शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००५९ - अपहरण तथा शरीर बन्धक

भाग: ६० साल: २०७५ महिना: कार्तिक अंक:

सर्वोच्‍च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

फैसला मिति : २०७४।७।६

 

मुद्दाः अपहरण तथा शरीर बन्धक

 

०६९-CR-०६५६

पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी कोशिला देवी महतो

विरूद्ध

प्रत्यर्थी / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार

०७०-CR-०२२२

पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी अनितादेवी धोबी बैठा

विरूद्ध

प्रत्यर्थी / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार

 

०७१-CR-०१७१

पुनरावेदक / वादी : सिताराम महतोको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार शाखा कार्यालय महोत्तरीमा थुनामा रहेकी अनितादेवी धोबी बैठा

 

सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वभाविक सामाञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्न पर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने । 

(प्रकरण नं.६)

कसुरजन्य कार्यमा कसुरदारको सहभागिताको संख्याले थप सजाय हुने र पीडित नाबालक वा महिला विरूद्ध कसुर गरेकोमा हुने थप सजायको कानूनी व्यवस्थाले अलगअलग आपराधिक दायित्व रहने भएर नै अलगअलग थप सजायको कानूनी व्यवस्था गरिएको हो । उक्त ७ र ९ नं. मा उल्लिखित अलगअलग प्रकृति र तत्त्वहरू विद्यमान भएको अवस्थामा कुनै एउटा कानूनी व्यवस्थाले गर्नुपर्ने थप सजाय मात्र गरिने हो भने अलगअलग थप सजाय हुने कानूनी व्यवस्थाको कुनै प्रयोजन नै रहन नजाने ।

(प्रकरण नं.१४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ शाखा अधिकृत श्री प्रतिमा दाहाल

अवलम्बित नजिर :

नेकाप २०६१, नि.नं.७४११, पृ.८९३

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री ओमकार उपाध्याय

सर्लाही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री पोषनाथ शर्मा 

माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल

पुनरावेदन अदालत जनकपुर

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यसप्रकार रहेको छः- 

मिति २०६७/४/२ गते मेरो काकाको कालगतिले मृत्यु भई उक्त दिन श्राद्ध परेको हुँदा म र मेरो जेठो छोरा दिनभरि काकाको घरमा कामकाज गरिरहेका थियौं । मेरो भर्खर जन्मेको छोरा अविनाश महतोको रेखदेख गर्नको लागि मेरो श्रीमती कसैकीमा सोही दिन अन्दाजी १७:३० बजेको समयमा नाबालक छोरालाई घरमा एक्लै छोडी श्राद्ध हेर्न गएको अवस्थामा मेरो गाउँकै कोशिलादेवी महतो र अनिता धोबीले नाबालक छोरालाई अपहरण गरी लगी जिल्ला सर्लाही मधुवनगोठ गाउँ विकास समिति वडा नं. ३ मा बस्ने रामभरोस रायको एकान्तमा रहेको गोठमा बन्धक बनाई राखेको अवस्थामा सोही राति अन्दाजी १:४५ बजेको समयमा प्रहरीको सहयोगमा उद्धार गरी मुक्त गरेको हुँदा निजहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्‍ने बेहोराको सिताराम महतोको जाहेरी दरखास्त । 

जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ स्थित पूर्वमा रामनारायण महतोको खपडाको घर, पश्‍चिममा सिताराम महतोको खाली जग्गा, उत्तरमा रामविनोद महतोको एकतले घर, दक्षिणमा योगेन्द्र महतोको खपडाको घर यति ४ किल्लाभित्र पूर्व मोहडा गरी बनेको सिताराम महतोको खपडा घर सो घरको पश्‍चिमतर्फको कोठामा रहेको बच्‍चा अपहरण गरी लगेको भन्‍ने बेहोराको घटनास्थल मुचुल्का । 

मलाई जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ मा बस्ने कोशिलादेवी महतोले मेरो देवरले हेप्‍ने झैझगडा गर्ने जग्गाको विषयमा वादविवाद गर्ने गर्छ । निजको छोरालाई अपहरण गरी भारतमा लगी बन्धक बनाएपछि फिरौती मागी आधा आधा गर्न भनेको हुँदा मेरो पनि आर्थिक अवस्था कमजोर भएकोले सहमति जनाई अपहरण गरी भारततर्फ लान लाग्दा जिल्ला सर्लाही मधुवनगोठ गाउँ विकास समिति वार्ड नं.३ स्थित पुग्दा प्रहरी र स्थानीय मानिसहरूलाई देखी बच्चा छाडी भागेका हौं । फिरौती रकम माग गर्न पाएनौं । फिरौती नदिएमा मेरो बहिनीको छोरा छोरी छैन अपहरण गरी ल्याएको बालक निजलाई दिए म तिमीलाई रू.१०,०००।- दश हजार दिन्छु भनेकै थिए भन्ने बेहोराको प्रतिवादी अनिता देवी धोबीको बयान । 

मेरो देवर जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वार्ड नं.९ बस्ने जाहेरवाला सिताराम महतोले मलाई हेप्ने, जग्गाको विषयमा सधैँ झै-झगडा गर्ने कुटपिट गर्ने हुँदा निजसँग बदला लिनु पर्‍यो भनी सोची जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं.८ मा बस्ने अनितादेवी धोबी भएको स्थानमा गई मलाई देवरले सधैँ हेप्ने गर्छ बदला लिनु पर्‍यो सहयोग गर भन्दा कस्तो सहयोग हो भनेपछि निज नाबालक छोरा अविनाश महतोलाई अपहरण गरी फिरौती रकम नदिएमा मेरो बहिनीको छोराछोरी छैन उसलाई नै दिने । म तिमीलाई रू.१०,०००।- दिन्छु भनेपछि हुन्छ भनी मिति २०६७।४।१२ गते १७:३० बजेको समयमा जाहेरवालाको घरमा कोही नभएको मौका पारी नाबालक छोरालाई अपहरण गरी लिई भारततर्फ जान लाग्दा जिल्ला सर्लाही मधुवनगोठ गाउँ विकास समिति वडा नं.३ मा पुग्दा रात परी सो ठाउँमा रहेको रामभरोष रायको एकान्त कोठामा राखेको अवस्थामा रातको करिब १:४५ बजे प्रहरीसमेतको टोलीले देखी अपहरित बालकलाई त्यहीँ छोडी भागेको हो भन्ने बेहोराको प्रतिवादी कोशिलादेवी महतोको बयान । 

जाहेरी दरखास्त, प्रतिवादीहरू अनितादेवी धोबी र कोशिलादेवी महतोको बयान बेहोरासँग एकै मिलान हुने राजकिशोर महतोसमेतले गरेको मौकाको कागज । 

प्रतिवादीहरू अनितादेवी धोबी र कोशिलादेवी महतोले जाहेरवाला सिताराम महतोसँग पूर्वरिसइवी साँध्न र फिरौती रकमसमेत असुल गर्ने उद्देश्यले जाहेरवालाको ३ महिनाको छोरा अविनाश महतोलाई अपहरण गरी शरीर बन्धक राखेको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर अपराध भएको हुँदा निज प्रतिवादीहरूउपर ऐ. महलको ३ नं. बमोजिम सजाय हुन र ऐ. महलको ७ र ९ नं. बमोजिम थप सजाय हुन र ऐ. महलको १२ नं. बमोजिम पीडित अविनाश महतोलाई प्रतिवादीबाट क्षतिपूर्ति भराई दिनेसमेत मागदाबी ।

जाहेरी बेहोरा सुनाउँदा सुनेँ । जाहेरी बेहोरा झुठा हो । मैले भतिजाको अपहरण गरेको छैन । बच्चा अपहरण गर्नमा मेरो कुनै हात छैन । मैले कसुर गरेको छैन । म निर्दोष छु भन्नेसमेत बेहोराको अभियुक्त कौशिलादेवी महतोले सुरू अदालतमा गरेको बयान । 

जाहेरी बेहोरा सुनाउँदा सुनेँ, मैले बच्चा अपहरण गरेको छैन । मेरो हकमा जाहेरी झुठा हो । बच्चा मैले कहिल्यै देखेको छैन भन्नेसमेत बेहोराको अभियुक्त अनितादेवी बैठाले सुरू अदालतमा गरेको बयान । 

जाहेरवालाले मेरो बुबा असक्त भएको फाइदा लिनलाई मेरो आमालाई जेलमा राखी भएभरको सम्पत्ति लिनलाई गाउँघरको व्यक्तिहरूको उक्साहटमा परी झुठ्ठा जाहेरी गरेका हुन्‌ भन्नेसमेत बेहोराको प्रतिवादी कौशिलादेवी महतोका साक्षी कृष्णनन्दन महतोले गरेको बकपत्र । 

मैले जाहेरी दर्खास्त दिएको हुँ । शंकाको भरमा कौशिल्यादेवीको नाम पनि दिएको थिए । तर बच्चा बरामद हुँदा निज कौशिल्यादेवी महतो त्यहाँ थिइनन् भन्नेसमेत बेहोराको जाहेरवाला सिताराम महतोले बकेको बकपत्र । 

मिति २०६७।४।१२ गतेका दिन म आफ्नै गाउँ घरमा थिएँ । यी जाहेरवालाको छोरालाई गाउँकै अनिता धोबी नाम गरेकी स्वास्नी मानिसले अपहरण गरी लगेका थिए । पछि जाहेरवालाले गाउँकै सहयोग मद्दत लिई खोजतलास गर्दै जाँदा यसै जिल्लाको मधुवनगोठ गा.वि.स.मा फेला परेको हो भनीसमेत बेहोराको घटना विवरणको कागज गर्ने रामललित महतोले गरेको बकपत्र । 

यी प्रतिवादीहरू कोशिलादेवी महतो र अनितादेवी धोबीले ३ महिनाको बच्चा अविनाश रायलाई रकम फिरौती लिने उद्देश्यले अपहरण गरी भारततर्फ लैजाने क्रममा बाटोमा पक्राउ परेको भन्ने पुष्टि भएकोले निजहरूलाई अभियोग दाबीअनुसार अपहरण तथा बन्धक लिनेको ३ नं. बमोजिम जनही ७ वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने ठहर्छ । साथै दुईजना व्यक्ति मिली महिना ३ की बच्चालाई अपहरण गरेकोले ऐ.को ७ र ९ नं. बमोजिम थप जनही २ वर्ष कैद हुने ठहर्छ । क्षतिपूर्तितर्फ १२ नं. बमोजिम भराई रहनु परेन भन्‍ने सुरू सर्लाही जिल्ला अदालतको मिति २०६७।११।११ को फैसला ।

चश्मदिद गवाहको अभाव रहेको छ । मौकाको बयान स्वेच्छाको होइन । बच्‍चा बरामदी भएको मुचुल्का छैन । मौकाको कागज गर्नेहरूको प्रमाण ऐन, २०३१ को दफा १८(ख) बमोजिम अदालतमा आई बकपत्र हुन सकेको छैन । मौकाको कागज गर्ने कृष्णनन्दनले अदालतमा बकपत्र गर्दा म वारदातमा संलग्न नरहेको पुष्टि गरिदिएका छन् । शंकाको भरमा कसुर कायम गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा अभियोग दाबीवाट सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी कोशिलादेवी महतोको पुनरावेदनपत्र । 

मबाट बच्चा बरामद भएको मुचुल्का छैन । चश्मदिद गवाहको अभाव रहेको छ । मौकाको बयान स्वेच्छाको होइन । बच्‍चा बरामदी भएको मुचुल्का 

छैन । प्रतिवादीसँग मेरो कुनै रिसइवी रहेको छैन । मौकाको कागज गर्नेहरूको प्रमाण ऐन, २०३१ को दफा १८(ख) बमोजिम अदालतमा आई बकपत्र हुन सकेको छैन । शंकाको भरमा कसुर कायम गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा अभियोग दाबीवाट सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी अनितादेवी धोबीको 

पुनरावेदनपत्र । 

प्रतिवादीहरूलाई सुरूले गरेको जरिवानाको हकमा अपुग देखिएको र अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १२ नं. बमोजिम प्रतिवादीवाट पीडितलाई क्षतिपूर्ति नभराएको हकसम्म सुरू फैसला त्रुटिपूर्ण हँुदा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

यसमा दुवैपक्षको पुनरावेदन परेको देखिँदा नेपाल सरकारको पुनरावेदनपत्रको प्रतिलिपिसहितको जानकारी प्रतिवादीहरूलाई दिनु साथै प्रतिवादीहरूको पुनरावेदनपत्रको प्रतिलिपिसहितको पेसीको सूचना पुनरावेदन सरकारी वकिलको कार्यालय जनकपुरलाई दिई नियमानुसार गरी पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत जनकपुरको मिति २०६९।१।६ को आदेश । 

अत: प्रतिवादीहरू कोशिलादेवी महतो र अनितादेवी धोबीले बच्चा अपहरण गरी बिक्री गर्ने तथा फिरौती लिने उद्देश्य समाहित भएको प्रस्तुत मुद्दामा निज प्रतिवादीहरूउपर अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. अनुरूप जनही रू.५०,०००।- जरिवाना गर्नुपर्नेमा जनही रू.२५,०००।- जरिवाना गरेको तथा सोही महलको १२ नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई जनही रू.५००।- क्षतिपूर्ति भराई दिनुपर्नेमा नभराएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६७।११।११ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत जनकपुरको मिति २०६७।११।११ को फैसला । 

प्रस्तुत मुद्दामा प्रमाणको सूक्ष्म न्यायिक विवेचना भएको छैन । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसुर प्रमाणित गर्ने भार वादी पक्षको भएकोमा शंकारहित तवरले कसुर प्रमाणित हुन सकेको छैन । अपहरण तथा शरीर बन्धकको वारदात स्थापित नभइकन सजाय गर्न मिल्ने होइन । मौकामा कागज गर्ने राम भरोसको अदालतमा भएको बकपत्रको अवमूल्यन भएको छ । चश्मदिद गवाहको अभाव रहेको छ । घटना विवरणको कागज गर्नेहरू राजकिशोर महतोसमेतले अदालतमा आई घटना विवरणलाई पुष्टि गर्न / गराउन सकेको पाइँदैन । वारदात भएको भनिएको दिन पूरै समय घरमै छु । जग्गासम्बन्धी विवाद भएको कारणले मात्र मेरो नाम जाहेरी दरखास्तमा पारेकोसम्म हो । मेरो साक्षी कृष्णनन्दन महतोको बकपत्रबमोजिम पनि म निर्दोष रहेकाले पुनरावेदन अदालतले गरेको फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने कोशिला देवी महतोको पुनरावेदनपत्र ।

प्रहरीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको होइन । प्रहरीले भनेबमोजिम तयार गरेको कागजमा सहिछापसम्म गरिदिएको हो । हचुवा किटानी जाहेरीको आधारमा मात्र सजाय गर्न मिल्ने होइन । जाहेरी र बकपत्र एकआपसमा बाझिएको छ । अपहरण तथा शरीर बन्धक लिने कार्य भएको 

छैन । अनुसन्धानमा भएको साबिती बयानलाई प्रमाणमा लिने र अदालतमा भएको इन्कारी बयानलाई प्रमाणमा नलिने गर्न पाइँदैन । थुनामा रहेको अवला नारीले आफैँ प्रमाण जुटाउने भन्‍ने कुरा सम्भव रहेको छैन । आरोपित कसुर नगरी निर्दोष रहेकाले मिसिल संलग्न विद्यमान परिस्थितिजन्य प्रमाणको यथोचित मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ८, २५, ५४ र अ.बं. १८४क तथा अ.बं. १८५ नं. को त्रुटि रहेकाले अभियोग दाबीबमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने प्रतिवादी अनितादेवी धोबी बैठाको पुनरावेदनपत्र ।

प्रतिवादीहरू कोशिलादेवी र अनितादेवी धोबी दुईजना भई ३ महिनाको अविनाश महतोलाई अपहरण गरी बन्धक बनाएकाले सो कसुर मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १, ७ र ९ नं. को विपरीत भएकाले दुईजना मिली गरेकाले २ वर्ष थप हुने र सो अपराध बालबालिका र महिलाले गरेको भए अर्को २ वर्ष थप गरी सजाय गर्नुपर्नेमा कसुर कायम गरी सजाय थप नगरेको मिलेन । अभियोग माग दाबीबमोजिम कसुर ठहर भएपछि सोहीबमोजिम सजाय हुनुपर्छ । उक्त ७ र ९ नं. को व्यवस्था अलगअलग भएकाले सजाय पनि अलगअलग गर्नुपर्ने हुन्छ । सोबमोजिम नभएको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम नै अलगअलग कसुरमा अलगअलग सजाय गरिपाउँ भन्‍ने नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा वादी नेपाल सरकार तथा प्रतिवादीहरूका तर्फबाट दोहोरो पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवै पक्षलाई एक अर्कोको पुनरावेदन पत्र सुनाई नियामानुसार पेस गर्नू भन्ने पुनरावेदन अदालतको मिति २०७२।१२।२६ को आदेश । 

साप्‍ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ शाखा अधिकृत श्री प्रतिमा दाहालले प्रतिवादीहरू दुईजना भई तीन महिनाको बालकलाई अपहरण तथा शरीर बन्धकको कसुर अपराध गरेको पुष्टि गरी अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ र ९ नं. बमोजिम दुई दुई वर्ष गरी चार वर्षको सजाय गर्नुपर्नेमा दुई वर्षको मात्र थप सजाय गरेको मिलेको छैन । ७ र ९ नं.को अलग अलग व्यवस्था हो । अलग अलग कसुर कायम गरी एउटा कसुरमा मात्र गरेको सजाय नमिलेकाले पुनरावेदन अदालतले अभियोग दाबीबमोजिम सजाय नगरेको हदसम्म उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

उपर्युक्त कानून व्यवसायीले गर्नुभएको बहस तथा मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ, छैन ? अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्‍ने प्रतिवादीहरूको र अभियोग दाबीबमोजिम सजाय गर्नुपर्छ भन्‍ने नेपाल सरकारको पुनरावेदन जिकिर रहेकोमा पुनरावेदन अदालतको मिति २०६९।३।२० को फैसला मिलेको छ, छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, जाहेरवालाको ३ महिनाको छोरा अविनाश महतोलाई अपहरण गरी शरीर बन्धक राखेको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर अपराध भएको हुँदा निज प्रतिवादीहरूउपर ऐ. महलको ३ नं. बमोजिम सजाय हुन र ऐ. महलको ७ र ९ नं. बमोजिम थप सजाय हुन र ऐ. महलको १२ नं. बमोजिम पीडित अविनाश महतोलाई प्रतिवादीबाट क्षतिपूर्ति भराई दिनेसमेत मागदाबी भएको पाइयो । सुरू अदालतबाट फैसला हुँदा जनही ७ वर्ष कैद र रू.२५,०००।- जरिवाना हुने ठहर्छ, साथै दुईजना व्यक्ति मिली ३ महिनाको बच्चालाई अपहरण गरेकोले ऐ.को ७ र ९ नं. बमोजिम थप जनही २ वर्ष कैद हुने ठहराई क्षतिपूर्तितर्फ १२ नं. बमोजिम भराई रहनु परेन भन्‍ने फैसलाउपर दुवै पक्षको पुनरावेदन परेकोमा जनही 

रू.५०,०००।- जरिवाना गर्नुपर्नेमा जनही रू.२५,०००।- जरिवाना गरेको तथा सोही महलको १२ नं. बमोजिम प्रतिवादीहरूबाट पीडितलाई जनही रू.५००।- क्षतिपूर्ति भराई दिनुपर्नेमा नभराएको हदसम्म सुरूको फैसला उल्टी भएको देखियो । उक्त फैसलाउपर पनि दुवै पक्षको पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको पाइयो । 

३. मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुरमा ऐ. महलको ३ नं. बमोजिमको सजाय, ऐ. को ७ र ९ नं. बमोजिम थप सजाय, र ऐ. महलको १२ नं. बमोजिम क्षतिपूर्तिको मागदाबी भएको प्रस्तुत मुद्दामा सर्वप्रथम अभियोग दाबीबमोजिमको वारदात भएको हो होइन भन्ने प्रश्नको निरूपण गर्नुपर्ने देखिन आयो । सो सन्दर्भमा हेर्दा, मिति २०६७/४/२ गते अन्दाजी १७:३० बजेको समयमा ३ महिनाको नाबालक छोरा अविनाशलाई मेरो गाउँकै कोशिलादेवी महतो र अनितादेवी धोबीले अपहरण गरी लगी जिल्ला सर्लाही मधुवनगोठ गाउँ विकास समिति वडा नं. ३ स्थित रामभरोस रायको गोठमा बन्धक बनाई राखेको अवस्थामा सोही राति अन्दाजी १:४५ बजेको समयमा प्रहरीको सहयोगमा उद्धार गरी मुक्त गरेको हुँदा निजहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्‍ने बेहोराको सिताराम महतोको किटानी जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । 

४. उक्त जाहेरी दरखास्तलाई पुष्टि हुने किसिमको प्रहरी सञ्चार र सिताराम महतोको घरको घटनास्थल मुचुल्का भएको देखिन्छ । प्रहरी सञ्चारले बच्चा अपहरण भएको, मधुवन गोठ हुँदै भारततर्फ लान लागेको अवस्थामा प्रहरी गस्ती टोलीसमेतको सक्रियतामा बच्चासहित अपहरणकारी प्रतिवादीहरू कोशिलादेवी महतो र अनितादेवी धोबी पक्राउ परेको देखिन्छ । अनुसन्धान अधिकारीसमक्षको बयानमा अपहरण गरी फिरौती लिने मनसायपूर्वक जाहेरवालाको बच्चा उसको सहमति र मन्जुरीबेगर प्रतिवादी कोशिलादेवीको जाहेरवालासँग भएको मनमुटावको कारण रिस फेर्ने र दु:ख दिने उद्देश्यले अर्को प्रतिवादी अनिता देवी धोबीको सल्लाहमा ३ महिनाको बालकलाई अपहरण गरी भारततर्फ लैजाने क्रममा सर्लाही जिल्ला मधुवन गाउँ विकास समिति वडा नं. ३ स्थित राम भरोस रायको गोठमा मिति २०६७।४।१२ को राति करिब १.४५ बजेको समयमा प्रहरीदेखि भागी गएको बेहोरा सविस्तार उल्लेख गरी दुवै प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष छुट्टाछुट्टै बयान दिएको पाइन्छ । 

५. प्रतिवादी कोशिलादेवी महतोले आरोपित कसुरमा आफ्नो संलग्नता अस्वीकार गरी बयान गरे तापनि अदालतको बयानमा नाबालक अपहरण भएको बेहोरा स्वीकार गरी अपहरणकारी सहप्रतिवादी अनितालाई पोली बयान गरेको पाइन्छ भने प्रतिवादी अनितादेवी धोबीले अदालतमा बच्चा अपहरण भएको कुरामा सहमत जनाउँदै अन्य आरोपमा अदालतमा इन्कारी रही सहप्रतिवादी कोशिलादेवीले यी प्रतिवादीलाई लगाएको आरोपमा अन्यथा भनी इन्कार गर्न सकेको पाइँदैन । जाहेरवालाको ३ महिनाको नाबालक बच्चा अभिभावकको मन्जुरीबेगर भारततर्फ किन लैजानु परेको हो भन्ने कुराको भरपर्दो, स्पष्ट, तथ्ययुक्त जवाफ यी प्रतिवादीहरूसँग भएको 

देखिँदैन । प्रतिवादीमध्येकी कोशिलादेवी महतो र जाहेरवाला देवर भाउजु नाताका देखिन्छन् । यिनीहरूबीच घरायसी वादविवादको कारण झै-झगडा हुने कुरा अनुसन्धान अधिकारीसमक्षको बयानमा उल्लेख गरेकी र सो कुरा सहप्रतिवादी अनितादेवी धोबीलाई पनि भनेको देखिन आउँछ । निजहरूको बीचको विवादको कारण जाहेरवालाको बच्चा अपहरण गरी प्रतिशोध लिने मनसायले प्रतिवादी कोशिलादेवी महतोको योजनामा प्रतिवादी अनितादेवी धोबीले सहयोग पुर्‍याएको, दुवै जनाको पूर्वसल्लाह र योजना भएको, आरोपित कसुरमा यी दुई जनाबाहेक अरूको संलग्नता नदेखिएकोसमेतबाट नाबालक अपहरणमा प्रत्यक्ष रूपमा यी प्रतिवादीहरूको संलग्नता देखिएबाट जाहेरवालाको ३ महिनाको नाबालक बच्चा अपहरणमा परेको पुष्टि हुन आयो । 

६. अनुसन्धान अधिकारीसमक्षको बयानमा जाहेरी दर्खास्त, प्रहरी सञ्चार र घटनास्थल प्रकृति मुचुल्कालाई पुष्टि हुने गरी बयान गर्ने यी दुवै प्रतिवादीहरूले अदालतसमक्ष भएको बयानमा अभियोग दाबीमा इन्कारी रही बयान गरेको पाइन्छ । सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वभाविक सामाञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्न पर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन आउँदैन । 

७. तत्काल अपहरण गर्दा देख्ने प्रत्यक्षदर्शीको अभावमा मिसिल संलग्न निज प्रतिवादीहरूको मौकाको बयान, प्रहरी सञ्चार, मौकाको कागज गर्नेहरूको भनाइ, प्रतिवादी कोशिलादेवी महतोको जाहेरवालासँग भएको आपसी वैमनश्यताको पृष्ठभूमिसहितको परिस्थितिजन्य प्रमाणको आधारमा प्रस्तुत तथ्यको निरूपण गर्नुपर्ने अवस्था रहेको छ । प्रतिवादी कोशिलादेवी महतोको मौकाको बयान हेर्दा, देवर सीताराम महतो र निजको परिवारले सधैँ नकारात्मक दृष्टिले हेर्ने, झगडा गर्ने गर्थे, दाजु भाइको जग्गा साँधमा भएकोले जग्गाको साँधको विषयमा बारम्बार झगडा गर्ने हुँदा निजसँग बदला लिने सोच बनाई जाहेरवालाको परिवारको कुनै सदस्यलाई अपहरण गरी बन्धक बनाई रकम असुल्ने सोच बनाई अनितादेवी धोबीसँग सरसल्लाह गरी जाहेरवालाको ३ महिनाको छोरालाई अपहरण गरी बन्धक बनाउने र रकम माग गर्ने, नदिएमा सो बच्चा भारत सितामढी बस्ने आफ्नो बहिनी बबितालाई दिएर सोबापत अनितालाई रू.१०,०००।- दिन्छु भन्ने सल्लाह भएबमोजिम जाहेरवालाको छोरा ३ महिनाको अविनाश महतोलाई लिई भारततर्फ जाँदा रात परी मधुवनको रामभरोस बैठाको एकान्त गोठमा राखेको अवस्थामा प्रहरी र स्थानीय मानिसहरू देखी बच्‍चालाई त्यहीँ छाडी यी प्रतिवादी र अनितादेवी धोबी भागी गएको भनी उल्लेख भएको देखिन्छ ।

८. प्रतिवादी कोशिलादेवी महतोको बयानबमोजिम बच्चा बिक्री गर्ने भनेर लिएर गएको नभई निजलाई बन्धक बनाई, रकम असुल गर्ने सोच बनाई अपहरण गरी लगेको देखिन्छ । यिनको आफ्नो छोरा कृष्‍णनन्दन महतोले बकपत्र गरी अपहरण गर्ने मेरी आमा नभएर प्रतिवादी अनितादेवी धोबी हो भनी आफ्नी आमा निर्दोष रहेको तर प्रतिवादी अनितादेवीलाई मात्र कसुरदार भनेको पाइन्छ । जबकि सोही बकपत्रबाट वारदातको समयमा ऊ घरमा नभई धान हेर्न खेतमा गएको थिएँ भनेबाट निजको सो बकपत्र सत्य र यथार्थमा आधारित रहेनछ भन्ने आफैँमा प्रस्ट 

हुन्छ । यस अवस्थामा मिसिल संलग्न प्रमाणबाट समर्थित नभएको प्रतिवादीहरूको अदालतमा भएको इन्कारी बयानले मात्र कसुरबाट उन्मुक्ति मिल्न सक्ने देखिँदैन । आफू देवरबाट घृणित, अपमानित र अपहेलित बन्नु परेको पीडा बोधको मनोविज्ञान स्वरूप त्यसको जसरी पनि बदला लिई छाड्ने सोचको कारण अनितासँग पहिले सहयोगको सरसल्लाह तथा योजना बनाएको देखिन्छ । साथी अनिताबाट यी प्रतिवादीको योजनामा सहमति र स्वीकृतिप्राप्त भएपछि उनले देवरप्रतिको इवीको बदला लिने योजना कार्यान्वयन गर्ने मौकाको खोजीमा रहेको 

देखिन्छ । यी दुवै प्रतिवादीहरूको मौकाको एक आपसमा पोल गरी भएको साबिती बयानलाई प्रहरीको घटना घट्दाघट्दैको तत्कालको सञ्चारको बेहोरामा मिति २०६७/४/१२ गते अन्दाजी १७.३० बजेको समयमा जिल्ला सर्लाही सुदामा गाउँ विकास समिति वडा नं. ९ मा बस्ने सिताराम महतोको छोरा अन्दाजी ३ महिनाको अविनाश महतोलाई घरमा सुताई निजको आमा काम विशेषले बाहिर गएको र घरमा कोही नभएको मौका छोपी निज बच्चा अविनाश महतोलाई अपहरण गरी लगेको बुझिएकोमा निजको आफन्तसमेतले खो.त. गर्दै जाँदा अपहरणकारीहरू जि.स. सुदामा-९ बस्ने कौशिलादेवी महतो र ऐ. वडा नं. ८ मा बस्ने अनितादेवी धोबीसमेत संलग्न भई अपहरित बच्चा अविनाश महतोलाई मधुवन गोठ हुँदै भारततर्फ लान लाग्दा शंका लागी मधुवन गोठ प्र. चौ. को गस्ती टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि यस का. मा बुझाएकोमा आवश्यक कारबाही भइरहेको, बच्चा सम्बन्धित आमालाई जिम्मा दिएको, घटनास्थल यस का. बाट ३० कि.मि. पश्‍चिम पर्ने वि.वि. पछि जाहेर गर्ने बेहोरा सादर जाहेर  भनी उल्लेख भएको पाइनुले थप पुष्टि गरेको तथा जाहेरवालाको जाहेरीसमेतले प्रमाणित गरेको यस स्थितिमा अपहरण गर्ने भनी आरोपित गरिएका प्रतिवादीहरू कोशिलादेवी महतो र अनितादेवी धोबी अन्य प्रमाणहरूबाट कसुरदार होइनन्‌ भन्न मिल्ने अवस्था देखिएन । 

९. प्रतिवादी कोशिलादेवीको पुनरावेदन जिकिर हेर्दा प्रथमत: जाहेरवाला अपहरण हुँदा देख्ने प्रत्यक्ष साक्षी नभएकाले निजको भनाइ पत्यारलायक छैन, जाहेरवालाले बकपत्र गर्दा आफूलाई आरोपित कसुरमा संलग्नतालाई इन्कार गरेको छ भनी जिकिर लिएको पाइन्छ । उक्त सन्दर्भमा प्रहरीको सहयोगमा बच्चा अपहरणमुक्त गराइएको हो भन्ने प्रहरी सञ्चार देखिन्छ । अपहरित बच्चा खोजतलास गर्दै जाँदा कोशिलादेवी र अनितादेवी संलग्न भई भारततर्फ लैजाँदै गर्दा मधुवनगोठ प्रहरी चौकीको गस्ती टोलीले पक्राउ गरेको भन्ने उल्लेख गरेबाट जाहेरवालाको मौकाको जाहेरी प्रहरी सञ्चारले पुष्टि गरी रहेको देखिन्छ । यसै सन्दर्भमा (ने.का.प.२०६१ नि.नं.७४११ पेज ८९३) वादी गीता माझीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी श्याम माझी भएको ज.क. मुद्दामा फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सबुदहरूको आधारमा निर्णय गर्ने कुरा हो, अपराधीलाई बचाई दिने नियतले स्वयम् पीडितलगायत कसैले बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिँदा कसैले सफाइ दिने बयान दिँदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरूद्ध बयान दिँदैमा अपराधी ठहरिनै पर्ने भन्न सकिन्न । व्यक्तिको बयानलाई सबुदैको रूपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने भनी सिद्धान्तसमेत प्रतिपादन भइरहेको यस स्थितिमा मौकाको कुरा फेरी विना आधार प्र. कोशिलादेवीको संलग्नता छैन भन्ने जाहेरवालाको अदालतमा भएको बकपत्र मिसिल संलग्न तथ्यसँग मालाकार कडीमा मेल खाएको देखिएन । ३ महिनाको बच्चा अपहरण भएको रातको समयमा गोठबाट उद्दार गरेकोमा वस्तुगत प्रमाणले प्रस्तुत वारदात जघन्य भएको र सो कसुरमा प्रतिवादी कोशिलादेवीसमेतको संलग्नता उक्त विवेचित आधारमा स्वभाविक रूपमा पुष्टि भइरहेको छ । अतः जाहेरवालाले निज प्रतिवादी कोशिलादेवी महतोको कसुरमा संलग्नता छैन भनी गरेको बकपत्र तथ्यगत प्रमाणबाट मिल्ने देखिन आएन । कसैलाई सफाइ दिने उद्देश्यले बकपत्र गर्दैमा त्यस्तो बकपत्र अकाट्य प्रमाण हुँदैन । अन्य मिसिल संलग्न प्रमाणको विवेचना र मूल्याङ्कनबाट नै न्यायिक निरूपण गर्नुपर्ने वाञ्छनीय हुन्छ ।

१०. अर्की प्रतिवादी अनितादेवी धोबीको कसुरको सम्बन्धमा विचार गर्दा, प्रतिवादी अनितादेवीले मौकाको आफ्नो बयानमा कोशिलादेवी महतो मेरो घरमा आई मलाई जाहेरवाला सीताराम महतोले मेरो लोग्ने अशक्त भएको कारण मलाई हेप्ने जग्गा विषयमा झगडा गरिरहने गर्दछन्‌ निजलाई बदला लिनु पर्‍यो भनी सहयोग मागेको देखिन्छ । निजको ३ महिनाको छोरा अविनाश महतोलाई अपहरण गरी निजबाट आएको पैसा आधाआधा गरौंला भनेकी र मैले पनि सहमति जनाई जाहेरवालाको छोरा अपहरण गरी बन्धक बनाउने, रकम माग गर्ने योजनामा सहमति जनाएको तथ्य रहेको छ । तत्पश्चात् मिति २०६७।४।१२ गते साँझ १७.३० बजेको समयमा प्रतिवादी कोशिलादेवी महतोले ३ महिनाको जाहेरवालाको बच्चा अविनाश महतोलाई लिई आएकी र उक्त बच्चालाई भारततर्फ लैजाँदा रात परेको कारण मधुवनी रामभरोसको एकान्त गोठमा बन्धक बनाई राखेको अवस्थामा ऐ.रातको करिब १.३० बजेको समयमा प्रहरीसहितको टोली आएको देखी बच्चालाई छोडी भागी गएको हो भनी मौकाको बयानमा उल्लेख गरेको पाइन्छ । तत्पश्चात् बच्चा उद्धार गरी लगिएको र भोलिपल्ट प्रहरीले दुवैलाई पक्राउ गरेको स्वीकारोक्ति रहेको छ । कोशिलादेवी महतोसँग जाहेरवालाको रिसइवी भएको कारण निजले बदला लिन खोजेकोले अपहरण गरी रकम लिने र आएको रकम आधाआधा लिने भनेको हुँदा पैसाको प्रलोभनमा परी अपहरण गरेको हो भनी यी प्रतिवादी अनितादेवीले मौकामा बयान गरेको अवस्था छ । 

११. जहाँसम्म पुनरावेदक प्रतिवादी अनितादेवी धोबीको पुनरावेदन जिकिर हेर्दा अदालतमा कसुर गरेकोमा इन्कार रहेकोले स्वेच्छा विरूद्धको मौकाको साबिती बयान प्रमाणयोग्य हुने नहुँदा सफाइ पाउनु पर्छ भनी जिकिर लिएको पाइन्छ । निजले जाहेरवालाको छोरा अविनाश अपहरणमा परेको हो अपहरण कसले गरे थाहा छैन भनी अदालतको बयानमा आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि सो इन्कारी बयानलाई पुष्टि हुने कुनै प्रमाण पेस गरेको पाइँदैन । आफ्नो सो बेहोरा प्रमाणित गर्ने साक्षीको बकपत्र गराउन सकेको अवस्था देखिँदैन । 

१२. अत: प्रतिवादीहरू अनितादेवी धोबी र कोशिलादेवी महतोलाई पुनरावेदन अदालत जनकपुरले अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर अपराधमा ७ वर्ष कैद सजाय हुने ठहराई ऐ. महलको १२ नं. बमोजिम रू. ५००।– क्षतिपूर्ति भराई दिने गरी भएको फैसला सो हदसम्म मिलेकै देखियो । 

१३. अब पुनरावेदन अदालत जनकपुरले प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. विपरीतको कसुर अपराधमा ऐ. महलको ७ र ९ नं. बमोजिम थप सजाय हुनुपर्नेमा थप २ वर्ष मात्र सजाय गरेको मिलेन भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको पाइयो । यस सन्दर्भमा मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ र ९ नं. को कानूनी व्यवस्था हेर्नु सान्दर्भिक देखियो । उक्त ७ नं.मा दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा सङ्गठित रूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ भन्ने र सोही महलको ९ नं.मा यस महलको १, २ वा ३ नं. बमोजिमको कसुर महिला वा नाबालक विरूद्ध गरिएको भए यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखियो । यस परिप्रेक्ष्यमा ऐ. महलको ३ नं. बमोजिमको कसुर ठहर भएको अवस्थामा सो कसुर दुई जनाभन्दा बढी व्यक्ति मिली गरेको ठहर भएमा ऐ. महलको ७ नं. बमोजिम थप २ वर्ष कैद सजाय हुने स्पष्ट छ । सोही कसुर नाबालकलाई गरेको भएमा ऐ. महलको ९ नं. बमोजिम थप २ वर्ष कैद सजाय गर्न पर्ने अर्को कानूनी व्यवस्था रहेको छ । 

१४. मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ नं. को कसुर दुई वा सोभन्दा बढी व्यक्ति संगठित भई गरेबापत हुने अपराधको दायित्वमा थप सजाय हुने हो, अर्थात्‌ संगठित भई गरेको कसुरमा २ वर्ष थप कैदको सजाय हुने हुन्छ । त्यस्तो अपराध संगठित भई नाबालक वा महिलालाई गरेको भए ऐ. को ९ नं. ले अर्को थप २ वर्ष कैद सजाय हुने भन्ने उक्त कानूनी व्यवस्थाको मनसाय हो । कसुरजन्य कार्यमा कसुरदारको सहभागिताको संख्याले थप सजाय हुने र पीडित नाबालक वा महिला विरूद्ध कसुर गरेकोमा हुने थप सजायको कानूनी व्यवस्थाले अलगअलग आपराधिक दायित्व रहने भएर नै अलगअलग थप सजायको कानूनी व्यवस्था गरिएको हो । उक्त ७ र ९ नं. मा उल्लिखित अलगअलग प्रकृति र तत्त्वहरू विद्यमान भएको अवस्थामा कुनै एउटा कानूनी व्यवस्थाले गर्नुपर्ने थप सजाय मात्र गरिने हो भने अलगअलग थप सजाय हुने कानूनी व्यवस्थाको कुनै प्रयोजन नै रहन जाने हुँदैन । प्रस्तुत सन्दर्भमा उक्त दुवै कानूनी व्यवस्थाको आ-आफ्नो विशेषता रहेको देखिन्छ । 

