निर्णय नं. १००५० - बाटो खिचोला बाटो कायम
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।८।२६
०७३-CI-१३८६
मुद्दा : बाटो खिचोला बाटो कायम
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ मीनभवन मार्ग बस्ने कमला बज्राचार्यसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५ बस्ने शान्ति बैद्य (जोन्छे)
न्यायका मान्य सिद्धान्तहरूतर्फ नजर गर्दा एकाको स्वामित्वको जग्गाबाट गैर स्वामित्व भएका अन्य व्यक्तिले अनन्तकालदेखि बाटोको रूपमा प्रयोग गरी आएको भए पनि सुविधाधिकारको सिद्धान्तअनुसार त्यस्तो बाटो बन्द गर्न नमिल्ने ।
(प्रकरण नं.५)
महानगरपालिकाबाट कुनै भवन वा कुनै भाग भत्काउन नपर्ने गरी निर्णय भएको अवस्थामा सो निर्णयमा चित्त नबुझ्ने पक्षले पुनरावेदन गर्न पाउने व्यवस्था गरेको देखिएन । बाटो खुलाउन नपर्ने वा भवन वा कुनै भाग भत्काउन नपर्ने गरी नगरपालिका प्रमुखबाट भएको निर्णयउपर पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था नभएको अवस्थामा एक पटक निर्णय भइसकेको भन्ने आधारमा मर्का पर्ने पक्षले कानूनको म्यादभित्रै कानूनी उपचारको बाटो अवलम्बन गर्न नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरेन्द्रकुमार बोगटी
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
स्थानीय स्वायत्त शासन ऐन, २०५५
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री नागेन्द्रलाल कर्ण
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की
माननीय न्यायाधीश श्री शारड्गा सुवेदी
पुनरावेदन अदालत पाटन
फैसला
न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान गर्ने आदेश भएपश्चात् पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
म फिरादीले कानूनबमोजिम राजीनामा गरी खरिद गरेको कि.नं. १२४ र कि.नं. ४७८ को जग्गासम्म पुग्न पहिलेदेखि नै बाटो खोली हिँड्डुल, प्रयोग र उपभोग गरी आएको विवादित कच्ची मोटरबाटोको विषयमा काठमाडौं महानगरपालिकालाई निर्णय गर्ने क्षेत्राधिकार नै नभएको निकायले गरेको निर्णय आफैँमा क्षेत्राधिकारविहीन भई शून्य भएकोमा विवाद छैन । स्थानीय टोल छिमेकीहरूको समेत आग्रहमा हामी दुवै पक्षको सहमतिमा मिति २०६७/३/१० मा विपक्षीहरूले पहिलेको फलामे ढोका खुलाई म फिरादीसमेतले हिँड्डुल गर्न पाउने गरी मौखिक सहमति भएको थियो । पछि फेरि उक्त कच्ची मोटरबाटो मिति २०६७/५/२ बाट बन्द गरी म फिरादीलाई बाटो प्रयोग गरी घर निर्माण गर्न अवरोध पुर्याएको र उक्त बाटोबाट गएको अन्य व्यक्तिहरूको ढल, पानीको निकाससमेत बन्द गराएकोले उल्लिखित तरिकाबाट पहिला नै खुली म फिरादीले समेत प्रयोग गरी आएको कच्ची मोटर बाटोको मुखमा फलामे ढोकासमेत लगाई म फिरादीसमेतको निर्माणाधीन घरजग्गामा आवतजावत गर्न रोक लगाई विपक्षीहरूले उक्त बाटो खिचोला गरेको हुनाले विपक्षीहरूको बाटोको मुखमा फलामे ढोका राखी गरेको बाटोको खिचोला मेटाई उक्त ढोका खोली बाटो कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० सिट नं. १०८६०९ कि.नं. ४१८ को नारायणदास श्रेष्ठको नामको निजी जग्गालाई विपक्षीले परापूर्वकालदेखि सार्वजनिक बाटो भनी गेट भत्काई बाटो कायम गरिपाउँ भनी दाबी लिए पनि विपक्षीलाई बाटो दिने कुनै कागज गरी नदिएको, नयाँ र पुरानो नापीको नक्सामा समेत बाटो नजनिएको, परापूर्वकालको बाटो नभएको, निजी हक भोगचलनको घर कम्पाउण्ड र गेट रहेको जग्गा भएको हुँदा विपक्षीको फिराद दाबी गैरकानूनी हुँदा खारेजभागी छ । प्रस्तुत विवादको विषयमा काठमाडौं महानगरपालिकामा मुद्दा अन्तिम भएपश्चात् पुनरावेदन नगरी क्षेत्राधिकारबाहिर गई काठमाडौं महानगरपालिकाको निर्णयलाई अदालतमा पुनरावेदनसरह गरी फिराद दर्ता नगरेको र हदम्यादसमेत नघाई दायर गरेको फिराद दाबी मुलुकी ऐन, अ.बं.१८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने प्रतिउत्तर पत्र ।
वादीले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० स्थित कि.नं. ४७८ र १२४ दुवै कित्ता जग्गा कानूनबमोजिम खरिद गर्दा जग्गाको पूर्वपट्टि ८ फिटे बाटोलाई छुने गरी घरबाटो प्रमाणित भएको थियो । पछि काठमाडौं महानगरपालिकाबाट सो जग्गामा घर बनाउन नक्सा पास गर्दा पनि सोही घरबाटो सिफारिस भई नक्सा पास भएको थियो । यदि विवादित कच्ची मोटर बाटो निजी जग्गा हुँदो हो त जग्गा पास गर्दा र घर बनाउन नक्सा पास गर्दा घरबाटो भनेर सिफारिस हुँदाको अवस्थामा निज प्रतिवादीहरूले केही नगरी बस्ने, पछि वादीले घर बनाउन थालेपछि निजी भनी बाटो बन्द गरी फलामे ढोका राखेको हो भन्नेसमेत बेहोराको वादीका साक्षी प्रज्वल जोन्छेको बकपत्र ।
अर्काको जग्गामा मान्छेले हिँडेको भरमा चलन चल्तीको बाटो भन्न मिल्दैन । २०४७ सालमै उक्त जग्गाका जग्गाधनीले घर बनाई उक्त फलामे गेट राखेको थियो । विवादित जग्गा नारायणदासको दर्ता स्रेस्ता रहेको जग्गा हो । वादीले उक्त जग्गामा बाटो पाएको भन्ने कुरा गलत हो । वादीले नक्सा पास गराएको कुरा जग्गाधनी नारायणदासलाई जानकारी थिएन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी गणेशप्रसाद दुलालको बकपत्र ।
मिसिल संलग्न प्रमाणबाट कि.नं. ४१८ को जग्गा निजी जग्गा भएको देखिएकोले वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६९/३/१९ को फैसला ।
मेरो दातासँग मैले जग्गा राजीनामा गरी लिँदा कि.नं. ४६७ बाटो प्रयोजनको कित्ता कायम भएको थियो । विपक्षीहरूको परिवारको नाममा जग्गा रजिस्ट्रेसन गर्दाको बखत सिफारिस दिँदा कच्ची मोटरबाटो भनी सिफारिस दिएको थियो । साथै विपक्षी उज्जनकुमार श्रेष्ठ अ.वा. भई पारित कि.नं. ११८ कि.का. भई कायम कि.नं.५०० बाटो प्रयोजन भनी विपक्षी स्वयंले स्वीकार गरी बसेको देखिन्छ । विपक्षीका पिताले दाबीको कित्ता जग्गामा घर बनाउन नक्सा पास निवेदन गर्दा काठमाडौं उपत्यका नगर विकास योजनाबाट भएको नक्सा सिफारिसपत्र र सोसम्बन्धी प्रकाशित सूचनामा विपक्षीले भोगचलन गरेको हालको कि.नं. ४१८ समेतको कित्ता जग्गाको उत्तरतर्फ साबिकमा बाटो रहे भएको भनी हालको कि.नं. ४१८ का दर्तावाला भनिएका नारायणदास श्रेष्ठले लेखाई दिएको थियो । सम्मानित काठमाडौं जिल्ला अदालतले गराएको नाप नक्सा मुचुल्काबाट बाटोको वस्तुस्थिति अधिकारप्राप्त निकायले प्रमाणित गरिदिएको घरबाटो सिफारिसपत्र, काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट तयार गरेको स्याटेलाइट नक्सा एवं बाटो कायम भएको फिल्डबुक उतार जस्ता आधिकारिक प्रमाणहरूको सही विश्लेषण नै नगरी भएको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा खारेज गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।
