शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३३४ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक:

निर्णय नं. ४३३४    ने.का.प. २०४८      अङ्क ८

 

पूर्णइजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४६ सालको रि.पू.इ.नं. ३८

आदेश भएको मिति: २०४८।८।१०।३ मा

निवेदक/प्रत्यर्थी : जि.पर्सा भोराटार गा.वि.स. वडा नं. बस्ने हिरालाल रौनियारसमेत

विरुद्ध

विपक्षी/रिटनिवेदक : ऐ.ऐ.बस्ने किसुन राउत कुर्मी

विषय : उत्प्रेषण

(१)    कूत बालीमा मुद्दा परेपछिको सालमा मोहीले जग्गा जोतेको छैन भनी निवेदक जग्गाधनीले भन्न सकेको छैन यस्तोमा विपक्षी रिट निवेदकले कूत नबुझाएको भन्न र मोही निष्काशन हुन्छ भन्न न्यायको दृष्टिले नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक, प्रत्यर्थीहरुतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी, रिटनिवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

भू.सु. कार्यालय तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला

अवलम्बित नजीर : ने.का.प. २०३४, अंक १०, पृष्ठ २९५

आदेश

न्या.हरगोविन्द सिंह प्रधान

१.     श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको आदेश पूर्णइजलासबाट दोहराई हेरी पाउँ भनी निवेदकहरुले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।२।२३ गतेमा तोक लागी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :

२.    मेरा नाम दर्ता भोराटार गा.वि.स. वडा नं. ६ स्थित कि.नं. १५१ को ज.वि. ०, कि.नं. १७२ को ज.वि. ०१२, कि.नं. १७८ को ज.वि. ०, कि.नं. २२५ को ज.वि. ०० समेत ज.वि. ११८ समेतको मोही किसुन राउत कुर्मी भएकोमा २०२७ सालको कूतबाली नबुझाएकोले बाली भराई मोही निष्काशन गरी पाउँ भन्ने विपक्षी सत्यनारायणको निवेदन (साविक पेज नं. ३९१) भू.सु.का., पर्सामा परेकोमा मोही निष्काशन गर्ने गरी २०२८।८।१० मा निर्णय गर्‍यो । उक्त निर्णय उपर मेरो निवेदन परी सम्मानीत अदालतबाट २०२९।१२।१९ मा विपक्षी भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदरगरियो । सो निर्णय अनुरुप उक्त जग्गा मा मेरो मोहियानी यथावत राखी पाउँ भन्ने मेरो निवेदन परे पश्चात एउटै विषयमा विपक्षी सत्यनारायणको छुट्टै निवेदनपत्र परी छुट्टै प्रतिवाद भई विपक्षी भू.सु.का., पर्साबाट मोही निष्काशन गर्ने गरी मिति २०४३।४।९ मा फैसला गरे ।

३.    विपक्षी भू.सु.का.को मिति २०२८।८।१० गतेको निर्णय बदर भई अन्तिम भई बसे पश्चात १४ वर्ष पछि सोही मिति २०२८।८।१० गतेको फैसलाबाट आधार लिई मोही निष्काशन गरेको न्यायिक मनको अभाव भई अ.बं. १८५ नं. समेतको गम्भीर त्रुटि छ । २०२७ सालको भर्पाई लामो समयसम्म रहन सक्ने स्थिति नभई हराउन गएको हो । त्यस पश्चात साल सालै बाली बुझी भर्पाई गरी दिनु पर्ने बाली भराई मोही निष्काशनमा फिराद गरेकोमा वादी दावी नपुग्ने गरी जि.अ. तथा अं.अ.बाट निर्णय हुनुपर्ने थिएन । २०२७ सालपछि मलाई मोही मानी राख्नु भएको छ । न्यायिक मन प्रयोग नगरी प्रमाण ऐन, २०३१ को दफा ३, ३४, ५४, अ.बं. १८४(क), १८५, १८९ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख), २५, २९, अदालतका पूर्व फैसला, सम्बद्ध नजीर समेत विपरीत हुन गएको विपक्षी भूमिसुधार कार्यालय, पर्साको मिति २०४३।३।९ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिटनिवेदनपत्र जिकिर ।

४.    विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भनी तत्कालिन सिंगलबेञ्चको आदेश ।

५.    २०२७ सालको बाली धान नबुझाएकोले बिगो दिलाई भराई मोहीबाट निष्काशन गरिपाउँ भनी भू.प्र.का., पर्सामा म जग्गावाला सत्यनारायण रौनियारले निवेदन चढाउँदा विपक्षीले म्याद गुजारी बसेबाट विपक्षीलाई मोहीबाट निष्काशन हुने ठहर्‍याई बिगो रु. ३०३।८७ भरी पाउने गरी मिति २०२८।८।१०।६ मा भूमिप्रशासन कार्यालय पर्साबाट निर्णय भएको सो निर्णय उपर विपक्षीको सम्मानीत श्री सर्वोच्च अदालतमा रिटनिवेदन परी सो निर्णय बदर हुने गरी यस अदालतबाट मिति २०२९।१२।१९ गते निर्णय भयो । बाली भराई मोही निष्काशन गरी पाउँ भन्ने मेरो उजूरी वादी दावी यथावत कायम नै रहयो । भू.सु.का., पर्साबाट पछि म्याद जाँदा विपक्षीले प्रतिवाद गरेपछि सो मुद्दामा सक्कल भर्पाई पेश गर्न नसकेकोले भूमिसम्बन्धी ऐनको दफा २९ बमोजिम मोही निष्काशन गरी दिने ठहर्छ कुतबाली भराई रहन नपर्ने ठहराई भू.सु.का. पर्साबाट मिति २०४३।३।९ मा निर्णय भएको विपक्षी रिटनिवेदन कानुनी व्यवस्थाको विपरीत हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सत्यनारायण रौनियार समेत जना २ को संयुक्त लिखितजवाफ ।

६.    यसमा रिट निवेदकले कूतबाली नबुझाए बापत यस भूमिसुधार कार्यालयबाट निजलाई निष्काशन हुने गरी मिति २०२८।८।१० मा निर्णय भएकोमा प्रतिवाद लिने मौका नदिएकोले निर्णय बदर भई पुनः निर्णय गर्नु पर्दा कूतबाली बुझी लिएको भर्पाई अ.बं. ७८ नं. बमोजिम जग्गाधनीलाई देखाउनु पर्ने अवस्थामा रिट निवेदकले पेश गर्न नसकेकोले रिट निवेदकले आफू मोही भई गर्नु पर्ने कर्तव्य पूरा गरेको देखिएन । कूत नबुझाउने मोहीलाई भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम निष्काशन गरिएको छ । यसरी नियमबमोजिम भएको निर्णय बदर गर्न नपरी रिट निवेदकको उजूरी नै खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सु.का., पर्साको लिखितजवाफ ।

७.    विवादित सालभन्दा पछि पनि विपक्षीले (साविक पेज नं. ३९२) मोहियानी कूत बुझी भर्पाई गरेको देखिँदा देखिँदै पनि यति लामो समयपछि दावी गरेको सालको रसिद नभएको भनी बाली भराई जग्गाबाट निष्काशन गर्ने गरेको भूमिसुधार कार्यालय, पर्साको २०४३।३।९ गतेको निर्णय अनधिकृत एवं गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४४।३।३० गतेको आदेश रहेछ ।

८.    श्री ५ महाराजाधिराज सरकारका जुनाफमा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट तोक लागी आए अनुसार पेश हुन आएकोमा निवेदक प्रत्यर्थीहरुतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विपक्षी मोहीले २०२७ सालको बाली बुझाएको रसिद पेश गर्न मौका दिएकोमा सो सबूद पेश गर्न सकेको छैन । विवादित सालको बाली बुझाएको भन्ने प्रमाण नभएको कारणबाट भू.सु.का.ले मोही निष्काशन गर्ने निर्णय गरेकोमा कुनै त्रुटि छैन । स.अ. संयुक्तइजलासबाट विवाद परेको सालभन्दापछि कूत बुझी भर्पाई गरेको भनी रिटक्षेत्रबाट सबूत प्रमाणको मूल्यांकन गरी भू.सु.का. को निर्णय बदर गरेको त्रुटिपूर्ण छ । रिटनिवेदनपत्र खारेज हुनुपर्दछ भन्ने समेत र विपक्षी रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश बस्तीले विवाद परेका साल भन्दा अघि र पछि जग्गाधनीले कूत बुझी रिट निवेदकलाई मोही मानी आइरहेको छ । यस्तोमा मोही निष्काशन हुने अवस्था छैन । स.अ. संयुक्तइजलासको निर्णय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । भू.सु.का.तर्फबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइरालाले भू.सु.का.बाट सबूद प्रमाणको आधारमा निर्णय भएको हो भन्ने समेत बहस गर्नुभयो ।

९.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिटनिवेदनमा सर्वोच्च अदालत संयुक्तइजलासको निर्णय आदेश मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा भूमिसुधार कार्यालय, पर्साले निर्णय गर्दा २०२७ सालमा कूत बुझाएको सक्कल भर्पाई मोहीले देखाउन नसकेको भन्ने आधारमा मोही निष्काशन गरिदिने ठहर्छ भनी मिति २०४३।३।९ मा निर्णय गरेको देखिन्छ । विपक्षी रिट निवेदक किसून राउत कुर्मीले प्रतिवाद गर्दा २०२७ सालको कूत बुझी भर्पाई गरी दिएको छ भनेको पाइन्छ । सक्कल भर्पाई हराएकोले पेश गर्न नसकेको भनी निज किसून राउतले मिति २०४२।६।३० गतेमा कागज गरेको देखिन्छ । तर मौकैमा प्रतिउत्तरसाथ २०२७ सालको कूत बुझाएको भर्पाईको फोटो कपी पेश गरेको सहन्यायाधिवक्ताले इजलास समक्ष देखाएको मिसिलबाट देखिन्छ । यसबाट २०२७ सालमा मोहीले कूत नबुझाई बाँकी राखेको भन्ने देखिँदैन । त्यसरी कूतबाली र मोही निष्काशनमा दावी लिई मुद्दा परेपछि सो विवाद परेभन्दा पछिल्लो सालको बाली बुझेको भर्पाई विपक्षी रिट निवेदक किसुन राउत कुर्मीले इजलास समक्ष देखाएको र केहीको फोटोकपी पेश गरेको पाइन्छ । यसबाट मोही निष्काशनमा दावी लिइसकेपछि पनि विपक्षी रिट निवेदकलाई मोही स्वीकारी राखेको पाइन्छ । २०३८ सालमा मोहीले खेती गरेन कूत दिलाई मोही निष्काशन गरिपाउँ भनी पर्सा जिल्ला अदालतमा उजूर परेको मुद्दामा मोही निष्काशनमा दावी नपुग्ने र बालीतर्फ वादी दावी मनासिब भई भरी पाउने इन्साफ शुरुको मनासिब ठहर्छ भनी ना.अं.अ. बाट मिति २०४१।९।२५ गतेमा फैसला भएको पेश गरेको फैसला नक्कलबाट समेत देखिन्छ । प्रस्तुत २०२७ सालको कूतबालीमा भू.सु.का.को मिति २०२८।८।१० गतेको निर्णय स.अ. डिभिजनबेञ्चबाट मिति २०२९।१२।१९ गतेमा बदर भएको चौध वर्षपछि र उक्त ना.अं.अ.को मिति २०४१।९।२५ गतेको फैसलापछि २०४३ सालमा (साविक पेज नं. ३९३) मात्र कारवाही भएको पाइन्छ । २०२७ सालको कूत बालीमा मुद्दा परेपछिको सालमा मोहीले जग्गा जोतेको छैन भनी निवेदक जग्गाधनीले भन्न सकेको पनि छैन रत्न देशानी विरुद्ध भू.प्र.का. ललितपुरका प्रमुख अधिकारी भूमिप्रशासक समेत भएको उत्प्रेषण विषयको रिटनिवेदनमा जग्गावालाले भर्पाई गरी बाली बुझेपछि मोही रोजेको हुने भनी स.अ.फुलबेञ्चबाट मिति २०३४।१०।४ मा निर्णय भई ने.का.प. २०३४, अंक १०, पृष्ठ २९५ मा प्रकाशित भइराखेको देखिन्छ । यस्तोमा विपक्षी रिट निवेदक किसुन राउत कुर्मीले २०२७सालको कूत नबुझाएको भन्न र मोही निष्काशन हुन्छ भन्न न्यायको दृष्टिले नमिल्ने हुँदा निवेदकहरुका जिकिर अनुसार भू.सु.का. पर्साको निर्णय कायम रहन्छ भन्न मिलेन । तसर्थ भूमिसुधार कार्यालय, पर्साले मोही निष्काशन गर्ने गरेको मिति २०४३।३।९ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४४।३।३० गतेको निर्णय आदेश मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा हामीहरु सहमत छौं । न्या.मोहनप्रसाद शर्मा, न्या.केशवप्रसाद उपाध्याय

इतिसम्वत् २०४८ साल मंसीर १० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु