निर्णय नं. १००४० - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७५।२।२१
०६५-CR-००५०
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / वादी : मानविर इजम लिम्बूको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला इटहरी न.पा. वडा नं.४ बस्ने स्व. धनप्रसाद इजम लिम्बूको श्रीमती लिला इजम लिम्बूसमेत
भारतको इलाकाभित्र वारदात घटी उपचारकै क्रममा भारतमा नै मृत्यु भएको र नेपालमा ल्याई सतगतसम्म गरेको अवस्थामा नेपालमा मुद्दा चलाउने प्रयोजनका लागि भनी तयार भएका अनुसन्धानका कागज वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएसम्म सोलाई प्रमाणमा लिई क्षेत्राधिकार ग्रहण गर्न न्यायोचित पनि नहुने ।
(प्रकरण नं.५)
नेपालबाहिर भएको वारदातलाई नेपालभित्र भएको भन्ने कृत्रिम वारदात र सो आधारमा कृत्रिम नै कागजातहरू खडा गरी मुद्दा चलाएकै आधारमा मात्र त्यस्तो मुद्दाले नेपालभित्रको अदालतको अधिकारक्षेत्र ग्रहण गर्न सक्दैन । फौजदारी मुद्दामा नेपालको अदालतको अधिकारक्षेत्र सृजना हुनको लागि वारदात नेपालभित्र नै भएको तथा निर्विवाद एवं शंकारहित तबरबाट वस्तुनिष्ठ आधारमा नै पुष्टि हुन जरूरी छ, यस सम्बन्धमा रत्तिभर कुनै पनि विवाद हुन र सो देखिन नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश कोइराला, विद्वान् अधिवक्ता श्री हरिन्द्रप्रसाद राई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, डा. श्री रजितभक्त प्रधानाङ्ग र श्री लभकुमार मैनाली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री टेकराज नेपाल
सुनसरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री विनोदप्रसाद ढुंगेल
मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात
पुनरावेदन अदालत विराटनगर
फैसला
न्या.तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
घटनास्थल जि. सुनसरी इटहरी न.पा. वडा नं ४ स्थित बुढीखोलामा रहेको राजमार्गको पक्की पुलको पश्चिम किनारामा पर्ने पूर्वमा खोला (बुढी) बगर, उत्तरमा काँचो छाला संकलन केन्द्रको गोदाम घरदेखि दक्षिण पश्चिममा पुलमुनि भित्ता साथै माथि राजमार्गमा उक्लने सिमेण्टीको सिँडी भएको दक्षिणमा खोलाको बगर यति ४ किल्लाभित्र भुइँमा बालुवा तथा माटो केही घसारिएको मानिसको झगडा परी कुस्ती खेले जस्तो देखिएको रगत भुइँमा प्रसस्त मात्रामा लागेको रगत आलो आलै देखियो, घटनास्थलमा जिन्सी सामान केही फेला नपरेको सो पुल मुनि इटहरी ४ बस्ने मरणासन्न अवस्थामा रहेको धनप्रसाद इजम लिम्बूलाई तत्काल भारत स्थित साधन सम्पन्न रहेको नर्थ बंगाल मेडिकल कलेजमा पठाइएको भन्नेसमेत बेहोराको मिति २०५४।११।१३ को घटनास्थलको विवरण प्रति मुचुल्का ।
मेरो एका घरको जेठो छोरा धनप्रसाद इजम लिम्बू मिति २०५४/११/१३ गते बिहानको खाना खाई इटहरी चोकमा एकछिन काम छ, भनी घरबाट निस्की हिँडेको बेलुकी ६ बजेसम्म पनि घर फर्की नआएको कारण आस पास एरियामा खोज तलास गर्दै गर्दा एक अपरिचित रिक्सावालाले राई लिम्बू जातको हेर्दा लाउरे जस्तो देखिने एउटा मानिस बुढीखोलामुनिको कस्ले धारिलो हतियारले काटी मरणासन्न अवस्थामा पारी छाडेको छ, मानिसहरूको भिडभाडसमेत छ भनी निजले भनेअनुसार मलगायतका साथीहरू लिई घटनास्थलमा आई हेर्दा निज घाइते मेरो छोरा धनप्रसाद इजम मर्ने बाच्ने दोसाँधको भइरहेको देखी मैले तत्काल छिमेकीहरूको साथ लिई भारतको नर्थ बंगाल मेडिकल कलेजमा लगी उपचार गर्दागर्दै मृत्यु भएकोले पोस्टमार्टमसमेत सोही मेडिकल कलेजबाट गराई लास जिम्मा बुझी घरमा ल्याएको हुँदा कानूनबमोजिम लास जाँच मुचुल्का गरिपाउँ, लास सदगतको लागि जिम्मा बुझाई पाउँ र मेरो छोरालाई को, कसले कहाँ त्यस्तो धारिलो हतियारले काटीकुटी कर्तव्य गरी मारेका हुन्, सोसम्बन्धी पछि रीतपूर्वकको जाहेरी दर्खास्त पेस गर्नेछु भन्नेसमेत बेहोराको मृतकको पिता मानबहादुर भन्ने मानवीर इजम लिम्बूले ई.प्र.का इटहरीमा मिति ०५४।११।१७ मा दिएको निवेदन पत्र ।
जाहेरवाला मानबहादुर इजम लिम्बूकै घर अगाडि आँगनमा उत्तरतर्फ टाउको, दक्षिणतर्फ खुट्टा फर्काई हेर्दा प्लाष्टिकले बेरी बाहिरबाट सेतो कपडाले ढाकेको, उत्तानो अवस्थामा लास रहेको, प्लाष्टिक खोली हेर्दा लास सर्वाङ्ग नाङ्गो अवस्थामा रहेको, टाउकोबाट सरसरती हेर्दा केश कालो छोटो कपाल, दुवै आँखा बन्द लासको बायाँ गाला कन्चटबाट अगाडि चिँउडोसम्म धारिलो हतियारले एकै पटक प्रहार गरेको जस्तो चोट देखिएको उक्त चोटको गहिराइ ४ इन्च भएको, बायाँपट्टिको कानको बीच भाग काटिएको २ फ्याक अवस्थामा भई उक्त चोटमा भित्रको हड्डीहरू समेत सजिलैसँग काटिएको अवस्थामा देखिएको लासको घाँटीमा समेत धारिलो हतियारले प्रहार गरी ठूलो चोट एवं ठूलो भ्वाङ देखिनुको साथै सो स्थानमा श्वासनली ३ इञ्च बाहिर निस्किएको छातीमा २ ठाउँमा र पेटमा १ ठाउँमा धारिलो छुरीले रोपेको चोट देखिएको लासको पोस्टमार्टम गर्दा सिलाई गरेको धागोसमेत देखिएको पछाडि ढाडमा कुनै चोट नदेखिएको, लासको बायाँ हातको साइँली औंलाको डिलमा ४ इञ्च लम्बाई १ इञ्च गहिराई भएको चोट देखिएको, लासको मलद्वार तथा लिङ्गबाट कुनै पदार्थ ननिस्किएको भन्नेसमेत बेहोराको कुवेरबहादुर राईसमेतका व्यक्तिले मिति २०५४/११/१७ मा लेखाई दिएको लास प्रकृति मुचुल्का ।
मृतक धनप्रसाद इजमको पृथक पृथक कोणबाट खिचिएको मृत अवस्थाकै रंगीन फोटो थान ३ समेत मिसिल संलग्न रहेको ।
मेरो छोरा धनप्रसाद इजम लिम्बू मिति २०५४।११।१३ गते बिहान खाना खाई, ११ बजेतिर इटहरी बजारतिर घुम्न गएको साँझसम्म पनि फर्की नआएको हुँदा खोज तलास गर्दै जाँदा, इटहरी ४ स्थित बुढीखोलाको पश्चिम किनारा पुलमुनि निज धनप्रसादको शरीरको जत्रतत्र भागमा खुकुरीद्वारा प्रहार गरी सख्त घाइते बनाई मरणासन्न रगतपिच्छे बनाई बेहोस अवस्थामा पारी फ्याली राखेकोमा सोही दिन बेलुका अन्दाजी ७ बजेतिर फेला पारी हेर्दा मरी नसकेको ढुकढुकी सास भने रहेको मर्ने बाच्ने दोसाँधको स्थिति भई कतै बाँची पो हाल्दछकि भनी उपचारको लागि भारत सिलगडी माटि गाडाको अस्पतालमा उपचार गराउँदा गराउँदै गर्दा राति १२ बजे मृत्यु भएको, सोही अस्पतालमा नै पोस्टमार्टम गरिसकेको छ । लास २०५४/११/१७ गते सदगतसमेत गरिसकेको छ । अपराधीहरू को कहाँका रहेछन् भनी खोज तलास गर्दा मृतक निज धन प्रसादको श्रीमतीसँग रातो दिन घर झगडा भइरहने गरेको र मृतककै श्रीमती इटहरी ४ बस्ने अं. ब ३८ की लिला लिम्बू र ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को नरेन्द्र थेवे लिम्बूबीच अनैतिक सम्बन्धसमेत सधैं जसो हुने गरेको कारण मृतक धनप्रसाद इजम लिम्बूलाई निजको श्रीमती लिला लिम्बूले सधैं जसो तँलाई मारी दिन्छु मार्न लगाई दिन्छु भनी दागा धर्ने गरेको कारणबाट पत्ता लगाउँदै जाँदा निज लिला लिम्बू र नरेन्द्र थेवे लिम्बूसमेतका अन्य नचिनेका मानिसहरू भई छोरा धनप्रसादलाई मारेको हुँदा अन्य नचिनेको मानिसहरूको नाम विपक्षीहरूबाट खुलाउन लगाई आवश्यक कानूनी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतकका पिता मानविर लिम्बूको मिति २०५४।११।२५ को जाहेरी दरखास्त ।
मृतक धनप्रसाद इजम लिम्बू मेरो फुपू नाता पर्ने लिला इजम लिम्बूको पति हुन । निज नाताले फुपाजु पर्नु हुन्छ । निजहरूको घरमा म विगत ६ वर्ष अगाडिदेखि बसी आएको थिएँ । त्यहाँ बस्दा घर व्यवहारको काम सगाउने गर्दथेँ । फुपाजु धनप्रसाद विदेश ब्रुनाईमा नोकरी गर्नु हुन्छ । यसपाली वहाँ २०५४ सालको वडा दशैंअगाडि छुट्टी मिलाई घर आउनु भएको
थियो । तिहार ताका एकदिन बिहानै घरायसी माम्लामा फुपू र फुपाजुबीच झगडा हुँदा फुपाले फुपूलाई सारै कुटपिट गर्नुभयो । फुपूको मुखको माथिल्लो ओठमा काटिएको चोटसमेत मैले देखेँ, मैले फुपू र फुपाजुलाई छुट्याई दिएँ फुपूले माइती भएर पनि चुपलागि बस्छस् भनी फुपू सरासर चौकी बारी धरान बस्ने नबिन थेवे लिम्बूकोमा जानुभयो, दाजु भाउजूलाई लिएर घरमा आउँदा ओठमा टांकासमेत गरी आउनु भएको र दाजु भाउजूले सम्झाई बुझाई धरान फर्की गएका, एक दुई दिनपछि फुपाजु घरमा नभएको मौका पारी मलाई एकान्तमा बोलाई तिम्रो फुपाजुले खाली केटाहरूसँग लागेको शंका गर्छ । रूपैयाँ बढी फुरमाइस गरिस भन्छ, विदेशबाट जहिले छुट्टीमा आउँछ मलाई नानाथरीको आरोप लगाई कुटपिट गर्ने खुकुरी उभ्याउने गर्छ । यस्तो दिनहुँ दुःख कष्ट सहेर बस्न सक्दिन इटहरीमा फटाहा गुण्डागर्दी गर्ने केटाहरू चिनेको छस् ? भनी भन्दा मैले चिनेको छैन भनेँ उसोभए म आफैँ जोगबनीबाट ल्याउँछु भनी फुपूले भन्नुभयो, प्राय: झगडा भइरहन्थ्यो, माइतीको आड पाएर यस्ले जे पनि गर्न लाग्यो तिमी निस्किएर जाउ भनेपछि २०५४।०९।१८ या १९ गते तिर निस्की गएको हुँ । तत्पश्चात् मोरङ पथरी ७ किर्तिपुर भन्ने ठाउँमा वडा बाबुको घरमा गई बसी ३/४ दिनपछि घर सल्लाहअनुसार दिदी नाता पर्ने, कबिता राईलाई लिन भाञ्जा सुरेश थेवे लिम्बूलाई साथमा लिई भारत नर्थ बंगाल पानी घट्टादेखि उत्तरमा पर्ने दुधे बजारमा पुगी दिदी र भिनाजु राजकुमार भन्ने सन्तोष राईलाई भेटी मलाई फुपूले फटाहा गुण्डागर्दी गर्ने केटाहरू खोज्न भनेको खबर निज भेनालाई भन्दा त्यस्तो किसिमको काम छोडिसकेँ भनी भनेपछि म सरासर मोरङ पाथरी फर्के, २ हप्तापछि फुपू लिला इजम मलाई खोज्दै बडाबाबुको घर आउनु भएपछि मसँग भेट भएन पुनः फुपू आउनु भएपछि मेरो भेट भयो, फुपाजु १/२ दिनपछि विदेश जान्छन् घर हिँड्भन्दा मैले नमान्दा ठीक छ दाजु किरण शेवेको घरमा बस भनी भन्दा काका किरणको घरमा बस्दा फुपूसँग भेट भई रहन्थ्यो । मैले सन्तोष राईसँग भेट भएको कुरा अवगत गराएपछि, मलाई फुपूले रू.२०००।- बाटो खर्च दिई कुरा पक्कापक्की गरी आउनु भनेपछि, भारततर्फ भान्जालाई लिई गई दुधे बजारमा भिनालाई भेटी कुरा गर्दा कुरा पक्का नभएपछि नेपाल फर्की आई भाञ्जालाई फुपू लिलाकै घरमा काम गर्न राखिदिएँ । केही दिनपछि निज फुपूले भान्जा सुरेश थेवे लिम्बूलाई लिई, भारत पानी घट्टादेखि उत्तर दुधेबजारमा निज सन्तोष राईलाई भेट्न गएको कुरा थाहा पाएँ । त्यतिखेर किर्तिपुर बजार जाँदा दिदी र भेना सन्तोष राई भारतबाट आउनुभएको रहेछ । सो बजार घुम्न जाँदा निज भेनाले तिम्रो फुपूले तिम्रो फुपाजुलाई किन देख्न नसकेको, त्यसरी मार्न लगाउनु पर्ने कारण के हो भनी मलाई सोधनी गर्दा, मैले सम्पूर्ण बेहोरा सुनाएर र त्यस्तो जघन्य अपराध नगर्न आग्रह गरेँ, तिमी किन डराउँछौ, तिमीलाई केही हुँदैन सम्पूर्ण काममै गरी दिन्छु भनी भने, अस्ती तिम्रो भान्जा र इटहरीको फुपू पनि भेट्न आएका थिए । केही रकमसमेत लिइसकेको छ भनी निज़ भिनाले भने म इटहरी काका किरण शेवेको घरमा आए । फुपाजु राहदानीको नवीकरण गर्न ताप्लेजुङ जानुभएको
रहेछ । मिति २०५४/११/२३ गतेतिर फुपूको धरानतर्फ लेनदेन व्यवहारको कामको खातिर मैले फुपाजुको को. अ.प.४०४६ नं. को मोटर साइकल लिई धरान गई फर्कदा चारकोशे जंगलको पानिपिया भन्ने स्थानमा तैले किन सन्तोषले भनेको काममा इन्कार गरेको अब पनि तैले सहयोग गरिनस् भने आत्महत्या गरी मर्छु, मेरो त्यत्रो रकम पनि फस्ने भयो भनी धम्क्याउनुभयो मैले तपाईको घरबाट निस्किएको मान्छे, केही घटना भयो भने शंका गर्छन् भनी इन्कार गरेँ, फुपूलाई सम्झाएँ तर सम्झाउन सकिन । त्यसपछि, फुपाजुले आमा बाबुलाई लिएर ताप्लेजुङबाट आउनुभयो । त्यसपछि मिति २०५४।११।१३ गते फुपाजु धनप्रसाद इजमलाई खुकुरीले काटी मरणासन्न अवस्थामा फाली तत्काल उपचारको लागि भारत नर्थ बंगालतर्फ लाँदालाँदै मृत्यु भएको भन्ने कुरा मेरो डेरा घरधनी काकी नाता पर्ने लक्ष्मी थेवे लिम्बूले २०५४/११/१६ गते बेलुकी धरानमा टेलिफोनबाट जानकारी गराएको हुँदा थाहा पाएको हुँ । मिति २०५४/११/१३ गते दिनको १ बजे तिर म धरान गएको र ऐ.ऐ. १७ गते इटहरी फर्की आउँदा फुपाजुको लास क्षतविक्षत अवस्थामा देखेको
हुँ । मेरो र फुपू लिला इजम बीच अनैतिक सम्बन्ध थिएन । तर फुपूकोमा स्थानीय केटाहरू दिनमा बेलुकी आउने गर्दथिए के कार्यको लागि आएका हुन् थाहा
भएन । मेरो फुपाजुलाई के कस्ले कर्तव्य गरी मारे फुपूलाई नै थाहा होला । मैले अगाडि चाहिँ साधारण सहयोग चाहिँ गरेको तर म वारदातमा थिइन भन्नेसमेत बेहोराको प्रतिवादी नरेन्द्र थवे लिम्बूको मिति २०५४।११।२७ मा प्रहरीसमक्ष भएको बयान कागज ।
यी पक्राउ परेका नरेन्द्र थेबे लिम्बू मेरो सहोदर कान्छो दाजुको छोरा मेरो भदाहा नाताका
हुन् । पति धनप्रसाद इज़म लिम्बू विदेशमा काम गर्ने हुँदा घर कामधन्दा सघाउको लागि निज भदाहालाई ४, ५ वर्षअघिदेखि नै म राखेको थिएँ । म र मेरो भदाहा नरेन्द्र थेवे बीच कुनै पनि अनैतिक सम्बन्ध रहेको छैन । अनैतिक सम्बन्ध राखेको पनि छैन । मेरो पति धनप्रसाद लिम्बू पहिलादेखि नै जहिले पनि कुनै लोग्ने मानिसहरूसँग बोल्यो भने शंका गर्नु हुन्थ्यो । वहाँ बढी शंकालु व्यक्ति हुनुहुन्थ्यो । सोही विषयलाई लिएर गाली, कुटपिट गर्नु हुन्थ्यो । झगडा हुँदा मैले पतिलाई मार्ने तथा मार्न मानिस लगाउँछु भन्ने जस्ता शब्दहरू भनेकी थिइन र छैन पनि । मैले पतिलाई पूर्व नियोजित षड्यन्त्र गरी मार्न लगाएको हैन । जहिले पनि पतिले कुटपिट गर्ने गरेको हुँदा सोझै असह्य भएकोले मेरा घरमा रहेको भदा नरेन्द्र थेवे लिम्बूलाई एक दिन तेरो फुपाजुले मलाई कुटपिट गरी सारै दुःख दियो । बाँच्न नै गाह्रो परि सक्यो । तेरो फुपाजुलाई काबुमा ल्याउनु पर्यो, तैले इटहरीमा बदमास केटाहरूलाई चिनेको छैनस् भनी भन्दा निजले त्यस्तो केटा चिनेको छैन भने । मैले भारत जोगबनीबाट बदमासहरू ल्याउँछु भनेको चाहिँ थिइन । मैले नरेन्द थेवे लिम्बूलाई पूर्व सल्लाह दिएअनुसार निजको भेना नाता पर्ने राजकुमार भन्ने सन्तोष राईसँग भारत पानिघट्टा एरियामा पर्ने दुधे बजारमा सामान्य कुराकानी गरी आएको जानकारी निजबाट थाहा पाई नरेन्द्रकै भानिज नाताका सुरेन्द्र थेवे लिम्बूसँग साथ भारतको उक्त दुधे बजारमा गई नातिनी नाता पर्ने कविता थेवे लिम्बू र ज्वाँई नाता पर्ने राजकुमार भन्ने सन्तोष राईसँग भेटी मलाई तिमीहरूको बाजेले सारै दुःख दिई कुटपिट गर्दा नाना थरीको आरोप शंका गर्छ, घरबाट निस्की जा नत्र काटी यही घरभित्र पुर्छ भन्छ । यसो ज्वाइँ नानीले काबुमा ल्याई सुधारी दिनु परयो भनी भनेकी हुँ । निज ज्वाइँको आर्थिक अवस्था कमजोर देखी नेपाली रू.१०,०००/- दिएकी थिएँ । मैले नरेन्द्र साथ धरान राई फर्की आउँदा त्यस बखत निजलाई के के भनेकी थिएँ थाहा छैन । मैले नरेन्द्रलाई रू.२०००/- दिई भारतको पानिघट्टा पठाएकी हुँ । मिति २०५४/११/१३ गते बिहान ११ बजेतिर पति धनप्रसाद इटहरी चौकमा काम छ एकछिन पुगेर आउँछु भनी जानुभएको एक्कासी सोही दिन बेलुकी साँझमा बुढीखोला स्थित मरणासन्न अवस्थामा फेला पर्नुभयो । तत्काल उपचारको लागि नर्थबंगाल मेडिकल कलेजमा लगी उपचार हुँदाहुँदै पतिको मृत्यु भएको हो । मेरो पतिलाई के कहाँ बस्ने को कस्ले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी लिला इजम लिम्बूको प्रहरीसमक्ष भएको मिति २०५४/११/२८ को बयान कागज ।
म हाल बसेको घरमा घरधनी स्व. धनप्रसाद इजम लिम्बू र निजको श्रीमती लिला इजम लिम्बूबीच कहिलेकाहिँ साधारण झगडा हुने गर्दथियो तर के निहुँमा झगडा हुन्थ्यो त्यो मलाई थाहा हुँदैन थियो । निजहरू बीच दागा धर्ने गरेको चाहिँ मलाई केही थाहा छैन । मेरो घरधनी लिला इजम लिम्बू र नरेन्द्र थेवे लिम्बूबीच कुनै अनैतिक सम्बन्ध रहे नरहेको मलाई केही थाहा छैन । बस्दा दिदी भाइकै नाता जस्तो गरी मिलेर बस्थे अन्य के के हुन्थ्यो मलाई केही थाहा
छैन । म धनप्रसाद इजमको घरमा २०५४ सालदेखि बस्तै आएको छु । नरेन्द्र थेबे पनि धनप्रसादकै घरमा बस्दै आएका थिए । धनप्रसाद विदेशबाट आएपछि तिमीलाई आर्थिक सहायता गर्नेछु, तिमी छुट्टै व्यवसाय गरेर बस भनी सम्झाउँदा नरेन्द्र आफैँ रिसाएर लुरूलुरू हिँडेका हुन् । निस्किएको ३ महिना भयो । त्यसपछि कहिलै आउनु भएको थिएन । घर धनी धनप्रसाद लिम्बूलाई को कस्ले मारे मराएका हुन् मलाई केही थाहा छैन । पक्राउ परेकी श्रीमती लिला इजम लिम्बू र नरेन्द्र थेवे लिम्बू उपर मलाई शंका लाग्दैन भन्नेसमेत बेहोराको मृतक धनप्रसाद इजम लिम्बूको घरमा काम गर्ने रमादेवी भुजेलको प्रहरीसमक्ष भएको मिति २०५४/१२/१७ को कागज ।
प्रतिवादी लिला लिम्बू मेरो सोल्टीनी नाता पर्छ । प्रतिवादी नरेन्द्र थेबे लिला लिम्बूको घरमा करिब ३, ४ वर्षदेखि बस्नै आएका हुन् । निज प्रतिवादीहरू बीच फुपू भदाको नाता पर्छ भन्थे, पछि बुझ्दा नाति नाता पर्ने भन्ने बुझेको हुँ । निज प्रतिवादीहरूबीच अनैतिक सम्बन्ध थियो थिएन, भयो भएन मलाई थाहा भएन । धनप्रसाद लिम्बूको हत्या भएपछि गाउँ घरमा निज प्रतिवादीहरू बीचमा अनैतिक सम्बन्ध भई निजहरूकै षड्यन्त्रबाट धनप्रसाद इजम लिम्बूको हत्या भएको हो भन्ने गाउँ घरलगायत अन्यत्र ठाउँमा समेत व्यापक हल्ला छ । षड्यन्त्र गरे गरेनन् निजहरूनै
जानुन् । धनप्रसाद इजमको हत्यापछि भएको हल्लाअनुसार निज प्रतिवादीहरू लिला र नरेन्द्रले षड्यन्त्र गरी मराएका हुन भन्ने सुने बुझेकी हुँ । निजहरूले मारेका हुन् भनी किटान साथ भन्न सक्तिन । मृतक धनप्रसाद र प्रतिवादी लिला इजमबीच कहिले काही सामान्य भनाभन झै-झगडा हुने गर्दथियो । सामान्य भनाभन हुनु स्वभाविकै हो भन्नेसमेत बेहोराको मृतक धनप्रसादको छिमेकी टिकाराम लिम्बूको प्रहरीसमक्ष भएको मिति २०५४/१२/०५ को कागज ।
शरीरको संवेदनशील अंगहरूमा धारिलो हतियारको गहिरो चोटको कारणबाट काटिई, धनप्रसाद इजम लिम्बूको मृत्यु भएको हो भन्नेसमेत विस्तृत बेहोरा उल्लेख भएको निज मृतक धनप्रसाद इजम लिम्बूको भारत नर्थबंगाल मेडिकल कलेज माटगाडाबाट सन् १९९८ फरवरी २६ तारेखमा भएको शव परीक्षण प्रतिवेदन पोस्टमार्टम रिपोर्ट ।
मेरो जेठाजु नाता पर्ने रत्नमान थेवे लिम्बूको घरमा काजक्रिया भएकोले सो काजक्रियामा काम सघाउन गएको मेरो भतिजो नाता पर्ने यी प्रतिवादी नरेन्द्र थेवे लिम्बूलगायत जेठाजुहरूलाई पनि धनप्रसाद लिम्बूको मृतक लास ल्याएको कुराको मिति २०५४।११।१६ गते राति अं. ७ बजेको समयतिर खबर गरेकी हुँ । प्रतिवादी लिला इजम लिम्बू र नरेन्द्र थेवेले मृतकलाई षड्यन्त्र गरी मारे मारेनन थाहा
भएन । प्र. लिला इजम लिम्बूको घरमा प्र.नरेन्द्र थेवे लिम्बू आजभन्दा ४, ५ वर्ष अगाडिदेखि बस्दै आएका थिए । निजहरूबीच अनैतिक सम्बन्ध रहेकोमा मलाई त्यति थाहा छैन । मिलेर नै बस्थे आँखाले नदेखेको हुँदा यसै भन्न सक्दिन । धनप्रसाद र निजको श्रीमती लिला इजम लिम्बूबीच प्रायजसो सधैँ नै झगडा हुने गर्दथ्यो तर एक अर्कालाई मार्ने तथा मार्न लगाउने दागा धर्ने शब्द सम्बन्धमा त्यति वास्ता गरिँदैन थियो भन्नेसमेत बेहोराको श्रीमती लक्ष्मी थेवे लिम्बूको प्रहरीसमक्ष भएको मिति २०५४/१२/६ को कागज ।
प्रतिवादी नरेन्द्र थेबे लिम्बू मेरो मामा नाताका व्यक्ति हुन् । म मामा नरेन्द्र थेवेकै अनुरोधमा २०५४ साल पौष अन्तिमतिर नरेन्द्र थेवेको दिदी र मेरो सानिमा नाताकी भारतको नक्साल पानीघट्टादेखि उत्तर दुधेबजारमा गई सो गएको रात त्यहीँ बस्यौं । रातमा मामा नरेन्द्र थेवे लिम्बू र सानुबाबु नाता पर्ने राजकुमार भन्ने सन्तोष राई अबेरसम्म घरबाहिर घुमफिर गरी रातको त्यस्तै ११ बजेतिर आउनुभएको हो र खाना खाईवरी निज मामा सानाबाबुसँगै सत्नु भयो । सोको भोलिपल्ट बिहानै नेपाल स्थित घर फर्की आएका
हौं । हामीहरू भेट हुँदा त्यस्तो केही कुराकानी भएन । दोस्रो पटक घरमा वडाबाबुले लिई आउनु भन्नुभएको छ दिदी कविता राईलाई लिन जाउ भाञ्जा भनी मामा प्र.नरेन्द्रले मलाई भनेको हुँदा गते बार यकिन भएन । २०५४ साल माघको पहिलो हप्ता ६, ७ गतेतिर उक्त स्थान दुधे बजार गई सानिआमा बिरामी भएको हुँदा हामी सो दिनभरी त्यहीँ बसी बेलुकी ६, ७ बजेतिर नेपाल फर्की आएका हौँ । गाडी चढ्न आउँदा मलाई अगाडि नै पठाएर पछाडि मामा र सानाबाबु गफ गर्दै बिस्तारै आएका थिए । सोधनी गर्दा मामाले महत्त्वपूर्ण गफ थियो भनी जवाफ दिनुभयो । त्यहाँबाट आई मामा नरेन्द्रको अनुरोधमा वजु लिला इजमको घरमा २०५४।१०।११ गते तिर आई १८/१९ दिन बसी काम सघाएँ । त्यतिबला बाजे धनप्रसाद इजम लिम्बू पनि थिए । बाजे नभएको बेलामा मात्र मामा नरेन्द्र आउने र वजु लिला र निजबीच के के कुरा हुन्थ्यो मलाई थाहा छैन । म बसेको एक हप्तापछि बाजे काम विशेषले ताप्लेजुङतर्फ जानुभएको, त्यस्को भोलिपल्ट मामा नरेन्द्र आई बजुसँग कुरा गरी भोलिपल्ट पनि बजु र मामा मोटरसाइकलमा निस्की बेलुका मात्र फर्किनुभयो पुनः २ दिनपछि बजु लिला इजम लिम्बूले तिम्रो सानीआमा कबिता राई (थेवे) र सानाबाबुलाई भेट्न जानु पर्यो भनी मलाई भन्नु भई २०५४ साल माघ महिनाको २३/२४ गतेतिर बजु नाति हामी दुई जना मात्रै भारत पानीघट्टा दुधेबजार गई सानिआमाको घरमा सबैलाई भेटी बजु लिला इजमले सानुबाबु सन्तोष राईसँग एकान्तमा कुरा गर्नुभयो । के कुरा गर्नुभयो थाहा भएन । हामीहरू बेलुकी ३ बजेतिर घर फर्की आएका हौँ । बाजे पहाडबाट नआई सानाबाबु राजकुमार भन्ने सन्तोष राई र एकजना फाल्तु पुरूष आई बजु लिला इजमसँग गफ गर्दैथिए । मेरी श्रीमती बिरामी हुँदा म आफ्नो घर शनिश्चरेतर्फ गएँ । निजहरूले के गफ गरे कति दिन बसे र कहिले गए मलाई थाहा भएन । धनप्रसादले नरेन्द्रलाई घरबाट निकाली दिएकोले निजहरूबीच सामान्य मनमुटाव भएको सुनेको हुँ । मेरो बाजे नाता पर्ने धनप्रसाद इजमलाई कर्तव्य गरी मानिसले मारे अरे भन्ने थाहा पाएँ । यी प्रतिवादीहरूले षड्यन्त्र गरी धनप्रसादलाई मारे मराएकोमा म यसै किटान गरी भन्न सक्दिन भन्नेसमेत बेहोराको सुरेश भन्ने राजु थेवे लिम्बूको प्रहरीसमक्ष भएको मिति २०५४/१२/०६ को कागज ।
जाहेरीमा उल्लिखित बेहोरा ठीक साँचो
हो । घरमा दाजु धनप्रसाद र भाउजू लिला इजम लिम्बू प्राय जसो झगडा गरिरहनु हुन्थ्यो । दाजुलाई भाउजूले मार्ने धम्की दिने गरेको र भदा नाता पर्ने नरेन्द्र थेबेलाई घरबाट निकाली दिएको कारणबाट निज नरेन्द्र थेवेले ज्यानै मार्ने धम्की दागा धरेको भन्नेसमेत मैले सुनेको हुँदा र नरेन्द्रको भाउजू लिला इजमसँग अनैतिक सम्बन्ध केही वर्ष अगाडिदेखि रही आएको भन्ने हामीलाई थाहा थियो तर घर परिवार बिथोलिन्छ भनेर नभनेकोमा दाजुले कताकताबाट थाहा पाई निज नरेन्द्रलाई सम्झाई बुझाई घरबाट निकाली दिएको हुँदा मेरो भाउजू लिला इजम र भदाहा नरेन्द्र थेवेले नै कर्तव्य गरी मेरो सहोदर जेठो दाजु धनप्रसादलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको मृतकको भाइ केदारमान इजम लिम्बूले प्रहरीमा मिति २०५४।१२।१४ मा गरेको कागज ।
यी पक्राउ परेका प्रतिवादी लिला इजम लिम्बू र प्रतिवादी नरेन्द्र लिम्बूबीच अनैतिक सम्बन्ध रही आएको, सो कुरा धनप्रसादले थाहा पाई घरमा धेरै जसो पतिपत्नीबीच झगडा हुने गरेको र सोही कारणबाटै प्र.नरेन्द्र थेवेलाई धनप्रसाद इजम लिम्बूले घरबाट निकाली दिएको र श्रीमान् श्रीमतीबीच झगडा हुँदा प्रतिवादी लिला इजम लिम्बूले श्रीमान्लाई मानिस लगाई मार्ने जस्ता ज्यानको दागा धर्ने धम्की दिएको सुनिएको र प्रतिवादी नरेन्द्रले पनि घरबाट निस्कँदा धनप्रसादलाई दागा धरेको हुँदा यिनै कारणबाट नै प्रतिवादी श्रीमती लिला इजम लिम्बू र प्रतिवादी नरेन्द्र थेबे लिम्बूले षड्यन्त्र गरी धनप्रसाद इजम लिम्बूलाई मानिस लगाई कर्तव्य पारी मारे मराएकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको प्राय एकै मिलानको देवेन्द्र सुब्बा, धनबहादुर राई, मुक्तिनाथ दाहाल र धनपति ढकालसमेतले मिति २०५४/१२/१५ मा लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
संकलित सबुत प्रमाणहरू घटनास्थल प्रकृति मुचुल्का जाहेरी दरखास्त, लास प्रकृति मुचुल्का प्रतिवादी नरेन्द्र थेवेसमेतको बयान बुझिएका रमादेवी भुजेलसमेतको कागज, पोस्टमार्टम प्रतिवेदन तथा वस्तुस्थिति मुचुल्कासमेतका कागजातहरूबाट मिति २०५४।१९/१३ गते धनप्रसाद इजम लिम्बूलाई कर्तव्य गरी मारेको वारदात पुष्टि हुन आयो । अब धनप्रसाद इजमलाई को कस्ले के कस्तो प्रकार एवं रीतले कर्तव्य गरी मारे मराएका रहेछन् र उक्त कार्य गर्नेहरू उपर के कस्तो सजायको माग दाबीको अभियोग लिनुपर्ने हो भन्नेतर्फ विचार गर्दा धनप्रसाद इजम लिम्बू र निजको श्रीमती लिला इजम लिम्बूबीच घरायसी झगडा भई निज धनप्रसाद इजम लिम्बूले निज प्रतिवादी लिला इजमलाई बारम्बार कुटपिट गर्ने गरेको र प्रतिवादी नरेन्द्र थेवेलाई घरबाट निकाला गरेको कुरासमेतलाई लिई भारतको पानी घट्टा स्थित दुधे बजार बस्ने राजकुमार भन्ने सन्तोष राईसँग प्रतिवादी नरेन्द्र थेवे र प्रतिवादी लिला इजम लिम्बूले स्वयं सिधा सम्पर्क स्थापित गरी निज सन्तोष राईलाई रू.१०,०००/- नगदै दिई प्रतिवादी लिला इजम लिम्बू मुख्य प्रतिवादी नरेन्द्र थेवे लिम्बूको सहयोग लिई निज राजकुमार भन्ने सन्तोष राई र नाम नखुलेको अन्य सहयोगीसमेत भई जि. सुनसरी इटहरी न.पा. वडा नं ४ स्थित बुढीखोलामा धनप्रसाद इजमलाई धारिलो हतियारले काटी कर्तव्य गरी मार्न लगाएको कुरा पुष्टि हुन आएको हुँदा प्रतिवादी राजकुमार भन्ने सन्तोष राईले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. बर्खिलाप सोही ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी राजकुमार भन्ने सन्तोष राईलाई सोही ऐन महलको १३(१) नं. बमोजिम सजाय गरी पाउन र प्रतिवादी लिला इजम लिम्बू र प्रतिवादी नरेन्द्र थेवे लिम्बूले धनप्रसाद इजम लिम्बूलाई कर्तव्य गरी ज्यान मार्ने काममा प्रतिवादी राजकुमार भन्ने सन्तोष राईसँग सम्पर्क गरी उक्त ज्यान मार्ने कार्यको लागि रू.१०,०००।- समेत दिई पडयन्त्र गरी ज्यान मार्न लगाएको हुँदा निजहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं को कसुर गरेको हुँदा निज प्रतिवादीहरू लिला इजम लिम्बू र नरेन्द्र थेबे लिम्बूलाई सोही ऐन महलको १६ नं. बमोजिम सजाय गरी पाउन र विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीमध्येका राजकुमार भन्ने सन्तोष राई विदेश भारतीय मूलको नागरिक भएको हुँदा निजलाई नेपाल सरहदभित्र फेला पारी पक्राउ परेको खण्डमा कानूनबमोजिम पेस गरिने र प्रस्तुत मुद्दाको अपराधमा अन्य मानिसहरूको पनि संलग्न रहेको भन्ने ठोस सबुद प्रमाण फेला पारी निजहरूको यकिन नाम थर वतन खुली आएका बखत छुट्टै अभियोग पत्र पेस गरिने भन्नेसमेत बेहोराको प्रतिवादीहरू उपरको मिति २०५४/१२/२४ को अभियोग पत्र ।
प्रतिवादीमध्येका नरेन्द्र थेवे, मेरो भाइ नाताका हुन् । प्रतिवादी राजकुमार भन्ने सन्तोष राईसँग मेरो चिनजान छैन । मउपरको अभियोग सुनी पाएँ । मैले मेरा पति धनप्रसाद इजमलाई षड्यन्त्र गरी मारेको होइन । म त्यसो गर्न सक्दिन । मेरो ससुरा र देवरको जालसाजीबाट यो मुद्दा चलाएका हुन् । हामीले इटहरीमा घर बनाएदेखि नै सो सम्पत्तिमा सासू ससुरा र देवरको धन सम्पति निजहरूले पाउनुपर्छ भन्ने दाबी थियो । मेरो पति धनप्रसाद इजमलाई को कस्ले कर्तव्य गरी कसरी मारे मलाई थाहा छैन । मिति २०५४/११/१३ गतेका दिन म आफ्नै घरमा थिएँ । सो दिन करिब ११.३० बजेको समयमा एकजना इजम थर भएकै व्यक्ति आई सासू ससुरासँग के कुराकानी गरे थाहा भएन, पति धनप्रसाद इजम तिनै व्यक्तिसँग भारतको पानीघट्टा भन्ने ठाउँतर्फ लागे । २०५४।११।१६ गते बिहान ससुराले छोरा हरायो खोज्न जानुपर्छ भनी टेलिफोनद्वारा भनेकोले म ससुरा र देवरलगायतका ८/९ जना मानिस भारततर्फ गयौं । बाटोमा काँकडभिट्टा पुगेपछि मलाई घरबाट झिकाएको हुँदा घर गएपछि राति १० बजेको समयमा मेरो पतिको लास लिई घर आए । पतिलाई भारतमा कुटपिट गरी मारेको हुन् । २०५४/११/१३ को घटनास्थल प्रकृति विवरण मुचुल्का, ऐ.१७ गतेको लास प्रकृति मुचुल्का एवं २०५४/११/२५ को जाहेरी दर्खास्त सुनी पाएँ । मेरो पति घरको जेठो छोरा भई पहिला हङ्कङ गई अवकाश पाएपछि ब्रुनाई गई कमाई ल्याएको सम्पत्ति हामी सबैको हक लाग्छ भनी ससुरासमेतले भन्दै आएका, मेरो श्रीमान् धनप्रसादले पहिले पनि केही सम्पत्ति दिएँ अब मेरो पनि ४ छोरा छोरी छन् म दिन्न भनी भन्नुभएकोमा मलाई समेत फसाई मेरो श्रीमान्ले कमाई ल्याएको सम्पत्ति एकलौटी खान झुठा जाहेरी दिएका हुन । मेरो श्रीमान्लाई भारतमा कुटपिट गरी मारेका हुन् । प्रहरीसमक्ष भएको मेरो बयान कागज पढी सुनि पाएँ । प्रहरीमा मैले मेरो कारणबाट श्रीमान् मरेको होइन भनी जवाफ दिएपछि प्रहरीले २, ३ थप्पड हिर्काई मतर्फ बन्दुक देखाई लेखी ल्याएको कागज मलाई पढी नसुनाई मेरो स्वेच्छा विरूद्ध गराएको हो । प्रहरीसमक्ष प्र.नरेन्द्र थेवेले मसमेतले षड्यन्त्र गरी पति धनप्रसाद इजमलाई मारेको हो भनी किन लेखाए म जान्दिन । मेरो श्रीमान्सँग सानै उमेरमा विवाह भएको हुँदा म कसरी श्रीमान्को हत्या गराउन सक्छु । सुरेश भन्ने राजु थेवेले मलाई भारतको पानिघट्टा दुधे बजारमा देखेको भनी किन लेखाए म जान्दिन । म सो स्थानमा कहिले पनि गएको छैन । नरेन्द्र थेवे मेरो भाइ छोरा जस्तो मान्छेसँग हामीहरूको अनैतिक सम्बन्ध थिएन, प्रहरीसमक्ष कागज गर्ने केदारमान इजम र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूको कागज बेहोरासमेत झुठा
हो । म निर्दोष छु । अभियोगबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको अदालतसमक्ष भएको प्रतिवादी श्रीमती लिला इजम लिम्बूको मिति २०५४।१२।२५ को बयान ।
प्रतिवादी लिला इजम लिम्बू मेरो फुपू र राजकुमार भन्ने सन्तोष राई मेरो भिनाजु नाताका हुन् । मउपरको अभियोग पढी बाची सुनाउँदा सुनी पाएँ । मेरो ज्यान मार्ने कुरमा कुनै पनि षड्यन्त्र नभएको र मलाई कुरा पनि थाहा नभएको र धनप्रसाद लिम्बूको को कस्को कर्तव्यबाट मृत्यु भएको हो सो कुरा मलाई थाहा छैन । धनप्रसाद इजमको मृत्यु भएको भन्ने कुरा काकी लक्ष्मी थेवेबाट मिति २०५४।११।१४ गते १२ बजे थाहा पाएँ । मिति २०५४।११।१७ को लास प्रकृति मुचुल्का तथा जाहेरी दर्खास्त पढी सुनाउँदा सुनि पाएँ । म फुपू लिला इजमको घरमा बस्थे । धनप्रसादलाई को कस्ले कर्तव्य गरी मार्यो मलाई केही थाहा छैन । मउपर समेत किन जाहेरी दिए म जान्दिन । प्रहरीले मलाई २०५४।११।१५ गते पक्राउ गरी घटना सम्बन्धमा केरकार गर्दा आफूले थाहा नभएको भनी भन्दा पैसा कति निकाल्न सक्छस् भनी सोधे, म गरिब छु, पैसा निकाल्न सक्दिन भनी भन्दा २ लाठी हिर्काई सो रात छाडी भोलिपल्ट अड्डासार गरी खनार चौकीमा लगी शरीरमा जत्रतत्र लाठी र बुटले हिर्काई इन्स्पेक्टरले मारी दिन्छु भन्नेसमेतको डर धाक देखाई पढी नसुनाइएको बयान कागजमा सही गरेको । प्रहरीसमक्ष भएको कागज मेरो स्वेच्छाबाट भएको होइन । प्रतिवादी लिला इजमले प्रहरीसमक्षमा मसमेतको षड्यन्त्रबाट धनप्रसाद लिम्बूको मृत्यु भएको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष किन त्यस्तो बयान गरिन्, म जान्दिन निजैलाई थाहा होला । मेरो दिदीको घर दुधे बजारमा भएपनि म सो स्थानमा गाएको छैन । सुरेश थेवे भन्ने राजु थेवेले सन्तोष राईसँग कुरा गरी रहेको देखेँ भनी किन प्रहरीसमक्ष कागज गरे म जान्दिन । प्रहरी समक्षको केदारमान इजमको कागज सुनिपाएँ । म आजभन्दा १५/२० वर्ष अगाडिदेखि लिला इजमको घरमा बसेको, निज मेरो फुपू हुँदा हामीबीच कुनै अनैतिक सम्बन्ध नरहेको, सम्पत्ति सम्बन्धमा दाजु भाइबीच पटकपटक झगडा भई राख्ने र यही मौका पारी भाउजूसमेतलाई फसाउन झुठा कागज गरेका
हुन् । वस्तुस्थिति मुचुल्का सुनेँ । हामीहरूको कम्तीमा ३ पुस्तासम्म वैवाहिक सम्बन्ध हुँदैन । मेरो फुपूसँग कुनै अनैतिक सम्बन्ध थिएन । हामीहरूलाई थुनामा पठाई सम्पत्ति हडप्न षड्यन्त्र गरी फसाएका मात्र हुन् । म निर्दोष छु भन्नेसमेत बेहोराको प्रतिवादी नरेन्द्र थेवे लिम्बूको अदालतसमक्ष भएको मिति २०५४।१२।२५ को बयान ।
लास प्रकृति मुचुल्काका यमकुमार लिम्बू, बमबहादुर लिम्बू, राजेन्द्र खिमरिङ लिम्बू, केशव सिटौला, सिताराम राई, प्रेम कुमार लिम्बू, तिर्थ भट्टराई, वस्तुस्थिति मुचुल्काका देबेन्द्र सुब्बा, ठाडो कागज गर्ने केदारमान लिम्बू, जाहेरवाला मानविर इजम लिम्बू, घटनास्थल प्रकृति मचल्काका धनबहादुर राई, दुर्गाराम राई, घटनास्थल प्रकृति मुचुल्का तयार गर्ने प्र.ह. रामबहादुर लिम्बू, प्रतिवादीहरू लिला इजम लिम्बू र नरेन्द्र थेवे लिम्बूका साक्षी लक्ष्मी थेवेले गरेको बकपत्र मिसिल सामेल रहेको ।
आफ्नो श्रीमान् तथा फुपाजु धनप्रसाद इजम लिम्बूलाई मराउने कार्यमा षड्यन्त्र गर्ने यी प्रतिवादीहरू लिला इजम लिम्बू र डि.वि.भन्ने धुनबहादुर थेवे भन्ने नरेन्द्र थेवे लिम्बूले अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम जनही १०(दश) वर्ष कैदको सजाय हुने र प्रतिवादी राजकुमार भन्ने सन्तोष राईका हकमा हाजिर भएका वा पक्रिएका बखतमा खडा गरी बुझी कानूनबमोजिम गर्ने गरी मुलुकी ऐन, अ.बं.१९० नं. बमोजिम मुल्तबीमा राखिदिने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६१/०३/०७ मा भएको फैसला ।
सुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । मिसिल संलग्न कुनै पनि प्रमाणबाट मैले दाबीबमोजिमको कसुर गरेको भन्ने कुरा पुष्टि हुन सकेको छैन । मृतकको मृत्यु नेपाल सरहदभित्र नभई भारतीय भूमिमा भएको भन्ने कुरा नर्थबंगाल मेडिकल कलेजबाट पोस्टमार्टम गराइएको तथ्य मिसिलबाट स्थापित भइरहेको अवस्थामा नेपाल सरहदको अदालतबाट प्रस्तुत मुद्दा हेर्न नमिली खारेज गर्नुपर्नेमा सो नगरी कसुरदार ठहर गरी सजायसमेत गर्ने गरी गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीतको हुँदा उक्त फैसला बदर गरी अभियोग मागदाबीबाट पूर्ण उन्मुक्ति पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लिला इजम लिम्बूको पुनरावेदन पत्र ।
यसमा वारदात स्थल नेपाल सरहदभित्र हो होइन भन्ने विषयमा विवादयुक्त रहेको देखिएको अवस्थामा सुरूले गरेको फैसलाका सम्बन्धमा छलफल गर्न निमित्त पुनरावेदन सरकारी वकिल कार्यालयलाई अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६३।०४।२२ को आदेश ।
मृतकको नेपाल सरहदभित्र कर्तव्य भई मृत्यु भएको अवस्था नहुँदा सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६१।०३।०७ मा क्षेत्राधिकार ग्रहण गरी गरेको फैसला मिलेको अवस्था नहुँदा प्र.मध्येका लिला इजम लिम्बूसमेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. बमोजिम कसुरदार कायम गरी गरेको फैसला उल्टी भई यी प्रतिवादीले सफाइ पाउने ठहर्छ । अर्का प्रतिवादी नरेन्द्र थेवे लिम्बूका हकमा समेत वारदात नै स्थापित हुन सकेको अवस्था नहुँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०५ नं. अनुरूप निजले समेत सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६४।०९।२६ को फैसला ।
धनप्रसाद लिम्बूलाई मर्नु बाँच्नु दोसाधको अवस्थामा इटहरी ४ स्थित बुढीखोलाको पुलमुनि पश्चिम किनारामा पाइएको र वारदात स्थलमा मारिएको, आलो रगत देखिएको र उपचारार्थ भारत नर्थबंगाल मेडिकल कलेजमा पठाएको भन्ने बेहोराको घटनास्थल मुचुल्का रहेको र भारतको मटीगाडा स्थित नर्थबंगाल अस्पताल पुर्याई उपचार हुँदै गर्दा छोरा धनप्रसादको मृत्यु भएकोले पोस्टमार्टमसमेत सोही अस्पतालमा गराई लास बुझी ल्याएको भन्नेसमेत बेहोराको मृतकका बाबुको निवेदन छ । मृतकलाई कर्तव्य गरी मार्नमा प्रतिवादीहरूले षड्यन्त्र गरेका थिए भन्ने किटानी जाहेरी, प्रतिवादीहरूद्वारा अनुसन्धानमा गरेको बयान, मौकामा भएको कागजसमेतबाट लिलाले मृतकलाई बरोबर मारिदिने कुरा भन्ने गरेको र मार्नका लागि सुपारी दिएको भन्नेसमेत उल्लेख भएकोले प्रतिवादीहरूकै षड्यन्त्रबाट मृतकको मृत्यु हुन गएको पुष्टि भएकोले प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला बदर गरी सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्ने वादी नपाल सरकारको यस अदालतमा परेको मिति २०६५।०५।०४ को पुनरावेदन पत्र ।
एकपटक नेपालको अधिकारक्षेत्र भएको भनी अभियोगपत्र दायर भइसकेकोमा पछि आफ्नो अधिकारक्षेत्र नभएको भन्नु र त्यस्तो अधिकार क्षेत्र नभएकोमा खारेज गर्ने ठहर्याउनु पर्नेमा सफाइ दिने ठहर गरेको फैसला विरोधाभाषपूर्ण हुनुका साथै यस्तो फैसलाबाट अपराधीले भारत र नेपालमा समेत सजायबाट उन्मुक्ति पाउने अवस्था भएकोले समेत पुनरावेदन अदालत विराटनगरको फैसला नमिली फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेस गर्नू भन्ने यस अदालतको मिति २०६६।१२।०९ को आदेश ।
यसमा ज्यानसम्बन्धी महलको १६ नं. अनुसार षड्यन्त्रको कसुरको सम्बन्धमा अन्तरदेशीय क्षेत्राधिकारको प्रश्न तथा मुद्दासँग सम्बन्धित अन्य विषयहरूमा समेत दुवै पक्षका कानून व्यवसायीबाट १५ दिनभित्र बहसनोट पेस गर्न लगाई पेस गर्नू भन्ने यस अदालतको मिति २०७४।०३।०७ का आदेशानुसार प्रतिवादी तथा जाहेरवालाका कानून व्यवसायी र वादी नेपाल सरकारको तर्फबाट पेस भएको बहसनोट मिसिल सामेल रहेको ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलास समक्ष पेस हुन आएको प्रस्तुत मद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश कोइराला र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हरिन्द्रप्रसाद राईले प्रस्तुत मुद्दाको वारदात नेपालमा भएको र भारतमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको श्रीमती र नरेन्द्र थेवेको षड्यन्त्रमा वारदात घटेको छ । मृतकका बाबुले मौकामा किटानी जाहेरी दिएका छन् । जाहेरीलाई घटनास्थल प्रकृति मुचुल्का लास परीक्षण प्रतिवेदनसमेतले पुष्टि गरेको छ । मौकामा कागज गर्ने व्यक्तिहरूको अदालतमा भएको बकपत्रसमेतबाट षड्यन्त्रको तथ्य उजागर भएको छ । क्षेत्राधिकारको प्रश्न देखाई प्रतिवादीलाई कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनालीले जाहेरवालाको जाहेरी दरखास्तबाटै मृतक बिहानको खाना खाई इटहरी चोकमा काम छ भनी निस्केको भन्ने तथ्य प्रस्ट छ । मृतक चढ्ने गरेको मोटरसाइकल कोही कसैले लगेको अवस्था देखिँदैन । सो मोटरसाइकल भारतीय सिमानासँग जोडिएको काँकडभिट्टा इलाकाभित्र भेटिएको छ । मृतकको मृत्युको सम्बन्धमा अटो ड्राइभर रतन साहको FIR अनुसार भारतीय अदालतमा मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेको छ । रतन साहले मिति २०५४।११।१३ मा काँकडभिट्टाबाट २ जना यात्री बोकेर गएको र तीमध्ये १ जनाको हत्या भएको भन्ने कुरा व्यक्त गरेका छन् । मिति २०५४।११।१३ को घटनास्थल प्रकृति मुचुल्का वास्तविक नभएर मृतक नेपाली भएकाले नेपालमै मुद्दा चलाउने भन्ने उद्देश्यले तयार पारिएको कपोकल्पित हो । घाइतेलाई अस्पताल पठाउने बित्तिकै त्यस्तो मुचुल्का तयार पार्ने परिपाटी रहेको छैन, जुन अस्वाभाविक छ । वारदात विदेश भारत कदममोड नक्सालवादीमा भएको भन्ने कुरा सवडिभिजन मेजिस्ट्रेट कोर्ट सिलगडीमा कारबाही भएको कागजबाट देखिन्छ । उल्लिखित तथ्यबाट वारदात तथा मृतकको मृत्यु नेपाल सरहदमा नभई भारतमा भएको तथ्य पुष्टि भएकोले मुलुकी ऐन अ.बं.२९ नं. मा "ज्यानसम्बन्धी महलले सजाय हुने मुद्दा अपराध भएको इलाकाबाट हेर्नुपर्छ" भन्ने कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतबाट भारतमा भएको वारदात सम्बन्धमा नेपालमा अभियोग लाग्ने व्यवस्था नै नरहेको सन्दर्भमा अभियोगपत्र खारेज हुनुपर्ने हो । खारेज गर्नु र सफाइ दिनुमा प्रतिवादीको हकमा कुनै तात्त्विक भिन्नता नरहेकोले पुनरावेदन अदालतबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला न्यायोचित रहेकोले सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट भएको मिति २०६४।०९।२६ को फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मृतक धनप्रसाद इजम लिम्बू र निजको श्रीमती लिला इजम लिम्बूबीच घरायसी झगडा भई मृतकले प्रतिवादी लिला इजमलाई बारम्बार कुटपिट गर्ने गरेको र प्रतिवादी नरेन्द्रलाई घरबाट निकाला गरेको कुरासमेतलाई लिई भारतको पानीघट्टा स्थित दुधे बजार बस्ने राजकुमार भन्ने सन्तोष राईसँग प्रतिवादी नरेन्द्र थेवे र निज लिला स्वयंले सिधा सम्पर्क स्थापित गरी निज सन्तोष राईलाई रू.१०,०००।– नगद दिई प्रतिवादी लिला इजम मुख्य भई प्र.नरेन्द्र थेवेको सहयोग लिई निज प्र.सन्तोष राई र नाम नखुलेका अन्य सहयोगीसमेतद्वारा जिल्ला सुनसरी इटहरी न.पा. वडा नं.४ स्थित बुढीखोलामा धनप्रसाद इजमलाई धारिलो हतियारले काटी कर्तव्य गरी मार्न लगाएको पुष्टि भएकोले प्र.राजकुमार भन्ने सन्तोष राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीतको कसुरमा ऐ. १३(१) बमोजिम सजाय हुन र प्रतिवादीहरू लिला इजम लिम्बू र नरेन्द्र थेवेको कसुर ऐ. १६ नं. बमोजिम हुँदा सोही नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी रहेकोमा सुरू सुनसरी जिल्ला अदालतबाट प्र. लिला इजम लिम्बू र नरेन्द्र थेवेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. बमोजिम जनही १०(दश) वर्ष कैद हुने र राजकुमार भन्ने सन्तोष राईको हकमा अ.बं.१९० नं. बमोजिम मुल्तबी रहने गरी मिति २०६१।०३।०७ मा फैसला भएको देखिन्छ ।
३. सुरू फैसलाउपर प्रतिवादी लिला इजम लिम्बूको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परी सो अदालतबाट मृतकको नेपाल सरहदभित्र कर्तव्य भई मृत्यु भएको अवस्था नदेखिँदा सुनसरी जिल्ला अदालतले क्षेत्राधिकार ग्रहण गरी गरेको फैसला मिलेको अवस्था नहुँदा सुरू फैसला उल्टी गरी प्रतिवादी लिला इजम लिम्बूले सफाइ पाउने र अर्का प्रतिवादी नरेन्द्र थेवे लिम्बूले समेत वारदात नै स्थापित नभएको अवस्था हुँदा अ.बं.२०५ नं. बमोजिम सफाइ पाउने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको
देखिन्छ । एकपटक नेपालको अदालतको अधिकारक्षेत्र भएको भनी अभियोगपत्र दायर भइसकेकोमा पछि आफ्नो अधिकारक्षेत्र नभएको भन्नु र त्यस्तो अधिकारक्षेत्र नभएकोमा खारेज गर्ने ठहर्याउनु पर्नेमा सफाइ दिने ठहर गरेको फैसला विरोधाभाषपूर्ण भएको भन्ने आधारमा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश भई प्रस्तुत मुद्दा पेस हुन आएको पाइयो ।
४. यसमा वादी नेपाल सरकारले पुनरावेदन पत्रमा प्रस्तुत मुद्दाको वारदात जिल्ला सुनसरी इटहरी न.पा. वडा नं.४ स्थित बुढीखोलाको पुलमुनि भएको र उपचार मात्र भारतमा भएको हो भनी दाबी लिएको पाइन्छ । प्रतिवादी पक्षबाट मिति २०५४।११।१३ मा खडा भएको घटनास्थल मुचुल्का वादी पक्षले कृत्रिम रूपमा खडा गरेको हो, यो वारदात नेपाल सरहदमा भएको होइन, विदेश भारतमा भएको
हो । यो मुद्दाको कारबाही सव डिभिजन मेजिष्टेट कोर्ट सिलगुडीमा चलेको छ । मृतकको पोस्टमार्टमसमेत नर्थबंगाल मेडिकल कलेजमा भएको छ भनी जिकिर लिएको देखिन्छ । मृतकको मृत्यु भारतको नर्थबंगाल मेडिकल कलेज मटिगाडामा भएको र निजको पोस्टमार्टमसमेत सोही कलेजमा भएको तथ्यमा विवाद देखिँदैन । जाहेरवालाले मेरो छोरा धनप्रसाद लिम्बू मिति २०५४।११।१३ गते बिहानको खाना खाई इटहरी चोकमा काम छ भनी घरबाट निस्की हिँडेकोमा बेलुकी ६ बजेसम्म पनि घर फर्की नआएको कारण खोज तलास गर्दा अपरिचित रिक्सावालाले लाउरे जस्तो देखिने मानिस बुढीखोलाको पुलमुनि घाइते मरणासन्न अवस्थामा छ भनेकोले सोही अवस्थामा भेटेकोले उपचारको लागि भारततर्फ लगेको भनी उल्लेख गरेकोमा सो रिक्सावाला बाहुन जातिको मानिस हुन् निजलाई पहिला पनि नचिनेको र अहिले पनि यही हो भनी ठम्याउन वा किटान गर्न सक्दिन भनी जाहेरवाला मानबहादुर लिम्बूले मिति २०५४।१२।१६ मा अनुसन्धानको क्रममा कागज गरेको मिसिलबाट देखिन्छ । जाहेरवालाले मृतकलाई घाइते अवस्थामा देखेपछि को-को व्यक्ति भई घाइतेलाई नेपालबाट के कुन साधनमा भारततर्फ उपचारको लागि लगेको हो भनी प्रस्ट खुलाएको देखिँदैन । अनुसन्धानको क्रममा सो कुरा खुल्न आएको पनि छैन । निजको सो भनाई विश्वसनीय ढंगले पुष्टि भएको पाइँदैन ।
५. नेपाल काँकडभिट्टाबाट दुईजना यात्रु आफ्नो अटो रिजर्भ गरी पानी घट्टा आएको र ती २ जना र अन्य ३ जना भई अटोमा चढेकोले बाटोमा आउँदाआउँदै झगडा परी एकजनालाई तानेर जंगलभित्र लगेकोले म प्रहरी चौकीगई पुलिस भ्यान लिई जाँदा एकजना रगतै रगत भएको घायल अवस्थामा भेटी प्रहरी भ्यानमा लगेको भनी रतन साह भन्ने व्यक्तिले लेखाई दिएको मिसिल संलग्न कगजबाट देखिन्छ । सोही आधारमा भारतमा जाहेरी परी वारदात घटना विदेश भारत कदममोडमा भएकोले सवडिभिजन मिजिस्ट्रेट कोर्ट सिलगडी भारतमा कारबाही चलेको तथा लासको पोस्टमार्टमसमेत भारतमा नै भएको भन्ने कागज प्रमाणबाट देखिइरहेको छ । उल्लिखित अवस्थाले नेपाल इटहरी स्थित बुढीखोलामा वारदात भएको भन्ने कुरालाई समर्थित गरेको देखिँदैन । मृतक धनप्रसाद इजम लिम्बू काकँडभिट्टातर्फ जाँदा चढी गएको भनिएको को.अ.प.४०४६ नं. को आर एक्स मोटरसाइकल निजका भाइ केदार इजमले इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट बुझिलिएको र सो मोटरसाइकल मृतकबाहेक अन्य व्यक्तिले चढी गएको भन्ने कुरा मिसिलबाट देखिँदैन । भारतको इलाकाभित्र वारदात घटी उपचारकै क्रममा भारतमा नै मृत्यु भएको र नेपालमा ल्याई सद्गतसम्म गरेको अवस्थामा नेपालमा मुद्दा चलाउने प्रयोजनका लागि भनी तयार भएका अनुसन्धानका कागज वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएसम्म सोलाई प्रमाणमा लिई क्षेत्राधिकार ग्रहण गर्न न्यायोचित पनि हुँदैन ।
६. यसप्रकार मृतक धनप्रसाद इजम लिम्बूको मृत्यु कर्तव्यबाट नै भएकोमा विवाद छैन । मृतकको मृत्यु कर्तव्यबाट भएपनि निजको मृत्युको वारदात नेपालमा भएको भन्ने तथ्य शंकारहित तबरले वस्तुनिष्ट आधारबाट पुष्टि भएको हुनुपर्छ । मृतक धनप्रसादको मृत्यु भारतको नर्थ बंगाल मेडिकल कलेज मटीगाडामा भएको कुरा त्यहाँ भएको पोस्टमार्टमको रिपोर्टबाट देखिएको छ भने अर्कोतर्फ निजको मृत्युको लासजाँच प्रकृति मुचुल्का नेपालको सुनसरी जिल्लाको इटहरी न.पा. -४ स्थित बुढीखोलामा भएको अवस्था देखिएको छ । त्यस्तो विवादास्पद अवस्थाले मृतक धनप्रसाद इजम लिम्बूको मृत्यु कहाँ भएको हो? र वारदात कहाँ हो भन्ने गम्भीर प्रश्न खडा गरेको अवस्था छ । तर पनि मृतक धनप्रसादको मृत्यु नेपाल सरहदमै भएको हो भन्ने तथ्य भने शंकारहित अवस्थामा रहेको छैन । मिसिल संलग्न कागजातबाट मृतक चढेको को.अ.प.४०४६ नं.को आर.एक्स. मोटरसाइकल काकरभिट्टामा बेवारिसे अवस्थामा भेटिएको र इलाका प्रहरी कार्यालय इटहरीको प.सं.०४।मु.द.नं.३५।०५४।०५५ मिति २०५४।११।१९ को पत्रबमोजिम उक्त मोटरसाइकल निज केदारमान इजमलाई बुझाएको भन्ने इलाका प्रहरी कार्यालय, काकँडभिट्टाले प्रमाणित गरिदिएको छ । मृतक धनप्रसाद इजमसहित दुईजना मिति २०५४।११।१३ गते काकरभिट्टाबाट रत्न साहको अटोमा चढी गएका र तीमध्ये एक जनाको हत्या भई अटोका चालक निजै रत्न साहले भारतको अदालतमा FIR दिएको, सोबमोजिमको मुद्दा भारतको अदालतमा विचाराधीन रहेको र मृतकको पोस्टमार्टम पनि भारतमै भएको रिपोर्टबाट समेत स्पष्ट हुन आएको छ । यो प्रमाणित अवस्थाले मृतक धनप्रसाद इजमको मृत्यु भारतमै भएको स्पष्ट हुँदाहुँदै नेपाल सरहदमा भएको देखाएर नेपालमा नै मुद्दाको कारबाही चलाउन नेपाल सरहदमा नै भएको कागजातहरू खडा गरेको भन्ने देखिन
आउँछ । यसरी नेपालबाहिर भएको वारदातलाई नेपालभित्र भएको भन्ने कृत्रिम वारदात र सो आधारमा कृत्रिम नै कागजातहरू खडा गरी मुद्दा चलाएकै आधारमा मात्र त्यस्तो मुद्दाले नेपालभित्रको अदालतको अधिकारक्षेत्र ग्रहण गर्न सक्दैन । फौजदारी मुद्दामा नेपालको अदालतको अधिकारक्षेत्र सृजना हुनको लागि वारदात नेपालभित्र नै भएको तथा निर्विवाद एवं शंकारहित तबरबाट वस्तुनिष्ठ आधारमा नै पुष्टि हुन जरूरी छ, यस सम्बन्धमा रत्तिभर कुनै पनि विवाद हुन र सो देखिनु हुँदैन ।
७. नेपालको प्रचलित कानूनले ज्यानसम्बन्धी अपराधमा बर्हिक्षेत्रीय अधिकारक्षेत्रलाई मान्यता नदिएको र प्रचलित मुलुकी ऐन अ.बं.२९ नं. मा "ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको इलाकाको अड्डाबाट हेर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको र वारदात नेपालमा नै भएको भन्ने पुष्टि नभएको अवस्थामा अभियोगपत्र दायर भएकै आधारमा जिल्ला अदालतले अधिकारक्षेत्र ग्रहण गरेको मानी सो सम्बन्धमा माथिल्लो अदालतले न्यायिक परीक्षण गर्न नमिल्ने भनी तर्क गर्नु न्यायोचित नभएकोले सो सम्बन्धमा यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएको तर्कसँग सहमत हुन सकिएन । अधिकारक्षेत्र नै नभएको विषयमा मुद्दाको तथ्यभित्र प्रवेश गरी कसुरदार हो वा होइन भन्ने विषयको विवेचना गर्न उचित नहुँदा त्यसतर्फ प्रवेश गर्न आवश्यक देखिएन ।
८. अतः माथि विवेचित आधार प्रमाणबाट अधिकारक्षेत्र नभएको विषयमा अभियोगपत्र खारेज गर्नुपर्नेमा सफाइको आधार अधिकारक्षेत्रलाई देखाएको नमिले तापनि प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।०९।२६ को फैसलामा कुनै तात्त्विक फरक नपरेकोले सो फैसलाको परिणाममा कुनै परिवर्तन गर्नुपर्ने देखिएन । प्रस्तुत मुद्दाको अभियोगपत्र नेपालको अदालतको अधिकार क्षेत्रविहीनताको आधारमा खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृत: ढाकाराम पौडेल
इति संवत् २०७५ साल जेठ २१ गते रोज २ शुभम् ।