यसमा मिति २०६८/४/२३ मा भई आएको स्थलगत नक्साबाट न.नं.२७, २९ र न.नं.१४, १७ समेत केहीमा बाटो र केहीमा विवादित बाटो भनी उल्लेख भइरहेको समेतका कुराले काठमाडौं जिल्ला अदालतको मिति २०६९/३/१९ को फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७०/४/२४ को आदेश ।
विवेचित आधार र कारणबाट फिराद दाबीबमोजिम फलामे ढोका खोली बाटो कायम गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६९/३/१९ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबीबमोजिम न.नं.९ को फलामे ढोका खोली बाटो कायम हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७२।२।३२ को फैसला ।
विपक्षीले बाटो भनी दाबी गरेको जग्गा बाटो नभई हामी पुनरावेदकमध्ये उज्जनकुमार श्रेष्ठको पिता नारायणदास श्रेष्ठको नाम दर्ताको निजी हक भोगचलन र दर्ताको जग्गा हो । उक्त जग्गामा अघिदेखि चली आएको बाटो पनि होइन । २०२२ र २०४५ सालमा भएको नापीमा समेत बाटो नजनिएको र २०५५ सालमा हाल साबिक हुँदासमेत बाटो नभएबाट स्रेस्ताले नै बाटो नभएको पुष्टि हुन्छ । बाटो भनी दाबी गरिएको उक्त कि.नं.४१४, ४१५ र ४१८ को जग्गा बाटो नभई साबिकदेखि नै कम्पाउण्ड गरी नक्सा पास गरी घर बनाई गेट तथा कम्पाउण्डवालसमेत लगाई भोगचलन गरी आएको निर्विवाद जग्गा हो । फिराद दाबीमा कि.नं.४१८ को जग्गाधनी नारायणदास श्रेष्ठलाई विपक्षी नबनाएको हुँदा प्राकृतिक न्यायको सिद्धान्तविपरीतको फिराद खारेज हुनुपर्ने हो । विपक्षी वादीले यसै बाटोको विवादको विषयमा २०६६।२।२१ मा काठमाडौं महानगरपालिकामा अनाधिकृत रूपले बनाएको गेट भत्काई बाटो खुलाई पाउँ भनी हामीउपर मुद्दा दायर गरेकोमा हामीले प्रतिउत्तरसमेत नफिराएपछि जाँचबुझ र कारबाही फैसला हेर्दा उक्त कि.नं.४१८ को जग्गा निजी भएको भनी उल्लेख भएको थियो । उक्त फैसलाउपर पुनरावेदनसमेत नगरी सोही विषयमा प्रस्तुत मुद्दा दिएको हो । पुनरावेदन अदालतबाट भएको फैसला हेर्दा मुख्यतः नक्सा नं.२९, १४, ३, २ र १ मा बाटो कायम भएको आधार लिएको रहेछ । नक्सा नं.१ नारायणदास श्रेष्ठको जग्गाको पूर्वभागको साबिकदेखिको बाटो हो, सो बाटोबाट विपक्षीको जग्गालाई छुने होइन । नक्सा नं.९, १०, १८ नारायणदास श्रेष्ठको भोग रहेको भन्ने नक्सा मुचुल्काबाट प्रस्ट छ । त्यसमा पनि नक्सा मुचुल्का हुँदा विवादित बाटो भनी लेखिएको सन्दर्भमा हामीहरूको तर्फबाट अरू जग्गा विवादित बाटो नभई नारायणदास श्रेष्ठ र कमला बज्राचार्यको निजी हो भनी जिरह भएको छ । त्यसैगरी पुनरावेदन अदालतको फैसलामा कि.नं.१२४ को जग्गा उमा वैद्यको पालादेखि नै आठ फिटको चलनचल्तीको बाटो देखिन्छ भनी उल्लेख भएको आधार गलत हो । त्यहाँ कुनै किसिमको बाटो रहेको भन्ने कागजात प्रमाण दाखिला भएको अवस्था छैन । विपक्षीले खरिद गर्दा नगरपालिकाबाट के कस्तो बाटो सिफारिसमा नारायणदास श्रेष्ठको कि.नं.४१८ को जग्गाबाट बाटो छ भनी लेखिएको पनि नदेखिएको र उक्त जग्गामा बाटो दिने भनी जग्गाधनीसँग कुनै कागज भएको पनि नदेखिएको अवस्थामा कि.नं.४१८ को जग्गाबाट फलामको गेट खोली बाटो खोली दिनुपर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।२।३२ मा भएको फैसलामा कानूनी त्रुटि विद्यमान हुँदा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने प्रतिवादीहरूको संयुक्त निवेदनपत्र ।
यसमा यही विवादको बाटोको सम्बन्धमा वादी शान्ति जोन्छे वैद्यले यी निवेदकहरू प्रतिवादी कमला बज्राचार्यसमेत उपर काठमाडौं महानगरपालिकामा अनाधिकृतरूपले बनाएको गेट भत्काई बाटो खुलाई पाउँ भनी मुद्दा दायर गरेकोमा वादी दाबी पुग्न नसक्ने ठहर्याई मिति २०६७।३।२ मा निर्णय भई अन्तिम रहेको देखिएकोमा सोही विवादको विषयमा पुन: काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकोमा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू फैसला उल्टी गरी वादी दाबी पुग्ने ठहर्याई पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा मुलुकी ऐन अ.बं.८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को गम्भीर व्याख्यात्मक त्रुटि भई ने.का.प. २०४९ को नि.नं.४६१७ को मुद्दामा (पृष्ठ ८३९) प्रतिपादित सिद्धान्तको प्रतिकूलसमेत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७३।११।१९ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदकहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री सुरेन्द्रकुमार बोगटीले वादीले बाटो भनी दाबी गरेको जग्गा पुनरावेदकहरूको दर्ता तिरो भोगभित्रको जग्गा हो, उक्त जग्गा बाटो भनी जनिएको कुनै पनि प्रमाण पेस नभएको सन्दर्भमा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी दाबी नपुग्ने ठहर्याएको सुरू फैसला सदर गरी इन्साफ होस् भनी बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थीतर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले वादीले जग्गा खरिद गर्नुभन्दा अघिदेखि नै विवादित कि.नं. ४१८ मा कच्ची मोटरबाटो रहेको र घर निर्माणको लागि नक्सा पास गर्दा कच्ची बाटो रहेको भनी वादीले सिफारिस पाई नक्सा पास भएकोमा पछि आएर उक्त जग्गाको मुखमा विपक्षी पुनरावेदकले फलामे ढोका राखी बाटो बन्द गरी बाटो खिचोला गरेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल संलग्न कागजात प्रमाण एवं प्रतिवादीहरूको पुनरावेदन जिकिरसमेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दामा वादी दाबी पुग्ने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन ? र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने प्रश्नमा सीमित रही निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मैले राजीनामा गरी खरिद गरेको कि.नं. ४७८ र कि.नं. १२४ को जग्गासम्म पुग्न कच्ची मोटर बाटोको विषयमा काठमाडौं महानगरपालिकाले क्षेत्राधिकारविहीनरूपमा गरेको निर्णय शून्य छ । स्थानीय टोल छिमेकीहरूको समेत आग्रहमा हामी दुवैपक्षको सहमतिमा मिति २०६७।३।१० मा विपक्षीहरूले पहिलेको फलामे ढोका खुलाई म फिरादीसमेतले हिँड्डुल गर्न पाउने भनी मौखिक सहमतिसमेत भएकोमा उक्त कच्ची मोटरबाटो मिति २०६७।५।२ बाट बन्द गरी म फिरादीलाई बाटो प्रयोग गर्न अवरोध पुर्याएको हुँदा उक्त बाटो खिचोला मेटाई बाटो कायम गरिपाउँ भन्ने मुख्य फिराद दाबी देखियो । दाबीको उक्त कि.नं.४१८ को जग्गा नारायणदास श्रेष्ठको नाउँको निजी जग्गा रहेको, त्यसमा परापूर्वकालदेखि कुनै बाटो पनि नरहेको एवं बाटो दिने कुनै सहमतिसमेत नभएको हुँदा फिराद दाबी झुठा हो भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी भई वादी दाबीबमोजिम न.नं.९ को फलामे ढोका खोली बाटो कायम हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान गर्ने आदेशपश्चात् प्रस्तुत पुनरावेदन दायर हुन आएको देखियो ।
३. प्रतिवादीहरूको पुनरावेदन जिकिर हेर्दा दाबीको जग्गा परापूर्वकालदेखि बाटो नभएको उक्त जग्गा निजी दर्ताको निजी हकभोग स्वामित्वको रहेको, कहिल्यै पनि सो जग्गामा बाटो दिने सहमतिसमेत नभएकोमा निजी दर्ताको जग्गालाई बाटो कायम गरेको फैसला त्रुटिपूर्ण रहेको भन्ने मुख्य बेहोरा देखिन्छ । सुरू अदालतको फैसलाउपर पुनरावेदन अदालत पाटनमा वादीको पुनरावेदन पर्दा आफूले उक्त जग्गा राजीनामा पारित गरी लिँदा नै कि.नं. ४६७ बाटो प्रयोजनको कित्ता कायम भएको थियो । विपक्षीको परिवारको नाममा जग्गा रजिस्ट्रेसन गर्दाको बखत सिफारिस दिँदा कच्ची मोटर बाटो भनी सिफारिस दिएको, कि.नं. ११८ कित्ताकाट हुँदा कि.नं. ५०० बाटो प्रयोजन भनी विपक्षी स्वयंले स्वीकार गरेको विपक्षीका पिताले घर बनाउन नक्सा स्वीकृत गराउँदा कि.नं. ४१८ को उत्तरतर्फ बाटो रहेको भनी निज नारायणदास श्रेष्ठले लेखाई दिएकोसमेतबाट सुरू अदालतको फैसला त्रुटिपूर्ण रहेको भनी जिकिर लिएको देखिन्छ ।
४. यसमा वादी शान्ति जोन्छे वैद्यले खरिद गरेको कि.नं. ४७८ र कि.नं.१२४ को जग्गाहरू निजले खरिद गर्नुपूर्व उमा वैद्य, सरद वैद्य र सचिन वैद्यका नाउँमा संयुक्त दर्ता रहेको र उक्त जग्गामध्ये साबिक कि.नं.४५ को जग्गा निज जग्गाधनीहरू र मोहीबीच २०६३।१०।२१ मा भूमिसुधार कार्यालयमा मिलापत्र भई बाँडफाँड भई कित्ताकाट हुँदा कायम हुन आएका कित्ताहरूमध्ये कि.नं.४७७ मोहीको भागमा परेको र कि.नं.४७८ जग्गाधनीको भागमा परेको भन्ने देखिन्छ । उक्त मिलापत्र हेर्दा कि.नं.४५ को पूर्वतर्फको चलनचल्तीको बाटो छुने गरी उत्तरतर्फ १० फिटको बाटो मोहीले पाउने र कि.नं.४५ बाट सो बाटोसमेत कटाई बाँकी हुन आउने दक्षिणतर्फको बाँकी जग्गा र कि.नं.१२४ को सबै जग्गा जग्गाधनीले पाउने भन्ने देखिन्छ । सुरू अदालतको आदेशानुसार मिति २०६८।४।२३ मा भइआएको नक्सा मुचुल्का हेर्दा कि.नं.४७७ को पश्चिम (न.नं.३३) एवं कि.नं.४७८ (न.नं.२६) को दक्षिण पूर्वमा न.नं.२७ बाटो रहेको भन्ने देखिन्छ । त्यसैगरी न.नं.१ बाटो देखिन आएको, न.नं.२ र ३ पनि बाटो देखिन आएको छ । सोही न.नं.३ सँग जोडिएको न.नं.९ प्रतिवादी नारायणदास श्रेष्ठको भोगमा रहेको विवादित (जग्गा) बाटो भनी जनिएको, सो विवादित न.नं. ९ को बाटो न.नं.१०, ११, १२, २८, २९ र ३० समेतका जग्गासम्म अनवरत रूपमा फैलिएको र उक्त बाटोमा ग्राभेल बिछ्याइएको भन्ने देखिन्छ । सोही बाटोमध्ये न.नं.९ मा छुट्टै पिलर नराखी भइरहेको दुईतिरको वालमा अड्याई फलामे गेट राखिएको भन्ने उक्त नक्सा मुचुल्काको न.नं.९ एवं न.नं. १३ को विवेचनाबाट खुल्न आएको छ ।
५. उपर्युक्त विश्लेषणबाट प्रस्तुत मुद्दाका वादीको कि.नं.४७८ र १२४ को जग्गामा जाने बाटोको रूपमा न.नं.९ को कि.नं.४१८ को जग्गा देखिन आई उक्त जग्गामा रहेको विवादित बाटो रोकिँदा वादीको जग्गाहरूमा आवतजावत बन्द हुन गएको स्थिति देखियो । प्रत्यर्थी वादीको उल्लिखित कि.नं.४७८ र १२४ को जग्गाहरूमा कि.नं.४१८ (न.नं.९) हुँदै साबिकदेखि नै बाटो रहेको भनी काठमाडौं महानगरपालिका ३४ नं.वडा कार्यालयबाट भएको घरबाटो प्रमाणित पत्र र वादीको साक्षी प्रज्वल जोन्छेको बकपत्र बेहोराबाट पनि देखिन आएको छ । माथि उल्लिखित न.नं.१ देखि न.नं.९ हुँदै वादीको जग्गासम्म पुग्ने बाटो रहेको भन्ने कुरालाई प्रतिवादीले खण्डन गरी उक्त जग्गामा जाने बाटो अरू कुनै हो भनी खुलाउन सकेको पनि पाइँदैन । कुनैपनि जग्गा जमिनसम्म पुग्नको लागि परापूर्वकालदेखि नै चलनचल्तीमा रहेको बाटो नापी नक्सामा नजनिएको वा सो जग्गा बाटोको रूपमा प्रयोग भएको र नक्सामा उक्त बाटो कोही कसैको नाममा रहेको पनि हुनसक्छ । कुनै पनि घरजग्गासम्म जाने आउने निकास हुनुपर्ने र पुनरावेदक प्रतिवादीकै साक्षीको बकपत्रबाट सो विवादित जग्गामा मानिसहरूको आवत जावत रहेको भन्ने देखिन्छ । प्रस्तुत विवादमा कि.नं.४७८ र कि.नं.१२४ को जग्गाको लागि यस्तो निकास उक्त न.नं.९ को जग्गा रहेको भन्ने देखिन आउँछ । माथि उल्लिखित भूमिसुधार कार्यालय, काठमाडौंमा भएको मिति २०६३।१०।२१ को मिलापत्रबाट प्रत्यर्थी वादीको जग्गामा जाने बाटो कायम रहे भएको भन्ने देखिएको छ । त्यस्तो होइन, छैन भनी पुनरावेदक प्रतिवादीको पुनरावेदनमा जिकिर लिएको पाइँदैन । प्रत्यर्थी वादीको उक्त जग्गामा जान न.नं. ९ को जग्गाबाहेक अरू कुनै निकास छ भनी पुनरावेदकहरूले जिकिर लिन सकेको पाइँदैन । न्यायका मान्य सिद्धान्तहरूतर्फ नजर गर्दा पनि एकाको स्वामित्वको जग्गाबाट गैरस्वामित्व भएका अन्य व्यक्तिले अनन्तकालदेखि बाटोको रूपमा प्रयोग गरी आएको भए पनि सुविधाधिकारको सिद्धान्तअनुसार त्यस्तो बाटो बन्द गर्न मिल्दैन ।
६. उल्लिखित वादीको कि.नं.४७८ र १२४ को जग्गामा जान न.नं.९ समेतको जग्गा निजी रहेको भनी फलामे ढोका लगाई बन्द गर्दा आवतजावत गर्न पाउने प्रत्यर्थी वादीको नागरिक अधिकारमा आघात पुग्ने देखिन्छ । कायम भइरहेको बाटोमा फलामे ढोका लगाई अवरोध उत्पन्न गरी यी प्रतिवादीले निकास बाटो थुन्ने कार्य गरेको देखिँदा वादी दाबीबमोजिम प्रतिवादीबाट लगाइएको फलामे ढोका खोली बाटो कायम गरिदिने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसलालाई अन्यथा भन्न मिलेन ।
७. वादीले यसै बाटोको विषयमा अनधिकृत रूपले बनाएको गेट भत्काई बाटो खुलाई पाउँ भनी काठमाडौं महानगरपालिकामा मुद्दा दायर गरेकोमा महानगरपालिकाबाट कि.नं. ४१८ को जग्गा निजी जग्गा देखिएको भनी बाटो कायम गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने गरी भएको फैसलाउपर पुनरावेदन नगरी सोही विषयमा जिल्ला अदालतमा फिराद दिन मिल्दैन भन्ने पुनरावेदन जिकिर रहेको पाइन्छ । यस अदालतबाट प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा वादीले काठमाडौं महानगरपालिकामा दायर गरेको मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्याई काठमाडौं महानगरपालिकाबाट भएको निर्णय अन्तिम रहेको देखिएकोमा सोही विवादको विषयमा पुन: काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकोमा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू फैसला उल्टी गरी वादी दाबी पुग्ने ठहर्याई पुनरावेदन अदालत पाटनबाट फैसला भएको देखिएको भन्ने आधार लिएको पाइन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६१ मा नगरपालिका क्षेत्रमा कसैले निर्माण गरेको, गरिरहेको भवनले सार्वजनिक जग्गा, बाटो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिचेको छ, छैन भनी जाँचबुझ गरी पेस हुन आएको प्रतिवेदनबाट कसैले उक्त ऐनबमोजिम अनुमति नलिई वा सार्वजनिक जग्गा, बाटो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिची भवन निर्माण गरेको वा गरिरहेको ठहर गरी प्रमुखले सो भवन वा कुनै भाग भत्काउने गरी आदेश दिएको अवस्थामा सो ऐनको दफा १६२ बमोजिम पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था रहेको पाइन्छ । सो ऐनमा भवन वा कुनै भाग भत्काउने गरी नगरपालिकाको प्रमुखबाट आदेश भएको अवस्थामा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने व्यवस्था रहेको देखिन्छ । महानगरपालिकाबाट कुनै भवन वा कुनै भाग भत्काउन नपर्ने गरी निर्णय भएको अवस्थामा सो निर्णयमा चित्त नबुझ्ने पक्षले पुनरावेदन गर्न पाउने व्यवस्था उक्त ऐनले गरेको देखिएन । प्रस्तुत मुद्दामा महानगरपालिका प्रमुखबाट वादी दाबीबमोजिम गेट भत्काई बाटो खुलाई दिन नपर्ने भनी फैसला गरेको देखिन्छ । बाटो खुलाउन नपर्ने वा भवन वा कुनै भाग भत्काउन नपर्ने गरी नगरपालिका प्रमुखबाट भएको निर्णयउपर पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था नभएको अवस्थामा एक पटक निर्णय भइसकेको भन्ने आधारमा मर्का पर्ने पक्षले कानूनको म्यादभित्रै कानूनी उपचारको बाटो अवलम्बन गर्न नपाउने भन्न नमिल्ने हुँदा यस अदालतबाट निस्सा प्रदान गर्दा लिएको आधारसँग सहमत हुन सकिएन ।
८. तसर्थ माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट फिराद दाबीबमोजिम फलामे ढोका खोली बाटो कायम गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबीबमोजिम न.नं.९ को कि.नं. ४१८ को जग्गामा भएको फलामे ढोका खोली बाटो कायम हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०७२।२।३२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : आत्मदेव जोशी
इति संवत् २०७४ साल मङ्सिर २६ गते रोज ३ शुभम् ।