शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३३१ - जग्गा खिचोला हक कायम

भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक:

निर्णय नं. ४३३१     ने.का.प. २०४८      अङ्क ७

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४४ सालको दे.पु.नं. ६२३

फैसला भएको मिति  : २०४८।७।१३।४ मा

पुनरावेदक/प्रतिवादी : का.न.पा. वार्ड नं. ६ बस्ने सुभद्रादेवीको मु.स.गर्ने गोविन्दभक्त प्रधान

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.वार्ड नं. ३१ पुतलीसडक डेरा गरी बस्ने शंकरमानको मु.स. गर्ने सन्तुमाया जोशी

मुद्दा : जग्गा खिचोला हक कायम

(१)    वादीको आलाचो दर्ताको जग्गा कहाँनेर छ भनी देखाउने दायित्व प्रतिवादीको छ भन्ने हो भने प्रतिवादीको दर्ताको लंदाडोल भन्ने कित्ता विवादित भन्दा अन्त छ भनी देखाउने दायित्व वादीको हुँदैन भन्न अतार्किक हुन जाने ।

(प्रकरण नं. १९)

(२)   विवादित जग्गालाई वादीले आफ्नो दर्ताको आलाचो जग्गा हो भनी प्रमाणित हुने सबूद पेश गर्दैन तबसम्म सर्भेमा विधिवत नापी दर्ता गराई प्रमाण पुर्जा लिई (साविक पेज नं. ३८२) सकेको प्रतिवादीको दर्ता बदर गरी वादीको कायम गर्नु न्यायसंगत नहुने ।

(प्रकरण नं. २०)

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठ

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    मेरा दाजु आशाराम २०२३ सालमा र भाउजू पञ्चमाया २०२५ सालमा परलोक भएको निजहरुको अन्य सन्तानहरु कोही नभई सबैभन्दा नजिकको हकवाला म भई अपुतालीबाट दाजु भाउजूको सम्पत्तिमा मेरो हक लाग्ने निर्विवाद छ । साविकमा जिल्ला ज्यावहाल १०४।९१ नं. लगतमा मेरा दाजु आशारामका नाउँमा दर्ता रहेको आलाचो समेत जग्गाको तिरो भरो दाजुले गरी आएको प्रमाणित छ । दाजु आशारामबाट उक्त आलाचो जग्गा र अरु अरु जग्गा समेत रैकरमा परिणत गरी हा.नं. ८२२ मा मौजा स्वयम्भूबाट दर्ता रही सोही अनुसार तिरो तिरी आएकोमा स्व. दाजु आशारामले हा.नं. ८२२ को आलाचो कालीमाटीमा पर्ने कुरा समेत देखाई ७ नं. फाराम भरी कालीमाटी गा.पं. मा दिनु भएको हो । दाजु भाउजूको मृत्यु पश्चात जग्गा भोग चलन गरी आएको हुँ । कालीमाटी गा.पं. वडा नं. ९ अन्तर्गतको आलाचो भन्ने जग्गाको २०२८ सालको बाली भराई पाउँ भनी पुनमाया उपर नालेश गरेकोमा पुनमायाले २०२८ सालको बाली बुझाउन नपरोस् भन्ने हेतुले त्यसबेला जग्गाको जग्गाधनीमा विपक्षी मध्येका सुभद्रादेवीलाई देखाएको र सोही अनुसार सुभद्रादेवीले सो जग्गामा आफ्नो हक देखाई सो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको छु भन्दै काठमाडौं जिल्ला अदालतमा बयान गरिन् । सो जग्गा सुभद्रादेवीले मिति २०२९।२।२१ मा दर्ता गरेको कुरा मिति २०३९।९।१० मा गरेको बयानबाट थाहा हुन आएको हुँदा मैले दिएको बिन्तिपत्र तथा बक्स भएको हुकुम प्रमांगीबाट कारवाही चलेको अवस्थामा जग्गाको दर्ता भएबाट जग्गा मिच्नेको १८ नं. तथा जग्गा पजनीको १७ नं. को म्याद २ वर्ष भित्र दर्ता बदर तथा आफ्नो हक कायम गर्न फिराद गर्न आएको छु । तसर्थ कालिमाटी गा.पं. वार्ड नं. ९(ख) कि.नं. ९ बाट नाप भएको जग्गा पहिले १०४।९१ र त्यसपछिको ८२२ नं. मा काठमाडौं माल दोश्रामा दर्ता भएको जग्गा भई त्यस्तो जग्गा विपक्षहरुले बिना हक प्रमाणको आधारमा उपरोक्त जग्गा काठमाडौं भूमिप्रशासन कार्यालयका लगतमा दर्ता गराएको हुँदा सो दर्ता बदर गरी उपरोक्त कि.नं. ९ को जग्गा रोपनी २१३२ जग्गाबाट विपक्षले गरेको टंटा खिचोला मेटाई मेरो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको शंकर दाशको फिरादपत्र ।