१५. अपराध गर्ने कसुरदारहरू २ जना वा सोभन्दा बढी भई अपहरण गर्ने कार्य गरेको तत्त्व विद्यमान भएमा उक्त ७ नं. को कानूनी व्यवस्थाले २ वर्ष थप सजाय हुन्छ । २ जना वा सोभन्दा बढी भई त्यस्तो कसुर नाबालक वा महिलालाई गरेको भए उक्त ९ नं. ले २ वर्ष थप सजाय हुन्छ । ७  र ९ नं. मा उल्लिखित प्रकृति र तत्त्वहरू फरकफरक छन् । त्यस्तो अवस्थामा कुनै एउटा मात्र थप सजाय हुने भन्‍ने स्पष्‍ट कानूनी व्यवस्था छैन । अपराधको गाम्भीर्य र प्रकृतिलाई हेरेर नै अलगअलग थप सजाय गर्नुपर्ने विधायिकी मनसाय रहेको पाइन्छ । अवोध ३ महिनाको नाबालकलाई २ जना भई सरसल्लाह गरी अपहरण गरी रातारात भारततर्फ लान लागेको प्रस्तुत मुद्दाको तथ्य छ । रातको समयमा नाबालकलाई उद्धार गरिएको 

पाइन्छ । रातारात २ जनाले नाबालकलाई अपहरण गरी लाने क्रिया भएको छ । प्रस्तुत मुद्दामा थप सजाय हुने भनी गरिएको व्यवस्थाबमोजिमको अलग अलग तत्त्वहरू विद्यमानता रहेको छ भने ७ नं. र ९ नं. ले गरेको थप सजायमध्ये कुनै एउटालाई मात्र छनोट गरी थप सजाय हुने होइन । थप सजायको अर्थ अपराधको प्रकृति र गाम्भीर्य हेरी कानूनले व्यवस्था गरेअनुसारको कार्यहरू र सोबमोजिमको तत्त्वहरू विद्यमान भएमा अलगअलग थप सजाय गर्नुपर्ने नै देखिन आउँछ । यस्तो कसुर नाबालक वा महिलाउपर गर्नेलाई यस महलबमोजिम अरू बढी गम्भीरताकासाथ लिएको देखिन्छ । उक्त थप व्यवस्थाको प्रयोग यसप्रकारको कसुरमा नाबालक र महिलालाई अपहरण गर्ने कसुरदारलाई कठोर रूपमा लिई निजहरूको संरक्षण गर्ने उद्देश्य नै हो ।

१६. अतः माथि उल्लिखित तथ्य, कानूनी व्यवस्था, यस अदालतबाट प्रतिपादित सिद्धान्तको रोहमा प्रतिवादीहरू अनितादेवी धोबी र कोशिलादेवी महतोलाई मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. को कसुरमा ७ र ९ नं. बमोजिम थप २ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६९।३।२० को फैसला सो हदसम्म नमिली केही उल्टी हुने भई निज प्रतिवादीहरूलाई ऐ. १,२ र ३ नं. को कसुरमा ऐ. ३ नं. बमोजिम ७ वर्ष कैद सजाय हुने, ऐ. ७ नं. बमोजिम थप २ वर्ष कैद सजाय हुने र ऐ. ९ नं. बमोजिम थप २ वर्ष कैद सजायसमेत गरी जम्मा ११ वर्ष कैद सजाय र ऐ.को १२ नं.बमोजिम रू.५००।– क्षतिपूर्ति भराइदिने ठहर्छ । प्रतिवादी पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादीहरू अनितादेवी धोबी र कोशिलादेवी महतोलाई मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको १, २ र ३ नं. को कसुरमा ७ र ९ नं. बमोजिम जनही थप २ वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६९।३।२० को फैसला सो हदसम्म नमिली केही उल्टी हुने भई निज प्रतिवादीहरूलाई ऐ. १, २ र ३ नं. को कसुरमा ऐ. ३ नं. बमोजिम जनही ७ वर्ष कैद सजाय हुने, ऐ. ७ नं. बमोजिम थप जनही २ वर्ष कैद सजाय हुने र ऐ. ९ नं. बमोजिम थप जनही २ वर्ष कैद सजायसमेत गरी जम्मा जनही ११ वर्ष कैद सजाय हुने ठहरेकाले पुनरावेदन अदालतको फैसलाबमोजिम जनही ९ वर्ष कैद सजाय हुने गरी राखेको लगतको सट्टा जनही ११ वर्ष कैद सजाय हुने लगत कसी असुल गर्नु भनी सर्लाही जिल्ला अदालतमा लेखी पठाउनू ------१ 

प्रस्तुत मुद्दाको फैसलाको प्रतिलिपिसहितको जानकारी थुनामा रहेका प्रतिवादीहरूलाई र महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -----------------------------------२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ------------------------३

 

उक्त रायमा सहमत छु ।

न्या. अनिलकुमार सिन्हा

 

इजलास अधिकृतः दुर्गाप्रसाद भट्टराई

इति संवत् २०७४ साल कार्तिक ६ गते रोज २ शुभम ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु