भएको थियो ।
विपक्षी २०६८।०९।०६ देखि २०६९।०९।०५ सम्म असाधारण बिदा स्वीकृत गराई बसेकोमा मिति २०६९।०४।२६ मा बिदा सकिन अगावै हाजिर हुन पाउँ भनी निवेदन गरेकोमा मिति २०६९।०५।०१ देखि मिति २०६९।०९।०५ सम्मको बिदा रद्द गरी अब उप्रान्त असाधारण बिदा उपलब्ध नगराउने गरी २०६९।०५।०१ देखि पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा हाजिर गराउने २०६९।०४।३१ मा निर्णय भई हाजिर गराइएकोमा विपक्षी पुन: मिति २०६९।०८।१६ देखि विना सूचना कार्यालयमा अनुपस्थित रहनुभएको थियो । यसरी निजलाई पटकपटक असाधारण बिदा प्रदान गरेको, अनुपस्थित अवधिको बिदासमेत मिलान गरी सुविधा प्रदान गरिराखेको अवस्थामा कार्यालयको कामप्रति बेवास्ता गरी निवेदन मात्र गर्ने गरी राखेकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०६१ को विनियम ९३ को खण्ड (क) को उपनियम (२) र (१०) को अभियोगमा विनियम ८९(५) अनुसार भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी निज रोशनकुमार श्रेष्ठलाई सञ्चालक समितिको ५५८ औं बैठकको निर्णय नं. २५०० मिति २०७०।०५।२१ को निर्णयबाट कानूनसम्मत निर्णय भइसकेको अवस्था हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको दूरसञ्चार कम्पनी लिमिटेड, दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समिति-१ र दूरसञ्चार कम्पनी लिमिटेड जनशक्ति व्यवस्थापन विभाग-१ समेतको तर्फबाट अधिकारप्राप्त निमित्त प्रबन्ध निर्देशक अमरनाथ सिंहका तर्फबाट पेस हुन आएको लिखित जवाफ ।
विपक्षी यस क्षेत्रीय निर्देशनालयअन्तर्गत कार्यरत रहनु पर्ने भएपनि कार्यालयको काममा बेवास्ता गरी लामो समय अनुपस्थित
हुनुहुन्थ्यो । निजको सम्बन्धमा आवश्यक जानकारी यस क्षेत्रीय निर्देशनालयबाट केन्द्रमा पठाइएको
थियो । आवश्यक कारबाहीका लागि लेखी पठाउने र जानकारी दिनेबाहेक यस क्षेत्रीय निर्देशनालयको कुनै भूमिका हुँदैन र छैन । त्यसैले निवेदकले यस क्षेत्रीय निर्देशनालय तथा दूरसञ्चार कार्यालय परासीलाई विपक्षी गराउनु पर्ने होइन । विपक्षीले हाजिर नगराएको निवेदनका प्रकरणमा उल्लेख गर्नुभएको छ, निज कहिले यस क्षेत्रीय निर्देशनालयमा आउनुभयो ? कहाँ निवेदन गर्नुभयो ? हाजिर हुनको लागि त्यस्ता कुरा उल्लेख नगरी यस कम्पनीको काममा पूर्ण बेवास्ता गरी जानीजानी कार्यालयमा अनुपस्थित हुनुभएका व्यक्तिले हाजिर गराएनन् भन्न नमिल्ने हुनुका साथै दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयसमेतको तर्फबाट पेस भएको लिखित जवाफलाई यसै लिखित जवाफको अभिन्न अंग मानी रिट निवेदन खारेज गरिपाउँ भन्ने दूरसञ्चार कम्पनी लिमिटेड पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय-१, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय परासी-१ समेत दुवै कार्यालयको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अधिकारप्राप्त क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक विजयकुमार ठाकुरका तर्फबाट पेस भएको लिखित जवाफ ।
निवेदक रोशनकुमार श्रेष्ठलाई नोकरीबाट हटाउने गरी मिति २०७०।०५।२१ मा भएको निर्णयसहितको फाइल सम्बन्धित कार्यालयबाट झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७१।१०।२५ मा भएका आदेशानुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, नेपाल टेलिकमबाट फाइल प्राप्त भई मिसिल संलग्न रहेको देखिन्छ ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान् अधिवक्ता श्री पुष्पराम पौडेलले निवेदक रोशनकुमार श्रेष्ठले २०६७।०९।०६ देखि २०६९।०९।०५ सम्म असाधारण बिदा स्वीकृत गराई बसेकोमा घरायसी काम समाप्त भएकोले असाधारण बिदा सकिने मिति २०६९।०९।०५ पूर्व नै मिति २०६९।०४।३१ मा दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयबाट पत्र प्राप्त भए मुताबिक दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवा रूपन्देहीमा हाजिर भई काम काज गरी रहेकोमा पुन घरायसी कारणले बिदा आवश्यक परेकाले विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड क्षेत्रीय निर्देशनालय भैरहवामा क्षेत्रीय निर्देशकको २०६९।०५।०६ को स्वीकृति निर्णय मुताविक २०६९।०५।०७ देखि २०६९।०८।१५ सम्म घर बिदामा बसेको र घर बिदा समाप्त भएपश्चात् पौष मसान्तसम्मको सञ्चित बिरामी बिदाबाट कट्टा हुने गरी बिदा स्वीकृतिका लागि २०६९।०९।१२ मा दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरी कारबाही चलाएकोमा विपक्षीले सोको जानकारी नगराई चैत्र मसान्तमा भैरहवा क्षेत्रीय निर्देशनालयमा हाजिर हुन जाँदासमेत हाजिर नगराई झुलाई राखिएकोमा मिति २०७०।०६।०३ मा दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा र २०७०।०६।०७ मा सञ्चालक समितिका अध्यक्षसमक्ष र २०७०।०६।१३ गते सञ्चालक समितिमा निवेदन गर्दासमेत मलाई कारबाही भएको जानकारी दिइएन । पटकपटकको निवेदनमा कुनै कारबाही नगरी एक्कासी २०७० साल असोज १५ गते गोरखापत्र दैनिकमा मेरो पक्ष रिट निवेदकलाई २०६९।०८।१६ देखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी कार्यालयमा उपस्थित नभएकाले र सञ्चित बिरामी बिदाको लागि चिकित्सकको प्रेसक्रिप्सन विना २०६९ चैत्र मसान्तसम्मको बिदा मागेको भन्ने दोहोरो लिखित आधार देखाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ९७ को उपविनियम (६) को खण्ड (घ) को अवस्था विद्यमान रहेकाले सोही विनियमावलीको विनियम ९३(क) को (१०) को अभियोगमा विनियम ८९(५) अनुसार भविष्यमा कम्पनीको सेवामा अयोग्य नठहरिने गरी मिति २०६९।०८।१६ देखि लागू हुने गरी सेवाबाट हटाउने भनी सञ्चालक समितिबाट मिति २०७०।०५।२१ मा भएको निर्णय गैरकानूनी र त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी यी निवेदकलाई आफ्नो पदमा बहाली गराउनु भन्ने परमादेशको आदेशसमेत जारी गरिपाउँ भनी गर्नुभएको बहस तथा प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय पिताम्बर भण्डारी र सुरज अधिकारीले विपक्षी निवेदकले असाधारण बिदा स्वीकृत गरी पाउनका लागि दिएको निवेदनअनुसार असाधारण बिदा स्वीकृत भएको र तत्पश्चात् पनि निवेदक आफ्नो पदमा वहाली भई पुन: केही समयपश्चात् घर बिदा स्वीकृत भएको समयावधिपश्चात पनि अनुपस्थित भई चिकित्सकको प्रेसक्रिप्सन विना सञ्चित बिरामी बिदा पाउँ भनी माग गरेपश्चात् पनि रिट निवेदक कार्यालयमा लामो समय अनुपस्थित रहेकाले निवेदकलाई दूरसञ्चार कम्पनी लिमिटेड विनियमावली, २०६१ को विनियम ८९(५) अनुसार सञ्चालक समितिले नोकरीबाट हटाउने निर्णय गरेको कार्य कानूनअनुरूप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत निवेदनमा रिट निवेदकको निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा म निवेदकले २०६७।०९।०६ देखि २०६९।०९।०५ सम्म असाधारण बिदा स्वीकृत गराई बिदामा बसेकोमा बिदा समाप्त हुनुपूर्व नै मिति २०६९।०४।३१ मा आफ्नो कार्यालयमा हाजिर भई कामकाज गरेकोमा पुन: घरायसी कामले गर्दा बिदा लिन परेकाले २०६९।०५।०७ देखि २०६९।०८।१५ सम्मको घर बिदा स्वीकृत गराई बिदामा बसेकोमा तत्पश्चात् पनि २०६९ पौष मसान्तसम्मको सञ्चित बिरामी बिदाबाट कट्टा हुने गरी बिदा माग गरेकोमा सोको कुनै जानकारी मलाई नगराई म चैत्र २०६९ मा आफू कार्यरत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवामा हाजिर हुन गएकोमा केन्द्रीय कार्यालयको मौखिक आदेशानुसार भनी मलाई हाजिर नगराई लामो समयसम्म झुलाई राखिएकोमा २०७० साल असोज १५ को गोरखापत्रमा २०६९।०८।१६ देखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित भएकाले दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ९७ को उपनियम ६ को खण्ड (घ) को अवस्था विद्यमान रहेकाले सोही विनियमावलीको विनियम ९३(क) को (१४) को अभियोगमा विनियम ८९(५) अनुसार भविष्यमा कम्पनीको सेवामा अयोग्य नठहरिने गरी मिति २०६९।०८।१६ देखि नै लागू हुने गरी सेवाबाट हटाउने भनी सञ्चालक समितिको मिति २०७०।०५।२१ को निर्णय भएकोले निर्णयअनुसार जानकारी गर्नु हुन भन्ने सूचना प्रकाशित भएकाले के भएको रहेछ भनी विपक्षी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयमा गई मिति २०७०।०७।०५ गते निर्णयको जानकारी प्राप्त गरेकोले सो निर्णयबाट मलाई अन्याय परेको र अन्य प्रभावकारी उपचारको बाटो नभएकाले उक्त मिति २०७०।०५।२१ को सञ्चालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पदमा बहाल गरिपाउँ भन्ने निवेदन दाबी तथा निवेदकले लामो समयसम्म बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ बमोजिम नै भविष्यमा कम्पनीको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय सञ्चालक समितिबाट गरिएको हुँदा सञ्चालक समितिको निर्णय कानूनसम्मत नै हुँदा बदर हुनुपर्ने होइन भन्नेसमेत विपक्षीहरूको लिखित जवाफ रहेको देखिन्छ ।
३. निवेदक रोशनकुमार श्रेष्ठ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सहायक लेखा अधिकृत पदमा कार्यरत रही मिति २०६७।०९।०६ देखि २०६९।०९।०५ सम्म असाधारण बिदामा रहनु भएकोमा कार्य सम्पन्न भएको हुनाले कार्यालयमा हाजिर हुन पाउँ भनी मिति २०६९।०४।२६ मा दिनु भएको निवेदन पेस हुँदा मिति २०६९।०५।०१ देखि २०६९।०९।०५ सम्मको स्वीकृत असाधारण बिदालाई रद्द गरी अब आइन्दा असाधारण बिदा उपलब्ध नगराउने गरी मिति २०६९।०५।०१ देखि पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवा (आ.ले.प) शाखामा हाजिर गराई कामकाज लगाउने भनी मिति २०६९।०४।३१ मा निर्णय भएको हुँदा खटाइएको कार्यालयमा हाजिर भई कामकाज गर्नु हुन अनुरोध गरिन्छ भनी नेपाल टेलिकमको मिति २०६९।०४।३१ को क.प्र. ४/२-१५/०६९।७० (०६७/६८) च.नं.१३४ को पत्रमा उल्लिखित भएको देखिन्छ । तत्पश्चात् मिति २०६९।०५।०७ देखि २०६९।०८।१५ सम्म स्वीकृत घर बिदामा बस्नु भएकोमा स्वीकृत बिदा अवधि भुक्तानी भई हालसम्म पनि कार्यालयमा हाजिर हुन नआउनु भएको र कुनै सम्पर्कसमेत नगर्नुभएको बेहोरा जानकारी गराउँदै निजलाई आवश्यक विभागीय कारबाहीका लागि सिफारिस गरिएको भनी नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको मिति २०६९।०९।१९ को च.नं. १३०८ को पत्रबाट नेपाल टेलिकम केन्द्रीय कार्यालय जनशक्ति व्यवस्थापन विभाग काठमाडौंमा पत्राचार भएको देखिन्छ ।
४. निवेदक रोशनकुमार श्रेष्ठले मिति २०६९।०९।१२ मा प्रवन्ध निर्देशक नेपाल टेलिकम केन्द्रीय कार्यालयलाई सम्बोधन गरी मिति २०६९।०८।१४ सम्म घर बिदा स्वीकृत भएको र हाल स्वास्थ्यको कारणले गर्दा कार्यालयमा उपस्थित हुन नसकेको र मिति २०६९ चैत्र मसान्तसम्म बिदा आवश्यक भएकोले मेरो सञ्चित बिरामी बिदा स्वीकृतको लागि निवेदन पेस गरेको छु भनी निवेदन पेस गरेको देखिन्छ ।
५. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को दफा ६६ (२) मा लगातार सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको अनुरोध गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गर्नुपर्दछ भन्ने उल्लेख भएकोमा सोअनुरूप स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गरी बिरामी बिदाको माग गरेको भन्ने देखिन आउँदैन । यसै गरी विनियमावलीको विनियम ९३(क)(१०) मा बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा कम्पनीको सेवाको निमित्त अयोग्य नठहरिने गरी कम्पनीको सेवाबाट हटाउन सकिनेछ भन्ने व्यवस्थित भएको पाइन्छ ।
६. निवेदक रोशनकुमार श्रेष्ठलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मिति २०७० साल भाद्र २१ गते केन्द्रीय कार्यालय काठमाडौंमा बसेको सञ्चालक समितिको ५५८ औं बैठकबाट यी निवेदक सहायक लेखा अधिकृत श्री रोशनकुमार श्रेष्ठ (३६३५) मिति २०६९।०८।१६ देखि कार्यालयमा अनुपस्थित रहँदै आउनु भएको र मिति २०६९ चैत्र मसान्तसम्म चिकित्सकको सर्टिफिकेट विना सञ्चित बिरामी बिदा मागको निवेदन दर्ता गराई हालसम्म कार्यालयमा अनुपस्थित रहँदै आउनु भएकोमा बिदाको मागबमोजिमको बिरामी बिदा स्वीकृत भएको अवस्था नदेखिएको तथा मिति २०६९।०८।१६ देखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी अवधि कार्यालयमा अनुपस्थित रहेको देखिएकोले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ९७ को उपविनियम (६) को खण्ड (घ) को अवस्था विद्यमान रहेकोले सोही विनियमावलीको विनियम ९३(क) को सि.नं. (१०) को अभियोगमा विनियम ८९ को सि.नं. (५) अनुसार भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी कम्पनीको सेवाबाट हटाउने र त्यसरी हटाइएको जानकारी व्यवस्थापनले सम्बन्धित व्यक्तिलाई दिने भन्ने साथै कम्पनीले निजबाट रकम असुलउपर गर्नुपर्ने देखिएमा सम्पूर्ण रकम असुलउपर गरेपश्चात् मात्र छुटकारा प्रमाणपत्र दिने भन्ने निर्णय गरेअनुरूप सोको जनाउ मिति २०७०।०६।१५ को गोरखापत्रमा प्रकाशित गरेको देखिन्छ ।
७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ९३(क)(१०) मा बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेमा त्यस्तो कर्मचारीलाई भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी कम्पनीको सेवाबाट हटाउन सकिनेछ भन्ने उल्लिखित भएको पाइन्छ भने विनियमावलीको दफा ६६(२) मा लगातार ७ दिनभन्दा बढी अवधिको बिरामी बिदाको अनुरोध गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको पाइन्छ । यी निवेदक रोशनकुमार श्रेष्ठले मिति २०६९।०८।१५ सम्मको स्वीकृत घर बिदाको समाप्तिपश्चात् कार्यालयमा अनुपस्थित रही मिति २०६९ चैत्र मसान्तसम्म सञ्चित बिरामी बिदा स्वीकृत गरिपाउँ भनी २०६९।०९।१२ मा केन्द्रीय कार्यालयमा प्रवन्धक निर्देशकसमक्ष निवेदन पेस गरेको भएपनि सो निवेदनसाथ स्वीकृत चिकित्सकको सर्टिफिकेट पेस गरेको देखिन नआउनुको साथै बिदासमेत स्वीकृत भएको भन्ने कहिँकतैबाट देखिन आएन । यसैगरी यी निवेदक रोशनकुमार श्रेष्ठलाई हाजिर हुन आउनु भनी पटकपटक पत्राचार गर्दा पनि सो मुताबिक कार्यालयमा हाजिर भएको भन्ने कहिँकतैबाट खुल्न आएको देखिन आएन ।
८. कुनै पनि संस्थाले कर्मचारीको नियुक्ति गर्दा केही उद्देश्य राखेको हुन्छ । कर्मचारीसम्बन्धी सेवा सर्तलाई कर्मचारीले पाउने र संस्थाले उपलब्ध गराउने सुविधाहरू लिपिबद्ध गरिराखेको अवस्थामा त्यस्तो सेवा सर्त प्रचलित कानूनसँग नबाझिएसम्म कर्मचारी तथा रोजगारदाता दुवैले समान रूपमा मान्नु पर्ने नै हुन्छ । कर्मचारीले सुविधाको दाबी गर्दै जाने र रोजगारदाताको लागि गर्नुपर्ने काममा लापरवाही गर्ने वा बद्नियत चिताई कुनै काम गर्ने वा तोकिएको काममा अटेर गरी बस्ने कर्मचारीलाई त्यस्तो सेवा सर्त एवं प्रचलित कानूनले पनि सुविधा दिन सक्दैन । सेवा सर्तले तोकेको पुर्वावस्थाहरू पूरा भएको अवस्थामा मात्र त्यसबमोजिमको सुविधाको माग गर्न मिल्छ । बिदा सदैव अधिकारको कुरा होइन । कर्मचारीले आफ्नो सेवा अवधिमा रोजगारदाताको हितमा तथा अनुशासनमा बसी काम गर्नुपर्ने हुन्छ । प्रारम्भमा मिति २०६७।०९।०६ देखि २०६९।०९।०५ सम्म असाधारण बिदा स्विकृत गराई बसेको भन्ने निवेदन जिकिर भए पनि यी निवेदक मिति २०६७।०७।२२ देखि २०६७।०९।०५ सम्म घर बिदामा बसेको, मिति २०६७।०९।०६ देखि अनुपस्थित रहेकोमा स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी भएको, पटकपटकको पत्राचार इत्यादिपश्चात् मिति २०६७।०९।०६ देखि २०६८।०९।०५ सम्म १ वर्ष असाधारण बिदा स्वीकृत भएको, त्यसपछि पनि अनुपस्थित भई बसेको कारण मिति २०६८।१२।२१ मा ३० दिनभित्र सम्पर्क राख्न पत्राचार गर्दा मिति २०६९।०१।०३ मा सञ्चित बिदा स्वीकृतिको माग गरेको, मिति २०६८।०२।१९ मा पुन: १ वर्ष असाधारण बिदा माग गरेपछि अन्तिम पटक भनी मिति २०६९।०९।०५ सम्म असाधारण बिदा स्वीकृत गराए पनि मिति २०६९।०४।२६ मै हाजिर हुन माग गरेअनुसार मिति २०६९।०५।०१ देखि हाजिर गराए पनि २०६९।०८।१६ देखि विना सूचना अनुपस्थित भएको देखिन्छ । कर्मचारीको यसप्रकारबाट आफ्नो सुविधाको दाबी र प्रयोग गर्ने तर रोजगारदाताको हित एवं आफ्नो कर्तव्यतर्फ उदासिन हुने प्रवृत्तिलाई कानून तथा अदालतले पनि उदार दृष्टिकोणबाट हेर्न सक्दैन । नयाँनयाँ कारण देखाई बिदा माग गर्ने, विना पूर्वसूचना अनुपस्थित हुने र कारबाही भएको निर्णयउपर रिट दर्ता गर्ने कार्यमा सफा हातसमेत देखिँदैन । यसर्थ ९० दिनभन्दा बढी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई भविष्यमा कम्पनीको सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी भएको दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समितिको मिति २०७०।०५।२१ को निर्णय कानूनविपरीत भन्न मिल्ने देखिन आएन ।
९. तसर्थ माथि विवेचित आधार, कारण एवं कानूनी व्यवस्थाको आधारमा निवेदक रोशनकुमार श्रेष्ठलाई रीतपूर्वक चिकित्सकको प्रमाणपत्र पेस गरी बिरामी बिदाको माग गरेको देखिन नआएको तथा पटकपटक पत्राचार गरी हाजिर हुन आउनु भनी पत्राचार गर्दासमेत कार्यालयमा उपस्थित हुन आएको नदेखिएकोबाट भविष्यमा अयोग्य नठहरिने गरी कम्पनीको सेवाबाट हटाउने गरी मिति २०७०।०५।२१ मा भएको निर्णय कानूनसम्मत देखिन आएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतः कृष्णप्रसाद अधिकारी
इति संवत् २०७४ साल वैशाख ३ गते रोज १ शुभम् ।