३.    विपक्षले दावी गरेको आलाचो भन्ने जग्गा स्वयम्भू मौजाबाट काठमाडौं माल दोश्रामा विपक्षको दाजु आशारामको नाउँमा दर्ता रहेको भन्नेमा उक्त आलाचो जग्गाको साविक चौकिल्ला र क्षेत्रफल समेत फिरादमा खुलाउन सकेको छैन । विपक्षले पुनमाया उपर २०२८ सालको बाली भराई पाउँ भनी दायर गरेको फिरादमा आलाचो रोपनी कित्ता १ र ऐ.आलाचो रोपनी १ को कित्ता १ समेत दुई कित्ता भन्ने दावी गरेको छ । यसरी उक्त आलाचो भन्ने जग्गा कित्ता २ को क्षेत्रफल १० भन्ने स्पष्ट छ तर विपक्षीको दावीको हाल कालिमाटी गा.पं. वडा नं. ९(ख) कि.नं. ९ को क्षेत्रफल २१३२ छ । साविक र हाल नापीमा झण्डै दोब्बर फरक परेकोबाट पनि विपक्षको आलाचो भन्ने कालिमाटी गा.पं. वडा नं. ९(ख) कि.नं. ९ को (साविक पेज नं. ३८३)  जग्गा होइन भन्ने प्रमाणित हुन्छ । उक्त जग्गा भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा पहिले देखि जग्गावाला म सुभद्रादेवीको नाउँमा साविकमा ११४।१०४ नं. का पोता लगतमा दर्ता भएको लेन्डादोल रोपनी २।। को कित्ता हो । मिति २०२१।९।२८ मा नं. ७ फाराम पेश गर्दा उक्त जग्गा समावेश गरी दिएको थिएँ । उपरोक्त तथ्य एवं प्रमाणहरुबाट विपक्षले दावी गरेको जग्गा म सुभद्रादेवीको हक भोग चलनको हो भन्ने प्रष्ट हुने हुँदा वादीको झुठ्ठा दावीबाट फुर्सद गरी वादीलाई नै सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको सुभद्रादेवीको र म पुनमाया महर्जनले जग्गावाला सुभद्रादेवीलाई ऐन अनुसारको कूत बुझाई कैयौं वर्षदेखि जग्गा कमाई आएकोमा बेप्रमाण सुभद्रादेवी र म समेतको मिलोमतोले खिचोला गरेको भन्ने झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको पुनमाया महर्जनको संयुक्त प्रतिउत्तरपत्र ।

४.    जुन जग्गा प्रतिवादीले साविकको दर्ताबाट नक्शा गरायो त्यही जग्गा नै बिर्ताबाट हाल रैकरमा परिणत भएको भन्ने कुरामा विवाद भएको र साविक आलाचोको विवादको जग्गा नभई लन्दाडोलको प्रतिवादीका हक भोगको हो रहेछ भन्ने कुरामा सो को प्रमाणबाट प्रष्ट भएको हुँदा २०२३ सालको भए गरेको मितिबाटै हदम्यादको शुरु हुने देखिएपछि सोही हदम्यादको आधारमा फिराद दायर हुनु पर्नेमा ७ वर्ष पछि म्याद नघाई दर्ता हुन आएको देखिँदा यो फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा अ.बं. १८० नं. अनुसार खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०३१।१२।२२ मा भएको फैसला ।

५.    का.जि.अ. को उक्त फैसलामा चित्त बुझेन । जग्गाको हक बेहक छुट्याई निर्णय गरिपाउँ भन्ने समेत व्यहोराको वादी शंकर दाशको मु.स.गर्ने सन्तुमाया जोशीको वा.अं.अदालतमा परेको पुनरावेदनपत्र ।

६.    मिति २०२९।१।२३ का ठहर पर्चा बमोजिम रैकरमा परिणत भएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिएको र सो मितिबाट हदम्याद नाघेको भन्न नमिल्ने हुँदा खारेज गरेको शुरुको फैसला बदर गर्ने र कानुन बमोजिम गरी कारवाही किनारा गर्नु भनी तारिखमा रहेको पक्ष विपक्षलाई तारिख तोकी काठमाडौं जिल्ला अदालतमा पठाई दिनु पर्ने समेत ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०३५।२।२७ मा भएको फैसला ।

७.    भई आएको नक्शा नं. ५ को पुरानो नापी कि.नं. ९ झगडा परेको जग्गा भनी वादी प्रतिवादीले देखाएको जग्गा पनि जनिएको त्यसको क्षेत्रफल २१३२ देखिने वादीले आफ्नो साविक कित्ता देखाएको जग्गा रोपनी १।। को जग्गा त्यही हो भन्दै आफ्नो जग्गा धेरै बढी देखिने प्रतिवादीको आफ्नो दर्ताको भन्दै आएको जग्गा भन्दा एक आना दुई पैसा मात्र बढी हुन आउने । नापी हुँदा प्रतिवादी मध्येको सुभद्रा जग्गाधनी भई लालपूर्जा उठाएको प्रतिवादी दर्ता साविक जग्गा अन्यत्र ठाउँ यी कित्तामा पर्न गएको भन्ने वादीले देखाउन नसकेकोले वादी दावा नपुग्ने भई झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०३८।८।१९ मा भएको फैसला ।

८.    काठमाडौं जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी शंकरमानको मु.स. गर्ने सन्तुमायाको वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

९.    प्रतिवादीले साविक दर्ताको लन्दाडोल जग्गा क्षेत्रफल २१२० देखाएको र वादीले आलाचो जग्गाको क्षेत्रफल १० देखाएको छ । विवादित जग्गाको क्षेत्रफल २१३२ देखिएकोले प्रतिवादीको जग्गाको क्षेत्रफल नै वादीले दावी लिएको जग्गाको क्षेत्रफलसंग निकटतम देखिँदा विवादको जग्गा वादीको साविक आलाचो भन्ने जग्गा सो भन्न सकिने सबूद प्रमाण वादीले गुजार्न सकेको (साविक पेज नं. ३८४) नदेखिएकोले वादी दावा झुठ्ठा ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०४०।११।४ मा भएको फैसला ।

१०.    वागमती अञ्चल अदालतको उक्त फैसलामा कानुनको व्याख्या सम्बन्धी प्रश्न तथा बुझ्नु पर्ने प्रमाण नबुझी खास प्रमाण छाडी इन्साफ तल माथी परेको प्रश्नमा प्रत्यक्षतः विवादरहित त्रुटि भएको प्रष्ट हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी शंकरमानको मु.स.गर्ने सन्तुमायाको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।

११.    पुरानो क्षेत्रफल कायम भएका जग्गाहरु हाल वैज्ञानिक रुपबाट नाप जाँच हुँदा जग्गा नरघटी र नरबढी पनि भई आएको भन्ने कुरा सर्वविदित नै हुँदा जग्गाको क्षेत्रफल बढी देखिएको मिति २०१४।१२।१८ को फैसलाले पलंगाल नामको जग्गामा मात्र जिती पाएको भन्ने आधार लिंदै वादी दावी झुठ्ठा ठहराएको काठमाडौं जिल्ला अदालतका फैसलालाई मनासिब ठहराई वागमती अञ्चल अदालतले गरेको फैसला न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिमको त्रुटिपुर्ण हुँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चबाट मिति २०४२।१।९ मा भएको आदेश ।

१२.   वादी दावीको आलाचो भन्ने जग्गा यस ठाउँमा छ भनी प्रतिवादीले देखाउन नसकेको र वादी दावा बमोजिम आशाराम जोशी ज्यावहालको १०४।९१ पोता दर्ता भित्रको हा.नं. ८२२ मा रैकरमा परिणत भएको आलाचो जग्गा रहेछ भन्ने देखिन आएको र सो जग्गा सर्भे नापीमा कालिमाटी गा.पं. वार्ड नं. ९(ख) कि.नं. ९ मा प्रतिवादीका नाउँमा नापी दर्ता भएको वादीहरुको जग्गा देखिन आएकोले वादी दावी बमोजिम प्रतिवादीको दर्ता बदर गरी वादीको हक कायम गरिदिनु पर्नेमा वादी दावा झुठ्ठा ठहर्‍याई गरेको शुरुको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटि हुँदा दुवै फैसला बदर भई उल्टी हुन्छ । वादी दावी बमोजिम दावीको जग्गाको प्रतिवादीका नाउँको दर्ता बदर भई खिचोला मिटाई वादीका नाउँमा दर्ता हुने समेत ठहर्छ भन्ने म.क्षे.अ.को फैसला ।

१३.   म.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४, जग्गा मिच्नेको १८ नं. को व्याख्यात्मक त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।

१४.   वादीको जग्गा समेत घुसाई आफ्नो नाउँमा नापी गराएको भए सो नापी गराएको मितिबाट २ वर्ष भित्र असर पर्ने पक्षले तत्कालीन जग्गा मिच्नेको १८ नं. बमोजिम फिराद गर्नु पर्नेमा सो नगरी यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत वादी दावीको जग्गामा प्रतिवादीको नाउँको दर्ता बदर भई वादीका नाउँमा दर्ता हुने ठहर्‍याएको म.क्षे.अ.को इन्साफमा तत्कालीन जग्गा मिच्नेको १८ नं. को व्याख्यात्मक त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

१५.   विपक्षीको नाउँमा यस अदालतका आदेशले दुई पटक म्याद टाँस भएकोमा विपक्षी हाजिर नभई म्याद गुजारी बसेको ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले विवादित जग्गा २०२३ सालमा सर्भे नापी भएकोमा २०३० सालमा नालेश परेको यो मुद्दामा जग्गा मिच्नेको हदम्याद नाघेको छ । साथै प्रमाणमा आएको २०१७ सालमा काठमाडौं जिल्ला अदालतबाट समेत वादी सुभद्रादेवी प्रतिवादी आशाराम समेत भएको जग्गा मुद्दामा भएको फैसला यस मुद्दाको आलाचो जग्गाको सम्बन्धमा नभई पलंगाल भन्ने जग्गाको बारेमा झगडा भएको हुँदा उक्त (साविक पेज नं. ३८५) जग्गामा निर्णय भएको छैन । मेरो जग्गा ०१३ सालमा पद्मनानीलाई भोगबन्धकी दिई निखनाई लिएको जग्गा हो । ७ नं. फाराममा पनि ज.रो. २१५० देखाई भरेको छु । जबकी आलाचो जग्गाको क्षेत्रफल ज.रो. १० मात्र हुँदा विवादित जग्गा मेरो पक्षको कायम हुनुपर्छ भन्ने समेत वहाँले बहस प्रस्तुत गर्नुभयो ।

१७.   म.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो तर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा दाजु आशारामको हकभोगको साविक १०४।९१ जग्गा दर्ताको हा.नं. ८२२ सर्भे नापीमा कि.नं. ९ के ज.रो. २१३२ जग्गा हो भन्ने वादीको दावी छ भने सो जग्गा मेरो साविक कि.नं. ११४।१०४ को पोता लगतको मेरो हक भोगको लण्डाडोल भन्ने ज.रो. २१५० जग्गा हो भन्ने प्रतिवादी जिकिर देखिन्छ । पक्ष विपक्ष दुवै तर्फबाट आफ्नो दावीको क्रमशः आलाचो लन्दाडोल भन्ने जग्गाको तिरो तिरेको रसिदहरु पेश गरेको पाइन्छ । दुवै थरीले ७ नं. फाराम पनि भरेका छन् तर उक्त फाराममा वा अन्य लिखतमा आलाचो र लन्दाडोल भन्ने जग्गाको ४ किल्ला उल्लेख नभएको यो अवस्थामा दुवै पक्षबाट प्रस्तुत गरिएको प्रमाणहरुकै आधारमा विवादित जग्गा वादी पक्षको आलाचो जग्गा हो अथवा प्रतिवादी पक्षको लन्दाडोल भन्ने जग्गा हो भन्ने कुराको निष्कर्षमा पुग्नु पर्ने देखियो ।

१८.   अघि वादी सुभद्रादेवी प्रतिवादी आशाराम जोशी समेत बीच चलेको जग्गा मुद्दामा यो जग्गा समेत आशारामले काठमाडौं जिल्ला अदालत समेतबाट जिती हक भएको भनी प्रमाणमा पेश भएको २०१७।११।१८ मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएको मिसिल हेर्दा खेत रोपनी ५ मा सुभद्रादेवी र आशाराम समेत बीच पलंगाल भन्ने जग्गामा झगडा परेको र सो जग्गा आशारामको कायम भएको देखिन्छ । तर हाल विवादित जग्गा सोही जग्गा हो भन्ने प्रमाणित हुने सबूद वादी पक्षबाट पेश भएको देखिँदैन । यस मुद्दामा वादी दावीको जग्गाको नाउँ आलाचो भएको र निजले पेश गरेको रसिद अनुसार उक्त आलाचो भन्ने जग्गा २ कित्तामा एउटा १ रोपनी र अर्को आधा रोपनीको नै छुट्टा छुट्टै तिरो समेत तिरेको देखियो । साथै वादी पक्षले भरेको ७ नं. फाराममा पनि आलाचो जग्गाको क्षेत्रफल रो. १० मात्र देखाइएको छ । जबकी वादीले दावी गरेको जग्गाको क्षेत्रफल रो. २१३२ जग्गा छ । एक रोपनी ५ आना २ पैसा जग्गा कसरी बढी हुन गयो सो को युक्तिसंगत जिकिर वादीले लिन सकेको पनि देखिएन । अर्कोतर्फ प्रतिवादीले लन्दाडोल भन्ने जिकिर लिएको जग्गाको क्षेत्रफल २००७ साल समेतको रसिदबाट रो. २१५० भन्ने देखिन्छ । साथै वादीको दर्ताको जग्गा स्वयम्भु मौजाको हो भन्ने कुरा निजले तिरेको रसिदबाट देखिन्छ । जबकी विवादित जग्गा कालिमाटी मौजाको देखियो ।

१९.    सो बाहेक झगडा परेको जग्गा २०२३ सालमा नापी हुँदा प्रतिवादी सुभद्रादेवीको नाउँमा नापी भई निजले दर्ता प्रमाण पूर्जा समेत लिएको देखियो । वादी पक्षबाट मौकामा आफ्नो जग्गा नापी गराउने वा दर्ता गराउने प्रयास पनि गरिएन । वादीको दाजु आशारामको नाउँमा पलंगाल र आलाचो भन्ने जग्गा छुट्टै दर्ता तिरो समेत देखियो । प्रतिवादी सुभद्रादेवीको साविक लन्दाडोलको क्षेत्रफल रो. २१५० भएको र प्रस्तुत विवादित जग्गाको क्षेत्रफल रो. २१३२ भएको मिल्दो जुल्दो नै छ । जबकी वादीको आलाचो जग्गाको साविक क्षेत्रफल रो. १० मात्र देखिँदा वादीको दावी अस्वभाविक जस्तो देखिन्छ । अर्कोतर्फ यदि वादीको आलाचो दर्ताको जग्गा कहाँनेर छ भनी देखाउने दायित्व प्रतिवादीको छ भन्ने हो भने प्रतिवादीको दर्ताको लंदाडोल भन्ने कित्ता विवादित भन्दा अन्त छ भनी देखाउने दायित्व वादीको हुँदैन भन्नु अतार्किक कुरा हुन जान्छ ।

२०.   अतएवं जबसम्म विवादित जग्गालाई वादीले (साविक पेज नं. ३८६) आफ्नो दर्ताको आलाचो जग्गा हो भनी प्रमाणित हुने सबूत पेश गर्दैन तबसम्म सर्भेमा विधिवत नापी दर्ता गराई दर्ता प्रमाण पूर्जा लिइसकेको प्रतिवादीको दर्ता बदर गरी वादीको कायम गर्नु न्यायसंगत नहुने हुँदा प्रस्तुत वादी दावी र सबूदले विवादित कि.नं. ९ को ज.रो. २१३२ जग्गा वादीको दाजु आशारामको ज.रो. १० को आलाचो जग्गा हो भनी प्रमाणित हुने सबूदको अभाव देखिँदा उक्त जग्गामा वादीको हक कायम गरिदिएको म.क्षे.अ.को इन्साफ नमिलेको हुँदा बदर भई वादी दावी नपुग्ने ठहर्‍याएको शुरु का.जि.अ.को इन्साफलाई सदर गरेको वागमती अञ्चल अदालतको फैसला सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी शुभद्रा देवीको मु.स.गर्ने गोविन्दभक्त प्रधान के माथि इन्साफ खण्डमा लेखिएको बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी हुने ठहरेकोले म.क्षे.अ.को मिति २०४४।१।३१ को फैसलाले राख्न पठाएको लगत कट्टा गरिदिनु भनी का.जि.अ.त.मा लेखी पठाउनु १ ऐ.ऐ.निजले यस अदालतमा पुनरावेदनको अनुमति पाई यस अदालतको मिति २०४४।७।२९ को आदेशले राखेको कोर्टफी धरौटी रु. १७५।२९ ऐनका म्यादभित्र फिर्ता माग्न निवेदन दिएमा कानुन बमोजिम फिर्ता खर्च लेखिदिनु भनी ऐ.ऐ...२, ऐ.के यस अदालतको मिति २०४४।७।९ को आदेशले राखेको कोर्टफी रु. ३९।वादीको यसै सरहदको जेथा देखाई फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त दिन आएमा कानुन बमोजिम गरी फिर्ता दिलाई दिनु भनी ऐ.ऐ....३ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४

उक्त रायमा म सहमत छु । न्या.गजेन्द्रकेशरी बास्तोला

इतिसम्वत् २०४८ साल कार्तिक १३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु