शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००५१ - कर्तव्य ज्यान र जबरजस्ती करणी

भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

फैसला मिति : २०७४।१।११

०६९-CR-०१३७

 

मुद्दा : कर्तव्य ज्यान र जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला, कल्याणपुर गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय नख्खुमा थुनामा रहेको मदन नारायण श्रेष्‍ठ

विरूद्ध

प्रत्यर्थी / वादी : कृष्ण लामाको जाहेरीले नेपाल सरकार

 

कुनै पनि व्यक्तिलाई यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत तथा न्यायको बर्खिलाप हुन जान्छ । अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई स्वइच्छाबाट भएको नभई शारीरिक तथा मानसिक दबाबमा पारी चरम यातना दिई साबिती हुन लगाएको देखिनुका साथै साबितीलाई अन्य कुनै पनि प्रमाणहरूबाट समेत समर्थन गरी रहेको मिसिल संलग्न प्रमाणहरूबाट नदेखिँदा उक्त साबितीलाई प्रमाणको मूल्याङ्कनको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं.३)

सुनिजान्ने प्रमाणलाई अन्य प्रमाणहरूले शंकारहित तवरले समर्थित नगरेसम्म त्यसलाई प्रमाणको मूल्याङ्कनको रोहमा गौण प्रमाणको रूपमा मात्र लिनुपर्ने हुन्छ । जाहेरी दरखास्तलाई पनि अन्य प्रमाणहरूले समर्थन तथा पुष्टि नगरेसम्म प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने अवस्थामा जाहेरी र बुझिएको व्यक्तिले गरिदिएको सनाखत कागजलाई विश्वास गरी व्यक्त गरिदिएको रायको आधारमा मात्र प्रतिवादीलाई आरोपित कसुर गरेको ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रजित भक्त प्रधानाङ्ग

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश एकराज आचार्य

माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

का.जि.गोंगबु गा.वि.स. वडा नं. ४ स्थित वसन्तबहादुर थापाले सञ्चालन गरेको न्यू लेसपाल गेष्ट हाउसको १०६ नं. कोठामा रिता लामा मोक्तान मृत अवस्थामा रहेकी र उक्त लासको नाकबाट रगत निस्किएको, कानको लोतीको भाग सुन्‍निएको, घाँटीमा हरियो रङ्गको सलले ४ फन्का बेरी कस्सिएको, दाहिने मालाको थल च्यापुको भागमा खोस्रिएको, छाला खुइलिएको, रातो डाम भएको भन्‍नेसमेत बेहोराको लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का ।

मेरी श्रीमती वर्ष ३१ की रीता लामा मोक्तानलाई का.जि.गोंगबु गा.वि.स. वडा नं.४ स्थित वसन्तबहादुर थापाले सञ्चालन गरेको न्यू पर्वत लेसपार गेष्ट हाउसको १०६ नं. कोठामा कर्तव्य गरी मारेकोले मार्नेहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने बेहोराको कृष्ण लामाको मिति २०६०।७।९ को जाहेरी दरखास्त ।

जाहेरवालाकी श्रीमती वर्ष ३१ की रिता लामा मोक्तानलाई मिति २०६०।७।८ गते राति न्यू लेसपार गेष्ट हाउसको १०६ नं. को कोठामा लगी करणीसमेत गरी गाउँले दोहरी साँझ रेष्टुरेण्टमा वियर खुवाई मदहोस बनाई गेष्ट हाउसमा लगी करणी गरी सोही गेष्ट हाउसमा मदननारायण श्रेष्ठ र विष्णु सिलवालसमेतका व्यक्तिहरूले कर्तव्य गरी मारेकाले कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कृष्ण लामाको किटानी जाहेरी । 

मिति २०६०।७।८ गतेका राति हाम्रो गेष्ट हाउसमा आई आफ्नो ठेगाना धादिङ बताई मेरो श्रीमती भनी लेखी १०६ नं. कोठामा बास बस्ने व्यक्ति यिनै हुन् भनी सोही का.जि.गोंगबु ४ स्थित न्यू पर्वत लेसपार गेष्ट हाउसमा काम गर्ने वर्ष १२ को सरोज लामाले मदन नारायण श्रेष्ठलाई गरिदिएको सनाखत कागज ।

मृतक रिता लामाको पोष्टमार्टम हुँदा निजको मृत्यु Ligature Strangulation Coupled With Smothering को कारणबाट भएको भन्ने बेहोराको पोष्टमार्टम प्रतिवेदन ।

पक्राउ परेका प्रतिवादी मदननारायण श्रेष्ठ र निजको साथी तत्काल नाम थाहा नभएका पछि नाम थाहा हुन आएका विष्णु सिलवालसमेतका व्यक्ति र रिता लामा मिति २०६०।७।८ गतेका राति सँगै बसी वियर खाएको हो भन्ने बेहोराको शुष्मा राईले गरेको  कागज ।

मिति २०६७।७।९ गतेका बिहान रिता लामाको कर्तव्य गरी मारेको भनी सुनी थाहा पाएकी हुँ, पछि बुझ्दै जाँदा उक्त घटना मदननारायण श्रेष्ठ र विष्णु सिलवालले कर्तव्य गरी मारेको हो भनी सुनी थाहा पाएकी हुँ भन्ने बेहोराको मिना राईले गरेको कागज ।

मिति २०६०।७।८ गतेका साँझ मृतक रिता लामा, निजकै साथी शुष्मा राई र म मदन नारायण श्रेष्ठ, मेरो साथी विष्णु सिलवालसमेतका व्यक्तिहरू भई का.जि. गोंगबुस्थित गाउँले दोहोरी साँझ रेष्टुरेण्टमा गई वियर मबाहेकका तीनै जनाले खाई बसेका र सोको केही समयपछि हामीहरू मध्येकै सुष्मा राई एक्लै उक्त स्थानबाट गएकी र केही समयपछि म, विष्णु सिलवाल र रिता लामासँगै सोही नजिकमा रहेको न्यु लेसपार गेष्ट हाउसमा सर्वप्रथम म र निज रिता लामा भित्र पसी इन्ट्री गराएका र सोको केही समयपछि विष्णु सिलवाललाई पर्खालबाट भित्र छिराई आफूहरू बसेको कोठामा लगी निज रिता लामासँग करणीसमेत गरेको र तत्पश्चात् हामी केटा मान्छे दुईजना भएको र केटी मान्छे एक्लै भएको कारणले हामी दुवै जनाबीच वादविवाद हुँदा विष्णु सिलवालले मादक पदार्थ खाएको र मलाई पनि यौन तृष्णाले सताएको झोकमा परी हामी दुवै जनाको सल्लाहअनुसार निजलाई करणी गरी निजको घाँटीमा निजकै हरियो रंगको सलले कसी बेरी कर्तव्य गरी मारेका हौं भन्ने बेहोराको पक्राउमा परेका प्रतिवादी मदननारायण श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६०।७।८ गतेका राति का.जि.गोंगबु, गा.वि.स. वडा नं.४ स्थित म वसन्तबहादुर थापाले सञ्चालन गरेको न्यू पर्वत लेसपार गेष्ट हाउसमा तत्काल नाम थाहा नभएका पछि नाम थाहा हुन आएका टिका कार्की भनी इन्ट्री बुकमा आफ्नो नाम इन्ट्री गरी मदननारायण श्रेष्ठले आफ्नो श्रीमती हो भनी इन्ट्री बुकमा नाम उल्लेख भएकी रिता लामासमेतका दुईजना आई मेरो गेष्ट हाउसको १०६ नं. कोठामा सुतेका 

रहेछन् । भोलिपल्ट अबेरसम्म पनि उक्त कोठाको बत्ती खुल्ला अवस्थामा भएपछि किन अहिलेसम्म बत्ती बालेको कोही गेष्टहरू आएछन् कि क्या हो भनी त्यहाँ काम गर्ने केटाहरूलाई भन्दा निज केटाले उक्त कोठामा गई हेर्दा रिता लामा मृत अवस्थामा रहेकी र निजको के कसरी को कसले कर्तव्य गरी मारेको भनी घटनाको सम्बन्धमा बुझ्दै जाँदा गोंगबु बिटमा कार्यरत प्रहरी जवान मदननारायण श्रेष्ठ र विष्णु सिलवाल भन्ने व्यक्तिले निज रिता लामालाई करणीसमेत गरी कर्तव्य गरी मारेको भनी थाहा हुन आएको र सो गेष्ट हाउसमा काम गर्ने सरोज लामासमेतले निज मदननारायण श्रेष्ठलाई सनाखत गरेको कागजको आधार प्रमाणहरूबाट निज मदन नारायण श्रेष्ठसमेतले कर्तव्य गरी मारेको भन्नेमा विश्वास लाग्छ भन्ने बेहोराको बुझिएका मानिस वसन्त थापा र माया थापाको कागज ।

मृतक रिता लामा, मदननारायण श्रेष्ठ र विष्णु सिलवालले मेरो रेष्टुरेन्टमा बसी वियर खाएको र निजहरूले रिता लामालाई करणीसमेत गरी कर्तव्य गरी मारेको कुरा सुनी थाहा पाएको हुँ भन्ने बेहोराको बलबहादुर भट्टचनको कागज ।

मृतक रिता लामालाई कर्तव्य गरी मारेकोतर्फ प्रतिवादीहरू मदननारायण श्रेष्ठ र विष्णु सिलवालउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुर अपराधमा ऐ.महलको १३(३) नं. बमोजिम सजाय हुन र जबरजस्ती करणी गरेको अपराधमा प्रतिवादीहरू मदन नारायण श्रेष्ठ र विष्णु सिलवालउपर मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. प्रतिकूलको कसुर अपराधमा ऐ.महलको ३ नं. को देहाय (३) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग पत्र ।

मलाई कुटपिट गरी विभिन्न कागजहरू बयान तथा सनाखतको कागजमा सही गराएको हो, मैले आफ्नो इच्छाले गरेको होइन । मैले कसैलाई मारेको छैन, म निर्दोष छु । मलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएकोले प्रहरी उपरीक्षकसमेत उपर यातना क्षतिपूर्ति दिलाई विभागीय कारबाहीसमेत गरिपाउँ भन्ने मुद्दा यसै अदालतमा दायर गरेको छु । यस मुद्दामा म निर्दोष हुँदा यस मुद्दाबाट छुटकारा पाउँ भनी प्रतिवादी मदन नारायण श्रेष्ठले अदालतमा गरेको बयान ।

मृतक रिता लामालाई प्रतिवादी मदन नारायणले जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको होइन, घटना घटेको दिन पनि गोंगबु बसपार्कमा डिउटीमा राति १०:३० बजे भेटेको हुँ, निजले मृतक रितालाई कर्तव्य गरी मारेको होइन, निज निर्दोष व्यक्ति भएकोले अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन, निजले सफाइ पाउनुपर्छ भनी प्रतिवादी मदन नारायणका साक्षी जितेन्द्रकृष्ण श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी मदन नारायण श्रेष्ठले मृतक रिता लामालाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेका होइनन् भनी प्रतिवादीका साक्षी भिमसेन श्रेष्ठले गरेको बकपत्र ।

घटना मेरो गेष्ट हाउसमा राति घटेको रहेछ, मैले पछि थाहा पाएँ, उक्त घटना भोलिपल्ट ७:१५ बजेतिर मात्र थाहा भयो । कसले मारेको हो यकिनसाथ भन्न सक्दिन भनी गेष्ट हाउस सञ्चालक वसन्तबहादुर थापाले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी विष्णु सिलवाल फरार रहेको देखिँदा निज प्रतिवादी पक्राउ भई आएमा वा हाजिर भएमा वा निज प्रतिवादीको अंश रोक्का भएको दुई वर्ष पुगेपछि जगाई कानूनबमोजिम कारबाही, किनारा गर्ने गरी फरार रहेका प्रतिवादी विष्णु सिलवालको हकमा अ.बं.१९० नं. बमोजिम मुलतबी राखी दिएको छ । अर्का प्रतिवादी मदन नारायण श्रेष्ठले मृतकलाई कर्तव्य गरी मार्नमा संलग्न भई अभियोग दाबीबमोजिमको कसुर गरेको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. अनुसार जन्मकैदको सजाय हुने ठहर्छ । दण्ड सजायको ८ नं. अनुसार प्रतिवादी मदननारायण श्रेष्ठलाई जन्मकैदको सजाय भइसकेकोले सानो सजायको खत नखापिने भएको हुँदा जबरजस्ती करणीको ३(३) नं. अनुसार प्रतिवादी मदननारायण श्रेष्ठलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबीको सम्बन्धमा केही बोलिरहनु परेन भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।

का.जि.गोंगबु स्थित न्यू पर्वत लेसपार गेष्ट हाउसको कोठा नं. १०६ बुक गरी गेष्ट हाउसको इन्ट्री बुकमा आफैँले टीका कार्की नाम उल्लेख गरी लेखेको र रीता लामाको हत्या गरेको भनी दाबी गरिएपनि म उक्त गेष्ट हाउसमा नगएको कुराको पुष्टि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट भएको हस्ताक्षर जाँचबाट भएको छ । मेरो हातबाट मरेको भनी कुनै पनि प्रमाण तथा बयानलाई अन्य प्रमाणहरूद्वारा समर्थित गर्न सकेको छैन । फौजदारी मुद्दामा शंकारहित तवरबाट पुष्टयाईं हुनुपर्दछ । म पुनरावेदकलाई यातना दिएको भनी काठमाडौं जिल्ला अदालतले ठहर गरेको यातनासम्बन्धी क्षतिपूर्ति मुद्दाले नै मेरो अदालतमा भएको इन्कारी बयानलाई पुष्टि गरिरहेको अवस्था छ । यसरी कानूनी एवं तथ्यगत आधारमा मलाई अभियोग दाबीबमोजिम कसुर ठहर गर्ने गरी गरेको फैसला नमिलेकोले उल्टी गरी फुर्सद दिलाई पाउँ भन्ने पुनरावेदक मदननारायण श्रेष्ठको पुनरावेदन पत्र ।

प्रतिवादीलाई यातना दिइएको भन्ने कुरा यातना क्षतिपूर्तिसम्बन्धी मुद्दामा ठहर भइरहेका अवस्थामा प्रहरीसमक्ष भएको बयानलाई प्रमाणमा लिएको तथा जबरजस्ती करणीतर्फको अभियोग दाबीतर्फ कुनै कुरा नबोली मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. को त्रुटिपूर्ण व्याख्या भएको अवस्थासमेत देखिएकोले सुरू फैसला फरक पर्न सक्ने देखिएकाले छलफलका लागि अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने भन्ने पुनरावेदन अदालत पाटनको 

आदेश ।

जबरजस्ती करणीको वारदात कायम र ठहर गरी सजायसमेत तोकी दण्ड सजायको ८ नं. को बेहोरा उल्लेख गर्नुपर्नेमा सो नगरी केवल दण्ड सजायको ८ नं. को प्रयोग गरेतर्फ हेर्दा यस सम्बन्धमा अभियोजन पक्ष वादी नेपाल सरकारले उक्त इन्साफमा चित्त बुझाई बसी पुनरावेदनसमेत नगरेको हुँदा त्यसतर्फ केही बोलिरहनु परेन । अतः सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।१।२७ मा भएको फैसला सदर हुने भन्ने पुनरावेदन अदालत पाटनको 

फैसला ।

 म पुनरावेदक थुनामा रहेको अवस्थामा डर, त्रासमा परी यातना पाई गरेको बयानलाई आधार मानी स्वतन्त्र निष्पक्ष तवरसँग गरेको बयानलाई पुष्टि गर्न नसकेको भनी गरेको फैसला त्रुटिपूर्ण छ । म थुनामा रहँदा प्रहरी कर्मचारीले यातना दिएको ठहर गरी काठमाडौं जिल्ला अदालतले मिति २०६६।१।२७ क्षतिपूर्ति भराउने फैसला भएको छ । त्यसैगरी गेष्ट हाउसमा इन्ट्री गर्दाको हस्ताक्षरसँग मेरो हस्ताक्षर भिडाउँदा विधि विज्ञान प्रयोगशालाले मेरै हस्ताक्षर भएको पुष्टि गर्न नसकेको कारणबाट पनि मेरो उक्त गेष्ट हाउसमा अनुपस्थिति भएको पुष्टि हुन्छ । होटलको सञ्चालकले अदालतमा बकपत्र गर्दा आफूलाई घटनाको बारेमा थाहा नभएको र क-कसले कसरी मारेको पनि थाहा नभएको भनी गरेको बकपत्रबाट समेत मेरो निर्दोषिता पुष्टि हुन्छ । जाहेरी दरखास्त र बुझिएका मानिसले विश्वास लाग्छ भनी हचुवाको भरमा व्यक्त गरेका कुराका आधारमा कसुरको ठहर गर्नु न्याय कानूनसमेतबाट नमिल्ने हुँदा प्रस्तुत मुद्दामा काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला बदर गरी मलाई सफाइ दिलाई न्याय इन्साफ गरिपाउँ भनी प्रतिवादी मदन नारायण श्रेष्ठको यस अदालतमा परेको पुनरावेदन पत्र ।

अनुसन्धान अधिकारीसमक्ष प्रतिवादीको साबिती बयान भए पनि कसुरमा इन्कार रही निजले अदालतसमक्ष बयान गरेकोमा प्रतिवादीको मौकाको साबिती बयानलाई समर्थन गर्ने प्रमाणहरू वादी पक्षबाट पेस हुन नसकेको, निजले गेष्ट हाउसको ईन्ट्री किताबमा कोठा नं. १०६ मा बस्नको लागि लेखिएको विवरणको हस्ताक्षरको परीक्षण हुँदा प्रतिवादीको नमूना हस्ताक्षरसँग नमिलेको भन्ने विशेषज्ञको राय प्राप्त भइरहेको अवस्थामा मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन नगरी अभियोग दाबीबमोजिम पुनरावेदक प्रतिवादीलाई कसुरदार ठहर गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सबुत प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अं.बं. २०२ नं. को प्रयोजनको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई प्रत्यर्थी झिकाउने भन्ने यस अदालतको आदेश ।

नियमबमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको सुरू मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रजित भक्त प्रधानाङ्गले थुनामा रहेको अवस्थामा प्रहरी कर्मचारीले चरम यातना दिई, डर, त्रासमा परी, साबिती बयान कागजमा सहिछाप गर्न लगाएको ठहर गरी काठमाडौं जिल्ला अदालतले मिति २०६६।१।२७ क्षतिपूर्ति भराउने फैसला हुनुका साथै गेष्ट हाउसमा इन्ट्री गर्दाको हस्ताक्षरसँग प्रतिवादी मदन नारायण श्रेष्ठको हस्ताक्षर भिडाउँदा नमिल्नुसमेतबाट निज उक्त गेष्ट हाउसमा अनुपस्थिति रहेको तथा निर्दोष भएको पुष्टि भइरहेको छ । होटलको सञ्चालकले अदालतमा बकपत्र गर्दा आफूलाई घटनाको बारेमा थाहा नभएको र क-कसले कसरी मारेको पनि थाहा नभएको भनी गरेको बकपत्र, जाहेरी दरखास्त र बुझिएका मानिसले विश्वास लाग्छ भनी हचुवाको भरमा व्यक्त गरेका कुराका आधारमा आरोपित कसुरको ठहर गर्नु न्याय कानूनसमेतबाट नमिल्ने हुँदा काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई न्याय इन्साफ गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराईले शव परीक्षण प्रतिवेदन, लास जाँच मुचुल्का, बुझिएका वसन्तबहादुर थापाले गरेको बकपत्रसमेतबाट मृतक रिता लामाको मृत्यु कर्तव्यबाट भएको तथ्य पुष्टि भइरहेको छ । यो प्रतिवादीसमेतको संलग्नतामा मृतकको कर्तव्यबाट मृत्यु भएको हुँदा यी प्रतिवादीलाई कसुरदार ठहर गरेको सुरू काठामाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

अब पुनरावेदन अदालत पाटनले सुरू काठमाडौं जिल्ला अदलतबाट भएको फैसला सदर गरेको मिलेको छ छैन ? र प्रतिवादी मदन नारायण श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भनी निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मदननारायण श्रेष्ठसमेतले २०६०।७।८ गते राति का.जि.गोंगबु, गा.वि.स. वडा नं.४ स्थित न्यू पर्वत लेसपार गेष्ट हाउसको १०६ नं. कोठामा रीता लामा मोक्तानलाई जबरजस्ती करणी गरिसकेपछि कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धीको १ र १३(३) नं. तथा जबरजस्ती करणीको महलको १ नं. को कसुरमा ज्यानसम्बन्धी महलको १३(३) नं. र जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेकोमा, प्रतिवादी मदन नारायण श्रेष्ठलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. को कसुर कायम गरी १३(३) नं. बमोजिम सजाय गरेपछि दण्ड सजायको ८ नं. को व्यवस्थाअनुसार जन्मकैदको सजाय भएपछि अरू सजाय हुने खत नखापिने हुँदा जबरजस्ती करणीको ३(३) नं. बमोजिम सजाय हुने हो होइन ? भन्ने सम्बन्धमा केही बोलिरहन परेन भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर प्रतिवादी मदन नारायण श्रेष्ठको पुनरावेदन परी पुनरावेदन अदालत पाटनले सुरू निर्णय सदर गरेउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।

३. प्रतिवादी मदननारायण श्रेष्ठले आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान स्वइच्छाले गरेको नभई यातना दिई गराइएको भन्ने अदालतमा गरेको बयान र पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा निज प्रतिवादी मदननारायण श्रेष्ठ वादी र प्रतिवादी उपत्यका अपराध अनुसन्धान शाखा हनुमानढोका काठमाडौंमा कार्यरत मिनबहादुर रावलसमेत भएको २०६० फौ.नं. १९/२५९ को यातना क्षतिपूर्ति मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।१।२७ मा वादीदाबी ठहर गरी निज मदन नारायण श्रेष्ठलाई यातनाबाट परेको पीडा एवं क्षतिको आधारमा रू. ४०,०००।– क्षतिपूर्ति नेपाल सरकारबाट भराई पाउने फैसला भएको देखिन्छ । उक्त फैसलाबाट अनुसन्धानका क्रममा प्रस्तुत मुद्दाका निज प्रतिवादी मदननारायण श्रेष्ठलाई आफ्नो विरूद्धमा बयान गर्न चरम शारीरिक तथा मानसिक यातना दिई साबिती हुन लगाएको पुष्टि हुनआयो । कुनै पनि व्यक्तिलाई यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत तथा न्यायको बर्खिलाप हुन जान्छ । अतः निज प्रतिवादी मदन नारायण श्रेष्ठले अनुसन्धानको क्रममा अख्तियारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई स्वइच्छाबाट भएको नभई शारीरिक तथा मानसिक दबाबमा पारी चरम यातना दिई साबिती हुन लगाएको देखिनुका साथै उक्त साबितीलाई अन्य कुनै पनि प्रमाणहरूबाट समेत समर्थन गरिरहेको मिसिल संलग्न प्रमाणहरूबाट नदेखिँदा उक्त साबितीलाई प्रमाणको मूल्याङ्कनको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न मिलेन ।

४. वारदातको दिन मिति २०६०।७।८ मा प्रतिवादी मदननारायण श्रेष्ठ आफू ड्युटीमा नै रहेको र लेसपार गेष्ट हाउसमा नगएको भन्ने जिकिरतर्फ हेर्दा उक्त घटना घटेको राति १०:३० बजे गोंगबु बसपार्कमा ड्युटी गरेको अवस्थामा भेटेको हुँ भनी प्रतिवादीका साक्षी जितेन्द्रकृष्ण श्रेष्ठ र भिमसेन श्रेष्ठको बकपत्रले प्रतिवादीको जिकिर समर्थन गरिरहेको देखिन्छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विवादित प्रलेख ईकाई परीक्षण प्रतिवेदनमा विशेषज्ञले व्यक्त गरेको रायअनुसार लेसपार गेष्ट हाउसको कोठा नं. १०६ मा बस्नको लागि इन्ट्री बुकमा लेखिएको विवरणको हस्ताक्षरसँग निज प्रतिवादी मदन नारायण श्रेष्ठको हस्ताक्षर मेल खाँदैन भन्नेसमेतको प्रतिवेदन रहेको देखिँदा निज प्रतिवादी उक्त मितिमा वारदातस्थल लेसपार गेष्टहाउसमा गई बसी उक्त वारदातमा संलग्न रही घटना घटाएको भन्ने वादी दाबी विश्वसनीय देखिएन । साथै गेष्ट हाउस सञ्चालक वसन्तबहादुर थापाले कसले मारेको हो यकिन भन्न सक्तिन भनी अदालतमा गरेको बकपत्रबाट समेत अभियोग दाबी पुष्टि भएको देखिएन ।

५. मौकामा बुझिएका वसन्तबहादुर थापा उक्त वारदातको चस्मदिद / प्रत्यक्षदर्शी नभई सरोज लामाले गरिदिएको सनाखत कागजलाई विश्वास गरी मृतक रिता लामाको कर्तव्यमा निज प्रतिवादीको संलग्नता रहेको भनी बकपत्र गरेको देखिन्छ । निज वसन्तबहादुर थापाको बकपत्रको स.ज.नं. ८ मा “प्रतिवादी मदन नारायण श्रेष्ठ गेष्ट हाउसमा सुतेको भन्ने उल्लेख गरेको हुँदा सो सनाखतलाई विश्वास गरेको हुँ” भनी सनाखतलाई आधार मानी भएको बकपत्रलाई प्रमाणको मूल्याङ्कनमा शंकारहित विश्वसनीय प्रमाणको रूपमा लिन मिलेन । सुनिजान्ने प्रमाणलाई अन्य प्रमाणहरूले शंकारहित तवरले समर्थित नगरेसम्म त्यसलाई प्रमाणको मूल्याङ्कनको रोहमा गौण प्रमाणको रूपमा मात्र लिनुपर्ने हुन्छ । जाहेरी दरखास्तलाई पनि अन्य प्रमाणहरूले समर्थन तथा पुष्टि नगरेसम्म प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने अवस्थामा मृतकको पति कृष्ण लामाको जाहेरी र बुझिएको वसन्तबहादुर थापाले अर्को व्यक्तिले गरिदिएको सनाखत कागजलाई विश्वास गरी व्यक्त गरिदिएको रायको आधारमा मात्र निज प्रतिवादी मदन नारायण श्रेष्ठलाई आरोपित कसुर गरेको ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलासँग सहमत हुन सकिएन ।

६. वादी दाबी पुष्टि हुनको लागि पेस भएको प्रमाणहरू शंकारहित तवरबाट एकअर्काबीच निरन्तर समर्थन गरिरहेको हुनु आवश्यक हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी मदन नारायण श्रेष्ठले आरोपित कसुरमा अदालतमा इन्कारी बयान गरेको देखिन्छ भने निज प्रतिवादीको मौकाको साबिती बयान स्वेच्छाको नभएको पुष्टि भएको र उक्त साबिती बयानलाई समर्थन गर्ने प्रमाणहरू वादी पक्षबाट पेस गर्न सकिरहेको मिसिल संलग्न प्रमाणहरूबाट देखिँदैन । यसरी प्रतिवादी आरोपित कसुरमा इन्कार रही निजको निर्दोषिताको सम्बन्धमा वारदात भएको भनिएको लेसपार गेष्ट हाउसको ईन्ट्री बुकमा कोठा नं.१०६ मा बस्नको लागि लेखिएको विवरणको हस्ताक्षरको परीक्षण हुँदा प्रतिवादीको नमूना हस्ताक्षरसँग नमिलेको भन्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विशेषज्ञले व्यक्त गरेको राय तथा काठमाडौं जिल्ला अदालतको मिति २०६६।१।२७ को २०६० फौ. नं. १९/२५९ को यातना क्षतिपूर्ति मुद्दाको फैसलाबाट निज प्रतिवादीलाई नियन्त्रणमा लिई चरम यातना दिई आरोपित कसुरमा साबित गराइएको पुष्टि भइरहेको अवस्थासमेतबाट निज प्रतिवादी मदन नारायण श्रेष्ठ निर्दोष नै रहेको देखिँदा, शंकाको आधारमा दिएको किटानी जाहेरी र अर्को व्यक्तिले गरिदिएको सनाखतलाई मात्र विश्वास गरी भनेको आधारमा आरोपित कसुर ठहर्‍याई जन्मकैद गरेको काठमाडौं जिल्ला अदालतको मिति २०६६।१।२७ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।२।२ को फैसला उल्टी हुने र प्रतिवादीले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी मदन नारायण श्रेष्ठलाई सुरू काठमाडौं जिल्ला अदालतले जन्मकैद हुने गरी भएको मिति २०६६।१।२७ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।२।२ को फैसला उल्टी भई प्रतिवादी मदन नारायण श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले सुरू काठमाडौं जिल्ला अदालतले यी प्रतिवादीका नाउँमा कसेको जन्मकैदको लगत कट्टा गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ....................................................... १

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइ दिनू .................................. २

 

उक्त रायमा सहमत छु ।

न्या.केदारप्रसाद चालिसे

 

इजलास अधिकृत : गीता श्रेष्‍ठ

इति संवत् २०७४ साल वैशाख ११ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु